`

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासन, हुलाक सेवामार्फत नागरिकमैत्री सेवा विस्तार तथा सरकारी संयन्त्रको उत्तरदायित्व अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ ।

प्रशासनिक प्रक्रियालाई छोट्याउनेदेखि नागरिक एपमार्फत सेवा विस्तार, सरकारी कागजात घरमै पुर्‍याउने ‘गभर्नमेन्ट कुरियर सर्भिस’ सञ्चालन, सरकारी वेबसाइटलाई अपाङ्गतामैत्री बनाउने, अवैध अनलाइन बेटिङ नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढाउनेसम्मका काम यस मन्त्रालयले सम्पन्न गरेको छ ।

विगतमा एउटै सेवा लिन नागरिकले धेरै तहको स्वीकृति लिनुपर्ने, लामो समय कुर्नुपर्ने तथा अनावश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेकामा त्यसलाई अन्त्य गर्न बिजनेस प्रोसेस रि–इन्जिनियरिङ (बिपीआर) लागू गरिएको मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालय र मातहतका निकायलाई कार्यान्वयन मार्गदर्शन पठाएर निर्णय प्रक्रियामा रहेका बहु–स्वीकृति तहलाई अधिकतम तीन तहमा सीमित गर्ने नीति अवलम्बन गरिएको छ ।

त्यसैगरी, मन्त्रालयले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन केन्द्रीय कार्यालयमै ‘फ्रन्ट डेस्क’ सञ्चालनमा ल्याएको छ । जसबाट मन्त्रालयमा आउने चिठीपत्र तथा निवेदनहरू सम्बन्धित शाखामा सिधै पठाइने भएकाले फाइल अनावश्यक रूपमा विभिन्न टेबलमा घुम्ने अवस्था हटेको छ । मन्त्रालयका अनुसार यसबाट सेवाग्राहीले तत्काल सेवा पाउन थालेका छन् र काममा ढिलासुस्ती हुने अवस्थाको अन्त्य भएको छ ।

शासकीय सुधारको अर्को महत्वपूर्ण पक्ष कर्मचारीको व्यवहार परिवर्तनलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ । मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आचारसंहिता र प्रतिबद्धतापत्र तयार गरी लागू गरिएको छ । ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहार अन्त्य गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी र जनमुखी बनाउने उद्देश्यले सबै कर्मचारीबाट प्रतिबद्धता गराइएको मन्त्रालयको भनाइ छ ।

यससँगै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) को मस्यौदा तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ भने प्रत्येक पदका लागि वस्तुनिष्ठ कार्यसम्पादन सूचक तयार पार्ने प्रक्रिया अघि बढाइएको छ । मन्त्रालयका अनुसार आगामी दिनमा कर्मचारीको मूल्याङ्कन प्रत्यक्ष रूपमा कार्यसम्पादनसँग जोडिनेछ ।

सेवा लिन लाग्ने समय आधाभन्दा बढी घट्यो

मन्त्रालयले केही प्रमुख सेवाको समय उल्लेख्य रूपमा घटाउन सफल भएको जनाएको छ । विदेशी मुद्रा सटही सिफारिस, चलचित्र जाँचपास तथा वर्गीकरण, चलचित्र तथा डकुमेन्ट्री छायाङ्कन अनुमति जस्ता सेवामा पहिले तीनदेखि सात दिनसम्म लाग्ने गरेकामा अब एकदेखि तीन दिनभित्र सेवा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै फ्रिक्वेन्सी व्यवस्थापनसम्बन्धी सेवामा कम फ्रिक्वेन्सी भएका क्षेत्रमा पाँचदेखि सात दिन लाग्ने काम अब दुईदेखि चार दिनमा तथा बढी फ्रिक्वेन्सी भएका क्षेत्रमा १५ देखि २० दिन लाग्ने प्रक्रिया सातदेखि १० दिनमा सम्पन्न गर्न सकिने गरी समय घटेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नागरिकका गुनासा छिटो सम्बोधन गर्न मन्त्रालयले फोन, इमेल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्ने व्यवस्था मिलाएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालित ‘हेलो सरकार’ प्रणालीमार्फत आएका उजुरी फछ्र्योटलाई उच्च प्राथमिकतामा राखिएको छ । मन्त्रालयका अनुसार हालसम्म ‘हेलो सरकार’मार्फत ६२० वटा गुनासा प्राप्त भएका छन् । तीमध्ये ३४७ वटा गुनासा फछ्र्योट भइसकेका छन् भने बाँकी सम्बन्धित शाखा तथा मातहतका निकायमा पठाएर प्रक्रिया अघि बढाइएको छ ।

घरदैलोमै सरकारी सेवा

मन्त्रालयले सबैभन्दा महत्वाकांक्षी कार्यक्रमका रूपमा ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) लाई अघि सारेको छ । यसको उद्देश्य सरकारी कागजात नागरिकको घरमै पुर्‍याउनु हो । मन्त्रालयका अनुसार असार १७ गतेसम्म दुई लाख चार हजारभन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ । त्यसमध्ये ७५ वटा जिल्लामा राहदानी सेवाग्राहीको घरमै वितरण गर्ने काम सुरु भएको छ । असार १७ गतेसम्म पाँच हजार ७२८ वटा राहदानी हुलाकमार्फत व्यक्तिको घरमै पुर्‍याइएको छ ।

त्यस्तै आठ लाख १० हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएको छ भने विभिन्न जिल्लामा करिब ११ सय हाराहारी लाइसेन्स व्यक्तिको घरदैलोमै वितरण भएको छ । यसका अतिरिक्त नेपाल खुला विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीका प्रमाणपत्र घरमै पुर्‍याउने व्यवस्था सुरु गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमूना ढुवानी, स्वास्थ्य शिक्षा सामग्री वितरण, स्वास्थ्य बिमा बोर्डका सामग्री ढुवानीलगायतका कार्य पनि हुलाक प्रणालीमार्फत सञ्चालन भइरहेका छन् ।

स्मार्ट हुलाकतर्फ सरकार

हुलाक प्रणालीलाई आधुनिक बनाउन सरकारले ‘स्मार्ट हुलाक’ अवधारणा अघि सारेको छ । मन्त्रालयले देशभरका ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित स्मार्ट हुलाकका रूपमा विकास गर्ने गरी छनोट गरेको जनाएको छ । यससँगै सात अङ्कको पोस्टल कोड लागू गरिएको छ भने अन्तर्राष्ट्रिय हुलाक सेवाको मापदण्डअनुसार प्रणाली अद्यावधिक गर्ने काम पनि अघि बढेको छ । डाँक ढुवानीका लागि नयाँ सवारीसाधन खरिद, अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सम्झौता तथा अन्तर्राष्ट्रिय ढुवानी प्रणाली व्यवस्थापनका लागि बजेट व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

लाइसेन्स छपाइ अन्तिम चरणमा

सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइलाई तीव्रता दिँदै हालसम्म कुल लक्ष्यको ८२ प्रतिशत लाइसेन्स छपाइ सम्पन्न गरेको जनाएको छ । सरकारका अनुसार असार मसान्तसम्म २९ लाख स्मार्ट सवारी चालक अनुमति पत्र छपाइ गर्ने लक्ष्यसहित यातायात व्यवस्था विभागसँग भएको सम्झौताअनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ थान अर्थात् ८२ प्रतिशत स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भइसकेको छ । बाँकी छपाइ कार्य पनि निर्धारित समयसीमाभित्रै सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ ।

विगतमा स्मार्ट लाइसेन्सको अभाव र छपाइमा भएको ढिलाइका कारण लाखौँ सेवाग्राहीले लामो समयसम्म अनुमतिपत्र प्राप्त गर्न नसक्ने अवस्था रहेको थियो । पछिल्लो समय छपाइ क्षमतामा वृद्धि गरिएसँगै लामो समयदेखि थन्किएका आवेदनहरूको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ ।

त्यसैगरी, नयाँ आवेदनकर्ताका लागि पनि छिटो सेवा उपलब्ध गराउन द्रुत सवारी चालक अनुमतिपत्र छपाइ प्रणाली कार्यान्वयन गरिएको छ । हालसम्म प्राप्त दुई लाख १७ हजार ९६८ नयाँ आवेदनमध्ये यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छपाइ गरी सम्बन्धित निकायलाई उपलब्ध गराइएको केन्द्रको भनाइ छ । यस व्यवस्थाले नयाँ आवेदनकर्ताले लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

नेपाल टेलिकमका सेवामा सुधार

नेपाल टेलिकमले आफ्ना ग्राहक सेवामा सुधार ल्याउन डाटा व्यवस्थापन, इ–सिम, अनलाइन गुनासो, स्वतः नवीकरण प्याकेज तथा ‘वन स्टप सर्भिस’लगायत विभिन्न नयाँ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक सेवामा सुधार ल्याउने उद्देश्यले विभिन्न प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । डाटा प्याक प्रयोग गर्ने ग्राहकका लागि अब प्याकेजको ९० प्रतिशत डाटा खपत भएपछि स्वतः सूचना प्राप्त हुने व्यवस्था लागू गरिएको छ ।

साथै ग्राहकले चाहेमा ‘पे एज यू गो’ सेवा बन्द गर्न सक्ने विकल्पसमेत उपलब्ध गराइएको छ । जसले प्याक सकिएपछि अनावश्यक रूपमा मुख्य ब्यालेन्सबाट रकम कटिने समस्या हटाएको छ ।

त्यसैगरी महिनैपिच्छे इन्टरनेट प्याक नवीकरण गर्नुपर्ने झन्झट हटाउन नेपाल टेलिकमले २९९, ४९९ र ७९९ रुपैयाँका ३० दिने ‘नमस्ते रिकरिङ’ प्याकेज सञ्चालनमा ल्याएको छ । यी प्याकेज स्वतः नवीकरण हुने भएकाले ग्राहकले प्रत्येक महिना नयाँ प्याक खरिद गर्नुपर्ने झन्झट हटेको छ ।

त्यस्तै, टेलिकमको सेवा सुधारका लागि ८०० मेगाहर्ज ब्यान्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेपछि आफ्नो ४ जी इन्टरनेट सेवाको गति ५९ दशमलव ७ प्रतिशतले वृद्धि भएको जनाएको छ । सेवा गुणस्तरमा सुधारसँगै डाटा ट्राफिकसमेत २४ दशमलव २ प्रतिशतले बढेको टेलिकमको भनाइ छ ।

नेपाल टेलिकमका ग्राहकले सेवा लिन प्रत्येक पटक व्यक्तिगत विवरण बुझाउनुपर्ने बाध्यता हटाउन ग्राहकसम्बन्धी व्यवस्थापन प्रणालीमा एक पटक मात्र व्यक्तिगत विवरण बुझाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । यसबाट एकपटक विवरण अद्यावधिक गरिसकेपछि भविष्यमा पुनः त्यही विवरण पेस गर्नुपर्ने झन्झट हट्नेछ ।

त्यसैगरी, नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ र आधिकारिक वेबसाइटमार्फत सेवासम्बन्धी गुनासो दर्ता गर्ने, त्यसको अवस्थाबारे जानकारी लिन सक्ने तथा समाधानको प्रतिक्रिया प्राप्त गर्न सकिने अनलाइन गुनासो तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याइएको छ ।

टेलिकमले डिजिटल सेवा विस्तार गर्दै ग्राहकले अब अनलाइनमार्फत नै इ–सिम प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । साथै नयाँ भौतिक सिम कार्डका लागि पनि अनलाइन आवेदन दिएपछि नजिकैको बिक्री केन्द्रबाट सिम लिन सकिने सुविधा सुरु गरिएको छ । ग्राहक सेवा थप सहज बनाउन नेपाल टेलिकमका सबै कार्यालयमा ‘वन स्टप सर्भिस’ प्रणाली कार्यान्वयन गरिएको छ ।

डिजिटल नेपाल अभियानले गति समात्दै

सरकारले पछिल्ला केही वर्षयता डिजिटल नेपाल अवधारणालाई प्राथमिकता दिँदै आएको भए पनि सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको आलोचना हुँदै आएको थियो ।

अहिले मन्त्रालयले ती कमजोरी हटाउने उद्देश्यसहित विभिन्न डिजिटल प्रणालीलाई एकआपसमा जोड्ने प्रयास थालेको छ । डिजिटल सुशासनलाई प्रभावकारी बनाउन मन्त्रालयले सूचना प्रविधि विधेयक र कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी विधेयकको प्रक्रिया अघि बढाएको जनाएको छ ।

नागरिक एपमा थपिँदै सरकारी सेवा

नागरिक एपलाई केवल सूचना दिने माध्यमबाट सेवा उपलब्ध गराउने एकीकृत डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ । हाल प्रहरी प्रतिवेदन ट्र्याकिङसहित नागरिक एपमा आबद्ध भइसकेको छ भने राहदानी विभाग र यातायात व्यवस्था विभागसँग पनि समन्वय भइरहेको छ ।

यसका साथै जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा नागरिक एपसँग जोड्ने प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयसँग सम्बन्धित सेवा पनि एपमा आबद्ध गर्ने विषयमा छलफल भइसकेको छ भने थप छवटा सेवा समावेश गर्न आवश्यक सूचीकरण र प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

एकपटक दिएको विवरण फेरि नदिनुपर्ने व्यवस्था

सरकारले नागरिकलाई एउटै विवरण पटक–पटक बुझाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य पनि अघि सारेको छ । त्यसका लागि विभिन्न सरकारी निकायबीच सूचना आदानप्रदान गर्न सक्ने ‘अटो फिल’ प्रणाली विकास भइरहेको छ ।

कागजरहित प्रशासन

सरकारी कार्यालयमा फाइल हराउने, लामो समय एउटै टेबुलमा थन्किने तथा कुन कर्मचारीले कति समय फाइल रोकेर राख्यो भन्ने जानकारी नहुने समस्या समाधान गर्न सरकारले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस)लाई सुदृढ बनाउने अभियान थालेको छ ।

यसैगरी डिजिटल सेवा सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य बनाउने उद्देश्यले मन्त्रालयले सरकारी वेबसाइटलाई परिमार्जन गरेको जनाएको छ ।

नागरिक एपबाट सरकारी प्रमाणपत्र डाउनलोड गर्न सकिने सुविधा पनि थप भएको छ भने डिजिटल सेवाको विस्तारसँगै अनलाइन अपराध नियन्त्रणलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ ।

एआई कानुनको तयारी

विश्वभर कृत्रिम बौद्धिकताको प्रयोग तीव्र रूपमा बढिरहेका बेला नेपालले पनि पहिलोपटक यससम्बन्धी कानुनी संरचना तयार गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद्बाट सिद्धान्ततः स्वीकृति प्राप्त भइसकेको छ ।

नेपालमा एआईको प्रयोग शिक्षा, स्वास्थ्य, बैंकिङ, सञ्चार तथा सार्वजनिक प्रशासनमा बढ्दै गइरहेका बेला यसको दुरुपयोग रोक्ने, व्यक्तिगत गोपनीयता संरक्षण गर्ने तथा जिम्मेवार प्रयोग सुनिश्चित गर्ने कानुन आवश्यक रहेको बताउँदै आएको थियो।

शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन् ।

मन्त्रालयका अनुसार समितिलाई हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनका लागि स्पष्ट मार्गचित्र तयार गर्न जिम्मेवारी दिइएको छ । समितिले समस्या समाधानका उपाय, कार्यान्वयनका तरिका तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्नेछ ।

समितिलाई विगतका आयोगहरूको प्रतिवेदन अध्ययन गर्नुका साथै आवश्यक परे नयाँ आयोग गठन गर्नुपर्ने आधार र त्यसको कार्यादेश (टीओआर) समेत तयार गरी सुझाव दिन भनिएको छ ।

मन्त्री चौधरीका अनुसार वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जमा स्तरोन्नति हुने प्रक्रियामा निकुञ्जभित्र रहेका बस्तीहरू स्थानान्तरण गरिए पनि जग्गा तथा पुनःस्थापनासम्बन्धी समस्या हालसम्म समाधान हुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै विस्थापित परिवारको उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको उनले बताइन् ।

सरकारले समितिको प्रतिवेदनका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ ।

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ। सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलका रूपमा हेरिएको छ ।

विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवद्र्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित बेग्लै मन्त्रालय गठन गरिएको छ ।

विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नीतिगत अस्पष्टता र बजेटको अपर्याप्तताका कारण दक्ष जनशक्ति उत्पादनको उचित वातावरण अभाव र प्रतिभा पलायनको समस्या हुँदै आएकामा नवप्रवर्तन मन्त्रालय गठनपछि यस क्षेत्रमा लक्षित परिणाम हासिल गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्बाट पारित सरकारको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं ९ मा ‘मन्त्रालयहरूको सङ्ख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको सङ्ख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गर्ने’ योजना समाविष्ट थियो । सोही अनुसार मन्त्रालयहरूको सङ्ख्या १८ कायम गरी बेग्लै नवप्रवर्तन मन्त्रालय बनाइएको छ ।

संयोग, बेग्लै विज्ञान तथा प्रविधि मन्त्रालय र यस क्षेत्रलाई कूल पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत रकम विनियोजनको माग उठाउँदै आएका अभियन्ता, वैज्ञानिक र स्वतन्त्र सांसद महावीर पुनले यसै मन्त्रालयको नेतृत्वमा पुग्नुभएको छ । मन्त्रीमा नियुक्त भएर गत जेठ २७ गतेदेखि बहाली गरेपछि पुनले शून्यबाट यस मन्त्रालयको कामलाई अघि बढाउने उद्घोष गर्नुभएको थियो ।

अर्थतन्त्र सुधारेर देशलाई समृद्ध कसरी बनाउने र विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित जनतालाई विस्तारै सिकाउन निरन्तर लाग्ने प्रतिबद्धता पनि व्यक्त उहाँले गर्दै आउनुभएको छ ।

प्रतिनिधिसभाको चुनावअघि साविक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भइसक्नुभएका पुनले नयाँ मन्त्रालयमा पदबहाली गरेसँगै शूून्यबाट काम थाल्नुपर्ने भएकाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विधेयक ल्याउने र मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गर्नुभएको छ । विभिन्न मन्त्रालयमा छरिएर भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारीरूपमा अगाडि बढाउने भन्नेमा मन्त्री पुनको चासो रहेको देखिन्छ ।

सिंहदरबारस्थित साविकको युवा तथा खेलकुद मन्त्रालयको कार्यकक्षमा कार्यभार सम्हालेपछि मन्त्री पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न सार्वजनिक आग्रह गर्नुभएको थियो । विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिए पनि स्रोतको सीमिततका कारण त्यसअनुसार विनियोजन हुन नसकेको बताइएको छ ।

नवगठित यस मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानुन तथा मापदण्ड निर्माण गर्ने जिम्मेवारी दिइएको छ । वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धानको कार्यक्षेत्र पनि यही मन्त्रालयअन्तर्गत रहनेछ । मन्त्रालयले विज्ञान तथा प्रविधिसम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, सर्वेक्षण तथा मापदण्ड निर्धारणको काम गर्नेछ ।

मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले आफूहरूले सङ्गठन सर्वेक्षण, वेभसाइट निर्माण, तत्काल आवश्यक जनशक्तिको व्यवस्थापन र सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन आरम्भ गरेको जानकारी दिनुभयो । नयाँ मन्त्रालय भएकाले व्यवस्थापकीय र प्रशासकीय काममा केही समय लागे पनि आफूहरूले क्रमशः क्षेत्रगत विकासका कामलाई महत्व दिने उहाँको भनाइ छ ।

विगतमा शिक्षा मन्त्रालयसँग जोडिएको विज्ञान प्रविधि क्षेत्रका कार्यहरूः पारमाणविक प्रविधि र रेडियोधर्मी पदार्थको गुणस्तर तथा उपयोगसम्बन्धी तथ्याङ्क प्रणाली स्थापना, व्यवस्थापन र नियमनको जिम्मेवारी पनि यस नयाँ मन्त्रालयलाई दिइएको छ । जैविक तथा पारमाणविक प्रविधिको उपयोग, प्रवद्र्धन, नियन्त्रण र नियमनको काम समेत यही मन्त्रालयको काँधमा पर्नेछ ।
ओजोन तह अध्ययन, सौर्य विकिरण मापन तथा सूचना प्रवाह, वैज्ञानिक उपकरणको क्यालिब्रेशन र प्रमाणीकरण, रासायनिक पदार्थको उपयोग तथा नियमनसम्बन्धी काम पनि यही मन्त्रालयको कार्यक्षेत्रमा परेको छ । सरकारले आणविक ऊर्जा र पारमाणविक पदार्थको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ । यस मन्त्रालयले पारमाणविक पदार्थ तथा बेवारिसे स्रोतहरूको खोज, पुनर्लाभ र व्यवस्थापन गर्नेछ भने आणविक ऊर्जासम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमनको जिम्मेवारी गर्नेछ ।

यस नयाँ मन्त्रालयको मातहतमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम, वेधशाला तथा विज्ञान सङ्ग्रहालयसम्बन्धी विषयहरू पर्नेछन् । यस्तै नवप्रवर्तन, प्रविधि विकास र औद्योगिक आधुनिकीकरणलाई समेत मन्त्रालयको प्रमुख प्राथमिकतामा राखिएको छ । वस्तु तथा सेवा, प्रक्रिया, प्रविधि तथा डिजाइनको विकास, सुधार र प्रयोगदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा नवीनतम अवधारणाको अध्ययन, अनुसन्धान तथा उपयोगको जिम्मेवारीका साथै विज्ञान तथा प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तररााष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय गर्ने अधिकार यस मन्त्रालयमा रहेको छ । यसअघि विज्ञान तथा प्रविधिको विषय कहिले शिक्षा मन्त्रालयअन्तर्गत, कहिले वातावरण मन्त्रालयसँग जोडिएर सञ्चालन हुँदा यस क्षेत्रले संस्थागत स्वरुप नपाएको गुनासो आएको थियो ।

विश्वमा ब्राजिल र मलेसियामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन नामको यस्तै र बेग्लै मन्त्रालय रहेको देखिन्छ भने थाइल्याण्डमा शिक्षा, विज्ञान, अनुसन्धान र नवप्रवर्तन मन्त्रालय रहेको छ । चीन, भारत, दक्षिण कोरिया, जापान, इन्डोनेसियालगायत मुलुकमा विज्ञान तथा प्रविधि मन्त्रालयहरू सञ्चालनमा रहेका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु चार अर्ब र ‘नेपाल इन्टरप्राइज फसिलिटी’का लागि रु ५० करोड विनियोजन गर्नुभएको छ । बजेटमा स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गरिने उल्लेख छ । प्लेटफर्मले उद्यम सम्वद्र्धन गतिशील व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशनसहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अघि बढाउनेछ बजेटमा भनिएको छ ।

कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइने र युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरिएको छ । खोचीय पर्यटन प्रवद्र्धन गर्न सरसफाइ आधार शिविरमा एडभेन्चर केन्द्र स्थापनाका लागि रकम विनियोजन भएको छ ।

मन्त्री पुनले मन्त्रालयको सङ्गठन सर्वेक्षण तथा व्यवस्थापनको काम सकिएको जनाउँदै अब मन्त्रालय सञ्चालनका लागि केही नभई नहुने कानुन तर्जुमाको काम सुरू भएको बताउनुभयो । उहाँले विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन, नवप्रवर्तन तथा स्टार्टअप प्रवद्र्धन ऐन, उन्नत औद्योगिक प्रविधि प्रवद्र्धन ऐन, रासायनिक पदार्थ व्यवस्थापन ऐन, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन २०४८ संशोधनकोक काम अबको पाँच महिनामा पूरा हुने अपेक्षा व्यक्त गर्नुभयो । ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ हाल संसदीय समितिमा विचारधीन रहेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्रवक्ता एवं वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेलले बेग्लै मन्त्रालय हुन आमरूपमा सकारात्मक भएको बताउँदै नाष्टजस्ता प्राज्ञिक र स्वायत्त संस्थालाई योजना तहदेखि नै सम्लग्न गराइँदा विज्ञान प्रविधिले क्षेत्रले थप लाभ लिन सक्ने बताउनुहुन्छ । “विज्ञान र प्रविधिको काम निजामतिमा जस्तो १०–५ को जागिर होइन । त्यसबाट माथि उठेर प्राज्ञिक र अनुन्धानमुखी सोच र शैलीमा जान सकिएमा नवप्रवर्तनका कामहरू हुन सक्छन् । सरकारले थप जिम्मेवारी र स्रोत, साधनमा प्राथमिकता दिएमा हामी सक्दो योगदान गर्न तत्पर छौँ । यस विषयमा मन्त्रालयसँग विस्तृत छलफल हुन पाएको छैन ।’’, प्रवक्ता डा पौडेलले भन्नुभयो । नाष्टको कुलपति पदेन प्रधानमन्त्री र सहकुलपति विज्ञानमन्त्री रहने व्यवस्था छ ।

नेपालको संविधानमा विज्ञान तथा प्रविधिलाई देशको विकाससित आबद्ध गर्दै वैज्ञानिक अध्ययन, अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने नीति व्यवस्था गरेको छ । नेपाल सरकारले ल्याएको ‘राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति, २०७६’ ले ‘दिगो विकास र समृद्धिका लागि विज्ञान तथा नव–प्रवर्तन’ को सोच र ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकको जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने’ लक्ष्य लिइएको थियो । त्यही नीतिको निरन्तरता र समयको माग सम्बोधनका क्रममा यो मन्त्रालयको गठन भएको देखिन्छ ।

वैज्ञानिक प्रा डा दिनेशराज भूजूको संयोजकत्वमा रहेको नौ सदस्यीय कार्यदलले देश विदेशका विज्ञ र सरोकार भएकासँग छलफल गरी आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि उक्त नीति सिफारिस गरेको थियो । नेपालमा २०५३ सालमा छुट्टै मन्त्रालयका रुपमा विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना भएको थियो भने २०६१ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि नीति र २०७२ सालमा राष्ट्रिय परमाणु नीति जारी गरेको थियो ।

नीतिले औद्योगिक उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषिको व्यवसायीकरण र भूमिको उपयोग, दिगो पूर्वाधार विकास (आवास, खानेपानी, पर्यटन र हरित ऊर्जा), जैविक तथा बहुमूल्य खनिज स्रोतको दिगो उपयोग, वातावरण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, सेवा प्रवाह, साइबर तथा राष्ट्रिय सुरक्षालाई वैज्ञानिक अनुसन्धानको प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । मुलुकको द्रुत आर्थिक विकास र प्रगतिशील समाजको उत्थानको सपनालाई साकार बनाउने मूल आधार नै नवप्रवर्तनसहितको प्रविधि र वैज्ञानिक दृष्टिकोण जगाउने शिक्षा पद्धतिका लागि पनि सो नीतिले योगदान दिँदै आएको छ ।

नेपालमा विज्ञान तथा प्रविधिको अनुमानित १२० भन्दा बढी संस्था र ९० हजार जनशक्ति रहेको छ भने जनशक्तिको प्रक्षेपण गरेर बजारको आवश्यकतानुसार उत्पादन र योगदान दिलाउनुपर्ने चुनौती मुलुक सामु रहेको छ ।

नेपालमा हरेक वर्ष हजारौँ युवा विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि तथा अन्य प्राविधिक विषय अध्ययन गरी स्वदेश तथा विदेशमा दक्ष जनशक्तिका रूपमा स्थापित भइरहेका छन् तर उनीहरूको ज्ञान र सीपलाई राष्ट्रिय विकाससँग जोड्ने प्रभावकारी संयन्त्रको अभाव महसुस हुँदै आएको थियो । नयाँ मन्त्रालयले अनुसन्धानमा लगानी बढाउने, नवप्रवर्तन केन्द्रहरूको विकास गर्ने तथा युवा वैज्ञानिक र उद्यमीहरूलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्दै ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्न अगुवाइ गर्ने विश्वास गरिएको छ ।

बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ । बिहीबार भएको खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । मालिक टिलम्यानले खेलको ८२औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।

यस जितसँगै अमेरिकाले अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाविरुद्धको हारसँगै बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा सकिएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६५, काउली स्थानीय प्रतिकिलो रु ७०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ४०, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ६०, चुकन्दर प्रतिकेजी रु ८०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ७० नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा विनियोजन विधेयकमा समावेश गरिएका विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट विनियोजनमाथि पनि सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।

प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ?

काठमाडौँ, १७ – संसारमा धेरैजसो देशहरु प्रजातान्त्रिक शासन प्रणालीका छन् र केही देशहरु प्रजातन्त्रबाहेकका शासन प्रणालीमा छन् । ती देशहरुमा या त एकदलीय शासन छ या त सैनिक शासन छ या त निरङ्कुश राजतन्त्र छ ।

सबै देशहरु आजभोलि आफ्नो शासन प्रणालीलाई जनताका पक्षमा रहेको दाबी गर्दछन् र त्यो नै स्वतन्त्र राज्यको विशेषता हो लोकतान्त्रिक शासन प्रणालीलाई नै नमुना र आदर्श शासन प्रणाली हो भन्छन् । यसले के स्पष्ट पार्छ भने लोकतान्त्रिक शासन प्रणालीको आवश्यकता र स्वीकारोक्ति सबैलाई छ तर आफ्ना आफ्ना स्वार्थका लागि शासकहरुले अप्रजातान्त्रिक व्यवस्था थोपर्छन् र भन्छन् यो नै व्यवस्था प्रजातान्त्रिक हो ।

भिन्न–भिन्न राजनीतिक व्यवस्था भएका देशहरुमा नागरिक शिक्षाको अर्थ र क्षेत्र पनि फरक–फरक हुनसक्छ । खुला राजनीतिक र प्रजातान्त्रिक व्यवस्था भएका देशहरुमा जुन–जुन जानकारीहरुलाई नागरिक शिक्षाको आवश्यक तत्व मानिन्छ, ती तत्वहरु निरङ्कुश शासन प्रणालीमा बर्जित गरिएको हुनसक्छ । बहुलवादी समाज र बहुदलीय व्यवस्था भएको देशमा प्रजातन्त्रका आवश्यक तत्वहरु, राजनीतिक दलहरुको अधिकार, काम कर्तव्य र विधिको शासन नागरिक शिक्षाको अङ्ग हुनसक्छ भने निरङ्कुश वा एकदलीय वा निर्दलीय शासन प्रणाली भएका देशहरुमा त्यस्तो शिक्षामाथि प्रतिबन्ध लागेको हुनसक्छ ।

प्रजातन्त्र वा लोकतन्त्र भएका देशमा नागरिक शिक्षाले स्वशासन, सुशासन र नागरिकले आधारभूत तर जान्नै पर्ने कुराहरु भनेर बुझिन्छ । नागरिकहरुले आफ्नो पहिचान थाहा पाउने र आफ्नै शासनका लागि सक्रिय रुपमा भाग लिन दिइने शिक्षा भएकाले नै नागरिक शिक्षा नाम दिइएको हो ।

प्रजातान्त्रिक बहुलवादी समाजमा प्रत्येक नागरिक सक्रिय सदस्यको रुपमा हुन्छ । प्रजातान्त्रिक समाजमा प्रत्येक नागरिक आफनो अधिकार र कर्तव्यमा सजग हुनुपर्छ । त्यस्तो सजगता सदस्यको सक्रिय सहभागिताले मात्र सम्भव छ । नागरिकको सक्रिय सहभागिताले मात्र नागरिकमा समालोचनात्मक चेत पलाएको हुन्छ । नागरिक शिक्षा भनेको नागरिकलाई दिइने त्यस्तो शिक्षा हो जसले नागरिकलाई असल बन्न सघाउँछ । यसले हरेक नागरिकलाई आपसमा मिलेर बस्न सिकाउँछ, हामी सबैलाई एउटै समाजका सदस्यहरु हौँ भनेर सिकाउँछ र विश्व नै एउटा परिवार हो भन्ने शिक्षा प्रदान गर्दछ ।

हाम्रो पूर्वीय मान्यतामा सम्पूर्ण पृथ्वीलाई नै एउटै परिवार हो भनिन्छ– वसुधैव कुटुम्बकम् । राज्य र समाजका प्रत्येक कार्यमा नागरिकको सक्रिय सहभागिताको चेतना दिन्छ । हाम्रो प्रत्येक दायित्व बहनमा आफनो व्यक्तिगत स्वार्थ झल्किनुहुँदैन । सबैको हितमा बढी ध्यान दिनुपर्छ भन्ने शिक्षा नागरिक शिक्षाले दिनुपर्छ ।

नागरिक शिक्षाले घरपरिवारमा गर्नुपर्ने कर्तव्य, समाजमा बहन गर्नुपर्ने दायित्व, सडकमा या यात्रामा गर्नुपर्ने कर्तव्य, बजारमा जाँदा पसलमा, पैसाको कारोबार गर्न बैंकमा जाँदा बैंकमा वा एटिएयम बुथमा पालना गर्नुपर्ने कर्तव्य, विद्यालय तथा क्याम्पसमा पूरा गर्नुपर्ने कर्तव्य, एकजना नागरिकले अन्य समाजका सदस्यहरुसँग गर्नुपर्ने व्यवहारको ज्ञान दिएको हुन्छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरु हुन्छन, ज्येष्ठ नागरिकहरु हुन्छन्, अशक्त व्यक्तिहरु हुन्छन्, तिनीहरुसँग गर्ने व्यवहार सभ्य र सहयोगी हुनुपर्छ । आफूभन्दा सानालाई माया गर्ने र सहयोग गर्ने बानी हुनुपर्छ ।

घरपरिवारमा आफूभन्दा मान्य, आफूसरहका र आफूभन्दा साना व्यक्तिहरु पनि हुन्छन् । सबैलाई श्रद्धाभाव राख्ने र माया गर्ने बानी बसाउनुपर्छ । देशमा भएको शासन व्यवस्थाको बारेमा जान्नुपर्छ । कुनै पनि नागरिकले मलाई प्रचलित कानुन थाहा छैन भन्न पाइँदैन । राज्यको संविधान, प्रचलित कानुन, नियम थाहा हुनुपर्छ । आफ्नो अधिकारको बारेमा पनि सचेत हुनुपर्छ । देशको राष्ट्रियताप्रति सम्मान गर्ने र देशको सुरक्षामा सदैव चनाखो हुनुपर्छ ।

त्यसैले एउटा असल नागरिक हुन नागरिकले थाहा पाउनु जरुरी छ–नागरिक शिक्षा किन आवश्यक छ ?, नागरिकका लागि प्रजातन्त्र र मानव अधिकार किन आवश्यक छ र ती किन एकअर्काका लागि अभिन्न अङ्गहरु हुन् ?, राज्यद्वारा, समाजमा र परिवारमा, विद्यालयमा, क्याम्पस वा विश्वविद्यालयहरुमा सामाजिक न्याय कसरी प्राप्त हुन्छ ? कस्तो सामाजिक न्यायको अभ्यास गरिएको छ ? भन्ने प्रश्नहरुको जवाफ पाउन सकिन्छ । त्यस्तै कानुनी राज्यको सम्मान कसरी हुनसक्छ ? विधिको शासनमा कसरी कानुनको पालना गरिन्छ ?, राज्य र सरकार कसरी सञ्चालन भइरहेका छन् ?, मुलुकको इतिहास, भूगोल र राजनीतिक विकासक्रम कस्तो रह्यो ? अहिले कुन अवस्थामा छ ?, विश्व परिवेशमा आफ्नो अवस्था कस्तो छ ?, देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था कस्तो छ ? भन्नेलगायतका प्रश्नहरुका बारेमा पनि नागरिक शिक्षाबाट जानकारी पाउन सकिन्छ ।

नागरिकको पहिलो पाठशाला घरपरिवार

कुनै पनि नागरिकको सामािजक चालचलन र जीवनका लागि आवश्यक सीप भनेर सिकाइने नागरिक शिक्षाको पहिलो पाठशाला घर परिवार हो । त्यही समानता, सद्भाव र मिलेर बस्ने शिक्षाको प्रारम्भ हुन्छ, त्यसैले जीवनको पहिलो गुरु आमालाई मानिन्छ । त्यसपछि सामाजिक व्यवहारका बारेमा किनभने समाज जीवनको अर्को पाठशाला हो ।यसलाई विद्यालय भनेर औपचारिक मान्यता दिएका छौँ, त्यो विद्यालय आफैँ जीवनको पहिलो औपचारिक पाठशाला हो जसले समाजमा के गर्नुपर्छ, कसरी सीप सिक्ने र बाँच्न सक्ने भन्ने हुन्छ । समस्यासँग जुधेर समाधान गर्दै अरुको हित गर्न सकिन्छ र आफू जीवन सहज बनाउन सकिन्छ भन्नेकुरा विभिन्न विज्ञ र अनुभवी गुरुहरुबाट जान्न सकिन्छ ।

नागरिक शिक्षाको महत्व

हरेक नयाँ पुस्ता नयाँ नागरिक भएकाले उनीहरुलाई उनीहरुको व्यक्तिगत र सार्वजनिक आवश्यकताका बारेमा जानकारी दिनु आवश्यक छ । व्यक्तिगत तथा सार्वजनिक जीवनका आवश्यक गुणहरुको सिकाइ निरन्तर प्रक्रिया हो । प्रजातन्त्र खुला तथा स्वतन्त्र समाजको परिणाम भएकाले यस्तो समाजको प्रभावकारितामा नै लोकतन्त्रका आदर्शहरु सफल हुनेछन् । यसका लागि प्रत्येक नागरिकमा लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरुप्रति स्पष्ट प्रतिबद्धता आवश्यक पर्दछ । त्यसैले हरेक नागरिकमा प्रजातन्त्रका आदर्शका वारेमा आधारभूत ज्ञान आवश्यक हुनै पर्दछ । प्रजातन्त्र शासन पद्धतिमात्र होइन, त्यो त एउटा सहनशील संस्कृति र विधिको शासन पनि हो भन्ने कुरामा जोड दिने शिक्षाको आवश्यकता पर्दछ । प्रजातान्त्रिक चेतना नभएको खुला र स्वतन्त्र समाज अराजक भीड हुनजान्छ ।

विभिन्न जाति, भाषा, धर्म र संस्कृति भएको बहुलवादी समाजमा नागरिक शिक्षाको झन बढी महत्व हुन्छ । नागरिक शिक्षाको अभावमा विभिन्न जात, वर्ग र समूहको बीचमा असहिष्णुताको वातावरण सिर्जना हुनसक्छ र जातिगत, धर्मगत र भाषागत विवादले सामाजिक विवाद र आपसमा झगडा हुनसक्छ । नागरिक शिक्षा प्राप्त नागरिकले मात्र सामूहिक हितका बारेमा जानेको हुन्छ र त्यस्ता व्यक्तिले मात्र व्यक्तिको अधिकार र समूहको अधिकार अभ्यासमा योगदान दिनसक्छ । नागरिक शिक्षाको सही जानकारीले मात्र परिवार, समुदाय, समाज, गाउँ, जिल्ला, राष्ट्र र अन्तरराष्ट्रियमा समेत सकारात्मक प्रभाव पर्छ । नागरिक शिक्षाका अङ्गहरुमा मुख्यगरी निम्न तथ्यहरु पर्दछन्ः

नागरिक ज्ञान: आफ्नो देशको भूगोल, इतिहास, संविधान, संविधानमा भएका नागरिक अधिकारहरु—आधारभूत मौलिक हकहरु—जसलाई व्यक्तिको र समूहको अधिकारको रुपमा लिइन्छ, तिनको विस्तृत जानकारी आवश्यक छ । प्रजातन्त्र, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, आर्थिक—सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारहरुका बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रावधानका बारेमा ज्ञान आवश्यक छ । अधिकारका वारेमा जानकारी राख्दा नागरिकका कर्तव्यहरु पनि सँगसँगै आउँछन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकारी आवश्यक छ । कतिपय यस्ता विषयहरु हुन्छन्, जसलाई अन्तरराष्ट्रिय क्षेत्रमा समेत मान्यता र सम्मान गरिएको हुन्छ । जस्तो कि नेपालको बारेमा जान्नैपर्ने कुराभित्र पर्दछ—संसारको सर्वोच्च शिखर नेपालको सगरमाथा, भगवान बुद्धको जन्मस्थल लुम्बिनी, संसारका हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ, माता जानकीको जन्मस्थान जनकपुर र नेपालका अन्य विश्वमा प्रख्यात विषयका सम्बन्धमा ज्ञान राख्नु आवश्यक छ । ती आफू बसेको देशका बारेमा गौरवशाली कुराहरु हुन् जसमा नागरिकले गौरव गर्नसक्छ । अरुलाई त्यसबारेमा व्याख्या गर्नसक्छ । मुलुकको शिक्षामा नागरिक शिक्षालाई एकीकृत रुपमा समाहित गर्नुपर्छ, अपरिहार्य रुपमा नागरिक शिक्षालाई नागरिक समक्ष पु¥याउनुपर्छ । यसले नागरिकलाई जानकारीसहित सचेत बनाउँछ र आफ्ना बारेमा, समाजका बारेमा, राष्ट्रका बारेमा सकारात्मक र समालोचनात्मक सोचाइको विकास गर्दै असल नागरिक बनाउन मद्दत गर्दछ ।

नागरिक सीप: त्यसबेला मात्र नागरिक आफ्ना अधिकार र कर्तव्यप्रति सचेत हुन्छ जुनबेलामा नागरिक आफैँमा निर्णय गर्ने क्षमता राख्छ । त्यसका लागि उसले आफनो परिवेशको सम्पूर्ण जानकारी पाउनुपर्छ । आफनो परिवेशका बारेमा किन यस्तो भयो र अब के हुनुपर्छ भन्ने आलोचनात्मक सोच तयार गर्नसक्ने नागरिकले मात्र ठीकलाई ठीक र बेठीकलाई बठीक भन्न सक्छ । आफनो, समाज र देशका लागि आपसमा अन्तक्र्रिया गरेर निर्णय गर्नसक्ने सीपयुक्त नागरिकको आवश्यकता पर्छ । त्यस्तो सीप नागरिकले हासिल गर्नुपर्छ । आफनो, परिवार, समाज र राष्ट्रका बारेमा एउटा नागरिकमा आलोचनात्मक सोचाइको सीप आवश्यक पर्दछ । बाँच्नका लागि आवश्यक सीपको पनि जरुरत पर्दछ । आफनो बलबुतामा बाँच्ने सीप भनेको स्वाभिमानको पक्ष हो । प्रत्येक नागरिकमा एकअर्कासँग गर्ने व्यवहार र देशको राजनीतिक व्यवस्थाका वारेमा निर्णय लिनसक्ने क्षमता हुनुपर्छ । निर्वाचनमा कसलाई मत दिए आफ्नो देशको र समाजको हित हुन्छ भन्ने निर्णय गर्नसक्ने क्षमता पनि नागरिकको सीप हो ।

नागरिक दायित्व : अधिकारसँगै कर्तव्यको पनि प्रसङ्ग स्वतः आउँछ । अधिकार भनेको नागरिक भएबापत राज्यबाट पाउने विशेष सुविधा हो । त्यस्तो सुविधा प्राप्त गर्न नागरिक कर्तव्य पूरा गरेको हुनुपर्छ । जस्तो कि कर तिर्नेले मात्र राज्यको सामाजिक सुरक्षाको सुविधा पाएको हुन्छ । बिमाको रकम तिर्नेले मात्र बिमाको सुविधा पाएको हुन्छ । पानीको, बिजुलीको, फोनको कर तिर्नेलाई मात्र ती चिजहरुको उपयोग गर्न पाउने हक हुन्छ । प्राप्त अधिकारले जुन परिणाम दिएको हुन्छ, त्यसको कार्यान्वयनमा नागरिकको कर्तव्यको सकारात्मक प्रयोगको आवश्यकता हुन्छ । व्यक्तिगत तथा सामूहिक जीवन पद्धतिका साथै मानव मर्यादाको सम्मान गर्ने, नागरिकका गतिविधिहरुमा अर्थपूर्ण र प्रभावकारी तरिकाले सहभागी हुने, प्रजातन्त्रको स्वस्थ विकास गर्ने, जैविक, सामाजिक, वातावरणीय, सांस्कृतिक, भाषिक तथा धार्मिक बहुलताको सम्मान गर्ने आदि दायित्व नागरिकमा रहेको हुन्छ । नागरिक शिक्षामा नागरिक दायित्व वा कर्तव्यलाई नागरिक शिक्षाको एउटा प्रमुख अ¬ङ्गको रुपमा लिइन्छ ।

चरित्र निर्माणः चरित्र निर्माण गर्नु नागरिक शिक्षाको प्रमुख कर्तव्य हो । असल नागरिकले मात्र प्रजातान्त्रिक व्यवस्थालाई सहज तरिकाले अभ्यास गर्नसक्छ । नागरिकलाई चरित्रवान बनाउने शिक्षा नै भएकाले चरित्र निर्माण एउटा अङ्गको रुपमा मानिन्छ । अनुशासित र सचेत नागरिकले मात्र आफनो, परिवारको, समाजको र राष्ट्रको विकास गर्नसक्छ । असल चरित्र भएको नागरिकले मात्र समाजलाई डो¥याउन सक्छ । त्यसैले असल चरित्र निर्माणका लागि नागरिक शिक्षाको आवश्यकता परेको हो । चरित्र निर्माणले नागरिक कर्तव्य पूरा गर्नका लागि नागरिकलाई उत्प्रेरित गर्छ । असल चरित्र भनेको सत्यप्रतिको सम्मान हो । आफूप्रति, परिवारप्रति, समाजप्रति र आफनो परिवेशप्रतिको सकारात्मक सोचाइ निर्माण गर्नु नै चरित्र निर्माण हो । सबै मानवप्रति समान व्यवहार गर्ने क्षमता विकास गर्नु नै चरित्र निर्माण हो । असल चरित्र बिनाको मानिस त समाजका लागि काम नलाग्ने वस्तुजस्तै हुन्छ ।

नागरिक कर्तव्य

एउटा नागरिकले आफू उत्पादनशील भएर राज्यलाई योगदान दिनसक्छ । नागरिक नै त हो उत्पादनशील, उद्यमशील, व्यवसायी हुने, उद्योगपति हुने, श्रमिक भएर उत्पादन गर्न सहयोग गर्ने, कलाकार हुने, साहित्यकार हुन, शिक्षक, प्राध्यापक, प्रहरी, सेना, निजामती सेवाका कर्मचारी, चिकित्सक, इन्जिनियर, सेवाप्रदायक तथा कृषक भएर सबैको सेवा गर्ने । अरुको दुःखमा दुःख नै सम्झेर सबैको सेवा गर्नु र आफूले जानेको कुरा अरुलाई सिकाएर असल नागरिकको कर्तव्य पूरा गर्न सकिन्छ । यसरी सकारात्मक सोच र सहयोगले पनि राज्यलाई योगदान पुग्नसक्छ । प्रजातान्त्रिक समाजमा प्रत्येक नागरिकले आफना कर्तव्यहरु पूरा गर्नुपर्छ । हामीले स्थानीय, प्रादेशिक तथा सङ्घीय व्यवस्थापिकाका लागि आफना प्रतिनिधि निर्वाचित गर्छौं । तिनीहरुले कानुन बनाउँछन । हामीले ती कानुनहरुका बारेमा जान्नैपर्छ । ती कानुनको के असर पर्छ भन्ने जान्नैपर्छ र ती कानुनहरु मान्नुुपर्छ । पदमा रहेकाहरुको कामको र उत्तरदायित्वको आधारमा आदर र सम्मान गर्नुपर्छ । सरकारलाई कर तिर्ने दिन तोकिएको छ भने त्यो बेलासम्म कर चुक्ता गर्नुपर्छ किनभने त्यही कर जम्मा भएर मुलुकको ढुकुटी बन्छ जसबाट जनताका आवश्यकताका लागि खर्च गरिन्छ । मौलिहकहरु अभ्यासका लागि आवश्यक रकम त्यहीँबाट खर्च गर्नुपर्छ किनभने सामाजिक न्यायका लागि समान व्यवहार गर्न पनि सरकारसंग आम्दानी हुनैपर्छ, त्यो आम्दानीको स्रोत भनेको भन्सार कर, आय कर, घरजग्गा कर र मालपोत नै हो ।

देशको संविधान र कानुनको बारेमा जानकारी राख्नैपर्छ किनभने मलाई कानुन थाहा छैन भनेर कानुनले छुट दिँदैन । प्रजातान्त्रिक प्रक्रिया, उदार समाज र समुदायको हितका विषयमा जानकारी राख्नुपर्छ । आफ्नो स्थानीय समुदायका काममा सहभागी हुनुपर्छ । देशको पक्षमा अडिग भएर लाग्नुपर्छ । देशद्रोह ठूलो अपराध हो, आफ्नो देशप्रेम र राष्ट्रियताप्रति सधैँ गर्व गर्नुपर्छ । एउटा देशद्रोही दुईपटक मर्छ, एकपटक देशप्रति गद्दारी गरेको दिन अनि अर्कोपटक साँच्चै काल आएको दिन । ‘जननी जन्मभूमिश्चः स्वर्गदपि गरीयसी’ अर्थात् जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन्, महत्वपूर्ण हुन्छन् र श्रद्धेय हुन्छन् ।

एउटा नागरिक र राज्यका बीचमा कसिएको सम्बन्ध भनेकै राष्ट्रप्रेम हो, राष्ट्रियता हो र राष्ट्रको माया हो । राष्ट्र भनेको भौगोलिक सीमा भएको विभिन्न संस्कृति, जातजाति र भाषाको संगम स्थल हो । यो सार्वभौमसत्ता सम्पन्न हुन्छ, यसमा जनताले चुनेको सरकार हुन्छ, यो आफ्नो भोगचलन गरिएको भूमिलाई आफ्नै देश भनेर आवागमन गर्न स्वतन्त्र हुन्छ र खासमा त्यहाँ जनता हुन्छन् । त्यसैले आधुनिक परिभाषामा राष्ट्र वास्तवमा भूमिसहितको जनता हो । भूमि मात्रले राष्ट्रको अर्थलाई सङ्कुचित बनाउँछ । उपयुक्त तथ्यहरु र तर्कहरुले नागरिक शिक्षा विद्यालयदेखि विश्वविद्यालयहरुसम्म पनि एकीकृत शिक्षाको रुपमा दिनु नै राज्यको कर्तव्य हो र ती शिक्षालाई ग्रहण गरी अभ्यासमा ल्याउनु नै नागरिक कर्तव्य हो ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबर बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ ।

यस्तै, अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा। पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०/ ८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो । यसमध्ये एक हजार २९१ दशमलव ९५ मेट्रिक टन खपत भएको उहाँले बताउनुभयो ।

सोही वर्ष ६०० मेट्रिक टन डिएपी माग गरिएकामा ६३७ दशमलव ७० मेट्रिक टन खपत भएको उहाँको भनाई छ । पोटास १२५ मेट्रिक टन माग गरिएकामा ९२ दशमलव ६५ मेट्रिक टन खपत भएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा पनि युरियाको माग दुई हजार मेट्रिक टन नै रहे पनि खपत घटेर एक हजार १८६ मेट्रिक टनमा सीमित भएको तथ्याङ्कले देखाएको छ । डिएपीको माग ६०० मेट्रिक टन रहेकामा ६३७ मेट्रिक टन खपत भएको थियो भने पोटास १५० मेट्रिक टन माग गरिएकामा ९२ मेट्रिक टन मात्र खपत भएको थियो ।

चालु आव २०८२/८३ मा भने डिएपीको माग उल्लेखनीय रूपमा बढेर एक हजार मेट्रिक टन पुगेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा हालसम्म ५७१ मेट्रिक टन मात्रै प्राप्त भएको छ भने ४३६ मेट्रिक टन खपत भइसकेको छ ।

यसैगरी चालु आवमा युरियाको माग एक हजार ५०० मेट्रिक टन गरिएको थियो । त्यसमध्ये एक हजार २८८ मेट्रिक टन प्राप्त भएको र एक हजार २६० मेट्रिक टन खपत भइसकेको शाखाले जनाएको छ । पोटास १५० मेट्रिक टन माग गरिएकामा ११० मेट्रिक टन प्राप्त भएको र ८३ मेट्रिक टन खपत भएको छ । धान रोपाइँको सुरुआती चरणमा प्रयोग हुने भएकाले पछिल्ला वर्षहरूमा डिएपी मलप्रति किसानको आकर्षण बढ्दै गएको शाखा प्रबन्धक पाण्डेले बताउनुभयो ।

युरियाको प्रयोग भने बालीको वृद्धि चरणमा हुने भएकाले यसको माग र खपत फरक समयमा हुने गरेको उहाँको भनाइ छ । सन्तुलित मल प्रयोगबारे किसानमा चेतना बढ्दै जाँदा युरियाको अत्यधिक प्रयोग पनि घट्दै गएको पाण्डेले बताउनुभयो ।

यहाँ हरियो मल विशेष गरी माँडी फाँटमा प्रयोग बढी भएका कारण अन्यत्रजस्तो धान बालीमा युरिया मलको प्रयोग कम हुने गरेको छ । परापूर्वकालदेखि नै यहाँ ढैंचा छर्ने गर्दछन् । यसले माटो हलुवा मात्र होइन उत्पादन बढाउने भएका कारण आफ्नो क्षेत्रमा युरिया मलको प्रयोग धान बालीमा नगर्ने गरेको रुप्सेका किसान छवि थापा बताउनुहुन्छ ।जिल्लामा रहेका दश स्थानीय तहमा सूचीकृत सहकारी संस्थाहरुले स्थानीय तहकै सिफारिसमा कम्पनीको कार्यालयबाट मल लैजान र किसानहरुलाई बिक्री वितरण गर्दै आएका छन् ।

पोखरा महानगरको ७ अर्ब १५ करोड २५ लाख बजेट पारित

कास्की। पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ ।
नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गर्नुभएको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो ।

महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख, समानिकरण अनुदान रु ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु तीन अर्ब १८ करोड ६० लाख रहेको छ ।

यसैगरी गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ रु ६० लाख, विशेष अनुदान रु ४० लाख र समानिकरण अनुदान तर्फ रु आठ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु नौ करोड १५ लाख ३६ हजार रहेको छ ।

राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने रु ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँट गण्डकी प्रदेश सरकारबाट रु चार करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँट स्थानीय सरकारतर्फ रु एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुनेछ । कूल विनियोजनमा चालु खर्चतर्फ ५५.१५ तथा पुँजीगत खर्चतर्फ ४४.९५ रहेको छ ।

नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक ले खा समितिको प्रतिवेदन सहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरसभासदस्यहरु प्रति आभार व्यक्त गर्नुभयो ।

फिफा विश्वकप : सेनेगललाई ३–२ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको छ ।सिएटलमा भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदैं बेल्जियम फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। युरी टिलेमान्सले बेल्जियमका लागि खेलको ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याएका थिए भने १२०.५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।

खेलको २४औं मिनेटमा हाबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि ५१औं मिनेटमा इस्माइला सारले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए ।बेल्जियमले जुलाई ६ मा सिएटलमै हुने अन्तिम १६ को खेलमा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ ।

सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा

काठमाडौँ: अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको विश्वासमा समेत बढोत्तरी भएको छ ।

दुई तिहाई जनमत प्राप्त सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको छ । निजी क्षेत्रको माग अनुसार नै एक दर्जनभन्दा बढी पुराना र अव्यवहारिक कानुनको खारेजी प्रक्रिया अगाडि बढाएको छ । अव्यवहारिक र अनावश्यक कार्यालयलाई खारेज गर्ने तथा कर कानुनमा सुधार गर्ने जस्ता कामका कारण थप विश्वास वृद्धि भएको छ ।

गत चैत १३ गते अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको आर्थिक पुनरुत्थान र सुशासनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले निजी क्षेत्र र आम नागरिकलाई समस्यामा पार्ने १५ वटा पुराना कानुन खारेज गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गर्नुभएको थियो ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदन र विभिन्न व्यापारिक सङ्गठनका सिफारिसका आधारमा सो निर्णय गरिएको उहाँको भनाइ थियो । पदभारको दिन व्यक्त गर्नुभएको मार्गदर्शनका आधारमा नै अर्थ मन्त्रालयले आफ्ना गतिविधिलाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।

१०० खर्बको अर्थतन्त्रको सपना

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले यसबीचमा सबैभन्दा जोड दिएको महत्वपूर्ण विषय हो, रु १०० खर्ब बराबरको अर्थतन्त्र । यसलाई अर्थमन्त्री डा वाग्लेले पनि प्राथमिकतामा राख्नुभएको छ । मुलुकको आर्थिक उन्नयनका लागि अर्थतन्त्रको आकारमा उल्लेख्य वृद्धि गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । गत फागन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको वाचापत्रमा समेत सो विषय उल्लेख थियो ।

ऊर्जा उत्पादन, पर्यटन, आइसिटी, कृषि, पूर्वाधार र संस्थागत सुधार गरेर अर्थतन्त्रको आकारमा बढोत्तरी गर्ने र त्यसका लागि मिसन मोडमा काम सुरु भएको अर्थमन्त्रीले पटक पटक दोहोर्याउँदै आउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटलाई पनि सोही अनुरुप नै केन्द्रीत गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रमा अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलरभन्दा माथि पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको थियो । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमा सोही नीतिलाई अभिव्यक्त गरेको छ ।

बाचापत्रमा स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने लक्ष्य राखेको छ । नेपाल ‘विश्व बैंकको मापदण्ड’ अनुसार नेपाल निम्न आय भएको मुलुकमा छ । आगामी ५ वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउने लक्ष्य राखिएको छ ।

सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ । सरकारी सेवामा ‘लाइन होइन अनलाइन’ भन्ने अवधारणा लागू गरिएको छ । मेरिटोक्रेसी कार्यान्वयन गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धतालाई व्यवहारिक रुप दिइएको छ । आर्थिक फड्को मार्न बाधक मानिएका दर्जनौं ऐन र नियमावलीहरू एकैपटक खारेज गरेर निजी क्षेत्रलाई लगानीको वातावरण तय गरिएको छ ।

आगामी आवको बजेटमा सरकारले पाँच प्राथमिकता तय गरेको छ । सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान । तेस्रो, मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिट । यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो । यसलाई बजेटमा निदृष्ट गरिएको छ । राजनीतिक स्थायित्व प्राप्त भएकाले इमानदारीपूर्वक देश अघि बढाउँदा देशले आर्थिक उन्नयनको दिशामा मार्ग प्रशस्त गर्छ भन्ने विश्वास सरकारको छ ।

मध्यपूर्वको युद्धका कारण रेमिट्यान्स, पेट्रोलियम पदार्थको मूल्य र रासायनिक मल लगायतमा पर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन असरको विश्लेषण गरी सम्बोधन गरिएको छ । शनिबार र आइतबारको सार्वजनिक विदा सोही प्रयोजनका लागि दिइएको छ । आन्तरिक रूपमा रहेको आर्थिक शिथिलता, बेरोजगारी र सुस्त आर्थिक वृद्धिलाई सम्बोधन गरिएको छ । राजस्व सङ्कलन र खर्चमा देखिएको ‘खडेरी’ तथा बैंकमा निक्षेप बढ्दा पनि निजी क्षेत्रले ऋण लिन नसकेको अवस्थालाई क्रमशः सुधारको दिशामा अगाडि बढाइएको छ ।

बजेट निर्माणमा नागरिक सहभागिता

सरकारले बजेट निर्माणमा नागरिकलाई प्रत्यक्ष सहभागिता गराउने उद्देश्यका साथ यस पटक सुझाव संकलन गर्न पोर्टल सञ्चालनमा ल्यायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो ।

सो पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव दिए । सो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगियो ।

अर्थमन्त्रीको ‘मिसन’ मोड

अर्थमन्त्री डा वाग्लेले ‘मिसन मोड’ कामलाई प्रमुख प्राथमिकता दिने अर्थमा अगाडि सार्नुभएको छ । भाषणभन्दा पनि परिणामलाई केन्द्रमा राखेर तोकिएको समयसीमाभित्रै आर्थिक लक्ष्य हासिल गर्न राज्य सञ्चालनको कार्यशैलीमा परिवर्तन गरिएको छ । परम्परागत प्रवृत्तिलाई तोडिएको छ । डिजिटल ट्रयाकिङ, प्रत्यक्ष अनुगमन, र कडा कानुनी सुधार गरिएको छ । यसको मुख्य विशेषतामा परिणाममुखी कार्यशैली रहेको छ ।

भाषण वा सतही योजनामा सीमित नभई नतिजा निकाल्न अभिप्रेरित गरिएको छ । समयसीमा र कार्यसम्पादन सूचकांकको प्रयोग गरिएको छ । डिजिटल अनुगमनमार्फत आयोजना र नीति कार्यान्वयनको अवस्था कहाँ पुग्यो भनी प्रत्यक्ष ट्रयाक गर्ने व्यवस्था गरिएको छ । कानुनी तथा संस्थागत सुधारमार्फत निजी क्षेत्रको मनोबल उकास्न र लगानी आकर्षित गर्न नीतिगत अड्चन हटाइएको छ ।

संस्थागत उत्तरदायित्व कायम गरिएको छ । खर्च नियन्त्रण र गुणस्तर कायम गरिएको छ । अनावश्यक प्रशासनिक खर्च कटौती गर्ने, खुद्रा योजनाहरू क्रमशः बन्द गर्ने र खुला प्रतिस्पर्धामार्फत मात्र योजना कार्यान्वयन गर्ने प्रणालीको आत्मसात् गरिएको छ । विप्रेषण र आयातमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित बनाउने लक्ष्य राखिएको छ ।

अर्थतन्त्रमा यसको प्रभाव र निजी क्षेत्रको अपेक्षा अनुसार क्रमशः विश्वासको वातावरण बन्दै गएको छ । विगतमा खस्केको व्यावसायिक मनोबल उकास्न र बजारमा रोकिएको माग सिर्जना गर्न कर कटौती र नीतिगत सहजता कायम गरिएको छ । कृषि, ऊर्जा, पूर्वाधार विस्तार र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई चलायमान गराउने प्रयास गरिएको छ ।

पेन्सनमा राहत

अर्थमन्त्रालयले यसबीचमा गरेको अर्को महत्वपूर्ण काम हो पेन्सनकर्ताले पाउँदै आएको अनावश्यक झन्झट । साढे तीन लाख पेन्सनकर्ताको झन्झट,अन्त्य गरेर ई पेन्सन प्रमाणिकरण प्रणाली सुरु गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात भएको छ । दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैँक छनोटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैंक कमिसन पनि शून्यमा झरेको छ ।

निवृत्तभरक भौतिक रुपमा उपस्थित हुन नपर्ने र घरैबाट सेवा प्राप्त गने व्यवस्था कार्यान्वयनमा आएको छ । भुक्तानी गर्नुपर्ने बैँक कमिसनको भार वार्षिक सरदर रु १५ करोडले घट्नेछ । नगद प्रवाह अनुमानयोग्य भई भई ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सहज भएको छ । पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटी कम भएको छ । यो योजनामा पर्ने तीन लाख ५२ हजार ८१६ (निष्क्रिय ४४ हजार समेत) निवृत्तभरकको हैरानी समाप्त भएको छ । अनलाइनमा घरैबाट यो सेवा प्राप्त भएको छ ।

कर्मचारीलाई १५ दिनमा तलब

यस्तै, सरकारले गत वैशाख १६ गतेदेखि संघीय निजामती कर्मचारीलाई हरेक १५ दिनमा पारिश्रमिक उपलब्ध गराउन थालेको छ । अर्थ मन्त्रालयले पाइलट परियोजनाका रूपमा अघि सारेको यो नयाँ कार्यान्वयन गरिएको छ ।

अर्थमन्त्री वाग्लेले महालेखा नियन्त्रक कार्यालयको कम्प्युटरराइज्ड गभर्मेन्ट एकाउन्टिङ सिस्टम मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो प्रक्रियाको थालनी गर्नुभएको थियो । बजारलाई थप चलायमान बनाउन र उपभोग तथा मागमा वृद्धि ल्याउन सरकारले त्यस्तो नवीन निर्णय गरेको सरकारको प्रष्टोक्ति थियो ।

संघीय निजामती कर्मचारीमा लागू गरिएको र विस्तारै सबै सरकारी वेतनधारीमा विस्तार गर्ने सरकारको योजना छ । अर्धमासिक रूपमा पारिश्रमिक भुक्तानी गर्दा बजारमा नियमित माग सिर्जना हुने, साना व्यवसायीहरूको नगद प्रवाहमा वृद्धि हुने र उपभोग खर्चको वितरण समान रूपमा फैलिने अपेक्षा छ ।

सो व्यवस्थाले सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने र डिजिटल अर्थतन्त्रको विकासमा समेत मद्दत पुग्ने छ । सो व्यवस्थाले कर्मचारीको वित्तीय व्यवस्थापनमा सहजता ल्याउने र समग्र आर्थिक गतिविधिमा गुणात्मक सुधार आउने छ ।

वार्षिक रु २० करोड भन्दा वढीको कारोवार गर्ने करदातालाई केन्द्रिय बिजक अनुगमन प्रणालीमा आवद्ध गर्ने गरी आन्तरिक राजस्व विभागले थप प्रभावकारी काम अगााडि बढाएको छ । यसबाट राजस्व प्रणालीलाई पारदर्शी डिजिटल तथा प्रभावकारी बनाउन बल मिलेको छ । कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउन सरकारले आवश्यक काम गरिरहेको छ ।

मध्यमवर्ग विस्तार गर्ने बजेट

अर्थमन्त्री वाग्लेले मध्यमवर्गको विस्तार गर्ने, कमजोर वर्गलाई माथि उठाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब १४ अर्ब बराबरको बजेट प्रस्तुत गर्नुभयो । कर्णाली, सुदूरपश्चिम प्रदेशलाई बजेटमा विशेष प्राथमिकतामा राखिएको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड,पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड ,वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड बराबर विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु १४ खर्ब ०५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड बेहोर्दा रु ६ खर्ब ५७ अर्ब २९ करोड न्यून हुन जान्छ । सो पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब ४७ अर्ब २८ करोड परिचालन गरिनेछ । राजस्व र वैदेशिक सहायता परिचालनबाट पनि न्यून हुने रु चार खर्ब १० अर्ब बराबरको रकम भने आन्तरिक ऋणबाट उठाइनेछ ।

बजेटमा घोषणा गरिएका नीतिगत सुधारका कार्यक्रमबाट ७ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अर्थमन्त्रीको विश्वास छ । यस्तै, मुद्रास्फीति ६ प्रतिशतभित्र सीमित रहनेछ । उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी करका दरमा पुनरवलोकन गरिएको छ । आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाखसम्म एक प्रतिशत मात्रै कर तिर्ने व्यवस्था बजेटमा गरिएको छ ।

व्यक्तिगत आयको करको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको छ । बजेटले पूर्वाधार विस्तारलाई जोड दिएको छ । ऊर्जा, सडक पूर्वाधारको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि नीतिगत सुधारमा जोड दिइएको छ ।

अर्थतन्त्र सबल

चालु आर्थिक बर्षको १० महिनासम्ममा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण पठाएका छन् । गत बैशाख महिनामा मात्रै रु दुई खर्ब ५७ अर्ब ४९ करोड विप्रेषण आप्रवाह भएको छ । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ ।

यस्तै, गत वैशाख मसान्तमा रु कूल वैदेशिक मुद्राको सञ्चिती रु ३७ खर्ब चार अर्ब ५५ करोड बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २४ अर्ब १९ करोड पुगेको छ । गत वैशाख मसान्तसम्म चालु खाता रु ७२९ अर्ब २८ करोडले बचतमा छ । यस्तै, शोधनान्तर स्थिति रु ८६३ अर्ब ५६ करोडले बचतमा रहेको छ ।

इन्धन सुविधामा कटौती

सुधारको क्रममा अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गर्यो । अर्थमन्त्री डा वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न त्यस्तो निर्णय गरिएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं ४९ मा रहेका इन्धनसम्बन्धी व्यवस्थाहरू संशोधन गरेको थियो ।

उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले ७० लिटर मात्रै पाएका छन् । कूल १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीले ५० लिटर पाएका छन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानुन अनुसार नै इन्धन सुविधा उपलब्ध छ ।

शासकीय सुधार

सरकारको शासकीय सुधारको १०० कार्यसूचीमध्ये अर्थ मन्त्रालयबाट आर्थिक पक्षसँग सम्बन्धित विषयहरूको कार्यान्वयन कार्ययोजना तयार गरी सम्बन्धित निकाय÷महाशाखालाई जिम्मेवारी तोकिएको छ । सरकारको शासकीय सुधारको १०० कार्यसूचीमध्येको बुँदा नं. ९४ मा समावेश भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई सशक्तीकरण गर्नको लागि माग गरिएको बजेट निकासा गरियो ।

अर्थमन्त्री डा वाग्लेका अनुसार, बहु–च्यानल गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी वनाउँदै गुनासो सुनुवाई एवम् व्यवस्थापन गर्न क्यूआर कोडसहितको डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको छ । अवधिमा महालेखा नियन्त्रक कार्यालयको पाँच वर्षे रणनीतिक योजना, २०८२ स्वीकृत भई लागू भएको छ ।
राजस्व प्रशासन तथा भन्सार सहजीकरण

पश्चिम एसियामा उत्पन्न भएको तनावका कारण पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल) आपूर्तिमा अवरोध एवं विश्व वजारमा मूल्यवृद्धि भएको परिप्रेक्षमा जनतामा सोको भार कम गर्न पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिइयो ।
शासकीय सुधार सम्बन्धी १०० कार्यसूची मध्येको बुँदा ९६ अनुरूप भन्सार विन्दुमा जफथ भएका सवारी साधनमध्ये छ सय ५१ वटा मोटरसाइकल र ४१ वटा चार पाङ्ग्रे सवारी साधन सुरक्षा निकायको लागि उपलब्ध गराउने निर्णय गरियो । ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय लगायत ४७ कार्यालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृतलाई अन्तःशुल्क ऐन, २०५८ अनुसारको जिम्मेवारी र अधिकार क्षेत्रसहित अन्तःशुल्क अधिकृत तोकियो ।

आर्थिक कूटनीति र लगानी प्रवद्र्धन

सघन आर्थिक कूटनीतिलाई पनि अर्थमन्त्रालयले प्रभावकारी रुपमा अगाडि बढायो । नेपालमा वैदेशिक लगानी भित्र्याउने सम्बन्धमा निजी क्षेत्र एवं प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिसँग नेपालमा लगानी सुरक्षाको प्रतिबद्धता सहित नेपालमा लगानी भित्र्याउनका लागि पहल थालिएको छ ।
संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्‍द्वारा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित विकासका लागि वित्त सम्बन्धी मन्त्रीस्तरीय सत्रमा प्रमुख वक्ताका रूपमा एवं हार्वड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित “द नेपाल डिस्कोर्स” मा अर्थमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि २ अर्ब ८५ करोड जापानी येन अनुदान सहायता सम्वन्धी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरियो । लगानी बोर्ड अनुगमन तथा सहजिकरण बैठकमा बोर्ड अन्तर्गतका आयोजनाको कार्यान्वयन सन्दर्भमा वन तथा वातावरण सम्बन्धी विषयमा देखिएको समस्या समाधानको लागि आवश्यक सुझाव प्राप्त भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुर्नसंरचनाका लागि सुझाव पेश गर्न गठित समितिको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ बाट प्रतिवेदन प्राप्त भई कार्यान्वयनमा गएको छ ।

आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र मधेश, प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।‌

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा र मधेश प्रदेश र कोशी प्रदेश तराईको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

 

कोशी र कर्णाली प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

काठमाडौँ, १८ असार : इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।

डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो ।

खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरुलाई सम्झाईबुझाई गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो ।

सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको सो कार्यालयका कम्प्युटर इन्जिनियर बोधराज बरालद्वारा जारी परिपत्रमा उल्लेख छ ।

मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराइएको छ ।

छैटौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक

काठमाडौं । छैटौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको छैटौं संस्करणको अवार्डका लागि आवेदन आह्वान गरिएको थियो ।

यस संस्करणको अवार्ड आगामी साउन ३ गते (१९ जुलाई)मा सिक्किमको याङयाङमा विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट साधकलाई दीर्घ साधना सम्मान अर्पण गरिने, गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । दीर्घ साधना र अन्य सम्मानको घोषणा पनि छिट्टै गरिने अध्यक्ष सुवदीले बताउनुभयो । यस्तै, बालप्रतिभालाई राजिङ्ग स्टार अवार्ड पनि प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।

यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा र वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो ।

उत्कृष्ट गीतकार (आधुनिक)
प्रकाश सुवेदी – नआइदे याद
डिपी खनाल – बुझे हुन्छ कुरा
एसके बम्जन – जहाँ जहाँ तिमी
डाक्टर बिलोल पोखरेल – चिरा चिरा भो
नारायण नेपाल – वरको छायाँले
वावुराम श्रेष्ठ – खोज्दानी आफूलाई भेटाउन सकिन

उत्कृष्ट सङ्गीतकार (आधुनिक)
कमल अधिकारी – त्यो मिठो पल
राजकुमार बगर – तिम्रो साथमा
दीपक शर्मा – परेली परेली
हरि लम्साल – जेल पनि सहुला-२
सिडी विजय अधिकारी – चाहेर हुँदैन माया

उत्कृष्ट गायक (आधुनिक)
रोशन टमट्टा – मेरो मुटु जल्यो
सुरज श्रेष्ठ – माया प्यारो भो
झलक विवश – जमाना खराब छ
सुरेश लामा – त्यो मिठो पल
सौगातजंग थापा – मायाजाल मोहनी

उत्कृष्ट आधुनिक गीत गायिका
निता आचार्य – ताते ताते गर्दै
समिक्षा अधिकारी – चाहेर हुँदैन माया
सारिका घिमिरे – गुन भुल्यौ
पवित्रा गुरुङ – फाटेको मन
बविता भट्टराई – बन्द गर्‍यौ तिमीले

उत्कृष्ट नव मोडल
कुन्दन गुप्ता – वनमारा
मोहित वि.क. – कसम तिम्रो कसम
अपेक्षा सिं – मुइयालाई देखेसी
आरती बुढा – काठमाडौं वस्याकी
गीता पन्थी – मिठा मिठा मनका कुरा

उत्कृष्ट मोडल महिला (आधुनिक)
सुनिसा बजगाईं – मेरो करिम
सृष्टि खड्का – परदेश
झरना रिसाल – छेउमा न आउ कान्छि तिमी
कविता न्यौपने – चाहेर हुँदैन माया
पूजा ठाकुर – जानु त पर्छ एक दिन

उत्कृष्ट मोडल (पुरुष)
विनोद श्रेष्ठ – शोकाकुल
सञ्जित भण्डरी – खडकाजीकी छोरी
राजन आले – मलाई नरुवाउ
वीरेन्द्र नौभाग्ये – कास्की तिरै घर छ
मुकेश गुरुङ – परान

उत्कृष्ट मोडल लोक/पप (महिला)
अस्मिता जुरली – जुन छेउमा के हो र तारा
उषा सुवेदी – म त तिम्रो होइन मायालु
रिना थापा मगर – जाले रुमाल
गीता ढुंगाना – एकै वित्ताको दुरी
अस्मिता पुरी – साइलो रन भूलमा छ

उत्कृष्ट युगल गायन
निशान भट्टराई/एलिना चौहान – जुनै झार्छु
षडस सम्वाहाम्फे/रचना रिमाल – सिन्की अचार
अञ्जु पन्त/शिव शंगम राई – एक्लो परानी
रन्जन राई/अनु चौधरी – तिमी मेरो प्राण हौ
तारावीर पाण्डे/मिलन नेवा – कस्तो फेशन

उत्कृष्ट सङ्गीतकार (लोकपप)
शंकर थापा स्माइल – वुझे हुन्छ कुरा
राजेन्द्र बजगाईं – खड्काजीकी छोरी
भीम विसी – पाउजुको छम छम
उमेश मुस्कान – यति ठूलो संसारमै
सुरेश राना – माया गर्ने जोडी

उत्कृष्ट लोकपप गायन (पुरुष)
छविन गुरुङ – मेरो प्यारो सिक्किम
प्रकाशजंग कार्की – हेर्दा हेर्दै
वादल थापा – माया गर्ने जोडी
योगश काजी – गागरी
मुकेश कटुवाल – थाह छ मलाई

लोकपप गायन (महिला)
मञ्जु लावती – लेकैमा फूलने लालि गुरास
सज्जा चौलागाईं – खडकाजीकी छोरी
रेशमा पुन – मायाका गीत
रोजिना वस्नेत – माया गर्ने जोडी
एलिना चौहान – दोषी हैन

उत्कृष्ट छायाकार
अजय रेग्मी – नआइदे याद
रुपेश थापा – नाच भाइ नाच
दीपक गिरी – चाहेर हुँदैन माया
महेश महरा – सम्झिन्छु तिमीलाई पनि
उत्सव दाहाल – तिमी मेरो प्राण हौ

उत्कृष्ट निर्देशक
जनक सिं – चाहेर हुँदैन माया
पूजा ठकुरी – मेरो कोही छ
प्रविण थापा – म त तिम्रो हैन मायालु
महेश्वर सम्वाहाम्फे – जुनै झार्छ
कृष्ण रुपाखेती – ह्दयकी रानी

उत्कृष्ट सम्पादक
अमृत चापागाईं – परदेश
विनोद बम – मायालुको सिउदो
मनोज कार्की – माया मोह
विकाश दाहाल – ऐना जस्तो हिमाल हेर्दा
कल्पेश विश्वकर्मा – पहिलो हाँसो पहिलो बोल

उत्कृष्ट कोरियोग्राफर
पुनम श्रेष्ठ – राधिका
पवित्रा आचार्य – कम्मर झुकेझुला
सियोन श्रेष्ठ – सिक्का नोटैमा
रोशन वि.क. – नाच नाच भाइ
सन्दीप भुजेल – लालुपाते फूल टिपेर

उत्कृष्ट भाषाभाषी
सुनिल नेपाली – देउडा (गायन) पिरिमका खेल
ईश्वर मगिया – नेवारी (गायन) छ तिसे नितोपना
सेरु बराइली – पूर्वेली (रचना) उडी जाने शास
मञ्जु थापा – पूर्वेली (गायन) लेकैमा फुल्ने लालीमा
प्रमोद डिजी – देउडा (गायन) रुप्स्या पातली

उत्कृष्ट लोकदोहोरी गायक/गायिका
इव्सल सन्ज्याल – इति माया
जानुका तामाङ – आँखा लाएको
मिठाराम खत्री – ललितपुरे दाइ
करुणा राई – परदेशीको दुखी जीवन
सुरज केसी – गलवन्दीको छेउ
विनोद दनुवार – उडीमा जाने सास

उत्कृष्ट श्रृंगार
अमृत मरहाट्ठा – जहाँ जहाँ तिमी
सुभाष तिमिलसिना – जोवन सुइकेला
विक्रम गौतम – ए माया
नन्दा अधिकारी – सिन्की अचार
सरिता मगर – भेटन आउ है साझैमा

भ्रष्टाचार अभियोगमा मुद्दा दायर, १८ लाख ५० हजार बराबरको बिगो दाबी

काठमाडौँ। अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।

आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोजना सञ्चालनमा क्रममा राखिएको बैंक ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन महिनाको अहिलेसम्मकै लामो गर्मीको लहर बनेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ।

अस्ट्रियाको मौसम एजेन्सी जियोस्फेयर अस्ट्रियाका अनुसार जुन महिनामा देशको औसत तापक्रम सामान्यभन्दा एका दशमलव चार डिग्री सेल्सियस बढी रहेको थियो।

जियोस्फेयर अस्ट्रियाका मौसमविद् अलेक्जेन्डर ओर्लिकले नयाँ तापक्रम रेकर्ड अघिल्ला रेकर्डभन्दा सामान्य अन्तरले मात्र नभई उल्लेखनीय रूपमा फरक रहेको बताउनुभएको छ।

मौसम एजेन्सीका अनुसार क्षेत्रअनुसार १० देखि १४ दिनसम्म ८०० मिटरभन्दा कम उचाइ भएका स्थानमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। जुन महिनामा यसअघि राष्ट्रव्यापी रूपमा यस्तो अवस्था कहिल्यै नदेखिएको ओर्लिकले बताउनुभयो।

अस्ट्रियाका ६६ मौसम केन्द्रमा वार्षिक तापक्रम रेकर्ड कायम भएको जनाइएको छ। उच्च पहाडी क्षेत्रमा जुन महिनाको दोस्रो भागमा तापक्रम सन् १९९१–२०२० को औसतभन्दा करिब पाँच डिग्री सेल्सियस र सन् १९६१–१९९० को औसतभन्दा करिब सात डिग्री सेल्सियस बढी रहेको मौसमविद्हरूले बताएका छन्। जुन महिनाको अन्त्यबाट युरोपमा देखिएको गर्मीको लहर जलवायु परिवर्तनबिना सम्भव हुन निकै कठिन रहेको वैज्ञानिकको विश्व मौसम विशेषता समूहले जनाएको छ।

जर्मनी, पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया, हङ्गेरी, बेलायत र स्विजरल्याण्डमा पनि जुन महिनाका लागि हालसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको जनाइएको छ। फ्रान्सले उच्च औसत तापक्रम र अहिलेसम्मकै सबैभन्दा तातो रातको सामना गरेको थियो।

जलवायुजन्य चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री चौधरी

काठमाडौँ ( कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छिनत् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएको हो ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैंककमा भएको नवौँ मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले ती विषयमा ध्यानाकर्षण गराएकी हहुन् ।

मन्त्री चौधरीले जलवायु न्याय, पर्याप्त र सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता विकास तथा अनुकूलनका लागि नेपाललाई थप अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । नेपालले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित अर्थतन्त्र तथा दिगो विकासका क्षेत्रमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू उनले प्रस्तुत गरेकी थिइन् ।

मन्त्री चौधरीले नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्ने नेपालले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गरिन् । उनले नेपालको सफल सामुदायिक वन व्यवस्थापन कार्यक्रम, जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा प्रकृतिमा आधारित समाधानलाई क्षेत्रीय तथा विश्वव्यापी रूपमा अनुकरणीय अभ्यासका रूपमा प्रस्तुत गरेकी थिइन् ।

नेपालजस्ता अल्पविकसित, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरूले उत्पादन गरेका वातावरणमैत्री तथा जैविक उत्पादनहरूलाई अन्तरराष्ट्रिय बजारमा सहुलियतपूर्ण, प्राथमिकतापूर्ण तथा सहज बजार पहुँच उपलब्ध गराउनुपर्ने उनको जोड थियो । आजदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुने उक्त बैठकका क्रममा मन्त्री चौधरीले सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय कार्यक्रममा समेत सक्रिय सहभागिता जनाई नेपालको दृष्टिकोणहरू राखेकी थिइन् ।

‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री, दशैँमा विश्वव्यापी प्रदर्शनको तयारी

काठमाडौँ । निर्देशक चन्द्र पन्तद्वारा निर्देशित चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हात पारिरहेको छ। निर्माण पक्षका अनुसार चलचित्रको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार बिक्री भएको छ।
आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सम्झौतासँगै मध्यपूर्वको वितरण अधिकार ‘सोल्ड आउट’ भएको छ।

यसअघि नै यो चलचित्रको प्रदर्शन अधिकार जापानका लागि ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ तथा अमेरिका र क्यानडाका लागि ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरिसकेका छन्। आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पल शाह, मलिका महत, विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट,नरेन खड्का लगायतको को मुख्य भूमिका रहेको छ।

वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको भावनालाई केन्द्रमा राखिएको यो चलचित्रले यसपटक पनि दर्शकको मन छुने अपेक्षा गरिएको छ। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्’ भन्ने भावनात्मक संवादले कथावस्तुप्रति थप उत्सुकता जगाएको छ।

प्रदर्शनमा आउनु अगावै वितरण अधिकार (डिस्ट्रिब्युसन राइट्स) बिक्री हुनुले चलचित्रको माग उच्च रहेको देखाउँछ। निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस चलचित्रका मुख्य व्यवस्थापक (प्रोडक्सन म्यानेजर) करणसिंह रसाली हुन्।

आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लिएर निर्माण पक्ष निकै उत्साहित छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ नारा (स्लोगन) राखिएको यस चलचित्र पारिवारिक एवं भावनात्मक कथावस्तुमा आधारित छ। नेपालमा यस चलचित्रको वितरण ‘आरआर फिल्म्स’ ले गर्दै छ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले लिएको छ।

चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको पहिलो भाग ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड भन्दामाथीको व्यापार गरेको थियो। जुन चलचित्र विकासvबोर्डले आफ्नो २६ वार्षिक उत्सवमा सर्वाधिक कमाउने सुचिमा राखेको छ।

‘बेबी डु डाइ डु’ नेपालमा रिलिज हुँदै, दर्शकका लागि टिकट बुकिङ सुरु

बलिउड सिनेमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ । सिनेमा यही आगामी जुलाई ३ अर्थात् असार १९ गते देखि नेपालमा प्रदर्शन हुन लागेको हो । सिनेमाका कलाकारले प्रचारप्रसारको क्रममा नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् ।

कलाकार हुमा कुरेशी र चंकी पाण्डेले एक भिडियोमार्फत सिनेमा नेपालमा प्रदर्शन हुन लागेको र टिकट बुकिङ खुलिसकेको जानकारी दिएका छन् ।
साकिब सलीमले निर्माण गरेको सिनेमा सिंहदेवी प्रोडक्सनले नेपालमा वितरण गर्न लागेको हो । केही हलमा सिनेमाको टिकट बुकिङ खुलाइएको छ । देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा सो खुलाएको छ ।

एक्सन र थ्रिलर जनरामा बनेको सिनेमाका निर्देशक नचिकेत सामन्त हुन् । निर्माण टिमकाअनुसार सिनेमा बेबी नामकी एक रहस्यमय महिलाको कथामा आधारित छ । उनी बाहिरबाट साधारण जीवन जिउँछिन् तर भित्रभित्रै उनी अन्डरवल्र्डसँग जोडिएर हिंसात्मक र खतरानाक आपराधिक क्रियाकलापमा सहभागि हुन्छिन् ।

ट्रेलरमा उनलाई एक हिटवुमनको रुपमा देखाइएको छ । विगत एक दर्दनाक घटनाको कारण उनी अपराध, बदला र मानसिक द्वन्द्वको चक्रमा फसिरहेको देखिन्छ । समग्रमा सिनेमाको कथा रहस्य, सस्पेन्स, एक्सन र अप्रत्याशित ट्विस्टहरूले भरिएको निर्माण टिमको दाबी छ।सिनेमामा हुमा कुरेशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंह, विद्या मालवडे, हिमांशु मलिक, मरुधर शेखावत र अरुण कुशवाहलगायत कलाकारको अभिनय रहेको छ ।

शान्त मुद्रा, गहिरो सोचः ‘अक्षरा’ को पहिलो लुक्समा छचल्कियो आन्तरिक पीडा

काठमाडौँ । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसार स्वरूप पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई फिचर गरिएको छ। पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ। उनको शारीरिक हाउभाउ र अनुहारको भावले उनी कुनै गहिरो सोच, विरह वा गम्भीर मानसिक अवस्थामा रहेको दर्शाउँछ। साथै, यस फिल्मको पोस्टरको पृष्ठभूमिमा पातहरू झरेका, सुकेका वा नाङ्गा रुखहरू देखिन्छन्। यी उजाड रुखहरूले जीवनको शून्यता, निराशा वा सङ्घर्षको प्रतीकका रूपमा काम गरेका छन्, जसले पात्रको भित्री पीडाको सङ्केत गर्छ। फिल्मको कथाको मूल मर्मलाई निर्माण पक्षले पोस्टरमार्फत केही मात्रामा दर्शकमाझ भन्न खोजेको बुझ्न सकिन्छ।

अभिनेत्री न्यान्सीले यसअघि ‘१२ गाउँ’जस्तो ब्लकबस्टर फिल्म दर्शकमाझ दिइसकेकी छन् भने अनमोल केसीको आगामी फिल्म ‘बाटुलो जुन’मा समेत काम गरेकी छन्। सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा सञ्चार अध्ययन गरेकी न्यान्सी अमेरिकामै मोडलिङ क्षेत्रमा समेत सक्रिय थिइन्। ुमिस नेपाल इन्टरनेसनल २०२२ु को उपाधि विजेता अभिनेत्री खड्काले जापानमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै देशको नाम उँचो बनाएकी थिइन्।

विनय राज पौडेलको निर्देशनमा निर्माण भएको यस फिल्ममा न्यान्सी खड्काका साथमा सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम के।सी।, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योती न्यौपाने (ल्याङ्ग्री दादा), निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदिप धुलुङ्, बिश्वनाथ तामाङ, रबिन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेल मुख्य भूमिकामा देखिनेछन्। यसैगरी बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले अभिनय गरेका छन्।

सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको यस फिल्मको पटकथा तथा संवादमा निर्देशक पौडेललाई चर्चित लेखक अभिमन्यु निरवीले साथ दिएका छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मलाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने यसका कार्यकारी निर्माता सुरज थापा काजी र सुमन ज्योती न्यौपाने रहेका छन्।

फिल्ममा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाको गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन र दिपेन बस्न्यातको छायांकन रहेको छ। फिल्मलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् भने रेनिस फागोले कलरिस्टको जिम्मेवारी निभाएका छन्। त्यसैगरी डुगराज घिमिरे कला निर्देशक, मदन न्यौपाने श्रृंगार, प्रार्थना भट्टराई वेशभूषा, र विपना बज्जन केश विन्यास विधामा आबद्ध छन्। फिल्मको निर्माण व्यवस्थापन सुमन काफ्ले र त्रिलोचन न्यौपानेले सम्हालेका छन् भने मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहरा तथा सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्। राकेश दाहालले पोस्टर डिजाइन गरेको यस फिल्मलाई नेशनल सिने ग्रुप नेपाल प्रा.ली.का दीपक दंगालले देशभर वितरण गर्ने जिम्मा लिएका छन्।

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ। हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ ।बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको उक्त वित्तीय प्रस्ताव बुधबार स्वीकृत गरेको हो ।

यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ । यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत विकास गरेको हो ।कूल ९.२ मिलियन अमेरिकी डलर लगानी रहेको यस चार वर्षे पहलमा जिसिएफबाट ८.५ मिलियन अमेरिकी डलर अनुदान समावेश छ । यस परियोजनाले नेपालको जलवायु परिवर्तनप्रति सबैभन्दा संवेदनशील प्रदेशहरूमध्ये एक कर्णाली प्रदेशमा पारिस्थितिकीय प्रणालीको सहनशीलता, जलवायु–सहनशील जीविकोपार्जन तथा संस्थागत क्षमता सुदृढ गर्नेछ ।

नाजुक पर्वतीय पारिस्थितिकीय प्रणाली, कठिन भूगोल, उच्च गरिबी दर तथा पहिरो, बाढी र लामो खडेरीजस्ता जलवायुजन्य विपद्हरूप्रतिको बढ्दो जोखिमले कर्णाली प्रदेश मुलुकमा जलवायु परिवर्तनका प्रभावप्रति सबैभन्दा संवेदनशील क्षेत्रहरूमध्ये एक हो ।यस परियोजनाले नेपालको राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०), राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३.०) तथा अन्य राष्ट्रिय जलवायु प्राथमिकताहरूको कार्यान्वयनमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास गरिएको छ । साथै जलवायु नीतिहरूलाई स्थानीय तहमा ठोस कार्यमा रूपान्तरण गर्नेछ ।

पारिस्थितिकीय पुनःस्थापना, प्रकृतिमा आधारित समाधान, जलवायु–सहनशील जीविकोपार्जनका अवसर, समुदायमा आधारित पूर्वसूचना प्रणाली तथा स्थानीय संस्थाको सुदृढीकरणमार्फत यस परियोजनाबाट एक लाखभन्दा बढी मानिसले प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास छ ।

साथै कर्णाली प्रदेशभर चार लाखभन्दा बढी मानिसको जलवायु उत्थानशीलता अप्रत्यक्ष रूपमा अभिवृद्धि हुनेछ । विशेषगरी महिला, आदिवासी जनजाति, दलित तथा अन्य सीमान्तकृत र जलवायु–संवेदनशील समुदायहरूको अर्थपूर्ण सहभागिता तथा समान लाभ सुनिश्चित गर्न विशेष जोड दिइएको छ ।

यो परियोजना राष्ट्रिय, प्रादेशिक तथा स्थानीय संस्थाहरूबीचको साझेदारीमार्फत कार्यान्वयन गरिनेछ । जिसिएफको मान्यताप्राप्त निकायका रूपमा रहेको एनटिएनसीले सहकार्यान्वयन निकायको भूमिका निर्वाह गर्नेछ ।

नेपाल सरकारको तर्फबाट थप दुई सहकार्यान्वयन निकाय रहनेछन् । त्यसमध्ये अर्थ मन्त्रालयले जिसिएफ स्रोतहरूको प्रवाह तथा व्यवस्थापनलाई सहजीकरण गर्नेछ ।

त्यस्तै कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशस्तरीय हस्तक्षेपको कार्यान्वयनको नेतृत्व गर्दै सहभागी स्थानीय सरकारहरूसँग परियोजना गतिविधिको समन्वय गर्नेछ ।

यो कार्यान्वयन व्यवस्था सङ्घीय शासन संरचनाअनुरूप तयार गरिएको र सरकारका सबै तहबीच सुदृढ समन्वय सुनिश्चित गर्ने उद्देश्य लिइएको छ ।

बोर्डको स्वीकृतिप्रति प्रतिक्रिया जनाउँदै कृषि, वन तथा पर्यावरण मन्त्री तथा एनटिएनसीका अध्यक्ष गिता चौधरीले सो निर्णयलाई नेपालको जलवायु सहनशीलता मुद्दाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

“यो स्वीकृतिले राष्ट्रिय जलवायु नीतिलाई व्यवहारिक कार्यमा रूपान्तरण गरी सबैभन्दा जलवायु–संवेदनशील समुदायसम्म पुर्‍याउने नेपालको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ”, उहाँले भन्नुभयो, “यस लगानीमार्फत हामी सहनशील पारिस्थितिकीय प्रणालीलाई सुदृढ गर्दै, दिगो जीविकोपार्जनमा सुधार ल्याउँदै र कसैलाई पनि पछाडि नछोड्ने सुनिश्चिततासहित पेरिस सम्झौताअन्तर्गत नेपालका प्रतिबद्धतालाई अगाडि बढाइरहेका छौँ ।”

स्वीकृतिप्रति एनटिएनसीलाई बधाई दिँदै अर्थ मन्त्रालयअन्तर्गत अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा जिसिएफका लागि राष्ट्रिय नामित प्राधिकरण (एनडिए)फोकल प्वाइन्ट धनीराम शर्माले यस स्वीकृतिले अन्तरराष्ट्रिय जलवायु वित्त पहुँच र व्यवस्थापनमा नेपालको बढ्दो संस्थागत क्षमतालाई प्रमाणित गरेको बताउनुभयो ।

एनटिएनसीका सदस्य–सचिव डा चिरञ्जीवीप्रसाद पोखरेलले सरकारी निकाय तथा समुदायसँग सहकार्य गर्दै प्रकृतिमा आधारित दीर्घकालीन जलवायु उत्थानशीलता प्रदान गर्न तथा अन्तरराष्ट्रिय जलवायु वित्तमा काम गर्न उत्साहित रहेको बताउनुभयो ।

परियोजनाअन्तर्गत जाजरकोट, जुम्ला, डोल्पा र दैलेख जिल्लाभरका प्रदेश सरकार, ३१ स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह, महिला समूह, आदिवासी जनजाति, प्राविधिक विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श र प्रमाणमा आधारित प्रक्रियामार्फत तयार गरिएको हो ।एनटिएनसीका जलवायु परिवर्तन विभाग प्रमुख तथा जिसिएफका प्राथमिक फोकल प्वाइन्ट डा मनिषराज पाण्डे र जिसिएफका द्वितीय फोकल प्वाइन्ट लीना चालिसेको सहयोगमा परियोजना प्रस्ताव विकास गरिएको थियो ।

लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।राष्ट्रियसभा सदस्य रेणु चन्दले प्रस्तुत गर्नुभएको ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव’लाई सर्वसहमतिले पारित गरेको हो ।

सो प्रस्तावमा उल्लेखित प्रस्तावको प्रभावकारी कार्यान्वयनका प्रगति हरेक तीन महिनामा सभा समक्ष पेस गर्न सभाध्यक्ष नारायणप्रसाद दाहालले निर्देशन दिनुभयो ।प्रगतिको अनुमगन गर्न समेत सम्बन्धित समितिलाई उहाँले आग्रह गर्नुभएको थियो

किशोर थापाले पाए त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नेतृत्व

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। यसैगरी, सेवा आयोगको सदस्यमा प्रा डा रेजिना मास्के नियुक्त हुनुभएको छ ।

दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको हो।

शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो। निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्याङ्कन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो ।

आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिनुभएको छ।

उहाँ सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालयलगायतका निकायमा सचिवका रूपमा कार्यरत रहनुभएको थियो।

उहाँले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति, नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको विज्ञ सदस्यका रूपमा समेत योगदान दिनुभएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजनाविज्ञ तथा काठमाडौँ विश्वविद्यालयमा ‘भिजिटिङ फ्याकल्टी’का रूपमा आबद्ध हुनुहुन्छ ।उहाँले आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ ।

निःशुल्क उपचार नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट/सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट/सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न भनिएको छ ।

विपन्न, असहाय र वेवारिसे नागरिकका लागि अस्पतालले छुट्ट्याउनुपर्ने कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन सो कार्यविधि जारी गरिएको थियो ।

कार्यविधिअनुसार सरकारी, गैरसरकारी, नीजी, सहकारी वा गैर नाफामुलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भएअनुसार छुट/सहुलियत पाउनुपर्नेमा पाउन नसकेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

साइबर हिंसाको बढ्दो चुनौतीबीच एकीकृत कानुन ल्याउने तयारी

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी छिन्।

राष्ट्रिय सभाको बैठकमा ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव’ का सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफमा उनले कानुनमा समसामयिक सुधार आरम्भ भएको जानकारी दिइन्। सांसदले सङ्कल्प प्रस्तावमा उठाउनुभएको जिज्ञासा र विषयवस्तु समय सान्दर्भिक र व्यावहारिक भएको उनको भनाइ छ।

उनले भनिन्, “साइबर ब्युरोमा हाल १२ हजार ४१० उजुरी परेका छन् । जहाँबाट सङ्कल्प प्रस्तावको आवश्यकता र गाम्भीर्यतालाई थप पुष्टि गर्दछ ।” मन्त्री बादीले मन्त्रालय र अन्य निकायसँग समन्वय गरेर महिलामाथि हुने हिंसाको न्यूनीकरणका लागि आवश्यक पहलकदमी गरिरहेको बताइन्।

राष्ट्रियसभाका सांसद रेनु चन्दले प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गरेकी थिइन्।

१०० दिनमा परिणाममुखी काम भएको उद्योगमन्त्री यादवको दाबी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन् ।

मन्त्रालयका अनुसार यो अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन्।

प्रगति विवरण पेस गर्दै मन्त्री यादवले सरकारले लिएका लक्ष्यहरूलाई प्राथमिकतामा राखेर मन्त्रालयले १०० दिनभित्र ठोस परिणाममुखी कामहरू फत्ते गरेको जानकारी दिनुभयो। देशको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन र आम नागरिकलाई सुशासनको अनुभूति गराउन मन्त्रालयले आफ्ना गतिविधिहरू केन्द्रित गरेको उनको भनाइ थियो।

वैदेशिक रोजगारी सहज बनाउन मन्त्री यादवको युएईसँग विशेष आग्रह

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज वातावरण बनाउन युएई पक्षसँग आग्रह गरेका छन्।

दुवै पक्षबीच नेपाल–युएई श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीको लागत न्यूनीकरण, सीप साझेदारी तथा श्रमिकको स्वास्थ्य सुरक्षालगायतका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।

भेटमा युएईका राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी गराएका थिए। त्यसप्रति मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।
राजदूत अल शामसीले द्विपक्षीय हित र सरोकारका अन्य विषयमा पनि युएई सरकारसँग आवश्यक समन्वय गरी नेपाल सरकारलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पम्पमा देखिएको लाइन अन्त्य, मागअनुसार इन्धन पुगेको निगमको दाबी

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ।“पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ”, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भने, “पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।”

उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो।
काठमाडौँ उपत्यकाका पम्पहरुले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिए। उपत्यकामा करिब १३० भन्दा बढी पम्प रहेका छन्।

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ ।अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डा होम पन्तको कोशीमा सरुवा फिर्ता भएसँगै उक्त सेवा बन्द भएको हो । दैनिक २० जनासम्मको भिडियो एक्सरे हुने गरेको गेटा अस्पतालमा हाल सेवा बन्द भएपछि सेवा लिन आउने बिरामी बाहिर जान बाध्य छन् ।

सूचना अधिकारी कार्कीले गर्भवती जाँचका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्सरे सेवा जारी राखेका छन् । रेडियोलोजिस्ट डाक्टर नहुँदा म्यामोग्राफी (स्तन एक्सरे जाँच) सेवा पनि बन्द भएको उनको भनाइ छ ।

उनले म्यामोग्राफीको रिपोर्टिङ पनि रेडियोलोजिस्ट डाक्टरलाई गर्नुपर्ने भएकाले रेडियोलोजिस्ट डाक्टर नहुँदा सेवा बन्द भएको बताए । म्यामोग्राफी सेवा यस क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याइएको थियो ।

छ सय शय्याको भौतिक संरचना निर्माण भएको अस्पतालमा हाल ५० शय्या मात्रै सञ्चालनमा छ । अस्पतालमा सेवा विस्तारका लागि पटकपटक यस क्षेत्रका स्थानीयले दबाब दिँदै आए भए पनि हाल भएका सेवा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अस्पतालमा यसअघि नै आइसीयू एनआइसीयू सेवा पनि सञ्चालन गर्ने जनाउँदै पूर्वाधार निर्माण गरिएको भए पनि सो सेवा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

१९औँ मिस नेवा नेपाल कामना गर्दै १ लाख बत्ती प्रज्वलन

काठमाडौं । नेप्लीज फेसन होमको आयोजनामा राजधानमिा हुने नेवार समुदायका सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता १९औँ मिस नेवा नेपाल ११४६ का सहभागी २१ जना प्रतियोगीहरूको उज्ज्वल भविष्य, सफल जीवनयात्रा तथा विश्वमा सुख, शान्ति, समृद्धि र सद्भाव कायम रहोस् भन्ने कामनासहित कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन गरिएको छ।

कार्यक्रममा प्रतियोगीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण मानव समुदायमा सकारात्मक ऊर्जा, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवद्र्धन हुने विश्वासका साथ श्रद्धापूर्वक दीप प्रज्वलन गरिएको आयोजकले जनाएका छन्। आध्यात्मिक आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्पन्न कार्यक्रममा मिस नेवा नेपालका २१ प्रतियोगी, उनीहरूका अभिभावक, पूर्व मिस नेवा नेपाल प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवा सोसियल वेल्फेयर एम्बासडर तिमिला महर्जन, संस्थाका सल्लाहकार डा. बिमला शाक्य तथा फाइट फर लाइफ नेपालका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले प्रत्येक प्रतियोगीको सपना साकार होस्, उनीहरूको आगामी यात्रा आत्मविश्वास, अनुशासन र सेवाभावले प्रेरित बनोस् भन्ने मंगलकामना व्यक्त गरेका थिए। साथै विश्वभर शान्ति, सद्भाव, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवद्र्धनका लागि सामूहिक प्रार्थनासमेत गरिएको थियो। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार मिस नेवा नेपाल सौन्दर्य र प्रतिभाको प्रतिस्पर्धामा मात्र सीमित नभई नेवा समुदायको भाषा, संस्कृति, संस्कार, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढिरहेको छ । १ लाख बत्ती प्रज्वलन कार्यक्रमले पनि प्रतियोगिताले बोकेको यही सामाजिक र सांस्कृतिक सन्देशलाई थप सशक्त रूपमा उजागर गरेको आयोजकको विश्वास छ।

‘खुस्मा’पछि अशोक थापाको अर्को फिल्म ‘जलाकी’, रिलिज डेटसँगै सार्वजनिक भए पोस्टर

सुपरहिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ । असार १५ अर्थात् दहीचिउरा खाने दिनको शुभ अवसरमा निर्माण टिमले मंसिर ४ लाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको दुई पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । दुवै पोस्टरले सिनेमाको प्रेमकथालाई फरक-फरक भाव र मनोविज्ञानबाट प्रस्तुत गरेको छ । सार्वजनिक यी दुई पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् ।

पहिलो पोस्टरमा सोनम र उपासना रोमान्टिक र खुसीको क्षणमा प्रस्तुत भएका छन् । एकअर्काप्रतिको आत्मीयता, प्रेम र विश्वासलाई केन्द्रमा राखिएको यो पोस्टरले सिनेमाको प्रेम पक्षलाई चित्रण गरेको छ । त्यसैगरी दोस्रो पोस्टरमा उनीहरू गम्भीर तथा भावुक मुद्रामा देखिएका छन् । पोस्टरमा दुवै पात्रबीचको मौनता, पीडा र भावनात्मक संघर्ष झल्किएको छ, यसले सिनेमाको कथामा आउने उतारचढावको संकेत गर्छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

निर्देशक अशोकको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’बाट अभिनेत्री उपसना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ उचालेकी थिइन् । सोही निर्देशक थापा मगरले यसपटक पनि उपासनालाई मुख्य भूमिकामा लिएका छन् । यसले पनि दर्शकको लागि ‘जलाकी’ अपेक्षाकृत बन्ने अनुमान गर्न सकिन्छ ।

सिनेमाका निर्मातामा ओम घर्ति मगर, बीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन तथा एसडी योगी, सरित राईको संगीत र सुरेन्द्र राना, राम अविरल विष्टको गीत रचना र एसडी योगी, अन्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर, गीतान्जली थापा मगरको स्वर छ ।

यसअघि निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो । त्यस सिनेमामा समावेश ‘रुकुम मैकोट’ बोलको गीतले पनि सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल्स र युट्युबमा व्यापक लोकप्रियता कमाएको थियो । ‘खुस्मा’को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वस्त छन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ ।

फोहर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नगरपालिकाले सञ्चालन गरिरहेको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रमार्फत सङ्कलित जैविक फोहर प्रशोधन गरी उत्पादन गरिएको मल स्थानीय किसानलाई बिक्री गरिँदै आएको छ । यस कार्यक्रमले वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन र स्थानीय आम्दानी वृद्धि तीनवटै क्षेत्रमा सकारात्मक परिणाम दिएको मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताए ।

“गण्डकी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा स्थापना गरिएको उक्त परियोजनाको कुल लागत रु दुई करोड १३ लाख ८० हजार रहेको छ”, “नगरपालिकाले भने कार्यक्रमलाई विगत तीन वर्षदेखि निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ ।”

हालसम्म नगर सरसफाइ अभियानमा १४ हजार ८१६ घरपरिवार आवद्ध भएको मध्यविन्दु नगरपालिका भवन तथा बस्ती विकास शाखा प्रमुख विवेक पोखरेलले बताउनुभयो । “घरपरिवारबाट सङ्कलित जैविक फोहरलाई केन्द्रमा प्रशोधन गरी जैविक मल उत्पादन गर्ने व्यवस्था मिलाइएकाले समुदायस्तरमै फोहर व्यवस्थापन व्यवस्थित र सहभागितामूलक बन्दै गएको छ”,

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०५ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ७७, निषेधित क्षेत्रमा हर्न बजाउने ६१, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २२, एकतर्फी सडकमा सवारीसाधन चलाउने ५४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५३८ जनालाई कारबाही गरिएको हो ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अप्राह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडक राज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने छन् ।

यस्तै, सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत तिन संसदीय समितिको बैठक आज (बुधबार) बस्दै छ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छैटौं (६औं) बैठक, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धका साथै विविध विषयमा छलफल हुने कार्यसूची छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ९ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।

रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ । कार्यक्रम रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे हुनेछ।

चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो ।
सभापति : रवि लामिछाने

उपसभापति : स्वर्णिम वाग्ले

उपसभापति (महिला): सोविता गौतम

महामन्त्री : विपिन कुमार आचार्य

सहमहामन्त्री : हरि ढकाल

सहमहामन्त्री : असिम शाह

सहमहामन्त्री (महिला) : निशा डाँगी

यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशको पहाडी भूभागका केही स्थानमा र देशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।