`

मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १४ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

आयोगले पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्णप्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

गाउँपालिकामा कार्यरत अधिकृत छैटौँ यादवले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लिएको पेस्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको छ । यादवले आर्थिक वर्ष २०७५÷७६ देखि २०७८÷७९ सम्म पटक–पटक लिएको पेस्कीमध्ये रु ४६ लाख सात हजार बराबरको बिल भरपाई पेस नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले आरोपीहरूबाट हिनामिना भएको बिगो रकम असुलउपर गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।

त्यसैगरी थाइल्यान्डको बैङ्ककदेखि गाँजा लिएर आएका दुई विदेशी नागरिकलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । पक्राउ पर्ने दुवै नेपाल एयरलाइन्सको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका थिए । मलेसियाका नागरिक बाचा मुरुगन र श्रीलङ्काका नागरिक ३३ वर्षीय मोहम्मद आसन अललदिनलाई चार किलो १२५ ग्राम गाँजासहित प्रहरीले आज प्रक्राउ गरेको हो ।

इन्डोनेसिया र थाइल्यान्डमा बाढी–पहिरोमा मृत्यु सङ्ख्या ६०० भन्दा बढी, उद्धार कार्य तीव्र

दक्षिणपूर्व एशियामा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु सङ्ख्या ६०० नाघेपछि, इन्डोनेसिया र थाइल्यान्डका अधिकारीहरूले आइतबार बेपत्ता मानिसहरूको खोजी र उद्धार कार्यलाई थप तीव्र बनाएका छन् ।

सप्ताहभर परेका अत्यधिक मनसुन वर्षाले इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाका धेरै क्षेत्र डुबानमा परे, जसले हजारौँ मानिसलाई सुरक्षित आश्रय र आवश्यक सामग्रीबिना कठीन परिस्थितिमा पारेको छ ।

इन्डोनेसियाको सुमात्रा टापुका केही भाग अझै पहुँचयोग्य नभएकाले, जाकार्ताबाट दुई युद्धपोतमार्फत राहत सामग्री पठाइएको छ । राष्ट्रिय विपत् व्यवस्थापन एजेन्सीका अनुसार, इन्डोनेसियामा ४४२ जनाको मृत्यु भएको छ, ४०२ जना बेपत्ता छन् र ६४६ जना घाइते भएका छन् ।

कसै–कसै गाउँमा पानी घटेपनि घर, सवारीसाधन र खेतबारी बाक्लो हिलोले ढाकिएका छन्, र बाह्य सहायता अझै पुगेको छैन ।थाइल्यान्डमा मृत्यु सङ्ख्या १६२ पुगेको छ । सरकारले राहत तथा क्षतिपूर्ति घोषणा गरे पनि केही क्षेत्रमा ढिलाइ भएको भन्दै जनस्तरमा आलोचना बढ्दै गएको छ । यसै कारण, दुई स्थानीय अधिकारीलाई निलम्बन गरिएको छ ।

मलेसियाको पेरलिस राज्यमा आएको बाढीले दुई जनाको मृत्यु भएको छ ।विशेषज्ञहरूले जलवायु परिवर्तनले मनसुनको अवधि र तीव्रता दुवै बढाइरहेकाले यस वर्षका बाढी–पहिरो झनै विनाशकारी बनेको बताएका छन् ।

सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल

गण्डकी – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समय आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै संयोजक दाहालले सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीसँग छलफल गरेर चुनावी वातावरण थप सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “चुनाव तोकिएको समय फागुन २१ गते नै हुनुपर्छ । त्यसका लागि सरकारले जनाधार भएका पार्टीका नेतासँग छलफल गर्नुपर्दछ । जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन ।”

देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिष्ट शक्ति एकजुट हुनु अत्यावश्यक भएको संयोजक दाहालले बताउनुभयो । उहाँले अघिल्लो सरकारले दुई तिहाइ बहुमतको घमण्ड गर्दा राष्ट्रले ठूलो क्षति बेर्होनु परेको जिकिर गर्नुभयो ।

“हामीले राष्ट्र झन्डै धरापमा पुगेको देख्यौँ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ । तर सरकारबाट हटाइयो । अघिल्लो पटक हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न शक्ति पुगेन । आगामी निर्वाचनमा पहिलो शक्ति बनेर राष्ट्रियता र सुशासनका लागि विगतका कमीकमजोरी सच्याएर नेपाली कम्युनिष्ट पार्टीले काम गर्नेछ ।”

संयोजक दाहालले विभिन्न १७ घटकसँगको पार्टी एकता चुनाव जित्नका लागि मात्र नभएको उल्लेख गर्नुभयो । “हामीले सुरु गरेको पार्टी एकता अभियान चुनाव जित्ने उद्देश्यका लागि मात्र होइन । राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण तथा समृद्धिको आधार निर्माणका लागि हामीले कम्युनिष्ट एकता र लोकतान्त्रिक शक्तिसँगको सहकार्यमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक अस्थिरताको अन्त्यका लागि निर्वाचन हुनै पर्ने बताउनुभयो । उहाँले देशको रक्षा गर्ने जिम्मेवारी नेकपाको रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रका सामु अहिले ठूलो सङ्कट सिर्जना भएको छ । यसको अन्त्यका लागि निर्वाचनको विकल्प छैन । देशको रक्षाका लागिसमेत बृहत् र बलियो कम्युनिष्ट पार्टी आवश्यक छ ।”

पूर्वप्रधानमन्त्री एवम् पार्टीका नेता झलनाथ खनालले नेकपालाई नेताप्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्ने बताउनुभयो । “हामीले विधि र पद्धतिलाई अनुसरण गर्ने पार्टी बनाउन चाहेका छौँ । अब विगतको जस्तो नेता प्रधान हुने पार्टी चल्दैन,” उहाँले भन्नुभयो ।

नेकपाका नेता भीम रावलले विगतका गल्तीमा माफी माग्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । “विगतका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर मात्र बलियो र एकताबद्ध पार्टी निर्माण गर्न सकिन्छ । स्वाधीनता बलियो भएको नेपाल बनाउन सकिन्छ । त्यसका लागि पार्टीका सबै नेता तथा कार्यकर्तामा त्याग र समर्पण आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित एकीकृत पार्टी आवश्यक रहेकाले सबैले आफूले आफैँलाई बदल्नुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अझै पूरा भएको छैन । त्यसका लागि पार्टीको रुपान्तरण गर्नुपर्दछ ।”

सभामा नेताहरू देव गुरुङ, पोखरा महानगर प्रमुख धनराज आचार्य, राजु थापा, डा लक्ष्मी ओली, दीननाथ शर्मा, गायत्री गुरुङ, श्रीनाथ बराललगायतले जनताको आवश्यकता र अपेक्षा पूरा गर्ने पार्टी निर्माणको आवश्यकता आँैल्याउनुभएको थियो ।

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ ।

आज सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।

यस्तै, यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने र पुनः आन्दोलनमा जान सक्ने अवस्था आउन नदिनेबारे पनि सचेत गराइएको जनाइको छ ।

प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताउनुभयो । छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति रहेको थियो ।

‘हामी जे बनाउन भनेर लागिरहेका छौं, त्यो समाज बुझ्न जरुरी छ – स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सस्तो तथा पुनरवितरणमुखी राजनीतिले देशलाई अघि लैजान नसक्ने बताएका छन् । रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा कार्यक्रममा बोल्दै उनले समाज रूपान्तरणका लागि अवसरको समानतामा आधारित राजनीतिलाई अघि बढाउनुपर्ने बताए ।

‘हामी जे बनाउन भनेर लागिरहेका छौं, त्यो समाज बुझ्न जरुरी छ,’ उनले भने, ‘पुनरवितरणको—अर्थात् सस्तो—राजनीति खारेज गरेर अवसरहरूको समानताको राजनीतिबाट अघि बढ्नुपर्छ ।’वाग्लेले मुलुकको अर्थतन्त्रको आकार विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै समाजका बेथिति र समस्याको जरा बुझेर समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो समाज हामी जे बनाउन भनेर लागेका छौं त्यो बुझ्न जरुरी छ । मुलुकको अर्थतन्त्रको आकार ठूलो बनाउनुपर्छ । हामीले आजको दिनमा १० वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै दार्शनिक आधार के हो भनेर यो सोच्नुपर्ने हुन्छ । अहिलेको लोकतन्त्रलाई थप स्वच्छ बनाएर अगाडि बढ्नुपर्छ ।’

१२ बुँदे घोषणापत्र जारी गर्दै हिंसा प्रभावित अग्रणी महिलाको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ – महिला हिंसा विरुद्धको १६ दिने अन्तरराष्ट्रिय अभियानको अवसरमा काठमाडौँमा आयोजित दुईदिने हिंसा प्रभावित महिलाको अग्रणी राष्ट्रिय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) को आयोजनामा शनिबारदेखि सुरु भएको सम्मेलनले आज घोषणापत्र जारी गर्दै संवैधानिक व्यवस्था कार्यान्वयन र बढ्दो हिंसा न्यूनीकरणका लागि प्रभावकारी कार्यसम्पादनका लागि सरकारको ध्यानाकर्षण गरिएको छ ।

नेपालको संविधानले समानताको अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको १० वर्ष भइसक्दा अधिकार स्थापित हुन सकेको भन्दै महिलाहरू अझै नागरिकता, जन्मदर्ता, विवाह दर्ता जस्ता आधारभूत कागजातका लागि परिवार र पुरुष सदस्यमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्न कानुनी प्रावधान सुधारको माग गरिएको छ । समानताको अधिकार कार्यान्वयनको अभावमा प्रभावित महिला, तिनमा आश्रित छोराछोरीको भविष्य निर्माणमा समस्या र हिंसा भोग्ने अवस्था कायमै रहेकाले कानुनी सुधार र सामाजिक रूपान्तरणको अभियान सञ्चानका लागि आग्रह गरिएको छ ।

हाल हिंसापीडित महिलाको न्यायमा पहुँच कठिन रहेकाले सङ्घदेखि स्थानीय तहसम्मका कानुनी सेवा, कोष र संयन्त्रको प्रभावकारी, पहुँचयोग्य र प्रभावित केन्द्रित सेवा सुनिश्चितताको माग गरिएको छ ।

सम्मेलनले ‘जेनजी’ प्रदर्शनका क्रममा जेलबाट बाहिरिएका कैदीहरूका कारण हिंसा प्रभावित महिलाहरू थप जोखिममा परेको, अदालतका कागजात नष्ट हुँदा न्यायमा असर परेको र महिला मानवअधिकार रक्षकहरूसमेत सुरक्षा जोखिममा रहेको भन्दै सरकारलाई तत्काल विशेष सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ । समुदाय तहमा रहेका एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) र सुरक्षावास जस्ता सेवा प्रदायक संयन्त्रलाई अत्यावश्यक सेवाको रूपमा विकास गर्दै पर्याप्त स्रोत र सहज पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।
हाल हिंसापीडित महिलाले प्रमाण जुटाउने जिम्मेवारी आफैँले बोक्नुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गरी प्रमाण सङ्कलन र न्यायिक प्रक्रियामा राज्यका निकायलाई जिम्मेवार बनाउने गरी नीतिगत व्यवस्थाको माग गरिएको छ ।

यसैगरी पछिल्लो समय सामाजिक सञ्जालबाट हुने हिंसा बढिरहेकाले जिल्लास्तरमै छिटो र प्रभावकारी सेवा दिने संयन्त्र स्थापना गर्न माग गरिएको छ । घरेलु हिंसा र जातीय विभेदका कारण हुने हिंसा, हानिकारक प्रथा र परम्पराबाट सृजना हुने हिंसा कानुनी प्रक्रियाभन्दा आपसी मेलमिलापमा लैजाने प्रवृत्तिका कारण धेरै महिला आत्महत्या गर्न बाध्य भएको उल्लेख गर्दै यस्तो प्रवृत्ति अन्त्यका लागि आवश्यक कानुनी संशोधनको आवश्यकता औँल्याइएको छ ।

घोषणापत्रमा भनिएको छ, “हिंसा प्रभावित महिलालाई प्रभावकारी सेवा प्रदान गर्न परिवारको साथ, समर्थन र व्यवहारको महत्वलाई स्वीकार गर्दै, परिवारका सदस्यलाई घटनामा सहयोग गर्ने, जिम्मेवारी बोध गराउने र मनोबल बढाउने पारिवारिक परामर्श तथा परिवार लक्षित कार्यक्रम निर्माण गर्न सरकारलाई आग्रह गर्दछौँ ।” यसका साथै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीप, शिक्षा, उमेर र रुचीअनुसार उद्यमशीलता तथा व्यावसायिक अवसरलाई विस्तार, ऋण तथा सीप विकासका कार्यक्रम उपलब्ध गराउन माग गरिएको छ । साथै, पीडक पक्षको राजनीतिक संरक्षण, धम्की र झन्झटिलो न्यायिक प्रक्रियाले पीडितहरू ‘होस्टाइल’ बन्ने र यस्तो परिस्थितिमा महिलालाई नै दोष दिने संस्कृतिको अन्त्य गर्न आग्रह गरिएको छ । “महिलाको श्रम, शरीर र पहिचानमाथि परिवार तथा समाजले गर्दै आएका नियन्त्रणका कारण हिंसा कायम रहँदै आएको यथार्थलाई स्वीकार्दै, महिलाको श्रम, शरीर र पहिचानमाथि स्वनिर्णय लिन सक्ने वातावरण निर्माण गर्न राज्यसँग माग गर्दछौँ”, घोषणापत्रमा भनिएको छ ।

यसैगरी हिंसाले महिला र उनीहरूको सन्तानमा पर्ने मानसिक असरलाई ध्यानमा राख्दै समुदाय तहमै मनो–परामर्श केन्द्रहरू स्थापना गर्न, हिंसा प्रभावित महिलाको नेतृत्व स्वीकार गरिनुपर्ने र विभेदकारी दृष्टिकोण समाप्त हुनुपर्ने जिकिर गरिएको छ । आफ्ना माग पूरा नभए आन्दोलनमा जाने र सरकारका सकारात्मक कदमलाई समुदायसम्म पु¥याउन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

सातवटै प्रदेशबाट एक सयभन्दा बढी अगुवा महिलाको सहभागिता रहेको सम्मेलनले उनीहरूको सामूहिक सञ्जाल निर्माण गरी थप कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको ओरेकका संस्थापक डा रेणुराज भण्डारीले बताउनुभयो ।

मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक

काठमाडौँ – खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार यही मङ्सिर ८ गतेको निर्णयानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (विकास व्यवस्थापन क्षेत्र हेर्ने) को संयोजकत्वमा विषयगत मन्त्रालयका सहसचिव र बाढीपीडित सङ्घर्ष समितिका तर्फबाट तीन जना सदस्य रहने गरी बढीमा एक वर्ष कार्यकाल रहेको नौ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ ।

त्यसैगरी स्थानीय बाढीपीडित सङ्घर्ष समितिका तर्फबाट सहभागी हुने तीन प्रतिनिधि सिफारिस गरी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिइएको र समितिको संरचना, कार्यसर्त र कार्यविधि मन्त्रालयको ‘वेबसाइट’मा राखिएको छ । विसं २०७८ मा गएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने राहत तथा क्षतिपूर्ति र निजी आवास पुनर्निर्माणका लागि तत्कालीन समयमा स्थानीय प्रशासनवाट उपलब्ध भएको राहत तथा क्षतिपूर्ति प्रक्रियामा छुट भएको देखिएमा नदोहोरिने गरी समावेश गर्नेलगायत विषयका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट वितरण हुने पानीको परिपूरण (लेभी) खानेपानी क्षेत्रमा नै नयाँ विषय भएको सम्बन्धमा विश्वव्यापी अभ्यास, सम्बन्धित सरोकारवाला निकाय एवं व्यक्ति समेतलाई राखी यही मङ्सिर ११ गतेको बैठकबाट निश्चित विधिसहितको आवश्यक कानुन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन एक कार्यदल गठन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले मेलम्ची खानेपानी विकास समितिको गठन आदेश २०७९ संशोधनका सम्बन्धमा प्रधानमन्त्री एवं खानेपानी मन्त्रीबाट असोज ३० गते स्वीकृत भएबमोजिम मङ्सिर २ गते अर्थ मन्त्रालयमा राय परामर्श माग गरी पठाइएको छ । परामर्श प्राप्त हुनासाथ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रेषित गरी प्राप्त परामर्शसमेत संलग्न राखी नेपाल सरकार समक्ष पेस गरिने छ । मेलम्ची पुल बजारदेखि मेलम्ची हेडवक्र्ससम्मको सडक निर्माण गर्न गत कात्तिक २६ गते सडक डिभिजन कार्यालय दोलखाबाट रु २५ करोडको बोलपत्र आह्वान भइसकेको छ । उक्त सडक निर्माण कार्यमा थप रु ७५ करोड स्रोत सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोगको सचिवालयमा प्रेषित भइसकेको पनि मन्त्रालयले जनाएको छ । बाँकी दुई सडकका लागि समितिमा विनियोजन भएको रु १० करोड कार्यान्वयनका लागि भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरणको प्रक्रिया अगाडि बढाएएको छ ।

महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने बताउनुभएको छ ।

एमालेको केन्द्रीय प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११औँ महाधिवेशनको प्रतीक चिह्न (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताउनुभयो । उहाँले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रुपान्तरण र पुस्तान्तरणका लागि केन्द्रित हुने स्पष्ट गर्नुभयो ।

“सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा प्रजातन्त्र छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन”, अध्यक्ष ओलीले भन्नुभयो, “चुनाव लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔँ, एकार्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि लोगो सार्वजनिक गर्नुभएको थियो ।

हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै रागनी देशकै उत्कृष्ट प्रहरी घोषित

सर्लाही । महिला हिंसा रोकथामलाई घर–घरमा पु¥याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव यो वर्षको ‘सर्वोत्कृष्ट प्रहरी–२०८१÷८२’ घोषित भएकी छिन् । देशभरिका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हासिल गरेकी हुन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीलाई ४० हजार रुपैयाँ, प्रशंसा–पत्र र ट्रफी प्रदान गर्दै सम्मान गरे। इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रागनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख जिम्मेवारी सम्हाल्दै हिंसा पीडितलाई तत्काल उद्धार, कानुनी सहयोग र मनो–सम्बोधन उपलब्ध गराउँदै आएकी छन् ।

समितिका एक सदस्यका अनुसार, ‘रागनीले उजुरी दर्ता गरेर केवल फाइल सम्हाल्ने काम गरेनन्, उनले पीडितको जीवन फर्काउने अभियान नै चलाइन् ।’मधेसको साधारण परिवारबाट प्रहरी सेवामा प्रवेश गरेकी रागनीको सफलताले महिलाले चाहेमा नेतृत्व र सेवामा उत्कृष्टता हासिल गर्न सकिने सन्देश दिएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

छ महिनाभित्र ‘एनआरएनए’ को महाधिवेशन गरिने

काठमाडौँ – विगत केही वर्षदेखि छुट्टाछुट्टै समूहमा विभाजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बृहत् एकता भएसँगै आगामी छ महिनाभित्र १२औँ महाधिवेशन गरिने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज भएको एकताबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्षद्वय डा बद्री केसी र महेशकुमार श्रेष्ठले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकताले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

अध्यक्ष डा केसीले अब विवाद छोडेर नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा एनआरएनए फुटेर होइन जुटेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

अर्का अध्यक्ष श्रेष्ठले एनआरएनएबीचको बृहत् एकता घोषणाले गैरआवासीय नेपालीबीचको भावनात्मक एकता भई समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।

सहमतिअनुसार सन् २०२३ अक्टोबरमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित डा बद्री केसी नेतृत्वको कार्यसमिति र सन् २०२५ मेमा शेष घले संयोजकत्वमा गठित एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई स्वीकार गरिने भएको छ ।

एनआरएनएको १२औँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले छ महिनाभित्र सम्पन्न गर्ने र उक्त मितिभित्र १२औँ महाधिवेशन सम्पन्न गर्दा सन् २०२५ मे मा आयोजित एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने जनाइएको छ ।

एनआरएनएको १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि १२औँ महाधिवेशनमा उम्मेदवार नहुने व्यक्ति सम्मिलित समिति गठन गर्ने, सदस्यता दर्तामा पारदर्शिता र निष्पक्षताका लागि महासचिव गौरीराज जोशी र बाबुराम लामालाई प्रणाली व्यवस्थापनसम्बन्धी सम्पूर्ण अधिकार दिने बताइएको छ । सहमतिअनुसार सङ्घको १०औँ र ११औँ महाधिवेशनका सन्दर्भमा विभिन्न परिस्थितिका कारण कुल आचार्य, रविना थापा, डा बद्री केसी, विनोद कुँवर र राजेन्द्रकुमार शर्माको अध्यक्षतामा गठित कार्यसमितिहरूलाई पूर्वकार्यसमितिको रूपमा अभिलेखीकरण गरिने सहमति भएको छ ।

आगामी महाधिवेशनका अवसरमा ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेस गर्ने, ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा केसीले एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष श्रेष्ठलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्ने जनाइएको छ ।

एनआरएनको आधिकारिकतालगायत विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने वा आपसी सहमतिका माध्यमबाट समाधान गर्ने सहमतिसमेत भएको छ । सङ्घको दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तेस्रो पक्षबाट लेखापरीक्षण गराउने जनाइएको छ ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा एनआरएनए स्थापना भएको थियो ।

‘लैङ्गिक हिंसा कम गर्न सबैको सामूहिक प्रयास आवश्यक छ’ – प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लैङ्गिक हिंसा कम गर्न सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ नारा र ‘लैङ्गिक हिंसारहित प्रविधि, सुरक्षा तथा न्यायको विधि’ नेपाल प्रहरीको नारासहित नेपाल प्रहरीको प्रधान कार्यालयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्याङ्कले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार तथा समाजलाई समेत असर गर्ने भएकाले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधन गर्न सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक छ ।”

आर्थिक वर्ष २०८१÷८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण गर्दै प्रहरी महानिरीक्षक कर्कीले लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रहरी कर्मचारीलाई प्रशंसापत्र तथा नगद पुरस्कारसमेत प्रदान गर्नुभयो । बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य तथा समन्वयबाट मात्रै सम्भव हुने उल्लेख गर्दै उहाँले यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, रायसुझाव, सल्लाह तथा सहयोगप्रति कृतज्ञतासमेत व्यक्त गर्नुभयो ।

लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य र समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, सङ्घसंस्था र सरोकारवाला संस्थाको भूमिकाको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक कार्कीले आगामी दिनमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको बताउनुभयो ।

सो अवसरमा गृहमन्त्रालयका उपसचिव मीना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोशनीदेवी कार्की, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्याल, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार बस्नेतलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीस्थित रामग्राम स्तुप विश्वभरिका बुद्धको एकमात्र सिङ्गो अस्तुधातु भएको ठाउँ हो । जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ ।

रामग्राम स्तूपमा सन् २०२५ जनवरी १ देखि अक्टोबर अन्तिमसम्मको १० महिनामा १७ हजार ४१७ जना पर्यटकले भ्रमण गरेका रामग्राम स्तुप विकास कोषका पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यसवर्ष पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । गत वर्षको सोही अवधिमा भन्दा यस वर्ष तीन हजार ७३८ बढी पर्यटक स्तुप अवलोकनका लागि पुगेका छन् ।”

रामग्राम स्तुपमा सबैभन्दा बढी थाइल्याण्डका छ हजार ६६८ पर्यटकको आगमन भएको पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिनुभयो । आन्तरिक पर्यटकमा माथिल्लो मुस्ताङका दुई हजार ३७९ यहाँ पुगेका भन्दे सबैभन्दा कम युगाण्डाका एक जना रहेका बताउनुभयो । उहाँका अनुसार स्तुपमा नेपाल बाहेक ३६ देशका पर्यटक आउने गरेका छन् । रामग्राम स्तुपमा पछिल्लो समय पर्यटक बढ्न थालेपछि स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारी पाएका छन् ।

चीनद्वारा व्यावसायिक अन्तरिक्ष अनुगमनका लागि नयाँ विभाग गठन

चीन राष्ट्रिय अन्तरिक्ष प्रशासनले देशमा तीव्र गतिमा विस्तार भइरहेको व्यावसायिक अन्तरिक्ष क्षेत्रको समन्वय र नियमनका लागि नयाँ विभाग स्थापना गरेको जनाएको छ।

नयाँ विभागको स्थापना व्यावसायिक अन्तरिक्ष उद्योगका लागि विशेष नियमन व्यवस्था तयार गर्ने महत्वपूर्ण कदम भएको प्रशासनले जनाएको छ। यसले उच्च गुणस्तरको विकासलाई निरन्तर अघि बढाउने र सम्पूर्ण उद्योग शृङ्खलालाई लाभ पुर्‍याउने विश्वास गरिएको छ।

हालका वर्षहरूमा सहायक नीति, प्रविधि उपलब्धि र बजारको मागका कारण चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक प्रगति भएको छ। उद्योग शृङ्खलाभित्रको सहकार्यपूर्ण नवप्रयोगले यस्तो प्रगति सम्भव भएको बताइन्छ।

प्रशासनका एक अधिकारीका अनुसार चीनमा व्यावसायिक अन्तरिक्षसँग सम्बन्धित उद्यमहरूको संख्या हाल छ सयभन्दा बढी पुगेको छ। सुरक्षालाई सुनिश्चित गर्दै विकासको सम्भावना क्रमशः खुल्दै गएको छ।

प्रशासनले हालै २०२५ देखि २०२७ सालसम्मका लागि व्यावसायिक अन्तरिक्ष क्षेत्रको उच्च गुणस्तरीय र सुरक्षित विकास प्रवर्द्धन गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। उक्त योजनाले व्यावसायिक अन्तरिक्ष गतिविधिलाई राष्ट्रको समग्र अन्तरिक्ष विकास संरचनासँग जोड्ने लक्ष्य राखेको छ।

प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

काठमाडौँ – प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिनुभयो । रु ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ ।

सिआइबीले यसअघि गत कात्तिक २२ गते बैङ्कको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । त्यसैगरी सिआइबीले गत कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । भट्टचनमाथि अनुसन्धानका क्रममा बैङ्कका सिइओ शेरचनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भट्टचनविरुद्ध रु ९८ करोड ठगी गरेको आरोप लागेको छ ।

एमाले महाधिवेशनःकञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन

महेन्द्रनगर, १४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नं १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित हुनुभएको छ ।

यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित हुनुभएको हो । साथै, युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट हुनुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र–२ भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन हुनुभएको हो । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन हुनुभएको छभने युवातर्फबाट पनि प्रवीण बोगटी चयन हुनुभएको छभने दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित हुनुभएको छ ।

थप गुमाउने अवस्था आउन नदिन सबै संयमित भएर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड

काठमाडौँ ( प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्ने र सुधारका लागि सहकार्य जरुरी रहेको बताइन्। प्रधानमन्त्री कार्कीले विगतमा विभिन्न नाममा झगडा र विमति राख्दा धेरै क्षति बेहार्नु परेको उल्लेख गर्दै अब थप गुमाउने अवस्था आउन नदिन सबै संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको उनका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए ।

उनले भनेकी थिइन्, “नयाँनयाँ समस्या मात्रै ल्याउनेभन्दा पनि देशमा प्राप्त उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ । समस्या मात्रै तेस्र्याएर होइन, सम्हालिएर हिँडौँ । विमतिका कुरा छन्भने आफ्ना मत लिएर जनतामा जाऔँ । जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ ।”

प्रधानमन्त्री कार्कीले आफ्ना लागि र सरकारका लागि कोही आफन्त–पराया नभएको उल्लेख गर्दै कुनै पनि कारणले कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, “तपाईंहरु र अरू जोकोहीले दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौं । भ्रष्टाचार प्रकरणका थाती रहेका धेरै मुद्दा अगाडि बढेका छन् । यस मामिलामा पनि चुप लागेर बस्दैनौँ । मुलुकको वातावरण बिगार्न धेरै लागेका छन्, यसैमा अल्झिने हो भने देश कहिल्यै उँभो लाग्दैन । त्यसैले सरकार सम्हालिएर अगाडि बढ्छ ।”

गोली हानाहानपछि अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो

ह्वाइट हाउस नजिकै भएको गोली हानाहानमा एक नेसनल गार्ड सदस्यको मृत्यु र अर्कोको गम्भीर अवस्थापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अफगान पासपोर्टमा यात्रा गर्ने व्यक्तिहरूका लागि भिसा जारी गर्ने प्रक्रिया तात्कालिक रूपमा रोक्नुभएको छ । यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्ला लकानवाल पक्राउ परेर पहिलो–डिग्री हत्यासहित अनेक आरोपको सामना गरिरहेका छन् ।

लकानवाल अफगानिस्तान युद्धका दौरान सिआइएसँग काम गरेका पूर्व सहकर्मी भएको बताइन्छ । उनले बाइडेन प्रशासनका क्रममा शरणका लागि निवेदन दिएका थिए र चालु वर्ष ट्रम्प प्रशासनको समयमा यो शरण स्वीकृत भएको अफगानइभाक नामक सहायता समूहले जनाएको छ । ट्रम्प प्रशासनले कानूनी आप्रवासन कठोर बनाउने, केही गरीब राष्ट्रबाट प्रवेशमा रोक तथा अमेरिकामा रहेका अफगान र अन्य कानूनी आप्रवासीहरूको पुनःसमीक्षा गर्ने नीति अघि बढाउँदै आएको छ ।

बुधबारको गोलीकाण्डमा २० वर्षीया विशेषज्ञ सारा बेकस्ट्रोमको मृत्यु भएको थियो भने २४ वर्षीय स्टाफ सार्जन्ट एन्ड्र्यु वोल्फ गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् । दुवैजना वेस्ट भर्जिनिया नेसनल गार्डसहित राष्ट्रपतिको अपराध–विरोधी अभियानअनुसार वासिङ्टन डिसी क्षेत्रमा तैनाथ भएका थिए । अन्य सहरहरूमा पनि नेसनल गार्ड परिचालन गर्ने राष्ट्रपतिको प्रयास न्यायिक अवरोधसँग जुधिरहेको छ ।

युएस एटर्नी जेनिन पिर्रोको कार्यालयका अनुसार लकानवालमाथि सशस्त्र अवस्थामा मार्ने उद्देश्यले आक्रमण गरेका दुई अतिरिक्त आरोप पनि जोडिएको छ । पिर्रोले फक्स न्युजमा ‘थप आरोपहरू आउन बाँकी छन्’ भनी उल्लेख गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘आतङ्कवादी हमला’ भन्दै बाइडेन प्रशासनले अमेरिकी सेनालाई सहयोग गर्ने अफगानहरूलाई प्रवेश गराएको निर्णयको कडा आलोचना गर्नुभएको छ ।

यसबीच युएस नागरिकता तथा अध्यागमन सेवाका निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समा प्रत्येक विदेशीको अधिकतम तहमा छानबिन भएको सुनिश्चित नभएसम्म शरणसम्बन्धी सबै निर्णयहरू स्थगित गरिने घोषणा गर्नुभएको छ । विज्ञहरूका अनुसार यतिखेर पनि शरण प्रक्रियामा कठोर सुरक्षा जाँच प्रणाली कायम छ र युएससीआइएसमा दाबीहरूको ठूलो ब्याकलग रहेको छ, जुन ट्रम्प प्रशासनमै अझ बढेको आलोचकहरूले बताउँदै आएका छन् ।

शुक्रबार विदेशमन्त्री मार्को रुबियोले पनि अफगान पासपोर्टमा यात्रा गर्ने सबै व्यक्तिका लागि भिसा जारी प्रक्रिया रोकिएको जानकारी दिनुभयो । सो निर्णयप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै अपगानइभाकका अध्यक्ष शन भ्यानडाइभरले ‘एक व्यक्तिको हिंसात्मक कार्यलाई बहाना बनाएर प्रशासनले लामै समयदेखि योजना बनाएको नीति लागू गर्न लागेको’ आरोप लगाउनुभएको छ ।

सन्दिग्ध लकानवाल वासिङ्टन राज्यको बेलिङहममा पत्नी र पाँच सन्तानसँग बस्दै आएका थिए । स्थानीयहरूले उनलाई विनम्र, शान्त र थोरै अङ्ग्रेजी बोल्ने व्यक्ति बताएका छन् । छिमेकीहरूले काम खोज्न कठिनाइ भएको सुनेको र करिब दुई सातादेखि बेपत्ता रहेको बताएका छन् । लकानवालले यसै वर्ष अमेजन फ्लेक्समा छोटो समय स्वतन्त्र ठेकेदारका रूपमा काम गरेको पुष्टिको जानकारी पनि आएको छ ।

अनुसन्धानकर्ताहरू वासिङ्टन राज्य तथा देशका विभिन्न भागमा वारेन्ट कार्यान्वयन गरिरहेका छन् । लकानवाल सन् २०२१ मा बाइडेन प्रशासनको ‘अपरेसन एलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिकामा प्रवेश गरेका थिए । खोस्तका एक नातेदारका अनुसार लकानवालले सन् २०१२ देखि सिआइए समर्थित अफगान विशेष ‘शून्य युनिट’ मा सुरक्षा गार्ड, पछि टोली नेता तथा जिपिएस विशेषज्ञका रूपमा सेवा गरेका थिए ।

उता, वेस्ट भर्जिनिया नेसनल गार्डका अनुसार बेकस्ट्रोम सन् २०२३ मा उच्च विद्यालय स्नातक भएपछि सैन्य सेवामा भर्ना भएकी थिइन् । गार्डका अनुसार उनी ‘नेतृत्व, समर्पण र व्यावसायिकताको उत्कृष्ट उदाहरण’ थिइन् र डिसी तैनाथीका लागि आफैँले स्वेच्छा व्यक्त गरेकी थिइन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै 

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । आजको बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री मदन प्रसाद परियारसँग विशेष छलफल गरिनेछ ।

बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री परियारसँग संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप) मा भएका विगतका निर्णय ÷सम्झौताको कार्यान्वयनको अवस्था ÷प्रगति एवं ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)’ को समिक्षा गर्ने कार्यसूचीमा तय गरिएको छ ।

 सिन्धुलीमा यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

सिन्धुली, १४ मङ्सिरः मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।र्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी जारी छ ।

यस्तो छ, आइतबार फलफूल तथा तरकारीको मूल्य 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो १०८, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु २८, आलु सेतो प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३१ रहेको छ ।

यस्तै, गाँजर (लोकल) प्रतिकिलो १४०, गाँजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो ४० काउली स्थानीय प्रतिकिलो ६०, काउली (तराई) प्रतिकिलो ४०, सेतो मूला (लोकल) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो ७०, तने बोडी प्रतिकिलो १८०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ११०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १२०, तिते करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ६५, परवर (लोकल) प्रतिकिलो रु ९०, परवर (तराई) प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ३५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो ११०, भिन्डी प्रतिकिलो ९०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७० र पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु २० कायम गरिएको छ ।

साथै, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकेजी रु १५०, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १४५, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, कुरिलो प्रतिकिलो रु १०००, ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु १४०, जिरीको साग प्रतिकिलो रु ५५०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १३० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।

त्यस्तै, स्याउ (झोले) प्रतिकिलो रु २००, स्याउ (फुजी) प्रतिकिलो रु २७०, केरा (दर्जन) १४५, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ८०, तरबुजा हरियो प्रतिकिलो रु ७५, मौसम प्रतिकिलो रु ८०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु ९०, अम्बा प्रतिकिलो ८० र लप्सी प्रतिकिलो ६०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ४५०, किबी प्रतिकिलो रु २००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु २५० तोकिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि सर्यो

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक स्थगित गरिएको छ । आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,ं आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको रहनेछ ।

ज्ञानोदय माविलाई पाकिस्तानको सहयोग, राजदूत अबरारद्धारा प्रयोगशालाको उद्घाटन

काठमाडौँ, १४ मङ्सिरः पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिताबाट नै विद्यालयले दिगो शैक्षिक उन्नयन गरेको बताउनुभयो । उहाँले सूचना तथा सञ्चार प्रविधिका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका क्षेत्रहरूमा अवसरको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँस्थित पाकिस्तानी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख समन्तमणि आचार्य, विद्यालयकी प्राचार्य विष्णु घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।पाकिस्तानले सन् २०१३ देखि उक्त विद्यालयको कम्प्युटर प्रयोगशालाका निम्ति फर्निचर, कम्प्युटरलगायत उपकरण सहयोग गर्दै आएको छ ।

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

काठमाडौँ, १४ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ ।

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

उपराष्ट्रपति यादव संयुक्त अरब इमिरेट्सको स्वागत समारोहमा सहभागी

काठमाडौँ, १४ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगपति, कामको सिलसिलामा यहाँ रहेका युएईका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अल शाम्सीले युएई र नेपालबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको तथा दुवै देश जलवायु परिवर्तन, विश्व शान्ति तथा आतङ्कवादविरुद्धको लडाइँमा एकै स्थानमा रहेका बताउनुभयो ।

विसं २०७२ को भूकम्प, कोभिड–१९ महामारीका साथै बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला नेपाललाई आफ्नो मुलुकले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

युएईमा रहेका धेरै नेपालीले नेपालका साथै आफ्नो मुलुकको आर्थिक विकासमा योगदान गरेका चर्चा गर्दै राजदूत अल शाम्सीले नवीकरणीय ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार र मानव संशाधन विकासका क्षेत्रमा नेपाललाई मद्दत गर्दै आएको बताउनुभयो ।

एयरबस ए–३२० सफ्टवेयर समस्याका कारण विश्वभर उडान अवरुद्ध

एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले शनिबार थप उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन् । अक्टोबरमा जेटब्लूको एक उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो ।

एयरबसका अनुसार ‘तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीका महत्त्वपूर्ण डेटा बिगार्ने जोखिम’ देखिएको छ, जसले अहिले सेवामा रहेका ए–३२० परिवारका धेरै विमान प्रभावित हुनसक्ने बताइएको छ । सफ्टवेयर परिवर्तन अधिकांश विमानमा केही घण्टामै सकिने भए पनि लगभग एक हजार विमानमा यो प्रक्रिया हप्तौँ लाग्नसक्ने एक स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

एयर फ्रान्सले शनिबार अतिरिक्त कति उडान रद्द हुनेछन् भन्ने गणना भइरहेको बताउँदै प्रभावित यात्रुहरूलाई एसएमएस तथा इमेलमार्फत व्यक्तिगत रूपमा सूचित गरिँदैछ भनेर जनाएको छ । यसले शुक्रबार मात्र ३५ उडान रद्द गरेको थियो । कोलम्बियाली एयरलाइन्स एभियाङ्काले आफ्नो करिब ७० प्रतिशत फ्लीट सफ्टवेयर समस्याबाट प्रभावित रहेको जनाएको छ ।

युरोपियन युनियन एभियसन सेफ्टी एजेन्सी (इएएसए) ले एयरबसले समस्या सूचित गरेपछि आवश्यक सुरक्षा उपायहरू लागू गर्ने जानकारी दिएको छ । “यी कदमहरूले उडान तालिकामा केही समय अवरोध ल्याउन सक्छन्, तर यात्रु सुरक्षा नै पहिलो प्राथमिकता हो”, इएएसएले भनेको छ ।

उडान नियन्त्रण कम्प्युटर निर्माण गर्ने थेल्स कम्पनीले उपकरणहरू एयरबसका प्राविधिक विशिष्टताअनुसार पूर्ण रूपमा मिल्दो रहेको र इएएसए र एफएएबाट प्रमाणित भएको स्पष्ट पार्दै समस्या परेको सफ्टवेयर आफूअन्तर्गत नपर्ने बताएको छ । एयरबसले सिफारिसका कारण यात्रु तथा ग्राहकलाई परेको असुविधाबापत क्षमायाचना गर्दै व्यावहारिक अवरोध स्वीकार गरेको छ ।

अक्टोबर ३० मा जेटब्लूद्वारा सञ्चालित ए–३२० विमानमा कम्प्युटर त्रुटि देखिएपछि नियन्त्रण कठिन बनेको र क्यानकुन–नेवार्क मार्गमा उडान गरिरहेकै अवस्थामा विमान अचानक तल झरेको थियो । पाइलटहरूले आपतकालीन रूपमा फ्लोरिडाको टाम्पामा अवतरण गराउनुपरेको थियो । केही यात्रु घाइते भएको स्थानीय अधिकारीहरूको उद्धरण गर्दै अमेरिकी मिडियाले जनाएको छ ।

जेटब्लूले घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि ए–३२० तथा ए–३२१ मोडेलमा आवश्यक परिवर्तन सुरु गरिसकेको जनाएको छ । अमेरिकन एयरलाइन्सले पनि चेतावनीपछि सफ्टवेयर अद्यावधिक प्रक्रिया अघि बढाएर करिब ३४० प्रभावित विमानमध्ये ‘धेरैजसो’ शनिबारसम्ममा नियमित सेवामा फर्कने अपेक्षासहित ‘धेरै ढिलाइ’ हुने चेतावनी दिएको छ ।

युनाइटेड एयरलाइन्सले समेत सुरुमा आफू प्रभावित नभएको बताएको भए पनि पछि छवटा विमानमा समस्या देखिएको र केही उडान प्रभावित हुने जानकारी दिएको छ । डेल्टा एयर लाइन्सले आवश्यक अद्यावधिक शनिबार बिहानसम्म पूरा गर्ने जनाएको छ ।

एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स तथा सेबु प्यासिफिकलगायत क्यारियरहरूले समेत उडान ढिलाइ, रद्द र पुनःबुकिङका जानकारी क्रमशः सार्वजनिक गरिरहेका छन् । फिलिपिन्समा मात्र शनिबार ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो ।सन् १९८८ देखि उत्पादन हुँदै आएको ए–३२० एयरबसको सबैभन्दा बढी बिक्री हुने विमान हो । सेप्टेम्बरसम्म एयरबसले करिब १२ हजार २५७ विमान बिक्री गरेको छ । यो सङ्ख्या बोइङ ७३७ सँग उस्तै स्तरमा रहेको छ ।

ट्रम्पको चेतावनी: भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामाथि तथा त्यस वरपरको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी जारी गर्नुभएको छ । वामपन्थी नेता निकोलस मदुरोसँगको लामो समयदेखि चलिरहेको राजनीतिक तथा कूटनीतिक गतिरोधमा यो नवीनतम वृद्धि मानिएको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेख्दै अनुरोध गर्नुभयो, “सबै एयरलाइन्स, पाइलटहरू, लागुऔषध व्यापारीहरू तथा मानव बेचबिखनकर्ताहरूका लागि, कृपया भेनेजुएलाको आकाश र वरपरको आकाशलाई यसको सम्पूर्ण क्षेत्रमा बन्द भएकोजस्तै विचार गर्नुस् ।” उहाँले आफूले दिएको चेतावनीको कारण वा सम्भावित कदमबारे थप विस्तृत विवरण भने प्रस्तुत गर्नुभएको छैन ।

यसबीच, अमेरिकी प्रशासनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाजसहित ठूलो सैन्य शक्ति तैनाथ गर्दै भेनेजुएलामाथि दवाव बढाइरहेको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । वासिङ्टनले यो सैन्य गतिविधि लागुऔषध तस्करी रोक्नका लागि गरिएको दाबी गर्दै आएको छ, तर काराकासले भने यो बहानामार्फत शासन परिवर्तन नै अन्तिम लक्ष्य रहेको आरोप दोहो¥याउँदै आएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बरको सुरुदेखि क्यारिबियन सागर तथा पूर्वी प्रशान्त क्षेत्रमा भेनेजुएलासँग जोडिएका २० भन्दा बढी लागुऔषध तस्करीमा संलग्न मानिएका जहाजहरूलाई लक्ष्य गरी कारबाही गरेको थियो, जसमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । तर वासिङ्टनले यी जहाजहरू वास्तवमै लागुऔषध तस्करीमा प्रयोग गरिएको वा अमेरिकामाथि खतरा बनेको ठोस प्रमाण सार्वजनिक गर्न सकेको छैन ।

