`

आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी

खाँदबारी (सङ्खुवासभा) – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गर्नुभएको छ ।

आज यहाँको खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा उहाँले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताउनुभयो ।

अध्यक्ष साम्पाङले पार्टीले त्यही विकल्पका रूपमा अघि बढिरहेकाले पार्टीले जनसमर्थनसहित उल्लेख्य सफलता हासिल गर्ने जिकिर गर्नुभयो ।

आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री पद्धतिको पक्षमा रहेको बताउँदै उहाँले भ्रष्टाचारविरुद्ध कठोर नीति अपनाउने बताउनुभयो । “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिइने छैन । हाम्रो सरकार सुशासन, पारदर्शिता र मितव्ययितामा आधारित हुनेछ”, अध्यक्ष साम्पाङले भन्नुभयो,“उत्पादन र निर्माणलाई प्राथमिकतामा राखेर देश आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य पार्टीले लिएको छ । उत्पादनमा वृद्धि गर्न नसक्दा ठूलो सङ्ख्यामा नेपाली बेरोजगार बन्नु परेको पीडा हामीलाई थाहा छ ।”

उहाँले गाउँगाउँमा सङ्गठन बलियो बनाउँदै सामाजिक र आर्थिक रूपान्तरणमा जुट्ने बताउनुभयो ।

औषधि व्यवसायीद्वारा संशोधित औषधि ऐन सच्याउनुपर्ने माग

काठमाडौँ – नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौँले संशोधित औषधि ऐन सच्याउनुपर्ने माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी सङ्घीय संसद्बाट पारित भएसँगै गत साउन १४ गतेदेखि लागू भएको ऐनको दफा ११ का केही व्यवस्थाले औषधि व्यवसायीहरूलाई चिन्तित बनाएको जनाएको छ ।

सङ्घले ‘सरकारद्वारा संशोधित औषधि ऐन, २०३५ को दफा ११ का उपदफा (३) र (५) सच्याउनुपर्ने माग गरेको हो । संशोधित दफा ११ अनुसार तोकिएको मितिभित्र उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र नवीकरण नगरेमा ३० दिनभित्र दोब्बर दस्तुर तिरी नवीकरण गर्न सकिने, तर उक्त अवधि पनि कटेमा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था गरिएको छ ।

सङ्घको भनाइअनुसार त्यस्तो कठोर प्रावधानले एक दिनको ढिलाइमै पनि दशकौँदेखि सञ्चालनमा रहेका व्यवसाय बन्द हुने खतरा रहेको छ । सङ्घले आफ्ना माग पूरा नभएको भन्दै आइतबारदेखि विरोधका कार्यक्रम अगाडि बढाउनेसमेत जनाएको छ ।

सङ्घ काठमाडौँका महासचिव शुभमान श्रेष्ठले उक्त व्यवस्थाले हजारौँ व्यवसायीहरू विस्थापित हुने अवस्था आउने भन्दै सच्याउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “२०५७ सालमा भएको दोस्रो संशोधनमा पनि यस्तै ‘स्वतः रद्द’ हुने व्यवस्था राखिएको थियो । तीव्र विरोधपछि विभागले औषधि दर्ता नियमावली २०३८ मा ‘द्रष्टव्य’ राखेर प्रावधान सच्याएको थियो । २०७२ मा सो द्रष्टव्य हटाइएपछि अब पुनः कठोर प्रावधान लागू भएको छ । यो व्यवसायीको हित विपरीत छ ।”

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताउनुभयो । “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उहाँले भन्नुभयो, “केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।”

उहाँले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् । आज छनोट भएका प्रतिनिधि विवरण यही मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न एमालेले निर्देशन दिएको छ । एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन हुने जनाएको छ ।

वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एकता, ध्रवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गरेको छ ।

नेकपाले आज एक अपिल जारी गर्दै विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनःगठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएकाले ध्रुवीकरण अभियानमा समाहित हुन आह्वान गरेको हो ।

श्रमजीवी वर्गको मुक्तिको वैचारिक अस्त्र माक्र्सवाद–लेनिनवाद भएकाले पार्टीको मार्गनिर्देशक सिद्धान्त पनि सोही भएको उल्लेख गर्दै नेकपाले सही विचार, राजनीतिक कार्यक्रम, सबैखाले अनुभव र ऊर्जाको सङ्केन्द्रण पार्टी एकताको सार भएको जनाएको छ ।

“नेपाली पूँजीवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद पार्टीको रणनीतिक कार्यक्रम हो”, उक्त अपिलमा भनिएको छ, “यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आधारमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने सङ्कल्प हाम्रो एकताका मुख्य आधार हुन् ।”

गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा तथा सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने अभिभाराका साथ विभिन्न १५ कम्युनिष्टसहित समाजवादी पार्टीबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको अपिलमा उल्लेख गरिएको छ ।

दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

देउखुरी (दाङ), १३ मङ्सिरः दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१० नारायणपुरको पशुपति बोर्डिङ स्कुल नजिकै शुक्रबार ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने पिकअप भ्यानका चालकसहित सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृतको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

मालढुङ्गा–मिलनचोक खण्डमा कालोपत्र सम्पन्न, आवागमन सहज

म्याग्दी – भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–मिलनचोक खण्डमा कालोपत्र भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकअन्तर्गत मालढुङ्गा–मिलनचोक खण्डको नौ किलोमिटरमा अस्फाल्ट प्रविधिको कालोपत्र भएपछि आवागमन सहज हुनाका साथै यात्रा अवधि छोटिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंका अनुसार १३ किमी दूरीको उक्त सडकअन्तर्गत मिलनचोक–बेनी खण्डमा पनि कालोपत्रको तयारी भइरहेको छ । यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किमी ३०० मिटरमा कालोपत्र र दुई किमी २०० मिटर ढलान भएको उहाँले जानकारी दिनुभयो ।

लस्ती–बेनी खण्डको छ किमी ५०० मिटर सडक यही मङ्सिर पहिलो सातादेखि कालोपत्र गर्न थालिएको छ । लस्ती–केराबारी–मिलनचोक खण्डको काम शुक्रबार सम्पन्न भएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । उहाँका अनुसार बारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक÷एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने यो सडक दुई लेनको बनाएर कालोपत्र विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीसँग रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायत कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको आयोजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका सूचना अधिकारी चापागाईंले बताउनुभयो ।

जलजला–७ मिलनचोकका बासिन्दा जमुना आचार्यले सडक कालोपत्र भएपछि एक घण्टाको यात्रा अवधि २०–२५ मिनेटमा छोटिएको बताउनुभयो । सवारीसाधनको आवागमन सहज हुनाका साथै समयको पनि बचत भएको उहाँको भनाइ छ ।

यो सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत विसं २०५२ मा मार्ग खुलेको मालढुङ्गा–बेनी सडकअन्तर्गत बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो ।

एमाले महाधिवेशनः बुद्धिजीवी परिषद् र प्रेस चौतारीबाट प्रतिनिधि चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ ।

आज बसेको प्रेस चौतारी पदाधिकारी बैठकले पूर्वअध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत तथा हालका अध्यक्ष गणेश पाण्डेलाई खुलातर्फ र महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरेको हो । प्रेस चौतारी एमालेको जनसङ्गठनका रूपमा रहेको छ ।

यस्तै, नेपाल बुद्धिजीवी परिषद्बाट खुलातर्फ गोविन्दबहादुर शाही, सरोजकुमार रेग्मी, पदमबहादुर विक तथा महिलातर्फ सृजना घिमिरे र डा टीका ढकाल पनि सर्वसम्मत चयन हुनुभएको छ ।

आज एमालेले महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि चयन गरिरहेको छ । एमाले महाधिवेशन यही मङ्सिर २७-२९ मा हुँदैछ ।

भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिँदा स्कुटरमा सवार दुई जनाको मृत्युु

मङ्गलबारे, १३ मङ्सिरः मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जनाको मृत्युु भएको हो ।

मृत्यु् हुनेमा इलाम नगरपालिका—९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापा मगर र माईजोगमाई गाउँपालिका नयाँबजार घर भई हाल इलाम—७ चोकबजारमा बस्ने १९ वर्षीय छेवाङ शेर्पा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनालगत्तै उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । ट्रक चालक इलाम—५ बिब्ल्याटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएका भण्डारीले जानकारी दिनुभयो ।

एनपिएलको २०औँ अर्धशतक जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिको नाममा

काठमाडौँ, १३ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २० पुगेको छ । जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २० पुगेको हो ।

सुदूरपश्चिम रोयल्सविरूद्ध उनले ३७ बलमा दुई छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनी अर्धशतक हिर्काउने १६औँ खेलाडी बनेका छन् ।

जारी सिजनमा तवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् । जारी प्रतियोगितामा शतक भने कर्णालीका मार्क वाटले मात्रै प्रहार गरेका छन् ।

‘बेसमेन्ट’ खन्दा छिमेकीको घर चर्केको उजुरी बढ्यो

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा भवन निर्माणका लागि बेसमेन्ट खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण छिमेकीको घर चर्केको उजुरी सङ्ख्या बढ्न थालेको छ ।

पछिल्लो समय घर चर्केको मात्रै नभई कोल्टिएको, घरमा बस्न असुरक्षा भएको कारण बताउँदै क्षतिपूर्तिको मागसहित उजुरी दिने छिमेकीको सङ्ख्या बढ्न थालेको कामपा सहरी व्यवस्थापन विभागका प्रमुख इन्जिनियर हरिश्चन्द्र लामिछाने जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन नक्सा स्वीकृत गर्दा नै यस प्रकारको काम गर्दा सुरक्षा उपाय बलियो प्रबन्ध गर्न, छिमेकीलाई असर नगर्न घरधनीले प्रतिबद्धता गर्नुपर्ने माग गरिएको छ । उहाँले भन्नुभयो, “यस्ता समस्या पहिले थोरै सुनिन्थे । अहिले बढ्न थाले । यसको दिगो समाधानका लागि प्राविधिक र सामाजिक पक्षको अध्ययन गर्नुपर्छ । विज्ञ र साझेदारको सहयोगमा हामी यो समस्या समाधानलाई अगाडि बढाउँछौँ ।”

“कानुनी मर्यादामा निर्माण पक्षले लापर्वाही गर्दा समस्या आएका हुन्”, लामिछाने थप भन्नुहुन्छ, “भवन नक्सा स्वीकृति लिँदा तोकिएका सर्तहरूको पूर्ण पालना हुनुपर्छ । सर्त पूरा नहुँदा विवाद सृजना हुन थाले । यसले निर्माण अवधि पनि लामो हुन्छ । खर्च बढ्छ ।”

यसरी उजुरी परेपछि प्राविधिक टोलीलाई फिल्ड निरीक्षणमा पठाएर प्राविधिक टोलीले दिएको प्राविधिक प्रतिवेदनअनुसार कुन प्रक्रिया अवलम्बन गर्दा पीडितको क्षति कम हुन्छ । त्यसबाट कारबाही अगाडि बढाउने गरिएको लामिछानेको भनाइ छ ।

विभागका स्ट्रक्चर इन्जिनियर सन्तोष पाण्डेयका अनुसार बेसमेन्ट खनेका आफ्नो घर चर्किएको भनेर उजुरी दिनेहरूको सङ्ख्या दैनिक ३० को हाराहारीमा पुगेको छ । वडा नम्बर १३, १४, १५, ७ लगायत वडाबाट धेरै उजुरी र गुनासो रहेको पाण्डेयको भनाइ छ ।

जिओटेक्निकल इन्जिनियर उदयराज न्यौपाने भन्नुहुन्छ, “मानिस मानिस छिमेक भएजस्तै जमिन सतहको माटोको पनि आपसमा सम्बन्ध हुन्छ । यसलाई खन्दा सम्बन्ध टुट्छ । यो पक्षलाई नबुझ्दा समस्या आएको हो । भवन निर्माण गर्दा भवन निर्माण संहिताले निर्माण सुरक्षा अपनाउनुपर्ने व्यवस्था गरेको छ । यस्तै मुलुकी देवानी संहिता २०७० को परिच्छेद ३ को दफा २७८ बमोजिम निर्माणसम्बन्धी काम गर्दा सुरक्षात्मक उपाय अपनाउनुपर्छ । कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा सधियारको घर वा जग्गा वा सधियारलाई कुनै किसिमको हानिनोक्सानी नहुने वा असर नपर्नेगरी सुरक्षात्मक उपाय अपनाउनुपर्नेछ ।”

विवेकशील साझा पार्टी र रास्वपाको ‘एकता घोषणासभा’ आइतबार हुने

काठमाडौं । विवेकशील साझा पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरु अवलम्बन गर्दै संवाद प्रकृयालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको ‘उच्च संवाद समिति’ लाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरुप पार्टी सचिवालयले गठन गरेको संयन्त्र– सङ्घीय नेतृत्व मञ्च अनुमोदित गरेको छ ।

गुणस्तरीय कानुन निर्माणमा नेपाल कानुन समाज

काठमाडौँ – नेपालको संविधान निर्माण र कार्यान्वयनमा ‘पर्दा पछाडि’ रही निरन्तर सहयोग पुर्‍याइ रहेको नेपाल कानुन समाजले प्रदेश र स्थानीय तहका कानुन तर्जुमाका लागि सात वर्षदेखि सहकार्य गर्दै आएको छ ।

सङ्घीय सरकारका लागि कार्य विस्तृतीकरण परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सहकार्य गरिरहेको समाजले सङ्घ, प्रदेश र स्थानीय तहसँग अन्तर–सम्बन्ध तथा समन्वयसम्बन्धी कानुन निर्माणका लागि अध्ययन तथा छलफल कार्यक्रम चलाइरहेको छ ।

संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानसभामार्फत संविधान लेखनका कार्यमा विशेषज्ञ उपलब्ध गराइ समाजले सहयोग पुर्‍याएको स्मरण गर्नुभयो । समाजका सदस्य समेत रहनुभएका अधिवक्ता बिडारीले भन्नुभयो, “संसद्मा विधेयक पेस भएपछि त्यसमाथि समाजले संसदीय समिति र अरु विभिन्न स्थानमा छलफल चलाउँथ्यो । त्यसमा प्राप्त सुझाव र निष्कर्षले गुणस्तरीय कानुन बनाउन सहयोग पुर्‍याउँदै आएको छ ।”

संविधान निर्माणका बखत समाजका तर्फबाट तत्कालीन अध्यक्ष तीर्थमान श्रेष्ठ र कार्यकारी परिषद्का सल्लाहकार माधव पौडेललगायतका संविधान र कानुनविद्ले विषय विज्ञका रूपमा निरन्तर सहयोग पुर्‍याउनुभएको थियो ।

दि एसिया फाउण्डेशनको सहयोगमा समाजले मुख्यतः नमूना विधेयक निर्माण, छलफल तथा ऐन पारित भएपछि उक्त ऐनको कार्यान्वयनको अवस्था, सम्भावना र चुनौती सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहमा अध्ययन गरेको थियो ।

अनौपचारिरूपमा संसद्, समिति र विधायकको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएको समाजलाई थप फराकिलो तुल्याउन आवश्यक रहेको वरिष्ठ अधिवक्ता बिडारी बताउनुहुन्छ ।

सोही क्रममा सङ्घीय संसद्सँग समाजले विभिन्न विधेयक तर्जुमा र विधेयकमाथि हुने छलफलमा सहयोग पु¥याएको छ । प्रदेश सरकारका लागि पनि आवश्यक विधेयक तर्जुमा, छलफल र संशोधन विधेयकमाथि पृष्ठपोषण दिइरहेको छ ।

समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानका अनुसार, प्रदेश र स्थानीय तहसँग अन्तर–सम्बन्ध तथा विवाद समाधान विधेयक तर्जुमा तथा छलफल कार्यक्रम सञ्चालन गरिएको छ । जसबाट प्रदेशसभाका सदस्यको विधि निर्माणसबन्धी क्षमता अभिवृद्धिमा समेत सहयोग पुगेको छ ।

समाजकै अगुवाइमा कानुन निर्माण र सेवा प्रवाहमा प्रभावकारिताका लागि स्थानीय सरकार सहयोग कार्यक्रम सञ्चालनमा छ । त्यसअनुरूप स्थानीय जनप्रतिनिधि र कर्मचारीका लागि कानुन एवं विधेयक तर्जुमा तालिम र सहयोग तथा निर्देशिका प्रकाशनलगायत स्थानीय न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

संस्थाले न्यायपालिकातर्फ सर्वाेच्च अदालतको संवैधानिक इजलासले गरेका फैसलाको समीक्षा गरी प्रतिवेदन प्रकाशन तथा न्यायाधीशसहित अदालतका कर्मचारी, कानुन व्यवसायी र जनप्रतिनिधिसँग संवैधानिक इजलासको प्रभावकारिता तथा चुनौती र सम्भावनाबारे अध्ययन, अनुसन्धान र छलफल कार्यक्रम गर्दै आएको छ ।

यस्ता कार्यक्रमबाट केही सफल र असल अभ्यासका साथै चुनौती र सम्भावना समेत फेला परेको कार्यकारी निर्देशक प्रधान बताउनुहुन्छ । यस्ता सफल अभ्यासको प्रचारप्रसार तथा चुनौती सम्बोधनका लागि समाजले तत्–तत् निकायलाई झक्झकाउँदै आएको छ ।

राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिका पूर्वसभापति पर्शुराम मेघी गुरुङ नेपालको संवैधानिक तथा कानुनी विकासको श्रृङ्खलामा समाजको योगदान र इतिहास गहन रहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “म आफैँ संसद्मा हुँदा पनि कानुन निर्माण प्रक्रियामा समाजबाट साथ सहयोग भयो । त्यस्तो सहयोग प्रदेश र स्थानीय तहमा पनि छ ।”

खासगरी विधेयक मस्यौदा निर्माण र विधेयकमाथिका छलफलमा समाजको विशिष्ट सहयोग गरेको उल्लेख गर्दै पूर्वसभापति गुरुङले तीन तहको अन्तर–सम्बन्ध र निर्वाचन कानुनसँग सम्बन्धित विधेयकमा अलि बढी छलफलको वातावरण बनाएर सहयोग पुर्‍याएको स्मरण गर्नुभयो । संस्थाले छिमेकी मुलुकका कानुनी प्रणाली, अनुसन्धान र प्रभावकारिताबीचको तुलनात्मक अध्ययन गरी सरोकारवालालाई जानकारी गराउँदै आएको छ ।

पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, वरिष्ठ अधिवक्तासहित विभिन्न कानुन व्यवसायी समाजसँग आबद्ध रहनुभएको छ । संविधान निगरानी समूहले संविधान कार्यान्वयन र संसदीय अभ्यासलगायत विषयमा समाजसँग सहकार्य गर्दै कानुनी क्षेत्रको विकास र विस्तारका लागि निरन्तर बहस र पैरवी चलाइरहेको छ ।

समाजले विधेयकको मस्यौदा निर्माणमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा विधेयक निर्माणमा संसद्लाई सहयोग पु¥याएको छ । उहाँले भन्नुभयो, “समाजले सांसदसँग विभिन्न विषयमा छलफल चलाउने र त्यसको निचोड समिति र सदस्यलाई उपलब्ध गराउँछ । संसद्ले पनि आवश्यक परेका विषय ग्रहण गरेको पाइन्छ ।”

संविधानको मर्म र भावनाअनुरूप समानुपातिक समावेशी सिद्धान्तलाई प्रवद्र्धन गर्न महिला, आदिवासी–जनजाति, मधेसी समुदायका हकअधिकार तथा त्यो प्राप्ति र कार्यान्वयनमा देखिएका चुनौती सम्बोधन गर्न अघि बढाइएका विधेयकको मस्यौदाबारे समाजले प्रशिक्षित तुल्याउँदै आएको छ ।

सङ्घीय संसद्का पूर्वमहासचिव डा भरतराज गौतमले कानुन क्षेत्रका विशेषज्ञ र कानुनको पृष्ठभूमि भएका सांसद सदस्यको उपलब्धता समाजमा भएकाले अरु विधायकलाई पनि कानुन निर्माणमा थप स्पष्ट हुन सजिलो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजमा न्यायाधीशसहित सबै कानुन क्षेत्रका व्यक्तित्व रहेको, केही सांसद पनि सदस्य हुनभएकाले कानुनको मस्यौदामाथि चलाएको छलफल विधि निर्माताका लागि फाइदाजनक नै हुने गरेको देखिन्छ ।”

यद्यपि, संविधान र कानुनका विषयमा उठेका जल्दाबल्दा विषयमा छलफल चलाउने सन्दर्भमा संसद् र समाजबीच औपचारिक सहमति भएको भने देखिन्न ।

संविधान र कानुन कार्यान्वयनका लागि बहस र पैरवी अघि बढाउने सिलसिलामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री पौडेल, पूर्वउपसभामुख पुष्पा भुसाल, वरिष्ठ अधिवक्ता बिडारी, संविधानसभा सदस्यत्रय राधेश्याम अधिकारी, अग्निप्रसाद खरेल, उदय श्रेष्ठ नेपाली महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

समाजले कुनै विषयगत विषयमा अध्ययन गराउने र त्यसका सकारात्मक र नकारात्मक पाटोबारे विषयगत समितिलाई जानकारी गराउँदै आएको छ । संविधान कार्यान्वयनसँग जोडिएर तर्जुमा गरिएका कानुन कार्यान्वयन के–कति भयो वा भएन भनी ‘लिगल अडिट’ समेत उक्त संस्थाले गर्दै आएको छ ।

सङ्घीय संसद्का सबै समितिको नभई केही छानिएका समितिसँग मिलेर कानुन समाजले काम गरेको छ । त्यसक्रममा राष्ट्रियसभा विधायन व्यवस्थापन समितिसँग पनि कानुन कार्यान्वयनको अवस्था विषयमा सहकार्य गरेको थियो ।

यसै साता पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको सहकार्यमा कार्य विस्तृतीकरण प्रतिवेदनलाई कार्यान्वयन गर्न सहयोग पु¥याउने उद्देश्यले प्राकृतिक स्रोत व्यवस्थापनअन्तर्गत वन तथा वातावरण, खानी र जलस्रोत विषयमा परामर्श कार्यक्रम गरेको गरेको थियो ।

कानुन निर्माण प्रक्रियामा विगत मन्त्रालयको अधिकृतले मस्यौदा गर्ने, त्यो सरकारलाई बुझाउने र सदनमा लगेर पारित गर्ने प्रचलन रहेकामा अहिले मस्यौदास्तरमै सरोकारवालासँग छलफल गरी राय परामर्श लिने अभ्यास सुरु गरिएको छ । कानुन निर्माण प्रक्रियाअन्तर्गत सम्बन्धित मन्त्रालयले पहिलो मस्यौदा तयार गर्ने र त्यसमाथि सरोकारवालासँग सुझाव लिने, अनि कानुन र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्को निर्णयपछि संसद्मा दर्ता गर्ने चलन छ ।

पछिल्लो समय जनसरोकारका विधेयकको मस्यौदा तयार भएपछि अध्ययन, अनुसन्धान र छलफलका लागि समाजले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । त्यसक्रममा तीन तहबीचको अन्तर–सम्बन्ध, वन, खानी, ढुङ्गा–गिट्टीलगात ५० भन्दा बढी विधेयकको मस्यौदामा समाजले सहजीकरण गरेको थियो ।

सदनबाट विषयगत समितिमा छलफलका लागि पठाइएका विधेयकमाथि पनि समाजका तर्फबाट विशेषज्ञ उपलब्ध गराएर परामर्श दिने चलन छ ।

पछिल्लो दशक विषयगत समितिले सरोकारवालासँग छलफल गरेर मात्रै विधेयक पारित गर्ने अभ्यास सुरु भइसकेको छ । कानुन निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गरिएसँगै विधेयकमाथि विरोधको प्रतिशत घटेको छ । यसबट कानुन निर्माणमा लोकतान्त्रिक अभ्यास स्थापित भएको छ ।

आवश्यक कानुन संसद्ले मात्र बनाउन सम्भव नभएपछि कार्यकारीलाई अधिकार प्रत्यायोजित गरी बनाइएका नियम, निर्देशिका, कार्यविधि र विनियमावलीसहितका १० वटा कानुन कार्यान्वयनको अवस्थाबारे समाजले परीक्षण गरिसकेको छ ।

जेनजी आन्दोलनबाट सिर्जित राजनीतिक अवस्थालाई ध्यानमा राखी ‘संविधान संशोधन निर्वाचन अघि कि पछि’ भन्ने बारेमा केन्द्रित रही समाजले ‘आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर’ विषयमा सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संवाद चलाएको थियो ।

वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ९० करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) – चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा रु दुई अर्ब ९३ करोडले बढी हो ।

जबकी गत आवको चार महिनाको अवधिमा भने रु ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिनुभयो । “गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत नौ दशमलव ६० प्रतिशतले बढेको छ,” उहाँले भन्नुभयो ।

वीरगञ्ज भन्सार कार्यालयका चालु आवको कात्तिक मसान्तसम्म रु २४ अर्ब ४० करोड मूल्य पर्ने दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । सो डिजेल आयातबाट रु १० अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा भने २१ अर्ब ८३ करोड मूल्य पर्ने डिजेल आयात भएको थियो । सोबाट नौ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको चार महिनामा रु १४ अर्ब २७ करोड मूल्य पर्ने एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा रु नौ अर्ब ४३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको चार महिनामा भने १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा आठ अर्ब ११ करोड राजस्व सङ्कलन भयो ।

चालु आवको चार महिनाको अवधिमा रु नौ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट रु एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै गत आवको सोही अवधिमा भने रु ११ अर्ब १० करोड मूल्य पर्ने रु १० करोड तीन लाख ५९ हजार किलोग्राम एलपी ग्यास आयात भएको थियो । सो आयातबाट रु दुई अर्ब आठ करोड राजस्व सङ्कलन भएको थियो ।

विज्ञान तथा सूचना प्रविधि प्रदर्शनीको दश हजार विद्यार्थीले गरे अवलोकन

भक्तपुर – मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रदर्शनीको समापनमा एकेडेमीले प्रथम स्थान हासिल गर्दै रु ३० हजार नगदसहित ट्रफी र मेडल हात पारेको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ ।

प्रदर्शनीमा सहभागी विद्यार्थीले भोट गरेको आधारमा प्रदर्शनरत उपकरण एवं सामग्रीमध्येबाट एभरेष्ट इङ्लिस स्कुलले रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा एवं प्रदर्शनी गरेवापत् प्रत्येक सहभागि ६७ विद्यालयलाई रु ६ हजारका दरले नगद प्रदान गरिएको थियो ।

प्रदर्शनीमा उपत्यकाभित्रका ६७ विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ उपकरण एवं सामग्री राखिएका थिए । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नविनम प्रयोगलाई जोड दिँदै निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य ऊर्जा, स्वास्थ्य, भवन निर्माणलगायतका विभिन्न उपकरण एवं सामग्री प्रदर्शन गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको प्रदर्शनीको १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामग्री प्रदर्शन गरेका थिए ।

आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १३ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ११८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १५०, गाजर (तराई) प्रतिकिलो रु १३०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकिलो रु ६५, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १९०, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १५०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु १००, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १५०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो १२०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ११०, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ६५, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु १५५, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ६५०, सेलरी प्रतिकिलो रु ३२०, पार्सले प्रतिकिलो रु ७५०, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १६०, भेडे खुर्सानी प्रतिकिलो रु १६०, हरियो लसुन प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २५०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रूख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।

आप्रवासनका लागि बेलायत पुग्ने व्यक्तिको सङ्ख्यामा भारी गिरावट

जुन महिनासम्मको एक वर्षमा आप्रवासनका लागि बेलायत पुग्ने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घटेको छ । प्रधानमन्त्री किअर स्टार्मरको सरकारको एक प्रमुख नीति हो र यो सुधार उहाँको सरकारका लागि उत्कृष्ट प्रोत्साहन हो।

जब स्टार्मरको लेबर सरकार यस मुद्दामा कट्टर–दक्षिणपन्थी आप्रवासन–विरोधी रिफर्म यूके पार्टीबाट बढ्दो दबाबको सामना गरिरहेको समय आप्रबासनमा निरन्तर घट्दो प्रवृत्तिको समाचार सार्वजनिक भएको हो ।

यी तथ्याङ्कहरूमा साना डुङ्गा यात्राजस्ता अत्यधिक विवादास्पद अनियमित मार्गहरूबाट आएका आप्रवासीहरूको तथ्याङ्क समावेश छैन ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, यसमा काम र अध्ययनका लागि बेलायत आउने गैर–युरोपेली सङ्घका नागरिक र उनीहरूका आश्रितहरूको सङ्ख्या कम हुनु र बेलायती नागरिकहरूको बसाइँसराइ बढ्नु समावेश छ।

हालैको अस्थायी बसाइँसराइको तथ्याङ्कले बेलायतमा आउने र बेलायतबाट जाने मानिसहरूको सङ्ख्याबीचको अन्तर करिब दुई लाखको हाराहारीमा देखिएको छ।

तथ्याङ्का अनुसार जुनसम्म अनुमानित आठ लाख ९८ हजार मानिसहरू भित्रिएका थिएभने छ लाख ९३ हजार स्थायी रूपमा बाहिरिएका थिए ।
यो सन् २०२१ यताको एक बर्षको सबैभन्दा कम तथ्याङ्क हो ।

मे महिनामा घोषणा गरिएको सन् २०२४ को वार्षिक कुल आप्रवासनको तथ्याङ्कले पनि चार लाख ३१ हजार व्यक्तिको ठूलो गिरावट देखाएको थियो । यद्यपि, यो सङ्ख्उा पछि संशोधन गरी तीन लाख ४५ भएको बताइएको थियो ।

विपक्षी कन्जरभेटिभहरूले बिहीबार यो निरन्तर गिरावटको श्रेय लिएका छन्। उनीहरूका अनुसार यो सन् २०२४ जुलाईमा सत्ता गुमाउनुअघि तत्कालीन प्रधानमन्त्री ऋषि सुनकले लागू गरेका भिसा, आश्रित र विद्यार्थीसम्बन्धी सुधारहरूको परिणाम हो।

– आप्रवासनमा कडाइ –

यी तथ्याङ्कहरू स्टार्मरका लागि स्वागतयोग्य समाचार हुन सक्छन् तर यसले अनियमित आप्रवासनमा कुनै राहत प्रदान गर्दैन, जुन घटिरहेको छैन।

सङ्घर्षमा फसेका देशहरूबाट भागेर आएका धेरसहित कुल ३९ हजारभन्दा बढी मानिसहरू यस वर्ष साना डुङ्गाहरूमा बेलायत आइपुगेका छन् । यो सन् २०२४ को पूरै वर्षको भन्दा बढी हो, तर अन्तिम कन्जरभेटिभ प्रशासनको समयमा सन् २०२२ मा कायम भएको उच्च सङ्ख्याको तुलनामा कम हो।

ब्रेक्जिट पक्षधर नेता नाइजेल फराजको नेतृत्वमा रहेको रिफर्म युकेले यस वर्षको अधिकांश समय सर्वेक्षणमा लेबर पार्टीमाथि ख्यातिमा दोहोरो अङ्कको अग्रता कायम राखेको छ, किनकि उसले यस मुद्दामा निरन्तर अभियान चलाइरहेको छ।

गृहमन्त्री शाबना महमूदले यसै महिनाको सुरुमा कानुनी र अवैध दुवै आप्रवासनमाथि कडा कारबाहीको घोषणा गर्नुभएको थियो । यो प्रतिक्रिया आंशिक रूपमा फराजको पार्टीलाई बढ्दो समर्थन थियो।

सरकारले साना डुङ्गाहरूको आगमनलाई रोक्न फ्रान्ससँग सहमति भएको तथाकथित ‘एक भित्र, एक बाहिर’ योजनामा पनि आफ्नो आशा राखेको छ।
बिहीबार जारी गरिएको नयाँ तथ्याङ्कले यस पहल अन्तर्गत हालसम्म १५३ जनालाई फ्रान्सबाट फिर्ता पठाइएको छ र १३४ जना बेलायत आइपुगेका छन्।

‘एक भित्र, एक बाहिर’ योजना अन्तर्गत अवैध र शरण आवेदनका लागि अयोग्य ठहरिएर फ्रान्स फिर्ता पठाइएका प्रत्येक बेलायती आप्रवासीको सट्टा अर्को एक जनालाई ‘नयाँ सुरक्षित र कानुनी मार्ग’ मार्फत बेलायतमा प्रवेश गर्न दिइन्छ।

रुसमा मानव अधिकार अनुगमनकारी संस्थामाथि प्रतिबन्ध

रुसले शुक्रबार मानव अधिकार अनुगमनका लागि स्थापित ‘ह्युमन राइट्स वाच’ लाई आफ्नो ‘अवाञ्छित’ संस्थाहरूको सूचीमा समावेश गरेको छ । प्रतिबन्धले न्यूयोर्कमा कार्यालय भएको उक्त दबाब समूहलाई आफ्नो भूभागमा सञ्चालन गर्न प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ ।

रुसले यस निर्णयको कारण बताएको छैन । सन् २०२२ मा रुसमा आफ्ना कार्यालयहरू बन्द गर्न बाध्य भएको ‘ह्युमन राइट्स वाच’ले तत्काल कुनै टिप्पणी गरेको छैन।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि रूसी न्याय मन्त्रालयले क्रेमलिनको नीति वा युद्धमा मस्कोको व्यवहारको आलोचना गर्ने दर्जनौं समूहहरूलाई प्रतिबन्ध लगाएको थियो ।

विश्वभरका सेना र सरकारहरूद्वारा गरिएका दुरुपयोगको अनुसन्धान र प्रतिवेदन प्रकाशित गर्ने ‘ह्युमन राइट्स वाच’ले युद्धको बारम्बार निन्दा गरेको छ र रुसी सेनालाई ‘उल्लङ्घनको लामो श्रृङ्खला’ सञ्चालन गरेको आरोप लगाएको छ । मस्कोले आरोपलाई अस्वीकार गर्दै आएको छ।

रुसमा ‘अवाञ्छित’ समूहको रूपमा आरोपित अन्य संस्थाहरू ‘वल्र्ड वाइल्डलाइफ फन्ड, ग्रीनपिस, ट्रान्सपरेन्सी इन्टरनेसनल र एल्टन जोन एड्स फाउन्डेसन’ हुन्।

यो आरोपले समूहसँग काम गर्ने वा उनीहरूलाई पैसा दान गर्ने जो कोहीलाई पनि रुसमा अभियोजनको लागि उत्तरदायी बनाउँछ।

अमेरिकी शुल्कवृद्धिका बाबजुद ब्राजिलमा बेरोजगारीको सङ्ख्यामा गिरावट

संयुक्त राज्य अमेरिकाले यसको सामानमा लगाएको भन्सार शुल्कको बावजुद ब्राजिलको बेरोजगारी दरमा ऐतिहासिक रूपमा गिरावट जारी रहेको शुक्रबारको सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।

यो तथ्याङ्क अगस्टदेखि अक्टोबरसम्मको त्रैमासिक अवधिको हो । काम खोज्ने श्रमशक्तिको हिस्सा यस अवधिमा ५.४ प्रतिशतमा झरेको छ, जुन ब्राजिलको तथ्याङ्क सङ्कलन र लेखाजोखा राख्ने निकाय (आइबिजिई) स्थापना भएको सन् २०१२ पछिको हालको गणना विधि लागू भएयताकै सबैभन्दा कम हो ।

सन् २०२४ को सोही अवधिमा बेरोजगारी दर ६.२ प्रतिशत थियो।यद्यपि अनौपचारिक क्षेत्रमा रोजगारी गर्ने कार्यबलको हिस्सा ३७.८ प्रतिशतसहित उच्च अवस्थामा कायम रहेको छ।बेरोजगारीमा आएको यो निरन्तर गिरावट वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका लागि राम्रो खबर हो।

उहाँको सरकारले संयुक्त राज्य अमेरिकामा निर्यात गरिने धेरै ब्राजिलियाली उत्पादनहरूमा लगाइएको ४० प्रतिशत भन्सार शुल्कले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा पार्ने प्रभावलाई कम गर्ने प्रयास गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि अगस्टमा दण्डात्मक भन्सार शुल्क लगाउनुभएको थियो । यो शुल्क उहाँको अति–दक्षिणपन्थी सहयोगी जैर बोल्सोनारोको मुद्दालाई लिएर लगाइएको आरोप अमेरिकामाथि ब्राजिलले लगाउँदै आएको छ । बोल्सोनारोले सन् २०२२ को चुनावपछि लुलालाई सत्ता सम्हाल्नबाट रोक्ने प्रयास गरेकोमा २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ।

यसै महिनाको सुरुमा, देशहरूबीचको कूटनीतिक तनावमा कमी आएपछि वाशिङ्टनले गाईको मासु र कफीलाईजस्ता केही कृषि वस्तुहरूलाई भन्सार शुल्कबाट मुक्त गरेको थियो।

मानव बेचबिखनका मुद्दामा सहकार्य आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

धुलिखेल (काभ्रेपलाञ्चोक), – महान्यायाधिवक्ता सविता भण्डारीले मानव बेचबिखनका मुद्दामा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय सम्पादन गर्ने निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । यी निकायबीच सहकार्य हुँदा पीडितले न्याय पाउने उहाँले बताउनुभएको हो ।

माइती नेपाल र महान्यायाधिवक्ता कार्यालयको सहकार्यमा धुलिखेलमा ‘मानव बेचबिखन प्रभावित÷पीडितमैत्री छिटोछरितो न्याय सम्पादन’ विषयक कार्यशाला गोष्ठीमा उहाँले मानव बेचबिखन तथा ओसारपसारलाई विश्वव्यापी रूपमै गम्भीर अपराध मानिने उल्लेख गर्नुभयो । महान्यायाधिवक्ता भण्डारीले अवैध हातहतियार र लागुऔषधपछिको तेस्रो ठूलो गैरकानुनी व्यापारका रूपमा मानव बेचबिखन रहेको बताउनुभयो ।

उहाँले नेपालमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा आर्थिक वर्ष २०७६÷७७ मा ३८५ वटा, आव २०७७÷७८ मा ३७५ वटा, २०७८÷७९ मा ३८६ वटा, २०७९÷८० मा ३६६ वटा र आव २०८०÷८१ मा ३७३ वटा मुद्दा अभियोजन गरेको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डिजिटल बोर्डमार्फत नाकाहरूमा सचेतनात्मक सन्देशहरू राखेर सुसूचित गराइरहेको र संयुक्त कार्यदल बनाएर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले माइती नेपालले सुरुआत गरेको काममा धेरै संस्थाहरूले काम गरिरहेको बताउनुभयो । मानव बेचबिखनको कुरा सीमापारको विषयमात्र नभएर वैदेशिक रोजगार र साना बालबालिकालाई प्रयोग गरी सीमाक्षेत्रमा लागुऔषध ओसारपसार हुने गरेको पाइएकाले उहाँले प्रशासनलाई ध्यानाकर्षण गराउनुभयो ।

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच यी बिषयमा भए सहमती

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसार्इंबीच हिजो वार्ता भएको छ । सिंहदरवारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसार्इंले जानकारी दिए ।

उनले भने, “मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरी छलफल गर्ने सहमति भएको छ ।”

संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विष्यामा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए ।

चलचित्र परान हेरेपछि सञ्चारमन्त्री खरेलले भने, ‘परान सासले होइन, साथले चल्छ’

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सदस्यहरुले शुक्रबार नेपाली फिल्म ‘परान’ हेर्नुभएको छ ।

दीपक आचार्यद्वारा निर्देशित चलचित्र ‘परान’को विशेष प्रदर्शनसहित ‘नेपाली चलचित्रको वर्तमान अवस्था तथा चलचित्र क्षेत्रमा गर्नुपर्ने सुधार सम्बन्ध’ बारे आयोजित छलफल कार्यक्रममा मन्त्री खरेलले परान ‘सासले होइन साथले चल्छ’ भन्ने चलत्रिचको नाराले आमाबाबुको वास्तविक भावना झल्काउने बताउनभयो । उहाँले चलचित्रको कथा, पटकथा उत्कृष्ट रहेको र पात्रहरूमार्फत व्यक्त गरिएका संवादले दर्शकलाई गहिरो रूपमा छुने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री खरेलले ३४ वर्षअघि ७६ वर्षीय बुबासँग रञ्जना हलमा चलचित्र ‘कोसेली’ हेरेपछि, अहिले फेरि उहाँसँगै परान हेर्न आएको स्मरण गर्नुभयो । उहाँले २०२६ सालमा बनेको ऐनले अहिलेसम्म चलचित्र बनाउने काम निर्दिष्टि गरिरहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाको विधायन समितिमा यतिबेला प्रस्तावित चलचित्र विधेयकमाथि दफावार छलफल चलिरहँदा विभागीय मन्त्रीसहित समितिका सदस्यहरुले चलचित्र परान हेर्नुभएको हो । सञ्चारमन्त्री खरेलसहितको टोलीले टिकट काटेर फिल्म परान हरेको हो । उहाँले नेपाली चलचित्रलाई प्रोत्साहन गर्न आफूहरूले पैसा तिरेर चलचित्र हेर्न आएको बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले सरकारले चलचित्र क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली चलचित्रलाई राष्ट्रिय उद्योगको रूपमा विकास गर्न जरुरी रहेको औँल्याउनुभयो ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र परानले नेपाली माटो र नेपाली पारिवारिक कथाको सारलाई सुन्दर ढङ्गले समेटेको बताउनुभयो । चलचित्र विधेयकमाथि छलफल जारी रहेको र सरकारले चलचित्र उद्योगको विकास गर्न प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा चलचित्र परानका निर्देशक दीपक आचार्यले सञ्चारमन्त्री खरेल आफैँले चलचित्र हेरेर नेपाली चलचित्र क्षेत्रमा उत्साह जगाएको बताउनुभयो । उहाँले समाज रुपान्तरणका लागि नेपाली चलचित्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

ठमेलस्थित क्यूएफएक्स सिनेमाको छायाँ सेन्टरमा परानको विशेष प्रदर्शन तथा चलचित्र क्षेत्रमा गर्नुपर्ने सुधारबारेको छलफलमा सञ्चार मन्त्रालय, रष्ट्रियसभा विधायन व्यवस्था समितिबीच छलफल कार्यक्रम आयोजना गरियो । मन्त्रीखरेलसहित मन्त्रालयका सचिव राधिका अर्याल, राष्ट्रियसभा विधान व्यवस्थापन समितिका अध्यक्ष तुलसाकुमारी दाहाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

बजार अनुमगनलाई तीव्र पार्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

काठमाडौँ – चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने गरेको भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति गुनासो हुने गरेको थियो । तर, विभागका पछिल्ला गतिविधि र बजार अनुगमनलाई आयोजकले तीव्र पारेको छ ।

विभागले शुक्रबार मात्रै काठमाडाब्ैका विभिन्न आठ उद्योग तथा फर्मको अनुमगन गरेको थियो । त्यसक्रममा क्रिष्टल स्टोर तारकेश्वर गोलढुङ्गालाई रु दुई लाख पाँच हजार जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारवाही गरेको हो । त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक , ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले जरिवाना गर्न सक्नेछन् । ऐन अनुसार अनुचित व्यपारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना गर्न सक्नेछन् ।

काठमाडौँ महानगरपालिका ३१ नयाँ बानेश्वरमा अवस्थित घुम्ने किचेनलाई रु २० हजार जरिवाना गरेको छ । सिनामङ्गलको ग्रिन बड्स बेकरी क्याफेलाई रु पाँच हजार जरिवाना गरेको छ । ललितपुरको सुमेरु अस्पताल परिसरमा रहेको क्यान्टिनलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अन्य तीन फर्मलाई भने सामान्य निर्देशन दिइएको छ ।

वित्तीय सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्न माग

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री र अन्य प्रदेशका आर्थिक मामिलामन्त्रीले वित्तीय सङ्घीयता कार्यान्वयनमा देखापरेका समस्या समाधानका लागि विभिन्न उपायको खोजी गर्दै साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

वित्तीय सङ्घीयता कार्यान्वयनको क्रममा देखापरेका समस्या क्रमशः समाधान हुँदै आएका भए पनि नयाँ परिस्थितीमा नयाँ खालका समस्या देखा पर्ने भएकाले त्यसको समाधानका उपाय खोज्नुपर्ने उहाँहरुको भनाइ थियो । अन्तर सरकारी वित्त परिषदको एघारौँ बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र अन्य प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीलगायत परिषद्का सदस्य एवं विज्ञले वित्तीय सङ्घीयता कार्यान्वयनको सम्बन्धमा देखापरेका समस्या र समाधानका उपायका सम्बन्धमा आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमका दौरान सातै प्रदेशका अर्थमन्त्रीहरुले संयुक्त रूपमा तयार गरेको वित्तीय सङ्घीयता सम्वद्ध घोषणापत्र कार्यान्वयन सहजीकरणका लागि सङ्घीय अर्थमन्त्री समक्ष पेश गर्नुभएको थियो ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था वमोजिम परिषदका संयोजक अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा परिषदका सदस्यहरु एवं अन्य आमन्त्रित व्यक्तिको उपस्थितिमा शुक्रबार अर्थ मन्त्रालयमा सम्पन्न भएको अर्थमन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा वित्तीय सङ्घीय समन्वय महाशाखा प्रमुख एवम् सहसचिव सेवन्तक पोखरेलले वित्तीय सङ्घीयता कार्यान्वयनको कार्यक्रममा तीनै तहबाट सुशासनको प्रत्यक्ष अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहले बजेट तथा आयोजनाको कार्यान्वयन, करको कार्यान्यनको विषयमा देखिएका विवादको निरोपण, राजस्व तथा खर्चको लेखा विधि र त्यसको प्रतिवेदन प्रणाली व्यवस्थित गर्नेलगायतका विषय उल्लेख गर्नुभयो । यस्तै, जनशक्ति व्यवस्थापन तथा तेस्रो सार्वजनिक वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन, वित्तीय अनुशासन, आगामी निर्वाचनमा तीन तहको साधनस्रोतको प्रयोग तथा आगामी अन्तरप्रदेश परिषदको बैठकमा राख्नुपर्ने सुझावको लागि समेत बैठक आयोजना गरिएको उहाँले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका अध्यक्षसहित विभिन्न पालिकाका प्रतिनिधिले वित्तीय समानीकरण अनुदान विनियोजन बमोजिम प्राप्त हुनुपर्ने, वित्तीय सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत विषयमा छिट्टै टुङ्गोमा पुग्नुपर्ने, कानुन कार्यान्वयनका क्रममा देखिएका अन्तर विरोधलाई सम्बोधन गरिनु पर्ने धारणा राख्नुभएको थियो । यस्तै, प्रदेश र स्थानीय तहले भोग्नु परेको आयोजना व्यवस्थापन, सङ्गठनात्मक संरचना तथा व्यवस्थापन, जेनजी आन्दोलनमा क्षति भएका भौतिक पुर्वाधार पुनःनिर्माणमा सहयोग हुनपर्ने लगायतका विषयमा धारणा प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा अर्थमन्त्री खनालले बजेट निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तह स्वतन्त्र र स्वयम उत्तरदायी रहेको बताउनुभयो । उहाँले वित्तीय सङ्घीयतप्रतिको प्रतिवद्धता व्यक्त गर्दै कार्यान्वयनका क्रममा नै समस्याको पहिचान र समाधानको उपायसमेत पत्ता लाग्ने उल्लेख गर्नुभएको थियो ।

नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक सम्पन्न, यी बिषयमा छलफल

काठमाडौँ – नेपाल र युरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।

बैठकमा दुवै पक्षले नेपाल–यूरोपेली सङ्घबीचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरेका थिए । बैठकमा सङ्घका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक अनुशासन, सुशासन, जवाफदेहिता तथा सेवा विस्तारमा केन्द्रित रहेर गरिरहेको कामको प्रशंसा गरेको थियो ।

नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा भइरहेको प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र लगानी प्रवद्र्धनमा यूरोपेली सङ्घ तथा नेपालबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरेको थियो । नेपालले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई कानुनअनुसार शिघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोर्होयाएको थियो ।

यूरोपेली सङ्घले नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्न तयार पारिएको सङ्क्रमणकालिन रणनीतिलाई स्वागत गर्दै यसअघि नै लागू भएको बहुवर्षीय कार्यक्रममार्फत सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेको छ । दुवै पक्षले विभिन्न क्षेत्रका विकास परियोजनामा भइरहेको प्रगतिमाथि पनि समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।

हवाई सुरक्षा सुधारलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यूरोपेली सङ्घको सन २०२३ को सेप्टेम्बरमा भएको मूल्याङ्कन भ्रमणमा उठेका विषय समाधान गर्ने प्रतिबद्धता दोर्होयाएको छ । नेपालले युरोपियन युनियन एयर सेफ्टी सूचीबाट नेपाली एयरलाइन्सलाई हटाइदिन पुनः अनुरोध गरेको छ ।

आयोगको १७औँ बैठक आगामी वर्ष काठमाडौँमा पारस्परिक सहमतिमा तय हुने मितिमा आयोजना गरिनेछ । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई र यूरोपेली सङ्घकातर्फबाट एशिया प्रशान्त विभागका कार्यवहाक प्रबन्ध निर्देशक पाओला पाम्पालोनीले सहअध्यता गर्नुभएको थियो ।

जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार

जलेश्वर (महोत्तरी) – जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् ।

जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी रहेको छ ।

कारागार तोडेर भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो । जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।

जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राऊ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफँै स्वेच्छाले कारागारमा फर्किएका हुन् । फरार कैदीबन्दीको खोजतलाश गरिरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८० रुपैयाँ ४९ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

काठमाडौँ,१३ मङ्सिर : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ ।

लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।

यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ ।यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ – मन्त्री घिसिङ

काठमाडौँ, १२ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताउनुभएको छ । उहाँले आज सडक डिभिजन कार्यालय काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुरुआत गर्दै सडक एम्बुलेन्स नेपालमा नमूनाका रूपमा प्रयोगमा ल्याइएको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सडक एम्बुलेन्स नेपालमा नमूनाका रूपमा प्रयोगमा ल्याइएको छ, त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरिनेछ, विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मत सेवा प्रवाह अझै प्रभावकारी बनाइने छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक एम्बुलेन्स प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासो तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मतकार्य प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्नेमा जोड दिनुभयो । एम्बुलेन्स प्रयोगबाट तीन सय ६५ दिन र चौबीसै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत गरी सहज आवागमन सुनिश्चित प्रदान गर्न सकिनेछ ।

सडक डिभिजन कार्यालय काठमाडौँको कार्यक्षेत्रमा पर्ने काठमाडौँ जिल्लाभित्रका सामरिक महत्त्वका सडक तत्काल मर्मत गर्न एम्बुलेन्स प्रयोगमा ल्याइने छ । सडकमा देखिएका खाल्डाखुल्डी तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप पनि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

प्रधानमन्त्री कार्कीसँग खेलकुद परिषद्का सदस्य सचिवको विदाइ भेट

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गर्नुभएको छ ।

परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिनुभएको योगदानको सराहना गर्दै आगामी सुखद् जीवनका लागि शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सदस्यसचिव घिसिङको पदावधि यही मङ्सिर १३ गते सकिँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गरिने : अर्थमन्त्री खनाल

काठमाडौँ, १२ मङ्सिर : अर्थमन्त्री रामेश्वर खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गर्ने बताउनुभएको छ ।

अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठकलाई आज सम्बोधन गर्दै परिषद्का संयोजकसमेत रहनुभएका मन्त्री खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गर्ने प्रबन्ध मिलाइएको बताउनुभएको हो । करदाताले स्थानीयस्तरमै सेवा प्राप्त गर्ने र स्थानीय तहको राजस्व क्षमतासमेत अभिवृद्धि हुने जानकारी उहाँले गराउनुभयो ।

अर्थमन्त्री खनालले बजेट निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तहहरू स्वतन्त्र, स्वयं उत्तरदायी भएको धारणा व्यक्त गर्नुभयो । वित्तीय सङ्घीयतप्रतिको प्रतिबद्धतासमेत जनाउनुभयो । बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री तथा अर्थमन्त्री र अन्य प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूलगायत परिषद्का सदस्यहरूले वित्तीय सङ्घीयता कार्यान्वयनका सम्बन्धमा देखापरेका समस्या र समाधानका उपायका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सातै प्रदेशका अर्थमन्त्रीहरूले संयुक्त रूपमा तयार गरेको वित्तीय सङ्घीयता सम्बद्ध घोषणापत्र कार्यान्वयन सहजीकरणका लागि सङ्घीय अर्थमन्त्रीसमक्ष पेस गरेका थिए । सोही अवसरमा नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका अध्यक्षसहित विभिन्न पालिकाका प्रतिनिधि सदस्यहरूले वित्तीय समानीकरण अनुदान विनियोजनबमोजिम प्राप्त हुनुपर्ने, वित्तीय सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत विषयहरूमा छिट्टै टुङ्गोमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

यसै क्रममा विज्ञ सदस्य, विभिन्न मन्त्रालयका सचिव, अर्थसचिव एवं नेपाल राष्ट्र बैंकका गभर्नरले बैठकमा उठेका विषयमा आआफ्नो क्षेत्रबाट योगदान पुर्याउने धारणा राखेका थिए ।

ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति

ताप्लेजुङ, १२ मङ्सिर : ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको आगलागीबाट करिब रु ५० लाखबराबरको क्षति भएको छ ।

स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिनुभयो ।

आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङमा वातावरणीय पक्ष समावेश गर्न निर्देशन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङ, लागत अनुमान गर्दा डिजाइनरलाई वातावरण तथा सामाजिक पक्ष समावेश गर्न निर्देशन दिनुभएको छ । पूर्वाधार योजनाको काम गर्दा उक्त स्थानमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन पनि उपप्रमुख डङ्गोलले विभागलाई निर्देशन दिनुभएको हो ।

जमल–कमलाछी–असन, भोटाहिटी–असन, असन–बालकुमारी–मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा बिछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनःभरण प्रणाली सुधार गर्नुपर्नेमा उहाँको जोड थियो ।

“सडक आफैँलाई पानी पुनःभरण हुनसक्ने बनाउन सम्भव भएन भने वाटर रिचार्ज राखेर भए पनि पानी पुनःभरण गराउनुपर्छ । यससँगै त्यो ठाउँमा पहिले नै निर्माण भएका पूर्वाधार, सामाजिक अपेक्षा र आवश्यकतालाई ख्याल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

यस सडकखण्डमा सतहको पानी कसरी निकास हुन्छ ? सडकमा पानी जम्मा भएर पैदलयात्री, स्थानीयवासी तथा व्यापारिक क्रियाकलापमा असर हुन्छ कि हुँदैन भन्नेजस्ता विषयमा पनि ध्यान दिन आग्रह गरिएको छ ।

उक्त सडकखण्डमा पानी पुनःभरण हुने विधिबाट ढुङ्गा बिछ्याउने योजना थियो । यसका लागि एक सय मिटर सडकमा करिब एक महिना परीक्षण गरियो । सवारीसाधनको नियमित आवतजावतले पानी पुनःभरणसहितको सडक निर्माण टिकाउ नहुने भएपछि तर्जुमा गरिएको योजना संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।

करिब नौ सय मिटर लामो यो सडकखण्डमा न्यूनतम ४.५ फिट र धेरैमा १२ फिट चौडाइ छ । यहाँ १२ इञ्च लम्बाइ, आठ इञ्च चौडाइ र चार इञ्च मोटाइ भएका ढुङ्गा छापिएका छन् ।

रु चार करोड ४२ लाख ८३ हजार लागत अनुमान रहेको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट रु तीन करोड ५१ लाख १४ हजार कबोल गर्ने आइएस निर्माण सेवाले काम गरेको हो । विसं २०८२ असोज मसान्तसम्ममा काम सम्पन्न गर्नेगरी २०८१ असार २४ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । जमिनमा पानी पुनःभरण गराउने परीक्षण र योजना संशोधनका कारण निर्माण अवधि बढेको पनि कामपाले जानकारी दिएको छ ।

अनुगमनका क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू, विपद् व्यवस्थापन तथा वातावरण अनुगमन टोलीसहित स्थानीयहरूको समेत सभागिता थियो ।

विदुर पाण्डेको नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक

काठमाडौं । विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ ।

सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको छ।

गीतलाई तीन मुख्य खण्डमा विभाजन गरी कथावाचन शैलीमा प्रस्तुत गरिएको छ । पहिलोमा आक्रोश र आस्था: पहिलो खण्डमा जीवनका संघर्ष, आलोचना र कठिनाइहरूलाई देखाइएको छ। जस्तोसुकै परिस्थितिमा पनि ‘महाकाल’ र ‘पशुपतिनाथ’ को आशीर्वादलाई शक्ति मान्दै सत्यको बाटोमा हिँड्ने अठोट यसमा व्यक्त गरिएको छ।

