`

नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको सङ्ख्या बढ्दै :रघुजी पन्त

काठमाडौँ, १० असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाले सोहीअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का आङ्गिक शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्को २०८औँ परिषद् बैठकमा उहाँले प्रयोगात्मक अभ्यासका लागि सङ्घ र प्रदेश मातहत रहेका सरकारी अस्पतालसँग सहकार्य गर्ने नीतिगत निर्णय गर्न मन्त्रिपरिषद् बैठकमा साझा प्रस्ताव तयार गरी पेस गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका प्रयोगात्मक अभ्यासमा केही जटिलता रहेका बताउँदै सङ्घको मातहतमा कम अस्पताल रहेकाले प्रदेश मातहतका अस्पतालसँग समन्वय गर्नुपर्ने राय व्यक्त गर्नुभयो । उहाँले नर्सिङको प्रयोगात्मक अभ्सासका लागि प्रमाणपत्र तह र स्नातक तहलाई एउटै अस्पतालमा अनुमति प्रदान गर्ने व्यवस्था गर्नसकेमा समस्या समाधान हुने भन्दै त्यसका लागि नीतिगत निर्णय आवश्यक पर्नेमा जोड दिनुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका स्वास्थ्य मन्त्रालयका सचिव, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का सदस्यसचिव तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले नर्सिङ जनशक्तिको अभाव बाहिर बजारमा आएजस्तो भयावह नरहेको, एउटा अस्पतालमा धेरै शैक्षिक संस्थाहरूले प्रयोगात्मक अभ्यासका लागि सम्झौता गर्ने गरेकाले समस्या देखिएको र नर्सिङ पढ्नका लागि प्रयोगात्मक अभ्यासका गर्न विशिष्टिकृत नभई जनरल अस्पताल आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।

आजको परिषद् बैठकका शिक्षण संस्थाहरूको नाम परिवर्तन, स्वामित्व परिवर्तन (नामसारी) तथा ठाउँसारी, स्थगित कार्यक्रम पुनःसञ्चालन एवं संस्था समायोजना गर्ने, अधिकार प्रत्यायोजन, सम्बन्धन÷स्वीकृति प्रक्रिया पूरा गरेका र अदालतबाट निर्णय भई आएका शैक्षिक संस्था, सभाको तयारी तथा मिति तोक्ने विषय, गैरनाफामूलक साझेदारी संस्था र प्रतिष्ठान, आङ्गिक शिक्षालयमा कार्यक्रम थप गर्नेलगायत विषयमा छलफल भएको थियो ।

बैठकमाथि उल्लेखित विषयवस्तुहरुमा गहन छलफल गरी उपस्थित परिषद्का सदस्य तथा पदाधिकारीहरूले आफ्नो धारणा व्यक्त गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीद्वय दाहाल-नेपालबीच भेटवार्ता, के-के भयो छलफल ?

काठमाडौँ, १० असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज सिंहदरबारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा मुलुकको समसामयिक विषयवस्तुमा छलफल भएको हो ।

दुवै पार्टीका शीर्ष नेताहरू सहभागी हुनुभएको उक्त बैठकमा वामपन्थी शक्तिबीच ध्रुवीकरण, बजेट समीक्षा, राजनीतिक घटनाक्रम, संसदीय गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङका साथै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाल सहभागी हुनुहुन्थ्यो ।

पछिल्लो समय कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय राजनीतिक अवस्था, अन्तरराष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव, भिजिट भिसा प्रकरण, सरकारको कार्यशैलीबारे छलफल गरिएको एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना, सैद्धान्तिक आधार, प्रक्रियागत विषयमा समीक्षा गरिएको छ ।

वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन

कर्णाली, १० असारः कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको १७औँ नगरसभामा आज उपप्रमुख नीलकण्ठ खनाले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमा पुँजीगततर्फ रु दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३ दशमलव ६३ प्रतिशत) र चालुतर्फ रु एक अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६ दशमलव ३७ प्रतिशत) रहेको छ । उपप्रमुख खनालका अनुसार आगामी वर्षको बजेटमा कर्मचारीको तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि रु ३२ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

आगामी आवको खर्च बेहोर्ने स्रोत सङ्घीय वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु २४ करोड २४ लाख, नगरपालिकाले सङ्घीय सरकारबाट प्राप्त गर्ने रु अर्ब २० करोड आठ लाख, ससर्त अनुदान तथा सङ्घीय राजस्व बाँडफाँटबाट प्राप्त रु २० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु तीन करोड ३४ लाख ५३ हजार रहेको जनाइएको छ ।

त्यसैगरी खानेपानी, सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम (म्याचिङ फन्ड भेरी पम्पिङ आयोजना) सञ्चालन, व्यवस्थापन एवं सहकार्यका निम्ति रु ११ करोड ६० लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु १९ करोड २८ लाख र नगरस्तरीय क्षेत्रगत कार्यक्रम सञ्चालनका लागि रु एक अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन भएको उपप्रमुख खनालले बताउनुभयो ।

प्रदेश सशर्त अनुदानबाट प्राप्त हुने रु ३७ करोड ६१ लाख ३६ हजार, घरजग्गा, रजिस्ट्रेशन तथा मनोरञ्जन करबाट प्राप्त रु १५ करोड, दहत्तर बहत्तर शुल्कबाट प्राप्त रु दुई करोड ५० लाख र आन्तरिक आयबाट रु ५१ करोड ६३ लाख ५० हजार आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन हुने अनुमान नगरपालिकाले गरेको छ ।

नगरपालिकाले चालु आव २०८१÷८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात रु ४१ करोड २७ लाख ८३ हजार तथा सामाजिक सुरक्षा अनुदानबाट प्राप्त रु ४० करोडलाई आगामी वर्षको खर्च धान्ने स्रोतका रुपमा राखेको छ । नगपालिकाले आगामी आवमा उपमहानगरपालिकाका लागि पहल गर्ने जनाएको छ ।

आवको बजेट कार्यान्वयन गर्न विगतको अथक प्रयासबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नगर क्षेत्रमा अति आवश्यक पूर्वाधार निर्माण, सामाजिक न्याय, खेलकुद तथा क्षमता विकास, आधारभूत शिक्षा एवं स्वास्थ्य सेवामा पहुँच बढ्ने र सहरी सौन्दर्यमा टेवा पुगी नगरपालिकाको दिगो एवं सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास लिइएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

मकवानपुर, १० असारः हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित १७औँ नगरसभामा उपप्रमुख राजेशकुमार बानियाँले आगामी आव २०८२÷८३ का लागि रु दुई अर्ब ९० करोड तीन लाख १० हजार लागतको बजेट प्रस्तुत गर्नुभएको छ ।

उक्त सार्वजनिक गरिएको बजेट पुस्तिकाको तथ्याङ्कमा कूल बजेटमध्ये पुँजीगत र चालु खर्चतर्फको रकम विवरण उल्लेख गरिएको छैन । उपमहानगरपालिकाका प्रमुख मीना लामाले सो नगरसभाको उद्घाटन गर्दै हेटौँडालाई आधुनिक सुविधा सम्पन्न सहरमा रुपान्तरण गर्न र कृषि उत्पादन, पर्यटन, कला संस्कृतिको विकासलाई अब दीर्घकालीन रुपमा आयोजना बैंकमार्फत कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभयो ।

उहाँले हेटौँडा नगरलाई औद्योगिक विकास ग्रामको स्तरमा अभिवृद्धि गर्न, हेटौँडा अस्पताललाई स्तरोन्नति गर्ने, विपन्न दलित आदिवासी जनजातिको स्वास्थ्योपचारमा गुणात्मक सेवा प्रदान गर्न उपमहानगरपालिकाले गुरुयोजना तर्जुमा गरी कार्र्यान्वयनमा ल्याउने उल्लेख गर्नुभयो ।

प्रमुख लामाले वनस्पतीखेतीको विस्तार, नगरका सबै वडा समितिमार्फत सर्वसाधारणको सेवालाई थप गतिशील तुल्याउने र हेटौँडा नगरमा बसोबास गर्ने नेपाली नागरिकबाट तेस्रो सन्तानका रुपमा जन्मदिनेलाई प्रोत्साहन गर्न आगामी वर्षदेखि कोषको स्थापना गरिने बताउनुभयो ।

उक्त अवसरमा उपप्रमुख बानियाँ, वडा नं ४ का वडाध्यक्ष नवीनकुमार सिग्देलले आगामी आवको बजेट दलगत स्वार्थभन्दा माथि उठेर उपमहानगरपालिका क्षेत्रका सबै जनताको आवश्यकता पूरा गर्न भौतिक पूर्वाधार विकासका साथै आर्थिक समृृद्धिलाई जोडने र नगरमा सुशासन ल्याउने कार्यमा स्थानीय नगर कार्य समिति र राजनीतिक दलहरुको बीचमा सहकार्य र समन्वय हुनुपर्ने बताउनुभयो ।

आज सार्वजनिक गरिएको बजेटमाथि यही असार २७ गतेदेखि सुरु हुने नगरसभाको बैठकमा पूर्ण छलफल गरी पारित गर्ने कार्यसूची रहेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।

मलेशियामा महँगी दर घट्दै, उपभोक्ता राहतमा

मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी दर) घटेर १.२ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा न्यून दर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

मलेशियाको तथ्यांक विभागका अनुसार, महँगीको यो कमीको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो । तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको बुझिएको छ ।

उत्पादन लागत घटेको संकेत स्थानीय उत्पादन मूल्य सूचकांक (पीपीआई) मा पनि देखिएको छ, जुन चालु वर्षको अप्रिल महिनामा ३.४ प्रतिशतले ऋणात्मक रहेको थियो। यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७.८ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

त्यस्तै, उपभोक्ता मूल्य सूचकांकमा महत्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ । यो समूहको मूल्य वृद्धि मे महिनामा २.१ प्रतिशतमा सीमित भएको हो ।
यद्यपि, मासिक रूपमा हेर्दा भने एप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०.१ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।

समग्रमा, मलेशियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेको देखिन्छ, जुन उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक संकेत मानिएको छ । मूल्यवृद्धिमा आएको कमीले जनताको दैनिक जीवनमा सहजता ल्याउने आशा गरिएको छ ।

कञ्चनपुरका नौ वटै स्थानिय तहको बजेट सार्वजनिक

कञ्चनपुर, १० असारः यहाँका नौ वटै स्थानीय तहले आगामी आव २०८२÷८३ को बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरुले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, खेलकुद, विपद् व्यवस्थापन लगायतका कार्यक्रमलाई प्राथमिकतमा राखेका छन ।

शुक्लाफाँटा नगरपालिकाको ९२ करोड ७८ लाख बजेट

शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु ९२ करोड ७८ लाख ५३ हजार ६३१ बराबरको बजेट पारित गरेको छ । नगरपालिकाको २० औँ नगरसभामा नगर उपप्रमुख कल्पना पन्तले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने भएको बजेट नगरसभा सदस्यले ध्वनि मतले पारित गरेका हुन् ।

प्रस्तुत बजेटअनुसार नगरपालिकाको चालु खर्च रु ६७ करोड ७१ लाख १४ हजार ५६६ र पुँजीगत खर्च रु २५ करोड सात लाख ३६ हजार ३४ रहेको छ । नगरसभामा प्रस्तुत आयतर्फ आन्तरिक आय रु दुई करोड ४२ लाख ८४ हजार, मालपोतबाट ७३ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँटबाट रु १३ करोड छ लाख ५६ हजार ६६१ र प्रदेश सरकार राजस्व बाँडफाँटबाट ५१ लख ६४ हजार रहेको छ ।

यसैगरी नेपाल सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण रु ४३ करोड ३२ लाख, प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण रु चार करोड ३६ लाख २६ हजार, अनुमानित आन्तरिक आय अल्या रु दुई करोड ७५ लाख, क्षेत्रीय सहरी विकास कार्यक्रम रु २० लाख ६० हजार, सडक बोर्डबाट रु ४० लाख र सामाजिक सुरक्षातर्फ रु २५ करोड रहेको छ ।

नगरपालिकाले आर्थिक विकास क्षेत्रतर्फ रु एक करोड १२ लाख ४६ हजार २७१, सामाजिक विकासतर्फ रु २६ करोड ४६ लाख १५ हजार ३२५ विनियोजन गरेको छ । यसैगरी पूर्वाधार विकासतर्फ रु २४ करोड ८६ लाख ३६ हजार ३५, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७६ लाख र कार्यालय सञ्चालनतर्फ रु ११ करोड ५४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ९३ करोड २३ हजार

भीमदत्त नगरपालिकाले आगामी आव २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औँ नगरसभाबाट आगामी वर्षका लागि रु एक अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ बराबरको बजेट पारित गरेको छ ।

प्रस्तुत बजेटअनुसार पुँजीगत वित्तिय समानीकरण वडागत पुँजीतर्फ रु १२ करोड सात लाख, विषयगत शाखातर्फ रु २० लाख, नगरस्तरीय पुँजीगत योजना रु पाँच करोड ८३ लाख ८६ हजार ६८१, सवारी साधन मर्मत रु ५३ लाख ७३ हजार ३१९ बजेट विनियोजन गरिएको छ ।

यसैगरी पुँजीगततर्फ रु पाँच करोड ६४ लाख, सशर्त अनुदान खर्च रु ५४ करोड ९० लाख, विशेष अनुदान खर्च रु दुई करोड ३८ लाख, सामाजिक सुरक्षा रु ५७ करोड, सडक बोर्ड रु एक करोड, सहरी विकास आयोजना रु २० लाख गरेर रु एक अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ बराबरको बजेट नगरपालिकाले पारित गरेको छ ।

नगरपालिकाको आन्तरिक आयतर्फ रु २४ करोड ९२ लाख ३६ हजार ६८१, वडा कार्यालय चालुतर्फ रु ६६ लाख ५० हजार, विषयगत शाखा कार्यक्रमतर्फ रु दुई करोड २० लाख, नगर विकास कोषतर्फ रु एक करोड, भारतीय दूतावास म्याचिङतर्फ रु दुई करोड, नगरस्तरीय पुँजीगत रु एक करोड दुई लाख १३ हजार ३००, सवारीसाधन मर्मत रु ५४ लाख, विभिन्न कोषतर्फ रु दुई करोड ६५ हजार विनियोजन गरिएको छ ।

नगरपालिकाले आउँदो आवदेखि महिलाकोे उच्च शिक्षालाई प्राथमिकतामा राख्दै छोरीबुहारी उच्च शिक्षा अध्ययन कार्यक्रम सञ्चालन गर्न बजेटमा व्यवस्था मिलाएको छ । नगर प्रमुख पदम बोगटीले आउँदो वर्ष कार्यक्रम सञ्चालन गर्नका लागि कार्यविधि बनाएर लागू गरिने बताउनुभयो ।

कृष्णपुर नगरपालिकाको एक अर्ब एक करोड ११ लाखको बजेट

कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु एक अर्ब एक करोड ११ लाख ८२ हजार ४५१ बराबरको बजेट पारित गरेको छ । प्रस्तुत बजेटअनुसार आन्तरिक आय रु आठ करोड, सङ्घीय सरकारको वित्तीय समानीकरण शीर्षकबाट रु १५ करोड ९९ लाख र प्रदेश सरकारबाट रु एक करोड ४९ लाख १३ हजार रकम प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी सङ्घीय राजस्व बाँडफाँटबाट रु १५ करोड ३० लाख ९३ हजार ४५१ र प्रदेश राजस्व बाँडफाँटबाट रु ४७ लाख २१ हजार, सामाजिक सुरक्षाका लागि रु २५ करोड, सङ्घीय सशर्त अनुदानमार्फत रु २५ करोड एक लाख र प्रदेश सशर्त अनुदानबाट रु एक करोड ९६ लाख ५५ हजार आय हुने बताइएको छ ।

सङ्घीय समपूरक अनुदानबाट रु ८३ लाख र प्रदेशबाट रु दुई करोड १० लाख तथा सङ्घीय विशेष अनुदानबाट रु चार करोड ५५ लाख र प्रदेश विशेष अनुदानबाट रु ४० रकम प्राप्त हुनेछ । नगरपालिकाले बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी, खानेपानी, खेलकुदलाई प्राथमिकता दिएको छ ।

नगर प्रमुख हेमराज ओझाले आगामी आवमा शिक्षा भौतिक पूर्वाधार र सामाजिकतर्फ नयाँ कार्यक्रम सञ्चालनका लागि बजेटमा व्यवस्था गरिएको बताउनुभयो । नगरपालिका क्षेत्रकै राना थारु समुदायबाट पहिलो मन्त्री हुनुभएका स्वर्गीय लबरु राना थारुका नामबाट उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

कृष्णपुर स्वास्थ्यचौकीमा सर्पदंश उपचार केन्द्र स्थापना, शीतगृह सञ्चालन, दक्षिण कोरियाका सहयोगमा प्रदेशस्तरको टेक्निकल इन्सिच्युट स्थापना गरिने, कृषि एम्बुलेन्सको व्यवस्था गरिने, नगरपालिकामा तीन वटा रङ्गशाला निर्माण गरिनेलगायतका कार्यक्रम अघि सारिएको छ ।

बेदकोट नगरपालिकाको ९८ करोड ६५ लाख २१ हजार बजेट

बेदकोट नगरपालिकाको १७ औँ नगरसभाले रु ९८ करोड ६५ लाख २१ हजार ९२६ बजारको बजेट पारित गरेको छ । नगर प्रमुख भोजराज बोहराका अनुसार बजेटमा एक विद्यालय एक नर्स कार्यक्रम, शीतगृह निर्माण, अस्थायी करार ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्ने, नगरको शान्ति सुरक्षाका लागि नगर प्रहरीको व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना तथा सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्ने, दैजीमा आँखा उपचार केन्द्र स्थापना गर्ने, दैनिक ज्यालादारीमा रहेका कर्मचारीलाई मासिक ज्यालादारीमा रुपान्तरण गर्न आवश्यक प्रबन्ध गर्ने रहेको छ ।

पुनर्वास नगरपालिकाको ७५ करोड ७७ लाख १८ हजार बजेट

पुनर्वास नगरपालिकाले आव २०८२÷८३ का लागि रु ७५ करोड ७७ लाख १८ हजार ६१ बरावरको बजेट नगरसभाबाट आज परित गरेको छ । प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु १४ करोड ९३ लाख, सशर्त अनुदानतर्फ रु २८ करोड ६८ लाख र राजस्व बाँडफाँटबाट रु १२ करोड ७० लाख १३ हजार ६१ प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ रु एक करोड ४२ लाख तीन हजार, विशेष अनुदान रु ४५ लाख, समपूरक अनुदान रु ६९ लाख र सवारीसाधन कर बाँडफाँटबाट रु ८५ लाख दुई हजार प्राप्त हुनेछ । नगरपालिकाले आन्तरिक आयबाट रु चार करोड ३० लाख सङ्कलन हुने अनुमान गरिएको छ । नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, पर्यापर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

लालझाडी गाउँपालिकाको बजेट रु ४३ करोड ६५ लाख २२ हजार

लालझाडी गाउँपालिकाले आव २०८२÷८३ का लागि रु ४३ करोड ६५ लाख २२ हजारको बजेट परित गरेको छ । गाउँसभामा प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ रु २३ करोड ९९ लाख २६ हजार र पुँजीगत खर्चतर्फ रु १९ करोड ६५ लाख ९६ हजार रहेको छ । चालु खर्चतर्फ प्रशासनिक सञ्चालन, तलबभत्ता, सेवा प्रवाह, कार्यक्रम व्यवस्थापनजस्ता कार्यक्रममा बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक निर्माण, ऊर्जा र महिला सशक्तीकरणका कार्यक्रम राखिएका छन् ।

बेलडाँडी गाउँपालिकाको बजेट रु ५४ करोड ५० लाख ४४ हजार

बेलडाँडी गाउँपालिकाले आगामी आव २०८२÷८३ का लागि रु ५४ करोड ५० लाख ४४ हजारको बजेट ल्याएको छ । गाउँपालिका प्रमुख हरिशचन्द्र रानाका अनुसार १७ औँ गाउँसभाबाट बजेट परित गरिएको छ ।

बजेटअनुसार चालु खर्चतर्फ ३७ करोड ४३ लाख र पुँजीगत खर्चतर्फ रु १७ करोड सात लाख रहेको छ । आन्तरिक आयतर्फ रु एक करोड, राजस्व बाँडफाँटतर्फ रु सात करोड ९४ लाख ९० हजार रहेको छ भने वित्तिय हस्तान्तरण सङ्घीय सरकारबाट रु ३१ करोड १४ लाख, प्रदेश सरकारबाट रु दुई ४१ लाख ५४ हजार, सामाजिक सुरक्षातर्फ रु १२ करोड रहेको छ । गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पर्यापर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

बेलौरी नगरपालिकाको ७४ करोड ७७ लाख बजेट

बेलौरी नगरपालिकाले आव २०८२÷८३ का लागि रु ७४ करोड ७७ लाख ८० हजारको बजेट नगरसभाबाट पारित बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई प्राथमिकतामा राखिएको छ । आगामी आवमा आन्तरिक राजस्व रु तीन करोड ७१ लाख ६८ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

नगर प्रमुख पोतिलाल चौधरीका अनुसार बजेटमा नगर गौरवका योजनालाई अगाडि बढाउने गरी बजेट विनियोजन गरिएको छ । विपद् व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन कोष स्थापना गर्नका लागि आवश्यक रकम विनियोजन गरिएको छ । ‘एक घर, एक बिमा’ कार्यक्रमलाई अघि सार्ने योजना बनाइएको छ । विद्यावारिधि गर्ने नगर क्षेत्रका विद्यार्थीलाई रु एक लाखसम्मको अध्ययन खर्च उपलब्ध गराउने योजना बजेटमा रहेको छ ।

कृषकको क्षमता अभिवृद्धि गरी उत्पादकत्व बढाउनका लागि व्यावसायिक खेतीमा संलग्नलाई प्रोत्साहित गर्न बीउबिजन, कृषियन्त्र, उपकरणमा अनुदान उपलब्ध गराउनका लागि बजेटमा व्यवस्था गरिएको नगर प्रमुख चौधरीले उल्लेख गर्नुभयो । उहाँका अनुसार केराको थामबाट धागो, डोरी, कागज उत्पादन गर्ने, उखुबाट गुड उत्पादन गर्ने उद्योगलाई प्रोत्साहित गरिने छ ।

दोधारा चाँदनी नगरपालिकाको बजेट रु ७५ करोड ३० लाख

दोधारा चाँदनी नगरपालिकाले आव २०८२÷८३ का लागि रु ७५ करोड ३० लाख ७८ हजारको बजेट नगरसभाबाट पारित गरेको छ । बजेटमा नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउने, शिक्षा, पूर्वाधार, स्वास्थ्य, युवालाई उद्यमका माध्यमबाट स्वरोजगार बनाउने कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

पर्यापर्यटन प्रवद्र्धन गर्ने र नगर क्षेत्रमा खाद्य डिपो सञ्चालन गर्ने नगरपालिकाको आगामी योजना रहेको छ । नगरको आन्तरिक आयमा वृद्धि गर्नका लागि करको दायरालाई फराकिलो बनाइने योजना बजेटमा समावेश गरिएको छ ।

बर्दिवासद्वारा एक अर्ब २२ करोड ४० लाखको बजेट सार्वजनिक

धनुषा, १० असारः बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु एक अर्ब २२ करोड ४० लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । आज नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख तारादेवी महतोले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको हो ।

उक्त बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान सङ्घीय सरकारबाट रु ८७ करोड ४५ लाख ५८ हजार ५१० र प्रदेश सरकारबाट रु चार करोड ५३ लाख ६३ हजार ७२०, आन्तरिक आयतर्फबाट रु २५ करोड ४० लाख ८७ हजार ७७० प्राप्त हुने अनुमान तथा सङ्घीय सरकार र मधेस प्रदेश सरकार तथा नगरपालिकाको आन्तरिक आयबाट कूल चालु आव २०८१÷८२ बाट बचत भई अनुमानित मोज्दात रु पाँच करोड गरी अनुमानित बजेट पेस गरिएको छ ।

यस्तै चालु बजेटतर्फ नगरपालिकाको कार्यालय, वडा कार्यालय कार्य सञ्चालन तथा अन्य प्रशासनिक एवं पुँजीगत खर्चतर्फ रु २३ करोड ६३ लाख विनियोजन गरिएको छ भने बर्दिवास अस्पताल, स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको तलब भत्ता एवं अन्य स्वास्थ्य उपकरण, औषधि खरिदलगायतका कार्यका लागि रु छ करोड ३२ लाख ७५ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी पुँजीगत तथा विकास बजेटतर्फ नगरका विभिन्न सडक कालोपत्र ढलान तथा स्तरोन्नति गर्न सडक निर्माणतर्फ रु पाँच करोड छ लाख १५ हजार तथा सङ्घीय सरकारको समपूरकअन्तर्गतका योजनामा कार्यालयबाट लागत साझेदारी गर्न नगरपालिकाको ‘म्याचिङ फण्ड’मा रकम रु तीन करोड प्रस्ताव गरिएको छ ।

शिक्षातर्फमा रु दुई करोड ५० लाख, खेलकुदका लागि रु ४० लाख विनियोजन प्रस्ताव गरिएको छ । खानेपानी तथा सरसफाइतर्फ रु ८५ लाख, जलश्रोत तथा सिँचाइतर्फ रु ६८ लाख, पर्यटनतर्फ रु ४० लाख, भवन तथा सहरी विकासतर्फ रु दुई करोड विनियोजन गरिएको छ ।

यस्तै लैङ्गिक समावेशीकरण तथा सशक्तीकरणतर्फ रु एक करोड ७८ लाख, सहकारीतर्फ रु पाँच लाख, कृषि पशुपंक्षीतर्फ रु चार करोड, न्यायिक समितितर्फ रु १० लाख, विपद् व्यवस्थापनतर्फ रु ८१ लाख ७५ हजार, ऊर्जा तथा ग्रामीण विद्युतीकरणमा रु १२ करोड २५ लाख ४५ हजार विनियोजन गरिएको उपप्रमुख महतोले पेस गर्नुभएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

बजेटको सन्दर्भमा नगर प्रमुख प्रह्लादकुमार कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको बृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बताउनुभयो । उहाँले यो बजेटले समृद्ध नगर बनाउने अभियानमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), १० असारः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा रु दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०÷८१ को सोही अवधिको तुलनामा नौ दशमलव २४ प्रतिशतले बढी हो ।

गत आव २०८०÷८१ को (साउन–जेठ)मा रु दुई अर्ब ६७ करोड २६ लाख ३१ हजार राजस्व सङ्कलन भएको कर अधिकृत एवं सूचना अधिकारी डोरराज सुनुवार जानकारी दिनुभयो । आन्तरिक राजस्व कार्यालयले चालु आव २०८१÷८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको ११ महिनाको लक्ष्यको ८५ दशमलव ६१ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताउनुभयो । कार्यालयले ११ महिनामा आयकरबाट रु एक अर्ब रु २६ करोड ५२ लाख, ब्याजबापत रु आठ करोड १६ लाख, मूल्य अभिवृद्धि करबापत रु ९८ करोड २८ लाख ३१ हजार, अन्तःशुल्कबापत रु ५५ करोड १६ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

“कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ, यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानुनी कारबाही गर्ने गरिएको छ”, सूचना अधिकारी सुनुवारले भन्नुभयो ।

साथै कार्यालयमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये एक हजार ५८८ करदातालाई निलम्बन गरिएको सूचना अधिकारी सुनुवारले जानकारी दिनुभयो । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको उहाँले बताउनुभयो । कार्यालयका सूचना अधिकारी सुनुवारका अनुसार विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको बारेमा उद्योग वाणिज्य सङ्घ, उपभोक्तालगायतलाई जानकारी गराइएको छ ।

रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु, धेरै घाइते

पूर्वी युक्रेनको ड्निप्रो सहरमा रूसी क्षेप्यास्त्र आक्रमणका कारण कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने धेरै नागरिक घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । घाइतेहरूमध्ये १० जना बालबालिका पनि रहेका छन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस घटनाको केही घण्टाअघि युक्रेनकै सुमी क्षेत्रमा भएको मानवविहीन हवाई यन्त्र (ड्रोन) आक्रमणमा पाँच वर्षका बालकको पनि निधन भएको थियो ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यसैबीच नेदरल्याण्डमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी हुन पुग्नुभएको छ, जहाँ मित्र राष्ट्रका नेताहरूसँग रूसविरुद्ध थप प्रतिबन्ध तथा सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ ।

ड्निप्रोपेत्रोभ्स्क क्षेत्रीय उद्धार सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा घाइते नागरिकहरूको उद्धार तथा उपचारको कार्य भइरहेको देखिन्छ । केही नागरिकहरू गम्भीर रूपमा घाइते भएको र तत्काल स्वास्थ्य सेवामा पठाइएको जानकारी आएको छ ।
युक्रेनका परराष्ट्रमन्त्री आन्द्रिय सिबीगाले भन्नुभयो,“जब विश्वका नेताहरू शान्ति र सुरक्षाको विषयमा छलफल गर्न भेला भइरहेका छन्, रूसले हिंसा र त्रास फैलाउने कार्यमार्फत शान्तिको प्रयासलाई अस्वीकार गरेको देखिन्छ । यो स्थितिमा मित्र राष्ट्रहरूले रूसमाथि थप दबाब दिनु समयको माग हो ।”

क्षेत्रीय प्रमुख सेर्गी लिसाकका अनुसार ड्निप्रोमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै नजिकैको सामर नामक बस्तीमा पनि दुई जनाले ज्यान गुमाएका छन् र नौ जना घाइते भएका छन् ।
ड्निप्रो नगरप्रमुख बोरिस फिलाटोभले यस घटनालाई अत्यन्त दुस्साहसी आक्रमणको संज्ञा दिँदै भन्नुभयो,“पूर्ण युद्ध सुरु भएयता ड्निप्रोमाथिको यो सबैभन्दा निर्लज्ज र क्रूर आक्रमणमध्ये एक हो ।”

रूसी सेनाले हाल ड्निप्रोपेत्रोभ्स्क क्षेत्रको सीमातर्फ आक्रमण तीव्र पारिरहेको छ, जहाँ अहिलेसम्म उनीहरूको उपस्थिति थिएन ।
आक्रमणबाट विद्यालय, स्वास्थ्य संस्था र यात्रुवाहक रेल सेवामा पनि क्षति पुगेको छ, जसले नागरिक जनजीवनमा थप पीडा थपेको छ ।

यसअघि, सुमी क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना सर्वसाधारणले ज्यान गुमाएका थिए । क्षेत्रीय प्रमुख ओलेग ग्रिगोरोवका अनुसार,“उनीहरू एउटै टोलमा बस्ने परिवारहरू थिए । रातको निद्रामा रहेका बेला यो आक्रमण भयो, जसले तिनीहरूको जीवन सधैंका लागि बदलियो ।”

दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक

खोटाङ, १० असारः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार तीन सय ९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको १३औँ नगरसभा बैठकमा उपप्रमुख विशन राईले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाबाट आन्तरिक आय रु दुई करोड २० लाख, सङ्घीय सरकारअन्तर्गत राजस्व बाँडफाँडबाट रु १४ करोड ९३ लाख ९० हजार ६७८, सङ्घीय सरकारअन्तर्गत अनुदानबाट रु ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान शीर्षकमा रु आठ करोड ६८ लाख ४२ हजार र बाँकी अन्य स्रोतबाट खर्च व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख राईका अनुसार नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वावलम्बी र आत्मनिर्भर गाउँ बनाउनेलागयत विषयलाई बजेटले प्रथामिकता दिएको छ ।

व्यावसायिक कफीखेती प्रवर्द्धन गर्न रु एक करोड, स्थानीय उत्पादनको बजारीकरण गर्न रु १९ लाख, मुढेमा चिस्यान केन्द्र निर्माणका लागि रु २० लाख, बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै वैकल्पिक बाली प्रवर्द्धन गर्न रु ३० लाख, प्राङ्गरिक खेती प्रवर्द्धन गर्न रु दश लाख, बङ्गुर र बाख्रा प्रवर्द्धनमा रु १८ लाख, कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत रु तीन करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

रोजगारी तथा लघु उद्यम, पर्यटन पूर्वाधार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, भाषा, संस्कार, संस्कृति प्रवर्द्धन तथा संरक्षण, पूर्वाधार, वन तथा वातावरण, विपद् व्यवस्थापन, सरसफाइ, सामाजिक सुरक्षा, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख राईले बताउनुभयो ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई र वडा नं ८ का वडाध्यक्ष लीलाकुमार चौहानले नगरसभा बैठक बहिष्कार गर्नुभएको छ । नेतृत्वले आफूखुसी आफ्नो क्षेत्रमा मात्र बजेट ल्याएको भन्दै वडाध्यक्षद्वयले जनताको मागबमोजिम बजेट नआएकाले नगरसभा बहिष्कार गरेको प्रतिक्रिया दिनुभएको छ ।

नगरसभामा नगरप्रमुख तीर्थराज भट्टराईले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

काठमाडौं, १० असारः नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेकाले अब देश विकासले गति लिने बताउनुभयो । महासचिव पोखरेलले नेपाली काङ्ग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताउनुभयो ।

उहाँले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको उहाँको भनाइ रहेको छ । इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको उहाँले बताउनुभयो ।

असान्दर्भिक भइसकेका राजावादीहरूले एमालेमाथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको महासचिव पोखरेलले उल्लेख गर्दै यो कुरा नयाँ पुस्तालाई बुझाउनुपर्ने र त्यो काम राष्ट्रिय युवा सङ्घ नेपालले गर्नुपर्ने बताउनुभयो । एमाले र काङ्ग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएको समेत बताउनुभयो ।

महासचिव पोखरेलले वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्वविरुद्ध केन्द्रित रहेका बताउनुभयो । आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका उहाँले आरोप लगाउनुभयो ।

उहाँले अहिले सामाजिक सञ्जालमा गलत मानिसको सक्रियताको कारण सामाजिक सञ्जाल नै खराब बनेको उल्लेख गर्दै युवालाई सामाजिक सञ्जालमा सकारात्मक र प्रभाकारी हुन आग्रह गर्नुभयो । पोखरेलले पार्टीमा सङ्गठनात्मक अराजकता र अवसरवाद मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सङ्गठनात्मक अराजकता र अवसरवाद प्रवृत्तिलाई पराजित नगर्दासम्म पार्टी सुदृढ नहुने उहाँको भनाइ थियो ।

सङ्गठनात्मक अराजकताले गुटबन्दी बढाउने र त्यसले पार्टीलाई कमजोर बनाउने उहाँको धारणा रहेको छ । “पार्टीमा अनुशासन कायम गर्नैपर्छ, संगठनलाई बलियो बनाउन आलोचना कानमा खुसुक्क गर्नुपर्छ, प्रशंसा खुलेर माइकमा गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीमा युवालाई प्राथमिकतामा राखेको भन्दै मिसन–२०८४ सफल बनाउन लाग्नुपर्ने बताउनुभयो । युवा सङ्घका इन्चार्ज राजीव पहाडीले युवाका मुद्दा पहिचान गरि युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने खालका कार्यक्रममा युवा सङ्घ केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धनका लागि सहयोग गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, १० असारः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आज अध्यक्ष ढकाल र दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो अनिल सुकलालसँग भएको भेटवार्ताका क्रममा उहाँले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीलाई नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग गरिदिन आग्रह गर्नुभयो ।

उहाँले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार अहिले सीमित भए पनि दुवै मुलुकबीचको व्यापारिक सम्बन्धलाई विस्तार गर्ने स्पष्ट सम्भावना रहेको तथा नेपालमा कृषि प्रशोधन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रमा आकर्षक लगानी अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पर्यटनलाई नेपालको सबैभन्दा प्राकृतिक रूपमा सम्पन्न क्षेत्रका रूपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको भौगोलिक विशेषता यस्तो छ जहाँ एक घण्टाभित्रमै तल्लो तराईबाट उचाइयुक्त रमणीय पहाडी स्थलमा पुग्न सकिन्छ, यसैले नेपाल रिसोर्ट, वेलनेस सेन्टर, एड्भेन्चर तथा इको–टुरिजमजस्ता पूर्वाधारमा लगानीका लागि निकै उपयुक्त गन्तव्य हो ।”

साथै उहाँले महासंघले व्यापारिक प्रतिनिधिमण्डलको स्वागत, बजार जानकारीको आदान–प्रदान तथा आवश्यक सहजीकरण गर्न सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले महासंघको सक्रियतामा नेपाल सरकारले हालै लगानीसँग सम्बन्धित विभिन्न ३० वटा कानुन संशोधन गरेको जानकारी दिँदै ती सुधारले वैदेशिक लगानी प्रक्रिया सरल बनाउनुका साथै नाफा फिर्ता लैजान सजिलो बनाएको जानकारी दिनुभयो ।

महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको खाका सरकारले स्वीकृत गरेको उल्लेख गर्दै उहाँले यसले विदेशी लगानीकर्तालाई अझ विश्वासिलो वातावरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत प्रो अनिल सुकलालले दक्षिण अफ्रिका र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विशेष गरेर पर्यटन क्षेत्रमा दुवै देशबीच सहयोगको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “पर्यटन यस्तो क्षेत्र हो, जहाँ दक्षिण अफ्रिका र नेपालले सहकार्य गरेर उल्लेखनीय काम गर्न सक्छौँ, दक्षिण अफ्रिकाको वन्यजन्तु पर्यटनजस्तै नेपालको भू–परिवेश, जैविक विविधता र सांस्कृतिक सम्पदा पनि विशिष्ट छन्, हामीले हातेमालो गरेर दुवै देशको पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।”

हाल नेपालले दक्षिण अफ्रिकाबाट अन्न, फलफूल, पेय पदार्थ र मेसिनरी आयात गर्दै आएको छ भने नेपालबाट निर्यात हुने वस्तुमा कार्पेट, तयारी कपडा र फलामजन्य सामग्री पर्दछन् । यो भेटवार्ताले नेपाल–दक्षिण अफ्रिका सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सहयोग गर्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

टिकाथलीमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर महर्जनको मृत्यु

ठमाडौँ १० असार : ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको मृत्यु भएको छ । सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ६४ वर्षीय आशाकाजी महर्जनको आज मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसैबीच, आजै ललितपुर महानगरपालिका–१८ नख्खुस्थित विष्णु पहेलीले सञ्चालन गरेको बिटी सुज सेन्टरमा करेन्ट सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको पनि उहाँले बताउनुभयो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भू–उपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, १० असार : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी आर्थिक वर्षमा मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रमहरूको हकमा आयोजना वर्गीकरण मापदण्ड, २०८० को परिधिभित्र रहेर बजेट विनियोजन भएको प्रस्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभएको छ, “देशको कुनै पनि स्थानमा बसाइँसराइ गर्न पाउने नागरिकको मौलिक हक रहेको र अत्यधिक बसाइँसराइका कारणबाट सिर्जना हुने समस्यालाई सम्बन्धित निकायहरूसँगको समन्वयमा समाधान गर्न मन्त्रालयबाट प्रयास भइरहेको कुरा विश्वास दिलाउन चाहन्छु ।”

उहाँले काठमाडौँ उपत्यका विकास प्राधिकरणको औचित्यमाथि प्रश्न गर्दै यस प्राधिकरण खारेज गर्न प्रस्ताव गर्नुभएकामा स्थानीय तहको कार्यक्षेत्रसँग दोहोरोपन नहुनेगरी काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनः संरचना गरिने व्यहोरा जानकारी गराउनुभयो । “भू–उपयोग ऐन २०७६, भू–उपयोग नियमावली २०७९ अनुसार भू–उपयोग योजना तयार गरी कार्यान्वयन गर्ने जिम्मेवारी हाल सम्बन्धित स्थानीय तहको रहेकाले भू–उपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भइरहेको व्यहोरा अवगत गराउँछु,” उहाँले भन्नुभयो ।

आगामी तीन महिनाभित्र काठमाडौँ उपत्यकामा सडक जाम घटाउनेसम्बन्धी कार्यक्रम नरहेको भन्ने सन्दर्भमा यस मन्त्रालयबाट नदी कोरिडोर निर्माण कार्यलाई प्राथमिकतामा राखिएको, काठमाडौँ उपत्यकाको मुख्य मुख्य चोकमा पूर्वाधार निर्माण तथा सुधार कार्यक्रम प्रस्ताव गरिएको, पैदलयात्रीको कारणबाट हुनसक्ने जामका साथै पैदलयात्रीको सुरक्षालाई समेत ध्यानमा राखी उपत्यकाका केही स्थानहरूमा लिफ्टसहितको आकाशेपुल प्रस्तावित कार्यक्रममा राखिएको उपप्रधानमन्त्री सिंहको भनाइ छ ।

त्यसैगरी, उहाँले काठमाडौँ उपत्यकाका नदी, खोलाको जग्गा संरक्षण, सौन्दर्यकरण तथा वातावारणीय सुधारका लागि समेत आर्थिक वर्ष २०८२/८३ मा कार्यक्रमहरू प्रस्ताव गरिएको पनि बताउनुभयो ।

काठमाडौँ उपत्यकाको इशान कोण (भक्तपुरको चाँगुनारायण, मध्यपुर ठिमी तथा काठमाडौँको कागेश्वरी र शङ्खरापुर) मा र अन्य तीन स्थानहरूमा आवास विकास गर्ने मात्र नभई समग्र क्षेत्रको नै भौतिक विकास योजना तयार गरी सो योजनाअनुरूप नै पूर्वाधार विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “भक्तपुरको अरनिको सभागृहमा मन्त्रालयबाट चालु आवमा बजेट विनियोजन भएको छ, सम्बन्धित स्थानीय तहबाट माग भएमा आगामी दिनहरूमा पनि बजेट विनियोजन गर्न सकिने छ,” उहाँले भन्नुभयो । सङ्घीय सरकारसँग समन्वय गर्ने कार्यमा सहज होस् भन्ने हेतुले ललितपुर जिल्लाको भैँसेपाटीमा प्रदेश प्रमुख तथा प्रदेश मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालय र निवास निर्माण गरिएको उहाँको भनाइ छ ।

सांसद चित्रबहादुर केसीले राष्ट्रिय आयोजना बैङ्क निर्देशिकाबमोजिम तीन करोडभन्दा कम रकमका योजनाहरू सङ्घीय कार्यालयबाट कार्यान्वयन नगर्ने नीति रहेकामा त्यस्ता योजनाहरू धेरै परेको हुनाले ती योजनाहरूलाई स्थानीय तहमा दिई केन्द्रीय बजेटबाट हटाउन प्रस्ताव गर्नुभएको थियो । सो सन्दर्भमा उपप्रधानमन्त्री सिहंले नयाँ प्रस्तावित कार्यक्रमहरू आयोजना वर्गीकरण मापदण्डअनुरूप नै प्रस्तावित गरिएको बताउनुभएको थियो ।

मन्त्रालयबाट कार्यक्रम प्रस्ताव गर्दा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित रहेका स्थानीय तहहरूबाट माग भएका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “माननीय पूर्णबहादुर घर्तीले उठान गर्नुभएको सरकारले बजेट निर्माणको अवधिमा तीन करोडभन्दा कमका नयाँ योजनाहरू नल्याउने नीति लिएको भए पनि प्रस्तुत बजेटमा दर्जनौँ साना योजना समावेश गरेको विषयमा मैले यसअघि नै स्पष्ट पारिसकेको छु ।” सुरक्षित नागरिक आवास कार्यक्रममा सम्पूर्ण आवास इकाइ सम्पन्न गर्न बजेट न्यून रहेकाले स्थानीय तहहरूबाट कार्य प्रगतिका आधारमा थप रकम माग भएमा अन्य स्रोतबाट रकमान्तर गरी कार्य सम्पन्न गर्ने गरी हाललाई केही स्थानीय तहका लागि न्यून बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

मन्त्रालयका कार्यक्रमहरू ७७ वटै जिल्लाहरूमा विस्तार गर्न प्रयास गरिएको उल्लेख गर्दै उहाँले विशेष प्रकृतिका भवनहरू सङ्घीय संसद्, मन्त्री आवास, र अति विशिष्ट तथा विशिष्ट महानुभावहरूको आवास व्यवस्थापन, सिंहदरबार परिसरभित्रका कार्य, बञ्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल साइट निर्माणजस्ता कार्यक्रमहरू बागमती प्रदेशमा रहेकाले अन्य प्रदेशको तुलानामा वागमती प्रदेशको बजेट तुलनात्मक रूपमा केही बढी देखिन गएको प्रस्ट पार्नुभयो ।

“मध्यपहाडी लोकमार्गमा अवस्थित नयाँ सहरको योजनाबद्ध विकासका लागि नयाँ सहर आयोजनाको सुरुआत भएको र अन्य सहरहरूमा पनि सहरी विकासको आवश्यकता महसुस गरी थप नयाँ सहर, स्मार्ट सिटी तथा हिमाली बस्तीहरूको छनोट भएकामा सीमित स्रोतका कारण मध्य पहाडी लोकमार्ग आसपासका १०

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् ।
उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन् ।

उनले देशको समग्र अर्थतन्त्र नाजुक रहेको भन्दै यो बजेट सुखद रहेको बताइन् । ‘देशको अर्थतन्त्र नाजुक रहेको र संघीय तथा प्रदेश सरकारबाट विगतमा दिदै आएको अनुदान समेत कटौती भएको परिवेक्षमा यो रकम बराबरको बजेट प्रस्ताव गर्नु हाम्रो लागि सुखद हो,’ उनले भनिन् ।

उनले आगामी आर्थिक वर्षको चालु खर्चतर्फ रु २ अर्व ९६ करोड ६४ लाख १८ हजार विनियोजन गरेको जानकारी दिइन् ।
यस वर्षको वजेटले समग्र वर्ग, भुगोल, जाती, महिला, अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, वालवालिका लगायत सम्पूर्णलाई सम्बोधन गरी थप विश्वास जित्न सफल हुने उनले दाबी गरिन् ।

उनको अनुसार अघिल्लो वर्ष कुल खर्च ७ अर्व ४६ करोड ८३ लाख ९२ हजार रहेको थियो भने सो मध्ये चालु खर्चतर्फ रु २ अर्व ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगतर्फ रु ४ अर्व ६७ करोड ९४ लाख २३ हजार विनियोजन भएको थियो ।

‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले टेक एण्ड पे राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला कि जस्तो लागेर हटाइएको बताएका हुन् ।

उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो हटाइयो ।’हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर ‘टेक एण्ड पे’ हटाउने निर्णय गरेको थियो ।

शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको जानकारी दिए ।
अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुने उनले धारणा राखे ।

उनले भने,‘शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको हो । अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुन्छ ।’

संविधान संशोधन स्टन्ड मात्रै, बजेट बिचौलियाका लागि सहज : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन् । मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको भन्दै मानव तस्करीको धन्दामा समेत सरकार लागेको आरोप लगाए ।

उनले भने,‘सरकारले संविधान संसोधन गर्ने भनेको थियो । तर एक वर्ष पुगिसक्दा पनि के–केमा संशोधन गर्ने अत्तोपत्तो छैन् । संविधान संशोधन अहिलेको सरकारले गर्न चाहेको नै होइन् । तर स्टन्डको लागि मात्रै प्रयोग गरेको हो । आर्थिक क्षेत्रमा होस् राजनीतिक क्षेत्रमा होस् या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको छ । रोजगारीको सृजना त कता हो कता मानव तस्करीको धन्दामा सरकार लागेको चर्चा छ । मानव तस्कर गर्नु रोजगारी सृजना गर्नु होइन् ।’

त्यस्तै उनले सरकारले ल्याएको बजेट गरिब र पछाडि परेको जनताको लागि नभएर विचौंलियाहरुले खेल्ने बजेट ल्याएको टिप्पणी गरे । वर्तमान सरकार सबै क्षेत्रबाट पूर्ण रुपमा असफल हुनकासाथै कांग्रेस एमालेको सहकार्य समेत असफल भइसकेको उनको दाबी छ ।‘गरिब र पछाडि परेका जनताका लागि त बजेट नै आएको छैन् । यो खाली विचौंलियाहरुले खेल्ने बजेट ल्याएको छ । सरकार सबै क्षेत्रबाट पूर्ण रुपमा असफल छ । अहिले त कांग्रेस एमालेको सहकार्य नै असफल भइसक्यो । यो गठबन्धन नै असफल भयो । यसबाट मुलुकलाई हितभन्दा अहित भएको छ । कांग्रेसलाई अहित भएको छ भन्ने कुरा कांग्रेसकै नेताहरुले भन्नुभएको छ,’उनले भने ।

अध्यक्ष यादवले सरकार गठन हुनुअघिका प्रतिबद्धताहरु केही पनि पूरा नभएको भन्दै आपत्ति जनाए ।‘सरकारले महत्वपूर्ण प्रतिबद्धताहरु गरेको थियो । त्यसमा सबैभन्दा महत्वपूर्ण विषय मुलुकमा सुशासन दिने,भ्रष्टाचार अनियमितता र अराजकता नियन्त्रण गर्ने अर्को आर्थिक रुपले धरासयी हुँदै गएको अवस्था सुधार गर्ने र संविधान संसोधन गर्ने यी कार्य गर्न सरकार बन्द गरेको प्रतिबद्धता हो । आफैंले गरेको प्रतिबद्धता हो तर अहिले यसो हेर्दै जाँदा सुशासन कुन चराको नाम हो, जनताले अनुभूति गर्न पाएको छैनन् । जतातै भ्रष्टाचार लुट देखेका छन् जनताले,’उनले भनेसरकार बनेको एक वर्षमा अडाई खरब ऋण थपिएको र व्यापार घाटा समेत बढ्दै गएको उनको भनाई छ ।

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ १० असार : प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा सांसदहरूको स्पष्टीकरणमाथि जवाफ दिँदै उहाँले उक्त पुल छिटो बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

अहिलेको सरकारले सबै ठाउँमा आवश्यक बाटा घाटा र निर्माणमा ध्यान दिने उल्लेख गर्दै उहाँले राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै विषयमा सरकारले आवश्यक र उचित काम गर्ने स्पष्ट गर्नुभयो ।

“राष्ट्रिय हितका सन्दर्भमा सजग रहेर विश्व शान्ति र न्यायका पक्षमा सदैव हामी छौँ । हाम्रो असंलग्न परराष्ट्र नीतिप्रति हामी प्रतिबद्ध छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रविधि र पुँजी ल्याउँदा साम्राज्यवाद आउँछ भनिनु हुँदैन । हामीले साम्राज्यवाद नपस्ने गरी विदेशी पुँजीको लगानी गर्छौँ । कुनै पनि विकासका लागि लगानी र ऋण ल्याउँदा राष्ट्रको आवश्यकता र औचित्यताका आधारमा सम्झौता गरिनेछ तर यसमा सङ्कीर्ण सोचमा हामी हुन्नौँ ।”

प्रधानमन्त्री ओलीले सरोकारवाला पक्षले आवाज उठाए पनि वन नउठाए पनि निजामति विधेयक र विद्यालय शिक्षा विधेयक तुरुन्तै ल्याउने विश्वास व्यक्त गर्नुभयो । यस्तै उहाँले दैलेखमा उत्खनन् भएको मिथेन ग्यासको आगामी आर्थिक वर्षभित्र उत्पादन र सदुपयोग हुनेगरी काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावका सम्बन्धमा
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दिनुभएको जवाफको पूर्ण विवरण यसप्रकार छ :

सम्माननीय सभामुख महोदय,

सर्वप्रथम आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकअन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित विभिन्‍न शीर्षकमाथिको छलफलमा सहभागी हुनुहुने माननीय सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

सबै मन्त्रालय/निकायहरूको कामकारवाहीमा समन्वय, सहजीकरण कायम गर्ने, नीति निर्माण एवम्‌अनुगमन तथा मूल्याङ्कन गर्ने जस्ता महत्वपूर्ण कार्यहरू यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने र सोही कार्य प्रकृति तथा क्षेत्राधिकारभित्र केन्द्रित भई विनियोजन कुशलता, आवश्यकता र ‌औचित्यका आधारमा यस कार्यालय र मातहतका निकायहरूको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरिएको हो। अब म विनियोजन विधेयकमाथि छलफलका क्रममा तथा खर्च कटौतीको प्रस्तावमार्फत् माननीय सदस्यज्यूहरूले उठाउनु भएका प्रश्‍नहरूको सम्बन्धमा स्पष्‍ट पार्न चाहन्छु।

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा:

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा मानव अधिकारसम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने विषयमा बजेटमा दोहोरोपना भएको भन्‍ने प्रश्‍नका सम्बन्धमा उक्त प्रतिवेदनहरूको विषय फरक फरक रहेको हुँदा चालु खर्च अन्तर्गतका खर्चहरूमा दोहोरोपना नरहेको जानकारी गराउन चाहन्छु।

२. राष्ट्रिय योजना आयोगको काम मन्त्रालयहरूबाटै भइरहेको भनी सो आयोगको औचित्यको सम्बन्धमा माननीयज्यूहरूले प्रश्‍न उठाउनु भएको विषयमा प्रष्ट पार्न चाहन्छु। राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोच र तथ्यपरक नीति योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्कन, तहगत समन्वय र अध्ययन, अनुसन्धान तथा अन्वेषण कार्य गर्दै आएको माननीयज्यूहरूलाई अवगत नै छ। देशको विकास योजना तथा नीति तर्जुमा कार्यमा सल्लाह दिने सर्वोच्च निकायको रूपमा रहेको यस आयोगले आवधिक योजना समेत तर्जुमा गर्दै आएको छ।

विद्यमान सङ्‌घीय संरचनामा देशमा समष्टिगत एवम् एकीकृत नीति तथा योजना निर्माण गर्न यस आयोगको सान्दर्भिकता झनै बढेको छ।सङ्‍घीयतालाई दिगो र सवलीकरण बनाउन तीन तहका सरकारले तर्जुमा गर्ने योजना तथा विकास निर्माणमा एकरूपता दिन र विकासको राष्‍ट्रिय मानक तयार गर्न यस आयोगको महत्वपूर्ण भूमिका रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।

३. योजना बैंक अनुसार योजना छनौट नभएको र रु ३ करोडको आयोजनाको बजेट सीमा पालना नभएको भन्‍ने माननीयज्यूहरूको प्रश्‍नको सम्बन्धमा:
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले राष्ट्रिय योजना आयोगमा राष्ट्रियस्तरको आयोजना बैंक रहने व्यवस्था गरेको छ। आयोजना बैंक प्रणालीमा ३ करोड भन्दा कम लागतका आयोजना प्रविष्टि नगर्ने आयोजना बैंक मापदण्डमा व्यवस्था छ। राष्ट्रिय योजना आयोगले आयोजना बैंकको प्रभावकारी कार्यान्वयनका लागि २०८१ चैत्रमा सङ्‌घीय संसदका माननीयज्यूहरू र नेपाल सरकारका मन्त्री तथा सचिवहरूसँग समेत छलफल गरिसकेको र आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयन पक्षलालाई प्राथमिकता दिइनेछ।

४. समपूरक र विशेष अनुदानका सम्बन्धमा : आर्थिक वर्ष २०८२/८३ का लागि समपूरक र विशेष अनुदान दुवैमा प्रदेश र स्थानीय तहतर्फ गरी मधेस प्रदेशमा कूल अनुदान बजेटको १६ प्रतिशत अर्थात अन्य प्रदेशभन्दा बढी बजेट विनियोजन गरिएको माननीयज्यूलाई विदितै होला।तथापि कतिपय निकायहरूबाट प्राविधिक कमजोरीका कारण आयोजना प्रविष्टिमा समस्या रहेको र आगामी दिनमा प्राविधिक क्षमता अभिवृद्धि गर्दै लैजाने लक्ष्य राखिएको छ।

५. लगानी बोर्डसम्बन्धी माननीयज्यूले उठान गर्नुभएको विषय सम्बन्धमा : मुलुकको पूर्वाधार विकासको लागि लगानी परिचालनको आवश्यकता उच्चतम् रहेको तर सरकारी बजेटबाट मात्र लगानी जुटाउन नसकिने अवस्थामा निजी क्षेत्र र वैदेशिक लगानी परिचालन गर्न अत्यावश्यक रहेको छ।
मुलुकको राजस्व परिचालनमा दबाब उत्पन्‍न हुँदै गरेको र सार्वजनिक ऋण उकालो लाग्दै गरेको सन्दर्भमा सार्वजनिक निजी साझेदारीबाट राजस्व परिचालनमा सहयोग पुग्ने र स्वदेशी तथा विदेशी निजी लगानी परिचालनबाट पूर्वाधार विकास गर्न सकिने वर्तमान परिप्रेक्ष्यमा लगानी बोर्ड खारेज हैन थप सशक्त र अन्तर्राष्‍ट्रियस्तरको संस्थाको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको माननीयज्यूलाई प्रष्‍ट पार्न चाहन्छु।

६.नेपाल ट्रष्टको कार्यालयको जिम्मामा रहेको सल्लाघारीस्थित १०८ रोपनीको जग्गा ख्वप विश्‍वविद्यालयको लागि भक्तपुर नगरपालिकालाई उपभोग गर्न दिनुपर्ने सम्बन्धमा : नेपाल ट्रष्‍टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुनेगरी राष्‍ट्रहितमा प्रयोग हुने कानुनी व्यवस्था रहेको नै छ। नेपाल ट्रष्टको सम्पति शिक्षाको क्षेत्रमा उपयोग गर्नेसम्बन्धी कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भई छलफलको क्रममा रहेको जानकारी गर्न चाहन्छु।

७. बारा-काठमाण्डौ द्रुतमार्गको ५ खर्व रूपैयालाई काठमाण्डौ उपत्यकाबाहिर निर्वाचन क्षेत्रहरूमा सडक, पुल र विद्यालयमा खर्च गरी देशको सन्तुलित विकास गर्ने सम्बन्धी प्रश्‍नको सन्दर्भमा : काठमाडौं र देशका अन्य भू-भाग विशेष गरी तराईलाई जोड्नेगरी निर्माणको अन्तिम चरणमा रहेको बारा-काठमाडौं द्रुतमार्गको निर्माण पश्‍चात यसले देशको आर्थिकलगायत सन्तुलित विकासमा टेवा पुर्‍याउने विश्‍वास गरिएको छ।

८. विनियोजन विधेयकमाथि छलफलका क्रममा विशेषगरी माननीयज्यूहरूले आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रमको विनियोजन सन्तुलित नभएको बारे समेत प्रश्‍न उठाउनु भएको छ।

सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको कुरामा म विशेष जोड दिन चाहन्छु। भौगोलिक, क्षेत्रगत एवम् विषयगत रूपमा आवश्यकता र सन्तुलनको आधारमा समग्र देशको सन्तुलित विकास हुनेगरी बजेट ल्याइएको हो।

सभामुख महोदय,

विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा खर्च कटौतीको प्रस्तावका अतिरिक्त माननीयज्यूहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र अन्तर्गतका निकायहरूका बारेमा समेत प्रश्‍न र जिज्ञासा राख्‍नु भएकोछ। सो सम्बन्धमा समेत केही विषय स्पष्ट पार्न चाहन्छु।

१. उच्चस्तरीय शासकीय सुधार आयोगको औचित्यका सम्बन्धमा: शासकीय सुधारका विभिन्‍न कार्यक्षेत्रहरूमा चाल्नुपर्ने उपायहरू पहिचान गरी कार्यान्वयनमा ल्याउन उच्चस्तरीय शासकीय सुधार आयोगको गठन गरिएको हो।

उक्त आयोगले शासकीय सुधारका कार्यसूचीहरूमा तत्काल निर्णय गरी यसलाई तत्काल कार्यान्वयनमा लैजान नेपाल सरकारको निर्णय लिन सहज हुने, अन्तरनिकाय समन्वयबाट सम्पादन हुने शासकीय सुधारका सवालहरूको कार्यान्वयनमा सहज हुने र यस आयोगले विभिन्‍न क्षेत्रका विज्ञहरूको समेत परामर्श एवम्‌ सहयोगमा सुधारका एजेण्डा अघि बढाउने हुनाले आयोगको कार्यसम्पादनमा प्रभावकारिता आउनेछ।

२. राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सम्बन्धमा: भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहमा सुधार, राजस्व चुहावट नियन्त्रण र सम्पत्ति शुद्धीकरणलाई निरुत्साहित गरी सुशासन अभिवृद्धि गर्नु सरकारको प्राथिमकताको विषय हो।यी कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय मातहतमा राखिएका छन्।

राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण एवम्‌ आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण र विदेशी विनिमयको अवैध ओसारपसार र अपचलन नियन्त्रणसम्बन्धी कार्य जटिल र अन्तराष्ट्रिय क्षेत्रको समेत चासोको विषय भएको हुँदा यसको प्रभावकारी समन्वय, सहजीकरण र नियमनको लागि राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग यस कार्यालय मातहतमा राखिएको स्पष्ट पार्न चाहन्छु। यसका साथै राजस्व सङ्‌कलन गर्ने निकायले नै राजस्व चुहावटको अनुसन्धान गर्दा सन्तुलन र नियन्त्रण कायम गर्ने सम्बन्धी काममा दोहोरोपना र स्वार्थ द्वन्द्व हुनसक्ने हुँदा बेग्लै र माथिल्लो निकायबाट अनुसन्धानको कार्य हुनुपर्ने देखिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सर्वोच्च कार्यकारी निकाय मातहत राखिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्यमा सहजीकरण गर्न सहज हुन जान्छ। सम्पत्ति शुद्धीकरण निवारण समग्र सुशासनको महत्वपूर्ण पाटो हुनुका साथै अन्तर्राष्ट्रिय चासोको समेत विषय भएकोले हालको व्यवस्थाबाट प्रभावकारी नियन्त्रण र सन्तुलन कायम गर्नुका साथै यस विभागलाई समेत थप जवाफदेही बनाउन मद्दत गर्दछ।

३. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलार्इ थप प्रभावकारी बनाउने सम्बन्धमा: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलार्इ थप प्रभावकारी बनाउन विगतदेखि नै विभिन्‍न समयमा विभिन्‍न कार्यदलले अध्ययन गरी विभिन्‍न सुझाव र सिफारिसहरू प्राप्त भइरहेका छन्। सोही अनुरुप यस कार्यालयलाई सुशासनको उत्कृष्ट निकाय (Center of Excellence) को रूपमा स्थापित गर्न आवश्यक कार्य र क्रियाकलापहरू पहिचान गरी क्रमश: कार्यान्वयन गरिँदै आएको छ। यसबाट अन्य निकायहरूलाई समेत प्रभावकारी र नतिजामुखी संगठन निर्माणका लागि मार्गदर्शन हुने अपेक्षा लिइएको छ।

सभामुख महोदय,

विनियोजन विधेयक तथा खर्च कटौती प्रस्तावका सम्बन्धमा मैले प्रस्तुत गरेको विषय सन्दर्भबाट माननीयज्यूहरूले लिखित रूपमा पेस गर्नुभएको प्रस्ताव र शीर्षकगत छलफलका क्रममा उठान गर्नुभएको प्रश्‍न, जिज्ञासाहरूको सम्बोधन भएको मैले विश्‍वास लिएको छु।

माननीयज्यूहरू प्रेम सुवाल, अमरेश कुमार सिंह, लेखनाथ दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको शीर्षकको खर्च रकम घटाउन खर्च कटौतीको प्रस्ताव पेस गर्नुभएको छ। माननीयज्यूहरूको जोड खर्च कटौती भन्दा पनि यी कार्यालयको नीतिगत र संस्थागत सुधारमा केन्द्रित रहेकोले प्राप्त महत्वपूर्ण सुझावहरूलाई ग्रहण गर्दै आगामी दिनमा प्रभावकारी कार्यसम्पादन गर्न यी निकायहरूलाई प्रभावकारी बनाई देशलाई जनअपेक्षा अनुरुप समुन्‍नतिको मार्गमा अघि बढाउँदै सुशासन कायम गर्न प्रयास गरिरहेका छौं र यसमा सबैको सहयोग प्राप्त हुने मैले विश्‍वास लिएको छु।अतः माननीयज्यूहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिर्इ विनियोजन विधेयक पारित गर्न सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।
धन्यवाद।

एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट

काठमाडौँ, १० असार : एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा अलआउट गरेको छ ।
मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जारी खेलमा बाँयाहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि जपानलाई नेपालले ८० रनमा अलआउट गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो । ८१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १० असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३९, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु १००, मूला रातो प्रतिकिलो रु ४५, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ४५, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी मूल्य प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु ३८, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५५, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४०, चमसुुर साग प्रतिकिलो रु ३५, तोरीको साग प्रतिकिलो रु ३५, मेथको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा रु १००, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७५, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७५, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४० तोकेको छ ।

विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेद्वारा ‘ह्वीप’ जारी

काठमाडौँ, १० असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो ।

उहाँव्दारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२÷८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको छ ।”

प्रजिअको समाजसेवा : दार्चुलामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन

दार्चुला, १० असार : प्रमुख जिल्ला अधिकारीको प्रमुख दायित्व शान्ति सुरक्षाका लागि आवश्यक काम र समन्वय गर्नु नै हो । तर यहाँका प्रजिअ अनिल पौडेलले समाजसेवाका लागि उदाहरणीय पहलको थालनी गर्नुभएको छ ।

उहाँले जिल्लामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन गर्ने अभियान सुरुआत गर्नुभएको छ । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा विशेष गरेर सुत्केरी तथा आकस्मिक सेवाका विरामी समस्यामा पर्दै आएका छन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी पौडेलले ‘ब्लड बैंक’ स्थापनार्थ सुरक्षाकर्मी र कर्मचारीबाट सङ्कलन गरिएको रु पाँच लाख दुई हजार ८८१ नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महरलाई हस्तान्तरण गर्नुभयो । जिल्ला अस्पतालमा आउने अधिकांश बिरामीलाई रगत आवश्यक हुँदा रक्तदान गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न ब्लड बैंक स्थापना गर्न रकम सङ्कलन गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रसेवक कर्मचारीले गर्न सक्ने जति सहयोग स्वःस्फुर्त गरिएको छ । यो अभियानलाई निरन्तरता दिँदै ब्लड बैंक सञ्चालन भएको हेर्न चाहन्छौँ ।”

जिल्ला समन्वय समिति प्रमुख महदेव बडू (कस्यप)ले यो अभियानमा सबै स्थानीय तह र तीन सय बढी जनप्रतिनिधिलाई आफूले सहयोगका लागि आह्वान गर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, “अहिलेसम्मकै यो पुण्य काम हो । छिट्टै जिल्लासभा हुँदैछ, प्रस्तावकै रूपमा लगेर यो अभियानलाई आफूले सक्ने सहयोग गर्न तयार छाँै ।”

महाकाली नगरप्रमुख नरसिंह चैसिरले जिल्लाका लागि नभई नहुने ब्लड बैंक स्थापना गरेर सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । “यो मेरो प्रतिबद्धता भयो, जहाँबाट भए पनि ब्लड बैंक स्थापनार्थ बजेट खोज्छौँ । जिल्ला अस्पतालका लागि यो नभई नहुने थियो, प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले एउटा राम्रो काम अघि बढाएकामा धन्यवाद दिँदै यो काम पूरा गराउने काम हामी गर्छौँ”, उहाँले भन्नुभयो ।

जिल्ला अस्पतालका डा सञ्जीव श्रेष्ठ तत्काल रगतको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न जिल्लामा ब्लड बंैंक जरुरी भएको बताउनुभयो । स्थापना गर्न बजेटको हिसाबले खर्चिलो भए पनि पहाडी जिल्लाका लागि आवश्यक रहेको छ भन्नुभयो । अहिले अस्पतालमा सर्वसाधारण, सुरक्षाकर्मी खोजेर रक्तदानका लागि आग्रह गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

यसअघि २०७२ सालमा नेपाल रेडक्रस दार्चुलाको अगुवाइमा ब्लड बैंक स्थापनार्थ सहयोग रकम उठाइएको थियो । त्यसले थोरै भए पनि ब्लड बैंकमा चाहिने सामग्री व्यवस्थापनमा सहयोग पुगेको नेपाल रेडक्रस दार्चुलाका महामन्त्री दीपक अवस्थी बताउनुहुन्छ । “राम्रो ब्लड बैंक स्थापना गर्न बजेट सुनिश्चितता कहीँबाट भएको छैन । स्रोत भयो भने राम्रै बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् ।

नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख : सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता

रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। नगरको सोमबार सम्पन्न १७ औँ नगरसभामा नगरप्रमुख लबश्री न्यौपानेले नीति तथा कार्यक्रम र उपप्रमुख बाला कार्कीले बजेट प्रस्तुत गरे

नगरप्रमुख न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाहको गुणस्तर सुधार र समावेशी पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै दिगो र उत्तरदायी विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधिको प्रयोग, सामाजिक समावेशिता, महिला सशक्तीकरण, जलवायु अनुकूलन, विपद् न्यूनीकरण, पर्यटन विकास, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख छ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट उपप्रमुख बाला कार्कीले प्रस्तुत गरेकी हुन् । बजेटमा चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ विनियोजन भएको छ ।

उक्त बजेटमा नगर प्रशासनको सञ्चालन, कर्मचारी तलब भत्ता, सामान्य सेवा प्रवाह, नियमित सामाजिक सुरक्षा कार्यक्रमलगायतका लागि चालु खर्च बढी देखिन्छ भने भौतिक पूर्वाधार, शिक्षा, कृषि तथा पर्यटनका विकास निर्माणका लागि पुँजीगत खर्च छुट्याइएको छ ।

नीति तथा कार्यक्रमअनुसार शिक्षा क्षेत्रमा विद्यालय सुधार, छात्रवृत्ति, विज्ञान प्रवद्र्धन, सिकाइ वातावरण सुदृढीकरणलगायत कार्यक्रम सञ्चालन गरिनेछ।स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा सबै वडामा पु¥याउने, नियमित औषधि सेवन गर्ने बिरामीलाई सेवा पु¥याउने, मातृशिशु स्वास्थ्य र वृद्ध–वृद्धा लक्षित सेवामा जोड दिइने भएको छ ।

कृषि क्षेत्रमा प्रविधियुक्त खेती, व्यावसायिक कृषि, बीउ तथा मलको पहुँच विस्तार, अनुदान कार्यक्रम, पशुपालन, तरकारी तथा फलफूल खेतीमा प्रोत्साहन गरिने योजना छ। नगरले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरेर कृषिजन्य उत्पादनको बजारीकरण गर्ने लक्ष्य लिएको छ।नगरले सूचना प्रविधिको प्रयोग गर्दै स्मार्ट प्रशासन प्रणाली विकास गर्ने, सेवा प्रवाहमा डिजिटल प्रणाली लागू गर्ने र पारदर्शिता अभिवृद्धि गर्ने योजना ल्याएको छ।

पर्यटन विकासका लागि नगरभित्रका सम्भाव्य गन्तव्यको अध्ययन, प्रचार–प्रसार, पूर्वाधार निर्माण, पर्यटन व्यवसायसँग सम्बन्धित सीप विकास तालिम सञ्चालन गरिने जनाइएको छ।युवा लक्षित स्वरोजगार, उद्यमशीलता प्रवद्र्धन, सीपमूलक तालिम, व्यावसायिक तालिम र रोजगारी सिर्जना कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

नगरप्रमुख न्यौपानेले बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताउँदै शब्दमा होइन, कार्यमा आधारित विकास चाहिने बताए ।

मुख्यमन्त्री सिंहको छड्के :अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् ।

ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट (टोल नाका) मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता रहने स्पष्ट पनि पारेका छन् । उनले भने, ‘जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो । अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुव्र्यवहार अब सह्य हुँदैन ।’

यस्तै, प्रदेश सरकारले यसअघि पनि सीमा नाका, सडकढाट लगायत स्थानहरूमा हुने अवैध कारोबार र असुली नियन्त्रण गर्न विशेष पहल थालेको थियो । सोमबारको अनुगमनलाई कारबाहीको संकेतको रूपमा लिइएको छ ।पक्राउ परेकाहरूको नाम र विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । अनुसन्धानपछि थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इन्डोनेसियाको ‘मिस एण्ड मिस्टर कल्चर इन्टरनेशनलमा’ नेपाललाई दुई उपाधि

काठमाडौंँ । इन्डोनेसियामा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिस्टर कल्चर इन्टरनेशनलमा’ नेपालले दुई उपाधि जित्न सफल भएका छन् । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी विवेक दनुवारले ‘मिस्टर टिन कल्चर इन्टरनेशनल’तर्फ सेकेन्ड रनरअपको उपाधि जित्दा ‘मिस कल्चर इन्टरनेशनल’तर्फ सहभागी दिपशाखा रुम्बा तामाङले थर्ड रनरअपको उपाधि हासिल गरिन् ।

४० देशको सहभागीता रहेको प्रतियोगीतामा दुबै प्रतियोगीले नेपाली कलासंस्कृति र भेषभुषा समेत प्रदर्शन गरेका थिए । १८ देखि २१ जुनसम्म आयोजना भएको प्रतियोगीताका लागि प्रतियोगीले कोरियोग्राफर रोजिन शाक्यसँग बिभिन्न ट्रेनिङ लिएका थिए ।

दुबैलाई प्रतियोगीलाई प्रतियोगीतामा नेपालकी निर्देशक प्रमिला सिलवालले पठाएकी हुन् । प्रतियोगीको ड्रेस डिजाइनर सजिना बिष्ट र समिक्षा लामिछानेले गरेका थिए ।

तीन महिनाका लागि भरतपुरमा भूमिगत विद्युतीकरणको काम रोकियो

चितवन, १० असारः भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार यही असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उहाँले भन्नुभयो, “अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्नेलगायतका रोकिएको छ ।” अहिले पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्नेलगायतका काम भइरहेको उहाँले बताउनुभयो । सडक विभागले वर्षात्मा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उहाँका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासिनेजस्ता समस्या हुने भएकाले काम रोकिएको हो ।

आयोजनाले हालसम्म भरतपुरकामा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको उहाँले बताउनुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छभने अर्काेतर्फ भूमिगत गर्ने काम बाँकी छ । उहाँले भन्नुभयो, “फाउन्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।” तेत्तीस केभी जडानको काम सकिएको छभने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ ।

खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षातपछि कामलाई तीव्र बनाइने उहाँले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उहाँले बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ ।

एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बी आर लामाद्वारा सोमबार जारी विज्ञप्तिमा इजरायल र इरानबिच द्वन्द्व चर्कँदै जाँदा इरानले कतारस्थित अमेरिकी सैन्य बेसतर्फ (स्थानीय समय अनुसार सोमबार राती) मिसाइल प्रहार गरेको खबर आएको उल्लेख गरेका छन् ।

“कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ। सम्बन्धित देशका सरकारहरू, स्थानीय सुरक्षाकर्मी तथा नेपाली दूतावासका निर्देशनहरू पालना गर्न ती मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हामी हार्दिक अपिल गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

“भारत सरकारको समेत सहयोग लिएर इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सकुशल उद्धार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरिरहेको पहलको हामी प्रशंसा गर्दछौँ। ती मुलुकहरूमा रहेका संघका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई सक्रियतापूर्वक स्थानीय नेपाली समुदायलाई सही सूचना तथा जानकारी सहित सक्दो सहयोग गर्न अनुरोध गर्दछौँ। एनआरएनए आइसिसीले पनि २४ सै घण्टा बदलिँदो परिस्थितिको अनुगमन गरिरहेको र नेपाल सरकार, सम्बन्धित दूतावासहरू तथा एनसीसीहरुसँग निरन्तर सम्पर्कमा रही हर सम्भव सेवा पुराउन तत्पर रहेको जानकारी गराउँदछौ,” विज्ञप्तिमा भनिएको छ।

यसैबीच इजरायल तथा इरानबिच युद्ध विराम भएको भन्ने समाचारहरू आएका छन्, तर यस सम्बन्धी थप विवरण आउन बाँकी छन्। “हामी सबै पक्षलाई संयुक्त राष्ट्र संघका मूलभूत मान्यताहरूको पालना गर्दै कूटनीतिक माध्यमबाट छलफल र वार्ताद्वारा दिगो शान्तिका लागि पहल गर्न अपिल गर्दछौँ,” एनआरएनए आइसिसीका प्रवक्ता गंगाधर गौतमले भने।

वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको हो ।
निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो । यस वृत्तचित्रमा सगरमाथा चढ्न हिंडेकाहरुको कथा, संकल्प र बाटोमा उनीहरुले भोग्ने चुनौतीहरु देखाइएको छ । सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए । त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ ।

कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।
’यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं । नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्ययाको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ ।’

’मानिसको जीवन पनि जिरोबाट सुरु हुन्छ र बिस्तारै बाल्यकाल, किशोरावस्था, वयस्क हुँदै अघि बढ्छ । यो यात्रा मानव जीवनको एउटा यात्राको संकेत पनि हो ।’ झन्डै ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न झन्डै ९० दिन लागेको पनि उनले बताए । निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए ।

‘हामी लामो समय नेपालको सिर्जनात्म क्षेत्रमा काम गरेर हाल अमेरिकामा बस्ने साथीहरुले देशका लागि मिलेर केही गरौं भनेर लामो समयदेखि सोचेका थियौं । त्यसक्रममा देशलाई चिनाउनेगरी यो अवधारणा अघि सार्न सफल भयौं । टेण्डी शेर्पा, पुस्कार शाहलगायत व्यक्तित्व हामीसँग जोडिनुभयो । अब यस वृत्तचित्रलाई अमेरिकाका सबै राज्यमा लगेर देखाउने, त्यसपछि युरोप र अष्ट्रेलिया तथा एशियाका अन्य देशमा देखाएर नेपालका हलहरुमा सार्वजनिक गर्ने हाम्रो सोच छ । यसलाई हामीले देश चिनाउने माध्यमका रुपमा सोचेका छौं । विश्वमा कहीँ संभवन नभएको एक मात्र जिरो टु ८८४८ को अवधारणा ल्याउन सफल भएका छौं । यस पदमार्गलई विकास गर्न सके हाम्रो देशको पर्यटन फस्टाउनेछ र देशलाई विश्वभर चिनाउन सकिनेछ र समृद्धीको एउटा आधार खडा हुनेछ,’ उनले भने ।

जलवायु परिवर्तन अध्ययनका लागि पनि यस गन्तव्य विशिष्ट हुने उनले बताए । त्यस्तै भूगर्भ पर्यटनको अध्ययन केन्द्र समेत बन्नसक्ने धारणा राखे । वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायाँकन गरेका हुन् ।

श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छाँयाकार छन् । त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् । वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायाँकन गरेका हुन् । उनीहरु दुबै यसका लागि शिखरमा पुगेका थिए ।

‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा

काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ ।सोमबार सार्वजनिक टाइटल भिडियोमा यो सिनेमा आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो सिनेमा स्वर्गिय निर्देशक शिव रेग्मी मामाप्रति समर्पित रहेको उल्लेख गरेकी छन् । निर्देशक पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् ।

सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमाको अहिले धमाधम पोष्ट प्रोडक्सनको काम भैरहेको छ । आफु र आफ्नो टिमले ‘हर्ष’ दर्शकलाई उत्कृष्ट सिनेमा दिने प्रयास रहेको बताउँछिन् । सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथा पस्किने सिनेमामा आलोक शुक्लाको छयांकन, समीर÷हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), १० असार : चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु आठ अर्ब ११ करोड ५९ लाख मूल्य पर्ने ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु छ अर्ब २६ करोड ७१ लाख मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, सोही अवधिमा रु दुई अर्ब ५९ करोड मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, रु ६१ करोड २० लाख मूल्य पर्ने छ हजार ७०८ किलोलिटर एटीएफ र रु २२ करोड ७१ लाख मूल्य पर्ने दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ ।

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताउनुभएको हो। प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ। त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन्।

राष्ट्रपति ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भन्नुभएको छ, “ईश्वरले इजरायललाई आशिर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशिर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशिर्वाद दिनुहोस्।”

हालसम्म यसबारे इजरायल र इरानबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयबाट पनि यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिएको छैन।

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १० असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाव्दारा आज यहाँ जारी बुलेटिनका अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

बेनी (म्याग्दी), १० असारः जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो ।

हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गर्नुभएको थियो । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो ।

अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो ।

उहाँका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए । “यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ”, गुरुङले भन्नुभयो ।

अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिनुभयो ।

विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका माइकल परियारले बताउनुभयो ।

“दुईदिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ । हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उहाँले भन्नुभयो ।

पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई/दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गर्नुभएका अजित सेञ्चुरीले बताउनुभयो ।

पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन् । हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन् ।

पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

गण्डकी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल जारी

गण्डकी, १० असारः गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी छ । सरकारले सार्वजनिक गरेको आव २०८२/८३ को बजेटमा प्रदेशसभाका सांसदहरूले जनसङ्ख्या र भूगोलका आधारमा बजेट वितरण हुन नसकेको बताउनुभएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूले समन्यायिक ढङ्गले नभई पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको गुनासो गर्नुभयो ।

सांसद कुसुम बुढामगरले जनसङ्ख्या र भूगोलका आधारमा बजेट वितरण हुन नसकेको बताउँदै बजेट निर्माणमा प्रदेश सरकारको उद्देश्य र प्राथमिकता स्पष्ट नभएको उहाँको भनाइ छ । “बजेटले भूगोल र सामाजिक न्याय गर्न सकेन, शक्ति र पहुँचका आधारमा बजेट बाँडिएको छ”, उहाँले भन्नुभयो ।

सांसद महेश भट्टराईले बजेट निर्माणमा कर्मचारी संयन्त्र हाबी भएको गुनासो गर्नुभयो । उहाँले सांसदका माग र सुझावलाई थन्काएर बजेट ल्याइएको बताउनुभयो । सीमित ठाउँमा बजेट केन्द्रित गरेर प्रदेशको समग्र विकास नहुन भन्दै उहाँले बजेटको आवश्यकता र प्राथमिकता नमिलेको धारणा राख्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसद गणेशमान गुरुङले गौरवका आयोजनामा बजेट कम छुट्याएर टुक्रे आयोजनामा केन्द्रित बनेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्रालयको बजेटले प्रदेश सरकारको विकासको लक्ष्य किटान गर्न नसकेको उल्लेख गर्नुभयो ।

“बजेट समन्यायिक छैन, यसले लोकतन्त्र र सङ्घीयतालाई मजबुत बनाउँदैन, बजेट विन्यासमा प्रदेश सरकारको कुशलता देखिएन, आगामी दिनमा यस्ता त्रुटिलाई दोहोरिन दिनुहुँदैन”, उहाँले भन्नुभयो, “बजेट बाँडफाँटमा जिल्लागत रूपमा देखिएको विभेद अन्यायपूर्ण छ, यसलाई सच्चाउनुपर्छ ।”

सांसद रेशमबहादुर जुग्जालीले उद्योग क्षेत्रलाई मठमन्दिरलाई बढी बजेट छुट्याएकामा प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नीति तथा कार्यक्रमभन्दा फरक तरिकाले बजेट आएको बताउनुभयो । बजेट निर्माणमा कर्मचारीको अनावश्यक चासो र हस्तक्षेप भएको भन्दै उहाँले त्यसलाई सरकारले रोक्न नसकेको बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षीय योजनामा कम बजेट राखेर नयाँ योजना थपेको बताउनुभयो ।

प्रदेशसभा सदस्य पञ्चराम गुरुङले वार्षिक बजेटमा पारदर्शिता ल्याउनुपर्ने बताउनुभयो बजेटको मन्त्रालयगत छलफलमा सांसदहरू रेखा गुरुङ, श्यामराजा महतलगायतले भाग लिनुभएको थियो । यही असार १ गते सार्वजनिक प्रदेश सरकारको आगामी आवको बजेट र विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ ।

गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

दमौली (तनहुँ), १० असारः गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा अन्तरजिल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा प्रदेशभित्रका तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पण्डितले जानकारी दिनुभयो । उद्घाटन खेल व्यास नगरपालिका–३ बास्केटबल कोर्टमा खेलाइएको थियो भने आज र भोलिका खेल व्यास नगरपालिका–१ फुटसल मैदानमा हुनेछन् ।

प्रतियोगिताअन्तर्गत पहिलो दिनका पाँच खेल सम्पन्न भएका छन् । तनहुँ र स्याङ्जाबीच भएको खेलमा तनहुँ, नवलपुर र म्याग्दीबीच भएको खेलमा नवलपुर, कास्की र गोरखाबीच भएको खेलमा कास्की, बागलुङ र पर्वतबीच भएको खेलमा बागलुङ तथा तनहुँ र नवलपुरबीच भएको खेलमा नवलपुर विजयी भएको छ ।

गण्डकी प्रदेश कबड्डी सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको खेलमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैलगायत वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १० असारः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर १०० रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ आठ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २० पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २९ पैसा र बिक्रीदर २१ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ छ पैसा र बिक्रीदर ४५४ रुपैयाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

काठमाडौँ, १० असारः प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि बैठकले श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

बैठकमा सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो। तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ।

कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गर्नुभयो।

उहाँका अनुसार, अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (अाइअारजीसी) ले यस मिसाइल अभियानको जिम्मेवारी लिँदै उक्त कार्यलाई ‘अभिनन्दनको विजय’ नाम दिएको छ। उनीहरूले इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताएका छन्। अाइअारजीसीले अल उदीद अड्डालाई ‘पश्चिम एसियामा अमेरिकी वायुसेनाको मुख्य केन्द्र’ को रूपमा उल्लेख गरेको छ।

इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ। यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ।

यसबीच, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन्। कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन्।

कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन्।

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा, ९ असार : कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह (म्ब्ीष्ए क्ष्ल्न्ज्) रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

यही असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो । मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।