`

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता

बर्दिया। कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षणलाई प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता जनाउनुभएको छ ।

आज निकुञ्ज स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) का अवसरमा यहाँ आयोजित विशेष समारोहमा मन्त्री चौधरीले निकुञ्ज र वन्यजन्तुको संरक्षणलाई आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परम्परागत शैलीबाट माथि उठाएर वैज्ञानिक र प्रविधिमैत्री बनाइने उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले निकुञ्जको ५० वर्षे यात्रालाई बर्दियाली जनता र प्रकृतिबीचको सहअस्तित्वको महत्वपूर्ण इतिहासका रूपमा चित्रण गर्नुभयो । “पाँच दशकअघि वन्यजन्तुको सुरक्षित बासस्थान बनाउने उद्देश्यले स्थापना गरिएको निकुञ्ज आज विश्वका लागि जीवन्त सङ्ग्रहालयका रूपमा विकास भएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुको संरक्षण गर्नु सरकारको मात्र दायित्व नभई स्थानीय समुदाय, साझेदार संस्था र निजी क्षेत्रको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय समुदायको सक्रिय सहभागिताबिना निकुञ्जको दिगो संरक्षण सम्भव नहुने धारणा राख्नुभयो ।

वन्यजन्तु संरक्षणका क्रममा उत्पन्न मानव-वन्यजन्तु द्वन्द्वलाई मुख्य चुनौतीका रूपमा रहेका उल्लेख गर्दै मन्त्री चौधरीले जनताको सुरक्षा र जीविकोपार्जनलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो । “वन्यजन्तुको संरक्षणसँगै मानव जीवन र सम्पत्तिको सुरक्षालाई समेत समान रूपमा ध्यान दिँदै प्रभावकारी योजना बनाइछ”, उहाँले भन्नुभयो ।

निकुञ्जबाट प्राप्त हुने लाभ स्थानीय बासिन्दाको जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले त्यसको न्यायोचित वितरण गरिने बताउनुभयो । आगामी दिनमा वैज्ञानिक अध्ययन, प्रविधिको प्रयोग तथा युवाको सक्रिय परिचालनमार्फत संरक्षणलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ छ । “प्रकृति हाम्रो मात्र नभई भावी पुस्ताको सम्पत्ति भएकाले यसको संरक्षण हाम्रो साझा जिम्मेवारी हो”, मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।

सो अवसरमा निकुञ्ज संरक्षणमा योगदान पुर्‍याउने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा संरक्षणकर्मीलाई सम्मान गरिएको थियो । सरकारले मध्यवर्ती क्षेत्रको विकास, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा अवैध गतिविधि नियन्त्रणका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

महिला नेतृत्व सम्मेलन यही वैशाख २१ मा

काठमाडौँ। नेपाल उद्योग परिसङ्घ (सिएनआई) र सिएनआई कोशी प्रदेशको संयुक्त आयोजनामा राष्ट्रियस्तरको महिला नेतृत्व सम्मेलन हुने भएको छ ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहकार्यमा यही वैशाख २१ गते प्रदेशको राजधानी विराटनगरमा सो सम्मेलन हुने भएको हो ।

‘दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ मुख्य विषय रहने सम्मेलनमा महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि तथा उद्यमशीलता प्रवर्द्धनका विषयमा छलफल हुने सिएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उक्त सम्मेलनमा सफल महिला उद्यमीहरूका अनुभव आदानप्रदान गर्ने तथा स्वदेशी उत्पादन प्रदर्शनी गरिने आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

सम्मेलनमा महिला उद्यमीहरूको सफलताका कथा प्रस्तुति, डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता र निजी क्षेत्रका प्रतिनिधि एवं विकास साझेदारहरूबीच छलफल हुने जनाइएको छ । परिसङ्घका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

उच्च शिक्षा पढ्ने छोरीबुहारीलाई भीमदत्तको छात्रवृत्ति

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने छोरीबुहारीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक अभावका कारण कोही पनि छोरी बुहारीहरु उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यविधि बनाएर नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको हो ।

उच्च शिक्षा अध्ययनमा सहज पहुँच पुगाउन छोरीबुहारी, दलित, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गरिने भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले एमबिबिएस, सिभिल इन्जिनियर तथा प्राविधिक विषय र साधारण धारतर्फ अध्ययन गर्ने नगरपालिकाभित्रका छोरीबुहारीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।

“यो शैक्षिक शत्रका लागि पालिकाले सुचना आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष एमबिबिएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने कोही विद्यार्थी सम्पर्कमा आउनुभएन् ।” शिक्षा शाखाका अनुसार छोरीबुहारी उच्च शिक्षाछात्रवृत्ति कार्यक्रमबाट हालसम्म पाँच जनाले अध्ययन गरिरहेका छन् ।

आव २०७९/८० मा तीन जना छोरी बुहारीले छात्रवृत्तिबाट साधारण धारतर्फका विषयमा अध्ययन गरेका छन् । त्यसैगरी आव २०८०/८१ म दुई जनाले उक्त छात्रवृत्तिबाट अध्ययन गरिरहेका हुन् ।

एमबिबिएर र इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु सम्पर्कमा नआएपछि गत वर्ष बजेट फ्रिज भएको थियो । चालु शैक्षिक शत्रका लागि पनि पालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।

एमबिबिएस अध्ययन गर्ने दुई जनालाई प्रतिव्याक्ति रु दुई लाख, इन्जिनियरिङ अध्ययन गर्ने तीन जनालाई रु एक लाख र अन्य विषय अध्ययन गर्ने छ जनालाई रु ५० हजार हरेक आवमा छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइनेछ – अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आज यहाँ आयोजना गरेको नीतिगत छलफलमा अर्थमन्त्री वाग्लेले पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट ल्याइने स्पष्ट पारे।

उनले परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याइने बताए । बजेटबारे आम नागरिकमा रहेको अतिरञ्जना र भ्रमप्रति टिप्पणी गर्दै उनले बजेटलाई सरकारको आय–व्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

उनका अनुसार आगामी बजेट निर्माणका लागि सबै मन्त्रालयलाई राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभित्रै रहेर योजना बनाउन निर्देशन दिइएको छ । यद्यपि आर्थिक रुपान्तरणका लागि अहिलेको सिलिङ अपर्याप्त रहेको टिप्पणी पनि उनले गरे ।

विगतमा राजस्व क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गर्दै उनले आगामी वर्षका लागि करिब १३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको अनिवार्य दायित्व रहेको र देशको राजस्व क्षमता करिब ११ खर्ब ८० अर्ब रुपैयाँ हाराहारी मात्र रहेको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले यस्तो अवस्थाले अनिवार्य दायित्व धान्नसमेत चुनौती देखिएको उल्लेख गर्दै ऋण परिचालनको आफ्नै दायित्व र सीमाहरू रहेको बताए । करिब १९ खर्ब रुपैयाँको बजेटले करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सक्ने वा नसक्ने प्रश्न महत्त्वपूर्ण रहेकाले विनियोजनको कुशलता र कार्यान्वयन क्षमतामा जोड दिईने उनले बताए ।

सीमित स्रोतका कारण नतिजा नदिने तथा प्रभावहीन कार्यक्रमहरू कटौती गरिने सङ्केत गर्दै उनले सार्वजनिक खर्चलाई रणनीतिक रूपमा बढाएर अर्थतन्त्र चलायमान बनाउने नीति अवलम्बन गरिने बताए । यो ।

सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण

धनुषा। मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त रहेको बताउनुभएको छ ।

मधेसी आयोगको आयोजना तथा इन्सेकको सहकार्यमा आज जनकपुरधाममा ‘नैतिकवान मधेस र सशक्त नैतिक शिक्षा’ कार्यक्रमअन्तर्गत ‘प्रशासनिक आचरण, उत्तरदायित्व र सुशासित–समृद्ध मधेस निर्माणमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तक्र्रिया सम्पन्न भएको थियो ।

सो अन्तरक्रियामा प्रदेश प्रमुख कर्णले समाजमा नैतिक मूल्यमान्यता कमजोर बन्दै जाँदा प्रशासनिक अनुशासन र पारदर्शितामा चुनौती देखिएकाले यसलाई सुधार गर्न शिक्षादेखि नै नैतिकता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी प्रदेशसभा सदस्य शारदा पहाडीले नीति र व्यवहारबीचको दूरी घटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नैतिक शिक्षालाई जीवनपद्धतिसँग जोड्न सके मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले स्थानीय तहदेखि नै सुशासनको अभ्यास सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका काममा पारदर्शिता, जनसहभागिता र निगरानी प्रणाली सुदृढ गर्नसकेमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै मधेसी आयोगका सदस्य आभा सेतू सिंहले नैतिक शिक्षा समाज रुपान्तरणको मूल आधार भएको बताउनुभयो । उहाँले मधेसको समग्र विकासका लागि नैतिकता, अनुशासन र उत्तरदायित्वलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै यसका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य अनिता साह, लाल गोइतलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु, सुकुमवासी बस्तीमा डोजर चलाइएको विषयमा छलफल

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

पहिलो बैठकमा सङ्घीय सरकारले सुकुमवासी बस्तीमा डोजर चलाइएको, आगामी बजेटका प्राथमिकतालगायत विषयमा छलफल भएको हो ।

बैठकमा प्रदेशसभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले राजनीतिक दलले देश निर्माणको हैसियत राख्ने बताउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले नयाँ अधिवेशनले प्रदेश विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । प्रभावकारी नीति निर्माणमार्फत विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै विगतका कमजोरी सच्याउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक इन्द्रजित थारुले आवासविहीन सबै नागरिकलाई आवासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशमा भूमि व्यवस्थापन ऐन छिटो ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले इमान्दारी र समावेशितामा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य हेमा बेल्वासेले विगतका गल्ती नदोहो¥याइ कार्यान्वयनयोग्य बजेट ल्याउनुपर्ने बताउँदै युवालाई लक्षित डिजिटल अर्थतन्त्रका कार्यक्रम समेट्न सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले किसानका समस्या समाधान गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले बजेट निर्माण गर्दा वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्नुपर्ने बताउँदै पारदर्शी र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाः बजेट अधिवेशन आरम्भ

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) प्रारम्भ भएको छ ।

आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि सभामुख भीमबहादुुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्नुहुँदै आठौँ अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा सत्तापक्ष नेपाली कांग्रेसका डम्मरी महरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजेन्द्रसिंह रावल र प्रमुख प्रतिपक्ष नेपाली कम्युुनिष्ट पार्टी (नेकपा)का प्रकाश रावलले समसामयिक विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

सञ्चारमाध्यमलाई उद्योगका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारमाध्यमलाई सूचना प्रवाह गर्ने संस्थाका रुपमा मात्र नभई दिगो र आत्मनिर्भर मिडिया उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीद्वारा आज पोखरामा आयोजित सञ्चारमाध्यमको व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया एवं कार्यशाला गोष्ठीमा उहाँले सञ्चारमाध्यम आफैँमा सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर व्यावसायिक प्रतिष्ठानका रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

“प्रदेश सरकार सञ्चारमाध्यमलाई जिम्मेवार, मर्यादित र व्यावसायिक रुपमा सक्षम बनाउन आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यसका लागि सरकार, सञ्चार उद्यमी, सम्पादक, पत्रकार, विज्ञापन क्षेत्र र सरोकारवालाबीच व्यावहारिक सहकार्य आवश्यक छ ।”

परम्परागत सञ्चारमाध्यमहरु डिजिटल रुपान्तरणमा जानुपर्ने बताउँदै उहाँले डिजिटल माध्यमसँग जोडिएर पहुँच, प्रभाव र आम्दानीको नयाँ आधार तयार गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले विज्ञापनका लागि मात्र गरिने पत्रकारिता क्षणिक हुने भएकाले दीर्घकालसम्म नागरिकको विश्वास जित्ने सामग्री उत्पादन र सम्प्रेषण गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गर्नुभयो ।

उहाँले सञ्चार क्षेत्रका माग र आवश्यतालाई प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा यथासम्भव सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यशाला गोष्ठीमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित रेडियो तथा टेलिभिजनका सञ्चालकहरुको सहभागिता थियो ।

गोष्ठीमा मिडिया अनुसन्धानकर्ता मधु आचार्यलगायतले सञ्चारमाध्यमको व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो । प्रेस रजिष्ट्रार विमला भण्डारी र प्रेस रजिष्ट्रारको कार्यालयका निर्देशक निराजन शर्माले कार्यालयको सेवा प्रवाह र भावी योजनाबारे प्रस्तुतीकरण राख्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, नेपाल पत्रकार महासङ्घ, गण्डकीका अध्यक्ष रमेश पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुली, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष कुमार भट्टराई, सञ्चार उद्यमी विश्वशङ्कर पालिखेलगायतले सञ्चार क्षेत्रका समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

अफगानिस्तानमा ‘महिला बजार’को सुरुवात

काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउन एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ ।

जहाँ दर्जनौं महिला उद्यमीहरूले महिला ग्राहकहरूलाई मात्र आफ्ना उत्पादनहरू बेच्ने व्यवस्था गरिएको स्थानीय मिडिया टोलो न्यूजले रिपोर्ट गरेको छ ।

यस पहलको उद्देश्य व्यवसायमा महिलाहरूको सहभागिता बढाउनु तथा महिलाका लागि सुरक्षित र सहयोगी व्यावसायिक वातावरण सिर्जना गर्नु रहेको जनाइएको छ । उक्त बजारमा महिला उद्यमीहरुले निर्माण गरेका विभिन्न प्रकारका हस्तशिल्प, परम्परागत उत्पादन र खाद्य पदार्थहरू बिक्रिको लागि राखिएको जनाइएको छ ।

यो बजार महिलाहरूको व्यावसायिक भविष्य सुरक्षित गरी उनीहरूलाई अधिकारिक मान्यता प्रदान गर्न प्रभावकारी रहेको तथा महिलाहरूको बेग्लै पहिचानको प्रयास गरेको स्थानीय उद्यमी गोलाफ्रोज नजाफीलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

हेरात महिला चेम्बर अफ कमर्सका अनुसार हेरात प्रान्तमा करिब एक हजार २०० जना महिलाले आधिकारिक रूपमा व्यवसाय दर्ता भएका छन् भने १० हजार भन्दा बढी महिला अनौपचारिक व्यापार गतिविधिमा संलग्न छन् ।

दुई तिहाइ बहुमतसहित बनेको सरकारले अपेक्षाअनुसार काम गर्न सकेन – प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेशसँगै नेपाली कांग्रेसलाई प्रविधिमैत्री र आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

बिहीबार आयोजित एक कार्यक्रममा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सन्दीप रानालाई सम्मान गर्दै उनले राजनीति अब पूर्ण रूपमा डिजिटल माध्यममा केन्द्रित हुँदै गएको बताए।

‘हामीले डिजिटलाइजेसन आत्मसात गर्न सकेनौँ भने प्रतिस्पर्धामा टिक्न सक्दैनौँ,’ उनले भने।
उनले कांग्रेसले अहिले सञ्चालन गरिरहेको सदस्यता अध्यावधिक अभियानलाई पार्टी सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे। सदस्यहरूको तथ्यांक संकलन, उनीहरूको रुचि पहिचान, र पार्टीसँगको सम्बन्धलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली आवश्यक भएको उनले बताए।

‘हामीसँग आफ्ना सदस्यहरूको पूर्ण विवरण छैन। उनीहरूको सम्पर्क, सामाजिक सञ्जालमा सक्रियता, योगदान गर्ने इच्छा यी सबैलाई व्यवस्थित गर्न डिजिटलाइजेसन अपरिहार्य छ,’ उनले भने।पौडेलले वर्तमान सरकारप्रति कडा टिप्पणी पनि गरे। दुई तिहाइ बहुमतसहित बनेको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको, संसद सञ्चालनमा कमजोरी देखाएको र अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप उनले लगाए।

‘यति शक्तिशाली सरकार भएर पनि संसद प्रभावकारी रूपमा चलाउन नसक्नु गम्भीर विषय हो,’ उनले भने।

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भई बस पल्टिएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सो दुर्घटनामा बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका छन् ।

घाइते ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामूदायिक अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

दुई दिने बिदा कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षण संस्थामा समेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा असहजताका कारण गत चैत २३ गतेदेखि निजामतीलगायत सबै निकाय र शिक्षण संस्थामा शनिबार र आइतबार बिदा दिइ सरकारी कार्यालय समय बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कायम गरेको थियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरेर दुई दिने बिदाको समर्थन गरेका हुन् । नयाँ बिदाको प्रबन्धअनुसार पाठ्यक्रम पाठनपाठन मिलाउन शिक्षक र विद्यालय कर्मचारीले आग्रह गर्दै आएका छन् ।

महासंघको विज्ञप्तिमा विगतमा आफूहरूसँग भएका सहमतिबमोजिम स्थायी, सबै प्रकारका अस्थायी राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालविकास, विशेष शिक्षालगायत शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान हुनेगरी विद्यालय शिक्षा ऐन छिटो ल्याउन माग गरिएको छ ।

महासंघले सोलुखुम्बु, सिरहालगायत जिल्लामा शिक्षक दरबन्दी कटौती गर्दै सेवा हटाउने, विभिन्न बहानामा अनुपयुक्त सरुवा गर्नेजस्ता कार्य भएकामा चिन्ता व्यक्त गरेको छ ।

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः आयुक्त भण्डारी

काठमाडौँ, वैशाख १७ –निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।

आयोगले तीन वर्षअघि विभिन्न सात ऐनलाई विस्थापित गरी एउटै एकीकृत विधेयक तर्जुमा गरेर सरकारलाई पठाएको उल्लेख गर्दै प्रमुख आयुक्त भण्डारीले विद्युतीय मतदान (ई–भोटिङ), विदेशमा रहेका नेपालीको मतदान अधिकार र अन्तर–प्रदेश मतदानजस्ता विषयलाई समेट्न कानुन अपरिहार्य रहेको बताउनुभयो । वर्तमान ऐन नियम भद्रगोल अवस्थामा रहेको टिप्पणी गर्दै उहाँले कानुन निर्माणमा गम्भीर हुन जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोग कानुन मस्यौदा गर्ने निकाय नभए पनि अभ्यासमा देखिएका जटिलता समाधान गर्न हामीले विधेयक तयार गरेका हौँ । आगामी बजेट अधिवेशनबाट यो विधेयक पारित नभए आगामी २०८४ सालको निर्वाचन पनि पुरानै ढर्रामा हुनेछ र कुनै सुधार सम्भव हुने छैन ।”

आयोगले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उच्च आर्थिक पारदर्शिता र मितव्ययिता अपनाएको दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले सुनिश्चित गरेको ६ सय ७५ करोड रुपैयाँको बजेटमध्ये करिब एक सय ७५ करोड रुपैयाँ बचत भएको र सो रकम छिट्टै सरकारलाई फिर्ता गरिने जानकारी दिनुभयो ।

आयोगले ४७ प्रकारका निर्वाचन सामग्री जिल्ला र स्थानीय तहबाटै खरिद गर्ने गरी ‘अधिकार प्रत्यायोजन गरेका कारण खर्चमा व्यापक कटौती भएको बताइएको छ । निर्वाचनमा भएको खर्चको पूर्ण विवरणसहित आयोगले छिट्टै श्वेतपत्र जारी गर्ने तयारीसमेत गरेको छ ।’प्रमुख भण्डारीले भन्नुभयो, “हामीले केन्द्रबाट सीमित सामग्री मात्र खरिद ग¥यौँ । स्थानीयस्तरमा सरकारी निकायबाटै सामग्री खरिद गरिएकाले कुनै आर्थिक अनियमितता हुने गुञ्जायस रहेन ।”

सुरज र अनुको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक

काठमाडौं — ‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। यस गीतमा सुरज पौडेल र अनु चौधरीको सुमधुर स्वर रहेको छ भने गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन्। मनोज चौलागाईंले संगीत तथा एरेन्ज गरेका यस गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।

गीतको भिडियोतर्फ निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् भने रोहित सिंह ठकुरीले कोरियोग्राफी गरेका छन्। भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ। मेकअप एकता भण्डारीले गरेकी छन् भने सम्पादन सौखिन तिमल्सिनाको रहेको छ। ग्राफिक डिजाइन सन्तोष पनेरुले गरेका छन्। म्युजिक भिडियोको निर्माता निल प्रसाद ईटनि रहेका छन्।

गायक सुरज पौडेलको आज सार्वजनिक भएको म्युजिक भिडियो १० औ भिडियो हो। आज सार्वजनिक भएको भिडियो म्युजिक मन्त्र युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

भिडियोको छायांकन गुन्डु, भक्तपुरमा गरिएको छ। भिडियोमा डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।

चर्चित गायिका मिना लामाको “भाका सारेर” सार्वजनिक

नेपाली गीत संगीत क्षेत्रमा सर्वाधिक चर्चा बटुल्न सफल चर्चित गायिका मिना लामाले भर्खरै मात्रा मिठो सांगीतिक कोसेली “भाका सारेर” सार्वजनिक गर्नु भएको छ । मिना लामा र खेम सेन्चुरीको आवजमा रहेको उक्त सांगीतिक कोसेलिमा शब्द नेत्र आर्यालको रहेको छ भने संगीत नन्दु परियारको रहेको उक्त सांगीतिक कोसेलि मिना लामा युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

धादिङ गल्छी गाउँ पालिका ७ मा बुवा राम चन्द्र तामाङ र आमा कान्छी माया तामाङ को कोख बाट माइली सुपुत्रीको रुप्मा जन्मिनु भएका चर्चित गायिका मिना लामाले हाल सम्मा झन्डै पाँच छ हजार भन्दा बढी सांगीतिक कोसेलिहरुमा आफ्नो मीठो आवाज भरी सक्नु भएको छ ।

चर्चित गायिका मिना लामा हङकङ , कोरिया,युके जापान लगायत २ दर्जन भन्दा बढी देश हरुमा पुगि आफ्नो प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनु भै स्वादेश फर्की सकेकी छिन । चर्चित गायिका मिना लामा आफ्नो कलाकारिता पेशाबाटै एक समपन्न कलाकार बन्न सफल गायिका हुन । अझ बिशेषत गायिका मिना लामालाई नेपाली गीत संगीत क्षेत्रमा दोहोरिकी रानि समेत भन्ने गर्दछन ।

सरकारलेसंसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिले संविधानविद्हरुसँग परामर्श गर्दै

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् ।

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश सिफारिस गरेको थियो ।

मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको हो ।

अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले गर्ने धितो रोक्का तथा फुकुवाका सम्पूर्ण कार्यहरू फेसलेस र समयबद्ध रूपमा डिजिटल प्रणालीमार्फत मात्र सञ्चालन हुनेछन् । विभागले जारी गरेको परिपत्र अनुसार यो व्यवस्थालाई दुई चरणमा कार्यान्वयन गरिनेछ ।

विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका र भू–सेवा केन्द्रको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूका लागि सरकारले बुधबार देखिनै अनलाइन प्रणाली अनिवार्य गरिसकेको छ । त्यस्तै, हालसम्म अनुमति नलिएका वा प्रक्रियामा रहेका अन्य संस्थाहरूको हकमा भने आवश्यक तयारी पूरा गरी २०८१ जेठ १ गतेदेखि अनिवार्य रूपमा यो प्रणाली लागू गर्न निर्देशन दिइएको छ ।

यो नयाँ व्यवस्था पाम प्रणाली लागू भएका देशभरका सबै मालपोत कार्यालयहरूमा कार्यान्वयन हुने विभागले जनाएको छ । यसबाट सर्वसाधारणले मालपोत कार्यालय धाइरहनुपर्ने झन्झट अन्त्य हुने, सेवामा पारदर्शिता बढ्ने र सुशासन कायम हुने विश्वास लिइएको छ ।

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर सरकारले अध्यादेश ल्याएको स्पष्ट गरेका छन् ।

उनले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउनका लागि आवश्यकपर्ने महत्वपूर्ण कदम चाल्नका लागि अध्यादेश सिफारिस गरेको बताए ।

सल्लाहकार शाहले आज सामाजिक सञ्जालमार्फत सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउन महत्वपूर्ण कदम चालेको बताए ।

सोही प्रयोजनका लागि यही वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश प्रमाणीकरणका लागि सिफारिस गरेको जानकारी दिए ।

उनले भने, “वर्तमान सरकार गठन भएलगत्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले नयाँ जनादेशको मर्मअनुसार शासकीय सुधारका लागि राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आह्वान गर्नुभएको थियो । सो आग्रहका बाबजुद कार्यसम्पादन र समन्वयमा देखिएका व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले यो कानुनी बाटो रोजेको हो । यसले कार्यसम्पादनमा देखिएका अवरोध ‘डेड्लक’ अन्त्य गरी नतिजामुखी शासन पद्धति स्थापित गर्न सहज हुनेछ ।”

उनले सार्वजनिक सरोकारका निर्णय निश्चित समयभित्रै सम्पादन गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन सो अध्यादेश ल्याइएको पनि प्रष्ट पारेका ५छन् । पुराना र जटिल कानुनी प्रावधानका कारण जनहितका कार्यमा हुने विलम्बलाई यसले अन्त्य गर्ने जानकारी दिँदै विगतमा दशकौँसम्म अल्झिएका प्रक्रियागत समस्यालाई पहिचान गरी तिनको दिगो र वैज्ञानिक समाधान निकाल्ने सरकारको लक्ष्य रहेको पनि उनले बताए ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।

बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो।

उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ।

यसैगरी, कोहलपुर नगरपालिका–१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका–२५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका–३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरबाट एक जनालाई पक्राउ गरेको हो। उनीहरु बुधबार पक्राउ परेका हुन्।

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा। जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।

सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उहाँ रुखबाट खस्नुभएको हो । उहाँ जिल्लाका अग्रणी किसान हुनुहुन्थ्यो

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।

यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी एक सय १२ जना पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

यस अवधिमा सबैभन्दा बढी गत चैतमा छ सय २१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा पाँच सय ८०, मङ्सिरमा दुई सय ९३, पुसमा तीन सय ७६, माघमा तीन सय ६९ र फागुनमा तीन सय ८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट रु १४ लाख ६७ हजार ४८६ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको सङ्ख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो सङ्ख्या बढ्दै गएको छ । “नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्”, वाग्लले भन्नुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७६२ जनाले यहाँ भ्रमण गरेका छन्, जसमा एक सय ३२ विदेशी र एक सय १२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा त्यसमा एक सय ९९ जना सार्क मुलुकका र एक सय ५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो । “शुक्लाफाँटाको प्रचारप्रसार गरेर यहाँ उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँको जैविक विविधताबारे व्यापक प्रचारप्रसार हुनसकेको छैन । अब प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् ।

आज नृसिंह जयन्ती

काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ ।भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाउने गरिएको जानकारहरू बताउँछन् । धार्मिक मान्यताअनुसार नृसिंह अवतार भगवान् विष्णुको चौथो अवतार हो ।

दैत्यराज हिरण्यकश्यपुको वध गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नु परेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

हिन्दु धर्म ग्रन्थमा उल्लेख भएअनुसार कष्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुई बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए । ठूलो भएपछि दुवैले जताततै उप्रद्रो मच्चाउन थाले ।

हिरण्याक्षलाई भगवान् विष्णुको तेस्रो अवतार बराह भगवान्ले मार्नुभएको थियो । हिरण्यकश्यपुले ब्रह्माजीको घोर तपस्या गर्दा हिरण्यकश्यपुको शरीरबाट आगोको ज्वाला निस्कन्थ्यो ।

यो देखेर ब्रह्माजीले हिरण्यकश्यपु भएको ठाउँमा गएर इच्छाअनुसार वरदान माग्ने आज्ञा गर्नुभयो । यो सुनेर हिरण्यकश्यपुले ब्रह्माजीसँग अमर रहने वरदान मागे । ब्रह्माजीले जन्मेपछि मर्नैपर्ने सृष्टिको नियम भएकाले अरू वर माग्ने आज्ञा गर्नुभयो ।

यो सुनेर हिरण्यकश्यपुले घरको बाहिर घरको भित्र, रातिको अँध्यारो, दिनको घाममा, आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गन्धर्वबाट, देवताबाट, कसैको हातबाट र हतियारबाट नमर्ने वरदान मागेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रह्माजीले हिरण्यकश्यपुको तपस्या घोर भएकाले मागेको वरदान दिनुभयो । ब्रह्माजीको वरदान पाएर हिरण्यकश्यपु अमर भयो ।

यस्तो छ किंवदन्ती

धार्मिक ग्रन्थमा उल्लेख भएनुसार हिरण्यकश्यपुले तीनै लोकमा कब्जा जमाए । जगत्लाई आफ्नो बसमा बनाए । पूरा सृष्टिको मालिक म नै हो, मभन्दा ठूलो अरू कोही छैन भन्ने विश्वास सबैमा दिलाउन अनेक प्रयत्न गरेँ । हिरण्यकशिपुको घरमा भक्त प्रह्लादको जन्म भयो । भक्त प्रह्लाद दैत्य राज हिरण्यकश्यपु जस्ताको छोरा भएर पनि सानैदेखि हरि भक्तिमा रुचि राख्न थाले ।

यो देखेर दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई संसारको अधिपति आफू भएको र आफूभन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो, तर प्रह्लादले उनलाई कुवाको भ्यागुताको संज्ञा दिँदै उल्टो जवाफ दिए । यो सुनेर हिरण्यकश्यपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठाए ।

प्रह्लाद त्यहाँ पनि पढाइ छोडेर हरि भक्तितिरै लागे । गुरुले धेरै सम्झाए, तर प्रह्लादले हरि भक्ति छोडेनन् । झनै त्यहाँ भएका अन्य दैत्य पुत्रलाई हरि भक्तिमा लगाए । यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकश्यपु कहाँ फिर्ता पठाइदिए । हिरण्यकश्यपुले फेरि प्रह्लादलाई सम्झाउने कोसिस गरेका थिए, तर प्रह्लादले हरि भक्तिभन्दा ठूलो केही ज्ञान छैन भनी सुनाए ।

हिरण्यकश्यपु रिसाएर प्रह्लादका हातखुट्टा बाँधेर हात्तीको बाटोमा छोड्न लगाए, तर हात्तीले प्रह्लादलाई देखेर कुल्चन सकेनन् । हिरण्यकश्यपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगाए, प्रह्लादलाई सागरमा बगाइयो तर हरिकृपा, विष्णु भगवान् स्वयं आएर प्रह्लादलाई बचाउनुभयो ।

प्रह्लादलाई ज्ञान दिएर भगवान् अन्तध्र्यान हुनुभयो । केही दिनपछि हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए । प्रह्लादलाई देखेर हिरण्यकश्यपु फेरि सम्झाउन लागे । प्रह्लादले हरिभन्दा ठूलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोहो¥याए । रिसले चुर भएका हिरण्यकश्यपुले ‘यदि तेरो हरि सबै ठाउँमा छ भने मेरो सामुन्ने हरिलाई देखा’ भने । प्रह्लादले हरिको ध्यान गर्दै विष्णुको आह्वान गरे । केही छिनमै भगवान् विष्णु खम्बाबाट नृसिंह अवतारमा प्रकट हुनुभयो । यो देखेर हिरण्यकश्यपुले खम्बालाई तरवारले काट्यो । भगवान् नृसिंह पनि रिसाएर हिरण्यकश्यपुलाई मार्न अघि सर्नुभयो । नृसिंह भगवान्को आधा शरीर सिंहको र आधा शरीर मान्छेको थियो ।

नृसिंह न जनावर थिए न मान्छे । जतिखेर हिरण्यकश्यपुलाई मारियो । त्यो समय सन्ध्या समय थियो । त्यो समयमा न त घाम थियो, न रातको अँध्यारो । तब सबै विधि मिलाएर भगवान् नृसिंहले हिरण्यकश्यपुलाई घरको बीच ढोकामा आफ्नो काखमाथि राखेर नङ्ग्रा धसी मार्नुभयो ।

ब्रह्माजीको सबै वाचा मिलाएर मारेपछि गएर नृसिंहको क्रोधले सारा संसार जल्न लाग्यो । नृसिंहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदि देवीदेवता आएर प्रार्थना गर्नुभयो, तर क्रोध झन् बढ्दै गयो ।

अन्तमा प्रह्लादले प्रार्थना गर्दा नृसिंहको रिस शान्त भयो । प्रह्लादलाई ज्ञान दिएर नृसिंह अन्तध्र्यान हुनुभयो । प्रह्लादले पनि हरि भक्तिमा ध्यान दिएर राज पाठ सम्हाले । प्रह्लादलाई ज्ञान सिकाउन भगवान् विष्णुले दत्तात्रय अवतार लिनुभएको थियो । दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाउनुभयो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली ज्यापू प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १८०, टाटेसिमी प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ८०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोबी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु ३२०, सेलरी प्रतिकिलो रु १६०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ५५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ ।
बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो ।

‘१५ औँ महाधिवेशन कालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ ।

बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गर्ने निर्णय गरेको छ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेबसाइटमा राखिनेछ जनाएको छ ।

२१ महिना देखाएर समापन गरियो हनुमान नाच

बागलुङ। नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ गरिएको थियो ।

उक्त नाच १९ पटक देखाएर बागलुङ बजारको हनुमान पौवामा पुगेर मङ्गलबार समापन गरिएको र आगामी तीन वर्षपछि देखाउने योजना बनाएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

गालामा अनेकथरी रङ्ग पोतिएको, शिरमा श्रीराम लेखिएको रातो पट्टि, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने १३ जोडी युवा विभिन्न १० तालमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले करिब तीन सय वर्षदेखि बचाउँदै आएका छन् ।

नाचको बीचबीचमा हनुमानहरूलाई वीर चढ्ने दृश्यले सबैलाई मोहित बनाउने गरेको छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले पूजाविधिका कारण हनुमानहरूलाई वीर चढ्ने (लाग्ने) गरेको बताइन्छ ।

यसपटक पनि विगतमा जस्तै दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्न १९ पटकमा ४२ युवाको सहभागिता रहेको थियो । शुभारम्भ, समापन, बागलुङ महोत्सव, बसपार्क उद्घाटन र अतिथि स्वागत, गलकोटमा देखाइएको नाचसँगै १४ वटा टोल पूजा सम्पन्न गरिएका छ ।

मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेर देखाउँदै आएका छन् । कोरोनालगायत कारण नौ वर्षमा देखाइएको नाच २१ महिनामा १९ पटक देखाएर समापन गरी बागलुङ बजारको हनुमान पौवामा हनुमानको मूर्ति बागलुङ बजार परिक्रमा गरी पुनः प्रतिस्थापन गरिएको छ ।

खर्चिलो नाचका रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच विस्तारै पाँच वर्ष, सात वर्ष र हाल नौ वर्षमा मनाउन थालिएकोे हनुमान नाचका प्रधानकजी ईश्वरप्रसाद मलेपतीले जानकारी दिनुभयो ।

उक्त नाच रामायण कथामा आधारित रहेको छ । भक्तपुरका नेवार समुदाय विसं १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास पाइन्छ । बीचमा हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको मलेपतीले बताउनुभयो ।

नाच बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने गर्दछ । विसं २०८१ भदौ ११ गते नारायणचोकबाट नौ वर्षपछि सुरु भएको हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरि चोक, आवारोड, सृजना टोल, गलकोट हुँदै कालिका मन्दिरसहित शुभारम्भ र समापनसहित १९ स्थानमा देखाइएको छ ।

हनुमान नाच समापन समारोहमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङको पहिचानसँग हनुमान नाच जोडिएको बताउनुभयो । कार्यक्रममा हनुमान नाचमा सहभागी कलाकार, वाद्यवादक, प्रधानकजी तथा कजीलाई सम्मान गरिएको थियो ।

नहर अतिक्रमण गरी बनाइएका चार सय घरटहरा हटाइँदै  

रौतहट। बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ ।आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई संरचना हटाउन आग्रह गरिसकेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा स्थानीयले विगत करिब २८ वर्षदेखि नहरको जमिन अतिक्रमण गरी बसोबास गर्दै आएका छन् । सूचना जारी गरिए पनि अतिक्रमित संरचना नहटाइएकाले अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको बागमती सिँचाइ आयोजना कर्मैयाका आयोजना प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।

केही दिनभित्र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल तथा सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

करिब साढे तीन सयदेखि चार सयसम्म घरटहरा हटाइने चौधरीले बताउनुभयो । जलस्रोत तथा सिँचाइ विभागको निर्देशन तथा नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय बुँदे  कार्यसूचीअनुसार सार्वजनिक जग्गाको संरक्षण, डिजिटल अभिलेख तयारी, निगरानी प्रणाली सुदृढीकरण र अवैध कब्जा हटाउने अभियानअन्तर्गत यो कदम चालिएको उहाँले बताउनुभयो ।

आयोजना प्रमुख चौधरीले भन्नुभयो,“सरकारको नीतिअनुसार नयाँ अतिक्रमण रोक्ने र पुराना अवैध संरचना हटाउने अभियान सुरु भएको छ । यहाँ चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीदेखि गुजरा नगरपालिकाको धन्सार खोलासम्म मूल नहर क्षेत्रको एक सय २५ मिटर क्षेत्र खाली गर्नुपर्ने छ, जसमा पूर्वतर्फ ६५ मिटर र पश्चिमतर्फ ६० मिटर क्षेत्र नहरअन्तर्गत पर्छ ।”

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि नहर क्षेत्रको अतिक्रमण चाँडै हटाइने स्पष्ट पार्नुभएको छ । “स्वतः नहटाए संरचना भत्काइन्छ, छिट्टै आवश्यक छलफल गरेर कार्यान्वयनमा जान्छौँ ।”
तहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले नहर व्यवस्थापन र सिँचाइ विस्तारका लागि सरकारले यस्तो निर्णय लिएको बताउनुभयो । बागमती सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यसको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट थप पानी ल्याई सिँचाइ क्षेत्र विस्तार गर्ने योजना पनि अघि बढाइएको जानकारी दिँदै उहाँले नहर क्षेत्रमा बसोबास गर्ने वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।यता नहर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय भने वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गर्न माग गर्दै नगरपालिकामा ध्यानाकर्षण गराएका छन् ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित मध्यम सम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भूभागको थोरै स्थानहरुमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ। औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । तर, यहाँ जडीबुटीको संरक्षण, प्रवर्द्धन र मौसममा मात्रै भर पर्नुपर्ने अवस्था रहेको छ । जसले औषधीय जडीबुटीको गुणस्तरमा असर पर्ने गरेको पाइन्छ । मुख्य आयस्रोतको रूपमा रहेको औषधीय जडीबुटी यार्सागुम्बा आजदेखि सङ्कलन सुरु भएको छ ।

औषधीय जडीबुटीले भरिपूर्ण मनाङका लेकमा हुने यार्सागुम्बा सङ्कलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए। उनका अनुसार यहाँका धेरै खर्कमा यार्सागुम्बा पाइने भए पनि सङ्कलन भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा सङ्कलन थालिएको छ।

“यार्सा पाइने नजिकको खर्कबाट सङ्कलन सुरु भएको छ । पहिलाको भन्दा उत्पादनमा ह्रास आउदै गएको सङ्कलनकर्ताले जनाएका छन्”, उनले भने, “यो समस्याको रूपमा विकास भएको देखिँदै गएको छ ।”

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण व्यवस्थापन निर्देशिका २०५६ हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटीको सङ्कलन अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो कार्यक्षेत्रभित्र सङ्कलन पूर्जी दिने गरेको छ।

जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रभित्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलन अनुमति दिने र जिल्ला बाहिरका नेपाली नागरिकलाई यार्सागुम्बा सङ्कलन सम्बन्धित संरक्षण व्यवस्थापन समितिमा निर्भर रहने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने हुन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्दछन् । नार्पाभूमिका खर्कमा जिल्लाभित्रका नागरिकलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइन्छ भने बाहिरी जिल्लाका नागरिकलाई अनुमति दिने प्रावधान छैन।

उनले भने, “भौगोलिक रूपमा नै विकट भएकाले सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमिका खर्कमा यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छैन । अन्य स्थानीय तहका खर्क खाङ्सार, हुलाकी ओडार र पिसाङलगायतका जिल्लाका सबै खर्कमा यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।” स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ । यार्सागुम्बा सङ्कलनका निम्ति नाम्ग्या खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइने प्रावधान निर्धारण गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए। उनले पालिका, एक्यापलगायत सम्बन्धित सरोकारवालाको बैठकबाट निर्णय भएबमोजिम सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइएको जानकारी दिए।

सुरुआतमा नाम्ग्या र नार्पाभूमि गाउँपालिका–२ हुलाकी ओडार खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय गरिएको छ । मनाङमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइने भएको उहाँले बताउनुभयो । मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त यामका रूपमा लिइन्छ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गरिने भए पनि बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताए। उनले भने, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएका छौँ । स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।”

नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताए । नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी यस्तो निर्णय गरिएको हो । जिल्लाका अन्य खर्कमा वैशाखबाट र नार्पाभूमिमा जेठबाट मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ ।

यार्सागुम्बा सङ्कलनकर्ताले सङ्कलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई नाम्ग्या खर्कमा यार्सा सङ्कलनका लागि जिल्लाका भएमा प्रतिव्यक्ति रु १२ हजार र जिल्ला बाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति रु १७ हजारका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ ।

जिल्लाका अन्य खर्कमा यार्सा सङ्कलनका लागि भने फरक दस्तुर लिने निर्णय हुने गरेको समितिले जनाएको छ । संरक्षण समितिका पदाधिकारी सुरक्षाका सवालमा अग्रपङ्क्तिमा रही जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

पुर्जी काटेर सङ्कलन गर्न अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई समितिले सहज रूपमा खर्कतर्फ जान अनुमति दिनेछ । चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ।

मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फु लेक, मनाङ लेक, आइसलेक, स्याक्र्यु लेक, थोराङ्ला लेकलगायतका लेकमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिनेछ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य गरिन्छ।

अवैध रूपमा भारतबाट ल्याइएका पाँच हजारभन्दा बढी कुखुराका चल्ला बरामद

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बुधबार बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले अन्दाजी रु पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ ।

बरामद गरिएका चल्लालाई पशु क्वारेनटाइन कार्यालय, नेपालगन्ज पठाइएकामा सबै चल्ला नष्ट गरिएका पशु क्वारेनटाइन कार्यालय प्रमुख डा हरेराम यादवले जानकारी दिए ।

कडाइ गर्दागर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनले बताए । भारतबाट यसरी कुखुराको अवैध आयात गर्नु दण्डनीय भएकाले सतर्क रहन उहाँले सबैलाई आग्रह गरे ।

सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ। नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ ।

अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यमसम्मको वर्षा अहिले पनि जारी छ ।

भोलि पनि बदली कायम रहने तर विस्तारै कम हुँदै जाने बताइएको छ । बिहीबार देशभर साधारणतया बादल लाग्ने कोशी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागका मौसमविद् सञ्जिल अधिकारीले जानकारी दिनुभयो ।

ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक

ढाका। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले बुधबार संसदमा राजधानी ढाकालाई स्वच्छ र हरित शहरमा रूपान्तरण गर्न १२ बुँदे योजना घोषणा गर्नुभएको छ।संसद्मा सत्तारुढ दलका सांसदको प्रश्नको जवाफमा रहमानले भन्नुभया,े “ढाका नर्थ र ढाका साउथ सिटी कर्पोरेसनले यो लक्ष्य हासिल गर्न विभिन्न पहलहरू गरिरहेका छन् ।”

कार्य योजना ढाकाको गम्भीर वायु गुणस्तर चुनौतीहरूको पृष्ठभूमिमा आएको छ ।सुक्खा मौसममा उच्च प्रदूषणको स्तर प्रायः ‘अस्वस्थ’ वा ‘खतरनाक’ स्तरमा पुग्छ।

रहमानले भन्नुभयो, “योजनाको प्रारम्भिक एक भागको रूपमा साप्ताहिक जनचेतनामूलक कार्यक्रमहरू तीव्र सरसफाइ र लामखुट्टे नियन्त्रण अभियानहरू सञ्चालन गरिँदैछन्।”

“सरकारले ढाकाको प्रमुख फोहोर स्थानान्तरण स्थलहरूको आधुनिकीकरण पनि गर्दैछ र भूसुदर्शनीकरण, हरियाली र जागरूकतासम्बनधी भित्तेचित्रहरू समावेश गरी वातावरण मैत्री फोहोर व्यवस्थापनलाई बढावा दिइरहेको छ,” उहाँले थप्नुभयो ।

शहरी हरियालीको बारेमा रहमानले भन्नुभयो, “सडक र खुला ठाउँहरूमा वृक्षारोपण कार्यक्रम गरिएको छ, आगामी पाँच वर्षमा शहरमा पाँच लाखरूखहरू रोप्ने लक्ष्य राखिएको छ।”

वातावरण विभाग र ढाकाको यातायात समन्वय प्राधिकरणले संयुक्त रूपमा आधुनिक बस सेवाहरू सुरु गर्न र विद्युतीय बसहरू सुरु गर्न लागेको रहमानले बताउनुभयो ।

जल प्रदूषण नियन्त्रणका लागि उद्योगका लागि फोहोर प्रशोधन केन्द्र अनिवार्य गरिएको उहाँले बताउनुभयो । उहाँले यो संयुक्त पहलबाट ढाका क्रमशः स्वच्छ र हरित शहर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

६ महिनामा दुई हजार ६ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।

यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी एक सय १२ जना पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

यस अवधिमा सबैभन्दा बढी गत चैतमा छ सय २१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा पाँच सय ८०, मङ्सिरमा दुई सय ९३, पुसमा तीन सय ७६, माघमा तीन सय ६९ र फागुनमा तीन सय ८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट रु १४ लाख ६७ हजार ४८६ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताए ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको सङ्ख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो सङ्ख्या बढ्दै गएको छ । “नेपालकै सबैभन्दा ठुलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्”, वाग्लेले भने ।

निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७६२ जनाले यहाँ भ्रमण गरेका छन्, जसमा एक सय ३२ विदेशी र एक सय १२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१र८२ मा तीन हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा त्यसमा एक सय ९९ जना सार्क मुलुकका र एक सय ५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठुलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । “शुक्लाफाँटाको प्रचारप्रसार गरेर यहाँ उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँको जैविक विविधताबारे व्यापक प्रचारप्रसार हुन सकेको छैन । अब प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्छ”, उनले भने ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् ।

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मिसनमा तैनाथ शान्ति सैनिकको अदलीबदली भएको छ ।

सो मिसनअन्तर्गत रिपुमर्दन गण सातौँ डफ्फा र सैनिक प्रहरी युनिट दशौँ डफ्फालाई बदली गर्न कालीबहादुर गण आठौँ डफ्फा र सैनिक प्रहरी गण एघारौँ डफ्फाका १९७ जना शान्ति सैनिकको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १९७ जना नेपाली शान्ति सैनिक यही वैशाख ११ गते स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत छन् ।

मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेको छ : मुख्यमन्त्री कार्की

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेको बताउनुभएको छ ।

विराट व्यापार सङ्घको २६ औँ साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुँदा आर्थिक गतिविधि वृद्धि हुने धारणा बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र राष्ट्रिय पुँजीको विकास सम्भव हुने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासमा अघि बढ्ने बताउनुभयो । कार्यक्रमका वक्ताहरुले खुला सीमाका कारण हुने चोरी तस्करी नियन्त्रणका लागि सरकारी निकाय बढी संवेदनशील बन्न माग गरेका थिए ।

विराट व्यापार सङ्घको १३औँ अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तत्काल खाली गर्न आग्रह गरेको छ ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै त्यस्ता जग्गामा निर्माण गरिएका घरटहरा यही वैशाख १७ गते साँझसम्म खाली गर्न आग्रह गरेको हो ।

विपद्को उच्च जोखिममा रहेका ती बस्तीहरु वैशाख १८ गते बिहान ७ः०० बजेदेखि खाली गर्न थालिने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा आज जारी सूचनामा उल्लेख छ ।

अतिक्रमित जग्गामा बनेका बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा बालबालिकालाई सुरक्षित स्थानमा सार्न, स्थानान्तरण कार्यमा प्रहरीको सहायता लिन, व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपन्छी चौपाया बाहिर निकाल्न कार्यालयले आग्रह गरेको छ ।

वास्तविक भूमिहीन एवं परिवारको पहिचान गरी दिगो रुपमा समस्या समाधान गर्ने कार्य यथाशीघ्र अघि बढ्ने र नक्कली एवं अवास्तविक भूमिहीन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानुनी दायरामा ल्याइने कार्यालयले जनाएको छ ।

उत्पीडित समुदायको संवैधानिक अधिकार कार्यान्वयन गर्ने मन्त्री सीता वादीको प्रतिबद्धता

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले समाजका सबैभन्दा कमजोर अवस्थामा रहेका, गरिब, विपन्न, दलित, र सीमान्तकृत समुदायको संवैधानिक र कानुनी अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

मन्त्रालयले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “पछाडि परेको समुदायको सामाजिक जीवनमा रूपान्तरण गर्न वा सामाजिक सांस्कृतिक रूपमा हुँदै आएको भेदभाव, अपमान र हिंसाको अन्त्य गर्न हामीले यो समुदायको सशक्तीकरण र मूलप्रवाहीकरण गर्न अनिवार्य छ, त्यसैले यो गम्भीर र संवेदनशील विषयमा हामीले भइरहेका संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ भने आवश्यक कानुन, नीति र कार्यक्रम तय गरी लागू गर्नुपर्नेछ ।”

मन्त्री वादीले सरकारले समग्र देशको विकासमा थिव्रताका साथ काम गरे तापनि मानवीय विकासका कार्यक्रमले प्राथमिकता नदिइकन नेपाली समाजको समग्रतामा विकास हुन सक्दैन र रूपान्तरण हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसैले हामीले सामाजिक र मानवीय विकासलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ, मानवीय विकास न्याय, समानता र हिंसाको अन्त्यसँग गहिरो रूपमा जोडिएको छ, त्यसैले हामीले समाजका सबैभन्दा कमजोर अवस्थामा रहेका, गरिब, विपन्न, दलित, र सीमान्तकृत समुदाको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणतर्फ ध्यान केन्द्रित गर्नै पर्छ ।”

विशेषगरी सामाजिक विकास मन्त्रालय वा सरोकारवाला निकायले यो विषयमा केन्द्रित भएर समग्र सामाजिक र मानवीय विकासमा केन्द्रित हुने दिशातिर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत सबै सीमान्तकृत समुदायको पक्षमा काम गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी आफ्नो मन्त्रालयमा भए पनि सो जिम्मेवारी केबल सङ्घीय मन्त्रालयको मात्रै नभई प्रदेश र स्थानीय सरकारको पनि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेषगरी जनताको घरदैलोमा सरकारको उपस्थिति, जनताको आवश्यकता, चाहना र अप्ठ्यारामा जनताको पहुँचमा सरकार पुग्ने मान्यताअनुरूप हामीले सङ्घीयताको अभ्यास गरेका हौँ, अझ समाजका सबैभन्दा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा सबैभन्दा सीमान्तकृत समुदायको पहुँचमा राज्यको उपस्थिति सुनिश्चितता सङ्घीय शासन व्यवस्थाको मूल मर्म हो ।”

समुदायको राज्यसत्तामा पहुँच र अर्थपूर्ण प्रतिनिधित्वको लागि हामीले सङ्घीयताको अभ्यास गरेका हौँ भने ऐतिहासिक उत्पीडक र वञ्चितीकरणमा पारिएका समुदायको राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक जीवनमा रूपान्तरण गरेर न्यायपूर्ण समाज निर्माण सङ्घीयताको मूल उद्देश्य रहेको उहाँको भनाइ छ ।

मानसिक समस्या पहिचान र न्यूनीकरणका लागि काठमाडौँ महानगरको पहल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै त्यसको पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि पहल थालेको छ ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विवाहपछि महिलाहरूको जिम्मेवारी, उनीहरूप्रति परिवार र समाजको अपेक्षा, गर्भवती हुने अवधि, सुत्केरी र त्यसपछिको एक वर्षमा ठूलो मानसिक समस्या भोग्नु पर्ने, यसै कारण जीवन नै अन्यत्र मोडिने अवस्था छ ।

यस्ता अवस्था पुरुषहरूमा पनि छन् ।” कार्यवाहक प्रमुख डङ्गोलले शारीरिक रूपमा देखिएको रोगलाई सबैले स्वीकार गरेर उपचार गराउने मानसिक रोगलाई स्वीकार नगरी रोग भएको व्यक्ति झन् पीडित भएर बस्नुपर्ने अवस्थामा सुधार गर्नु पहिलो आवश्यकता भएको बताउनुभयो ।

“कामपाले अहिले अभ्यास गरेको स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी सेवालाई कहाँ जोड्न सकिन्छ यसमा प्राज्ञिक क्षेत्रबाट सुझाव चाहिएको छ”, स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भन्नुभयो, “विज्ञ, अनुसन्धाता, प्राज्ञिक र व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूबाट पृष्ठपोषण लिएर मानसिक स्वास्थ्य सुधार गर्ने तयारीमा कामपा छ ।”

बारम्बार निराश हुनु, आफू फन्दामा परेको ठान्नु, मादकपदार्थ र लागुऔषधको सेवन बढ्नु, छटपटी र व्याकुलता बढ्नु, निद्रामा गडबडी हुनु, कसैसँगको भेट वा सामाजिक सञ्जालमा निराशाका कुरा लेख्नु, चाँडो रिसाउनु, हेलचक्य्राइँ पूर्ण व्यवहार गर्नु, मेरो भविष्य केही छैन भन्नु, मानसिक स्वास्थ्य समस्याका लक्षण हुन् ।

विद्यालय उमेरका बालबालिकामा मानसिक स्वास्थ्यको अवस्था अध्ययन गर्न कामपाले गत वर्ष जेठ २७ गते विद्यालय उमेरका १३४ जना विद्यार्थीहरूमा सर्वेक्षण गर्दा ७१ जना अर्थात् ५२ दशमलव ९९ प्रतिशत बालबालिकाले सामान्य भएको, खुसी रहेको प्रतिक्रिया दिएका थिए । उनान्तीस जना अर्थात् २१ दशमलव ६४ जनाले भावनात्मक लक्षण देखिएको थियो ।

सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठ जनामध्ये एक जना व्यक्तिमा मानसिक समस्या छ । विकासोन्मुख र मध्यम आय भएका देशमा बस्ने नागरिकहरूमा यसको भार धेरै छ । व्यक्तिलाई अपाङ्गता बनाउने १० वटा प्रमुख कारणमध्ये मानसिक स्वास्थ्यसँग सम्बन्धित दुई वटा कारण छन् ।

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

वासिङ्गटन। ८० वर्षपछि रूसको विजय दिवसको परेडमा ट्याङ्क र मिसाइल नदेखिने अधिकारीलाई उद्धृत गरी रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता पहिलो पटक रुसले मे ९ मा सैन्य उपकरणबिना विजय दिवस परेड आयोजना गर्नेछ। रक्षा मन्त्रालयले कुनै उपकरणविना विजय जुलुस मनाउनुलाई परिचालनका लागि हालको अवस्थालाई कारणका रूपमा जनाएपनि यसबारे विस्तृत विवरण दिएको छैन ।

रुसले मे ९ मा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको ८१ औँ वार्षिकोत्सव मनाउँदैछ । रुसी रक्षा मन्त्रालयले राजधानी मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस सैन्य प्रदर्शनमा यसपटक सैन्य उपकरणको प्रदर्शन नहुने घोषणा गरेको छ ।

सन् २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि यस बर्ष रूसी ट्याङ्क, र मिसाइल प्रणाली र अन्य भारी सैन्य सवारी साधनहरू परेडमा समावेश हुने छैनन्। सामान्यतया यो परेडलाई रुसको सैन्य शक्तिको ठूलो प्रदर्शनका रुपमा लिइन्छ ।

रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिलेको परिचालन अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको छ । यसको पछाडिको कारण भने विस्तृत रुपमा बताइएको छैन ।”

परेडमा विभिन्न सैन्य शैक्षिक संस्थाका क्याडेटहरू र सेनाका केही शाखाका कर्मचारीहरू सहभागी हुनेछन् भने परम्परागत हवाई फ्लाइओभर जारी रहनेछ ।

विजय दिवस रूसको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय उत्सव मानिन्छ। रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको कुरालाई महान् देशभक्तिपूर्ण युद्धका रूपमा सम्झने गरेको छ ।

सोभियत सङ्घमा लाखौँ मानिसको ज्यान लिएको युद्धले देशको सामूहिक स्मृतिमा गहिरो प्रभाव पारेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लामो शासनकालमा विजय दिवसलाई राष्ट्रिय गौरव र शक्ति प्रदर्शनको प्रमुख प्रतीक बनाउनुभएको छ। उनीहरूले युक्रेन युद्धको औचित्य पुष्टि गर्न यस ऐतिहासिक विजयको सन्दर्भलाई पनि प्रयोग गरिरहेका छन्।

गत वर्षको परेड भव्य थियो, जसमा ११ हजार ५०० भन्दा बढी सैनिक र १८० भन्दा बढी सैन्य गाडीहरू सहभागी थिए। यसले युक्रेन युद्धमा प्रयोग गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल यार्स, ट्याङ्क र हतियारहरू पनि प्रदर्शन गरेको थियो । त्यसबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा जस्ता विश्वका धेरै नेताहरु पनि उपस्थित थिए ।

यद्यपि, सन् २०२३ मा पहिले नै परेडलाई स्थगित गरिएको थियो ।

हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हावाहुरीले उडाएको छ ।

कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो ।

हावाहुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको प्रधानाध्यापक न्याउली छन्त्यालले बताउनुभयो । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठाको अभाव भएको उहाँले बताउनुभयो ।

यसैगरी आज अन्नपूर्ण गाउँपालिकाको शिख, घार क्षेत्रमा परेको असिनाले हिउँदे र बर्खेबालीमा क्षति पुर्याएको छ । असिनापानीपछिको बाढीले विभिन्न ठाउँमा सडक, खानेपानी, सिँचाइका संरचनामा क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तानको जनजीवन हावाहुरी, बर्सात र असिनाले प्रभावित बनाएको छ ।