`

पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १९ असोजः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने र अन्य भौतिक क्षति देखापरे पनि त्यसपछि पानीजन्य रोग देखिने भएकाले त्यसबाट बच्न आग्रह गर्नुभएको हो ।

उहाँका अनुसार प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोग पखाला, हैजा तथा कीटजन्य रोग डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । त्यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानसमेत अनुरोध गरिएको छ ।

यस्तै, हाल प्राकृतिक विपद्मा परेकाहरूले राम्रोसँग खान, बस्न पाउने अवस्था नबने पछि खानासम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक रोग पनि देखिने डा बुढाथोकीको भनाइ छ । प्राकृतिक विपद्पछि मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन आवश्यक सचेतना फैलाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले आपत्कालीन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको व्यवस्था रहेकाले हटलाइन १०२ मा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । मन्त्रालयले निरन्तर वर्षाका कारण पहिरो र तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।

हिल्सा माछाको संरक्षणका लागि बङ्गलादेशद्वारा युद्धपोत र गस्ती विमान तैनाथ

बङ्गलादेशले आफ्नो बहुमूल्य राष्ट्रिय माछा हिल्सा लाई प्रजनन सिजनमा अवैध माछा मार्ने गतिविधिबाट जोगाउन विशेष सुरक्षा अभियान सञ्चालन गर्दै नौसेनाका युद्धपोत र गस्ती विमान तैनाथ गरेको छ ।

हेरिङ–जस्तो स्वादिष्ट हिल्सा बङ्गलादेशको राष्ट्रिय माछा हो, जसलाई छिमेकी भारतको पश्चिम बङ्गालमा पनि अत्यन्त मन पराइन्छ । प्रत्येक वर्ष हिल्साहरू बङ्गालको खाडीबाट अण्डा दिनका लागि नदीहरूमा फर्कने गर्छन् ।

बङ्गलादेशी अधिकारीहरूले अक्टोबर ४ देखि २५ सम्म देशभरका माछा मार्ने क्षेत्रमा तीन हप्ते प्रतिबन्ध लगाएको जनाएका छन् । प्रतिबन्धको प्रभावकारी कार्यान्वयनका लागि नौसेनाले १७ युद्धपोत र अत्याधुनिक गस्ती हेलिकप्टरहरू परिचालन गरेको रक्षा बलको इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) विभागले जनाएको छ ।

“युद्धपोत र समुद्री गस्ती विमानहरूले गहिरो समुद्रमा विदेशी र आन्तरिक माझीहरूको अवैध प्रवेश रोक्न चौबीसै घण्टा निगरानी गरिरहेका छन्”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बङ्गलादेशका लाखौँ नागरिकको आजीविका माछामा निर्भर छ । ढाकामा हिल्साको मूल्य प्रतिकिलोग्राम दुई हजार दुई सय टका (करिब १८.४० डलर) सम्म पुग्छ । भारतको पश्चिम बङ्गाल र कोलकाताजस्ता बजारमा बढ्दो माग पूरा गर्न अत्यधिक माछा मारिँदा हिल्साको सङ्ख्या घट्दै गएको अधिकारीहरूको भनाइ छ ।

वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्नु र डेल्टाको पारिस्थितिकीय सन्तुलनमा आएको अव्यवस्थाले हिल्साको प्रजननमा नकारात्मक असर पार्दै गएको छ ।

तर केही विशेषज्ञहरूले युद्धपोतको उपस्थितिले हिल्साको प्रजननमा खलल पुर्‍याउने चेतावनी दिएका छन् । वल्र्डफिस को इकोफिस परियोजनाका पूर्व प्रमुख मोहम्मद अब्दुल वहाबले भन्नुभयो, “हिल्सालाई अण्डा दिनका लागि शान्त र अव्यवस्थित पानी आवश्यक पर्छ, त्यसैले युद्धपोतको सट्टा ड्रोनमार्फत निगरानी गर्नु उपयुक्त हुन्छ ।”

बङ्गलादेश सरकारले प्रतिबन्धको समयमा माझी परिवारलाई क्षतिपूर्ति स्वरूप प्रत्येकलाई २५ किलोग्राम चामल वितरण गर्ने व्यवस्था गरेको छ । तर धेरै माझीले यो सहयोग पर्याप्त नभएको बताएका छन् ।

“यी तीन हप्ता हाम्रा लागि निकै कठिन हुन्छन् । माछा मार्न नपाउँदा बाँच्न नै गाह्रो हुन्छ”, ६० वर्षीय माझी सत्तार माझीले गुनासो गर्नुभयो ।

सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ०४ः३० देखि आज बिहान ०४ः३० बजेसम्म रौतहटको महेशपुरमा अधिकतम वर्षा भएको जनाएको छ । बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले यही असोज १७ गते साँझदेखि आज बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको विभागले जनाएको छ । त्यस क्रममा रौतहटमा ३५८ मिमी वर्षा मापन भएको विभागले जनाएको हो ।

गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रमा वर्षा मापन गरिएको छ । जसमध्ये १०५ वटा केन्द्रमा ५० मिमीभन्दा बढी, ६८ वटा केन्द्रमा १०० मिमीभन्दा बढी, २१ वटा केन्द्रमा २०० मिमीभन्दा बढी र पाँचवटा केन्द्रमा ३०० मिमीभन्दा बढी वर्षा मापन भएको छ । ३०० मिमीभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२ दशमलव छ मिमी) र कन्याम टी स्टेट केन्द्र (३१४दशमलव दुई), पर्सा जिल्लाको मुडली केन्द्र (३२८दशमलव छ), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८ मिमी) र गौर केन्द्र (३१५ मिमी) रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले अविरल वर्षाका कारण शनिबार अपराह्नबाट उल्लिखित प्रदेशअन्तर्गतका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमलालगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको जानकारी दिनुभयो ।

विपद्बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध

काठमाडौँ, १९ असोजः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य ‘कमाण्ड पोष्ट’ बैठकले विवरण पठाउन आग्रह गर्दै अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनःस्थापनासम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो । स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गर्ने निर्णयसमेत भएको उहाँले बताउनुभयो ।

विपजन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौँ भित्रिने÷बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अर्को सूचना जारी नहुन्जेलसम्म जोखिमयुक्त राजमार्ग÷सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न÷नगराउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले अवरुद्ध सडक मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्न सडक विभाग, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार

उदयपुर, १९ असोजः बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजे मोरङको विराटनगरबाट काडमाडाँै हिँडेको बा ४ ख १६२८ को हायस गाडी सिन्धुलीको भिमानबाट पुनः फर्कने क्रममा उदयपुरको बेलकास्थित लालबजार नजिकैको अमन खोलाको कजवेमा बाढीले बगाएको हो ।

गाडीमा सवार २२ जनामध्ये इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालयको टोलीले २१ जनाको उद्धार गरेको थियो भने एकजना बेपता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताउनुभयो ।

बाढीले बगाएको एक जनालाई खोजी गर्ने क्रममा अहिले बिहान इलाका प्रहरी कार्यालय बेलकाको टोलीले बगाएको स्थानभन्दा डेढ किलोमिटर तल गिदेरी खोला नजिकै शव फेला पारेको इप्रकाका प्रमुख मौसम उदासले बताउनुभयो । मृतक मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने वर्ष ४० की मञ्जु अधिकारी रहेको प्रहरीले जनाएको छ ।

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौँ, १९ असोज – पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ । खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बस सेवा

चितवन, १९ असोजः हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो ।

शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौंँ जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उहाँले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाउनु भएको हो । एउटा माइक्रोबसले यात्रु लिएर गएको छ, भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवसायीलाई नियमानुसारको भाडा यात्रुसँग लिएर सेवा दिन भनेका छौँ ।” अत्यावश्यक परेका यात्रु लैजानुपर्ने भएकाले स्थानीय प्रशासनले पत्र बनाएर बस पठाएको उहाँले बताउनुभयो ।

बसलाई जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्रसमेत बनाइएको उहाँले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा रहेको छ । पृथ्वी राजमामर्गको चितवन खण्ड पनि खुल्ला रहेको छ । धादिङमा खसेको पहिरो पन्छ्यएर सवारी साधन सञ्चालनको तयारी रहेको जनाउँदै उहाँले साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताउनुभयो । प्रशासनले शनिबार यहाँ रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था गरेको थियो ।

इलाम पहिरोमा परी ३४ जनाको मृत्यु, चार बेपत्ता

इलाम, १९ असोज : अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोमा परी सूर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । विपद्मा परी सन्दकपुर गाउँपालिकामा दुई तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा एक÷एकजना बेपत्ता भएका छन् ।

रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

भादगाउँ(भक्तपुर), १९ असोजः लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ ।

गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन् ।

संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो । उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो ।

बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरु थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।

सप्तकोशी नदीमा जलवहाव उच्च : ५६ ढोका खोलियो,तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

धरान (सुनसरी), १९ असोज : गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ । जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताउनुभयो । उहाँका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ ।

आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो ।

उहाँले भन्नुभयो, “पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन् ।” सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ ।बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गर्नुभएको छ ।

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

काठमाडौँ, १९ असोज : गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बुलेटिन सार्वजनिक गरिसकेको छ ।

कोशी प्रदेशका केही जिल्ला अति भारी वर्षा हुने र कोशी जलाधार क्षेत्रमा पर्ने साना ठूला नदीहरुमा बहाव उल्लेख्ने बढ्ने विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिनुभएको छ । इलामलगायत पहाडी जिल्लामा बढी वर्षा हुँदा पहिरोको पनि उत्तिकै जोखिम रहेको उहाँले पूर्वानुमान गर्नुभयो ।

यो बेलामा धेरै प्रयोग गरिने शब्दहरु हुन् हल्कादेखि मध्यम , भारी , धेरै भारी र अति भारी वर्षा । यस्तै हल्का बदली, आंशिक बदली र साधारणतया बदली र पूर्ण बदलीजस्ता शब्द पनि मौसमविद्हरुले प्रयोग गरिरहेका छन् र यो हिजो र आजको वर्षामा पनि धेरै प्रयोग भएको शब्द हो ।

जल तथा मौसम विज्ञान विभागले आफ्ना सूचनाहरुमा उक्त शब्द नियमित रुपमा प्रयोग गर्दै आएको छ । मौसमसम्बन्धीका जानकारहरुले यी शब्दहरु बुझ्न सक्छन् तर आम सर्वसाधारणले यस्ता प्राविधिक शब्दहरु नबुझेका हुनसक्छन् । तपाइँ पनि यी शब्दबारे दोधारमा हुनुहुन्छ भने अब प्रष्ट हुनुहुन्छ ।

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षा मापन

जल तथा मौसम विज्ञान विभागले ती शब्दहरुको परिभाषित नै गरेको छ । यस्ता प्राविधिक शब्द र भनाइलाई उसले अथ्र्याएर जानकारी दिने गरेको छ ।
बेलाबेलामा भिडियोमार्फत पनि यस्ता शब्दका बारेमा यसरी जानकारी दिने गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

विभागका अनुसार १० मिलिमिटरभन्दा कम वर्षा मापन भएको अवस्थालाई हल्का वर्षाको रुपमा परिभाषित गर्ने गरिएको छ । दश मिलिमिटरभन्दा माथि र ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनेर उल्लेख गर्ने गरिएको छ । ५० मिलिमिटरदेखि माथि १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षाका रुपमा मापन गर्ने गरिएको छ ।

यस्तै १०० मिलिमिटरभन्दा माथि २०० मिलिमिटरभन्दा तलको वर्षालाई धेरै भारी वर्षा भन्ने गरिएको छ । यस्तै २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको वर्गमा राखिने गएिको विभागले जनाएको छ ।

हल्का बदली, अधिकांश बदली र पूर्ण बदली

यस्तै बदलीका बारेमा पनि बुझ्न जरुरी छ । विभागले वर्षाको जस्तै बदलीको बारेमा समेत परिभाषित गरेको छ । बादल नभएको अवस्थालाई मौसम सफा भनिन्छ । आकाशको २५ प्रतिशत भागमा बादल लागेको अवस्था छ भने त्यसलाई मुख्यतया सफा भनेर भन्ने गरिएको छ ।

छब्बीसदेखि ५० प्रतिशतसम्म बादल लागेको अवस्थालाई आंशिक बदली भनिन्छ । साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशत बादल लागेको अवस्थालाई जनाउँछ ।

यस्तै ७६ प्रतिशतमाथि ८८ प्रतिशतसम्म आकासमा बादल लागेको छभने अधिकांश क्षेत्रमा बदली भन्ने गरिएको छभने १०० प्रतिशत बादल लागेको अवस्थालाई भने पूर्ण बदली भनेर परिभाषित गर्ने गरिएको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभएको छ ।

बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी

खजुरा (बाँके), १९ असोजः जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले शनिबार साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर–१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

गत शुक्रबार दुर्गाको मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले रासससँगको सङ्क्षिप्त कुराकानीमा अहिले स्थिति सामान्य रहेको बताउनुभएको छ । शनिबार सबै राजनीतिक दल तथा स्थानीय प्रतिनिधि, नागरिक अगुवासहितको छलफल भएको जानकारी दिँदै छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने, धार्मिक सद्भाव कायम गर्ने तथा प्रशासनको स्वीकृति विना जुलुस, सभा, सम्मेलन, र्याली आयोजना नगर्ने सहमति बताउनुभयो ।

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो ,सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन : प्रमुख जिल्ला अधिकारी

मलेखु (धादिङ), १९ असोज : गत शनिबार र शुक्रबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् ।
सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्राय : शून्यजस्तै बनेको छ ।

वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ –१० जवाङखोला क्षेत्रमा पनि पहिरो खसेको जनाइएको छ । आज बिहानै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी पहिरो जोखिमका कारण राजमार्गको यात्रामा ननिस्कन र सूचनाको पूर्ण पालना गर्न यातायात व्यवसायी र यात्रुहरुलाई आग्रह गरेको छ ।

त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकको केही स्थान क्षतविक्षत बनेको छ । भलपानीले सडकमा थुपारेको गेग्रानले पनि सवारी सञ्चालन गर्न मुस्किल छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भन्नुभयो, “सानाठूला पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध छ । विस्तारका क्रममा रहेको राजमार्गको ठाउँठाउँमा पहिरोको उच्च जोखिम छ । पूर्ण रुपमा सडक सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन ।”

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार राजमार्गमा कतिखेर पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । सडक अवरुद्ध हुने गरी पहिरो नझरेको स्थानमा पनि ढुङ्गा खस्ने र सडकमा बजारिने उच्च जोखिम छ । यसरी खसेको ढुङ्गा गुडिरहेको सवारीमा नबजारियोस् र मानवीय क्षति नहोस् भन्नाको लागि पनि पूर्ण रुपले सवारी आवागमनमा रोक लगाइएको हो ।
पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन् । वर्षा रोकिए पनि सडक सफा गर्न र सडक पुनःसञ्चालन गर्न अझै केही समय कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

वर्षाले रोकिएका आन्तरिक उडान आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ । शनिबार आन्तरिक उडान ठप्प हुँदा सयौं यात्रु विमानस्थलमै अलपत्र परेका थिए । धेरै यात्रुहरू दशैंपछिको यात्राका लागि टिकट लिएर प्रतीक्षारत रहेकाले असुविधा व्यहोर्नु परेको थियो । मौसम सुधारसँगै उडान पुनः सुरु भएपछि यात्रुहरूले सहजता महसुस गर्ने अपेक्षा गरिएको छ ।

सप्तकोशी नदीमा जलवहाव उच्च : कोशी ब्यारेजका ३९ ढोका खोलिए

धरान (सुनसरी), १९ असोज : अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ३९ गेट ( ढोका) खोलिएका छन् ।जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएकोे जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ७ः०० बजे सो नदीको जलवहाव मापन गरिएको थियो ।

शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

अविरल वर्षातको प्रभाव : प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

काठमाडौँ, १९ असोज : अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् ।

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरुमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ । उहाँका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ ।

यसैगरी कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ । जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ । ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छभने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ ।

आज र भोली शेयर बजार बन्द रहने

काठमाडौं । आज र भोली दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुईदिन शेयरबजार पनि बन्द हुने भएको हो ।

दशैंको लामो बिदापछि आजदेखि नियमित कारोबार सुरु हुने अपेक्षा गरिएको शेयरबजार, मौसमजन्य विषम परिस्थितीका कारण पुनः बन्द भएको हो । सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था समेत दुईदिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि लगानीकर्ताले दशैंपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।
यद्यपी, विज्ञहरुले भने छोटो अवधिका लागि कारोबार रोकिनुले बजारमा ठूलो नकारात्मक असर नपर्ने बताउँदै आएका छन् । तर लगानीकर्ताको मनोबल भने प्रभावित भएको छ । लगातार बिदा र अस्थिर मौसमका कारण बजार खुल्नेबित्तिकै कारोबारमा सुरुवाती दिनमा उतारचढाव देखिने सम्भावना रहेको उनीहरूको आँकलन छ ।

अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

चितवन, १९ असोजः अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ । शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ । ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो ।

शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् । उहाँका अनुसार काठमाडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधन रोकिएको छ ।

धादिङ, तनहुँलगायतका जिल्लाहरुमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उहाँले जानकारी दिनुभयो । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई यथास्थानमा रहनसमेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उहाँले जानकारी दिनुभयो ।

पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी, १९ असोज : बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ ।

विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै पहिरोले हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पु¥याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको मङ्गला गाउँपालिका–२ बाबियाचौरका चक्रलाल पाण्डे (राजु)ले बताउनुभयो ।

“साँघुरो सडकमा गुडिरहेका सवारी साधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ”, उहाँले भन्नुभयो, “जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ ।”

म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनामा पनि पहिरोका कारण असर परेको छ । सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ ।

तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ ।

जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी बेलिब्रिज निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “स्घीय सरकारसँग भएको जगेडा बेलिब्रिज ल्याएर जडान गर्न पहल गरिरहेका छौँ ।”

तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई वर्षअघि गरेको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण दुई वर्षसम्म पनि कार्यान्वयन भएको छैन ।

‘अकबरे खुर्सानी बिक्री गर्न बजारको समस्या छैन, माग धेरै छ ’

दमौली (तनहुँ), १९ असोजः तनहुँको भिमाद नगरपालिका–९ को भानुमतिका कृषकले अकबरे खुर्सानी उत्पादनबाट करिब रु ४५ लाख आम्दानी गरेका छन् । सामूहिक अकबरे खुर्सानीखेती गरेका यहाँका कृषकले रु ४५ लाख आम्दानी गरेका हुन् ।

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत यहाँ अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । यहाँका ३५ जना कृषक अकबरे खुर्सानीखेतीमा आबद्ध छन् ।

कृषक अखिल सारु मगरले यस वर्ष अकबरे खुर्सानी बिक्रीबाट रु सात लाख आम्दानी गरिसक्नुभएको छ । करिब रु १२ लाख आम्दानी हुने उहाँको अनुमान छ । कृषक जयकुमार थापाले खुर्सानी बिक्री गरी रु एक लाख ५० हजार आम्दानी भएको जानकारी दिनुभयो । उहाँले मकै र कोदो रोप्ने बारीमा अकबरे खुर्सानी गरेको बताउनुभयो । असारदेखि अकबरे खुर्सानी बजार पु¥याइएको उहाँले उल्लेख गर्नुभयो ।

यहाँको कटनछाप, पाथर्दी, सखेप, पाइमे, जौपानीममा व्यक्तिगतसँगै सामूहिक अकबरे खुर्सानीखेती गरिएको छ । वडालाई अकबरेखेतीको पकेट क्षेत्र बनाउन ५० हजार बेर्ना कृषकलाई वितरण गरिएको थापाले बताउनुभयो ।

अकबरे खुर्सानी बिक्रीबाट यहाँका कृषकले न्यूनतम रु ७० हजार आम्दानी गरेका छन् । उहाँले भन्नुभयो, “अकबरे खुर्सानीले यहाँका कृषकको मुहारमा खुसी ल्याएको छ ।” अकबरे खुर्सानी पिरो भए पनि यसको आम्दानीले कृषकको जीवन गुलियो बनाएको थापाको भनाइ छ ।

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न यहाँका स्थानीयवासी अकबरे खुर्सानीखेतीमा लागेका हुन् । उक्त खेतीबाट कृषकहरुले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारहरुमा बिक्री गरिएको छ । उहाँले भन्नुभयो, “बजारको समस्या छैन, माग धेरै छ ।” हाल बजारमा प्रतिकेजी रु तीन सयदेखि रु ५०० थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नम्बर ९ ले रु एक लाख अनुदान दिएको थियो ।
–––

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा प्रकाश बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ । बिरामी स्थानान्तरण तथा रेफरल सेवाहरूलाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक एवं जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मन्त्रालयले भनेको छ ।

मन्त्रालयले कुनै जानकारी तथा सहयोगका लागि सङ्घीय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अतिरिक्त मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।-

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर, १९ असोजः त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् ।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ । घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

काठमाडौँ, १९ असोजः हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।

कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १९ असोजः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । —

वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ, १८ असोजः शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडा दसैँ पर्व भव्य रुपमा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।

नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।

यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले टाढाटाढाबाट मान्यजनकहाँ आशीर्वाद लिन जानेहरुको तालिका प्रभावित भएको छ । भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।-

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

बरहथवा (सर्लाही), १९ असोजः सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो ।

लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा स्थानीय छन् ।

जल मापन स्टेसनको तथ्याङ्कअनुसार जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा २१५.४ मिलिमिटर वर्षा मापन भएको छ । योसँगै जिल्लामा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा रहेका र बागमती, लखन्देही, झिम, बाँकेलगायत खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन सचेत गराएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै पानीको सतह बढेसँगै बागमती सिँचाइ ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहट दुवैतर्फको च्यानल नहर बन्द गरेर पानी खोलातर्फ खोलिएको हो । रौतहटको पधेरेदोभानस्थित बागमती खोलामा रहेको जल सतह मापन केन्द्रका अनुसार अहिले बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ ।

यस स्टेसनको मापन तहअनुसार ६ मिटर सतह खतराको सूचक हो भने, ६.८ मिटर खतरा तह मान्ने गरिएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकोले खतरा तहसम्मै पुग्ने जोखिम रहेको आयोजनाका इन्जिनियर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पानीले खतरा तह पार गरेपछि खोलाको ड्यामलगायतको संरचनामा क्षति पुग्न सक्ने जोखिम रहन्छ । त्यसो भएमा बागमती ब्यारेजमा समेत क्षति पुग्ने भएकाले सिँचाइ आयोजनाले केही माथि रहेको सेफ्टी ड्याम फुटाएर बागमती सिँचाइ आयोजनाको ब्यारेज सुरक्षित गर्ने गरी उपकरणहरू तयारी अवस्थामा राखेको छ ।

मानवीय क्षति नहुनेगरी विपद् व्यवस्थापनका काम गरिएको छ: गृहमन्त्री अर्याल

काठमाडौँ, १८ असोज ः गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपद्मा मानवीय क्षति नहुनेगरी पूर्वतयारी र प्रतिकार्यको काम भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले यसपटक मानवीय क्षति शून्य नै होस् भन्ने उद्देश्यका काम भइरहेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले मानवीय क्षति शून्यमा झार्ने सरकारको योजनामा कुनै कमिकमजोरी नहोस् भनेर निर्देशन दिइएको पनि बताउनुभयो । विपद्का समयमा गतल फाइदा उठाउन खोज्ने प्रवृत्तिविरुद्ध सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सङ्कटका बेला जसले नाजायज अवसर देखिरहेको छ, त्यसविरुद्ध निगरानी र नियन्त्रण गरिनेछ ।”

सङ्कटका बेला सुशासनको महत्त्व बढी हुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारको निर्देशनलाई मातहतका निकायले कडाईका साथ कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । “सानोभन्दा सानो कमजोरीले नयाँ परिस्थितिको जन्म हुनसक्छ, हाल राजनीतिक परिस्थिति पनि जटिल छ”, उहाँले भन्नुभयो, “व्यापक असन्तुष्टि छ, यहीबीचमा सरकार, संयन्त्र र कर्मचारीको कमिकमजोरीले नाजायज काम भए राज्यप्रतिको असन्तुष्टि नयाँ चरणमा प्रवेश गर्छ । त्यसैले सबै सतर्क रहन आवश्यक छ ।”

बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ, १८ असोजः काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका मानिसलाई चारवटा विद्यालयमा सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार विश्व निकेतन मावि त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माविमा ५२ जना, जन विकास मावि कुलेश्वरमा ५२ परिवारका २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा २० जनालाई राखिएको छ ।

महानगरको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) को व्यवस्था गर्न सकिने जनाएको छ । उद्धार गरिएकाहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ ।महानगरले कुनै समस्या परेमा १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ ।

चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट

चितवन, १८ असोजः चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ । सरोकार भएकाहरूसहित आज जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले होटलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्लाभरका सबै प्रकारका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उहाँले बताउनुभयो ।

निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।होटल व्यवसायी सङ्घका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले अलपत्र परेका यात्रुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताउनुभयो । उहाँले बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्थासमेत गरिने बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताउनुभयो । चितवनको मुग्लिन, नारायणगढ, भरतपुर, टाँडी, पर्सालगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटलमा छुट सुविधा लिएर बस्न सक्ने छन् ।

रौतहटको हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु

चन्द्रपुर (रौतहट), ८ असोजः यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिनुभयो ।

निरन्तर निगरानी एवं अनुगमन भइरहेको छः गृहमन्त्री अर्याल

काठमाडौँ, १८ असोजः गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताउनुभएको छ ।विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उहाँले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताउनुभएको हो ।

असोज १७ गते बेलुकीदेखि निरन्तर परिरहेको वर्षाको मन्त्रालय र अन्तर्गतका निकायले पहिलेदेखि नै सूचना जारी गरेर सतर्क गराइएको उहाँले उल्लेख गर्नुभएको छ । साथै, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायबीच समीक्षा बैठक गरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ, १८ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको छ । आइतबार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको उहाँले बताउनुभयो । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने गरी तय गरिएको छ ।

कार्यालय सचिव डा अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

यसैबीच पार्टी महासचिव शङ्कर पोखरेलले आज सन्देश जारी गरी वर्षाका कारण बाढीपहिरो र डुबानमा राज्यका निकायसँग सहकार्य गरी उद्धारमा खट्न नेता कार्यकर्तालाई अनुरोध गर्नु भएको हो ।

“भारी वर्षाका कारण बाढीपहिरो र डुवान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्दछौँ । साथै, आवश्यकताअनुसार राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई विशेष अनुरोध छ”, उहाँले भन्नुभएको छ ।

 

विपद् प्रभावित जनताको सेवामा खटिन पार्टीपङ्क्तिलाई माओवादीको आग्रह

काठमाडौँ, १८ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ विपद् प्रभावितको उद्धार तथा राहतमा खटिन पार्टी नेता कार्यकर्तालाई आग्रह गरेको छ ।प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न आग्रह गर्नु भएको हो । उहाँले तीनै तहका सरकारलाई विपद् प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रहसमेत गरेको छ ।

यस्तै, विपद्को सम्भावित जोखिम भएका स्थानका नागरिकलाई सतर्कता अपनाउन र बाढीपहिरो, डुबान, भूक्ष्यलगायत कारण मानवीय क्षतिसमेत हुनसक्ने भएकाले अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आह्वान

काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।

उहाँले आज सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन पनि आग्रह गर्नुभएको हो ।

“भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आमनेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू, स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिलाई सरकारले जारी गरेका सूचना व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु”, महामन्त्री थापाले भन्नुभएको छ ।

उहाँले पार्टीका सबै तहका कार्यकर्तालाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गर्नुभएको छ । महामन्त्री थापाले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपङ्क्तिमा खटिनु समयको माग भएको बताउनुभयो ।

बल्खुस्थित वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

काठमाडौँ, १८ असोजः काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।

बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिनुभयो ।

राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, १८ असोजः गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पु¥याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा सङ्घ संस्थासँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित गन्तव्यसम्म पुर्‍याउन, बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको ‘बर्थिङ सेन्टर’सम्म पुर्‍याउन व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको मन्त्रालयका उपसचिव निशानराज गौतमले जानकारी दिनुभयो । बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देश गरिएको पनि उहाँले सुनाउनुभयो ।

प्रतिकूल मौसमलाई मध्यनजर गर्दै वर्षातका कारण बाढीपहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित हुने व्यवस्थाका लागि परिपत्र गरिएको छ ।

बाढी, पहिरोका सन्दर्भमा गरिएका कामको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशित गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचनाअनुसार लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने÷बाहिरिने सवारीसाधनको आवतजावत आजदेखि असोज २० गते सोमबारसम्म बन्द गर्न÷गराउन पनि मन्त्रालयले पत्राचार गरेको छ । त्यसको अनुगमन र निगरानी गर्न निर्देशन दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि असोज २० सम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो निर्देशन गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । विभागको पूर्वानुमानअनुसार हाल देशभर वर्षा भइरहेकाले मनसुनजन्य विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आह्वान गरेको जनाइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयद्वारा बच्चाहरूमा खोकीको सिरपको होसीयारी पुर्वक प्रयोगको आग्रह

मध्यप्रदेश र राजस्थान राज्यहरूमा खोकीको सिरपको सेवन पछि बच्चाहरूको मृत्यु भएपछि, भारतको स्वास्थ्य मन्त्रालयले बच्चाहरूमा खोकीको सिरपको प्रयोग होसीयारी पुर्वक गर्ने सल्लाह दिदै सम्बन्धित सबैलाई सचेत हुन आग्रह गरेको छ ।भारतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले शुक्रबार सबै राज्यहरूलाई जारी गरेको सल्लाहमा बच्चाहरूका लागि खोकीको सिरपको “विवेकपूर्ण प्रिस्क्राइब र वितरण गर्नु पर्नै जनाएको छ ।

डिजिएचएसका अनुसार, बच्चाहरूमा खोकी औषधीय बिना नै उच्च संरक्षणले मात्र पनि समाधान हुने जनाउदै खोकीको औषधिहरू दुई वर्ष मुनिका बच्चाहरूलाई वितरण गर्न नहुने कुरामा जोड दिएको छ ।डिजिएचएसले खोकी र चिसोबाट पीडित बच्चाहरूका लागि “पर्याप्त हाइड्रेसन र आराम“ लगायत गैर–औषधीय उपायहरू अवलम्बन गर्नु फाइदाजनक हुने प्रष्ट पारेको छ ।

स्थानीय मिडिया रिपोर्टका अनुसार मध्य प्रदेशमा नौ र राजस्थानमा तीनजना गरी १२ जना बालबालिकाको खोकीको सिरप सेवन गरेपछि उत्पन्न जटिलताका कारण मृत्यु भएको छ । दुवै राज्यमा, स्वास्थ्य अधिकारीहरूले खोकीको सिरपमा प्रतिबन्ध जारी गरी मृत्युको अनुसन्धानको आदेश दिएको जनाइएको छ ।

उपत्यका आसपासका नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ, १८ असोजः निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ । जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जलसतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । “खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल चार दशमलव दुई मिटर जलसहत पुगेको छ । यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

विभागका अनुसार काभ्रेस्थित रोसी, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जलसतह सतर्कता तह पार गरेको छ । बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी–नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ । आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

काठमाडौँका नदी करिडोरमा यस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी

काठमाडौँ, १८ असोजः शनिबार साँझ बल्खुुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान सारियो ।

यस्तै, नदी किनारका सडकमा राखिएका सवारीसाधनलाई पनि त्यहाँबाट सुरक्षित स्थलतर्फ लगियो । फस्न लागेका मोटरसाइकललाई हतार हतार डुबान क्षेत्रबाट निकालिएको दृष्यले काठमाडौँमा बाढीको असर पर्न थालिएको अनुभूति भइसकेको छ । केही सञ्चारकर्मी र यात्रुले डुबानको दृश्यलाई कैद गरिरहेका थिए ।

पानी परिरहेको र थप जोखिम हुन सक्ने भएकाले डुबान भइरहेको बस्तीभित्र कोही पस्ने कुरा भएन । त्यही बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, हरी विकास सचिव गोपालप्रसाद सिग्देलसहितको टोली त्यहाँ पुगेको देखियो । उहाँहरूले मानवीय र भौतिक क्षति हुन नदिन सतर्कता अपनाउन सम्बन्धित निकाय र स्थानीय प्रशासनलाई निर्देशन गर्नुभयो ।

मन्त्री घिसिङसहितको टोलीले आज काठमाडौँभित्रको धोवीखोला करिडोर, मनोहरा, विष्णुमतीर, बागमती करिडोर, चोभार–गल्छीलगायत क्षेत्रमा निरीक्षण गरेको थियो । लतिपुरतर्फका करिडोरमा ललितपुर महानगरपालिका प्रमुख चिररिबाबु महार्जनसहितले पनि निरीक्षण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका काममा जुटिरहेको देखियो ।

यहाँ रहेका नौ वटा स्वचालित बाढीमापन केन्द्रमध्ये बागमती खोकना केन्द्रमा तीन दशमलव पाँच मिटरको सतर्कता विन्दु रहेकामा साँझ ६ बजेसम्ममा तीन दशमलव ५८ मिटर पानीको सतह भइसकेको थियो । यस्तै, मनहरा खोला, बालकुमारी केन्द्रमा चार दशमलव चार मिटरसम्म खतरा तह मानिएकामा चार दशमलव ४३ मिटरको तह पुगिसकेको छ र यो बढ्दो क्रममा रहेको छ । यो बढ्दो क्रमले टेकु, बल्खु र सानेपास्थितका क्षेत्रमा खतराको घन्टी बजेको अनुभव गरिएको छ । च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालय र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा बाढी पस्न थालेको छ ।

गत वर्ष असोजको दोस्रो साता पनि यस्तै गरी दुई दिनसम्म लगातार परेको वर्षाले ठूलो मानवीय र भौतिक क्षति गरेकाले यस वर्ष जल तथा मौसम विज्ञान विभागले हरेक तीन तीन दिनको मौसम पूर्वामानुमान प्रणाली सार्वजनिक गरी सतर्क रहन अनुरोध गर्दै आएको थियो । त्यसले पूर्वतयारीमा जुट्न राज्यका निकाय र जनसमुदायलाई केही सहज भएको छ । विभागको पूर्वानुमान अनुसार नै बागमती, गण्डकी, मधेस र लुम्बिनीका विभिन्न क्षेत्रमा आज बिहानदेखि पानी परिरहेको छ र यो क्रम आगामी तीन दिनसम्म रहने छ । अनुमानका कारण लामो र जोखिमयुक्त मार्गमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । मुलुकभित्रका आन्तरिक उडान सबै बन्द गरिएका छन् ।

रातिको समयमा अझ धेरै पानी पर्ने भएकाले तीनै तहका सरकार, सुरक्षा निकायसमेत परिचालन भई ती क्षेत्रमा मानवबस्तीलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र सुरक्षाका अन्य उपाय अपनाउने क्रम जारी छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत् बागमती नदी वरिपरिका बासिन्दालाई बाढीले विस्थापन गर्ने ठुलो सम्भावना रहेकाले बाढी नघटुञ्जेलसम्म अस्थायी रूपमा बस्न व्यवस्था उपलब्ध गराउन त्यहाँ वरपरका विद्यालय र कलेजलाई आव्हान गर्नुभएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको आग्रहमा आफूले त्यहाँका विद्यालय र कलेजलाई आवश्यक निर्देशन दिन शिक्षा मन्त्रालयका सम्बन्धित शाखामार्फत निर्देशन दिएको उहाँले जनाउनुभएको छ ।

यस्तै, काठमाडौँ महागरपालिकाको विपद् व्यवस्थापन विभागले जोखिम भएका नदी किनार छेउछाउका बासिन्दालाई नजिकैको सुरक्षित विद्यालयमा स्थानान्तरण गर्न थालिसकेको छ ।

यही असोज २० गतेसम्म कोसीदेखि लुम्बिनी प्रदेशसम्मका काभ्रे, सिन्धुपाल्चोक, रसुवा मकवानपुर, बरा पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा मध्यमदेखि अति भारी वषौको पूर्वानुमान छ । त्यसबाट उत्पन्न हुनसक्ने विपद्को सामना गर्न सरकारी संयन्त्रहरू तयारी अवस्थामा देखिएका छन् । वर्षाका कारणले आउन सक्ने जोखिम व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेनाका छ वटा हेलिकप्टर, अन्य निजी हेलिकप्टर, ड्रोन, तीन वटै सुरक्षा निकाय र प्रत्येक स्थानीय तहमा आवश्यक स्वयंमसेवकलाई तयारी अवस्थामा राखेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

अविरल वर्षापछि आउन सक्ने सम्भावित जोखिमका लागि सरकारी र गैरसरकारी निकायसँगको समन्वयमा सबै संयन्त्रलाई परिचालन गरिएको सरकारले सार्वजनिक रूपमा जनाइसकेको छ । विभिन्न राजनीतिक दलले पनि विज्ञप्ति जारी गरी विपद्पछिको अवस्था सामना र मानवीय सहयोगका लागि तयारी अवस्थामा रहेका जनाएका छन् ।

नदी छेउका बासिन्दालाई स्कुल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न अनुरोध गरेका छन् ।अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै भनेका छन् , ‘बागमती नदी वरिपरिका स्कुल कलेजहरूलाई अनुरोध– बागमती नदी छेउछाउमा बसोवास गर्ने बासिन्दाहरूलाई बाढीले विस्थापन गर्ने ठूलो सम्भावना रहेकोले उनीहरूलाई बाढी नघटुञ्जेल सम्म बस्न अस्थायी व्यवस्था गर्नु पर्ने भएकोले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराई दिन बिनम्र अनुरोध छ,’ उनले भने, ‘यसको लागी गृह मन्त्रीज्यूको अनुरोधमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र शाखा प्रमुखहरूलाई मैले निर्देशन दिएको छु ।’