`

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

Nepal One HD ३ जेठ २०८३ १९:०९
विश्व

काठमाडाैँ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ । यो अध्ययन ‘साइन्स एडभान्सेस’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो ।

अनुसन्धान चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको हो । अनुसन्धान टोलीले सन् १९८५ देखि २०२३ सम्मको करिब ४० वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो ।

अध्ययनमा विश्वभर २१ हजारभन्दा बढी नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको थियो ।अध्ययनअनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक ०.०४५ मिलिग्राम प्रतिलिटरका दरले घटिरहेको छ । अध्ययन गरिएका करिब ८० प्रतिशत नदीहरूमा अक्सिजन कमी देखिएको छ ।

विशेषगरी उष्णकटिबन्धीय क्षेत्रका नदीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यसअघि उच्च अक्षांशका क्षेत्रहरू बढी प्रभावित हुने अनुमान गरिएको भए पनि अध्ययनले उष्णकटिबन्धीय नदीहरू पहिले नै कम अक्सिजनयुक्त भएकाले अझ छिटो अक्सिजन गुमाइरहेको देखाएको छ ।

यसले अत्यन्त कम अक्सिजन हुने अवस्था निम्त्याउन सक्छ, जसका कारण माछा तथा अन्य जलचर प्राणीहरूको मृत्यु हुन सक्छ । अनुसन्धानकर्ताहरूका अनुसार पानीमा अक्सिजन घुल्ने क्षमता घट्नु नै मुख्य कारण हो, जसले कुल अक्सिजन ह्रासको करिब ६३ प्रतिशत हिस्सा ओगटेको छ । तातो पानीले चिसो पानीको तुलनामा कम अक्सिजन धारण गर्न सक्छ ।
त्यस्तै, तापक्रम, प्रकाश र पानीको बहावसँग सम्बन्धित प्रक्रियाहरूमा आएको परिवर्तनले थप १२ प्रतिशत अक्सिजन कमी गराएको अध्ययनले जनाएको छ ।

अत्यधिक गर्मीका लहरहरूले पनि नदीहरूको अक्सिजन ह्रासमा ठूलो भूमिका खेलेका छन् । अध्ययनले विश्वव्यापी नदी अक्सिजन कमीको करिब २३ प्रतिशत हिस्सा यस्ता गर्मीका लहरसँग सम्बन्धित रहेको देखाएको छ ।
अनुसन्धानमा अत्यन्त कम वा अत्यन्त बढी पानीको बहावले केही हदसम्म अक्सिजन कमीको गति घटाउन सक्ने पनि उल्लेख गरिएको छ । सामान्य अवस्थाको तुलनामा कम बहाव हुँदा अक्सिजन ह्रासको दर १९ प्रतिशतले घटेको पाइएको छ भने बढी बहाव हुँदा ७ प्रतिशतले कमी आएको छ ।

अनुसन्धानकर्ताहरूले घट्दो अक्सिजन स्तरले नदीको जैविक विविधतामा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । अक्सिजन कम हुँदा माछा तथा अन्य जीवहरू बाँच्न सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

उनीहरूले विशेषगरी उष्णकटिबन्धीय क्षेत्रका देशहरूमा नीति निर्माताहरूलाई प्रभावकारी रणनीति अपनाउन आग्रह गरेका छन् । नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ता शी कुनले भन्नुभयो,“यो अध्ययनले विश्वभरका नदीहरूमा भइरहेको अक्सिजन ह्रासलाई बुझ्न र न्यूनीकरण गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *