`

कोहलपुरमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका एक सय आठ घरटहरा हटाइयो

बाँके। बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ ।कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका १०८ घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले शनिबारदेखि नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफलमा रहेको अतिक्रमित बस्ती हटाउने अभियान सुरु गरेको हो । विशेषगरी क्रिकेट मैदान आसपासको क्षेत्रमा वर्षौंदेखि निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाइएको हो । शनिबार ४० घरटहरा हटाइएको थियो ।कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले नगरपालिकाले पूर्वसूचना तथा समयसीमा दिएरै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैशाख १६ गते नै १० दिने अल्टिमेटम जारी गरेर अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरिएको थियो । अधिकांश नागरिकले आफैँ सरसामान सार्ने काम गरिरहनुभएको छ । हामीले पूर्ण रूपमा खाली गरिएका संरचना मात्र हटाएका हौँ ।”नगर प्रहरी प्रमुख थापाका अनुसार स्थानीय प्रशासन, जनप्रतिनिधि, नगर प्रहरी र सुरक्षाकर्मीको उपस्थितिमा उक्त अभियान सञ्चालन गरिएको हो ।

नगरपालिकाले विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्दै ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाका अनुसार शनिबार ७३ घरधुरीले होल्डिङ सेन्टरमा बस्नका लागि फाराम भरेका थिए । हाल ५४ परिवारका २०८ जना होल्डिङ सेन्टरमा बसिरहेका नगरपालिकाले जनाएको छ ।

नगर प्रहरी प्रमुख थापाले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान प्रक्रिया पनि सँगसँगै अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सबै नागरिक सुकुमवासी होइनन् । त्यसैले नगरपालिकाले वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुमवासीको पहिचान गर्न प्रक्रिया अघि बढाएको छ ।”नगरपालिकाका अनुसार गत वर्ष सो क्षेत्रमा बसोबास गर्ने ७५१ परिवारले आफूलाई भूमिहीन तथा सुकुमवासी भन्दै फाराम भरेका थिए ।

बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ। सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।

आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

काठमाडौँ। आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ ।

भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो ।महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो ।

गत चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गरी १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ भएको पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो ।कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदिक्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरी समूह अघि बढेको थियो । ४२ दिनमा तीर्थयात्रा पशुपति आइपुगेको हो ।

‘बृहत्–पाशुपत–परिक्रमा’ का सङ्कल्पकर्ता गिरिले पशुपति तत्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघुपरिक्रमा, मध्यमपरिक्रमा र बृहत्परिक्रमाका बारेमा उल्लेख गर्नुभएको थियो ।

पशुपतिनाथ विश्वका धार्मिक क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर वाग्मती तटमा विराजमान हुनुभएकाले यसको महत्व उजागर गर्नुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् ।

‘बृहत् पाशुपत पदयात्रा’ लाई भव्यताका साथ सम्पन्न गर्न ‘मूल आयोजक समिति’ र विभिन्न उपसमितिको समेत गठन गरिएको थियो । पशुपति आइपुगेपछि समूहले यस क्षेत्रका भुवनेश्वर, भष्मेश्वर, रुद्रगारेश्वरलगायत तीर्थस्थलमा विधिवत् पूजा, आराधना र रुद्राभिषेक पनि सम्पन्न गरेको जनाइएको छ ।आज (सोमबार) बिहान पशुपतिनाथ मूल मन्दिरसहित वाग्मती नदीमा पूजा, आराधना र अघ्र्यदान गरेपछि बृहत् पाशुपत पदयात्रा समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा। प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ ।भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ ।

त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीयस्थल महेन्द्र राजमार्गको विर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् ।

कचनकबललाई जोड्ने सडक हाल कालोपत्र भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्र सडक पुगिसकेको किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताउनुभयो ।

“काँकरभिट्टा, भद्रपुर, चारआली र विर्तामोड जताबाट आए पनि कालोपत्र सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्नुहुन्छ, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले किचकबध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्र पुर्याइने आशा गरेका छौँ ।”

किचकबध क्षेत्रको उत्खननबाट पुरातत्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । पुरातत्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आउनुभएका उद्धव आचार्यले बताउनुभयो ।

उहाँका अनुसार उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँचवटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् ।

विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ ।

यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिदै गएको हुँदा किचकबध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिनुभयो ।

नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्र सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।

“विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्नुहुन्छ, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँचमार्ग अहिले कालोपत्र भइसकेको छ ।”

उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । कचनकबल पुग्ने सडक कालोपत्र भएपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उहाँले जानकारी दिनुभयो ।

भ्रमणका लागि पुग्नु भएका विर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्र सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताउनुभयो ।महेन्द्र राजगार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीयस्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३२ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १९ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३२ पैसा र बिक्रीदर १० रुपैयाँ ३६ पैसा तोकिएको छ ।

हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भैरहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

लोघेकर दामोदरकुण्डद्वारा सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोग

मुस्ताङ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ ।जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम गर्दै सौर्य ऊर्जा प्रणालीमार्फत गाउँपालिकाको आर्थिक भार कम गराउने उद्देश्यले हरित सौर्य ऊर्जा प्रयोगमा ल्याएको हो ।

गाउँपालिकाले हरित ऊर्जा प्रयोगमा ल्याएसँगै हरित ऊर्जा घोषणा गर्ने तयारी गरेको छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षण तथा वातावरणीय प्रदूषणले मानव स्वास्थ्य असर पुग्ने र जलवायु परिवर्तनको असरले पारिस्थिति प्रणाली (इको सिस्टम) मा प्रभाव पार्ने भएकाले हरित ऊर्जा प्रविधि उपयोगी हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाद्वारा कार्यान्वयनमा ल्याइएको सौर्य ऊर्जा प्रविधिको हरित ऊर्जा विकासले पालिकाभित्रका नागरिकलाई सकारात्मक प्रभाव पार्ने गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गर्नुभयो ।

बढ्दो कार्बन उत्र्सजनलाई घटाउन यसप्रकारका प्रविधि उपयोगी हुने उहाँको बुझाइ छ । हरित ऊर्जा विकासका लागि गाउँपालिकाले पालिकालाई आवश्यक पर्ने सौर्य ऊर्जा क्षमता व्यवस्थापन गर्न बेट्री, सोलार प्यानललगायत आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ ।

यो प्रविधिबाट हरित ऊर्जा प्रयोगमा आएसँगै पालिकाभित्रका सबै प्रशासनिक शाखामा विद्युतीय कार्य गर्न हरित ऊर्जा प्रयोग गरिने अध्यक्ष विष्टले बताउनुभयो । हरित ऊर्जा प्रविधिको प्रयोगले गाउँपालिकाको कार्यसम्पादनलाई सहज र विश्वसनिय बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाले यो प्रविधिलाई पाँचवटै वडा कार्यालय र स्वास्थ्य संस्थामा पु¥याउने लक्ष्य लिएको छ । वातावरणीय जोखिम कम गर्दै दिगो विकासमा जोड दिने सरकारको दीर्घकालीन लक्ष्यअनुसार हरित सौर्य ऊर्जा प्रविधि जडान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी

लन्डन। सन् २०१८ मा रेकर्ड सुरु भएयता दुई लाखभन्दा बढी आप्रवासीहरू साना डुङ्गामा बेलायतको तटमा आइपुगेका हालै सार्वजनिक पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।

स्थानीय चुनावमा आप्रवासन लगायतका राष्ट्रिय मुद्दाहरूको प्रभुत्व बढेपछि यो गणना सुरू भएको बिहीबार आप्रवासन विरोधी पार्टी रिफर्म यूकेले जनाएको छ।

शनिबार प्रकाशित आन्तरिक प्रशासन कार्यालयको तथ्याङ्कले शुक्रबार एउटा डुङ्गामा ७० जना आइपुगेको देखाएको छ।

बेलायत पुग्ने आशा राखेका आप्रवासीहरूका लागि उत्तरी फ्रान्सेली तटबाट बेलायत प्रस्थान हुने गर्छ र सामान्यतया कमजोर र खचाखच भरिएको डुङ्गामा हुने यस्ता यात्राले मानवीय जीवनलाई जोखिममा पार्ने गरेको छ ।

शुक्रबार च्यानल पार गरी आएका आप्रवासीको सङ्ख्यासँगै हालको तथ्याङ्क सङ्कलन गर्न सुरु भएदेखि अहिलेसम्म कुल दुई लाख १३ जनाको आगमन भएको छ ।

सन् २०१८ देखि सन् २०२५ सम्मको सरकारको आधिकारिक तथ्याङ्क र यस वर्षको अहिलेसम्मको अस्थायी तथ्याङ्क प्रयोग गरेर यो तथ्याङ्क गणना गरिएको हो ।
लेबर पार्टीका प्रधानमन्त्री केइर स्टार्मरले यस मुद्दालाई लिएर बढ्दो दबाबको सामना गरिरहनुभएको छ।

उहाँका गृहमन्त्री शबाना महमुदले शरणार्थीहरूको सुरक्षामा कटौती गर्ने र शरण खोज्नेहरूको लागि स्वचालित सुविधाहरू अन्त्य गर्ने प्रस्ताव गर्नुभएको छ।

फ्रान्सेली र बेलायती स्रोतहरूको आधारमा एएफपीको तथ्याङ्कअनुसार सन् २०२५ मा समुद्रमा यात्रा गर्ने क्रममा कम्तिमा २९ आप्रवासीको मृत्यु भएको छ। यस वर्ष थप छ जनाको मृत्यु भएको छ।

बेलायत र फ्रान्सले गत महिना कागजात नभएका आप्रवासीहरूलाई जोखिमपूर्ण यात्रा रोक्ने प्रयासमा नयाँ तीन वर्षको सम्झौतामा सहमति जनाएका थिए । फ्रान्सले कानून प्रवर्तन बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो र बेलायतले यस प्रयासलाई आर्थिक सहयोग गर्न करोडौँ युरो दिने वाचा गरेको थियो।

गत वर्ष ४१ हजार ४७२ आप्रवासी उत्तरी फ्रान्सबाट बेलायतको दक्षिणी तटमा पुगेका थिए ।

सन् २०२२ मा कन्जरभेटिभ पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वकालमा ४५ हजार ७७४ आगमनको रेकर्ड गरिएको छ । उहाँले आफू सत्तामा हुँदा आप्रवासीका ‘डुङ्गा प्रवेशलाई रोक्ने’ वाचा गर्नुभएको थियो ।

आफ्नै ‘गिरोहहरू तोड्नुहोस्’ भन्ने नारालाई अवलम्बन गर्दै स्टार्मरले समुद्र पारमा चलिरहेका मानव तस्करी नेटवर्कहरू भत्काएर समस्याको समाधान गर्ने प्रतिज्ञा गर्नुभएको थियो । उहाँले अहिलेसम्म उहाँका पूर्ववर्तीहरूले भन्दा बढी सफलता पाउनुभएको छैन ।

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा, मोरङलगायत जिल्लाबाट अवैध लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका-५ बाट एक, कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटबाट एक, जानकी गाउँपालिका-१ गुजरूवा चौराहबाट एक, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट एक जना पक्राउ परेका छन् । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ बडैपुरबाट एक, पुनर्वास नगरपालिका-४ घगाउँबाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-५ बाट एक, पर्साको वीरगञ्ज महानगरपालिका-१६ बाट पाँच, झापाको भद्रपुर नगरपालिका-८ बाट दुई, कनकाई नगरपालिका-३ सुरूङगा बजारबाट एक, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट एक जना अवैध लागुऔषसहित पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका-६ नमूनाटोलबाट एक, महोत्तरीको बर्दिवास नगरपालिका-१ बाट एक, सुनसरीको धरान उपमहानगरपालिका-१६ गणेशमान चोकबाट दुई र बर्दियाको बाँसगढी नगरपालिका-५ बाँसगढीबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही वैशाख २८ गतेदेखि आगामी जेठ ३ गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासङ्घले आफ्नो ऐक्यबद्धता जनाएको हो ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

महासङ्घले मन्त्रालयको परिपत्रअनुसार आफ्ना सदस्य उद्योग वाणिज्य सङ्घहरू, वस्तुगत सङ्घ र आबद्ध व्यवसायीलाई सम्पूर्ण उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा बिक्रेताहरूलाई आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्य सूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न आग्रहसमेत गरेको छ ।

महासङघले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घलाई आ-आफ्नो क्षेत्रका बजारमा मूल्यसूची राखिए/नराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी-व्यवसायीलाई सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरेको छ ।

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै

गण्डकी। बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँच वटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ ।

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने समस्या देखिएपछि सङ्घीय बजेटबाट करिब रु ६० लाखको लागतमा मर्मत गर्न लागिएको हो ।

बेगनास सिँचाइ प्रणाली मूल उपभोक्ता समितिका अध्यक्ष राजुु खत्रीले यस सिँचाइ प्रणालीअन्तर्गत यहाँका करिब एक हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिरहेको जानकारी दिनुभयो । नहरको मर्मतसम्भारका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै उहाँले अघिल्लो वर्ष बजेट प्राप्त नभएको बताउनुभयो ।

पाँचवटै शाखाअन्तर्गतका नहरबाट ढुुङ्गेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको छ ।

यो प्रणाली सञ्चालनमा आएपछि यस क्षेत्रमा वर्षातसँगै हिउँदको समयमा खेती गर्न सकिने गरी सिँचाइ पुगेको बेगनास सिँचाइ प्रणाली शाखाका-२ का अध्यक्ष शिबबहादुर थापाले बताउनुभयो ।

सहज सिँचाइ सुविधा पुगेकाले किसानलाई सहज हुनुका साथै उत्पादनमा महत्वपूर्ण टेवा पुगिरहेको उहाँको भनाइ छ ।

संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल

काठमाडौँ। संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ ।

‘फेडरालिजम एण्ड लोकलाइजेशन सेन्टर’ले आज यहाँ आयोजना गरेको ‘संविधान संशोधनमा सङ्घीयता र प्रदेश संरचनाको सवाल’ विषयक छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संसोधन कार्यदलसँग राजनीतिक दलका नेता तथा विज्ञहरुबीच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा संविधान संसोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुला रुपमा छलफल गरेर संसोधनको मस्यौदा तयार पारिने बताउनुभयो ।

प्रदेशसभा सदस्यको सङ्ख्या र मन्त्रालयको सङ्ख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न एवं सच्याउन सकिने उहाँको भनाइ थियो । केही संवैधानिक आयोगलाई जोडेर छाता आयोग बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कार्यदल सदस्य देवप्रसाद गुरुङले समय अनुसार सुधार गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै के संसोधन गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति आवश्यक भएकामा जोड दिनुभयो । राष्ट्रिय सहमति बिना संविधान संशोधन गर्ने कुरा सजिलो नभएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता तथा संविधानविद् राधेश्याम अधिकारीले सङ्घीयता विकेन्द्रीकरण मात्रै नभएर शक्ति बाँडफाँट पनि हो भन्दै लामो समयदेखि अधिकांश समय देशको शासकीय स्वरुप केन्द्रीकृत भएकाले हाम्रो मानसिकता पनि मूलरुपमा केन्द्रीकृत भएको बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपाल जस्तो देशमा जोखीमपूर्ण हुनसक्ने बताउनुभयो ।

नेकपा (एमाले) का नेता तथा संविधान संशोधन कार्यदलका सदस्य डा भीष्मराज अधिकारीले सरकार के के विषयमा संविधान संशोधन गर्न चाहन्छ भन्ने कुरा स्पष्ट नभएको बताउनुभयो । सङ्घीयता बलियो बनाउँदा देश बलियो हुने उहाँको भनाइ थियो ।

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता मधेस प्रदेशको दबाबमा आएको भन्दै यसलाई सुरुआतदेखि नै कमजोर र अधिकारबिहीन बनाइएको आरोप लगाउनुभयो ।

बागमती प्रदेशका पूर्वमन्त्री तथा आदिवासी जनजाति महासङ्घका अध्यक्ष नीमा ह्योल्मो लामाले आदिवासी जनजातिका मुद्दा संबोधन हुनुपर्ने र सङ्घीयताको मूल मर्म नै प्रदेश संरचना भएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, लुम्बिनी प्रदेशसभा सदस्य नीमा गिरी, बागमती प्रदेश नीति योजना आयोगका पूर्वउपाध्यक्ष तथा भूमि विज्ञ डा जगत बस्नेत, बरिष्ठ अधिवक्ता तथा मधेस प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो, कर्णाली प्रदेश नीति योजना आयोगका पूर्वसदस्य डा दीपेन्द्र रोकाया, लेखक ईन्दु थारुलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका-५ का ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१७ का ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्तसहित नौ जनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका-१ का ५० वर्षीय श्यामकुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमारसहित आठ जनालाई प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

काठमाडाैँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आज भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले ५३ बुँदे सुझाव प्रस्ताव गर्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि लगानी गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले अघि सार्न लागेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिलका लागि निजी क्षेत्रले योगदान गर्न तयार रहेका बताउँदै अध्यक्ष कार्कीले सोहीअनुसार नीति तथा कार्यक्रम र बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउनुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापार प्रसारण लाइनमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

इप्पानका अध्यक्ष कार्कीले धितोपत्र बोर्डबाट समयमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्नुपर्ने, आयोजनालाई शान्तिसुरक्षाको व्यवस्था गर्नुपर्नेलगायत विषयमा सरकारले नीतिगत र कानुनीगत रूपमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री डा वाग्लेले अर्थतन्त्रमा विद्युत् क्षेत्रको योगदान बढ्दै गएकाले सरकारले पनि अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्ने सरकारको योजना रहेको बताउँदै यसमा साथ दिन आग्रह गर्नुभयो । “सरकार ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउने पक्षमा छ । यसको अर्थतन्त्रमा योगदान बढ्दो छ, अर्थतन्त्र हाँक्ने क्षेत्र बनाउने गरी नीति पनि बनाउँछौँ”, उहाँले भन्नुभयो ।

लगानीकर्ताको साथ सरकार चाहने र लगानीकर्ताले पनि उच्च व्यावसायिक र इमान्दारिताका साथ लगानी भएको क्षेत्र ऊर्जा हो भन्ने देखिने गरी अघि बढ्नुपर्नेमा अर्थमन्त्री वाग्लेले स्पष्ट पार्नुभयो ।

इप्पानको सुझावमा नेपाल ऊर्जा विकास तथा उपभोग अभिवृद्धिको दशक घोषणासहित सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्यलाई साकार पार्न विद्युत् खरिद-बिक्रीका अन्य विकल्प कार्यान्वयन गर्नुपर्ने भेटर्वाता कार्यक्रममा सहभागीले बताएका छन् ।

कार्यान्वयनमा नआउँदासम्म आन्तरिक माग र अन्तरदेशीय विद्युत् बजारको मागलाई मध्यनजर गर्दै पिपिए गर्नुपर्ने, विद्युत् उत्पादक कम्पनीले स्वदेशमा उत्पादन गरेको विद्युत् खरिदका साथै छिमेकी देशबाट विद्युत् आयातका लागि हालसम्म चलिरहेको एकल क्रेता प्रणालीलाई अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताउनुभयो ।

“सरकारले निकै द्रूत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दैछ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?” सभापति लामिछानेले प्रश्न गर्नुभयो । जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएको विषयलाई राजनीतिक हतियार बनाउनु गलत भएको बताउनुभयो । “तीसौँ वर्षदेखि खोलाको छेउमा दुर्गन्ध र अस्वस्थता तथा असुरक्षाका बीच नागरिकले रात काटेको विषयमा त्यति धेरै चिन्ता भएन, तर त्यसलाई व्यवस्थित ढङ्गबाट समाधान गर्न सरकारले चालेको कदमका बारेमा असंवेदनशील भएर टिप्पणी गरिनु न्यायसङ्गत भएन”, उहाँले भन्नुभयो ।

भोटका लागि राजनीति गर्ने युगबाट सम्पूर्ण राजनीतिक दल बाहिर निस्कनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सत्ता पक्ष र प्रतिपक्ष विभाजित हुन नहिुने बताउनुभयो । “नदी किनारमा, ढल बगेको ठाउँमा, प्रदूषणको सामुन्ने ३०औँ वर्ष बिताउँदा कति नागरिकको अल्पायूमै ज्यान गयो होला र कतिको भविष्य अन्धकार भयो होला ? आज त्यसका बारेमा चासो दिइयो ?”, उहाँले प्रश्न गर्नुभयो ।

सभापति लामिछानले सीमित स्रोत साधनका बाबजुद विपद् व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरिरहेका निकायको क्षमतालाई एकीकृत गरेर क्षति कम गर्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका महामन्त्री एवं पार्टी–संसद्–सरकार समन्वय परिषद्का संयोजक भूपदेव शाहले बर्सेनि प्राकृतिक विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न सघाउ पु¥याउने उद्देश्यले नीति मन्थन आयोजना गरिएको बताउनुभयो ।

“पार्टी, संसद् र सरकारबीच आवश्यक समन्वय नभएको अवस्थामा नीति एकातिर र नियती अर्कातिर हुन्छ”, उहाँले भन्नुभयो, “आजको नीति मन्थलले यी तीन निकायबीचको समन्वयलाई थप कसिलो बनाउनेछ ।”

छलफलबाट आएका निष्कर्ष र सुझाव सांसदहरुका लागि प्रमाण, मन्त्रीका लागि कार्ययोजना बनाउने मार्गचित्र बन्ने महामन्त्री शाहको भनाइ थियो । “विपद् आउँदा हारगुहार गर्ने प्रवृत्तिलाई पूर्वसतर्कता र पूर्वतयारीमा बदल्नुपर्छ”, उहाँले भन्नुभयो, “रास्वपाले आफ्नो साङ्गठनिक संरचनालाई निर्वाचन जित्न मात्रै नभई सङ्कटमा नागरिकको सारथी बन्नका लागि तयार पारेको हो ।”पार्टीमा आबद्ध स्वयंसेवकलाई विपद्का समयमा उद्धार र राहतका लागि स्थानीयस्तरमै परिचालन हुन सक्ने गरी प्रशिक्षित बनाइने उल्लेख गर्दै संयोजक शाहले सूचना प्रवाह र सञ्चारमा स्थानीय संयन्त्रले पूर्वचेतावनी प्रणालीका रुपमा काम गर्ने बताउनुभयो ।

छलफलबाट प्राप्त हुने सुझावका आधारमा आगामी मनसुनमा बाढीपहिरो र सरुवा रोगबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारलाई रचनात्मक सहयोग गर्ने उहाँको भनाइ थियो ।

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनुभएको छ।शनिबार मस्कोमा भएको सैन्य प्रदर्शनमा नेता पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको ‘आक्रामक शक्ति’ सँग लडिरहेको बताउनुभएको थियो । उहाँले आफ्नो युद्ध लक्ष्यलाई ‘न्यायपूर्ण’ कदमका रूपमा उल्लेख गर्नुभएको छ ।

रुसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झनालाई आफ्नो २५ वर्षे शासनको ‘केन्द्रीय कथा’ बनाउनुभएको छ र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गर्नुभएको छ।

रूसी अधिकारीहरूले सामान्यतया विजय दिवस प्रदर्शनलाई धूमधाम र भव्यताका साथ मनाउँछन्। हालैका हप्ताहरूमा युक्रेनी लामो दूरीका आक्रमणहरूको एक श्रृङ्खलाले क्रेमलिनलाई सुरक्षा उपायहरू बढाउन र यस वर्षको उत्सवलाई कम गर्न प्रेरित गरेको पाइएको छ।सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनेर सोधिएको प्रश्नमा पुटिनले भन्नुभयो, “उनीहरूले रूससँगको टकरावलाई बढावा दिन थाले, जुन आजसम्म जारी छ।”

उहाँले भन्नुभयो, “मलाई लाग्छ कि यो द्वन्द्व समाप्त हुँदैछ तर यो अझै पनि गम्भीर विषय हो।”उहाँले अगाडी भन्नुभयो, “उनीहरूले रुसको ठूलो हार र रूस पतनको प्रतीक्षामा महिनौँ बिताए। यसले काम गरेन।”

पुटिनले पश्चिमी देशहरूलाई सङ्केत गर्दै भन्नुभयो, “युक्रेनलाई सहयोग गर्ने बहानामा उनीहरूले रूसविरूद्धको जनमत सिर्जना गर्ने प्रयास गरे तर उनीहरू अफ्ठेरोमा गएर फसेका छन् । अब उनीहरू यसबाट बाहिर निस्कन सक्दैनन्।”

पुटिनले सम्भावित शान्ति सम्झौताका लागि सबै सर्तहरू टुङ्गो लागेपछि मात्र तेस्रो देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न आफू तयार रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “यो सहमतिको अन्तिम बिन्दु हुनुपर्छ, वार्ता आफैँमा होइन।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत शुक्रबार रुस र युक्रेनबीच शनिबारदेखि तीन दिने युद्धविराम लागू हुने घोषणा गर्नुभएको थियो ।

मस्को र किएभले एक अर्कामाथि युद्धविरामका सर्त उल्लङ्घनको आरोप लगाएका छन्, तर कुनै ठूलो आक्रमणको रिपोर्ट गरिएको छैन । यद्यपि, यो अवधिमा पनि छिटफुट ड्रोन गतिविधि जारी छन् र दुबै पक्षका नागरिक हताहत भएका खबरहरू आएका छन् ।

“आशा छ, यो निकै लामो, घातक र कडा सङ्घर्षपूर्ण युद्धको अन्त्यको सुरुवात हो,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा पोस्ट गरेको एक सन्देशमा भनिएको छ।

क्रेमलिनले युद्धविरामलाई लम्ब्याउने कुनै योजना नरहेको जनाएको छ । युद्धरत पक्षहरू युद्धविरामको क्रममा एक हजार कैदीहरू साटासाट गर्न पनि सहमत भएका छन् । पुटिनले शनिबार भन्नुभयो, रुसले अहिलेसम्म युक्रेनबाट कुनै प्रस्ताव प्राप्त गरेको छैन।” (रासस/एएफपी):

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

रौतहट। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ ।जिल्लाको चन्द्रपुर—२ टेम्पुपार्कमा आज आयोजित कोणसभामा उहाँले वर्षौंदेखि समस्याका रूपमा रहेका समस्या समाधान गर्दै सुकुमवासीको आवासको हकलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्नुभयो ।

अध्यक्ष घिसिङले संविधानप्रदत्त शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षालगायत मौलिक हक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । “वर्षौंदेखि सुकुमवासी, अव्यवस्थित बसोबासी, भूमिहिन नागरिकका समस्या समाधान भइहरेका छैनन् । एउटा दीर्घकालीन योजना बनाएर अगाडि बढौँ । ऐलानी जमिनमा बसोबास गदै आइरहेका नागरिकका समस्या पनि कानुनी रूपले समाधान गरौँ”, उहाँले भन्नुभयो ।

यहाँ चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक जग्गा, राजमार्ग, बजार क्षेत्र, राजकुलोलगायत सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घरटहरालगायत संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ ।नगरपालिकामा दुई हजार ११९ परिवार भूमिहीन दलित, चार हजार ८६६ भूमिहीन सुकुमवासी र ११ हजार ७९५ परिवार अव्यस्थित बासोबासी रहेका जिल्लास्थित भूमि समस्या समाधान आयोगले जनाएको छ ।

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित चेकजाँच, सचेतनामूलक अभियान, ट्राफिक नियम पालनामा कडाइ गरिनाका साथै नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको जानकारी दिए । उनका अनुसार चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले एउटै कसुरमा पटकपटक संलग्न हुने चालकमाथि थप कडाइ गरिएको बताउँदै पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइएको जानकारी दिए । हालसम्म ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको उनले बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र चार हजार ६३१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १७४ जनाले ज्यान गुमाएका छन् भने १८६ जना गम्भीर घाइते भएका छन् । साथै चार हजार ९२७ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन मिच्ने, रातोबत्ती उल्लङ्घन गर्नेलगायत कारण दुर्घटनाको जोखिम बढिरहेको जनाएको छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक चेकिङ अभियानका क्रममा तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २३ हजार ४८, रातोबत्तीको नियम उल्लङ्घन गर्ने २८ हजार ३०८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२, लेनक्रस गर्ने २३ हजार ९८४, सवारीको स्वरुप परिवर्तन गर्ने एक हजार ४५०, भाडा बढी असुल्ने ८९०, लागु पदार्थ सेवन (लापसे) १२४, यान्त्रिक अवस्था ठिक नभएका सवारी दुई हजार ८३१, मोड्न निषेध उल्लङ्घन गर्ने ३७ हजार ४७२, हर्न निषेधमा छ हजार २५७, डबल चालक ३५०, सवारीचालक अनुमतिपत्रबिना सवारी चलाउने १० हजार ४८९ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौँ । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज उनकै कार्यकक्षमा भेटेर परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहितको टोलीले आव २०८३/८४ को बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो ।

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउनुपर्ने, अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसङ्घले जनाएको छ।

उद्योग तथा लगानी, प्रत्यक्ष विदेशी लगानी, कर नीति तथा प्रणाली, भन्सार, पर्यटन, कृषि, जडिबुटी तथा वनपैदावार, ऊर्जा, सूचना प्रविधि क्षेत्र, बैकिङ्ग तथा वित्त, बीमा, सहकारी तथा पुँजीबजार, स्वदेशी उत्पादन प्रवद्र्धन, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा, गैर कर, राजश्व चुहावट तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित क्षेत्रगत रुपमा बजेट सुझाव दिएको छ।

