`

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् ।

कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ ।

आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्याङ्कले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि यही चैत २७ गतेसम्मको अवधिमा देशभर आगलागीका तीन हजार ७२० वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर एक सय पाँच जनाको ज्यान गएको छ । त्यस्तै पाँच सय ७१ जना घाइते भएका छन् भने चार हजार २६० परिवार प्रभावित भएका छन् ।

सो अवधिमा डढेलोको घटना तीन सय २८ वटा भएका छन् । डढेलोमा परेर दुई जनाको निधन भएको छ भने तीन जना घाइते भएका छन् भने ५८ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउने, ज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्नसमेत सबैमा अनुरोध गर्दै आएको छ ।

प्राधिकरणका अनुसार यही चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म देशभर कुल १९ विपद्का घटना हुँदा आगलागीका मात्रै १६ वटा रहेका छन् । सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले पनि सक्रियताका साथ सावधानी अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागीका घटना नियन्त्रणका लागि आफ्ना निकायलाई परिचालन गरेको छ ।

इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव

काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले आज यहाँको हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरणको प्रयोग गर्न सुझाव दिएका हुन् ।

वातावरणविद् भुषण तुलाधरले घरमा हुने वायु प्रदूषण घटाउन भान्सामा ग्यासको सट्टा विद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले प्लास्टिकलगायतका फोहर नजलाउन, औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न सुझाव दिए ।

वातावरणविद् शिलशिला आचार्यले परम्परागत ज्ञान र सीपलाई आधार मानेर अभ्यासमा ल्याउन सके वातावरण संरक्षणमा टेवा पुग्ने धारणा राखे ।
उनले वातावरणलाई स्वास्थ र समाजसँग जोडेर अघि बढ्न आवश्यक रहेको बताए ।

समाजका अध्यक्ष महेशकुमार श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृतिका विषयमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताए । समाजका उपाध्यक्ष एवं शिक्षाविद् उत्तमराज त्रिपाठी र महासचिव इञ्जिनियर मोहन पौडेलले वातावरण संरक्षण र प्रदूषण कम गरी जीवन्त हाँडीगाउँ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा भान्सामा ग्यासको सट्टा विद्युत्को प्रयोग बढाउन सके तुलनात्मक रूपमा खर्च कम हुने र वायु प्रदूषण कम हुनेबारे जानकारी दिइएको थियो । यस्तै, वायु प्रदूषणका कारण नेपालमा प्रतिवर्ष ४० हजारभन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिए ।

आइपिएल : चेन्नाईसँग दिल्ली २३ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंङ्स विजयी भएको छ ।शनिबार राति भएको खेलमा चेन्नई सुपर चेन्नाईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।

चेन्नाईका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५६ बलमा अविजित ११५ रन बनाए । उनलाई अर्का ब्याट्सम्यान आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाए । शिवम दुबेले आक्रामक खेल्दै १० बलमा अविजित २० रन बनाए ।किङ्सले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८९ रन मात्र बनाउन सक्यो ।

जुम्लामा शैक्षिकसत्र अगावै आइपुग्यो पाठ्यपुस्तक

जुम्ला । जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।

विद्यालय सञ्चालनमा आएलगत्तै सबै स्थानीय तहका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने गरी शिक्षा शाखालाई निर्देशन दिइसकेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ ।

जिल्लाका अरु स्थानीय तहले विद्यालयमा पाठ्यपुस्तक लैजाने तयारी गरिरहेको गाउँपालिकाका शिक्षा शाखाहरुले जनाएका छन् । यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।

विमानस्थल र प्राधिकरणको रकम विवाद : पोल नहट्दा पोखरा-मुग्लिन सडक विस्तार प्रभावित

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्युत् सबस्टेसनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्भिस लेन र फुटपाथ निर्माण हुन नसकेको हो ।

सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत्का पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि कुनै सुनुवाइ नभएको बताए । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ ।

उक्त स्थानमा विद्युतीय तार भूमिगत गर्न संरचना बनाएबापतको भुक्तानी विमानस्थल कार्यालयबाट नहुँदासम्म विद्युत् पोल हटाउन नसकिने जानकारी प्राधिकरणले दिएको इन्जिनियर कुँवरले बताए । नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले विमानस्थल क्षेत्रमा तार भूमिगत गर्न संरचना तयार भइसके पनि विमानस्थलले भुक्तानी नदिएसम्म सेवा सञ्चालन गर्न नसकिने उल्लेख गरे ।

विमानस्थलले रु. एक करोड ६३ लाख प्राधिकरणलाई तिर्नुपर्ने उनको भनाइ छ । “विमानस्थलको डेडिकेटेड लाइनलाई भूमिगत संरचनामा लैजाँदाको खर्च प्राधिकरणलाई भुक्तानी भएपछि मात्र भूमिगत सेवा सुरु हुन्छ”, उनले भने, “भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् पोल हट्छन्, सडक आयोजनाले आफैँ पनि हटाउन सक्छ ।”

भूमिगत लाइन सुरु नभएका कारण विमानस्थलमा अहिले पुरानै संरचनाको विद्युत् सेवा सञ्चालनमा छ । प्राधिकरणका इन्जिनियर सुवेदीले विमानस्थल व्यवस्थापनबाट रकम जम्मा गरिदिने आश्वासन मात्र आउने गरेको बताए । “यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसँग शनिबार पोखरामा छलफल भएको छ, मन्त्रालय तहबाट यसको समाधान हुनेमा हामी आशावादी छौँ”, उनले भने ।

निर्माणको भुक्तानी नआएसम्म भूमिगत विद्युतीय लाइन सञ्चालनमा ल्याउँदा पछि कानुनी समस्या पर्न सक्ने भन्दै प्राधिकरणले पहिले विमानस्थलले रकम तिर्नुपर्ने अडान राख्दै आएको छ । कुँडहरचोकबाट विमानस्थल प्रवेशमार्गसम्मको झन्डै एक किमी दूरीमा तार भूमिगत गर्नका लागि प्राधिकरणले संरचना निर्माण गरिसकेको छ । सडक आयोजनाका इन्जिनियर कुँवरले विद्युत् पोलसँगै मापदण्डविपरीतका संरचना शीघ्र हटाउन, खानेपानी पाइप, कटान गरिएका रुखलगायतलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेता गरिएको बताए ।

सडक आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने)को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उनको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई आगामी असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७७ दशमलव ४७ र वित्तीय प्रगति ६२ दशमलव २० प्रतिशत पुगेको छ ।

कुल ३८ दशमलव ७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव २८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६ दशमलव ३२ किमीको सर्भिस लेनमा हालसम्म १७ दशमलव ६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए ।

विसं २०७८ माघमा ठेक्का भई विसं २०८० वैशाखदेखि निर्माण सुरु भएको विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्न लागिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारबाट पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकबाट सभागृह, पृथ्वीचोक, जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ ।

मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शनिबार मध्यरातमा चितवनको भरतपुर पुगेका छन् ।शनिबार राति चितवन पुगेका गुरुङलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा औपचारिक स्वागत गरिएको थियो ।

बागमति प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, प्रहरी उपरीक्षक एक नारायण कोइराला लगाएतले गुरुङलाई स्वागत गरेका हुन् ।

आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी र हिमाली भूभाग आंशिक बादल लागेको छ भने तराईमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगातय बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

यस्तै, आज राती देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

डिभाइडर नाघेर गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेका अनुसार गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।ढक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संखुवासभामा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, दुई गम्भीर घाइते

किमाथाङ्का (सङ्खुवासभा) । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।

आज दिउँसो भएको दुर्घटनामा घाइते भएका तीन जनामध्ये खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनिष कुमालको मनकामना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार दुर्घटनामा घाइते खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो । लगत्तै नेपाली सेना, इन्द्र गुल्मको टोलीले घाइतेको उद्धार गरेर मनकामना सामुदायिक अस्पताल पठाएको थियो ।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् ।

रेडियो नेपालकर्मी राधा ढुंगाना डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२ बाट सम्मानित

काठमाडौं । डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२ पत्रकार राधा ढुंगानालाई प्रदान गरिएको छ। गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) ले आफ्नो २७औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशनको अवसरमा ढुंगानालाई सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरेको हो।

पत्रकारितामार्फत गाउँ पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको कदर गर्दै उनलाई सम्मान गरिएको भिटोफकी निवर्तमान अध्यक्ष शकुन्तला देवकोटाले जानकारी दिनुभयो। गाउँ तथा घरबास (होमस्टे) पर्यटन प्रवर्द्धनका अग्रणी अभियन्ता डा. सुरेन्द्रभक्त प्रधानाङ्गकै नाममा स्थापना गरिएको यस पुरस्कारले पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रत्येक दुई वर्षमा सम्मान गर्दै आएको छ। सोही उद्देश्यअनुसार स्थापना गरिएको अक्षयकोषमार्फत यस वर्ष ढुंगानालाई नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको हो।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने डा. सुरेन्द्रभक्त प्रधानाङ्ग स्वयंले पुरस्कार हस्तान्तरण गर्नुभयो।

सम्मानित पत्रकार राधा ढुंगाना विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ। सोलुखुम्बुको हिमाल एफ.एम.बाट सञ्चार यात्रा सुरु गर्नुभएकी उहाँले नागरिक राष्ट्रिय दैनिक, रेडियो नागरिक, इमेज एफ.एम., उज्यालो रेडियो नेटवर्क, खबरहब र योहो टेलिभिजनजस्ता सञ्चारमाध्यममा कार्य अनुभव बटुल्नुभएको छ। हाल उहाँ रेडियो नेपालमा समेत सक्रिय हुनुहुन्छ। रेडियो नेपालबाट प्रसारण हुँदै आएको ‘देश दर्शन’ नामक पर्यटनसम्बन्धी कार्यक्रम विगत दुई वर्षदेखि उहाँकै सञ्चालनमा नियमित रूपमा प्रस्तुत हुँदै आएको छ।

पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरुः इरानी सञ्चारमाध्यम

तेहरान। मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी सञ्चारमाध्यमले शनिबार बताएका छन् ।फार्स र तस्निम समाचार संस्थाले इरानी स्रोतलाई उल्लेख गरी भनेका छन्, “वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना) को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले शान्ति वार्ता सुरु भएको बताएको छ भने मेहर र इस्नाले पनि वार्ता सुरु भएको पुष्टि गरेका छन् ।

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक रहेको बताएका छन्।उनले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको र हिमाल तथा महासागरको भविष्य एक-अर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गरेका छन्।

मन्त्री खनालले जलवायु परिवर्तन र क्षेत्रीय द्वन्द्वका असरबारे चिन्ता व्यक्त गर्दै नियममा आधारित बहुपक्षीय प्रणालीमा जोड दिएका छन्।काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका छन् ।

मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले मध्यपूर्वमा भइरहेको द्वन्द्वका क्रममा नेपालले एक जनाको ज्यान गुमाइसकेको र अन्य केही घाइते भएको उल्लेख गरे ।

“पश्चिम एसियामा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन् । लाखौँ नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन्, उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो”, उनले भने ।

मन्त्री खनालले द्वन्द्वका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएका र त्यसले इन्धन मूल्य, आपूर्ति शृङ्खला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको धारणा राखे । ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ विषयक सम्मेलनमा उनले नेपालका लागि, सामूहिक संरक्षकत्वको सुरुआत एउटा सरल सत्यबाट हुने र हिमाल तथा महासागरको भविष्य एक–अर्कासँग अविच्छिन्न रूपमा जोडिएको उल्लेख गरे ।

