`

पोखरामा आइटिएफ टेनिस सुरु, १६ देशका ८० खेलाडी प्रतिस्पर्धा गर्दै

Nepal One HD १५ मंसिर २०८२ १९:३०
अर्थ समाचार

कास्की, १५ मङ्सिरः पर्यटकन राजधानी पोखरामा आजदेखि ‘आइटिएफ जे ३० टेनिस’ को प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा सुरु प्रतियोगिता अन्तरराष्ट्रिय टेनिस महासङ्घद्वारा स्वीकृतप्राप्त ‘आइटिएफ जे ३० टेनिस टुर पोखरा’को आठौँ संस्करण हो । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बङ्गलादेश र क्यानाडका खेलाडी सहभागी छन् । यसैगरी अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीहरुले समेत उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ अङ्क, क्वाटरफाइनालिष्टले पाँँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् । त्यस्तै ‘डबल्स’मा विजेताले २५ अङ्क उपविजेताले १३ अङ्क, सेमिफाइनालिष्टले छ अङ्क, क्वाटरफाइनालिष्टले तीन अङ्क प्राप्त गर्ने प्रतियोगिता संयोजक अजय विष्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा ‘ब्वाइज सिङ्गल्स’ तथा ‘डबल्स’÷‘गल्र्स सिङ्गल्स तथा डबल्स’ गरी चार विधामा सञ्चालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाणपत्रसहित पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको उल्लेख गर्नुभयो ।

“प्रतियोगिताले पोखरालाई खेलकुदको हवको रुपमा चिनाउन मात्रै नभई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ । पोखरालाई खेलकुदमार्फत चिनाउन टेनिसको महत्वपूर्ण भूमिका भएकोले पर्यटन बोर्ड सहकार्य गर्दै अघि बढेको छ”, उहाँले भन्नुभयो ।

आयोजक कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरूङले आठौँ सस्करणको यात्रामा प्रतियोगिता अझै प्रभावकारी बन्दै गएको बताउँदै मुलुकको विषम परिस्थितिमा समेत १६ देशका खेलाडीहरुको सहभागिता हुनु गर्वको विषय रहेको उल्लेख गर्नुभयो ।कास्की टेनिसका सचिव भीष्मराज पौडेलले प्रतियोगिताको सफल व्यवस्थापनकै कारण पोखरामा आएर खेल्न खेलाडीहरु उत्साहित रहेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *