`

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न मन्त्री गीता चौधरीको निर्देशन

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।

गत चैत २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको थियो । खाजामा अखाद्य वस्तु भेटिएको गुनासो आएपश्चात् मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन गर्न निर्देशन दिनुभएको थियो ।

उक्त निर्देशनअनुसार विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले चैत ३० गते अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको भन्दै प्रचलित कानुनअनुसार उत्पादन रोकेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।

यसैबीच, मन्त्री चौधरीले आमनागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गर्ने स्पष्ट पार्नुभएको छ ।

बलिउड गीत  तुजमे खोया तुजमे पायाको सपफलतापछि सुशान्तले ल्याए  धोका

काठमाडौँ । गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडियो रिलिज गरिएको छ । सुशान्त ढकाल र स्मारिका ढकालको अभिनय रहेको गीतमा  प्रेममा हुने धोका र त्यसपछि लिइने बदलाको भावलाई देखाइएको छ । भिडियोमा मोडल सुशान्त  र  स्मारिकाको बेजोड अभिनय देख्न सकिन्छ ।

भिडियोमा सुशान्त हल्का मोटा र भिलेनको भूमिकामा देखिएका छन् । अन्य समयमा स्लिम र फिट देखिँदै आएका सुशान्त यही गीतकै लागि भनेर उनले तौल बढाएको बताए । प्रेममा हुने धोका र त्यसपछि लिइने बदलालाको कथालाई रोचक बनाउन स्मारिकालाई डबल रोलमा देखाइएको निर्देशक केशवराज भट्टले बताए । निर्देशक भट्टले आफ्ना अन्य गीतमा भन्दा यो गीतमा निकै नै मेहेनत गरेको देखिन्छ । मोडल सुशान्तले निधारैमा टिकी, दिलमाया, तिम्रो माया, एक चोटी त बोलीदेउ, लगायत ४ दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् ।

निकै नै कम मात्रामा छानेर मात्रै अभिनय गर्ने सुशान्त बलिउड गीत  तुजमे खोया तुजमे पायामा काम गरेपछि निकै उत्साहित देखिन्छन् । सुशान्तले बलिउड गायक सोनु मिश्रको स्वर रहेको गीतमा  पनि अभिनय गरेका छन् । उक्त गीतको भिडियोको नेपालमा प्रिमियर गरिएको थियो ।

धोकाका शब्द सिर्जना विष्णु भण्डारीका हुन् भने संगीत लोकप्रिय संगीस्तकार सरोज पोखरेललेको रहेको छ । दिवेश राईको एरेन्ज, मिक्सिगं मास्टरिगं रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ ।  भिडियो संगीतकार सरोज पोखरेलको अफिसियल च्यानल सरोज पोखरेलबाट बजारमा आएको हो ।

नयाँ वर्षको शुभकामना दिँदै रविले भने, खिल निकाल्ने वर्ष हो सहन सक्ने शक्ति मिलोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०८३ खिल निकाल्ने वर्ष भएको भन्दै मज्जाले दुख्ने र त्यो दुःख सहन सक्ने शक्ति मिलोस् भन्दै शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् । हाम्रो तार्फबाट धेरै शुभकामना ।’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु ३२०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु १२०, चिचिन्डो प्रतिकिलो रु ८५, घिरौँला प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु ११०, कोइरालो प्रतिकिलो रु २६०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रुखकटहर प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, एभोकाडो प्रतिकिलो रु ८००, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४६०, खुर्सानी (हरियो) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १४०, छ्यापी सुकेको प्रतिकिलो रु १३०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

अण्डाको मूल्य बढ्यो

चितवन। अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ ।लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।

बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट रु ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु १५ ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु ४१५ कायम गरिएको छ । यसअघि यो अण्डा रु ४०० मा बिक्री हुँदै आएको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो ।मझौलाको रेट रु ५५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यादेखिनै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आउने क्रम घटेको छ । यिनै कारणले अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढेको हो । यद्यपि लागत मूल्यमा पुग्न सकेको छैन ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु १९ दशमलव १२ पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट रु ५७४ पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका छन् ।

मूल्य बढ्ने आशमा किसान रहेका छन् । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ । अध्यक्ष पोखरेलले अब अण्डाको मूल्य बढ्ेर लागत मूल्यसम्म पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

सिरहा। सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ ।

हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ ।

लहान नगरपालिका–१२ र २२ मा फैलिएको करिब नौ बिघाको यस फूलबारीमा रहेको हारमको रूखमा आज बिहानैदेखि सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।

१४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आइपुगेका छन् ।

मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार बिहान ४ः०० बजेदेखि नै मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । तराईको पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने, निःसन्तानहरुलाई सन्तान प्राप्ति हुने तथा विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

भक्तजनको अत्यधिक चापलाई व्यवस्थापन गर्न मेला क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीडभाड नियन्त्रणका लागि गस्ती बढाएका छन् भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सादा पोसाकका प्रहरी र ‘सिसीटिभी क्यामेरा’बाट समेत निगरानी भइरहेको छ ।

अत्यधिक भीडका कारण यातायात र हिँडडुलमा असहजता नहोस् भन्नका लागि स्वयंसेवकहरूले सहयोग गरिरहेको मेला समितिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरे पनि स्थानीयस्तरमा ठोस विकासका कामहरू हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताका अनुसार, तीनै तहका सरकार र सम्बन्धित निकायले समन्वय गरी एकीकृत गुरुयोजना बनाएर अघि बढ्नु आवश्यक छ । यसो गर्नसकेमा यो ऐतिहासिकस्थललाई अझ आकर्षक र सुविधायुक्त धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त

नयाँ वर्ष २०८३ को अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले नयाँ वर्ष २०८३ को शुभारम्भको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

उनले लेखेका छन् – सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

भक्तपुर । नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटबाट रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् ।

पर्यटन व्यवसायमा विदेशी पर्यटकमात्रै नभई आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायी उत्साहित भएका हुन् । नयाँ वर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् ।

नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका व्यवसायी बताउँछन् । विसं २०८२ को बिदाइ गर्दै २०८३ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटको आकर्षण थप बढाएका होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माकले बताए ।

अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको बताउँदै माकले भने, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाँप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।”

सामान्यदेखि फाइभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि व्यवसायी थप होटल र कोठा थप्न उत्साहित भएका बताउँदै नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीले नगरकोटमा थप होटल खुल्नेक्रम जारी रहेको उल्लेख गरे । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मज्जा लिन यहाँ पर्यटकको आगमन बढेको बताउँदै सञ्चालक केसीले व्यवसायी उत्साहित भएको बताए ।

अर्का पर्यटन व्यवसायी एवं होटल ‘पिसफुल’ नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले नयाँ वर्षले पर्यटन व्यवसायीलाई उत्साह थपेको बताउदै यस वर्ष विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको जानकारी दिए ।

विदेशीभन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका व्यवसायी एवं होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले बताए। उनले भने, “मैले होटल क्षेत्रमा काम गरेको २७ वर्ष भयो । पछिल्ला केही वर्षयता कोरोनाले थला पारेको व्यवसायलाई उठाएको छ, नयाँ होटल थपिँदै छन् ।”

नगरकोटमा सामान्यदेखि तारेसम्मका होटल सञ्चालनमा आएका नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाले जानकारी दिए । नगरकोट भ्रमण वर्ष २०८२ ले पनि पर्यटकको आगमन बढाएको उनको भनाइ छ ।

केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल नयाँ वर्षमा आन्तरिक पर्यटकले भरिएका छन् ।

यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए ।

समुद्री सतहबाट दुई हजारर मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ ।

पर्यटन व्यवसायी बकेले भने, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेपछि व्यवसायी उत्साहित भएका छन् ।”

सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटल, सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडक, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उनले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताए ।

नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेले भने, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि त्यही मल्ल राजाहरुले रानीका लागि दरबार बनापछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको छ ।”

नयाँ वर्ष आफ्नो होटल सात दिनअघिदेखि नै बुक भएको बताउँदै उहाँले यहाँको रानीकाट गढी, बाघ भैरवलगायत ऐतिहासिक पर्यटकीय क्षेत्र पनि घुम्न पाइने बताउनुहुन्छ । सूर्यविनाकबाट घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिने यस क्षेत्रमा पर्यटकको आगमन बढेसँगै दर्जनभन्दा बढी नयाँ होटल थप भएका छन् ।

‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताए । घ्याम्पेडाँडामा अहिलेसम्मको बढी लागतमा निर्माण भएको होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको बताउँदै उहाँले नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उल्लेख गरे ।

नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ । योसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने जुडशीतल पर्वमा मिथिलाञ्चलनमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ ।

वैशाख १ र २ गते मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ । विक्रम सवत् सुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने परम्परा रहिआएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्णले बताए । उनका अनुसार आज ‘सतुवाइन’ विधिसँगै यो पर्व मनाउन सुरु भएको हो ।

मिथिलामा सौरमास गणनामा मनाइने थोरै पर्वमध्ये ‘जुडशीतल’ पनि पर्दछ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर यो पर्वलाई ‘जुडशीतल’ भनिएको प्राचार्य कर्णले जानकारी दिए । “पर्वको पहिलो दिन आज चना वा बदाम, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ”, उनले भने ।

बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको प्राचार्य कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वको दोस्रो दिन घरघरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशिर्वाद दिने गर्दछन् ।

नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृतिका ज्ञाता एवं संस्कृतिविद् ध्रुव रायले बताए । यही कारणले पर्वमा चना वा बदामको सातु, दाल, सोहिजन (मुँग) को तरकारी, बदामको पिठोबाट बनाइएका बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा रहिआएको उनले जानकारी दिए ।

संस्कृतिविद् रायका अनुसार सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मिथिलाबासी एकापसमा धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा छ । नयाँ वर्षको प्रारम्भमा धुलो र हिलो खेल्ने परम्पराले कृषिकर्ममा निरन्तर जुटिरहन प्रेरित गर्ने उनको भनाइ छ ।

“यो पर्वमा माटोसँग जोडिएर रहन प्रतिकात्मक रूपमा हिलो खेल्ने परम्परा छ”, स्थानीय ज्येष्ठ नागरिक भुवनेश्वरप्रसाद सिंहले भने, “यो प्रचलनभित्र कहिल्यै कृषि कामको कमी नहोस् भन्ने सन्देश छ ।” उनका अनुसार पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

मधेसका मिथिला क्षेत्रका जिल्ला र सीमावर्ती भारतका सीतामढी, झञ्झारपुर, शिवहर र सीतामढीसहित जिल्लामा यो पर्व उल्लासका साथ मनाउने गरिन्छ । यो पर्वले आपसी सद्भाव, सहकार्य, समन्वयको सन्देश दिने पाका मैथिली सदस्य बताउँछन् । नयाँ वर्षको प्रारम्भ कृषिसँग जोडेर पूर्वजहरूले कृषि मूलश्च जीवनम्’ भन्ने सन्देश पर्व मार्फत् दिएका लोकपरम्परा र संस्कृतिका ज्ञाता कामेश्वर झाले बताए ।

नयाँ वर्षलाई स्वस्थ जीवनशैली र भ्रातृत्वको संकल्प गर्ने अवसर बनाऔँ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केवल पात्रो फेरिएको दिनका रूपमा मात्र नलिन आग्रह गरेका छन्। नववर्ष २०८३ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस दिनलाई नयाँ कामको थालनी, सकारात्मक सोचको विकास र स्वस्थ जीवनशैलीका लागि संकल्प गर्ने उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिएका हुन्। नयाँ वर्षले व्यक्तिगत जीवनमा अनुशासन र स्थिरता ल्याउने विश्वास उनले व्यक्त गरेका छन्।

उपराष्ट्रपति यादवले सामाजिक र सांस्कृतिक स्तरमा अपनत्व र भाइचारालाई मजबुत बनाउन नयाँ वर्ष एउटा कडी हुने उल्लेख गरे। उनले आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण जस्ता साझा चुनौतीहरूमा एकजुट भएर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। विशेषगरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि दृढ संकल्प लिनुपर्ने उनको भनाइ छ। संविधानले परिकल्पना गरेको समानुपातिक प्रतिनिधित्व र सुशासनको मार्गमा हिँड्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा दिने उनले आशा व्यक्त गरेका छन्।

आफ्नो सन्देशमा उपराष्ट्रपतिले तराई–मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइने ‘सतुवाइन’, ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ लगायतका मौलिक पर्वहरूको चर्चा गरेका छन्। साथै काठमाडौँ उपत्यकाको प्रसिद्ध ‘विस्का जात्रा’ को पनि उनले विशेष स्मरण गरेका छन्। यी पर्व र जात्राहरूले नेपालीहरूबीच आपसी मेलमिलाप र सद्भाव बढाउनुका साथै नेपालको सांस्कृतिक विविधता र ऐतिहासिक गौरवलाई विश्वसामु उजागर गर्ने उनले बताए।

नेपालको मौलिक पहिचानलाई यस्ता विशेष अवसरहरूले नै बलियो बनाउने उपराष्ट्रपतिको ठम्याइ छ। सिरुवा पावनीमा देखिने पारिवारिक आत्मीयता र विस्का जात्रामा हुने समुदायको सक्रिय सहभागिताले हाम्रो सांस्कृतिक विरासतलाई पुस्तान्तरण गर्न ठूलो मद्दत पुग्ने उनले उल्लेख गरे। अन्त्यमा, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै नयाँ वर्षले राष्ट्रिय एकतालाई थप जीवन्त बनाउने विश्वास उनले दिलाएका छन्।

भ्रष्टाचार निवारण र सुशासनका लागि नयाँ वर्ष आधार वर्ष बनोस् : पूर्वअध्यक्ष खिलराज रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्ष २०८३ लाई भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने ‘आधार वर्ष’ का रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्। नयाँ वर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले आगामी वर्ष आम नेपालीको उन्नति र प्रगतिका लागि विशेष वर्षका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका हुन्।

नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटक-पटक क्रान्ति र आन्दोलन भए पनि सुशासनको मुद्दा केवल कागजमा मात्र सीमित भएको उनले बताए। पूर्वअध्यक्ष रेग्मीले भने, “भ्रष्टाचार निवारण र सुशासनको विषय सधैँ प्रतिबद्धतामा मात्र रह्यो, व्यवहारमा कहिल्यै सार्थक हुन सकेन।” उनले अबको समय गफभन्दा पनि परिणाममुखी कामको हुनुपर्ने धारणा राखे।

विशेष गरी ‘जेनजी’ आन्दोलनले भ्रष्टाचार निवारण र सुशासनको मुख्य दिशानिर्देश गरेको उल्लेख गर्दै उनले आन्दोलनकारीको बलिदान र भावनाअनुसार अघि बढ्नु सबैको कर्तव्य भएको स्पष्ट पारे। पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले सरकारको हालको कार्यशैली सकारात्मक दिशामा उन्मुख रहेको भन्दै सन्तोष व्यक्त गरे।

सुशासन भनेको विधिको शासन भएको स्मरण गराउँदै उनले नववर्षले सबैमा नयाँ उत्साह र उमङ्ग भर्ने अपेक्षा गरेका छन्। राष्ट्र निर्माण र समस्त नेपालीको समुन्नतिका लागि यो वर्ष कोशेढुङ्गा सावित होस् भन्दै उनले सबैमा मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

बाँके । बाँके जिल्लामा गहुँखेती गर्ने जमिनको क्षेत्रफल बर्सेनि घट्दै गए पनि यो वर्ष उत्पादनमा भने वृद्धि हुने भएको छ। उन्नत जातको बीउको प्रयोग, सिँचाइको उपलब्धता र अनुकूल मौसमका कारण उत्पादन बढ्ने अनुमान कृषि ज्ञान केन्द्र बाँकेले गरेको हो।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार खेती गरिने जग्गा घटे पनि उत्पादकत्व बढेकाले समग्र उत्पादनमा सकारात्मक प्रभाव देखिएको छ। “बीउ प्रतिस्थापन दर बढ्नु र किसानले हाइब्रिड जातका बीउ बढी प्रयोग गर्नु उत्पादन बढ्नुको मुख्य कारण हो,” पाठकले भने।

बाँकेमा गत वर्ष २० हजार ८९५ हेक्टर क्षेत्रफलमा ७७ हजार ७०८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यो वर्ष समयमै वर्षा भएको र बालीमा रोग वा कीराको संक्रमण नदेखिएकाले गत वर्षभन्दा बढी उत्पादन हुने देखिएको छ।

बाली उपचार शिविर, घुम्ती स्थलगत तालिम र किसानको खेतमै पुगेर गरिने अनुसन्धान जस्ता प्राविधिक सहयोगले पनि क्षेत्रफल घटे पनि उत्पादन बढाउन मद्दत पुगेको कार्यालयको भनाइ छ। अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले पनि यो वर्ष मौसमले साथ दिएकाले गहुँको उत्पादन राम्रो भएको पुष्टि गरे। बाली स्याहार्ने बेलासम्म सामान्य हावाहुरी र वर्षाले केही क्षति पुर्‍याए पनि समग्रमा उत्पादन सन्तोषजनक रहेको उनले बताए।

तर, जिल्लामा गहुँखेती हुने जमिन भने निरन्तर ओरालो लागिरहेको छ। आर्थिक वर्ष २०८०/०८१ मा २१ हजार ५१५ हेक्टरमा खेती भएकोमा गत वर्ष त्यो घटेर २० हजार ८९५ हेक्टरमा सीमित भएको थियो। यो वर्ष क्षेत्रफल अझै घटेको छ।

क्षेत्रफल घट्नुका पछाडि किसानहरूले गहुँको सट्टा तोरी, वसन्ते मकै र तरकारी खेतीतर्फ आकर्षण देखाउनु प्रमुख कारण मानिएको छ। साथै नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रमा बढ्दो सहरीकरण तथा राप्तीसोनारी क्षेत्रमा जंगली जनावरको आक्रमणका कारण पनि किसानहरूले गहुँखेती गर्न छाड्दै गएका छन्।

यतिबेला बाँकेका किसानहरू वर्षभरिको मेहनतको फल भित्र्याउन गहुँ काट्न र थ्रेसिङ गर्न व्यस्त छन्।

मुलुकको आर्थिक अवस्था नाप्न बुधबारदेखि राष्ट्रिय आर्थिक गणना सुरू हुँदै

बागलुङ । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि देशभर एकसाथ सुरु हुँदैछ। राष्ट्रिय तथ्याङ्क कार्यालयले गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षकलाई पाँच दिनको विशेष तालिम दिएर कार्यस्थलमा खटाएको छ।

आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म चल्ने यस गणनाका लागि बागलुङमा ३३ गणक र पाँच सुपरीवेक्षक परिचालन गरिएको जिल्ला आर्थिक गणना कार्यालय, बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए। उनका अनुसार चैत २६ गतेदेखि ३० गतेसम्म गणकहरूलाई तालिम दिएर कार्यक्षेत्रमा पठाइसकिएको छ।

यो गणनाले औद्योगिक तथा व्यापारिक संरचनाको जानकारी लिने, रोजगारी सिर्जनाको अवस्था पत्ता लगाउने र राष्ट्रिय अर्थतन्त्रमा विभिन्न क्षेत्रको योगदान मापन गर्ने लक्ष्य राखेको छ। सत्यतथ्य र विश्वसनीय विवरण सङ्कलन गर्नका लागि गणकहरूलाई विशेष प्रशिक्षण दिइएको छ। यसबाट प्राप्त हुने तथ्याङ्कले मुलुकको नीति तथा योजना निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले यो एउटा राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। गणनामा वस्तु उत्पादनदेखि सेवा प्रदायकसम्मका सबै औपचारिक र अनौपचारिक प्रतिष्ठान तथा व्यवसायहरू समेटिनेछन्। नेपालमा यसअघि विसं २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो।

विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन गर्दै निर्देशन

काठमाडौँ । बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो ।

कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले सोमबार एकैदिन ५४ वटा फर्ममा अनुगमन गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले उल्लेख गरेको छ । विभागले काठमाडौँ महानगरपालिका-१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुमगन गरेको थियो ।

विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, सरोकार भएकाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजारको अनुमगन गर्दै आएको जनाएको छ ।

भक्तपुर थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थित ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।

आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।

किम्वदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उनले जानकारी दिए । यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ः०० बजेदेखि नै भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ः०० बजेदेखि नै तीनवटा खटसहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन् । धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मन्दिर परिसरमा विधिपूर्वक पूजा गरी सुरु भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । लामबद्ध भक्तजनले पूजा गरेर खट यात्रा गरी जात्रा मनाएका छन् ।

चैत मसान्तको दिन साँझबाट सुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।

चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।

जात्रामा थिमिको अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराइएको थियो ।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्‍याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज बिहान ४ः०० बजे सम्पन्न भएको थियो ।

त्यस्तै मध्यपुरथिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज थिमिमा सम्पन्न गरेका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमा समेत परिक्रमा गराइएको थियो ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुसार मान्छे मर्दा बजाइने सिँ बाजा बजाउँदै लाने प्रचलन रहेको छ ।

त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पुर्‍याई स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ ।

त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दूर चढाई आ–आफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने परम्परा रहेको छ ।

भक्तपुरमा आज रचना रिमाल र ,दिपक चौलागाईले एकसाथ प्रस्तुती दिने

काठमाडौँ । भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा नयाँ वर्षको दिन सांगीतिक उत्सवमा रचना रिमाल, रामकृष्ण ढकाल,दिपक चौलागाई,भोजराज काफ्ले, सुनितमि परियार, प्रितम मल्ल, राजन खैराते, अनित बिष्ट, रमन तलवार लगायतले सांगीतिक प्रस्तुती दिने भएका छन् । दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा २०८३ सालको बैशाख १ गतेका दिन आज राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति दिने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

महोत्सवमा रचना , रामकृष्ण र दिपक लगायतका कगायक गायिकाले ४० हजार दर्शकका अघि आफ्नो कला प्रस्तुत गर्नैछन् । त्यसैगरि अन्य कलाकारहरुमा वर्षा राउत, मेक्सम गौडेल, बिजय बराल लगायतका ख्यातिप्रप्त कलाकारले दर्शकहरुललाई मनोरञ्जन दिनेछन् । नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगत १२ वर्षदेखि यस्तो महोत्सव आयोजना हुदै आएको महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।

“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव एक सय ५० स्टल रहेको संयोजक थापाले बताए । अध्यक्ष महतका अनुसार, कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टलबाट सर्वसाधारणले १० देखि ५० प्रसितशतसम्म छुट पाउँने व्यवस्था मिलाइएको छ ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई ५० रुपैयाँ र सर्वसाधरणलाई भने १०० रुपैयाँको टिकट लाग्ने मेलाका निर्देशक सुनिल बज्राचार्यले बताए । चैत्र २६ देखि चल्दै आएको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख ६ गतेसम्म संचालन हुनेछ ।

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर। ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ ।

वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ । जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको सङ्ख्या उल्लेख्य छ ।

नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन् ।

बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहिआएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूर्वअध्यक्ष हरिप्रसाद जोशीले बताउनुभयो । उहाँका अनुसार यस पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, लाउन (पुरी), बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारिन्छन् ।

यी परिकार केवल खानाका रूपमा सीमित नभई पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीको प्रतीकका रूपमा रहेको जोशीले बताउनुभयो । उहाँका अनुसार बिसु पर्वको अर्को महत्वपूर्ण पक्ष बिहानै अनिवार्य स्नान गर्ने हो । “बिहान ब्रह्ममुहूर्तमा नुहाएपछि रोगव्याध हट्ने र शरीर शुद्ध हुने जनविश्वास रहिआएको छ”, उहाँले भन्नुभयो, “ननुहाए ‘विष लाग्ने’ भन्ने मान्यता पनि प्रचलित छ ।”

स्नानपछि देवदर्शन गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने र परिवारसँग बसेर मिठामसिना परिकार खाने चलनले धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने जोशीको भनाइ छ । उहाँका अनुसार बिसु पर्वमा बिहानैदेखि महिलाहरू घरायसी परिकार तयार पार्न व्यस्त हुन्छन् । स्नानपछि देवदर्शन गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर टिकोटालो गर्ने, मिलेर मौलिक परिकार खाने र भलाकुसारी गर्ने परम्पराले सामाजिक एकता र आत्मीयता बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“यो पर्वको सबैभन्दा रोचक र मौलिक पक्ष ‘सिस्नो लगाउने’ चलन हो”, स्थानीय संस्कृतिका जानकार तर्कराज भट्टले भन्नुभयो, “देवरभाउजबीच रमाइलोका रूपमा सिस्नो लगाएर ठट्टा गर्ने चलनले परिवारभित्रको सम्बन्धलाई हाँसो, माया र नजिकपनले भरिदिने गर्छ । “भाउजु नभएकाहरूले आफैँले सिस्नो छुने चलन पनि छ । यसले शरीरका विकार हट्ने, जाडोको असर कम हुने र बाथजस्ता रोग नलाग्ने विश्वास गरिन्छ ।”

शुक्लाफाँटा नगरपालिका–११ का शङ्करदत्त जोशीका अनुसार पहिले पर्वमा सिस्नु लगाउने चलन निकै उत्साहका साथ मनाइन्थ्यो । “सिस्नो लगाउन आएका देवर देखेर भाउजु लुक्ने गर्दथे । लुकेको ठाउँ पत्ता लगाएर सिस्नो लगाइन्थ्यो”, उहाँले भन्नुभयो, “भाउजुले पनि यसलाई सहज रूपमा स्वीकार्थे । लुकेर देवरलाई खोज्न लगाउने र सिस्नो लगाउनेसम्मका रमाइला दृश्य हुन्थे ।” पछिल्लो समय यस्तो रौनक विस्तारै हराउँदै गएको उहाँको भनाइ छ ।

ज्योतिषीय दृष्टिले बिसु पर्वलाई ‘अकाट्य’ वा ‘अपुच्छय’ दिनका रूपमा लिइन्छ । स्थानीय दामोदर जोशीका अनुसार यसदिन विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत शुभकार्यका लागि साइत हेर्नु वा ज्योतिषलाई सोध्नु आवश्यक पर्दैन । “आज सिधैँ गरिएका कार्य पनि शुभफलदायी हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

बिसुलाई वर्षभरिका चाडपर्वहरूको समापन र नयाँ वर्षको स्वागत गर्ने दिनका रूपमा लिने गरिएको जोशीले बताउनुभयो । “यसदिन पुराना दुःख, असफलता र थकानलाई बिदाइ गर्दै नयाँ उर्जा र आशासहित जीवनलाई अगाडि बढाउने सांस्कृतिक सन्देश दिइन्छ । यही कारण बिसु सुदूरपश्चिमको मौलिक पहिचान बोकेको महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ”, उहाँले भन्नुभयो ।

आधुनिक जीवनशैली, बसाइँसराइ र व्यस्तताका कारण केही परम्परागत अभ्यासहरू ओझेलमा पर्दै गएकामा जोशीले चिन्ता व्यक्त गर्नुभयो । विशेषगरी देवरभाउजुबीचको सिस्नो लगाउने चलन, सामूहिक भेटघाट र लामो समयसम्म चल्ने भलाकुसारी अहिले घट्दै गएको उहाँले बताउनुभयो ।

परिवर्तनका बीच पनि बिसु पर्वको मूल सार भने अझै जीवित रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार परिवारप्रतिको माया, आफन्तबीचको सम्बन्ध, सामाजिक सहकार्य र सांस्कृतिक निरन्तरताको भावना यस पर्वमा अझ मजबुत रूपमा देखिन्छ ।

सुदूरपश्चिममा मनाइने बिसु पर्वले समयसँगै रूप परिवर्तन गरे पनि यसको आत्मा भने उस्तै सशक्त र जीवन्त रहँदै आएको जानकारहरू बताउँछन् ।

नयाँ वर्षको शुभकामना दिँदै ओलीले भने, २०८२ साल अब इतिहास भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नव वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिएका छन् ।मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले अनुभव र युवाशक्तिको सहकार्यबाट समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले सन्देशमा वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै सफलता वा विफलता, अवसर वा चुनौती तथा कमजोरी वा उपलब्धिबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताए ।

उनले लेखेका छन्,‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ’पाको अनुभव’ र ’नवयुवा ऊर्जा’ बीचको एक सार्थक ’सिनर्जी’ सिर्जना गरोस्।नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभएको छ ।

नयाँ वर्ष २०८३ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै उहाँले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सभापति थापाले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण गर्दै, भविष्यमा देखापर्ने राष्ट्रिय चुनौतीको सामना एकताबद्ध रूपमा गर्ने दृढ सङ्कल्प र अठोटका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्वपूर्ण घडी आएको उल्लेख गर्नुभयो ।

नयाँ वर्षले सबै नेपालीबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाओस् भनी कामना गर्दै उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै उर्जा मन्त्रालय

काठमाडौँ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र नेपाल उद्योग परिसङ्घबीच मुलुकको ऊर्जा क्षेत्रको विकास गर्न र थप उन्नयनका बारेका सोमबार छलफल भएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले समग्र उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले विद्युत्को निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ पनि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । सरकारले जलाशय तथा नविकरणीय उर्जा, विद्युत् खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले उर्जा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट सुझावको अपेक्षा गरेको स्पष्ट पार्नुभयो ।

परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले विद्युत् खपत बढाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी ‘ह्विलिङ्ग चार्ज’ लगाई प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न, निजी क्षेत्रलाई विद्युत्को आन्तरिक तथा अन्तरराष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन सुझाउनुभयो ।

सङ्घीय सरकारबाट स्वीकृति लिई सर्भे सम्पन्न गरिसकेका र विद्युत् खरिद सम्झौता हुन बाँकी सबै परियोजनासँग तत्काल विद्युत् खरिद सम्झौता (पिपिए) गर्न, विद्युत्को आन्तरिक खपत बढाउने नीति लिन, जीवास्म इन्धनमा आधारित उद्योगलाई विद्युत्मा आधारित उपकरणले विस्थापित गर्न सहुलियत दिने व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले वैकल्पिक उर्जा स्रोततर्फ पनि ध्यान दिइनुपर्नेमा जोड दिनुभयो ।

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ। आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् ।

सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन् ।

आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । भक्तपुरमा आज बिस्का जात्रा पनि गरिन्छ । तराईमा आज मात्रै सहलेश फूल फूल्ने भएकाले पनि यसको छुट्टै महत्व र विशेषता रहेको छ ।नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ठ व्यक्तित्वले शुभकामना सन्देशमार्फत नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । रा

अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३७ पैसा र बिक्रीदर २०१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ छ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९० पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ छ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ तीन पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र बिक्रीदर २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा रहेको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम। नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड फुटसल कप’ को उपाधि बैंकर्स क्लब धनगढीले जितेको छ ।
फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा भएको मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिताको आज सम्पन्न फाइनलमा फारवेष्ट पशुपति युवा क्लबलाई पराजित गर्दै बैंकर्स क्बल धनगढी च्याम्पियन भएको हो । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको फाइनल खेलमा बैंकर्स क्लबले फारवेष्ट पशुपतिलाई २–१ गोलले पराजित गरेको हो ।

बैंकर्स क्लबले उपाधिसँगै २२ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता फारवेष्ट पशुपतिले १२ हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

प्रतियोगिताको समापन समारोहमा सन्तती आइभिएफ सेन्टरका अध्यक्ष जनक चन्द, नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहाल, अरवान भट्टीका सञ्चालक इञ्जिनियर राजन रानालगायतले पुरस्कार वितरण गरेका थिए ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड दिनुभएको छ । उहाँले पदभार सम्हाल्नु भएको दुई सातामा मन्त्रालयले विभिन्न संरचनात्मक र नीतिगत पहल अघि बढाएको छ ।

मन्त्रालयले कामको प्रभावकारिता बढाउन ‘डेलिभरीमा आधारित शासन प्रणाली’ लागू गर्ने दिशामा कदम चालेको छ । यसका लागि सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सुशासन एकाइ गठन गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । उक्त एकाइले मन्त्रालय र मातहतका निकायको कार्यसम्पादन, समय सीमा पालना र स्रोतसाधनको उपयोगको नियमित अनुगमन गर्नेछ ।

विद्युत् सेवासम्बन्धी हटलाइन नम्बर ११५१ लाई सक्रिय बनाउँदै मन्त्रालयले दुई सातामै चार हजारभन्दा बढी गुनासो सम्बोधन गरेको छ । फोन, ह्वाट्सएप, इमेल र ‘हेलो सरकार’ मार्फत आएका सबै गुनासो फछ्र्यौट गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्यसूची कार्यान्वयनका लागि मन्त्री श्रेष्ठल विभिन्न समिति गठन गर्नुभएको छ । ऊर्जा खपत तथा निर्यात रणनीति तयार गर्न, रुग्ण आयोजना पुनरावलोकन गर्न, पीपीए प्रक्रियाका अवरोध हटाउन र अनुमतिपत्र प्रणाली सुधार गर्न अलग–अलग अध्ययन समिति बनाइएको छ ।

मन्त्रालयले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकलाई प्राथमिकतामा राखेको छ । जसमध्ये नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको छ भने विद्युत् नीति अन्तिम रूप दिन सरोकारवालासँग छलफल जारी राखेको छ ।

यसैगरी, जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले थप प्रभावित परिवारलाई समेट्ने निर्णय गर्दै थप आठ जनालाई रोजगारी सुनिश्चित गर्ने काम अगाडि बढाएको छ । यसअघि २७ जनाको प्रक्रिया अगाडि बढिसकेको छ ।

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर। होस्टे, हैँसे…….होस्टे, हैँसे………। आज चैतको अन्तिम दिन । भोलि २०८३ को नयाँवर्षको आगमनमा जात्रामय बनेको भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँको भीडले यस्तै आवाजसहित लिङ्गो उठाएका छन् ।वरिपरि बत्तीको उज्यालो, उजयाले नपुग्ने ठाउँमा अन्धकार । आज मध्यरातमा महिला र पुरुषको हजाराँै भीडले लिङ्गो उठाउन डोरी तान्ने परम्परा छ ।

रात छिप्पिँदै जाँदा त्यसको पर्वाह नगरी विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज साँझ ८ः४५ बजे उठाइएको हो । आज अपराह्न ५ः३० बजे भैरवको रथ गहिटीबाट ल्यासिंखेल ल्याएर लगत्तै तान्त्रिक विधिपूर्वक दशकर्म विधान पूजा गरी हजारौँको भीडमा विश्व ध्वजा, इन्द्र ध्वजासहितको ५५ हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गोलाई बाधिएको अष्टमातृकाको प्रतीक स्वरुप आठ वटा डोरी (लठारो) ले चारैतिरबाट तानेर लिङ्गो उठाउने प्रयास गरिएको थियो ।

लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुई वटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने गरिन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतिविद् श्यामकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

आज लिङ्गो उठाएपछि रातभरि र भोलि वैशाख १ गते दिनभरि लिङ्गोलाई स्थानीयले बिहानैदेखि पूजा गरी बली दिने गर्दछन् । दिनभर लिङ्गो जात्रा हेर्न देश विदेशका हजारौँको भीड लाग्ने गर्दछ । वैशाख १ गते दिनभर जात्रा गरेर साँझ १० कर्मविधि एवं तान्त्रिक विधि अनुरुप पूजा गरेर लिङ्गो ढाल्ने गरिन्छ ।

प्रधानमन्त्री कप क्रिकेटः मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबले मधेस प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।

आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा एपिएफले मधेस प्रदेशलाई ७४ रनले हराएको हो । एपिएफले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३९० रन जोडेको थियो । एपिएफका आसिफ शेखले १४२ बलमा उत्कृष्ट ब्याटिङ गर्दै दोहोरो शतकसहितको २०८ रन जोडेका थिए ।

शेखले आजको खेलमा १७ छक्का र १५ वटा चौका प्रहार गरेका थिए । त्यस्तै एपिएफका सन्दिप जोराले ४२ बलमा ५६ रन र रोहित पौडेलले ७३ बलमा ५५ रन जोडेका थिए । मधेस प्रदेशका रूपेश सिंहले तीन विकेट र रञ्जित कुमारले एक विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको मधेस प्रदेश ५० ओभरमा आठ विकेट गुमाउँदै ३१६ रनमा सीमित भएको थियो ।

मधेस प्रदेशका मोहम्मद आदिल आलमले ४३ बलमा ८७ रन जोडेका थिए । त्यस्तै मधेस प्रदेशका अरनिको यादवले ७३ बल खेल्दै ८६ रन जोडेका थिए । एपिएफ क्लबका अभिषेक गौतमले तीन विकेट र कमल ऐरीले दुई विकेट लिएका थिए । आजको खेलमा विस्फोटक ब्याटिङ गरेका आसिफ शेखले प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख ४ गते हुँदैछ ।

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अनुरोध गरेको छ ।

हालैका दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र सरोकारवाला निकायको सूचनालाई आधार मान्दै मन्त्रालयले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा गम्भीर खतरा देखिएको भन्दै उक्त कदम चालेको हो ।

मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सबै स्थानीय तहहरूलाई आज पत्राचार गर्दै पाँच बुँदे पत्र जारी गरेको छ ।नेपालको संविधानले कृषि तथा कृषि उत्पादन व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएकाले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो विषयमा स्थानीय सरकारको भूमिका निर्णायक हुने जनाइएको छ ।

स्वास्थ्यमन्त्री मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबिच साेमबार दुई देशबिचको स्वास्थ्य क्षेत्रको साझेदारीलाई थप दिगो र प्रभावकारी बनाउने विषयमा भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार भेटमा स्वास्थ्य सेवाको आधुनिकीकरणका विषयमा पनि गहन छलफल भएको जनाइएको छ।

भेटमा मन्त्री मेहताले नेपालको सामाजिक, आर्थिक विकासमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगको सराहना गर्दै आगामी दिनमा द्विपक्षीय हितका क्षेत्रमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयमा सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।

नागरिकप्रति इमानदार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमानदार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्नु आजको आवश्यकता भएको बताएका छन्।साेमबार राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सिसं १७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमार्फत देश विकासमा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले लोकतान्त्रिक मूल्य र मान्यता, विधिको शासन तथा कानूनी राज्यको मर्मलाई पूर्णरुपमा आत्मसात गर्दै सेवा गर्न पनि अनुरोध गरे । गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालले स्थापनकालदेखि कार्यक्षेत्रमा देखाएको क्षमता, दक्षता र व्यावसायिकतामार्फत आफ्नो औचित्यलाई सक्षम, विश्वासिलो तथा अब्बल सुरक्षा निकायका रुपमा परिचित गराएको चर्चा गरे । सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन, महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षाका क्षेत्रमा सङ्गठनले निर्वाह गरेको उल्लेखनीय भूमिकाको उनले प्रशंसा गरे।

उनले वर्तमान परिवेशमा जघन्य अपराध, सीमापार अपराध, विपद् जोखिम तथा बन्द हड्ताल जस्ता गतिविधिले मुलुकको आन्तरिक सुरक्षामा चुनौती सृजना गर्दै आएको हुँदा यस्ता क्रियाकलापको समयमै निगरानी गरी नियन्त्रणका लागि पेसागत दक्षता र संयमताका साथ परिचालन हुन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए।

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी। मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित गरिएको छ ।दुई स्थानबीच विसं २०४७ मा सांस्कृतिक आदानप्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो । तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वय अभावले दुई दशकयता टुकुचे र तोगा सिटीबीच सम्बन्ध निष्क्रिय बनेको थियो ।

राज्यको पुनःसंरचनापछि तत्कालीन टुकुचे गाविस थासाङ गाउँपालिकामा परेको थियो भने तोगासमेत नाम्तोमा गाभिएका कारणले बीचमा समन्वय टुटेको थियो । सुरूआतका केही वर्ष भने सम्बन्ध राम्रो विकास भएको स्थानीयवासीको भनाइ छ । टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति भएको हो ।

पुनःस्थापित सम्बन्धमार्फत पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, शिक्षा तथा स्थानीय विकासका क्षेत्रमा सहकार्य गर्ने योजना बनाइएको छ । स्थानीयवासीले यसले टुकुचेको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । टुकुचे गाउँ र जापानको नाम्तो सिटीको तागोकाबीचमा मितेरी सम्बन्धको सांस्कृतिक मिलन उत्सव आइतबार सुरु भएर आज सम्पन्न भएको छ ।

टुकुचेमा एक भव्य कार्यक्रमका बीच सुरू कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको हो । टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेको थियो । कार्यक्रममा सहभागी हुन जापानको तोयामाका प्रेफ्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्तो सिटीका मेयर मिकियो तानाका सहितको १८ सदस्यीय टोली टुकुचे आएको छ । टुकुचे र तोगाका बीचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियो । त्यसपछि डेढ दशकसम्म दुई पक्षबीचमा सहयोग आदानप्रदानलगायतका सहकार्य र भ्रमण भए पनि त्यसपछि लामो समय सहकार्य हुन सकेको थिएन ।

लामो प्रयासपछि पुनः सम्बन्ध स्थापित भएको उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाइएको स्थानीय समाजजेवी तथा टुकेचे–तोका मितेरी कार्यसमितिका अध्यक्ष पवन तुलाचनले बताउनुभयो । “धेरै मेहनतपछि सम्बन्ध नवीकरण भएको छ । बीचमा विभिन्न कारणले सम्पर्क टुटेको थियो । अब दुई गाउँ बिचको प्रगाढ सम्बन्धले समग्र देशको समृद्धिमा सघाउ पुग्नेछ”, तुलाचनले भन्नुभयो ।

मितेरी सम्बन्धपछि टुकुचेका ७५ भन्दा बढी युवाले जापानमा गएर सीप सिक्ने मौका पाएको वडाध्यक्ष सुरेश थकालीले बताउनुभयो । यसका साथै टुकुचेको कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेको उहाँको भनाइ छ । रोकिएको सहकार्य पुनः अघि बढ्ने वडाध्यक्ष थकालीले बताउनुभयो । नाम्तोका मेयर मिकियो तानाकाले आगामी दिनमा सम्बन्ध अझ विस्तार हुने र दुईपक्षबीच सहयोग आदानप्रदान गरिने बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नुहुने समाजसेवी अर्जुनसिंह तुलाचन र नाम्तोका मेयर मिकियोलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धवलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान गरेको थियो ।

जापानी पाहुना टोलीलाई मुस्ताङको सीमा क्षेत्र घासामा गाउँपालिका अध्यक्ष प्रदीप गौतमलगायतले स्वागत गर्नुभएको थियो । उत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, तारो हान्ने खेल, विद्यार्थीहरूको नृत्य प्रदर्शन तथा टुकुचेका विभिन्न गाउँहरूको भ्रमण गरिएको थियो । नाम्तोको टोलीले टुकेचेका विभिन्न विद्यालय, गुम्बा तथा गाउँपालिका भवनको समेत अवलोकन गरेको थियो ।

अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

इस्लामावाद। अमेरिका र इरानबीच गत सप्ताहन्तमा भएको शान्तिवार्तामा तत्काल उद्देश्य प्राप्त गर्न नसकिएको भएपनि युद्धविराम जारी रहेको र सहमतिमा पुग्ने प्रयास अझै भइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बताउनुभएको छ।

“युद्धविराम अझै जारी छ र विवाद समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधान गर्न पूर्ण प्रयास भइरहेको छ,” शरीफले टेलिभिजनमार्फत संक्षिप्त टिप्पणी गर्दै भन्नुभयो ।

समयसीमा सकिएको अमेरिकी भनाइ

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा नौसैनिक नाकाबन्दीका लागि तोकेको सोमबारको समयसीमा सकिएको छ ।

 

तेहरानसँग सप्ताहन्तमा भएको शान्ति वार्ता बिना कुनै सहमति सकिएपछि ट्रम्पले इन्धन ढुवानीका लागि रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ नाकाबन्दीको घोषणा गर्नुभएको थियो ।

अमेरिकी सेनाले सोमबार ग्रीनविच समयअनुसार सबै खाडी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने बताएको छ । इरानबाट नआएका र इरानतर्फ नजाने जहाजहरूलाई स्ट्रेट हुँदै आवतजावत गर्न अनुमति दिइने सेनाले बताएको छ ।

वार्ताका लागि खुला रहन इरानसँग कतारको आग्रह

कतारका प्रधानमन्त्रीद्वारा सोमबार इरानी विदेशमन्त्रीलाई इरान र संयुक्त राज्य अमेरिकाले मध्यस्थताको प्रयासमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गर्दै समुद्री मार्गहरूलाई ‘मोलमोलाइ गर्ने औजार’ को रूपमा प्रयोग गर्न नहुने चेतावनी दिनुभएको छ ।

कतारको विदेश मन्त्रीको समेत जिम्मेवारी हेर्दै आउनुभएका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब्बास अरागचीसँगको फोनमा जारी मध्यस्थताको प्रयासमा सबै पक्षले सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा जोड दिनुभएको छ ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँले समुद्री मार्गहरू खोल्नुपर्ने, नौवहनको स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्ने र तिनीहरूलाई दबाब वा सौदाबाजीको उपकरणको रूपमा प्रयोग गर्न नहुने कुरामा जोड दिनुभयो ।

मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा स्रष्टाहरूको जोड

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार बैरागी काइँलालगायत लोकतान्त्रिक जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका स्रष्टाहरूले मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा जोड दिनुभएको छ ।

‘स्रष्टा चैत ३०’ द्वारा आयोजित ‘आन्दोलन, रूपान्तरण र सिर्जनात्मक हस्ताक्षेप’ विषयक विमर्श कार्यक्रममा आज उहाँहरूले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनदेखि पछिल्लो आन्दोलनसम्म साहित्यकारहरूको कुनै न कुनै रूपमा भूमिका रहेको उल्लेख गर्दै अब मुलुकले स्थिरता र विकास हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वकुलपति काइँलाले परिवर्तनका लागि आन्दोलित हुन सफल रहे पनि परिवर्तनपछि स्रष्टाहरूको दुरावस्था भएको उल्लेख गर्दै मुलुकले पनि सोचेजस्तो काँचुली फेर्न नसकेकाले पछिल्लो जेनजी आन्दोलन भएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक परिवर्तन भए पनि समाजको सांस्कृतिक र आन्तरिक संरचनामा परिवर्तन भई जनता समृद्ध हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ साहित्यकार डा तुल्सीप्रसाद भट्टराईले आम नागरिकमा समस्या पहिचान गरेर सृजनामा लाग्न स्रष्टाहरूले उत्तिकै सक्रियता देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रा डा रमेशप्रसाद भट्टराई, कृष्ण धरावासी र हंसावती कुर्मीले साहित्यिक आन्दोलनको ऐतिहासिक पक्ष केलाउँदै राजनीतिक दल र सत्तामा पुग्ने शक्तिले जनताका मुद्दालाई छाडेमा साहित्यिक क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

आयोजक ‘स्रष्टा चैत्र ३०’ अध्यक्ष मनोज न्यौपानेले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि स्रष्टाहरूले निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक जनआन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरुकुल (आरोहण) बाट स्रष्टाहरूले ‘कफ्र्यु’ तोडेर निकालेको जुलुस पुरानो बानेश्वर चोक पुगी साहित्यिक कार्यक्रम गरिरहेको अवस्थामा तत्कालीन सरकारले दमन गरेको दिनको स्मरण गर्दै स्रष्टा सम्मान, आन्दोलनको अभिलेखीकरण, बौद्धिक बहसलगायत विविध कार्यक्रम गर्दै आइएको त्यस अवसरमा जानकारी दिइयो ।

सभामुख अर्यालसँग यूएडीपी प्रतिनिधिको भेट

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गर्नुभएको छ ।

आज सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेशन’ तथा ‘ई–पार्लियामेन्ट’ निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसद्लाई ‘पेपरलेस’ प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले यससम्बन्धी समझदारीपत्रको अध्ययनपछि सहकार्यको ‘मोडालिटी’बारे थप छलफल गरिने उल्लेख गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

यूएनडीपीकी आवासीय प्रतिनिधि योकोसुकाले सांसदहरूको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताउनुभएको थियो । उहाँले डिजिटल संसद् निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभवआदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको बनाउनुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

गृहमन्त्री गुरुङ र राजदूत माओमिङबीच शिष्टाचार भेट, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउनेमा जोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।गृह मन्त्रालयमा आज (सोमबार) भएको उक्त भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने विषयमा सरकार सजग रहेको जानकारी दिए । साथै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्न सरकार सक्षम रहेको उल्लेख गरे ।

त्यस्तै, नेपालमा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई निष्कासन गर्ने कार्यका लागि आवश्यक समन्वय र सहजीकरण गर्न गृहमन्त्रीले राजदूतसँग अनुरोध गरे ।

गृहमन्त्री गुरुङले चिनियाँ सहयोगमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माण अगाडि बढाउन तथा दुई देशबीच व्यापार सहजीकरणमा पहल गर्न पनि आग्रह गरे ।सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य गर्न नेपालले प्रस्ताव राखेकोमा राजदूत माओमिङले चीन सरकार सकारात्मक रहेको जनाउँदै नेपालका सुरक्षा निकायको क्षमता विकासमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, सिन्धुपाल्चोकको तातोपानी नाकामा मालवाहक सवारी आवागमन असहज भएको भन्ने समाचारप्रति गृहमन्त्रीले जिज्ञासा राखेका थिए ।त्यसमा राजदूत माओमिङले चिनियाँ पक्षबाट कुनै असहजता नरहेको र त्यस्ता समाचारहरू गलत रहेको स्पष्ट पारे ।
भेटघाटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै आगामी दिनमा अझ घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

सङ्खुवासभा। प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ ।

बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलका अनुसार चार हजार १०० चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

बर्डफ्लु रोग नियन्त्रण समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामा संयोजकत्वको बैठकले बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गर्ने निर्णय गरेको थियो ।

अनुमतिबिना प्रतिबन्धित क्षेत्रबाट ल्याइएका कारण स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख पोख्रेलले बताउनुभयो । मोरङको बुढीगङ्गास्थित भिजु पोल्ट्री फर्म प्रालिबाट ल्याइएका तीन लाख रुपैयाँ बढीको चल्ला नष्ट गरिएको उहाँको भनाइ छ ।

रोग सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो । सम्बन्धित निकायले अवैध रूपमा पशुपन्छी ओसारपसार नगर्न चेतावनी दिँदै नियम उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गरिने जनाइएको छ ।

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।

सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो ।

छलफलमा धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सिसडोल र बन्चरेडाँडामा आधुनिक फोहर व्यवस्थापन प्रणाली लागू गर्न, सवारी प्रदूषण नियन्त्रणका लागि ‘ग्रिन स्टिकर’को प्रभावकारी अनुगमन तथा चेपाङ र तामाङ समुदायका लागि विशेष शिक्षा ‘प्याकेज’ ल्याउन माग गर्नुभएको थियो । उहाँले सीतापाइला–धार्के वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोकका सांसद युवराज दुलालले बाँदर नियन्त्रणसम्बन्धी कानुन निर्माण, मेलम्ची र इन्द्रावती नदी किनारका जोखिमयुक्त बस्ती संरक्षण तथा मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भुक्तानी समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

काभ्रेपलाञ्चोकका सांसद बदनकुमार भण्डारीले सुनकोशी–३ जलाशययुक्त आयोजना अगाडि बढाउन, धुलिखेललाई बागमती प्रदेशको राजधानीका रूपमा विकास गर्न तथा अरनिको राजमार्गलाई चार लेनमा विस्तार गर्न र पाँचखालमा क्षेत्रीयस्तरको विशिष्टकृत अस्पताल स्थापनाका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

चितवन–१ का सांसद हरि ढकालले राप्ति नदी किनारमा साइकल लेनसहितको सफारी मार्ग, सिँचाइ विस्तारका लागि ‘हाई ड्याम’ निर्माण तथा सौराहामा अनलाइन टिकट प्रणाली लागू गर्न सुझाव दिनुभएको थियो ।

काठमाडौँ–४ का सांसद पुकार बमले पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयन, पारदर्शिता अभिवृद्धिका लागि ‘नेसनल बजेट ड्यासबोर्ड’ निर्माण तथा एकीकृत पूर्वाधार विकास ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले चाबहिलमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

रामेछापका सांसद डा कृष्णहरि बुढाथोकीले जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न, रोजगारी सृजना, ठोसे शिवालय जलाशययुक्त आयोजना प्राथमिकतामा राख्न तथा अलपत्र सडक आयोजना समयमै सम्पन्न गर्न सरकारसँग आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई बजेट र प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै बागमती प्रदेशको समग्र विकासलाई तीव्रता दिने निष्कर्षसहित बैठक सम्पन्न भएको छ ।

सभामुख अर्यालद्वारा पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग छलफल

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गर्नुभएको छ ।

यही चैत २२ गते सभामुखमा निर्वाचित अर्यालले आज पूर्वसभामुखद्वव देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर्नुभएको हो ।

त्यस अवसरमा नेपालको संसदीय अभ्यास, विगतका अनुभव, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणलगायत विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्कन थालेका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएकाहरू पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल नेपाल चेक पोष्टले जनाएको छ ।

सो चेक पोष्टका अनुसार भारतका विभिन्न सहरबाट दिनहुँ एक हजार बढी नेपाली भित्रिरहेका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किनेको सङ्ख्या धेरै छ
लामो समयदेखि दिल्लीको होटलमा काम गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिका घर भएका डम्बरबहादुर खड्काले बिसु मनाउनकै लागि घर फर्केको बताउनुभयो ।

“बिसुपर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यहरूबीच एकसाथ भेटघाट हुने र मीठामीठा स्थानीय खानाका परिकार खाई रमाइलो गर्ने गरिन्छ”, खडकाले भन्नुभयो, “जसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको दुःख भुल्न सहयोग गर्छ ।”

भारतको कानपुरमा रोजगार गरी घर फर्कँदै गरेका कैलालीको ओलानीका हरि आउजीले पनि पारिवारिक भेटघाट तथा बिसु मनाउन घर फर्केको बताउनुभयो । रोजगारीका लागि छिमेकी मुलुक भारत जाने सर्वसाधारण कोही छोटो समय त कोही लामो समयका लागि जाने गर्दछन् ।

खेतीपाती भएकाहरु आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेलामात्र घर फर्कने गर्दछन् ।

सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाव, हरियाणा, बैङ्गलोरलगायत ठूला सहरमा जाने गर्दछन् ।

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी मातातीर्थलाई

काठमाडौँ। ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज सम्पन्न भएको प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १७ पदकसहित मातातीर्थ प्रथम भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ सात स्वर्ण, आठ रजत र छ कास्य कास्यसहित द्वितीय र नं १ बराह बाहिनी मुख्यालय सुनसरी चार स्वर्ण, दुई रजतसहित तृतीय भएको छ ।प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रथम हुन सफल टोलीका तर्फ प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापालाई ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले आफ्नो मुख्य जिम्मेवारीका अतिरिक्त खेलकुद क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको बताउँदै यस्ता प्रतियोगिताले सङ्गठनभित्र लुकेका प्रतिभाहरूलाई पहिचान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल एपीएफ क्लबको आयोजनामा यही चैत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय गरी नौ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएका थिए ।

मदन भण्डारी राजमार्गः ४३ किलोमिटर कालोपत्र सम्पन्न

झापा। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ । जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो ।

कार्यालयका अनुसार कालोपत्र हुन बाँकी भागको ठेक्का लगाउने तयारी भइरहको छ । कार्यालयका इन्जिनियर स्वस्तिका भट्टराईले रुख कटानमा ढिलाइ भएकाले सडक निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रुख कटान सकियो, अब सडक निर्माणले गति लिन्छ ।”

ठेक्का लागेको ३७ वटा पुलमध्ये २५ वटा निर्माण भइसकेको जानकारी दिनुभयो । निर्माण सम्पन्न हुन बाँकी रहेका १२ वटा पुलमध्ये १० वटामा सहज रूपमा गाडी कुद्न सक्ने उहाँको भनाइ छ ।सडक र पुल गरी आयोजना निर्देशानलय र योजना कार्यालयबाट १० अर्ब १३ करोड रुपैयाँ ठेक्का सम्झौता भएकामा हालसम्म आठ अर्ब रुपैयाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।