`

नेपाल र बेलायतका नेपालीबीच सम्बन्ध प्रगाढ बनाउने अध्यक्ष सिद्धिकीको प्रतिबद्धता

Nepal One HD १४ कार्तिक २०८३ २२:४९
समाचार

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा शान्ति नेपाली समाज नेपाल शाखाकी अध्यक्ष साजिदा सिद्धिकीले नेपाल र बेलायतमा रहेका नेपालीहरुबीचको सामाजिक, सांस्कृतिक तथा मानवीय सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

अध्यक्षको जिम्मेवारी पाएपछि सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै उनले यसलाई पद प्राप्तिभन्दा पनि सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अवसरका रूपमा लिएको बताएकी छन् ।

‘यो जिम्मेवारी मेरा लागि केवल एउटा पद प्राप्तिको विषय होइन, यो विश्वास, सामाजिक उत्तरदायित्व, मानवीय सेवा र साझा उद्देश्यप्रतिको प्रतिबद्धताको महत्वपूर्ण अवसर हो,’ उनले लेखेकी छन् ।

सिद्धिकीले बेलायतमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिएकी छन् ।

नेपाल र बेलायतबीचको सम्बन्ध कूटनीतिक सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले यसलाई इतिहास, मित्रता, संस्कृति र नेपाली समुदायको योगदानले जोडिएको आत्मीय सम्बन्धका रूपमा व्याख्या गरेकी छन् ।

उनका अनुसार नेपाल शाखामार्फत शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, युवा नेतृत्व विकास, मानव अधिकार, सामाजिक न्याय, शान्ति स्थापना तथा विपन्न र असहाय समुदायको सहयोगका क्षेत्रमा काम गरिनेछ ।

‘भौगोलिक दूरीले मानिसहरूलाई टाढा बनाउन सक्छ, तर आपसी सद्भाव, विश्वास र मानवीय सम्बन्धले राष्ट्रहरूलाई अझ नजिक ल्याउन सक्छ,’ उनले आफ्नो वक्तव्यमा भनेकी छन् ।

मानव अधिकारकर्मीका रूपमा २५ वर्षदेखि सामाजिक अभियानमा सक्रिय रहेको अनुभवलाई नयाँ जिम्मेवारीसँग जोड्ने उनको भनाइ छ ।

उनले जात, धर्म, भाषा, संस्कृति र भूगोलका आधारमा विभाजन नभई विविधताभित्र एकता खोज्ने सामाजिक संस्कारको पक्षमा आफू रहेको पनि स्पष्ट पारेकी छन् ।

‘संस्था पदले ठूलो हुँदैन, संस्थाले समाजमा पुर्‍याएको योगदानले ठूलो हुन्छ। नेतृत्व अधिकार प्रदर्शन गर्ने माध्यम होइन, जिम्मेवारी निर्वाह गर्ने अवसर हो,’ सिद्धिकीले लेखेकी छन् ।

उनले शान्ति नेपाली समाज बेलायतको केन्द्रीय नेतृत्व, नेपाल शाखाको कार्यसमिति र नेपाल तथा बेलायतमा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *