`

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू

म्याग्दी, १३ असार : विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए ।

शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ । कक्षा १२ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ रत्नेचौरको भानु माविमा कक्षा ११ र बालकक्षासहित शैक्षिकसत्र २०८२ को विद्यार्थी सङ्ख्या ४८ जना छ । प्रधानाध्यापक दिनेश बोगटीका अनुसार कक्षा १ र ३ मा विद्यार्थी सङ्ख्या शून्य छ ।

कक्षा ४ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ लामगरामा रहेको युुवावर्ष आधारभूत विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिकसत्र २०८२ मा भर्ना हुुन आउने विद्यार्थीको सङ्ख्या शूून्य छ । चार शिक्षक र कर्मचारी भएको उक्त विद्यालयको बालकक्षामा चार र कक्षा १ मा तीन जना विद्यार्थी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाका अनुसार २०४१ सालमा स्थापना भएको युवावर्ष आधारभूतमा दशकअघिसम्म एक सय जनासम्म विद्यार्थी हुन्थे ।

बेनी नगरपालिका–२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक–एक जना बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ । कक्षा ३ सम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।

बालकक्षामा दुई, कक्षा १ र ३ मा एक–एक जना विद्यार्थी छन् । प्रअ सरस्वती नेपालीका अनुसार २०८० सालसम्म ७ कक्षासम्मको पठनपाठन भएको विद्यालयमा विद्यार्थी सङ्ख्या ५१ जना थियो । गत शैक्षिकसत्र २०८१ को सुरुमा २२ विद्यार्थी भएको विद्यालयमा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरे ।

भानु मावि, युवावर्ष, हंशबाहिनी, जगन्नाथ र ओखले आधारभूत विद्यार्थी अभावको समस्या झेलिरहेका बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका विद्यालयका उदाहरण हुन् । सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनीबजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बर्सेनि घट्दो छ ।

जन्मदर घट्नु, बसाइँसराइ बढ्नु, सडक यातायातको सुविधासँगै निजी विद्यालयले गाउँगाउँमा गाडी पठाएर विद्यार्थी ओसार्नु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु, निजी विद्यालय र अङ्ग्रेजी माध्यमप्रतिको मोह, सामुदायिक विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, शिक्षक जिम्मेवार नबन्नु र अगुवा तथा समाजको बेवास्ताका कारण सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो ।

बेनी नगरपालिकामा ११ वटा संस्थागत र ५३ वटा सामुदायिक विद्यालय छन् । शैक्षिक अभिलेख प्रणालीको तथ्याङ्कानुसार बेनीका विद्यालयमा पछिल्लो तीन वर्षयता भर्ना हुने विद्यार्थीको सङ्ख्या घट्दो छ । शैक्षिकसत्र २०८० मा १० हजार ८२५ विद्यार्थी रहेकामा शैक्षिकसत्र २०८१ मा यो सङ्ख्या घटेर १० हजार ५५० मा झ¥यो । शैक्षिकसत्र सुरू भएको करिब तीन महिनामा बेनीका विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या सात हजार ८२८ रहेको बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो । बालकक्षामा स–साना उमेरका बालबालिकालाई अक्षर चिनाउन र बानी पार्न ल्याउने अभिभावकले अक्षर चिन्न थालेपछि निजी विद्यालय र अन्यत्र लैजाने गरेको गुनासो शिक्षकहरूले गरेका छन् ।

“दुःख गरेर अक्षर चिन्ने बनाएपछि अभिभावकले निजी विद्यालय र अन्यत्र बच्चा लगिदिँदा मन खिन्न हुन्छ”, भानु माविका प्रअ दिनेश बोगटीले भन्नुभयो, “सामुदायिक विद्यालय पढ्ने अधिकांश विपन्न र दलित समुदायका छन् ।” उक्त विद्यालय बेनी नगरपालिकाको सबैभन्दा थोरै विद्यार्थी भएको मावि हो । जहाँ हाल दलित समुदायका १९, ब्रह्माण क्षेत्रीका आठ र जनजातिका ११ विद्यार्थी छन् । बेनी नगरपालिकामा रहेका अन्य सामुदायिक विद्यालयको जातिगत विद्यार्थी सङ्ख्या भानु माविको जस्तै छ ।

सदरमुकाम बेनीबजारमा रहेको प्रकाश माविमा सबैभन्दा बढी सात सय ३२ जना विद्यार्थी छन् । त्यसपछिको बढी विद्यार्थी बेनी सामुदायिकमा छ सय ३७ जना छन् । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत संस्कृत मावि र वडा नं ५ भिरमुनिको पौलत्स्य मावि पनि एक सय जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका माध्यमिक विद्यालय हुन् ।

जिल्लाभरका विद्यार्थीले पढ्ने प्रकाश र बेनी सामुदायिक माविको मावि तहको तुलनामा आधारभूत १–५ तहमा विद्यार्थी सङ्ख्या कम छ । कक्षा ७–८ सम्म निजी विद्यालय पढाउने र ९–१० पढाउन सामुदायिकमा ल्याउने चलन रहेको प्रकाश माविका प्रअ लेखबहादुर हमालको भनाइ छ ।

अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, विद्यार्थीमैत्री शिक्षण विधि अपनाउने, अभिभावकसँग निरन्तर अन्तक्र्रिया गर्ने, पोशाक, सरकारले दिनेबाहेक पनि विभिन्न विधामा छात्रवृत्ति, पोशाक उपलब्ध गराएर आकर्षित गर्ने प्रयास गरेका सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

सामुदायिक विद्यालयका सुविधायुक्त कक्षाकोठा खाली छन् । खेलमैदान सुनसान छन् । शिक्षकहरूले रित्ता कक्षाकोठा रुँगेर बसेका छन् । बेनी नगर कार्यपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नं ९ का अध्यक्ष चक्र केसीले समुदाय, अभिभावक र विद्यालयबीचको बढ्दो दूरी नै सामुदायिक विद्यालयको शैक्षिक सुधारको चुनौती बनेको बताउनुभयो ।

“शिक्षकहरूलाई जिम्मेवार बनाउन यस वर्षदेखि १६ वटै माविमा विद्युतीय हाजिरी सुरू गरेका छौँ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि, सरकारी सुविधा लिने कर्मचारी र शिक्षकहरूका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने गत वर्ष कार्यपालिकाले गरेको निर्णय आंशिकमात्र कार्यान्वयन भएको छ ।” उक्त निर्णयपछि बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले न्यूवेष्ट प्वाइन्ट आवासीय माविमा पढ्दै आएकी छोरी प्रशन्ना पौडेललाई बेनी सामुदायिकमा भर्ना गर्नुभएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी घट्दो जनसङ्ख्या वृद्धिदर र बढ्दो बसाइँसराइको दरसँगै सामुदायिक विद्यालयको तह समायोजन, शिक्षक व्यवस्थापनको काम थालिएको बताउनुभयो । “स्तरीय यातायातको सुविधासँगै कक्षा ११, १२ पढ्नका लागि गाउँबाट सदरमुकाम बेनीका विद्यालयमा आउने विद्यार्थी पोखरा–काठमाडाँै जान थालेका छन्”, उहाँले भन्नुभयो, “शैक्षिकसत्रको सुरुमा भएको शिक्षक आन्दोलनका कारण कतिपय अभिभावकले बेनी बाहिर आफ्ना बालबालिका लैजाँदा विद्यार्थी सङ्ख्या घटेको हो ।”

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाएर विद्यार्थीलाई आकर्षित गर्नु र समाज तथा अभिभावकको विश्वास जित्नुको विकल्प नरहेको नगरप्रमुख केसीले बताउनुभयो । तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षकलाई पुरस्कृत गर्नेदेखि माध्यमिक तहका विद्यार्थीलाई व्यावहारिक सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौँ’ मार्फत विभिन्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिकसत्र २०७९ मा ११ र २०८० मा सातवटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो । तह समायोजन भएका विद्यालयका शिक्षकलाई बढी विद्यार्थी सङ्ख्या भएको नजिकको विद्यालयमा व्यवस्थापन गरिएको छ । विद्यार्थी सङ्ख्या बढेपछि विद्यालय पुनःस्थापना र शिक्षक व्यवस्थापन गर्ने नीति लिएको नगरप्रमुख केसीले बताउनुभयो । गत वर्ष तह घटुवा भएको बेनी नगरपालिका–५ को सेतोढुङ्गा आधारभूत विद्यालयमा यो वर्ष विद्यार्थी सङ्ख्या बढेकाले शिक्षक थप गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउन शिक्षकलाई जिम्मेवार बनाउने, क्षमता विकास, प्रोत्साहन, शिक्षण विधिमा प्रविधिको प्रयोग र विद्यार्थीमैत्री शिक्षण विधि अपनाउने, अभिभावकमा जागरण ल्याउने, समुदाय र अभिभावकको सुझावका आधारमा शैक्षिक गतिविधि सञ्चालन गर्दै शैक्षिक गुणस्तर सुधार्न आवश्यक देखिन्छ । आवासीय विद्यालय सञ्चालन र विद्यालय समायोजन पनि थप विकल्प हुनसक्ने सरोकारवाला बताउँछन् ।
–––

राजाजी डाँडाबाट सलहेस सर्किटसम्म : लहानको नयाँ पर्यटकीय सपना

सिरहा, १३ असार : लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ । स्थानीयवासीको अपेक्षा, धार्मिक आस्था र नगरपालिकाको योजनाबीचको समन्वयले राजाजी डाँडा एकीकृत धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुन थालेको हो ।

सयौँ वर्ष पुरानो इँटाको मन्दिर, इनार र खुला डाँडामा रहेको देव हाटजस्ता चिजले राजाजी डाँडाको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै बलियो बनाएको छ । जहाँ स्थानीय बासिन्दा पूजापाठ, भाकल, देवता पूजाजस्ता धार्मिक गतिविधिमा सहभागी हुन्छन् । स्थानीय जनविश्वासअनुसार सङ्कटका बेला यहाँको देवता राजाजी बाबालाई पुकार्दा कल्याण हुन्छ, चिताएको पूरा हुन्छ ।

लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार पौराणिककालमा यस डाँडामा राजाको दरबार रहेको र यहीँबाट राजकाज सञ्चालन हुने गथ्र्यो भन्ने किंवदन्ती रहेको मानिन्छ । अहिले जनविश्वासमा रहेका राजा सलहेस, वस्तुतः त्यही दरबारका प्रधानमन्त्री थिए । “सलहेसका गुरु नै राजाजी थिए । जसको नाममा आज यो डाँडालाई चिनिन्छ । यही भाष्य नै जनमानसमा व्याप्त रहेको छ । यसलाई विश्वास पनि गरिन्छ र त्यसको विश्वासिलो आधार पनि भेटिन्छ”, वडाध्यक्ष जर्घामगर बताउनुहुन्छ ।

स्थानीय वृद्धहरूका कथनअनुसार यो डाँडामा पहिले इँटाका ठूलाठूला पर्खाल थिए, जुन सयौँ वर्ष पुराना हुन् । “हामीले थाहा पाउँदासम्म हजुरबुबाको पालादेखि त्यस्तै थियो”, ७३ वर्षीय वडाध्यक्ष गर्जामगर सम्झिनुहुन्छ । उहाँका अनुसार कसले र कहिले निर्माण गर्यो भन्नेमा अझै स्पष्टता छैन, जसकारण यसलाई पौराणिककालदेखिको संरचना मानिन्छ । कुनै लिखित दस्तावेज नभए पनि उनीहरूको कथा, कर्मकाण्ड तथा पुस्तौँदेखि चलिआएको पूजा परम्पराले यसको पौराणिक पक्षलाई स्पष्ट पार्दछ ।

आज पनि ती पुराना इँटा यथावत छन्, तर संरक्षणको अभावमा अवस्था दिनप्रतिदिन जीर्ण हुँदै गएका छन् । यति पुरानो संरचना र वस्तुको अनुसन्धान पुरातत्व विभागले यथाशीघ्र प्रक्रिया अघि बढाउनुपर्ने वडाध्यक्ष गर्जामगरको मत छ । “दुर्भाग्यवश, ऐतिहासिक महत्त्व हुँदाहुँदै पनि यस क्षेत्रको प्रचारप्रसार नहुँदा यो सम्पदा लामो समयसम्म ओझेलमा रह्यो । अहिले भने स्थानीय तहको पहलमा यस क्षेत्रको विकासले गति लिन थालेको छ । हालै रु २५ लाख लागतमा राजाजी डाँडामा गहवर मन्दिर निर्माण भइसकेको छ, जसले पर्यटकलाई थप आकर्षण गर्ने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो ।

राजाजी डाँडाको संरचना, सलहेससँगको सम्बन्ध र यसको पुरातात्विक सम्भावनाले यसलाई केवल सिराहा जिल्लाको मात्र होइन, सम्पूर्ण तराईको सांस्कृतिक र ऐतिहासिक धरोहर बनाउने सम्भावना देखिएको छ । पहिले यहाँ पुग्नका लागि एक घण्टाभन्दा बढी पैदल उकालो चढ्नुपर्ने बाध्यता थियो । चुरे उकाली–ओराली पार गर्दै, श्रद्धालुहरू हरेक वर्ष असारमा असारी पूजा गर्न राजाजी डाँडा पुग्थे ।

यसबीचमा स्थानीयको विस्वास र आस्थालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना देखिन थालेपछि पहिलोपटक २०७८ सालमा निवर्तमान नगरप्रमुख मुनि साहको नेतृत्वमा डाँडासम्मको ट्रयाक खोलिएको थियो । त्यसपछि चुरे फेदमा रहेको झिझरी खोला पार गरेर झण्डै पाँच किलोमिटर चुरेको उकालो हुँदै राजाजी डाँडासम्म मोटर पुग्न थालेको हो । जसले गर्दा स्थानीयलाई धार्मिक पूजापाठ गर्नलाई सहज बनाएको छ । स्थानीय देवेन्द्र यादव भन्नुहुन्छ, “डाँडासम्म जाने मोटरबाटो बन्छ भनेर कहिल्यै सोचेका थिएनौँ । अहिले ट्रयाक खुलेपछि अब बुबाआमासँगै सजिलै डाँडा पुगिन्छ । यस बाटोलाई अझ सुधार गरी व्यवस्थित गरे झन् सहज हुने थियो । आन्तरिक पर्यटनको पनि विकास हुने थियो ।”

लहानस्थित पूर्वपश्चिम राजमार्गबाट करिब १५ किलोमिटर उत्तर चुरे क्षेत्रको उच्च बिन्दुमा अवस्थित राजाजी डाँडाबाट सिराहा, सप्तरी र उदयपुरका विभिन्न भूभागका समथल फाँट र भूदृश्यहरूको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट देखिने हरियाली, खेतबारी, गाउँबस्ती र फाँटहरूको समिश्रित दृश्यले जोकोहीलाई मोहित तुल्याउँछ । विशेषगरी गर्मीको समयमा उखरमाउलो तातोबाट राहत खोज्न मानिस यहाँ पुग्ने गर्छन् । सबैभन्दा नजिकको उच्च बिन्दु भएकाले राजाजी डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने देखिन्छ ।

यस अपूर्व सम्भावनालाई ध्यानमा राख्दै लहान नगरपालिकाले यसको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्षमा राजाजी डाँडामा रु २५ लाख लागतमा नयाँ गहवर मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आगामी आव २०८२÷८३ मा झिँझरी खोलाबाट राजाजी डाँडासम्मको बाटोमा पैदल हिँडेर पुग्न चाहनेका लागि सिँढी निर्माण गर्न थप बजेटको व्यवस्था गरिने योजना बनाइएको छ । नगरप्रमुख चौधरी भन्नुहुन्छ, “राजाजी डाँडा आज आस्था, इतिहास र पर्यटनको त्रिवेणी बन्दै गएको छ । समयमै संरक्षण र प्रवर्द्धन गर्न सकिए यो स्थल मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा कुनै शङ्का छैन । त्यसैले राजाजी डाँडालाई धार्मिक र पर्यटकीय हब बनाउने हाम्रो दीर्घकालीन योजना हो ।”

राजाजी डाँडा आज एक स्थान, अनेक सम्भावना बोकेको थलो बनेको छ । धार्मिक आस्था, ऐतिहासिक गौरव, सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम बनेको छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्न सके भविष्यमा प्रदेशस्तरको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना बोकेको छ । यसै हप्ताको आइतबार उक्त राजाजी डाँडा पुगेर कुँदिएको शिलालेखको उद्घाटन गरी नेपाली झण्डा फर्पmराउँदै नगरप्रमुख चौधरीले भन्नुभयो, “राजाजी डाँडालाई मात्र होइन, लहानको सलहेस फूलबारी, ब्रह्मनस्थान, मानिक दह, देवी दह, हात्ती दहसँग जोडेर सलहेस सर्किट निर्माण गर्ने हाम्रो गुरुयोजना छ ।”

यस योजनाअनुसार सलहेसले फूलबारीमा फूल टिप्ने, मानिक दहमा स्नान गर्ने, ब्रह्मानस्थानमा कुस्ती खेल्ने, पकडिया गढमा न्याय दिने र अन्न भण्डारण गर्ने तथा गर्मीको समयमा राजाजी डाँडामा शीतल हावा लिने कथालाई आधार बनाइन्छ । “यी सबै धार्मिक कथन र स्थानलाई जोडेर लहानलाई पर्यटकीय नगर बनाउन सकिन्छ । त्यसकै लागि अब संरचनागत विकास सुरु गरिएको हो”, नगरप्रमुख चौधरीले भन्नुभयो । चुरे क्षेत्रको डाँडामा विकासको पाइलासँगै प्राकृतिक सन्तुलन र सांस्कृतिक संरक्षणलाई ध्यानमा राख्नु आवश्यक छ ।

स्थानीय जनआस्था, मौलिक कथन, धार्मिक अभ्यास र पर्यटकीय सम्भावनाको सङ्गम रहेको यो क्षेत्रलाई सन्तुलित विकासमार्फत नेपालकै उदाहरणीय धार्मिक–पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भन्ने विश्वास नगरपालिकाले लिएको छ । सलहेससँग जोडिएको पौराणिक कथा, पुराना संरचना र चुरे क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई जोडेर यसलाई अद्वितीय बनाएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले घोषणा गरेको बृहत् सलहेस पर्यटकीय क्षेत्रअन्तर्गतका सलहेस फूलबारी, पकडियागढ, देवीदह र ब्रह्माण फूलबारी सांस्कृतिक सम्पदाभित्र सूचीकृत गरिसकिएको छ । यी सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत यस क्षेत्रको सांस्कृतिक पुनर्जागरण, मौलिक संस्कृतिको यात्रा र स्थानीय पहिचानको पुनर्निर्माणको अवसर देखिएको छ ।

सलहेस फूलबारी

प्रेमको प्रतीक भई नयाँ वर्षका दिन मात्र फुल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेस फूलबारीमा वैशाख १ गते भव्य मेला लाग्ने गर्दछ । लहान नगरपालिका वडा नं १२ र २२ मा पर्ने यस फूलबारीमा हरेक वर्ष वैशाख १ गते फुल्ने सुनाखरी फूललाई सलहेस बाबा र मालिनीको मिलनको प्रतीक मानिन्छ । पुराना किंवदन्तीअनुसार यो फूलबारी सलहेसको दरबार क्षेत्रभित्र पथ्र्यो । अहिले पनि यहाँ लाखौँ श्रद्धालु भेला हुने फूलबारी मेला लाग्छ, जसले यसलाई जीवित सांस्कृतिक सम्पदाका रूपमा चिनाउँछ ।

फूलबारी मेला तराईको मौलिक सांस्कृतिक सम्पदाको जीवित उदाहरण हो, जहाँ लाखौँ श्रद्धालु जम्मा हुन्छन् । यसको संरक्षण र प्रवर्द्धनले स्थानीय पहिचान र सांस्कृतिक गर्वलाई अझ बलियो बनाउन सक्नेछ । सलहेस तराईका पासवान जातिको इष्टदेव रहेको र चौधौँ शताब्दीका लोकनायक भएकाले सलहेसको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत समस्या हरण हुने जनविश्वास पनि छ ।

पकडियागढ

लहान नगरपालिका–१८ मा अवस्थित पकडियागढ ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्णस्थल हो, जुन सलहेस सर्किटअन्तर्गत पर्दछ । हरेक वर्ष वैशाख २ गते यहाँ लाग्ने मेलामा नेपालका विभिन्न भूभागसहित छिमेकी भारतबाट पनि हजारौँ दर्शनार्थी भेला हुने गर्छन् ।

जनश्रुतिअनुसार, यो स्थल प्राचीन समयमा राजा कुलेश्वरको दरबार रहेको थियो । राजाकी छोरी चन्द्रावती यही फूलबारीमा डुल्ने गरेको विश्वास गरिन्छ । मेलाको विशेष आकर्षण भनेको चोहरमलले खनेको भनिने सुरुङ, जसलाई हेर्न आउनेहरूको भीड लाग्ने गर्छ ।

पकडियागढ परिसरभित्र रहेको सार्वजनिक पोखरी संरक्षणको अभावमा विगतमा जीर्ण अवस्थामा पुगेको थियो । फोहर र संरचनात्मक बेवास्ताका कारण त्यहाँको आगमन घट्दो थियो । तर, पछिल्लो समय मधेस प्रदेश सरकारको सौन्दर्यकरण योजनाअन्तर्गत रु ४० लाखको लागतमा पोखरीको पूर्व र दक्षिणतर्फ घाट निर्माण, बाउण्ड्री वाल, स्टेडियम लाइट र मन्दिर परिसरमा पिसीसी ढलानजस्ता संरचना निर्माण गरिएको छ । यसले गर्दा विवाह, व्रतबन्धजस्ता सामाजिककार्य सहज भएका छन् र साथसाथै पोखरीको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको छ ।

देवीदह

लहान नगरपालिका–१७ मा अवस्थित एक ऐतिहासिक, प्राकृतिक र धार्मिक दृष्टिले पूजनीय स्थान हो देवीदह । पूर्वपश्चिम राजमार्गबाट करिब छ किलोमिटर उत्तरमा रहेको यो दह सिराहा र सप्तरीलाई छुट्याउने बलान नदी किनारमा फेला पर्छ । स्थानीय जनश्रुतिअनुसार त्रेतायुगीन समयदेखि यहाँको पानीमा स्नान गर्दा रोगव्याधि हटेर जान्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै, मनमा उत्पन्न हुने शङ्काले भरिएको घाउ निको हुने विश्वास व्यापक छ । तर, बजेट अभावमा पोखरीको संरक्षण, सवर्द्धन तथा वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । यस दहको धार्मिक तथा पर्यटकीय महत्वलाई पुनस्र्थापित गर्न सरकार र स्थानीय तहबाट बजेट र पहल आवश्यक छ ।

मानिक दह

लहान नगरपालिका–२४ मा अवस्थित मानिक दह केवल प्राकृतिक जलासयमात्र होइन, सलहेस सर्किटअन्तर्गत पर्ने एक प्राचीन धार्मिक तीर्थस्थल हो । जुन विशेषतः सलहेससँग जोडिएको पौराणिक विश्वासका कारण स्थानीय जनजीवनमा गहिरो आस्था बोकेको छ ।

जानकारका अनुसार सलहेस बाबा यही दहमा स्नान गर्ने गर्दथे भन्ने धार्मिक विश्वास छ । यही कारणले हरेक वर्ष वैशाख १ गते यहाँ बृहत्तर मेला लाग्ने गर्छ, जहाँ सिराहा, सप्तरी, उदयपुरलगायत तराईका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालुको आगमन हुन्छ । मानिक दह करिब १७ बिघामा फैलिएको विशाल जलासय हो । चारैतिर हरियाली, मन्दिर र पवित्रताले भरिएको यो स्थलले धार्मिकमात्र होइन, प्राकृतिक सौन्दर्यको अनुभव पनि प्रदान गर्छ ।

दहको दक्षिणी भागमा डिहबारको मन्दिर, घाट निर्माण र डिल (किनारा) मर्मतका लागि हालसम्म रु ७० लाखभन्दा बढी नगरको बजेट खर्च भइसकेको छ । साथै पश्चिम भागमा सलहेस मन्दिर निर्माण गरिएको छ, जसले यस क्षेत्रको धार्मिक पहिचानलाई थप मजबुत बनाएको छ । यहाँको पानीमा स्नान गरेपछि रोगव्याधि हट्ने र भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वासले मानिक दहलाई स्थानीय धार्मिक आस्थाको केन्द्र बनाएको छ ।

राजदेवी मन्दिर

त्यसैगरी, नगरपालिकाको १५ नं वडामा अवस्थित राजदेवी माताको मन्दिर भाकल पूरा गर्ने भगवती देवीस्थानको रूपमा परिचित छ । वैशाख पूर्णिमाका दिन बोकासहित चार प्रकारका पशुपन्छीको बलि दिइन्छ, जसमा १० हजारदेखि २० हजार बोकासम्म बलि दिने चलन छ ।  उक्त मन्दिरमा बली चढाए भाकल पूरा हुने जन विश्वास रहेको छ । स्थानीय र प्रदेश सरकारले सडक सुगम–बनाउने, धर्मशाला र पार्क निर्माण साथै मन्दिर परिसरको सौन्दर्यीकरणमा काम गरिरहेको छ ।

स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घसंस्थाले लहानको पर्यटकीय नगरी ‘सलहेस सर्किट’को व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नसके आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी व्यापारिक तथा धार्मिक दृष्टिले समुचित लाभ लिन सकिने भएकाले यस क्षेत्रमा उचित ध्यान दिनुपर्ने मानवअधिकारकर्मी राजकुमार राउतको भनाइ छ ।

“एउटै नगरपालिकाभित्र यति धेरै ऐतिहासिक र पुरातात्विक स्थल हुनु नै लहानको धार्मिक पर्यटन सम्भावनाको प्रमाण हो”, राउतले भन्नुभयो, “यदि लहान नगरपालिकाले यी सम्पदाको संरक्षण र समुचित विकास गर्न सके, यो नगरपालिका निकट भविष्यमा देशकै एक समृद्ध धार्मिक–पर्यटकीय गन्तव्य बन्नेछ ।”

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

कञ्चनपुर, १३ असार : गर्मी र वर्षात्को समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेङ्गुको सङक्रमण बढ्दै गएको छ ।

जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताउनुभयो । “तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ”, उहाँले भन्नुभयो, “पहिला गर्मी र वर्षाका बेलामात्र डेङ्गुको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ ।”

लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेङ्गुको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको उहाँको भनाइ छ । उहाँका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेङ्गुका बिरामी देखापरेका छैनन् । एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ । पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको उल्लेख गर्नुहँुदै उहाँले डेङ्गुलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

जलवायु अनुकूल सरसफाइ रणनीति बनाई डेङ्गुसम्बन्धी चेतना र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । वर्षात्को समय सुरु भएकाले डेङ्गुको सङ्क्रमण तीव्र रूपमा बढ्नसक्ने भएकाले वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

डेङ्गु सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ ।

“गर्मी र वर्षात्को समयमा डेङ्गु सङ्क्रमण फैलिने अत्यधिक सम्भावना हुन्छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “यसबेला जनचेतना र सरसफाइ अभियानलाई बढाउनु आवश्यक छ, सतर्कता अपनाउन सके डेङ्गुको रोकथाम गर्न सकिन्छ ।”

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ र बिक्रीदर १०० रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो ।

यसअघि ०.२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्याङ्कले त्यसलाई परिमार्जन गर्दै सङ्कुचन अझ गहिरो भएको देखाएको छ। गत वर्षको अन्तिम त्रैमासमा अमेरिकी अर्थतन्त्र २.४ प्रतिशतले वृद्धि भएको थियो ।

जीडीपी घट्नुमा उपभोग खर्च र निर्यात अपेक्षाभन्दा कमजोर हुनु मुख्य कारण मानिएको छ। साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कार्यभार सम्हालेपछि लगाइएका व्यापक भन्सार शुल्कका कारण आयातमा तीव्र वृद्धि भएको छ । व्यापारिक साझेदारहरूबाट आयातमा लाग्ने नयाँ कर लागू हुनुअघि व्यापारीहरूले ठूलो मात्रामा सामग्री आयात गरी भण्डारण गरेकाले यो असर देखिएको हो ।

जीडीपीको गणनामा आयात नकारात्मक रूपमा गनिन्छ, जसका कारण सरकारी खर्चमा गिरावट र उपभोगमा कमजोरीसँगै समग्र अर्थतन्त्रमा घटावट देखिएको हो ।
वाणिज्य विभागका अनुसार, हालको परिमार्जित अनुमानले उपभोग खर्च र निर्यातमा गिरावट देखाएको छ, यद्यपि आयातको गिरावटले केही हदसम्म त्यसको असरलाई न्यून तुल्याएको छ ।

हाल अमेरिकी प्रशासनले अधिकांश व्यापारिक साझेदारहरूबाट आउने सामानमा १० प्रतिशत भन्सार कर घोषणा गरिसकेको छ, जुन अझै कार्यान्वयनको चरणमा पुगेको छैन । तर जुलाईमा सो निर्णय कार्यान्वयन हुने सम्भावना भएकाले बजारमा अनिश्चितता बढेको छ ।
राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र सवारीसाधन आयातमा समेत उच्च कर लगाएका छन् । यस्ता कदमहरूले बजारमा अस्थिरता ल्याउनुका साथै आपूर्ति प्रणालीमा बाधा र उपभोक्ताहरूको मनोबलमा गिरावट ल्याएको अर्थविद्हरूको भनाइ छ ।

हालका लागि नीति निर्माताहरूले गर्मीयामभर आर्थिक तथ्याङ्कहरू नजिकबाट विश्लेषण गरिरहेकाले आगामी नीतिमा त्यसको असर देखिने अनुमान गरिएको छ ।

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा, १२ असारः सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उनलाई सिरहा नगरपालिका–१७, खैरटोकाबाट पक्राउ गरिएको हो ।

लोहनी २०७९ फागुन १० गते मिर्चैया नगरपालिका–३ बतहा पुल नजिकै भएको लुटपाट घटनामा संलग्न थिए । सो दिन ग्लोबल आइएमई बैंक मिर्चैया शाखाबाट रकम लिएर आउँदै गरेका बैंकका कर्मचारी र सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी लोहनीसहित चार जनाको समूहले पिस्तोल देखाएर लुटपाट गरेका थिए । उनीहरू नम्बर नखुलेका मोटरसाइकलमा आएका थिए ।

इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासलाई हतियार देखाई कुटपिट गर्दै बैंक कर्मचारीसँग रु नौ लाख लुटेर उनीहरू फरार भएका थिए । घटनापछि भारतमा लुकेर बस्दै आएका लोहनीलाई सिरहाको सीमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरिएको र जिल्ला अदालत सिरहामा पेस गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् : प्रमुख महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् ।बिहीबार ललितपुरमा लागु औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित लागु औषध दुव्र्यसनरहित घर अभियान कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिकाले धेरै कामहरु नेपाल प्रहरीको सहकार्यमा भएको र सबै सफल भएको बताएका हुन् ।

‘ललितपुर महानगरपालिकाले नेपाल प्रहरीसँग साझेदारी गरेका काम एकदमै सफल भएको छ । हामीले गरेका काममा नेपाल प्रहरीको धेरै सहयोग छ । यसका निम्ति म सम्पूर्ण प्रहरीहरुमा धन्यबाद,’ उनले भने ।

उनले ललितपुर महानगरपालिकामा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरीहरु रहेको भन्दै नेपाल प्रहरीको अभियानमा सामेल गराउन आग्रह समेत गरे ।

‘ललितपुर महानगरपालिकामा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरीहरु छन् । नगर प्रहरी प्रमुख निकै ख्यातिप्राप्त हुनुहुन्छ । उहाँकै कमाण्डमा १२५ जना नगर प्रहरीहरु छन् । उहाँले यो अभियान साथै लैजानु हुनेछ । नेपाल प्रहरीसँग रहेको अनुभव नगर प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरे,’ उनले भने ।

यस्तै, प्रहरी महानिरीक्षक दिपक थापाले लागु औषध दुव्र्यसनरहित घर अभियान लागु औषध दुरुपयोग एवम् ओसारपसार न्यूनीकरणका लागि कोषेढुङ्गा सावित हुने बताए ।

नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने

काठमाडौं। काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ।आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुने आयोजनले जानकारी दिएको छ।

कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ। बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोट्र्स पार्क उक्त लिग हुनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन्।

लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् । विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको र यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ। लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए।

एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन्। राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ। क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १० देखि १५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ। हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ।

लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ। टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले बताइन्।

निजी विद्यालय नियमनको माग

काठमाडौं, १२ असारः सांसदले शिक्षा प्रणालीलाई समान पहुँचसहितको, सेवामूलक र सामाजिक न्यायमा आधारित बनाउनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा सांसदहरूले सांसदहरूले शिक्षा क्षेत्रको सुधार, निजी विद्यालयको भूमिकाका साथै निजी विद्यालय नियमनको पनि माग गर्नुभयो । उहाँहरुले नाफामुक्त शिक्षा र सार्वजनिक गुठीमा रूपान्तरणबारे धारणा राख्नुभयो ।

सांसद छविलाल विश्वकर्माले निजी विद्यालयको योगदान अस्वीकार गर्न नसकिने उल्लेख गर्दै निजी विद्यालयहरूको शुल्क, पाठ्यपुस्तकलगायतका विषयमा प्रभावकारी नियमन आवश्यक रहेकामा जोड दिनुभयो ।

सांसद रेखा शर्माले संविधानले ग्यारेन्टी गरेको शिक्षाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “निजी विद्यालय सधैका लागि होइन, राज्यले आँट गर्नुपर्छ, बाध्यकारी नियम बनाउनुपर्छ ।”

सांसद विद्या भट्टराईले संविधानमा उल्लेख गरिएको निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनको आवश्यकता औंल्याउँदै यसलाई सम्बोधन गरेर कानून निर्माण गर्नुपर्ने बताउनुभयो ।

सांसद सुमना श्रेष्ठले शिक्षालाई सेवामूलक र गैरनाफामूलक बनाउनुपर्ने बनाउनुपर्ने भन्दै शिक्षा भनेको मुनाफाको क्षेत्र नभइ यो लोककल्याणकारी सेवा रहेको बताउनुभयो ।

सांसद देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयको सशक्तीकरण सम्भव रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार, जनशक्ति र कानूनी मिलनको आवश्यकतामा जोड दिनुभयो । यसैगरी सांसद श्यामकुमार घिमिरेले निजी विद्यालय पूर्ण रूपमा निषेध गर्न नहुने धारणा राख्दै प्रभावकारी नियमन र पारदर्शी छात्रवृत्तिको आवश्यकता औल्याउनुभयो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षा सुधारको निम्ति राज्यले आँट गर्नुपर्ने र निजी निजी लगानीका विद्यालयलाई निश्चित समय तोकेर शैक्षिक गुठीमा लैजानुपर्ने धारणा राख्नुभयो ।

सांसद डा चन्द्रकान्त भण्डारीले निजी विद्यालयहरूले अनियमितता गर्दै आएको र सञ्चालकहरूले पैसाको प्रभाव देखाएको उल्लेख गर्दै कडाइका साथ नियमन गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसदहरूले शिक्षा नाफामूलक बन्न नहुने, सबैका लागि समान पहुँच सुनिश्चित गर्नुपर्ने र निजी विद्यालयलाई सार्वजनिक हितमा ढाल्ने ठोस नीति आवश्यक रहेको निष्कर्षमा जोड दिनुभएको थियो ।

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ, १२ असारः बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

“हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ”, उहाँले भन्नुभयो ।

समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा-जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिनुभयो ।

“अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्”, उहाँले भन्नुभयो ।

जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा-जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताउनुभयो ।

बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौँ, १२ असारः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गर्नुभएको छ ।

प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्नुभएको थियो । उक्त टोलीले निरीक्षण भ्रमणका क्रममा जङ्गी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो ।

