`

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

Nepal One HD १८ वैशाख २०८३ १९:४७
समाचार

तनहुँ। व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको छ ।

नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि नगरपालिकाले गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको हो ।

नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीनपटक (४, ६ र ८ महिना) गर्भ परीक्षण गरेका महिलालाई आठ महिनामा मातृ शिशुकार्डका आधारमा रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ५२ जनालाई रु दुई लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।

सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गराउने उद्देश्यसहित सुत्केरीलाई पोषणभत्ता दिइएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।

उहाँका अनुसार गर्भवतीको नियमित स्वास्थ्य परीक्षण नगरी घरमै शिशु जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या पर्ने भएकाले यसको अन्त्यका लागि भत्ता उपलब्ध गराउन थालिएको हो । ‘महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत नगरभित्र सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइने उहाँको भनाइ छ ।

गर्भवतीलाई समयसमयमा गर्भ परीक्षण गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिने नीति सुरु गरिएको दरैले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकाले सचेतनाका लागि कार्यक्रम सञ्चालन गरेका हौँ ।” यसैबीच, नगरपालिकाले चालु आर्थिक वर्षमा ६० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *