पाल्पाको ‘अक्सिजन प्लान्ट’ पुनः सञ्चालनमा
पाल्पा। विगत दुई वर्षदेखि बन्द रहेको यहाँस्थित पाल्पा अस्पतालको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।
कोभिड–१९ का बेला सङ्घीय सरकारको बजेटबाट निर्मित सो प्लान्ट केही वर्षयता बिग्रिएको थियो । हाल प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने भएको छ । यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल तथा भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो ।
जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । प्लान्टमै प्रति सिलिन्डर सानो ३५० र ठूलो ६५० रुपैयाँमा बिक्री हुने गरेको छ । पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दाे बनाउन प्लान्ट महत्त्वपूर्ण रहेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य छ ।”
२०७८ सालको जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो । सो बजेटबाट मेसिन खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।
