`

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उनले संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिइन् ।

संसद्मा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदामात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको बताउँदै सचेतक धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने उल्लेख गर्दै संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताइन् ।

संसद्मा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उनले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गरिन् । “सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ । अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन”, उनले भनिन् ।

सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेरमात्र नहुने बताइन् । “भूमिका खोजेको ठाउँमा उपस्थितिमात्रै खोजेर हुँदैन”, उनले भनिन् ।

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

जितिया पावनी बड भारी
धिया पुताक ठोकी सुताबै
अपना खायब भरि थारी ।।

हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति समुदायले विभिन्न चाडपर्व रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन् । चाडपर्व र संस्कृतिले हामीलाई विश्वमा चिनाएको छ । मधेसको संस्कृति चाडपर्व, रीतिरिवाजको पनि छुट्टै महत्त्व र विशेषता रहेको छ । तराई–मधेसमा मनाइने चाडपर्वमध्ये जितिया एक हो । यो व्रत सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र सुस्वास्थ्य र सन्तानप्रतिको ममतासँग जोडिएको कठोर व्रत हो । यो व्रत परापूर्वकालदेखि तराई मधेसका महिलाले गर्दै आएका छन् । यो व्रत थारू समुदायले पनि उत्तिकै महत्त्वका साथ गर्दै आइरहेका छन् ।

यस वर्ष आज षष्टि तिथिदेखि तराई–मधेस महिलाले यो व्रत विधिवत् सुरू गरेका छन् । आज पोखरी वा तलाउमा गएर नुहाएर विधिवत् व्रतको प्रक्रिया सुरू गर्ने र शनिबार सप्तमा तिथिको दिन निराधार पानी पनि नखाई व्रत बस्ने छन् ।

जितिया व्रतको कथा

प्राचीनकालमा शालिवाहन पुत्र जिमुतवाहनमाथि महादेवको असिम कृपा थियो । उनलाई महादेवको वरदान प्राप्त थियोे । नियम निष्ठाले जसले यो व्रत बस्छ, उनको सन्तान दीर्घायु हुने वरदान पाएकाले महिलाले यो व्रत सत्ययुगदेखि महिलाले बस्दै आएको पाइन्छ भविष्य पुरानका अनुसार कनकावती नदीको मध्यभाग नर्मदा नदीको किनारमा पाकरीको रुख थियोे । रुखको फेदमा स्याल र हाँगामा चिल बस्थे । स्याल र चिलबीच एकदमै घनिष्ठ मित्रता थियो ।

जितिया गर्ने व्रतालु महिला नर्मदा नदीमा स्नान गरी त्यही रुखको छेउमा जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथा सुन्थे । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि व्रत बस्न इच्छा लाग्यो । दुवैले सल्लाह गरेर व्रत बसे । त्यही राति नर्मदा नदीको डिलमा एक जना व्यापारीको छोराको दाहसंस्कार गरेर मलामी फर्के । रुखको टुप्पोबाट चिलले र फेदबाट स्यालले त्यो सबै दृश्य हेरिरहेका थिए । स्याललाई मृतकको मासु खान मन लाग्यो । रात परेपछि स्यालले चिललाई ‘साथी निदायौ?’ भनी सोध्यो ।

चिलले तत्काल जवाफ दिएन । उसले मनमनै नबोल्ने निधो गर्यो । चिललाई लाग्यो, अन्य दिन त यसरी सोध्दैनथ्यो । आज किन यसरी सोधेको होला ? स्यालले चिलसँग पटकपटक एउटै प्रश्न गरिरह्यो । स्यालले जति सोधेपनि चिल बोलेन ।

स्याललाई लाग्यो, चिल निदाइसकेको छ । व्रत बसेको स्यालले मन थाम्न सकेन । चिललाई छलेर स्यालले एक्लै मासु खायो । स्यालको हरेक क्रियाकलाप चिलले रुखबाट हेरिरहेको थियो तर केही बोलेन । निकै दिन बित्यो । स्याल र चिल दुवै मरे । दुवै भाष्कर नामको ब्राह्मणको घरमा छोरी भएर जन्म लिए । ब्राह्मणले जेठी छोरीको नाम शिलावती र कान्छी छोरीको नाम कर्पुरावती राखे ।

शिलावतीको विवाह धनी व्यापारीसँग र कर्पुरावतीको विवाह राजासँग भयो । शिलावतीका सात छोरा जन्मिए । कर्पुरावतीका छोरा जन्मिँदै, मर्दै गए । एक पटक दुवै दिदीबहिनीले जितियाको व्रत बसे ।

शिलावतीले बहिनीको छोरा छैन । उसको डाली कसले खोल्छ ? भनेर चिन्तित हुँदै छोरालाई बहिनीको घर पठाइन् । दिदीका सात छोरा एकैपटक आएको देखेर ईष्र्या लागेर कर्पुरावतीले पालैपालो सबैको टाउको काटेर डालीमा छोपेर दिदीको घर पठाइन् ।

दिदीको घर पुग्दापुग्दै व्रतको प्रभावले सबै टाउको छोरा बनेर घर गए । डालीमा भएको टाउकाको ठाउँमा नरिवल थियोे । व्रत भङ्ग नगरेकै कारण दिदी चिलका मारिएका छोरा जीवित भए । बहिनी स्यालले व्रत भङ्ग गरेकैले जन्मिएका सन्तान पनि मरेर गए ।

व्रत लिइसकेपछि भङ्ग गर्नुहुँदैन भन्ने पाठ यो व्रतले सिकाएको छ । कसैको छोराछोरी कुनैपनि सङ्कटबाट जोगियो भने झम्या खड् जीतिया केन रहौँ, तब बच्लह’अर्थात् आमाले खरजितिया गरेकाले ज्यान जोगियो भन्ने चलन छ । खरदिन भनेको शनिबार, आइतबार वा मङ्गलबार यो व्रत परेपछि मात्र महिलाले पहिलो पटक सुरु गर्ने गर्छन् । खरदिन गरिने व्रतलाई खर जितिया भन्ने चलन रहेको राजविराज नगरपालिका वडा नं ५ सरस्वती टोलकी ५० वर्षीया सुनिता देवले बताइन्।

व्रतको विधि

यस व्रतको अघिल्लो दिन महिला बिहानै उठेर घर आँगन लिपपोत गरेर चोखो पार्छन् । पिना,तेल,घिरौलाको पात,जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिला समूहमा पोखरी, नदि वा जलाशय गएर र पिनाले नुहाउँछन् । नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल चढाउने गर्छन् ।

व्रतको पहिलो दिन अष्टमीको तिथिको दिन व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प लिन्छन् । व्रतालुले दिवङ्गत हजुरआमा सासूआमालगायत तीन पुस्ताभित्रको नाता पर्ने पितृ महिलालाई तर्पण दिने चलन छ । यस व्रतलाई षोडष मातृका श्राद्घ पनि भन्ने गरेको राजविराज नगरपालिका–२ का ७५ वर्षीया शम्भु मिश्रले बताए ।

व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी अनिवार्य रूपमा खाने चलन छ । भोलिपल्ट बिहान ३ः०० देखि ४ः०० बजे व्रतालुले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा,चिनी, केरा, मिठाइ, पान, सुपारी चढाउने गर्छन् ।

व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्छन् । डालीलाई छोराले मानको पातले छोपिदिन्छ । व्रतको समय सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्ने गर्छन् । डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालु महिलाले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ ।

व्रत लिइसकेपछि व्रतालुको स्वास्थ्यमा जतिसुकै ठूलो समस्या आए पनि व्रत तोड्दैनन् । स्वास्थ्यमा समस्या रहेको बिरामीबाहेक छोरा भएका सबै आमाले छोराको दीर्घायु र सुस्वास्थ्यका लागि अनिवार्य व्रत लिँदै आएका छन् ।

नकारात्मक

सन्तान जन्मिनुअघि व्रत सुरु गरेकी गर्भवती भएपछि पनि व्रत बस्नैपर्ने हुन्छ । यस्तो भएपछि २४ घण्टा होस् वा ३६ घण्टा, व्रत बस्दा कुनै जटिल समस्या आइपर्ला कि भन्ने डर व्रतालुमा रहन्छ । व्रत बसेन भने सन्तानलाई केही भइदेला कि भन्ने डर पनि उत्तिकै रहन्छ । पानी नखाई व्रत बस्न समस्या भएपछि स्लाइन पानी चढाएर पनि व्रत बस्नुपर्ने बाध्यता रहेको छ ।

यो व्रतमा डाली छोप्ने वा खोल्ने काम छोरा, नाति, श्रीमान्ले गर्ने, उनीहरू नभएका बेला छोरी, नातिनी घरमा भए पनि नातेदार वा छिमेकीको छोरा मान्छेलाई बोलाएर भएपनि डाली खोल्न लगाउने तर छोरी, नातिनीलाई अधिकांश परिवारमा खोल्न लगाइँदैन । यसरी छोराको दीर्घायुका लागि व्रत बस्ने कुराले यस व्रतमा छोराछोरीबीच विभेद देखिन्छ ।

सकारात्मक पक्ष

यस व्रतले आपसी सद्भाव कायम गर्नुका साथै मनोरञ्जन पनि प्रदान गरेको छ । महिलाले आफूभित्र भएको क्षमता प्रस्तुत गर्ने अवसर पनि पाउन थालेका छन् । आफन्त, साथी र छिमेकी मिलेर जितियाको सामूहिक दर खाने चलन सुरु भएको छ ।