विस्तारित सैन्य अभियान र लगातार भइरहेका कारबाहीका कारण क्षेत्रीय तनाव झन् चुलिन पुगेको छ । यसैबीच न्युयोर्क टाइम्सले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्प र राष्ट्रपति मदुरोबीच गत हप्तामात्रै फोन वार्ता भएको र सम्भावित रूपमा संयुक्त राज्य अमेरिकामा प्रत्यक्ष भेटबारे पनि प्रारम्भिक छलफल भएको उल्लेख छ ।

ट्रम्पले भेनेजुएलाबाट आउने लागुऔषध तस्करी रोक्न लागिएको प्रयास ‘महत्त्वपूर्ण चरणमा आइपुगेको’ भन्दै काराकाससँगको तनावलाई सार्वजनिकरूपमा बढाएको एक दिनपछि दुवै नेताबीचको फोन संवादबारेको यो समाचार सार्वजनिक भएको हो ।

वीरगञ्ज महानगरको पुँजीगत खर्च गर्ने क्षमतामा ह्रास

वीरगञ्ज (पर्सा), १४ मङ्सिरः वीरगञ्ज महानगरले आर्थिक वर्ष २०८१÷८२ का लागि पुँजीगततर्फ रु एक अर्ब ४३ करोड १६ लाख बजेट विनियोजन गरेको थियो । तर महानगरले उक्त आवमा रु ६७ करोड ७३ लाख रकममात्र खर्च गर्यो । जबकि महानगरले सोही आवमा चालु खर्चतर्फ भने रु दुई अर्ब ४१ करोड २१ लाख विनियोजन गरेकोमध्ये रु एक अर्ब ८५ करोड ५८ लाख खर्च गरेको थियो । वीरगञ्ज महानगरले गत आवमा मात्र होइन, पछिल्ला तीन आवमा पुँजीगत खर्च गर्ने क्षमतामा क्रमशः ह्रास आइरहेको छ ।

वीरगञ्ज महानगरले आव २०८०÷८१ म पुँजीगत खर्चतर्फ रु एक अर्ब छ करोड ९२ लाख बजेट विनियोजन गरेकामा मुस्किलले रु ६८ करोड एक लाखमात्र खर्च गर्न सकेको थियो । उक्त आवमा पुँजीगत बजेटमध्ये महानगरले प्रथम त्रैमासिकमा २१ दशमलव ४० प्रतिशत, दोस्रो त्रैमासिकमा १६ दशमलव ५४ प्रतिशत र तेसो त्रैमासिकमा १४ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च गरेको थियो भने चौथो त्रैमासिकमा भने ४७ दशमलव ६२ प्रतिशत खर्च गरेको छ ।

महालेखापरीक्षक कार्यालयको ६२औँ वार्षिक प्रतिवेदनले महानगरले आव २०८०÷८१ मा भएको कुल पुँजीगत खर्चमध्ये ३६ दशमलव ६२ प्रतिशत खर्च÷भुक्तानी असार महिनामा भएको औँल्याएको छ । “आर्थिक वर्षको अन्त्यमा वर्षायाम सुरु भएपछि विकास निर्माण दिगो र गुणस्तरीय नहुने र कार्यबोझ बढी हुने भएकाले प्रत्येक त्रैमासिकमा समानुपातिक रूपमा खर्च गर्नुपर्ने सुझाव दिँदै आएकामा सुधार भएको छैन”, महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

पुँजीगत अपेक्षाकृत खर्च गर्न नसकेको महानगरले चालुतर्फको उत्साहजनक ढङ्गले खर्च गरेको देखिन्छ । आव २०८०÷८१ मा महानगरले चालु खर्चतर्फ रु दुई अर्ब ९६ करोड ६२ लाख विनियोजन भएको थियो । सोमध्ये रु एक अर्ब ७५ करोड ५८ लाख खर्च गरेको छ । महानगरले आव २०७९÷८० मा पुँजीगत खर्चतर्फ रु एक अर्ब ८७ करोड ८६ लाख विनियोजन गरेकामा सो आवमा रु एक अर्ब २६ करोड ७० लाख खर्च गरेको छ । जबकि सोही आवमा चालु खर्चतर्फ भने रु दुई अर्ब ५७ करोड १० लाखमध्ये रु दुई अर्ब २८ करोड ८९ लाख खर्च गरेको छ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सङ्घ तथा प्रदेश सरकारबाट पुँजीगततर्फ आउने बजेट समयमै निकासा नहुँदा पनि पुँजीगत खर्च चाहेजस्तो खर्च हुन नसकेको बताउनुभयो । “सङ्घ तथा प्रदेश सरकारबाट आउने विभिन्न अनुदानबापतको रकम खर्च गर्न पनि विभिन्न खालका बाधा अड्चन आउने गरेका छन् । हामीले सकेसम्म समन्वय गरेर पुँजीगत खर्च अघि बढाउने प्रयास गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

प्रमुख सिंहले मुुलुकका अन्य महानगरको तुलनामा वीरगञ्ज महानगरमा सङ्घीय सरकारबाट ठूला परियोजना नपर्दा यहाँ विकास निर्माणका ठूला काम हुन नसकिरहेको गुनासो गर्नुभयो । “वीरगञ्जबाट सङ्घीय सरकारले रु दुई खर्बभन्दा धेरै राजस्व सङ्कलन गर्ने भएता पनि सङ्घीय सरकारले यहाँको विकास निर्माणको लागि ध्यान दिनसकेको छैन”, उहाँले भन्नुभयो, “विकासमा भएको विभेदको अन्त्य गर्दै यहाँ पनि ठूला खालका कार्यक्रम ल्याउन आह्वान गर्दछु ।”

प्रमुख सिंहले महानगरको आन्तरिक स्रोतबाट शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलगायतका तलबभत्ता खुवाउनुपर्दा पनि विकास निर्माणको काम बेलाबखतमा प्रभावित हुने गरेको बताउनुभयो ।

महानगरका लेखा अधिकृत रुपनारायण राउतले झन्झटिलो सार्वजनिक खरिद प्रक्रिया, पुँजीगत खर्च असार अन्तिममा मात्र निकास हुने प्रवृत्ति र समयमै ठेक्का व्यवस्थापनलगायत कारणले महानगरको पुँजीगत खर्च अपेक्षाकृत ढङ्गले हुन नसकेको बताउनुभयो । “चालु आवको पहिलो चौमासिकसम्म पुँजीगत लक्षित छुट्याइएको बजेट तथा कार्यक्रमको सम्पूर्ण बोलपत्र प्रक्रिया टुङ्गो लाग्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “स्रोत सुनिश्चितताको अभाव र ठेक्का व्यवस्थापनमा आउने विभिन्न थरिका उल्झनले पनि पुँजीगत खर्च हुन सकिरहेको छैन ।” लेखा अधिकृत राउत स्थानीय सरकारले खर्च गर्ने पद्धतिमा पनि उल्लेखनीय सुधार ल्याउनुपर्ने बताउनुहुन्छ । महानगरसँग तरलताको अभाव र अन्य विविध कारणले पनि विभिन्न समस्या देखापर्दै आइरहेका छन् ।

सङ्घीयता तथा स्थानीय शासनविद् डा खिमलाल देवकोटाले स्थानीय तहमा प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष बीचमा समन्वय र सहकार्य अभावका कारणले पनि बजेट निर्माणदेखि कार्यान्वयनको तहसम्मै असर पार्दै आइरहेको बताउनुभयो । “स्थानीय तहले समयमै बजेट ल्याउने र पास गर्ने संस्कारमा ह्रास हुुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले बजेटलाई अबण्डामा राख्नुभएन । बजेट चक्रअनुसार पालना गर्दै अघि नबढ्दा पनि तोकिएको समयमै पुँजीगत खर्च गर्ने क्षमतामा समेत समस्या देखिँदँ आइरहेको छ ।” बजेट निर्माण र खर्च गर्ने परिपाटीमा पनि पारदर्शी, बजेट निर्माण गर्दा पनि सबै वडाको सामाजिक, आर्थिक, पूर्वाधार विकासमा ध्यान दिनुपर्ने हुन्छ ।

महालेखापरीक्षकको कार्यालयको ६२औँ प्रतिवेदनले पनि वीरगञ्ज महानगरलाई स्वीकृत बजेट तथा कार्यक्रम प्राप्त भएपछि प्रथम त्रैमासभित्र खरिद सम्झौता नगरी आर्थिक वर्षको अन्त्यमा मात्र काम गराउँदा कामको गुणस्तरमा समेत प्रतिकूल असर पर्न सक्ने हुँदा नियमानुसार समयमा नै ठेक्का सम्झौता गरी कार्यतालिकाअनुसार कार्य गर्न सुझाव दिएको छ ।

महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ (४ ख) मा पालिकाको उपप्रमुखले योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्नुपर्ने व्यवस्था भएकामा उप्रमुखबाट योजना अनुगमन गरी प्रतिवेदन पेस नगरेको समेत देखिएको छ ।

त्यस्तै सार्वजनिक खरिद ऐन, २०६३ अनुसार रु १० करोडभन्दा बढी रकमको वस्तु, निर्माण, परामर्शलगायत खरिद गर्दा खरिद गुरुयोजना तयार गर्नुपर्नेमा महानगरले आव २०८०÷८१ मा रु ६८ करोड एक लाख २२ हजार रकमको सार्वजनिक खरिद व्यवस्थापन गरेकामा खरिद गुरुयोजना तयार गरेको देखिएको छैन ।

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ, १४ मङ्सिरः सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ ।

चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ ।

उत्पादित बिजुली प्रस्तावित न्यू बुढीगण्डकी प्रोक सवस्टेशनमा जोडिनेछ । कूल एक सय १० किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिनेछ । सो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्दैछ ।

रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना निर्माण सम्पन्न भइसकेकाले आयोजनाको अभाव रहेको चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला अर्को एउटा महत्वपूर्ण परियोजनाका रुपमा रहेको छ ।

यस्तै, विभागले मिडिल लिखु जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजना आठ दशमलव ६० मेगावाट रहेको छ । रामेछापको साँघुटारमा आयोजना निर्माण हुनेछ । विभागले छोमरोङ खोला जलविद्युत् आयोजनालाई पनि विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । घान्द्रकु हाइड्रोले निर्माण गर्ने सो आयोजना चार दशमलव ८९ मेगावाट बराबर छ ।

विभागले हालसम्म दुई सय ६३ आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता ११ हजार ९७ मेगावाट बराबर छ । विभागले चालु आवको हालसम्म १३ जलविद्युत् आयोजनालाई विद्युन् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । यसैगरी विभागमा चालु आवको हालसम्म कूल ४२ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन् । विभागमा हालसम्म कूल एक सय ९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन् । ती आयोजनाको क्षमता नौ हजार छ सय ८९ मेगावाट रहेको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ मङ्सिर : नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८० रुपैयाँ ४९ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।

विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

एनपिएलः आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै

काठमाडौँ, १४ मङ्सिरः त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ

धनुषा – यहाँ सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएअनुसार बालिका बलात्कार आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ६७ वर्षीय रामभगत साहलाई पक्राउ गरिएको हो ।

आरोपी साहले आज बालिकालाई एक्लै भएको मौका छोपी बलात्कार गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।

पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको र आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीसमक्ष राप्रपाको ५ बुँदे ज्ञापनपत्र पेश

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न पाँचवटा मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

आज प्रधानमन्त्रीसँग भेट गरी अध्यक्ष राजेन्द्र लिङ्देन नेतत्वमा ज्ञापनपत्र बुझाइएको हो । उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष रोशन कार्की, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ, महामन्त्री डा धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ र महामन्त्री शरद्राज पाठकलगायत सहभागी हुनुहुन्थ्यो ।

राप्रपाले आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि भविष्यमा कसैले आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणको माग गरेको छ । त्यसका लागि राजनीतिक दल र जेनजीलगायत पक्षधर सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम गर्नुपर्ने र अब हुने आमनिर्वाचनमै अन्तरजिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव रहेको र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरेको छ ।

‘जेनजी’ प्रदर्शनमा सहभागी भएकै कारण प्रदर्शनका सहभागीलाई पक्रने, मुद्दा लगाउने जस्ता काम भइरहेकाले यस्ता कार्य तत्काल रोक्नुपर्ने, प्रदर्शनका क्रममा भएका सहिद भएकाहरूका परिवार र घाइतेका माग अविलम्ब पूरा गर्न, सरकारसँग विभिन्न माग लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेकाहरूलाई उपेक्षा गर्न नहुने र वार्ता तथा संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएकको छ ।

त्रिवि राज्याभिषेक उद्यान’लाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने छः मन्त्री पुन

कीर्तिपुर (काठमाडौँ), १३ मङ्सिरः शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयस्थित राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने बताउनुभएको छ ।

मन्त्रीको कार्यभार सम्हालेलगत्तै उक्त उद्यानलाई पुनर्जीवन दिने घोषणा गर्नुभएका मन्त्री पुनले आज यहाँ निरीक्षणपछि प्राकृतिक स्वरुपमै पार्क निर्माणमा जोड दिनुभएको हो । “उद्यानलाई अहिले जस्तो झाडीले ढाक्न दिइने छैन र कृत्रिमता नझल्किने गरी सुन्दर बनाइने छ”, उहाँले भन्नुभयो“विगतमा चितुवा लुक्ने झाडी रहेको उद्यानलाई राम्रोसँग हिँड्डुल्न गर्न मिल्ने स्थान बनाइने छ ।”

मन्त्री पुनले उद्यानको पुनर्जीवनले उच्च शिक्षाको केन्द्रीय थलोका रूपमा रहेको त्रिवि परिसर शृङ्गार गरे जत्तिकै हुने भन्दै यसका लागि सरकारले आर्थिक स्रोत खोजिरहेको जानकारी दिनुभयो । त्रिविलाई भौतिक रूपमा मात्र नभई शैक्षिक रूपमा समेत सुन्दर बनाउने आफ्नो सपना रहेकोे भन्दै उहाँले त्यसका लागि त्रिविलाई राजनीतिमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगत ४५ दिनदेखि हालसम्म करिब चार हजार जनाले स्वयंसेवकका रूपमा उद्यानको झाडी फाँड्ने र सरसफाइको काममा जुटेका त्यस अवसरमा जानकारी दिइयो । सरसफाइमा हरेक दिन २० देखि ३० जना र शनिबार ४०० जना सम्म सहभागी हुने गरेका छन् ।

विभिन्न संस्थाले स्वस्फूर्त रूमा सरसफाइ गर्न आवश्यक औजार, खाजा खर्चसमेत गरी झन्डै रु पाँच लाख बराबरको सहयोग गरिसकेका र हाल झाडी फाँड्ने काम ९० प्रतिशत सकिएको मन्त्री पुनलाई जानकारी गराइएको थियो ।

सैन्य कूपछि गिनी–बिसाउ अफ्रिकी युनियनबाट निलम्बित

अफ्रिकी युनियन (एयु) ले गिनी–बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन गर्ने निर्णय गरेको छ । एयुले असंवैधानिक कदमप्रति आफ्नो शून्य सहिष्णुता दोहो¥याउँदै संवैधानिक शासन पुनःस्थापित नहुञ्जेलसम्म गिनी–बिसाउलाई सबै गतिविधिबाट यथाशीघ्र निलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

शुक्रबार एयु शान्ति तथा सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव अनुसार ‘सरकारका असंवैधानिक परिवर्तनहरूमा शून्य सहिष्णुता’ नीति पुनः पुष्ट्याइयो । सोही आधारमा गिनी–बिसाउ गणतन्त्रलाई एयु, यसको अङ्गसंस्था तथा निकायहरूका सबै कार्यक्रम र निर्णय प्रक्रियामा सहभागी हुन नदिने निर्णय तत्क्षण प्रभावसहित लागू गरिएको परिषद्को भनाइ छ ।

विश्वका अत्यन्तै गरिब राष्ट्रहरू मध्ये पर्ने गिनी–बिसाउ पछिल्लो पाँच दशकदेखि निरन्तर कू र कू प्रयासले अस्थिर रहँदै आएको छ । पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको करिब ५० वर्षपछि पनि देशमा राजनीतिक अस्थिरता गहिरिँदै गएको विज्ञहरूको आकलन छ । करिब २२ लाख जनसङ्ख्या रहेको यो देश ल्याटिन अमेरिका र युरोपबीचको लागुपदार्थ तस्करीको मुख्य मार्गका रूपमा परिचित भइरहेको छ, जसले राजनीतिक सङ्कटलाई झनै बढाएको विश्लेषण गरिन्छ ।

पश्चिम अफ्रिकी क्षेत्रीय ब्लक ‘इकोवास’ ले पनि बिहीबार गिनी–बिसाउलाई संवैधानिक शासन पुनःस्थापना नहुँदासम्म निर्णय तहहरूबाट निलम्बन गरेको थियो । राष्ट्रपति तथा विधायी चुनाव सम्पन्न भएको केही दिनपछि बुधबार सैन्य अधिग्रहण भएको थियो । सो चुनावपछि वर्तमान राष्ट्रपति उमरो सिसोको एम्बालो र विपक्षी नेता फर्नान्डो डायस दुवैले आफू विजयी भएको दाबी गरेका थिए, जसले राजनीतिक तनावलाई अझ चर्काएको बताइन्छ ।

राष्ट्रपति एम्बालो सेनेगल सरकारले भाडामा उपलब्ध गराएको उडानमार्फत बिहीबार छिमेकी सेनेगल आइपुग्नुभएको थियो । कूपछि गिनी–बिसाउको सैन्य उच्च कमान्डले पूर्व सेना प्रमुख जनरल होर्टा इन्टा–ए–लाई सैन्य सरकार प्रमुखका रूपमा औपचारिक रूपमा स्थापित गरेको राज्य टेलिभिजनले प्रसारण गरेको छ । उहाँको नेतृत्वमा एक वर्ष लामो सङ्क्रमणकाल सञ्चालन गरिने बताइएको छ ।

क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग वैवाहिक जीवनमा प्रवेश गर्नुभएको छ ।

अस्ट्रेलियाको सङ्घीय सरकार गठन भएको १२४ वर्षको इतिहासमा कार्यरत प्रधानमन्त्रीको हैसियतमै विवाह गर्ने अल्बानिज पहिलो नेता बन्नुभएको हो ।

दिउँसो द लजको हरियाली मैदानमा सम्पन्न उक्त समारोहमा केही क्याबिनेट मन्त्रीहरूसहित करिब ६० जना विशिष्ट पाहुना उपस्थित रहेका थिए । नागरिक सेलिब्रेन्टद्वारा सम्पन्न विवाह समारोह प्रायः गोप्य राखिएको थियो र घटना सम्पन्न नहुँदासम्म कुनै पनि मिडिया संस्थालाई जानकारी दिइएको थिएन ।

दम्पतीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रो परिवार तथा निकटतम प्रियजनहरूको सामुन्ने हाम्रो प्रेम, प्रतिबद्धता र भविष्यको संयुक्त जीवनलाई साझा गर्न पाउँदा अनन्त खुशी छौँ। ” दुवैले आफ्ना प्रतिज्ञास्वरूपका शब्दहरू स्वयं लेख्नुभएको थियो । साथै, उहाँहरूको कुकुर ‘टोटो’ औँठी वाहकको भूमिकामा आकर्षक रूपमा प्रस्तुत भएको र जोडी हेडनकी पाँच वर्षीय भतिजी एला फूलको माला लगाएर सहभागी भएकी उल्लेख गरिएको छ ।

६२ वर्षीय अल्बानिज पहिले वैवाहिक सम्बन्धविच्छेद भोगिसक्नुभएका व्यक्ति हुनुहुन्छ र उहाँको एक वयस्क छोरा छन् । गत वर्ष भ्यालेन्टाइन डेका दिन उहाँले द लजमै ४६ वर्षीय हेडनलाई विवाहको प्रस्ताव राख्नुभएको थियो ।

यस वर्ष मे महिनामा सम्पन्न सङ्घीय चुनावअगाडि ठूलो मात्रामा विवाह समारोह आयोजना गर्ने प्रारम्भिक योजना भए पनि प्रधानमन्त्रीले एक रेडियो कार्यक्रममा भन्नुभए अनुसार उहाँले क्यानाडाका पूर्वप्रधानमन्त्री तथा व्यक्तिगत मित्र जस्टिन ट्रुडोलाई समेत आमन्त्रित गर्ने विचार राख्नुभएको थियो ।

तर सत्तारूढ केन्द्र–वामपन्थी लेबर पार्टीका रणनीतिकारहरूले जीवनयापन खर्च सङ्कटले जनजीवन प्रभावित भइरहेको समयमा भव्य समारोहले सरकारको दोस्रो कार्यकालमा जनसमर्थनमा नकारात्मक प्रभाव पर्न सक्ने मूल्याङ्कन गरेका थिए । त्यसैले चुनाव सम्पन्न नभएसम्म विवाह स्थगित गर्ने निर्णय गरिएको थियो । प्रधानमन्त्री अल्बानिजले आफ्नो सन् २०२५ भित्र विवाह हुने बताइसक्नुभएको भए पनि मिति भने गोप्य नै राख्नुभएको थियो ।

अन्ततः बिहीबार संसद्को कार्यकाल समाप्त भएको दुई दिनपछि दम्पतीले शान्त, सानो तर भावनात्मक समारोहमार्फत वैवाहिक जीवन प्रारम्भ गर्नुभएको हो । फाइनान्स क्षेत्रमा कार्यरत हेडनले सन् २०२० मा मेलबर्नमा आयोजित एक व्यापारिक रात्रिभोजमा पहिलोपटक अल्बानिजलाई भेट्नुभएको थियो ।

इमरान खान जीवित हुनुहुन्छ : पाकिस्तानी सिनेटरको दाबी

पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का सिनेटर खुर्रम जिशानले पूर्व प्रधानमन्त्री इमरान खानको मृत्यु भएको भन्ने अफवाहलाई पूर्णतः खारेज गर्दै उहाँ जीवित रहेको र हाल अदियाला जेलमै राखिएको स्पष्ट गर्नुभएको छ । उहाँका अनुसार इमरान खानलाई पाकिस्तान छोड्न दबाब सिर्जना गर्ने रणनीतिअनुरूप एकान्तवासमा राखिएको छ ।
पाकिस्तानबाट एएनआईसँग कुरा गर्दै पिटिआईका सिनेटर जिशानले इमरान खानको लोकप्रियताले वर्तमान शासन व्यवस्थालाई चुनौती दिइरहेको र यही कारणले उहाँको कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्न नदिइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँको प्रभाव र जनसमर्थनबाट डराएका कारण नै सत्ताधारीहरूले उहाँलाई पूर्ण रूपमा आइसोलेसनमा राखेका छन् ।”
गत सातादेखि अफगानिस्तानका विभिन्न सामाजिक सञ्जाल खाताहरूमा रावलपिन्डीस्थित जेलभित्र इमरान खानको हत्या भएको दाबी फैलिएको थियो । त्यही समयमा, अदालतको निर्देशन हुँदाहुँदै पनि पाकिस्तानी अधिकारीहरूले उहाँका बहिनीहरूलाई गत एक महिनादेखि भेट्न नदिएको समाचारसँग उक्त अफवाह जोडिएको थियो, जसले थप शङ्का उत्पन्न गरेको थियो ।
सिनेटर जिशानले भन्नुभयो, “उहाँलाई लगभग एक महिनादेखि एकान्तवासमा राखिएको छ । उहाँको परिवार, कानून व्यवसायी तथा पिटिआई नेतृत्वलाई समेत भेट्न नदिइनु अत्यन्तै दुःखद र मानवीय अधिकारको स्पष्ट उल्लङ्घन हो । उहाँलाई कुनै न कुनै सम्झौताको दबाबमा ल्याउन खोजिएको जस्तो देखिन्छ ।”
अफवाह अन्त्य गर्दै उहाँले भन्नुभयो, “पछिल्ला केही दिनमा हामीलाई आधिकारिक रूपमा आश्वासन दिइएको छ— इमरान खान जीवित हुनुहुन्छ, अदियाला जेलमै हुनुहुन्छ र उहाँको अवस्था स्थिर छ ।”
पाकिस्तान सरकारले कस्तो प्रकारको सम्झौता गर्न खोजिरहेको छ भन्ने प्रश्नमा सिनेटर जिशानले भन्नुभयो, “उहाँलाई देश छोडेर विदेशमा चुपचाप बस्न भनिएको छ । यदि उहाँ देश बाहिर बस्न सहमत हुनुभयो भने छुट दिन सकिने सङ्केत दिइएको छ । तर इमरान खानले कहिल्यै यस्ता शर्तहरू स्वीकार गर्नुहुन्न । उहाँको राजनीतिक विश्वास र स्वभावले यस्तो सम्झौता सम्भव नै छैन ।”
जेलमा भए पनि इमरान खानको प्रभाव घट्नुको सट्टा बढ्दै गएको सिनेटर जिशानको दाबी छ । उहाँले भन्नुभयो, “पिटिआईको जरो पाकिस्तानका युवाहरूमा अत्यन्त बलियो छ । इमरान खानको विचारधारा पुस्तौँ पुस्तासम्म प्रतिध्वनित हुन थालेको छ । कठिन परिस्थितिले असल नेतृत्वलाई अझ उजागर गरिरहेकाले पार्टीको भविष्य उज्ज्वल छ ।”
इमरान खानको कुनै फोटो वा भिडियो किन बाहिर नआएको भन्ने प्रश्नमा पनि सिनेटर जिशानले स्पष्ट पार्दै भन्नुभयो, “सत्ताधारीहरूलाई थाहा छ— एउटा मात्रै तस्बिरले पनि विशाल जनसमर्थन उत्पन्न गर्न सक्छ । यही डरका कारण उहाँको कुनै दृश्य सार्वजनिक हुन दिइएको छैन ।”

गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ । आज उहाँले गत भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभयो ।

अवलोकनका क्रममा गृहमन्त्री अर्यालले मुलुकमा शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणका लागि प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नागरिकस्तरबाट नेपाल प्रहरीले ठूलो सद्भाव पाएको बताउँदै अब प्रहरीले शान्तिसुरक्षासँगै सुशासन प्रवर्द्धन लाग्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री अर्यालसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पनि उक्त क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ ।

यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठक सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई निर्देशानुसार अनुरोध गरेको छ ।

एक थान रिभल्बरसहित एक जना पक्राउ

काठमाडौँ – प्रहरीले एक थान रिभल्बरसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोड बस्ने ३० वर्षीय सन्तोष गुरुङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले सन्तोषलाई उक्त रिभल्बरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।