कर्णाली रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्रीको निर्देशन
कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम सम्पन्न गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न निर्माण व्यवसायीका साथै परिषद्का पदाधिकारीलाई निर्देशन दिनुभएको हो । रङ्गशालाको काम टुङ्ग्याउन बजेटसमेत विनियोजन भइसकेको बताउँदै उहाँले बाँकी काममा ढिला गर्न नहुने जनाउनुभयो ।
रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उहाँले आग्रह गर्दै उहाँले भन्नुभयो, “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ ।”
परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यक्रम कार्यान्वयनमा लैजान निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय चालु र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।बैठकमा परिषद्का पदाधिकारीहरूले निर्माणाधीन रङ्गशालाको वर्तमान प्रगति, देखिएका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।
