`

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी।आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीक्षेक खटिने भएका छन् । दोस्रो आर्थिक गणनाका लागि यहाँ तीन सुपरीवक्षेक र १७ जना गणक खटिने भएका हुन् ।

जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जिल्लाका १० वटै स्थानीय तहमा खटिने गणक तथा सुपरीवक्षेक छनोट कार्य सकिएको बताउनुभयो । छनोट भएकाहरूका लागि पाँचदिने तालिम चैत २६ गतेदेखि सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

तालिमले गणक र सुपरीवेक्षकलाई आर्थिक तथ्याङ्क सङ्कलन कार्यमा थप दक्ष बनाउँदै गणनालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने गिरीले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि असार ७ गतेसम्म दोस्रो आर्थिक गणना सुरु हुँदैछ ।

गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सृजनाको अवस्था सङ्कलन गरिने कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने जिल्ला आर्थिक गणना अधिकारी गिरीले बताउनुभयो ।

उपसभामुख रुवीकुमारी ठाकुरले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष शपथ लिएकी हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्री तथा सांसदहरुको उपस्थिति रहेको थियो ।

पाल्पाको ‘अक्सिजन प्लान्ट’ पुनः सञ्चालनमा

पाल्पा। विगत दुई वर्षदेखि बन्द रहेको यहाँस्थित पाल्पा अस्पतालको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।

कोभिड–१९ का बेला सङ्घीय सरकारको बजेटबाट निर्मित सो प्लान्ट केही वर्षयता बिग्रिएको थियो । हाल प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने भएको छ । यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल तथा भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो ।

जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । प्लान्टमै प्रति सिलिन्डर सानो ३५० र ठूलो ६५० रुपैयाँमा बिक्री हुने गरेको छ । पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दाे बनाउन प्लान्ट महत्त्वपूर्ण रहेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य छ ।”

२०७८ सालको जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो । सो बजेटबाट मेसिन खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।

सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने उद्देश्यले राखिएका प्रचार प्रसार गर्ने बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका सामग्री तीन दिनभित्रमा हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको छ । अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने विभागले जनाएको छ ।

विभागले आज सूचना जारी गरी श्रम स्वीकृतिसम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेको उल्लेख गर्दै सो काममा भ्रम सिर्जना गर्ने गरी हुने गरेका त्यस्ता लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

“विभागको कार्यालय प्रवेश गर्ने बाटो वरपर तथा अन्य स्थानमासमेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फाराम भरिन्छ’ वा यस्तै अन्य ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार–प्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने भन्ने गुनासो तथा जानकारी प्राप्त भएकोमा यस विभागको ध्यानाकर्षण भएको छ”, सूचनामा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गराए नवनियुक्त दुई मन्त्रीलाई सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीलाई सपथ गराउनु भएको छ ।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादवलाईमन्त्री पदको शपथ खुवाउनु भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज नै उनीहरूलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’ – मुख्यमन्त्री शाह

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ ।

सरकारले सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रसारण गर्न/गराउन गरेको परिपत्र सच्याउन माग गर्दै नेपाल पत्रकार महासङ्घले सुरु गरेको दबाबमूलक कार्यक्रमअन्तर्गत आज महासङ्घको सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाद्वारा धनगढीमा आयोजित छलफलमा उहाँले सञ्चार क्षेत्र राज्यको चौथो अङ्गका रूपमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले भन्नुभयो, “सञ्चार क्षेत्रले सङ्घीयता, लोकतन्त्र, गणतन्त्रका लागि खेलेको भूमिका महत्त्वपूर्ण छ । राज्यले चौथो अङ्गका रूपमा लिएको पत्रकारिताको संरक्षण र संवर्द्धन गर्न सरकारले विशेष योजनासहित स्पष्ट नीति बनाउनुपर्छ ।” उहाँले कोही पनि मर्कामा नपर्ने गरी नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुख्यमन्त्री शाहले सञ्चार क्षेत्रको संरक्षण नभए वा कमजोर भएमा लोकतन्त्र पनि कमजोर बन्ने धारणा राख्नुभयो । पछिल्लो समय सङ्घीय सरकारले सरकारी सूचना÷विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन/प्रसारण गर्न जारी गरेको परिपत्रले निजी क्षेत्रका सञ्चारमाध्यममा असहजता सृजना भएको बताउँदै उहाँले सबैको सहजता र सबैलाई मान्य हुने नीति सरकारले ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहले केही दिनअघि सुदूरपश्चिम प्रदेशसभामा आमसञ्चार विधेयक टेबुल भएको बताउँदै सञ्चार क्षेत्रको समग्र विकासका लागि विधेयक थप परिमार्जित र संशोधन गर्ने सम्बन्धमा प्रदेश सरकार प्रतिबद्ध र स्पष्ट रहेको बताउनुभयो ।

वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ -उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यासमात्र नभई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमाणमा आधारित नीति निर्माणलाई सुदृढ बनाउन सबै पक्षसँगको सहकार्य अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्वारा आज यहाँ आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन’को उद्घाटन समारोहमा स्वास्थ्य अनुसन्धानले रोगका कारण, उपचारका विकल्प, जनसङ्ख्या–स्वास्थ्य प्रवृत्ति तथा सामाजिक–आर्थिक प्रभावबारे दीर्घकालीन दृष्टिकोण प्रदान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नसर्ने रोगहरूको बढ्दो बोझ, जलवायु परिवर्तनका प्रतिकूल असर, भौगोलिक तथा सांस्कृतिक विविधताबाट उत्पन्न असमानताजस्ता चुनौतीलाई सामना गर्न अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा उपराष्ट्रपतिको जोड थियो । “परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका नतिजा केवल शैक्षिक प्रकाशनमा सीमित नराखी नीति, कार्यक्रम र कार्यान्वयनमा प्रत्यक्ष प्रयोग गर्न सक्नुपर्छ ।”

संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले वैज्ञानिक तथ्याङ्कलाई नीति निर्माणमा रूपान्तरण गर्नु संविधानको मूल मर्म भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानले चिकित्सक, स्वास्थ्यकर्मी तथा वैज्ञानिकलाई अद्यावधिक ज्ञान प्रदान गर्दै व्यावहारिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने र नीति निर्माता, शिक्षाविद् तथा विकास साझेदारबीच सहकार्यको वातावरण निर्माणमा सघाउँछ ।”

गाजा युद्धविरामः सिकाइ र अन्योल

डेर अल–बालाह। गाजामा लागू भएको युद्धविरामले शुक्रबार छ महिना पूरा गरेको छ, तर अपेक्षित शान्ति र स्थिरताको सट्टा यसले अधुरो प्रतिबद्धता, मानवीय सङ्कट र कूटनीतिक ढिलाइको कठोर यथार्थ उजागर गरेको छ ।

यही अनुभवले अहिले इरानसँगको नाजुक युद्धविरामलाई बुझ्न महत्त्वपूर्ण सन्दर्भ प्रदान गरेको छ । करिब २० लाख मानिस बसोबास गर्ने गाजा क्षेत्रमा इजरायली सेना र हमास नेतृत्वका लडाकूबीचको तीव्र युद्ध रोकिए पनि स्थायी समाधानतर्फका अधिकांश कदम अझै अघि बढ्न सकेका छैनन् ।

हमासलाई निःशस्त्र बनाउने, दुई दशक लामो शासनको अन्त्य गर्ने, अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने र व्यापक पुनर्निर्माण सुरु गर्ने जस्ता मुख्य कार्यहरू कागजमै सीमित छन् । इजरायलको नियन्त्रणमा रहेको एक मात्र सीमा नाकाबाट सीमित मात्रामा सहायता प्रवेश भइरहेको छ, जसले गाजावासीलाई निरन्तर अनिश्चिततामा राखेको छ ।

यी चुनौतीहरूले हालै सुरु भएको इरान युद्धको युद्धविराममा पनि यस्तै जटिलता आउन सक्ने सङ्केत दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा बमबारी रोकिए पनि त्यसपछि दीर्घकालीन शान्ति सुनिश्चित गर्ने कार्यहरू अन्य पक्षहरूको जिम्मामा छाडिएको देखिन्छ । यसले विश्व बजार र कूटनीतिक वृत्तमा अस्थिरता बढाएको छ ।

युद्धविरामको सफलता विवरण र कार्यान्वयनमा निर्भर हुने स्पष्ट भएको छ । इरानसँगको दुई हप्ते युद्धविरामले लेबनानमा थप भ्रम सिर्जना गरेको छ, जहाँ इजरायलले उक्त सम्झौता लागू नहुने बताउँदै हिजबुल्लाहमाथि आक्रमण जारी राखेको छ भने इरानले त्यसलाई सम्झौताभित्र पर्ने दाबी गर्दै चेतावनी दिइरहेको छ । यद्यपि औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि इजरायलले लेबनानसँग प्रत्यक्ष वार्ताको अनुमति दिने घोषणा गरेको छ, जसले नयाँ सम्भावना र अन्योल दुवै उत्पन्न गरेको छ ।

यसअघि अमेरिकाको पहलमा स्थापना गरिएको र ट्रम्पको नेतृत्वमा रहेको ‘बोर्ड अफ पिस’ ले सात अर्ब डलरको प्रतिबद्धतासहित गाजा मात्र नभई विश्वका अन्य द्वन्द्व समाधान गर्ने उद्देश्य लिएको थियो । तर यसको पहिलो बैठकपछि केही दिनमै इरानमाथि आक्रमण सुरु भएपछि यो संयन्त्र निष्क्रियजस्तै बनेको छ । हमासले निःशस्त्रीकरण प्रस्तावमा अझै प्रतिक्रिया नदिएकाले प्रक्रिया थप अलमलिएको छ ।

अमेरिकी अधिकारीहरूले धैर्य असीमित नरहने चेतावनी दिए पनि स्पष्ट समयसीमा नतोकिँदा दबाब कमजोर भएको देखिन्छ । कूटनीतिक प्रयासहरू विभिन्न मोर्चामा फैलिँदा गाजाजस्तो संवेदनशील क्षेत्र ओझेलमा परेको सङ्केत मिलेको छ ।

संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत विवरणअनुसार गाजाको भविष्य ‘नयाँ युद्ध वा नयाँ सुरुआत’ बीच अडिएको छ । तर स्थानीय बासिन्दाहरूका लागि तेस्रो विकल्प, अर्थात् बेवास्ता, अझ वास्तविक जस्तो देखिएको छ ।

अक्टोबर १० देखि लागू भएको युद्धविरामपछि छ महिना बितिसक्दा पनि गाजाको दैनिक जीवनमा उल्लेखनीय सुधार आएको छैन । विशाल पालका शिविरहरूमा अधिकांश जनसङ्ख्या बस्न बाध्य छन् भने केही मानिसहरू क्षतिग्रस्त भवनहरूमा आश्रय लिइरहेका छन् । स्वास्थ्यकर्मीहरूले औषधि र राहत सामग्रीको आपूर्ति अपेक्षाअनुसार नबढेको बताएका छन् ।

पाँच अन्तर्राष्ट्रिय सहायता संस्थाले सार्वजनिक गरेको मूल्याङ्कनअनुसार २० बुँदे युद्धविराम योजना मानवीय दृष्टिले निकै कमजोर साबित भएको छ । मार्च २०२६ को पहिलो दुई हप्तामै गाजामा प्रवेश गर्ने सहायता ट्रकहरू ८० प्रतिशतले घटेका छन् भने अत्यावश्यक वस्तुको मूल्य अत्यधिक बढेको छ । चिकित्सा निकासीसमेत ठप्पजस्तै भएको छ ।

स्थानीय बासिन्दाहरूले निराशा व्यक्त गरिरहेका छन् । विस्थापित एक महिलाले वातावरण प्रदूषित र रोग फैलिएको बताउँदै युद्धविराम भएको अनुभूति नै नभएको गुनासो गरिन् । अर्का एक बासिन्दाले युद्ध रोकिए पनि जीवन अझै भयावह रहेको उल्लेख गरे ।

स्थानीय स्तरमा छिटपुट हिंसा जारी नै छ । इजरायली सेनाले कब्जा क्षेत्र नजिक हवाई आक्रमण र गोली प्रहार गरिरहेको छ भने लडाकू समूहहरूले पनि प्रतिकार गरिरहेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम अवधिमा मात्र ७३८ जनाको ज्यान गएको छ ।

समग्रमा, अक्टोबर ७, २०२३ मा सुरु भएको युद्धयता ७२ हजार ३१७ प्यालेस्टिनी मारिएका छन् । यी तथ्याङ्कहरू अन्तर्राष्ट्रिय निकायहरूले सामान्यतया विश्वसनीय माने पनि नागरिक र लडाकूबीचको स्पष्ट विभाजन भने दिइएको छैन ।

अन्तर्राष्ट्रिय ध्यान घट्दै जानु पनि अर्को चुनौती बनेको छ । एक समय विश्वव्यापी आक्रोशको केन्द्र रहेको गाजा अहिले इरान युद्धको छायाँमा परेको छ । यसले युद्धविराम कार्यान्वयनमा आवश्यक कूटनीतिक दबाब कमजोर बनाएको छ ।

सहायता संस्थाहरूले लगातार उच्च तहबाट विशेषगरी अमेरिकाले दबाब दिनु आवश्यक रहेको बताएका छन् । तर यस्तो दबाब पर्याप्त रूपमा कायम नरहेको उनीहरूको निष्कर्ष छ ।

मध्यपूर्वका प्रमुख मध्यस्थकर्ता इजिप्ट र कतारसमेत अहिले इरानसँगको युद्ध र त्यसको आर्थिक प्रभावतर्फ केन्द्रित भएका छन् । यसले गाजाको दीर्घकालीन समाधान अझ पर धकेलिएको छ ।

यस्तै अवस्थामा लेबनानमा इजरायल–हिजबुल्लाहबीचको तनावले क्षेत्रीय अस्थिरता बढाएको छ । गाजा स्थिरीकरणका लागि प्रस्तावित अन्तर्राष्ट्रिय बलमा योगदान दिन इच्छुक देशहरूको सङ्ख्या घट्न सक्ने चिन्ता पनि बढेको छ । उदाहरणका रूपमा इन्डोनेसियाले हालै लेबनानमा आफ्ना तीन शान्ति सैनिक गुमाएको छ ।

यसरी गाजाको छ महिनाको युद्धविरामले देखाएको अधुरो शान्ति, कमजोर कार्यान्वयन र घट्दो अन्तर्राष्ट्रिय ध्यानले इरानसँगको वर्तमान युद्धविरामलाई सफल बनाउन गम्भीर पाठ प्रस्तुत गरेको छ ।

चितवनका ७२ जनामा क्षयरोग पुष्टि, कुन नगरपालिकामा कति ?

चितवन। जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२ जनामा क्षयरोग पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा उक्त उपकरणको सहायताले क्षयरोगको पहिचान गरेको हो ।

कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले साउनयता एआई एक्सरे उपकरणको सहायताले चार हजार ७१ को परीक्षण गर्दा ७२ जनामा क्षयरोग पुष्टि भएको जानकारी दिनुभयो । “परीक्षण गरिएकामध्ये दुई सय नौ जनामा क्षयरोगको लक्ष्यण देखिएको थियो । लक्ष्यण देखिएकाको थप परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण पुष्टि भएको हो”, उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिकामा १६, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा १६ र इच्छाकामना गाउँपालिकामा २३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको क्षयकुष्ठ अधिकृत दुवाडीले जानकारी दिनुभयो । उक्त एक्सरे उपकरणमा एआई प्रविधिको जडान गरिनुका साथै उक्त उपकरणले बिरामीको अवस्थासहितको जानकारी दिने बताउँदै उहाँले उपकरणको सही प्रयोग गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सकको सहायतामा क्षयरोग पहिचानसम्बन्धी शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुन्छ । “रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने र कमजोरी महसुस हुन थाल्छ । मानिसले यस्ता लक्ष्यणलाई गम्भीरतापूर्वक लिँदैनन् । विस्तारै क्षयरोगको व्याक्टेरियाले सङ्क्रमणको रूप लिई म्भीर समस्या निम्त्याउने गर्दछ”, उहाँले भन्नुभयो ।

रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्ने क्षयकुष्ठ अधिकृत दुवाडीले सुझाव दिनुभयो ।

यो रोग लागेमा सुर्ती मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छोड्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने क्षयकुष्ठ अधिकृत दुवाडीले बताउनुभयो ।

स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छदेखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयसमयमा परीक्षण गर्नेलगायत कार्य गर्न आवश्यक रहेको उहाँले सुझाव दिनुभयो

मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका

किएभ। युक्रेनले आफ्नै युद्धको अनुभवलाई सीमित नराखी मध्यपूर्वसम्म विस्तार गरेको खुलासा भएको छ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनी सेनाले इरानसँग सम्बन्धित युद्धका क्रममा मध्यपूर्वका विभिन्न देशहरूमा इरानी डिजाइनका साहेद ड्रोनहरू खसाल्न सक्रिय भूमिका खेलेको बताउनुभएको छ । यसले युक्रेनको सैन्य रणनीति अब अन्तर्राष्ट्रिय स्तरमा फैलिएको सङ्केत दिएको छ ।

सीमित पहुँच भएका पत्रकारहरूसँग कुरा गर्दै उहाँले पहिलो पटक यस्तो अपरेसनको पुष्टि गर्नुभएको हो । उहाँका अनुसार यो कुनै अभ्यास वा तालिम नभई वास्तविक युद्धस्थितिमा प्रभावकारी हुने हवाई सुरक्षा प्रणाली निर्माणमा सहयोग गर्ने उद्देश्यले गरिएको कारबाही थियो । युक्रेनले आफ्नै भूमिमा रुसविरुद्ध प्रयोग भइरहेका इरानी साहेद ड्रोनको प्रतिरोधमा विकास गरेको इन्टरसेप्टर प्रविधि प्रयोग गरेर विदेशमा पनि कार्य गरेको उहाँले स्पष्ट पार्नुभयो ।

मध्यपूर्वमा इरान, अमेरिका र इजरायलबीच अस्थायी युद्धविराम हुनु अघि युक्रेनी टोलीहरूले रक्षात्मक अपरेसनमा सहभागिता जनाएको जानकारी दिइएको छ । यद्यपि संलग्न देशहरूको नाम सार्वजनिक गरिएको छैन । युक्रेनी विशेषज्ञहरूले विभिन्न देशहरूमा पुगेर हवाई रक्षा प्रणाली सुदृढ बनाउन सहयोग गरेको बताइएको छ । यसअघि नै २२८ जना युक्रेनी विशेषज्ञ उक्त क्षेत्रमा परिचालित गरिएको जानकारी सार्वजनिक भइसकेको थियो ।

यस सहकार्यको प्रतिफलस्वरूप युक्रेनले ऊर्जा सुरक्षासम्बन्धी सहयोग प्राप्त गरिरहेको छ । तेल, डिजेल र केही अवस्थामा आर्थिक सहायता समेत प्राप्त भएको उल्लेख गर्दै राष्ट्रपति जेलेन्स्कीले यसले युक्रेनको ऊर्जा पूर्वाधारलाई स्थिर बनाउन मद्दत गर्ने बताउनुभयो । उहाँका अनुसार यस्तो सहकार्य केवल आर्थिक लाभमा सीमित नभई पारस्परिक सुरक्षामा आधारित रहेको छ ।

उहाँले यस्ता सम्झौताहरूलाई युक्रेनको रक्षा क्षमताको ‘मार्केटिङ’ का रूपमा पनि व्याख्या गर्नुभयो, जसले भविष्यमा रक्षा निर्यात विस्तार गर्ने लक्ष्यलाई सघाउने विश्वास गरिएको छ । “हामीले हाम्रो लचकतामा उनीहरूको सहयोग लिँदै उनीहरूको सुरक्षामा योगदान दिइरहेका छौँ”, उहाँले भन्नुभयो ।

तर यो खुलासा यस्तो समयमा आएको छ, जतिबेला मध्यपूर्वमा चर्किएको तनावका कारण युक्रेनले पाउने पश्चिमी सैन्य सहयोग प्रभावित हुन सक्ने चिन्ता बढिरहेको छ । विशेषगरी हवाई रक्षा प्रणालीमा आवश्यक सामग्री आपूर्ति घट्न सक्ने आशङ्का गरिएको छ । यद्यपि राष्ट्रपति जेलेन्स्कीले साझेदार राष्ट्रहरूले प्याट्रियट प्रणालीका लागि मिसाइल आपूर्ति जारी राखेको र हालै थप सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले आगामी वसन्त र गर्मी युक्रेनका लागि चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिनुभयो । अमेरिकी आन्तरिक राजनीति र चुनावी माहोलले युक्रेनप्रतिको ध्यान कमजोर पार्न सक्ने उहाँको बुझाइ छ ।

यसै क्रममा उहाँले अमेरिकी दूतहरू स्टिभ विटकफ र जारेड कुशनरलाई किएभ भ्रमणका लागि निमन्त्रणा दिनुभएको र रुससँग त्रिपक्षीय वार्ताको प्रस्ताव राख्नुभएको जानकारी दिनुभयो । तर उहाँहरू युक्रेन आउने वा तेस्रो देशमा वार्ता हुने भन्ने अझै स्पष्ट छैन ।

अहिलेसम्म अमेरिकाको नेतृत्वमा भएका वार्ताहरूले ठोस प्रगति गर्न सकेका छैनन् । वासिङ्टनको ध्यान मध्यपूर्वतर्फ मोडिँदा करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा रुस र युक्रेनबीच लडाइँ जारी छ ।

ऊर्जा राजनीतिमा पनि तनाव देखिएको छ । राष्ट्रपति जेलेन्स्कीले रूसी तेलमाथि कडा प्रतिबन्ध पुनः लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै कुनै पनि खुकुलोपनले मस्कोलाई युद्ध जारी राख्न सहयोग पुग्ने चेतावनी दिनुभयो । खाडी क्षेत्रमा पूर्वाधारमा क्षति र होर्मुज जलडमरूमध्यमा अवरोधका कारण बढेको विश्वव्यापी तेल मूल्यबाट रुसले फाइदा उठाइरहेको उहाँको भनाइ छ ।

युक्रेनले पनि यसको प्रतिक्रिया स्वरूप रूसी ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाएको जनाएको छ । यद्यपि केही साझेदार राष्ट्रहरूले इरानले समुद्री मार्ग अवरुद्ध गरेको अवस्थामा यस्ता आक्रमण कम गर्न आग्रह गरेको उहाँले खुलासा गर्नुभयो ।

यसबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टर पर्वको अवसरमा ३२ घण्टे अस्थायी युद्धविराम घोषणा गर्नुभएको छ । यसको प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले युक्रेन पनि समान कदम चाल्न तयार रहेको बताउनुभयो । उहाँले इस्टर शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै युद्धविरामलाई स्थायीतर्फ लैजानुपर्ने उल्लेख गर्नुभयो ।

यसअघि भएका युद्धविराम प्रयासहरू सफल हुन नसकेको इतिहास रहेको छ, जहाँ दुवै पक्षले एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै आएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पछिल्लो कदमलाई मानवीय सङ्केतका रूपमा व्याख्या गरे पनि दीर्घकालीन समाधान अझै टाढा रहेको सङ्केत गर्नुभयो ।

युक्रेनको यो नयाँ सक्रियता केवल आफ्नो रक्षा सीमित राख्ने रणनीतिबाट बाहिर निस्कँदै अन्तर्राष्ट्रिय सुरक्षामा भूमिका विस्तार गर्ने प्रयासका रूपमा देखिएको छ, जसले विश्व शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने सङ्केत दिएको छ ।

कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा

काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ ।

अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।बलेले उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।

सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ ।
कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त हुनुभएको हो । यसले ३७ दशमलव पाँच (करिब ४०) प्रतिशत प्रतिनिधित्व कायम गरेको छ ।

यो अनुपातले नेपालमा मन्त्रिपरिषद्स्तरमा महिला सहभागिताको नयाँ मानक स्थापित गरेको प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले बताउनुभयो । “वर्तमान सरकार समावेशी र समतामूलक शासन प्रणालीमा विश्वास गर्छ । मन्त्रिपरिषद्मा ३७ दशमलव पाँच प्रतिशत महिला मन्त्रीको उपस्थिति हुनुले हामीले भन्दै आएको रुपान्तरणकारी राजनीतिलाई व्यवहारमा उतारेको पुष्टि गर्छ”, उहाँले भन्नुभयो ।

अधिवक्ता तथा अधिकारकर्मीले पनि सरकारको यो कदमको प्रशंसा गरेका छन् । गत चैत १३ गते प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकार गठन हुँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा गीता चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा निशा मेहेता नियुक्त हुनुभयो ।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादवलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि विगतका सरकारमा यो लक्ष्य प्रायः पूरा हुनसकेको थिएन । यसपटकको सरकारले उक्त संवैधानिक सीमालाई पार गर्दै करिब ४० प्रतिशत महिला सहभागिता पुर्‍याएको भन्दै अधिकारकर्मीले यसलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै समावेशी शासनतर्फ सकारात्मक कदमका रूपमा हेरिएको प्रतिक्रिया दिएका छन् ।

यस कदमले समावेशी लोकतन्त्रलाई मजबुत बनाउनका लागि महिलामैत्री नीति निर्माणमा सहयोग पुग्ने उहाँहरूको बुझाइ छ । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले मन्त्रिपरिषद्मा महिलाको यस्तो उच्च सहभागिता मुलुकको इतिहासमा पहिलो भएको बताउँदै यसलाई महत्त्वपूर्ण र सकारात्मक उपलब्धिका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

“सङ्ख्याका आधारमा मन्त्रिपरिषद्मा यति धेरै महिला सहभागिता पहिलोपटक भएको हो”, उहाँले भन्नुभयो, “१६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला सहभागी हुनु भनेको महिला नेतृत्वमा समावेशीतर्फ एक उदाहरणीय कदम हो । साथै आजै रुबी ठाकुरलाई उपसभामुखमा चयन गर्नु समावेशी एजेन्डाप्रति सरकारको संवेदनशीलताको बलियो सङ्केत हो ।”

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाका अनुसार यो सहभागिता सन्तोषजनकमात्र नभई नीतिगत संवेदनशीलता बढाउने अवसर पनि हो । “महिलाको सहभागिताले महिलासम्बन्धी मुद्दामा संवेदनशील निर्णय लिन सहयोग पुग्नेछ”, उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले निकट भविष्यमा महिला सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउनुपर्ने सुझाव पनि दिनुभयो ।

अधिवक्ता भावना दाहालले सङ्ख्यासँगै विविधता पनि महत्त्वपूर्ण हुने बताउँदै वर्तमान मन्त्रिपरिषद्ले सकारात्मक सन्देश दिएको धारणा राख्नुभयो । “सङ्ख्यामात्र होइन, महिला नेतृत्वमा विविधता हुनु पनि सकारात्मक सङ्केत हो”, उहाँले भन्नुभयो ।

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो ।

त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीका अनुसार यस वर्ष पालिकाभर १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो । अदुवा खेती गर्ने दुई हजार ६५० घरधुरीमध्ये प्रत्येक किसानले करिब दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् ।

पालिकाभर पाँच हजार ३०० रोपनीमा अदुवा उत्पादन भइरहेको छ । एक रोपनी जमिनमा करिब तीन क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको उहाँको भनाइ छ ।

प्रत्येक किसानले गाउँबाटै प्रतिक्विन्टल रु तीन हजार ५०० मा अदुवा बिक्री गरेका शाखा प्रमुख कार्कीले बताउनुभयो । व्यापारी अदुवा खरिद गर्न गाउँमै आउने गरेका छन् ।

व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुभएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख आम्दानी गरेको बताउनुभयो ।

विगत २२ वर्षदेखि उहाँ निरन्तर अदुवा खेतीमा संलग्न हुनुहुन्छ । यस वर्ष उत्पादन भएकोमध्ये साढे तीन क्विन्टल बीउका लागि राखेको उहाँले बताउनुभयो ।

वाइफाइ जडान गर्दा करेन्ट लागेर महिलाको मृत्यु

झापा। झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

दाङ। लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

वसन्त ऋतुको आगमनसँगै ‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर। वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् ।विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ ।

यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आनन्द दिइरहेको छ ।

हरिया बनजङ्गलमाथि गुराँसको राताम्य रङ मिसिँदा देखिने दृश्यले जो कोहीलाई मोहित बनाउने गरेको छ । मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक र धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । किराँत समुदायको मौलिक संस्कार, परम्परा र ‘मुन्दुम’ (धार्मिक ग्रन्थ)सँग जोडिएको यो क्षेत्रले किराँत सभ्यताको जीवनशैली झल्काउँछ ।

पदमार्ग हुँदै यात्रा गर्दा स्थानीय समुदायको संस्कार, भाषा, वेशभूषा र परम्परागत जीवनशैली नजिकबाट अनुभव गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताउनुभयो । यिनै विशेषताका कारण पछिल्लो समय मुन्दुम पदमार्ग भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको उहाँले जानकारी दिनुभयो । वसन्त ऋतु पदयात्राका लागि सबैभन्दा उपयुक्त समय भएकाले यतिबेला आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पर्यटकलाई लक्षित गरेर चखेवामा चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म रैथाने खाना महोत्सवसमेत आयोजना गरिएको उहाँको भनाइ छ ।

“गुराँस, चापलगायत फूलसँगै मुन्दुम पदमार्गको सुन्दरता झन् बढेको छ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “पर्यटकलाई लक्षित गरेर हामीले रैथाने खाना महोत्सव पनि आयोजना गरेका छौँ ।”

गुराँस फुल्ने मौसममा प्रकृतिप्रेमी, फोटोग्राफर तथा साहसिक यात्राका पारखीहरू मुन्दुम पदमार्गतर्फ आकर्षित हुने गरेका छन् । यस पदमार्गअन्तर्गत पर्ने टेम्केडाँडा, साल्पा पोखरी, सिलिचुङ, मैयुङडाँडाजस्ता पर्यटकीय स्थलहरू यतिबेला झन् आकर्षक बनेका छन् । टेम्केडाँडा तथा मैयुङडाँडाबाट देखिने हिमाली दृश्य, साल्पा पोखरीको धार्मिक महत्व र सिलिचुङको शान्त वातावरणले पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने गरेको छ ।

स्थानीय होटल तथा ‘होमस्टे’ व्यवसायी विवेक कुलुङका अनुसार गुराँस फुल्ने याम सुरु भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । पर्यटकको मागअनुसार बसोबास, खाना र मार्गदर्शन सेवा विस्तार गरिँदै आएको छ । मुन्दुम पदमार्गमा पछिल्लो समय पूर्वाधार विकासमा पनि सुधार हुँदै गएको छ । पदमार्ग चिन्हाङ्कन, विश्रामस्थल निर्माण, सूचना बोर्ड स्थापनालगायत कामले पर्यटकलाई सहजता प्रदान गरेको छ । स्थानीय तह, सङ्घीय सरकार, प्रदेश सरकार तथा पदमार्गमा आधारित पर्यटन परियोजना मिलेर संयुक्त रूपमा यस क्षेत्रको प्रवद्र्धनमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा मुन्दुम पदमार्ग क्षेत्र यतिबेला गुराँसले ढकमक्क ढाकिँदै झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । वसन्त ऋतुमा यहाँ पुग्ने जो कोही पर्यटकका लागि यो यात्रा अविस्मरणीय अनुभव बन्ने स्थानीयको भनाइ छ ।

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

कपिलवस्तु। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिनुभयो । दुर्घटना लगत्तै यात्रुको उद्धार गरिएको उहाँले बताउनुभयो । घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

वनमा आगो लगाएको कसुरमा तीन वर्षसम्म कैद माग गर्दै अदालतमा मुद्दा दायर

त्रिशूली (नुवाकोट), २७ चैतः सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ ।राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो ।
तामाङलाई वन ऐन, २०७६ को दफा ४९ (घ) अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा (४) बमोजिम तीन वर्षसम्म कैद र रु ६० हजार जरिवाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा मागदाबी गरिएको छ ।

अहिलेको सुक्खायामको समयमा वन क्षेत्रमा डढेलोको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन अपिल गर्दै कोही कसैले पनि वन क्षेत्रमा आगो लगाउने कार्य नगर्न तथा नगराउन वन कार्यालयले अनुरोध गरेको छ ।

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

इलाम। स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो । अघिल्ला वर्षहरूमा इलाम नगरपालिकाका तर्फबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमी छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

उद्यमीलाई व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न सहयोग पुग्ने उद्देश्यले अनुदानमा ल्यापटप उपलब्ध गराइएको कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताउनुभयो । “हामीले विगतका वर्षहरूमा यहाँका युवालाई उद्यमशीलता र सीप विकासका थुप्रै तालिम दिएका थियौँ, तालिम लिएकामध्ये धेरैले कुनै न कुनै व्यवसाय गरिरहुनभएको छ”, कार्यवाहक नगरप्रमुख दाहालले भन्नुभयो, “प्रविधिको प्रयोगले उद्यमीको कामलाई सहज बनाउने तथा व्यवसायलाई विस्तार गर्न सहयोग पुगोस् भनेर २० जनालाई अनुदानमा ल्यापटप उपलब्ध गराइएको हो ।”

उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरी सोही रकमबाट आवेदन आह्वान गरी छनोट भएका उद्यमीलाई ल्यापटप उपलब्ध गराइएको जानकारी दिँदै दाहालले आगामी वर्षमा समेत उद्यमी प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

यता अनुदानमा ल्यापटप पाएपछि उद्यमीहरू पनि हर्षित भएका छन् । उनीहरूले आफ्नो व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न नगरपालिकाको यस्तो कार्यक्रमले सहयोग मिलेको प्रतिक्रिया दिएका छन् । “सुरुमा नगरपालिकाले नै हामीलाई उद्यमशीलता र सीप विकास तालिम दिएर व्यवसायमा लाग्न प्रेरित गरेको थियो”, इलामेली ललिपप उद्योगकी सञ्चालक सुस्मा राईले भन्नुभयो, “नगरपालिकाको सहयोगले व्यवसायलाई व्यवस्थित बनाउन र अनलाइन बजार विस्तार गर्न मद्दत पुग्ने विश्वास छ ।”

इलाम नगरपालिकाले नगरपालिकाभित्रका साना तथा मझौला व्यवसायमा संलग्न रहेको उद्यमीलाई सहयोग गरेको हो । नगरपालिकाले ललिपप उद्योग, मौरीपालन, अचार बनाउन उद्योग, सैलुन व्यवसाय, राइस मिल/कुटानी पिसानी, सोलार सर्भिस, सिलाइकटाई, कृषि उपज उत्पादन सङ्कलन वस्तुको प्याकेजिङ, चिया प्रशोधन, हस्तकला उद्योगलगायतका व्यवसाय गरिरहेका युवालाई प्रोत्साहनका लागि सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । प्रविधिको प्रयोगमार्फत उत्पादनको प्रचारप्रसार, लेखा व्यवस्थापन तथा बजारसँग जोडिन सहज हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

इलाम नगरपालिकाले स्थानीयस्तरमा रोजगारी सृजना गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्न चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

व्यावसायिक तरकारीखेतीबाट परिवारको आर्थिक आधार मजबुत बनाउँदै

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारीका रामसिंह डगौरा व्यावसायिक तरकारीखेतीमार्फत परिवारको आर्थिक आधार मजबुत बनाउँदै छोराछोरीको शिक्षामा लगानी गर्दै आउनुभएको छ ।

उहाँले श्रीकृष्ण माध्यमिक विद्यालयको करिब डेढ बिघा जग्गा भाडामा लिएर विगत सात वर्षदेखि निरन्तर तरकारीखेती गर्दै आउनुभएको छ । जग्गा भाडाबापत विद्यालयलाई वार्षिक रु ५५ हजार बुझाउँदै आउनुभएका डगौराले बारीमा बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ ।

उहाँका अनुसार तरकारीखेतीबाट मासिक रु ५० देखि ७० हजारसम्म आम्दानी हुने गरेको छ भने वार्षिक आम्दानी रु १० लाखभन्दा बढी पुग्ने गरेको छ । बारीमा मुला, तोरैया, खुर्सानी, फर्सी, लौका, काँक्रा, बोडी, करेला, धनियाँ, बन्दा, सिमला मिर्च र गोलभेँडालगायत तरकारी उत्पादन गरिन्छ ।

तरकारीखेती विस्तारका लागि उहाँले बैंकबाट रु १० लाख कर्जा लिइसक्नुभएको छ । तरकारीखेतीको आम्दानीले तीन जना छोराछोरीको उच्च शिक्षाको खर्च, बिरामी श्रीमतीको उपचार, बैंक ऋणको किस्ता तथा घरखर्च धान्दै आउनुभएको छ । “आम्दानीको आधाभन्दा बढी रकम छोराछोरीको पढाइमा खर्च हुन्छ”, उहाँ भन्नुहुन्छ, “सन्तानको भविष्य राम्रो बन्यो भने सम्पत्ति आफैँ जोडिन्छ”, त्यहीँ भएर सम्पत्ति जोड्नुभन्दा सन्तानकै शिक्षामा तरकारीखेतीबाट आर्जन गरेको रकम खर्च गर्दै आएको उहाँ बताउनुहुन्छ ।

उहाँकी एक छोरीले आइएस्सी एजी उत्तीर्ण गरी काठमाडौँमा लोकसेवाको तयारी गरिरहेकी छिन् भने छोरा र अर्की छोरी होटल व्यवस्थापन विषयमा अध्ययनरत छन् । छोराछोरीबीच कुनै भेदभाव नगरी समान अवसर दिनुपर्नेमा आफू दृढ रहेको उहाँको भनाइ छ ।

तरकारीखेतीमा उहाँकी श्रीमती सीमा डगौराले पनि साथ दिँदै आउनुभएको छ । उत्पादन भएको अधिकांश तरकारी बारीबाटै बिक्री हुने गरेको छ भने बाँकी महेन्द्रनगर बजारमा पुर्याएर बिक्री गरिन्छ । तरकारीसँगै डगौराले नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री गर्ने काम पनि गर्दै आउनुभएको छ । यस वर्षमात्रै बिरुवाबाट रु दुई लाख ५० हजार आम्दानी भएको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमार्फत उहाँले दुईवटा प्लास्टिकका हाइटेक टनेल, बीउबिजन र सिँचाइका लागि पाइप अनुदानमा प्राप्त गर्नुभएको छ । व्यावसायिक किसानलाई राज्यले अझ प्रभावकारी सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

“सहुलियत दरमा कर्जा, समयमै मल, बीउबिजन र कीटनाशक पाइयो भने उत्पादन अझ बढाउन सकिन्छ”, उहाँले भन्नुभयो, “तर आवश्यक सामग्री समयमै नपाउँदा अपेक्षित उत्पादन गर्न कठिन हुन्छ ।” व्यावसायिक तरकारीखेतीले आम्दानीसँगै रोजगारी र आत्मनिर्भरता बढाउने उदाहरणका रूपमा डगौरा देखिनुभएको छ ।

बिस्का जात्रा आजदेखि सुरु

भक्तपुर। भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ ।

साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।

बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पु¥याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः( लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।

यसींद्योः कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यसींद्योः उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । यसींद्योः उठाइसकेपछि राति नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । तलेजुमा दुमाजुको विशेष पूजा गरी जात्रा गरिन्छ ।

यसींद्योः उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैलखः र भद्रकालीको रथलाई ल्यसिङखेलमा पु¥याइन्छ । यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ ।

बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते बिहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनहरुको भीड हुन्छ । यस दिन स्थानीय टोल टोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपूजन गरिन्छ । बेताललाई पोथी कुखुराको बलि दिइन्छ । साँझ भैरवनाइकेहरुले विधिवत् रुपमा पूजा गरी साँझ यसींद्योः ढालिन्छ । त्यसको लगतै भैलखः र भद्रकालीको रथलाई तानेर गाःहिटीमा पु¥याएर एकापसमा जुधाई सङ्गम जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्योः ल्वाकिगु जात्रा भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा गरिन्छ ।

जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसै दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा गरिन्छ भने खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ । आठाँै दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङगण, सतल र पाटीहरुमा राखेर पूजा गरी विभिन्न प्रसादहरु चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ । यो जात्रा दिनभरि मनाइन्छ ।

जात्राकोे अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यस दिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको संस्कृतीविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो । भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिएको उहाँले भन्नुभयो ।

प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको, नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रम रहेको बताउनुभयो । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको हो । विश्व भैरवनाथको प्रतिक जात्राकोे चौथो दिन भेलुखेलको ल्यसिंङखेलमा उठाएको योसिंद्योःमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती ‘वि’ को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।

उहाँले भन्नुभयो, “नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्वकेतु, विरध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा र विरध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा ध्वाजा विश्वध्वाजा र विरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।”

जात्रामा पहिलो र अन्तिम दिन भैलखः तान्ने क्रममा झडप हुने गरेको छ । सम्भावित झडप रोकी जात्रालाई व्यवस्थित रुपमा मनाउन दिउँसो ३ः०० बजे भैलखः तानेर ५ः०० बजे जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा भैलखःले किचेर मानिसको मृत्यु हुने, जात्रा हुने स्थानका घर र सार्वजनिक पाटीपेटीमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न दिउँसो जात्रा सुरु गर्ने सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणबद्ध रुपमा सरोकारवालाहरुसँग छलफल गरेर विभिन्न रणनीति तयार गरेको बताउँदै प्रजिअ ढकालले यस वर्ष जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिनुभयो । जात्रामा उच्छृङ्खल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरुपमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने उहाँले बताउनुभयो ।

भैलखःमा अनियन्त्रित तरिकाले धेरै मानिस चढ्नाले रथबाट खसेर घाइते हुनु, च्याप्नु, किचेर ज्यान जाने भएकाले त्यसलाई नियन्त्रण गर्न भैलखःमा भैरव नाइके, गुथि र स्थानीय क्लबका सीमित पदाधिकारीहरु मात्र चढ्ने व्यवस्था गरिएको छ । साथै यस वर्ष रथमा बस्ने सबैले नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाएको छ ।

जात्रामा हुलदङ्गा गर्नेको पहिचानका लागि चोकचोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै प्रजिअ ढकालले क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो ।

जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी प्र्रचलिन कानुनबमोजिम कारबाही गरी विदेश जान नहुने गरी रेर्कड राखिने बताउनुभयो ।

काठमाडौँमा लागुपदार्थ सेवन गरेर गाडी चलाउने छ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ। चन्द्रागिरि नगरपालिका २ नागढुङ्गा चेक पोष्टमा लागुपदार्थ सेवन (लापसे) गरेर सार्वजनिक सवारीसाधन चलाउने छ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

यहाँ आज गरिएको जाँचमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ट्रक चालक चार जना, सार्वजानिक यात्रुवाहक सवारीसाधन (भाडाबस) चालक एक जना, माइक्रोबस चालक एक जना गरी छ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरू समातिएका हुन् ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँ पठाइएको छ । यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैँमा नियमविपरीत तथा दण्डनीय कार्य भएको पनि उहाँले बताउनुभयो ।

यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रीहरूको जीवनसमेत जोखिममा पर्ने हुनाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती कोशी कोशी प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

काठमाडौँ। नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको सङ्कटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरेको छ ।

बोर्डले आज आयोजना गरेको ‘मध्यपूर्व सङ्कट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तक्र्रियामा सरोकारवालाले सङ्कटलाई चुनौतीमात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मध्यपूर्व क्षेत्र नेपालको प्रमुख पर्यटन स्रोत बजारमध्ये एक भएको, युरोप र अमेरिकी पर्यटक आगमनको प्रस्थान बिन्दु भएकाले यस सङ्कटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पुर्याउने बताउनुभयो । उहाँले सङ्कटले चुनौतीसँगै अवसर पनि ल्याउने उल्लेख गर्दै पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका लागि सरकार दृढ रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले वर्तमान पर्यटक आगमनको स्थिति तथा समग्र प्रभावबारे प्रस्तुति दिनुभएको थियो । बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले समयमै सूचना प्रवाह र वैकल्पिक हवाई मार्गको खोजी अत्यावश्यक रहेको बताउनुभयो । “हामीले अन्तरराष्ट्रिय समुदायलाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिनुपर्छ”, उहाँले भन्न्ुभयो, “इन्धन मूल्यवृद्धिका कारण भाडा बढेको छ, त्यसलाई सम्बोधन गर्न हवाई भाडामा सरकारले सहुलियत दिन आवश्यक छ ।”

त्यसैगरी, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले विश्व अहिले जटिल अन्तरनिर्भर अवस्थामा रहेको भन्दै यो अस्थिरताले टनेपालको पर्यटनमा पर्न सक्ने क्षति न्यूनीकरणका लागि सरकारले तयारी गरिरहेको बताउनुभयो ।

“सरकारले अन्तरमन्त्रालयस्तरीय समिति गठन गरेर समाधान खोजिरहेको छ”, उहाँले भन्नुभयो, “हामीले आफ्ना कूटनीतिक नियोगहरूसँग समन्वय गर्दै वैकल्पिक रुटबारे छलफल गरिरहेका छौँ ।” उहाँले पर्यटनलाई आर्थिक कूटनीतिको आधार मान्दै भारत र चीनलाई लक्ष्य गरी काम गर्नुपर्ने र नयाँ सोचसहित अवसर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट र नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले वैकल्पिक रुटमा जोड दिँदै काठमाडौँ–हङकङको हवाई मार्गमार्फत उडान सञ्चालनका लागि पहल गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले मध्यपूर्व हुँदै हुने यात्रामा अनिश्चितता बढेको भन्दै वैकल्पिक मार्ग र इन्धन सहुलियत आवश्यक रहेको बताउनुभयो ।

एकैदिन ५१ वटा फर्ममा विभागको अनुमगन

काठमाडौँ। नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५१ वटा फर्ममा अनुमगन गरेको छ ।

पछिल्ला दिनमा विभागले ठूलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा अनुमगन गर्दै आएको छ । बिलबिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे/नगरेको, कालोबजारी नियन्त्रण तथा अधिकतम खुद्रा मूल्य राखे नराखेकोलगायत विषयमा विभागले अनुमगनका क्रममा हेर्ने गरेको छ । एकैदिन ५१ वटा फर्ममा अनुगमन गरेर विभागले कानुन कार्यान्वयनलाई गति दिएको दाबी गरेको छ ।

आज स्थलगत अनुमगन गरिएका अधिकांश फर्मलाई विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुमगन गर्दै आएको छ ।

राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रबारका दिन १५:०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुनेछ । राष्ट्रपतिले दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान पनि गर्नुभएको छ ।

दुवै सदनको चालु अधिवेशन शुक्रबार आज देखि अन्त्य हुने

राष्ट्रपति पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।

पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो

काठमाडौँ, २७ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो ।निगमले २०८२ चैत २७ गते आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्यवृद्धि गरेको हो ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु दुई सय १९ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर रु दुई सय सात पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० पुगेको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु दुई सय ५७ कायम गरिएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ । आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर २१ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १३ पैसा र बिक्रीदर २३ रुपैयाँ २२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ८७ पैसा रहेको छ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी। चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

यहाँको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी गोल्डकपको आजको खेलमा आयोजक टिम न्यू स्टार फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै चित्लाङ सेमिफाइनलमा पुगेको हो।

यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगिताको विजेताले चार लाख नगदसहित ट्रफी तथा उपविजेताले दुई लाख नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पटक–पटक आएको हावाहुरी र असिनाले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा। फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ ।

मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ । जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कृषि क्षेत्रमा फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै रु ३ अर्ब १९ करोड २९ लाख ८२ हजार बराबरको क्षति भएको छ ।

यसबाहेक १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ । झापाका १५ वटै पालिकामा क्षति देखिए पनि सबैभन्दा ठूलो मार मकैबालीले बेहोरेको छ । हावाहुरीसँगै परेको असिनाले बालीनाली थिचिएपछि उत्पादन नै नउठ्ने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।

सबैभन्दा प्रभावित क्षेत्रमध्ये बाह्रदशी गाउँपालिका रहेको छ । यहाँ लगाइएको मकैबालीमध्ये झण्डै ७५ प्रतिशत नष्ट भएको छ । सात वडा रहेको पालिकामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैबालीमा क्षति पुगेको प्रमुख विष्टले बताउनुभयो ।

मकैमा मात्रै रु २७ करोड २७ लाखभन्दा बढीको क्षति भएको छ भने आंशिक क्षति रु ७५ करोड ५७ लाख नाघेको छ । वडागत विवरणले क्षतिको गम्भीरता थप स्पष्ट पार्छ । बाह्रदशी–२ र ३ मा ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको छ । अन्य वडामा क्षति भएको छ ।

बाह्रदशी गाउँपालिका–१ मा ४३९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा २५ हेक्टर क्षेत्रफलमा पूर्ण र ३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । त्यस्तै बाह्रदशी–२ मा ७८० हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा ५९६ हेक्टरमा पूर्ण र ५७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको े प्रमुख विष्टले बताउनुभयो ।

बाह्रदशी ३ मा ६९३ हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा ५१९ हेक्टर क्षेत्रफलमा पूर्ण र ५० आंशिक क्षति भएको छ । बाह्रदी ४ मा ५४७ हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएकोमा २६९ हेक्टर क्षेत्रफलमा पूर्ण र १३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । बाह्रदशी ५ मा ९५७ हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा १६७ हेक्टर क्षेत्रफलमा पूर्ण र ४०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । बाह्रदशी ६ मा ६५३ हेक्टर क्षत्रेफलमा मकै खेती लगाइएकोमा २० हेक्टर पूर्ण र ६७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति पुगेको प्रमुख विष्टले बताउनुभयो ।

बाह्रदशी–७ मा ५३० हेक्टर क्षेत्रफलमध्ये ३३ मा पूर्ण र १०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । मकैपछि तरकारी बालीमा उल्लेख्य असर परेको छ । विभिन्न वडामा साना क्षेत्रफल भए पनि तरकारी बाली नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर किसान प्रत्यक्ष मारमा परेका छन् । तरकारी बालीतर्फ बाह्रदशी–१ मा १, बाह्रदशी–२ मा २, बाह्रदशी–३ मा ५, बाह्रदशी ४ मा ३, बाह्रदशी ५ मा २ बाह्रदशी ६ मा १ र बाह्रदशी ७ मा २ हेक्टरमा क्षति पुगेको हो । प्रमुख विष्टका अनुसार असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले किसान मारमा परेका छन् ।

“फूल लागेको र गोडाइको अवस्थामा रहेका बालीमा असिनाबाट अत्यधिक क्षति भयो”, उहाँले भन्नुभयो । स्थानीय तहहरूले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेका छन् भने राहत तथा पुनःस्थापनाका उपायबारे छलफल थालेको उहाँको भनाइ छ ।

कञ्चनपुर कारागारबाट १६ केदीबन्दी नौबस्ता कारागार स्थानान्तरण

महेन्द्रनगर। महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण गरिएको छ ।बुधबार कञ्चनपुर कारागारभित्र दुई समूहबीच झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका थिए । त्यसपछि कारागार प्रशासनले कैदीबन्दीलाई नौबस्ता कारागार स्थानान्तरण गरेको हो ।

केही समयअघि कैदीबन्दीबीच झडप हुँदा जिल्ला प्रशासन कार्यालयले यहाँबाट २० कैदीबन्दी स्थानान्तरण गर्न खोजेको थियो ।स्थान्तरणको तयारी गर्दा कारागारको परिस्थिति असहज बनेपछि तत्काल स्थान्तरण टरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले कैदीबन्दी स्थानान्तरण गर्न आवश्यक भएको जानकारी दिनुभयो ।

आपसी मनमुुटावको विषयमा दुई पक्षबीच झडप हुँदा घाइते भएका र अन्यलाई स्थानान्तरण गरिएको हो । गत पुसमा पनि कारागारमा झडप हुँदा नौ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो ।

चितवनको माडीमा बसको ठक्करबाट १८ वर्षीया प्रितिको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छिन् । भरतपुरबाट माडी–ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०२०४ नम्बरको बसले पैदलयात्री परियारलाई घर नजिकै ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ठक्करबाट परियारको घटनास्थलमै ज्यान गएको हो ।परियारलाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित तीन करोड ५० लाख रुपैयाँ मूल्य बराबर बिक्री भएको जनाइएको छ ।कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुन्छ । गत कात्तिकदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणमा मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।

जुम्ली मार्सी धान खेतीमा केही रोग कीराको प्रकोप बढेपछि कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ ।मार्सीधान जेठ मसान्तसम्ममा रोपिन्छ । यो धान करिब १८० दिनभित्र पाक्ने गर्छ । यो चामल प्रतिकेजी २०० रुपैयाँमा बिक्री हुने गरेको सदरमुकाम खलङ्गाका व्यापारी बताउँछन् ।

सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत महामहिम डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ ।

भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबिच प्रगाढ र उत्कृष्ट सम्बन्ध कायम रहेको बताए । उनले नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै यो मित्रता पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको धारणा व्यक्त गरे ।
सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराए ।

सो अवसरमा सभामुखले नेपालको सामाजिक–आर्थिक विकासमा स्विस विकास तथा सहयोग निकाय मार्फत पुर्याइएको योगदानको उच्च प्रशंसा गरे । ‘नेपाल अझै पनि स्विट्जरल्याण्डको प्राथमिकता प्राप्त देशको सूचीमा रहेकोमा हामी खुसी छौं, सभामुखले भने, ‘आगामी दिनमा यो विकास सहकार्यको दायरा थप विस्तार हुनेमा म विश्वस्त छु ।’

संसदीय सहकार्यका सम्बन्धमा चर्चा गर्दै सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका संसद्बिचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले सन् २०२४ मा भएका उच्चस्तरीय जेनेभा भ्रमणहरूको स्मरण गर्दै स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा समेत गरे । सभामुखले संघीय संसदमा नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गर्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

भेटमा राजदूत मेउल्लीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राजदूत मेउल्लीले नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न स्विट्जरल्याण्डको सदैव सहयोग रहने आश्वासन दिइन् ।

इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोलाई कडा चेतावनी दिनुभएको छ । साथै उहाँले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहो¥याउनुभएको छ ।ट्रम्पको उक्त चेतावनीले अमेरिका भविष्यमा सात दशक पुरानो सुरक्षा सङ्गठनबाट बाहिर जान सक्ने डर नाटो गठबन्धनका केही सदस्यहरूमा उत्पन्न गराएको छ ।

बैठकपछि नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले इरानसँगको युद्धमा नाटोले आवश्यक सहयोग नदिएको अवस्थामा गठबन्धनमा भरोसा गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले ट्रुथ सोशलमा पोस्ट गर्दै भन्नुभयो, “नाटो त्यहाँ थिएन जब हामीलाई उनीहरूको आवश्यकता थियो, र यदि हामीलाई तिनीहरूलाई फेरि आवश्यक पर्छ भने तिनीहरू त्यहाँ हुने छैनन् ।”

उहाँले ग्रिनल्यान्डको बारेमा ‘ठूलो, खराब दौड, आइसको पिस’ भनेर टिप्पणी गर्नुभयो, तर यसले के अर्थ राख्छ भन्ने स्पष्ट पार्नुभएन ।पूर्व डच प्रधानमन्त्री रुटले बैठकको वातावरणलाई खुला र स्पष्ट छलफल भएको बताउनुभयो, तर ट्रम्पले नाटो छोड्ने योजना स्पष्ट भने गर्न सक्नुभएन । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति र महासचिवबीच छलफल जारी रहेको र आवश्यक निर्णय केही घण्टाभित्रै सार्वजनिक हुन सक्ने बताउनुभयो ।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले केही नाटो सदस्यहरूलाई असहयोगी ठानेर अमेरिकी सेनालाई तिनीहरूको देशबाट बाहिर सार्ने योजना पनि छलफल गर्न खोज्नुभएको थियो । उहाँले यस अघिका र हालका कदमहरूद्वारा नाटो गठबन्धनमा अस्थिरता सिर्जना गर्दै आएका छन् र यो अझ संवेदनशील बनेको छ किनभने अमेरिकाले इरानसँग हालै दुई हप्ताको युद्धविराम हासिल गरेको छ ।

ट्रम्पले नाटो सदस्यहरूको क्षमतामा प्रश्न उठाउँदै बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई ‘विन्स्टन चर्चिल जस्तो साहसी नेता होइन’ भनेर आलोचना गर्नुभयो र बेलायतको विमानवाहक जहाजलाई सानो र प्रभावहीन, अर्थात् ‘खेलौना’ जस्तो भन्दै उपहास गर्नुभयो । यस प्रकारका धम्कीहरूले संयुक्त राज्य अमेरिकाको परम्परागत मित्र राष्ट्रहरूमाथि असन्तोष सिर्जना गरेको छ ।

रुट अमेरिकी राष्ट्रपति ट्रम्पलाई शान्त र सहज महसुस गराउने र उहाँसँग मित्रतापूर्ण व्यवहार कायम राख्ने मुख्य व्यक्ति बन्नुभएको छ । उहाँले पेन्टागन प्रमुखसँग पनि भेट्ने अपेक्षा राख्नुभएको छ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरान, युक्रेन र नाटो जिम्मेवारीबारे छलफल गरिसक्नुभएको छ ।

ट्रम्प पुनः सत्ता फर्किएपछि, उनका कदमहरूले नेटोमा तनाव बढाएको छ । विशेष गरी ग्रिनल्यान्ड कब्जा गर्ने धम्की, युक्रेन–रूस युद्धमा सदस्य राष्ट्रहरूको सक्रियता नदिने निर्णय र मित्र राष्ट्रहरूले पर्याप्त रक्षा खर्च नगरेको खण्डमा सहयोग रोक्ने चेतावनीले गठबन्धनलाई चुनौती दिइरहेको छ । ट्रम्पको रणनीति र व्यक्तिगत शैलीले अमेरिका र अन्य शक्ति राष्ट्रहरूबीच अस्थिरता सिर्जना गर्ने अवस्था बढाएको छ
।

विपक्षी गढमा आफ्नो पहुँच परीक्षण गर्दै प्रधानमन्त्री मोदीको पार्टी

नयाँदिल्ली। असम, केरला र पुडुचेरीमा बिहीबार स्थानीय चुनाव सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको भारतीय जनता पार्टी (भाजपा) का लागि महत्त्वपूर्ण परीक्षण शुरु भएको छ ।
मतदाताहरूको फैसला मोदीको पार्टीले विपक्षीहरूको गढमा आफ्नो प्रभाव विस्तार गर्न सक्ने क्षमता मापन गर्ने सङ्केतका रूपमा हेरिएको छ ।

असम र पुडुचेरीमा भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को शासन छ भने केरला राज्यमा विपक्षी दलको नेतृत्व रहेको छ । यसैगरी, पश्चिम बङ्गाल र तमिलनाडुमा पनि यसै महिनाको अन्त्यतिर मतदान हुने भएकाले पाँच क्षेत्रको नतिजा मे ४ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

मध्यपूर्वमा जारी युद्धका कारण बढेको ऊर्जा मूल्य र खाना पकाउने ग्यासको मूल्यवृद्धिले जनतामा चिन्ता बढाएको छ । यसले चुनावमा नागरिकको प्राथमिकतामा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ । नतिजा मोदीको पार्टीले विपक्षी गढमा प्रवेश गरेर आफ्नो प्रभुत्व विस्तार गर्न सक्ने सङ्केत दिनेछ भने बलियो प्रदर्शनले सङ्घीय सरकारलाई पनि मजबुत बनाउनेछ । सन् २०२४ को राष्ट्रिय चुनावपछि भाजपा क्षेत्रीय सहयोगीहरूमा भर पर्न बाध्य भएको थियो ।

उत्तरपूर्वी असममा भाजपाले लामो समयदेखि विवादास्पद आप्रवासन मुद्दामा कडा नीति अपनाउँदै सत्ता कायम गर्न खोजिरहेको छ । राज्यको अभियानले बङ्गाली भाषी मुस्लिमहरूको अवैध आप्रवासनको दाबीलाई चुनावी मुद्दाको रूपमा प्रस्तुत गरेको छ ।

दक्षिणी केरला राज्यमा भने भारतीय राष्ट्रिय कांग्रेस र कम्युनिस्ट पार्टीको नेतृत्वमा गठबन्धनहरूले परम्परागत रूपमा शासन गर्दै आएका छन् । मोदीको पार्टीले यहाँ आधार निर्माण गर्न कठिनाइ भोग्दै आएको छ र ठूलो लगानीमार्फत आफ्नो उपस्थितिलाई विस्तार गर्न खोजिरहेको छ ।

सङ्घीय क्षेत्र पुडुचेरीमा भाजपा आफ्नो स्थिति बलियो बनाउन क्षेत्रीय दलसँगको गठबन्धनमा भर परेको छ । पश्चिम बङ्गालको चुनाव सबैभन्दा विवादास्पद मानिन्छ । यहाँ तृणमूल कांग्रेस लगातार तीन कार्यकालदेखि सत्तामा छ । मोदीको पार्टीले यस राज्यमा अहिलेसम्म शासन गरेको छैन र मतदाता सूची संशोधनको विवादले राजनीतिक तनाव बढाएको छ ।

विपक्षी दलहरूले ‘विशेष सघन संशोधन’ अभ्यासले लाखौँ नागरिक, विशेष गरी अल्पसङ्ख्यक मुस्लिमहरूलाई मतदानबाट वञ्चित गरेको आरोप लगाएका छन् । भारतीय निर्वाचन आयोगले मतदाता सूचीबाट मृत, डुप्लिकेट र नक्कली मतदाताहरू हटाएको भन्दै आरोप अस्वीकार गरेको छ ।

बागमती प्रदेशसभा बैठकः विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷०८२ पेस गर्नुभएको छ ।
त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नुभयो ।

उक्त बैठकमा खानेपानी, ऊर्जा र सिँचाइमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक आगामी वैशाख ६ गते बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई आगामी बजेट तर्जुमाको सहमति, ३ अर्ब ६० करोडको परियोजना प्रस्ताव पेश गर्ने निर्णय

काठमाडौं । वैकल्पिक ऊर्जा विकास समितिको १११औँ बोर्ड बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ ।
बैठकले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ । केन्द्रले प्राप्त बजेट सिलिङभित्र रही आगामी वर्षका कार्यक्रमहरू तय गर्नेछ ।

बैठकमा मन्त्री श्रेष्ठले बजेट तर्जुमा गर्दा सामाजिक न्यायलाई प्राथमिकतामा राख्न निर्देशन दिए । उनले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले प्रत्यक्ष रूपमा अनुभव गर्ने र लाभ लिने खालका कार्यक्रमहरू समावेश गर्न तथा नवप्रवर्तनमा आधारित योजनाहरू ल्याउन सुझाव दिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।

यसैगरी, बैठकले संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धी अन्तर्गतको ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) मा नेपालको तर्फबाट परियोजना प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ । वन तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त पहलमा तयार गरिएको १९.८७ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ६० करोड रुपैयाँ) बराबरको उक्त प्रस्ताव पेश गर्न हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायका रूपमा केन्द्रलाई सहमति दिइएको ढकालले जानकारी दिए ।

सभामुखद्वारा बुढीगण्डकी आयोजनाबारे चासो

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आज आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए।

सभामुख अर्यालले भने, “यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।”

सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए। “स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” उनले भने।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौँ,” आयोजना प्रमुखसँग उनले भने।

त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए। सांसद बोधनारायण श्रेष्ठले ठुला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राखे । बुढीगण्डकी जलविद्युत् आयोजना एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ।

पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ। तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ । सबैभन्दा बढी वर्षा सिन्धुलीमा भएको छ । अहिले साँझ ५ बजेको अभिलेख अनुसार २४ घण्टामा इलाममा ५३.२, झापामा ५४.८, सुनसरीमा झण्डै ४९ र सिन्धुलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ।

अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराईका भू–भागमा मौसम मूख्यतया सफा रहने बताए ।

उनका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।