दोस्रोमा महत्त्वाकाङ्क्षा र प्रेरणा: दोस्रो खण्डमा पूर्व भारतीय राष्ट्रपति डा. एपीजे अब्दुल कलामको उदाहरण दिँदै कडा परिश्रम र इमानदारिताले मात्र सफलताको ‘रकेट’ उड्ने सन्देश दिइएको छ। यहाँ प्रलोभन र झूटो प्रशंसालाई त्याग्दै निरन्तरतामा जोड दिइएको छ।

तेस्रोमा अध्यात्म र स्वाभिमान: अन्तिम खण्डमा काली, दुर्गा, लक्ष्मी र सरस्वतीजस्ता दैवी शक्तिहरूको स्मरण गर्दै आध्यात्मिक चेतनालाई उजागर गरिएको छ। गायकले पैसा र प्रसिद्धिभन्दा माथि ‘स्वाभिमान’ नै मानिसको वास्तविक जित भएको निष्कर्ष निकालेका छन्।
गायकको सन्देश: “हाम्रो सभ्यतामा महाविज्ञान छ”

गीत सार्वजनिक गर्दै गायकले यो केवल मनोरञ्जन नभई नयाँ पुस्तालाई आफ्नो जरो चिनाउने प्रयास भएको बताएका छन् । आफू सनातनी हिन्दु भएकोमा गर्व व्यक्त गर्दै उनले भनेका छन् ।

“आज विकसित राष्ट्रहरूले हाम्रो योग, ध्यान, आयुर्वेद, ज्योतिष र वैष्णव परम्परालाई अपनाइरहेका छन्। तर, हामी आफ्नै पवित्र भूमिमा जन्मिएर पनि गलत भाष्यका कारण यो महान् सभ्यताबाट टाढिँदै छौँ। विज्ञान त अहिले सिकिँदै छ, हाम्रो सभ्यतामा त ‘महाविज्ञान’ छ—त्यो पनि गोप्य।”

हिप–हप संगीतमा प्राय: नसमेटिने ‘सनातन धर्म’ र ‘सांस्कृतिक गौरव’ जस्ता विषयलाई ‘एग्रेसिभ फ्लो’ मा प्रस्तुत गरिएको भन्दै दर्शकहरूले गीतको प्रशंसा गरेका छन् ।

सरकारको मुख्य काम संस्थागत सुदृढीकरण हो – स्वास्थ्यमन्त्री डा गौतम

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सरकारको मुख्य काम संस्थागत प्रणालीको सुदृढीकरण भएको बताउनुभएको छ ।

मन्त्रालयको आयोजनामा आज भएको राष्ट्रिय वार्षिक समीक्षा गोष्ठी (आव २०८१/८२) को उद्घाटन गर्दै उहाँले सरकार निर्वाचन गराउन जिम्मेवारी साथ सरकार गठन भए पनि सरकारको मुख्य काम संस्थागत प्रणालीमा सुधार गर्नु रहेको बताउनुभयो ।

भ्रष्टाचारको निर्मूल र बेथिति अन्त्य हुनुपर्ने कार्यादेश (म्यान्डेट) सहित सरकार गठन भएको उहाँको भनाइ छ । मन्त्री गौतमले आफू छोटो समय मन्त्रालयको नेतृत्व गर्न पाए पनि मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य र चार प्रदेश (लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम)को स्वास्थ्य सूचाङ्कलाई बढाउने रहेको बताउनुभयो । “स्वास्थ्य सूचाङ्क कमजोर रहेका चार प्रदेशमा कार्यक्रम प्रभावकारी कार्यन्वयन गर्दै लैजानु पर्दछ”, उहाँले भन्नुभयो, “प्रदेशभित्र पनि जिल्लाको स्वास्थ्य सूचाङ्कलाई पनि बढाउन आवश्यक रहेको छ ।”

मन्त्री डा गौतमले औषधि आपूर्ति र स्वास्थ्य बीमा कार्यक्रममा पनि धेरै नै समस्या देखिएकाले समस्या गरेर लैजाने बताउनुभयो । उहाँका अनुसार औषधि आपूर्तिमा अहिले विज्ञ राखेर काम भइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई पनि अझ प्रभावकारी रूपमा लैजानु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले मन्त्रालयका कर्मचारीको काम गर्ने ऊर्जा र इच्छा देखाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गौतमले गत वर्षको प्रगति विवरण राम्रो देखिएको भन्दै ७२ प्रतिशत स्वास्थ्य संस्थाको भौतिक प्रगति र ८० प्रतिशत खर्च गरेर सुधार गरिएको बताउनुभयो ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले स्रोत कटौती भएको अवस्थामा कार्यक्रमलाई प्रभावकारी रूपमा लैजानुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले अरु क्षेत्रले गरेका समस्याका कारणले स्वास्थ्य क्षेत्रमा आइपर्ने काम पनि मन्त्रालयले गर्नुपर्ने भएको भनेजस्तो काम प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले स्वास्थ्य बीमा बोर्डमा अस्पतालले दाबी गर्ने २५ प्रतिशत डुब्लिकेशन देखिएको बताउनुभयो । कार्यक्रममा सात प्रदेशका स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयले आआफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी अगुवासँग छलफल

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गर्नुभएको थियो । सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुङ्ग्याउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “अब यो विषय धेरै लम्ब्याउनु हुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्, पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुहोस् । सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ । अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म बेहोरौँला । मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन ।”

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

झापा, १२ मङ्सिर : पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा रु १२ करोड पाँच लाख १० हजार मूल्य बराबरको कफी आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार साउनदेखि कात्तिकसम्मको सो अवधिमा ८९ हजार ६२९ किलोग्राम कफी आयात भएको छ ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष कफीको आयात १५ प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिनुभयो । गत आव २०८१/८२ को साउनदेखि कात्तिकसम्मको चार महिनामा रु १० करोड ४७ लाख ३३ हजार मूल्यबराबरको ९५ हजार ५८९ किलोग्राम कफी आयात भएको भन्सारले जनाएको छ ।

प्रधानमन्त्री कार्की र अध्यक्ष ढकालबीच भेटवार्तामा के के भयो ?

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसद्मा पठाउनुपर्ने धारणा राख्नुभएको छ । नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्ताका क्रममा उहाँले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राख्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभएको छ, “तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ । यो खुसीको कुरा हो । सँगसँगै यो चुनाव विगतभन्दा फरक हुनुपर्छ । कम खर्चमा हुनुपर्छ । प्रचारप्रसारमा तडकभडक हुनुहुँदैन । उम्मेदवारको पैसा खर्च नहुनेगरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ । अनि सदनमा पनि राम्रा मान्छे पुग्छन् ।”

प्रतिनिधिमण्डलका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकालले वर्तमान सरकार गठन भएपछि तत्कालै आफ्नो पार्टीले स्वागत गरेको र गुणदोषका आधारमा आलोचना वा समर्थन गर्ने बताउनुभयो । उहाँले निर्वाचन प्रयोजनका लागि आफूले दल दर्ता गरिसकेको पनि जानकारी गराउँदै निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले गरिरहेको प्रयास प्रसंशनीय रहेको बताउनुभयो ।

“यहाँले जुन परिस्थितिमा जिम्मेवारी लिनुभयो, त्यो स्वागतयोग्य छ । हामीले दलका तर्फबाट तत्कालै स्वागत गर्ने निर्णय पनि गरेका थियौँ । अहिले निर्वाचनको वातारण बनाउन खटिइरहनुपर्छ । सबै दल पनि अब निर्वाचनकै तयारीमा जुट्नुपर्छ । हामी यसैका निम्ति लागिरहेका छौँ । निर्वाचनको वातावरण बनाउनका लागि प्रमुख दलको नेतृत्वसँग पनि संवाद गर्नुहोस् भन्ने हाम्रो सुझाव छ ।”

एनपिएल : बसिर अहमद बने अर्धशतक जोड्ने १३औँ खेलाडी

काठमाडौँ – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतक हिर्काउने १३औँ खेलाडी बनेका छन् ।

उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे । उनी जारी सिजनमा अर्धशतक हिर्काउने १३औँ खेलाडी बने पनि हालसम्म १७ अर्धशतक बनेका छन् ।

जसमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, पोखराका सुमित बर्माले, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक–एक अर्धशतक हिर्काएका छन् । कर्णालीका मार्क वाटमात्र जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडी हुन् ।