`

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४ रुपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८७ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८ रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

आज देशभर मौसम सफा रहने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौं, असोज ३१ । सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ ।सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सो कार्ययोजना अगाडि सारेका छन् ।

सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै सुधार गर्न सकिने विषय समेटिएको कार्ययोजना मन्त्रीस्तरीय बैठकबाट निर्णयगरी कार्यान्वयनमा ल्याइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।उद्योग वाणिज्य क्षेत्रका सरोकारवाला निकाय र क्षेत्रसँगको सघन छलफलका आधारमा मन्त्रालयले कार्ययोजना अगाडि सारेको तथा त्यसले औद्योगिक वातावरण बनाउँदै आर्थिक विकासका लागि मार्ग तय गर्ने विश्वास लिइएको छ ।

कार्ययोजनामा समयसीमासमेत निर्धारण गरिएको छ । त्यसमा आगामी कात्तिक महिनाभित्र सात, आगामी महिनाभित्र ११, पुसभित्र एक, माघमा १८ र फागुनमा दुईवटा सम्पन्न गर्नैपर्ने लक्ष्य निर्धारण गरिएको छ । केही भने निरन्तर रूपमा अगाडि बढाउनुपर्ने समयसीमा छ ।

मन्त्रालय र मातहतका निकायको बजेट तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा रहेर निर्धारण गरिएको कार्ययोजना लक्ष्य हासिल गर्न सकिने र वस्तुनिष्ठ रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी प्रवर्द्धन गर्न कम्पनी विधेयक, २०८२ को मस्यौता तयार पार्ने, गरिबी निवारणको लागि लघुउद्यम विकास योजना कार्यान्वयमा ल्याउने कार्ययोजनामा समावेश छ । त्यसका लागि गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ लाई समयानुकूल बनाउने उल्लेख छ ।

दलित समुदायको परम्परागत तथा मौलिक पेसाको संरक्षण तथा प्रवर्द्धनमार्फत रोजगारी तथा आयआर्जनका अवसर सृजना गर्नका लागि चालु आवको बजेटमा समावेश गरिएको ‘भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम’ सञ्चालनका लागि नीतिगत सहजीकरण गर्न भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ तय गरिनेछ ।

उद्यमशीलता विकास तथा स्टार्टअप उद्यम प्रवर्द्धन तथा प्रोत्साहन व्यवसाय संवर्द्धन केन्द्र सञ्चालन गर्ने योजना अगाडि सारिएको छ । मन्त्रालयका अनुसार स्टार्टअप कर्जा प्रवाह सहजीकरण योजनातर्फ स्टार्टअप उद्यमीहरूलाई बिनाधितो तीन प्रतिशत ब्याजदरमा कर्जा प्रवाहका लागि उद्यमीको प्रस्ताव आगामी पुस महिनाभित्रमा आह्वान गरी संक्षिप्त सूची प्रकाशित गरिनेछ ।मन्त्रालयका अनुसार कार्ययोजनामा खानी, खनिज तथा भूगर्भसम्बन्धी नीतिगत तथा कानुनी सहजीकरण गरिने उल्लेख छ । त्यसका लागि खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक, २०८२ को मस्यौदा तयार गर्ने लक्ष्य राखिएको छ ।

नेपाल उत्पादकत्व गुरुयोजना तयार गर्ने, विदेशी लगानी स्वीकृति सहजीकरण गर्ने, कम्पनी प्रशासनसँग सम्बन्धित सेवाको प्रभावकारिता अभिवृद्धि गरिनेछ । यस्तै, कम्पनीका पुराना अभिलेखलाई डिजिटाइजेसन गर्ने योजना पनि कार्ययोजनामा समावेश छ ।कम्पनी दर्ता तथा खारेजी प्रक्रियामा कार्यविधिगत सरलीकरण गर्ने, लगानीकर्ता र कम्पनीका लागि सहज हुनेगरी कम्पनी निर्देशिकालाई तत्काल परिमार्जन गर्ने लक्ष्य कार्ययोजनाले राखेको छ ।

औद्योगिक क्षेत्रबाट प्रवाह हुने सेवा तथा लिज हस्तानान्तरणसम्बन्धी प्रक्रियालाई थप पारदर्शी बनाउन विनियावलीमा आवश्यक संशोधन, परिमार्जन गरिनेछ । विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न प्रोत्साहन योजनातर्फ विशेष आर्थिक क्षेत्रको भूवहाल दर प्रतिवर्गमिटर प्रतिमहिना रु २० बाट घटाएर रु पाँच कायम गरिनेछ ।

बहुपक्षीय व्यापारको क्षेत्रमा नीतिगत सुधार योजनातर्फ विश्व व्यापार सङ्गठन ९डब्लुटीओ०मा व्यापार नीतिको पुनरावलोकन गर्ने, सेवा व्यापारसम्बन्धी एकीकृत रणनीति तयार पारिनेछ ।

बहुपक्षीय व्यापारसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनयोजनातर्फ नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति विषयमा वाणिज्य क्षेत्रको रणनीतिक योजना तयार पार्ने र व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजनामा समसामयिक सुधार गर्ने योजना समावेश छ ।

विदेशस्थित नेपाली नियोगसँग व्यापार तथा लगानीको विषयमा भर्चुअल माध्यमबाट छलफल गर्ने, वैदेशिक व्यापारको पूर्वाधार पुनर्निर्माण तथा सञ्चालन, भैरहवा, काँकरभिट्टा, टिमुरे, तातोपानी सुक्खा बन्दरगाह तथा विराटनगर एकीकृत जाँचचौकीको भौतिक संरचनाको मर्मतसम्भार गरी सञ्चालनमा ल्याइनेछ ।

नेपाल–चीनबीचका द्विपक्षीय व्यापार संयन्त्रको बैठक गर्ने र अष्ट्रेलियासँग व्यापार तथा लगानी सम्झौता समितिको बैठक सम्पन्न गरिने विषय कार्ययोजनामा उल्लेख गरिएको छ ।

सेवा प्रवाहको प्रक्रियागत सरलीकरण तथा सेवा प्रवाहतर्फ विद्युतीय व्यापारसम्बन्धी निर्देशिका, २०८२ तयार गरी कार्यान्वयनमा ल्याउने, आयात इजाजतपत्र पूर्ण रूपमा अनलाइनबाट जारी गरिनेछ । अत्यावश्यक तथा आवश्यक वस्तुको मूल्य पारदर्शितातर्फ अत्यावश्यक वस्तुको मूल्य निर्धारणको आधार र मापदण्ड तय गरिने, अत्यावश्यक वस्तुको मूल्य विश्लेषण गरी प्रत्येक महिनामा अनिवार्य रूपमा प्रकाशन गरिनेछ ।

स्वदेशी उत्पादन तथा बजार प्रवर्द्धनतर्फ निजी क्षेत्रसँगको सहकार्यमा स्वदेशी वस्तुहरूको खरिदबिक्रीलाई सहज र व्यवस्थित बनाउन ‘नेपाली उत्पादन’ नामक विद्युतीय पोर्टल तयार गरी सञ्चालनमा ल्याउने कार्ययोजनामा उल्लेख छ ।

नेपाल आयल निगमका डिपोमा फ्लोमिटर जडान गर्ने र निगममा टोल फ्रि नम्बर स्थापना गरी गुनासो सुनुवाइलाई थप व्यवस्थित गरिने विषयलाई मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा समावेश छ । वाणिज्य विभागको अनुगमन प्रभावकारी बनाउन पृष्ठपोषण प्रणाली सुरुआत गर्ने, खाद्यान्न उपलब्धताको सुनिश्चितताका लागि राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा २५ हजार मेट्रिक टन र सार्क खाद्य बैंकमा आठ हजार मेट्रिक टन खाद्यान्न भण्डारण गरिनेछ ।

१९ महिनापछि भारतीय हिरासतबाट दुई इरानी माझी रिहा

भारतको मुम्बई सहरमा बन्दी बनाइएका दुई इरानी माझीलाई रिहा गरी आफ्नो स्वदेश फर्काइएको सरकारी समाचार एजेन्सी आइआरआइबीले जनाएको छ ।
डुङ्गाको इन्जिन फेल भएपछि आपतिकालिन अवस्थामा इरानी माझीहरु भारतीय क्षेत्रमा प्रवेश गरेको भएता पनि उनीहरूलाई अवैध प्रवेशको आरोपमा पक्राउ गरिएको एजेन्सीले जनाएको छ । लामो सुनुवाइको प्रक्रिया पार गरि सकेपछि, उनीहरूलाई सबै आरोपहरूबाट मुक्त गरि रिहा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मुम्बईमा रहेका इरानी वाणिज्यदूत हसन मोहसेनिफार्डलाई उद्धृत गर्दै माझीहरूलाई १९ महिनादेखि हिरासतमा राखिएको थियो, यस अवधिमा उनीहरूलाई कडा परिश्रम गर्न बाध्य पारिएकोसमेत जनाइएको छ ।

इरानी वाणिज्य दूतावासको अनुगमन र भारतीय अदालतको सहयोगपछि उनीहरूको रिहाइ सम्भव भएको मोहसेनिफार्डले उल्लेख गर्नु भएको छ । यद्यपि, तिनीहरूको डुङ्गा भने जफत गरिएको छ । उहाँले इरानले भारत सरकारलाई कुटनैतिक रुपमा घाटाको क्षतिपूर्ति र डुङ्गाको रिहाइ लागि आह्वान गरेको बताउनु भएको छ ।

दिल्लीको विषाक्त वायुबाट भाग्दै स्वस्थ जीवन खोज्ने भारतीय परिवारहरू

भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको भयावह स्तरले असङ्ख्य नागरिकको जीवनशैली नै परिवर्तन गरिरहेको छ । यस्तै परिस्थितिबीच नताशा उप्पल र उहाँका श्रीमान् पनि अभिभावक बन्ने निर्णयमा सन्तानलाई यस्तो विषाक्त वातावरणमा हुर्काउने कि प्रदूषणमुक्त ठाउँमा नयाँ जीवन सुरु गर्ने भन्ने विषयमा ठूलो दुविधामा पर्नुभयो ।

तीन करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने दिल्ली विश्वका सबैभन्दा प्रदूषित सहरहरू मध्ये निरन्तर शीर्षमा रहँदै आएको छ । सहरमै हुर्किएकी ३६ वर्षीया उप्पलले विशेष गरी जब घरभित्रै एयर प्युरिफायरको आवाजमा दिन बित्थ्यो र उहाँ माइग्रेनको पीडाले थला पर्नुभएपछि लामो समयदेखि दिल्ली छोड्ने सोच राख्दै आउनुभएको छ ।

दम्पतीले सन्तान प्राप्तिको प्रयास गर्ने निर्णय गरेपछि निर्णायक क्षण आयो । उप्पलले भन्नुभयो, “हामीले सोच्यौँ, हाम्रो बच्चाका लागि कस्तो वातावरण चाहिन्छ ? तर दिल्लीको हावा त त्यसका लागि पूर्ण रूपमा अवरोध बन्यो ।”

सन् २०२२ मा दम्पती बेङ्गलुरुमा बसाइँ स¥यो र त्यहीँ केही दिनमै उप्पलले गर्भवती भएको खबर पाउनुभयो । उहाँहरू अहिले वायु प्रदूषणका कारण दिल्ली छोड्ने परिवारहरूको सानो तर बढ्दो समूहमा पर्नुभएको छ । मातृ स्वास्थ्य सहायता संस्था ‘म्याट्रेसेन्स इन्डिया’ की संस्थापक उप्पलले आफ्नो निर्णयलाई ‘जीवनको उत्तम विकल्प’ बताउँदै भन्नुभयो, “स्वच्छ हावा त मानवको आधारभूत अधिकार हो, जसको पहुँच सबैलाई सहज रूपमा हुनुपर्छ ।”

बेङ्गलुरुमा प्रदूषण कहिलेकाहीँ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा तीन गुणा पुग्ने गरे पनि त्यो दिल्लीको महीनौँसम्म चल्ने घना धुवाँभन्दा निकै कम छ । उप्पलले भन्नुभयो, “मेरो छोरो अहिले चाहेजति घरभित्र र बाहिर खेल्न सक्छ, यो दिल्लीमा असम्भव जस्तै थियो ।”

प्रत्येक जाडोमा दिल्ली धुवाँ, बाली जलाउने, कारखानाको उत्सर्जन र ट्राफिक जामको विषाक्त मिश्रणले ढाकिन्छ । क्यान्सरसम्म निम्त्याउन सक्ने वायुमा रहेका सूक्ष्म कणहरू (एः २.५) डब्लुएचओको सुरक्षित सीमाभन्दा ६० गुणा बढी मापन गरिएको छ ।

सरकारले विभिन्न सुधारका वाचा गरे पनि आंशिक सवारी प्रतिबन्ध र कुहिरो छर्कने पानी ट्रकहरू जस्ता उपायहरूले खासै प्रभाव देखाएका छैनन् । यस वर्ष अधिकारीहरूले क्लाउड–सिडिङ (कृत्रिम वर्षा) प्रयोगमार्फत प्रदूषण घटाउने योजना अघि सारेका छन् ।

सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसले ज्यान गुमाएको एक अध्ययन द ल्यान्सेट प्लानेटरी हेल्थ पत्रिकाले सार्वजनिक गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का अनुसार प्रदूषित हावाले बालबालिकालाई तीव्र श्वासप्रश्वास सङ्क्रमणको उच्च जोखिममा पु¥याउँछ ।

३६ वर्षीया विदुषी मल्होत्राले पनि सन् २०२० मा आफ्नो दुई वर्षे छोरा बारम्बार बिरामी परेपछि दिल्ली त्याग्ने निर्णय लिनुभयो । उहाँ भन्नुहुन्छ, “हामीसँग तीनवटा एयर प्युरिफायर लगातार चलिरहेका थिए, तर त्यसले पनि पुगेन ।” त्यसको एक वर्षपछि उहाँले श्रीमान् र छोरा सहित गोवा बसाइँ सरेर ‘नयाँ जीवन’ सुरु गर्नुभयो । “मैले साथीहरूलाई पनि सहर छोड्न प्रेरित गरेकी छु — सानो आन्दोलनजस्तै भयो”, उहाँले भन्नुभयो, “तर हरेकपटक जब म दिल्ली फर्किन्छु, प्रियजनहरूलाई त्यही विषाक्त हावामा बसिरहेको देख्दा मन साँच्चै दुख्छ ।”

तर सबैले सहर छोड्न सकेका छैनन् । ३४ वर्षीया रोली श्रीवास्तव अहिले पनि दिल्लीमै बस्नुहुन्छ, तर निरन्तर चिन्तामा । छोरा सधैँ खोकीले ग्रस्त हुने भएकाले उहाँले हरेक जाडोमा इनहेलर र नेबुलाइजर तयार राख्नुहुन्छ “डाक्टरले हामीलाई चेतावनी दिएका छन् — जब बच्चालाई राति खोकी लाग्छ, मलाई फोन नगर्नुहोस्, सिधै नेबुलाइज गर्न सुरु गर्नुहोस्”, उहाँ भन्नुहुन्छ ।

जाडो नजिकिँदै जाँदा श्रीवास्तवले घरभित्र एयर प्युरिफायर चलाउने, बाहिरी खेल सीमित गर्ने र दैनिक हावाको गुणस्तर मापन गर्ने तयारी गरिरहनुभएको छ । जब उहाँहरूको परिवार दक्षिणी सहर चेन्नई पुग्छ, छोरा तुरुन्तै निको हुने गर्छ । “त्यहाँ पुगेपछि नाक बग्न बन्द हुन्छ, खोकी हराउँछ”, उहाँले मुस्कुराउँदै भन्नुभयो ।

श्रीवास्तव र उहाँका श्रीमान् भन्नुहुन्छ, “यदि काम र अवसरका कारण नहुँदो हो त हामीले धेरै अघि नै दिल्ली छोडिसकेका हुन्थ्यौँ ।” उहाँहरू दुवै अन्तर्राष्ट्रिय संस्थामा कार्यरत हुनुहुन्छ । तर स्थानान्तरणको विचार भने कहिल्यै टाढा हुँदैन । उहाँ भन्नुहुन्छ, “मलाई लाग्दैन यो गति र हावाको अवस्थामा दिल्ली अब बच्चा हुर्काउने सहर रह्यो — कम्तीमा वायु प्रदूषणको हिसाबले त होइन ।”

अर्जेन्टिनामा विश्वको सबैभन्दा पुरानो डायनोसरको अवशेष फेला

अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वको सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी (अवशेष) फेला पारेको बताएका छन् । कोनिसेट अनुसन्धान निकायका अनुसार टोलीले उत्तरपश्चिम अर्जेन्टिनामा तीन हजार मिटर (नौ हजार ८४२ फिट) उचाइमा ह्वायराकुर्सर जागुएन्सिस नामक सानो लामो घाँटी भएको सरीसृपको लगभग पूर्ण कङ्काल फेला पारेको हो ।

टोलीले डायनोसरको खोपडीको अंश, पुच्छरसम्म फैलिएको पूर्ण हाडहरूको स्तम्भ र अगाडिका र पछाडिका अङ्गहरू लगभग अक्षुण्ण अवस्थामा सङ्कलन गरेको कोनिसेटले जनाएको छ । यो खोज नेचर पत्रिकामा प्रकाशित भएको छ र शोधकर्ताहरूले यसले विकासको अध्ययनमा महत्त्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।

लेखक अगस्टिन मार्टिनेलीका अनुसार ह्वायराकुर्सरले करिब २३० देखि २२ करोड ५० लाख वर्षअघि पृथ्वीमा जीवन बिताएको अनुमान गरिएको छ । यसले यसलाई विश्वको सबैभन्दा पुराना डायनोसरमध्ये एक बनाएको छ ।

यी प्रजातिहरू ट्रायासिक अवधिको अन्त्यसम्म बाँचेका थिए । यो समयमा पहिलो डायनोसर र स्तनपायीका पुर्खाहरू देखा पर्न थालेका थिए । शोधकर्ताहरूका अनुसार पत्ता लागेको ह्वायराकुर्सर जागुएन्सिस वयस्क अवस्थामा मात्र दुई मिटर लम्बाइको र करिब १८ किलोग्राम (४० पाउण्ड) तौलको थियो ।यो खोजले पृथ्वीको प्रारम्भिक जीवन र डायनोसरहरूको विकास क्रमबारे नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ ।

सर्लाहीको बागमतीमा निःशुल्क आँखा शिविरमा ३६१ जनाको आँखाको शल्यक्रिया

बरहथवा (सर्लाही), ३० असोजः सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।आज सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिनुभयो । यही असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटका चन्द्रपुरलगायत स्थानका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए ।

शिविरमा फेला परेका मोतियाबिन्दुका बिमारीको बुधबार र बिहीबार दुई दिन लगाएर बागमती नगरपालिका–१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा आँखाको शल्यक्रिया सम्पन्न गरिएको हो । मोतियाबिन्दुले दुवै आँखा धमिलो भएपछि आफूलाई समस्या भएको भन्दै गाउँमै निःशुल्क सुविधा सम्पन्न सेवा पाउँदा खुसी लागेको ७५ वर्षीया विवीकुमारी मोक्तानले बताउनुभयो ।

नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताउनुभयो ।

यसैबीच शिविर समापनको अवसर पारेर तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमतीको उद्घाटनसमेत गरिएको छ । यस क्षेत्रका नागरिकलाई सुविधा पुर्याउने उद्देश्यसहित क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा स्थापना भएको केन्द्रको विधिवत उद्घाटन गरिएको हो । स्वास्थ्य चौकी भवन कर्मैयाबाट सेवा प्रवाह हुने गरी केन्द्रको उद्घाटन गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रमा कम्प्युटर विधिबाट आँखा जाँच गर्नेदेखि चश्मा बनाएर वितरण गर्ने तथा मोतियाबिन्दुको शल्यक्रिया गर्नेसम्मको सुविधा प्रदान हुने सहयोगी संस्थाकी नेपाल निर्देशक पुनम भण्डारीले बताउनुभयो । शिविर समापन तथा केन्द्र उद्घाटन समारोहमा बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामा, कार्यवाहक उपप्रमुख रुपा बम्जनलगायत स्थानीयको उपस्थिति थियो ।

ट्राफिक प्रहरीको विशेष अभियान सुरु,दुई सयभन्दा बढी मोटरसाइकलहरू नियन्त्रणमा

काठमाडौँ, ३० असोजः काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला केही दिनयता उपत्यकाका मुख्य सहर काठमाडौँ, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी ध्वनि निकाल्ने कम्तीमा पनि दुई सयभन्दा बढी मोटरसाइकलहरू नियन्त्रणमा लिइएको छ ।

भारी आवाज निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबैको जीवनशैलीमा ध्वनि प्रदूषणले प्रत्यक्ष असर पारिरहेको छ । मोटरसाइकलबाट आउने चर्को आवाजका कारण राति निद्रा लाग्न नसक्ने, तनाव हुने र समाजमा त्रासको वातावरण सिर्जना हुने अवस्था देखियो । रमाइलोको नाममा अरूलाई पीडा दिने प्रवृत्तिविरुद्ध अब कडा निगरानी गरिन्छ ।”

सवारी तथा यातायात व्यवस्था ऐनले कम्पनीले तोकेको मापदण्ड अनुसार मात्र सवारी सञ्चालन गर्न दिने व्यवस्था गरेको भए पनि पछिल्लो समय धेरै मोटरसाइकल चालकले यो नियम उल्लङ्घन गर्दै मनपरी साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाउने गर्न थालेपछि कडाइ गर्नुपरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

देवघाटमा मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

चितवन, ३० असोजः मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् । राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन् । उहाँको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, ३० असोजः पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आज नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा स्कुटर चाकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा साविक छोप्राक गाउँ विकास समिति वडा नम्बर २ बस्ने ४० वर्षीय दामोदर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । घिमिरेको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ, ३० असोज: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उहाँले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्ययले निर्वाचन घोषणा भएकाले यसलाई सामान्य रूपमा नलिन आग्रह गर्नुभयो । “युवा पुस्ताले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई मेरो आग्रह छ ।”

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावमा युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउन आग्रह गरेको जानकारी दिनुभयो । “चुनावमार्फत भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन् । त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । युवाहरू बाध्याताले विदेशपलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ”, राष्ट्रपति पौडेको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागबारे सरकारले ध्यान विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार प्रयोग गरेर अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरिएको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहानेहरूबाट सचेत रहन पनि आग्रह गर्नुभयो ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो उमेर र स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गर्दै राष्ट्रपतिले युवाहरूलाई गर्नुभएको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताउनुभयो । उहाँले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर सङ्घर्ष गरेको परिपक्क नेता पनि भएको उल्लेख गर्दै उहाँको भनाइलाई अन्तष्करणको आवाजका रूपमा लिन आग्रह गर्नुभयो ।

जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक, आर्थिक न्यायका लागि र कुशासन तथा भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, सङ्घीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पार्नुभएको थियो । उहाँहरूले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्नुभयो । त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आफ्ना मागहरू पूरा हुनुपर्ने बताउनुभएको थियो ।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी हुनुहुन्थ्यो । बैठकमा ‘जेनजी’ प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी हुनुहुन्थ्यो ।

गृह मन्त्रालयको एक महिनाको प्रगति: शान्ति सुरक्षाकायम गर्दै निर्वाचनतर्फ अग्रसर (पूर्णपाठ)

काठमाडौँ, ३० असोजः गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताउनुभएको छ । गृह मन्त्रालयको कार्यभार सम्हालेको एक महिनामा भएका प्रमुख उपलब्धि आज सार्वजनिक गर्दै उहाँले जेनजी आन्दोलनका मृतक, घाइतेको व्यवस्थापन एवं पुनःस्थापना र आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुनःस्थापना/पुनःनिर्माणका कार्य अघि बढाइएको जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले यस अवधिमा सेवा प्रवाहमा सुधार एवं सुशासन र विपद् पूर्वतयारी, प्रतिकार्य, राहत र पुनःस्थापनाका कार्य प्रभावकारी रुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको शान्तिसुरक्षा र अमनचयनको बिग्रँदो स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा निकाय र सरोकारवाला निकायलाई सक्रिय बनाउँदै कानुनी राज्यविहीनताको अवस्थालाई नियन्त्रणमा लिई शान्तिसुरक्षाको प्रत्याभूतिमार्फत जनजीवनलाई सामान्यीकरण गरिएको छ ।” देशभर सबै सुरक्षा निकायको संयुक्त गस्ती, पट्रोलिङ बढाइ नागरिकले अनुभूति गर्नेगरी शान्ति सुरक्षाको अवस्थालाई क्रमशः सामान्य लयमा फर्काइएको मन्त्री अर्यालको भनाइ छ ।

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्नेगरी प्रक्रियाअन्तर्गत सरकारले हालसम्म जिल्ला प्रशासन कार्यालयमार्फत ७६ जना मृतकको विवरण सङ्कलन गरेको छ । गृह मन्त्रालयमा प्राप्त हुने युवापुस्ताका गुनासो एवं आवाजलाई सम्बोधन गर्न मन्त्रालयमा सहायता कक्ष एवं जेनजी सहजीकरण सचिवालयको स्थापना गरी कार्य प्रारम्भ गर्नुका साथै जेनजी आन्दोलनका घाइतेको उपचार, आर्थिक सहायता एवं राहत व्यवस्थापनलगायतको समग्र प्रक्रियालाई समन्वय गर्न जेनजीका प्रतिनिधिसहितको समन्वय समिति गठन गरी कार्य प्रारम्भ भएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

“जेनजी आन्दोलनले उत्पन्न विषम परिस्थितिका कारण सार्वजनिक तथा निजी भौतिक संरचनामा पुगेको क्षतिको आँकलन तथा लेखाजोखा गर्न मानक ढाँचा तयार तथा क्षतिको विवरण सङ्कलनका लागि प्राविधिक समिति गठन गरी कार्य थालनी गरिएको छ ।” सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका कूल ४५२ वटा प्रहरी कार्यालयमध्ये नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा ४०१ एकाइ पुनःनिर्माण भई सञ्चालनमा आइसकेको, बाँकी एकाइ पुनःनिर्माणका क्रममा रहेको र हाल सेवाप्रवाह निरन्तर गरिरहेको छ ।

यस अवधिमा विभिन्न कसुरमा संलग्न भई अदालतबाट फरार घोषित १६१ जना कसुरलाई पक्राउ गर्नुका साथै जेनजी आन्दोलनमा लुटिएको बाहेक पाँच नाल भरुवा बन्दुक तथा विभिन्न हतियारको गोली दुई राउण्डसहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको मन्त्री अर्यालले बताउनुभयो । सरकारले गत भदौ २३ र २४ गतेको घटनापश्चात् कारागार र बाल सुधारगृहबाट १४ हजार ५५६ जना कैदीबन्दीहरू फरार भएकामा हालसम्म नौ हजार २१९ जना फिर्ता ल्याइएको, बाँकीको खोजीका लागि समिति निर्माण गरी खोजी तीव्र पारेको छ ।

जेनजी आन्दोलनका क्रममा हराएका र लुटिएका ५९४ थान हतियार फिर्ता ल्याइएको जसमध्ये (नेपाल प्रहरीतर्फ ५६३, (सशस्त्र प्रहरी बल नेपाल एपिएफतर्फ ३१) हातहतियार ल्याइएको, लुटिएका र फिर्ता हुन बाँकी रहेका हातहतियारका सम्बन्धमा विस्तृत कार्ययोजना बनाइ कार्यान्वयन गर्ने र दोषीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउने मन्त्री अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षको असोजमा रु १० करोड चार लाख ५१ हजार १३४ बराबरको अवैध चोरी, निकासी तथा पैठारीका मालवस्तुहरु बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ७५ लाख २० हजार २८१ बराबरको सुन बरामद गरी कानुनी कारबाहीको लागि बुझाइएको छ ।”

अध्यागमन विभागको सक्रियतामा नेपालमा बसेका र ओभरस्टे बसेका विभिन्न मुलुकका ६७ जना विदेशी नागरिकहरुलाई निष्काशन गरिएको, र अवैध र कानुनविपरीत रहेका र बसेकाको खोजी कार्य भइरहेको र अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको गृह मन्त्रालयको भनाइ छ । गृह मन्त्रालयले सुरक्षा मापदण्डको यथार्थ कार्यान्वयन गरिएको छ । पूर्वपदाधिकारीका लागि मापदण्ड विपरीत खटाइएका ४७७ जना (नेपाल प्रहरीतर्फ ३६६, सशस्त्र प्रहरी बल नेपालतर्फ १११ जना) प्रहरी कर्मचारीहरू फिर्ता बोलाएको छ ।

मन्त्री अर्यालले नेपाल नागरिकता नियमावली (चौथो संशोधन) को प्रारम्भिक मस्यौदा तयार गरिएको, अपराधको अनुसन्धान एवं विचाराधीन मुद्दाहरूको कारबाहीलाई तीव्रता दिइएको र राजनीतिक संरक्षणमा भएका आर्थिक अपराध नियन्त्रणका सम्बन्धमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोलाई पूर्णरुपमा सक्रिय बनाइ आवश्यक कार्य भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यही असोज १७ गतेदेखि २० गतेको जल तथा मौसम विभागको पूर्वानुमानबमोजिम केन्द्रदेखि स्थानीय तहसम्म पूर्वसावधानी प्रणालीलाई सक्रिय बनाइ सबै सरोकारवाला निकायमार्फत बढीभन्दा बढी सूचना सम्प्रेषण र प्रवाह गरिएको छ, यस क्रममा करिब ६५ लाखभन्दा बढी पूर्वसावधानी र सतर्कताका लागि सन्देश प्रवाह गरी विपद् पूर्वतयारीलाई प्रभावकारी बनाइएको छ ।”

उक्त मनसुन अवधिभर (करिब ३८ घण्टा) मनसुन प्रतिकार्य कमाण्ड पोष्टलाई सक्रिय बनाइएको, प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल संयुक्त रूपमा परिचालन गरिएको उहाँको भनाइ छ ।

त्यसैगरी, गृह मन्त्रालयले एक महिनाको अवधिमा सुरक्षाकर्मी तथा स्वयंसेवकबाट चार हजार २५७ जनाको र १२ वटा उद्धार उडान/हेलिकप्टरमार्फत १८ जना व्यक्तिको उद्धार गरिएको, तीन हजार ७२९ जनालाई जोखिमयुक्त ठाउँबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक प्रबन्धको कार्य गर्नुका साथै इलाम जिल्ला विपद् व्यवस्थापन कोषमा रकम अपुग भएका कारण इलाम विपद् व्यवस्थापन कोषमा रु ७० लाख रकम पठाइएका साथै निजी आवास पुनःनिर्माणका लागि रु १८ लाख ८२ हजार ५०० रकम निकासा गरेको छ ।

प्रधानमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औँ बैठक बसी विपद् प्रभावितलाई तत्काल राहत एवं अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वितरण गर्ने निर्णय गरिएको मन्त्री अर्यालले बताउनुभयो । “मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएको र निर्वाचन प्रक्रियालाई उच्च प्राथमिकता साथ कार्य गरिएको छ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्न पाउनेसम्बन्धी व्यवस्था सम्बोधनका लागि निर्वाचन ऐनको संशोधन मस्र्यौदा तयार गरी पठाइएको, निर्वाचन तयारीको लागि निर्वाचन आयोगसँग पटकपटक बैठक राखी आवश्यक कार्यहरु भइरहेको छ ।”

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनको सुरक्षा सम्बन्धमा सुरक्षा समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयारी कार्यदल गठन गरी कार्यारम्भ भएको मन्त्री अर्यालको भनाइ छ । तोकिएको मितिमै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं विशिष्ट पदाधिकारीहरूसँग शिष्टाचार भेटघाट भइरहेको मन्त्री अर्यालले बताउनुभयो ।

पूर्णपाठ

युवा जेनजी पुस्ताद्वारा यही मिति २०८२ साल भदौ २३ गते सुशासन, पारदर्शिता र भ्रष्टाचारको अन्त्यको मुख्य माग राखी भएको जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम गठित यस अन्तरिम सरकारको गृहमन्त्रीका रूपमा मैले नेपाल सरकार, गृह मन्त्रालयको जिम्मेवारीमा पदभार ग्रहण गरेको आज एक महिना व्यतित भएको छ । यस महत्वपूर्ण घडीमा मैले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, सो आन्दोलनका क्रममा घाइते भई उपचाररत हुनुभएका सम्पूर्ण बिरामीहरूको शीघ्र स्वाथ्यलाभको कामनासमेत गर्न चाहान्छु । यसबाट पर्न गएको मानवीय भौतिक र वित्तीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दछु ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू

यहाँहरूलाई स्मरण छ, देशको शान्तिसुरक्षा, सुव्यवस्था र अमनचयन पूर्ण रूपमा खलल भई मुलुकको समग्र राष्ट्रिय सुरक्षा माथि समेत प्रश्न उठेको अत्यन्तै कठिन परिस्थितिमा मैले अन्तरिम सरकारको गृहमन्त्रीको जिम्मेवारी लिएको थिए । देशमा समग्र शान्तिसुरक्षा, सुव्यवस्था र अमनचयनमा देखिएको रिक्ततालाई पूर्ति गर्दै आमनागरिक र युवापुस्तालेसमेत अनुभूति गर्नेगरी देशको समग्र शान्तिसुरक्षाको अवस्थालाई सुदृढ बनाउने र दैनिक जनजीवनलाई सामान्यीकरण बनाउनुपर्ने र तोकिएको समयमै निर्वाचन गर्ने मेरो प्राथमिकता थियो ।

त्यसैगरी जेनजी आन्दोलनका क्रममा मृतक एवं घाइतेको व्यवस्थापन, राहत एवं आर्थिक सहायताको प्रबन्ध, क्षति भएका सुरक्षा निकाय र सेवाप्रदायक कार्यालयका युनिटको पुनर्निर्माण एवं सेवा प्रदायक निकायबाट सेवा सुचारूको कार्य, विपद् व्यवस्थापन, निर्वाचनको आवश्यक तयारी र कानुनको कार्यान्वयन गरी दण्डहीनताको अन्त्य गर्ने मुलभूत प्राथमिकताका साथ मैले मेरो मन्त्रालयका कार्यभारलाई अगाडि बढाएको थिए । उल्लिखित प्राथमिकताहरूलाई कार्यान्वयन गर्न यस एक महिनाको दौरानमा मेरो नेतृत्वमा गृह मन्त्रालयले गरेका सम्पूर्ण प्रयासहरूको अहिले नै पूर्ण नतिजा देखिने अवस्था छैन । यद्यपि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने मूल कार्यभारसहित गठित अन्तरिम सरकारको गृहमन्त्रीका रूपमा हामीले एक महिनामा गरेका प्रयासलाई सङ्क्षिप्तमा यहाँहरूसमक्ष प्रस्तुत गरेको छु ।

१. शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण
मुलुकको शान्तिसुरक्षा र अमनचयनको बिग्रँदो स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा निकाय र सरोकारवाला निकायहरूलाई सक्रिय बनाइएको,

कानुनी राज्यविहीनताको अवस्थालाई नियन्त्रणमा लिई शान्ति सुरक्षाको प्रत्याभूतिमार्फत जनजीवनलाई सामान्यीकरण गरिएको,

देशभर सबै सुरक्षा निकायहरूको संयुक्त गस्ती, पट्रोलिङ बढाई नागरिकले अनभूति गर्नेगरी शान्तिसुरक्षाको अवस्थालाई क्रमशः सामान्य लयमा फर्काइएको,

शान्ति सुरक्षालाई थप सुदृढ बनाउन अल्पकालीन रूपमा शहर र ग्रामीण इलाकाहरूमा नागरिक–प्रहरी सहकार्यसमेत गरिएको,

सर्वपक्षीय संवाद र छलफलमार्फत समझदारीलाई प्राथमिकतामा राखी कार्यसम्पादन गरिएको ।
२. जेनजी आन्दोलनका मृतक, घाइतेहरूको व्यवस्थापन एवं पुनस्थापना

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को निर्णयअनुसार जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्नेगरी प्रक्रिया अगाडि बढेको । सो प्रयोजनका लागि हालसम्म जिल्ला प्रशासन कार्यालयमार्फत ७६ जना मृतकको विवरण सङ्कलन गरिएको ।

मृतकका शवहरुको व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन एवं दुर्गम जिल्लाका हकमा हेलिकप्टरकोसमेत व्यवस्था गरिएको,

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरुप मिति २०८२/०६/०१ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिई राष्ट्रिय झण्डा आधा झुकाइएको,

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख आर्थिक सहायता र काजकिरिया खर्च, खाना खर्च र यातायात खर्चबबापत रु पाँच लाखगरी जम्मा रकम रु १५ लाखका दरले रकम निकासा लिइ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत भुक्तानी गरिएको,

जेनजी “प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न न्यायिक छानबिन आयोग गठन गर्ने” नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२/०५/३० को निर्णयानुसार ३ (तीन) सदस्यीय छानबिन आयोग गठन गर्ने निर्णय भएको उक्त आयोगले कार्यादेशबमोजिम कार्य प्रारम्भ गरेको ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका ७३ जिल्लाका दुई हजार ४२९ जना घाइते व्यक्तिहरूलाई परिचयपत्र प्रदान गर्ने कार्य प्रारम्भ भएको। देशका विभिन्न स्थानका अस्पतालहरूमा उपचाररत ३८ जना घाइतेहरूलाई अस्पतालमा नै गई परिचयपत्र वितरण गरिएको । घाइतेहरूको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकी त्यस्ता अस्पतालमा जेनजी क्लिनिकको व्यवस्था गरिएको, प्रतिघाइते भैपरी खर्चबापत रू २० हजार रकम उपलब्ध गराउन निकासासमेत गरिएको ।

गृह मन्त्रालयमा प्राप्त हुने युवापुस्ताका गुनासो एवं आवाजलाई सम्बोधन गर्न मन्त्रालयमा सहायता कक्ष एवं जेनजी सहजीकरण सचिवालयको स्थापना गरी कार्य प्रारम्भ गरिएको । जेनजी आन्दोलनका घाइतेहरूको उपचार, आर्थिक सहायता एवं राहत व्यवस्थापन लगायतको समग्र प्रक्रियालाई समन्वय गर्न मिति २०८२ असोज २६ गते गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र जेनजीका प्रतिनिधिसहितको समन्वय समिति गठन गरिएको कार्य प्रारम्भ भएको ।

३. आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाहरूको पुनःस्थापना/पुनर्निर्माण

भदौ २३ र २४ गते जेनजी आन्दोलनले उत्पन्न विषम् परिस्थितिका कारण सार्वजनिक तथा निजी भौतिक संरचनाहरुमा पुगेको क्षतिको आँकलन तथा लेखाजोखा गर्न मानक ढाँचा तयार तथा क्षतिको विवरण सङ्कलनका लागि प्राविधिक समिति गठन गरी कार्य थालनी गरिएको ।

जेनजी आन्दोलनका क्रममा क्षति भएका कूल ४५२ वटा प्रहरी कार्यालयमध्ये नेपाल प्रहरी तथा स्थानीयहरूको सहयोगमा ४०१ एकाइहरू पुनर्निर्माण भई सञ्चालनमा आइसकेको, बाँकी एकाइहरू समेत पुनर्निर्माणका क्रममा रहेको र हाल सेवाप्रवाह निरन्तर रहेको । त्यसैगरी, नौ वटा जिल्ला प्रशासन कार्यालयहरू र चार वटा इलाका प्रशासन कार्यालयहरूको सामान्य मर्मतसम्भार पश्चात् सेवा प्रवाह सुचारू भइसकेको ।

सुरक्षा निकायहरूको मनोबल उँचो पार्न तथा आकस्मिक एवम् नियमित कार्यसम्पादनका लागि आवश्यक सवारी साधनहरूको व्यवस्थापन गर्न आवश्यक बजेट बिनियोजनका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी कार्यप्रक्रिया अगाडि बढाइएको।

क्षति भएका कारागार कार्यालयहरूसँग क्षतिको विवरण, प्राविधिक मूल्याङ्कन र मुचुल्का सहितको विवरण एकत्रित गरी पुनर्निर्माण र मर्मतका लागि न्यूनतम आवश्यक बजेटको लागत अनुमान संकलन हुने क्रममा रहेको ।

४. सेवा प्रवाहमा सुधार एवम् सुशासनः–

विभिन्न कसुरमा संलग्न भई अदालतबाट फरार घोषित १६१ जना कसूरदारहरूलाई पक्राउ गरिएको,जेनजी आन्दोलनमा लुटिएको बाहेक ५ नाल भरुवा बन्दुक तथा विभिन्न हतियारको गोली २ राउण्ड सहित २ जना व्यक्तिहरूलाई पक्राउ गरिएको,

२०८२ भदौ २३ र २४ गतेको घटना पश्चात् कारागार र बाल सुधार गृहबाट १४,५५६ (चौध हजार पाँच सय छपन्न) जना कैदीबन्दीहरू फरार भएकोमा हालसम्म ९,२१९ (नौ हजार दुई सय उन्नाइस) जना फिर्ता ल्याइएको, बाँकीको खोजी कार्यको लागि समिति निर्माण गरी खोजी कार्य तीब्र पारिएको,जेनजी आन्दोलन पश्चात् विभिन्न प्रहरी एकाइहरूबाट फरार १,५०५ थुनुवाहरू मध्ये हालसम्म ३५१ जना पक्राउ गरिएको,

उक्त आन्दोलनको क्रममा हराएका र लुटिएका ५९४ थान हतियार फिर्ता ल्याइएको जसमध्ये (नेपाल प्रहरी तर्फ ५६३, (सशस्त्र प्रहरी बल नेपाल एपीएफ तर्फ ३१) हातहतियार ल्याइएको, लुटिएका र फिर्ता हुन बाँकी रहेका हातहतियारका सम्बन्धमा विस्तृत कार्ययोजना बनाई क्उभअष्ब ित्बकप ँयचअभ बनाई कार्यान्वयन गर्ने र दोषीलाई कडा कानुनी कारवाहीको दायरामा ल्याउने,

चालू आर्थिक बर्षको आश्विन महिनामा रु. १० करोड ४ लाख ५१ हजार १ सय ३४ बराबरको अवैध चोरी, निकासी तथा पैठारीका मालवस्तुहरु बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु. ७५,२०,२८१ बराबरको सुन बरामद गरी कानूनी कारवाहीको लागि बुझाइएको,

अध्यागमन विभागको सक्रियतामा भिसाको विपरित नेपालमा बसेका र ओभरस्टे बसेका विभिन्न मुलुकका ६७ जना विदेशी नागरिकहरुलाइ निष्काशन गरिएको, र अवैध र कानून विपरित रहेका र बसेकाको खोजी कार्य भईरहेको।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको,नेपालीपोर्टमा आगमन र प्रस्थानको ीष्लपबनभ कायम गर्ने गरी क्थकतझ ग्उनचबमभ गरिएको। अध्यागमन जाँचपासलाई नतिजामूलक र प्रभावकारी बनाइएको।सामाजिक सुरक्षा भत्ता वितरण सिधा लाभग्राहीको खातामा जाने व्यवस्था सहित सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, जसले गर्दा लाभग्राही नागरिकले सहज सुविधा उपयोग गरेका,

सामाजिक सुरक्षा प्राप्त गर्ने नयाँ लाभग्राही कायम गर्ने एवम् नवीकरण गर्ने साविकको समयावधिमा संशोधन गरी नवीकरण गर्ने समयावधि असोज मसान्त कायम गर्ने व्यवस्था सहित सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको,
सुरक्षा मापदण्डको यथार्थ कार्यान्वयन गरिएको। पूर्व पदाधिकारीका लागि मापदण्ड विपरीत खटाइएका ४७७ जना (नेपाल प्रहरी तर्फ ३६६, सशस्त्र प्रहरी बल नेपालतर्फ १११ जना) प्रहरी कर्मचारीहरू फिर्ता बोलाइएको,

जिल्ला र इलाका प्रशासन कार्यालयहरूबाट रोकिएका र अवरुद्ध भएका सबै नियमित र अत्यावश्यक सेवाहरू सुचारू गरिएको,सुरक्षाकर्मीको दुरुपयोग रोक्न तथा नियन्त्रण गर्न आवश्यक निर्देशन दिई अनुगमनको कार्य नियमित र तिव्र पारिएको,नागरिकताको अभिलेख जली नष्ट भएका जिल्लाहरूको सेवा प्रवाहलाई सहजीकरण र सरलीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र सहित आवश्यक सहजीकरण गरिएको,नेपाल नागरिकता नियमावली (चौथो संशोधन) को प्रारम्भिक मस्यौदा तयार गरिएको, अपराधको अनुसन्धान एवम् विचाराधीन मुद्धाहरूको कारवाहीलाई तीव्रता दिइएको।

राजनीतिक संरक्षणमा भएका आर्थिक अपराध नियन्त्रणका सम्बन्धमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोलाई पूर्णरुपमा सक्रिय बनाई आवश्यक कार्यहरु भइरहेको। केन्द्रीय अनुसन्धान ब्यूरो (ऋक्ष्द्य) लाई क्रियाशील बनाई निश्पक्ष रुपमा अनुसन्धान गर्ने गरी निर्देशन र सक्रियता बढाइएको। जसको सकरात्मक प्रभाव बढ्दै गएको।यस १ महिनाको बीचमा मन्त्रालयका तर्फबाट पटक–पटक गरी जेन–जी का माग लाई सम्बोधन गर्ने र शान्ती पूर्ण ढंगबाट समाजमा सु–व्यवस्था कायम गर्ने गरी प्रेस विज्ञप्ती सहित सबै जिल्ला प्रशासन कार्यालय मार्फत सहजिकरण र समन्वय गरिएको। च्भउयचत प्रतिवेदन लिने कार्य निरन्तर रहेको छ।

५. विपद पूर्वतयारी, प्रतिकार्य, राहत र पुनस्र्थापनाः–

मिति २०८२ असोज १७ गते देखि २० गतेको जल तथा मौसम विभागको पूर्वानुमान बमोजिम केन्द्र देखि स्थानीय तहसम्म पूर्व सावधानी प्रणाली (भ्बचथि ध्बचलष्लन क्थकतझ) लाई सक्रिय बनाई सबै सरोकारवाला निकायहरू मार्फत बढी भन्दा बढी सुचना सम्प्रेषण र प्रवाह गरिएको। यस क्रममा करिब ६५ लाख भन्दा बढी पूर्वसावधानी र सतर्कताका लागि सन्देशहरू (क्ःक्) प्रवाह गरी विपद पूर्वतयारीलाई प्रभावकारी बनाइएको, उक्त मनसुन अवधिभर (करिब ३८ घण्टा) मनसून प्रतिकार्य कमाण्ड पोष्टलाई सक्रिय बनाइएको, प्रतिकार्यको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल संयुक्त रूपमा परिचालन गरिएको,सुरक्षाकर्मी तथा स्वयंसेवकबाट ४२५७ जनाको र १२ वटा उद्धार उडान/हेलिकप्टरमार्फत १८ जना व्यक्तिको उद्धार गरिएको, ३७२९ जनालाई जोखिमयुक्त ठाउँबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ।

इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरि आवश्यक प्रबन्धको कार्य गरिरहेको।इलाम जिल्ला विपद् व्यवस्थापन कोषमा रकम अपुग भएका कारण इलाम विपद् व्यवस्थापन कोषमा रु.७०,००,०००/– (सत्तरी लाख) रकम पठाइएको साथै निजी आवास पुनर्निर्माणका लागि रु १८,८२,५००/– रकम निकासा गरिएको ।सम्माननीय प्रधानमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठक बसी विपद् प्रभावितलाई तत्काल राहत एवं अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वितरण गर्ने निर्णय गरिएको।

६. निर्वाचन वातावरण निर्माण र तयारीः–

मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिज्यूबाट स्वीकृत भएको र निर्वाचन प्रकृयालाई उच्च प्राथमिकतासाथ कार्य गरिएको,विदेशमा रहेका नेपालीहरूलाई आगामी निर्वाचनमा मतदान गर्न पाउने सम्बन्धी व्यवस्था सम्बोधनका लागि निर्वाचन ऐनको संशोधन मस्र्यौदा तयार गरी पठाइएको,

निर्वाचन तयारीको लागि निर्वाचन आयोगसँग पटक पटक बैठक राखी आवश्यक कार्यहरु भइरहेको।आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनको सुरक्षा सम्बन्धमा सुरक्षा समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयारी कार्यदल गठन गरी कार्यारम्भ भएको,तोकिएको मितिमै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न नेपाल स्थित विभिन्न कुटनीतिक नियोगका प्रमुख एवम् विशिष्ट पदाधिकारीज्यूहरूसँग शिष्टाचार भेटघाट गरिएको ।—

एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव

काठमाडौँ, ३० असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ । ललितपुर, जावलाखेलमा जारी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राख्नुभएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । हिजो पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि भोलि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ । पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुने छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यदिशा, लोकतन्त्रको रक्षालगायत विषयमा सुझाव दिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । बैठक शुक्रबार बिहान ८ः०० बजे पुनः बस्नेछ ।

कांग्रेस बैठक शुक्रबार पुनःबस्ने

काठमाडौँ, ३० असोजः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ ।कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा कावा सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको थियो । यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राख्नुभएको थियो । पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको र कार्यसमितिको बैठक शुक्रबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले बताउनुभयो ।

यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको थियो ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आक्रमणकारीको साङ्घातिक हमलामा परी घाइते हुनुभएका सभापति देउवा उपचारपछि स्वास्थ्यलाभ गरिरहनुभएको पार्टी कार्यालयले जनाएको छ ।

झापामा राति ९ बजेपछि देउसी–भैलो कार्यक्रम नगर्न अनुरोध

विराटनगर । तिहारको अवसरमा खेलिने देउसी–भैलो झापामा राति ९ बजेसम्ममात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार सार्वजनिक गरेको सूचनामा शान्ति सुरक्षाको कारण देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति ९ बजेपछि नगर्न अनुरोध गरिएको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना दिँदै चाडपर्वहरू शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरेका छन् । उनले चाडपर्व मनाउने क्रममा समाजमा शान्ति, अमनचयन र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

चार्डपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गरेको छ । सूचनामा देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवातास र डाइस खेल नगर्न, आतंक सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ ।

त्यसैगरी, प्लास्टिकका फूलमाला प्रयोग नगरी प्राकृतिक फूल र माला प्रयोग गर्न, अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न, मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना नगर्न र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको छ ।

सामाजिक सञ्जालमा अरूको मर्यादामा आघात पुग्ने, घृणा वा अफवाह फैलाउने सामग्री सम्प्रेषण नगर्न अनुरोध गरिएको छ । त्यस्तै, कुनै अवाञ्छित गतिविधि वा समस्या देखिएमा नजिकको प्रहरी इकाइमा वा प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८५२६७१५५५ मा सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ ।

खेलाडीको स्वास्थ्योपचारका लागि राखेप र नाम्सबीच सहकार्य

काठमाडौँ, ३० असोजः नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पतालबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् ।राखेपमा आज आयोजित एक कार्यक्रमकाबीच राखेप र नाम्सले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी, प्रशिक्षकलाई आवश्यकताअनुरूप विशेष सेवा दिनेगरी सम्झौता भएको छ ।

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र नाम्सका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ । यो सम्झौता पाँच वर्षको हुने र पछि सहमतिमा नवीकरण हुनेगरी अगाडि बढाइएको राखेपले जनाएको छ ।

नेपाली खेलकुद विकासमा थप टेवा पुग्नेगरी कूल ११ वटा सर्तहरूसहित सहकार्य भएको र नाम्सले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन् । खेलाडीले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । प्रयोगशाला परीक्षण, बहिरङ्ग सेवा (ओपिडी), एक्स–रे, भिडियो एक्स–रे, अपरेसन, एमआरआई, सिटीस्क्यान र बिरामी भर्नालगायत सबै प्रकारका सेवामा अस्पतालको मूल्य सूचीबाट खेलाडीले छुटसमेत प्राप्त गर्नेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् ।

यस्तै, एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टोलीका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउनेछन् । राखेपको सम्पर्क अधिकृतले प्रमाणीकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिनेछन् ।

उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्यसम्बन्धी शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियो थेरापी र पोषणसम्बन्धी विभिन्न कार्यक्रम नाम्सले दिने सहमति भएको छ ।

राखेप सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा यी दुई संस्थाको अस्तित्व भइरहँदासम्म सहकार्य होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

राखेपले सञ्चालन गरेको मिसन– २०२६ लगायत राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङले बताउनुभयो । राखेपले राष्ट्रिय टोलीका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उहाँको विश्वास छ ।

नाम्सका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताउनुभयो । उहाँले स्वस्थ्य रहन खेलकुद नै सबैभन्दा बलियो माध्यम रहेको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्य बढाउँदै लैजाने बताउनुभयो ।

उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता, नाम्सका निर्देशक डा दिलीप शर्मा, डा ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टलगायतको उपस्थिति थियो ।

राष्ट्रपतिको समुपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल

काठमाडौँ, ३० असोजः राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल सुरु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीको प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिहरुको सहभागिता छ । छलफलमा विभिन्न मन्त्री, सरकारीलगायतको सहभागिता छ ।

बैठकमा जेनजीका प्रतिनिधिहरु मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी हुनुहुन्छ ।

गृहमा जेनजी हेल्पडेस्क, घाइतेका गुनासादेखि सहकारीपीडितका दुःखसम्म

काठमाडौँ, ३० असोजः ‘सर नमस्कार, जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका एक जनालाई समस्या आइपर्‍यो, सहजीकरण गरिदिनुपर्‍यो”, गृहमन्त्रालयमा स्थापना भएको जेनजी हेल्पडेस्कमा गुनासो सुनिसकेपछि दोलखाका साम्राज्य खड्काले गुनासोलाई सम्बन्धित ठाउँमा ‘रेफर’ गरिदिनुभयो ।

यही असोज ७ गते स्थापना भएको जेनजी हेल्पडेस्कमा खड्कासँगै दैलेखका राजेन्द्र अधिकारी र मोरङका जुनाल गदाल हरेक दिन यसैगरी गुनासा सुन्नुहुन्छ र सम्बन्धित ठाउँमा पुर्‍याउनुहुन्छ । “बिहान १० बजेदेखि काम सुरु हुन्छ, तर घर फर्कने टुङ्गो हुँदैन, कहिलेकाँही रात पनि यहीँ बित्छ”, खड्काले कामको व्यस्तता सुनाउनुभयो । फोन गर्नेहरु अधिकांशले आफ्ना गुनासा, सससुनाउँछन् भने कतिपयले सहयोगको अपेक्षा पनि राख्छन् ।

खड्काका अनुसार यो कुनै सरकारी नियुक्ति होइन । जेनजी समूहले स्वयमसेवकका रुपमा उहाँहरुलाई हेल्पडेस्कमा खटाएको हो । दैलेखका राजेन्द्र अधिकारीको अनुभवमा सिंहदरबारभित्र बसेर सहयोगी भूमिका निभाउन सजिलो नहुने रहेछ । “पहिले त जेनजीलाई सिंहदरबारभित्र छिर्न पनि चुनौती थियो, अहिले विस्तारै सहज बन्दै गएको छ, हेल्पडेस्कमा काम गर्दा धेरै फरक अनुभव पनि भइरहेको छ ।”

अधिकारीका अनुसार फोन गर्नेहरुले सिंहदरबारमा पस्ने गेट पासदेखि अस्पतालमा उपचाररत घाइतेका समस्या सुनाइरहन्छन् । “प्रक्रियागत काम गर्दा कहिलेकाँही केही ढिला पनि हुन्छ, अलिकति ढिला हुँदा केही जेनजी साथीहरु रिसाउनुहुन्छ, हामीलाई कतिपय अवस्थामा सम्झाउन पनि गाह्रो हुन्छ ।”

जेनजी हेल्पडेस्कमा हालसम्म १२४ वटा गुनासा रेकर्ड भएका छन् । जसमध्ये ८३ वटा गुनासा जेनजीले गरेका छन् । जेनजी आन्दोलनका पीडित र पीडितका परिवारमा देखिएको समस्या सुल्झाउनतर्फ आफूहरु बढी केन्द्रित भएको अधिकारीको भनाइ छ । त्यसबाहेक स्थानीयस्तरमा भोग्नुपरेका गुनासा पनि हेल्पडेस्कमा आउँछन् ।

मोरङका जुनाल गदालका अनुसार जेनजीका समस्यासँगै सिमान्तकृत समुदायले भोग्नुपरेका समस्या, सहकारीपीडितले पनि हेल्पडेस्क गुहार्छन् । “कतिपयले त हामीले उहाँका दुःखेसो सुनिदिँदा मात्रै पनि राहत महसुस गर्नुहुन्छ”, गदालले भन्नुभयो, “यद्यपि अहिले हामी जेनजीलाई नै केन्द्रित गरेर सहयोग गर्दै आएका छौँ ।”

उहाँका अनुसार कतिपय घाइते अस्पतालबाट डिस्चार्ज भएपछि दुःख पाएको अवस्था छ । यस्ता गुनासालाई हामीले उपलब्ध स्रोत र साधनबाट जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रयास गरिन्छ । “हामीले यहाँ बसेर काम गर्दा सिहंदरबार र नागरिकबीच ठूलो खाडल रहेको पायौँ, यहाँ आएपछि नागरिकका पीडाबारे बोध भएको छ, उहाँको पीडामा मलहम लगाउने हाम्रो प्रयास हो ।”

हेल्पडेस्कमार्फत गुनासो गर्दा जेनजीले सहयोग गर्छन् भन्ने धेरैलाई विश्वास लागेको उहाँको बुझाइ छ । यसले आफूहरुलाई थप जिम्मेवार बनाएको उहाँहरुको भनाइ छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कतिपयले असुरक्षित महसुस गरेको, शान्ति सुरक्षामा चुनौती देखिएको र जेनजी पुस्ताका थुप्रै गुनासो आउने हुँदा समाधानका लागि हेल्पडेस्क राखेको बताउनुभयो । जसमा जेनजी पुस्ताका युवाहरुले नै गुनासो सुन्नुहुन्छ र समाधानमा सहजीकरण गर्दैआउनुभएको छ ।

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री सोनल

महेन्द्रनगर (धनुषा), ३० असोज: मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल) ले ‘जेनजी’ आन्दोलनले उठाएको सुशासन, समृद्धि र जनतालाई सरल सेवा प्रवाहको माग सम्बोधन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

पद तथा गोपनीयताको शपथ ग्रहणपछि आज सञ्चारकमीसँग जनकपुरधाममा आज कुरा गर्दै उहाँले सङ्घीयतालाई बलियो बनाउनका लागि नै गठबन्धन सरकार बनेको उल्लेख गर्नुभयो । विगतका सरकारले गरेका राम्रा कामको निरन्तरता तथा नयाँ कामको थालनी गरिने मुख्यमन्त्री सोनारले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बाँकी सहयात्री दलहरूको तर्फबाट चाँडै अन्य मन्त्री नियुक्ति हुने बताउनुभयो ।

सरकार मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको प्रवक्ता सापकोटाको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरु चुनावबाट भाग्न खोजिरहेको र सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको आरोप लगाएका छन् । विहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तैः भएकोसमेत भएको सापकोटाले बताए ।

४३ औं ‘विश्व खाद्य दिवस’ तथा ‘विश्व भोक दिवस’ को अवसारमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा पूर्वसभामुखसमेत रहेका सापकोटाले आफ्नो पार्टी फागुन २१ गतेको निर्वाचानमा सहभागि हुने र अरु सबै दलहरु पनि सहभागि हुनुपर्ने धारणा राख्दै भने, ‘हामी तयार छौं, अरु कुनै पनि दल त्यसबाट भाग्न पाईदैन र वर्तमान सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ ।’
उनले वर्तमान अन्तररिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए ।

आफ्ना पार्टीका नेता कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गरेको विषयतिर इंगित गर्दै सापकोटाले भने, ‘सरकारले मुख्य जिम्मेवारी र वास्तविक अपराधीहरुलाई कारबाही गर्नेभन्दा परिवर्तनकारीहरुतिर निशाना सोझ्यानुले यसको नियत प्रष्ट भएको छ ।’

जेनजी आन्दोलनमा घुसपैठ गरेर महत्वपूर्ण भौतिक संरचनाहरू ध्वस्त पारिँदा सुरक्षा निकायको कमजोरी भएको बताउँद भने, ‘जनतको करबाट तलब खाने नेपाली सेनाले आफ्नै आँगानमा भएको सर्बोच्च अदालत र सिंहदरबा किन जोगाउन सकेन ? उसमाथि प्रश्न उठेको छ ।’ उनले नेपाली सेनाले आफ्नो बचाउ हैन उसले जनतालाई हरेक प्रश्नको उत्तर दिनुपर्ने सापकोटाले बताए ।कार्यक्रममा सापकोटाले खाद्य उत्पादन गर्ने जीवन रक्षक किसानलाई अपमान नगर्न चेतावनी दिए ।
सो कार्यक्रममा माओवादी युवा नेता तथा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले किसानहरुलाई काठमाडौं महानगर प्रमुख बालेन साहले होच्याएकोप्रति आक्रोश व्यक्त गरे ।

पूर्वमन्त्रीसमेत रहेका श्रीपालीले दलित, मजदुर, किसान तथा उत्पीडित जनतालाई होच्याएको बताउँदै भने, ‘प्रचण्डले बगैँचाको सुन्दर फूल भन्नुभयो तर बालेनरूपी फूल विषादीकोरुपमा व्यक्त भयो त्यसलाई नेपाली जनताले चिन्नुपर्छ ।’
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले ४३ औं विश्व खाद्य दिवसभन्दा पनि विश्व भोक दिवसकारुपमा मनाएको जनाएका छन् ।

श्रेष्ठले करोडौं जनताको भोक मेटाउने र जीवन दिने किसानलाई होच्याउने कार्य निन्दनीय भएको बताए । महासंघका महासचिव नेहन्द्र खड्काले बालेन साहले किसानलाई ‘फोहोर’ शब्द प्रयोग गरेर होच्याएकोले तत्काल माफि माग्नुपर्ने धारणा राखे ।
अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष प्रकाश श्रेष्ठले बालेन्द्र शाह हरेक पटक अँध्यारा कोठामा बसेर जनताविरुद्धमा षड्यन्त्र नगर्न र किसानहरुलाई अपमान नर्गन चेतावनी दिए ।

सो कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका इन्चार्ज परशुराम रम्तेल, उपाध्यक्ष पदम विश्वकर्मा, किसान महासंघका उपाध्यक्षहरु मिना तामाङ, श्रीगोविन्द महर्जन, कृर्षि अर्थ विज्ञ शिब अधिकारीलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

मन्त्रिपरिषद् बैठक : राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार

काठमाडौं । असोज ३० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टी टोनर ट्रस्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकि डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । उनले भने, ‘असोज ३० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टी टोनर ट्रस्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।’

साथै, उनले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जपानका लागि नेपाली आवासिय राजदूतहरुको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरि फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिएका छन् ।

यस्तै, उनले नेपालले अन्य मुलुकसँग आवश्यकता अनुसार फौजदारी मामिलामा पारस्परिक कानूनी साहायता सन्धी गर्न वार्ताको लागि प्रस्ताव गर्ने सम्बन्धी स्विकृत गर्ने र आवश्यकता अनुसार कुटनीतिक माध्यमबाट विभिन्न मुलुक समक्ष पठाउन स्विकृती दिने निर्णय र त्रिभुवन विश्व विद्यालय परिसरभित्र रहेको किर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरु योजना स्वस्कृत गरि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरु योजना अनुसार बाँकी कार्यको बोलपत्र आह्वान गरि खरिद प्रक्रिया अगाडि बढाउन स्विीकृति प्रदान गर्ने निर्णय भएको पनि जानकारी दिएका छन् ।

बैठकले इनरुवा पूर्णिया चार सय केवी अन्तरदेशिय प्रशारण लाइन तथा दोधारा बरेली चार सय केबी अन्तरदेशिय प्रशारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुई वटा संयुक्त कम्पनीहरु स्थापना गर्ने र उल्लेखित नेपाल विद्युत प्राधिकरणबाट क्रमश एक अर्ब तथा दुई अर्ब रुपैया बराबरको सो पुँजी लगानी गर्न अनुमति दिने निर्णय भएको र नेपाल र भारतबीच पारस्परिक कानूनी साहायता सन्धी सम्बन्धी सम्झौता स्विकृत गर्नेलगायत निर्णय गरेको पनि उनको भनाइ छ ।

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो: गृहमन्त्री अर्याल

भक्तपुर, ३० असोजः गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताउनुभएको छ । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उहाँले सरकारले फागुन २१ मा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउन सरोकार भएकाहरूलाई संवादमा आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्धारित मितिमै निर्वाचन गर्न दलहरूले संवादमार्फत साथ र सहयोग गर्न आवश्यक छ । त्यसका लागि सरकारले सहजीकरण गरिरहेको छ । सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको हो, निर्वाचनमार्फत जो कोही पनि आउन सक्छन्, तर त्यसका लागि सबैबीच समन्वय भएर अगाडि बढ्न जरुरी छ ।”

निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्व लागिपरेको भन्दै गृहमन्त्री अर्यालले त्यस्ता तत्वलाई सम्झाइबुझाइ गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले केही राजनीतिकर्मीले सुरक्षाकर्मीको मनोबल गिराउने काम गरको भन्दै मनोबल बढाउने काममा सरकारले काम गरिरहेको बताउनुभयो ।

शान्ति, सद्भाव र सिङ्गो देशको राजनीति भत्काउन अपदस्त भएकाहरू नै लागिपरेको टिप्पणी गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, “भक्तपुर शान्तपूर्ण जिल्ला हो, तर अपदस्त भएकाहरूकै कारण देशमा विद्रोह भएकाले तिनीहरूलाई यो ठाउँबाट नकराउन र देशको राजनीति धुल्मिल्याउने खालका गतिविधि नगर्न सन्देश दिन चाहन्छौँ ।”

उहाँले आन्दोलनका क्रममा सवारीसाधन जलेको र हतियार लुटिएकाले सरकारले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न लागेको र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिनुभयो । गृहमन्त्री अर्यालले भदौ २४ गते आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट र मुद्दा फाँटमा आगलागी भएको क्षेत्रको अवलोकनसमेत गर्नुभयो । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आन्दोलनका क्रममा भएको क्षति र त्यसपछि उत्पन्न असहजता तथा शान्तिसुरक्षाबारे जानकारी गराउनुभयो ।

मंसिरभित्रै महाधिवेशन गर्न डा. शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव

काठमाडौँ, ३० असोजः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता डा कोइरालाले भन्नुभयो, “सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ ।”

राजनीतिक दल, जेनजी पुस्तालगायत सबैैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनको वातावरण बनाउन गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्ने बताउनुभयो । नेता डा कोइरालाले त्यसक्रममा जेलवाट भागेका अपराधीहरुलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु नहुने बताउनुभयो ।

‘कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी’ बनाउन आगामी मंसिर महिनामा पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै उहाँले नियमित महाधिवेशनवाट मात्र सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन सम्भव हुने उहाँको भनाइ थियो ।

एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता भएको बताउँदै नेता डा कोइरालाले २०७९ सालमा कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारण कारबाहीको सिफारिसमा परेको सबैका कारबाही फिर्ता गर्न माग गर्नुभयो ।

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

काठमाडौँ, ३० असोजः प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गर्नुभएको थियो ।

सो क्रममा उहाँले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताउनुभयो । “ठगेर खानेलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ, जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ”, प्रधानमन्त्रीले भन्नुभयो, “अहिले नै गर्नुपर्छ । हामीले नै गर्नुपर्छ ।

यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो । यसैका लागि आएको हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उहाँको भनाइ थियो ।

‘काठमाडौँ हारर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि

काठमाडौँ, ३० असोजः आगामी कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको उक्त महोत्सवका लागि १५ देशका २५ उत्कृष्ट ‘हरर’, ‘फ्यान्टेसी’ तथा लोककथा आधारित चलचित्र छनोट भएका छन् ।

अक्टोबर ३१ तारिखमा मनाइने ‘हेलोविन डे’ को अवसर पारेर आगामी कात्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना हुने उक्त महोत्सवले नेपाली दर्शकलाई अन्तरराष्ट्रियस्तरका रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गराउने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा केही फरक गरौँ भनेर हामीले सुरुआत गर्न लागेका हौँ । रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गर्न रुचाउने दर्शकका लागि यो महोत्सव उपयोगी हुनेछ ।” अध्यक्ष पाठकले विश्वभरबाट प्राप्त एक सयभन्दा बढी चलचित्रमध्येबाट छनोट समितिले गुणस्तर, विविधता र पारदर्शिताका आधारमा १५ देशका २५ चलचित्र छनोट गरेको जानकारी दिनुभयो ।

“नेपालमा हरर शैलीका चलचित्रको निर्माण कम छ । यो महोत्सवले यसलाई प्रोत्साहन दिँदै दर्शकलाई नयाँ अनुभव प्रदान गर्नेछ । नेपाली लोककथा र संस्कृतिसँग जोडिएका तत्व पनि समावेश हुनेछन्”, उहाँले भन्नुभयो ।

महोत्सवका लागि अन्तरराष्ट्रिय तथा राष्ट्रिय विज्ञहरू सम्मिलित निर्णायक मण्डलमा प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी, एलेक्जान्ड्रा एनवर्ग र यास्मिन बुछफार हुनुहुन्छ । महोत्सवको मुख्य उद्देश्य नेपालमा ‘हरर’ शैलीका चलचित्रको निर्माण र विकासलाई प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठक जारी

काठमाडौँ, ३० असोजः नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहनुभएको छ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रमअनुसार उल्टोतिरबाट (ज्ञ बाट) पालो मिलाइएको छ ।

बुधबारको बैठकमा अध्यक्ष ओलीले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तय भएको छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्टजवाफ दिने तयारी छ ।

दुुर्लभ खनिज ‘चीन र बाँकी विश्व’ बीचको विवादः अमेरिकी अर्थमन्त्री

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार बेइजिङको दुर्लभ खनिज नियन्त्रण गर्ने चिनियाँ कदमको आलोचना गर्दै यो ‘चीन र बाँकी विश्व’ बचिको विवाद भएको बताउनुभएको छ । वाशिङ्गटन र उसका सहयोगीहरूलाई यस सम्बन्धमा न त निर्देशित हुनेछन् न नियन्त्रण नै गरिनेछ।

“हामी सँगै काम गर्नुपर्दछ र गर्नेछौँ भन्ने हाम्रा सहयोगीहरूका लागि स्पष्ट सङ्केत हुनुपर्दछ,” बेसेन्टले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कको बार्षिक बैठकका लागि यस हप्ता विभिन्न देशका प्रतिनिधिहरू वाशिङ्गटनमा भेला भएका बेला उहाँको यो टिप्पणी आएको हो।

“हामी कसैलाई छुटाउन चाहँदैनौं। हामीले जोखिमलाई कम गर्न र हाम्रो आपूर्ति श्रृङ्खलालाई सकेसम्म चाँडो चीनबाट टाढा गर्न सँगै काम गर्नुपर्छ,“ बेसेन्टले भन्नुभयो ।

बेइजिङले दुर्लभ खनिज तत्व, प्रविधि र वस्तुहरूको निर्यातमा नयाँ नियन्त्रण गरेको केही दिनपछि उहाँले यस्तो बताउनुभएको हो ।

चीन कार, विद्युतीय र रक्षा उद्योग सामानको लागि चुम्बक बनाउन प्रयोग गरिने खनिजहरूको विश्वको अग्रणी उत्पादक हो।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो केवल अमेरिकाको बारेमा मात्र होइन ।”

उहाँले भन्नुभयो, “चीनको घोषणा विश्वव्यापी आपूर्ति श्रृङ्खलाको शक्ति कब्जाभन्दा बढी केही होइन।

“यो कदम समानुपातिक प्रतिशोध होइन। यो विश्वका हरेक देशमाथि आर्थिक जबर्जस्ती गर्ने अभ्यास हो,” उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टन र बेइजिङबीचको व्यापार तनाव फेरि बढेको छ । उहाँले दोस्रो कार्यकाल सम्हालेपछि कुनै बिन्दुमा प्रतिशोधात्मक कर तीन अङ्कमा पुगेको थियो। दुबै पक्षले तनाव कम गरेका छन् तर उनीहरूको युद्धविराम अस्थनयी हो र नोभेम्बरको सुरूमा समाप्त हुनेछ।

चीनबाट दुर्लभ खनिजको पछिल्लो नियन्त्रणसँगै ट्रम्पले नोभेम्बरदेखि चीनबाट आउने सामानमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ।

बेसेन्टले भन्नुभयो, “दुर्लभ खजिनको प्रतिबन्धमा ढिलाइका कारण उच्च करमा नियन्त्रण सम्भव छ ।”

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो।

इजरायली सार्वजनिक प्रसारक (कान)ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन ।
इजरायली सरकारका एक प्रवक्ताले यस विषयमा सोधिएको प्रश्नबारे कुनै प्रतिक्रिया दिन चाहनुभएन ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामले ध्वस्त प्यालेस्टाइन क्षेत्रमा आवश्यक राहतका लागि सहयोग गर्न नसकेकोमा निराशा व्यक्त गर्नुभएको छ।

“हमासले बन्धकका सबै शव तत्काल फिर्ता गर्न कडा प्रयास गर्ने सहमति जनाएको छ । मलाई गाजामा हमासबाट भएको नागरिकहरूविरुद्धको हिंसाले पनि गम्भीर रूपमा चिन्तित बनाएको छ,” फ्लेचरले भन्नुभयो ।

“इजरायलले हप्तामा हजारौं ट्रकहरू पुग्ने गरी मानवीय सहायताको व्यापक वृद्धि गर्न अनुमति दिनुपर्छ,”उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “इजरायलले यसका लागि सहमति जनाएको छ । अहिले धेरै मानिसहरूको जीवन सहायता निर्भर छ र यसमा विश्वले जोड दिएको छ। हामीलाई थप खुला नाका चाहिन्छ।”

–मानवीय जोखिम –

यसैबीच, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले बुधबार अप्रत्यासितरूपमा अवरोध हुनपुगेको ट्रम्प योजना अन्तर्गत युद्धविराम सम्झौतामा सहमति भएको मानव अवशेषको आदानप्रदानलाई इजरायल र हमासले जारी राख्ने अपेक्षा गरिएको छ ।

यो आदानप्रदानले हमासले बन्धक बनाइ लगेका अन्तिम २० जीवित बन्धकहरू प्यालेष्टिनी लडाकूहरूको नियन्त्रणबबाट मुक्त भइसकेका छन् भने बदलामा इजरायली जेलबाट मुक्त भएका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरू रिहा भएका छन् ।

सम्झौताले लडाई र बमबारीमा रोक लगाइएको छ।

हमासले अहिलेसम्म आठ शव फिर्ता गरिसकेको छ, जसमध्ये सातको पहिचान भइसकेको छ । अन्य २० जनाको अवशेष गाजामा रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई शवहरूलाई स्वदेश ल्याउन घरेलु दबाब छ।

फिर्ता भएकामध्ये आठौँ शव पूर्व बन्धकको नभएको र यसको पहिचान हुन नसकेको इजरायली सेनाले बताएको छ। यस घटनालाई लिएर केही इजरायली राजनीतिज्ञहरूले हमासलाई युद्धविराम सम्झौता तोडेको आरोप लगाएका छन्।

इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गिभरले हमासले गाजामा रहेका सैनिकको अवशेष फिर्ता नगरेमा सहायता आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्।

यसैबीच, इजरायलले आफ्नो हिरासतमा रहेका थप ४५ प्यालेस्टिनी शवहरू दक्षिणी गाजाको नासिर अस्पतालमा स्थानान्तरण गरिएसँगै अहिलेसम्म ९० जनाको अवशेष फिर्ता भइसकेको हमास नियन्त्रित गाजाका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ट्रम्पको योजना अन्तर्गत इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ प्यालेस्टिनीको मृत शरीर फिर्ता गर्नेछ।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३० असोजः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६१, आलु रातो प्रतिकिलो रु ५६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ४७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, लोकल बन्दा प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ७०, भन्टा लाम्चो प्रतिकिलो रु ७५, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु २५०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १२०, परबर (तराई) प्रतिकिलो रु १२०, चिचिण्डो प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ७५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु १००, भिन्डी प्रतिकिलो १६०, सखरखण्ड प्रतिकिलो ९०, बरेला प्रतिकिलो रु १३० कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो रु ७५, स्कूस प्रतिकिलो रु १२, रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकेजी रु २००, तोरीको साग प्रतिकिलो रु १००, मेथीको साग प्रतिकिलो रु ३००, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३९०, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २५०, चुकुन्दर प्रतिकिलो रु ७०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु २६०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ६००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २४०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ५५, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु १४० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ३८०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १६०, हरियो लसुन प्रतिकिलो रु ३००, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २१०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २३०, रूख टमाटर प्रतिकिलो रु १९०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।
–––

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भनेपनि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग मात्र परामर्श गरेका थिए । सभापति निर्वाचित भएपछि देउवाले गुटगत बैठक राखेका थिएनन् । बुधबारको बैठकमा संस्थापन पक्षका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरेका हुन् ।

एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा पटक–पटक बैठक स्थगित हुँदै आएको छ ।सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेकाले आजको बैठक खड्काको अध्यक्षतामा बस्न लागेको हो ।

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

म्याग्दी (बेनी), ३० असोजः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् ।

असोजको सुरुआतदेखि दैनिक १५० देखि ३०० जनासम्म पर्यटक आधार शिविर क्षेत्रको भ्रमणमा पुगेका छन् । सञ्चारको पहुँच नहुँदा पदमार्ग र आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेका होटलसँग सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले पर्यटकको बसोबासमा समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता समेत रहनुभएका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार, यस पदमार्गको हुमखोलासम्म विद्युत् र मोबाइल फोनको पहुँच पुगेको छ ।

“हुमखोलादेखि आधार शिविरसम्मको क्षेत्रमा मोबाइल फोनको सञ्चार र विद्युत् पहुँच पुग्न सकेको छैन, साँधीखर्कको गुराँसेडाँडामा नेपाल टेलिकमको मोबाइल फोनको सामान्य पहुँच छ, आधार शिविर पुगेर फर्कने करिब दुईदिनको यात्राअवधिमा सञ्चार सम्पर्कविच्छेद हुने भएकाले पर्यटकको सुविधा र सुरक्षाका लागि सञ्चारको पहुँच अनिवार्य बनेको छ”, पर्यटन व्यवसायी गुरुङले भन्नुभयो ।

विसं २०६८ देखि स्थानीयवासीको अग्रसरतामा नारच्याङगाउँदेखि अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदमार्ग निर्माण सुरु भएको थियो । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको र हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरी ठाउँ–ठाउँमा होटल सञ्चालनमा आएपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आधार शिविरको मनोरम पञ्चकुण्ड तालसँगै झरना, खोला र रमणीय भू–वनोटका कारण पर्यटकको आगमन बढेको छ । होटलको क्षमताभन्दा बढी पर्यटक आउँदा होटल व्यवसायीलाई पर्यटकको खाना र बसोबासको प्रबन्ध मिलाउन हम्मेहम्मे हुने गरेको छ ।

अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहे पनि विद्युत् र सञ्चारको पहुँच, खानेपानीको सुविधा विस्तार तथा सडकमार्गको स्तरोन्नति तत्काल गर्नेपर्ने देखिएको विराटनगरबाट समूहमा भ्रमणमा आउनुभएका मोहन अटलले गुनासो गर्नुभयो । पदमार्ग क्षेत्रमा रहेका होटलमा बुकिङ गर्न मोबाइल फोन र इन्टरनेटको पहुँच पु¥याउनतर्फ सरकार तथा सरोकारवालाको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

यस पदमार्गअन्तर्गत हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा टेन्टमा बस्ने सुविधासहितका होटल सञ्चालनमा रहेका छन् । सञ्चारसँगै विद्युत् सुविधा नहुँदा खाना पकाउने ग्याँस र बत्तीको लागि जेनेरेटरको व्यवस्था गर्दा खर्चिलो तथा झण्झट व्यहोर्नुपरेको होटल व्यवसायी बताउँछन् । कम्तीमा दुईदिनको पदयात्रा अवधिमा पर्यटक सञ्चार सम्र्पकबाट विच्छेद हुँदा बिरामी भएको र हिमपातको कारण अलपत्र परेको समयमा उद्धारमासमेत समस्या हुँदै आएको छ । हिमाल आरोहणमा आउने टोलीले स्याटेलाइट प्रविधिको फोनको प्रयोग गर्ने गरे पनि अन्य पर्यटकमाझ सञ्चार सम्पर्कको माध्यम र पहुँच छैन ।

हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले दुई दिनको पदयात्रा अवधिमा सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा सकस हुने गरेको बताउनुभयो ।

“पर्यटक घुम्न आएको समयमा बेमौसममा हिमपात हुनसक्छ, हिमपहिरो नै जान पनि सक्छ, आपत्कालीन रुपमा कसरी उद्धार माग्ने सञ्चारको कुनै पहुँच छैन, पर्यटकको हराएको समयमा धेरै पटक खोजीकार्यमा सञ्चार नहुँदा कठिन हुने गरको छ, पदमार्गमा रहेका होटलमा कम्तीमा स्याटेलाइट वा वाकिटकी फोन राख्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । पर्वतारोहणको क्षेत्रमा इतिहास बोकेको यस पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको छ । विगतका वर्षमा खाना र बस्नका लागि आफैँ बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै हटे पनि सञ्चार र विद्युत्को पहुँच विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको छ ।

दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’

काठमाडौँ, ३० असोजः दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ ।नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा बुधबार भारतको बङ्लोरमा ‘स्वास्थ्य शिविर तथा इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली कला संस्कृतिलाई प्रवासमा फैलाउनका लागि यस्ता सांस्कृतिक कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल–भारतबीचको सम्बन्ध केवल भौगोलिक नजिकतामा मात्र होइन, सांस्कृतिक र आत्मिक एकतामा आधारित छ, यस्ता कार्यक्रमले आपसी मैत्री, सहयोग तथा साझा पहिचानलाई अझ मजबुत बनाउँछन्”, अध्यक्ष पाण्डेले भन्नुभयो ।

उक्त महोत्सवमा सांस्कृतिक नृत्य, सङ्गीत, कविता र मैत्रीपूर्ण सांस्कृतिक आदान–प्रदानका माध्यमबाट नेपाल–भारतमैत्री सम्बन्ध सुदृढ पार्ने सन्देश प्रवाह गरिएको थियो । सोहीअवसरमा समितिले इन्डो–नेपाल टोलीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।

सामूहिक सयपत्री फूलखेतीमा म्याग्दे गाउँपालिकाका महिला

दमौली (तनहुँ), ३० असोज : यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् ।

यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिनुभयो ।

अध्यक्ष रानाले भन्नुभयो, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेथ्र्यौँ । हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो । गाउँपालिकामा यसबारेमा जानकारी लियौँ, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौँ ।”

समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताउनुभयो । उहाँका अनुसार सयपत्री फूल प्रतिकिलो रु तीन सय र प्रतिमाला रु एक सय ५० मा बिक्री हुने गरेको छ । घरायसीमा काममा व्यस्त रहने महिलाहरूलाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताउनुभयो । गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उहाँले बताउनुभयो । “स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ । उहाँहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

मौसम पूर्वानुमान : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अध्यक्ष दाहालद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओमानमा जारी टी–२० विश्वकप एसिया–इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

दाहालले जारी गरेको सन्देशमा भनेका छन्, ‘देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ देखाइएको असाधारण प्रदर्शन साँच्चै प्रशंसनीय उपलब्धि हो ।’

उनले नेपाली राष्ट्रिय टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) र सम्पूर्ण खेल परिवारलाई बधाई दिँदै आगामी विश्वकप प्रतियोगिताका लागि सफलता कामना गरेका छन् ।
सन्देशमा दाहालले आफ्नो नेतृत्वमा रहँदा खेलकुद क्षेत्रमा गरिएको पहललाई स्मरण गर्दै त्यसलाई अझ सशक्त र सघन रूपमा अगाडि बढाउन पनि सरकार र सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।उनले क्रिकेटको विकास, स्टेडियम निर्माण तथा खेलाडीहरूको प्रोत्साहनका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

आज ४५ औँ विश्व खाद्य दिवस मनाइँदै

काठमाडौँ, २९ असोज : सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ । समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

विभागका महानिर्देशक सञ्जेलले खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशन तथा प्रसारण गरेर दिवश मनाउने तयारी गरिएको जानकारी दिनुभयो । भोकमरीपीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यलाई प्रवर्द्धन गर्न दिवसले सहयोग पु¥याउने उहाँको विश्वास छ ।

दिवशका अवसरमा राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूसँगको समन्वयमा प्रचारप्रसार, नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाशन तथा अन्य विभिन्न कार्यक्रम गरिने छ ।

विभागले प्रत्येक वर्ष अक्टोबर १६ मा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको छ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारणसभाले सङ्गठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि यो दिवस मनाउँदै आइएको छ ।

यस वर्षको ‘भूजी लिग’ को उपाधि लिभुरालाई

रामेछाप । यस वर्षको ‘भूजी लिग फुटबल प्रतियोगिता’ को उपाधि लिखु भूजी युवा क्लब रामेछाप (लिभुरा) ले जितेको छ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लिभुराले उपाधिसँगै स्थानीय फुटबलमा आफ्नो दबदबा कायम गरेको हो ।

भूजीको अमृत घामछायाँ खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा लिभुराले बाम्ती भण्डारलाई १–० गोलले पराजित गरेको हो । खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो ।
पहिलो हाफमा दुबै टोलीले समान अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । दोस्रो हाफमा पनि खेल बराबरीतिर उन्मुख देखिँदै गर्दा अन्ततः ८९ औँ मिनेटमा लिभुराका ९ नम्बर खेलाडी बिनत सुनुवारले निर्णायक गोल गर्दै टोलीलाई उपाधिसम्म पुर्याए ।

उपाधिसँगै प्रथम हुने लिभुराले नगद १ लाख २७ हजार ७ सय २७ रुपैयाँ, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गरेको छ । उपविजेता बाम्ती भण्डारले ६७ हजार ७ सय २७ रुपैयाँ नगद र रजत पदकमा चित्त बुझायो ।आयोजक भूजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारका अनुसार प्रतियोगिता यस वर्ष पनि अत्यन्त उत्साहजनक सहभागिता र शालीन खेल प्रदर्शनका साथ सफल भएको छ ।

खेलमा लिभुराकै सुजन सुनुवार ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताको पुरुष लिगमा कुल ९ टिमले सहभागिता जनाएका थिए । खेलको सञ्चालन तथा संयोजन भूजी फुटबल क्लबले गरेको थियो ।यस्तै, भूजी लिग अन्तर्गत महिला फुटबल प्रतियोगितामा पनि लिखु भूजी रामेछाप ‘ए’ टिम विजेता बनेको छ । फाइनलमा ‘ए’ टिमले आफ्नै ‘बी’ टिमलाई १–० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्योे भने उपविजेता टिमले २० हजार रुपैयाँ प्राप्त गरेको छ । महिला तर्फ कुल ३ टिमले सहभागिता जनाएका थिए ।
समापन समारोह उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा विजयी टिम, उत्कृष्ट खेलाडी र निर्णायकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष शुभराज सुनुवारले स्थानीय स्तरमा खेलकुदले एकता, अनुशासन र प्रतिभा विकासमा ठूलो योगदान पु‍¥याइरहेको उल्लेख गर्दै आगामी वर्ष प्रतियोगिता अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।

भूजी लिग प्रतियोगिता रामेछाप जिल्लामा स्थानीय खेल प्रतिभा पहिचान र फुटबलको माध्यमबाट समुदायबीचको सम्बन्ध सुदृढ गर्न उद्देश्यले सञ्चालन गरिएको वार्षिक कार्यक्रम हो ।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुनेछ ।बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन् । बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची राखिएको छ ।

जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ ।

चिकित्सकलार्ई निजी अस्पतालमा काम नगर्न निर्देशन

तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरुलाई यस्तो निर्देशन दिइएको हो ।

वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकलाई यस्तो निर्देशन दिइएको बताउनुभयो ।

नियमानुसार नेपाल सरकारबाट नियुक्ति लिएका चिकित्सकहरूले निजि रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाइने प्रावधान छ । सोहीअनुसार बुधबार प्रदेशका सबै अस्पताललाई पत्र लेख्दै यस्तो निर्देशन गरिएको प्रशासक चौधरीले बताउनुभयो ।

जेनजी आन्दोलनमा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर बोकेर सिंहदरबार मूलद्वार अगाडिलगायतका विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पु¥याएको अभियोगमा परियारलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेका परियारबिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने समेतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँचको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो । साथै निजको यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी कसूर जस्ता आपराधिक गतिविधिमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।