`

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

गोरखा । संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पारेका छन् ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गरेका हुन् । सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी द्वितीय भएका छन् ।

सनम गुरुङले सोही दूरी १९ मिनेट १९ सेकेण्डमा पार गर्दै तृतीय हुनुभएको छ भने १९ मिनेट ४४ सेकेण्डमा पार गर्दै प्रवीन थापाले सान्त्वना स्थान हासिल गरेका क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

क्लबले प्रथम हुनेलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई तीन हजार मेडल र प्रमाण, तृतीय हुनेलाई दुई हजार नगद, मेडल र प्रमाण प्रदान गरेका छन् भने सान्त्वना हुनेलाई रु एक हजार पुरस्कार प्रदान गरेको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

विजेता धावकहरूलाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका लियो क्लब अफ गोरखाका सल्लाहकार भगवानबाबु मास्के, लियो डिस्ट्रिक्ट तीन सय २५ जे नेपालका अध्यक्ष बालकृष्ण परियार, लायन्स क्लब अफ गोरखाका अध्यक्ष अयोध्या जोशीले पुरस्कार प्रदान गरेका थिए ।

जेनजीको माग जायज थियो : एमाले नेता रघुवीर महासेठ

जनकपुर । नेकपा एमालेका नेता रघुवीर महासेठले जेनजीले उठाएका मागहरु जायज रहेको बताका छन् ।शुक्रबार जनकपुरधामस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै नेता महासेठले भदौ २३ र २४ गत्ते जेनजीले गरेको आन्दोलनका मागहरु जायज रहेको धारणा राखे ।

भ्रष्टाचार बन्द होस, सामाजिक सञ्जाल सुचारु होस भन्ने मागहरु एक दम जायज रहेको र यो नेकपा एमालेको पनि माग रहेको उनले बताए । भदौ २३ र २४ गत्ते भएको लुटपाट, आगजनी, कुटपीट लगायतका घटनामा देशी विदेशी षड्यन्त्रकारीहरुको हात रहेको उनले बताए । नेता महासेठले ती देशी विदेशी षड्यन्त्रकारीहरुले नै जेनजी युवाहरुको हत्या गरेको बताए ।

जेनजीको शरीरमा लागेको गोली नेपाल प्रहरी वा नेपाली सेनाको नभएको नेता महासेठले दाबी गरे । आन्दोलन चर्काउन र प्रजातन्त्र समाप्त गर्नका लागि सार्प सुटर प्रयोग गरी ती जेनजीको हत्या गरिएको उनले बताए । नेता महासेठले ती सम्पूर्ण घटनाको निश्पक्ष छानबीन गरी दोषी जो सुकैलाई कारबाही गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।नेता महासेठले विगतमा भएका गल्तिहरुलाई सुधार गरी आगामि दिनमा फेरि नेकपा एमाले देशको पहिलो पार्टी बन्ने दाबी गरे ।

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ ।संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले उत्पन्न सङ्कटबाट मुलुकलाई निकास दिएको बताउनुभयो । राष्ट्रपति पौडेलले देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेगरी अहिलेलाई राजनीतिक निकास दिएको प्रसङ्ग उल्लेख गर्दै तोकिएको समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी दिगो ढङ्गबाट राजनीतिक निकास दिने पक्षमा चालिएको कदमलाई सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग अनुरोध गर्नुभयो ।

उहाँले अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भई समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “यो संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदाय सम्बद्ध जनतालाई समान हक दिएको छ । र, समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ । हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौँ ।”

राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ ।”

राष्ट्रपति पौडेलले हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ, सुशासनप्रति प्रतिबद्ध रहनेछौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथा मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ भनी संविधान दिवसको दिनमा सबैलाई सङ्कल्प गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दल, सरकार, राज्यका निकाय र आमनागरिक सबै मिलेर हाम्रो संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउँदै नेपाली नागरिकले परिवर्तनका आन्दोलमा देखेका सपनाहरू पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रामा अघि बढ्न सकौँ भन्ने शुभकामना पनि दिन चाहन्छु । र, यस कठिन परिस्थितिमा हाम्रा सबै मित्र राष्ट्रहरूको निरन्तर सहयोग तथा सद्भावको अपेक्षा पनि गर्दछु ।”

राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहनाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो त्यो सबैले मिलेर गरेको उल्लेख गर्दै मुलुक फेरि एकपटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनःनिर्माण गर्दै छ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो ।”

राष्ट्रपति पौडेलले दुई दिनको विरोध प्रदर्शनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै भन्नुभयो, “छोराछोरीको एउटा अभिभावकका रूपमा म जीवन गुमाउने ती युवाहरूका बुबाआमाको पीडा अनुभव गर्न सक्छु । त्यसक्रममा भएको राष्ट्रको अपूरणीय जनधनको क्षतिको पनि अनुमान गर्दछु । राष्ट्रको अभिभावकका रूपमा मुलुकले ती कर्णाधार युवाहरू गुमाउँदाको क्षति अनुभूत गर्न सक्छु । आज संविधान दिवसका दिन म ती सारा युवाहरूको जागरुकता र सदिच्छा स्मरण गर्न चाहन्छु, जो मुलुकमा थिति बसोस् र राष्ट्रको भविष्य उज्ज्वल होस् भनेर भदौ २३ गते सडकमा आएका थिए ।”

राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि हाम्रो संविधानले सदैव मार्गदर्शन गर्दछ । सबैलाई थाहा छ कि हाम्रो संविधानले लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य लिएको छ । यो लक्ष्यका लागि राज्यबाट प्राप्त हुने सेवासुविधा र अवसरमा समान पहुँच कायम गर्नु, सामाजिक सुरक्षा सुनिश्चित गर्नु र समावेशी विकासलाई गति दिनु आजको मुख्य आवश्यकता हो ।”

राष्ट्रपति पौडेलले आजको सुशासन, बेथितिको अन्त्य, रोजगारी सृजना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सकेमात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव भएको भन्दै जेनजी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य होस् भन्ने कुरालाई सबैले मनन गरी सुध्रिएर अघि बढ्न आग्रह गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा बाबुराम भट्टराई तथा जेनजी पुस्ताका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका विभिन्न क्षेत्रका महानुभावहरू सहभागी हुनुहुन्थ्यो ।

‘संविधानभित्रै लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित छ’

काठमाडौँ – संविधानविद् र अधिकारकर्मीहरुले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा गर्नुपर्ने आजको मुख्य दायित्व रहेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा राखेको जिज्ञासामा उहाँहरुले यो संविधानको पूर्ण कार्यान्वयनले मुलुक र जनताको उन्नति र प्रगति हुने धारणा व्यक्त गर्नुभयो । उहाँहरुले वर्तमान संविधानको संशोधन र रक्षाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित रहेकाले संविधान मुलुकका लागि बाधक नभई साधक भएकाले रक्षा गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।

विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । संविधानका जानकारहरुले संविधानमा समयसापेक्ष संशोधन र सुधार गर्दै रक्षा गर्नुको विकल्प नभएको बताउनुभयो ।

डा विजय मिश्र
अध्यक्ष, नेपाल बार एसोसिएसन

संविधानलाई दीर्घ जीवन दिन समय–समयमा संशोधन गरिनुपर्छ । संशोधनका लागि इच्छाशक्ति आन्दोलनले पैदा गर्छ । बौद्धिक समाजको भेला र उपस्थितिले पनि संविधानलाई दीर्घ जीवन दिन आवश्यक खुराक प्रदान गर्छ । त्यसैले धेरै जटिल परिस्थितिलाई सामान गर्दै सङ्घर्ष गरेर बनाइएको संविधानलाई समय सुहाउँदो बनाउन संशोधन गरिनुपर्छ । त्यो गरेर सवै नागरिकको इच्छा यसैमार्फत पूरा गर्नुपर्छ । भ्रष्टाचार निर्मूल र सुशासन कायम गरिनुपर्छ ।

रामनारायण विडारी
संविधानविद्

नेपालको संविधान वास्तवमा विश्वकै उत्कृष्ट संविधानभित्रै पर्छ । तर व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मर्म र भावनाअनुरुप कार्यसम्पादन गरेनन् । संविधानको प्रभावकारी कार्यान्वयन नहुँदाको असर जनता निराश भए । अब यो संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्छ । यसमा भएका केही प्रावधानहरु न्यायिक, आर्थिक र राजनीतिकरुपले पनि सशोधन गर्नपर्नेछ । उदाहरणका लागि संवैधानिक परिषद्, न्यायपरिषद्, सवैधानिक इजलास, निर्वाचन प्रणाली, राज्यका संयन्त्रको सुदृढीकरण गर्नुपर्छ । राज्यको अनावश्यक खर्च जोगाउनुपर्छ । रोजगारी सृजना गर्नुपर्छ । संविधानलाई दोष नलगाइ समयसापेक्ष संशोधन गरी अघि बढनुपर्छ । त्यसका लागि पहिलो सर्त संविधानको रक्षा नै हो ।

कनकमणि दीक्षित
वरिष्ठ पत्रकार

नेपालको भविष्य उज्ज्वल बनाउन वर्तमान संविधानको रक्षा गर्ने प्रत्येक नागरिकको दायित्व हो । अहिले संविधानमा अलि कति धक्का लागेको छ । त्यसका बाबजुद अघि बढन सकिन्छ । निर्वाचन तोकिएको समयमा हुनैपर्छ । त्यसमा तलमाथि र बहाना गरिनुहुन्न, अन्यथा इतिहासले माफी दिन्न । लामो समय अस्थिरता भएमा नेपालमा विदेशी हस्तक्षेप बढछ । अहिले पनि संविधानवाद नेपालमा बाचेको छ । निर्वाचनमार्फत नयाँ संसद् गठन हुन्छ । अनि भविष्यको बाटोको यात्रा गर्ने हो । मुलुक सबैको खुशियाली र सुखको केन्द्र हुनुपर्छ ।

टीकाराम भट्टराई
वरिष्ठ अधिवक्ता

आज संविधान दिवस । यस संविधान दिवसले राखेका उद्देश्य असाध्यै राम्रा छन् । यो संविधानको पूर्ण कार्यान्वयन गर्ने हो भने जनता र देशको उन्नति र प्रगति हुने सम्भावनामा यसैभित्र छ । यद्यपि संविधान कार्यान्वयनमा सन्दर्भमा केही असन्तुष्टि देखिएका छन् । संविधानलाई संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमा नै सबै नेपाली जनताको भविष्य निहित भएकाले यसको रक्षा गर्नु आजको आवश्यकता हो । संविधानमा समयसापेक्ष संशोधन गरी नयाँ पुस्तालाई राजनीतिमा समाहित गर्ने बाटो प्रदान गर्दै राजनीतिकप्रति आकर्षण बनाइएको खण्डमा यो संविधान मुलुकका लागि बाधक होइन, साधक बन्नेमा मलाई पूर्ण विश्वास छ ।

अर्जनुबहादुर कार्की
अधिकारकर्मी

हामीले हजारौँ मानिसको बलिदानीबाट आजको संविधान प्राप्त गरेको हो । त्यसैले संविधानको भावना र मर्मलाई आत्मसात् गर्नुपर्छ । यसका लागि संविधानमा आवश्यक परिमार्जन र सुधार गर्न सकिन्छ । संविधानलाई सम्मान र पालना गर्न सकिएन भने मुलुक राजनीतिक दुर्घटनातिर उन्मुख हुन्छ । त्यसैले वर्तमान संविधानको रक्षा गरी समसामयिक सुधार गर्दै जानुको विकल्प छैन ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, ३ असोजः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३३, आलु रातो (मुडे) प्रतिकिलो रु ४६, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३७, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७५, रातो मूला प्रतिकेजी रु ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५५, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडी प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ८५ कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु ८०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८५, फर्सी पाकेको प्रतिकिलो रु ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ८५ कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकेजी रु ७०, पिँडालु प्रतिकिलो रु ७५, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १००, पालूगो साग प्रतिकेजी रु १००, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २४०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ११०, सेलरी प्रतिकिलो रु ३५०, पार्सले प्रतिकिलो रु ११००, सौफको साग प्रतिकिलो रु ३५०, पुदिना प्रतिकिलो रु ८५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६५, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ९० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु १२० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ९०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २५०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १९०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

चितवनमा मनाइयो संविधान दिवस

चितवन, ३ असोजः शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो ।

मुलुकमा शान्तिको कामना गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा परेवा उडाउनुभयो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख एबं उपप्रमुखहरु, राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।

त्यस अवसरमा कार्यालय परिसरमा वृक्षरोपण, झण्डोत्तोलनलगायतका कार्यक्रमहरु राखिएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संविधानको निरन्तरता र पालनाका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

संविधान दिवसमा बृहत शान्ति र्‍याली (फोटोफिचर)

काठमाडौँ, ३ असोजः संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीविलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता थियो । र्‍यालीमा सहभागीहरुले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विस २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । र्‍यालीमा सहभागीहरुले समयसापेक्ष संविधानमा संशोधन र सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस मूल समारोहद्वारा अहिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस कार्यक्रम भइरहेको छ ।

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ, ३ असोजः पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अबसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्न आवश्यक छ ।”

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, अन्य न्यायप्रेमी आन्दोलनहरु साथै भर्खरै मात्र भएको जेनजीको प्रदर्शन समेतमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु हाम्रो संविधानको विशेषता भएको उहाँको भनाइ छ ।

“संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार त भएको छ तर अहिले पनि संविधान निर्माण गर्दा परिकल्पना गरिएको सुशासन र आर्थिक समृद्धि सहितको समुन्नत राष्ट्र निर्माणतर्फको यात्राले अपेक्षित गति लिन सकेको छैन”, सन्देशमा भनिएको छ ।

सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र संविधानको रक्षा गर्न एकजुट बनौ- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न आग्रह गरेका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले संविधान निर्माण गर्दा भोगेका चुनौती ताजै रहेको बताउदै सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्नुपर्ने बताएका छन् ।

ओलीले दिएको सुभकामना सन्देश यस्तो छ

दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो।
गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।
हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।
यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।
तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ – सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।
मेरो सबैमा अपील छ –
संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।

संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन उपसभामुख रानाको आह्वान

काठमाडौँ, ३ असोजः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन सबैलाई आह्वान गर्नुभएको छ ।

संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिको साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “निर्वाचन लोकतन्त्रको आत्मा हो र यसमार्फत जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित हुन्छ, निर्वाचन सम्पन्न गरी नयाँ जननिर्वाचित संस्थाको पुनःस्थापना गर्नु संविधानको कार्यान्वयनसँग जोडिएको अनिवार्य चरण हो ।”

उपसभामुख रानाले जननिर्वाचित संस्थाहरूलाई क्रियाशील र सशक्त बनाउनु संविधानको पहिलो माग भएको उल्लेख गर्दै संविधानले जनताको सार्वभौमसत्ता कार्यान्वयन गर्ने प्रमुख माध्यम जननिर्वाचित संस्था भएको स्पष्ट रूपमा निर्दिष्ट गरेको बताउनुभएको छ ।

संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी रहेको उहाँको भनाइ छ ।

उपसभामुख रानाले सङ्घीयता, धर्मनिरपेक्षता, जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, कानुनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता तथा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तलगायत लोकतान्त्रिक मूल्य र मान्यता नयाँ संविधानका आधारभूत विशेषता भएको पनि उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “यी विशेषताहरूको जगमा उभिएर नेपाली समाजमा रहेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत विविध समस्याहरूको उपयुक्त समाधान गर्दै वास्तविक जनताको घरघरमा लोकतन्त्रको अनुभूति हुने गरी कार्यभार पूरा गर्न सकिएन भने जे सुकै नाम दिए पनि त्यो जनताको लोकतन्त्र बन्न सक्दैन, यसका लागि निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।”

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य

लुम्बिनी ३, असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ ।

संविधान दिवस–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले संविधानले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई अङ्गीकार गर्दै नागरिकका मौलिक हक–अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानुनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको उद्देश्यलाई अघि सारेको स्मरण गराउनुभएको छ ।

प्रदेश सरकारले संविधान, दिगो विकास लक्ष्य, अन्तरराष्ट्रिय प्रतिबद्धता र दोस्रो आवधिक योजनालाई आधारमानी नीतिगत, संरचनात्मक र कानुनी सुधारका कार्य अघि बढाइरहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभएको छ । सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेही कार्यशैली र नागरिकका गुनासाहरूको समयमै सम्बोधनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइसकेको बताउँदै उहाँले युवा पुस्ताको चाहनाअनुरूप प्रदेश सरकार थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढ्नेमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

संविधान दिवसले आपसी एकता, सहकार्य र समन्वयमा जोड दिन प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी र खुसी नागरिकको यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिताको समेत अनुरोध गर्नुभएको छ ।

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन (चितवन), ३ असोजः नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।

प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभालाई अझ जिम्मेवार बनाउनुपर्छः उपाध्यक्ष घिमिरे

काठमाडौँ, ३ असोजः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गर्नुभएको छ । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजलाई अझै ध्रुवीकरणतर्फ धकेल्छ ।”

उहाँले हाम्रा प्रयासहरू व्यवस्था परिवर्तन गर्नेतर्फ नभई व्यवस्था सुदृढ र संस्थागत गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउँदै लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो भन्ने मान्यतालाई स्थापित गराउन सानातिना राजनीतिक स्वार्थहरूलाई बिर्सेर सक्दो छिटो सामाजिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु आजको आवश्यकता औँल्याउनुभयो ।

ठूलो त्याग, वलिदान र सङ्घर्षबाट प्राप्त संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समृद्धितर्फको यात्रामा अगाडि बढ्नु अहिलेको प्राथमिकता रहको उहाँको भनाइ छ । उहाँले जननिर्वाचित संस्थालाई पुनःस्थापित गर्नु, जनताको आकाङ्क्षालाई सम्बोधन गर्नु र संविधानलाई जनजीविकासँग जोडेर कार्यान्वयन गर्दै जानु हाम्रो साझा दायित्व र जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।

लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने अवसर पाएका हुन् । नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ताको प्रयोग र स्वशासनको अधिकार प्राप्त भएको उहाँको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका वर्तमान संविधानका आधारभूत विशेषताका रूपमा अङ्गीकार गरिएको छ ।”

उपाध्यक्ष घिमिरेले संविधानअनुरुप राज्य सञ्चालन गर्नु प्रत्येक निकाय, नेतृत्व र सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताउँदै जननिर्वाचित संस्थाहरुलाई क्रियाशील बनाउँदै लोकतन्त्रको सार्थकता स्थापित गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

धरान कार्यपालिकाबाट दुई अर्ब २० करोडको बजेट तथा नीति कार्यक्रम पारित

धरान (सुनसरी- लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगरसभामा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ ।

धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष तथा नगर प्रवक्ता सूर्यप्रसाद भट्टराई (मनोज)का अनुसार आज बसेको कार्यपालिका बैठकले रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको कुल बजेट साथै नीति तथा कार्यक्रम पनि बैठकबाट पारित गरिएको छ ।

यसअघि गत भदौ २६ गते नगरसभा गर्ने तय भए पनि जेनजी आन्दोलनका क्रममा धरानमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण कार्यक्रम स्थगित गरिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि धरान उपमहानगरपालिकाले तीन महिनापछि मात्र बजेट प्रक्रिया अघि बढाएको हो ।

बजेट अभावका कारण धरान उपमहानगरपालिकामा विगत तीन महिनादेखि विकास निर्माण, कर्मचारी पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवा र आर्थिक कारोबार ठप्प भएका छन् । नगरप्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच श्रमदान कार्यक्रम, प्रशासकीय निर्णय र बजेट सिलिङसम्बन्धी मतभेदका कारण लामो समय कार्यपालिका बैठक नै बस्न सकेको थिएन ।

उपप्रमुख बेघाको नेतृत्वमा गत वैशाख ३० गते सम्पन्न राजस्व परामर्श समितिले करिब रु एक अर्ब ६० करोड १५ लाखको बजेट प्रस्ताव गरेको थियो । तर, अन्तिम रूप दिने क्रममा मतभेद चर्किँदा प्रक्रिया अघि बढ्न सकेको थिएन । जनप्रतिनिधिबीचको समन्वय अभाव र राजनीतिक असहमतिका कारण नगरको विकास प्रभावित भएकामा अब भने बजेट पारित भएपछि काम अगाडि बढ्ने आशा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भक्तपुरमा गोली लागेर निधन भएका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राईका दुई छोराका लागि रु पाँच लाखको शैक्षिक कोष स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

दसैँ नजिकिँदै गर्दा बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी, ३ असोज : दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ ।

मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइएको र थप एक हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिनुभयो ।

“दसैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो”, बीस वर्षदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आउनुभएका श्रेष्ठले भन्नुभयो, “तातोपानी र रसुवानाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङी भेडाच्याङ्ग्रामात्र झरेका छन् ।”

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ नामग्यालबाट चार सय ६५ वटा भेडाच्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ । डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर एक सय ६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताउनुभयो ।

“समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि उचाइमा किसानले पालेका च्याङ्ग्रा ल्याएर बेच्न आएको हो”, उहाँले भन्नुभयो, “भिर, खोल्सा, साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याएर बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो ।”

डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा बेच्न र देशका विभिन्न सहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ । मुस्ताङमा आकारअनुसार प्रतिगोटा रु ३२ देखि ३७ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ । काठमाडौँ पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री गरिने व्यवसायी श्रेष्ठले बताउनुभयो ।

मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष दसैँमा डोल्पा र जुम्लाका तीन हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाएको केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालले बताउनुभयो ।

चाडपर्वका अवसरमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपभोगी मानिन्छ । मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रापालनबाट जीविकोपार्जन गरेको बताउनुभयो । उहाँले यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेको बताउनुभयो । मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडाच्याङ्ग्राको खपत बढी हुने गरेको छ ।

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । हिउँचितुवा र ब्याँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रापालक किसानको प्रमुख चुनौती हो । त्यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडाच्याङ्ग्राको लागि आहराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकताभन्दा बढी हिउँ पर्दा भेडाबाख्रा आहराको अभावमा मर्ने समस्या पनि छ ।

दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

खोटाङ, ३ असोज : राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका दुई सय ९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण सुरु गरिएको हो ।

भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसका आधारमा उनीहरूलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोगलाई सिफारिस गर्छौँ”, उहाँले भन्नुभयो, “लाभग्राहीलाई निस्सा वितरण गरिसकेपछि वडा कार्यालयले सातदिने दाबी विरोधसम्बन्धी सूचना जारी गर्नुपर्ने हुन्छ । वडाले जारीको सार्वजनिक सूचनामा कसैको पनि दाबी विरोध नपरेको खण्डमा नगरपालिकाको तर्फबाट लालपुर्जा वितरणको लागि प्रक्रिया अगाडि बढाउँछौँ ।”

नगरपालिकाको समन्वयमा जग्गाको निस्सा प्राप्त गरेपछि लामो समयदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरू आफ्नो नामको जग्गाको लालपुर्जा पाउनेमा आशावादी बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पर्ने यो नगरपालिकामा दुई सय २३ घर अव्यवस्थित बसोवासी, ५८ घर सुकुम्बासी र १६ घर भूमिहीन दलित रहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ ।

जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी गरी सात सय ९२ घर लाभग्राही रहेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष निर्मल राईले जानकारी दिनुभयो । “भूमिहीन घरपरिवारलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थित गराउन तीव्रगतिमा काम गरिरहेका छौँ । सम्बन्धित स्थानीय तहले जति छिटो काम गर्यो उति छिटो भूमिहीनले लालपुर्जा प्राप्त गर्छन्”, उहाँले भन्नुभयो, “हामीले जग्गाको निस्सा वितरणको काम सुरु गरेसँगै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी उत्साहित बनेका छन् । उनीहरूको उत्साहलाई सम्बोधन गर्नेगरी जग्गा उपलब्ध गराउनेगरी काम सुरु गरेका छौँ ।”

आयोगले दिएको जानकारीअनुसार जिल्लाभर एक सय ५२ घर भूमिहीन सुकुम्बासी, ४९ घर भूमिहीन दलित र पाँच सय ९१ घर अव्यवस्थित बसोवासी रहेका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्रवटा वडा रहेको) दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा यसअघि सुरेश राई नेतृत्वको आयोगले निस्सा वितरण सुरु गरेको थियो भने खोटेहाङ, जन्तेढुङ्गा र बाराहापोखरी गाउँपालिकाका लाभग्राहीको नाममा जग्गा छ÷छैन भनेर जग्गा प्रमाणीकरणको काम सम्पन्न गरेको थियो ।

भूमिहीन दलित तथा सुकुम्बासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा परिवारको स्वामित्वमा जग्गा जमिन नभएको तथा आफ्नो आयआर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने जनाइएको छ । यस्तै, अव्यवस्थित बसोबासीको हकमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (ग) बमोजिम उल्लेखित बसोवासी १० वर्षअघिबाट ऐलानी, पर्ति वा सरकारी अभिलेखमा वन जनाइएको ठाउँमा भए पनि घरटहरा बनाएर बसेको वा खेतीपाती गरिरहेको (अन्यत्र नम्बरी जग्गा जमिन र घर टहरो) भएकाहरू भन्ने उल्लेख छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने तर, अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको जनाइएको छ । भूमिहीन दलित र सुकुम्बासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि तीन सय ४० वर्गमिटर अर्थात् १० आना दुई पैसा ३.०९ दाम, खेतीपातीलाई तीन हजार वर्गमिटर अर्थात् पाँच रोपनी १४ आना एक पैसा १.६२ दाम जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगले जनाएको छ ।

समावेशी सिद्धान्तको पूर्ण पालनामा सबैको प्रतिबद्धता अपरिहार्य : उपराष्ट्रपति यादव

काठमाडौँ, ३ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अङ्ग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, सङ्घीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य उल्लेख गर्नुभएको छ । सङ्घीय प्रणालीप्रति जनविश्वास कायम राख्न ती प्रयासहरू निर्णायक हुने उपराष्ट्रपति यादवको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “नेपालको संविधान नेपाली जनताको दीर्घ सङ्घर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो, यो दस्तावेजले हाम्रो राष्ट्रिय आकाङ्क्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसालेको छ ।”

पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन तथा अन्तरिम सरकारको गठनको प्रसङ्गले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनःपुष्टि गरेको सन्देशमा उल्लेख छ । “संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ, यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको छ”, उहाँले भन्नुभएको छ ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका ऐतिहासिक आन्दोलनहरू र पछिल्लो समय ‘जेनजी’को प्रदर्शनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते तथा अङ्गभङ्ग भएकाहरूप्रति उच्च सम्मान र परिवर्तनका अग्रदूतहरूप्रति गहिरो प्रशंसा प्रकट गर्नुभएको छ ।

‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’: खिलराज रेग्मी

काठमाडौँ, ३ असोज : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

एघारौँ संविधान दिवसका उपलक्ष्यमा आज समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले तोकिएको समयमा निर्वाचन सम्पन्न भई अत्यधिक नयाँ पुस्ता र नयाँ वातावरणले ओतप्रोत भएको संसद् निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारमुक्त सुशासन र नागरिकमा नयाँ आशा जागेको उहाँको भनाइ छ ।

आज संविधान जारी भएको १० वर्ष अर्थात् एक दशक पूरा भएको छ । तर संविधानले परिकल्पना गरेको र नेपाली समाजले अपेक्षा गरेको भ्रष्टाचारमुक्त शासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिका कुरा गौण हुन पुग्दा र अन्य अनपेक्षित कुरा र घटनाले बढावा पाउँदा जनतामा निराशा र आक्रोश व्याप्त हुँदै गएको उहाँको भनाइ छ । “जेनजी अर्थात् नयाँपुस्ता बढी नै निराश र आक्रोशित बन्यो, गत भदौ २३ र २४ को घटना नेपालको इतिहासमा नयाँ प्रकृतिको जेनजी आन्दोलनको नयाँ रूप थियो, यो एउटा विशिष्ट प्रकृतिको ‘टर्निङ प्वाइन्ट’ रह्यो”, उहाँले भन्नुभएको छ ।

इतिहासदेखि नै नेपाल र नेपालीको पहिचानका रूपमा रहेका महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति, सम्पदा र धरोहरहरूमा नोक्सानी पुग्नु निकै दुःखद् विषय भएको उहाँले बताउनुभएको छ । अध्यक्ष रेग्मीले सरकारले घटनामा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनेछ भन्ने सबैको अपेक्षा र विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुयैयाँ ४५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न जरुरी छ : सभामुख घिमिरे

काठमाडौँ, ३ असोजः सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गर्नुभएको छ । उहाँले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको र जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैरसंवैधानिक कार्य भएको उल्लेख गर्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्रलाई कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको र अधिकार प्रत्यायोजनसहित स्थानीय तहलाई सबल बनाउँदै सेवा प्रवाह नागरिकको ढोकाढोकामा पुग्ने वातावरण बनेको उहाँको भनाइ छ ।

सभामसख घिमिरेदे विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसद्मार्फत नै पुनस्र्थापित गरेको तर्फ स्मरण गराउँदै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराउनुभएको छ । विसं २०७२ असोज ३ गते नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरूप जारी भएको संविधान नेपालको मौलिक यथार्थ र लोकतान्त्रिक प्रणालीमा आधारित महत्त्वपूर्ण संवैधानिक दस्तावेज हो । यस संविधानले सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकता, समान अधिकार र साझा गौरवको मार्गप्रशस्त गरेको छ ।

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताउनुभएको छ ।

उहाँले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गर्नुभएको छ । यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माओवादीको माग छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो, त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।”

जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि संविधान : सभापति देउवा

काठमाडौँ, ३ असोज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको सन्देशमा उहाँले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्नुभएको हो । यस अवसरमा सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको बताउनुभएको छ । यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसुस गर्दै प्रत्येक वर्ष हर्सोउल्लासका साथ संविधान दिवस मनाउँदै आएको उहाँको सन्देशमा उल्लेख छ ।

उहाँले न्याय, समानता र स्वतन्त्रता एवं बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटकपटक भएका राजनीतिक एवं सामाजिक क्रान्ति, सङ्घर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान् सपुतहरूप्रति संविधान दिवसको यस पावन अवसरमा उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ ।

आज यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३ असोजः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साथै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

राष्ट्रपति पौडेलद्धारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिनुहँुदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गर्नुभयो ।

राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । उहाँले यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैबाट नहुने अपेक्षा गर्नुभएको छ ।

विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

साथै उहाँले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा रमेश थापा

काठमाडौँ, ३ असोज : जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई प्रदान गरिएको छ ।बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी थापालाई प्रदान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले   जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक थापालाई दिइएको छ । आधिकारिक रूपमा पत्र आउन बाँकी छ ।”यसअघिका परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा खटाइएको जनाइएको छ ।

आज संविधान दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौँ, ३ असोजः संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गर्नुभएको थियो ।

देउवा निवास बुढानीलकण्ठमा पैसाको सुरूङ्ग छैन, हल्लामा कुनै सत्यता छैन – देउवाको सचिवालय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पैसाको सुरूङ्ग नभएको देउवाको सचिवालयले जनाएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । विज्ञप्तिमा पैसाको सुरूङ्ग जस्ता कपोकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार भएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ,’भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत माथि साङ्घातिक आक्रमण भएको हो ।तर त्यस्तो जघन्य आपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

रास्वपाले मतदाता नामावली दर्ताका लागि अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सचिवालयको आजको बैठकले वर्तमान सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकारबारे देखाएको चासोलाई स्वागत गर्दै आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले जेनजीका धेरै नागरिक मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै आफूहरुले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

पार्टीले प्रवासमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास / कन्सुलेट तथा नेपालका अन्तरराष्ट्रिय विमानस्थलका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न प्रस्तावसमेत गर्ने जनाएको छ ।

यस्तै, रास्वपाले सद्भाव तथा सहकार्य अभियान सुरु गर्ने निर्णय गरेको छ । “जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्नेछ”, बैठकका निर्णय समावेश विज्ञप्तिमा भनिएको छ ।

आगामी फागुनमा आमनिर्वाचन तय भएसँगै रास्वपाको पहिलो महाधिवेशनको पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुने भएको छ । सचिवालयको बैठकले परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनबारे आवश्यक छलफल र निर्णय आगामी बैठकमा गर्ने प्रस्ताव समेत गरेको छ ।

यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ, २ असोजः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो ।श्रीलङ्काको कोलोम्बोमा आज सम्पन्न खेलमा बङ्गलादेशसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एक/एक गोल गरे ।

जितसँगै तीन अङ्क जोडेको बङ्गलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित नेपाल दुई खेलबाट तीन अङ्कका साथ दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो । प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता छ । जसमा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् ।

काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’को शुभारम्भ

काठमाडौँ, २ असोजः काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरिएको छ । गोँगबुस्थित नयाँबसपार्कमा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गर्नुभयो ।

एआइजी कार्कीले सुरक्षाविनाको समाज कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै नागरिकले प्रहरीको आवश्यकता महसुस गरेर क्षतिग्रस्त संरचना निर्माणमा जुटेको बताउनुभयो । उहाँले विगतमा भएका कमी कमजोरीलाई सुधारेर राज्यका सबै निकायले जनतालाई छिटो, छरितो र न्यायपूर्ण सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । “नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सेवामा जुटेको छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातलाई नागरिकमुखी बनाउँदै अगाडि लगिने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका कारण नेपालको यातायात क्षेत्रमा ठूलो समस्या भएको भन्दै उक्त घटनालाई बिर्सेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

यातायात व्यवस्था विभागका निर्देशक गणेशमानसिंह राईले खरानीको ढिस्कोमा बसेर यातायात विभागले नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले सार्वजनिक यातायातलाई चाडपर्वमा व्यवस्थित र प्रभावकारी बनाउनका लागि विभागले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिसकेको उल्लेख गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीलगायतले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलमा पु¥याउनु सबैको दायित्व भएकाले एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको थियो । आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन् ।

नेतृत्वमा भएको कमीकमजोरी सच्याउनु आवश्यक छः मुख्यमन्त्री कार्की

विराटनगर, २ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताउनुभएको छ ।

एमाले विराटनगर महानगर कमिटीले आज यहाँ आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डोत्तोलन कार्यक्रममा मुख्यमन्त्री कार्कीले गत भदौ २४ गतेको प्रदर्शन जेनजीको मात्रै नभई विभिन्न स्वार्थ समूहको पनि भएको टिप्पणी गर्नुभयो ।

उहाँले त्यस अवसरमा नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जेनजीको भ्रष्टाचारविरुद्ध मागलाई एमालेले पनि निरन्तर उठाउँदै आएको छ, पार्टी नेतृत्वले कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ ।”

उहाँले एमाले सरकारमा रहँदा जनताको भावना एवं आकाङ्क्षाअनुसार विकासको काम भएको दाबी गर्दै स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने बताउनुभयो ।

ट्रम्प र स्टार्मरबीच नवीन प्रविधि साझेदारी सम्झौतामा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले आर्टिफिसियल इन्टेलिजेन्स(एआई), ‘क्वान्टम कम्प्युटिङ’ र आणविक ऊर्जामा सहयोग सुदृढ गर्न बिहीबार औपचारिक रूपमा प्रविधि साझेदारीमा हस्ताक्षर गरेका छन् ।

“यो बेलायतको इतिहासमा यस प्रकारको सबैभन्दा ठूलो लगानी प्याकेज हो,” ट्रम्पको बेलायत भ्रमणका क्रममा आफ्नो निवास चेकर्समा स्टार्मरले भन्नुभयो।

ट्रम्पको भ्रमणले अधिकांश अमेरिकी प्रविधि कम्पनी र वित्तीय समूहहरूले बेलायतमा केही वर्षमा संयुक्त रूपमा १५० अर्ब पाउन्ड (२०५ अर्ब डलर) लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी कम्पनीहरूले ३१ अर्ब पाउन्ड (४२ अर्ब डलर) को लगानी गर्ने घोषणा गरिसकेका छन्, जसमा माइक्रोसफ्टबाट मात्र ३० अर्ब डलरको सुरक्षा सुपरकम्प्युटर परियोजना छ ।

डिजिटल सेवा कर र इन्टरनेट नियमनबारे सम्झौता अझै अस्पष्ट छ । मे महिनामा दुवै नेताले अटो र एयरोस्पेस क्षेत्रमा भन्सार शुल्क कम गर्ने व्यापार सम्झौता गरेका थिए तर इस्पात–एल्युमिनियममा २५ प्रतिशत भन्सार शुल्क शून्यमा झार्ने वाचा अझै पुरा भएको छैन ।

यसअघि, बुधबार विन्डसर क्यासलमा राजा चाल्र्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गर्नुभएको थियो ।

बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’ भन्दै अमेरिकी राष्ट्रपतिको दोस्रो राजकीय भ्रमणका रूपमा विशेष गौरवका साथ मनाएका थिए ।

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत शरिरहरू रूसले युक्रेनलाई फिर्ता गरेको किएभले बिहीबार पुष्टि गरेको छ ।

मृतकलाई स्वदेश फिर्तीका लागि आज युक्रेनी युद्धबन्दीहरूको मृत शरीर फिर्ता गरिएको पुष्टि गरेको हो। सहयोगका लागि युक्रेनी समन्वय मुख्यालयले टेलिग्राममा भनेको छ, “रूसी पक्षका अनुसार युक्रेनी सैनिकहरूको एक हजार शवहरू युक्रेनमा फिर्ता गरिएको छ।”

बदलामा युक्रेनले २४ जना रुसी सैनिकको शव फिर्ता गरेको छ ।युद्धको बीचमा युक्रेन र रुसबीच सैनिकहरूको शव फिर्ता र युद्धबन्दीहरूको आदान–प्रदान हुने गरेका छन् ।

सन् २०२२ मा रुसले आक्रमण गरेयता दुवै पक्षका दशौँ हजार सैनिकहरू मारिएका छन्, यद्यपि कुनै पनि पक्षले नियमित रूपमा आफ्नै हताहतीको तथ्याङ्क प्रकाशित गर्दैनन्।

युक्रेनको ‘आई वान्ट टु फाइन्ड’ परियोजनाका अनुसार, शवहरूको आदान–प्रदानमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले मध्यस्थता गरेको थियो।

कूटनीतिक प्रयासमार्फत द्वन्द्व अन्त्य गर्न अमेरिकी नेतृत्वमा दबाब दिए पनि किएभ र मस्कोबीच तीन चरणको प्रत्यक्ष वार्ताको बाबजुद लडाइँ रोक्ने दिशामा प्रगति रोकिएको देखिन्छ।

गत हप्ता, क्रेमलिनले रूस र युक्रेनबीचको शान्ति वार्ता ‘रोकिएको’ क्रेमलिनले जनाएको थियो ।

राष्ट्रिय टिमको प्रशिक्षण पुनः सञ्चालन

काठमाडौँ, २ असोजः राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण पुनः सञ्चालन भएको छ ।

यो आर्थिक वर्षको प्रशिक्षण भदौ १ गतेदेखि सुरु भइसकेको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार जेनजी आन्दोलनले उत्पन्न परिस्थितिका कारण केही दिन प्रशिक्षण हुन सकेको थिएन ।

“आन्दोलनको दोस्रो दिन भदौ २४ गते खेलाडीहरु बिहान प्रशिक्षणका लागि आएका थिए । आन्दोलनले गर्दा स्थिति असहज बन्दै गएपछि खेलाडी फर्किए”, श्रेष्ठले भन्नुभयो, “यसपछि भदौ २९ गते (आइतबार) देखि प्रशिक्षण सञ्चालन भएको हो ।”

विशेष प्रशिक्षणमा कराते, तेक्वान्दो (पारासहित), जुडो, बक्सिङ, एथलेटिक्स, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी नौ खेलका एक सय १० खेलाडी सहभागी छन् । त्यसमा ४४ पुरुष र ६६ महिला छन् । नौ खेलका लागि १८ प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ ।

जापानको आइची÷नागोयामा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित १९औँ एसियाली खेलकुद सम्पन्न भए लगतै जापान एसियाडका लागि विशेष प्रशिक्षण सुरु गरिएको थियो ।

कुनै पनि एसियाली खेलकुद सकिए लगतै आगामी संस्करणका लागि यति लामो तयारी प्रशिक्षण गरिएको पहिलोपटक हो । विशेष प्रशिक्षण विसं २०८० माघ १५ गतेदेखि सुरु भएको थियो । १९औँ संस्करणको एसियाली खेलकुद भने चीनको हाङझावमा भएको थियो ।

समानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्ने मागसहित सम्मेलन सम्पन्न

काठमाडौँ, २ असोजः महिला सरकारी वकिलको समानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्ने मासहित १३ बुँदे घोषणापत्र जारी गर्दै महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

गत भदौ २३ र २४ गते आयोजना गर्ने भनिएको उक्त सम्मेलनको २३ गते उद्घाटन गरी दुई वटा सत्र सञ्चालन भएपछि ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण स्थगित भएको थियो । आज बाँकी रहेका सत्रहरू सञ्चालन गरेर सम्मेलन समापन गरिएको हो ।

आज जारी गरिएको घोषणापत्रमा प्रविधिको दुरुपयोग गरी हुने डिजिटल कसुर तथा महिला, बालबालिकाविरुद्ध हुने कसुरलगायत जुनसुकै मुद्दाको प्रभावकारी अभियोजन र प्रतिरक्षाका लागि नियमित तालिम, अभिमुखीकरण र सीप विकासका क्षेत्रमा अवसर दिनुपर्ने उल्लेख छ । महिला वकिलको दक्षता तथा क्षमता अभिवृद्धि गर्न महिलाको समानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिइएको हो ।

