मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ
काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।विभिन्न जिल्लामा खटिएको प्रहरी टोलीले झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा, सिन्धुलीलगायत जिल्लाबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो ।
झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट एक, अर्जुनधारा नगरपालिका-५ कैलाशघाटबाट एक, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर रोडबाट चार, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक र मेचीनगर-६ गैरीगाउँबाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट दुई, धनगढी उपमहानगरपालिका-१ शिवनगर टिकटक पुलबाट पाँच जना र उदयपुरको त्रियुगा नगरपालिका-६ बाट दुई जना पक्राउ परेका छन् ।त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका-५ बाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहाबाट एक, धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीबाट दुई र सन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट एक जना पक्राउ परेका प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
प्रहरीले विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद रु ११ लाखसहित एक जनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीटोलीले चेकजाँचका क्रममा स्रोत नखुलेको नगद रु ११ लाखसहित सुनसरी धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङ पक्राउ गरेको हो ।
विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका निजलाई जाँच गर्ने क्रममा झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
