सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बुद्ध जयन्तीले गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।२५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले यहीं विविधताभित्रको एकता र आपसी सद्भाव नै राष्ट्रिय शक्ति भएको बताए ।
सभामुख अर्यालले विश्व शान्तिका प्रतीक भगवान् बुद्धका शिक्षा, दर्शन र विचारहरू सम्पूर्ण मानवजातिका लागि मार्गदर्शक रहेको उल्लेख गर्दै बुद्ध जयन्तीले अहिंसा, करुणा र प्रेमको सन्देश प्रवाह गरिरहेको बताए । वर्तमान बदलिँदो परिवेशमा बुद्धका शिक्षाले निराशा र अन्योलबाट बाहिर निस्कन धैर्य, संयम र सकारात्मक सोच अपनाउन प्रेरित गर्ने उनको भनाइ थियो ।