सो क्रममा प्रधानन्यायधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरुलाई विशेष निर्देशनसमेत दिनुभएको छ ।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सर्वाेच्चले डा मुकुलको रिटमा दुवै पक्षलाई असार १७ गते बोलायो

काठमाडौँ, १२ असारः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशनमा परेका डा मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ ।

सर्वाेच्च अदालतलका प्रवक्ता अच्युत कुईँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको आजको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिनुभयो । डा ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री कायम राख्नुपर्ने र निर्वाचन आयोगको अभिलेख पनि कायम गर्नुपर्ने मागसहित बुधवार रिट दायर गर्नुभएको थियो ।

इजलासले निर्वाचन आयोगको अभिलेखबारे समेत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको प्रवक्ता कुईँकेलले जानकारी दिनुभयो । सर्वाेच्चले डा ढकालको मागअनुसार अन्तरिक आदेश जारी नगर्नुपर्ने कारण १५ दिनभित्र पेश गर्न पनि विपक्षीलाई भनेको छ ।

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छः महासचिव पोखरेल

काठमाडौँ, १२ असारः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताउनुभएको छ । काठमाडौँ जिल्ला कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवद्र्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

“बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ । बजेटका कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ,” महासचिव पोखरेलले भन्नुभयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयन भए थुप्रै संरचनात्मक समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो ।

महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दर प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाली युवा केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका बताउनुभयो । “हिजो भारततिर जान्थे, आज तेस्रो मुलुकतिर जान लागेका छन्” उहाँले भन्नुभयो ।

एमालेको नेतृत्वमा रहेको सरकारले ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको महासचिव पोखरेलले बताउनुभयो । एमाले र देशलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेले नियोजित रूपमा पार्टी र नेतृत्व माथि हमला गरेको उहाँको भनाइ थियो ।

पार्टीभित्र नेतृत्वको बहस गर्ने बेला नभएको उहाँले बताउनुभयो । अधिवेशनको समयमा नेतृत्वबारे छलफल गरी टुङ्ग्याउन एमाले सक्षम रहेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले अहिले पार्टी बलियो बनाउन एकतामार्फत अघि बढ्ने बेला भएको बताउनुभयो ।

बैठकमा एमाले केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेलले काठमाडौँमा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्ने बताउनुभयो । काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाको सङ्गठनात्मक विस्तार कार्यलाई तीव्रताका साथ लगिएको जानकारी दिनुभयो ।

खानेपानीलाई सर्वसुलभ तथा सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

काठमाडौँ, १२ असार : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ ।

आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत गर्नुभएको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधानले प्रत्याभूत गरी मौलिक अधिकारको रूपमा राखेको खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभयो हो ।

सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ उपलब्ध गराउन व्यवधानका रूपमा रहेका कानुनी व्यवस्थालाई मन्त्रालयले समयानुकूल पुनरावलोकन गरिरहेको समेत मन्त्री यादवले सदनलाई जानकारी गराउनुभएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सार्वजनिक निजी साझेदारीको अवधारणमा स्थापित कम्पनी भएकाले यसमा खानेपानी मन्त्रालय, स्थानीय तहहरु तथा निजी क्षेत्र समेतको शेयर लगानी रहेको उल्लेख गर्दै कम्पनी मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा नरहेको उहाँको भनाइ थियो ।

उहाँले खानेपानीमा राजस्व, आयकर÷भ्याटलगायत सम्पूर्ण कर छुट हुनुपर्ने र यस विषयमा खानेपानी मन्त्रालय सकरात्मक रहेको बताउनुभयो । यस विषयमा मन्त्रालयको धारणासहित गत पुस १२ गतेको अर्थ मन्त्रालयमा पत्राचार गरिएको उहाँको भनाइ थियो । “यस विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइ सकिएको छ, मन्त्रालय तहबाट गरिनुपर्ने कार्यहरू सम्पन्न गरी अर्थ मन्त्रालयलाई यस सम्बन्धमा ताकेता भइरहेको छ”, उहाँले भन्नुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु नाफारहित सामुदायिक संस्था रहेको उल्लेख गर्दै उहाँले सबै किसिमको पम्पिङ प्रणालीका खानेपानी तथा सरसफाई आयोजनाहरू संचालन गर्दा खपत हुने विद्युत् महसुलको दर सिँचाइको विद्युत् महसुलको दर सरह कायम गर्नका लागि पनि प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षमा पनि विद्युत् महसुलमा अनुदान उपलब्ध गराउने विषय बजेट वक्तव्यमा उल्लेख रहेकाले यससम्बन्धी आवश्यक निर्देशिका तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत नियमन आयोगको प्रतिनिधिको समेत उपस्थितिमा छलफल गरी उक्त आयोगको नियमावलीमा खानेपानी आयोजनाहरुमा प्रयोग हुने विद्युत् महसुल नुदानको विषयलाई सम्बोधन गर्न गत जेठ २५ मा विद्युत् नियमन आयोगमा पनि पत्राचार गरिएको जानकारी गराउन चाहन्छु ।”

यसैगरी नगर विकास कोष खानेपानी मन्त्रालय मातहत नभए पनि यस विषय सम्बन्धमा गत माघ १२ गते सचिवस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयलाई सहमतिको लागि पत्राचार गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विभिन्न खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिहरूले नगर विकास कोषको विद्यमान पाँच प्रतिशत ब्याजदरलाई तीन प्रतिशतमा घटाउन मन्त्रालयलाई अनुरोध गरिरहेको र सोही अनुरूप मन्त्रालयले आवश्यक पहल गरिरहेको छ ।”

सहलगानी भएका आयोजनाको कूल लागतको कम्तीमा १५ प्रतिशत उपभोक्ता संस्था व स्थानीय तहले बेहोर्ने गरी सहलगानी खानेपानी तथा सरसफाई आयोजना कार्यन्वयन निर्देशिका, २०८१ गत माघ २१ गते परिमार्जन भइ लागू भउको मन्त्री यादवले बताउनुभयो । अन्य खानेपानी तथा सरसफाई आयोजनाहरुको हकमा पनि एकीकृत निर्देशिका मस्यौदाको तयारीको क्रममा रहेको र छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

पानी शुद्धीकरणका लागि अत्यावश्यक रसायनका रूपमा रहेको ब्लिचिङ पाउडर नेपालमै सर्वसुलभ रूपमा उपलब्ध हुनुपर्ने मन्त्रालयको धारणा रहेको उहाँको भनाइ थियो । उहाँले उद्योग स्थापनासम्बन्धी कार्य उद्योग मन्त्रालयको कार्यक्षेत्रमा रहे पनि मोडेलमा निजी क्षेत्रलाई प्रोत्साहन र आकर्षित गरी उद्योग सञ्चालन गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकताः मन्त्री खड्का

काठमाडौँ, १२ असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता भएको बताउनुभएको छ ।
चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आज आयोजित शङ्घाई सहयोग सङ्गठन (एससिओ) को सदस्य राष्ट्रको पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकको ‘उच्च–गुणस्तरीय ऊर्जा विकासका लागि नीति नवप्रवर्तन’सम्बन्धी सत्रमा आफ्नो धारणा राख्दै मन्त्री खड्काले ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकता भन्दै क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनको खाँचो रहेको औँल्याउनुभयो । ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय भएको उल्लेख गर्नुभएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

मन्त्री खड्काले नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको, करिब ९९% जनतालाई विद्युतको पहुँचमा पु¥याएको र हाल ९५% भन्दा बढी विद्युत् उत्पादन नवीकरणीय ऊर्जाको स्रोतबाट गरिरहेको उल्लेख गर्नुभयो ।

भारतसँग १३२ केभी तथा सोभन्दा कम भोल्टेज स्तरका कयौँ प्रसारण लाइनसँगै ४०० केभी ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा रहेको मन्त्री खड्काले बताउनुभयो । यस्तै, बङ्गलादेशसँग भारतमार्फत विद्युत् निर्यातको ऐतिहासिक सम्झौता सम्पन्न भएको र चीनसँग रसुवागढी÷चिलिमे–जिलोंग÷केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको उहाँले बताउनुभयो ।

ऊर्जा भविष्य सुरक्षित, समावेशी र हरित बनाउन दिर्घकालीन विद्युत् व्यापारलाई प्रोत्साहन गर्ने क्षेत्रीय नीतिगत समन्वय, प्रसारण पूर्वाधारमा क्षेत्रीय लगानी तथा साझेदारी र पारदर्शी मूल्य निर्धारण तथा हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकास आवश्यक रहेको मन्त्री खड्काले बताउनुभयो ।

नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र सोमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । यस्तै, सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन, सबैका लागि स्वच्छ खाना पकाउने ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गर्नुभयो ।

विद्यालय शिक्षा विधेयक सम्बन्धि प्रतिवेदनमाथि शुक्रबार पुनः छलफल हुने

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि(शुक्रबार) बिहान ११ः३० बजे बस्नेगरि स्थगित भएको छ ।विहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितीमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथिको छलफल भोलि बिहानको लागि स्थगित भएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन् ।

उनले भोलि बिहान ९ बजे परामर्शको बैठक बसेर, ११ः३० बजे आज स्थगित बैठकलाई निरन्तरता दिने पनि बताए । जसरी भएपनि विधयेकलाई टुङ्गोमा पु¥याउनुपर्ने उनको भनाइ छ ।

प्रदेश स्तरका सबै खेलाडीलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशसका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश स्तरको मधेशका सम्पूर्ण खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने बताएका छन् बिहीबार जनकपुरधाममा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशका खेलाडीहरुको प्रोत्साहनका लागि सम्पूर्ण प्रदेश स्तरका खेलाडीहरुलाई महिनावारी नभए वर्षमा एकैपटक जोडेर रकम उपलब्ध गराउने जानकारी दिए ।

मधेश प्रदेशले विगतमा भएको राष्ट्रिय स्तरको विभिन्न खेलहरुमा जित हासिल गरेर प्रदेशको नाम बढाएको स्मरण गराउँदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा खेलकुदको विकासका लागि प्रदेश सरकार सँधै तत्पर रहेको उल्लेख गरे

उनले मधेश प्रदेश सरकारको आयोजनामा आगामि दिनमा विभिन्न प्रदेश स्तरीय खेलहरु हुने र त्यसमा अन्य प्रदेशका खेलाडीहरु पनि सहिभागि हुने जानकारी दिए

मुख्यमन्त्री सिंहले युवा पुस्तालाई खेलकुदमा लागेर आफ्नो र आफ्नो प्रदेशको नाम उचाईमा लग्न आग्रह गरे ।
विहीबारदेखि सुरु भएको मुख्मन्त्री अन्तर प्रदेश कबड्डी प्रतियोगिता तीन दिनसम्म चल्ने जनाइएको छ । प्रतियोगिता मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भइरहेको छ । प्रतियोगितामा सातवटै प्रदेशका कबड्डी खेलाडीहरुले भाग लिएका छन् ।

संस्कृत विश्वकै सम्पत्ति बन्न पुगिसक्यो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन् । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामा नै गहिरो प्रभाव पर्दै आइरहेकोमा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताएका हुन् ।

उनले भने, ‘कम्प्युटर र ए.आईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ । आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।’

उपनिशषदको ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्दरण गर्दै उनले यो संस्कृत सम्मेलनले युद्धको बिभीषिका र सन्त्रासमा उल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानवसभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए

राष्ट्रपति पौडेलले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताउँदै भने, ‘तर त्यो अपर्याप्त छ, र अझ धेरै काम गर्न बाँकी छ, त्यसमा सहकार्य पनि आवश्यक छ ।’

राष्ट्रपति पौडेलले विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस््कृत भाषाको चरम विकास भंएकोबेला ठालुहरूले दलित वाँ अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भनेर सिमाकरण गरेकाले जनबोलीको भाषा हुन नसकेको उल्लेख गर्दै संस्कृतलाई जनबोलीको भाषा बनाउन आवश्यक भएको बताए ।

उनले नेपाल प्राचीन कालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएका थिए भने वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको स्पष्ट पारे

राष्ट्रपनि पौडेलले राजर्षि जनक, शान्तिसन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उल्लेख गर्दै भने, ‘नेपाल एउटा प्राचीन राष्ट्र हो, जसको इतिहास दुई हजार पच्चीस सय वर्षदेखि निरन्तर रहँदै आएको छ । नेपाल शब्दको प्रयोग अथर्ववेदमा नै भएकाले र पौराणिक, तान्त्रिक, स्मृतिग्रन्थ, आयुर्वेद, कौटिल्यको अर्थशास्त्र आदि प्राचीन लाखौँ ग्रन्थहरूमा नेपालका विषयमा अनेक प्रसङ्ग आएकाले यसको प्रचीनता, सनातन वैदिक परम्परा निष्ठता, शान्तिप्रियता, सहिष्णुता, समन्वयमूलकता यस देशको स्वभाव रहँदै आएको बोध हुन्छ ।’

उनले लिच्छविकालमा संस्कृत नै राजभाषा भएको कुरा तत्काल कुँदिएका २०० भन्दा बढी शिलापत्र र अभिलेखहरू प्राप्त भएबाट पुष्टी हुने भन्दै भने, ‘मल्ल र शाहकालमा पनि हजारौँ हजार संस्कृतका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गमभूमिमात्र होइन उर्वरभूमि हो भन्ने कुरा सिद्ध हुन्छ ।’

विदेशमा रहेका नेपालीहरुको सुरक्षा, मूल्यांकन र सेवामा तत्पर छौं : मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई सुधार गर्दै जाने बताएकी छन् । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौ भन्ने विषयमा एकदमै दृढ भएर लागिरहेको बताइन् ।

उनले भनिन्, ‘बाहिर काम गर्न जानु भएका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौ भन्ने विषयमा एकदमै दृढ भएर लागेका छौं । दुईतीन मन्त्रालय मिलेर काम अगाडि बढाइरहेका छौ । अझै सुधार गर्छौ । विदेशमा जतिपनि नेपालीहरु छन् उनीहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई अझ सुधार गर्दै जान्छौं ।’

यस्तै, उनले वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाकै हिसाबले ‘श्रम संसार’ भन्ने एप रजिस्टर गरेको र त्यो सफल भयो भने कुन देशमा को छ भन्ने कुरा सहजै उपलब्ध हुने बताइन् । सोही क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले नेपाली नागरिकहरु को कहाँ गएका छन्, कति गएका छन् भन्ने विषयमा धेरै खाडलहरु भएको भन्दै यसलाई सुधार गर्दै जाने क्रम सुरु गरेको बताए ।

उनले भने, ‘नेपाली जुनसुकै ठाँउमा भएपनि नेपाली हो भन्ने कुरा उनले पनि अनुभूति गर्नुपर्छ र दायित्व भोग्नुपर्ने हुन्छ । तर प्रश्न के छ भने अहिले नेपाली को कहाँ गएका छन्, कति गएका छन् भन्ने कुरा धेरै खाडलहरु छन् । जसलाई सुधार गर्दै जाने क्रममा आजको अवस्थासम्म आइपुगेका छौं ।’
साथै, उनले सूचनाको अभावले नेपालीहरु ठगिने गरेको भन्दै सूचना प्रणालीलाई बलियो बनाउनको लागि प्रविधिहरुको प्रयोग गरेर राष्ट्रिय स्तरको पोर्टलको घोषणा गरेको बताए ।

उनले भने, ‘आज जुन पोर्टलको घोषणा गरेका छौ, यसलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने छ । राष्ट्रिय स्तरको पोर्टल भएकाले सेवाहरु जोड्दै जान्छौ । सेवा जोड्ने क्रममा प्रत्येक पालिकादेखि विदेशसम्म नेटवर्क बनाउन खोजि गरिरहेका छौ । नागरिक एपमा पनि जोड्या छौ । सूचनाको अभावले नेपालीहरु ठगिने गरेकाले सूचना प्रणालीलाई बलियो बनाउनको लागि प्रविधिहरुको प्रयोगमा बृद्धि गरेका हौं ।’

कोरियाली बुहराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने

काठमाडौँ, ११ असारः दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका माध्यमबाट सद्भावना दूत (ब्राण्ड एम्बेसडर’ छनोट गर्ने जनाएको छ । कम्पनीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी प्रतिस्पर्धामार्फत तीन जना दूत छनोट गर्न लागेको जानकारी दियो ।

गत जेठदेखि सुरु भएको सो कार्यक्रम आगामी माघसम्म चल्नेछ । विभिन्न तीन चरणमा आयोजना हुने सो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच लाख पुरस्कार र एक वर्षका लागि रु एक करोड बराबरको सद्भावना दूत सम्झौता गरिने आयोजकले जनाएको छ ।

दोस्रो हुनेलाई रु चार लाख पुरस्कार र एक वर्षका लागि रु ५० लाखको सम्झौता तथा तेस्रो हुनेलाई रु तीन लाख पुरस्कार र रु वार्षिक ३० लाखको सम्झौता हुने कम्पनीका कार्यकारी निर्देशक बिमलराज गोसाइँले जानकारी दिनुभयो । नेपालको दूरदराजमा रहेका प्रतिभा प्रस्फुटन गराई उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको उहाँको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुनेले एसवाई कम्पनीको नेपाल साझेदार सहायक कम्पनीको प्रवद्र्धनात्मक भिडियो बनाएर पेस गर्नुपर्ने र उत्कृष्ट भएकालाई सद्भावना दूत नियुक्त गरिने कार्यक्रम संयोजक विजय बस्नेतले जानकारी दिनुभयो । उक्त कम्पनी अन्तर्गत नेपालमा रहेका विभिन्न सहायक कम्पनीमा दुई सयभन्दा बढीले प्रत्यक्ष र २० हजारभन्दा बढीले अप्रत्यक्ष रोजगार पाएका कम्पनीको दाबी छ ।

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

काठमाडौँ, १२ असारः सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवनई समितिमा सात उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति इश्वरी देवी न्यौपानेले जानकारी गराउनुभयो ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको छ ।

सभापति न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्त विरुद्ध दुई र शान्तिसिंहविरुद्ध एक तथा सैद्दान्तिक विषयसँग समबन्धि दुई वटा उजुरी परेको छ । शुक्रवार उजरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाई गर्ने समितिले जनाएको छ । उजुरीकर्तालाई आजको समितिको बैठकमा आमन्त्रण गरिएको थियो ।

गण्डकी प्रदेशसभाः बजेटमाथि उठेका प्रश्नमा मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

गण्डकी, १२ असारः गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आव २०८२÷८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ प्रस्तुत गर्नुभएको छ ।

बैठकको सुरुमा वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले उक्त मन्त्रालयको आगामी आवको योजना, कार्यक्रम र बजेटबारे उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको थियो । मन्त्री पौडेलले सबै माग सम्बोधन गर्न नसकेपनि मन्त्रालययले आवश्यकता पहिचान गरी बजेट विनियोजन गरेको बताउनुभयो ।

बजेट निर्माणमा क्रममा भुलबश भएका कमजोरीलाई मन्त्रालयले आगामी दिनमा सच्चाउने उहाँको भनाइ छ । मन्त्री पौडेलले मुस्ताङलगायत हिमाली जिल्लाका किसानको बाली र पशुधनमा पुगेको क्षतिको राहतका लागि प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने बताउनुभयो । उहाँले अन्नपूर्ण र मनाश्लु संरक्षण क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउन सके प्रदेशको राजश्व वृद्धि हुने उल्लेख गर्नुभयो । पोखरी तथा चौतारो संरक्षणलगायतका कामलाई अभियानका रुपमा सञ्चालन गरिने उहाँको भनाइ थियो ।

उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले नवलपुरको लोकाहाखोला र कास्कीको पुँडीटार औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदन स्वीकृत भएको जानकारी दिनुभयो । उहाँले प्रदेश गौरवका आयोजनाका रुपमा रहेका यी दुई औद्योगिक क्षेत्रलाई चाहिने जग्गाको भोगाधिकार लिने प्रकृया अगाडि बढेको बताउनुभयो ।

मठमन्दिरलगायत धार्मिक क्षेत्रमा विनियोजन गरिएको बजेट धार्मिक पर्यटन प्रवर्द्धनका लागि भएको मन्त्री बस्यालले उल्लेख गर्नुभयो । बजेट छलफलका क्रममा मठमन्दिरलाई बजेट धेरै विनियोजन गरेर उद्योग क्षेत्रलाई कम प्राथमिकता दिएको भन्दै प्रदेशसभा सदस्यहरुले प्रश्न उठाउनुभएको थियो । मन्त्री बस्यालले पदमार्ग, धार्मिक पूर्वाधार, उद्योगलगायतका क्षेत्रमा बजेटलाई केन्द्रित गरिएको भनाइ राख्नुभयो ।

आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ लगानी सम्मेलनका लागि मन्त्रालयले तयारी अगाडि बढाइसकेको जानकारी दिनुभयो । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले राम्रा कार्यक्रम निरन्तरता दिँदै केही नयाँ योजना अगाडि बढाएको भनाइ राख्नुभयो । उक्त मन्त्रालयमार्फत आगामी आवमा १४ जनालाई विभिन्न १९ थरी सीप प्रदान गरिने उहाँको भनाइ थियो । उहाँले उद्यमशीलता प्रवर्द्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदान दिइने बताउनुभयो ।

सीप विकास तालिम केन्द्रमार्फत तीन महिने तालिम दिएर स्वदेशमा आत्मनिर्भर बन्न युवाहरुलाई प्रेरित गरिने मन्त्री थापाको भनाइ थियो । उहाँले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउनेलगायत प्रदेशसभामा रहेको ऐनलाई चाँडै पूर्णता दिइने उल्लेख गर्नुभयो । कृषि तथा भूमिसुधारमन्त्री पद्यमा जिसी श्रेष्ठले किसानको हितमा कार्यक्रम केन्द्रित गरिएको बताउनुभयो ।

बाँकी मन्त्रालयका तर्फबाट शुक्रबारको बैठकमा जवाफ प्रस्तुत हुने जनाइएको छ । यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेशसभामा छलफल सुरू भएको थियो ।

बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेत पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो ।

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

गण्डकी, १२ असार : गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी वर्ष २०८२÷०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ ।प्रदेशसभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो ।

वटा मन्त्रालयका मन्त्रीले आज र बाँकीले शुक्रबारको बैठकमा जवाफ दिने उहाँले बताउनुभयो । यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेशसभामा छलफल सुरू भएको थियो । बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेट पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

पर्वत, १२ असार : पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ ।
चालु आर्थिक वर्ष विसं २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाई/गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरू गर्नुभएको छ ।

चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा रु १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिनुभयो ।

प्रतिगाई रु दुई हजार र प्रतिहल गोरु रु आठ हजारका दरले अनुदान वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर तोकिएको मापदण्ड पूरा गरेका कृषकहरूलाई छनोट गरेर रकम वितरण गर्न थालेको हो ।

स्थानीय जातको गाई संरक्षण, गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम प्रभावकारी बनेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाभित्र गाई र हलगोरू पाल्ने कृषकको सङ्ख्या समेत बर्सेनि बढ्दै गएको छ ।

व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भिर नजिकका जग्गा बाँझो रहन नदिन हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको उहाँले बताउनुभयो ।

यो कार्यक्रममार्फत आगामी आव विसं २०८२/८३ मा पनि रु १३ लाख विनियोजन भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । पछिल्लो कार्यकालका जनप्रतिनिधि निर्वाचित भएपछि आव विसं २०७९/८० देखि जलजलामा स्थानीय जातको गाई संरक्षण र हलगोरू पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ ।

आगामी आवको बजेटमा पर्वतको पैंयू गाउँपालिकाले पनि हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि बजेट विनियोजन गरेको छ । मिनिटेलर प्रयोग गर्ने जनशक्तिको अभाव हुँदै गएपछि गाउँपालिकाहरूले परम्परागत गोरू पाल्ने प्रचलनलाई नै बढाबा दिन थालेका हुन् ।

नवलपरासीको भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु

मध्यविन्दु (नवलपरासी), १२ असार : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन् : ‘आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउनुपर्‍यो’

कञ्चनपुर, १२ असार : शुक्लाफाँटा नगरपालिका–१०, खल्ला बस्तीका गङ्गाराम चुनारा परम्परागत काठका भाँडाकुँडा बनाउने सीपमा निपूर्ण छन् । बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको यो सीप अहिले पनि उहाँको परिवारको मुख्य जीविकाको आधार बनेको छ ।

“बाजेबाट बुबाले सिके, बुबाबाट मैले”, गङ्गाराम सुनाउनुहुन्छ, “यो नै परिवार पाल्ने माध्यम हो ।” पहिले फलामका औजारले हातैले बनाइने भाँडाकुँडा अहिले मेसिनबाट उत्पादन गर्न थालिएको छ, तर चुनारासँग आफ्नै मेसिन छैन । उहाँ अहिले विभिन्न फर्निचर उद्योगमा कामदारका रूपमा गएर परम्परागत भाँडाकुँडा बनाउने काम गर्नुहुन्छ । एकै ठाउँमा काम नपाउने भएकाले विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म आम्दानी हुने भए पनि कहिले काम नहँुदा आठ जनाको परिवार पाल्न मुस्किल हुने गरेको गुनासो उहाँको छ । उहाँले ठेकी, डोक्नी (मसाला पिस्ने काठको भाँडो), गिलास, मादल, अम्खोरा, गजुरजस्ता सामग्री बनाउने गर्नुहुन्छ । प्रति भाँडाकुँडा निर्माणमा रु १०० देखि रु ६०० सम्म पारिश्रमिक पाइन्छ ।

“आफ्नै मेसिन भए सहज हुन्थ्यो”, गङ्गाराम भन्नुहुन्छ, “तर आर्थिक अभावले किन्न सकिएको छैन ।” पालिका, प्रदेशदेखि सङ्घसम्म मेसिनको लागि सहयोग माग्दा पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ । स्थानीय सीपलाई आधुनिकीकरण गर्नुपर्ने आवाज उठाइरहँदा बेवास्ताको चपेटामा परिरहेको उहाँ बताउनुहुन्छ ।

स्थानीय तह र जनप्रतिनिधिले सीपलाई संरक्षण गर्न कार्यक्रम नल्याउँदा पेसा पलायनको अवस्था आएको चुनाराको गुनासो छ । “पुख्र्यौली सीप बोकेका युवाहरू भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन्, कोही पनि यो कार्य चाहँदैनन् यसको कारण जीविका चलाउन मुस्किल छ, पैसा छ, सम्मान र अनुदान छैन”, उहाँ भन्नुहुन्छ, “सनबोरा नदी किनारको एक कट्ठा ऐलानी जमिनमा कच्ची घर छ, कमाएको पैसाले घर चल्छ, तर सुरक्षित आवास बनाउन सकिएको छैन ।”

नागरिक अधिकार, सुरक्षित आवास र आत्मनिर्भरताको सवालमा आवाज उठाउँदै आएका राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार गरी खाने दलित समुदायलाई नजिकको सरकार नगरपालिकाले मेसिन खरिद गर्न अनुदान दिनुपर्ने बताउनुहुन्छ ।

“सुरक्षित नागरिक आवास कार्यक्रममा दलित परिवारलाई समेट्दै मेसिनलगायतका आयआर्जन हुने कार्यक्रममा अनुदान दिनुपर्छ, त्यसका लागि आवाज उठाउन तयार छौँ”, उहाँले भन्नुभयो, “बञ्चितीकरणमा परेका समुदायका आवाज सम्बोधन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाउने कार्य भएको छ, माग सम्बोधन नभए अधिकारका लागि सङ्घर्ष गर्छौँ ।”

शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले दलित सीपको संरक्षण र व्यवसायीकरणका लागि वडा तथा नगरपालिकाले पहल लिने बताउनुभयो । “वडाको बजेटले नपुग्ने भएकाले सङ्घ र प्रदेश सरकारसँग माग गर्छौँ”, उहाँले भन्नुभयो, “गैरसरकारी संस्थासँगको साझेदारीमा ११ दलित परिवारका लागि आवास निर्माण सम्पन्न भएको छ । छुटेका परिवारका लागि पनि पहल गर्छौँ ।”

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

प्रतीक्षा आले, गोरखा । असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो कालकोठरीभित्र खलखल पसिना काढ्तै ओत लाग्दै छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु । आफ्नो नाममा नङमा लाउने माटो पनि नभएको उनी काकी नाता पर्ने पार्वती परियारले ओत लाग्न दिएको यो टहरोलाई सुविधासम्पन्न दरबार मान्न बाध्य छिन् ।

सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिकाको आशा र भरोसाको त्यान्द्रो एक महिने छोरा यही टहरोभित्र हुर्कँदै छ । जुन शिशु गर्भमा आएदेखि आफू पतिबाट र घरबाट लखेटिइन्, माइतीबाट पनि एक्लिइन्, उनै शिशुलाई उनले गत जेठ १० गते गोरखा अस्पतालमा जन्माएकी थिइन् ।

“अनि बाबुको नाम चाहिँ के राखिदिनुभयो त ?”, यो प्रश्नले मनिकालाई झन भारी चोट दियो । उत्तर दिन नसकेर छाँगाबाट खसेजस्तै भइन् र फेरि सम्हालिँदै भनिन्, ‘खोइ दिदी, बाबु एक महिनाको भइसक्यो तर नाम के राख्ने केही सोचेकी छैन । न्वारान गरेको भए पो नाम राख्नु ।” मनिकाले २०८० साल मङ्सिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका २३ वर्षका मिलन श्रेष्ठसँग बिहे गरेकी थिइन् ।

अन्तरजातीय विवाह भएकाले मिलनको घर परिवारले सहजै स्वीकार गर्ला भन्ने आशा मनिकालाई थिएन । “तपाईँ नेवारको छोरो, म दमाइकी छोरी । तपाईँको घरपरिवारले मान्दैन, नबोलौँ भन्थेँ म । उ (मिलन) भने साह्रै जिद्दी, मलाई फकाएर, घुक्याएर अनि एकपटक त तीन तले घरको छतबाट हाम्फालेर माया जालमा फँसायो”, मनिकाले भनिन्, “जीवनमा कहिले कसैको माया नपाएकी म, उसको कुरामा सजिलै फँसिहालेँ । उसले मलाई घरमा बाहुनी हो भनेर धुमधामले भित्र्यायो । इष्टमित्र, छरछिमेक बोलाएर भोजभतेर पनि गर्‍यो । मैले नढाटौँ भनेकी थिएँ तर उसले बिहे भइसकेपछि जसरी पनि मान्छन्, चिन्ता नगर भन्थ्यो । मैले पनि उसले भनेजस्तै गरेँ ।”

बिहेपछि उनीहरू चितवनको कार्यथलो फर्किएका थिए । उनीहरू दुवैजना चितवनको भरतपुर महानगरपालिका–१ गोद्राङस्थित कोकाकोला फ्याक्ट्रीमा काम गर्दथे । “हामी चितवन आएपछि मिलनको घरमा मेरो जात थाहा भएछ । मिलनको आमा–बाले हामीलाई फोन गरेर तिमीहरू मर्‍यौँ, अब यहाँ नआउनु भन्नुभयो । त्यसपछि उसको घर जाने कुरै भएन”, मनिकाले भक्कानिँदै भनिन् ।

उनलाई आज पनि त्यही ग्रहण लागेका दिनहरूको याद आयो । विसं २०७५ मा १४ वर्षको उमेरमा गाउँको एकजना चिनेजानेको दिदीको पछि लागेर चितवन पसेकी थिइन । उनै दिदीले मनिकालाई कोक फ्याक्ट्रीमा काम लगाइदिएकी हुन् । उनी भन्छिन्, “म गाउँको महेन्द्रशक्ति माविमा पढ्थेँ । आठ कक्षामा फेल भएँ । सँगैको साथीहरू माथिल्लो कक्षा पुगे । म लाज लागेर पढ्न गइनँ । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन, अभावै अभाव थियो । त्यसैले दुईचार पैसा कमाउँछु भन्ने सोचेर चितवन पसेकी थिएँ ।”

कोक फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको मिलनसँग भेट भयो । सँगै काम गर्ने क्रममा उनीहरू नजिकिन थाले । “काम गर्दै जाँदा चिनजान भयो । एकदिन, दुईदिन बोल्दै जाँदा ऊ मसँग धेरै नै नजिक हुन थाल्यो, पछिपछि त बिहे नगरे आत्महत्या गर्छु भन्दै धम्की दिन थाल्यो”, उनले भनिन्, “म सानो मान्छे, अभावै अभावमा हुर्किएको, घरपरिवारबाट पनि माया नपाएकी । उसले त्यस्तो गर्दा माया गर्छ होला नि त भन्ने लाग्यो । फ्याक्ट्रीमा काम गर्ने अरु दिदीबहिनीले पनि यो त पागल छ तेरो लागि, केही गरिहाल्यो भने गाल पर्छ भन्थे त्यसैले, पनि बिहे गरेकी हुँ ।”

मनिका र मिलनले काम गर्ने कोक फ्याक्ट्रीले गत वर्ष चैतमा उनीहरूसँगै अरु थुप्रै कर्मचारीलाई कामबाट हटायो । चितवनको ठाउँ, बिना काम दुईजना कोठामा बस्न खान समस्या भएपछि उनीहरू वैशाख (२०८१) मा रोजगारीको खोजीमा काठमाडौँ पुगे । काठमाडौँमा मिलनले मासु पसलमा काम पायो । मनिका भने सानोतिनो कामको खोजीमा थिइन् ।

“काम खोज्दै थिएँ, मङ्सिरमा बच्चा बस्यो । मेरो सोच त बच्चा नराख्ने नै थियो । उमेर पनि धेरै भाको छैन, दुईजनाको राम्रो कमाइ छैन । खाने बस्ने ठेगान पनि थिएन”, उनले भनिन्, “मिलनले भने जसरी पनि पछि पाउनु परिहाल्छ । बच्चा राख्नी भन्यो । उसैको करले बच्चा राखेँ । जसोतसो दुःख गरेर बच्चा हुर्किएला भन्ने सोचेर हामीले बच्चा राखेका थियौँ ।” गर्भवती भएपछि मनिकालाई डेङ्गीको सङ्क्रमण भयो । डेङ्गीले धेरै नै थलिएपछि डाक्टरले गाउँमा गएर बस्न सुझाव दिएको उनको भनाइ छ ।

“डेङ्गी लागेपछि काठमाडौँ बस्न गाह्रो भयो मलाई, गजुरी जाने कुरै भएन त्यसैले यहीँ माइतमा आएर बसेँ । मिलनलाई उतै काम गर्नु भनेर म यता आको । पछि त, ऊ पनि काम छाडेर मैसँग आयो”, उनले भनिन् । दुवैजना बक्राङ आएर बसेको केही समयपछि उनले मिलनलाई काम गर्न झापा पठाइन् । बक्राङकै दाजुभाइहरूसँग पैसा सरसापटी गरेर मिलनलाई काम गर्न झापा पठाएको उनी बताउँछिन् ।

“यहाँ गाउँमा खासै काम पाइन्न । बच्चा जन्मिएपछि पैसा चाहिन्छ भनेर मिलनलाई गएको पुसमा यतै गाउँको दाजुभाइमार्फत झापा पठाएँ । त्यतिबेला मसँग मोबाइल थिएन । मिलन झापा गएपछि हाम्रो खासै फोन सम्पर्क पनि भएन । उता गएपछि ऊ धेरै परिवर्तन भएछ”, त्यसपछि सुरू भएको कालो दिनको स्मरण गर्दै उनले भनिन्, “ऊ झापा गएपछि गाउँका दिदीहरूले तेरो बुढाले फेसबुकमा अरू केटीको फोटो हालेको छ भन्न थाले । मैले पनि अरुसँग मोबाइल मागेर हेरेँ । फोन गरेँ तर उसले मसँग झगडा मात्र गर्न थाल्यो । मैले धेरै नै बोलाएपछि बल्लबल्ल फागुनको १६ गते यहाँ आयो । मेरो लागि मर्न तयार भएको मिलन थिएन, यतिबेला अर्कै भइसकेको रहेछ । उसको चारपाँच दिन बसाईमा हामीबीच सय पटक झगडा भए । त्यसपछि ऊ निस्केर गयो, त्यसयता उसको कुनै खबर छैन ।”

यति कुरा गर्दासम्म मनिकाको आँखामात्र आँसुले भिजेका थिएनन्, गालामा डामपार्दै छातीतिर गुडुल्किरहेका थिए । उनका अनुसार मिलन गएको फागुनमा आउँदा आमाले घरमा बोलाको छ भनेर निस्केका थिए । मिलन गएको केही दिनपछि मनिकाको काकी पार्वतीलाई मिलनको गाउँले भाइको फोन आयो । फोन गर्ने मान्छेले मिलनले घरमा अर्को केटी लिएर आएको खबर दिएको मनिकाले बताइन् ।

“यहाँबाट गएपछि पहिलाको बूढीले छोडेर गई भन्दै फेरि अर्को केटी घर लगेछ । दोस्रो केटी पनि अर्कै जातको लगेपछि दुवैजनालाई घरबाट लखेटिदिएको रे भन्ने उसको गाउँको एकजना भाइबाट थाहा भयो”, मनिकाले गहँभरि आँसु पार्दै भनिन्, “मेरो पेटमा उसको बच्चा छ अनि, उ चाँहि यो सबै गर्दै हिँडेको छ भन्ने थाहा पाए पछि म छाँगाबाट खसेजस्तै भएँ । यो सबै सुन्ने बित्तिकै म केही नसोची काकीसँग रु १००सापट मागेर खैरेनी पुगेँ । पैसा थिएन, गहनाको नाममा एउटा चाँदीको सिक्री र सानो चाँदीको औँठी थियो । खैरेनीमा त्यही बेचेँ । मसँग फोन पनि थिएन त्यसैले खैरेनीबाट मामाको छोरीलाई लिएर गजुरी गएँ । गजुरी पुगेर दिदीको फोनबाट मिलनलाई कति फोन म्यासेज गरे तर उठेन । म त पागलजस्तो कहाँ जाने कसलाई भन्ने भएँ । गजुरीमा एउटा पुलिसचौकी रहेछ । त्यहाँ उजुरी दिन गाको पैसा लाग्छ भन्नुभयो । मसँग फर्किनको लागिमात्र पुग्ने पैसा थियो । पैसाको यतिसम्म अभाव थियो कि पानी किनेर खाने पैसा समेत थिएन । पेटमा बच्चा छ, गाडीमा अरुले पानी खाको देखेर थुक निल्दै गजुरीबाट खैरेनी फर्कियौँ । सिक्री बेचेको पैसाले दिदी र मलाई आउन जान मात्र ठिक्क भयो । खैरेनी आएर एकरात मामाघर बसेँ । मनको पीडा कसलाई सुनाउनु, भोलिपल्ट घर फर्किएँ । कुकुरले नपाएको दुःख पाउनु भनेको यसलाई नै भन्छ होला है दिदी ।” यति भनिरहँदा उनको भक्कानो फुटिसकेको थियो ।

मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे । “मिलन सम्पर्कविहीन भएको पनि तीन महिना बितिसक्यो । यसबीचमा मैले जे जति दुःखकष्ट भोगेँ त्यो सम्झँदा अब मलाई कोही चाहिन्न जस्तो लाग्छ”, उनी भन्छिन्, “जेठ ६ गतेको डेट थियो मेरो । तर, बच्चा पाउने सुरसार भएन । ९ गते बिना पैसा गोरखा अस्पतालमा भर्ना हुन गएँ । बच्चा पनि छ घण्टा अड्कियो । बल्लतल्ल बच्चा त जन्मियो । तर, बच्चालाई जन्डिस र थाइराइड देखिएछ । मलाई गोरखा अस्पतालमा राखेर बच्चालाई थप उपचार गर्न भरतपुर सरकारी अस्पताल लग्यो । बच्चालाई भरतपुर अस्पतालमा तीन दिन एनआइसियुमा राख्यो । मेरो उपचार, बच्चाको उपचार, सुत्केरी हुँदाको सबै खर्च खानापिना अहिलेसम्म सबै सहयोग जुटाएको पैसाले जसोतसो धानेको छु । गाउँको शिव विक (दाइ) र मन्दिरा विक (भाउजु)ले सबै सहयोग गर्नुभयो । गाउँमा अरुले पनि सहयोग जुटाएर सबै उपचार खर्च टारेको छु ।”

श्रीमान्को साथको खाँचो हुँदा एक्लै परेकी मनिकालाई अब कसैसँग कुनै आशा छैन । “यस्तो अवस्थामा छोडेर जाने पापीसँग के आशा राख्नु ? मेरो लागि त मरिसक्यो ऊ । अब आएर छोरालाई नाम दिए, उसको हकअधिकार दिलाइदिए हुन्छ । मचाहिँ अब यस्तै हो, आमाको अभाव बुझेकी छु । दुःखसुख गरेर बाबुलाई ठूलोमान्छे बनाउनु नै मेरो जीवनको लक्ष्य छ”, उनले भनिन् ।

“के बनाउने लक्ष्य छ नि बाबुलाई ?”, थोरै हाँस्दै मनिकाले भनिन्, “अञ्जानमा सम्बन्ध भयो, भविष्य पनि जानेको छैन त्यसैले उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु । के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होस् यसको बाउ जस्तोचाहिँ नहोस् । असल, ठूलो मान्छे होस् ।”

मनिका आफू सात वर्षको हुँदा आमा बितेको बताउँछिन् । “आमाको त केही सम्झना नै छैन । बुबा इण्डियातिर हुनुहुन्थ्यो आमा बित्दा । भाइ जम्मा दुई वर्षको थियो । म र भाइलाई हजुरआमाले हुर्काउनुभएको हो”, उनले भनिन्, “आमा बितेको धेरै वर्षपछि मात्र बुबा घर आउनुभयो । बुबाले दोस्रो बिहे त गर्नुभएन तर हाम्रो हेरविचार पनि गर्न सक्नुभएन । गाउँमा यस्तै त हो । पैसाको अभाव, फेरि बुबा बूढो हुनुहुन्छ अरूले जस्तो काम पनि गर्न सक्नुहुन्न ।” बुबाले आफू आठ कक्षामा पढ्दापढ्दै पढाइ छोड्दा, चितवनमा काम गर्न जाँदा, कलिलो उमेरमै बिहे गर्दा र अहिले बच्चा जन्माउँदा समेत केही नभनेको मनिका सुनाउँछिन् ।

“बुबाले त केही भन्नुहुन्न, धेरै बोल्नु पनि हुन्न । त्यही भएर नै म र मेरो १९ वर्षको भाइ अहिले अलपत्र परेका हौँ । भाइ पनि अहिले पोखरातिर गाको छ पढाइ छाडेर । तर, बुबालाई केही मतलब हुन्न । सायद आमा भइदिएको भए हामीलाई सम्झाउनुहुन्थ्यो होला, मेरो यस्तो अवस्था आउँदैन थियो होला । यदि यही अवस्थामा पनि आमा भइदिएको भए मेरो स्याहारसुसार गर्नुहुन्थ्यो होला”, गहँभरि आँसु पार्दै मनिकाले भनिन् ।

दुःखको रहरमा पौडिएर हुर्केको अहिले झन ठूलो दुःखको सागरमा डुब्नुपरेको दुखेसो गर्दै उनले भनिन्, “मेरो जिन्दगी हाँडीबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछोझैँ भयो ।”

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबलाई

हेटौंडा । हेटौंडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबले जितेको छ ।विभागीय टोली एपीएफलाई सोझो सेटमा हराउँदै न्यू डायमण्डले पाँच लाख राशीको पहिलो नेकोस कपको उपाधि उचालेको हो । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा बुधबार भएको फाइनल खेलमा न्यू डायमण्डले एपीएफलाई २५–१२, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।

विजेता नेकोसले पाँच लाख नगद र उपविजेता एपीएफले ३ लाख नगदसहित ट्रफि र मेडल पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी चुनिएकी छन् । विधागततर्फ उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबकी कोपिला राना, उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी गरिमा बोहरा, उत्कृष्ट सेटर डायमण्डकी प्रगति नाथ चयन भए ।
यसैगरी, उत्कृष्ट स्पाइकर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक डायमण्डका कुमार राई घोषित हुँदा उदीयमान खेलाडीको पुरस्कार गण्डकी प्रदेशकी रिकजना भोटेले पाएकी छन । विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

विजेता न्यू डायमण्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेट २५–१५, २५–१० र २५–१६ मा हराउँदै फाइनल यात्रा तय गरेको थियो । एपीएफले पनि नेपाल पुलिस क्लबलाई सोझो सेटमै हराएको थियो । एपीएफले पुलिसलाई २५–२१, २५–१८ र २५–२१ म निरीह बनाउँदै उपाधि होडमा न्यू डायमण्डसँग भेट पक्का गरेको हो ।

प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिसले लिएको छ । बुधवार तेस्रो स्थानको लागि भएको खेलमा पुलिसले गण्डकीलाई २५–२३, २५–१५ र २५–१८ को सेटमा पराजित गर्दै नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो स्थानमा खुम्चिएको गण्डकीले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

नेपाल स्पोर्टस सेन्टरले प्रतियोगिताको आयोजना गरेको थियो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा, हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानलगायतले विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं। आज (बिहीबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्दै छ।

बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरुसँग छलफल हुने छ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ। बिहान ९ बजे सिंहदरबारमा बस्ने उक्त बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने छ।

त्यस्तै,संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका माननीय सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १२ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ८०, मूला रातो प्रतिकिलो रु ४५, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४० र मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, टाटे सिमी मूल्य प्रतिकिलो रु ६५, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परबर (लोकल) प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ५५, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो रु ६०, चमसुुर साग प्रतिकिलो रु ४०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ४० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिला रु १००, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३३०, आँप (माल्द) प्रतिकिलो रु ८५, आँप (दशहरी) प्रतिकिलो रु ९०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० निर्धारण गरिएको छ ।

द्वारिकादेवी ठकुरानी क्रिकेटः जानकीको कप्तानीमा टोली घोषणा

बैतडी- द्वारिकादेवी ठकुरानी यु–१९ महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ । जानकी थापाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीले जानकारी दिए । टोलीमा करिश्मा थापा (उपकप्तान), ममता बोहरा (विकेटकिपर), रबिना बोहरा, पुनम मल्ल, तनुजा भण्डारी, रेश्मा विष्ट, सिमरन विष्ट, युविका भण्डारी, वर्षा भण्डारी, सोनिका ठगुन्ना, अमृता विष्ट, आकृति भण्डारी र आयुश्मा चन्द रहेका छन् । टोलीको प्रशिक्षकमा ऋतु कनौजिया र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरा रहेका छन् ।

कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको प्राविधिक सहयोगमा यही असार १२ गतेदेखि धनगढीको फाप्ला मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रदेशका आठ जिल्लाको टोलीको सहभागीता रहनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।

खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

पाटन (ललितपुर), १२ असार : ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्युु भएको छ ।

महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

“खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ, १२ असार : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनुहुनेछ ।

प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राससलाई जानकारी दिनुभयो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तत्र्रिmया गर्नुहुनेछ । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।

स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग चार करोड ७४ लाख छ ।

सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, एक दशमलव सात मोरक्कन, एक दशमलव दुई रोमानियन र अन्य जाति १२ दशमलव तीन रहेको तथ्याङ्क छ ।

स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो ।

नेपाल–स्पेन दौत्य सम्बन्ध

नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । उनीहरूमध्ये विशेष गरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न रहेको जानकारी दिइएको छ ।

नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन तथा त्यहाँका राजा कार्लाेसले पनि सन् १९८७ मा नेपालको चारदिने राजकीय भ्रमण गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६ मा स्पेनमा ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’मा भाग लिनुभएको थियो । त्यस्तै, सन् २०१९ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा भाग लिनुभएको थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२१ मा स्पेनको भ्रमण भएको थियो । त्यसअवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो । वैदेशिक रोजगारीका हिसाबले नेपालीका लागि स्पेन नयाँ गन्तव्य बनिरहेको छ । स्पेन विश्वमै पर्यटकीय गन्तव्यका रूपमा रहँदै आएको छ । त्यहाँको आयस्रोतको प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो ।

वार्षिक सवा करोड पर्यटकले स्पेनको भ्रमण गरेको तथ्याङ्क छ । यसैबीच स्पेनबाट सन् २०१८ मा १९ हजार ५६३ पर्यटक नेपाल भ्रमणमा आएकामा कोभिड–१९ पछि त्यसमा केही गिरावट देखिएको छ ।

नेपालको भौगोलिक अवस्थिति, प्रकृतिक सौन्दर्य, अनुपम सांस्कृतिक सम्पदा र विविध विशिष्ट पर्यटकीय स्थानले स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने प्रशस्त सम्भावना छ । अनुकूल हावापानी र साहसिक पर्यटन, आध्यात्मिक चिन्तन, ध्यान र योगका लागि नेपाल उपयुक्त गन्तव्य स्थलकारूपमा परिचित छ ।

नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले पनि स्पेनलगायतका युरोपली मुलुकका पर्यटकलाई नेपालबारे थाहा पाउन बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ ।

सोलुखुम्बुको फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान,नियमित उडान तालिका कागजमै सीमित

सोलुखुम्बु, १२ असारः पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौँ फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिनुभयो । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौँ पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताउनुभयो । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् । काठमाण्डौँ ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताउनुभयो ।

नियमित उडान तालिका कागजमै सीमित

जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरुले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नुहने भएपछि निजी विमान कम्पनीहरुले नियमित उडान तालिका समावेश नगरेको हुन् ।

नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौँ–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०÷१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ ।

फाप्लुबाट काठमाडौँसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बिपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौँ आउजाउ गर्न कठिन छ ।

स्थानीय बिमला राई भन्नुहुन्छ, “सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।” स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्नुहुन्छ, “मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।”

महोत्तरीका १४ स्थानीय तहको बजेट साढे नौ अर्ब

महोत्तरी, १२ असारः महोत्तरीका स्थानीय तहको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट रु नौ अर्ब ४२ करोड १७ लाख ९३ हजार रहेको छ । जिल्लाका १५ मध्ये १४ स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

जलेश्वर नगरपालिकाबाहेक यहाँका अरू सबै स्थानीय तहले आ–आफ्नो ठाउँको नीति तथा कार्यक्रम र वार्षिक बजेट गाउँ तथा नगरसभाको परिषद्मा प्रस्तुत गरेका छन् । स्थानीय तहका लागि बजेट प्रस्तुत गर्ने कानुनी रुपमा स्वीकृत तालिकाबमोजिम असार १० भित्रै नौ नगरपालिका र पाँच गाउँपालिकाले आ–आफ्नो तहको गाउँ तथा नगरसभाको परिषद् आयोजना गरेका हुन् ।

सबैभन्दा बढी बर्दिबास नगरपालिकाले रु एक अर्ब २२ करोड ४० लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । यसैगरी, गौशाला नगरपालिकाले रु एक अर्ब १५ लाख ५५ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेको छ ।

यसैगरी, भङ्गाहा नगरपालिकाले रु ७१ करोड ९८ लाख ४४ हजार, सम्सी गाउँपालिकाले रु ६३ करोड ४३ लाख १७ हजार, लोहारपट्टी नगरपालिकाले रु ५७ करोड ८८ लाख १९ हजार, मनराशिशवा नगरपालिकाले रु ५६ करोड ७४ लाख ८१ हजार र पिपरा गाउँपालिकाले रु ५३ करोड ५१ लाख ४७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेका छन् ।

यसैगरी, बलवा नगरपालिकाले रु ५२ करोड ९१ लाख ९४ हजार, सोनमा गाउँपालिकाले रु ४९ करोड ३८ लाख, रामगोपालपुर नगरपालिकाले रु ४६ करोड १६ लाख ७६ हजार र औरही नगरपालिकाले रु ४५ करोड २७ लाख ७७ हजारको बजेट प्रस्तुत गरेका छन् । मटिहानी नगरपालिकाले रु ४४ करोड ५० लाख, महोत्तरी गाउँपालिकाले रु ४३ करोड ९४ लाख ७३ हजार र एकडारा गाउँपालिकाले रु ३३ करोड ८६ लाख ९६ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेका छन् । जलेश्वर नगरपालिकाको नगरसभा परिषद् आयोजना हुन सकेको छैन ।

जिल्लाका स्थानीय तहले बर्सेनि बजेटको आकार बढाउँदै लगे पनि आन्तरिक स्रोत परिचालन, स्थानीय कर बढाउने उपायबारे खासै पहलकदमी लिएको देखिएको छैन । स्थानीय स्रोतसाधनको परिचालनबाट आय हुने भरपर्दो आधार स्थानीय तहले बनाउन नसक्दा बजेट सङ्घीय र प्रादेशिक सरकारले दिने विभिन्न शीर्षकका रकममा निर्भर देखिएका छन् ।

तीन तहका सरकारमध्ये स्थानीय तह जनतासँग प्रत्यक्ष सम्बन्ध हुने घरआँगनको सरकार भएको हुँदा जनअपेक्षा सङ्कलन र जनचाहनाबमोजिमका योजना सञ्चालनमा यो तहको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी

काठमाडौँ, १२ वैशाख : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १२ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०७ पैसा र बिक्रीदर १०० रुपैयाँ ५१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३८ पैसा र बिक्रीदर २१ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एमाले सचिवालय बैठकः विधान महाधिवेशनमा तीन प्रस्ताव पेस गरिने

काठमाडौँ, १२ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३औँ सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । विधान महाधिवेशनको तयारीका काम गर्न पार्टी केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिइएको छ । विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगामी भदौ २० देखि २२ गतेसम्म गर्ने तय भइसकेको छ ।

बैठकले विधान महाधिवेशनको तयारी गर्नका लागि आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी, केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पार्टीको पोलिटब्यूरो बैठक बस्ने निर्णय भएको छ । उपमहासचिव ज्ञवालीका अनुसार आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरी छलफलका लागि तल्लो तहको कमिटीमा पठाउने निर्णय भएको छ ।

यस्तै बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्बन फुकुवा गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरुलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

सरकारको एक वर्ष सफल र प्रभावकारी

एमाले सचिवालय बैठकले वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी, देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको बैठकको निष्कर्ष छ ।

बैठकले सुशासन र सेवा प्रभावमा अझ ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ । देशमा राजनीतिक स्थायित्वको आधार बलियो भएको, दुई पार्टीबीचको समझदारी नीतिगत र अरू निर्णयमा पनि बलियो बन्दै गएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । आज सम्पन्न सचिवालय बैठकले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्न थालेको निष्कर्ष निकालेकोे उहाँले बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले गत वर्ष अरूले नै बनाएको बजेट र नीति तथा कार्यक्रममा काम गर्नुपरेकाले अपेक्षा गरेजस्तो परिमाण आउन सक्दैनथ्यो भन्ने लागे पनि अनेकौँ बेथितिलाई सल्टाउँदै मुलुकलाई सही दिशातर्फ अघि बढाउन एमाले नेतृत्वको सरकार सफल भएको बताउनुभयो । आमजनताको सजकता, राजनीतिक दलको सक्रियता र सरकारको प्रभावकारिताका कारण प्रतिगामी प्रयास निस्तेज भएको बैठकले निष्कर्ष निकालेको छ । यसैगरी, बैठकले पार्टीमा अझ बढी भावनात्मक एकता सुदृढ गर्दै जाने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकद्वारा विभिन्न पाँच प्रस्ताव पारित

बैठकले वर्तमान सन्दर्भमा विभिन्न पाँच महत्वपूर्ण प्रस्ताव पारित गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । बैठकले इरान र इजरायलबीच जारी दुई साता लामो युद्धले समग्र खाडी क्षेत्रकै शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको भन्दै युद्धमा संलग्न दुवै पक्षलाई युद्धविरामको इमानदारीपूर्वक पालना गर्न, तनाव बढाउने कुनै पनि काम नगर्न, स्थायी रूपमा युद्ध अन्त्य गर्न सम्बद्ध पक्षहरूको ध्यानाकषर्ण गरिएको उहाँले बताउनुभयो ।

द्वन्द्वलाई नचर्काउन, द्वन्द्वमा सहभागी नहुन र विश्व शान्तिका लागि सार्थक योगदान गर्न बैठकले शक्ति राष्ट्रहरूको ध्यानाकर्षण गरेको छ । यसैगरी, ‘भिजिट भिसा’को दुरुपयोग भएको र यस सम्बन्धमा विभिन्न बेथिति एवं अनियमितता देखापरेको भनेर संसद्भित्र र बाहिर उठेका प्रश्नका विषयमा अध्ययन र छानबिन गर्न ‘उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ बनाउनु सकारात्मक कदम भएको निष्कर्ष निकाल्दै बैठकले यसमा संलग्न सबैलाई धन्यवाद दिएको छ ।

यसैगरी, दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यबाट त्यहाँ ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास रहेको भन्ने प्रारम्भिक प्रतिवेदनले देशमा उत्साह र आशाको सञ्चार उत्पन्न गराएको बैठकले ठहर गरेको छ । पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यले देशलाई ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बनाउन र समृद्धितर्फ अगाडि बढाउन यो परियोजना ठूलो संवाहक बन्न सक्छ भन्ने पार्टीको ठहर रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

यसैगरी, बैठकले पारित गरेको प्रस्तावमा यस वर्ष औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमानसमेतलाई ध्यानमा राख्दै राष्ट्रिय राजमार्गहरूलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाउन बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । उपमहासचिव ज्ञवालीका अनुसार सिङ्गो पार्टीपङ्क्तिलाई विपद् व्यवस्थापनका काममा तयारी अवस्थामा रहन र विपद्को बेलामा आ–आफ्नो ठाउँबाट परिचालित हुन सचिवालय बैठकले आह्वान गरेको पार्टीका उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालको परम्परागत सीपमा आधारित व्यवसायी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर । राष्ट्रिय युवा परिषदमा आवद्ध परम्परागत सीपमा आधारित युवा सञ्जालले नेपालको परम्परागत सीपमा आधारित व्यवसायी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय युवा परिषद्को सभा हलमा एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

यस अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा मुगु, जुम्ला, भक्तपुर जिल्लाका उद्यमीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई त्रिभुबन विश्वविद्यालय नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्व प्रमुख प्रा.डा.सोमप्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले उद्यमीहरुलाई हौसला प्रदान गरेका थिए । ‘आफ्नो कर्ममा पसिना बगाउ“दा राम्रो आम्दानी गर्न सकिन्छ । जागिर भन्दा उत्तम व्यवसाय उद्यम नै हो ।’ बस्नेतले भने, ‘परदेशमा गएर दुःख पाउनु भन्दा स्वदेशमै उद्यम, व्यवसाय गर्दा सन्तुष्टि मिल्छ ।’ अरुको जागिर गर्नु भन्दा आफ्नै उद्यम गर्न उनले प्रेरित गरे । परदेशमा गएर दुःख पाउनु भन्दा स्वदेशमै उद्यम गरेर बा“च्न सजिलो भएको उनले बताए ।
परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्ष राज कार्कीले पहिलो कार्यक्रम ऐतिहासिक भएको बताए । व्यवसायको आधुनिकीकरण गर्नु अहिलेको अपरिहार्यता भएको कार्कीले बताए । यो कार्यक्रम गर्न सहयोग गरेकोमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष बस्नेत र प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतमलाई उनले धन्यवाद व्यक्त गरे । सञ्जालका कोषाध्यक्ष अमित कुमार दासले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा सबै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै केही उदाहरणिय व्यवसायीलाई मायाको चिनो प्रदान गरिएको थियो । राष्ट्रिय युवा परिषदमा आवद्ध परम्परागत सीपमा आधारित युवा सञ्जालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको राष्ट्रिय युवा परिषद समन्वयमा भएको थियो ।