`

गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी

Nepal One HD २१ जेठ २०८३ २०:१७
राजनीति

गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । आजको बैठकमा ११ जना प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभयो ।

प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले नीति, कार्यक्रम र बजेटले नागरिकको जीवनस्तरमा गुणात्मक सुधा ल्याउनुपर्ने बताउनुभयो । सङ्घ र स्थानीय तहसँगको समन्वयमा प्रदेशलाई आत्मनिर्भर र समुन्नत बनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य लिलबहादुर थापामगरले जनचाहनाअनुसार प्रदेश सरकारको कार्यशैली र व्यवहार सुधार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नीति तथा कार्यक्रमले समग्र प्रदेशलाई दिशानिर्देशन गर्नुपर्ने उल्लेख गर्नुभयो । यथार्थ र परिणाममुखी बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड छ ।

प्रदेशसभा सदस्य सुशिला सिम्खडाले गरिबी र बेराजेगारी अन्त्यका लागि बजेट तथा कार्यक्रम केन्द्रित गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले सुशासन र सामाजिक न्यायको प्रत्याभूति दिलाउनुपर्ने उहाँको भनाइ छ । नीति तथा कार्यक्रममा केही नयाँ र आकर्षक कार्यक्रम ल्याइए पनि तिनको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य विकल शेरचनले प्रदेशका योजना र कार्यक्रमलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । उद्यमशीलता र लगानी प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा उहाँको जोड छ । प्रदेशसभा सदस्य श्यामराजा महतले प्रदेश सरकारले दिगो र दीर्घकालीन महत्त्वका योजना सञ्चालन गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेश गौरवका आयोजनालाई गति दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य पार्वती तामाङ, नन्दकला दमाई नेपाली, सरस्वती अर्याल तिवारी, देवका पहाडी त्रिपाठी र भक्तबहादुर कुँवरले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्नुभएको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि बुधबारदेखि छलफल सुरु भएको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएपछि नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य कुसुम बुढा पुन, टीकाकुमारी बस्याल, देवका पहाडी त्रिपाठी, नन्दकला नेपालीलगायतले समसामयिक विषयमा भनाइ राख्नुभएको थियो । प्रदेशसभा बैठक शुक्रबार बिहान ११ः०० बजे पुनः बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *