`

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा रु सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु सात अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, रु पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, रु एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, रु ५७ करोड ५१ लाख मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा रु ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताए ।

अध्यादेशको अस्त्र: १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरे । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् ।

सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्ति

नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात पदाधिकारी पदमुक्त हुने भएका छन् । राष्ट्रिय समाचार समिति (रासस) ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी तीन जनाको पद रिक्त हुने भएको छ ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ अन्तर्गत चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी तीन जना तथा सञ्चार संस्थान ऐन, २०२८ बमोजिम नियुक्त अध्यक्ष र सञ्चालक गरी दुई जना पदमुक्त हुने भएका छन् । प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम मनोनित अध्यक्ष र सदस्य गरी १० जना तथा श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी ६ जना पदमुक्त हुने भएका छन् । दूरसञ्चार ऐन, २०५३ बमोजिम नियुक्त प्राधिकरणका अध्यक्ष र सदस्य गरी पाँच जना तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिमका चार जना सदस्य पदमुक्त हुने भएका छन् ।

विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणका ६ पदाधिकारी तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ अन्तर्गतका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी तीन जनाको पद रिक्त हुनेछ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी ६ जना, सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ अन्तर्गत नियुक्त तीन जना र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ बमोजिमका अध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

शिक्षा तथा विश्वविद्यालय क्षेत्र

शिक्षा ऐन, २०२८ अन्तर्गतका विभिन्न समिति र शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्य गरी २३ जना पदमुक्त हुने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित २८ जना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ अन्तर्गतका १७ जना पदाधिकारीको पद रिक्त हुने भएको छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अन्तर्गत नियुक्त ३४ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ बमोजिम नियुक्त उपकुलपति र कुलसचिवलगायत २५ जना तथा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित ८४ पदाधिकारी पदमुक्त हुने भएका छन् । विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी आठ जना तथा पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० अन्तर्गत नियुक्त उपकुलपति र कुलसचिवलगायत ६९ पदाधिकारी पदमुक्त हुने भएका छन् ।

यसैगरी पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम नियुक्त उपकुलपति र शैक्षिक प्रमुखसहित ५० जना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ बमोजिम नियुक्त उपकुलपति र कुलसचिवलगायत ४४ जना पदमुक्त हुने भएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत नियुक्त भएका २७ जना र मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ बमोजिम नियुक्त २६ जना पदाधिकारीको पद रिक्त हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत नियुक्त २२ जना, नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ बमोजिम नियुक्त २४ जना, राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ अन्तर्गत नियुक्त ३९ जना र मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ बमोजिम नियुक्त २४ पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्र

आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ बमोजिम नियुक्त कुलसचिव र सदस्य गरी ६ जना तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ बमोजिमका नौ पदाधिकारी पदमुक्त हुने भएका छन् । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ अन्तर्गत नियुक्त पाँच जना पदमुक्त हुने भएका छन् ।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त उपकुलपतिलगायत १५ जना तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ बमोजिमका पाँच जना सदस्यको पद रिक्त हुने भएको छ ।

नेपाल नर्सिङ परिषद् ऐन, २०५२ अन्तर्गत नियुक्त आठ जना र नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम नियुक्त पाँच पदाधिकारी पदमुक्त हुने भएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अन्तर्गत नियुक्त १० जना र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७ बमोजिम नियुक्त आठ जना पदमुक्त हुने भएका छन् । नेपाल फार्मेसी परिषद् ऐन, २०५७ अन्तर्गत नियुक्त सात जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ बमोजिम नियुक्त २२ पदाधिकारी पदमुक्त हुने भएका छन् ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत नियुक्त ३३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ बमोजिम नियुक्त ३४ पदाधिकारीको पद रिक्त हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ अन्तर्गत नियुक्त ३१ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ बमोजिम नियुक्त ३१ पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

स्वास्थ्य बीमा ऐन, २०७४ अन्तर्गत नियुक्त सात जना र जनस्वास्थ्य ऐन, २०७५ बमोजिम नियुक्त ६ सदस्यको पद जाने भएको छ । नेपाल मेडिकल काउन्सिल ऐन, २०७५ अन्तर्गत नियुक्त आठ जना र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम नियुक्त १६ पदाधिकारी पदमुक्त हुने भएका छन् । विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ अन्तर्गत नियुक्त ४२ जना र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम नियुक्त २९ पदाधिकारीको पद रिक्त हुने भएको छ ।

ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकाय

नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम नियुक्त कार्यकारी निर्देशक र सदस्य गरी ६ जना तथा काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अन्तर्गत नियुक्त चार पदाधिकारी पदमुक्त हुने भएका छन् । नेपाल खानेपानी संस्थान ऐन, २०४६ बमोजिम नियुक्त ६ जना र नगर विकास कोष ऐन, २०५३ अन्तर्गत नियुक्त ६ पदाधिकारी पदमुक्त हुने भएका छन् ।

यस्तै सडक बोर्ड ऐन, २०५८ बमोजिम नियुक्त चार जना, विद्युत् नियमन आयोग ऐन, २०७४ अन्तर्गत नियुक्त पाँच जना र नेपाल रेल्वे ऐन, २०७९ बमोजिम नियुक्त रेल्वे प्रशासक र सदस्य गरी पाँच पदाधिकारी पदमुक्त हुने भएका छन् । वित्तीय क्षेत्रतर्फ कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम नियुक्त आठ जना र नागरिक लगानी कोष ऐन, २०४७ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ बमोजिमका १५ जना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ अन्तर्गत नियुक्त पाँच पदाधिकारी पदमुक्त हुने भएका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४ बमोजिम नियुक्त तीन जना र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत नियुक्त एक सदस्यको पद जाने भएको छ । प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ बमोजिम नियुक्त ६ जना र सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत पुनरावलोकन समितिका तीन पदाधिकारी पदमुक्त हुने भएका छन् ।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत र सदस्य गरी तीन जना र विशेष आर्थिक क्षेत्र ऐन, २०७३ अन्तर्गत नियुक्त एक जनाको पद रिक्त हुने भएको छ । सहकारी ऐन, २०७४ बमोजिम नियुक्त आठ जना र सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अन्तर्गत नियुक्त चार पदाधिकारीहरू पदमुक्त हुने भएका छन् । औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम नियुक्त दुई जना, बीमा ऐन, २०७९ अन्तर्गत नियुक्त दुई जना र प्रत्यायन ऐन, २०७९ बमोजिम नियुक्त ६ पदाधिकारीको पद जाने भएको छ ।

कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान र सामाजिक क्षेत्र

बिउबिजन ऐन, २०४५ अन्तर्गतका आठ सदस्य र नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ बमोजिम नियुक्त नौ पदाधिकारी पदमुक्त हुने भएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ अन्तर्गत नियुक्त सात जना र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ बमोजिम नियुक्त सात जनाको पद रिक्त हुने भएको छ ।

यस्तै नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त तीन जना र बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ बमोजिम नियुक्त पाँच पदाधिकारी पदमुक्त हुने भएका छन् । जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ अन्तर्गत नियुक्त छ जना र वातावरण संरक्षण ऐन, २०७६ बमोजिम नियुक्त पाँच जनाको पद जाने भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नियुक्त सात पदाधिकारी पदमुक्त हुने भएका छन् ।

प्रज्ञा प्रतिष्ठानतर्फ नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ बमोजिम नियुक्त नौ जना र गुठी संस्थान ऐन, २०३३ अन्तर्गत नियुक्त १० जनाको पद रिक्त हुने भएको छ । लुम्बिनी विकास कोष ऐन, २०४२ बमोजिम नियुक्त ११ जना र पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अन्तर्गत नियुक्त नौ पदाधिकारी पदमुक्त हुने भएका छन् ।

यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ बमोजिम नियुक्त ४९ जना र नेपाल स्काउट ऐन, २०५० अन्तर्गत नियुक्त ३३ जनाको पद जाने भएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५ बमोजिम नियुक्त १६ जना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अन्तर्गत नियुक्त २५ पदाधिकारी पदमुक्त हुने भएका छन् ।

आदिवासी जनजाति परिषद् अन्तर्गतका ६० जना मनोनीत सदस्यहरू र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम नियुक्त ३३ जनाको पद रिक्त हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत नियुक्त ३३ जना र नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम नियुक्त ४३ पदाधिकारी पदमुक्त हुने भएका छन् ।

प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फ

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ बमोजिम नियुक्त चार जना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त एक जनाको पद जाने भएको छ । समाज कल्याण ऐन, २०४९ बमोजिम नियुक्त १० जना र नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त १४ पदाधिकारी पदमुक्त हुने भएका छन् ।

यस्तै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम नियुक्त १० जना र नेपाल ट्रष्ट ऐन, २०६४ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिमका पाँच पदाधिकारी पदमुक्त हुने भएका छन् ।

श्रम ऐन, २०७४ बमोजिम नियुक्त १० जना र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अन्तर्गत नियुक्त सात जनाको पद जाने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम नियुक्त चार जना र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अन्तर्गत नियुक्त १७ पदाधिकारी पदमुक्त हुने भएका छन् ।

यसैगरी भूउपयोग ऐन, २०७६ बमोजिम नियुक्त चार जना, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत नियुक्त तीन जना र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त २७ पदाधिकारीहरूको पद रिक्त हुने भएको छ । यसरी एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने भएका छन् । सरकारले अब यी रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ ।

रास्वपा सचिवालयको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् । बैठक आज बिहान १२ः३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल हुनेछ ।यस्तै, बैठकमा महाधिवेशन कार्यविधि २०८३ सम्बन्धको विषयमा र संसदीय दलको विधान संशोधन तथा अन्य विविध विषयहरूमा छलफल गरिनेछ ।

खार्पुनाथ गाउँपालिकाका वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला। खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।शनिबार प्रहरीले वडा सदस्य रोकाया घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।

वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद ११० ग्राम लुकाइछिपाइ राखेको अवस्थमा फेला पारेको उहाँले बताउनुभयो ।वडा सदस्य रोकायाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर १११ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २३ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा रहेको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू , नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ।

हाल कोशी,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको पहाडी भुभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

वैकल्पिक व्यवस्था बिना विद्यालय भत्काउँदा विद्यार्थी आतंकित

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बागमती प्रदेश समितिले पछिल्लो समय विद्यालयहरूमा डोजर प्रयोग गरी भौतिक संरचना भत्काइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

शनिबार जारी प्रेस वक्तव्यमा संगठनले केही दिनयता काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा डोजर चलाउँदै आएको उल्लेख गर्दै यसले जनतामा त्रास सिर्जना गरेको आरोप लगाएको हो ।

विशेषगरी सरस्वती आधारभूत विद्यालय, मध्यपुर थिमीमा बिना सूचना तथा वैकल्पिक व्यवस्था विद्यालय भत्काइएको र त्यसपछि बुद्धज्योति बाल उद्यम आधारभूत विद्यालय, काठमाडौं महानगरपालिका–१९, बालाजुस्थित विद्यालयमा पनि यस्तै कार्य दोहोरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

संगठनले यस्ता गतिविधिले विद्यार्थीहरूमा त्रास फैलाएको, उनीहरूको पढाइ अवरुद्ध भएको तथा बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर परेको दाबी गरेको छ। साथै, सयौं विद्यार्थी शिक्षा प्राप्त गर्नबाट वञ्चित भएको उल्लेख गर्दै यसप्रति खेद प्रकट गरिएको छ।

कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी

सुर्खेत। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको समृद्धिका लागि सुबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।आज यहाँ वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’ दोस्रो संस्करणको उद्घाटन समारोहमा उहाँले प्रदेशको समृद्धिका लागि बजेट खर्च क्षमता विकास गरिनुपर्ने र त्यसमा सरकार र जनप्रतिनिधि गम्भीर बन्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “खर्च क्षमता नबढाउनु र हरेक वर्ष बजेट फ्रिज हुनु विकास रोकिनु हो । यसलाई सदुपयोग गर्दै कर्णालीको समृद्धिमा लगाउन सरकार र जनप्रतिनिधि एकताबद्ध हुनुपर्छ ।”

कर्णालीमा विकास नै नभएको भन्ने तर्कसँग आफू सहमत नरहेको भन्दै उहाँले विकासको गति बढाउन भने आवश्यक रहेको धारणा राख्नुभयो । “विकास नभएको होइन, भइरहेकै छ, तर समृद्ध र सुखी कर्णालीका लागि विकासका केही ढोकाहरू बन्द छन्, ती ढोका खोल्न र गति बढाउन आवश्यक छ । यसका अब युवाको साझा आवाज उठ्नुपर्छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो ।

उहाँले युवालाई स्वदेशमै राख्न सक्ने क्षमता कर्णालीसँग रहेकाले त्यसको पहिचान गरी सही उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ युवाहरूलाई विशेषगरी कृषिमा आकर्षित गर्नुपर्छ । यहाँको सबैभन्दा बढी सम्भावना रहेको स्याउ र सुन्तला खेतीमा युवाहरूलाई जोड्न लाग्नुपर्छ ।”

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।विभिन्न जिल्लामा खटिएको प्रहरी टोलीले झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा, सिन्धुलीलगायत जिल्लाबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट एक, अर्जुनधारा नगरपालिका-५ कैलाशघाटबाट एक, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर रोडबाट चार, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक र मेचीनगर-६ गैरीगाउँबाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट दुई, धनगढी उपमहानगरपालिका-१ शिवनगर टिकटक पुलबाट पाँच जना र उदयपुरको त्रियुगा नगरपालिका-६ बाट दुई जना पक्राउ परेका छन् ।त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका-५ बाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहाबाट एक, धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीबाट दुई र सन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट एक जना पक्राउ परेका प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

प्रहरीले विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद रु ११ लाखसहित एक जनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीटोलीले चेकजाँचका क्रममा स्रोत नखुलेको नगद रु ११ लाखसहित सुनसरी धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङ पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका निजलाई जाँच गर्ने क्रममा झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा। जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा पुनःनिर्माण भएका छन् ।भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत बनाइएका ती गुम्बाले धार्मिक क्रियाकलाप सञ्चालनमा नयाँ ऊर्जा थप्नुका साथै पर्यटन प्रवर्द्धनमा देवा पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार यसअघि परम्परागत रूपमा फ्ल्याकबाट निर्माण भएका छाना प्रविधि स्लेट, ढुङ्गादेखि जस्तापाता हुँदै अहिले आधुनिक ढलानमार्फत ती संरचना बनाइएको हो । अहिले निर्मित गुम्बा दिगो र सुरक्षित बनेका बताउँदै उहाँले योसँगै नियमित पूजाआजासहित धार्मिक गतिविधि सञ्चालन गर्न सहज वातावरण सिर्जना भएको उल्लेख गर्नुभयो ।

गोसाइँकुण्ड गाउँपालिका-३ अन्तर्गत बृद्विम, लिङ्लिङ र आमाछोदिङ्मो गाउँपालिका-५ ब्रेमदाङमा एक/एक तथा गोसाइँकुण्ड गाउँपालिका-६ सदरमुकाम धुञ्चेमा गरी चार वटा गुम्बा निर्माण गरिएको नागरिक समाजका अध्यक्ष तामाङले जानकारी दिनुभयो । निर्माणमा संलग्न प्राविधिकका अनुसार ग्रामीण भेगका तीनवटै गुम्बा शतप्रतिशत सम्पन्न भइसकेका छन् भने धुञ्चेस्थित टुल्कुछेलिङ गुम्बा निर्माण करिब ९० प्रतिशत पूरा भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत सुरु गरिएको पुनःनिर्माणमा हालसम्म करिब रु ३३ करोड खर्च भएको निर्माण कम्पनीका कार्यस्थल प्रमुख एवं प्राविधिक इञ्जिनियर बुद्धवीर लामाले जानकारी दिनुभयो । नवनिर्मित गुम्बामा नियमित पूजाआजा, बौद्ध दर्शनसम्बन्धी प्रवचन, ध्यान साधना, विवाह (ब्रतबन्ध), छेवर, दिवङ्गत आफन्तको स्मृतिमा जलअर्पण तथा काजक्रियालगायत धार्मिक कार्य सञ्चालन गर्न सकिने स्थानीय भक्तजनले बताएका छन् ।

धुञ्चे गुम्बामा एकैपटक करिब ५०० भन्दा बढी भक्तजन बसेर ध्यान गर्न सक्ने व्यवस्था गरिएको प्राविधिक इञ्जिनियर लामाले उल्लेख गर्नुभयो । यसैबीच गुम्बा निर्माण गुणस्तरीय भएको भन्दै स्थानीय लामा गुरुहरूले प्रशंसा गरेका छन् ।

बौद्ध धर्मग्रन्थमा उल्लेख गरिए अनुसार ‘चित्तको शुद्धिकरण नै मुक्ति प्राप्तिको मार्ग हो’ भन्ने शिक्षालाई व्यवहारमा उतार्ने साधनास्थलका रूपमा गुम्बा स्थापित हुँदै गएका धार्मिक अगुवाहरूको भनाइ छ । बुद्धका उपदेशअनुसार करुणा, मैत्री र सहअस्तित्वको अभ्यास गर्ने स्थानका रूपमा यी गुम्बाले समुदायलाई जोड्ने अपेक्षा गरिएको छ ।

जिल्ला सभाहल पुनःनिर्माण

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको धुञ्चेस्थित जिल्ला सभाहलको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्लास्तरका सभा, सम्मेलन सहज रूपमा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको सभाहलमा एकैपटक ४०० व्यक्ति अट्ने क्षमता रहेको प्राविधिकले बताएका छन् ।

सिएल कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक छेसिङ्गी लामाका अनुसार करिब रु तीन करोड लागतमा निर्माण सम्पन्न गरिएको उक्त भवन सहरी विकास कार्यालय धादिङमार्फत सुरु गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले नयाँ सभाहलले प्रशासनिक तथा सामाजिक कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने बताउनुभयो ।

भूकम्पअघि निर्माण भएका संरचनाभन्दा पछिल्लो समय निर्माण भइरहेका पूर्वाधारहरू गुणस्तरीय, सुरक्षित र दिगो बन्दै गएका स्थानीयको मूल्याङ्कन छ ।धार्मिक सम्पदा संरक्षणसँगै आधुनिक पूर्वाधार विकासले रसुवामा सांस्कृतिक पुनःजागरण र सामुदायिक एकता बलियो हुँदै गएको नागरिक समाजले जनाएको छ ।

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र गरियो,कहाँ कति पुल निर्माण भए ?

सुर्खेत। कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ ।प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा २४९ दशमलव ५८ प्रतिशत सडक कालोपत्र तथा पक्की गरिएको थियो । चालु आवको चैत मसान्तभित्र ५३ दशमलव २६ किमी सडक थप निर्माण भएको हो । चालु आवमा १६१ किमी कालोपत्र, पक्की, पेभमेन्ट गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्म ५३ दशमलव २६ किमीमा काम सम्पन्न भएको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इञ्जिनियर रमेश सुवेदीले जानकारी दिनुभयो ।

हुम्लामा कुनै पनि सडक कालोपत्र नभएको उहाँले बताउनुभयो । “कर्णालीका १० जिल्लामा ७७४ दशमलव ७१ किमी सडक ग्राभेल भएको छ । आव २०८१/८२ सम्म ७१३ दशमलव ६५ किमी ग्राभेल गरिएकामा चालु आवको चैत मसान्तसम्म ६१ दशमलव शून्य छ किमीमा ग्राभेल भएको छ । चालु आवमा १३९ दशमलव ७० किमी सडक ग्राभेल गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

आव २०८१/८२ सम्म माटे कच्ची तीन हजार २७६ दशमलव ४४ किमी सडक निर्माण भएकामा चालु आवको नौ महिनामा ११३ दशमलव ९८ किमी थप भएको वरिष्ठ सिनियर डिभिजनल इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म तीन हजार २७६ दशमलव ४४ किमीमा ट्याक खेखिएको, अन्य सडक स्तरोन्नति, नाला निर्माण, ग्याविन, टेवा पर्खाल गरेर ७५४ दशमलव ५९ किमी सडकमा काम भएको छ ।

कहाँ कति पुल निर्माण भए ?

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले हालसम्म १५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको जनाएको छ । आव २०८१/८२ मा १२५ झोलुङ्गे पुल निर्माण भएकामा चालु आवको नौ महिनामा २६ वटा निर्माण भएका छन् । सुर्खेतमा चार, दैलेखमा सात, रुकुम पश्चिममा एक, जाजरकोटमा एक, डोल्पामा चार, जुम्लामा चार, मुगुमा दुई र कालिकोटमा तीन वटा झोलुङ्गे पुल निर्माण भएका इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको हालसम्म नौ वटा सडक पुल, सात वटा सार्वजनिक भवन, जनता आवास (सङ्घ) तर्फ ३८ वटा घर निर्माण भएका प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

“जनता आवास प्रदेशतर्फ हालसम्म ७३६ वटा आवास निर्माण भएका छन् । चालु आवको नौ महिनामा ३० वटा निर्माण भएका छन् । विपन्नको घर कार्यक्रमअन्तर्गत हालसम्म चालु आवको हालसम्म ३२ वटा निर्माण भएका छन्”, इञ्जिनियर सुवेदीले भन्नुभयो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सांसद निस्कल राई नै जाममा परेपछि खुल्यो राजदुवाली खण्डको पीडा

इलाम । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली–माईखोला भञ्ज्याङ खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको सडक समस्या फेरि सतहमा आएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद निस्कल राई आफैं सडक जाममा परेपछि उक्त खण्डको समस्या थप चर्चामा आएको हो।

सांसद राई आज (शनिबार) इलाम सदरमुकाम आउने क्रममा करिब ३ किलोमिटर लामो राजदुवाली खण्डमा सवारी जाममा परेका थिए। निरन्तर वर्षा, हिलो र सडकको कमजोर अवस्थाका कारण सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले घण्टौं सास्ती व्यहोर्नुपरेको थियो।

उक्त खण्ड विशेषगरी माईखोला भञ्ज्याङ क्षेत्रमा बारम्बार पहिरो झर्ने, सडक भासिने र हिलो हुने समस्याका कारण परिचित छ । वर्षायाम सुरु भएसँगै समस्या झनै जटिल बन्दै जाने गरेको स्थानीय दिपेश फागोको भनाइ छ । दैनिक रूपमा सवारी सञ्चालनमा कठिनाइ हुँदा यात्रु, व्यवसायी तथा आपतकालीन सेवासमेत प्रभावित हुने गरेका छन्।

जाममा परेपछि प्रतिक्रिया दिँदै सांसद राईले यस समस्याप्रति आफू गम्भीर रहेको बताए। उनले प्रधानमन्त्रीसँग भएको छलफलमा समेत यस विषयलाई प्राथमिकताका साथ उठाएको जानकारी दिए। ‘यो खण्डमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने अत्यावश्यक छ,’ उनले भने, ‘मैले केन्द्र सरकारको ध्यानाकर्षण गराइसकेको छु र चाँडै यसको निकास निकालिने अपेक्षा गरेको छु।’

हाल उक्त सडक खण्डमा ठेक्का लागेर सुधारका कामहरू भइरहेको भए पनि दिगो समाधान भने अझै देखिएको छैन। निर्माण कार्य ढिलो हुनु, प्राविधिक कमजोरी र भू–संरचनात्मक जटिलताका कारण समस्या ‘ज्यूँका त्यूँ’ रहेको सरोकारवालाहरू बताउँछन्।

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ। भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि विराटनगरको भारतीय सीमावर्ती क्षेत्रको जोगवनी बजार सुनसान बन्दै गएको छ भने नेपाली बजारमा उपभोक्ताको चलहपहल बढ्न थालेको छ ।

यसअघि नेपाली उपभोक्तले जोगवानी गएर दैनिक खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री खरिद गरी ल्याउने गरेकामा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो ।

विराटनगर महानगरपालिका-९ मा शुभम इम्पोरियम सञ्चालन गर्दै आउनुभएका अशोक साहले पछिल्लो समय पसलमा स्थानीय ग्राहकको आगमन केही मात्रामा वृद्धि भएको बताउनुभयो ।उहाँले स्थानीय व्यापारी, उद्यामी तथा स्थानीय उत्पदानको प्रवर्द्धन गर्न सरकारको यो निर्णय प्रशंसायोग्य रहेको भन्दै यसलाई निरन्तर दिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले रु १०० को सामान ल्याउँदा भन्सार शुल्क तिनुपर्ने नियम कार्यान्वयनमा आउनु र भन्सार कार्यालयले यसलाई कडाइ गर्दा जोगवनी बजारबाट चामल, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री खरिद गरी ल्याउने नेपाली उपभोक्ताको सङ्ख्यामा कमी आएको साहले बताउनुभयो ।

उहाँका अनुसार उक्त निर्णय कार्यान्वयनमा आएसँगै नेपाली बजारमा चहलपहल बढ्नुका साथै आर्थिक गतिविधि चलायमान बन्दै गएको छ ।

अहिले विराटनगर बजारसहित महेन्द्र चोक, विराटनगर बसपार्क, शनि मन्दिरलगायत क्षेत्रका व्यापारिक केन्द्रमा उपभोक्ताको चलहपहल उल्लेख्य बढेको व्यवसायी साहले बताउनुभयो ।

विगतमा साइकलमा चार-पाँच वटासम्म झोलामा खाद्यान्नसहित सामान तस्करी गर्नेहरू समेत नियन्त्रणमा आएका उहाँको भनाइ छ । भारतीय बजारबाट रु १०० भन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल तिनुपर्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि जोगवनीमा नेपाली उपभोक्ताको सङ्ख्यामा कमी देखिन थालेको उहाँले उल्लेख गर्नुभयो ।

“विगतमा भारतीय बजारमा नेपाली उपभोक्ताा घुइँचो लाग्थ्यो भने नेपाली बजार सुनसान हुन्थ्ये । अहिले अवस्था परिवर्तन हुँदै गएको छ। यसले नेपाली उत्पादनले बजार पाउनुका साथै आर्थिक गतिविधि थप चलायमा बन्दै गएका छन्”, उहाँले भन्नुभयो ।

जोगवनीमा खाद्यान्न, मोबाइल, इलेक्ट्रोनिक, कपडा तथा रङ पसललगायत प्रायः सबै सामग्री पाउने पसल सुनसान बन्दै गएका छन् भने सडकमा राखेर बिक्री गरिने जुत्ताचम्पल, फलफूल, जुस, केटाकेटीका कपडालगायत पसलमा नेपालीको उपस्थिति कम देखिन थालेको स्थानीय व्यापारी बताउँछन् ।

जोगवनीमा मोरङको पूर्वी राजमार्ग क्षेत्र, सुनसरीको उत्तरी क्षेत्र, धनकुटा, उदयपुरलगायत जिल्लाका विभिन्न स्थानका साथै काठमाडौँका उपभोक्तासमेत आउने गर्दथे । विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्लेले रु १०० का सामानमा भन्सार लाग्ने नियम कडाइका साथ लागू भएसँगै उपभोक्ता भारतीय बजारतर्फ खरिद गर्न जाने क्रम घटेको बताउनुभयो ।

उहाँले पछिल्लो समय दैनिक १२ देखि १५ जनाले भन्सार महसुल बुझाउन थालेका जानकारी दिनुभयो ।

बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध

सिरहा। निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ ।हुलाकी राजमार्गअन्तर्गत यहाँ निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको अस्थायी ‘डाइभर्सन’ आज बिहानको बाढीले बगाएको हो ।

बिहीबार रातिदेखिको भारी वर्षाका कारण पुनः क्षतिग्रस्त भएपछि हाल सयौँ सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन् । केही दिनअघि पनि वर्षाले क्षति पु¥याएपछि मर्मत गरी ‘डाइभर्सन’ सञ्चालनमा ल्याइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले हाल मर्मत गर्ने अवस्था छैन । “पश्चिमपट्टि पानीको बहाव धेरै छ । पानीको सतह घटेपछि नगरपालिकाको जेसिबी प्रयोग गरी बाँध निर्माणको काम अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।

कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । पुल निर्माण नहुँदा बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नुपर्ने वा घण्टौँ घुमेर पूर्वपश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

मुक्तकमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

कञ्चनपुर। कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।मुक्तकमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित खुला मञ्चमा आज आयोजित जागरणसभामा उहाँले मुक्तकमैया, हलिया, हरवाचरवा तथा कम्लरीको अधिकारको लडाइँमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो ।

आफू यसै समुदायकी छोरी भएकाले यस क्षेत्रप्रति अझ जिम्मेवार भएर काम गर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा राख्नुभयो । “तपाईंहरूको समस्या मेरो समस्या पनि हो, म यसबारे जानकार छु । त्यसैले अधिकारको लडाइँमा म र सरकार तपाईंहरूसँगै छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृपाराम रानाले मुक्तकमैया, कम्लरी, हलियालगायत आरक्ष पीडितहरूको न्यायिक पुनःस्थापनका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । “कतिपयसँग लालपुर्जा छ, तर जग्गा छैन । कतै जग्गा छ, तर लालपुर्जा छैन”, उहाँले भन्नुभयो, “दिइएको जग्गा नदी किनार वा वन क्षेत्र नजिक भएकाले प्रयोगयोग्य छैन, बाढीपहिरोको जोखिममा बस्नुपर्ने बाध्य छन्, अब यस्तो अवस्था अन्त्य हुनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महतले मुक्तिको घोषणा मात्रै पर्याप्त नहुने भन्दै पुनःस्थापना, सुरक्षित आवास र आधारभूत सेवाको सुनिश्चितताका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो । “मलाई विश्वास छ, अब नागरिकले सरकार खोज्दै हिँड्नुपर्ने अवस्था छैन, सरकार नै नागरिकसम्म पुगेर समस्या समाधानमा केन्द्रित हुन्छ”, उहाँले भन्नुभयो ।

मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले मुक्त घोषणा भएको दुई दशकभन्दा बढी समय भइसक्दा पनि अधिकांश समस्या समाधान हुन नसकेको गुनासो गर्नुभयो । “केही परिवारको पुनःस्थापना भए पनि तीन हजारभन्दा बढी मुक्तकमैया परिवार अझै पुनःस्थापनाको पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “धेरैले परिचयपत्र पाएका छन् तर जग्गा पाएका छैनन् । राज्यबाट पाउने सुविधाको सुनिश्चितता गर्न सरकारले काम गर्नुपर्छ ।”

जागरणसभाका अन्य वक्ताहरूले मुक्त कमैया समुदायको दिगो पुनःस्थापना, भूमि व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति र त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्री चौधरीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको अवलोकन

मन्त्री चौधरीले आजै यहाँको बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँसँगै प्रतिनिभिसभा सदस्य राना, महता, बेदकोट नगरपालिका प्रमुख भोजराज बोहरालगायतले त्यस क्षेत्रको अवलोकन गर्नुभएको हो ।

त्यसक्रममा मन्त्री चौधरीले ओद्योगिक क्षेत्रको निर्माण प्रक्रियाका विषयमा बुझेर प्रक्रिया अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । “सरकारले कानुनी तथा प्रशासनिक सुधारमार्फत समस्या समाधान गर्ने काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “जनताका अपेक्षालाई निराशामा परिणत हुन नदिने गरी अहोरात्र खटेर काम गरिरहेका छौँ । औद्योगिक क्षेत्रलगायत स्थानीयका माग सम्बोधनका लागि आवश्यक पहल गर्न म प्रतिबद्ध छु ।”

तीन दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोटस्थित दैजी छेला औद्योगिक क्षेत्र पाँच वर्षअघि शिलान्यास भएको थियो, तर निर्माणकार्य अगाडि बढ्न सकेको छैन । करिब ९०० बिघा क्षेत्रफल, रु नौ अर्ब लागत अनुमान र २२ हजार रोजगारीको अपेक्षा गरिए पनि वन फँडानी र प्रक्रियागत जटिलताका कारण काम अगाडि बढ्न नसकेको जनाइएको छ ।

२४ घण्टामा ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७५ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २०६, निषेधित क्षेत्रमा हर्न बजाउने २८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९२, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता २० र अन्य सवारी नियम पालना नगरेका एक हजार ८१० जनालाई कारबाही गरिएको हो ।

मुद्रास्फीति बढ्यो भने ब्याजदर बढाउनु आवश्यक हुनसक्छ : फेड

वाशिङ्गटन। मध्य पूर्व युद्धबाट मुद्रास्फीतिलाई बढावा दिने मूल्यवृद्धिको असर पर्ने यस पहिलेको अपेक्षाभन्दा बढी भएमा पुनः ब्याज दर वृद्धिको एक श्रृङ्खला आवश्यक हुन सक्ने अमेरिकी फेडरल रिजर्भका एक प्रमुख अधिकारीले शुक्रबार चेतावनी दिनुभएको छ।

“सङ्घीय ब्याजदर वृद्धिको सम्भावित एक श्रृङ्खला श्रम बजारमा थप कमजोरीको जोखिममा पनि आउन सक्छन्,” यस हप्ता केन्द्रीय बैङ्कको समग्र निर्णयमा आफ्नो असहमतिको व्याख्या गर्दे मिनियापोलिस फेडका अध्यक्ष नील काशकारीले भन्नुभयो ।

“एक ठूलो मूल्यवृद्धिको झट्काले मुद्रास्फीतिको सार्वजनिक अपेक्षाहरू परिवर्तन गर्न सक्छ, र फेडले यसको बिरूद्ध कार्य गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

दुई दिनको नीति बैठकपछि बुधबार फेडको वक्तव्यको विपक्षमा मतदान गर्ने चार अधिकारीहरूमध्ये काशकारी पनि एक हुनुहुन्थ्यो । बैङ्कको दर निर्धारण समितिमा १२ जना मतदान सदस्यहरू छन्।

उहाँजस्तै फेडका अन्य दुई अध्यक्ष, बेथ ह्याम्याक र लोरी लोगानले ब्याजदर स्थिर राख्ने निर्णयलाई समर्थन गर्नुभयो तर अर्को कटौती अर्को सम्भावित कदम हो भन्ने बैङ्कले सङ्केत गरेको छैन ।

ह्याम्याक र लोगानले आफ्नो निर्णयको बचाउ गर्दै छुट्टाछुट्टै बयानमा तीव्र मुद्रास्फीतिको जोखिमलाई पनि उद्धृत गर्नुभयो । फेडका गभर्नर स्टिफन मिरानले सम्भावित मुद्रास्फीति रोक्न ब्याजदर कम गर्न जोड दिनुभयो ।

यो अक्टोबर १९९२ पछि असहमतहरूको सबैभन्दा ठूलो सङ्ख्या थियो । यसले फेड अध्यक्ष जेरोम पावेलको अपेक्षित उत्तराधिकारी केभिन वार्शले सामना गर्ने चुनौतीहरूलाई जोड दिन्छ ।

“दर निर्धारण गर्ने ‘फेडरल ओपन मार्केट कमिटी’ले ‘एक नीतिगत दृष्टिकोण प्रस्ताव गर्नुपर्दछ जसले अर्को दर परिवर्तन या त कटौती वा वृद्धि हुन सक्छ भन्ने सङ्केत गर्छ र अर्थव्यवस्थाको विकास कसरी हुन्छ भन्ने कुरामा जोड दिन्छ,” काशकारीले शुक्रबार भन्नुभयो ।

उहाँले मध्यपूर्व द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’को लामो समयसम्म बन्द हुने जोखिम र यस क्षेत्रको ऊर्जा र आधारभूत सामानको पूर्वाधारमा थप क्षतिको सम्भावनालाई औँल्याउनुभयो ।

फेब्रुअरी २८ देखि अमेरिका–इजरायली हमलापछि तेहरानले ऊर्जा ढुवानीको लागि एक प्रमुख जलमार्ग लगभग अवरुद्ध गरेको छ।

यसले तेलको मूल्यमा वृद्धि गरेको छ जसले थप स्थिर मुद्रास्फीतिको चिन्ता बढाएको छ । फेडका डलास राज्यका लोगानले भन्नुभयो, “उहाँ फेडको लामो अवधिको दुई प्रतिशतको लक्ष्यमा मुद्रास्फीति फर्कन कति समय लाग्नेछ भन्नेमा ‘बढ्दो चिन्ता’ छ। महामारी पछि वर्षौंदेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि रहेको छ।”

क्लिभल्याण्ड फेडका ह्याम्याकले भन्नुभयो, “मैले बैठकपछिको भनाइप्रति असहमति व्यक्त गरेको छु किनभने मलाई विश्वास थिएन कि मौद्रिक नीतिको लागि भविष्यको निर्णयको वरिपरि सहज पूर्वाग्रह समावेश गर्नु उचित थियो।”

“मुद्रास्फीतिको दबाब व्यापकतामा आधारित छ र बढ्दो तेलको मूल्यले मुद्रास्फीतिको दबाबको थप स्रोत प्रस्तुत गर्दछ,” उहाँले भन्नुभयो ।

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको थवाङ–जलजला क्षेत्रमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारजनलाई भेट्दै सान्त्वना व्यक्त गरेका छन् ।

उक्त घटनापछि पार्टीका सबै कार्यक्रम स्थगित गरी प्रभावित परिवारलाई सान्त्वना दिने तथा शव परिवारलाई बुझाउने कामम सक्रिय भएका छन् । उनले यो दुर्घटनाले समग्र देशलाई स्तब्ध बनाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार दुर्घटनामा परेर मृत्यु भएका २० जनामध्ये हालसम्म आठ जनाको पोस्टमार्टम सम्पन्न भएको छ भने पाँच जनाको शव परिवारलाई बुझाइएको छ । अन्य मृतकहरूको पहिचान तथा आवश्यक प्रक्रिया जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५६, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली ज्यापू प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १८०, टाटेसिमी प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १२०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३२०, सेलरी प्रतिकिलो रु १६०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जन रु २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ५०० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी। १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ ।धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्यु्त्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो ।

धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि वडा नं ३ र ७ हुँदै मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसन जोड्ने १६ दशमलब ४८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो ।

यस आयोजनाबाट तीन वटा आयोजनाबाट उत्पादन हुने १६४ दशमलब ७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पाएरका सञ्चालक पूर्णबहादुर पुनले बताउनुभयो ।

कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युुत् आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको ५७ वटा टावर निर्माण हुुनेछन् ।

कुुल रु ४२ करोड ६२ लाख लागत अनुुमान गरिएको आयोजना निर्माणका लागि आठ दशमलव ४० हेक्टर निजी र २१ दशमलब ९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ ।

सार्वजनिक वन प्रयोग गरेबापत सरकारलाई जग्गा सट्टाभर्ना गरिने, टावर रहने निजी जग्गा खरिद तथा प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराइने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका क्रममा हुुन सक्ने वातावरणीय प्रभाव न्यूनीकरणका लागि रु ४१ लाख ७५ हजार र सामाजिक सहयोग कार्यक्रमका लागि रु २१ लाख ३१ हजार रकम प्रस्ताव गरिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको सुुझाव समेटेर वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माण सुुरु हुुने प्रसारण लाइन आयोजना आठ महिनामा सम्पन्न गरिने म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलले बताउनुभयो ।

विसं २०८१ असोज ६ गते सर्वेक्षण अनुुमति प्राप्त भएको म्याग्दी कोरिडोर प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८१ साल चैत १२ गते स्वीकृत भएको थियो ।

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी। म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो ।
धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिनुभयो ।

खोरीया नजिकैको महभिरमा रहेका दुई घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उहाँले बताउनुभयो । १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ ।

बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताउनुभयो । मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् ।

भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि महसिकारी डोरी (पराङ)मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।

वसन्त र शरद ऋतु महशिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । प्रतिलिटर रु तीन हजार देखि रु तीन हजार ५०० का दरले भिरमह बिक्री हुने गर्छ ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी(स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ ।

मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक हुनाका साथै धार्मिककार्यका लागि पनि प्रयोग हुने उपभोक्ताको अनुभव छ ।

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ ।
उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा रु एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको छ ।

त्यसैगरी मङ्सिरमा रु एक अर्ब ३६ करोड ७४ हजार, पुसमा रु एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा रु एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

कालिकोट, -एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योतिः फर्किदा दुःखको अन्धकार सदा हटेको छ । उनीको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसंग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनीले चाडै पुनःआँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि थिइनन् ।

बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनीले गुमाएकी थिइन । अन्यत्रका साहारामा लिनुपर्दा उनीलाई आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन । उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि सहज थिएन । यस्तो अवस्थामा उनी उपचारको आशा नगरी बसिरहेकी थिइन् ।

यही वैशाख १४ देखि १६ गतेसम्म जिल्ला आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरले उनको जीवन नै बदलिदिएको छ । शिविरमा सहभागी भएपछि गरिएको शल्यक्रिया सफल भएसँगै उनीले पुनः उज्यालो संसार देख्न पाएकी छन् । शल्यक्रियापछि उनको अनुहारमा देखिएको खुसी र उत्साहले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको थियो । जुम्लामा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरले उनी जस्तै धेरै बिरामीको जीवनमा नयाँ आशा ल्याएको छ ।

उक्त शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा हरि बिक्रम अधिकारीको नेतृत्वमा गरिएको हो । बालिकाको अवस्था जटिल भए पनि सफल शल्यक्रियापछि दृष्टि फर्किनु चिकित्सकीय हिसाबले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । बालिका र उनका परिवारजनले उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

नेपाल नेत्रज्योति सङ्घ कालिकोटको आयोजना तथा रिड्ली आइ फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर जुम्लाको चन्दननाथ आँखा अस्पतालमा सम्पन्न भएको हो ।

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५८४ जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । साथै, शिविरमार्फत आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

उहाँका अनुसार कर्णालीजस्ता दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिक अझै पनि सामान्य स्वास्थ्य सेवाबाट वञ्चित छन् । विशेषगरी आँखासम्बन्धी रोगका बिरामी आर्थिक अभाव, भौगोलिक विकटता तथा जानकारीको कमीका कारण वर्षौँसम्म उपचार नपाई पीडामा बस्न बाध्य हुने अवस्था छ । यस्ता निःशुल्क शिविरले गाउँघरमै पुगेर सेवा प्रदान गर्दा उपचारको पहुँच नपुगेका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् ।

नेपाल नेत्रज्योति सङ्घले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित देशभर आफ्नो सञ्जालमार्फत निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दुर्गम तथा पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएका शिविरले अन्धोपन निवारण तथा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

सङ्घका अनुसार, स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी),वैशाख १९-नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उहाँले बताउनुभयो ।

एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुनेछन् । दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो । अब चौध दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताउनुभयो । “दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, अब चाँडै यात्रा सहज हुनेछ,” सूचना अधिकारी खनालले भन्नुभयो ।

दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्र र ढलानले जोडिएको सूचना अधिकारी खनालले बताउनुभयो । “दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, योसँगै पुरै ६५ किलोमिटर सडक कालोपत्र र पक्की सडकले जोडिएको छ,” सूचना अधिकारी खनालले भन्नुभयो, “अबको चौध दिनपछि पूर्वी खण्डका सबै क्षेत्रमा कालोपत्र र पक्की सडकमा यात्रा गर्न सकिन्छ ।” दाउन्नेको पूर्वी खण्डमा पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ । आयोजना सुरु भएको सात वर्ष पूरा हुँदा यस खण्डको यात्रा सहज हुँदै गएको छ ।एसियाली विकास बैङ्क ९एडिबी०को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल करिब रु १७ अर्ब लागत रहेको छ ।

आज केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा करिब दुई सय जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

मन्त्रालयले सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्वासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र कीर्तिपुरस्थित राधा सत्सङ्गमा दुई स्थानमा गरिएको स्वास्थ्य शिविरमा २२२ जनाले सेवा लिएका मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रङ्शालामा १४० र राधा सत्सङ्गमा ८२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

रङ्गशालाको शिविरमा उच्च रक्तचाप, मधुमेह, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग, ग्यास्ट्राइटिस, झाडापखाला, सङ्क्रमण, चोटपटकलगायत समस्या भएका बिरामी देखिएका मन्त्रालयका सूचना अधिकारी डा केसीले बताउनुभयो । सोही शिविरका केही सेवाग्राहीलाई मनोसामाजिक परामर्शसमेत दिइएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला तीन दिनको शिविर सञ्चालन गरिएको छ । त्यसैगरी कीर्तिपुरस्थित राधा सत्सङ्गमा आज ४२ जनाको साधारण जाँच, २० जनाको आँखा, २० जनाको दाँत, १३ जनाको रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै १४ जना बालबालिकाकोस्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा आएकामध्ये थप उपचारको आवश्यकता देखिएका १७ जनालाई वीर अस्पताल र छ जनालाई कान्ति बाल अस्पतालमा प्रेषण गरिएको उहाँले बताउनुभयो ।

रङ्गशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन मानसिक अस्पताल र कान्ति अस्पतालका चिकित्सक तथा नर्सले उपचार गर्नुभएको थियो । कीर्तिपुरस्थित राधा सत्सङ्गमा वीर अस्पतालबाट चिकित्सक र नर्स खटिनुभएको थियो ।

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की। देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।पुलिसको जितमा राष्ट्रिय महिला टोलीका स्टाइकरसमेत रहेकी रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपे ।

खेलको तेस्रो मिनेटमै पुलिसकी सम्झना लावतीको प्रहार बाहिरियो । पाँचौँ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो । नवौँ मिनेटमा उनको प्रहारलाई आरएसकी गोलरक्षक प्रिया लामाले बचाउ गरिन् । लगत्तै दशौँ मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन् । सत्ताइसौँ मिनेटमा रेखाले पुनः गोल गरिन् । उनले ३५औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसको दुई मिनेटपश्चात् रेखाले नै पुलिसका लागि पाँचौँ गोल गरिन् ।

त्यसअघि २३औँ मिनेटमा आरएसकी अनिता रानामगरको प्रहार पुलिसका डिफेन्डरले क्लियर गर्दा गोल गर्नबाट चुकिन् । २८औँ मिनेटमा अनिताले नै हेडर गरेको बल पुलिसकी गोलरक्षक उसा नाथले बचाउँदा अर्को अवसर खेर गयो । २९औँ मिनेटमा आरएसकी आयुषा रिउलेले प्रहार गरेको लामो सटमा उसा पुनः बाधक बनिन् । ४०औँ मिनेटमा आयोजकले अर्को अवसर खेर फाल्यो । भूमिका बुढाथोकीको पासमा वर्षा ओलीले फितलो प्रहार गर्दा गोलको अवसर गुम्यो ।

खेलको सुरुआतबाटै आयोजकमाथि हाबी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम राख्यो । पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल उपहारस्वरुप पायो । खेलको ५०औँ मिनेटमा साहाराले गोल गरिन् । ६०औँ मिनेटमा रेखाले व्यक्तिगत पाचौँ गोल गरिन् । उनी खेलको ‘प्लेयरअफ दी म्याच’ समेत घोषित भइन् । जितसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । आयोजक आरएस र पुलिससँगै त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ । यही वैशाख २० गते हुने प्रतियोगिताको फाइनल खेलमा च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् ।

त्यसैगरी, उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले रु २५ हजार पाउने आयोजक आरएस पोखराले जनाएको छ ।

टिपरको ठक्करबाट १४ वर्षीय दिवसको मृत्यु , चालक फरार

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय युके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन् । उहाँलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ । घाइते चुनाराको बायाँ खुट्टामा चोट लागेको छ ।

अवस्था मध्यम रहेको छ । टिपर चालक भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मध्यपूर्व युद्धका कारण शरणार्थी सहायतामा असर

जेनेभा। मध्यपूर्व युद्धको प्रभावले ढुवानी दरमा वृद्धि हुँदा यसले अफ्रिका लगायतका व्यापक क्षेत्रका शरणार्थीहरूलाई सहायता वितरणमा असर गरेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (युएनएचसीआर) ले शुक्रबार जानकारी गराएको छ ।युएनएचसीआरका तीन मुख्य स्रोत देशहरू भारत, पाकिस्तान र चीनबाट आपतकालीन आपूर्तिको ढुवानी दरमा करिब १८ प्रतिशतले वृद्धि भएको र बन्दरगाह भएको भीडले आपूर्तिमा ढिलाइ र प्रभाव पारिरहेको संयुक्त राष्ट्रसङ्घीय यस निकायले जनाएको छ ।

इन्धनमा खर्च गरिएको प्रत्येक अतिरिक्त डलर र उच्च युद्धको जोखिमका लागि ढुवानीका लागि बीमा प्रिमियमका लागि यस क्षेत्रमा बढेको खर्चले ढुवानी दरलाई प्रभावित पारिरहेको यूएनएचसीआरले जनाएको छ ।

“मध्यपूर्व सङ्कटले विश्वव्यापी मानवीय आपूर्ति श्रृङ्खला र सहायता वितरणमा यस क्षेत्रभन्दा बाहिर दूरगामी प्रभाव पारेको छ,” प्रवक्ता कार्लोटा वुल्फले जेनेभामा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।युएनएचसीआरका सामान्य यातायात प्रदायकहरूको अनुरोधको जवाफ दिने क्षमता वर्षको सुरूमा ९७ प्रतिशतबाट ७७ प्रतिशतमा झरेको र ढुवानी दरहरूमा वृद्धि भएको छ ।

युएनएचसीआरले सामानलाई पुनः अर्को मार्ग बनाएर पठाएको छ । यसले जोर्डनको अकाबा रेड सी बन्दरगाह हुँदै समुद्री र दुबईबाट अरब प्रायद्वीप र टर्कीए पार गर्ने ट्रक मार्गसहित स्थलमार्गहरूको प्रयोग सुरू गरेको छ।

“केही ढुवानीहरूको खास गरी दुबईमा यूएनएचसीआरको विश्वव्यापी भण्डारबाट हाम्रो सुडान र चाडका लागि अभियानमा राहत सामग्रीहरूको लागि यातायात लागत दोब्बर भन्दा बढी भएको छ र यो लागत नौ लाख २७ हजार अमेरिकी डलरबाट बढेर १८ लाख ७० हजार पुगेको छ,” वुल्फले भन्नुभयो ।

यसै बर्षको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व युद्ध सुरु भएको थियो । तेहरानले खाडीमा पूर्वाधारमा आक्रमण गरेर र स्ट्रेट अफ हर्मुजमा अवरोध गरेर प्रतिकार गर्दा प्रवाहमा विश्वव्यापी प्रभाव बढेको छ।

हर्मुज जलडमरूमार्फत हुने यातायातमा प्रतिबन्धले विश्व अर्थव्यवस्थाबाट ठूलो मात्रामा तेल, ग्यास र मलको निर्यात श्रृङ्खलालाई विच्छेद गरेको छ भने बदलामा संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ।

वुल्फले भन्नुभयो, “अफ्रिकामा यो प्रभाव विशेष गरी चिन्ताजनक देखिएको छ ।” यूएनएचसीआरको विश्वव्यापी सात भण्डार रहेकोमध्ये एक केन्यामा इन्धनको मूल्य वृद्धिका कारण इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र दक्षिण सुडानमा ट्रकको उपलब्धता घटाएको र ढुवानीमा ढिलाइ भएको छ ।“हालैका महिनाहरूमा सुडानमा सहायता वितरणको लागत दोब्बर भएको छ,” उहाँले भन्नुभयो । ‘केप अफ गुड होप’ वरपरको ढुवानीको पुनः मार्गीकरणले आपूर्ति समयमा २५ दिन थपिएको उहाँले बताउनुभयो ।

“यदि मध्यपूर्वमा अस्थिरता कायम रह्यो भने बढ्दो लागत, ढिलाइ र सीमित यातायात क्षमताले मानवीय सञ्चालनलाई थप बाधा पुर्याउने सम्भावना छ,” वुल्फले भन्नुभयो ।

“लामो समयसम्म अवरोधले आवश्यकतामा परेका व्यक्तिहरूसम्म सहायता पुग्न सक्ने मात्रा र गतिलाई कम गर्ने जोखिम छ, जसले विश्वव्यापी रूपमा लाखौं शरणार्थी र विस्थापित व्यक्तिहरूको लागि गम्भीर परिणामहरू निम्त्याउँछ,” उहाँले भन्नुभयो ।लामो अवधिपछि हाललाई विश्वव्यापी भण्डार राम्रो छ तर युएनएचसीआरले पुनः भण्डारण गर्न कति महँगो हुनेछ भनेर चिन्ता देखाएको छ ।युएनएचसीआरलाई यस वर्ष यसको सञ्चालनका लागि ८.५ अर्ब डलर आवश्यक छ, जसमध्ये अहिलेसम्म २३ प्रतिशत मात्र वित्त पोषित छ।

भारतको उत्तर प्रदेश काङ्ग्रेसका अध्यक्ष राय अस्पताल भर्ना

कोलकाता। भारतको उत्तर प्रदेशका भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष अजय राय कार्यक्रममा अचानक बेहोस बनेपछि उहाँलाई मेदान्त अस्पतालमा भर्ना गरिएको छ ।उहाँको अस्पतालको आकस्मिक सेवामा उपचार भइरहेको छ । कार्यक्रमका क्रममा राय एकाएक बेहोस हुनुभएको थियो । अत्याधिक पिडा र दुखाइ महसुस भएपछि उहाँलाई तत्काल मेदान्त अस्पताल भर्ना गरिएको हो ।उहाँको उपचारमा विशेषज्ञसहितको चिकित्सकको टोली खटिरहेको बताइएको छ। जानकारीअनुसार ‘सोडियम’को कमी देखिएको र अन्य परीक्षणहरू भइरहेको छ ।

लखनऊमा काङ्ग्रेसको ‘स्टेट लेभल टिचर्स एन्ड डक्टर्स कन्फ्रेन्स’ नामक कार्यक्रममा सहभागी भइरहँदा उहाँ अचानक विरामी हुनुभएको थियो ।विरामी पर्नु पहिले मजदूर दिवसका अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रदेश कांग्रेस अध्यक्ष रायले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिको काङ्ग्रेसले मात्र डटेर विरोध गरिरहेको र यो लडाईँमा काङ्ग्रेसको राजनीतिक फाइदा मात्र नभई समाजको हरेक वर्ग, शिक्षक, चिकित्सक र आम नागरिकको हित जोडिएको खावी गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “सामाजिक सञ्जालदेखि तल्लो तहसम्म कांग्रेसका कार्यकर्ताहरु सक्रिय छन् । मजदुरको मिहिनेतको प्रशंसा गर्दै रायले लोकतन्त्र, अधिकार र न्यायको रक्षाका लागि यो लडाइँ अघि बढ्ने छ।”कार्यक्रममा उहाँले आफूहरु मजदुरको अधिकारका लागि उनीहरूसँग मिलेर सङ्घर्ष गरिरहेको र यो सही अर्थमा मजदुर दिवसको अन्तर्य हो भन्दै शुभकामना दिनुभएको थियो ।

चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौँ। चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र सङ्गठनको झण्डा हस्तान्तरण गर्नुभयो । सोही अवसरमा अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गर्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्नुभयो । सङ्गठन सुधार केवल एक प्रमुखको कार्यकालमा सुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै उहाँले राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत कर्मचारीको हितलाई सर्वोपरी राखी आफूले काम गरेको बताउनुभयो ।

त्यस अवसरमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सङ्गठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी सङ्गठनका रुपमा निरन्तर अघि बढाइने बताउनुभयो । उहाँले सङ्गठन विकास, सुदृढीकरण र संस्थागत सबलीकरणका लागि अघि सारिएका सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रूपमा स्थापित गरिने बताउनुभयो ।

सङ्गठनलाई राज्य र जनताप्रति विश्वासयोग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीको योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्दै महानिरीक्षक पौडेलले भन्नुभयो, “उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ, जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ ।”

समारोहमा अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारीलगायत सशस्त्र प्रहरीका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको समेत उपस्थिति थियो ।

कामपाले दियो भूमि भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा प्रदान गरेको छ ।विसं २०८२ चैत १२ गते मालपोत कार्यालय चाबहिल, डिल्लीबजार र कलङ्कीसँग सम्झौता गरेर २०८३ वैशाख २ गतेदेखि नमूनाका रूपमा सेवा थालिएका वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट यो सेवा प्रदान गरिएको हो ।

प्रदान गरिएका सेवामध्ये सबैभन्दा धेरै २१ जनाको स्वामित्व परिवर्तनको हो । भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका सम्पर्क व्यक्ति अशोक श्रेष्ठका अनुुसार यस्तै १९ जनालाई प्रमाणपुर्जा प्रदान गरिएको छ ।
यसमा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको लिखत पारित, रैकर जग्गा दर्ता सेवा प्रदान गरिएका छन् श्रेष्ठले भन्नुभयो ।

कामपाले यसअघि चारकिल्ला सिफारिस, घरबाटो सिफारिसजस्ता सेवा दिँदै आएको थियो । यो सेवा प्रारम्भ भएपछि भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएका वडाबाटै प्राप्त हुनेछन् ।

नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछ ।

यस प्रक्रियामा वडाले नामसारी निवेदन र मुलुकी देवानी संहिता, २०७४ बमोजिम पारित हुने लिखतमा आफ्नो रोहवरमा कारणीको ल्याप्चे सही छाप, दस्तखत तथा सनाखत गराएर थप प्रक्रियाका लागि मालपोत पठाउने छ । जग्गाधनी सङ्केत नम्बर कायम भएका र ससिम कित्ताको कारोबारका लागि मात्र लिखत र नामसारी निवेदन तयार गर्नेछ ।

जग्गाधनी सङ्केत नम्बर कायम नभएका जग्गाधनीको हकमा जग्गाधनी विवरण अद्यावधिकका लागि मालपोत कार्यालयमा पठाउने कामपाले जानकारी दिएको छ ।नेपालको संविधानले भूप्रशासनको काम स्थानीय तहलाई दिएको छ । यसअघि पूर्वाधार र जनशक्ति तयार नभएकाले यो काम सङ्घ सरकारबाटै हुँदै आएको थियो ।

मेची भन्सार कार्यालयबाट दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

झापा। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ ।कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु १० अर्ब ७० करोड सात लाख १८ हजारबराबरको अलैँची निर्यात भएको हो ।

चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजारबराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६.७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु तीन अर्ब २७ करोड २० लाख ७२ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुमध्ये भेनियर सिट ३०.८८ प्रतिशत, छुर्पी ३०.३५ प्रतिशत वृद्धि भएको छ भने प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता एक हजार ७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशत र सिमेन्ट क्लिङ्करको निर्यात शतप्रतिशतले घटेको छ ।

मेची भन्साबाट चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजारबराबरको मालवस्तु निर्यात भएको छ ।

राष्ट्रपति पौडेलले जारी गरे सम्पत्ति शुद्धीकरण अध्यादेश

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सञ्चार क्षेत्रमा सामाजिक सञ्जालको प्रभाव बढ्न नदिन सचेतना आवश्यक

काठमाडौँ । सञ्चार क्षेत्रमा सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभाव बढ्न थालेकाले यससम्बन्धी सचेतना वृद्धि हुनुपर्नेमा जोड दिइएको छ।

नेपाल प्रेस युनियनले फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) को सहयोगमा शुक्रबार आयोजना गरेको ‘डिजिटल रुपान्तरण : अर्थ राजनीति र सञ्चार क्षेत्रका चुनौती’ विषयक सेमिनार कार्यक्रमका वक्ताहरूले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभावले चुनौती थपिएकाले यससम्बन्धी चेतना बढाउनुपर्नेमा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन्।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हरिहर विरहीले सञ्चारमाध्यममा एल्गोरिदम उपहार र चुनौती दुवै हुन सक्ने भएकाले सकारात्मक रुपमा राम्रो प्रभाव पार्नेगरी अघि बढाउनुपर्ने बताए। एउटा झूटलाई सयपटक दोहोर्‍याएर सत्य साबित गर्न सकिन्छ भन्ने मान्यताअनुसार नेपालमा सामाजिक सञ्जाल र एल्गोरिदमलाई प्रयोग गर्न थालिएकाले सचेत हुनुपर्ने उनको भनाइ थियो।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले नेपाली सञ्चार क्षेत्रमा चौतर्फी आक्रमण भइरहेको बताए। युनियनका अर्का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक सञ्जाल र एल्गोरिदमबाट उत्पन्न गराइने भ्रमबाट नेपाली सञ्चारमाध्यम मुक्त हुनुपर्ने बताए। यस्तो भ्रमबाट जनतालाई पनि मुक्त गराउने दायित्व सञ्चारमाध्यमकै रहेको उनको भनाइ थियो ।

युनियनका सल्लाहकार एवं वरिष्ठ पत्रकार तेजप्रकाश पण्डितले एल्गोरिदमको प्रभावबाट नेपाली समाजलाई मुक्त गराउने काममा सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले एल्गोरिदमको नकारात्मक मात्र नभई सकारात्मक पक्ष पनि भएकाले गलत कुरा सकारात्मक विषय मात्र लिनसक्नुपर्ने बताए।

महासङ्घका पूर्वसचिव एवं रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुख डा. जगत नेपालले नेपाली सञ्चारमाध्यमका बारेमा अध्ययन एवं अनुसन्धान नभएकाले पनि यस्तो अवस्था आएको बताए। यस्ता कार्यक्रमले सञ्चारमाध्यम र यहाँ आबद्ध सबैलाई अध्ययन–अनुसन्धानतर्फ प्रेरित गर्ने उनको भनाइ थियो।

कार्यक्रममा उज्ज्वल आचार्य र पुष्पराज आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि झा र कृष्णा पौडेलले टिप्पणी गर्नुभएको थियो । यसैगरी, पुष्पराज आचार्य प्रस्तुत गरेको कार्यपत्रमाथि नेपाल र बिमला तुम्खेवाले टिप्पणी गर्दै नेपाली पत्रकारिता क्षेत्रमा देखिएका चुनौती सामना गर्न चेतना र जागरण फैल्याउनुपर्नेमा जोड दिएका हुन्।

एफइएसका कार्यक्रम व्यवस्थापक पवित्रा राउतले मिडिया साक्षरतालगायत विषयमा पत्रकारितासँग सम्बन्धित संस्थासँग मिलेर यस्ता गतिविधि गरिरहेको जानकारी दिए।

कार्यक्रममा युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेल, प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चन, महासङ्घका सचिव सोनी शर्मालगायतले भ्रमबाट नेपाली सञ्चारमाध्यमलाई मुक्त गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

तनहुँ। व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको छ ।

नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि नगरपालिकाले गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको हो ।

नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीनपटक (४, ६ र ८ महिना) गर्भ परीक्षण गरेका महिलालाई आठ महिनामा मातृ शिशुकार्डका आधारमा रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ५२ जनालाई रु दुई लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।

सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गराउने उद्देश्यसहित सुत्केरीलाई पोषणभत्ता दिइएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।

उहाँका अनुसार गर्भवतीको नियमित स्वास्थ्य परीक्षण नगरी घरमै शिशु जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या पर्ने भएकाले यसको अन्त्यका लागि भत्ता उपलब्ध गराउन थालिएको हो । ‘महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत नगरभित्र सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइने उहाँको भनाइ छ ।

गर्भवतीलाई समयसमयमा गर्भ परीक्षण गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिने नीति सुरु गरिएको दरैले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकाले सचेतनाका लागि कार्यक्रम सञ्चालन गरेका हौँ ।” यसैबीच, नगरपालिकाले चालु आर्थिक वर्षमा ६० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।

इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान। इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ ।इरानको आधिकारिक समाचार एजेन्सीले भनेको छ, “इस्लामिक गणतन्त्र इरानले संयुक्त राज्य अमेरिकासँगको वार्ताको क्रममा मध्यस्थकर्ताको रूपमा पाकिस्तानलाई बिहीबार साँझ आफ्नो पछिल्लो वार्ताको प्रस्तावको पाठ बुझाएको छ।”

नयाँ प्रस्तावमा के समावेश गरिएको छ भन्ने कुरा तत्काल स्पष्ट भएको छैन। करिब ४० दिनदेखिको तनावपछिको युद्धविरामपछि इरान र अमेरिकाबीच एक चरण मात्र वार्ता भएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको भन्दै वार्तामा सहभागी हुन इरानले नमानेपछि र इरानले मुख्य स्ट्रेट अफ हर्मुजलाई धेरै हदसम्म बन्द राखेको भन्दै अमेरिकाले यसलाइै खोल्न दबाव दिएपछि वार्ता रोकिएको छ । युद्धको सुरुवातदेखि जलमार्गबाट सिमित जहाजहरूलाई मात्र आवागमनमा अनुमति दिएको छ।

शुक्रबार इरानका विदेशमन्त्री अब्बास अराघीचीले साउदी अरब, कतार, टर्की, इराक र अजरबैजानका समकक्षीहरूसँग टेलिफोन वार्ता गरी इस्लामिक गणतन्त्रले युद्ध अन्त्य गर्ने पछिल्लो पहलबारे जानकारी गराउनुभएको थियो

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँका विभिन्न स्थानबाट हाम्रो टोलीले एक थान पेस्तोल, म्यागेजिन, गोली र लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ गरेको छ । उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ ।”

उहाँका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन तीन थान, सोही पेस्तोलको गोली चार राउन्ड, एसएलआर हतियारको गोली दुई राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि

नयाँ दिल्ली। इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ ।

भारत आयातित ऊर्जामा धेरै निर्भर छ । भारतले तरलीकृत पेट्रोलियम ग्याँस (एलपिजी) को लगभग ६० प्रतिशत विदेशबाट ल्याउँछ । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको भारतको ठूलो हिस्साले खाना पकाउन प्रयोग गर्ने इन्धन ग्यास हो ।

फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध सुरु भएदेखि नै आयातमा अवरोध आइरहँदा नयाँ दिल्लीले घरपरिवार र अत्यावश्यक क्षेत्रहरू पर्याप्त मात्रामा आपूर्ति भएको सुनिश्चित गर्न कदम चालेको छ, जसले धेरै रेस्टुरेन्ट, निर्माता र पावर प्लान्टहरूलाई अलपत्र पारेको छ।

सरकारले भारतले समग्र इन्धनको अभाव नरहेको बताउँदै आएको छ । सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसिएल) ले भनेको छ, “धेरै मात्रा र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपिजी सिलिन्डरको मूल्य संशोधन गरिएको छ ।”

आइओसीएलको मूल्य तालिकाअनुसार व्यावसायिक प्रयोगका लागि बनाइएको १९ केजीको ग्यास सिलिन्डरको मूल्य ९९३ भारतीय रूपैयाँ (१०.५० अमेरिकी डलर) कायम भएको छ ।यो भनेको राजधानी नयाँ दिल्लीमा ग्यासको मूल्यमा झण्डै ४८ प्रतिशतले वृद्धि भएको छ । स्थानीय करका कारण दरहरू शहर अनुसार फरक हुन्छन्।

तीव्र वृद्धिले रेस्टुरेन्टहरूलाई विशेष गरी कडा असर पार्नेछ, मध्य पूर्व युद्धको समयमा धेरैले पहिले नै सेवाहरू घटाएका छन् ।अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि जेट इन्धनको मूल्य पनि समायोजन गरिएको भारतीय इन्धन कम्पनीले जनाएको छ ।आइओसीएलको तालिकाअनुसार दिल्लीमा हवाई इन्धन (एटिएफ) करिब पाँच प्रतिशतले बढेको छ ।