“नेपाल सरकारको दृष्टिमा संरक्षकत्व भनेको संकीर्ण स्वार्थभन्दा माथि उठेर साझा उत्तरदायित्व बहन गर्नु हो । यसका लागि समावेशी, पारदर्शी र नियममा आधारित बहुपक्षीय प्रणाली आवश्यक छ, जसले अन्तरराष्ट्रिय कानुन, सार्वभौमिक समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई मार्गदर्शन गर्छ”, मन्त्री खनालले भने ।

उनले नेपाल संवादको साझेदार, भूपरिवेष्ठित राष्ट्रहरूको आवाज र पहाड तथा महासागरबीचको सेतु बन्न तयार रहेको बताए । नेपाल भूपरिवेष्ठित मुलुक भएपनि हिन्द महासागरसँग यसको सम्बन्ध प्राचीन, स्वाभाविक र अविभाज्य रहेको उल्लेख गर्दै मन्त्री खनालले इतिहासमा नेपाली व्यापारी, तीर्थयात्री र विद्वानहरूले हिमालदेखि महासागरसम्म जोड्ने मार्गहरू प्रयोग गरेको बताए ।

“यी मार्गहरूले व्यापार मात्र होइन, विचार र दर्शन पनि प्रवाह गरेका छन् । विशेषगरी, लुम्बिनी (नेपाल) मा जन्मनुभएका गौतम बुद्धका शिक्षाहरू यिनै मार्गबाट फैलिएका हुन् । आज यही विचार आधुनिक विज्ञान र भू–राजनीतिमा पनि थप आवश्यक छ”, उनले भने ।

मन्त्री खनालले हिन्दुकुश हिमालय क्षेत्र विश्वका अर्बौँ मानिसका लागि पानीको मुख्य स्रोत भएको उल्लेख गर्दै यहाँका हिमनदीहरू अन्ततः हिन्द महासागरमा मिसिने भएकाले तिनको भविष्यबारे पनि सोच्नुपर्नेमा जोड दिए । “जलवायु परिवर्तनले यस अन्तरसम्बन्धलाई अझ स्पष्ट र चिन्ताजनक बनाएको छ । नेपालमा हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ”, उनले भने, “अर्कोतर्फ, हिन्द महासागर तीव्र रूपमा तातिरहेको छ, जसले समुद्री सतह बढाएर टापु राष्ट्रहरूलाई खतरा पुर्याइरहेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घ र कोप सम्मेलनहरूमा यस विषयमा आवाज उठाउँदै आएको छ । यसै सिलसिलमा ‘सगरमाथा संवाद’ नामक अन्तरराष्ट्रिय मञ्च स्थापना गरेको छ ।”

नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेको र यसप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्री खनालले भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताए । यो विशेष सुविधा नभई कानुनी अधिकार भएको पनि उनको भनाइ थियो ।

हिन्द महासागर विश्व व्यापार र ऊर्जा आपूर्तिको केन्द्र भएको बताउँदै मन्त्री खनालले नेपाल समुद्री आतङ्कवाद, डकैती, लागुऔषध र मानव तस्करी जस्ता चुनौतीप्रति चिन्तित रहेको उल्लेख गरे । “हामी विवाद समाधानका लागि संवाद र अन्तरराष्ट्रिय कानुनको समर्थन गर्छौँ । हामी भूगोलले मात्र होइन, साझा जिम्मेवारीले पनि जोडिएका छौँ”, उनले भने

इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

इस्लामावाद। इरान सरकारको एक प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका सर्तहरूमा छलफल गरेको छ ।

इस्लामावादको सेरेना होटलमा पहिलो वार्ता चलिरहँदा इरानी सञ्चारमाध्यमले प्रधानमन्त्री शहबाज सरीफसँगको बैठकको अन्त्यमा इरानी पक्षले अमेरिकीहरूसँग प्रत्यक्ष वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने बताएका छन् ।

इरानले यसअघि नै लडाईको स्थायी अन्त्यको कुनै पनि सम्झौतामा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनु्पर्ने र लेबनानमा हेजबुल्लाहमाथि इजरायलको युद्धको अन्त्य समावेश हुनुपर्ने बताएको थियो ।

अमेरिकी उपराष्ट्रपति भान्सले रोक्का इरानी सम्पत्तिको फुकुवा इस्लामाबादमा छलफलको बिषय नहुने बताउनुभएको छ ।संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका शक्तिशाली सेना प्रमुख असिम मुनिरले स्वागत गरेपछि दुवै पार्टी वार्ता स्थलमा पुगेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुमधुर व्यक्तिगत सम्बन्ध रहेका मुनीरले भान्सलाई पनि स्वागत गर्नुभएको थियो । उहाँलाई नुर खान हवाई अड्डामा विशेष सम्मानसहित स्वागत गरिएको थियो । उक्त अवसरमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि आफ्ना उपराष्ट्रपतिको स्वागतका लागि उपस्थित हुनुह्ुन्थ्यो ।

युद्धरत पक्षहरू अझै पनि प्रतिबन्ध, लेबनानमा युद्धविराम सम्झौताको पालना र रणनीतिक स्ट्रेट अफ हर्मुज खोल्ने जस्ता प्रमुख मुद्दाहरूमा टाढा रहेको देखिन्छ र उनीहरूले आपसी शङ्का लुकाउने कुनै प्रयास गरेनन् ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

दाङ। दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ ।प्रतिस्पर्धी नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । अघिल्लो वर्षको विजेता गुल्मीले फाइनल खेलमा नवलपरासीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले पराजित गरेको हो ।

उपाधिसँगै गुल्मीले नगद रु एक लाख, ट्रफी र मेडल र दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले रु ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।यही चैत २५ गते सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागिता रहेको थियो ।

प्रतियोगितामा रुपन्देही तेस्रो र प्युठान चौथो भएका छन् ।रुपन्देहीले प्युठानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान कायम गरेको हो । रुपन्देहीले नगद रु ३५ हजार र चौथो भएको प्युठानले रु १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

बाहुबली शैलीमा निर्माण गरिएको शंकर श्रेष्ठको प्रेमको जीतमा आर्यन सिग्देल र आश्विनी

काठमाडौँ । शंकर श्रेष्ठ, अविज्ञा घिमिरे र विषम आचार्यको स्वर रहेको प्रेमको जीत बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम, रोमान्स र विरहले भरिएको ८ मिनेट लामो  वियोगान्त गीत  प्रेमको जीतको भिडियोलाई बलिउड स्टाइलमा निर्माण गरिएको छ । अहिले बजारमा बनिरहेका भिडियोहरु भन्दा भिन्न शैली र म्यूजिक भिडियोमा पनि फिल्मी शैलीको प्रयोग गरेर बनाइएको भिडियो  हेर्दा लाग्छ यो कुनै सिनेमा  भन्दा कम छैन  ।

अभिनेता आर्यन सिग्देललाई अहिलेसम्मकै भिन्न अवतारमा देखाइएको भिडियोमा गायक शंकर स्वयमको अभिनय देख्न सकिन्छ । भिडियोमा सुन्दरी मोडल अश्विनी  शाहीलाई हट एण्ड बोल्ड अवतारमा उतारेका छन् निर्देशक केशवराज भट्टले । भिडियोमा आश्विनी चिटिक्क देखिएकी छिन् । उनी हाँस्दा लाग्छ स्वर्गकै परि हुन् । तर बिडम्बना उनको प्रेमको  जित त भयो तर उनका प्रेमी नै रहेनन् र त दुवै एकसाथ बिदा भए । वियोगान्त प्रेमको कथालाई निर्देशक  भट्टले न्याय गरेका छन् ।  निर्देशक  भट्टले अभिनेताद्धय आर्यन र शंकरका अलावा सुन्दरी मोडल आश्विनीलाई सुहाउँदो गेटअपमा उतारेका छन् ।

दृश्यहरु पनि तारिफयोग्य छन् भने भिडियो छायांकन गरिएको स्थान पनि निकै लोभलाग्दो छ । जसका सिनहरु गज्जब लाग्छन् ।  लिखु सहयात्रीको शब्द संगीत रहेको गीतमा विषय आचार्यकै एरेन्ज  मिक्सिगं र मासटरिगं रहेको  छ । करण चैसरको छायांकन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियो गायक श्रेष्ठकै अफिसियन च्यानल शंकर श्रेष्ठबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । दाङ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ ।आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ अङ्कले पाल्पालाई पराजित गरेको हो ।

उपाधिसँगै विजेता रुपन्देहीले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद ६५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त रुकुम पूर्वले नगद ३५ हजार र चौथो स्थान प्राप्त बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

नुवाकोट। आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् । उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

उपसभामुख रुवीलाई संसदमा बहिनी भनेर सम्बोधन गरिएपछि सुमना श्रेष्ठले दिइन् हर्क साम्पांगलाई धन्यवाद र उपसभामुखलाई सुझाव

काठमाडौं – सुमना श्रेष्ठले उपसभामुख रुवीकुमारी ठकुरीलाई संसदमा बहिनी भनेर सम्बोधन गरिएपछि हर्क साम्पांगलाई धन्यवाद र उपसभामुख रुबीलाई सुझाव दिएकी छिन् ।

उनले सांसदलाई बहिनी वा चेली जस्ता पारिवारिक शब्द प्रयोग गरेर सम्बोधन गर्नु उचित नहुने बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् – अघिल्लो अधिवेशनमा “चेली”, यसपटक “बहिनी”!अघिल्लो अधिवेशनमा कुनै पुरुष सांसदले “चेली” शब्दको निहितार्थ बुझ्न सकेनन्, तर यस पटक एउटा पुरुष सांसदले बोले!

त्यहाँ उपस्थित सबै जना सांसद हुन्!“चेली” र “बहिनी” आफ्नै ठाउँमा अपमानजनक शब्द होइनन्। तर जब औपचारिक वातावरणमा पुरुषलाई “माननीय सांसदज्यू” भनिन्छ र महिलालाई “बहिनी” भनेर सम्बोधन गरिन्छ, त्यो एक अर्थमा स्मरण गराउने प्रयास हो — कि हामी तपाईंलाई बराबरीका रुपमा हेर्दैनौं, तपाईंलाई पारिवारिक शब्दमा बाँधेर सीमित गर्न खोजिरहेका छौं।

प्रिय उपसभामुखज्यू, तपाईं संसदको पूर्ण बैठकमा हुनुहोस् वा कार्यालयमा अनौपचारिक छलफलमा—कसैलाई तपाईंलाई “बहिनी” भनेर सम्बोधन गर्न नदिनुहोस्, जब उनीहरू एकअर्कालाई “माननीयज्यू” भन्छन्।तपाईं हाम्रो उपसभामुख हुनुहुन्छ, संयोगवश तपाईं सबैभन्दा कान्छी हुनुहुन्छ, बस् त्यत्ति मात्र।समान सम्मानको सीमाना भाषाबाट नै सुरु हुन्छ—हामीले सम्बोधनमा समानता ल्याउन सकेनौं भने व्यवहारमा समानता कसरी सम्भव हुन्छ?

बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् ।उनको सचिवालयका अनसार भट्टराई भोलि (आइतबार) भारत प्रस्थान गर्ने छन् ।भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

उक्त कार्यक्रम राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको हो भने भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि जोडिएको छ ।भट्टराईसँगै उनकी पत्नी तथा पूर्वमन्त्री हिसिला यामी पनि भारत जाने कार्यक्रम रहेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु १८, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ११०, तिते करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ११०, चिचिन्डो प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ९०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु १००, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु ३२०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ८०, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १४०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौँ। सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ ।यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ ।

कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्नका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ ।

यस्तै, तलै कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शुन्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको स्पष्ट पारिएको छ ।यस अभियानको मुख्य उद्देश्य कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमै टुङ्गो लागोस् भन्ने रहेको छ ।

सोही उद्देश्यले यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनका लागि मार्गदर्शन जारी गरिएको उल्लेख गरिएको छ ।मार्गदर्शन अनुसार, कार्यालयमा थन्किएका तथा अनिर्णित फाइलको प्रक्रिया पूरा गरी शीघ्र टुङ्गो लगाउनु, कुन फाइल कुन पदाधिकारी समक्ष कति दिन रह्यो भनी दैनिक रूपमा अभिलेख राख्नु रहेको छ ।

मार्गदर्शनअनुसार, अब तीन दिन, सात दिन वा १५ दिनभन्दा बढी समयदेखि रोकिएका फाइलमा स्वतः समिक्षा प्रक्रिया लागू गर्नुपर्नेछ ।निर्णय गर्न सकिने विषयलाई अनावश्यक रूपमा माथिल्लो तहमा नपठाइ सम्बन्धित तहबाटै टुङ्ग्याउने पद्दतीको विकास गर्नुपर्नेछ । काम हुने वा नहुने फाइलकाो स्पष्ट टुङ्गो लगाउनु र सेवा प्रवाहमा गति, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्नुपर्नेछ ।

दैनिक रूपमा प्रत्येक कार्यालय, महाशाखा, शाखा वा एकाइले दैनिक रूपमा दर्ता नम्बर, टिप्पणी फाइलको विषय, दर्ता मिति, हाल फाइल रहेको टेबल वा जिम्मेवार कर्मचारी वा पदाधिकारी, उक्त टेबल वा तहमा बसेको दिन सङ्ख्या, कुल पेन्डिङ दिन, हाल फाइलको प्रगति अवस्था, ढिलाइ हुनाको कारण र निर्णय हुने अपेक्षित मितिसहितको विवरणसहितको फाइल सूची तयार पार्नुपर्ने मार्गदर्शनमा समावेश छ ।

मार्गदर्शनअनुसार, फाइल ट्रयाकिङलाई अभियानको मुख्य आधार मानिनेछ । हरेका कार्यालयले स्पष्ट रूपमवा देखिने गरी कुन फाइल कहाँ कसको जिम्ममा, कति दिनदेखि रहेको छ भन्ने विवरण दैनिक रूपमा अद्यावधिक गर्नुपर्नेछ ।

यस्तै, पूराना फाइलको प्रारम्भिक समिक्षा गर्नुपर्नेछ । एक टेबलमा वा तहमा तीन दिनभन्दा बढी रहेको फाइलमा सम्बन्धित शाखा प्रमुख वा जिम्मेवार अधिकारीले कारण समीक्षा गरी तुरुन्त निर्णय वा कार्यान्वनय प्रक्रियामा अगाडि बढाउनुपर्नेछ ।

सात दिनभन्दा बढी रोकिएका फाइलमा महाशाखा प्रमुख वा कार्यालय प्रमुखस्तरबाट अनिवार्य समीक्षा गरी ढिलाइको कारण पत्ता लगाउने, जिम्मेवार पक्ष स्पष्ट गर्ने र टुङ्ग्याउने समयसीमा तोक्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।

शून्य बाँकी फाइल सप्ताह अभियान समन्वय समिति गठन गरिएको छ । सो समितिमा कार्यालय प्रमुख संयोजक, सम्बन्धित महाशाखा प्रमुख, प्रशासन प्रमुख योजना अनुमगन शाखा प्रमुख सदस्य रहनेछन् । यस्तै, सूचना प्रविधि प्रतिनिधि र कार्यालय प्रमुखले तोकेको कर्मचारी भने सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

मार्गदर्शनले कार्यालय प्रमुख, महाशाखा प्रमुख, शाखा प्रमुखको पनि काम कर्तव्य तथा अधिकार स्पष्ट पारेको छ । अभियान अवधिचर प्रत्येक कार्यालयले दैनिक प्रगति विवरण राख्नुपर्नेछ ।

त्यसमा सुरुमा रहेको कूल पेन्डिङ फाइल सङ्ख्या, अभियान अवधिमा प्राप्त नयाँ फाइल सङ्ख्या, टुङ्गिएका फाइल सङ्ख्या, बाँकी रहेका फाइल सङ्ख्या, १५ दिनभन्दा पूराना बाँकी रहेका फाइल सङ्ख्या र मुख्य समस्या तथा सुधारका लागि सुझाव उपलब्ध गराउनुपर्नेछ ।

यो अभियान सञ्चालनपछि पेन्डिङ फाइदको सङ्ख्या घट्ने, जिम्मेवारी स्पष्ट हुने, निर्णय प्रक्रियामा गति आउने, सेवा प्रवाहमा सुधार हुने, कार्यालयमा फाइल थन्किने संस्कारमा कमी आउनेछ ।

यस्तै, अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने कर्मचारीलाई प्रशंसा , प्रमाणपत्र वा उपयुक्त प्रोत्साहन दिन सकिनेछ । यस्तै, जानाजान फाइल थन्क्याउने, अनावश्यक ढिलाइ गर्ने वा जिम्मेवारीबाट पन्छिने कर्मचारीको हकमा प्रचलित कानुन बमोजिम विभागिय कारवाही प्रक्रिया अगाडि बढाउन सकिने छ ।

बजारलाई स्वच्छ र मर्यादित बनाउन अनुमगन जारी

काठमाडौँ। बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ ।विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारवाही गरिएको छ ।

काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुमगन गरेको थियो । उल्लेख्य रूपमा फर्म तथा व्यवसायमा अनुमगन गरिएको र सुधारात्मक निर्देशन दिइएको विभागले शुक्रबार उल्लेख गरेको छ ।

कलाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरण नियन्त्रण तथा अधिकत्तम खुद्रा मूल्य कायम गरे नगरेको विषयमा विभागले नियमित बजार अनुमगन गर्दै आएको छ । बिहीबार ५१ फर्ममा अनुमगन गरेको विभागले शुक्रबार ५६ फर्ममा अनुमगन गरेको उल्लेख गरेको छ ।

परराष्ट्रमन्त्री खनालसँग भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं। नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करसँग भएको भेटमा बहुआयामिक नेपाल–भारत सम्बन्धको समग्र समीक्षा हुनका साथै आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीद्वयले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसैगरी, मन्त्री खनालसँग भुटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डी. एन. धुङ्गेलसँग पनि भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल–भुटानबीचको घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका प्रमुख क्षेत्रमा सहयोग अभिवृद्धि गर्नेबारेमा छलफल भएको थियो ।

मन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री खलिलुर रहमानसँग पनि भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै उहाँहरूले सहयोगका विविध क्षेत्र विस्तार गरी पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विमर्श गर्नुभएको थियो ।

चौबिस घण्टाभित्र देशभरका सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन आवश्यकताअनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

विमानस्थलको सरसफाइ अन्तरराष्ट्रिय मापदण्डअनुरुप बनाउन, दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली कायम गर्न, विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ । शौचालयमा महिला यात्रीका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले दिएका निर्देशन कार्यान्वयन गरी मन्त्रालयमा सूचना प्रवाह गर्न निर्देशन दिइएको छ । आम नागरिक तथा यात्रीलाई पनि सरकारका तीन निर्देशन कार्यान्वयन भएनभएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारीलाई दिन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जारी गर्नुभएको निर्देशनमा जनाइएको छ ।

साझा यातायातले वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौँ । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ।

सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा बुढानीलकण्ठबाट छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक र ४६ मिनेटमा लगनखेल पुगेको थियो भने थानकोटबाट छुटेको बस २१ मिनेटमा कलंकी र ४५ मिनेटमा विमानस्थल पुगेको पाइएको छ। सोही आधारमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने गरी समय तालिका मिलाइएको छ।

दक्षिण रुटअन्तर्गत लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ। त्यस्तै, बुढानीलकण्ठबाट फर्किने बस महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली हुँदै लगनखेल पुग्नेछ।

पूर्व–पश्चिम रुटमा थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, बानेश्वर हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म बस सञ्चालन हुनेछ। फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै पुनः थानकोट पुग्नेछ। नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन्।

रात्रिकालीन सेवा सञ्चालनका लागि काठमाडौं महानगरपालिका का कार्यवाहक प्रमुख सुनिता डंगोल को अध्यक्षतामा बसेको बैठकले आवश्यक समन्वय गरेको हो। बैठकमा चिरीबाबु महर्जन, धनश्याम गिरी लगायत सरोकारवालाको सहभागिता रहेको थियो।

यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा ४ वटा सीसीटिभी क्यामेरा जडान गरिनेछ भने काठमाडौं महानगरपालिका ले प्रत्येक बसमा एक जना नगर प्रहरी खटाउने जनाएको छ।कार्यवाहक प्रमुख डंगोलका अनुसार प्रारम्भिक ३ महिना सेवा सञ्चालनपछि यसको प्रभाव मूल्याङ्कन गरी थप सुधार र विस्तार गरिनेछ। रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार चौथो जित दर्ता गरेको छ।शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गर्दै राजस्थानले अंक तालिकामा आफ्नो पकड मजबुत बनाएको हो।

२ सय २ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको राजस्थानले मात्र १८ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रभावशाली जित निकाल्यो। राजस्थानका लागि ध्रुव जुरेलले ८१ रनको शानदार पारी खेले भने वैभव सूर्यवंशीले ७८ रनको योगदान दिए। त्यस्तै, रविन्द्र जडेजाले २४ रन थपे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो। आरसीबीका लागि रजत पाटिदारले ६३ रनको अर्धशतकीय पारी खेले। विराट कोहलीले ३२ रन जोड्दा वेंकटेश अय्यरले २९ रन बनाए।यस जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित रोयल च्यालेन्जर्स बेंगलुरु ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा सीमित बनेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।

प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो । सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै

काठमाडौं । बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ।

आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर्नुका साथै दर्शन गर्दछन् ।

अघिल्लो रात तानिएको रथलाई आज गःहिटीमा राखिने छ ।जात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्वयंसेवकहरू समेत परिचालन गरिएको छ। आठ दिन नौं रातसम्म चल्ने यो जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

बिस्का जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ, जसले नयाँ वर्षको स्वागतसँगै परम्परा, संस्कृति र सामुदायिक एकताको सन्देश दिने गर्दछ।

आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ ।यस्तै,कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान छ ।

त्यसैगरी, आज राति देशका हिमाली भू–भागमा साधारणतया बदली हुने पहाडी इलाकामा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही र कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

जापानी येन १०को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २१ पैसा र बिक्रीदर २३ रुपैयाँ ३० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ १० पैसा र बिक्रीदर ४८५ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८६ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले सोवाङधुरी ओझेलमा परेको चिमखोलाका बासिन्दा तारा गर्बुजा पुनले बताए ।

“चिमखोलादेखि सोवाङ धुरी जोड्ने दुई वर्षअघि पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माण हुन नसक्दा पर्यटक भित्र्याउन समस्या भएको छ,” पोखरामा एक दशकदेखि पर्यटन ब्यवसाय गरिरहेका गर्बुजाले भने “समुदाय तहबाट भएको प्रयासमा सरकारी निकायले साथ पाएमा सोवाङ धुरीलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न सकिने थियो ।”

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालको फेददेखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो ।

सूर्येदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिने शुक्रबार सोवाङ पुगेर आएका चिमखोला समाज बेलायतका अध्यक्ष मोति तिलिजाले बताए ।

समाजको अगुवाइमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले २७ जनाको टोली सोवाङ धुरीको पदयात्रा गरी शुक्रबार चिमखोला फर्किएको छ । टोली बिहीबार चिमखोलाबाट सोवाङधुरीतर्फ गएको थियो । सोवाङ धुरीको प्रर्वद्धनका लागि ‘म्युजिक भिडियो’ पनि छायाङ्कन गरिएको छ । हिजोआज सोवाङ धुरी आसपासको क्षेत्र हिउँले सेताम्मे बनेको छ ।

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गल बसन्तयाममा विभिन्न रङका लालीगुराँस फुलेर मनमोह कबनेको छ । घोरल, मृगलगायत जनावर र पाँच औले, सेदक चिनीलगायत जडिवुटी अवलोकन गर्न सकिन्छ ।

चिमखोलाको मण्डली युवा क्लवले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत–जसलाङ–सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला– उपल्लोमेला– आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका थिए ।

सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्दथे ।

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर आश्रयस्थल भवन निर्माण गरेका छन्।

सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयसस्थल निर्माण गरिएको हो । गर्बुजाको अगुवाईमा यसअघि सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पीङ गर्ने ठाउँ नजिकै ५००–५०० लिटर क्षमताको दुई वटा ड्रम राख्नुभएको थियो । वडा कार्यालयले पनि थप दुई वटा ड्रम राखेका छन् ।

हिउँ पग्लीएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा रघुगङ्गा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । होटल र रेष्टुरेष्ट नभएकाले वन्दोबस्तीका सामान सहित जानुपर्छ ।

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

महानिर्देशकमाथि छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको वा नगरेको भन्ने विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको यही चैत २६ गतेको पत्रअनुसार प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी उजुरी प्राप्त भएको जनाउँदै सो विषयमा छानबिन गर्न मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठ, मन्त्रालयका कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञ कविन मलेकु गरी तीन सदस्यीय समिति गठन गरेको जनाएको छ ।

मन्त्रालयले उक्त समितिलाई सो विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नसमेत जिम्मेवारी तोकेको छ ।

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडौँ। वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित आज पक्राउ गरेको हो ।

मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । अख्तियारको टोलीले निजको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ ।

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी। चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ ।निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणअन्तर्गत सेहरी सुरक्षा पोष्टबाट परिचालित टोली गस्ती जाने क्रममा अकस्मात् अर्ध वयस्क बच्चासहितको पोथी गैँडाले टोलीको एक जना सिपाहीलाई आक्रमण गरेको थियो ।आत्मरक्षाका लागि गैँडा धपाउन १४ राउन्ड हवाई फायर गर्दा पनि गैँडा नभागेपछि आक्रमणमा परेका सिपाहीको बचाउका लागि थप दुई राउन्ड गोली चलाउँदा गैँडालाई लागेको निकुञ्जले जनाएको छ ।गोली लागेर अन्दाजी २४ वर्षको पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको हो ।

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

बाँके। अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले गरिबी, बेरोजगारी र खुला सीमाका कारण चोरी पैठारी हुने गरेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयको राजस्व परामर्श समितिले आज यहाँ आयोजना गरेको सुझाव सङ्कलन तथा अन्तक्र्रियामा उहाँले व्यक्तिगत नाफा वा घाटाभन्दा माथि उठेर एकले अर्कालाई सहजीकरण गर्न आवश्यक भएको बताउनुभयो । सचिव उपाध्यायले कर्मचारीतन्त्रमा कुनै समस्या रहेमा बताउन आग्रह गर्दै सबै सुधारिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निकासी करको विषय हामीलाई महसुस भएको छ, तर यसलाई कानुनी रूपमा सम्बोधन गर्न केही समय लाग्छ ।”

उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्चित गतिविधिलाई राज्ले निगरानी गर्ने कुरामा जोड दिँदै सचिव उपाध्यायले अवाञ्चित गतिविधि राज्यले सहन नसक्ने उल्लेख गर्नुभयो । खुला सीमाका कारण आउने समस्यामध्ये झोले, पोकेको डम्पिङ कहाँ भएको छ त्यसको निगरानीसमेत बढाउन आग्रह गर्दै सचिव उपाध्यायले वास्तविक व्यवसायी तथा व्यापारीको संरक्षण आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले चोरीपैठारी हुनुमा प्रवृत्तिगत समस्या रहेको उल्लेख गर्दै चोरीपैठारी गरेर ल्याउने सामान गुणात्मक ढङ्गले पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले खुला सीमाका कारण ८० प्रतिशत सामानको तस्करी हुने गरेको उल्लेख गर्दै राज्यलाई राजस्व तिरेपछि त्यसको सुविधा पनि व्यवसायीले पाउनुपर्ने माग गर्नुभयो ।

जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले निकासी कर १०० प्रतिशत लगाउनु व्यावहारिक नभएको टिप्पणी गर्नुभयो । खाद्य उद्योगी प्रदीप छाछेडले कच्चा पदार्थ र तयारी मालमा लगाउने भन्सार दर एउटै हुन नहुने बताउनुभयो ।

अटो व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र ओलीले कर्मचारीको सेटिङमा तस्करी मौलाएको आरोप लगाउँदै गाडीका पार्ट घरघरमा आउन थालेको बताउनुभयो ।

गार्मेन्ट व्यवसायी कस्मिरा खातुनले निजी विद्यालयका डे«स भारतमा गएर किन्नुपर्ने बाध्यताको अन्त्य हुन जरुरी भएकामा जोड दिँदै ती डे«स नेपालगन्ज बजारमा उपलब्ध भएको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ नेपालगन्जका कार्यवाहक अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ, उद्योगी तथा व्यवसायीहरू अजयकुमार टण्डन, भुवन गैरे, सन्देश सोनी सञ्जय अग्रवाललगायतले भन्सार महसुल तथा राजस्वका विषयमा धारणा राख्नुभएको थियो ।

बालअधिकारका विषय नीति, कार्यक्रम र बजेटमा समेट्न ३४ बुँदे सुझाव

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसमक्ष बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालअधिकारसम्बन्धी ३४ बुँदे समावेश गर्न सुझाव दिएको छ ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेल, महासचिव राजु घिमिरेसहितको प्रतिनिधिमण्डलले मन्त्री बादीलाई आज उहाँकै कार्यकक्षमा भेटेर बालअधिकार संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन आग्रह गरेको हो ।

अभियानले बालअधिकार क्षेत्रमा विनियोजित बजेटको विश्लेषण गर्दै विषयगत मन्त्रालयबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न, साथै सङ्घ, प्रदेश र स्थानीय तहका नीति, योजना तथा कार्यक्रमलाई बालमैत्री बनाउँदै एकरूपता कायम गरी बाल बजेट सङ्केत प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको छ ।

बालबालिका तथा विद्यालय शान्ति क्षेत्र अवधारणाको कार्यान्वयन, बालबालिकालाई राष्ट्रिय गौरवका रूपमा स्थापित गर्ने मान्यताअनुसार कार्यक्रम तर्जुमा, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन, बालश्रममुक्त र सडक बालबालिकामुक्त राष्ट्र घोषणा, बालविवाहमुक्त स्थानीय तह, वातावरणमैत्री, अपाङ्गतामैत्री र लैङ्गिकमैत्री शासनजस्ता अभियानलाई स्रोतसाधनसहित विभिन्न मन्त्रालय तथा निकायको सहकार्यमा सञ्चालन र निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

ध्यानाकर्षणपत्रमा बालबालिकाका लागि संवैधानिक आयोग वा मानव अधिकार आयोगभित्र छुट्टै शाखा र आयुक्तको व्यवस्था गर्न, उच्चस्तरीय संयन्त्र गठन गर्न तथा कम्तीमा १० प्रतिशत बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालय र निकायबीच सहकार्य बढाउनुपर्ने माग गरिएको छ ।

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ पारित भएकोमा स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमार्फत दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म बालविवाहमुक्त देश घोषणा गर्ने लक्ष्य हासिल गर्नुपर्ने उल्लेख गरिएको छ ।

सबै स्थानीय तहमा बालअधिकार संरक्षण तथा संवद्र्धन कार्यविधि कार्यान्वयन, स्थानीय बालअधिकार समिति, बाल कोष, बालमनोविज्ञ र समाजसेवीको व्यवस्था गरी क्षमता अभिवृद्धि गर्न तथा बाल संरक्षण प्रणाली सुदृढीकरण गर्नुपर्ने सुझाव दिइएको छ ।साथै ७५३ स्थानीय तहमा आवश्यक स्रोतसाधन उपलब्ध गराई लोकसेवा आयोगमार्फत बालकल्याण अधिकारी नियुक्त गर्नुपर्ने उल्लेख गरिएको छ । रासस

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताउनुभएको छ ।नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एक वर्षपछिको स्थानीय र प्रदेश निर्वाचनलाई ध्यान दिँदै कठिन मेहनत गर्नुपर्ने छ ।”

संसारभरि ‘पपुलिजम’ र नयाँ मिडियाका कारण पुराना राजनीतिक पार्टी अप्ठ्यारोमा परेको बताउँदै उहाँले सबैतिर राजनीतिक र आर्थिक उदारवाद आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

त्यसैगरी उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नभएको बताउँदै अब एक ढिक्का भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा चिन्तन गर्न नेताहरु लाग्नुपर्नेमा जोड दिनुभयो । थापाको नेतृत्वलाई अगाडि बढाउँदै कांग्रेसले आफ्नो कार्ययोजना अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री प्रदीप पौडेलले निर्वाचनको परिणामलाई समीक्षा गर्दै सच्चिएर जाने मौका मिलेको बताउनुभयो । उहाँले पार्टीभित्र सुधार गर्नुपर्ने विषय खोज्नु पर्नेमा जोड दिनुभयो ।

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी।आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीक्षेक खटिने भएका छन् । दोस्रो आर्थिक गणनाका लागि यहाँ तीन सुपरीवक्षेक र १७ जना गणक खटिने भएका हुन् ।

जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जिल्लाका १० वटै स्थानीय तहमा खटिने गणक तथा सुपरीवक्षेक छनोट कार्य सकिएको बताउनुभयो । छनोट भएकाहरूका लागि पाँचदिने तालिम चैत २६ गतेदेखि सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

तालिमले गणक र सुपरीवेक्षकलाई आर्थिक तथ्याङ्क सङ्कलन कार्यमा थप दक्ष बनाउँदै गणनालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने गिरीले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि असार ७ गतेसम्म दोस्रो आर्थिक गणना सुरु हुँदैछ ।

गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सृजनाको अवस्था सङ्कलन गरिने कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने जिल्ला आर्थिक गणना अधिकारी गिरीले बताउनुभयो ।

उपसभामुख रुवीकुमारी ठाकुरले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष शपथ लिएकी हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्री तथा सांसदहरुको उपस्थिति रहेको थियो ।

पाल्पाको ‘अक्सिजन प्लान्ट’ पुनः सञ्चालनमा

पाल्पा। विगत दुई वर्षदेखि बन्द रहेको यहाँस्थित पाल्पा अस्पतालको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।

कोभिड–१९ का बेला सङ्घीय सरकारको बजेटबाट निर्मित सो प्लान्ट केही वर्षयता बिग्रिएको थियो । हाल प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने भएको छ । यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल तथा भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो ।

जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । प्लान्टमै प्रति सिलिन्डर सानो ३५० र ठूलो ६५० रुपैयाँमा बिक्री हुने गरेको छ । पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दाे बनाउन प्लान्ट महत्त्वपूर्ण रहेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य छ ।”

२०७८ सालको जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो । सो बजेटबाट मेसिन खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।