वन्यजन्तु सप्ताह : लाङटाङ राष्ट्रिय निकुञ्ज संरक्षणको यात्रा
रसुवा। नयाँ वर्ष २०८३ को सुरुआतसँगै हिमाली जैविक विविधताको धरोहर मानिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यले वन्यजन्तु सप्ताह सुरु गरिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमले संरक्षणप्रति समुदायस्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । रसुवागढीदेखि नुवाकोटको दुप्चेश्वर हुँदै सिन्धुपाल्चोकको स्याउलेसम्म फैलिएको एक हजार ७१० वर्गकिमी निकुञ्ज क्षेत्र र आसपासका क्षेत्र समेटिएको करिब ४२० वर्ग किलोमिटर मध्यवर्ती भू–भागसहितको वन क्षेत्र जैविक विविधताको दृष्टिले नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पदा मानिन्छ ।
यही क्षेत्रमा पाइने वन्यजन्तु, वनस्पति तथा प्राकृतिक प्रणालीको दीर्घकालीन संरक्षणका लागि ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग, समृद्धिको दिगो सेतु’ भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो ।
संरक्षणको चुनौति
संरक्षणको उदाहरण बन्दै गएको लाङटाङ क्षेत्र विगत केही वर्षमा गम्भीर प्राकृतिक र मानवीय दबाबबाट गुज्रिएको थियो । दशकौँअघि यहाँका जङ्गल स्थानीय जीविकोपार्जन, अत्यधिक दाउरा कटान, चरन क्षेत्र विस्तार तथा अवैध सिकारका कारण क्रमशः कमजोर बन्दै गएको थियो ।
हिमाली क्षेत्रका दुर्लभ वन्यजन्तु–विशेषगरी रेडपाण्डा, कस्तुरी मृग र हिम चितुवाको अवैध सिकार एक समय ठूलो चुनौती बनेको थियो । जनसङ्ख्या वृद्धि, सडक विस्तार र चेतनाको अभावले वन्यजन्तुको बासस्थान खण्डित हुँदै गएको संरक्षणकर्मीहरू बताउँछन् ।
त्यसैबीच २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पहिरो तथा प्राकृतिक प्रकोपले लाङटाङ उपत्यकाका जङ्गल, वन्यजन्तुको मार्ग र पर्यावरणीय सन्तुलनमा असर परे पनि विस्तारै पुनः जीवनको रूपमा अगाडि बढेको छ । कतिपय स्थानमा वन्यजन्तुको आवास नै परिवर्तन हुन पुगेको थियो ।
संरक्षणको नयाँ अध्याय
यी चुनौतीपछि संरक्षणप्रति राज्य, स्थानीय समुदाय र संरक्षण संस्थाहरूको संयुक्त पहलले लाङटाङ क्षेत्रमा नयाँ अध्याय सुरु भयो । निकुञ्ज प्रशासन, नेपाली सेना, स्थानीय सरकार, सामुदायिक संस्था तथा संरक्षणकर्मीहरू मिलेर जैविक विविधता जोगाउने अभियान तीव्र बनाइयो ।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले संरक्षणमा हालसम्मका गतिविधि सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा जनसहभागितामूलक कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार संरक्षण कार्यमा आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।
गैरसरकारी संस्था लाकोसका अध्यक्ष सन्तोष घलेले रेडपाण्डा संरक्षणका लागि खेलकुद, विशेषगरी भलिबल प्रतियोगितामार्फत, समुदायमा चेतना फैलाउँदै आएको जानकारी दिनुभयो । संरक्षणलाई सामाजिक अभियानसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्रका जिल्ला अध्यक्ष एवं नापी अधिकृत शिवजी केसीले जैविक विविधता संरक्षणमा सबै क्षेत्रको सहकार्य अपरिहार्य हुने बताउनुभयो ।
दुर्लभ वन्यजन्तुको सुरक्षित आश्रय
वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जमा हाल ४६ प्रजातिका स्तनधारी जनावर पाइने अभिलेखमा उल्लेख गरिएको छ । यहाँ लोपोन्मुख रेडपाण्डा, हिमचितुवा, हिमाली ठूलो भालु, ब्वाँसो , पहरेबाँदर, बँदेल, कस्तुरी मृगलगायत महत्त्वपूर्ण प्रजातिहरूको बासस्थान रहेको छ ।
वन्यजन्तुविज्ञ डा मुकेशकुमार चालिसेले डाँफे, मुनाल, कस्तुरी मृगजस्ता दुर्लभ प्रजातिको उपस्थितिले लाङटाङ क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमै महत्त्वपूर्ण जैविक क्षेत्र बनाएको छ । लाङटाङ निकुञ्ज क्षेत्रमा अनेकौँ पंछीहरू रहेका छन् । संरक्षण सफल बनाउन समुदाय र निकुञ्जबीच हातेमालोका साथ अगाडि बढ्न डा चालिसेले सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका पार्टी सचिव तथा लाङटाङ मध्यवर्ती काउन्सिल जिल्ला अध्यक्ष उत्तम थापाले नेपाली सेना र निकुञ्ज कर्मचारी २४ घण्टा संरक्षण कार्यमा खटिइरहेको जानकारी दिनुभयो ।
कानुनी संरक्षण र सुरक्षा घेरा
हिमाली राष्ट्रिय निकुञ्ज ऐन २०२९, नियमावली २०३६ तथा मध्यवर्ती क्षेत्र ऐन २०५६ अनुसार निकुञ्ज क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ । नेपाली सेनाको सिङ्गो गण परिचालन गरी नियमित गस्ती, अवैध चोरी सिकार नियन्त्रण र वन संरक्षणको काम भइरहेको संरक्षणकर्मीले बताएका छन् ।
संरक्षणमा समुदायको भूमिका
पहिले जङ्गललाई केवल स्रोतका रूपमा हेर्ने सोच अहिले परिवर्तन हुँदै गएको छ । स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, विद्यार्थी, आमा समूह तथा युवा क्लबहरू संरक्षण अभियानमा जोडिन थालेका छन् । पर्यावरण संरक्षणसँगै पर्यापर्यटन, आयआर्जन र स्थानीय समृद्धि जोडिँदै गएको छ ।
संरक्षणको सन्देश
जङ्गल बच्यो भने वन्यजन्तु बच्छन्, वन्यजन्तु बचे भने हिमालको पर्यावरण र मानव जीवन सुरक्षित रहने विज्ञहरूको भनाइ पाइएको छ । वन्यजन्तु सप्ताह केवल कार्यक्रम मात्र नभई विनाशको अनुभवबाट सिकेर संरक्षणको संस्कृतिमा रूपान्तरण हुँदै गएको लाङटाङ निकुञ्जले जनाएको छ ।
