`

रेडियो नेपालकर्मी राधा ढुंगाना डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२ बाट सम्मानित

Nepal One HD २८ चैत २०८२ २०:२६
समाचार

काठमाडौं । डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२ पत्रकार राधा ढुंगानालाई प्रदान गरिएको छ। गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) ले आफ्नो २७औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशनको अवसरमा ढुंगानालाई सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरेको हो।

पत्रकारितामार्फत गाउँ पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको कदर गर्दै उनलाई सम्मान गरिएको भिटोफकी निवर्तमान अध्यक्ष शकुन्तला देवकोटाले जानकारी दिनुभयो। गाउँ तथा घरबास (होमस्टे) पर्यटन प्रवर्द्धनका अग्रणी अभियन्ता डा. सुरेन्द्रभक्त प्रधानाङ्गकै नाममा स्थापना गरिएको यस पुरस्कारले पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रत्येक दुई वर्षमा सम्मान गर्दै आएको छ। सोही उद्देश्यअनुसार स्थापना गरिएको अक्षयकोषमार्फत यस वर्ष ढुंगानालाई नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको हो।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने डा. सुरेन्द्रभक्त प्रधानाङ्ग स्वयंले पुरस्कार हस्तान्तरण गर्नुभयो।

सम्मानित पत्रकार राधा ढुंगाना विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ। सोलुखुम्बुको हिमाल एफ.एम.बाट सञ्चार यात्रा सुरु गर्नुभएकी उहाँले नागरिक राष्ट्रिय दैनिक, रेडियो नागरिक, इमेज एफ.एम., उज्यालो रेडियो नेटवर्क, खबरहब र योहो टेलिभिजनजस्ता सञ्चारमाध्यममा कार्य अनुभव बटुल्नुभएको छ। हाल उहाँ रेडियो नेपालमा समेत सक्रिय हुनुहुन्छ। रेडियो नेपालबाट प्रसारण हुँदै आएको ‘देश दर्शन’ नामक पर्यटनसम्बन्धी कार्यक्रम विगत दुई वर्षदेखि उहाँकै सञ्चालनमा नियमित रूपमा प्रस्तुत हुँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *