`

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौँ । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो ।

“सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी गराएका छन् । नेपाल टेलिकमले सबैभन्दा धेरै २१ हजारभन्दा बढीको सङ्ख्यामा बन्द गरेको छ, यस्ता एप र वेभसाइट निरन्तर पहिचान गर्ने र बन्द गर्ने क्रम चलिरहेको छ”, लामिछानेले भने ।

सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्तो कदम चालेको हो । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ ।

सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते मन्त्रीस्तरबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो । उक्त निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ । उक्त प्रावधान उल्लङ्घन गरेमा सोही दफाको उपदफा (६) अनुसार प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले समेत जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिठ्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा प्रचलित कानुनअनुसार सजाय हुने र अन्यथा एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

सरकारले नेपालभर सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न तथा सञ्चालन नगर्न आग्रह गरेको छ । साथै, कसैले अनधिकृत रूपमा यस्ता गतिविधि सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित निकायबाट कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्राधिकरणले नागरिकलाई सचेत रहन, यस्ता अवैध डिजिटल गतिविधिबाट टाढा रहन तथा कुनै पनि शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

विसं २०७२ देखि सुरु गरिएको यो कार्यक्रममा अझै पनि धेरै नागरिक समेटिन बाँकी छन् । प्रदेशको कूल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ रहेका छन् । स्वास्थ्य सेवामा नागरिकको सर्वसुलभ पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

बिमा बोर्डका अनुसार समेटिएका दुई लाख २८ हजार ३९८ परिवारमध्ये एक लाख ५४ हजार ५०५ परिवार लक्षित (विपन्न, सीमान्तकृत, जोखिममा रहेका समूह) छन् । ७३ हजार ८९३ परिवार अन्य श्रेणीका छन् ।

चालु आव २०८२/०८३ को चैतसम्म ७९ हजार १९५ परिवार क्रियाशील रहेका छन् । यो सङ्ख्या कूल बीमित परिवारको तुलनामा निकै कम हो । ठूलो सङ्ख्यामा परिवारले बिमा नवीकरण गर्न इच्छुक नभएको देखिन्छ ।

गत वर्ष प्रदेशसम्ममा छ लाख ७३ हजार ९५३ नागरिकले स्वास्थ्य बिमा गराएको बिमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ । कार्यालय अनुसार आव २०७९/८० मा एक लाख ३४ हजार ६२६ परिवार बिमामा आबद्ध भएका थिए । आव २०८०/८१ मा एक लाख २६ हजार ४५ र आव २०८१/८२ मा एक लाख ४६ हजार ८९८ परिवार बिमा आबद्ध भएको तथ्याङ्कमा उल्लेख छ ।

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र किफायती बनाउन स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको हो । विशेषगरी गरिब, विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य खर्चबाट जोगाउने लक्ष्यका साथ यो योजना ल्याइएको थियो । न्यून शुल्क तिरेर परिवारले निश्चित रकमसम्मको उपचार सुविधा पाउने व्यवस्था यस कार्यक्रमको प्रमुख आकर्षण मानिन्छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीबाट सुरु गरिएको यो कार्यक्रम विस्तार हुँदै हाल प्रदेशका सबै जिल्लामा पुगिसकेको छ । भौगोलिक विकटता, जनचेतनाको अभाव र सेवा प्रवाहमा देखिएका समस्याका कारण अपेक्षित उपलब्धि हासिल गर्न कठिन भएको बताइएको छ ।

नवीकरणको कमी, सेवा गुणस्तरमा प्रश्न, भौगोलिक पहुँच समस्या, जानकारीको अभाव, विश्वासको कमीलगायतका कारण सरकारको लोकप्रिय मानिएको कार्यक्रममा आबद्धता, नवीकरणमा चासो कम रहेको बोर्डले जनाएको छ ।

बिमा बोर्डको कार्यालय प्रदेशका कार्यकारी निर्देशक जनक साउदले सुदूरपश्चिम प्रदेशमा अझै पनि स्वास्थ्य बिमा कार्यक्रम अपेक्षा गरिएअनुसार प्रभावकारी हुन नसक्नुमा जनचेतनाको अभाव, पर्याप्त स्रोतसाधनको अभाव, स्थानीय तहसँग समन्वय नहुनु, स्वास्थ्य प्रदायक संस्थाले प्रदान गर्ने सेवामा कमजोरीलगायत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थाका जनशक्तिलाई अभिमुखीकरण, क्षमता अभिवृद्धि गर्नुका साथै बिमामैत्री सेवाका लागि जिम्मेवार बनाउन आवश्यक रहेको छ ।” प्रदेशका ३४ वटा विभिन्न स्वास्थ्य संस्थाले बीमितलाई सेवा दिइरहेको छन् । स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ अनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक रु तीन हजार ५०० तिरेपछि स्वास्थ्य बिमाको परिचयपत्र दिइन्छ । पाँचभन्दा बढी सदस्य भएमा प्रत्येक व्यक्तिका लागि थप रु ७०० तिर्नुपर्छ ।

अतिविपन्न, अशक्त, अपाङ्ग, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालको क्षयरोग लागेका बिरामी र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा हुने प्रावधान छ ।

नेपालको विकास प्रयासमा जापानी सहयोगको सराहना

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले नेपालको विकास प्रयासमा जापान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गर्नुभएको छ ।मन्त्रालयमा आज नेपालका लागि जापानी राजदूत मायदा तोरुले गर्नुभएको शिष्टाचार भेटमा गृहमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासमा जापानी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग परियोजनासहित अन्य विभिन्न पूर्वाधार तथा विकास आयोजनाबारे चर्चा गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पु-याइरहेको उल्लेख गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल–जापानबीच विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानसम्बन्धी आवश्यकता औँल्याउँदै गृहमन्त्रीले विपद् व्यस्थापनसम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापनामा प्राविधिक सहयोग गर्न आग्रह गर्नुभयो ।

भेटमा राजदूत मायदाले जापानको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा नेपाली समुदायले प्रभावकारी योगदान पु-याइरहेको बताउनुभयो । उहाँले नेपाल–जापान आप्रवासन सहकार्यलाई थप व्यवस्थित र सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

समानुपातिक सांसदद्वारा प्रधानमन्त्री शाहको ध्यानाकर्षण

काठमाडौँ। समानुपातिक सांसदहरूले विभिन्न क्लस्टरका समस्या, चुनौती र समाधानका उपायबारे प्रधानमन्त्री वालेन्द्र शाहलाई ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा सांसदहरूले दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम समुदाय तथा पिछडिएका क्षेत्रका समस्या, चुनौती र सम्भावनाका विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसदहरूले धार्मिक सहिष्णुता कायम हुनुपर्ने, वडामा महिला प्रतिनिधित्व यथावत राख्नुपर्ने, थारु समुदायका लागि आरक्षण व्यवस्था गरिनुपर्ने, दलित समुदायमाथि कायम विभेद अन्त्यका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने, संवैधानिक आयोगहरूका प्रादेशिक कार्यालय स्थापना गरिनुपर्ने, जनजातिको संयुक्त सङ्ग्रहालय स्थापना गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिका लागि नेतृत्व विकास, शिक्षा र सीपको अवसर विस्तार गर्नुपर्ने तथा चुरे संरक्षण गरिनुपर्नेलगायत माग राख्नुभएको थियो ।

मुस्लिम समुदायका सांसदहरूले मुस्लिम आयोगको प्रभावकारिता, मदरसा शिक्षाको आधुनिकीकरण, मुस्लिम विश्वविद्यालय स्थापना तथा ऐतिहासिक सम्पदाको संरक्षणमा जोड दिनुभएको थियो । साथै उहाँहरूले साम्प्रदायिक सद्भाव कायम राख्न आवश्यक पहल गर्न समेत प्रधानमन्त्री शाहसमक्ष आग्रह गर्नुभएको थियो ।

मधेस क्लस्टरका सांसदहरूले वैदेशिक रोजगारीका कारण बदलिँदो सामाजिक अवस्था, महिलाको जीवनशैलीमा देखिएका चुनौती, सिँचाइ व्यवस्थाको सुधार, मैथिली भाषाको प्रयोग तथा महिलाको आर्थिक सशक्तीकरणमा जोड दिनुभयो । उहाँहरूले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन, दलित समुदायको उत्थान, राजनीतिक तथा संवैधानिक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न, परम्परागत पेसाको आधुनिकीकरण तथा शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्नुपर्ने माग राख्नुभयो ।

आदिवासी जनजातिका सांसदहरूले भाषा, संस्कृति, लिपि र परम्परागत सीप संरक्षणको विषय उठाउनुभएको थियो भने महिला सांसदहरूले महिलाको समग्र विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा विभिन्न सांसदहरूले आआफ्नो क्लस्टरका मुद्दा प्रस्तुत गर्दै समाधानका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

रूपन्देही। सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको छ । सीमावर्ती बजारबाट रु १०० बढीको समान ल्याए भन्सार महसुल बुझाउनुपर्ने भन्दै सशस्त्र प्रहरीले माइकिङ गरिरहेको छ । सरकारको निर्देशन र स्थानीय प्रशासनको सक्रियतामा विगतमा फितलो बनेको उक्त व्यवस्थालाई पुनः प्रभावकारी बनाइएको भन्सार कार्यालयले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुङ्गानाले अघिल्लो हप्तादेखि नै सो व्यवस्थालाई पूर्ण रूपमा लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय बजारबाट फर्किने सर्वसाधारणलाई सम्झाइबुझाइ गर्दै रु १०० भन्दा बढी मूल्यका सामानमा भन्सार काट्ने कार्य भइरहेको छ ।

“सुरुका दिनमा जानकारी अभावका कारण सर्वसाधारणबाट गुनासो आएको थियो, तर अहिले सीमा नाकामा माइकिङमार्फत सचेतना फैलाइएको छ”, उहाँले भन्नुभयो, “यो व्यवस्थाले ठूलो मात्रामा राजस्व वृद्धि नगरे पनि चुहावट नियन्त्रण र कानुनी शासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

यसअघि पनि करिब डेढ वर्ष अगाडि स्थानीय व्यवसायीहरूको अगुवाइमा भैरहवा भन्सार कार्यालयले यो व्यवस्था लागू गरेको थियो । तर लागू गरेको करिब चार महिनामै कार्यान्वयन फितलो हुँदै गएको थियो ।

सीमावर्ती क्षेत्रबाट भारतीय बजार हुँदै फर्किने सर्वसाधारणले उक्त मूल्यका सामानमा भन्सार अनिवार्य गरिएको व्यवस्थाप्रति तीव्र असन्तुष्टि जनाएका थिए । अहिले पनि धेरैजसो उपभोक्ताले आफूहरूलाई उक्त नियमबारे पहिले नै पर्याप्त जानकारी नदिइएको गुनासो गरेका छन् । सीमा नाकामा पुगेपछि मात्र भन्सार तिर्नुपर्ने जानकारी पाउँदा अनपेक्षित झन्झट भएको उनीहरूको भनाइ छ ।

“हामीलाई पहिले नै जानकारी दिएको भए तयारी भएर आउँथ्यौँ, तर सीमानाकामै थाहा पाउँदा समस्या भएको छ”, एक सर्वसाधारणले गुनासो गर्नुभयो । उहाँले रु १०० को सीमा अत्यन्तै न्यून र अव्यवहारिक भएको बताउँदै सामान्य घरायसी सामानमा पनि भन्सार तिर्नुपर्ने व्यवस्था व्यवहारमा कठिन भएको बताउनुभयो ।

यसैगरी, उपभोक्ताहरूले स्वदेशी बजारमा वस्तुहरूको मूल्य तुलनात्मक रूपमा महँगो रहेको भन्दै ध्यानाकर्षण गराएका छन् । भारतीय बजारमा समान वस्तुहरू सुलभ मूल्यमा र केही अवस्थामा गुणस्तरीय रूपमा पाइने भएकाले सीमापार किनमेल गर्ने प्रवृत्ति बढेको उनीहरूको तर्क छ । “नेपालमै मूल्य सस्तो र सहज रूपमा सामान पाइने भए किन बाहिर जान्थ्यौँ र ?” अर्का एक उपभोक्ताले प्रश्न गर्नुभयो ।

यसैबीच, निजी क्षेत्रले उक्त कदमको स्वागत गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले लामो समयदेखि व्यवसायीहरूले उठाउँदै आएको माग सरकारले सम्बोधन गरेको बताउनुभयो । उहाँले विगतमा पनि यस्तै व्यवस्था केही समय कार्यान्वयनमा आएर पुनः फितलो बनेको उल्लेख गर्दै अहिलेको कडाइले सीमापारबाट हुने अनियन्त्रित खरिद–बिक्री नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“सीमापारको बजारका कारण स्थानीय उद्योगी व्यवसायीहरू प्रतिस्पर्धामा टिक्न कठिन भएको अवस्था थियो”, अध्यक्ष आचार्यले भन्नुभयो, “नयाँ सरकार र गृहमन्त्रीको निर्देशनपछि सीमा क्षेत्रमा कडाइ हुनु सकारात्मक छ ।”

यद्यपि, उहाँले दैनिक ज्यालादारी मजदुर तथा न्यून आय भएका सर्वसाधारणलाई ध्यानमा राख्दै रु १०० को सीमालाई व्यवहारिक बनाउनेतर्फ पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो । “यो सीमा रु एक हजार ५०० देखि रु दुई हजारसम्म पु¥याउँदा व्यवहारिक हुने देखिन्छ”, उहाँले सुझाव दिनुभयो ।

उहाँले उपभोक्ताहरूलाई स्वदेशी बजारमै सामान खरिद गर्न आग्रह गर्दै व्यवसायीहरूलाई पनि न्यून नाफामा गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो । भन्सार प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ । भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती र जाँचलाई थप प्रभावकारी बनाइएको हो ।

सूचना अधिकारी ढुङ्गानाले यो कार्य चुनौतीपूर्ण भए पनि कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । नियम कार्यान्वयनसँगै रायसी प्रयोजनका नाममा हुने अवैध आयात नियन्त्रणमा आउने, स्थानीय बजार चलायमान हुने र वैधानिक व्यापार प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

बेनीका १५ विद्यालयको कक्षा घटुवा र एक वटा बन्द

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले यस वर्ष एक वटा विद्यालय बन्द, १५ विद्यालयको कक्षा घटुवा तथा तहमिलान गरेको छ । विद्यार्थी अभावका कारण बेनी नगरपालिका–५ मा रहेको चेतना आधारभूत विद्यालय बन्द भएको हो ।

कक्षा घटुवा, तह मिलान र बन्द भएका विद्यालयका ३२ जना शिक्षकहरूलाई विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयहरूमा व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

१–३ तहको पठनपाठन हुँदै आएको चेतना आधारभूतमा नयाँ भर्ना हुने विद्यार्थी नभएकाले बन्द भएको गरिएको नगरपालिकाले जनाएको छ । यसअघि गत वर्ष बेनपा–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका थिए ।

१–३ तहको पठनपाठन हुने बेनपा–१ को ज्ञानपुञ्ज, २ को हंशबाहिनी, वडा नं ३ को नवज्योती र भूमे आधारभूतमा बालकक्षा मात्र कायम भएको नगरपालिकाले जनाएको छ । रत्नेचौरको भानु माविलाई १–१२ बाट १–८, गलेश्वरको जडभरत संस्कृति माविलाई १–१० बाट १–८, थाकनपोखरी र राधाकृष्ण आधारभूतलाई १–८ बाट १–५ मा झारिएको छ ।

१–५ तहका बराह, ज्ञानपुञ्ज, नवदुर्गा, विद्यामन्दिर, बरनाथ, स्यालीखेत र चन्द्रोदय आधारभूत विद्यालयमा १–३ कक्षा कायम भएको छ । नगरप्रमुख सुरत केसीले ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने १७ आँै नगरसभाको निर्णयअनुसार विद्यार्थी सङ्ख्या कम भएका विद्यालयका शिक्षकहरूको दरबन्दी बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई उपलब्ध गराएको बताउनुभयो ।

“गत भदौ महिनामा कार्यदल बनाएर विद्यालयहरूको स्थलगत अनुगमन, विषयगत समिति, समुदाय र वडास्तरमा विभिन्न चरणमा भएको छलफलमा प्राप्त सुझावअनुसार गत चैत २७ गतेको कार्यपालिका बैठकले गरेको विद्यालयको तह र कक्षा कटुवा तथा शिक्षक व्यवस्थापनको निर्णय नयाँ शैक्षिकसत्रको सुरुआतसँगै कार्यान्वयनका लागि पत्राचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “अहिले तह र कक्षा घटाइएका विद्यालयमा विद्यार्थी सङ्ख्या भएमा तह र कक्षा थप गर्ने नीति लिएका छौँ ।”

कार्यपालिकाले गरेको तहअनुसारको प्रअ नियुक्ति गर्नका लागि पनि विद्यालयहरूलाई पत्राचार गरिएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । माविमा मावि, १–८ तहको आधारभूतमा निमावी र १–५ को आधारभूतमा प्रावि तहका माथिल्ला बरियताक्रममा रहेका शिक्षक प्रअ हुने गरी शिक्षकहरूलाई व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

बन्द भएका विद्यालयहरूको भौतिक सम्पत्तिको मूल्याङ्कन गर्न उपसमिति गठन भएको र उक्त सम्पत्ती तथा कागजात नजिकको विद्यालयमा राखिने नगरपालिकाले जनाएको छ । दोस्रो चरणमा तह समायोजन र पुलमा रहेका शिक्षकहरूलाई विषयगत रूपमा आवश्यकताको आधारमा विद्यालयमा खटाउने तयारी नगरपालिकाले गरेको छ । बेनी नगरपालिकामा ५५ वटा सामुदायिक विद्यालय छन् ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ । कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या बनेको छ ।

अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

तेहरान। इरानले बुधबार सप्ताहन्तमा असफल वार्ता भएपछि पाकिस्तान हुँदै अमेरिकासँगको आदानप्रदानलाई निरन्तरता दिइएको बताएको छ ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भन्नुभयो, “आइतबारदेखि इरानी प्रतिनिधिमण्डल तेहरान फर्केपछि पाकिस्तानमार्फत कैयौँ सन्देशहरू आदानप्रदान भएका छन् ।”

उहाँले भन्नुभयो, “आज हामीले इस्लामाबादमा हुने छलफलको निरन्तरताका रूपमा पाकिस्तानी प्रतिनिधिमण्डललाई स्वागत गर्ने सम्भावना छ।”केही दिनअघि घोषणा गरिएको दुई हप्ताको युद्धविरामको पृष्ठभूमिमा सप्ताहन्तमा अमेरिका–इरान वार्ता भएको थियो तर उनीहरूले युद्ध अन्त्यका लागि कुनै सम्झौता गर्न असफल भएका थिए।

करिब २१ घण्टा चलेको वार्तामा उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र संसदका सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी पक्ष सहभागी भएको थियो ।
त्यसबेला मुख्य मुख्य बिन्दुहरू आधिकारिक रूपमा खुलासा गरिएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ नखोलेकोमा आलोचना गरिएको र इरानले आफ्नो परमाणु कार्यक्रमको विषयमा स्वीकार गर्न अस्वीकार गरेको बताउनुभएको छ।

त्यसपछि समाचार रिपोर्टहरूमा भनिएको छ, “वाशिङ्गटनले इरानको युरेनियम संवद्र्धनमा २० वर्षको लागि राक्न माग गरेको थियो भने इरानले यसको बदलामा आफ्नो परमाणु गतिविधि पाँच वर्षका लागि स्थगित गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका थिए।”

बुधबार बकाईले वार्ताका क्रममा अमेरिकाले गरेका केही मागहरू ‘अनुचित र अव्यवहारिक’ भएको बताउनुभएको छ। उहाँले इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारमा जोड दिँदै यसलाई ‘दबाब वा युद्धको माध्यमबाट खोस्न सकिँदैन’ भन्नुभयो ।

उहाँले भन्नुभयो, “संवद्र्र्धनको स्तर ‘परक्राम्य’ छ र इरानले आफ्नो आवश्यकता अनुसार संवद्र्धन जारी राख्न सक्षम हुनुपर्दछ ।”बकाईले सोमबारदेखि इरानी बन्दरगाहमा अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीको आलोचना गर्दै यो सफल नहुने बताउनुभएको छ।उहाँले इरानले अमेरिकी सर्त स्वीकार गर्न कुनै पनि वार्तामा प्रवेश नगर्ने बताउनुभयो ।

इरान युद्धविरामको म्याद नथपिने

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको युद्धविरामलाई लम्ब्याउने सैद्धान्तिक सहमति जनाएको खबर आएपछि संयुक्तराज्य अमेरिका इरानसँगको युद्धविरामलाई दुई हप्ता लम्ब्याउने विषयमा औपचारिक रुपमा सहमत नभएको एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले एएफपीसँग भने, “युद्धविराम लम्ब्याउने विषयमा अमेरिका औपचारिक रुपमा सहमत भएको छैन तर यो अवधिमा अमेरिका र इरानबीच सम्झौताका लागि निरन्तर वार्ता भइरहेको छ ।”

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो।

आयोगमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै वि.सं. २०६२÷६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग गठन गरिएको जानकारी दिए ।

बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप कोषका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने स्विस फ्राङ्क १ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, आन्तरिक राजस्व विभागअन्तर्गत विभिन्न तहका कर्मचारीलाई कार्यक्षेत्रअनुसार अन्तरशुल्क अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरिएको छ भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ पनि पारित गरिएको छ । साथै, नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधिसभामा जानकारीका लागि पेश गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, २०८२ भदौ २३ र २४ गते भएको घटनाको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्रबारे अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघि नै शासकीय सुधारअन्तर्गत भ्रष्टाचार नियन्त्रण र दण्डहीनता अन्त्य गर्ने लक्ष्यसहित सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।सरकारले गठन गरेको आयोगले कानुनी मापदण्ड र प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्ने तथा प्राप्त प्रतिवेदन र सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गरिने जनाएको छ ।

कालीगण्डकीमा बेपत्ता २९ वर्षीय बस्याल मृत फेला

पाल्पा। बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल आज मृत भेटिएका हुन् ।

नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । मङ्गलबार पौडी खेल्ने क्रममा बस्याल बेपत्ता भएका थिए ।

वन्यजन्तु सप्ताह : लाङटाङ राष्ट्रिय निकुञ्ज संरक्षणको यात्रा

रसुवा। नयाँ वर्ष २०८३ को सुरुआतसँगै हिमाली जैविक विविधताको धरोहर मानिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यले वन्यजन्तु सप्ताह सुरु गरिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमले संरक्षणप्रति समुदायस्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । रसुवागढीदेखि नुवाकोटको दुप्चेश्वर हुँदै सिन्धुपाल्चोकको स्याउलेसम्म फैलिएको एक हजार ७१० वर्गकिमी निकुञ्ज क्षेत्र र आसपासका क्षेत्र समेटिएको करिब ४२० वर्ग किलोमिटर मध्यवर्ती भू–भागसहितको वन क्षेत्र जैविक विविधताको दृष्टिले नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पदा मानिन्छ ।

यही क्षेत्रमा पाइने वन्यजन्तु, वनस्पति तथा प्राकृतिक प्रणालीको दीर्घकालीन संरक्षणका लागि ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग, समृद्धिको दिगो सेतु’ भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो ।

संरक्षणको चुनौति

संरक्षणको उदाहरण बन्दै गएको लाङटाङ क्षेत्र विगत केही वर्षमा गम्भीर प्राकृतिक र मानवीय दबाबबाट गुज्रिएको थियो । दशकौँअघि यहाँका जङ्गल स्थानीय जीविकोपार्जन, अत्यधिक दाउरा कटान, चरन क्षेत्र विस्तार तथा अवैध सिकारका कारण क्रमशः कमजोर बन्दै गएको थियो ।

हिमाली क्षेत्रका दुर्लभ वन्यजन्तु–विशेषगरी रेडपाण्डा, कस्तुरी मृग र हिम चितुवाको अवैध सिकार एक समय ठूलो चुनौती बनेको थियो । जनसङ्ख्या वृद्धि, सडक विस्तार र चेतनाको अभावले वन्यजन्तुको बासस्थान खण्डित हुँदै गएको संरक्षणकर्मीहरू बताउँछन् ।

त्यसैबीच २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पहिरो तथा प्राकृतिक प्रकोपले लाङटाङ उपत्यकाका जङ्गल, वन्यजन्तुको मार्ग र पर्यावरणीय सन्तुलनमा असर परे पनि विस्तारै पुनः जीवनको रूपमा अगाडि बढेको छ । कतिपय स्थानमा वन्यजन्तुको आवास नै परिवर्तन हुन पुगेको थियो ।

संरक्षणको नयाँ अध्याय

यी चुनौतीपछि संरक्षणप्रति राज्य, स्थानीय समुदाय र संरक्षण संस्थाहरूको संयुक्त पहलले लाङटाङ क्षेत्रमा नयाँ अध्याय सुरु भयो । निकुञ्ज प्रशासन, नेपाली सेना, स्थानीय सरकार, सामुदायिक संस्था तथा संरक्षणकर्मीहरू मिलेर जैविक विविधता जोगाउने अभियान तीव्र बनाइयो ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले संरक्षणमा हालसम्मका गतिविधि सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा जनसहभागितामूलक कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार संरक्षण कार्यमा आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

गैरसरकारी संस्था लाकोसका अध्यक्ष सन्तोष घलेले रेडपाण्डा संरक्षणका लागि खेलकुद, विशेषगरी भलिबल प्रतियोगितामार्फत, समुदायमा चेतना फैलाउँदै आएको जानकारी दिनुभयो । संरक्षणलाई सामाजिक अभियानसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रका जिल्ला अध्यक्ष एवं नापी अधिकृत शिवजी केसीले जैविक विविधता संरक्षणमा सबै क्षेत्रको सहकार्य अपरिहार्य हुने बताउनुभयो ।

दुर्लभ वन्यजन्तुको सुरक्षित आश्रय

वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जमा हाल ४६ प्रजातिका स्तनधारी जनावर पाइने अभिलेखमा उल्लेख गरिएको छ । यहाँ लोपोन्मुख रेडपाण्डा, हिमचितुवा, हिमाली ठूलो भालु, ब्वाँसो , पहरेबाँदर, बँदेल, कस्तुरी मृगलगायत महत्त्वपूर्ण प्रजातिहरूको बासस्थान रहेको छ ।

वन्यजन्तुविज्ञ डा मुकेशकुमार चालिसेले डाँफे, मुनाल, कस्तुरी मृगजस्ता दुर्लभ प्रजातिको उपस्थितिले लाङटाङ क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमै महत्त्वपूर्ण जैविक क्षेत्र बनाएको छ । लाङटाङ निकुञ्ज क्षेत्रमा अनेकौँ पंछीहरू रहेका छन् । संरक्षण सफल बनाउन समुदाय र निकुञ्जबीच हातेमालोका साथ अगाडि बढ्न डा चालिसेले सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका पार्टी सचिव तथा लाङटाङ मध्यवर्ती काउन्सिल जिल्ला अध्यक्ष उत्तम थापाले नेपाली सेना र निकुञ्ज कर्मचारी २४ घण्टा संरक्षण कार्यमा खटिइरहेको जानकारी दिनुभयो ।

कानुनी संरक्षण र सुरक्षा घेरा

हिमाली राष्ट्रिय निकुञ्ज ऐन २०२९, नियमावली २०३६ तथा मध्यवर्ती क्षेत्र ऐन २०५६ अनुसार निकुञ्ज क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ । नेपाली सेनाको सिङ्गो गण परिचालन गरी नियमित गस्ती, अवैध चोरी सिकार नियन्त्रण र वन संरक्षणको काम भइरहेको संरक्षणकर्मीले बताएका छन् ।

संरक्षणमा समुदायको भूमिका

पहिले जङ्गललाई केवल स्रोतका रूपमा हेर्ने सोच अहिले परिवर्तन हुँदै गएको छ । स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, विद्यार्थी, आमा समूह तथा युवा क्लबहरू संरक्षण अभियानमा जोडिन थालेका छन् । पर्यावरण संरक्षणसँगै पर्यापर्यटन, आयआर्जन र स्थानीय समृद्धि जोडिँदै गएको छ ।

संरक्षणको सन्देश

जङ्गल बच्यो भने वन्यजन्तु बच्छन्, वन्यजन्तु बचे भने हिमालको पर्यावरण र मानव जीवन सुरक्षित रहने विज्ञहरूको भनाइ पाइएको छ । वन्यजन्तु सप्ताह केवल कार्यक्रम मात्र नभई विनाशको अनुभवबाट सिकेर संरक्षणको संस्कृतिमा रूपान्तरण हुँदै गएको लाङटाङ निकुञ्जले जनाएको छ ।

शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

भेटका क्रममा विशेषगरी नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको’ अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनका विषयमा महत्त्वपूर्ण परामर्श भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षा र उचित वातावरण तयार गर्न बेलायत सरकारको प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यका लागि आग्रह गरेका छन् ।

यस्तै, मन्त्री पोखरेलले नेपाली शिक्षकहरूको पेशागत क्षमता विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै यसमा बेलायतको आधुनिक शिक्षण पद्धति र अनुभव फलदायी हुने विश्वास व्यक्त गरे ।भेटमा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो द्विपक्षीय सम्बन्धको स्मरण गर्दै शिक्षा क्षेत्रमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरे ।

उनले भने, ‘नेपालको शैक्षिक रुपान्तरण र शिक्षकहरूको कार्यकुशलता अभिवृद्धिमा बेलायत सरकारको भूमिका सधैं सराहनीय छ, आगामी दिनमा यो सहकार्य अझै व्यापक हुने अपेक्षा राखेका छौँ ।’राजदूत रब फेनले नेपालको शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवद्र्धनमा बेलायत सरकार सधैं सकारात्मक रहेको बताए । उनले नेपालमा ’ट्रान्सनेसनल एजुकेशन’
(अन्तरदेशीय शिक्षा) को सम्भावना र यसले नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने विषयमा चासो व्यक्त गरे ।

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने भएको छ।

नेपाल सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं १५ मा शिक्षकको सिटरोल दर्ता तथा अवकाशपछिको सेवा सुविधाको व्यवस्थापन आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने व्यवस्था मिलाउने उल्लेख भएबमोजम सो प्रबन्ध गर्न लागिएको हो।

राष्ट्रिय किताबखानाका महाप्रबन्धक श्रवणकुमार पोखरेलले उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा डिजिटल सर्भिस, इ–पेन्सनलगायतको सुविधा तथा सिटरोल दर्ताको प्रक्रियाअघि बढाउने गरी छलफल प्रारम्भ भएको बताउनुभयो । यसका लागि कार्यालयले कार्यविधि स्वीकृतिको प्रक्रिया अघि बढाएको छ।

वैद्यखानाले अब ‘जिएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने

काठमाडौँ । सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्डमा लैजाने तयारी गरिएको छ।

समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले चाँडै वैद्यखानाबाट उत्पादन हुने औषधि जिएमपी मापदण्डमा उत्पादन गरिने बताए । उनका अनुसार यसै वर्ष शिलाजित, मिमियालगायत औषधिलाई जिएमपी मापदण्डअनुसार उत्पादन गरिनेछ । आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई जिएमपी मापदण्डमा उत्पादन गरिने उनको भनाइ छ।

कार्यकारी निर्देशक केसीले आफू समितिको अध्यक्ष भएर आएदेखि औषधि उत्पादन बढेको बताए । उनका अनुसार १०३ प्रकारका औषधि उत्पादन गरिरहेको बताए। “हामीले लक्ष्यभन्दा बढी औषधि उत्पादन गरिरहेका छौँ । चालु आवमा ८४ औषधि उत्पादन गर्ने लक्ष्य भए पनि हामीले १०३ प्रकारका औषधि उत्पादन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सबैको सहयोगबाट वैद्यखानामा औषधि उत्पादन बढाइएको छ ।”

आव २०८१/८२ मा ७७ औषधि उत्पादन गर्ने भने तापनि ४० प्रकारका औषधि उत्पादन गरिएको थियो । यस्तै, आव २०८०/८१ मा १४ प्रकारका, आव २०७९/२०८० र आव २०७८/२०७९ मा १५ प्रकार, आव २०७७/०७८ मा २५ प्रकारका औषधि उत्पादन भइरहेको थियो।

कार्यकारी निर्देशक केसीले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पु-याइएको बताए । वैद्यखानाले चालु आवमा वार्षिक ५५ हजार किलो बराबरको कच्चापदार्थबाट औषधि उत्पादन गर्दै आइरहेको छ । वैद्यखानाले हालसम्म १०१ खरिद आदेशमा सम्झौता भएर ८५ काम सम्पन्न गरिसकेको छ।

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।उक्त भेटघाटमा महामहिम राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

साथै, नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, जापान सरकारद्वारा नेपालको आर्थिक तथा सामाजिक विकासमा पु¥याइँदै आएको सहयोग र आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सारगर्भित छलफल भएको थियो।

भेटका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङमार्गसहित विभिन्न पूर्वाधार आयोजनाको प्रगतिप्रति चासो व्यक्त गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरे ।

त्यसैगरी, उनले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा नेपाल र जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान आवश्यक रहेको औँल्याए । साथै, विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि नेपालमा विश्वविद्यालय स्थापना गर्न जापानको प्राविधिक सहयोग र ज्ञान हस्तान्तरण आवश्यक रहेको धारणा पनि व्यक्त गरे ।

गृहमन्त्री गुरुङले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपालीप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे।

सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन ।

चालु आर्थिक वर्षका लागि उपभोक्तामार्फत कार्यान्वयन गर्नेगरी बजेट विनियोजित भएका थिए ।

कार्यालयमार्फत चालु आवमा ७८ वटा सिँचाइ तथा नहर पुनस्र्थापनाका योजनाका लागि गण्डकी प्रदेश सरकारमार्फत रु १० करोड ४२ लाख बजेट विनियोजन भएको थियो । तीमध्ये २४ वटा योजना सम्पन्न भइसकेका छन् भने बाँकी ४४ वटा योजना कार्यान्वयनको चरणमा छन् । बाँकी १० योजना भने सम्झौता नै हुन नसकेको कार्यालय प्रमुख सागर भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्बन्धित किसान तथा उपभोक्ता समितिको सहभागिता नहुँदा ती योजना सम्झौता प्रक्रियामै रोकिएका छन् । “सम्झौताका लागि पटकपटक सूचना गर्दा पनि किसान आउनुभएको छैन, यसले गर्दा केही योजना अघि बढ्न सकेका छैनन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सम्झौता प्रक्रियामा सिँचाइ उपभोक्ता समिति गठन तथा दर्ता अनिवार्य हुनुका साथै प्रतिरोपनी एक सय रुपैयाँका दरले रकम जम्मा गर्नुपर्ने प्रावधान छ । गाउँस्तरमा उपभोक्ता समितिमा बस्ने व्यक्तिको अभाव, मूल्यवृद्धिका कारण नागरिकमा चासो घट्नु तथा प्रक्रियागत झन्झटले पनि सहभागिता कम भएको भट्टराईले जानकारी दिनुभयो ।

नेपाल किसान महासङ्घका अध्यक्ष रघुनाथ गौडेलले योजना सम्झौता नहुनुमा किसानमात्र दोषी नभएको बताउनुभयो । “योजनाबारे समयमै पर्याप्त जानकारी नपुग्नु, लागत साझेदारीको स्पष्टता नहुनु र प्रक्रिया जटिल हुनुका कारण किसान अलमलमा परेका छन्”, उहाँले भन्नुभयोे, “साना बजेटका योजनामा धेरै झन्झट र आर्थिक दायित्व हुँदा किसानको आकर्षण घटेको छ ।”

उहाँका अनुसार पछिल्लो समय बढ्दो महँगी, कामदार अभाव र कृषि पेसाप्रति घट्दो रुचिले पनि किसानलाई योजना प्रक्रियामा सक्रिय हुन कठिन भएको छ । “किसानलाई सहज बनाउनेगरी नीतिगत सुधार र सचेतना आवश्यक छ, नत्र यस्ता योजना कागजमै सीमित हुने जोखिम रहन्छ”, गौडेलले थप्नुभयो ।

कार्यालयका अधिकांश योजना रु पाँच लाखदेखि रु ३५ लाखसम्मका छन् । बजेट आकार सानो हुनु र कामदार अभावका कारण कार्यान्वयनमा पनि चुनौती देखिएको छ ।

समयमै सम्झौता हुन नसक्दा सिँचाइ पूर्वाधार विस्तारमा ढिलाइ हुने र खेतीपाती प्रभावित हुने चिन्ता बढेको छ । कार्यालयले भने बाँकी योजनाका लागि पुनः समन्वय र सूचना जारी गरी सम्झौता प्रक्रिया अघि बढाउने तयारी गरेको जानकारी दिएको छ ।

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

बागमती। आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ ।रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै अएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो ।

सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएको छ । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उहाँले बताउनुभयो ।

“हेटौँडा सिमेन्ट उद्योगलाई पुनः कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु”, सांसद गौतमले भन्नुभयो, “यसै विषयमा केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उहाँहरूले पनि सकारात्मक आश्वासन दिनुभएको छ ।” उद्योगका कर्मचारीहरूसँग पनि यस विषयमा अन्तक्र्रिया गरेको छु, सबैबाट राम्रै सुझाव आएको छ”, उहाँले भन्नुभयो ।

“उद्योग चलाउन सकिने सम्भावना देखिन्छ, उद्योग रुग्ण हुनुमा व्यापारिकभन्दा पनि सरकारी भएपछि सेवामूलक, तलबमात्र खाने बाटो बनाएको जस्तो मात्र्रै देखिन्छ”, उहाँले भन्नुभयो, “उद्योगमा हुँदै आएको राजनीतिक हस्तक्षेप, आन्तरिक रूपमा हुने भ्रष्टाचार रोक्न सकियो र नयाँ व्यवस्थापन टिम बनाउन सकियो भने उद्योग चलाउन सकिने सम्भावना देखिन्छ ।” त्यसैका लागि म प्रयास गरिरहेको छु, छिट्टै सकारात्मक परिणाम आउन सक्नेमा विश्वास्त छु, उहाँको कथन छ ।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा गत भदौको १९ देखि २४ गतेसम्म पाँच दिनमात्र उद्योग सञ्चालन भएको छ । सो अवधिमा दुई हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको उद्योगका निमित्त महाप्रबन्धक डा शिवनारायण साह बताउनुभयो ।

गत चैत १३ गतेदेखि उद्योगले पुनः क्लिङ्कर उत्पादन प्रक्रिया सुरु गरे पनि कच्चा पदार्थ नहुँदा पुनः रोकिएकोछ । अघिल्लो महिनामा कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आउन नसकेकाले एकदुई दिनमा पुनः उद्योग बन्द हुने निमित्त प्रमुख डा साहको भनाइ छ ।

“अहिले मौज्दात रहेको कच्चा पदार्थबाट क्लिङ्कर उत्पादन हुँदैछ, क्लिङ्करबाट सिमेन्ट उत्पादन गरेर प्याकिङ हुन्छ”, निमित्त महाप्रबन्धक साहले भन्नुभयो, “अबको एकदुई दिनमा उत्पादन ठप्प हुन्छ, तर नियमित खर्च जस्ताको त्यस्तै छ”, डा साहले भन्नुभयो, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीहरूको तलबभत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ ।” जसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइनै हाल्यो, उहाँले भन्नुभयो ।

“उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० टन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी पनि गर्न सकिएको छैन भन्नुभयो ।

सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत छन् । आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थपिएको छ ।

“विद्युत् उपभोग त गरियो तर महसुल बुझाउन सकिएन”, उहाँले भन्नुभयो, “अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न नसकिए पनि करिब ३०÷४० करोड जति बक्यौता बाँकी छ होला ।” त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उहाँको कथन छ ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४४, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ९०, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु ३४०, तीते करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु ७०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ५०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २७०, रातो बन्दा प्रतिकिलो रु ४०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकेजी रु १२०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, एभोकाडो प्रतिकिलो रु ८००, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४८०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु ११०, हरियो धनियाँ प्रतिकिलो रु १३०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १४०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

विराट गोल्ड कप फुटबल प्रतियोगिताः सम्राट स्पोर्टिङ विजयी

मोरङ। विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको छ ।

विर्सामुण्डाका शङ्कर किस्कुले ४४आँै मिनेटमा गोल गरेका थिए भने खेलको ५०औँ मिनेटमा सम्राटका मौसम लिम्बू, ८६औँ मिनेटमा प्रताप तामाङले गोल गरे । खेलको अतिरिक्त (इन्जुरी) समयमा प्रताप तामाङले पुनः दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अन्तरले विजयी बनाएका छन् । उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता आगामी २०८३ वैशाख ५ गतेसम्म हुने र नेपाल र भारतका गरी आठवटा टोलीले भाग लिएका छन् । विराटनगर गोल्ड कपको ३८औँ संस्करणमा विजेता हुने टिमले रु ११ लाख, उपविजेताले रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार, उत्कष्ट गोलरक्षकलाई रु १५ हजार, सर्वाधिक गोलकर्तालाई रु १५ हजार, सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ११ हजार पुरस्कार प्राप्त गर्ने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । रासस

आईपीएल : चेन्नईसँग कोलकाता ३२ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ ।मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाई १९२ रन बनाएको थियो ।चेन्नईका लागि ओपनर सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर एवं कप्तान रितुराज गायकवाड ७ रनमै आउट भए ।

आयुष महात्रेले ३८ रन बनाए । उनले १७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। डेवाल्ड ब्राभिसले २९ बल खेल्दै ४ चौका र २ छक्कासहित ४१, सरफराज खानले १८ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।

१९३ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६० रनमात्र बनाउन सक्यो ।५ खेलमा दोस्रो जित हात पारेपछि चेन्नई एक स्थान माथि उक्लिएर आठौँमा पुगेको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ ।

प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग आज विशेष छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज छलफल गर्ने भएका छन् ।आज मध्याह्न १२ बजे शिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल गर्ने भएका हुन् ।

कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने छन् ।

यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गर्ने

काठमाडौँ। आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो ।

व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ ।यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् ।

त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ ।विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।

पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्‍याउने सरकारको प्रतिबद्धता

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पुर्‍याइने प्रतिबद्धता जनाएको छ । सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्‍याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ ।

प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनाका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलियतलाई सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उल्लेख गरिएको छ ।

यसै गरी प्रत्येक प्रदेशमा एक अत्याधुनिक अपाङ्गता पुनः स्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गरी एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख छ ।

जलन पीडितलाई निःशुल्क उपचार

सरकारले जलन पीडितलाई निःशुल्क र गुणस्तरीय उपचार तथा मानसिक स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याइने जनाइएको छ ।

प्रतिबद्धतामा ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याइने, समग्र स्वास्थ्य प्रणाली सुधारका लागि आधारभूत स्वास्थ्यमा न्यूनतम मापदण्ड तयार गरी एकीकृत मोडल लागू गरिने, सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनाको पुनः संरचना गरी स्वास्थ्यकर्मी, उपकरण, भवन तथा सेवाको वर्गीकरण गुणस्तर निर्धारण गरिने उल्लेख छ । ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ सञ्चालन गरिने छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक

प्रतिबद्धतामा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तीमा एक जना चिकित्सा शिक्षामा स्नातकोत्तर तह उत्तीर्ण गरेका एमडिपिजी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराइने बताइएको छ ।
यस्तै, गरिब, मजदुर, किसान, अपाङ्गता भएका व्यक्तिको बिमा वा निःशुल्क उपचार तथा अनिवार्य श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने प्रतिबद्धतामा उल्लेख छ ।

रोग लागेपछि उपचार होइन रोग नै लाग्न नदिने अवस्था सृजना, स्वस्थ हावापानी, वातावरण र सक्रिय जीवनशैली प्रोत्साहन गरी ‘म स्वस्थ मेरो परिवार स्वस्थ्य’ भन्ने महाअभियान सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ ।

स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक उपचार र योगध्यानलाई जोडी प्रमुख पर्यटकीय क्षेत्रहरूमा ‘वेलनेस जोन’ र योग प्रयोगशाला निर्माण गरिनाका साथै पाठ्यक्रममा योग, ध्यान र आरोग्य पर्यटन समावेश गरिने प्रतिबद्धतामा उल्लेख छ ।उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ को र त्यसपछिका वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार ‘एजेन्डा’मा आबद्ध गरिने जनाइएको छ ।

सशस्त्र प्रहरीद्वारा राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा, २ बैशाख: राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाई गर्न थालेको छ ।सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएका र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि यहाँ कडाई गरिएको हो ।

यहाँ सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायत सीमा नाकामा रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ ।

भन्सार महसुल नुबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले बताउनुभयो । गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।सीमानाकाबाट हुने अवैध आयात र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले देशैभरका नाकामा झापामा जस्तै निगरानी बढाइरहेको जनाइएको छ ।

आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु, पाँच हजार जनशक्ति परिचालन

काठमाडौँ, २ वैशाख : आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।

अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।

त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ ।यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भईरहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भूभाग लगायत बाँकी हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८८ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६० पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २८ पैसा र बिक्रीदर १६ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा रहेको छ ।यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

बाँके । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८ सय रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या घट्दै गएको जनाएको हो ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले खोपको मात्रा पूरा नगर्ने बालबालिकामा सबैभन्दा बढी मुस्लिम समुदायका रहेका जानकारी दिए । उनका अनुसार सो समुदायका ३५४ जना बालबालिकाले खोपको मात्रा पूरा गरेका छैनन् ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले १८९ मधेसी समुदायका, १२८ दलित समुदायका, ५७ जनजाति र बाँकी अन्य समुदायका रहेका जनाले खोपको मात्रा पूरा नगरेका जानकारी दिए । खोपको मात्रा पूरा नभएकाको सङ्ख्या ठुलो भएकाले वैशाख महिनाभर खोजी गर्ने तयारी गरिएको उनले उल्लेख गरे ।

सोह्र महिनादेखि ५९ महिनासम्मका खोप पूरा नगरेका बालबालिकालाई लक्षित गरी खोजपड्ताल अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । “नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख महिनाभर खोजेर खोप लगाउने छौँ”, जनस्वास्थ्य अधिकृत गिरीले भने । सरकारले वैशाखलाई खोप महिनाका रूपमा मनाउने गर्दछ । वैशाखलाई सचेतना प्रवर्द्धन महिनाका रूपमा समेत मनाइन्छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले वैशाखको दोस्रो सातालाई खोप सप्ताहका रूपमा मनाउने गरिएको बताए । नियमित खोप लगाइँदा बाल मृत्युदर घट्दो क्रममा रहेको जानकारी दिँदै उनले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप, गर्भवती महिलालाई खोप तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भइरसस (एभपिभी) खोप लगाइँदै आइएको बताए।

नयाँ वर्षमा १२ हजार भन्दा बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ। नयाँ वर्ष २०९३ सालको पहिलोदिन मुक्तिनाथ मन्दिरमा करिव १२ हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति/समृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ।

हिउँदयामपछि चलायनमा भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरिएकामा आज मुक्तिनाथ मन्दिरमा साविकभन्दा दोब्बर धार्मिक तीर्थालुले दर्शन गरेको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। नयाँ वर्ष भएकाले दिउँसो २ बजेपछि पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीडले परिसर खचाखच भरिएको उनको भनाइ छ।

यसैगरी नयाँ वर्षको उपलक्ष्यमा उल्लेख्य सङ्ख्यामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिक पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थको समस्या देखिए पनि टाढाटाढाबाट दर्शनार्थी झत्तजन मुक्तिनाथको दर्शन गर्न आइपुगेको व्यवस्थापक भुसालको भनाइ छ । योसमय मुक्तिनाथ दर्शन गर्ने अनुकुल मौसम भएकाले मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको हो ।

आज बिहान ६ बजेदेखि मुक्तिनाथमा दर्शनार्थी ब्यापक चहलपहल देखिएको हो । दर्शनार्थीको व्यापक उपस्थितीले मन्दिर परिसर र १०८ धारालगायतका स्थान पुरै दर्शनार्थीले भरिएको थियो । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथको दर्शन गर्नाले वर्षभरीनै राम्रो हुने भएकाले भक्तजन मुक्तिनाथ मन्दिरको दर्शन गर्न ओइरिएका हुन्।

मन्दिरमा ब्यापक मात्रामा दर्शनार्थीले भरिएपछि समितिले भक्तजनलाई लाईनबद्ध हुने गरी मन्दिरको दर्शनकार्यमा सहजीकरण गरेको थियो । नयांँ वर्षमा मुक्तिनाथ दर्शन गर्न आएका सवारी साधनले मुक्तिनाथस्थित रानीपौवाका दुई वटा बसपार्क पुरै सवारी साधनले भरिएर सवारी पार्किङमा समस्या भएको थियो । योसँगै मुक्तिनाथ दर्शन गर्ना आएका पर्यटकका कारण मुस्ताङको जोमसोम, मार्फालगायत पर्यटकीय गाउँमा दर्शनार्थीको चहलपहल बाक्लिएको हो।

मर्न लागेको भनेर श्रीमान्‌लाई फोन गरेपछि…

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्‌ई सामाजिक सञ्जालमा ‘भिडियोकल’ गरी आफू मर्न लागेको भनेर बताएकी छिन् । श्रीमान्‌ले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए।

परिसरले तत्कालै प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा टोली खटायो । खोजतलास गर्दा ती महिला सुनाकोठी जङ्गलमा भेटिइन् र उद्धार भयो । सुन्दा एउटा चलचित्रको कहानी जस्तै लाग्ने यो घटना सोमबार साँझको हो ।

समयमा सूचना प्राप्त हुँदा महिलाको अकालमा मृत्यु हुनबाट जोगिएको छ । ती महिलाले मर्न लागेको भनेर परिवारमा भिडियोकल गरेपछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले भने, “क्विक रेस्पोन्स (छिटो प्रतिक्रिया) हुँदा महिलाको सकुशल उद्धार सफल भएको हो, हाम्रो टोलीले भेट्टा उनी डोरी बोकेर जङ्गल जाँदै थिइन्, मोबाइल लोकेसन पच्छ्याउँदै जाँदा फेला परिन् ।” उहाँले पारिवारिक कलहका कारण उक्त घटना भएको बताए।

परिसरले आज एक सूचना जारी गरी भनेको छ, “ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा फोनमार्फत जानकारी गराएकामा खबर प्राप्त हुनसाथ तत्काल प्रहरी वृत्त चापागाउँ ललितपुरबाट प्रनाउ थापाको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा महिलालाई सुनाकोठीको जङ्गलबाट सकुशल उद्धार गरी निजको अफन्तको जिम्मा लगाएको छ ।”

अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै

लन्डन। अमेरिकी सैन्य नाकाबन्दीका बावजुद इरानी बन्दरगाहहरूबाट यात्रा गर्ने कम्तीमा दुई जहाजले सोमबार होर्मुज स्ट्रेट पार गरेको समुद्री ट्र्याकिङ डाटाले सङ्केत गरेको छ ।
समुद्री डाटा प्रदायक केप्लरका अनुसार, अमेरिकी नाकाबन्दी १४०० जिएमटीमा लागू भएपछि इरान–सम्बन्धित कम्तीमा चारवटा जहाजले उक्त मार्ग प्रयोग गरेका थिए । ती जहाजहरू मध्ये एक लाइबेरियाको झण्डा बोकेको बल्क क्यारियर क्रिस्टियाना इरानी बन्दरगाह इमाम खोमेनीमा ७४ हजार टन मकै उतारेर सोमबार १६०० जिएमटीमा स्ट्रेट पार गरेको देखाइएको छ ।

दोस्रो जहाज, कोमोरोस–फ्ल्याग गरिएको ट्याङ्कर एल्पिस ११०० जिएमटीको आसपास लारक टापु नजिक थियो र यसले १६०० जिएमटीमा जलडमरूमध्य पार गरेको थियो । यस जहाजमा ३१ हजार टन मेथनोल थियो, जुन मार्च ३१ मा इरानको बुसेहर बन्दरगाहबाट लोड गरिएको थियो ।

अमेरिकी सेन्ट्रल कमानले नाकाबन्दी लागू गर्दा ‘इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा त्यहाँबाट निस्कने सबै जहाजहरूलाई लक्षित गर्ने’ बताएका थिए । यद्यपि, चिनियाँ ट्याङ्कर रिच स्टेरीले पनि सोमबारदेखि मङ्गलबारसम्म लारक टापु मार्ग हुँदै जलडमरूमध्य पार गरेको ट्र्याकिङ डाटाले देखाएको छ ।
समुद्री विश्लेषकहरूका अनुसार हालको जलडमरूमध्यको स्थितिले जहाजहरूको ट्«्याकिङमा समस्या ल्याएको छ, जसले सटीक जानकारी प्राप्त गर्न कठिन बनाएको छ ।

अमेरिकाले इरानसँगको शान्ति वार्ता असफल भएपछि यो नाकाबन्दीको घोषणा गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकाको यो कदम ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ रहेको बताउनुभएको छ ।यस बीच, एक अर्को जहाज, मेडागास्कर–फ्ल्याग गरिएको ट्याङ्कर मुरलिकिसन, मङ्गलबार बिहान लारक टापु मार्ग हुँदै पश्चिमतर्फ खाडीमा जलडमरूमध्य पार गर्दै इराकी बन्दरगाह खोर अल जुबैरतर्फ गइरहेको थियो ।

समुद्री ट्र्याकिङ डाटा र विश्लेषकहरूले यस घटनालाई क्षेत्रीय तनावमा एक नयाँ मोडको रूपमा हेरिरहेका छन्, जसले विश्वभरिका सिपिङ मार्गहरूको सुरक्षा र इरानसँगको व्यापारलाई असर पुर्‍याउन सक्छ ।

अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन

काभ्रेपलाञ्चोक। स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो ।

उक्त सडकखण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको हो ।

आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्नेकार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ ।

“त्यसबेला आगावमन कुन प्रकारले रोक्नेबारे छलफल भइरहेको छ, त्यसबारे केही दिनपछि सूचीत गर्नेछौँ”, योगेशले भन्नुभयो । उहाँका अनुसार पहिलोपटक गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रोपटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । सो अवधिमा टिपरलगायत मालवहाक सवारीलाई भने पूर्णतः निधेष गरिएको थियो । उक्त खडकखण्डको बाँकी १.५ कमी दोस्रो चरणमा पक्की बनाइन लागिएको हो ।

ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम भएको जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौताकार्य गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाईको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ ।

उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो ।

उक्त सडकखण्ड अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ ।

मधेस प्रदेशका १३६ पालिका एवं सहरमा स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान

जनकपुर। मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जनकपुरधामदेखि सुरु भएको स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान मधेस प्रदेशका १३६ पालिका एवं सहरमा सञ्चालन गरिने बताउनुभएको छ ।

जनकपुरधाममा आज पत्रकार सम्मेलनमा उहाँले जनकपुरधामबाट सुरु भएको सार्वजनिकस्थलको संरक्षण गर्ने अभियान मधेस प्रदेशका सबै पालिकामा सञ्चालन हुने बताउनुभएको हो ।

गृहमन्त्री महतोले गत चैत २७ गते जनकपुरधाममा आठ जिल्ला प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूको समन्वय बैठकमा सबै स्थानीय तहसँग समन्वय गरेर सार्वजनिक सम्पत्तिको रक्षा तथा अतिक्रमण हटाउने र सफा बनाउने विषयमा सुरक्षा निकायलाई निर्देशन दिइएको बताउनुभयो ।

गृहमन्त्री महतोले प्राचीन मिथिलाको राजधानीका रूपमा परिचित जनकपुरधाममा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि गरेर यस क्षेत्रको आर्थिक विकासको व्यापक सम्भावना व्यापक रहेको बताउनुभयो ।

प्रदेश सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढिरहेको जानकारी दिँदै उहाँले विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको बताउनुभयो ।

पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

भादगाउँ। भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौँ दिन आज साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५ः४९ मिनेटमा ढालिएको हो ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोमा बाँडिएको अष्टमातृकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गर्छ ।

लिङ्गो ढाल्नु पनि बिस्का जात्राको प्रमुख जात्राका रूपमा लिइन्छ । यो जात्रा पछि तलेजुभित्र दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा रहेको भैरव र भद्रकालीको रथलाई गःहिटि पुर्‍याई रथ जुधाउने जात्रा गरिन्छ ।

यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रुहरू नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

‘जनअपेक्षाअनुसार सेवा सुधार गर्न सरकार प्रतिबद्ध छ’ – मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

नयाँवर्ष २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जनअपेक्षाअनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको दिगो विकासका लागि विभिन्न नीति, कार्यक्रम र योजना कार्यान्वयनमा रहेको जानकारी गराउनुभएको छ । उहाँका अनुसार स्थानीय स्रोत, साधन र उत्पादनमा आधारित उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ । शून्यबाट सुरु भएको प्रदेश संरचनालाई संस्थागत गर्दै सबल, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले नयाँ वर्ष विगतको समीक्षा गर्दै भविष्यको स्पष्ट दिशातर्फ अघि बढ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो । आशा, उत्साह र नयाँ सङ्कल्पका साथ सकारात्मक ऊर्जा र सामूहिक जिम्मेवारीका रूपमा यो क्षणलाई लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले वर्तमान परिवेशमा राजनीतिक स्थायित्व, सुशासन र विकासबीचको समन्वय अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै समावेशी, न्यायपूर्ण र समुन्नत समाज निर्माणतर्फ सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

१०० युरोमा पिकासो जित्ने अवसर

पेरिस। अल्जाइमर अनुसन्धानका लागि कोष जुटाउने उद्देश्यले फ्रान्समा आयोजना गरिएको एक विशेष राफलमार्फत केवल १०० युरोमा करोडौँ मूल्यको पाब्लो पिकासोको चित्रकला जित्ने अवसर प्रदान गरिएको छ । यसले कला र परोपकारलाई अनौठो ढङ्गले जोडेको छ ।

मङ्गलबार पेरिसस्थित क्रिस्टीको लिलामी घरमा हुने ड्रबाट एक भाग्यशाली व्यक्तिले करिब १० लाख डलर मूल्यको पिकासोको चित्रकला आफ्नो बनाउन सक्नेछन् । आयोजकहरूले ‘१०० युरोमा एक पिकासो’ नाम दिइएको यो अभियानको तेस्रो संस्करण सञ्चालन गरेका हुन् ।

यसपटक राफलमा राखिएको चित्र ‘हेड अफ अ वुमन’ शीर्षकको हो, जसलाई पिकासोले सन् १९४१ मा कागजमा गौचे माध्यम प्रयोग गरी सिर्जना गरेका थिए । यस अभियानबाट उठ्ने रकम पूर्ण रूपमा अल्जाइमरसम्बन्धी अनुसन्धानमा खर्च गरिनेछ ।

यसअघि सन् २०१३ मा आयोजित पहिलो राफलमा अमेरिकाको पेन्सिलभेनियाका एक व्यक्तिले ‘म्यान इन द ओपेरा ह्याट’ शीर्षकको चित्र जितेका थिए । उक्त चित्र पिकासोको क्युबिस्ट कालखण्ड (सन् १९१४) को प्रतिनिधि कृति हो । त्यसैगरी, सन् २०२० मा आयोजित दोस्रो राफलमा ‘स्टिल लाइफ’ नामक चित्र इटालीकी एक लेखापालकी आमाले जितेकी थिइन्, जुन उनका छोराले क्रिसमस उपहारस्वरूप टिकट किनिदिएका थिए ।

सन् १९२१ मा बनाइएको उक्त ‘स्टिल लाइफ’ चित्र अर्बपति कला सङ्कलक डेभिड नहमादबाट खरिद गरिएको थियो । नहमादले पिकासो जीवित भएको भए यस्ता परोपकारी प्रयोजनका लागि आफ्नो कृति प्रयोग गर्न सहमति जनाउने विश्वास व्यक्त गरेका थिए । पिकासोको सन् १९७३ मा निधन भएको थियो ।

यो राफल अल्जाइमर रिसर्च फाउन्डेसनद्वारा आयोजना गरिएको हो, जुन पेरिसका प्रमुख सार्वजनिक अस्पतालमध्ये एकसँग आबद्ध संस्था हो । सन् २००४ मा स्थापना भएको यो संस्था हाल फ्रान्समा अल्जाइमरसम्बन्धी अनुसन्धानका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ ।

आयोजकहरूले अनलाइन प्लेटफर्ममार्फत टिकट सङ्ख्या एक लाख २० हजारमा सीमित गरेका छन् । सबै टिकट बिक्री भएमा कुल एक करोड २० लाख युरो (करिब एक करोड ४० लाख डलर) सङ्कलन हुने अनुमान गरिएको छ । यसमध्ये १० लाख युरो चित्रको स्वामित्व राख्ने अन्तर्राष्ट्रिय आर्ट डिलरसिप ओपेरा ग्यालरीलाई प्रदान गरिनेछ ।

यसअघि सम्पन्न दुई संस्करणबाट सङ्कलित रकम लेबनानमा सांस्कृतिक कार्यक्रम र अफ्रिकामा पानी तथा सरसफाइ परियोजनामा खर्च गरिएको थियो, जसबाट एक करोड युरोभन्दा बढी रकम उठाइएको आयोजकहरूले जनाएका छन् ।

कला, भाग्य र सामाजिक उत्तरदायित्वलाई जोड्ने यस अभियानले विश्वभरका सहभागीलाई आकर्षित गरिरहेको छ र सानो लगानीमा ठूलो कृति जित्ने सम्भावनासँगै मानवीय सेवामा योगदान गर्ने अवसर पनि दिएको छ ।

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर। जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् ।

छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयबासीको सक्रियतामा नदी क्षेत्रमा खोजी कार्य तीव्र बनाइएको छ । सम्भावित स्थानहरूमा गोताखोर परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अमेरिकी नाकाबन्दीप्रति चीनको कडा आपत्ति

बेइजिङ। इरानका बन्दरगाह वरपर अमेरिकाले लागू गरेको नाकाबन्दीप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ कदमका रूपमा व्याख्या गरेको छ, जसले क्षेत्रीय तनाव थप चर्काउने र नाजुक युद्धविरामलाई कमजोर पार्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने जहाजहरूलाई लक्षित गर्दै कडा सैन्य कारबाहीको चेतावनी दिएपछि बेइजिङले यस्तो प्रतिक्रिया दिएको हो । विशेषगरी, त्यस्ता जहाजहरूलाई डुबाउनेसम्मको चेतावनी दिइएको सन्दर्भले अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ ।

शान्ति वार्ता सप्ताहन्तमा निष्कर्षविहीन बनेपछि ट्रम्प प्रशासनले खाडी क्षेत्रमा इरानी बन्दरगाह र तटीय मार्गहरूमा आवतजावत गर्ने जहाजहरूलाई अवरुद्ध गर्ने निर्णय गरेको थियो । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराममा सहमति भए पनि सोमबार १४०० जिएमटीदेखि उक्त नाकाबन्दी कार्यान्वयनमा आएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा अमेरिकाले सैन्य उपस्थिति बढाउँदै लक्षित नाकाबन्दी लागू गर्नुले तनाव कम गर्नुको सट्टा झन् बढाउने धारणा व्यक्त गर्नुभयो । उहाँले यस्तो कदमले पहिले नै संवेदनशील अवस्थामा रहेको युद्धविरामलाई कमजोर बनाउने मात्र नभई होर्मुज जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायातको सुरक्षामा समेत गम्भीर जोखिम उत्पन्न गर्ने बताउनुभयो ।

उहाँका अनुसार, यस्तो व्यवहारले अन्तर्राष्ट्रिय स्थिरता र शान्ति प्रयासलाई क्षति पुर्‍याउने भएकाले यसलाई जिम्मेवार कदम मान्न नसकिने स्पष्ट भएको छ ।

यसअघि इरानले पनि होर्मुज जलडमरूमध्यलाई रणनीतिक रूपमा नियन्त्रणमा लिँदै आफू अनुकूल ठानेका मुलुकका जहाजहरूलाई मात्र आवतजावतको अनुमति दिएको थियो । यसले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा थप दबाब सिर्जना गरेको छ ।

विश्लेषकहरूका अनुसार अमेरिकी नाकाबन्दीको मुख्य उद्देश्य इरानको आर्थिक स्रोतमा दबाब सिर्जना गर्नुका साथै इरानी तेलको प्रमुख खरिदकर्ता चीनलाई तेहरानमाथि दबाब दिन बाध्य पार्नु हो, ताकि जलडमरूमध्य पुनः पूर्ण रूपमा खुला होस् । उल्लेखनीय रूपमा, विश्वको करिब पाँचौँ भाग तेल यही मार्ग हुँदै ओसारपसार हुन्छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतले अमेरिकी कदमलाई आफ्नो देशको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घनको संज्ञा दिएका छन् ।

अर्कोतर्फ, चिनियाँ राष्ट्रपति सी जिनपिङले खाडी तथा मध्यपूर्वका देशहरूको सार्वभौमसत्ताको सम्मान गर्नुपर्नेमा जोड दिँदै चीनले शान्ति प्रक्रिया अघि बढाउन ‘रचनात्मक भूमिका’ बताउनुभएको छ । बेइजिङमा अबु धाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानसँगको भेटपछि उनले यस्तो धारणा राख्नुभएको हो ।

अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्देशनमा माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको जनाउँदै त्यस विषयमा भ्रामक सूचना सिर्जना र प्रसारणरप्रकाशन नगर्न सबैलाई अनुरोध गरिएको बताउनुभयो ।

उहाँले आजै एक विज्ञप्ति जारी गरी ‘ओली–लेखकको अनुसन्धानमा झेल रु’ भन्ने शीर्षकमा एक युट्युव च्यानलमा श्रव्यदृश्य सामग्री प्रकाशन भएकाले त्यसमा अभिव्यक्त धारणा र सूचनामा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

परिसरले आज जारी गरेको सूचनामा भनिएको छ, “स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौँको कानुनी रायपरामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकाले भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रसारणरप्रकाशन नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।”

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

काठमाडौँ। ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिनुभएको छ ।धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल ९रेक्जोन० ले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिष शास्त्रीय शास्त्रीय दृष्टिमा वि.सं २०८३ कस्तो रहला ?’

विषयक ज्योतिर्विद्हरूसँगको साक्षात्कार कार्यक्रममा विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले २०८३ सालमा आठ शुभ ग्रह परेको र सूर्य एवं मङ्गल गरी दुई मात्र अशुभ ग्रहयोग रहेको जानकारी दिनुभयो । लग्नेश चन्द्र र राहु अष्टम भएकाले आगामी वर्ष विश्वमा उतारचढाव बढी हुने उहाँले बताउनुभयो । त्यसको प्रभावस्वरूप नेपालमा पनि आरोहअवरोह आउने ग्रहयोग छ ।

“युरोप र अरबका सैन्य गतिविधि बढ्ने देखिन्छ, खासगरी सैन्यशक्ति वृद्धिको होडबाजीको सम्भावना छ,” गौतमको भनाइ थियो । शक्ति राष्ट्रहरूबीचको अहम्का कारण विश्व समीकरण बदलिन सक्नेतर्फ उहाँले सचेत तुल्याउनुभयो । युद्ध र रोगव्याधिको सम्भावना पनि त्यत्तिकै रहेको उहाँले बताउनुभयो ।

महिला हिंसाका घटनामा पनि वृद्धि हुने, विकसित मुलुकको मुद्रा बलियो र कमजोर मुलुकको झन् कमजोर बन्ने खतराको ग्रहयोग रहेको उहाँको भनाइ थियो ।

नववर्षमा मङ्गल भाग्यमा भएकाले प्रविधिका क्षेत्रमा भने प्रगति हुने अध्यक्ष गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “बुध निचो भएकाले व्यापारमा भने कुनै समूहको एकाधिकार रहने देखिन्छ । कला सञ्चार क्षेत्रमा प्रगति हुने देखिन्छ ।”

विश्व शेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण उहाँले गर्नुभयो । यद्यपि, विलासिताका सामान खरिदमा होडबाजी यथावत् रहने र मूल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ गौतमले सचेत तुल्याउनुभयो ।

“बौद्धिक र सामाजिक क्षेत्रमा खिचलोको वर्ष छ,” उहाँले भन्नुभयो, “नेपालको सन्दर्भमा केन्द्रित रहेर भन्नुपर्दा आगामी मङ्सिरसम्म चतुर्थ राहु र दशम् केतुको प्रभावले बौद्धिक र आर्थिक क्षेत्रमा प्रगति भए पनि धार्मिक क्षेत्रमा बाधाको योग रहेको उहाँले बताउनुभयो ।

संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले २०८३ सालमा पनि दारुण काल नै चलिरहने भएकाले सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष दुई दुई वटा खप्पर योग परेको छ, त्यो दारुण कालको अन्त्य देखिएन ।

विश्वमा युद्धका सम्भावनाहरू पनि देखाउँछ यसले । हामी सचेत हुनुपर्छ ।” उहाँले दोस्रो विश्वयुद्धका समयमा पनि दारुण काल रहेको भन्दै त्यही स्थिति अब पनि ग्रहहरूले सङ्केत गरेको बताउनुभयो । नववर्ष २०८३ मा धार्मिक भावनाहरू झनै ह्रास हुने टिप्पणी उहाँले पनि गर्नुभयो ।

राष्ट्रिय महिला ज्योतिष सङ्घका सचिव सुधा भट्टराईले मङ्गल सेनापति भएकाले अशान्ति, झगडा, विवादको सम्भावना पनि त्यत्तिकै रहेको बताउनुभयो । सँगै यसले परिवर्तनको सङ्केत पनि गरेको उहाँले बताउनुभयो ।

मेसिनरी क्षेत्रहरू मङ्गलले ह्यान्डल गर्ने भएकाले औद्योगिक क्षेत्रमा केही विकास हुनसक्छ । मङ्गलकै कारण आगामी वर्ष भौतिक उन्नति सँगसँगै उद्योगधन्दाहरूको विकास हुन्छ भने शनि मीन राशिमा भएकाले राम्रा चिजहरूमा देशले कोल्टो फेर्ने बताउनुभयो । “असारपछि बृहस्पति उच्च स्थानमा जाने भएकाले त्यसपछि मात्रै सुधार हुन्छ,” भट्टराईले भन्नुभयो ।

ज्योतिषविद् एवम् वास्तुशास्त्री शिवप्रसाद पोखरेलले विश्व परिवेशलाई नियाल्दा आगामी वर्ष विशेष सतर्कता अपनाउनुपर्ने समय भएको भविष्यवाणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “संवत्सर पनि अन्तिम तिरको परेकाले अधम फलदायकको अवस्थामा हामी छौँ । राजनीतिक दृष्टिले पनि विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र शासकहरूबीच मनमुटाव आउनसक्छ । यसले नागरिकहरूबीच असन्तुष्टि पैदा गर्न सक्छ ।”

कृषि उत्पादनमा आर्थिक भार उत्पन्न हुने सम्भावना रहेको भन्दै उहाँले नेपालको सन्दर्भमा पनि प्राकृतिक र मानव सिर्जित विपत्तिहरू आउनेतर्फ सचेत गराउनुभयो ।

ग्रहहरूको उदय र अस्तले पनि ठूलो प्रभाव पार्ने भन्दै पोखरेलले २०८२ वैशाखदेखि आगामी जेठ १८ गतेसम्म बृहस्पति र शनि, मिथुन र मीनमा परस्पर केन्द्रमा रहने र चैत १९ देखि वैशाख २८ गतेसम्म शनि र मङ्गल एउटै राशि मीनमा भ्रमण गरिरहने हुँदा अनेकन सङ्घर्षका घटना हुनेतर्फ सचेत गराउनुभयो ।

वास्तुशास्त्रीसमेत रहनुभएका पोखरेलले सिंहदरबार, नारायणहिटी दरबार, दशरथ रङ्गशालालगायत स्थलका संरचनाको वास्तु नमिलेकाले देशमा समस्या आउने गरेको जानकारी कार्यक्रममा गराउनुभयो ।

पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले धार्मिक तथा सांस्कृतिक पत्रकारहरूको छाता सङ्गठनका रूपमा रहेको संस्थाले आगामी वर्षमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूका साथै क्षमता विकासका अन्य क्रियाकलापहरूलाई समेत अघि बढाउँदै लैजाने जानकारी गराउनुभयो ।