महिला सरकारी वकिलका विशिष्ट र फरक सरोकार तथा चासोलाई सम्बोधन हुनेगरी सरुवा तथा पदस्थापन गर्न, पेसागत दायित्व र पारिवारिक जीवनबीच सन्तुलन ल्याउन सहयोग प्राप्त हुने र कार्यस्थलमा शिशुस्याहार केन्द्रको प्रभावकारी व्यवस्थापन हुनुपर्ने उल्लेख गरिएको छ ।

घोषणापत्रमा लैङ्गिक उत्तरदायी बजेटअन्तर्गत हरेक कार्यालयमा महिलामैत्री कार्यस्थल निर्माण गरिनुपर्ने, महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा घोषणापत्र कार्यान्वयन गर्नुपर्ने रहेको छ ।

उक्त रणनीतिक योजनाको कार्यान्वयन अवधिमा कम्तीमा एउटा राष्ट्रिय महिला सरकारी वकिलको सम्मेलन आयोजना गर्ने, कार्यालय तथा कार्यस्थललाई सुरक्षित र लैङ्गिक संवेदनशील बनाउन आचारसंहिता र गुनासो व्यवस्थापन संयन्त्रहितको लैङ्गिक नीति तर्जुमा तथा कार्यान्वयन गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपालको संविधान र प्रचलित नेपाल कानुनद्वारा सरकारी वकिललाई प्रदान गरिएको हरेक जिम्मेवारी बहन गर्न र त्यसप्रतिको जवाफदेहिता लिन सम्पूर्ण महिला सरकारी वकिल सक्षम छन् भन्ने कुरा व्यवहारमा पुष्टि गर्न सदा तत्पर रहने घोषणापत्रमा छ ।

घोषणापत्रमा वस्तुनिष्ठ र वैज्ञानिक प्रमाणमा आधारित अभियोजन नै फौजदारी न्याय प्रणालीको आत्मा हो भन्ने तथ्यलाई आत्मसात् गर्दै पारदर्शी रूपमा पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउन महिला सरकारी वकिलको सक्रिय र अविचलित योगदान रहनेमा प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणापत्रमा सरकारको प्रत्येक निर्णयलाई कानुनसम्मत प्रतिरक्षा गर्न, नेपाल सरकार वादी हुने मुद्दामा अभियोजनका साथै नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको प्रत्येक विषयमा सरकारकोतर्फबाट प्रतिनिधित्व गर्ने विषयमा महिला सरकारी वकिल सक्षम रहेका उल्लेख छ ।

“नेपाल सरकारसहित सरकारले तोकिदिएका अन्य निकायलाई कानुनी राय प्रदान गर्न, हिरासत तथा कारागार निरीक्षण गर्दा मानवोचित व्यवहार भए÷नभएको अनुगमन गर्न, मातहतका सरकारी वकिल कार्यालयको निरीक्षण गर्न, कानुनी सचेतना र क्षमता विकास लक्षित जुनसुकै कार्यक्रम सञ्चालन गर्न÷गराउन र सबै तहका सरकारी वकिल कार्यालयको जिम्मेवारी बहन गर्न हामी सक्षम र तत्पर छौँ”, घोषणापत्रमा भनिएको छ ।

कानुन निर्माण तथा संशोधनमा लैङ्गिक विभेद झल्कने कुनै अवस्था आउन नदिन, सो सम्बन्धमा नीतिगत हस्तक्षेप गर्न, कार्यस्थलमा हुने विभेद र अपमानविरुद्ध कारबाही अगाडि बढाउन तथा सेवाका हरेक पक्षको जिम्मेवारी बहन गर्न महिला सक्षम रहेका उल्लेख गरिएको छ ।

परवानीपुर सवस्टेसनमा आगो लाग्दा विद्युत् ठप्प

वीरगञ्ज (पर्सा), २ असोजः बाराको परवानीपुर सवस्टेसनमा बुधबार दिउँसो लागेको आगोका कारण यसक्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । औद्योगिक तथा व्यापारिक नगरी बारा–पर्सामा ११ केभिए क्षमताको सवस्टेसनमा आगलागी हुँदा सेवा बन्द भएको हो ।

परवानीपुरस्थित ११ केभिए क्षमताको सवस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो । प्यानलमा सर्टसर्किटका कारण आगलागी हुँदा वीरगञ्ज, सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्तिमा समस्या देखिएको थियो ।

बुधबार वीरगञ्जबाट गएको वरुणयन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सेवा पुनः नियमित सञ्चालनमा ल्याउन तत्काल प्राविधिक समस्या भइरहेको छ ।

“बुधबार रातभरि काम गरेर आज विद्युत् सञ्चालनमा ल्याएका थियौँ । बिहान ९ः३० बजेपछि पुनः समस्या आएर विद्युत् आपूर्ति ठप्प जस्तै भएको छ”, उहाँले भन्नुभयो, “वीरगञ्ज र बाराको पिलुवास्थित सवस्टेसनमा रहेको बे्रकरको बुस पड्किएर थप विद्युत् आपूर्तिमा समस्या आएको छ ।”

वीरगञ्ज वितरण केन्द्रका प्रमुख दुवेले परवानीपुरको सवस्टेसनमा आगो लागेपनि सो ठाउँमा पनि वीरगञ्जबाट विद्युत् पठाउन पर्दा क्षमताले धान्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले वीरगञ्जको सवस्टेसनबाट परवानीपुरमा विद्युत् पठाउनुपर्ने बाध्यता छ ।”

प्रमुख दुवेले ११ केभिएबाट सञ्चालन हुने सबै उद्योगधन्दामा विद्युत् प्रवाह गर्न नसकिएको उल्लेख गर्नुभयो । “यो अहिले देखिएको समस्या समाधानका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ । हाम्रोतर्फबाट काम भइरहेको छ ।” पिलुवास्थित सवस्टेसनको ब्रेकर बुस मर्मतसम्भार गरेर बिजुली उपलब्ध गराउन थालिएको उहाँले जानकारी दिनुभयो ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाप्रति मुख्यमन्त्री बानियाँद्वारा दुःख व्यक्त

बागमती, २ असोजः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्दै मुख्यमन्त्री बानियाँले नष्ट भएका संरचना सफा गरेर नागरिकलाई सेवाप्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“प्रदर्शनका क्रममा जनधनको क्षति हुनु, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी हुनु दुःखद् छ”, उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा यस्ता घटना नहुनुपर्ने थियो ।” क्षतिग्रस्त संरचनाको सरसफाइ गरेर शीघ्र सेवा प्रवाह गरिने उहाँले विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भौतिक पूर्वाधार मन्त्रालयलगायत क्षतिग्रस्त संरचनाको निरीक्षण गर्नुभएको थियो ।

प्रदर्शनकारीले प्रदेशसभा सचिवालय भवन, भौतिक पूर्वाधार विकास मन्त्रालयसहित प्रदेशका नौ वटा मन्त्रालय, ती मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए ।

प्रहरीले थप उच्च मनोबलका साथ काम गर्नुपर्छः गृहमन्त्री अर्याल

काठमाडौँ, २ असोजः गृहमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कानुनबमोजिम कर्तव्य पालनामा अब प्रहरीले उच्च मनोबल थप बनाउँदै कार्यक्षेत्रमा खटिनेपर्ने बताउनुभएको छ ।

आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आमजनताको दैनिकीमा नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने भन्दै चनाखो हुन प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरी प्रशासनमा भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।

गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र सङ्क्रमणकालमा अविचलित रहँदै देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम र चेतनशील पुस्ता जेनजीले गरेको ऐतिहासिक प्रदर्शनलाई नेपाल प्रहरीले सम्मान गर्दै यसका उपलब्धिहरूको संरक्षणका लागि रचनात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सीमित स्रोतसाधनको उपलब्धताका बीच नेपाल प्रहरीले हालैको प्रदर्शनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए थप सङ्कट बढ्ने र राज्यमा अकल्पनीय क्षति हुने अवस्था सिर्जना हुनसक्ने सम्भावना थियो ।”

यो ऐतिहासिक घडीमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको गृहमन्त्री अर्यालले उच्च कदर र सम्मान रहेको धारणा राख्नुभयो । उहाँले गृह मन्त्रालयबाट प्रहरी सङ्गठनको सुदृढीकरण गर्दै प्रहरी कर्मचारीको मनोबल बढाउनका लागि ठोस प्रयासहरू गर्ने उल्लेख गर्नुभयो ।

प्रहरीप्रति राज्य र नागरिकका असीमित अपेक्षा रहेका उल्लेख गर्दै गृहमन्त्रीले प्रहरीले साधनस्रोतको सीमितताबाट नागरिकका असीमित आकाङ्क्षाहरू सम्बोधन गर्दै आइरहेको बताउनुभयो । आगामी दिनमा साङ्गठनिक सुधारका लागि प्रहरीको नेतृत्वका साथै सबै प्रहरी कर्मचारीको पहलकदमी हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सहिद चौधरीको परिवारलाई लहान नगरको सहयोग

सिरहा, २ असोजः ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर सहिद हुनुभएका लहान नगरपालिका–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले रु एक लाख राहत दिने भएको छ ।

साथै विजयको चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने र पत्नीलाई योग्यताअनुसार नगरमा रोजगारीको व्यवस्था गर्ने निर्णय गरिएको हो ।

नगरप्रमुख महेश चौधरीले मङ्गलबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णयबारे जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो, “प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ ।”

गत भदौ २३ र २४ गते प्रदर्शनकारीले लहान नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरी भवनलाई पूर्ण रूपमा क्षति पु¥याएका थिए । नगरप्रमुख चौधरीले आफू जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “कार्यालयको संरचना जलेर नष्ट भएको छ, तर हाम्रो सेवा भावना र जिम्मेवारी जलेको छैन । दुःखसुख गरेर भए पनि आइतबारदेखि हामी सेवा प्रवाहमा लाग्ने तयारी गरेका छौँ ।”

गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । उहाँको नौ दिनपछि मङ्गलबार गाउँमा अन्तिम संस्कार गरिएको हो ।

विजय घरका कान्छा छोरा हुनुहुन्थ्यो । उहाँको एक दाई र एक दिदी हुनुहुन्छ । विजय काठमाडौँमा झण्डै एक दशकदेखि ‘हाउस वायरिङ’को काम गर्दै आउनुभएको थियो । यसअघि सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु हुनेलाई सहिद घोषणा गरिसकेको छ । साथै, पीडित परिवारलाई प्रतिव्यक्ति रु १५ लाख राहत दिने निर्णय पनि गरिसकेको छ ।

इजरायली आक्रमणलाई लिएर कतारले आईसीसीका अध्यक्षलाई भेट्ने

गत हप्ता आफ्नो भूमिमा इजरायलले गरेको आक्रमणलाई लिएर कतारले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्षलाई भेटेको छ । कतारले आफ्नो भूमिमाथिको अकल्पनीय आक्रमणलाई लिएर इजरायलविरुद्ध कानुनी कारबाहीको माग गरेको छ।

इमिरेट्सका प्रमुख वार्ताकार मोहम्मद अल–खुलाइफीले बुधबार हेगमा आईसीसीका अध्यक्ष तथा न्यायाधीश तोमोको अकानेसँग भेट गर्नुभएको हो ।

गत हप्ता भएको घातक इजरायली आक्रमणले प्यालेस्टिनी लडाकू समूह हमासका कतारस्थित नेताहरूलाई लक्षित गरेको थियो । आक्रमणले खाडी राष्ट्रहरूमा संशयका तरङ्गहरू फैलाएको थियो । कतार आफ्नो सुरक्षाका लागि लामो समयदेखि संयुक्त राज्य अमेरिकामा निर्भर छ।

हमासले सन् २०१२ देखि अमेरिकाको सहयोगमा कतारमा रहेको उसको राजनीतिक ब्यूरोका उच्च अधिकारीहरू आक्रमणबाट बचेको तर केही दिन पहिले भएको पछिल्लो आक्रमणमा कतारको आन्तरिक सुरक्षा बलका एक अधिकारी र हामसका सदस्यसहित पाँच जनाको मृत्यु भएको बताएको छ।

छलफलको संवेदनशीलताका कारण नाम नबताउने शर्तमा अधिकारीले इजरायलको आक्रमणलाई ‘गैरकानूनी’ भनेका छन् र यो ‘अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको’ बताएका छन्।

आईसीसीको पर्यवेक्षक राष्ट्रका रूपमा कतार आफैले पनि मुद्दा अदालतमा पठाउन पाउँदैन ।

दोहामा आपतकालीन वार्तापछि अरब र इस्लामिक समूहहरूले सोमबार ‘आफ्ना सदस्यहरूलाई इजरायलसँग आफ्ना गतिविधि जारी राख्नबाट रोक्न सबै सम्भावित कानुनी र प्रभावकारी उपायहरू’ अपनाउन आह्वान गरेका छन्।

आईसीसीका प्रमुखसँगको भेटपछि खुलाइफीले आफ्नो भ्रमण ‘कतार माथि भएको अवैध इजरायली सशस्त्र आक्रमणको जवाफ दिन कानुनी बाटो खोज्ने टोलीको कामको हिस्सा भएको बताउनुभएको थियो ।

गत वर्ष, आइसिसीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजामा इजरायलको युद्धको क्रममा युद्ध अपराध र मानवताविरुद्धको अपराधको लागि मुद्दा चलाएको थियो । मुद्दामा जानाजानी नागरिकहरूलाई लक्षित गरेर र भोकमरीलाई युद्धको विधिको रूपमा प्रयोग गर्नु समावेश छ।

आइसिसीले इजरायलका पूर्व रक्षामन्त्री योभ ग्यालन्ट र हमासका कमान्डर मोहम्मद देइफलाई पनि पक्राउ गर्न माग गरेको छ ।

गाजा युद्ध हमासको सन् २०२३ अक्टोबरको आक्रमणबाट सुरु भएको थियो । आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो र मारिनेमा अधिकांश सर्वसाधारण इजरायली थिए।

संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको इजरायलको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलको प्रतिशोधात्मक अभियानमा कम्तीमा ६५ हजार १४१ व्यक्तिको मृत्यु भएको छ र यो पक्षमा पनि मारिने अधिकांश सर्वसाधारण नै रहेका छन्।