वर्ष दिनदेखि भेटघाट हुन नसकेका साथीसङ्गी, आफन्त एक आपसमा भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने, सामूहिक रूपमा मीठो मसिनो खाने प्रचलन बढेपछि एक अर्काबीच सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको छ ।

जितियासम्बन्धी गीत, कथालगायत महिलामा भएको प्रतिभा प्रस्तुत गर्ने अवसर सामूहिक कार्यक्रममा जुट्न थालेको छ । कम खर्चमा हुने धार्मिक दृष्टिले एकदमै महत्त्व बोकेको व्रतका रूपमा पनि यसलाई लिन सकिन्छ । जियल, बाँसर घिरौँलाका पात अनिवार्य चढाइने हुनाले प्रकृति र पर्यावरण रक्षा गर्नुपर्छ भन्ने सन्देशसमेत यस व्रतले दिँदै आएको छ ।

सोह्रश्राद्ध सुरु भएकै अवधिमा यो व्रत गर्नुपर्ने चलन रहेकाले यस व्रतमा छोरी, बुहारी सबैले पितृलाई सम्मान गरेको पाइन्छ । छोराले मात्र सोह्रश्राद्धमा पितृको श्राद्ध गर्ने प्रचलनमा सकारात्मक परिवर्तन गर्दै कतैकतै छोरीले सुरु गरे पनि यो व्रतमा त सदियौँदेखि महिलाले पनि पितृलाई पानी दिने, प्रसादी चढाउने परम्पराले पितृप्रति महिलालाई सुरुदेखि नै जिम्मेवार बनाएको छ । यस्ता पक्षलाई यो व्रतको एकदमै सकारात्मक रूपमा महिलाले लिएका छन् ।

एसियाली खेलकुदमा पदक जित्न नसके पनि चम्कियो नेपाल, क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो ।

खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे । नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो ।

नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो । नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो । समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलङ्कालाई प्रतिस्पर्धी पाएको थियो । श्रीलङ्कासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

नेपाल आइसिसी टी–२० वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो । नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।

भोटेकोशी-रसुवा बाढीपीडित परिवारसँग अर्थमन्त्री वाग्ले, ‘मन्त्रालय र भन्सार प्रशासन तपाईंहरूको साथमा छ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई मन्त्रालय र भन्सार प्रशासन साथमा रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा पीडित परिवारसँगको भेटमा उनले परिवारका समस्या र आवश्यकतालाई कानुनी आधारमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

भन्सार कर्मचारी गुमाउनुपर्दा आफूहरू पनि दुःखी भएको उल्लेख गर्दै मन्त्री वाग्लेले परिवारले बुझाएको प्रारम्भिक मागपत्र कार्यान्वयन गर्दै लगिने बताए ।

‘पूर्वसूचना र सतर्कता समेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ । तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ,’ उनले भने ।‘तपाईंहरूलाई परेको पीडालाई म व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरू एक्लो हुनुहुन्न । हामी तपाईंहरूको साथमा छौँ,’ उनले भने ।

एमालेका मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै, ओलीले गराउनेछन् शपथ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज आयोजना हुने भएको छ ।

मनोनीत केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम तय भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताए
।
उनका अनुसार शपथ ग्रहण कार्यक्रम आज अपराह्न ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ ।

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ । विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो ।

जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैयाँ सैँजुका अनुसार यस वर्षदेखि भने महानगरपालिका आफैँले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोग खोज्ने र समीक्षा गर्दै नयाँ खोप तथा रोगका बारेमा जानकारी, सरसफाइ प्रवर्द्धन तथा सुक्ष्म कार्ययोजना अद्यावधिक गर्ने छ ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । कार्यक्रम मङ्गलबारदेखि महानगरपालिकाभित्र सञ्चालित खोप प्रदायक संस्थाका खोपकर्तालाई सहभागी गराएर कार्यक्रम सुरु गरिएको छ । नियमित खोप सेवाको पहुँच बढाउँदै खोपबाट छुटेका तथा पूर्ण खोप नपाएका बालबालिकाको पहिचान गर्ने सेवा सुनिश्चित गर्ने कार्यशालाको उद्देश्य हो । कार्यशालाबाट स्वास्थ्य संस्थाबाट प्रदान गरिने खोपसम्बन्धी तथ्याङ्क, खोप कभरेज, ड्रपआउट, खोप खेर जाने दर सेवा पहुँचको अवस्थालाई विश्लेषण गरी वडादेखि महानगरस्तरीय योजना तयार पारिनेछ ।

आव २०८२–८३ को खोप तथ्याङ्कअनुसार महानगरपालिकामा अधिकांश खोपको कभरेज लक्षित जनसङ्ख्याको तुलनामा १०० प्रतिशतभन्दा माथि देखिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ्य अधिकृत प्रविना कर्माचार्यका अनुसार महानगरपालिकामा बिसिजीको कभरेज ३१८.९६ प्रतिशत, डिपिटी–हेपबी–हिब पहिलो मात्रा १३२.७५ प्रतिशत र तेस्रो मात्रा १३३.०२ प्रतिशत देखिएको छ ।

पोलियो पहिलो मात्रा १३३.०२ प्रतिशत, पिसिभी पहिलो मात्रा १३२.८८ प्रतिशत, एमआर पहिलो मात्रा ११४.२७ प्रतिशत एमआर दोस्रो मात्रा ११०.९४ प्रतिशत छ । यही तथ्याङ्कमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अनुपात ७२.०८ प्रतिशत मात्र देखिएको छ । यसले लक्षित जनसंख्या निर्धारण, सेवाको उपयोग, अभिलेख तथा रिपोर्टिङ र वास्तविक रूपमा पूर्ण खोप पाएका बालबालिकाको अवस्थालाई थप सुक्ष्म रुपले विश्लेषण गर्नुपर्ने देखाएको छ ।

कार्यक्रमको विश्लेषणमा कभरेजसँगै ड्रपआउट, खोप नपाएका बालबालिकाको सङ्ख्या, खोप खेर जाने दर, पहुँच र उपयोगलाई प्रमुख सूचकका रूपमा लिनुपर्ने स्रोत व्यक्ति सैँजुले बताइन् । कार्यक्रमले कुन बालबालिका छुटे, किन छुटे, कुन क्षेत्रमा पहुँच कमजोर छ पहिलो मात्रा लिएपछि किन पछिल्ला मात्रा लिन आएनन् तथ्यमा आधारित उत्तर खोज्नुपर्नेमा जोड रहने छ ।

संसद् र जनसरोकारका विषयमा भूमिका प्रभावकारी बनाउने नेकपाको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टीका दल नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित संघीय संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको थियो । बैठकमा संसद्को हालसम्मको प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीले निर्वाह गरेको भूमिका तथा कानून निर्माणमा संसदीय समितिहरूले खेल्दै आएको भूमिकाका विषयमा समीक्षा गरिएको थियो ।

त्यसैगरी, आगामी दिनमा संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो । समसामयिक राजनीतिक परिस्थिति तथा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइएका र आगामी दिनमा उठाउनुपर्ने विषयलाई थप प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा गहन छलफल गरिएको थियो ।

साथै, संसद्को अधिवेशन अन्त्य भएपछि सांसदहरू निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाट तथा जनसम्पर्कमा सहभागी हुने निर्णयसमेत बैठकले गरेको छ ।

विपद्का बेला सबैभन्दा राम्रोसँग आफ्नो पार्टीका कार्यकर्ता सक्रिय रहेको प्रचण्डको दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का बेला सबैभन्दा राम्रोसँग आफ्नो पार्टीका कार्यकर्ता फिल्डमा खटिएको दाबी गरेका छन् ।

आन्दोलनका बेला लाखौँ कार्यकर्ता उतार्ने दाबी गर्ने दलहरूको विपद्का बेला उपस्थिति किन नदेखिएको भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफ्नो पार्टीका कार्यकर्ता उद्धार तथा राहतमा सक्रिय रहेको बताएका हुन् ।

‘सबैभन्दा राम्रोसँग फिल्डमा कसैका कार्यकर्ता गए भने त्यो हाम्रै पार्टीका हुन्,’ उनले भने ।

रसुवा, नुवाकोट र धादिङमा वाईसीएलका कार्यकर्ता विपद् प्रभावित नागरिकको सहयोगमा खटिएको उल्लेख गर्दै प्रचण्डले उनीहरूको कामको प्रशंसा भएको दाबी गरे ।

‘तपाईंहरूले हेर्नुभयो भने रसुवा, नुवाकोट र धादिङमा जनताले वाईसीएललाई समातेर रुनेसम्मका घटनाहरू देख्नुभयो होला,’ उनले भने ।

विपद्का बेला आफ्नो पार्टीका कार्यकर्ता परिचालित भएको दाबी गर्दै प्रचण्डले अन्य दलका कार्यकर्ता पनि खटिएको हो कि होइन भन्ने प्रश्न गरेका छन् ।

‘यो विपद्मा अरू को परिचालित भयो ?’ उनले प्रश्न गरे ।

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी। बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।

रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालन गराउन समस्या भएको छ ।

बाँधका भौतिक संरचना क्षति भएको छ । आयोजनाले विद्युत् बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ । गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध भएको छ ।कालीगण्डकीको बाढी, पहिरोले प्रसारण लाइनको टावर बगाउने र तार चूँडाएर क्षति पुर्याएको छ ।

पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । शुक्रबार संघीय संसदका पाँच समितिका बैठक बस्दैछ । आज प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

आज बिहान ९ बजेदेखि सुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको अवस्था र चुनौती सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान ९ बजेदेखि नै सुरु हुने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफलउपसमितिको कार्यप्रगति र स्थलगत निरीक्षण सम्बन्धमा छलफलको कार्यसुची रहेको छ ।

त्यसैगरी बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिबीच समन्वयको विषयमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा आर्थिक बर्ष २०८२÷०८३ को विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, आज बिहान १०ः ३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन लगायतका विषयमा छलफलको कार्यसूची रहेको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २० पैसा र बिक्रीदर ४२ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २९ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १८ पैसा र बिक्रीदर २३ रुपैयाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ९७ पैसा बिक्रीदर ४०९ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका तराई भू–भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ ।दसैँ, तिहारलगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौज्दात राखिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाले जानकारी दिए ।

डिपोमा एक हजार ८१७ क्विन्टल नुन मौज्दात थियो । चालु आवको असोज १४ गतेसम्म ७६८ क्विन्टल नुन बिक्री भएपछि अहिले एक हजार ४९ क्विन्टल मौज्दात रहेको प्रमुख बुढाले बताए ।

सिञ्जाको नराकोट डिपोबाट हिमाली र सिञ्जा गाउँपालिकाका साथै गुठीचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकासीलाई नुन वितरण हुँदै आएको छ । चालु आवका लागि जुम्ला सदरमुकामसहित तीनवटै डिपोका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालयले नुनको कोटा निर्धारण गरेको छैन ।

नराकोट र गुठीचौर डिपोलाई सदरमुकाम खलङ्गाको डिपोबाट आवश्यकताअनुसार नुन पठाउने गरिएको प्रमुख बुढाले बताए । जिल्लामा नुनको अभाव हुन नदिन नेपालगन्जबाट थप नुन माग गरिएको कार्यालयले जनाएको छ ।पछिल्लो समय स्थानीय तहले समेत जुम्ला सदरमुकामको डिपोबाट नुन खरिद गरी वडाबाटै वितरण गर्दै आएका छन् ।

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित,हिल्सा पुग्ने बाटो खुलाउन चुनौती

हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताए ।

उनका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामा रोकिएको उनले बताए ।

हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ । हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने बताइएको छ ।

हिल्सा पुग्ने बाटो खुलाउन चुनौती

चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ अझै केही समय लाग्ने बताइएको छ । हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाई फिटसम्म हिउँ जमेको छ ।

हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उनले बताए । हिल्सामा एउटामात्रै स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समस्या रहेको उनको भनाइ छ । स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।

छ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन

यस वर्ष हालसम्म हिल्सानाका हुँदै छ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन् । अध्यागमन अधिकृत पौडेलका अनुसार कैलाश मानसरोवर जाने पर्यटकमा अधिकांश भारतीय नागरिक छन् । त्यसपछि बेलायत, अमेरिका र नेपाली रहेका छन् ।

यस वर्ष कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिनै लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सुरु गर्ने भएको छ । महानगरपालिकाले उक्त कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा हेरचाह गर्नुपर्छ । सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना र स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यताका कारण उत्तर प्रसूति स्याहारमा चुनौती देखिएको भन्दै महानगरले उक्त सेवा प्रदान गर्न लागेको ‘फोकल पर्सन’ चन्द्रा भट्टले जानकारी दिइन् ।

फोकल पर्सन भट्टका अनुसार अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा जन्मिएपछि आमा र शिशु सुरक्षित छन् भन्ने हुँदैन । त्यसपछिका केही दिन स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ । कार्यक्रम अनुसार सुत्केरी भएको तेस्रो र सातौँ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवशिशुको स्वास्थ्य जाँच गर्नेछन् ।

सुत्केरीपछि आमामा रक्तश्राव, सङ्क्रमण, उच्च रक्तचापलगायतका समस्या देखिन सक्छन् । नवजात शिशुमा विभिन्न स्वास्थ्य जटिलता आउन सक्छन् । ती जटिलता समयमै पत्ता लगाएर स्वास्थ्य जोखिम घटाउनु नै कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण दर ७० प्रतिशत छ । स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामा यो दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा २३ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ मा कामपाका एक दशमलव १८ प्रतिशत महिलाले दुई पटकसम्म घरमै सुत्केरी जाँच गराएका थिए । आव २०८१/८२ मा ११ दशमलव १८ प्रतिशत पुगेको स्वास्थ्य परीक्षण दर आव २०८२र८३ मा भने चार दशमलव ७१ मा सीमित भएको थियो ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, १६ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ । कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्नुहुनेछ ।

महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्नुहुनेछ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

त्यस्तै, आजको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यक्रम छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नुहुनेछ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुहुनेछ ।

राष्ट्रियसभाको बैठक

त्यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । आजको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ ।

बैठकमा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।यस्तै, आजको बैठकमा ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यक्रम छ ।

नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ ।सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभाबी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले नागढुङ्गास्थित सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।

“सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ । सोहीअनुसारको सूचना बोर्ड राखिएको छ । उक्त नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ”, प्रवक्ता सुवेदीले भने ।

सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्ता गतिविधिले सुरुङमार्गमा दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धारसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीको भनाइ छ ।

ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यसैबिच, बिहीबार सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो ।

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी । केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ ।पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ । वर्षौँको मिहिनेतले बनाएको घर । जोडेको धनसम्पत्ति । पालिएका गाईभैँसी सबै बाढीले बगाएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौर ढोडेनीकी निर्मला सापकोटाको परिवार लामो समयदेखि फर्सेमा बस्दै आएको थियो । यातायातको सुविधा थियो । कृषि उपज बिक्री गर्न सहज थियो । सोही कारण उनको परिवारले फर्सेलाई कर्मथलो बनाएको थियो ।

समाजमा राम्रो आर्थिक हैसियत भएको परिवारका रूपमा चिनिनुहुने निर्मला अहिले आफू शून्यमा पुगेको महसुस गर्छिन् । “पुर्ख्यौली घर रत्नेचौर भए पनि फर्सेमा व्यवस्थित घर बनाएर सुविधा सम्पन्न जीवन बिताइरहेका थियौँ”, उनले भनिन्, “बाढीले शरीरमा भएको एकसरो कपडा र गोठका गाईवस्तुबाहेक सबै बगायो । ज्यान बच्यो, यही ठुलो कुरा हो ।”

निर्मलाको आवाजमा पीडा छ । तर बाँच्ने साहस पनि छ । “गरेर खानेका लागि गाँस, बास, कपास र ओत चाहिने रहेछ भन्ने अहिले महसुस भएको छ”, उनले भनिन् ।

फर्सेकै विष्णुकुमारी हमालको परिवारको कथा पनि उस्तै छ । व्यापार–व्यवसायका लागि धाइरिङबाट फर्से झरेको परिवारले चार वटा घर बनाएको थियो । उनका श्रीमान् डिलबहादुर क्षेत्रीले दूध उत्पादनका लागि शिव तरकारी तथा पशुपालन कृषि फार्म सञ्चालन गरेका थिए ।

“गाईभैँसीलाई तातोपानीले नुहाइदिन गोठमा सोलार जोडेका थियौँ”, विष्णुले भनिन्, “हाम्रो सुविधा सम्पन्न घरगोठ भएको ठाउँमा अहिले कालीगण्डकी बगेको छ । पुरानो तस्बिरमा घर हेरेर चित्त बुझाउनुबाहेक केही बाँकी रहेन ।”

निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवार प्रभावित भएका छन् । जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । “ज्यान जोगिए पनि वर्षौँ मिहिनेत गरेर जोडेको घरघडेरी र धनसम्पत्ति गुमाएको पीडा धेरैमा छ”, उनले भने ।

पूर्वसूचनाले जोगायो ज्यान

फर्सेकी सङ्गीता शर्मालाई यही असोज १० गतेको रात अझै सम्झना छ । ठुलो पानी पर्ने सूचना आएपछि स्थानीय बासिन्दा केही दिनदेखि नै सतर्क थिए । तर कालीगण्डकी यति ठुलो भेलसहित बस्तीमा पस्ला भन्ने कसैले सोचेका थिएनन् ।

असोज १० गते मध्यराति फर्से युवा क्लबका युवाले माइकिङ गरे । त्यसपछि सङ्गीतासहित धेरै परिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागे । “शरीरमा भएको कपडामात्रै लगाएर झरीमा भिज्दै रातको २ः०० बजे सडकमा निस्कियौँ”, उनले भनिन्, “गहना, अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्त्वपूर्ण कागजात घरमै थिए तर हामीसँग ज्यान जोगाउने समयमात्र थियो ।”

गोठमा बाँधिएका गाईभैँसी फुकाएर भगाउनुपर्‍यो । घरभित्रका सामान निकाल्ने समय मिलेन । अहिले विस्थापित परिवार दिनमा एक पटक बाढीले बगाएको घर भएको ठाउँतिर पुग्छन् । भग्नावशेष हेर्छन् । विगत सम्झन्छन् । अनि भारी मन लिएर फर्किन्छन् । अस्थायी शिविरमा बसेका बिना, फूलमाया र सुकमाया विकको अवस्था पनि उस्तै छ । साथमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न सकेनन् ।

“आफ्नै घर भएको ठाउँमा कालीगण्डकी बगेको देख्दा मन भारी हुन्छ”, उनीहरूको भनाइ छ । घर र गोठ डुबानमा परेका परिवार भने बाढीबाट बचेका सामान खोजिरहेका छन् । हिलो पखालिरहेका छन् । घाममा सुकाइरहेका छन् । बाँकी रहेको सामान सुरक्षित ठाउँमा सारिरहेका छन् ।

बाढीले घरसँगै विद्यार्थीका कापी–किताब पनि बगायो । फर्से र बागलुङको ढोडेनी जोड्ने करिब १०० वर्ष पुरानो झोलुङ्गे पुल इतिहासमा सीमित गरिदियो । पुल बगेपछि म्याग्दी र बागलुङतर्फबाट फर्सेको जनकल्याण माध्यमिक विद्यालयमा आउने विद्यार्थीले घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था आएको छ ।

जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार पूर्व सूचना र स्थानीयको सतर्कताका कारण मानवीय क्षति हुन पाएन । तर भौतिक क्षति अकल्पनीय भयो । वडाध्यक्ष जिसीको पुर्ख्यौली घर बाढीले बगाएको छ ।

व्यापारिक केन्द्रबाट कृषि गाउँ

पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा चिनिन्थ्यो । बागलुङ, मुस्ताङ र म्याग्दी ओहोरदोहोर गर्नेका लागि यो महत्त्वपूर्ण ठाउँ थियो । सडक विस्तारसँगै फर्सेको स्वरूप बदलियो । व्यापार–व्यवसायबाट स्थानीय बासिन्दा कृषि उद्यमतर्फ लागे । बेनी, कुश्मा र बागलुङ बजार नजिक भएकाले दूध र तरकारी उत्पादन यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत बन्यो ।

कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने फर्सेबाट सिजनमा दैनिक करिब ८०० लिटर र बेसिजनमा ६०० देखि ७०० लिटरसम्म दूध बिक्री हुने गरेको स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले बताए ।

सहकारीले ४० किसानबाट दूध खरिद गरी बागलुङ पुर्‍याएर बिक्री गर्दै आएको थियो । तर बाढीपछि किसानको अवस्था फेरिएको छ । “गाईभैँसी पाल्ने ४० मध्ये आधाजसो किसान बाढीबाट प्रभावित भएका छन्”, केसीले भने, “बचाइएका गाईभैँसीलाई आहारा र दाना दिन नसक्दा दूध उत्पादन घटेको छ ।” उहाँले बाढी प्रभावित किसानका लागि तत्काल पशु आहारा र दानाको व्यवस्था गर्नुपर्ने बताए ।

बगर बनेको गाउँ फेरि उठ्ने विश्वास

स्थानीय टीकाराम क्षेत्रीका आँखामा अझै असोज ११ गते बिहानको दृश्य घुमिरहेको छ । बाढी बढ्न थालेपछि साँझ सुरक्षित रूपमा घर छाड्नुभएको थियो । बिहान फर्किँदा घर भेटिएन । “उठ्दै गरेको फर्सेलाई बाढीले लडाइदियो”, उनले भनिन्, “साहस गरेर फेरि उठ्नेछौँ । तर सरकारको साथ चाहिन्छ ।”

फर्से टोल विकास संस्थाका अध्यक्ष रामु सुवेदीलाई पनि आफ्नो गाउँ फेरि उठाउन सकिन्छ भन्ने विश्वास छ । तर त्यसका लागि सुरक्षित बसोबास र नदी नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ ।

“यही ठाउँमा पक्की पर्खाल बनाएर नदी नियन्त्रण गरिदिए पेसा–व्यवसाय गरेर पुरानै अवस्थामा फर्किन सकिन्छ”, उनले भने, “हाम्रो बस्तीलाई बस्न योग्य बनाइदिनुपर्यो । घर र घडेरी बगेकालाई बसोबासको व्यवस्था गर्नुपर्छ ।”

उनले पर्वततर्फ मात्र नभई म्याग्दी र बागलुङतर्फ पनि बस्ती संरक्षणको योजना बनाउनुपर्ने बताए । कालीगण्डकीबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन रोक्नुपर्ने उनको माग छ । तत्काल संरक्षणका काम नगरिए कालीगण्डकीले धार परिवर्तन गरी थप बस्ती र सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा पार्न सक्ने सुवेदीको भनाइ छ । कोरलानाका जोड्ने सडक जोखिममा पर्नसक्ने उनले बताए ।

पुनःस्थापनाको पर्खाइ

जलजला गाउँपालिकाले फर्सेका बाढीपीडितका लागि कर्मचारी खटाएर सचिवालय स्थापना गरेको छ । राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गरिएको छ । जलजलाको फर्सेसहित ताङवाङ, लामाखेत, पालसिङलगायत धेरै ठाउँमा बाढीपहिरोले क्षति गरेको छ । प्रभावित परिवारलाई परिचयपत्रसमेत वितरण गरिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए ।

बिहीबार स्वास्थ्य शाखाको आयोजनामा मनोसामाजिक परामर्शसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । जनप्रतिनिधि र कर्मचारीको १४ वटा समूह बाढीपहिरोले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न खटिएका छन् ।

फर्सेवासीका लागि दीर्घकालीन सुरक्षित बसोबास, पुनर्निर्माण र बस्ती संरक्षणको योजना आवश्यक रहेको अध्यक्ष आचार्यले बताए । त्यसका लागि सङ्घीय र प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको उनले जानकारी दिए ।

मङ्गलबार फर्सेको निरीक्षणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण र पुनर्स्थापनामा सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कालीगण्डकीको भेलले फर्सेको रूप बदलिदिएको छ । घरका ठाउँमा भग्नावशेष छन् । गोठका ठाउँमा बगर छ । आँगनका ठाउँमा नदीको धार छ ।

फर्सेका बाढीपीडित चन्द्र दर्जीको मनमा एउटा विश्वास अझै बाँकी छ–“बाढीले घर बगाउन सक्छ, सपना होइन । हामी आफ्नै गाउँमा श्रम र पसिनामा उठ्न चाहन्छौँ”, उनले भने, “सुरक्षित बास, संरक्षणको भरोसा र पुनर्स्थापनामा सरकारको साथ आवश्यक पर्छ ।”

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् ।

बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसीबोकाको बजार लाग्ने छ ।

धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन् । उनले घरमै खसीबोका पालेका छन् । यस्तै, धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्ने गरेको उनले जानकारी दिए ।

“व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा । यही व्यवसायबाट घर खर्च पुगेको छ । यहाँको खसी बजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज भएको छ”, उनले भने ।

मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउने गर्छन् । उनले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएका छन् । उनले उक्त व्यवसाय थालेको २३ वर्ष भइसकेको बताए ।खड्काले धरानबाट खरिद गरेका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री गर्ने गरेको बताए ।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसीबोका बिक्री हुने गरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ मा कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब रु तीन अर्बको कारोबार भएको अध्यक्ष भट्टराईले उल्लेख गरे । गत वर्षको चाडपर्वमा मात्रै रु ४६ करोडबराबरको कारोबार भएको थियो । यस वर्ष कारोबार थप वृद्धि हुनसक्ने उनको भनाइ छ ।

भट्टराईका अनुसार बजारमा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष खसीबोकाको कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको छ । बजारमा पहाडी जिल्लाका साथै इटहरी, मोरङको कानेपोखरी र बेलबारीलगायत तराईका किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि आउने गरेका छन् ।

कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा योगदान पुर्‍याएको अध्यक्ष भट्टराईले बताए ।

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ। भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा रोकिएका छन् ।

गत शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला खण्डको ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पु¥याएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित बनेको हो ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालसामान राखिएका कन्टेनर भन्सार जाँचपास भइसके पनि सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको जानकारी दिनुभयो ।

“कोरलानाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० बढी कन्टेनर छन् । तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,” भन्सार प्रमुख चुडालले भन्नुभयो, “भन्सारमा केही कन्टेनर जाँचपास प्रक्रियामा छन्, त्यो पनि अबको दुईदिन भित्र सकिन्छ ।” तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उहाँले बताउनुभयो ।

भारी वर्षा अघि मालसामान ढुवानी गर्न कोरलानाका पुगेका मालवाहक कन्टेनर भन्सार जाँचपास प्रक्रिया सकेपनि सडक अवरुद्ध भएकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी यार्ड क्षेत्रमा रोकिएका प्रमुख चुडालले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएकाले नयाँ कन्टेनर थपिएका छैनन्”, उहाँले भन्नुभयो, “चीनबाट मालवस्तु पैठारी गरिएका कन्टेनर पनि सडकको अवस्थाले गर्दा तल झर्न सकिरहेका छैनन् ।”

चीनबाट दसैँतिहार लक्षित मालवस्तु पैठारी गर्ने याममा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा राजस्व सङ्कलनमा राज्यले घाटा व्यवहोर्नु पर्ने अवस्था सृजना भएको प्रमुख चुडालले बताउनुभयो । उहाँका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द हुँदा कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोड बढी राजस्व सङ्कलन गर्दै आइरहेको थियो ।

भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित तयारी सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामान, लत्ता कपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गर्दछन् ।

यसैगरी, कोरला खण्ड अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएका छन् । तीमध्ये १०० बढी सवारी पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमा रोकिएका सशस्त्र प्रहरी बल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

जोमसोम–कोरला सडक सञ्चालन

वर्षाका कारण अवरुद्ध बनेको जोमसोम–कोरला खण्ड आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कालीगण्डकी करिडोर, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड गाउँपालिका र सुरक्षा निकायको पहलमा पहिरो पन्छाउने तथा सडक सफा गर्ने काम गरिएसँगै पाँच दिनपछि आवागमन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार पर्वत मालढुङ्गाबाट म्याग्दीको बेनीसम्म पाँच, बेनीबाट म्याग्दीको अन्नपूर्ण—३ रुप्सेसम्म २५ र मुस्ताङको काभ्रेभीरबाट कोरलानाकासम्म १६ स्थानमा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार मालढुङ्गाबाट गलेश्वरसम्म र म्याग्दीको दानाबाट कोरलानाकासम्मको सडक मर्मतसम्भारपछि सञ्चालनमा आइसकेको छ ।

अवरुद्ध कोरलाको म्याग्दी खण्डको सडक मर्मत तथा स्तरोन्नति कार्य थप जटिल र चुनौतीपूर्ण रहेको आयोजना प्रमुख तेजश्वी शर्माले उल्लेख गर्नुभयो । भारी वर्षाका कारण आएको बाढीपहिरोले म्याग्दी रघुगङ्गाको सडक तथा बैसरी–१, २, ३ र सिरुवारी खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, म्याग्दी खण्डको तातोपानी–पोखरेबगर जोड्ने पक्की पुलको एप्रोज बाढीले बगाएको उहाँले जानकारी दिनुभयो । बाढीपहिरोले तातोपानी, खामभित्ता, जलथले, भीरकाँटे, महभीरलगायत स्थानका सडकमा क्षति पुर्याएकाले मर्मत गरी सञ्चालनमा ल्याउन केही समय लाग्ने उहाँले बताउनुभयो । सडक उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापन गर्न समस्या भइरहेको उहाँको भनाइ छ ।

रातु नदीको बाढीले महोत्तरी सदरमुकाम जलेश्वर डुबानमा

महोत्तरी। बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो । निकास नहुँदा पानी जम्दै गएर आज बजारक्षेत्र जलमग्न भएको छ ।

जलेश्वर–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रमा जताततै पानी छ । तीन ठाउँमा भत्किएको बाँधले मडै, गोरीगमामा खेत काटेर नोक्सान गरेको छ । “बर्सेनि यिनै ठाउँमा बाँध भत्किने गरेको छ,” महोत्तरी–६ गोरीगमाका किसान भोला महतो भन्नुहुन्छ, “बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ ।”

गत वर्ष पनि वन्चौरीमा बाँध फुटेको थियो । जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन अप्ठ्यारो भएको छ । हिँडडुल गर्न पनि असजिलो भएको जलेश्वर–१ का विनोद पासवान बताउनुहुन्छ ।

बाढी नगरक्षेत्रमा पसेपछि भत्किएको ठाउँमा तत्काल मर्मतसम्भार र जलेश्वर पुछारमा पानी निकासको प्रबन्ध थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा अधिवेशनमा देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो ।

समितिका संयोजक एकराज पोखरेलले कोशी प्रदेशमा एक हजार १५७ वडामध्ये ५७७, मधेस प्रदेशमा एक हजार २७१ मध्ये ४०२, बागमती प्रदेशमा एक हजार १२१ मध्ये ५६३ र गण्डकी प्रदेशमा ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो ।

यसैगरी, लुम्बिनी प्रदेशका ९८३ वडामध्ये ५५०, कर्णाली प्रदेशका ७१५ मध्ये २७७ तथा सुदूरपश्चिम प्रदेशका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको संयोजक पोखरेलले बताउनुभयो ।

उहाँले बाँकी रहेका वडामा यही असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको बताउनुभयो ।

समितिका अनुसार रसुवा जिल्लामा बाढी–पहिरोका कारण हुन नसकेको वडा अधिवेशन तथा बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण रोकिएको अधिवेशन यही असोज १६ गते सम्पन्न गर्ने तयारी गरिएको छ । कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म हने तय भएको छ ।

नेपाल टेलिकमले एनटिटिभीका लागि भर्चुअल सेट–टप बक्स ल्यायो

काठमाडौँ। नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ ।कम्पनीले आजदेखि एन्ड्रोइड टेलिभिजनमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो । यससँगै स्मार्ट टेलिभिजन प्रयोगकर्ताले छुट्टै भौतिक सेट–टप बक्सबिना एनटिटिभी सेवा प्रयोग गर्न सक्नेछन् ।

टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टेलिभिजनमा गुगलप्ले स्टोरमार्फत ‘स्मार्ट एनटिटिभी’ खोजी गरी सेवा प्रयोग गर्न सक्नेछन् । कम्पनीले आगामी दिनमा अन्य स्मार्ट टेलिभिजनमा पनि प्रयोग गर्न मिल्ने गरी सेवा विस्तार गर्ने जनाएको छ ।

नयाँ सेवाग्राहीले भर्चुअल सेट–टप बक्ससहितको योजना लिएमा रु एक हजार छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्चुअल सेट–टप बक्ससहित विभिन्न टेलिभिजन प्याकेज पनि उपलब्ध गराएको जनाएको छ ।

सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन् । ।

मधेस प्रदेशस्थित नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीलगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई उहाँले सो निर्देशन दिएका हुन् ।

महानिरीक्षक पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवं समसामयिक विषयमा हाल भइरहेका कामकारबाहीबारे जानकारी लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

त्यस क्रममा उनले सो क्षेत्रमा कार्यरत कमाण्डरलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिका हुन् ।

सीमा इलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणका लागि समयमा नै योजना बनाई सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिए ।

फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

कास्की। पोखरा महानगरपालिकाले अधेरीकुनादेखि फेवातालसम्म बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य पुनः थालिएको गरेको छ ।

फिर्के खोलाको खोलाघरभित्र निर्माण भएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफैँ हटाउने भनी महानगरपालिका समक्ष मौखिक सहमति जनाए पनि सहमतिअनुसार संरचना नहटाएपछि महानगरपालिकाले आजदेखि हटाउने कार्य अगाडि बढाएको हो । महानगरपालिकाले फिर्के खोलाको संरक्षण, विकास तथा सम्वर्द्धन गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानअन्तर्गत गत जेठ १० गतेदेखि खोलाघरभित्रका संरचना हटाउने कार्य अघि बढाएको थियो ।

केही संरचना हटाएपछि स्थानीयको आग्रहमा हटाउनका लागि थप समय दिइएको थियो । तर यसबीचमा संरचना पूर्ण रुपमा नहटेपछि महानगरले अतिक्रमण हटाउन पुनः सुरु गरेको जनाएको छ । महानगरले गरेको नाप जाँच अनुसार फिर्केमा स्थायी र अस्थायी गरी १६० संरचना छन् ।

फिर्के खोलाको प्राकृतिक बहाव कायम राख्दै यसको संरक्षण र व्यवस्थापनमार्फत पोखराको वातावरणीय सौन्दर्य तथा पर्यावरणीय सन्तुलन कायम गर्न महानगरपालिकाले संरचना हटाउने कार्यलाई निरन्तरता दिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्रभित्र रहेका संरचना हटाउने विषयमा लामो कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी अदालतको आदेशसमेत पर्खिएपछि महानगरपालिकाले संरचना हटाउने कार्य अघि बढाएको हो ।

“महानगरपालिकाले यसअघि केही संरचना हटाएपछि सम्बन्धित घरधनी तथा सङ्घ–संस्थाहरूले आफैँ संरचना हटाउन समय उपलब्ध गराइदिन अनुरोध गर्नुभएको थियो । सोहीअनुसार निश्चित समयसीमा तोकेर आफैँ संरचना हटाउने अवसर दिइएको थियो । तोकिएको समय सीमा तथा थप गरिएको समयसँगै भोटेकोशीमा गएको बाढी र वर्षायामलाई समेत मध्यनजर गरी अतिरिक्त समय उपलब्ध गराउँदा पनि कतिपय संरचना नहटाइएपछि महानगरपालिकाले माइकिङमार्फत सूचना जारी गरेको थियो”, प्रमुख आचार्यले भन्नुभयो ।

फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र सुरक्षित तथा व्यवस्थित पोखरा निर्माणका लागि संरचना हटाउने अभियान अघि बढाइएको उहाँले बताउनुभयो । फिर्केका खोलाघरभित्रका संरचना हटाउन ढिलाइ भएपछि नागरिक समाजले निरन्तर महानगरको ध्यानाकर्षण गराउँदै आएको थियो ।

नागरिक अभियन्ता रामबहादुर पौडेलले फिर्केको खोलाघरमा निर्मित बाँकी संरचना खाली गर्ने अभियान सुरु भएकामा खुशी व्यक्त गर्नुभयो । “खोलाघरमा बनेका संरचना पूर्ण खाली गरेलगत्तै दोस्रो चरणमा मुआब्जा वितरण र दायाँवायाँ फुटट्रयाक र साइकल लेन सहित करिडोर निर्माणमा महानगरले काम गर्नुपर्छ,” अभियन्ता पौडेलले भन्नुभयो ।

साबिक ग्यारजातीपछि सराङकोट हुँदै हाल पोखरा महानगरपालिका–१८, २ ,४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कूल लम्बाइ आठ किलोमिटर रहेको छ ।

यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएका छन् ।

उत्तर कोरियालाई वार्तामा आउन लीको आह्वान

काठमाडाैँ। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबिचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि उनले यस्तो आह्वान गरेका हुन्।

दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनःस्थापना र वार्ता पुनः सुरु गर्ने प्रक्रियामा सहभागी हुने आफूले आशा गरेको बताए।

गत सेप्टेम्बर २१ मा डिएमजेडमा भएको विस्फोटका लागि दक्षिण कोरियाले बुधबार उत्तर कोरियालाई जिम्मेवार ठहराउँदै घटनाप्रति माफी माग्न आग्रह गरेको थियो । दक्षिण कोरियाली सेनाले उक्त घटनालाई दुई कोरियाबीच भएको युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ।

विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक गम्भीर घाइते भएका थिए। तर उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले विस्फोटमा आफ्नो देशको संलग्नता अस्वीकार गरेका छन्। उनले दक्षिण कोरियाले घटनाबारे गरेको अनुसन्धानको निष्कर्षलाई गलत र तथ्यहीन भएको आरोप लगाए।

दुई कोरियाबिच लामो समयदेखि राजनीतिक तथा सैन्य तनाव कायम रहँदै आएको अवस्थामा दक्षिण कोरियाली राष्ट्रपतिको वार्ता र विश्वास पुनःस्थापनाको आह्वान आएको हो।

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगञ्ज-१ धम्बोजीका दुई युवाको योगदानसहित परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ।

वि.सं. २०८२ भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउँदै उहाँहरूको स्मृतिलाई दीर्घकालसम्म जीवन्त राख्ने उद्देश्यले स्थानीय पाठ्यक्रममा परिचय समेट्न लागिएको उपमहानगर कार्यालयले जनाएको छ।

उपमहानगरप्रमुख प्रशान्त विष्टले सहिद परिवारको आग्रहअनुसार दुवै युवाको परिचय स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अघि बढाइने बताए। “नयाँ पुस्तालाई जेनजी सहिदको योगदानबारे जानकारी गराउँदै उहाँहरूको स्मृतिलाई जीवन्त राख्न स्थानीय पाठ्यक्रममा परिचय समेट्ने तयारी भइरहेको छ”, उनले भने।

सरकारी विवरणमा पनि आयुष थापा र सुलभराज श्रेष्ठलाई नेपालगञ्ज-१, बाँकेका जेनजी सहिदका रूपमा उल्लेख गरिएको छ । दुवै युवाको सम्मान तथा स्मृतिमा नेपालगञ्ज उपमहानगर र वडा कार्यालयले विभिन्न भौतिक तथा सामाजिक गतिविधि पनि अघि बढाएको छ।

नेपालगञ्ज-१ का वडाध्यक्ष एवं प्रवक्ता प्रमोद रिजालका अनुसार धम्बोजीस्थित वडा कार्यालय परिसरमा दुवै सहिदको स्मृतिमा ‘सहिद योग भवन’ र खुला ‘जिम हाउस’ निर्माण गरिएको छ । उहाँहरूकै सम्मानमा थप संरचना निर्माण प्रक्रिया पनि अघि बढाइएको उनको भनाइ छ।

वडाध्यक्ष रिजालले भने, “उहाँहरूको सम्मानमा वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उहाँहरूका नाममा ‘सहिद प्रवेशद्वार’ निर्माण भइरहेको छ ।” उपमहानगरले दुवै सहिदको स्मृतिमा ‘सहिद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए।

वडाध्यक्ष रिजालका अनुसार स्थानीय सरकार सहिद परिवारका समस्या तथा माग सम्बोधन गर्न निरन्तर संवादमा छ। जेनजी आन्दोलनका क्रममा एउटै टोलका दुई युवाले ज्यान गुमाएपछि धम्बोजीका स्थानीयवासीमा घटनाको अहिलेसम्म प्रभाव रहेको स्थानीयवासी बताउँछन्।

आयुष र सुलभका परिवारले छोराहरूको मृत्युको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छन्। आफ्ना छोराले काठमाडौँमा ज्यान गुमाएको एक वर्ष बितिसक्दा पनि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुन नसकेको भन्दै सहिदका आफन्त तथा परिवारले तत्काल आफ्ना माग सम्बोधन हुनुपर्ने बताएका छन्।

परिवारले सहिदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन तथा गोली चलाउनेमाथि कानुनी कारबाहीको माग सरकारसँग गर्दै आएका छन् । सहिद आयुष थापाका पिता सुशील थापाले आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाए पनि घटनाको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने काम हुन नसकेको बताए।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जेनजी आन्दोलनका सहिदका चाहना र माग पूरा गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको भएको बताए। “जेनजी आन्दोलनका सहिदका चाहना र माग पूरा गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्दछ”, उनले भने।

नेपालगञ्ज उपमहानगरले जेनजी सहिदको स्मृतिलाई स्थानीय तहमा संस्थागत गर्ने उद्देश्यले पाठ्यक्रममा उहाँहरूको परिचय समेट्ने तयारी गरेको छ । यससँगै सहिदको स्मृतिमा भौतिक संरचना, खेलकुद तथा अन्य सामाजिक गतिविधिलाई निरन्तरता दिइएको छ । सहिद परिवारले भने स्मृतिका कार्यक्रमसँगै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने मागलाई निरन्तर उठाउँदै आएका छन्।

देउवा समूहको महाधिवेशनसम्बन्धी पत्र आयोगमा अभिलेख, कांग्रेस विवादमा थप निर्णय भएन

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले महाधिवेशन गर्न लागेको भन्दै पठाएको पत्र निर्वाचन आयोगले अभिलेखमा राखेको छ।

शेरबहादुर देउवाले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासहित आयोगलाई पत्र पठाएका थिए। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार पत्र प्रशासनिक प्रक्रियाअन्तर्गत दर्ता गरिएको हो

।उनका अनुसार गगन थापा नेतृत्वको कांग्रेसलाई आयोगले मान्यता दिइसकेको र विवाद सर्वोच्च अदालतबाट निरुपण भइसकेकाले आयोगले अहिले कुनै थप निर्णय गरेको छैन।

सरकारलाई बाबुराम भट्टराईको सुझाव – ‘आधुनिक विज्ञान र प्रविधिको ज्ञान भएकालाई नेतृत्वमा ल्याउनुपर्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान संसद्मा इन्जिनियर तथा प्राविधिक पृष्ठभूमिका सांसदहरूको संख्या उल्लेख्य हुनु सकारात्मक भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले विकास र समृद्धिको एजेन्डा अघि बढाउन विज्ञान तथा प्रविधिको ज्ञान र अनुभव भएका व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।

राजनीति र संसद्को कार्यभार बहुआयामिक हुने उल्लेख गर्दै उनले जनप्रतिनिधिहरूमा सबै क्षेत्रको सामान्य ज्ञान र अनुभव आवश्यक पर्ने बताए । यद्यपि, राज्य र समाज विकासको विशेष चरणमा रहेका बेला निश्चित क्षेत्रको ज्ञान र अनुभवको महत्त्व अझ बढ्ने उनको भनाइ छ ।

‘परम्परागत कृषिप्रधान अर्थतन्त्रलाई उद्योग र सेवाप्रधान आधुनिक अर्थतन्त्रमा रूपान्तरण गर्ने कार्यभार, अर्थात् विकास र समृद्धिको एजेन्डा प्रमुख रहेको वर्तमान नेपाली सन्दर्भमा संसद् र सरकारको नेतृत्वमा आधुनिक विज्ञान र प्रविधिको ज्ञान र अनुभव भएका व्यक्तिहरूको उपयोगिता सापेक्ष रूपले बढी हुन्छ,’ उनले लेखेका छन् ।

विकासशील देशहरूमा विज्ञान तथा प्रविधिको ज्ञान र अनुभव भएका व्यक्तिहरूको नेतृत्वमा तुलनात्मक रूपमा छिटो र राम्रो विकास भएका उदाहरण रहेको उल्लेख गर्दै भट्टराईले चीनलाई पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

नेपालले पनि विकास र समृद्धिका क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गर्न सकोस् भन्दै उनले शुभकामना दिएका छन् ।

‘नेपालले पनि नयाँ उदाहरण पेस गर्न सकोस्। हार्दिक शुभकामना !’ उनले लेखेका छन् ।

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

काठमाडौँ- निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने बाटो खुलेको छ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो।

मन्त्रालय मातहतको विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण तथा वितरण प्रणाली (विद्युत् ग्रिड) को प्रयोग गर्न दिएवापत लिइने दस्तुर (ह्वीलिङ चार्ज) मापदण्ड सार्वजनिक गरेको छ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालकाअनुसार राष्ट्रिय विद्युत् प्रसारण ग्रीड (नेशनल ट्रान्समिसन ग्रीड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्डबमोजिम शुल्क निर्धारण गरिएको छ।

मापदण्डअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल विद्युत प्राधिकरणअन्तर्गतको राष्ट्रिय विद्युत् प्रसारण ग्रिड (नेशनल ट्रान्समिसन ग्रिड) मा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रति मेगावाट ४.१३ लाख प्रतिमहिना र अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क निर्धारण गरिएको अध्यक्ष धितालले बताए।

अध्यक्ष धितालले आयोगले खुला बजार नीतिअन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत् प्रसारण प्रणाली प्रयोग गर्न दिनका लागि यो शुल्क निर्धारण गरेको बताए।

‘उक्त शुल्क निर्धारण गर्दा नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गरिएको वित्तीय विवरण र प्राधिकरणबाट पेस भएको आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि वार्षिक आवश्यक आयको अनुमानित विवरण समेतलाई आधार मानी उपरोक्त मापदण्ड बमोजिमको गणना विधि अपनाई प्रसारण शुल्क निर्धारण गरिएको छ,’ उनले भने।

अध्यक्ष धितालका अनुसार तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर बिजुली आदानप्रदान गर्न आयोगले तोकेको मापदण्ड र दरअनुसार नेपाल विद्युत् प्राधिकरणलाई ह्वीलिङ चार्ज तिर्नुपर्नेछ।

आयोगका सदस्य जयराज भण्डारीले राष्ट्रिय विद्युत् प्रसारण ग्रीडअन्तर्गत बाहेकका अन्य रेडियल तथा डेडिकेटेड प्रसारण संरचनाहरूको प्रसारण शुल्क निर्धारण प्रक्रिया सम्बन्धमा आयोगले छुट्टै निर्देशिका जारी गर्नेगरी कार्य भइरहेको बताए।

मनाङमा अलपत्र १६ इन्डोनेसियाली पर्यटकको हेलिकप्टरबाट उद्धार

लमजुङ। मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ ।डाइनेस्टी हेलिकप्टरमार्फत उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका–१, घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर नगरपालिका–७, सहजीमा ल्याइएको हो ।

अन्नपूर्ण पदमार्गमा ट्रेकिङका लागि गएका उनीहरू असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि घताङ एग्रो क्षेत्रमा अलपत्र परेका थिए । अलपत्र परेका पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

प्रहरीका अनुसार उद्धार गरिएका पर्यटकमा सिटी आलिया रहादियानी, अराफी अनुगेराह साप्रुदिन, सिटी अकिया नुरफद्ला, अजी बागुस सेतियावान, नाइरा हानिफ्फादिला नोअर बुदिमान, बेट्टी अगुस्टिना सुप्रियाटिन, मेटा अज जाह्रा पुत्री, मुहम्मद दिनी अकबर, मुहम्मद अल्लाम नाज्ह्लिफा, एएफआरएल आरएलजेडकेएल, सिफा अलिफा युसुफ, मुहम्मद राफ्दी फौजान, मुमान, मुहम्मद खैरुदिन, बेला ग्रासेभा अमान्दा पुत्री र दिनी अब्दिलाह रहेका छन् । लमजुङ ल्याइएपछि उनीहरू ग१ज ३७४० र बा.प्र.०१–००७ ख १६८० नम्बरका सवारीसाधनमार्फत पोखरातर्फ प्रस्थान गरेका छन् ।

प्रहरीका अनुसार लगातारको वर्षाका कारण अन्नपूर्ण पदमार्ग तथा बेँसीसहर–चामे सडक प्रभावित भएपछि पर्यटकको आवतजावतमा समस्या भएको थियो ।

सडक तथा पदमार्गको अवस्था सहज नभएपछि उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी लमजुङ ल्याइएको हो । उद्धारका क्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हबल्दार गुञ्जबहादुर बरामको कमाण्डमा चार जनाको टोलीसमेत परिचालन गरिएको थियो ।

शनिबार र आइतबार अनिवार्य बिदा दिन महानगरपालिकाकाे निर्देशन

पर्सा। वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ।वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयलाई प्रत्येक हप्ता शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको जानकारीमा आएपछि दुई दिन अनिवार्य बिदा गर्न निर्देशन दिइएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।

नगर शिक्षा समितिको यही असोज ५ गतेको निर्णयअनुसार महाशाखाले परिपत्र जारी गर्दै विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न सबै विद्यालयलाई ताकेता गरेको हो ।

महानगरले भनेको छ, “शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शनिबार र आइतबार गरी दुई दिन बिदा दिँदा विद्यार्थीको पठनपाठन समय तथा वार्षिक कार्यघण्टामा कमी आउन नदिने गरी विद्यालयले आवश्यक व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर र आवश्यक बिदालाई समायोजन गर्न विद्यालयसँग आग्रह छ ।”

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण जारी

काठमाडाैँ। दक्षिणी लेबनानमा बिहीबार पनि इजरायली आक्रमणहरू जारी रहेको जनाइएको छ। आक्रमणका क्रममा दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण, तोपखाना प्रहार गर्नुका साथै मेसिनगनबाट गोलाबारी गरिएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार इजरायली विमानहरूले जावतार अल–शर्किया क्षेत्रको बाहिरी इलाकाबाट माइफादुन तर्फको क्षेत्रमा आक्रमण गरे भने नबातिह अल–फौका को बाहिरी भागमा रहेको अली अल–ताहेर पहाडमा पटक–पटक गाली प्रहार गरियो।

इजरायली सेनाका सवारी साधनहरू बिन्ट जबेल जिल्लाको हद्दाथा सहर हुँदै अघि बढ्दा उनीहरूले मेसिनगनबाट गरिएको गोलीबारीको प्रभावमा परेको जनाइएको छ।

लेबनानको दक्षिणी सीमा क्षेत्रमा तनाव र द्वन्द्व बढ्दै गएको तथा आक्रमणको दायरा फराकिलो हुँदै आवासीय क्षेत्रहरूलाई निरन्तर निशाना बनाइएकोमा चौतर्फी चिन्ता व्यक्त भइरहेका समयमा यस्ता घटनाक्रमहरू देखिएका हुन्।

लेबनान र इजरायलले गत जुनमा अमेरिकाको मध्यस्थतामा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौतामा लेबनानी सेनाको क्रमशः तैनाथी, कब्जा गरिरहेको सेनाको फिर्ती तथा पुनर्निर्माण र आर्थिक पुनरुत्थानसम्बन्धी उपायहरू सहितका सुरक्षा व्यवस्थाहरू समावेश थिए । यद्यपि, यसका प्रावधानहरूको कार्यान्वयनमा भने अझै पनि अवरोधहरू देखिएका छन्।

अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयार

काठमाडौँ। सरकारले पूर्ण तथा अतिअशक्त एवं अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयारी गरेर रायका लागि अर्थ मन्त्रालय पठाएको छ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले उक्त कार्यविधिको मस्यौदा रायसुझावका लागि पठाइएको जानकारी दिइन्।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ को नियम ९ बमोजिम सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवाको व्यवस्था कार्यान्वयनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिनेछ।

“मन्त्रालयले व्यक्तिगत सहयोगी सेवासम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी मिति २०८०/०९/१८ को निर्णयानुसार रायसुझावका लागि अर्थ मन्त्रालयमा पठाएकामा तत्कालिन अवस्थामा स्पष्ट राय प्राप्त नभएकोले चालु आव २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत व्यक्तिगत सहयोगी सेवा सम्बन्धमा अध्ययन गर्ने कार्यक्रम रहेको छ”, उनले भनिन्।

अध्ययनमा व्यक्तिगत सहयोगी सेवाको आवश्यकता, सेवा प्राप्त गर्ने व्यक्तिको अवस्था, सेवा प्रदायकको भूमिका, सेवा सञ्चालनको मापदण्ड, आर्थिक दायित्व र कार्यान्वयनको प्रभावकारितालगायत विषय समेटिने मन्त्री बादीले बताइन्।

मन्त्रालयको अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा पूर्ण रूपमा एकीकृत गरी ७५३ वटै स्थानीय तहमा विस्तार गर्ने काम भइरहेको उनले जानकारी दिइन्। यसबाट अपाङ्गता भएका व्यक्तिको अद्यावधिक तथ्याङ्क तथा व्यक्तिगत सहयोगी सेवा आवश्यक पर्ने व्यक्तिको पहिचान र आवश्यकताको आकलनमा सहयोग पुग्ने उनले बताइन्।

मन्त्री बादीले व्यक्तिगत सहयोगी सेवा प्रभावकारी, पारदर्शी, पहुँचयोग्य र दिगो बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने बताइन्। त्यसका लागि अपाङ्गता भएका व्यक्तिका संस्था, स्थानीय तह, प्रदेश सरकार, सम्बन्धित निकाय तथा विज्ञसँग परामर्श गरिने उहाँले जानकारी दिइन्।

राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम, क्षति र पुनःस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ गठन गरिएको जानकारी दिए । समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहेका छन् । समितिमा एक सदस्य पछि थप गरिनेछ ।

समितिले विपद् जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनःस्थापनाको समीक्षा गर्नेछ । त्यस्तै, जलवायु परिवर्तनको प्रभाव विश्लेषण गर्दै प्रभावितको पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायका लागि मार्गचित्र सिफारिस गर्ने समितिको कार्यक्षेत्र तोकिएको छ ।

समितिले विपद् आउनुअघि जोखिमको सूचना उपलब्ध गराउने वैज्ञानिक तथा आधुनिक पूर्वसूचना प्रणाली र प्रविधिको विकास तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्रबारे सुझाव दिनेछ । विषयगत विज्ञसँग अन्तरक्रिया गरी विपद्को कारण, जोखिम र दीर्घकालीन प्रभावको वैज्ञानिक विश्लेषणसमेत गरिनेछ ।

समितिले विपद् प्रभावित छिमेकी राष्ट्रसँग अनुभव, प्रविधि, सूचना तथा स्रोतसाधन आदान प्रदानका लागि सहकार्यको उपयुक्त ढाँचा तथा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत र पुनःस्थापनामा सहकार्यको अध्ययन गर्नेछ । जलवायु परिवर्तनमा नगण्य योगदान गरेका तर बढी प्रभावित राष्ट्रले नकारात्मक योगदान गर्ने राष्ट्रबाट हानिको क्षतिपूर्ति प्राप्त गर्ने अन्तर्राष्ट्रिय व्यवस्था र सम्भावित कानुनी आधारबारे पनि समितिले अध्ययन गर्नेछ ।

त्यस्तै, नयाँ बस्ती बसाउँदा भविष्यमा कम क्षति हुने स्थान पहिचान गर्न भूगर्भीय, भौगोलिक तथा जलवायुजन्य जोखिमका आधारमा वैज्ञानिक अध्ययन गर्ने समितिको कार्यक्षेत्र रहेको छ । समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहनेछ । समितिले आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाएर काम गर्न सक्ने तथा प्रतिनिधिसभामा गठित विशेष समितिसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिन्छ – मन्त्री गौतम

काठमाडौँ । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै निर्वाचित सदस्यतर्फको रिक्त पदका लागि निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम उपनिर्वाचनको प्रक्रिया अघि बढाइरहेको जानकारी दिएकी हुन् ।

उनले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यको पदपूर्तिका लागि संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्‍याएको योगदान तथा राष्ट्रियसभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस गर्ने प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्‍याइने बताइन् ।

मन्त्री गौतमले राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनित सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको बताउँदै संसद्का सदस्यको पद रिक्त राख्नु उपयुक्त नहुनेमा सरकार सचेत रहेको उल्लेख गरिन् ।

उनका अनुसार आगामी दिनमा सङ्घीय संसद्, निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबिच प्रभावकारी समन्वय गरी राष्ट्रियसभामा पद रिक्त भएपछि पदपूर्तिका लागि गर्नुपर्ने सिफारिस वा निर्वाचनसम्बन्धी प्रक्रिया समयमै प्रारम्भ गरिनेछ ।

उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

काभ्रे । दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित मूल्यवृद्धि हस्तक्षेप गर्दै उपभोक्तालाई सुलभ दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ ।

बनेपाको तीनदोबाटोस्थित कर्पोरेशनको वितरण केन्द्रमा सञ्चालित सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुनेछ । शनिबारसहित हप्ताको सातैदिन बिहान ९ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म पसल खुला रहनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार विशेष मूल्यसूची निर्धारण गरिएको छ । पसलमा नुनको मूल्य रु २४ र प्रतिकेजी चिनीको मूल्य रु १०० तोकिएको छ ।

त्यस्तै, २५ किलोग्रामको भान्साघर स्टिम जिरा मसिनो चामलको मूल्य रु दुई हजार ५८० कायम गरिएको छ । मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामलसमेत छुटसहित बिक्रीका लागि राखिएका छन् ।

मूल्य सूचीअनुसार मुसुरो दाल प्रतिकिलोग्राम रु १४०, रहर दाल रु २१०, मास दाल रु २०५ र चना दाल रु १५५ मा बिक्री भइरहेको छ । मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको कार्यालयले जनाएको छ ।

मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्लासमेत बिक्रीका लागि राखिएको छ । घ्यु तथा तेलतर्फ डिडीसी घ्यु रु एक हजार १४०, शान्ति तोरीको तेल रु ३८० र तृप्ति तोरीको तेल रु २७० मा उपलब्ध छन् । सनबिम सूर्यमुखी तेलसमेत बिक्रीका लागि राखिएको छ ।

त्यस्तै, अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चियासमेत उपलब्ध छन् । खाद्यान्नबाहेक अन्य घरायसी सामग्रीमा सहुलियत दिइएको कर्पोरेशनले जनाएको छ ।

एसटिसी ग्यास सिलिन्डर रु दुई हजार १६५, लुनारको दुई हजार वाटको इन्डक्सन कुकटप रु चार हजार ९६० र किनमेल गर्ने झोला रु ३५ मा उपलब्ध रहेको कार्यालय प्रमुख अवालेले बताए । चाडपर्वका बेला आवश्यक उपभोग्य वस्तु सुलभ र सहज रूपमा खरिद गर्न उनले उपभोक्तालाई आग्रह गरे ।

खुला बजारका तुलनामा सुपथ मूल्य पसलमा सस्तो दरमा खाद्यान्न तथा घरायसी सामान पाएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । पसलमा सामान खरिद गरिरहेकी बनेपाकी स्थानीय उपभोक्ता रमिता नेपालीले बजारमा महँगी बढेकाबेला साल्ट ट्रेडिङले चाडपर्वको मुखमा सस्तोमा नुन, तेल, चामल र दाल उपलब्ध गराउँदा आफूहरूजस्ता सर्वसाधारणलाई ठूलो राहत भएको बताइन् । उनले भनिन्, “यसले घरखर्च चलाउन सहज भएको छ ।”

साल्टट्रेडिङले यही असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५३ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २३४ जना व्यक्तिहरूलाई राखिएको छ ।

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरुलाई अपिल गरेका छन् ।

कांग्रेसको देउवा पक्षीय समूहको १५औँ महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन हुँदैछ । पूर्वसभापति देउवाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको देशभरका वडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिताका लागि अपिल गरेका हुन् ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि कांग्रेसले आठ दशकदेखि ठूलो बलिदान र सङ्घर्ष गरेको स्मरण गर्दै पूर्वसभापति देउवाले यसकारण पनि पार्टीको १५औँ महाधिवेशन निकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उहाँले आज जारी गरेको अपिलमा भनेका छन् “म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका छ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।”

कांग्रेस संस्थापन पक्षको महाधिवेशन यही असोज १८ देखि सुरु हुँदैछ भने देउवा संस्थापन इतर पक्षको आगामी मङ्सिर २१ देखि हुने मिति घोषणा गरिएको छ ।

बाढी प्रभावित गल्छी–बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा, स्थानीयवासी खुसी

काठमाडौँ । बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाद्वारा सञ्चालित ‘रसुवा बाढी प्रतिकार्य कार्यक्रम’अन्तर्गत महेशखोला–भट्टटार–जिन्टेटार डिप बोरिङ खानेपानी मर्मत योजना सम्पन्न भएपछि स्थानीयवासीका घरघरमा पुनःखानेपानी पुगेको हो ।

खानेपानी योजना मर्मतका लागि नेपाल रेडक्रस सोसाइटीले रू चार लाख ४६ हजार ६८० आर्थिक सहयोग गरेको थियो । उक्त सहयोगबाट आवश्यक मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गरिएको हो । योजनाबाट गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

मर्मत सम्पन्न भएपछि आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खानेपानी योजनाको औपचारिक सुभारम्भ गर्दै बाढीपछि स्वच्छ खानेपानीको अभाव झेलिरहेका नागरिकलाई पुनःसहज रूपमा खानेपानी उपलब्ध गराउन रेडक्रसले गरेको मानवीय कार्यको प्रशंसा गरे ।

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभकुमार तामाङले विपद्का समयमा खानेपानीजस्तो आधारभूत आवश्यकता पूरा गर्न योजना पुनःस्थापना गर्नु रेडक्रसको मानवीय सेवाको महत्वपूर्ण हिस्सा भएको बताए ।

“विनाशकारी बाढीपछि खानेपानीको हाहाकार खेपिरहेका स्थानीयको जनजीवन पुनःसामान्य हुने विश्वास लिएका छौँ”, जिल्ला कार्यक्रम संयोजक सरोज थापाले भने ।

विसं २०८३ भदौ १७ गते सम्झौता भई सुरु भएको मर्मत कार्य निर्धारित समयभित्रै सम्पन्न गरिएको हो । योजना पुनः सञ्चालनमा आएसँगै लामो समयदेखि खानेपानीको समस्या झेलिरहेको स्थानीयवासीमा खुसी छाएको छ ।

बाढीपछिको प्रतिकार्यमा राहत तथा उद्धारसँगै प्रभावित समुदायका आधारभूत आवश्यकता तथा महत्वपूर्ण पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको रेडक्रसले खानेपानी योजना पुनःसञ्चालनमा ल्याएपछि स्थानीयको दैनिक जनजीवन थप सहज हुने अपेक्षा गरिएको छ ।

खानेपानीजस्तो आधारभूत सेवाको पुनःस्थापनाले बाढी प्रभावित समुदायलाई तत्काल राहत प्रदान गर्नुका साथै विपद्पछिको पुनःस्थापना र सामान्य जीवनतर्फ फर्किने प्रक्रियामा सहयोग पुगेको रेडक्रसले जनाएको छ ।

बाढी प्रतिकार्य जारी : महामन्त्री खनाल

बढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका काम निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । रेडक्रसको महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिए । उनले सुरुआती क्षणमा बाढी प्रभावितको खोज,उद्धारमासहयोगको साथसाथै हाल आवास तथा गैरखाद्य, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, बहुउद्देश्यीय नगद सहायता÷नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सेहायता निरन्तर जारी रहेको बताए ।

उनका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीको वितरण अन्तर्गत त्रिपाल, म्याट्रेस र कम्बल वितरण जारी छ भने करिव दुई हजार भन्दा बढी प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ । गत एकमहिनाका अवधिमा बाढी प्रभावित दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्याएको, १८ पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानहरूमा ट्याङ्करबाट पानी वितरण गरिएको उनले बताए ।

उनले भने, “विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रसको प्राथमिकतामा रहेको छ । साथै, प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना छ ।”