ट्रम्पको चीन भ्रमण : व्यापार, करवृद्धि र मध्यपूर्वजस्ता महत्वपूर्ण विषयमा छलफल
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी समयअनुसार मङ्गलबार राति चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । उहाँ अबको केहीघण्टाभित्र बेङजिङ अवतरण गर्नुहुनेछ ।
राष्ट्रपति ट्रम्पको चीन भ्रमण यस्तो समयमा भएको छ जतिवेला इरानविरूद्ध अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि बदलामा इरानले चालेको कदमले मध्यपूर्वमा तनाबको अवस्था सिर्जना भएको छ।
विश्वका प्रमुख दुई विशाल अर्थतन्त्रबीच व्यापार, करवृद्धि र मध्यपूर्वजस्ता महत्वपूर्ण विषयमा छलफल गर्ने कार्यक्रम रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।
चीनले यो भ्रमणलाई अमेरिकासँगको व्यापारिक सम्बन्ध सुधारको अवसरका रूपमा हेरेको छ । इरान सङ्कट र खाडी क्षेत्रको अवस्थाबारे भ्रमण केन्द्रित रहने अन्तराष्ट्रिय सञ्चारमाध्याहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको बुधबार हुने चीनको राजकीय भ्रमणका क्रममा हुने यो भेटवार्तासँगै दुई मुलुकका नेताबीचको यो सातौँ प्रत्यक्ष भेट हुनेछ । यसअघि उहाँहरुबीच सन् २०२५ को अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भेटवार्ता भएको थियो ।
चीनले यो भ्रमणलाई व्यापार सम्झौतालाई अगाडि बढाउने र अमेरिकासँगको करवृद्धि विवाद अन्त्य गर्ने अवसरका रूपमा हेरेको छ । यो करवृद्धिले ५२५ अर्ब डलरभन्दा बढीको चिनियाँ निर्यातमा असर गरेको तथ्याङ्कहरू सार्वजनिक भएका छन् ।
राष्ट्रपति ट्रम्पले यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा चीनको भ्रमण गर्नुभएको थियो यसपटक उहाँ अमेरिकाका कैयौँ ठूला कम्पनीका कार्यकारी प्रमुखसहित बेइजिङ आइपुग्नुहुनेछ ।
ह्वाइट हाउसले ट्रम्पको कार्यतालिका कस्तो हुने भन्ने खुलाएको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प बुधबार साँझ बेइजिङ पुग्नुहुनेछ भने बिहीबार उहाँलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले औपचारिकरूपमा स्वागत गर्नुहुनेछ र त्यसपछि द्विपक्षीय भेटवार्ता हुनेछ । दुई नेताबीच शुक्रबार पनि अनौपचारिक कुराकानी हुनेछ र सोही दिन उहाँलाई चिनियाँ राष्ट्रपतिका तर्फबाट दिवा भोजको आयोजना हुनेछ । अमेरिकाले चिनियाँ राष्ट्रपति सीलाई वासिङ्टन भ्रमणको निम्तो दिने योजना पनि बनाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग व्यापार वार्ताका लागि उपप्रधानमन्त्री हे लिफेङ मे १२ र १३ मा दक्षिण कोरिया जानुभएको छ । ट्रम्पको भ्रमणअघि यो वार्ता अन्तिम चरणको वार्ता हुनेछ । वार्तामा व्यापार, कर, कृत्रिम बुद्धिमत्ता र प्रविधि, ताइवान र अमेरिकाले ताइपेईलाई हतियार बिक्री गर्ने, इरान र मध्यपूर्वको सुरक्षा, दुर्लभ खनिज र आपूर्ति श्रृङ्खलाजस्ता विषयमा छलफल हुने बताइएको छ ।
ट्रम्पको तालिकामा बेइजिङमा रहेको ‘टेम्पल अफ हेवन’ (स्वर्गको मन्दिर) को भ्रमण पनि समावेश छ । यो मन्दिरहरूको एक परिसर हो, जहाँ पुरानो समयमा चिनियाँ सम्राटहरूले राम्रो फसलको लागि पूजा गर्थे।
व्यापार वार्ता
बेइजिङ प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले सीसँगको सबैभन्दा महत्वपूर्ण वार्ता व्यापारसम्बन्धी हुने बताउनुभएको थियो । उहाँले चीनसँग थप सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाउनुभएको छ, जसअन्तर्गत चीनले अमेरिकाबाट थप खाद्य पदार्थ र विमान खरिद गर्नेछ । दुई देशले आफ्ना मतभेदहरू समाधान गर्न व्यापार बोर्ड गठन गर्ने योजना पनि बनाएका छन्।
चीनको अपेक्षा
व्यापारका दृष्टिले ट्रम्पसँगै अमेरिकाका प्रमुख बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीहरु पनि सहभागी हुने भएकाले यो भ्रमणबाट चीनले ठूलो फाइदा लिने अपेक्षा गरिएको छ । यसमा टेस्लाका प्रमुख एलन मस्क र एप्पलका कार्यकारी प्रमुख टिम कुक पनि सामेल हुनुहुन्छ, उहाँहरूको चीनमा राम्रो व्यवसाय छ । सन् २०२६ को सुरुवातमा एप्पलले चीनको प्रतिस्पर्धी स्मार्टफोन बजारमा पहिलो स्थान हासिल गरेको छ । यसको कारण आइफोनको बिक्रीमा २८ प्रतिशतले वृद्धि भएको थियो । चीनमा बनेका टेस्ला गाडीहरूको बिक्री (निर्यात सहित) अप्रिलमा ७९,४७८ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो। यसले उत्पादन पुनः बढ्ने सङ्केत गरेको छ ।
विश्व नजर
खाडी क्षेत्रको सङ्कट र इरान युद्धको समाधान हुने अपेक्षा गरिएकाले विश्वको यो भ्रमणमा विशेष नजर रहनेछ । इरानका विदेशमन्त्री अब्बास अरागचीले हालै बेइजिङको भ्रमण गर्नुभएको थियो, जसलाई अमेरिकाले पनि नजिकबाट नियालेको थियो । चीन इरानबाट तेल किन्ने सबैभन्दा ठूलो देश हो।
चीनले इरानलाई स्ट्रेट अफ हर्मुज खोल्न अपिल गरेको छ । अमेरिकी विदेशमन्त्रीले भने इरानको नीतिले उसलाई विश्वस्तरमै एक्ल्याउने बताउनुभएको छ। विश्लेषकहरूका अनुसार चीनले साउदी अरब, युएई र कुवेतजस्ता धेरै देशसँग गहिरो सम्बन्ध राखेकाले खाडी क्षेत्रमा स्थिरता चाहन्छ ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले दुई नेताबीचको वार्ताले सम्बन्धमा स्थायित्व ल्याउने र भविष्यमा सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने जनाएको छ । चीनले यो बैठकमा ताइवान मुद्दा पनि महत्वपूर्ण हुने बताएको छ भने अमेरिकाले चीनलाई ताइवानमाथि ‘सही निर्णय’ लिन भनेको छ