उद्योगलाई पहिलो प्राथमिकतामा राखी नीतिगत सुधार गर्दै यस्ता नीतिहरूको न्यूनतम १० वर्ष स्थायित्व सुनिश्चित गर्न, प्रतिस्पर्धी क्षमता भएका वस्तु केन्द्रित औद्योगिक विकास रणनीति बनाई लागू गर्न, रोजगारी, उत्पादन र आयात प्रतिस्थापनलाई केन्द्रमा राखि बजेट ल्याउन आग्रह गरिएको जनाइएको छ।

परिसङ्घले जारी गरेको विज्ञप्तिअनुसार कर प्रणालीलाई सरल, एकीकृत र सीमित प्रकारको बनाउन, भ्याट, आयकर र अन्तःशुल्कमा आवश्यक व्याख्यात्मंक टिप्पणी सहित स्पष्ट बनाउन, एकल व्यक्तिको व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख गरी आयकरको दर घटाउने आग्रह गरिएको छ।

जोखिममा आधारित अडिट प्रणाली लागू गर्न, कर विवाद समाधान, एड्भान्स रुलिङ, कर प्रशासनलाई डिजिटल बनाइनुपर्ने,चोरी पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायहरूबीच समन्वय सुदृढ गरिनुपर्ने र आयातित वस्तुका लागि न्युनतम गुणस्तर मापदण्ड लागू गरिनुपर्ने सुझाव दिइएको छ।

ठुला पूर्वाधारका परियोजनाहरूमा निजी क्षेत्रलाई आकर्षित गर्ने नीति लिन, उद्योगको स्वीकृत परियोजनाअनुसार आवश्यक जग्गामा हदबन्दी नलाग्ने व्यवस्था गरी अतिरिक्त जग्गा धितो राख्न र उद्योगलाई बिक्री गर्न पाउने नीति लागू गर्न, उद्योग व्यवसायले सरकारको कुनै निकायमा भुक्तान गर्न बाँकी रहेको रकम र सरकारले सो उद्योगलाई भुक्तान वा फिर्ता गर्न बाँकी रहेको रकम हिसाब मिलान गर्न पाउने नीतिगत व्यवस्था गर्न परिसङ्घले सुझाएको छ।

सुझाव ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले विकासका लागि निजी क्षेत्रको पूँजी आवश्यक रहेको बताए । उनले कानुनी सुधार, कर प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै सम्पत्ति आर्जन गर्ने विषयलाई हेरिनुपर्ने बताए।

निजी क्षेत्रको लगानी बिना विकास सम्भव छैन भन्ने विषयमा सरकार प्रष्ट रहेको भन्नुहुँदै उहाँले पूर्वाधारमा निजी क्षेत्रको लगानी आउनुपर्ने बताउनुभएको विज्ञप्तिमा उल्लेख छ।

श्रीलङ्कामा बिजुली महसुल वृद्धि

पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ ।

सार्वजनिक उपयोगिता आयोगका अनुसार सोमबारदेखि लागू हुने नयाँ दरअनुसार मासिक १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले १८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ । सोभन्दा कम खपत गर्ने उपभोक्तामा भने तत्काल असर पर्ने छैन ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार यो वृद्धि उद्योग, होटल, व्यवसाय, सरकारी कार्यालय तथा धार्मिक संस्थाहरूमा लागू हुनेछ ।

यो निर्णय पछिल्ला केही महिनामा गरिएको ऊर्जा सम्बन्धी श्रृङ्खलाबद्ध वृद्धि पछिको अर्को कदम हो । गत महिना मात्र पनि बिजुली महसुल ४० प्रतिशतले बढाइएको थियो ।

ऊर्जा आपूर्तिमा अवरोधका कारण श्रीलङ्काले इन्धन मूल्य ३५ प्रतिशतभन्दा बढीले बढाएको छ र केही क्षेत्रमा राशनिङ समेत लागू गरेको छ ।

सरकारी तथ्याङ्कअनुसार महँगाइ बढेर अप्रिलमा ५.४ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौँ । राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ।

आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक, खुलालु–सल्लिसल्ला सडक र सोअन्तर्गतका छ वटा पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा–सिमकोट) सडक, लेले भारदेव–चन्दपुर ठूला दुर्लुङ सडक, भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे–धो) रिम्ना सडक खण्डका १४ वटा पुल, रोल्पास्थित सहिद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो।

भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि रु नौ अर्ब ९० करोड प्रस्ताव भएको थियो । शहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न ५३ आयोजनाका लागि पनि रु तीन अर्ब ८१ करोड सात लाख बहुवर्षीय स्रोत सहमतिका लागि सिफरिस गरिएको छ।

आयोगले नरदेवीस्थित आयुर्वेद चिकित्सालय (ब्लक बी), लगनखेलस्थित मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधासहितको १०० शय्याका आयुर्वेद अस्पताल भवन निर्माणका लगि सुरु विनियोजन रकमको चार गुणाभन्दा बढी नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिस गरेको छ।

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँ : सभापति लामिछाने

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज उहाँले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेभन्दा कानुन बनाउने जिम्मेवारी लाग्न निर्देशनसमेत दिए ।

सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रष्ट पारे । “सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन”, उनले भने, “कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौँ । हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौँ ।”

सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौँ भनेर नसोच्न सांसदहरूलाई आग्रह गरे । उनले विगतमा अन्य राजनीतिक दलले अनवरत सङ्घर्ष गरेर परिवर्तन ल्याएको उल्लेख गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

“विगतमा दलहरूले अनवरत सङ्घर्ष गरेर एकतन्त्रीय शासन ढालेका हुन्, जीवन जोखिममा राखेर परिवर्तनको यात्रामा होमिएका पार्टीहरूसँग केही असहमति भए पनि हामीले उहाँहरू जस्तो धेरै सङ्घर्ष गर्नुपरेको छैन”, उनले भने, “हिजो व्यवस्था बदलियो तर अवस्था नबदलिएकाले जनताले हामीलाई पत्याएका हुन् । विभिन्न राजनीतिक दलमा आस्थावानहरूले आफ्नो दल छोडेर हामीलाई मत दिएका छन्, त्यसैले कसैको मानमर्दन गर्नुहुँदैन ।”

सभापति लामिछानेले आमनागरिक, समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिए । “हामी जीवनी लेख्ने यात्रामा हैन, इतिहास लेख्न हिँडेका हौँ । त्यसैले पार्टीमा योगदानको मूल्य माग्ने बेला भएको छैन । अब सबै मिलेर अवस्था बदल्ने क्रान्तिमा लागौँ”, उनले भने ।

सभापति लामिछानेले सबै सुकुमवासी र भूमिहीनलाई सरकारले अधिकार दिने बताए । “हामीले चुनावमा गरेका वाचाअनुसार काम गर्छौं । सुकुमवासी समस्यालाई उच्चस्तरीय आयोग बनाएर स्थायी समाधान गर्छौं ।संविधानको मर्मअनुसार सबैका अधिकार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ”, उनले भने ।

सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताए । उनले सरकार बजेट बनाउन व्यस्त रहेको र त्यसलाई उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिए । उनले सिङ्गै देश हाम्रो निर्वाचन क्षेत्र हो भन्ने ठानेर राज्यको सामर्थ्य बढाउने गरी काम गरिने धारणा राखे ।

सभापति लामिछानेले सरकारले आमजनमानसमा सकारात्मक सन्देश दिने गरी काम गरिरहेको र सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने गरी खबरदारी सधैँ अपेक्षित रहेको बताए ।

‘स्थानीयस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गरिने’ – मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा स्थानीयस्तरमा क्रिकेटको विकास गर्दै खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल क्रिकेट सङ्घद्वारा आइतबार विराटनगरमा आयोजित दुई दिने वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले प्रदेशका नौ स्थानमा आधारभूत तहदेखि क्रिकेट खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारले प्रदेश सरकारलाई विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रङ्गशाला हस्तान्तरण गरेमा आगामी दुई वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक रङ्गशाला निर्माण गरी सञ्चालनमा ल्याउने उल्लेख गरे।

उनले मेची रङ्गशालामा प्रदेश सरकारले अन्तरराष्ट्रिस्तरको प्रतियोगिता सञ्चालन गर्नका लागि रातो किताबमा बजेटको व्यवस्था गर्ने जानकारी दिँदै सो रङ्गशालामा रात्रिखेलका लागि ‘फ्लडलाइट’ जडानका गरिने बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशमा क्रिकेटको विकास गर्दै सक्षम खेलाडी उत्पादनका लागि नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा प्रदेश सरकारलाई जोड्न क्रिकेट सङ्घलाई आग्रह गर्दै सो प्रतियोगिताको प्रथम पुरस्कारको व्यवस्था गर्ने तथा विराटनगर किङ्गसको नाम परिवर्तन गरी ‘कोशी अर्नाज’ राख्न सुझाव दिए।

उनले भने, “विकास भनेको पुलपुलेसा र सडक मात्र नभएर खेलकुदको माध्यमबाट जीवनस्तर सुधार गर्नु, मुलुकमा रोजगारी सिर्जना गर्नु तथा स्थानीयको आयआर्जन बढाउँदै आर्थिक गतिविधि चलायमान बनाउनु पनि हो ।”

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङथेपले क्रिकेटको माध्यमबाट नेपालको पहिचान विश्वमा पुगेको बताउँदै यस खेलको भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले प्रदेश खेलकुद विकास बोर्डमा उपाध्यक्ष र सदस्यसचिव नियुक्ति नहुनाले खेलुकुदका लागि बजेट छुट्याउन समस्या भएको धारणा राखे।

चितवनमा विवाहको भोज खाँदा ९३ जना बिरामी, ५० जना विभिन्न अस्पतालमा उपचाररत

चितवनको भरतपुरमा विवाहको भोज खाँदा ९३ जना बिरामी परेका छन् । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई ९३ जना बिरामी परेका हुन् । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेको र बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी जानकारी गराएका छन् ।

घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी पुरा, सभापति थापा सुर्खेत जाँदै

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ । भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली जाने कार्यक्रम रहेको छ ।

शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सोमबार र मंगलबार सुर्खेतमा आयोजना गर्न लागेको हो ।नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले भेलाको तयारी तीब्र रुपमा भई रहेको जानकारी दिए ।

कार्यक्रममा केन्द्रीय सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए । ‘नेपाली कांग्रेसबाट विजयी सबै तहका जनप्रतिनिधी, पार्टीका सबै तहका सभापति, प्रदेशका पदाधिकारी र सदस्यहरु, कर्णालीका केन्द्रीय सदस्यहरु भेलामा सहभागि हुनुहुनेछ’ उनले भने, ‘भेलाको व्यापक तयारी भइरहेको छ ।

नेपाली कांग्रेस कर्णालीका केन्द्रीय सदस्यहरु, प्रदेशका सभापति र पदाधिकारीहरु, प्रदेश संसदीय दलका नेता र सुर्खेत जिल्लाका पदाधिकारीसहितको बैठकले भेलाको व्यवस्थापकीय तयारी गरेको उनले बताए । बिशेष महाधिवेशन पछि प्रतिनिधीसभाको चुनावी आमसभा भन्दा पछि सभापति थापा लगायतका पदाधिकारी पहलिो पटक कर्णाली आउन लागेका हुन् । भेलाले प्रतिनिधी सभा निर्वाचनको समीक्षा र भावी रणनीतिहरुका लागि व्यापक छलफल गर्ने जनाएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ५०, मकैबोडी प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १६०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु ६५, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु १००, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १९०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ५३०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन २२०, कागती प्रतिकेजी ४००, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८५, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी (सुकेको) प्रतिकेजी रु १६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ। यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अबरुद्ध भएको छ ।

उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाईएको प्रहरीले जनाएको छ ।

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

काठमाडौँ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ ।

नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी किनारमा रहेका सुकुमवासी बस्तीलाई यही वैशाख १२ गतेदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको थियो । स्थानान्तरण भएकालाई विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ ।

समितिले शनिबार भक्तपुरस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरको अवलोकन गरेको र क्रमशः अन्य क्षेत्रमा पनि अवलोकन गरिने समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो ।

उहाँले होल्डिङ सेन्टरमा रहेका कमीकमजोरी, सेवा व्यवस्थापनको अवस्था तथा आगामी दिनमा आवश्यक सुधारका विषयमा समितिले सामूहिक रूपमा छलफल गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र धारणा प्रस्तुत गर्ने बताउनुभयो ।

समितिले मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन गर्नका लागि सरोकारवाला निकायलाई आवश्यक सल्लाह, सुझाव तथा निर्देशनका साथै कानुन र न्यायका क्षेत्रमा सकारात्मक सुधार गरी लोककल्याणकारी राज्य र कानुनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक सुझाव एवं निर्देशन दिँदै आएको छ ।

नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार, मानवताको आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तरराष्ट्रिय मानव अधिकारका आधारभूत मान्यताको पालना गरेर गरिब, विपन्न तथा सुकुमवासी समुदायमाथि सम्मानजनक व्यवहार गर्न समितिको यसअघिको बैठकमा सदस्यबाट धारणा व्यक्त भएको थियो । सरकारले गरिरहेको भूमिहीनको एकीकृत डिजिटल लगत सङ्कलन कार्यबारे पनि समितिले अध्ययन र सहजीकरण गर्नेछ ।

सप्तरीमा आगलागीबाट १२ घरगोठ जले , ४५ लाखभन्दा बढीको धनमालको नष्ट

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारको वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक/एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब रु ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने छ ।

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा। भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन्।

प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।

उनले एक सातायता भारतको आसामबाट आएका लगभग १०० को सङ्ख्यामा रहेका हात्तीको बथान दिनभर सीमापारिको जङ्गलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलग्गिएर ३० देखि ४० को सङ्ख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको जानकारी दिए।

हात्तीको बथान नेपाल प्रवेश गर्न नदिने उपाय खोज्न हालै सर्वपक्षीय बैठक आयोजना गरिएको थियो । सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्ने, साँझ ६ः०० बजेपछि हात्ती हेर्ने निहुँमा प्रवेश नाकाहरुमा सर्वसाधारणलाई जान रोक लगाउने, प्रभावित क्षेत्रका आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्रयाक्टर परिचालन गर्ने, ट्रयाक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिँडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्नेलगायत निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुनडाँगीको सीमावर्ती तीन वटा वडामा लगाइएको १८ किलोमिटर लामो सौर्य तारबारको आवश्यक मर्मतसम्भारका लागि प्रक्रिया अघि बढिरहेको बताए।

एकदशकअघि जडान गरिएको उक्त विद्युतीय तारबारमा प्रयोग भएका अधिकांश ब्याट्री फेर्नुपर्ने अवस्था रहेको हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाको रु ३० लाख बजेटमा सीमाको सौर्य तारबार मर्मत गरिने उनले जानकारी दिए।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका पूर्वअध्यक्ष निरज घिमिरे नेपालमा बाली पाक्ने बेलामा भारतबाट सयौँको हुलमा भित्रिने हात्तीका कारण बर्सेनि जनधनको क्षति दोहोरिने गरेको बताउछन्। उनले भारत सरकारको सम्बद्ध निकायसँग उच्चस्तरीय वार्ता गरेर हात्तीको बथान रोकिनुपर्ने माग गरे।

यसपाली आएका हात्तीले पाक्न लागेको मकैबाली खाएर सखाप गरेको र सुपारीको बोट भाँचेर सोत्तर पारेको छ। केही महिनाभित्रै हात्तीले बाहुनडाँगीमा तीन जनालाई आक्रमण गरेर घाइते बनाएको र १५ वटा घरमा क्षति पुर्याएको स्थानीय गोपी रिजालले बताए।

उनले सीमा क्षेत्रमा जडान गरिएको सौर्य तारबारको ब्याट्री चोरी भएकाले नयाँ ब्याट्री फेर्नुपर्ने माग गरे।

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात पारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको हो ।गुजरातका लागि शुभमन गिलले ८४ रन बनाए । साई सुदर्शनले ५५ रन बनाए ।

यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए । गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए । यस्तै, जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट लिए ।

गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १५२ रन मात्र बनायो ।राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए । यस्तै, वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४, दसुन शनकले १६ तथा शुभम् दुवेले १५ रन जोडे ।यो जितसँगै गुजरात टाइटन्स ११ खेलबाट १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर

काठमाडौँ। आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा रहेको छ । अमेरिकी डलर र युरोपियन युरोको विनिमयदर शनिबार पनि आजकै जति थियो ।

त्यसैगरी आजको युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७६ पैसा र बिक्रीदर २३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्य

कञ्चनपुर। पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् ।

सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन् । फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् ।

तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्तकमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ । कृष्णपुर नगरपालिका–२ का नीरज राना विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहनुभएको छ ।

राजमार्ग किनारमै व्यापार गर्दै आउनुभएका रानाका अधिकांश ग्राहक सवारी चालक र यात्री हुन् । बिहानदेखि साँझसम्म सडक छेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको उहाँ बताउनुहुन्छ । राना मुक्तकमैया बस्तीमा बस्नुहुन्छ । सरकारले करिब तीन दशकअघि पुनःस्थापनाका क्रममा उहाँलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर रानाको परिवार बस्दै आएको छ ।

माघ महिनादेखि उहाँ वनहरा नदी किनारमा बगरखेती गर्नुहुन्छ । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घर नजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ । “दैनिक पाँच हजार रुपैयाँ जतिको बिक्री हुन्छ”, रानाले भन्नुभयो, “सिजनभरिमा रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।”

वनहरा मुक्तकमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगरखेतीमा संलग्न छन् । नदीकिनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् ।

स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत लिजमा लिएर खेती गर्दै आउनुभएको छ । यस वर्ष उहाँले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, तोरैयाँ र करेला लगाउनुभएको छ ।

“गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो”, उहाँले भन्नुभयो, “त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु । सिजनमा रु पाँच लाखसम्मको बिक्री हुन्छ, जसबाट रु दुई लाखदेखि रु तीन लाखसम्म बचत हुन्छ ।” उहाँका अनुसार खेती नै परिवारको मुख्य आयस्रोतका रूपमा रहेको छ । “अरू गरिखाने आधार छैन”, उहाँले भन्नुभयो, “यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।”

सडक किनारमा तरबुजा प्रतिकिलो रु २५, काँक्रा ४०, तोरैयाँ ६० र तितेकरेला रु ५० प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा रु १५ मा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् । तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताउनुभयो ।

“राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ”, उहाँले भन्नुभयो, “यहाँका काँक्रा र तरकुजा निकै मीठा हुन्छन् । स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।” तर सडक छेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्रगतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्तकमैया बताउँछन् ।

तरकारी तथा फलफूल बिक्रीमा संलग्न धिरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याउनुभयो । “नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो, तर अहिलेसम्म कुनै पहल भएको छैन ।”

बगरखेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठूलो लगानी र मिहिनेत आवश्यक पर्ने उहाँहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै रु ३० हजारदेखि रु एक लाखसम्म खर्च हुने गरेको छ । मलखाद, बीउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिनुभयो । “खेती गर्न सजिलो छैन”, उहाँले भन्नुभयो, “दिनरात मिहिनेत गर्नुपर्छ । राम्रो स्याहारसुसार गरेमात्रै उत्पादन राम्रो हुन्छ ।”

स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताउनुभयो । “खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ”, उहाँले भन्नुभयो, “यसले घरधन्दा धानेको छ ।”

विरा रानाका अनुसार बगरखेतीले मुक्तकमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । “बगरमा बगाएको पसिना खेर जाँदैन”, उहाँले भन्नुभयो, “परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।”

रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्तकमैया परिवारका लागि बगरखेती आम्दानीको स्रोतमात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ । तर कृषि अनुदान, सिँचाइ, बीउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्तकमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् ।

“यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ”, लीलावती वडायकले भन्नुभयो, “बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।” वनहरा नदीकिनारको बगर अहिले मुक्तकमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्तकमैया परिवारको घरखर्चमात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ ।

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ विधेयकको मस्यौदा तयार, अमेरिकी र इजरायली जहाजमाथि प्रतिबन्ध लगाइने

तेहरान। इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ ।मसौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ।

तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा वर्णन गरेको छ ।

इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले तेहरानमा आयोजित एक समारोहमा भन्नुभयो, “विधायिका पुनः सुरु भएपछि यसलाई ‘निवारक कानून’ को रूपमा पारित गरिनेछ।”

उहाँले भन्नुभयो, “विधेयक तयार छ र विदेश मन्त्रालय र बन्दरगाह र समुद्री सङ्गठनसहित देशका सम्बन्धित अधिकारीहरूसँग श्रृंखलावद्धरूपमा बैठकहरू गरी छलफल गरिएको छ ।

अजिजीले यसअघि बिहीबार भन्नुभएको थियो, “इरानले हर्मुजको जलमार्गमा सँधै सुरक्षित र स्वतन्त्र आवागमन सुनिश्चित गर्न प्रयास गरेको छ। अमेरिकी सेनाको उपस्थिति र इजरायली आक्रमण खाडी र स्ट्रेट अफ होर्मुजमा असुरक्षा र अस्थिरताको मुख्य जड भएको छ ।”

यो विधेयकको उद्देश्य इरानको सार्वभौमिकतालाई बलियो बनाउनु हो ।

उहाँले भन्नुभएको छ, “इरानी संसदको यो विधेयक ‘स्ट्रेट अफ हर्मुज’मा इरानको सार्वभौमिकतालाई बलियो बनाउने उद्देश्यका साथ ल्याइएको हो । इरान सधैं यस महत्त्वपूर्ण जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको छ।”

