`

मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन गरेका छन् ।

मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । ‘यो जलेका सामानहरु हटाइहाले हुन्न । भोली नै उठाउन सुरु गरौं । भोली विदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’ उनले भने ।

‘अपर’ राहुघाट जलविद्युत् आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने

म्याग्दी, ३१ भदौः रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि आजदेखि परीक्षण उत्पादन थालिएको हो । आयोजनाका आवासीय इञ्जिनीयर प्रकाश तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परीक्षण थालिएको जानकारी दिनुभयो ।

“निर्माण भएका भौतिक संरचना र जडान गरिएका उपकरणको आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो”, उहाँले भन्नुभयो, “परीक्षणका क्रममा कुनै समस्या नदेखिएकाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा छाँै ।”
रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नं ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार ९०० मिटर लामो छ । ‘आउटलेट’देखि विद्युत्गृहसम्म छ सय ८० मिटर लामो ‘पेनस्टक पाइपलाइन’ जडान गरिएको छ ।

अपर राहुघाटको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे« मेटल एण्ड मेसिनरी हो । विसं २०७७ देखि निर्माण सुरु भएको यस आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्ट्रक्सन हो । साउथ एशियन इन्फास्ट्रक्चरले यसको सुरुङ बनाएको हो ।

तुँदी पावरले निर्माण गरेको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले यही भदौ महिनादेखि व्यावसायिक उत्पादन थालेको थियो ।

चिमखोला– मङ्गले– राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो । दुई वटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको छ । यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

बन्दीदेखि चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् । चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् ।

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सम्बन्धित जिल्लामा पुर्‍याइयो

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ ।

यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिको शव घर ठेगानासम्म सरकारले पुर्‍याइदिने निर्णय गरेका थिए ।  प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

आयोगका पदाधिकारी र प्रधान सेनापति सिग्देलबीच भेटघाट

काठमाडौँ, ३० भदौः राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीे र प्रधान सेनापति अशोकराज सिग्देलबीच देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको छ । ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिपछिको शान्ति सुव्यवस्था र मानव अधिकारको अवस्थाबारे आयोगको कार्यालय हरिहर भवन ललितपुरमा आज छलफल भएको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आयोगका पदाधिकारी र प्रधान सेनापतिबीचको भेटघाट बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको बताउनुभयो ।

छलफलमा देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।

आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको छ । साथै, आयोगले ‘जेनजी’ प्रतिनिधि, मृतकका परिवार, घटनाका घाइते र अन्य प्रभावित तथा बालबालिकासँग निरन्तर भेटघाट गरिरहेको जनाएको छ ।

‘जेनजी’ आन्दोलनले ऐतिहासिक महत्त्वका तीन दरबारमा पूर्ण क्षति

काठमाडौँ, ३१ भदौः यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ । एक सय वर्षभन्दा पुराना तीन दरबार शीतल निवास, सिंहदरबार र बबरमहल (सडक विभाग बसेको भवन) प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदास्थल भए पनि आन्दोलनका क्रममा जलेको छन् ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही अभियानकर्मीले पुरातत्व विभागअघि सम्पदा क्षेत्रमा केही नगरौँ भनी बसेकाले जोगिए पनि यी तीन सम्पदा क्षतिग्रस्त भए । यीबाहेक धार्मिक एवं सांस्कृतिक सम्पदामा भने कुनै क्षति नभएको उहाँले सुनाउनुभयो ।

आन्दोलनकारीले पशुपति क्षेत्र विकास कोषको भौतिक सम्पत्तिमा भने धेरै क्षति गरेका छन् । कोषका १७ वटा दुई पाङ्ग्रे र २१ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको विवरण प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पुरातत्व विभागका दुई वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको छ । यसैगरी मन्त्रालयका दुई पाङ्ग्रे दुई र चार पाङ्ग्रे तीन वटा सवारीसाधनमा पूर्ण तथा दुई वटा दुई पाङ्ग्रे र सात वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति भएको उपाध्यायले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेको छ । यसैगरी तीन वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको मन्त्रालयले तयार पारेको क्षति विवरणमा उल्लेख छ ।

यस्तै, नेपाल वायुसेवा निगमको एउटा दुई पाङ्ग्रे र छ वटा चार पाङ्ग्रेमा पूर्ण र १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको छ । राष्ट्रिय अभिलेखालयको एउटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ ।

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १६ सैनिक घाइते

बागमती। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको लु१ग २८० नं को ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

बीमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त

विराटनगर, ३१ भदौ : कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन् । अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको छैन ।

ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउनेजस्ता अनियमिततामा संलग्न भएको पाइएपछि सेवाबाट बर्खास्त गरिएको जनाइएको छ ।

मोरङका एक क्यान्सरपीडित बिरामीले उजुरी दिएपछि उपचार रकमको दुरुपयोगको घटना बाहिर आएको हो । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चिकित्सकले सात दिनका लागि औषधि लेखिदिँदा पनि ती बिरामीको बीमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि ती बिरामीले अस्पताल प्रशासनमा उजुरी दिएका थिए । लिखित उजुरी प्राप्त भएपछि अस्पतालले छानबिन समिति गठन गरी अनुसन्धान गरेको मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई पहिले पनि कतिपय बिरामीले बीमाको औषधि दुरुपयोगबारे गुनासो गरेका थिए, तर यसपटक लिखित उजुरी नै आयो, उजुरीमा उल्लेखित मात्र होइन, अघिपछि काटिएका बिलसमेत परीक्षण गर्दा अनियमितता पुष्टि भएपछि उनीहरूलाई बर्खास्त गरिएको हो ।”
अस्पताल प्रशासनले बर्खास्त गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि छानबिन समितिको प्रतिवेदनमा उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित भएको उल्लेख छ ।

कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी सेवा लिन आउँछन् । ती मध्ये आधाभन्दा बढी स्वास्थ्य बीमा सदस्य हुने गरेका छन् । बीमित बिरामीमध्ये सबैभन्दा धेरै दीर्घरोगका बिरामी छन् । अस्पतालको बीमा शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार बीमित बिरामीमध्ये अधिकांश मेडिकल विभागमा उपचारका लागि पुग्ने गरेका छन् ।

आर्थिक वर्ष २०८१÷८२को तथ्याङ्कका अनुसार अस्पतालमा उपचार सेवा लिन आएका तीन लाख १७ हजार ७१८ बिरामीमध्ये एक लाख २३ हजार ९८३ बिरामी स्वास्थ्य बीमामार्फत उपचार सेवा लिएका छन् । तीमध्ये उच्च रक्तचाप, दम, मधुमेह, ग्यास्ट्राइटिस, तल्लो पेट दुखाइलगायत रोगको उपचार गर्ने बिरामी धेरै छन् ।

मेडिसिन विभाग प्रमुख डा दीपक सिग्देलका अनुसार हाल सबैभन्दा बढी देखिने उच्च रक्तचाप, दम, मधुमेह, मुटुरोग र मस्तिष्कसम्बन्धी समस्या रहेका छन् । उहाँले भन्नुभयो, “पहिलेका दिनमा पाको उमेरका मानिसलाई मात्र हुने यो रोग अहिले युवापुस्तामा पनि देखिन थालेका छन् । लामो समयसम्म औषधि खानुपर्ने रोग बढ्दै गएकाले बीमा सेवा लिनेको चाप दिनानुदिन बढिरहेको छ ।”

हाडजोर्नी रोगसम्बन्धी विभाग, स्त्री तथा प्रसूति विभाग, नाक कान घाँटी, स्नायु रोग, छाला तथा अन्य विभागमा पनि बीमित बिरामीको चाप बढ्दो छ । स्वास्थ्य सरोकारवालाका अनुसार बीमित बिरामी र दीर्घरोगीहरूको सङ्ख्या बढ्दै गएकाले औषधि आपूर्ति र बिलिङ प्रणाली अझ पारदर्शी बनाउनुपर्ने आवश्यकता झनै बढेको छ ।

सिंहदरबार जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ, हामी फेरि उठ्छौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जलाउनेलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताएका छन् । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले माओवादी अब जेनजीको मुद्धासँग मिलेर, आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न अगाडि बढ्ने बताए । उनले आफूहरु जसरी उठ्नु पर्ने हो त्यसैगरि उठ्ने पनि बताए ।

सरसफाइ कार्यक्रममा उनले भने, ‘सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ ।’

उनले थपे, ‘अब हामीले जे संकल्प गरेका थियौं कि हाम्रो पार्टीलाई रुपान्तरण र पुनगठन गरेर हामी त्यो लक्ष्यमा जान्छौ । जेनजीको मुद्धासँग मिलेर, त्यो आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न हामी अगाडि बढ्छौ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरि उठ्छौ ।’

‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

भोजपुर, ३१ भदौ : परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।

पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा सङ्कटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ ।

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताउनुभयो । कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उहाँको भनाइ छ ।

“पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ”, उहाँले भन्नुभयो, “गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ । बजारको मागलाई धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।”

मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बतउनुभयो । बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उहाँको भनाइ छ ।

विगतका वर्षहरूमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उहाँले जानकारी दिनुभयो । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो ।

विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३१ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४६, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १२०, लोकल बन्दा प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, रातो मूला प्रतिकेजी रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु २५, तने बोडी प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ६५, परबर (तराई) प्रतिकिलो रु ६५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ६५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ७५, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु १२०, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ११००, सौफको साग प्रतिकिलो रु ३५०, पुदिना प्रतिकिलो रु ९००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३८०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु १३० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ९०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ९०, खुर्सानी अकबरे प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २५०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

घोराही (दाङ), ३१ भदौः पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आवमा छ सय ७० हेक्टर क्षेत्रमा केराखेती भएको ज्ञान केन्द्रसँग तथ्याङ्क छ । गत आवमा एक सय ५० हेक्टर केराखेती हुने क्षेत्रफल वृद्धि भएको हो । जिल्लाको उत्पादनले बजारको करिब ७० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वका समयमा भने बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको केन्द्रका प्रमुख भण्डारी बताउनुहुन्छ ।

“जिल्लामा पछिल्लो समय व्यावसायिक केराखेती बढ्दै गएको छ, उत्पादन वृद्धि भएको र आत्मनिर्भर उन्मुखतर्फ अगाडि बढेको छ”, प्रमुख भण्डारीले भन्नुभयो । रोपेको सबै बिरुवा उत्पादन दिने नभएकाले अहिलेलाई बाहिरबाट आउने केरामै भर पर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

जिल्लामा देउखुरीको राप्ती, शान्तिनगर,गढवा गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ । केराखेतीमा ठूलो लगानी गर्ने किसान तथा व्यवसायी पनि लागेको पाइएको छ ।

प्रमुख भण्डारीका अनुसार जिल्लामा केराखेतीको राम्रो सम्भावना छ, त्यसैले पनि पछिल्लो समयमा केराखेती गर्नेको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ । केराको बजारसमेत राम्रो रहेको उहाँ बताउनुहुन्छ । सबैले उपयोग गर्ने भएकाले केरा खपतमा समस्या छैन । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदानसमेत दिएको थियो ।

अन्य याममा जिल्लामा उत्पादन भएका केराले लगभग पुग्ने भए पनि चाडपर्वका समयमा जिल्ला बाहिरसँगै भारतबाट फलफूल भित्र्याउनुपर्ने अवस्था छ । केराको मागअनुसार उत्पादन हुन नसक्दा जिल्ला बाहिरबाट केरा ल्याउनुपर्ने हुँदा बर्सेनि करोडौँ रकम बाहिरिने गरेको व्यवसायी भगत विक बताउनुहुन्छ ।

“जिल्लाको उत्पादनले तीन महिना पनि धान्न सक्दैन”, फलपूmल व्यवसायी विकले भन्नुभयो । जिल्लामा धेरै केरा भारतबाटै आउने गरेको उहाँको भनाइ छ । चितवन, नवलपरासी, टीकापुरलगायत जिल्लाबाट केरा ल्याउने गरे पनि बाह्रै महिना नपुग्ने उहाँको भनाइ छ ।

दुई कम्युनिस्ट पार्टीबीच एकता, राखियो नयाँ नाम

काठमाडौं । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता भएको छ । सोमबार यी दुई पार्टीले एकता भएको घोषणा गरेका हुन् । एकता घोषणा कार्यक्रम गर्दै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति पनि भएको जनाइएको छ ।

घोषणा कार्यक्रममा नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको दिइएको छ ।

एकता आधारपत्रमा भनिएको छ ‘नयाँ जनवादी पुँजीवादी जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान, राष्ट्रिय पुँजिपतिलगायत शोषित पीडित वर्ग र समुदायका जनताको संयुक्त जनवादी अधिनायकत्व रहेको जनवादी राज्यव्यवस्था कामय गर्दै समाजवादमा संक्रमण हुने पृष्ठभूमि तयार गर्नेछ’

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी : बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा यातायात अवरुद्ध भएको थियो ।

नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुपिएका ठूला ढुङ्गा फुटाउने र डोजरको सहायताले पहिरो पन्छाएर गए राति १०ः०० बजे सडक खुलाएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले बताउनुभयो ।

“बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले रातिसम्म काम गरेर सडक खुलाएका हौँ”, उहाँले भन्नुभयो, “सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।”

सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालबाहक ट्रक घाँसामै रोकिएका थिए । सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक गन्तव्यतर्फ लागेका छन् ।

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दसँैका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएकाले बेनी–जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ ।

उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह

काठमाडौँ – सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गर्नुभएको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँहरूले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको प्रतिबद्धता जनाउनुभयो ।

सचिवद्वयले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आवश्यक खाद्यान्नलगायत सामग्री पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने जानकारी दिनुभयो । उहाँहरूले माग, आपूर्ति र प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगर्न÷नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेतालगायत सरोकार भएका सबैलाई अनुरोध गर्नुभयो ।

मन्त्रालयले आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने देखिएकाले वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । परिस्थिति सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयले आयात सहज गर्न कोरला नाका खुला गरिएको तथा सो नाकाबाट ठूलो मात्रामा सामान भित्रिरहेको जानकारी गराउँदै तातोपानी नाका खुलाउन प्रयास भइरहेको जनाएको छ । साथै दक्षिणतर्फका नाकासमेत नियमित सञ्चालनमा आइसकेको सचिवद्वय घिमिरे र राउतले जानकारी दिनुभयो ।

छलफलमा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिलेको विषम् परिस्थितिमा मुलुक अप्ठ्यारोमा परेकाले अर्थतन्त्र उकास्न सबैसँग सहकार्य र समन्वय गरी सहज वातावरण बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले उत्पादनमूलक उद्योग, होटेल तथा रिटेल चेन तथा साना व्यवसाय तथा उद्योगी व्यवसायीका निजी आवास तथा भवनमा भएको आगजनी, लुटपाट तथा तोडफोड गरी निजी क्षेत्रलाई निराश बनाए पनि नयाँ हौसलासहित उठ्ने प्रयास गरिएको बताउनुभयो । सरकारसँग नजिक रहेर काम गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको बताउँदै उहाँले निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौँ, ३१ भदौः देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि रु १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा रु १४ अर्ब ९६ करोड थियो ।

चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय दुई दशमलव आठ प्रतिशतले कमी आई रु २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २२ अर्ब ३२ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु १५ अर्ब छ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२ दशमलव सात प्रतिशतले वृद्धि भई रु पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार अर्ब ७७ करोड थियो ।

टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति ट्रम्पको भनाइ

संयुक्त राज्य अमेरिकाले सोमबार टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल पोष्ट गर्दै प्रसिद्ध सामाजिक सञ्जाल टिकटकको नाम नलिईकन भन्नुभएको छ, “एउटा निश्चित कम्पनीसँग सम्झौता भएको छ, जसलाई हाम्रो देशका युवाहरू निकै बचाउन चाहन्छन्। तिनीहरू धेरै खुशी हुनेछन्।”

ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुराकानी गर्ने पनि बताउनुभएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले म्याड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँगको दोस्रो दिनको वार्तापछि सम्झौताको सहमतिको खाकाबारे जानकारी गराउनुभएको हो ।

“हामीसँग टिकटकसँगको सम्झौताको लागि एक ढाँचा तयार बनेको छ,” बेसेन्टले पत्रकारहरूसँग भन्नुभयो, “यसले एपलाई ‘अमेरिकी नियन्त्रित स्वामित्वमा सञ्चालन गर्न’ मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ।”

“दुई निजी पक्षहरूबीच व्यावसायिक सर्तहरूमा सहमति भएको छ,” उहाँले भन्नुभयो ।

बेसेन्टले थप विवरण दिन अस्वीकार गर्नुभएको छ। राष्ट्रपतिद्वय ट्रम्प र सीले शुक्रबार सम्झौता पूरा गर्न थप कुराकानी गर्ने उहाँले बताउनुभयो।

विश्वमै करिब दुई अर्ब प्रयोगकर्ता रहेको टिकटक चीनको इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ ।

तर रिपब्लिकन, जसको २०२४ को चुनाव अभियान सोशल मिडियामा धेरै निर्भर थियो र जसले आफूलाई टिकटकको शौखिन भएको बताएको छ, प्रतिबन्धलाई रोक्यो।

गत जुनको मध्यतिर ट्रम्पले भिडियो सेयरिङ एपका लागि ९० दिनको म्याद थप गर्नुभएको थियो । त्यो म्याद बुधबार सकिँदैछ।

यसअघि, बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार वार्ता पुनः सुरु भएपछि टिकटकको विवादलाई सुल्झाउन चीनसँग सम्झौताको ‘धेरै नजिक’ रहेको बताउनुभएको छ ।
बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार म्याड्रिडमा पछिल्लो चरणको छलफलको उद्घाटन गरेका थिए। विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको सम्बन्ध तनावपूर्ण बनेका समय यसले व्यापार र प्रविधिमा मतभेदहरू कम गर्न खोजेको छ ।

टिकटकको लागि अमेरिकी खरीदकर्ता खोज्ने वा प्रतिबन्धको सामना गर्ने अन्तिम मिति बुधबारसम्म जारी रहने अपेक्षा गरिएको वार्ताले प्रतिशोधात्मक करका सम्बन्धमा पनि नयाँ निकास निकाल्ने अपेक्षा गरिएको छ ।

“टिकटक सम्झौताका बाबजुद हामी यो मुद्दाको समाधानको नजिक छौं,” स्पेनको विदेश मन्त्रालयमा दोस्रो दिनको वार्ताका लागि आइपुगेका बेसेन्टले पत्रकारहरूलाई भन्नुभयोे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा टिकटकलाई सञ्चालनका लागि अस्थायी अनुमति दिनुभन्दा अघिल्लो दिनदेखि टिकटकको बिक्री वा प्रतिबन्ध लगाउनुपर्ने संघीय कानुन लागू हुने बताउनुभएको थियो ।

तर सन् २०२४ कोे चुनाव अभियानमा रिपब्लिकन सामाजिक सञ्जालमा अत्यधिक धेरै निर्भर थियो । यसले आफूलाई टिकटकको शौखिन भएको बताउँदै प्रतिबन्धलाई रोकेको थियो ।
– अस्थिर युद्धविराम –

गत जुनको मध्यतिर ट्रम्पले भिडियो सेयरिङ एप टिकटकका लागि ९० दिनको म्याद थप गर्नुभएको थियो । त्यो म्याद बुधबार सकिँदैछ।

ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्बाचन अभियान पहिले लामो समयदेखि प्रतिबन्ध वा विनिवेशको समर्थन गर्दै आउनुभएको थियो तर निर्वाचनको समयमा उहाँले आफ्नो अडानलाई उल्ट्याउँदै उक्त सामाजिक प्लेटफर्मको रक्षा गर्ने वाचा गर्नुभएको थियो । टिकटकका विश्वभर लगभग दुई अर्ब प्रयोगकर्ताहरू भएको बताउने गरेको छ भने अमेरिकी राष्ट्रपतिले नोभेम्बरको चुनावमा युवा मतदाताहरूको समर्थन जित्न यसैले व्यापक मद्दत गरेको विश्वास गरिएको छ ।

बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबार वासिङ्टनलाई ‘आपसी सम्मान र समान परामर्शका आधारमा चीनसँग काम गर्न, वार्ताको माध्यमबाट एक अर्काको चासोलाई समाधान गर्न र समस्याको समाधान खोज्न’ आग्रह गरेको छ ।

म्याड्रिडमा भएको वार्तामा चिनियाँ आयातमा ट्रम्पको कडा कर लगाउने चेतावनीलाई पनि समेटिएको छ ।

यस वर्षको सुरुमा व्यापार तनाव तीव्र रूपमा बढेको र चीन र अमेरिकाबीच प्रतिशोधात्मक करवृद्धि तीन अङ्कमा पुगेपछि र आपूर्ति श्रृंखलाहरू अवरुद्ध भएका थिए।

चिनियाँ सामानको आयातमा ३० प्रतिशत कर लगाउने र चीनले अमेरिकी सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेसँगै दुवै सरकारबीच करवृद्धि घटाउने सहमति भएको थियो ।

अमेरिका–चीन व्यापार युद्धविराम निकै असहज बनेको छ । वासिङटनले बेइजिङले आफ्नो सम्झौता उल्लङ्घन गरेको र दुर्लभ वस्तुका लागि निर्यात इजाजतपत्रको स्वीकृतिलाई ढिलो गतिमा अघि बढाएको आरोप लगाएको छ।

चीन दुर्लभ खनिजको विश्वको अग्रणी उत्पादक हो, जुन मोटर वाहन, इलेक्ट्रोनिक्स र रक्षा उद्योगहरूको लागि आवश्यक चुम्बक बनाउन प्रयोग गरिन्छ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको आज शव यात्रा गरिने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको आज शव यात्रा गरिदैछ।

आज बिहान ७ बजे सहिदहरुको शव यात्रा गर्ने तयारी गरिएको जनाइएको छ । भदौ २३ गते ज्यान गुमाएका कति सहिदहरुको अन्त्यष्टि भइसकेको छ भने कतिको हुन बाँकी छ । बाँकी रहेका शवहरुलाई शव यात्रा गरिने र अन्त्यष्टि गरिने भएको हो । ।

टिचिङ् अस्पतालबाट आज बिहान ७ बजे शव यात्रा सुरु गरेर चक्रपथ एक परिक्रमा गराउने कार्यक्रम छ ।

इजरायललाई बढ्दो ’अन्तर्राष्ट्रिय एक्लोपन’का बीच आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको र आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभएको छ ।

जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भन्नुभयो, “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।”

“हामी अनुसन्धान र विकासमा मात्र होइन तर वास्तविक उत्पादनमा पनि आफैंलाई यस्तो अवस्थामा फेला पार्नेछौँ,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “इजरायलले मुख्यतया हतियार उद्योगलाई ध्यानमा राख्दै नयाँ अलगावलाई अनुकूलन गर्न र आफ्नै उत्पादन क्षमताहरू विकास गर्न आवश्यक छ। हामी यस्तो अवस्थामा पुग्न सक्छौं जहाँ हाम्रा उत्पादनहरू निर्यातका लागि बन्द हुनेछन्।”

उहाँले थप्नुभयो, “हामीले यहाँ हतियार उद्योग विकास गर्नुपर्नेछ । हामी एथेन्स र सुपर–स्पार्टा हुनु पर्छ।”

“इजरायलको अन्तर्राष्ट्रिय अवस्था परिवर्तन हुँदैछ”, उहाँले चेतावनीको स्वरमा भन्नुभयो, “यसले हामीलाई आर्थिक प्रतिबन्धको सुरुवात र हतियार र हतियारका पार्टपुर्जाहरू आयात गर्ने समस्या निम्त्याउनेछ।”

विपक्षी नेता याइर लापिडले नेतान्याहूको टिप्पणीलाई ‘एक अर्थहीन टिप्पणि’ को रूपमा निन्दा गनुभयो । उहाँले भन्नुभयो, “अलगाव ‘नेतान्याहू र उनको सरकारको असफल र त्रुटिपूर्ण नीतिहरूका’े परिणाम हो।”

स्पेनले इजरायलको सबैभन्दा ठूलो निजी स्वामित्वको रक्षा कम्पनी एल्बिट सिस्टम्सबाट रकेट लन्चर खरिद गर्न करिब ७० करोड युरोको सम्झौता रद्द गरेको छ । गाजा युद्धका बीच स्पेनले यसै महिना रद्द गरेको यो दोस्रो इजरायली हतियार सम्झौता हो ।

गाजामा इजरायलको आक्रमणले ६४ हजार भन्दा बढी व्यक्तिको ज्यान लिएको छ भने प्यालेष्टिनी भूभागलाई तहसनहस पारेको छ । त्यहाँ भोकमरी निम्त्याएको छ।

गाजा द्वन्द्वको समयमा अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्भावित उल्लङ्घनको चिन्तालाई उद्धृत गर्दै धेरै राष्ट्रहरूले सन् २०२३ अक्टोबरदेखि इजरायलसँग हतियार व्यापार घटाएका छन् वा स्थगित गरेका छन्।

आजको मौसम : यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३१ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनुका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

जेनजी प्रदर्शनमा तुलसीपुरका सरकारी कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न सूचना

दाङ, ३१ भदौः दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयले जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेका छन् । यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ को प्रदर्शनका क्रममा कार्यालय तोडफोड तथा आगजनीपछि चोरी भएका सामान फिर्ताका लागि आग्रह गरेका हुन् ।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेको छ । कार्यालयका निमित्त प्रमुख उपन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिक्स, कुर्सी, टेबल, फ्रिजलगायत सामग्री चोरी भएका उल्लेख छ ।

कार्यालयले सामाजिक सञ्जालमा देखिएका तस्बिर तथा भिडियो, सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान भइसकेको जनाएको छ ।

चोरी भएका सामान तुरुन्त फिर्ता गर्न वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन कार्यालयले अनुरोध गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेकाले दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउने तयारी गरेको छ ।

त्यस्तै उच्च अदालत तुलसीपुरबाट कम्प्युटर, फ्रिज, सोफालगायत सामग्री चोरी भएकाले तुरुन्तै फिर्ता गरिदिन सूचना अधिकारी कृष्णप्रसाद शर्माले आग्रह गर्नुभयो । त्यसैगरी इलाका प्रशासन कार्यालय तुलसीपुरबाट पनि सोफा, कुर्सीलगायत सामान चोरी भएका कार्यालय प्रमुख महेश गुरुङले जानकारी दिनुभयो ।

तुलसीपुरस्थित नगरविकास समितिको कार्यालय पूर्ण रूपमा जलाएर नष्टगरी निवासबाट सुनका विभिन्न प्रकार छ थान गरगहना, ल्यापट एक थानलगायत सामग्री चोरी भएका कार्यालय प्रमुख लीलाधर शिवाकोटीले जानकारी दिनुभयो । उहाँले विगत ३८ वर्षदेखि तुलसीपुरमा बसेर आफूले कमाएका सामग्री, सुनका गरगहना र केही नगद चोरी गरेर लगेकाले फिर्ता गर्नका लागि सूचना सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि एक सूचनामार्फत कार्यालयबाट चोरी गरेका सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । त्यसैगरी, यहाँका आगजनी तथा तोडफोड भएका कार्यालयले पनि चोरी गरेको सामान फिर्ता गर्न सूचना जारी गरेका छन् । अटेर गरेमा सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियो, सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचानगरी कारबाही गरिने सूचनामा उल्लेख छ ।

रातिमा रोक लगाउँदै आइएको बिपी राजमार्गमा असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक, ३१ भदौः यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।

मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो ।

कार्यालयले पटकपटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।

मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडाैँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो ।

यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।

गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्‍याएको थियो ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् ।

बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

काठमाडौँ, ३१ भदौः देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।मेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत साउन मसान्तमा दुई दशमलव सात प्रतिशतले वृद्धि भई २० अर्ब तीन करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत साउन मसान्तमा चार प्रतिशतले वृद्धि भई रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई रु दुई खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।

गत साउन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव चार प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २० दशमलव चार महिनाको वस्तु आयात र १६ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३३ अर्ब आठ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब चार करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु २२ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु ८० करोड रहेको थियो ।

सो अवधिमा शोधनान्तर स्थिति रु ८९ अर्ब ३० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।

परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब ४८ अर्ब आठ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ थियो ।

कूल वस्तु व्यापारः एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कूल वस्तु आयात ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव एक प्रतिशत र २० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मललगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायत वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा निर्यातआयात अनुपात १६ दशमलव सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव पाँच प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु १३ अर्ब ९८ करोड बराबर भएको थियो ।

यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५ दशमलव सात प्रतिशतले वृद्धि भई रु २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा नौ दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६ दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५ दशमलव दुई प्रतिशत र एक दशमलव चार प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायत वस्तुको निर्यात घटेको छ ।

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौँ, ३० भदौः श्रीलङ्काको राजधानी कोलोम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।

कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा आज भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालको जितमा दुवै गोल समिर कुमारले गरे । उनले खेलको ५२औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । खेलको दोस्रो हाफको ‘इन्जुरी’ समयको तेस्रो मिनेटमा समिरले गोल गर्दै नेपाललाई २–० को जित दिलाए । नेपालले अब दोस्रो खेल आगामी असोज २ गते बङ्गलादेशसँग खेल्नेछ ।

आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा रास्वपाको जोड

काठमाडौँ, ३० भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी’ आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ ।

आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनपर्नेमा जोड दिएको छ ।

“आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिनुपर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

आफूहरू लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट गर्दै उक्त पार्टीले कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने पार्टीको नीति रहेको स्मरण गराएको छ ।

जेनजी प्रदर्शन : अवरुद्ध भएका सरकारी कार्यालयको सेवा सञ्चालन गर्न सहयोगी हात जुट्दै

सुदूरपश्चिम, ३० भदौः जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भई सेवा अवरुद्ध भएका कैलालीका सरकारी कार्यालयको सेवा सञ्चालनमा ल्याउन सहयोगी हात जुट्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउन विभिन्न विद्यालय, व्यवसायी, सङ्घसंस्थाबाट कम्प्युटर, फर्निचर, टेबललगायतका सामग्री सहयोग स्वरुप प्राप्त भइरहेको जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा जिन्सी सामग्री र महत्त्वपूर्ण कागजात नष्ट भएपछि सरकारी कार्यालयहरुले सेवा प्रवाह गर्न सकेका छैनन् । जिल्ला प्रशासनलाई एरिष्टो इङ्लिस स्कुल र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले कम्प्युटर, प्रिन्टर, कुर्सीलगायतका सामग्री सहयोग गरेको छ ।

त्यसैगरी गोदावरी नगरपालिकाको कार्यालयलाई आज स्थानीय व्यवसायीले जिन्सी सामान सहयोग गरेका छन् । सहरी आवास तथा भवन कार्यालयमार्फत सरकारी भवनमा पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ ।

जिल्ला प्रशासनको अगुवाइमा आज धनगढीमा उद्योग वाणिज्य सङ्घ, बैंक एसोसिएसन, वस्तुगत सङ्घसंस्थाका प्रतिनिधि र मानवअधिकारकर्मीबीच छलफल भएको थियो । सो छलफलमा सहभागीले विभिन्न कार्यालयमा अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कैलाली भन्सार कार्यालयले तोडफोड र आगजनीका क्रममा चोरी भएका सरसामान फिर्ता गरिदिन आज सार्वजनिक सूचना जारी गरेको छ ।
जिल्ला प्रशासनलगायतका कार्यालयबाट चोरी भएकामध्ये कतिपय सामान फिर्ता हुन थालेका छन् । भन्सार कार्यालयले आइतबारदेखि कार्यालय परिसरमै रहेको गाडी पार्किङ भवनबाट सेवा सुरु गरेको छ । घटनापछि युवा समूहले विभिन्न सरकारी कार्यालयको सफाइ गर्न थालेका छन् ।

प्रदर्शनका क्रममा कैलाली जिल्लाका सरकारी र निजी गरी १३७ कार्यालय तथा निजी घरमा आगजनी तथा तोडफोड भएको छ । ६६४ सवारीसाधन जलेर नष्ट भएका छन् ।

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौँ, ३० भदौः राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि बढ्न सबैलाई अपिल गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गरी उहाँले नीतिनिर्माण र कार्यान्वयनमा समावेशी दृष्टिकोण अपनाउनसमेत आग्रह गर्नुभएको छ । “युवापुस्ता, महिला, सीमान्तकृत समुदाय तथा विपन्न वर्गका आवाजलाई नसमेटी लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन । देशभित्रको आन्तरिक सहमति तथा संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप अगाडि बढ्न आग्रह पनि गर्दछु”, विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष घिमिरेले कठिन घडीमा सबै पक्षलाई धैर्य, संयम र आपसी विश्वासका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । राज्यका निकायहरूले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेकामा उहाँको जोड छ ।

उपाध्यक्ष घिमिरेले आन्दोलनका क्रममा सार्वजनिक र निजी संरचना जोगाउन सहयोग गर्ने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै ‘जेनजी’ आन्दोलनबाट उत्पन्न परिस्थितिको सामना गर्न शोकलाई शक्तिमा बदल्दै नयाँ नेपाल निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “देश सङ्कटपूर्ण अवस्थामा रहेको यो बेला उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पु¥याउँदैन । आन्दोलनमार्फत उठाइएका माग, आवाज र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाभित्र समेट्दै दिगो समाधानको बाटो खोज्नु हाम्रो सामूहिक जिम्मेवारी हो । शान्ति, सहकार्य र आपसी विश्वासमार्फत मात्र हामीले समाज र नागरिकका आकांक्षा सम्बोधन गर्न सक्छौँ ।”

उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू: आपूर्ति मन्त्रालय

काठमाडौँ, ३० भदौ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ ।मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्याधिक वस्तु अनावश्यक सञ्चित नगर्न÷नगराउन सबैमा अनुरोध गरेको हो ।

बजार अनगुमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार हनन तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति शृङ्खलामा अवरोध गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ । आसन्न चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर आजैदेखि १५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा मन्त्रालयले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो ।

छलफलमा सरकारी संरचना र निजी व्यावसायिक संस्थामा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण र प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो ।

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग गत हप्ता भएको सहकार्यको ढाँचा कार्यान्वयन गर्न आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) को निगरानी रोकिएपछि ‘विश्वास पुनस्र्थापना’ गर्न आवश्यक रहेको उहाँले बताउनुभएको हो ।

गत जुनमा इजरायलसँगको युद्धपछि इरानले कायरोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) सँगको सम्झौतामा सहमति जनाएको थियो ।

इरान र इजरायलबीच १२ दिनसम्म चलेको उक्त युद्धमा इजरायलसँगै अमेरिकाले इरानको प्रमुख आणविक केन्द्रमा आक्रमण गरेका थिए । त्यसयता आइएइएका निरीक्षकहरूले त्यससम्म पहुँच गर्न सकेका छैनन् ।

आइएइएको वार्षिक महासम्मेलनको उद्घाटनको दिन सम्बोधन गर्दै आइएइएका प्रमुख राफेल ग्रोसीले अब यो सम्झौता कार्यान्वयन गर्ने र विश्वास पुनस्र्थापना गर्न’ र एजेन्सीलाई ‘यी सबै कठिनाइका बाबजुद आफ्नो काम जारी राख्न’ अनुमति दिने बताउनुभयो ।

“सम्झौता कार्यान्वयन गर्ने गराउने अब इरान र हामी माथिको जिम्मेवारी हो। यसले प्राविधिक उपाय र व्यावहारिक कदमहरूको लागि आवश्यक हाम्रो जिम्मेवारीलाई पुनः शुरू गर्न निर्देशित गर्छ,” ग्रोसीले आफ्नो भाषणमा भन्नुभयो।

इरानको सर्वोच्च सुरक्षा निकाय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को अनुमोदनपछि मात्र नयाँ ढाँचाले संयुक्त राष्ट्रसङ्घका आणविक निरीक्षकहरूलाई पहुँच दिने बताएको छ।

इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक केन्द्रमा भएका आक्रमणपछि इरानसँगको सहकार्यलाई नयाँ व्यवस्थामार्फत अघि बढाइने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “आणविक स्थल र सुविधाहरूको बिरूद्ध आक्रामकता र खतराको निरन्तरता पछि अति गम्भीर परिस्थितिहरूमा कसरी संलग्नता जारी राख्ने भनेर हाल सुरक्षा सम्झौताको लागि कुनै व्यवस्था गरिएको छैन।”

उहाँले इरान परमाणु अप्रसार सन्धिको पक्ष राष्ट्र रहेको पनि उक्त अबसरमा बताउनुभयो ।

इरान र इजरायलबीचको युद्धपछि इरानले आइएइएलाई निरीक्षणमा रोक लगाएपछि पश्चिमा शक्तिहरूले इरानको आणविक कार्यक्रमको विस्तारबारे बारम्बार चिन्ता व्यक्त गरेका छन् ।संयुक्त राज्य अमेरिकाले इरानलाई उसको परमाणु कार्यक्रम सीमित गर्ने ऐतिहासिक सम्झौताबाट सनु २०१८ मा एकतर्फी रूपमा पछि हटेपछि तेहरानले पनि क्रमशः सम्झौताबाट पछि हटेको थियो ।

इरानमाथि लामो समयदेखि आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लाग्दै आएको छ तर दावीलाई उसले अस्वीकार गर्दै आएको छ।

ट्रम्पद्वारा ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकमाथि दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) मा प्रमुख नीतिगत बिषयमा छलफलका लागि बैठक सुरु हुनुभन्दा एक दिन पहिले बैङ्कमाथि दबाब बढाउँदै व्यापक ब्याजदर कटौतीको लागि सोमबार आह्वान गर्नुभएको छ ।

आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले नै ब्याजदर घटाउनुपर्ने बताउनुभएको हो ।

उहाँले पावेलले दर घटाउन ‘धेरै ढिलो’ भएकोे भन्दै हालैका दिनहरूमा बारम्बार चर्चा गर्दै आउनुभएको छ ।

फेडले बुधबार आफ्नो दुई दिने बैठकको अन्त्यमा प्रमुख ऋण दर २५ आधार बिन्दुले घटाउने अपेक्षा गरिएको छ र सबैको नजरले भेलापछि आउने पावेलको घोषणालाई पर्खिरहेका छन्।

दरदर घटाउने कदमले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकालाई रोजगार बजार कमजोर भइरहेको अवस्थामा आर्थिक प्रोत्साहन दिनेछ । लामो समय रोजगार बजार कमजोर हुँदा मन्दीको डरलाई बढावा दिन्छ।

यो २०२५ को पहिलो दर कटौती हुनेछ, किनकि फेडले सन् २०२४ डिसेम्बरमा अन्तिम कटौतीपछि ब्याज दरहरू स्थिर राखेको छ । अधिकारीहरूले राष्ट्रपति ट्रम्पको व्यापक कर वृद्धिको घोषणाको प्रभावले मुद्रास्फीतिमा योगदान गर्नसक्ने भन्दै आफ्नो मौद्रिक नीतिलाई पर्ख र हेरको अवस्थामा निगरानी गरिरहेका थिए।

अमेरिकी मुद्रास्फीति केन्द्रीय बैङ्कको दीर्घकालीन दुई प्रतिशतको लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ । कर वृद्धिको प्रभाव अहिलेका लागि सीमित हुने देखिएको छ ।

यसले नीति निर्माताहरूलाई श्रम बजारलाई बढावा दिन केही ठाउँ दिन्छ, किनकि, उनीहरू स्थिर मूल्य कायम राख्ने र अधिकतम रोजगारीको बीचमा कसिलो डोरीमा हिँड्छन्।

बैठक सुरु हुनुभन्दा केही घण्टा अघि आएको राजनीतिक दबाबले अमेरिकी गभर्नरमा नियुक्तिका लागि करिब पक्का भएको बैङ्कको ‘ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर’का अध्यक्ष स्टेफन मिरानसँगको बैठकबारे चिन्ता सिर्जना गरेको छ ।

अमेरिकी सिनेटमा सोमबार उहाँको मनोनयन अघि बढाउन मतदान हुँदैछ ।

तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासनदेखि प्रहरी कार्यालय सेवामा फर्किए

भक्तपुर, ३० भदौ : जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् ।

आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने अन्य सेवामा पनि असर परेको छ । प्रशासनले जलेका सवारीसाधन, कोठाभित्र थुप्रिएका खरानीलगायतका जलेर कवाडी भएका संरचना हटाउँदै सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आगजनीले जिल्ला प्रशासन कार्यालयमा भएको फोहर सफाइ गरर सेवा सञ्चालन गरेका छौँ ।” प्रशासन कार्यालयसँगै जिल्ला समन्वय समिति, काठमाडौँ उपत्यका नगर विकास कार्यालय भक्तपुरलगायतको जलेका क्षेत्रको सरसफाइ गर्दै सेवा सुरु गरेका छन् ।

जिल्लामा पूर्ण क्षति भएको यातायात कार्यालय, सूर्यविनायक नगरपालिका–४ र ७ को कार्यालय भने सञ्चालनमा आउन सकेको छैन ।

प्रजिअ घिमिरेले प्रहरी कार्यालयबाट लुटिएका हतियार, सञ्चार सेटलगायतका सबै सामग्रीहरु भदौ मसान्तभित्र बुझाइदिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिँदै नबुझाएमा खोजी गर्ने क्रममा भेटिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताउनुभयो ।

मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौँ, ३० भदौः नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले आज जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”

‘आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको छ’

काठमाडौँ, ३० भदौ: हालै भएको जेनजी आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको देखिएको छ ।

सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको एक अध्ययनले सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरूको मृत्यु, घाइते र मनपरि रुपमा पक्राउ गर्दा गहिरो मानसिक आघात परेको उल्लेख गरेको छ ।

उक्त प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई औपचारिक रूपमा बुझाइएको छ । यसले स्वास्थ्य, मनोसामाजिक सहयोग, सुरक्षा, कानुनी सहायता र शिक्षाजस्ता क्षेत्रमा तत्काल सहयोगको आवश्यकता रहेको देखाएको छ । “विशेषगरी प्रहरी र बालबालिका तथा युवाहरूबीच गहिरो अविश्वास भएको छ । आगामी दिनमा बालअधिकार उल्लङ्घन रोक्न शान्ति निर्माण र रूपान्तरणको आवश्यकता छ”, प्रतिवेदनमा भनिएको छ ।

सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले सरकारने तुरुन्तै आवश्यक कदम चालेर आफ्नो जिम्मेवारी सुनिश्चित गर्न, अत्यधिक बल प्रयोग नगर्न, पीडितलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन र जेनजी आन्दोलनका क्रममा भएको हिंसा तथा राज्यद्वारा भएको दमनको स्वतन्त्र छानबिन सुरु गर्नु आग्रह गर्नुभयो ।

अध्ययनका मुख्य सिफारिसहरूमा, राज्य हिंसाबाट उत्पन्न आघात र पुस्तान्तरगत असर सम्बोधन गर्न बालमैत्री मासिक स्वास्थ्य तथा मनोसामाजिक सेवाहरूलाई सुदृढ बनाउने, बालबालिका, युवा र राज्य संयन्त्रबीच विश्वासको पुनःस्थापना गर्न शान्ति निर्माण र द्वन्द्व रूपान्तरणका दृष्टिकोणलाई समावेश गर्ने, राज्यका सुरक्षा निकाय र सुरक्षाकर्मीलाई बालअधिकारबारे संवेदनशील बनाउने र जवाफदेही प्रणालीलाई बलियो बनाउने विषय समावेश छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलल प्रतिवेदनमा मृत्यु र घाइतेसम्बन्धी तथ्यगत विवरणसहित नेपालको अन्तरराष्ट्रिय तथा राष्ट्रिय कानुनअन्तर्गतका प्रतिबद्धता, साथै बालबालिकाको अधिकार र सुरक्षाप्रति राज्यको प्रतिबद्धताको गम्भीर उल्लङ्घन भएको स्मरण गराइएको बताउनुभयो ।

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी, ३० भदौः गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये आज साँझसम्म ३९९ कैदीबन्दी पक्राउ परेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीका अनुसार अझै ७९६ कैदीबन्दी फरार छन् । कास्की कारागारबाट ७७३ कैदीबन्दी भागेकामा २२५ जना पक्राउ परेका छन् । तनहुँ कारागारबाट भागेका ३२७ कैदीबन्दीमध्ये ११५ जना, पर्वत कारागारबाट भागेका १९ जनामध्ये नौ जना र म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ५० जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका ८३ थुनुवामध्ये एक जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताउनुभयो । पोखराको सराङकोटस्थित बाल सुधारगृहबाट भागेका १०६ जनामध्ये १८ जना पक्राउ परेका छन् । बाल सुधारगृहबाट भागेका ८८ जना अझै फरार छन् ।

फरार कैदीबन्दीमध्ये केही आफँै फर्किएको र केहीलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले कारागारबाट भागेका कैदीबन्दीलाई आफैँ फर्कन आग्रह गरिएको बताउनुभयो । “टोल छिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा प्रहरीमा खबर गर्न भनेका छौँ”, उहाँले भन्नुभयो । कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफैँ कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर पक्राउ गर्ने योजना बनाएको छ ।

‘प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने कदम हमासलाई ‘हौसला’: रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सोमबार बेलायत, फ्रान्स र अन्य अमेरिकी सहयोगीहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने कदमले हमासलाई हौसला दिएको आरोप लगाउनुभएको छ ।

रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग जेरुसेलममा संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “तिनीहरू धेरै हदसम्म प्रतीकात्मक छन्। उनीहरूले हामीलाई प्यालेस्टाइन राज्यसँग नजिक ल्याउने बारेमा कुनै प्रभाव पार्दैनन्। प्रभाव पार्ने एक मात्र कुरा भनेको यसले हमासलाई थप उत्साहित बनाएको छ।”

रुबियोले भन्नुभयो, “यो वास्तवमा शान्तिका लागि बाधक बनेको छ ।”

रुबियोले भन्नुभयो, “विगतमा कहिलेकाँही, हमासले वास्तवमा मौन रूपमा सहमति गरेको थियो जब उनीहरूले अन्तर्राष्ट्रिय समर्थन पाएपछि सम्झौताबाट टाढा गएको देखिन्छ।”

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको नेतृत्वमा प्यालेस्टाइन राज्यलाई मान्यता दिन न्यूयोर्कमा संयुक्त राष्ट्र सङ्घको शिखर सम्मेलनको एक हप्ता अघि रुबियोले जेरुसेलमको भ्रमण गर्नुभएको छ ।

फ्रान्स र बेलायतले गाजामा इजरायलको लगभग दुई वर्षको आक्रमणमा आक्रोश व्यक्त गरेका थिए । उनीहरूले प्यालेस्टाइन प्राधिकरणमा हमासका प्रतिद्वन्द्वीहरूलाई बलियो बनाउन खोजेका छन् ।

पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ

काठमाडौँ, ३० भदौः मुलुकको पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक एक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा आज यहाँ भएको छलफलमा सरोकार भएका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबै मिलेर पर्यटन पुनःउत्थानमा लाग्ने बताए ।

‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षति र चुनौती थपिएको उल्लेख गर्दै सहभागीले त्यसका बाबजुद पर्यटन क्षेत्र पुनःस्थापना र प्रगतिको मार्गमा अघि बढिरहेको धारणा राखे ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको पुनःउत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काम गरिरहेका छौँ ।”

सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उहाँहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो । “यस घटनाले हामीलाई धेरै सिकाएको छ । प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् विस्तार हुने क्रम सुरु भएसँगै राम्रो सन्देश विश्वभर पुगेको छ । हामी आशावादी भएर काम गरिरहेका छौँ ।”

पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउन ‘पर्यटन प्याकेज’ सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले दूतावास, गैरआवासीय नेपाली र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताउनुभयो ।

पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण सङ्कलनका लागि समन्वय भएको उल्लेख गर्दै त्यहाँ आवागमन गर्ने पर्यटकलाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा ट्रेकिङ रुटहरू सुरक्षित छन् । साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकलाई कुनै समस्या हुँदैन, आवश्यक सहजीकरणका लागि हामी तयार छौँ ।”

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताउनुभयो । “साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन । यो क्षेत्र सुरक्षित भएकाले पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, उहाँको भनाइ थियो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देश व्यापक बनाउनुपर्ने बताउनुभएको छ । उहाँले प्राकृतिक विपद् र हालको सङ्कट फरक भएकाले दीर्घकालीन समस्या समाधानका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।

पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले पुनःउत्थानका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । “हरेक सङ्कटपछि नेपालको पर्यटन पुनःउत्थानमा पाँच–पाँच वर्ष लाग्ने गरेको छ । यस पटक हामीले छोटो अवधिमै उदाहरणीय काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यस्तै, बोर्ड सदस्य तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का महासचिव नरेन्द्रदेव भट्टले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।
टान अध्यक्ष सागर पाण्डे र कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष विमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै आइतबार पनि पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । उक्त छलफलका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न सङ्कटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनःउत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय बनाउन लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

यसैगरी बोर्डले आज नेपालमा रहेका पाँचतारे र चार तारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीले बताउनुभएको छ ।

यी विभिन्न छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र पर्यटन पुनःस्थापनाका लागि एकमत देखिएको छ । हाल सिर्जना भएका चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्न सामूहिक पहल गर्ने सहभागीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाकिस्तानमा भएको सैन्य कारबाहीमा ३१ विद्रोहीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा परी कम्तीमा ३१ ‘विद्रोही’को मृत्यु भएको सेनाले सोमबार जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार लक्की मरवात र बन्नू जिल्लामा गत हप्ताको अन्त्यमा कारबाही गरिएको थियो ।

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षा बल र विद्रोहीबीच लक्की मारवतमा भएको भीषण गोलीबारीमा १४ विद्रोहीको मृत्यु भएको छ।”

बन्नू जिल्लामा भएको छुट्टै भिडन्तमा थप १७ जना विद्रोहीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

आईएसपीआरले भनेको छ, “दुबै कारबाहीहरू प्रतिबन्धित सङ्गठनसँग सम्बन्धित लडाकूको उपस्थितिको बारेमा प्राप्त भएको गोप्य सूचनाका आधारमा गरिएको र कारबाहीको क्रममा हतियार र गोला बारुद पनि बरामद गरिएको थियो।

कुनै पनि बाँकी खतरालाई हटाउन दुवै क्षेत्रमा सरसफाइ अभियान जारी रहेको सेनाले जनाएको छ। सेनाले पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतङ्कवादको उन्मूलन गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्‍याएको छ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको भोली शव यात्रा गरिने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको भोली शव यात्रा गरिने भएको छ ।

सहिदहरुको भोली बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको जनाइएकोछ । भदौ २३ गते ज्यान गुमाएका कति सहिदहरुको अन्त्यष्टि भइसकेको छ भने कतिको हुन बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरिने र अन्त्यष्टि गरिने भएको हो । ।

टिचिङ् अस्पतालबाट भोली बिहान ७ बजे शव यात्रा सुरु गरेर चक्रपथ एक परिक्रमा गराउने कार्यक्रम छ ।

दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नहुने – उद्योग मन्त्रालय

काठमाडौँ, ३० भदौः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्याधिक वस्तु अनावश्यक सञ्चित नगर्न/नगराउन अनुरोध गरेको छ ।

बजार अनगुमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार हनन् तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति शृङ्खलामा अवरोध गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ । चाडपर्व लक्षित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् देशभर आजैदेखि १५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन गरिएको उल्लेख छ ।

हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा मन्त्रालयले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो ।

छलफलमा सरकारी संरचना र निजी व्यावसायिक संस्थामा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।