बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय
बाँके । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८ सय रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या घट्दै गएको जनाएको हो ।
स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले खोपको मात्रा पूरा नगर्ने बालबालिकामा सबैभन्दा बढी मुस्लिम समुदायका रहेका जानकारी दिए । उनका अनुसार सो समुदायका ३५४ जना बालबालिकाले खोपको मात्रा पूरा गरेका छैनन् ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले १८९ मधेसी समुदायका, १२८ दलित समुदायका, ५७ जनजाति र बाँकी अन्य समुदायका रहेका जनाले खोपको मात्रा पूरा नगरेका जानकारी दिए । खोपको मात्रा पूरा नभएकाको सङ्ख्या ठुलो भएकाले वैशाख महिनाभर खोजी गर्ने तयारी गरिएको उनले उल्लेख गरे ।
सोह्र महिनादेखि ५९ महिनासम्मका खोप पूरा नगरेका बालबालिकालाई लक्षित गरी खोजपड्ताल अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । “नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख महिनाभर खोजेर खोप लगाउने छौँ”, जनस्वास्थ्य अधिकृत गिरीले भने । सरकारले वैशाखलाई खोप महिनाका रूपमा मनाउने गर्दछ । वैशाखलाई सचेतना प्रवर्द्धन महिनाका रूपमा समेत मनाइन्छ ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले वैशाखको दोस्रो सातालाई खोप सप्ताहका रूपमा मनाउने गरिएको बताए । नियमित खोप लगाइँदा बाल मृत्युदर घट्दो क्रममा रहेको जानकारी दिँदै उनले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप, गर्भवती महिलालाई खोप तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भइरसस (एभपिभी) खोप लगाइँदै आइएको बताए।
