`

दसैँ नजिकिएसँगै सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु

किमाथाङ्का (सङ्खुवासभा), ४ असोजः जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको व्यापार सुरु भएको छ । किसानले गाउँ–गाउँबाट खसीबोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् ।

वर्षभरि पालिएका खसीबोका बिक्री गरेर किसानले दसैँ, तिहार जस्ता मुख्य चाडपर्वको खर्च टार्ने गर्दछन् । खाँदबारीमा शनिबार र बुधबार साताको दुई दिन साप्ताहिक हाट लाग्ने भएकाले खसीबोका बिक्रीका लागि यहाँ ल्याउने गरिएको किसान बताउँछन् ।

बजारमा माग बढी हुन थालेपछि खसीबोका बिक्रीमा समस्या नभएको किसानको भनाइ छ । खसीबोका पालन गर्ने किसानलाई जीविकोपार्जनका साथै दसैँ, तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ । स्थानीय हाटबजारमा जीउँदो खसीबोका तौल गरेर बिक्री गरिन्छ । साप्ताहिक हाटबजारमा पु¥याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् ।

जिल्लाबाट काठमाडौँसहित देशका प्रमुख सहरमा यसअघिका दसैँमा जसरी नै यो वर्ष पनि खसीबोका लैजाने गरिएको यहाँस्थित पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । खसीबोका किन्न व्यापारी आफैँ किसानको घरघरमा पुग्न थालेपछि बिक्रीमा थप सहज भएको केन्द्रका प्रमुख हिमालय पोखरेलले बताउनुभयो ।

जिल्लाबाट गतवर्ष दसैँमा करिब रु ७५ लाख बढीको खसीबोका बिक्री भएको प्रमुख पोखरेलले जानकारी दिनुभयो । यहाँका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय माग बढेसँगै किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्न भएकाले जिल्लाका किसान उत्साहित भएका छन् ।

धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लागेर शिक्षकको मृत्यु

सिरहा, ४ असोज: यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।

आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो ।

घटनापछि आफन्त तथा स्थानीयले उहाँलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पु¥याएकामा लगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

हुम्ला । काठमाडौंमा भएको जेन–जी आन्दोलनमा गएका हुम्लाको नाम्खा गाउँँपालिका–३ खगालगाउँ थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौँको तीनचुलीमा बस्दै आएका तामाङ भदौ २३ गते जेन–जी प्रदर्शनमा सहभागी भएर कोठा फिर्ता भएका थिए ।

होटेलमा काम गर्दै आएका लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ः०० बजेतिर प्रदर्शनमा गएकोमा हालसम्म सम्पर्कमा आएका छैनन् । बुबा टसी छिरिङकाअनुसार हालसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी भइसकेको छ ।

बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा नफर्किएपछि खोजी गरिदिन उनको आग्रह छ । उनका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् । पछिल्लो दिनको जेनजी प्रदर्शनमा गएको दिनदेखि लामा कोठामा फिर्ता नभएको बुबा टसी छिरिङले बताए । ११ दिनसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको उनले बताएका छन् ।

बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताए । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उनले आग्रह गरे । हुम्लाको युवा जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गरेका छन् । समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए ।

शुक्लाफाँटामा क्रिकेट : फुटेको पिचमै फुल्दै आशाको सपना

कञ्चनपुर, ४ असोज : फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण खेलमैदानमा शुक्लाफाँटा नगरपालिकाका क्रिकेट खेलाडीले दैनिक अभ्यास गर्दै आएका छन् । क्रिकेट खेल्न आवश्यक आधारभूत सामग्रीको अभाव हुँदाहुँदै पनि खेलाडीहरूको उत्साह भने घटेको छैन । अभावै अभावका विचमा निरन्तर अभ्यास गरेर उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलाडीले शुक्लाफाँटालाई उर्वर थलोका रूपमा चिनाएका छन् ।

धर्मजनता विद्यालय र कालिका माध्यमिक विद्यालयको मैदान अहिले स्थानीय क्रिकेट खेलाडीहरूको मुख्य अभ्यासस्थलका रूपमा रहेका छन् । “ती मैदानमा कहिले गाई, भैँसी त कहिले बाख्राको चराउनेको भीड हुन्छ, अभावैअभावका बीच पनि अभ्यास जारी राख्दै आएका छौँ”, प्रशिक्षक साजन गौतम भन्नुभयो, “हामीसँग सुविधा छैन, तर सपना छ, यही सपना पूरा गर्ने जोशका कारण क्रिकेटमा भविष्यको सपना बुनेका खेलाडी अभ्यासमा अभ्यस्त हुँदै आएका छन् ।”

उहाँका अनुसार गत वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला क्रिकेटमा शुक्लाफाँटाकै तीन खेलाडीले प्रदेशको प्रतिनिधित्व गरे । टोली उपविजेता बनेपछि ठूलो खुसी छाएको उहाँ बताउनुहुन्छ । “यस वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला अण्डर–१९ प्रतियोगितामा उपाधिनै जित्दा उत्साह झनै बढेको छ”, प्रशिक्षक गौतम भन्छन्, “यो गति कायम रह्यो भने सन् २०२७ को महिला अण्डर–१९ विश्वकपमा शुक्लाफाँटाका महिला खेलाडी नेपालका लागि मैदानमा उत्रिने विश्वास छ ।”

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नुभएकी खेलाडी रविना धामीले भन्नुभयो, “अभ्यास गर्ने पूर्वाधारको सुविधा छैन, तर पनि राष्ट्रियस्तरमा पुग्न सकेका छौँ भने अझै मिहिनेत गरी रहेका छौँ, निरन्तर अभ्यासमा जुट्दै आएका छौँ, ठूलो सपना देख्न पाइन्छ भन्ने आत्मविश्वास बढेको छ ।”

पुरुष क्रिकेटको अवस्थासमेत उस्तै छ । संरचना नहुँदा कठिनाइ भए पनि प्रदेश र राष्ट्रियस्तरमा निरन्तर प्रगति गरिरहेका छन् । यसै क्षेत्रबाट ललित भण्डारी, आशिष लुहार र सुशील रावलले अन्तरराष्ट्रियस्तरसम्मका प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

सरोज ऐर, रमेश भट्ट, सुरज तिरुवा, कैलास ऐरलगायतले राष्ट्रिय टोलीमा खेलिसकेका छन् । यी उपलब्धिले शुक्लाफाँटा क्रिकेटका लागि उर्बर भूमि बनेको पुष्टि गर्छ । पुरुष अण्डर १६ र १९ लाई राष्ट्रिय प्रतियोगितासम्म पु¥याउने लक्ष्य लिएर प्रशिक्षणको कार्य भइरहेको साजन बताउनुहुन्छ, तर कठिनाइ अनगिन्ती छन् । अभावकै कारण धेरै प्रतिभा हराइरहेका छन् । प्रतिभा भएर पनि अवसर नपाउँदा नगरपालिकाका धेरै जना क्रिकेटका खेलाडी घरको आर्थिक अबस्था नाजुक हुँदा जीविकोपार्जनका लागि भारततर्फ लागेका छन् ।

यहाँका अधिकांश खेलाडीका परिवार भारतीय बजारमा मजदुरी गर्छन् वा गाउँमै ज्यालामा निर्भर छन् । त्यस्ता अवस्थामै पनि उनीहरूले क्रिकेटलाई निरन्तरता दिएका छन् । बल र नेट खरिद गर्नै मुस्किल हुने अवस्था छ । अभ्यास मैदानको पिच वर्षौंदेखि जीर्ण अवस्थामा छ । प्रशिक्षक गौतमको भनाइमा तत्कालीन आवश्यकता भनेकै ट्रफ विकेट, नयाँ नेट, बल र फेन्सिङको हो । “यी आधारभूत कुरा भए अन्तरराष्ट्रियस्तरका थप खेलाडी निस्कन सक्छन्”, गौतमले भन्नुभयो ।

प्रशिक्षक गौम भन्नुहुन्छ, “स्थानीयस्तरमा केही सहयोगी हात बढेका छन्, खेलप्रेमीहरूले बल र अन्य सामग्री उपलब्ध गराएका छन् । तर खेललाई दिगो बनाउन नगरपालिकादेखि प्रदेश सरकारसम्मको ध्यान आवश्यक छ ।” क्रिकेटको लोकप्रियता यहाँ यति बढेको छ कि विद्यालयस्तरमा हुने प्रतियोगिता हेर्न सयौँ दर्शक जुट्छन् ।

युवाहरूका हातमा ब्याट–बल देख्दा अभिभावकले गर्व गर्ने गरेका छन् । स्थानीय खेलप्रेमी सरोज ऐर भन्नुहुन्छ, “हाम्रो नाम क्रिकेटकै कारण टाढाटाढा पुगेको छ, संरचनागत सहयोगको आवश्यक छ, आवश्यक सामग्रीको अभावपूर्र्ति हुने हो भने यो क्षेत्र क्रिकेटको हब बन्न सक्छ ।”

शुक्लाफाँटामा क्रिकेटको चहलपहल करिब दुई दशकअघि नै सुरु भएको हो । तर संरचना र अभ्यास गर्ने उचित ठाउँ नहुँदा धेरै प्रतिभा हराउँदै गएका छन् । युवा खेलाडीहरूले गर्दै आएको प्रदर्शनले शुक्लाफाँटालाई क्रिकेटको केन्द्रका रूपामा चिनाउने विश्वास ऐर व्यक्त गर्नुहुन्छ ।

दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुम्हालेहरू, बेलुकीसम्म छैन फुर्सद

भादगाउँ, ४ असोजः सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैैँको लागि माटोको सामग्री तयार गर्न निकै व्यस्त छन् । बिहानदेखि बेलुकीसम्म फुर्सद छैन । नजिकिँदै आएको दसैैँका कारण राति समेत काम गर्नुपर्ने व्यस्तता छ ।

दसैैँको घटस्थापनादेखि सप्तमी, महाअष्टमी, महानवमी र बडादसैैँको दिन पूजा गर्न आवश्यक पर्व सामग्रीहरू बनाउन अहिले उहाँको परिवारलाई भ्याइनभ्याइ भएको हो । “दसैैँ आइसक्यो । अर्डरको सामान बनाउन अझै बाँकी छ । श्यामले भन्नुभयो, “अहिले परिवारका सबै सदस्यहरू यसै काममा व्यस्त छन् । छोराछोरी बिहान र स्कुल छुट्टी पछि यसै काममा व्यस्त छन् ।”

श्यामका बुबाआमा, श्रीमती, बहिनी, छोराछोरीहरू घटस्थापनामा पूजा कोठामा राख्ने गमला, सानो ध्याम्पो, धुपौरो, दूध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अंती, दूध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्लीलगायतका सामग्री बनाउनमा व्यस्त छन् । दसैैँमा जमरा राख्ने ढुकुटी कोठामा देवी दुर्गाको पूजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । यही माग धान्न अहिले श्यामका परिवारका सदस्यहरू माटो मुछ्ने, भाँडा बनाउने, सुकाउने, रङ लगाउने, आगोमा राख्नेदेखि सम्पूर्ण तयारी गरी बजार लाने काममा व्यस्त छन् ।

त्यसैगरी भक्तपुरको तालाक्को टोलका अर्को व्यवसायी सुन्दर प्रजापतिलाई पनि यतिबेला भ्याइनभ्याइ छ । बिहान उठेदेखि दसैैँको अर्डरका लागि आएको सामग्री बनाउने कार्यमा व्यस्त छन् । दसैैँ र तिहारको समयमा अर्डर आएका पर्व सामग्र्री मागअनुसार समयमा पु¥याउन सके वर्ष दिनका लागि घर चलाउन र बच्चाहरूको स्कुलको खर्च सजिलै पुग्ने, अरु बेला त्यति धेरै व्यस्त हुन नपर्ने सुन्दर बताउँछन् । उहाँले भन्नुभयो, “यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाहरूबाट अर्डर आएका पर्व सामग्रीहरू समय पु¥याउन सके खासै अरु बेला व्यस्त हुन् पर्दैन । यसैले वर्ष दिनमा खान, लाउन र छोराछोरीको खर्च पुग्छ । हामीले बढी दुःख गर्ने भनेको दसैैँ, तिहार र छठको लागि तीन महिना हो । अरु बेला फुर्सदमा काम गरेपनि खासै फरक पर्देन । यतिले वर्षदिनमा गुजारा गर्न सहज हुन्छ ।”

बजारमा विभिन्न आधुनिक सामान भए पनि पर्वको समयमा माटोको सामग्री बढी प्रयोग हुने भएकाले पनि यस्को व्यापार निकै फस्टाउँदै गएको व्यापारीहरू बताउँछन् । यस व्यवसायमा लागत र परिश्रम अनुसार बढी आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ताहरू आकर्षित भएको देखिन्छ ।

भक्तपुरमा दुई रुपैयाँ ५० पैसादेखि ९०० सम्मका सामग्र्री उत्पादन हुन्छ । चाडपर्वको समय भक्तपुरको तालक्को र सूर्यविनायकको मात्र नभएर सूर्यमढी, लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं र कुम्हालेहरूको परिवारका सदस्यहरू समेत पर्व सामग्र्री बनाउने कायमा व्यस्त देखिन्छ । यो सयम अधिकांस कुम्हाले परिवारका सदस्यहरू भाँडा बनाउने, सुकाउने, रङ लगाउने, बुट्टा राख्ने, मिलाएर बजार पठाउने कार्यमा व्यस्त छन् ।

भक्तपुरमा उत्पादन गर्ने पर्व सामग्र्रीहरू नवदुर्गा देवगृह, तलेजु मन्दिर, एकान्त कुमारीको देवगृह, भक्तपुर नगर, काठमाडौँ, ललितपुर, पनौती, त्रिशूली, पोखरा, कीर्तिपुर, थेचो, बनेपा, धुलिखेलसम्म पुग्ने व्यवसायी सुन्दर प्रजापतिले जानकारी दिनुभयो ।

काभ्रेमा सहकारी रकम अपचलन गर्ने २६ पक्राउ, ६७ जना फरार

काभ्रेपलाञ्चोक – यहाँका सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २६ जना पक्राउ परेका छन् भने ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २६ जना सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठगीविरुद्ध जाहेरी परेका थप तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको छ । यसअघि पेस भएकामा बनेपाको पुण्यश्वरी सहकारीको रु तीन करोड ८० लाख ९३ हजार ४१८ बचत फिर्ता नभएको निवेदनकर्ताको दाबी छभने गरुड सहकारीको रु १४ करोडभन्दा बढी बचत फिर्ता नभएको जाहेरीमा उल्लेख गरिएको छ ।

जोहरीका आधारमा अनुसन्धान सम्पन्न भई अदालतमा पेस भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मुद्दा दर्ता भएका आठ सहकारीका ९९ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहका अनुसार युनिटी सहकारीको रु तीन करोड ५० लाखभन्दा बढी बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । यस्तै बाँकी पाँच सहकारीको अनुसन्धान जारी रहेको जनाउँदै उहाँले जिल्लाका सात सहकारीका सञ्चालकलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्नेगरी अनुसन्धान भइरहेको छ ।

हालै बनेपा नगरपालिका-८ सिनागाल मार्गमा केन्द्रीय कार्यालय रहेको अग्नि बचत तथा ऋण सहकारी संस्थाबाट रु २४ करोड ९७ लाख पाँच हजार ९७७ ठगी गरेको भन्दै सञ्चालकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

दुई सय चार बचतकर्ताको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि प्रहरीले कागजपत्रसहित जिल्ला सरकारी वकिलको कार्यालय तथा सरकारी वकिलको तर्फबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम गत भदौ २९ मा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ३३ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

मुद्दा दायर भएका ३३ मध्ये प्रहरीले हालसम्म छ जनालाई पक्राउ गरी अदालतमा पेस गरिसकेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । उहाँका अनुसार फरार अन्यको खोजीकार्य भइरहेको छ ।

पक्राउ पर्नेमा अग्नि सहकारीका अध्यक्ष ललितपुर महानगरपालिका-१३ जावलाखेलका रवीन्द्र श्रेष्ठ, सचिव बनेपा-१ नालाका सन्तोष पाण्डे, सञ्चालक समिति सदस्य बनेपा-७ का दिनेश वैद्य, व्यवस्थापक बनेपा-७ का राहुल चौ प्रधान, ऋण अधिकृत विकास गौतम र उक्त सहकारी तथा स्थानीयसँग बिचौलियाको काम गर्ने प्रकाश गौडेल रहेका उहाँले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार उक्त सहकारी ठगी गरी २७ जना फरार रहेका अदालतमा पेस गरिएको विवरणमा उल्लेख गरिएको छ । विसं २०८१ साउन ३१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त सहकारी ठगीमा संलग्नलाई अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय धुलिखेललाई पत्राचार गरिएको थियो ।

विसं २०८१ मङ्सिरमा सहकारी कार्यालयसमेत बन्द गरी सम्पर्कविहीन भएका जनाउँदै बचतकर्ताले निजहरूविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन् । सहकारी ठगीबारे पछिल्लो वर्षदेखि प्रहरीमा उजुरी तथा जाहेरी आउने क्रम बढेको प्रहरी उपरीक्षक शाहले उल्लेख गर्नुभयो ।

तयार भयो भत्किएको वीरगञ्जको घण्टाघर

वीरगञ्ज (पर्सा), ४ असोज : पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो ।

वीरगञ्ज महानगरले घण्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ । वीरगञ्ज महानगर भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगञ्जको प्रतीक घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन । ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढङ्गले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो । अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ ।”

महाशाखा प्रमुख झाले घण्टाघर वरपर अत्याधिक सवारीसाधनको चाप बढी हुने भएकाले सवारीसाधन र यात्रुको सुरक्षालाई ध्यान दिँदै कन्ट्रक्सन नेटअर्थात् झालीले ढाकेर मर्मतसम्भार गरिएको बताउनुभयो । “अहिले घण्टाघरको वरपर लगाइएको स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली समेत हटाइसकेका छौँ”, उहाँले भन्नुभयो, “मर्मतसम्भारपछि घण्टाघर कम्तीमा पनि १० वर्षसम्मका लागि टिकाउ हुने विश्वास गरेका छौँ । यद्यपि घण्टाघरभित्रका संरचना भने पुरानो हुँदै पनि गइरहेका छन् ।”

महाशाखा प्रमुख झाले घण्टाघर निर्माण करिब २० लाखभन्दा कममा हुने आकलन गरेको बताउनुभयो । “अहिलेसम्म त बिल तयार भइसकेको छैन”, उहाँले भन्नुभयो, “सो अनुमानित लागतभन्दा कममा नै होला भन्ने विश्वास लिएका छौँ ।” घण्टाघर निर्माणको ठेक्का भने महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो । वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणको रूपमा घण्टाघर रहँदै आइरहेको छ ।

महाशाखा प्रमुख झाले घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति गरेको जानकारी दिनुभयो । “घण्टाघरको मर्मतसम्भार माथिल्लो बाल्कोनीमा पुगेर गर्नुपर्ने भएकाले पनि केही समय बढी लागेको हो”, उहाँले भन्नुभयो, “हामीले मर्मतसम्भार गरेर घण्टाघर पुरानै संरचनामा ल्याइसकेका छौँ ।”

वीरगञ्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ तारिखमा तयार भएको बताइन्छ । त्यो बेला जापानको योनागो सहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकहरूको कथन छ ।

डुङ्गेश्वरका लेखा अधिकृत कार्की एक लाख घुससहित नियन्त्रणमा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवतबापत रु एक लाख माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजले सेवाग्राहीसँग रु एक लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ मङगलगडी चोकबाट नियन्त्रणमा लिइएको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने निर्णय

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार इरानको पुनरुत्थान भएको आणविक कार्यक्रमलाई लिएर इरानमाथि गहिरो आर्थिक प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो कदमलाई तेहरानले ‘गैरकानूनी’ भनेको छ।

अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरूले सन् २०१५ मा तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले चर्चित संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) नाम दिइएको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

इरानले सन्धिअन्तर्गत गरेको वाचा तोडेको सम्झौतामा हस्ताक्षर गरेका तीन यूरोपेली मुलुक फ्रान्स, जर्मनी र बेलायतले आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसङ्घका लागि इरानी राजदूतले आर्थिक प्रतिबन्ध लगाउने पक्षमा मतदानपछि आक्रोशित प्रतिक्रिया व्यक्त गर्दै मतदानलाई ‘गैरकानुनी’ संज्ञा दिनुभएको छ ।

उहाँले भन्नुभयो, “आजको कार्य हतार, अनावश्यक र गैरकानुनी हो । इरानले यसलाई कार्यान्वयन गर्ने कुनै दायित्व स्वीकार गर्दैन,” संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरावानीले संयुक्त राष्ट्र सुरक्षा परिषद्सँग भन्नुभयो, “यो ‘जबरजस्ती गरिएको राजनीति’ हो ।”

इरानका विदेश मन्त्री अब्बास अराघचीले शुक्रबार नै प्रतिबन्ध फिर्र्ता रोक्नका लागि युरोपेली शक्तिहरूसामु ’निष्पक्ष र सन्तुलित’ प्रस्ताव राखेको बताउनुभएको छ ।

“हामी (इरान) लाई अब वार्ताका लागि कदम चाल्न आग्रह गर्दछौं,” बेलायती राजदूत बारबरा वुडवार्डले प्रतिबन्धको वर्तमान निलम्बनलाई लम्ब्याउने प्रस्तावको विपक्षमा मतदान गरेपछि भन्नुभयो ।

अर्को हप्ता सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू न्यूयोर्कमा भेला हुने संयुक्त राष्ट्रसङ्घको महासभामा कूटनीतिका लागि ढोका खुला राखिएको उहाँले बताउनुभएको छ।

मतदानअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायली टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यो महिनाको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय नाकाबन्दी पुनःस्थापित हुने आफूले अपेक्षा गरेको बताउनुभएको थियो । तर संयुक्त राष्ट्रसङ्घका लागि फ्रान्सेली राजदूतले शुक्रबार वार्ताको माध्यमबाट समाधानको विकल्प टेबलमा रहेको बताउनुभयो ।

मध्य अगस्टमा संयुक्त राष्ट्रसङ्घलाई लेखेको पत्रमा ‘युरोपियन थ्री’ (फ्रान्स जर्मनी र बेलायत) ले इरानले जेसीपीओए अन्तर्गत धेरै प्रतिबद्धताहरू उल्लङ्घन गरेको भन्दै आलोचना गरेका थिए । पत्रमा इरानले सम्झौताले अनुमति दिएको स्तरभन्दा ४० गुणा बढी युरेनियम भण्डारण गरिरहेको उल्लेख गरिएको थियो ।

युरोपेली शक्ति र तेहरानबीच कूटनीतिक वार्ताको झन्झट भए पनि पश्चिमा तीन राष्ट्रले यसमा कुनै प्रगति नभएको बताएका छन्।

गोवनले भन्नुभयो, “यदि इरान र युरोपेली मुलुकहरू अन्तिम क्षणमा सम्झौतामा पुगे भन ेपरिषद्सँग अझै पनि प्रतिबन्धको निलम्बन बढाउने थप प्रस्तावलाई अघि बढाउने अवसरका लागि समय छ ।”

–इरानसँगको आणविक सम्झौता –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८ मा इरानसँग विश्व शक्ति राष्ट्रले गरेको सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि पुनः प्रतिबन्ध लगाएको थियो । अमेरिकाको बहिर्गमनपछि सम्झौताको पाटो धुमिल भएको थियो ।

पश्चिमा शक्ति र इजरायलले लामो समयदेखि तेहरानमाथि आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले अस्वीकार गर्दै आएको छ।

अमेरिकी फिर्तीपछि, तेहरानले बिस्तारै सम्झौताअन्तर्गतका आफ्ना प्रतिबद्धताहरू तोड्यो र आफ्नो आणविक गतिविधिहरू बढाउन थाल्यो । यसैको प्रतिक्रियास्वरूप उच्च विन्दुमा पुगेको इरान र इजरायलबीचको १२ दिने युद्ध भई रोकिएको छ तर इरानसँगको तनाव उच्च नै रहेको छ ।

युद्धले संयुक्त राज्य अमेरिकासँग तेहरानको आणविक वार्तालाई पनि अवरोध गरेको थियो भने यसले इरानलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहयोग स्थगित गर्न प्रेरित गरेको थियो । उक्त तनावपछि भियनास्थित संयुक्त राष्ट्रसङ्घीय निकायका निरीक्षकहरूले केही समयपछि मध्य पूर्वी देश छोडेका थिए ।

इरानले बिहीबार अबेर अमेरिकी दबाबको कारण देखाउँदै इजरायलसँगको युद्धपछि आणविक प्रशोधन केन्द्रमाथि आक्रमण प्रतिबन्ध लगाउने आइएइएको मस्यौदा प्रस्तावलाई फिर्ता लिएको छ।

जुनको मध्यमा इजरायलले इरानविरुद्ध गरेको १२ दिने आक्रमणसँगै अमेरिकाले प्रमुख इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ४ असोजः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३३, आलु रातो (मुडे) प्रतिकिलो रु ४६, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३५, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु १२०, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, रातो मूला प्रतिकेजी रु ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडी प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु ९०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ८०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकेजी रु ७०, बरेला प्रतिकेजी रु १००, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकेजी रु १००, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २४०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ११०, सेलरी प्रतिकिलो रु ३५०, पार्सले प्रतिकिलो रु ११००, पुदिना प्रतिकिलो रु ८५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६५, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ६० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु १२० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ९०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ००, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु १००, रूख टमाटर प्रतिकिलो रु १९०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगर

काठमाडौँ, ४ असोज : काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ ।

गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । कामपाको सहायक प्रवक्ता धु्रवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसँै नजिकै आइसकेको अवस्था छ तर आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन अब आउने सातादेखि गर्ने तयारी छ ।

प्रमुख काफ्लेले भन्नुभयो, “कामपाले बजार अनुगमन गर्दा केन्द्रबाट पनि अनुगमन टोली, सुरक्षा निकायसहितको सहभागितामा मात्र गर्ने गरेको छ । आन्दोलनका कारण सरकारका सबै संयन्त्रहरू काममा फर्किसकेको अवस्था नभएकाले आगामी सातादेखि मात्र अनुगमन गरिने तयारी गरिएको हो ।”

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनुगमन गर्ने गरेको छ । अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायतको अनुगमन गर्ने पनि सहायक प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

कामपा अनुगमन टोलीले विगतका वर्षहरूमा पनि सुपरमार्केट खाद्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षमा ध्यान दिन सुझाव दिने गर्दै आएको थियो । अनुगमनको क्रममा कमजोरी भेटिए वा उपभोक्तालाई ठगी गरे पाइए कानुअनुसार जरिवाना र थप कारबाही गरिने समेत गर्ने कामपाले चेतावनी दिएको छ ।

स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने पनि कामपाको भनाइ रहेको छ । अन्य समयमा पनि फुटफुट बजार अनुगमन गर्दै आएको कामपाले चाडपर्वमा भने नियमितजस्तै अनुमगन गर्ने गरेको छ ।

बर्खाको समयमा कामपाले पिउने पानी राखिएको जारको नियमितजस्तै अनुगमन गरेको थियो भने मापदण्डविपरीतका करिब ३०० जार नष्ट समेत गरेको थियो । त्यस्तै उपभोक्ताले गरेका गुनासोको आधारमा होटल र मिठाई पसलको अनुगमन गर्दा खाद्य वस्तु भेटिएपछि रु दुई लाख जरिवाना गराएको थियो ।

युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर

काठमाडौं । सार्वजनिक भएको केही घण्टामै चलचित्र ‘बलिदान’को ट्रेलर नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।

बडा दशैँको फूलपातीमा रिलिज हुने बलिदान ट्रेलर अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।

ट्रेलरको भावनात्मक सुरुवातदेखि समीर भट्टको शक्तिशाली संवाद र एक्सनले दर्शकलाई बाँधेर राख्छ । यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रहरूको प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ ।

रुससँग मानवीय विषयमा मात्र वार्ता भएको युक्रेनको भनाइ

युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमेरोभले युक्रेन र रुस अहिले मानवीय वार्तामा मात्र संलग्न रहेको बताउनुभएको छ ।

“यस समयमा, हामी मानवीय पक्षलाई निरन्तरता दिइरहेका छाँैं, हामी युद्धबन्दीहरूलाई रिहा गर्ने पहल गरिरहेका छौँं,” उमेरोभले भन्नुभयो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गत महिना भएको वासिङ्टन भ्रमणपछि किएभले मस्को र वासिङ्टनसँग सम्भावित वार्ताको अपेक्षा गरिरहेको पनि उमेरोभले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो चरणमा हामी त्रिपक्षीय वा द्विपक्षीय बैठकको पर्खाइमा छौं भन्ने मेरो विश्वास छ ।”

युक्रेन र रूसले सन् २०२५ मे, जुन र जुलाइमा टर्कीएमा तीन चरणको वार्ता गरका थिए भने उमेरोभले प्रत्येक सत्रमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

अगस्ट १८ मा धेरै युरोपेली नेताहरूसहित युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसमा भेटवर्ता गर्नुभएको थियो जसमा रूस–युक्रेन द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भएको थियो ।

अविरल वर्षाले धानबालीमा क्षति, ७०० बिघाह बढी धान बाली डुबान

नवलपरासी -हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ ।

पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा धान बाली सप्राएकोे थियो ।

उहाँका अनुसार धनेवा र झरही खोलामा आएको बाढीले पाल्हीनन्दन र सरावलको धानबालीमा क्षति पु¥याएको हो । पाल्हीनन्दनको शंकरपुर र सरावल गाउँपालिकाको मधवलीया, खडवना र भुजहवाका किसान चैते फसल गेंहु, तोरी, मसुरो र केही मात्रामा ऊखु खेती गर्छन् ।

वडासदस्य यादवले भन्नुभयो,“पाल्हीनन्दन र सरावलका किसान प्रत्येक वर्ष धानबाली लगाउँदछन् । बाढीले खेतमै धान सडछ धान काटन पाउँदैनन् । यस वर्ष धान काट्न पाईन्छ की भन्ने आश लागेको थियो । कतिपय धान फलिसकेको थियो । केही प्रजातिका धान फलिरहेको थियो । अहिले धान काटने बोला बाढी आएर हामीलाई बर्बाद बनायो ।”

बाढीले सरावलमा ७०० बढी बिघाहमा लगाइएको धान बाली डुबान भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले जानकारीदिनुभयो ।

सरावल–६ मधवलीयाका किसान घनश्यामा चौधरीले डेढ बिघाहमा लगाइएको धानबाली नष्ट भएको छ र यसबाट दुई लाख रूपैयाको बराबर नोक्सान भएको जानकारी दिनुभयो ।

जिल्लाका सरावल गाउँपालिका र पाल्हीनन्दनका २७५ हेक्टर क्षेत्रफलमा लगाइएका धान बाली डुबानमा परेको नवलपरासी कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्र नाथ चौबेले जानकारीदिनुभयो । उहाँका अनुसार पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल‐४, ५, ६, र ७ मा बाढीले धानबालीमा क्षति पु¥याएको हो ।

आजको मौसम : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरोले १०० मिटर सडक ढाक्यो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उहाँका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताउनुभयो । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ । शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

जेनजी आन्दोलन : भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको बीमा दावी

काठमाडौँ, ४ असोजः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दावी परेको छ । त्यसको कूल दावी रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबर छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ को रु चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरन्स कम्पनीमा ३६६ वटा बीमा दावी परेको छ । कूल दावी भने रु दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ रहेको छ । आइजिआइ प्रुडेन्सियल इस्न्योरेन्समा २४ वटा बीमा दावी परेको छ । सो कम्पनीमा रु एक अर्ब ५९ करोड छ लाख ८० हजार ८०० बराबरको बीमा दावी परेको प्राधिकरणले जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ वटा बीमा दावी छ । रु एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ बराबरको माग भइआएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १९६ वटाको आवेदन पर्दा रु एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ बराबरको बीमा दावी परेको छ ।

नेको इन्स्योरेन्समा ४० वटाको रु एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको माग भएको छ । सानिमा जिआईसीमा १२९ वटाको रु ७८ करोड ९३ लाख ७९ हजार बराबरको दावी छ ।

राष्ट्रिय बीमा कम्पनीमा १७२ वटाको रु ४९ करोड ५१ लाख बराबरको बीमा माग भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा १७० वटाको रु ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ वटाको रु ४६ करोड ९४ लाख ९८ हजार बराबरको बीमा दावी परेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीमा १५१ वटाको रु ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ वटाको रु १९ करोड १८ लाख बराबरको बीमा दावी भएको छ ।

नेशनल इन्स्योरेन्स कम्पनीमा १९ वटाको रु छ करोड ८२ लाख ९० हजार ७५६ बराबरको दावी परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा नौ वटाको रु एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा छ वटाको रु ६७ लाख सात हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १५ वटाको रु ५६ लाख ३६ हजार, ट्रष्ट माइक्रो इन्स्योरेन्समा आठ वटाको रु ४२ लाख बराबरको बीमा दावी भएको छ । प्राधिकरणका अनुसार हालसम्म एक हजार ९८४ वटा बीमा दावी भएको छ ।

नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्वन्धित निकायमा प्रक्रियाअघि बढाउन सङ्घले आग्रहसमेत गरेको छ ।

वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी, क्षति विवरणको आधारमा दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पु¥याउने सङ्घले स्पष्ट पारेको छ ।

नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।

आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै सङ्घले बीमा कम्पनीलाई यस सङ्कटको समयमा दावी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ ।

सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडो बीमा कम्पनीमा बुझाइ दावी प्रक्रिया सहज बनाउन अपिल गर्नुभएको छ । साथै, बीमा कम्पनीले पनि दावी भुक्तानी प्रक्रिया छिटो टुङ्गोमा पु¥याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताउनुभयो ।

विसं २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीको सक्रियता सकारात्मक र आशाजनक देखिएको उहाँले बताउनुभयो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १५ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ३० पैसा र विक्रीदर ३६६ रुपैयाँ ८५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन,८६९ जना घाइते

काठमाडौँ, ४ असोजः गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् ।

बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् ।

यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् ।

सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् ।

सर्पदंशका ३०४ घटना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन् ।

जनावर आक्रमणका २१७ घटना घटदा २० जानको निधन भएको छ । यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित भएका छन् । विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।

‘जेन–जी’ आन्दोलनः अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

पाँचथर, ४ असोज ः वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुग्नु भएकै थिएन । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उहाँ झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहनु भएको थियो ।

गत भदौ तेश्रो साता मोवाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैँसम्ममा घरको भुईं तलाको काम सक्ने बताउनुभएको थियो । “दसैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो”, गणेशले भन्नुभयो, “तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो ।” गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहा नै थिएन ।

घर निर्माण गरिरहेका कमल ‘जेनजी’ आन्दोलन चर्किएको समयमा भदौ २४ गते साँझ आन्दोलनमा सहभागी हुन झापाको विर्तामोड जानुभएको थियो । कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिन । एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लाग्नुभएको थियो ।

रात पर्दै गएपनि कमलको फोन उठेन । श्रीमती सीता, बहिनी मायालगायतले रातैभरी मोवाइलमा फोन गरे । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो । बहिनी मायाका अनुसार गत भदौ २५ गते विहान १० बजे कमलको फोन बिएण्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए ।

सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ । आएर लिएर जानु’ भने । “हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्”, मायाले भन्नुभयो, “दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।”

जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला भदौ २४ गते साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आउनुभएको थियो । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएण्डसी अस्पताल पु¥याएका थिए ।

कमलका परिवारजनले भोलिपल्ट मात्रै उहाँ ‘भेण्टिलेटर’मा भएको जानकारी पाए । “दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो”, बहिनी मायाले भन्नुभयो, “चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनु भएन भन्नुभयो । हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।”

कमलको शवलाई भदौ २८ गते अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बस्नुभएको छ । ५७ वर्षका बाबु गणेश आफैँ बिरामले थलिनुभएको छ । बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ ।

बिरामी बाबु गणेशका गला अवरुद्ध छन् । गर्भवती श्रीमती सीता अझैँसम्म ‘अर्धचेत’ हुनुहुन्छ । सिकुवामा ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेर ३० वर्षका छोराको तस्वीर राखिएको छ । आफन्त र छरछिमेकी घरभरि छन् । तर गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास ।

झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गर्दै आउनुभएको थियो । परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै । “हामीलाई पनि घर बनाइ सकेर झापा नै लैजाने भन्दै थियो । तर खोइ आज के आइलाग्यो ?”, भक्कानिदै बाबु गणेशले भन्नुभयो । भुइ तला ढलान सकिएको घर फिनिसिङ गर्न बाँकी छ ।

कमल दसैँमा घर सिङ्गार्न आइपुग्नु भएन नै दसैँको मुखका परिवार र सिङ्गो गाउँ शोकमा डुबेको छ । तीस वर्षीय कमलको आठ वर्ष खाडीमै वितिसकेको थियो । खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरीद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ । कमलका पाँच वर्षका छोराले अब कहिल्यै बाबु भेट्ने छैनन्, गर्भमा रहेको सन्तानले बाबु देख्न पनि पाउने छैन । अर्धचेत श्रीमती सीताले सहयात्राको सात वर्षमै श्रीमान् गुमाउनु परेको छ । “यिनीहरुको भविश्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ”, काका शान्तिरामले भन्नुभयो ।

सहिद परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन् । “हामीलाई भेट्न वडाध्यक्षसमेत आउनुभएको छैन्”, सहिद कमलकी बहिनी मायाले भन्नुभयो, “देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ वित्दा कसैले वास्ता पनि गर्नुभएन ।” जेनजी आन्दोलनका सहादत प्राप्त गरेकाका परिवारलाई दिइने भनेको राहतवारे पनि भण्डारी परिवार जानकार छैन ।

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र भएका र यसले विकराल रूप लिन थालेको भनी संयुक्त राष्ट्रसङ्घले शुक्रबार चासो व्यक्त गरेको छ। सुडानमा तत्काल दिइने मृत्युदण्डको संख्या बढेको छ र जातीय हिंसामा भएको वृद्धि चिन्ताजनक बनेको छ ।

संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले नियमित सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच ‘द्वन्द्वको बढ्दो जातीयता’ को चेतावनी दिनुभएको छ । यसले सन् २०२३ अप्रिलदेखि सुडानलाई हिंसामा गाँजेको छ।

गेहयुद्धबाट तहसनहस भएको सुडानमा यस पहिले भएको ‘बिर्सिएको द्वन्द्व’ ले दशौँ हजारको ज्यान लिइसकेको छ र लाखौँलाई विस्थापित गरिसकेको छ।

टर्कको कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “बढ्दो जातीय र विभाजनकारी आयाम र नागरिक जनसङ्ख्यामा विनाशकारी प्रभावका कारण वर्षको पहिलो छ महिनामा युद्ध तीव्र विस्तार भएको थियो।”

सुडानका लागि राष्ट्रसङ्घीय मानवअधिकार अधिकार कार्यालयका प्रतिनिधि ली फुङले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “विशेष गरी उत्तरी डार्फरमा ‘जातीय आधारमा हिंसा भड्किएको छ।”

“यो धेरै चिन्ताजनक छ,” उहाँले अगाडि थप्नुभयो ।

युद्धले देशलाई प्रभावकारी रूपमा विभाजित गरेको छ, सेनाले उत्तर, पूर्व र मध्यभागमा कब्जा जमाएको छ । आरएसएफले दक्षिणका केही भाग र पश्चिमी डार्फरको लगभग सम्पूर्ण क्षेत्रमा प्रभुत्व जमाएको छ।

वर्षको पहिलो छ महिनामा ‘यौन हिंसा, अन्धाधुन्ध आक्रमण, र विशेष गरी जातीय आधारमा नागरिकविरुद्ध प्रतिशोधात्मक हिंसाको व्यापक प्रयोग भइरहेको’ छ,” शुक्रवारको रिपोर्टमा भनिएको छ।

नयाँ प्रवृत्तिहरूमा देशको उत्तर र पूर्वमा रहेका गाउ र वस्तीहरूमा ड्रोनको प्रयोगगरी आक्रमण गरिएको छ । यो क्षेत्र अहिलेसम्म युद्धले धेरै हदसम्म जोगिएको क्षेत्र हो ।

‘प्रतिशोध’

राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी कार्यालयले सन् २०२५ को पहिलो छ महिनामा द्वन्द्वमा कम्तीमा तीन हजार ३८४ जना सर्वसाधारणको मृत्यु भएको अभिलेख राखेको छ ।

यसले गत वर्षको कुल हत्या सङ्ख्याको लगभग ८० प्रतिशत प्रतिनिधित्व गर्ने कार्यालयले जनाएको छ।

अधिकांश नागरिकहरू युद्धमा मारिएका थिए, तर कम्तिमा ९९० सर्वसाधारणहरूले झडपमा नभई ‘मृत्युदण्ड’का कारण ज्यान गुमाएको कार्यालयले जनाएको छ ।

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी, ३ असोज : जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन घटेको छ । प्रदर्शनपछि भारतीय पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

जेनजी प्रदर्शन हुनुअघि एकै दिनमा ७०९ जनासम्म दक्षिण एसियाली मुलुकका पर्यटकले प्रवेश अनुमति लिएकामा त्यसपछि उक्त सङ्ख्या घटेर बिहीबार ७९ मा सीमित भएको छ ।

“सार्क क्षेत्रभित्र भारतीय पर्यटकको सङ्ख्या घटेको छ, तेस्रो मुलुकका पर्यटक आगमन केही प्रभावित बनेको छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा विदेशी पर्यटक झण्डै आधाले घट्ने देखिएको छ ।” गत वर्ष सेप्टेम्बरमा २३ हजार ८८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

यस वर्ष सेप्टेम्बर १८ अर्थात् बिहीबारसम्ममा जम्मा नौ हजार नौ सय ९९ पर्यटकले प्रवेश अनुमति लिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका पाँच हजार ५४९ र अन्य देशका चार हजार ४५० पर्यटक छन् । मुख्य पर्यटकीययाम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पर्यटक आगमन प्रभावित भएको प्रमुख डा कडरियाले बताउनुभयो ।

“अहिले जनजीवन सामान्य भइसकेको छ, अन्नपूर्ण क्षेत्रका कुनै पनि गन्तव्यमा कुनै क्षति पुगेको छैन”, उहाँले भन्नुभयो, “शान्त र सुरक्षित वातावरणमा अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न सकिन्छ, पदयात्राका लागि यो याम उत्तम मानिन्छ ।”

पर्यटनका हिसाबले असोज र कात्तिक महिनालाई मुख्य मानिन्छ । दसैँ, तिहार जस्ता ठूला चाडवाड यहीँ बेला पर्ने भएकाले मानिस घुमफिरको योजना बनाइरहेका हुन्छन् । नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वमाझ दिएर पुनः पर्यटन क्षेत्रलाई लयमा फर्काउनुपर्ने ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

“अन्योलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक पनि आउन डराइरहेका छन्, कतिले बुकिङ रद्ध गरेका छन्”, उहाँले भन्नुभयो । विदेशी पर्यटकलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म पु¥याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको अध्यक्ष आचार्यले बताउनुभयो । गत आवमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष दाहालको आह्वान

काठमाडौँ, ३ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई अग्रगमनको मार्गमा अघि बढाउनका लागि राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई आह्वान गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश सङ्गठन समितिको ‘भर्चुअल’ बैठकमा उहाँले अहिले मुलुकले व्यहोरिरहेका चुनौतीसँग जुध्न राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । शासकीय अभ्यासलाई लिएर जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक संसद्को निर्वाचन प्रणाली अवम्बन गरिनुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा माओवादीले फरक मत दर्ज गराएको शासकीय स्वरुप र निर्वाचन प्रणालीको महत्व अहिले झन् सान्दर्भिक देखिएको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

कैयन प्रतिकूलताकाबीच जेनजी आन्दोलनको माग सम्बोधन र संविधानको रक्षामार्फत देशलाई सहज निकास दिन माओवादी केन्द्रले विशेष भूमिका निर्वाह गरेको जनाउँदै अध्यक्ष दाहालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । बैठकमा माओवादी केन्द्रका नेता एवं जनप्रगतिशील मञ्चका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध

पाटन (ललितपुर), ३ असोज : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेनजी पुस्ताको प्रदर्शनले अघि सारेका जायज मागलाई आत्मसात गर्दै बैठकले तिनलाई विधिवत रूपले सम्बोधन गर्न गराउन नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको ठहर गरेको छ ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय, विपी स्मृति भवन, विपी नगर, ललितपुरमा आज बसेको बैठकले जेनजी पुस्ताको पछिल्लो प्रदर्शनमा जीवन गुमाएका युवाहरू एवं प्रहरी र अन्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै न्याय, समानता, स्वतन्त्रता एवं बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न विगतमा भएका सबै आन्दोलनमा प्राण उत्सर्ग गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार संविधान दिवसको अवसरमा एक मिनेट मौनधारणा पश्चात प्रारम्भ भएको बैठकले गत भदौ २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा कयौँ युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाउने नेपाल आमाका महान सपुतहरूप्रति पुनःभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको हो ।

“प्रदर्शनका क्रममा भएका घाइतेको उपचारको सम्पूर्ण प्रबन्धमा थप गम्भीरता राख्न माग गर्दै सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ, उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग बैठकले पुनःदोहोर्‍याएको छ”, उहाँले भन्नुभयो ।

कार्यसम्पादन बैठकले लोकतन्त्रका लागि आजसम्म अविचलित रूपमा सङ्घर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको नेपाली कांग्रेस कडा शबदमा निन्दा र भत्सर्ना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले भदौ २४ गतेको प्रदर्शनका क्रममा आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबारलगायत राज्यका मुख्य अङ्ग एवं लोकतन्त्रका आधार स्तम्भहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका तीनै तहका कार्यालय, नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ नेताहरू, नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको विराटनगरस्थित ‘कोइराला निवास’, सर्वोच्च नेता गणेशमान सिंहको काठमाडौँ चाक्सीबारीस्थित ‘गणेशमान निवास’ र ललितपुरको बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को ‘आश्रम’ मा तोडफोड, आगजनी र लुटपाटबाट गरेको भन्दै विरोध गरेको छ ।

सार्वजनिक एवं निजी क्षेत्रको खर्बौ सम्पत्तिको क्षति गरिएको घटनाप्रति कार्यसम्पादन समितिको यो बैठक कडा शब्दमा निन्दा र भत्सर्ना गर्दै बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ ।

कांग्रेसले संसद् विघटनको यो उपक्रम संविधानको परिकल्पना र सम्मानित अदालतको व्याख्या विपरीत रहेको भन्दै संसद् विघटन असंवैधानिक भनेको छ । बैठकले यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको भन्दै संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास यही संविधानभित्र खोज्न सकिन्छ भन्ने नेपाली कांग्रेसको दृढ विश्वास रहेको निर्णय भएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

“संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्दछ, वर्तमान संविधानको संरक्षण र पालनासँगै मुलुकको सफलता र देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प गर्दै यस्तो चुनौतीपूर्ण अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षार्थ कांग्रेसले विभिन्न राजनीतिक दल तथा नागरिक समाज लगायत सबै सरोकारवालाहरूरूसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गर्दछ”, पौडेलले भन्नुभयो ।

कांग्रेसले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै बदलिएको परिस्थितिमा पार्टीलाई थप सबल, सुदृढ र गतिशील बनाउँदै लैजानुपर्ने ऐतिहासिक दायित्वलाई हृदयङ्गम गरी सबैलाई संयम र बृहत्त एकता राख्न स्वदेश तथा विदेशमा रहेका हाम्रा सदस्य, समर्थक, शुभचिन्तक र समस्त नेपाली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक अपिल गरेको छ ।

आजको बैठकमा पार्टीका पदाधिकारीहरू उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, डा शेखर कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, सुजाता कोइराला, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना र बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा र श्यामकुमार घिमिरेले आआफ्नो धारणा राख्नुभएको थियो ।

बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालन

म्याग्दी, ३ असोजः यहाँको तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक दुई दिनपछि आज साँझदेखि सञ्चालन भएको छ ।बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफ लाइन’ मानिन्छ । मङ्गला गाउँपालिका–२ लाम्पाटामा गत बुधबार राति खसेको पहिरो पन्छाएपछि सञ्चालन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख बिष्णु पौडेलले डोजर परिचालन गरेर सडकमा थुप्रिएको पहिरो पन्छाएको बताउनुभयो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने यो सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको थियो । पटकपटक सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक, भवनलगायत विकास आयोजना प्रभावित भएका छन् ।

जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री शाहद्वारा निर्देशन

कैलाली, ३ असोज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त कार्यालयहरू सञ्चालन गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

कर्मचारी तथा विकास साझेदारहरूसँग आज यहाँ एक छलफल आयोजना गरिएको थियो । सो छलफलमा उहाँले जस्तोसुकै विषम परिस्थितिमा जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

जेनजी प्रदर्शनमा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध छ । यसअघि मुख्यमन्त्री शाहले क्षतिग्रस्त विभिन्न मन्त्रालयसहित २९ वटा कार्यालयको निरीक्षण गर्नुभएको थियो ।

वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल

झापा, ३ असोज : गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा हुनुहुन्थ्यो । ७६ वर्षीया आमा गुनमायाले सोध्नुभयो, “कता हिँड्न लागेको कान्छा ?”

गोपालले जवाफ दिनुभएको थियो, “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।” रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिँड्नुभएका गोपालको त्यही संवाद आमासँगको अन्तिम हुन पुग्यो । उहाँ सोही दिन विर्तामोडमा प्रहरीको गोली लागेर सहिद हुनुभयो ।

विर्तामोड गएपछि उहाँ सबैभन्दा पहिला बीएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले दर्जनौँ युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि जेनजी प्रदर्शनमा जानुभएको थियो ।

गोपालको परिवारमा बुवाआमा, दाजु भाउजु र तीन दिदीबहिनी छन् । दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् । दिदीबहिनीको विवाह भइसकेको छ । उहाँको काँधमा वृद्धावस्थाका बुवा धनपति र आमा गुनमायाको हेरचाह गर्दै घर सम्हाल्ने जिम्मेवारी थियो ।

उहाँकी दिदी तुलसा सेढाईंका अनुसार रक्तदान कार्यक्रममा जानुअघि बिहान गोपाल सँधै झंै योग सिकाउन शिविरमा जानु भएको थियो । त्यहाँबाट फर्केपछि उहाँले गोठमा गएर गाई दुहुनु भयो । त्यसपछि उपचारका लागि बिरामी बुवालाई लिएर शनिश्चरे अस्पताल जानुभयो । आमासँगै दही चिउरा खाएर उहाँ विर्तामोड जानुभएको थियो ।

“आमा बुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो”, आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाउनुभयो, “अब हाम्रो कान्छो भाइ कहिल्यै नफर्किने बाटोमा गयो ।”

अपराह्न ४ बजेतिर उहाँलाई गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएण्डसी हस्पिटलमा पु¥याइएको थियो । गोलीले छाती छेडेका कारण उहाँको तत्कालै निधन भएको चिकित्सकले बताएका थिए ।

गोपालमा अन्याय नसहने हक्की स्वाभाव थियो । व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका उहाँ गाउँमा कुशल योग प्रशिक्षक, स्वयंसेवी रक्तदाता र सामाजिक अभियन्ताको रूपमा परिचित हुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गोपाल सेढाईं नियमित रक्तदाता र सामाजिक अभियन्ताको रूपमा रेडक्रससँग सँधै नजिक रहेको बताउनुभयो ।

“कोही कसैलाई रगतको अभाव भएको थाहा पाउने वित्तिकै कि त आफैँ रक्तदान गर्नुहुन्थ्यो, कित दाताहरू खोजेर ल्याउनुहुन्थ्यो”, ढकालले भन्नुभयो, “एउटा शिक्षित र होनहार युवा हुनुहुन्थ्यो उहाँ ।”

उहाँ अविवाहित हुनुहुन्थ्यो । उहाँकी दिदी तुलसा सेढाईंले बिहेका लागि घरमा कुराकानी भइरहेको बताउनुभयो । जेनजी प्रदर्शनको क्रममा भदौ २३ गते काठमाडौँमा प्रहरीको गोली लागेर कलिला युवा आन्दोलनकारीको मृत्यु भएपछि उहाँ विक्षिप्त जस्तै हुनुभएको तुलसाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अन्याय र अत्याचार उसलाई सह्य थिएन । काठमाडौंँमा आन्दोलनकारी जेनजीको मृत्यु भएको खबर सुनेदेखि रोएरै दिन बिताएको थियो ।”

गोपाल मिहेनती किसान र नर्सरी व्यवसायी हुनुहुन्थ्यो । उहाँले डेढ बिघा जग्गामा विभिन्न बिरुवाको नर्सरी लगाउनुभएको थियो । खेतीपाती र पशुपालनमा उहाँको रुची थियो । गोबर सोहोर्ने र गाई दुहुने काम उहाँ आफैँ गर्नुहुन्थ्यो । बारीमा सुपारी र मरिचको बगान लगाउनुभएको थियो । उहाँको निधनले गाउँ नै शोकमा छ ।

आणविक ऊर्जा निर्माणका लागि स्वीडेनद्वारा २३ अर्ब डलर प्रस्ताव

स्वीडेन सरकारले शुक्रबार नयाँ आणविक रिएक्टरहरू निर्माणका लागि २२० अर्ब क्रोनर (२३.३ अर्ब डलर) सम्म कर्जा लगानी गर्न तयार भएको बताएको छ ।

सन् २०२३ मा स्वीडेन सरकारले देशमा आणविक ऊर्जा उत्पादनलाई व्यापक रूपमा बढाउनको लागि मार्गचित्र प्रस्तुत गरेको थियो ।

ऊर्जा मन्त्री इब्बा बुशले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी स्वीडेनको ऊर्जाको लागि निर्णायक क्षणको सामना गरिरहेका छाँैं। बिजुलीको सुरक्षित आपूर्ति समाजको आधारभूत कार्य हो।”

सन् २०२५ अगस्टको अन्त्यमा स्वीडेनले ५० वर्षमा पहिलो आणविक ऊर्जा विस्तारको लागि ‘मोडुलर परमाणु रिएक्टर’ निर्माणको बाटो चयन गरेको हो।

नयाँ पुस्ताका तीन वा पाँच रिएक्टरहरू दक्षिण–पश्चिमी स्वीडेनको रिङ्घल्स प्लान्टमा निर्माण गरिनेछ जसले दुई परम्परागत रिएक्टर बराबर अर्थात एक हजार ५०० मेगावाट विद्युत प्रदान गर्नेछ ।

स्क्यान्डिनेभियाली मुलुक स्वीडेनले आणविक ऊर्जालाई चरणबद्ध रूपमा समाप्त गर्न १९८० को गैर–बाध्यकारी जनमत सङ्ग्रहमा मतदान गरेको थियो र त्यसबेलादेखि आफ्ना १२ मध्ये छ वटा रिएक्टरहरू बन्द गरेको थियो।

शुक्रबार सरकारले नयाँ आणविक ऊर्जा निर्माणका लागि सरकारी ऋण खोज्ने कम्पनीहरूका लागि बजेट फ्रेमवर्क प्रस्ताव गरिरहेको बताएको छ र यो निजी वित्तीय संस्थाहरूमार्फत प्रदान गरिने सुरक्षित ऋणभन्दा सस्तो हुनेछ।

यो फ्रेमवर्क १२ वर्षमा कुल २२० अर्ब क्रोनर नयाँ रिएक्टरहरूको निर्माणका लागि अपेक्षित कर्जामा समावेश गरिएको सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।

स्वीडेनका छ वटा सक्रिय रिएक्टरहरूले हाल यसको बिजुली आवश्यकताको लगभग ३० प्रतिशत उत्पादन गर्छन्।

मधेस प्रदेश सरकारले जेनजी आन्दोलनका सहिद परिवारलाई दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदहरूप्रति मधेस सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने घोषणा गरिएको छ ।

बैठकले आन्दोलनका क्रममा घाइते हुनुभएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको प्रभावकारी उपचार प्रबन्ध मिलाउनुपर्ने निर्णय गरेकोे छ ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने जेनजी पुस्ताले अघि सारेका मागको समाधान वर्तमान संविधानकै दायराभित्र रहेर खोजिनुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

चार जनाको ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा

वीरगञ्ज (पर्सा) – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई आज बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले बाराको अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “गत असारयता वन क्षेत्रमा चार जना मान्छेको मुत्यु भएको रहेछ । स्थानीयले बाघबाटै मृत्यु भएको भनेकाले उक्त बाघलाई प्राविधिक टोलीले डार्ट हानेर नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित र डर, त्रास देखिएकाले पनि उक्त बाघलाई नियन्त्रणमा लिइएको हो ।”

सूचना अधिकारी भगतले नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको जानकारी दिनुभयो ।

छुट मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र

किमाथाङ्का (सङ्खुवासभा), ३ असोजः अरुण तेस्रो जलविद्युत् परियोजनाअन्तर्गत छ्याङकुटी–दिदिङ प्रवेश मार्गको जिरो प्वाइन्टदेखि २९ किलोमिटर सडकखण्डको छुट मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घर्ष समितिले आज प्रजिअ सृजना थपलियालाई विभिन्न नौ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् । प्राविधिक रूपमा लगतकट्टा गर्न छुट भएका जग्गाधनीको लगतकट्टा गरी तत्काल मुआब्जा वितरण गर्नुपर्ने, छुट मुआब्जासम्बन्धी पहिलो सूचनामा नाम प्रकाशित भइसकेको तर सम्बन्धित कार्यालयको प्राविधिक त्रुटिका कारण गोरखापत्रमा नाम छुटेका जग्गाधनीलाई तत्काल मुआब्जा वितरण गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको समितिका अध्यक्ष साङ्घे शेर्पाले बताउनुभयो ।

माग पूरा नभएमा आन्दोलित हुने सङ्घर्ष समितिका उपाध्यक्ष कुमार गुरुङले चेतावनी दिनुभयो । विसं २०८० वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारद्वारा संरचनाको पुनर्निर्माण र संरचनागत सुधारका लागि समिति गठन

बागमती, ३ असोजः बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र संरचनागत सुधारका लागि छुट्टाछुटै उच्चस्तरीय समिति गठन गरेको छ ।

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त मन्त्रालय र प्रादेशिक कार्यालयहरूको व्यवस्थापन तथा संरचनागत सुधारका लागि मन्त्रिस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको सरकार प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

उक्त समितिको सदस्यहरूमा आर्थिक मामिला मन्त्री तामाङ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई राखिएको छ । सो समितिलाई क्षतिग्रस्त मन्त्रालयहरूको व्यवस्थापन तथा तत्काल नियमित सेवा प्रवाहका लागि काम अघि बढाउने ‘म्यान्डेड’ दिएको मन्त्री तामाङले बताउनुभयो ।

यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा आर्थिक मामिला तथा योजनामन्त्री तामाङ, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी र मन्त्रालयका सचिवहरू सदस्य रहनेगरी संरचनागत सुधार समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त समितिले प्रदेश सरकारका अनावश्यक र दोहोरो प्रकृतिका प्रशासनिक संरचना खारेज गर्ने, खर्च कटौती गर्ने र संरचनालाई चुस्त बनाउन सरकारले चाल्नुपर्ने कदमबारे सुझाव दिने निर्णय गरेको प्रवक्ता मन्त्री तामाङले बताउनुभयो ।

पहिरोका कारण नारायणगढ(मुग्लिन सडक अवरुद्ध, रातको समयमा सडक प्रयोग नगर्न आग्रह

चितवन, ३ असोजः नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उहाँको भनाइ छ ।

आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले बताउनुभयो । यहाँका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ । पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

दोधारा चाँदनी (कञ्चनपुर), ३ असोजः सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २० स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले आठ स्थानमा पसल सञ्चालन गरेको जनाइएको छ ।

खाद्य व्यवस्था लिमिटेडको प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले भन्नुभयो, “हामीले सुपथ मूल्यका पसलबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा उपलब्ध गराउनेछौँ । गत भदौ ३० गतेदेखि सुपथ मूल्यका पसल सञ्चालनमा आएका हुन् ।”

उहाँका अनुसार कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिद बिक्री केन्द्रमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो ।

बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र, बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद बिक्री केन्द्रमा सुपथ मूल्यका पसल सञ्चालनमा छन् । दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्र र अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साफेबगर, कमल बजार खरिद बिक्री केन्द्रबाट सेवा सुरु भएको प्रमुख थापाले जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रदेश कार्यालय प्रमुख तेजबहादुर कुवँरले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्यका पसलमा नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेल चिउरा, पिठो मैदा र दालमा प्रतिकिलो रु सात छुट दिने बताउनुभयो ।

डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्यका पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ ।

‘संविधानको कार्यान्वयनबाट आर्थिक समृद्धि सम्भव छ’ :मुख्यमन्त्री पाण्डे

गण्डकी, ३ असोजः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । संविधान दिवस-२०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज पोखरामा आयोजित संविधान दिवस मूल समारोह कार्यक्रममा उहाँले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरका लागि तीनवटै तहबीच समन्वय र सहकार्य आवश्यक पर्ने बताउँदै उहाँले रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनःनिर्माण र जनतासँग प्रत्यक्ष जोडिएका सेवाको विस्तारमा गण्डकी प्रदेश लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको मुख्यमन्त्रीले उल्लेख गर्नुभयो । संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

गत भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा जेनजीद्वारा गरिएको प्रदर्शनले नयाँ पुस्ताको आकाङ्क्षा र परिवर्तनको चाहनालाई प्रष्ट पारेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । उहाँले यस क्रममा सहादत प्राप्त गर्नुभएका युवा पुस्ता र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभयो । प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले घटनाको न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितहरूको न्याय सुनिश्चित गर्ने दिशामा आवश्यक पहल गर्न सबैसँग अनुरोध गर्नुभयो ।

“जेनजी पुस्ताले उठाएका विषय सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति यी हाम्रो साझा लक्ष्य हुन् र सामूहिक जिम्मेवारी पनि हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिमाथि प्रहार गर्ने, नकारात्मक सोचलाई स्थापित गर्ने गरी गलत भाष्य निर्माण गरिएकोतर्फ सचेत रहँदै सकारात्मक सोच राखेर थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्न विषेशत युवा पुस्तालाई म अनुरोध गर्दछु ।”

सुशासन कायम गर्ने विषयमा गण्डकी प्रदेश दृढ रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले ‘राईड शेयरिङ’मार्फत युवालाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापनमार्फत शुसासन कायम गर्दै मितव्ययी शासन प्रणालीलाई अङ्गिकार गर्दै आएको बताउनुभयो । आफूँहरूले सुरु गरेका यी पहलहरू केवल प्रशासन सुधारका लागि मात्र नभएर युवा पुस्ताको आशा र विश्वास पूरा गर्न, प्रदेशको समुन्नतिका लागि अत्यावश्यक रहेको उहाँको भनाइ छ ।

प्रदेशका सभामुख कृष्णप्रसाद धितालले संविधान दिवसलाई राष्ट्रिय रूपमा मनाउँदै संविधानलाई कसरी वैज्ञानिक बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । युवा पुस्ताद्वारा गरिएको प्रदर्शनपछि दलहरूलाई सचेत बनाएको बताउँदै उहाँले युवाका जायज मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधारशीला वर्तमान संविधान भएको बताउँदै उहाँले यसलाई संरक्षण, सम्बर्द्धन र सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले जेनजी पुस्ताको माग समयमा सुनुवाई नहुँदा यस्तो अवस्था सिर्जना भएको बताउनुभयो । प्रदर्शनका क्रममा जनधनको क्षति हुनु संवैधानिक क्रियाकलाप विपरीत भएको बताउँदै उहाँले यसले समाज र राष्ट्रलाई ठूलो क्षति पुर्‍याएको धारणा राख्नुभयो ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता हरिबहादुर चुमानले बलिदानीपूर्ण सङ्घर्षबाट बनेको वर्तमान संविधानको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले जेनजी पुस्ताले प्रदर्शनका क्रममा उठाएका प्रमुख मुद्दा पनि यही रहेको बताउनुभयो ।

दसैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

मुस्ताङ, ३ असोज : दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो । केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले मुस्ताङकै किसानका छ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिनुभयो । कर्णाली प्रदेशको जुम्लाबाट ७७५, मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार चार सय भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको पशु चिकित्सक अर्यालले बताउनुभयो ।

मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने अनुमान गरिएको छ । गतवर्ष दसैँमा मुस्ताङबाट नौ हजार बढी भेडाच्याङ्गा अन्य जिल्ला पठाइएको थियो ।

गत वर्षको तुलनामा औसत २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला पठाइएको पशु चिकित्सक डा अर्यालले उल्लेख गर्नुभयो । यस वर्ष ५० प्रतिशत मुस्ताङबाट र ५० प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोम, घाँसा हुँदै पठाइएको हो । कास्कीका भेडाच्याङ्ग्रा व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्याबाट कृषकहरूको खोरबाटै २३५ वटा च्याङ्ग्रा खरिद गरी बिक्रीका लागि पोखरा लैजाने तयारी गरेको बताउनुभयो । उपल्लो मुस्ताङका कृषकहरूको गोठमै पुगेर च्याङ्ग्रा छनोट गरी ल्याएको उहाँको भनाइ छ । यसपटक कृषकको खोरमै गतवर्ष भन्दा केही बढी मूल्य परेको उहाँले बताउनुभयो ।

यसवर्ष रोज्जा च्याङ्ग्रा प्रतिगोटा ३५ हजार र माउ (च्यालु) को १३ हजार रुपैयाँ मूल्य परेको व्यापारी रानाभाटको भनाइ छ । मुस्ताङबाट खरिद गरिएका च्याङ्ग्रा पैदलै पोखरा लगेर बिक्री गरिने उहाँले बताउनुभयो । सायद पोखरामा लैजाँदा रोज्जा च्याङ्ग्राको ४२ हजार र च्यालु च्याङ्ग्राको १८ हजार रुपैयाँमा बिक्री गरिने व्यापारी रानाभाटले बताउनुभयो । गतवर्ष मुस्ताङबाट २८६ वटा च्याङ्ग्रा पोखरा लगेर बिक्री गर्दा राम्रै फाइदा भएकामा यसवर्ष देशमा उत्पन्न परिस्थितिले गर्दा च्याङ्ग्रा बिक्री नहुने पो होकी भन्ने चिन्ता बढेको व्यापारी रानाभाटले जनाउनुभयो ।

दसैँका लागि जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको व्यापारी र च्याङ्ग्रा धनीको समन्वयमा खोरमै पुगेर भेटेरिनरी परीक्षण गरिएको छ । यहाँ परीक्षण गरिएका भेडाच्याङ्ग्राको अवघि ७२ घण्टासम्मको हुनेछ । मानव स्वास्थ्यको रक्षा र अस्वस्थकर च्याङ्ग्राका कारण रोगव्याधी नफैलिओस भन्ने अभिप्रायले भेडाच्याङग्राको परीक्षण गरिएको हो ।

मुस्ताङमा यसवर्ष करिब एक सयभन्दा बढी च्याङ्ग्रा व्यापारी आएका छन् । यहाँबाट खरिद गरिएका च्याङ्ग्रा व्यापारीहरूले पोखरा–काठमाडौँलगायत स्थानमा लगेर बिक्री गर्छन् । कतिपय व्यापारीले मुस्ताङबाट निकासी गरिएका च्याङ्ग्रा पैदल खेदाउँदा म्याग्दी, पर्वत र बाग्लुङलगायत स्थानमा लगेर बिक्री गर्ने गर्छन् ।

हिमाली जिल्लाको उच्च लेक तथा पाटनमा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले सहर बजारको उपभोक्ताहरू दसैँमा च्याङ्ग्राको मासु खान रुचाउँछन् ।

रुसी विदेश मन्त्री लाभरोभ र रुबियोबीच अर्को हप्ता भेटवार्ता हुने

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको महासभा छेउछाउमा अमेरिकी समकक्षी मार्को रुबियोसँग भेटवार्ता गर्ने रुसी प्रशासननिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको आक्रमण अन्त्यका लागि कुनै सम्झौता नगरेकोमा मस्को र रुसी नेता भ्लादिमिर पुटिनप्रति आक्रोश व्यक्त गरिरहेका समय दुई उच्च कुटनीतिज्ञबीच भेट वार्ता हुन लागेको हो ।

आफ्नो चुनावी अभियानमा राष्ट्रपति पदमा फर्किएपछि ट्रम्पले द्वन्द्व चाँडै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो तर पुटिनले युद्धविरामका लागि आफ्नो अडानबाट पछि नहटेपछि युद्धविराम हुन सकेको छैन । उहाँले मस्कोको सर्तमा शान्ति सम्झौता हुन नसकेमा लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लाभरोभ र रुबियोले द्विपक्षीय र बहुपक्षीय दुवै विषयमा छलफल गर्नेछन् । “अहिलेसम्म कुनै विशेष एजेन्डा छैन, तर बैठकको योजना बनाइएको छ,” संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले भन्नुभयो ।

रुस र युक्रेनबीच तीन चरणको वार्ताले सम्झौताको दिशामा कुनै प्रगति गरेको छैन।

सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता दशौँ हजार व्यक्ति मारिएका छन् भने लाखौँ युक्रेनीहरूलाई देशको पूर्वी र दक्षिणमा रहेको आफ्नो घरबाट विस्थापित भएका छन् ।

पुटिनले आफूलाई ‘वास्तवमै निराश पारेको’ राष्ट्रपति ट्रम्पले बिहीबार बताउनुभएको थियो । उहाँले क्रेमलिनलाई वार्षिक दशौँ अर्ब डलर प्रदान गर्ने रुसी तेल खरिद नगरी वार्ताका लागि दबाव दिन सहयोगी मुलुकहरूलाई आग्रह गर्नुभएको छ ।

‘संविधान र लोकतन्त्र रक्षार्थ सबै एकताबद्ध बनौँ’ – कर्णाली प्रदेशका प्रमुख जोशी

कर्णाली, ३ असोजः कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले संविधान र लोकतन्त्रको रक्षा गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध बन्न आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘संविधान दिवस तथा राष्ट्रिय दिव–२०८२ मूल समारोह’मा उहाँले संविधानको पालना गर्दै लोकतन्त्रको रक्षाका लागि सबैको समन्वय र सहकार्य आवश्यक पर्ने बताउनुभयो ।

जेनजी प्रदर्शनका क्रममा उठाइएका सवालहरू राष्ट्रको समृद्धि र उन्नतिका लागि भएको बताउँदै प्रदेश प्रमुख जोशीले प्रदर्शनको नाममा फाइदा उठाउन खोज्नेहरू सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुक यतिबेला राजनीतिक सङ्कटमा छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संरक्षण गर्दै जनताको पक्षमा काम गर्न सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता छ । यसमा कोही कसैलाई आग्रह–पूर्वाग्रह नराखी राष्ट्र निर्र्माणको अभियानमा जुट्न म अनुरोध गर्दछु ।”

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी प्रदर्शनले उठान गरेका मुद्दा भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि भएको बताउँदै भदौ २४ गतेको आगजनी, तोडफोड, चोरी, लुटपाटलगायत घटना निन्दनीय भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी मनाउँदै गरेको संविधान दिवस अहिले अर्धमृत अवस्थामा छ । संविधान र हाम्रा प्राप्त उपलब्धिहरू गुम्ने खतरामा छन् । यसको संरक्षणका लागि सबै एकजुट हुनुको विकल्प छैन ।”

प्रदेशसभाका सभामुख नन्दा गुरुङले समावेशी चरित्र बोकेर सामाजिक न्यायका पक्षमा आएको वर्तमान संविधानको रइााका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । संविधान र सङ्घीयताले सदियौँदेखि पछि परेका महिला, दलित, आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र पिछडिएका वर्ग, जाति, भाषा, धर्म मान्ने यहाँका नागरिकलाई न्याय गरेको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले वर्तमान संविधानको रक्षा गर्दै मुलुकमा भष्टाचार अन्त्यका लागि सबै एकजुट भएर परिवर्तनका पक्षमा काम गर्नुपर्ने बताउनुभयो । “वर्तमान संविधानका कारण आज मुलुकमा आउनसक्ने खतरा टरेको छ”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शनपछि आएको परिवर्तनले मुलुकलाई सकरात्मक मार्गमा डोहो¥याउन सहयोग पुग्ने अपेक्षा गरौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्ण जिसीले जेनजी प्रदर्शनले मुलुकको नीति र नेतृत्व दुवै सुध्रिनुपर्ने सन्देश दिएको बताउनुभयो । जनताको शक्तिका अगाडि कुनै पनि बादशाहले घुँडा टेक्नुपर्ने टिप्पणी गर्दै उहाँले सुशासन, भ्रष्टाचारमुक्त देश र जनहितमा काम गर्ने नेतृत्व जन्माउन जेनजी प्रदर्शले बाटो देखाएको उहाँको भनाइ छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, सुरक्षा निकायका प्रमुख, मानवअधिकार आयोगका प्रमुख, नागरिक समाजका अगुवा तथा पत्रकार एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

जनकपुरधाममा मोर्चाले मनायो चोकमा कालो पट्टि बाँधेर कालो दिवस

जनकपुर । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ ।देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् । सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा लगाएका थिए ।

२०६२÷०६३को मधेश आन्दोलन पश्चात बनेको संविधानमा मधेशी लगायत उत्पीडनमा परेका थुप्रै जातजाती भाषाभाषीको हक अधिकार सुनिश्चित नभएको कारणले संविधान दिवसको दिन कालो दिवस मनाएको जनता समाजवादी पार्टी नेपालका जनकपुर नगर अध्यक्ष विष्णुदेव साहले बताए ।

उनले आंशिक रुपमा मधेशवादी दलले संविधानको समर्थन गरेपनि आदिवासी, थारु, जनजातीहरुको हक अधिकार पूर्ण रुपमा संविधानमा नसमेटिएसम्म आफूहरुले आजको दिनमा कालो दिवस मनाउने बताए ।कांग्रेस, एमाले र माओवादीले मधेशी जनतालाई गोली हानेर जवरजस्ती संविधान जारी गरेको नगर अध्यक्ष साहको भनाई छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

भैरहवा (रूपन्देही), ३ असोज : खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ ।

बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुब्नुभएका हुन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार सोही दिन अबेर खबर भएकोले उद्धार र खोजी कार्य सम्भव नभएको हुँदा शुक्रबार बिहानैदेखि खोजी सुरु गरिएको थियो ।

सुरुमा वडा प्रहरी कार्यालय भैरहवा र स्थानीयको संयुक्त टोलीले खोजी गरे बेपत्ता बालकको भेटिएनन् । पछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय २७ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक खड्क केसीको नेतृत्वमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले बालकलाई खोलाबाट मृत अवस्थामा फेला पारेको थियो ।

मृतक बालकको शवलाई परीक्षणको लागि भैरहवाको भीम अस्पतालमा पठाइ यसबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।