अमेरिकी सेनाको उपस्थिति र इजरायलको गतिविधिलाई यस क्षेत्रमा अस्थिरताको मुख्य कारण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेश मन्त्रालय र बन्दरगाह सङ्गठनजस्ता सम्बन्धित निकायसँग व्यापक छलफल गरेर विधेयकलाई अन्तिम रूप दिइएको छ।”

इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार शुक्रबार स्ट्रेट अफ हर्मुजमा इरानी सेना र अमेरिकी पानीजहाजबीच छिटपुट झडप भएको थियो ।

काठमाडौँ उपत्यकामा जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।

उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

उहाँले अभियानका क्रममा चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्राको महत्त्व तथा ‘नो हर्न’सम्बन्धी जनचेतना समेत प्रदान गरिएको जानकारी दिनुभयो ।

हाल उपत्यका सञ्चालित उक्त विशेष अभियानलाई आगामी दिनमा पनि अझ प्रभावकारी बनाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र, विद्यालय आसपास, अस्पताल क्षेत्र तथा भीडभाड हुने सडकमा विशेष निगरानी बढाइएको छ ।

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हिमपातको सम्भावना छ ।

साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव

काठमाडौं — साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रको आयोजनामा गएको वैशाख १८ गते माबु बजारमा “साल्पासिलिछो सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम प्रमोद राईको अध्यक्षता तथा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माईला) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा दौलथ कुलुङ, उपाध्यक्ष अस्मिता कुलुङ, प्रमुख प्रशासकीय अधिकृत मणि राम खतिवडा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

नेपाल सरकारले घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र समावेश गरेको तथा कोशी प्रदेश सरकारको पर्यटकीय गौरव आयोजनाअन्तर्गत पर्ने मुन्दुम पदमार्ग र साल्पा पोखरी क्षेत्रको संस्कृति, साहित्य, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिएका छन्।

उनका अनुसार मुन्दुम/रीदुम पदमार्गसँग जोडिएका विभिन्न जिल्ला र गाउँपालिकाहरूको सामाजिक तथा आर्थिक विकास, स्थानीयस्तरमा रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, पोखरा, काठमाडौं लगायतका क्षेत्रका साथै सिक्किम बाट समेत तीर्थालु भक्तजनहरूको सहभागिता रहेको थियो। साथै महाकुलुङ गाउँपालिका, षडानन्द नगरपालिका र सिलिचोङ गाउँपालिका बाट धामीझाँक्रीहरूको व्यापक उपस्थिति रहेको थियो।

साहित्यिक सत्रमा मकालु साहित्य समाज का अध्यक्ष ताराबहादुर बुढाथोकी, उपाध्यक्ष कृष्णप्रसाद चापागाई, सचिव भरत कुलुङ, सह–सचिव सनम थापा, सदस्य राजेन्द्र सरवहारा निरौला, तारानाथ पोखरेल तथा संखुवासभा साहित्यिक समाज का अध्यक्ष बीरेश राई लगायतले साल्पा र सिलिछोको विषयमा कविता वाचन गरेका थिए।

यस अवसरमा साल्पा पोखरी र सिलिछो क्षेत्रको प्रवर्द्धनमा साहित्य, गीत–संगीत तथा लेखनमार्फत योगदान पुर्‍याउने भरत कुलुङ, अजय अलङ्कार कुलुङ, हेमराज थुलुङ र युमन खालिङ लाई सम्मान गरिएको थियो।

महोत्सवमा कुलुङ धामीझाँक्रीद्वारा “कुलु रीदुम” अर्थात् मुन्दुम प्रदर्शन, विभिन्न जातजातिका झाँकी तथा किराती मौलिक गीत “सै राजा सैसै, सै रानी सैसै” प्रस्तुत गरिनुका साथै सांस्कृतिक झल्कोले कार्यक्रमलाई अझ ऐतिहासिक र आकर्षक बनाएको आयोजकले जनाएको छ।

तमिलनाडुमा थलापति विजयको सरकारको लागि बहुमत जुट्यो

नयाँदिल्ली। तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ ।

विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके)ले तामिलगा भेट्री कझागम (टिभिके) प्रमुख जोसेफ विजय (विजय थलापति) लाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको छ ।

टिभिके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समिकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिनुभएको थियो ।

उहाँले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उहाँलाई औपचारिक आह्वान गर्नुभएको थिएन ।

शनिबार विसिकेले आधिकारिक रूपमा टिभिके प्रमुख विजयलाई समर्थन गर्ने घोषणा गरेको छ। कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन् । यससँगै टिभिकेले राज्य विधानसभामा बहुमतको ११८ सदस्यको जादुई आँकडा पार गरेको छ ।

वीसीके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थनपत्र हस्तान्तरण गरिसक्नुभएको बताइएको छ।

तमिलनाडुमा २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक छ भने टिभिकेले १०८ सिट पाएको छ । कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) का दुई, भारतीय कम्युनिष्ट पार्टी–माक्र्सवादी (सिपिएम) का दुई र भिसिकेका दुई विधायकको समर्थनमा टिभिके गठबन्धनको सङ्ख्या १२१ पुगेको छ ।

तर, विजय दुई सिटबाट विधायक भएकाले उहाँको एक सिटको मतदानमा कुनै अर्थ नरहने हुँदा उहाँको सत्ता समीकरणमा १२० सदस्यको समर्थन रहनेछ । अब भने विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

जुम्ला रारा-अल्ट्रा म्याराथनको उपाधि धीर बूढालाई

जुम्ला। सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बूढाले प्राप्त गर्नुभएको छ ।

आज सम्पन्न प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म ५४ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ का बूढा पहिलो हुनुभयो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका होमबहादुर हमाल दोस्रो र गोपाल तामाङ तेस्रो हुनुभएको कर्णाली स्पोटर्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । महिलातर्फको दौडमा पातारासी गाउँपालिका कल्पना बूढा पहिलो हुनुभयो । साथै सुनसरी रोकाया दोस्रो र सन्ध्या बूढा तेस्रो हुनुभयो ।

पहिलो हुने धावकलाई रु एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार, तेस्रो हुनेलाई रु ५० हजार, चौथो र पाँचौलाई समान रु २०–२० हजार पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा स्थानीय खेल प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वैशाखमा आयोजना गर्दै आएको अध्यक्ष शाहीले बताउनुभयो ।

त्यसैगरी १० किलोमिटर दौडको पुरुषतर्फ वसन्त बूढा पहिलो, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो हुनुभयो । दश किलोमिटर महिलातर्पm सपना बूढा पहिलो, सस्मिता भण्डारी दोस्रो र गौकली रावत तेस्रो हुनुभयो ।

पाँच किलोमिटरको विद्यार्थीतर्फ निर्भु राना पहिलो, नरेश रावत दोस्रो र नमराज महतारा तेस्रो हुनुभयो । साथै पाँच किलोमिटर महिलातर्फ क्रितिना बूढा पहिलो, यमुना बूढा दोस्रो र खुसी बुढाथोकी मगर तेस्रो हुनुभयो ।

प्रतियोगितामा स्वदेश तथा विदेशी गरी ५१ धावकहरूले ५४ किमी दौडमा सहभागिता जनाएका थिए । पाँच र १० किलोमिटरको दौडमा करिब एक हजार एक सय जना खेलाडी सहभागी भएको क्लबले जनाएको छ ।

पाँच र १० किलोमिटतर्फका विजेता खेलाडीलाई प्रमाणपत्र र पदक प्रदान गरियो भने ५४ किमीको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताका विजेता धावकलाई आइतबार राराताल परिसरमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।