`

मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने एक ‘विचौलिया’ पक्राउ

Nepal One HD ३० वैशाख २०८३ २१:०१
समाचार

मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने एक ‘विचौलिया’ पक्राउ

सिरहा। अदालत र प्रहरी प्रशासनमा विचाराधीन रहेका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक ‘विचौलिया’ व्यापारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउपर्नेमा सिरहाको गोलबजार नगरपालिका–६ निवासी पोल्ट्री दाना व्यवसायी राकेश साह रहेका छन् । विभिन्न प्रकृतिका मुद्दा मिलाइदिने प्रलोभन देखाइ सर्वसाधारणबाट रकम असुल गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले साहलाई मङ्गलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार साहले पीडितहरूलाई ‘प्रहरी र अदालतका कर्मचारीलाई बुझाउनुपर्छ’ भन्दै पटकपटक गरी रु छ लाखसम्म ठगी गरेको आरोप छ । उनले सेटिङ मिलाएर मुद्दा किनारा लगाइदिने भन्दै पीडितहरूलाई विश्वासमा लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

“साहले विगतमा पनि प्रहरी प्रशासन र अदालतको नाम दुरुपयोग गर्दै कैयौँ सर्वसाधारणलाई ठगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ”, सूचना अधिकारी पालले भन्नुभयो । उहाँका अनुसार, केही महिनाअघि एक जबर्जस्ती करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै साहले मोटो रकम असुल गरेका थिए ।

रकम लिएर पनि काम नगरेको र पीडितले आफ्नो पैसा फिर्ता माग्दा उल्टै धम्काउने गरेपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका साहमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीका अनुसार सिरहा जिल्ला अदालतबाट मंगलबारदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ ।

प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशङ्कामा अनुसन्धानको दायरा फराकिलो पारेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *