`

परवानीपुर सवस्टेसनमा आगो लाग्दा विद्युत् ठप्प

वीरगञ्ज (पर्सा), २ असोजः बाराको परवानीपुर सवस्टेसनमा बुधबार दिउँसो लागेको आगोका कारण यसक्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । औद्योगिक तथा व्यापारिक नगरी बारा–पर्सामा ११ केभिए क्षमताको सवस्टेसनमा आगलागी हुँदा सेवा बन्द भएको हो ।

परवानीपुरस्थित ११ केभिए क्षमताको सवस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो । प्यानलमा सर्टसर्किटका कारण आगलागी हुँदा वीरगञ्ज, सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्तिमा समस्या देखिएको थियो ।

बुधबार वीरगञ्जबाट गएको वरुणयन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सेवा पुनः नियमित सञ्चालनमा ल्याउन तत्काल प्राविधिक समस्या भइरहेको छ ।

“बुधबार रातभरि काम गरेर आज विद्युत् सञ्चालनमा ल्याएका थियौँ । बिहान ९ः३० बजेपछि पुनः समस्या आएर विद्युत् आपूर्ति ठप्प जस्तै भएको छ”, उहाँले भन्नुभयो, “वीरगञ्ज र बाराको पिलुवास्थित सवस्टेसनमा रहेको बे्रकरको बुस पड्किएर थप विद्युत् आपूर्तिमा समस्या आएको छ ।”

वीरगञ्ज वितरण केन्द्रका प्रमुख दुवेले परवानीपुरको सवस्टेसनमा आगो लागेपनि सो ठाउँमा पनि वीरगञ्जबाट विद्युत् पठाउन पर्दा क्षमताले धान्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले वीरगञ्जको सवस्टेसनबाट परवानीपुरमा विद्युत् पठाउनुपर्ने बाध्यता छ ।”

प्रमुख दुवेले ११ केभिएबाट सञ्चालन हुने सबै उद्योगधन्दामा विद्युत् प्रवाह गर्न नसकिएको उल्लेख गर्नुभयो । “यो अहिले देखिएको समस्या समाधानका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ । हाम्रोतर्फबाट काम भइरहेको छ ।” पिलुवास्थित सवस्टेसनको ब्रेकर बुस मर्मतसम्भार गरेर बिजुली उपलब्ध गराउन थालिएको उहाँले जानकारी दिनुभयो ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाप्रति मुख्यमन्त्री बानियाँद्वारा दुःख व्यक्त

बागमती, २ असोजः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्दै मुख्यमन्त्री बानियाँले नष्ट भएका संरचना सफा गरेर नागरिकलाई सेवाप्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“प्रदर्शनका क्रममा जनधनको क्षति हुनु, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी हुनु दुःखद् छ”, उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा यस्ता घटना नहुनुपर्ने थियो ।” क्षतिग्रस्त संरचनाको सरसफाइ गरेर शीघ्र सेवा प्रवाह गरिने उहाँले विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भौतिक पूर्वाधार मन्त्रालयलगायत क्षतिग्रस्त संरचनाको निरीक्षण गर्नुभएको थियो ।

प्रदर्शनकारीले प्रदेशसभा सचिवालय भवन, भौतिक पूर्वाधार विकास मन्त्रालयसहित प्रदेशका नौ वटा मन्त्रालय, ती मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए ।

प्रहरीले थप उच्च मनोबलका साथ काम गर्नुपर्छः गृहमन्त्री अर्याल

काठमाडौँ, २ असोजः गृहमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कानुनबमोजिम कर्तव्य पालनामा अब प्रहरीले उच्च मनोबल थप बनाउँदै कार्यक्षेत्रमा खटिनेपर्ने बताउनुभएको छ ।

आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आमजनताको दैनिकीमा नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने भन्दै चनाखो हुन प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरी प्रशासनमा भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।

गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र सङ्क्रमणकालमा अविचलित रहँदै देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम र चेतनशील पुस्ता जेनजीले गरेको ऐतिहासिक प्रदर्शनलाई नेपाल प्रहरीले सम्मान गर्दै यसका उपलब्धिहरूको संरक्षणका लागि रचनात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सीमित स्रोतसाधनको उपलब्धताका बीच नेपाल प्रहरीले हालैको प्रदर्शनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए थप सङ्कट बढ्ने र राज्यमा अकल्पनीय क्षति हुने अवस्था सिर्जना हुनसक्ने सम्भावना थियो ।”

यो ऐतिहासिक घडीमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको गृहमन्त्री अर्यालले उच्च कदर र सम्मान रहेको धारणा राख्नुभयो । उहाँले गृह मन्त्रालयबाट प्रहरी सङ्गठनको सुदृढीकरण गर्दै प्रहरी कर्मचारीको मनोबल बढाउनका लागि ठोस प्रयासहरू गर्ने उल्लेख गर्नुभयो ।

प्रहरीप्रति राज्य र नागरिकका असीमित अपेक्षा रहेका उल्लेख गर्दै गृहमन्त्रीले प्रहरीले साधनस्रोतको सीमितताबाट नागरिकका असीमित आकाङ्क्षाहरू सम्बोधन गर्दै आइरहेको बताउनुभयो । आगामी दिनमा साङ्गठनिक सुधारका लागि प्रहरीको नेतृत्वका साथै सबै प्रहरी कर्मचारीको पहलकदमी हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सहिद चौधरीको परिवारलाई लहान नगरको सहयोग

सिरहा, २ असोजः ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर सहिद हुनुभएका लहान नगरपालिका–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले रु एक लाख राहत दिने भएको छ ।

साथै विजयको चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने र पत्नीलाई योग्यताअनुसार नगरमा रोजगारीको व्यवस्था गर्ने निर्णय गरिएको हो ।

नगरप्रमुख महेश चौधरीले मङ्गलबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णयबारे जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो, “प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ ।”

गत भदौ २३ र २४ गते प्रदर्शनकारीले लहान नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरी भवनलाई पूर्ण रूपमा क्षति पु¥याएका थिए । नगरप्रमुख चौधरीले आफू जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “कार्यालयको संरचना जलेर नष्ट भएको छ, तर हाम्रो सेवा भावना र जिम्मेवारी जलेको छैन । दुःखसुख गरेर भए पनि आइतबारदेखि हामी सेवा प्रवाहमा लाग्ने तयारी गरेका छौँ ।”

गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । उहाँको नौ दिनपछि मङ्गलबार गाउँमा अन्तिम संस्कार गरिएको हो ।

विजय घरका कान्छा छोरा हुनुहुन्थ्यो । उहाँको एक दाई र एक दिदी हुनुहुन्छ । विजय काठमाडौँमा झण्डै एक दशकदेखि ‘हाउस वायरिङ’को काम गर्दै आउनुभएको थियो । यसअघि सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु हुनेलाई सहिद घोषणा गरिसकेको छ । साथै, पीडित परिवारलाई प्रतिव्यक्ति रु १५ लाख राहत दिने निर्णय पनि गरिसकेको छ ।

इजरायली आक्रमणलाई लिएर कतारले आईसीसीका अध्यक्षलाई भेट्ने

गत हप्ता आफ्नो भूमिमा इजरायलले गरेको आक्रमणलाई लिएर कतारले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्षलाई भेटेको छ । कतारले आफ्नो भूमिमाथिको अकल्पनीय आक्रमणलाई लिएर इजरायलविरुद्ध कानुनी कारबाहीको माग गरेको छ।

इमिरेट्सका प्रमुख वार्ताकार मोहम्मद अल–खुलाइफीले बुधबार हेगमा आईसीसीका अध्यक्ष तथा न्यायाधीश तोमोको अकानेसँग भेट गर्नुभएको हो ।

गत हप्ता भएको घातक इजरायली आक्रमणले प्यालेस्टिनी लडाकू समूह हमासका कतारस्थित नेताहरूलाई लक्षित गरेको थियो । आक्रमणले खाडी राष्ट्रहरूमा संशयका तरङ्गहरू फैलाएको थियो । कतार आफ्नो सुरक्षाका लागि लामो समयदेखि संयुक्त राज्य अमेरिकामा निर्भर छ।

हमासले सन् २०१२ देखि अमेरिकाको सहयोगमा कतारमा रहेको उसको राजनीतिक ब्यूरोका उच्च अधिकारीहरू आक्रमणबाट बचेको तर केही दिन पहिले भएको पछिल्लो आक्रमणमा कतारको आन्तरिक सुरक्षा बलका एक अधिकारी र हामसका सदस्यसहित पाँच जनाको मृत्यु भएको बताएको छ।

छलफलको संवेदनशीलताका कारण नाम नबताउने शर्तमा अधिकारीले इजरायलको आक्रमणलाई ‘गैरकानूनी’ भनेका छन् र यो ‘अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको’ बताएका छन्।

आईसीसीको पर्यवेक्षक राष्ट्रका रूपमा कतार आफैले पनि मुद्दा अदालतमा पठाउन पाउँदैन ।

दोहामा आपतकालीन वार्तापछि अरब र इस्लामिक समूहहरूले सोमबार ‘आफ्ना सदस्यहरूलाई इजरायलसँग आफ्ना गतिविधि जारी राख्नबाट रोक्न सबै सम्भावित कानुनी र प्रभावकारी उपायहरू’ अपनाउन आह्वान गरेका छन्।

आईसीसीका प्रमुखसँगको भेटपछि खुलाइफीले आफ्नो भ्रमण ‘कतार माथि भएको अवैध इजरायली सशस्त्र आक्रमणको जवाफ दिन कानुनी बाटो खोज्ने टोलीको कामको हिस्सा भएको बताउनुभएको थियो ।

गत वर्ष, आइसिसीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजामा इजरायलको युद्धको क्रममा युद्ध अपराध र मानवताविरुद्धको अपराधको लागि मुद्दा चलाएको थियो । मुद्दामा जानाजानी नागरिकहरूलाई लक्षित गरेर र भोकमरीलाई युद्धको विधिको रूपमा प्रयोग गर्नु समावेश छ।

आइसिसीले इजरायलका पूर्व रक्षामन्त्री योभ ग्यालन्ट र हमासका कमान्डर मोहम्मद देइफलाई पनि पक्राउ गर्न माग गरेको छ ।

गाजा युद्ध हमासको सन् २०२३ अक्टोबरको आक्रमणबाट सुरु भएको थियो । आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो र मारिनेमा अधिकांश सर्वसाधारण इजरायली थिए।

संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको इजरायलको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलको प्रतिशोधात्मक अभियानमा कम्तीमा ६५ हजार १४१ व्यक्तिको मृत्यु भएको छ र यो पक्षमा पनि मारिने अधिकांश सर्वसाधारण नै रहेका छन्।

समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छः नेता सिंह

काठमाडौँ, २ असोजः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उहाँले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रबिन्दुमा राख्दै गणेशमानले देखाउनुभएको बाटो नै कांग्रेसको मार्गदर्शन हुने धारणा राख्नुभयो । “गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले कांग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याउनुभएको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’ – राष्ट्रपति पौडेल

काठमाडौँ, २ असोजः राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरुले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन रहेको बताउनुभएको छ ।

आज राष्ट्रपतिलाई लिखित निवेदन दिँदै उहाँहरुले समयमै निर्वाचन सम्पन्न गराउनु र संवैधानिक व्यवस्थालाई यथावत रुपमा क्रियाशील गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्नुभएको छ ।

निवेदकहरुमा महेशकुमार मास्के, मल्ल के सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टिकाराम भट्टई, कनकमणी दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद बन्त सुशीला प्याकुरेललगायत हुनुहुन्थ्यो ।

त्यस्तै, उहाँहरुले सुशासनसँगै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको जनेनी पुस्ताको आन्दोलन र मागप्रति आफूहरुको समर्थन रहेको उल्लेख गर्नुभयो ।

लोकतन्त्रको रक्षा गर्न अन्तरराष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह

काठमाडौँ, २ असोजः अन्तरराष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) एसिया प्रशान्त क्षेत्रले लोकतन्त्र र श्रमिक अधिकारको रक्षाका लागि नेपाल सरकारलाई आग्रह गरेको छ ।

आइटियुसी एसिया प्रशान्त क्षेत्रका महासचिव शोया योशिदाले आज एक विज्ञप्ति जारी गरी नेपालमा पछिल्लो समय भएको घटनाप्रति दुःख व्यक्त गर्दै लोकतन्त्रको रक्षा र श्रमिक अधिकार स्थापनाका लागि आग्रह गर्नुभएको हो ।

आइटियुसीले ‘जेनजी’ प्रदर्शनका कारण श्रमिक अधिकार खोसिन सक्ने जोखिम बढेको भन्दै यसको रक्षाका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिइएको छ । नेपालले कामदारको अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षालाई केन्द्रमा राख्र्दै लोकतान्त्रिक नवीकरण र प्रणालीगत सुधार गर्नुपर्ने योशिदाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल अहिले राजनीतिक र संवैधानिक अनिश्चितताको सामना गरिरहेका छ । वर्तमान समयमा दिगो स्थिरताका लागि लोकतान्त्रिक नवीकरण र सुधार आवश्यक छ, जसले श्रमिक जनतालाई सेवा प्रदान गर्दछ, लोकतन्त्रले नै कामदारको सुरक्षा गर्ने भएकाले लोकतन्त्रको रक्षामा सबै लाग्नुपर्छ”, महासचिव योशिदाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइटियुसी एसिया प्रशान्तले प्रदर्शनका क्रममा विभिन्न प्रतिष्ठान र पूर्वाधारमा भएका क्षतिका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौँ कामदारसँग ऐक्यबद्धतासमेत जनाएको छ । “यस्तो परिस्थितिमा अन्तरिम सरकारले कामदारको एजेन्डालाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ, कामदार र उनीहरूका परिवारका लागि जागिरको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ ।

आइटियुसी एसिया प्रशान्तले प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाली नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी, आइटियुसी एसिया प्रशान्तले नेपालको अन्तरिम सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

आइटियुसी एसिया प्रशान्त क्षेत्रमा ३६ देशका ६२ ट्रेड युनियन संस्था आबद्ध रहेका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त महासङ्घअन्तर्गत रु छ करोडभन्दा बढी सदस्य छन् ।

आइटियुसीमा नेपालबाट नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाली ट्रेड युनियनको जनरल फेडरेसन आबद्ध रहेका महासचिव राईले बताउनुभयो ।

शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीसँग उद्योग वाणिज्य महासङ्घको माग

काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले आज गृहमन्त्री ओमप्रकाश आर्यालसँग गृह मन्त्रालयमा भेट गरी मर्यादित रुपमा व्यवसायका लागि शान्ति सुरक्षा जरुरी रहेको बताएको हो । उहाँले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो ।

निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकोमा सरकारले सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । साथै कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुनःनिर्माणका लागि तयार रहेको बताउनुहुँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य सङ्घमार्पmत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही गर्न मन्त्री अर्याल समक्ष आग्रह गर्नुभयो । गृहमन्त्री अर्यालले आमनागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको महासङ्घले जनाएको छ ।

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

काठमाडौँ, २ असोजः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको आज भएको भेटमा उहाँले चालू आर्थिक वर्षको बजेटमा आयोजना बैंकमा प्रविष्ट नगरेका एक हजार तीन सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब रु एक खर्ब १० अर्ब भेटिएको जानकारी दिनुभयो ।

त्यस्तै, चालू बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब रु १२ अर्ब निकाल्न सकिने उहाँले बताउनुभएको छ । काम सुरु नभएका आयोजना पहिचान गरेर बजेट निकालिने उहाँले बताउनुभयो । “विशेषगरी त्यस्ता योजनाको बजेट निकालिँदैछ, जुन योजनामा बजेट राखेपछि खर्च हुँदैनथ्यो”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनःनिर्माणमा लगाउने तयारी छ । सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन रु २५ अर्ब खर्च भएको हुनाले यसपटक त्योभन्दा कम बजेट खर्च हुनसक्ने उहाँको आकलन छ । तर, सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र कतिपय पालिकाका भवन जलेका कारण बजेट बढ्नसक्ने खनालको भनाइ छ ।

मन्त्रिपरिषद्ले अहिले नै निर्वाचन आयोगलाई परेको अप्ठ्यारो फुकाउनका लागि सबै काम गरिरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो । “आयोगले आवश्यक तयारी टुङ्ग्याउनेबित्तिकै अर्थ मन्त्रालयले बजेटको व्यवस्था गर्नेगरी तयारी गर्नेछ”, उहाँले भन्नुभयो ।

मन्त्री खनालले अर्थ मन्त्रालयले तयार गरेको ‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । “पुनरुउत्थान योजना (रिकभरी प्लान) मा सरकारको मात्र नभएर सबैको संलग्नतामा तयार भएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो योजनाअनुसार एउटा कोष स्थापना गरिने र कोषले ज्यान गुमाएका परिवारलाई गर्नुपर्ने थप सहयोग गर्ने, सार्वजनिक संरचनाको पुनःनिर्माणमा खर्च हुने र निजी क्षेत्रको ध्वस्त भएका संरचनामा आवश्यक सहायता दिने काम हुनेछ ।

“निजी क्षेत्रलाई कोषबाटभन्दा पनि संरचना निर्माण गर्न आवश्यक सामान आयात गर्दा लाग्ने भन्सारमा छुट दिनेलगायत काम गरेर सहायता गरिनेछ”, मन्त्री खनालले भन्नुभयो ।

निजी क्षेत्रसँगको भेटघाटमा मनोबल उच्च पाएको र चाँडै अझ सशक्त भएर अघि बढ्न प्रतिबद्धता गरिरहेको जानकारी अर्थमन्त्री खनालले गराउनुभयो । मन्त्री खनालले उद्योगी व्यवसायी र उनीहरूको आफ्नो प्रतिष्ठानमा, व्यवसायमा क्षति पुगेको र त्यसलाई कुनै न कुनै तरिकाबाट सहुलियत दिएर फेरि उठ्ने वातावरण बनाइने प्रतिबद्धता पनि जनाउनुभयो ।

अर्थमन्त्री खनालले तत्काल सरकारको प्राथमिकता आम नागरिकमा आत्मविश्वास जगाउने र घाइते परिवारलाई उपचार अनि ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता अथवा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको उल्लेख गर्नुभयो ।

आन्दोलनबाट भएको भौतिक क्षतिको आँकडा सङ्कलन गर्नका लागि सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जेएनका प्रतिनिधि र अन्य निकायबीच टोली बनाएर काम थालिएको उहाँँले बताउनुभयो । खनालका अनुसार सार्वजनिक निकाय र संरचनाको पुनर्निर्माण गर्न बजेटबाटै रकम निकाल्नुपर्नेछ र पुगेन भने ‘क्राउड फन्डिङ’मार्फत जम्मा गरेर निर्माण गरिनेछ । त्यसका लागि तयारी पूरा भइसकेको जानकारी मन्त्री खनालले दिनुभयो ।

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस

काठमाडौँ, २ असोजः ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एण्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ मा ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको हो ।

उक्त समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु र कलात्मकता प्रस्तुति, त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’ लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चलचित्रको गहन मूल्याङ्कनपश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक सिल्पलाई ध्यानमा राखेर हामीले चलचित्र छनोट गरेका हौँ ।”

उहाँले अस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यू चोलो (द ड्रेस) र ‘अञ्जिला’ प्राप्त भएको जानकारी दिनुभयो । चलचित्र अञ्जिला नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नुभएको हो ।

उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीका विषयमा बनेको चलचित्रले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु गौरवको विषय भएको बताउनुभयो । “नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ”, उहाँले भन्नुभयो ।

यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको श्रेष्ठको भनाइ छ । यो अन्यका लागि प्रेरणाको स्रोत बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चलचित्र अञ्जिलामा खेलाडी सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ । गत वर्ष नेपालमा प्रदर्शन भएको उक्त चलचित्रले घरेलु बजारमा रु नौ करोडको हाराहारीमा व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी, २ असोजः पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो ।

पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् ।

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताउनुभयो । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

भविष्यमा हुनसक्ने रोगबारे पूर्वानुमान गर्न वैज्ञानिकहरूले एआई मोडललाई तालिम दिँदै

वैज्ञानिकहरूले एक एआई मोडेल सिर्जना गरी वर्षौं पहिले नै चिकित्सा निदानको उपायका लागि सक्षम हुन उनीहरूले च्याटजिपिटीजस्ता एआई प्रविधिलाई तालिम दिइरहेको बताएका छन् ।

‘नेचर’ जर्नलमा प्रकाशित एक शोधपत्रमा डेल्फी–टु एम एआईले भविष्यमा हुनसक्ने एक हजारभन्दा बढी रोगको पूर्वानुमान गर्ने बताइएको हो ।

अनुसन्धानकर्ताहरूले बेलायतको ‘यूके बायो बैङ्क’को तथ्याङ्कमा आधारित नमूनाहरूलाई प्रशिक्षित गरेका बताएका छन् । यो एउटा ठूलो बायोमेडिकल अनुसन्धान तथ्याङ्क हो र यसमा लगभग पाँच लाख सहभागीहरूको विवरण रहेको थियो।

च्याटजिपिटीमा तथाकथित ‘ट्रान्सफर्मर’ कलामा आधारित तन्त्रिका नेटवर्क ‘टी’ले सबैभन्दा प्रसिद्ध भाषामा आधारित रहेर च्याटबोट र यसका धेरै अनुकरणकता र प्रतिस्पर्धीहरूमा बाँधिएर कार्यहरू समाधान गर्दछ ।

“मेडिकल निदानको क्रम बुझ्नु भनेको ‘पाठमा व्याकरण सिक्नु जस्तै हो,” जर्मन क्यान्सर रिसर्च सेन्टरका एआई विशेषज्ञ मोरित्ज गेस्र्टुङले पत्रकारहरूसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “डेल्फी–टु एमले ‘स्वास्थ्य सेवा तथ्याङ्कमा पूर्वनिदान ढाँचाहरू सिक्छ धेरै अर्थपूर्ण र स्वास्थ्य–सान्दर्भिक पूर्वानुमानहरू गर्न सक्षम हुन्छ।”

गेस्र्टुङले भन्नुभयो, “एआईले उनीहरूको उमेर र अन्य कारकहरूले भविष्यवाणी गर्नेभन्दा धेरै उच्च वा कम हृदयघातको जोखिममा रहेका मानिसहरूलाई छुट्याउन सक्छ।”

टोलीले डेल्फी–टु एमको प्रदर्शन डेनमार्कको सार्वजनिक स्वास्थ्य तथ्याङ्कमा लगभग २० लाख व्यक्तिको तथ्याङ्कमाथि परीक्षण गरेर प्रमाणित गरेको दावी गरेको छ ।

गेस्र्टुङ र सहकर्मी टोलीका सदस्यहरूले भने, “डेल्फी–टु एम उपकरणलाई थप परीक्षणको आवश्यकता छ र यो क्लिनिकल प्रयोगको लागि अझै तयार छैन।”

यसैगरी स्वास्थ्य प्रविधि शोधकर्ता पिटर ब्यानिस्टरले भन्नुभयो, “यो अझै पनि सुधारिएको स्वास्थ्य सेवाबाट लामो बाटो हो । बेलायती र डेनमार्कका तथ्याङ्कहरू उमेर, जाती र वर्तमान स्वास्थ्य सेवा परिणामहरूको सन्दर्भमा पक्षपाती छन्।”

“भविष्यमा डेल्फी–टु एमजस्ता प्रणालीहरूले ‘प्रभावकारी रूपमा रोकथामको औषधिको लागि निगरानी र सम्भवतः पहिलेको क्लिनिकल हस्तक्षेपलाई मार्गदर्शन गर्न’ मद्दत गर्न सक्छ,” गेस्र्टुङले भन्नुभयो ।

‘युरोपियन मोलिक्युलर बायोलोजी ल्याबोरेटरी’का सह–लेखक टम फिट्जगेराल्डले भन्नुभयो, “ठूला पैमानामा, यस्ता उपकरणहरूले ‘विस्तारित स्वास्थ्य सेवा प्रणालीमा संसाधनहरूको अनुकूलन’ मा मद्दत गर्न सक्छन्।”

धेरै देशका चिकित्सकहरूले पहिलेदेखि नै रोगको जोखिमको भविष्यवाणी गर्न कम्प्युटर उपकरणहरूमा ‘क्युआरआइएसके प्रोग्राम’ प्रयोग गर्छन् । बेलायतमा निजी चिकित्सकहरूले हृदयघात वा स्ट्रोकको खतराको आँकलन गर्न प्रयोग गर्छन्।

डेल्फी–टु एमका सहलेखक इवान बिरनीले भन्नुभयो, ’डेल्फी–टु एमले सबै रोगलाई एकैपटक र लामो समयसम्म सार्न सक्छ ।”

मेडिकल एआईमा विशेषज्ञता हासिल गरेका किङ्ग्स कलेज लन्डनका प्राध्यापक गुस्ताभो सुद्रेले भन्नुभयो, “यो अनुसन्धान ‘मापनयोग्य व्याख्यात्मक र सबैभन्दा महत्त्वपूर्ण नैतिक रूपमा जिम्मेवार भविष्यवाणीको नमूनाको दिशामा एक महत्त्वपूर्ण कदम हो।”

धेरै ठूला एआई मोडेलहरूको पूर्ण आन्तरिक कार्यहरू हाल उनीहरूको सिर्जनाकर्ताहरूको लागि पनि रहस्यमय छन् । त्यसैले ‘व्याख्यात्मक’ वा ‘व्याख्यायोग्य’ एआई यस क्षेत्रको शीर्ष अनुसन्धान लक्ष्यहरू मध्ये एक हो ।

कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने

कतार लगानी प्राधिकरणले बुधबार उप–सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानीको घोषणा गरेको छ ।

खाडी राज्यको सार्वभौम सम्पत्ति कोषले लगानी पूरा भएपछि इभान्हो माइन्सको लगभग चार प्रतिशत स्वामित्व राख्नेछ क्यूआईएले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

कतारी कोषका प्रमुख कार्यकारी मोहम्मद सैफ अल–सोवैदीले यो लगानीले इभानहोलाई ’विश्वव्यापी ऊर्जा सङ्क्रमण र उन्नत प्रविधिका लागि आवश्यक पर्ने महत्वपूर्ण खनिजको खोज, विकास र दिगो आपूर्ति’ मा सहयोग पुग्ने बताउनुभएको छ ।्

इभान्हो माइन्सका कार्यकारी रोबर्ट फ्राइडल्याण्डले भन्नुभयो, “यो लगानी ‘महत्वपूर्ण धातुहरूको अग्रणी आपूर्तिकर्ता हुन फर्मको प्रयासको समर्थन हो । यसले विश्वव्यापी अर्थव्यवस्थाको विद्युतीकरण, नयाँ ऊर्जा पूर्वाधारको विकास र एआईसहित उन्नत प्रविधिहरूको विकासलाई सञ्चालन गर्नेछ।

भ्यानकुभरमा मुख्यालय रहेको इभान्हो माइन्सको मुख्य परियोजनाहरू यसको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेका कामोआ–काकुला तामा खानी र किपुशी तामा खानी हुन् । इभान्होले दक्षिण अफ्रिकाको प्लाट्रिफ खानीले सन् २०२५ को अन्त्यसम्म उत्पादन सुरु गर्न तयार छ।

क्यानेडियन फर्मले डीआर कंगो, अंगोला, जाम्बिया र कजाकिस्तानमा तामा अन्वेषण परियोजनाहरू पनि सञ्चालन गरिरहेको छ।

पार्टीभित्र नेता कार्यकर्ताको ध्यान भड्काउने षड्यन्त्र भइरहेको छ : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

उनले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

उनले समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने,‘फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी बनाउनेतिर लागौं । फाल्गुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबैदलहरूले मानिसकेका छन् र तैयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तैयारीमा जुटिसकेको छ । हामीसँग धेरै समय छैन । मुश्किलले साढे ५ महिना समय छ । दुई–तीन महिनापछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ । यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र हुँदैछ । त्यसैले अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔं, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौं ।’

यस्तै उनले निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुट्न पनि भनेका छन् । उनले भने नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं ।

आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

काठमाडौं — जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो ।

यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो । गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो ।

बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नुपर्ने भन्दै दबाब समेत दिएका थिए । तर, लगानीकर्ताहरुमा उतिकै अन्यौल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ । बजार बन्द हुँदा ठूला–साना सबै किसीमका लगानीकर्ताहरुलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमीत रुपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।

जेनजि आन्दोलन : प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन

हेटौंडा । बागमती प्रदेशमा जेनजि पुस्ताको आन्दोलनले प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ।असोज २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको हो। हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन्।

सचिवालयका एक अधिकारीका अनुसार, कुर्सीदेखि कार्यालय सञ्चालनका अत्यावश्यक सामग्रीसम्म प्रयोग अयोग्य भएका छन्। “बैठक चलाउने ठाउँ छैन, कर्मचारी क्यान्टिनमा बसेर काम गर्न बाध्य छन्,” उनले बताए।

प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत तथा प्रवक्ताले करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसहित पुरानो भवन पनि जलाइएको र करिब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए। गत साउन २७ गते मात्र उद्घाटन भएको नयाँ भवनमा जम्मा चारवटा बैठक मात्रै बसेको अवस्थामा पूर्णरूपमा ध्वस्त भएको हो।

प्रदेश सभा सचिवालयका अनुसार तत्काल प्रदेश सभाको बैठक सञ्चालन गर्ने अवस्था छैन। प्रदेशसभाको बैठक र समितिहरू अनिश्चितकालका लागि स्थगित भएका छन् भने कर्मचारीहरू अस्थायी स्थानमा बसेर सेवा दिइरहेका छन्।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २ असोजः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४६, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३७, गाजर (लोकल) प्रतिकिलो रु १२०, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ९० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८५, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु ९०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ७५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ७५, स्कूस प्रतिकिलो रु २५, रायोसाग प्रतिकिलो रु ११०, तोरीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ११०, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ११००, सौफको साग प्रतिकिलो रु ३५०, पुदिना प्रतिकिलो रु ९००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३८०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु १३० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ८५, लसुन हरियो प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २५०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

सुनसान ‘कर्लिम गाउँ’, गाउँभरिका घर सबै रित्तिए

ढोरपाटन (बागलुङ), २ असोजः “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्नुहुन्छ । उहाँलाई अचेल एक्लो महसुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइँसराइ गरेर सहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकामा निकै दुःख लागिरहेको छ । कुनै बेला गुल्जार रहेको यो गाउँमा दुई÷चार घरमा मात्रै मान्छे भेटिन्छन् ।

यसैकारण समस्या पर्दा गुहार माग्दासमेत सहयोग गर्ने कोही नभएको कँडेल बताउनुहुन्छ । “गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पु¥याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले बासस्थान बनाउँदा हिँड्डुल गर्न पनि त्रास हुने गरेको छ”, उहाँ भन्नुहुन्छ ।

स्थानीय मैना सुवेदीले गाउँमा युवा शक्ति नहुँदा खेतीबारीमा काम गर्नसमेत छोडिएको बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा धेरै मान्छे हुँदा रमाइलो रहेको स्मरण गर्दै हरेक वर्ष जनसङ्ख्या घट्दै जाँदा दुःख सुखमा पनि मान्छे नभेट्ने अवस्था रहेको उहाँको भनाइ छ ।

यस्तो अवस्था अन्त्यका लागि राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने र घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने सुवेदीको धारणा छ । “गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको छ । युवाहरू विदेश गए । उनीहरूले कमाएको धनले आफ्ना परिवार सहर बजारमा घर बनाएर सारे । धनीमानी सबै सहर बजार र विदेशमा गए । त्यसैले जता हे¥यो त्यतै बाँझो जमिन, उराठिलो बस्ती मात्रै देखिन्छ”, उहाँले भन्नुभयो ।

काठेखोलाको कर्लिम मात्र होइन जिल्लाका अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान छन् । काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा जापान, कोरिया र अष्ट्रेलियामा छन्भने उनीहरूको परिवार बागलुङ बजार, पोखरा, काठमाडौँ र चिवतन बसाइँ सरेका छन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकलाई गाउँमा रोक्नका लागि सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याइएको बताउनुभयो । पहिलेको तुलनामा गाउँमा धेरै परिवर्तन आए पनि बसाइँसराइ रोक्न नसकिएको उहाँको भनाइ छ ।

“गाउँमा बसेर उद्यम गर्ने युवालाई अनुदानसहित प्रविधिक सहयोगसमेत गर्दै आएका छौँ । गाउँपालिकाको स्रोतले भ्याएसम्मको काम गरिरहेका छ । यस कार्यमा सबैले सहयोग गर्न आवश्यक छ । गाउँमा अवसर सिर्जना गर्न सबै लागौँ”, अध्यक्ष थापाले भन्नुभयो ।

दसैँको मुखमा पनि रोजगारीका लागि काम खोज्दै भारत जानेको लर्को

दोधारा चाँदनी (कञ्चनपुर), २ असोजः हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसँैको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ ।

विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ । हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ । चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन् ।

परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लाग्नुभएका डोटीको जोरायल गाउँपालिका–२ का करन थापा मङ्गलबार गड्डाचौकी नाकामा भेटिनुभयो । “साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ”, उहाँले भन्नुभयो, “पैसा भयो भने तिहार मनाउन आउँछु । यसपटक घरमा बसेर दसैँ मनाउन पाइएन ।” थापाले दसँैको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चलन प्रदेश जान लागेको बताउनुभयो ।

थापा मात्रै होइन डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएका छन् । बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमान्सहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाउनुभयो । “हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौँ”, उहाँको भनाइ थियो,“भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौँ, तिहारमा घर फर्किंन्छौँ ।”

लालाबालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दसैँको मुखमा आफूहरू बाध्यताले विदेश जान लागेको बताउनुभयो । “पैसा नभई दसैँ चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नु ! एक महिना मजदुरी गरेर तिहार मनाउन फेरि गाउँ फर्किने सोच छ”, उहाँले भन्नुभयो ।

गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताउनुभयो । “बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ”, उहाँले भन्नुभयो ।भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि रोजगारी प्रमुख गन्तव्य हो ।

मकवानपुरमा प्रहरी नेतृत्वमा फेरबदल, एसपी खड्का र डिएसपी अर्यालको सरुवा

हेटौँडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयमा नेतृत्वस्तरमै ठूलो फेरबदल भएको छ । प्रहरी प्रधान कार्यालयले मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का सहित देशभरका ४८ जना एसपीहरूको एकैपटक सरुवा गरेको हो ।

भदौ ३१ गतेको मितिमा जारी गरिएको सूचनाअनुसार गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको स्थानमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा आउने भएका छन् ।

त्यस्तै, मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालको समेत सरुवा गरिएको छ । उहाँको स्थानमा पुष्कर बोगटी नियुक्त हुने भएका छन् ।

स्थानीय सुरक्षा व्यवस्थामा निरन्तरता र सुधार ल्याउने उद्देश्यसहित गरिएको यो सरुवाले मकवानपुरको सुरक्षा संयन्त्रमा नयाँ नेतृत्व र कार्यशैली आउने अपेक्षा गरिएको छ ।

‘ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट तयार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो अध्यक्ष महेशकुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जुट्न लागेको बेला भ्रम फैलाउने प्रयास हुनु दुःखद रहेको संघले बताएको हो।

संघका प्रवक्ता गंगाधर गौतमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनले देशका महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। त्यस्तो अवस्थामा गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग हातेमालो गर्दै पुनर्निर्माणमा सहयोग गर्न तयार छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ।’ संघका अनुसार अहिले पहिलो चरणमा सुरक्षा संयन्त्रलाई बलियो बनाउन सहयोग गर्ने कार्य अघि बढाइएको छ। विशेष गरी ट्राफिक प्रहरीलाई सहयोग गर्दै सडक सुरक्षामा काम भइरहेको र यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिइएको छ।

तर केही सञ्चारमाध्यमले एनआरएनएको नाम प्रयोग गरेर व्यक्तिगत घर बनाउनका लागि पैसा उठाइरहेको भन्ने खालको समाचार प्रकाशित गरेको प्रसङ्गमा संघले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत प्रयोजनका लागि रकम उठाइएको भन्ने समाचार पूर्णतया निराधार र भ्रामक छ। यसले संस्थाको साखमाथि प्रश्न उठाउने प्रयास मात्र हो।’ यस्तो प्रचारमा एनआरएनएकै बद्री केसी पक्ष सक्रिय रहेको बताइएको छ । जबकि केसी पक्ष हालसम्म जलेको संसद् भवन अगाडि गएर फोटो खिचाउनमा मात्रै सीमित भएको छ ।

संघले भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई ठूलो आर्थिक, सामाजिक र मनोवैज्ञानिक आघात पुर्‍याएको भन्दै त्यसबाट उठ्न सबै पक्ष एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएको छ। विशेष गरी सार्वजनिक सम्पत्तिको पुनर्स्थापना र सुरक्षामा सहयोग गर्न गैरआवासीय नेपाली समुदाय अग्रसर रहेको स्पष्ट गरिएको छ।

अध्यक्ष श्रेष्ठले शनिवार बस्ने कार्यसमितिको बैठकले औपचारिक निर्णय गरेर ‘ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट अघि बढाउने जानकारी दिए। त्यसका लागि विस्तृत प्राविधिक खाका तयार गरिएको र लागत करिब ७४ लाख रुपैयाँ अनुमान गरिएको उनले बताए।श्रेष्ठका अनुसार, संघले पहिलो चरणमा काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरी कार्यालयमा रहेका सिसिटिभी नियन्त्रण कक्ष, निगरानी प्रणाली र आवश्यक उपकरणहरूको पुनर्संचालनमा सहयोग गर्नेछ।

‘सडक सुरक्षा र निगरानी प्रणाली बलियो हुनु देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको कुरा हो। हामीले यसमा योगदान दिनु मातृभूमिप्रति हाम्रो दायित्व हो,’ अध्यक्ष श्रेष्ठले भने।

एनआरएनएले मङ्गलवार नै ‘नेपाल पुनर्निर्माण अभियान’ घोषणा गर्दै विश्वभरका नेपालीहरूलाई सहयोगका लागि आह्वान गरिसकेको छ। भूकम्प, बाढी वा महामारीजस्ता सङ्कटमा पनि गैरआवासीय नेपालीहरूले निरन्तर साथ दिएको स्मरण गर्दै श्रेष्ठले यस पटक पनि मातृभूमि उकास्नै पर्ने बेला आएको बताए।’हामी सबै मिलेर नेपाललाई पुनर्निर्माण गरौँ, सुरक्षात्मक संरचना पुनर्स्थापना गरौँ र समुदायलाई फेरि आशावादी बनाऔँ,’ श्रेष्ठले आग्रह गरे।

श्रेष्ठले केही व्यक्तिहरूले फैलाएको आधारहीन प्रचारको कुनै सत्यता नरहेको बताउँदै भने, ‘हाम्रो योगदान विशुद्ध सार्वजनिक हितमा केन्द्रित छ।’ व्यविपद्‍को समयमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउँदै उनले यस्तो बेलामा कसैले पनि अफवाह फैलाउन नहुनेमा जोड दिए ।

श्रेष्ठका अनुसार शनिवार हुने बैठकबाट आधिकारिक निर्णय गरेर ठोस कार्य योजना सार्वजनिक गरिने छ । श्रेष्ठ नेतृत्वको आधिकारिक एनआरएनएका अनुसार विगतमा नेपालमा आएका हरेक प्राकृतिक विपत् र सङ्कटका बेला संघले सरकारसँग सहकार्य गर्दै सहयोग गर्ने गरेको छ। भूकम्प, बाढी–पहिरो, महामारीलगायतका कठिन परिस्थितिमा एनआरएनएले राहत, उद्धार र पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस पटक पनि त्यही निरन्तरतामा काम भइरहेको संघले जनाएको छ।

साफ यू–१७ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग भीड्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), २ असोजः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो । “साउन महिनामा कार्यालयले रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो”, उहाँले भन्नुभयो, “जेनजी समूहको आन्दोलनले भदौ महिनाको एक दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।”

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा रु दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते रु एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै भदौ २८ गते रु एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते रु तीन करोड, भदौ २५ गते भने शूल्य राजस्व सङ्कलन भएको छ ।

त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु ११ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन ग¥यो भने भदौ महिनामा भने रु २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माण

गलकोट (बागलुङ), २ असोजः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्कअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्र गर्न र पुलहरु निर्माणका लागि रु १४ अर्ब सात करोड खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०६६÷६७ मा सुरु गरिएको आयोजना र २०८३÷८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रु २० अर्ब लागत अनुमान गरिएको उक्त २९३ किमी खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ । इन्जिनियर बस्यालले हालसम्म १४५ किमी सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको जानकारी दिनुभयो । उक्त खण्डमा पहिराको ठेक्का व्यवस्थापन, शून्य दशमलव ४२ किमी सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड चार जिल्ला र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्ड दुई जिल्लामा फैलिएको रहेको छ । करिडोरको नवलपुरमा ७७ दशमलव ९७ किमी, पाल्पामा ८६ दशमलव २७ किमी, गुल्मीमा ४१ दशमलव ०६ किमी, बागलुङमा ३४ दशमलव ७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी पर्दछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ २५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १४ पैसा र बिक्रीदर १५ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २४ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सत्र वर्षपछि चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा मुख्य भूमिकामा अभिनेता चौरसिया

काठमाडौँ, २ असोजः अभिनयमा अब्बल मानिने कलाकारमै पर्नुहुन्छ अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुग्नुभएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्‍यो।

यसपालि दसैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाउनुभएको छ । “मैले सायद यसैको प्रतीक्षा गररहेको थिएँ किनकि मैले यो समयका लागि धेरै मेहनत गरेको छु । मधेसको कथामा चलचित्र तयार भएकाले पनि निर्माण पक्षको रोजाइमा म परेँ, तर मैले यसका लागि गरेको सङ्घर्षको फल पाउने बेला हो । मैले आफूले सक्ने कोसिस गरेर पात्रलाई जीवन्त बनाएको छु”, अभिनेता चौरसियाले भन्नुभयो ।

बाल्यकालदेखि नै चलचित्र हेर्ने बानीले गर्दा उहाँ कलाकार बनेर ठूलो पर्दामा देखिने सपना बोकेर काठमाडौँ आउनुभयो । चौरसियाले अभाव र बेरोजगारीको सामना गर्नुप¥यो । “मलाई घरबाट विदेश गएर काम गर्न धेरै दबाब आएको थियो । मेरो सर्टिफिकेट लिएर वैदेशिक यात्राको प्रक्रिया अगाडि बढाउने कुरा भएको थियो, तर म नेपालमा नै केही गर्न चाहन्थे । त्यसैले मैले आफ्नो शैक्षिक प्रमाणपत्र नै फाले । त्यसपछि परिवारसँग मेरो हार्दिक सम्बन्ध हुन् सकेन”, उहाँले भन्नुभयो ।

चौरसियाले काठमाडौँ मात्र नभई भारतको दिल्लीसम्म पुगेर अभिनय सिक्ने र चलचित्र काम गर्ने प्रयास गर्नुभयो । उहाँको अभिनय यात्रा ‘एक्टर्स स्टुडियो’ बाट सुरु भयो । विसं २०७२ को वैशाखमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मा ‘हरिया’ बनेपछि उहाँको चर्चा भयो । त्यसताका चलचित्र प्रदर्शन भएको दोस्रो दिनमा नै भूकम्प आएपछि प्रदर्शन रोकियो । बनिसकेको माहोल बिथोलियो । त्यसपछि पुनः चलचित्र प्रदर्शन भयो, तर उहाँले सोचेजस्तो चर्चा हुन सकेन, तर त्यसबाट उहाँको अभिनय कलाबारे धेरैले थाहा पाए । “त्यसपछि अन्य चलचित्रमा अभिनयका लागि प्रस्ताव आउन थाल्यो । मलाई उस्तै किसिमका भूमिका, सहायक भूमिका मात्र प्रस्ताव भए । म मुख्य अभिनेता बन्न चाहन्थे, केही फरक गर्न चाहन्थे । मैले केही चलचित्रकर्मीलाई ‘नो’ भनेपछि त्यो सबैतिर फैलियो । फलतः मैले बिस्तारै काम पाउनै छाडे”, अभिनेता चौरसियाले भन्नुभयो ।

उहाँले केही समय अभिनय छाडेर माछा बेच्ने व्यवसायसमेत गर्नुभयो । कोरोना महामारीका कारण त्यो पनि सफल भएन । “मैले जे गरे पनि बिग्रिने जस्तो हुन थाल्यो । मैले आफ्नो इमान्दारिताका साथ काम गरे पनि त्यसको नतिजा आउन सकेन । फलतः म शून्य भएँ, के गर्ने भन्ने सोच्नै कठिन थियो । त्यही क्रममा चलचित्रहरू प्रस्ताव हुन थाले, मैले काम त गरेँ, तर ती सब गरिबी हटाउन थिएँ किनकि मैले प्रतीक्षा गरेको मुख्य भूमिका अझै प्रस्ताव भएका थिएनन्”, उहाँले भन्नुभयो ।

फेरि पाँच वर्षपछि ‘रेशम फिलिली’ नामक चलचित्रमार्फत अभिनयमा फर्किनुभएका अभिनेता चौरसियालाई एकदिन निर्माता विनोद पौडेलले फोन गरेर भेट्ने प्रस्ताव राख्नुभयो । ‘पूर्णबहादुरको सारङ्गी’ निर्माताले बोलाएपछि नभेट्ने कुरै भएन । उहाँले कार्यालयमा पुगेर चलचित्रको कथा सुन्नुभयो । मधेस र बोर्डर छेउको कथा भएकाले उहाँलाई आकर्षित गर्नु स्वाभाविक थियो, तर मुख्य अभिनेताको प्रस्ताव आएपछि उहाँ अक्क न बक्क हुनुभयो । “मैले जे चीजका लागि यत्रो मेहनत गरेको थिएँ, त्यो मैले पाउँदै थिएँ । त्यो क्षणलाई म शब्दमा व्यक्त गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ । आफ्नो मेहनतको फल पाएँ झैँ लागेको छ”, अभिनेता चौरसियाले भन्नुभयो ।

चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले परिवारको सुरक्षा र जिम्मेवारी बहन गर्ने पात्रको भूमिका निर्वाह गर्नुभएको छ । मधेसको पृष्ठभूमिमा आधारित यो चलचित्रमा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतले अभिनय गर्नुभएको छ । चलचित्रमा मुकेस खनालको लेखन, सुशान्त गौतमको निर्देशन, शरद् महतोको छायाङ्कन र मदन घिमिरेको सम्पादन रहेको छ ।

संविधान दिवसमा नेपाल टेलिकमकाे यस्ताे छ अफर

काठमाडौँ, २ असोजः संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।

यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, रु १९९ मा सात दिनसम्म चलाउन सकिने १३ जिबी, रु २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र रु ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टेलिकमले यही अफरअन्तर्गत रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २ असोजः विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा पनि उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका उहाँ विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा सक्रिय हुनुभएको थियो ।

राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । पछि विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको विकास र विस्तारमा आजीवन योगदान दिनुभयो ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उहाँ सदा क्रियाशील रहनुभयो ।

विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सिंहले सक्रिय भूमिका खेल्नुभयो ।

गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित उहाँले २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभयो । कम्युनिष्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर हुनुहुन्थ्यो ।

नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् । यस अवसरमा आज बिहान ०७ः४५ बजे शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण कार्यक्रम राखिएको जनाइएको छ ।

बाहिरिने समयमा मनसुन फेरि सक्रिय,कति दिन लम्बिएला ?

काठमाडाैँ, १ असोजः औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने बताउनुभयो । “सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ । मनसुन बहिर्गमन हुन १५ दिन मात्रै बाँकी छ, कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ । यो वर्ष सरदर मितिमै मनसुन बहिगर्मन हुन्छ वा हुँदैन अहिल्यै भन्न सकिँदैन”, उहाँले भन्नुभयो ।

लामिछानेका अनुसार आज पनि देशभर साधारणतया मौसम बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिनुभयो ।

योसँगै आज देशका केही नदीहरूमा पानीको बहाव पनि बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोटी, कैलाली र आसपासका जिल्ला हुँदै बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेकाले समवधानी अपनाउन उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

“इलाम, झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला हुँदै बहने केही स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ”, उहाँले भन्नुभयो, “उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आवश्यक छ ।”

जेनजी प्रदर्शनका क्रममा दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ । जेनजी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपाङ्ग्रे पूर्ण रूपमा क्षति भएका छन् । टिपर, ट्र्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारीसाधन जलेको उनको भनाइ छ ।

त्यसैगरी १३३ पूर्ण रूपमा क्षति भएका मोटरसाइकलमा ८३ वटा सरकारी, ४७ निजी, तीन थान निजी स्कुटर र १० वटा साइकल रहेका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए । उनका अनुसार उच्च अदालत तुलसीपुरका पाँच वटा सवारीसहित तीन वटा निजी मोटसाइकल जलेर नष्ट भएका छन् ।

तुलसीपुर उपमहानगरमा छ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन् । घोराही उपमहानगरमा दुईवटा गाडी र सात वटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुईवटा गाडी र पाँच वटा मोटरसाइकल जलेका छन् ।

लोकसेवा आयोग तुलसीपुरका दुईवटा गाडी र मोटरसाइकल पाँच वटा जलेका छन् । बबई गाउँपालिकाका नौ मोटरसाइकलमध्ये छ वटा सरकारी र तीन वटा निजी रहेका छन् । जिल्ला समन्वय समितिका तीन गाडी र १८ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय दाङका दुईवटा गाडी, २९ मोटरसाइकल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका एक थान गाडी र आठ वटा सरकारी मोटरसाइकल जलेर नष्ट भएका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए ।

भू तथा जलाधार संरक्षण कार्यालय तुलसीपुर, प्रदेश निर्वाचन कार्यालय, सडक विभाग तथा पूर्वाधार कार्यालयसहित जिल्लामा दुई दर्जन बढी सरकारी कार्यालयका सवारीसाधन जलेर नष्ट भएका छन् । त्यसैगरी ३४ भन्दाबढी संरचना क्षतिग्रस्त भएका छन् ।

बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज, १ असोजः बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटालाई प्रहरीले सो आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

पाठकलाई नेपालगञ्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको जानकारी दिँदै उहाँले पाठक आगजनी र तोडफोडमा, टमाटा लुटपाटमा संलग्न रहेको बताउनुभयो ।

जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन सूचना जारी गरेको केही दिनमै उनीहरु पक्राउ परेका हुन् । नेपालगञ्जमा जेनजी प्रदर्शनका क्रममा दर्जनौँ सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो ।

अष्ट्रेलियाको सान्तोसका लागि १८.७ अर्ब डलर प्रस्ताव

संयुक्त अरब इमिरेट्स (युएई)को सरकारी स्वामित्वको अबु धाबी नेशनल आयल कम्पनीको नेतृत्वमा रहेको कन्सोर्टियमले अष्ट्रेलियाली ऊर्जा समूह सान्तोसको अधिग्रहणका लागि १८.७ अर्ब डलरको प्रस्तावबाट आफुलाई फिर्ता गरेको छ। इमिराती ऊर्जा फर्मले आफ्नै सहायक कम्पनी एक्सआरजीको नेतृत्वमा कन्सोर्टियममार्फत आफ्नो बोलकबोल प्रस्तावबारे पछिल्लो धारणा सार्वजनिक गरिएको हो ।

“एक्सआरजीको नेतृत्वमा रहेको कन्सोर्टियमले आफ्नो साङ्केतिक प्रस्ताव फिर्ता लिएको छ र सान्तोसको लागि बाध्यकारी प्रस्तावको साथ अगाडि बढ्ने छैन,” समूहले एक विज्ञप्तिमा भन्यो।
“कन्सोर्टियमले सान्तोसको कामको बारेमा सकारात्मक दृष्टिकोण राख्छ, कारकहरूको संयोजन, जब समग्ररूपमा मूल्याङ्कन गरिन्छ, कन्सोर्टियमको साङ्केतिक प्रस्तावको मूल्याङ्कनलाई असर गरेको छ,” विज्ञप्तिमा भनिएको छ।

कन्सोर्टियमले ‘सबै व्यावसायिक कारकहरू र सान्तोसको बोर्डलाई आवश्यक योजना कार्यान्वयन सम्झौताका सर्तहरूलाई ध्यानमा राखेर’ निर्णय लिएको बताएको छ।कन्सोर्टियमका अन्य सदस्यहरूमा एडिक्यू, अबु धाबी सार्वभौम सम्पत्ति कोष, र विश्वव्यापी लगानी फर्म कार्लाइल समावेश छन्।

जूनमा, कन्सोर्टियमले विश्वव्यापी प्राकृतिक ग्याँस विशाल निर्माण गर्न सान्तोसको लागि १८ अर्ब ७० करोडको बोलकबोलका लागि नेतृत्व गरेको थियो ।उक्त समयमा सान्तोसको एक उच्च समितिले अधिग्रहण सर्तहरूमा सहमत हुनका लागि यसले सर्वसम्मतिले सेयरधनीहरूसँग अत्यधिक उर्जा र न्युनतम उत्सर्जन (एडीएनओसी) को प्रस्ताव सिफारिस गर्ने योजना बनाएको छ।

अस्ट्रेलियाको एडिलेडमा मुख्यालय रहेको सान्तोसको सेवा अष्ट्रेलिया, पूर्वी टिमोर, पपुवा न्यू गिनी र संयुक्त राज्य अमेरिकामा रहेको छ । यो अष्ट्रेलिया र एशियामा तरलीकृत प्राकृतिक ग्यास (एलपी ग्यास)को प्रमुख आपूर्तिकर्ता हो।

बाँकेमा १५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष स्थगन

नेपालगञ्ज, १ असोजः बाँकेमा १५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष स्थगन भएको छ । घटस्थापनाबाट सुरु हुने रामलिला नभए पनि रावण बधको सामान्य कार्यक्रम हुनसक्ने रामलिला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिनुभयो ।

उहाँले रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको बताउनुभयो । व्यवस्थापन समितिका अध्यक्ष कनौडियाले रामलिलामा रामायणमा आधारित श्रीरामको जन्मदेखि राज्यभिषेकसम्मको रामचरित्र प्रस्तुत गर्नुपर्ने हुँदा त्यसका लागि कलाकार भारतबाट आउने भएकाले सुरक्षा चुनौती रहेको बताउनुभयो ।

यसअघि पनि कोभिड–१९ का बेला रामलिला दुई वर्ष स्थगन गरिएको थियो । नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलिलालाई यहाँका स्थानीय अवधि समुदायले संरक्षण गरिरहेका छन् । स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइलगायतले नेपालगञ्जमा रामलिला महोत्सवको सुरुआत गर्नुभएको बताइन्छ ।

उपत्यकाका १५ स्थानमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना ,भोलिदेखि सञ्चालनमा आउदै

काठमाडौँ, १ असोजः नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ ।ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । उक्त स्थानको यात्रु सहायता कक्ष भोलिदेखि सञ्चालनमा आउनेछ ।

“यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

यस्तै, यात्रु सहायता कक्षले प्रत्येक टिकट काउन्टरमा भाडादर टाँस्न लगाउनेछ । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपु¥याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

मन्त्रीद्वय घिसिङ र अर्यालले गरे प्रहरी अस्पतालका घाइतेसँग भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनीहरुले आज बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । हाल सो अस्पतालमा १६ प्रहरी र एक जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ । जेनजीले गरेको प्रदर्शनका क्रममा हालसम्म ७४ जना युवाको मृत्यु भएको छ ।

बागमती प्रदेशसभा सभामुख पाठकद्वारा राजीनामा

बागमती, १ आसिनः बागमती प्रदेशसभाक सभामुख भुवन कुमार पाठक आइ पदसँ राजीनामा देलैन अइछ । ओ उपसभामुख अपसरा चापागाईकेँ अपन राजीनामा पत्र देलक अइछ ।

नेपालके संविधान आ प्रदेशसभा नियमावली २०७४के व्यवस्था अनुसार सभामुख पदसँ राजीनामा देल गेल राजीनामा पत्रमे उल्लेख अइछ ।

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ, १ असोजः नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ ।

प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो । जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी, १ असोजः बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।

किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले पुतनाको शव दहन गरेका थिए । द्वापरयुगमा विषाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको र भगवान श्री कृष्ण भने बाँचेको खुसियालीमा असोज सङ्क्रान्तीका दिन यो पर्व मनाइने भट्टको भनाइ छ ।

भाद्र सङ्क्रान्ति तथा ओल्के सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङगोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाहरुले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिन्छ ।

साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ ‘बूढी पोल्ने’ परम्परा छ । पुतनाको स्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार– ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो ।

यस पर्वमा रातभरी देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलन लोपहुँदै गएको छ ।

एमाले कहिल्यै युवाबाट टाढा छैन : महासचिव पोखरेल

काठमाडौँ, १ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ ।

एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउनुभयो । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गर्नुभयो ।

सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरियो । एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यतापूर्वक मनाउने जानकारी दिनुभयो ।

महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिइसक्नु भएको छ ।