`

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने कार्य सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु गरेको छ ।

वर्गीकरण गरी फोहर लैजाने वडामा क्रमशः १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० रहेका छन् । वातावरण विभाग प्रमुख सरिता राईले सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नं। ७ बाट दैनिकरुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन कार्य सुरु गरिएको बताए ।

प्रमुख राईले भने, “सहरभित्रको फोहर स्रोतमा वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापनको मात्रा घटाउनकै लागि कामपाले वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्न थालेको छ ।” घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर फोहर व्यवस्थापनको वैज्ञानिक विधि थालनी गरेको छ ।

घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । हरेक क्षेत्रमा एक÷एक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य कामपाको छ । फोहरमैला वर्गीकरणबाट मात्रा न्यूनीकरण गर्न, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।

सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन, ढुवानी गर्न कार्यविधि जारी गरिएको हो । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले स्रोतमा फोहरको वर्गीकरण र व्यवस्थापनको कार्य थालनी गरेको हो । हालकामपाबाट दैनिक १५ ट्रक फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । यसअघि वर्गीकरणविना फोहर लैजाँदा कामपाबाट दैनिक २० ट्रक जाने गरेको थियो ।

गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

पेरिस – फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ ।

पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखि सुरु भएको सातामा अघिल्लो साताको तुलनामा दुई हजार २५ जना थपको मृत्यु भएको छ । यो २९.१ प्रतिशतको वृद्धि हो । संस्थाले हाल उपलब्ध तथ्याङ्क अपूर्ण रहेकाले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्ने जनाएको छ ।

सबैभन्दा बढी प्रभाव पेरिस क्षेत्रमा देखिएको छ । पेरिसमा सोही अवधिमा मृत्यु ६२ प्रतिशतले बढेको छ । पेस डे ला लोयर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ ।

गत जुनमा फ्रान्सले करिब ११ दिनसम्म जारी रहेको इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो । देशका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

यस घटनापछि जलवायु परिवर्तनसँग जुध्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन् । हरित दलले यसै विषयलाई लिएर सरकारविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता गरेको छ ।

स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् २००३ को विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो । सन् २००३ को गर्मीका कारण फ्रान्समा करिब १५ हजार जनाको मृत्यु भएको थियो । तिनमा अधिकांश वृद्धवृद्धा थिए ।

राष्ट्रियसभाः विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि छलफल

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ मा विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल जारी छ । सदस्यहरूले कृषि र सिँचाइ क्षेत्रलाई आवश्यकताअनुसार बजेट विनियोजन हुन नसकेको बताएका छन् ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीषकमाथि समूहीकृत रूपमा छलफलमा भाग लिँदै सदस्य सोमनाथ पोर्तेलेले ६२ दशमलव ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको भन्दै ‘बाँकी क्षेत्रमा कहिले सिँचाइ सुविधा पुग्छ रु’ भनी प्रश्न गरे ।

भूमिगत सिँचाइका लागि छुट्याइएको बजेट प्रदेशमा पठाउनुपर्ने माग गर्दै सदस्य पोर्तेलेले आफूले खर्च कटौतीको प्रस्ताव राखेको बताए । गत फागुनसम्म ९९ दशमलव एक प्रतिशतमा विद्युत् सेवा पुगेको जनाउँदै उहाँले शीघ्र शतप्रतिशत विद्युत् विस्तार गर्नुपर्ने माग गरे ।

यसैबीच, सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा ऊर्जा, जलस्रोत, सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अनुमति लिएर नै आजको बैठकमा उपस्थित हुन नसक्नुभएको जानकारी गराउनुभएको बताए ।

सदस्य दुर्गाकुमारी गुरुङले ऊर्जा क्षेत्रमा गरिने खर्चलाई भविष्यको लगानीका रूपमा लिनुपर्ने बताए । उनले किसानलाई वर्षभरि सिँचाइ सुविधा दिने ठोस् कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

सदस्य उर्मिला अर्यालले चिया उत्पादनसम्बन्धी आवश्यक अध्ययन÷अनुसन्धान गर्नुपर्ने बताए । उनले नेपाली चियालाई विदेशमा निर्यात गर्ने सन्दर्भमा आवश्यक पहलका लागि सरकारको ध्यानाकर्षण गराए ।

सदस्य प्रेमप्रसाद दङ्गालले धेरै जिल्लामा बाँदर आतङ्कले समस्या सिर्जना गरेकाले हालसम्म समाधान नभएको भन्दै सोही कारणले किसान बसाइँ सर्ने अवस्थामा पुगेकाले बजेटले उक्त समस्या समाधानका लागि सम्बोधन नगरेको बताए ।

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक – काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न विधाका एक हजार पाँच सय २७ विद्यार्थी दीक्षित भएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काभे्रपलाञ्चोकको धुलिखेलस्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीमध्ये ११ दशमलब ७२ प्रतिशत नेपालबाहेक अन्य सात देशका रहेका छन् ।

समारोहमा पोखरेलले उत्कृष्ट शैक्षिकउपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान ग । कार्यक्रममा एक हजार ५२७ जना विद्यार्थीमध्ये स्कुल अफ आट्र्सका १६१, स्कुल अफ एजुकेशनका ११२, स्कुल अफ इञ्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ जना दीक्षान्त भएका छन् ।

यसवर्ष केयूले पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रमका २६, डक्टर मेडिसिन इन निओनाटालोजीअन्तर्गत तीन तथा माष्टर अफ साइन्स इन मेडिकल बायोकेमेष्ट्री एण्ड मोलिक्यूर बायोलोजीअन्तर्गत चार जना विद्यार्थीलाई विभिन्न उपाधि प्रदान गरिने जनाइएको छ ।

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने रु २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रकम भुक्तानी गरिएको जनाएको हो ।

बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनासम्मको दाबी बक्यौता फरफारक भएको जनाएको छ । गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्ड सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डबमोजिम गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ । त्यसैगरी बोर्डले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।

राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

महेन्द्रनगर – प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ ।समिति सदस्य दीपकराज बोहरा, सुरेन्द्र चौधरी र रेखाकुमारी यादवसहितको टोलीले कारागारको अनुगमन गरेको हो ।

त्यस क्रममा समितिले कारागारको भौतिक संरचना, कैदीबन्दीको जीवनयापन, सुरक्षा व्यवस्थापन एवं कारागार सञ्चालनमा प्रशासनिक चुनौती लगायतका विषयमा जानकारी लिएको समिति सदस्य बोहराले जानकारी दिए ।

संसदीय टोलीले कारागार अनुगमनका क्रममा कैदीबन्दी, कारागार प्रशासन र जिल्ला सुरक्षा समितिका पदाधिकारीसित अन्तरक्रियासमेत गरेको थियो । समितिले कारागार समग्र अवस्था र वस्तुस्थितिका बारेमा जानकारी लिएको कारागार प्रशासक हेमन्ती साउदले बताए ।

विसं २०३२ मा निर्माण भएको कारागारको भौतिक संरचना जीर्ण रहेता पनि ३८९ जना कैदीबन्दी रहेका छन् । “१६० जना कैदीबन्दी राख्न मिल्ने क्षमता हो तर ३८९ जना छन्”, साउदले भने, “आगामी आवका लागि कारागार भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ ।”

क्षमताभन्दा अत्यधिक कैदीबन्दी हुँदा व्यवस्थापन, सुरक्षा तथा न्यूनतम सेवा प्रदानमा समस्या झेल्न परे पनि दिगो व्यवस्थापनका लागि भइरहेका विभिन्न प्रयासबारे संसदीय टोलीलाई जानकारी गराइयो ।

कैदीबन्दीले समितिका सदस्यसँग सिदाका लागि प्रतिव्यक्ति दैनिक उपलब्ध गराइने रु ८० को रकम वृद्धि, केही बर्षयता स्थगन रहेको निश्चित अवधि कैद भुक्तान गरिसकेका कैदीहरुलाई दिइने कैद छुटको सुविधालाई निरन्तरता दिनुपर्ने माग राखेका छन् ।

कैदीबन्दीसँगको अन्तरक्रियामा समितिका सदस्य बोहराले कारागारलाई सुधार केन्द्रका रुपमा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “लागुऔषध मुद्दाका कैदीबन्दी धेरै देखिँदै छ, युवापुस्ता यसको शिकार हुनबाट जोगाउन सबैको भूमिका आवश्यक छ ।”

सुकुम्बासी बस्तीबारे रवि लामिछानेले भने – ‘अहिले केही दुःख भए पनि अन्तिम परिणाम राम्रो हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी व्यवस्थापनबारे बोल्दै अहिले केही दुःख भए पनि अन्तिम परिणाम राम्रो हुने बताउका छन् । शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताउका हुन् ।

उनले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘खोला नजिक बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा अन्यत्र जग्गा दिने प्रयास विगतका वर्षहरूमा विभिन्न मोडलबाट भएका थिए । सबैले यसको आवश्यकता महसुस गरेका थिए, कुनै पनि दल यसको विपक्षमा थिएन । तर ती उपाय प्रभावकारी हुन सकेनन्, त्यसैले अहिले नयाँ प्रक्रिया अपनाइएको हो।’

उनले थपे, ‘यसबाट नागरिकलाई दुःख भएन भन्ने म भन्दिनँ। तर यसको परिणाम राम्रो आयो भने अहिलेको दुःख बिर्सिने अवस्था आउँछ । लामो समयदेखि भोग्दै आएको समस्याको तुलनामा अहिलेको दुई–चार महिनाको दुःखपछि उहाँहरूले राम्रो प्रतिफल प्राप्त गर्नुहुन्छ भन्नेमा म निर्धक्क छु ।’

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ ।

पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखी दिनभर देशभर इन्धन आपूर्ती असहज भएको थियो । अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ती असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानूनी आधारसमेत नभेटिएपछि उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्े । मन्त्री यादवको निर्देशन लगत्तै बुधबार साँझ नै निगमको संचालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, ०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने बाक्य थपिएको छ ।

उक्त कसुरमा पहिलो पटकलाई ३ लाख जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ती रोक्का, दोस्रो पटकलाई ६ लाख जरिवाना लिई १० दिन आपूर्ती बन्द र तेस्रो पटक भए १० लाख जरिवाना लिई १५ दिनलाई आपूर्ती बन्द गर्ने व्यवस्था राखिएको छ । यो व्यवस्थाका कारण आउँदा दिनमा कुनै पनि पेट्रोलपम्प उचित कारण बिना बन्द गरेको भेट्टिए कारबाही हुने सुनिश्चित भएको छ ।

कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ ।  शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् ।

काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् ।

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ ।

एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन ।

बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरूले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिनुभयो । “एक शताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग छैन । तर, बर्सेनि मानिसको घरबास उठाएको छ”, उहाँले भन्नुभयो, “लामो समयअघिदेखि झर्न थालेको पहिरो रोकथाममा कसैले चासो दिएको छैन । ठूलो क्षेत्र ओगटेर बर्सेनि झरिरहने पहिरो अब रोकिने अवस्था पनि छैन ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र वडा नं २ बोपुङको सिमाना भएर बग्ने बुँवाखोलामा खसेको पहिरोले अहिलेसम्म मानवीय क्षति नगरे पनि खोलाकिनारका खेतबारीलाई बगरमा परिणत गरेको पाइएको छ । खेती गर्दै आएको धान खेत पहिरोले पुरेपछि उनीहरू बसाइँ सरेर अन्यत्र गएका छन् ।

वासिङ पहिरोले हुवाला र युराङका स्थानीयवासीले वर्षौँअघिदेखि आवतजावत गर्न प्रयोग गर्दै आएको गोरेटो बाटोसमेत बगाएको युराङ निवासी वृद्ध दीर्घमानले जानकारी दिनुभयो । “पहिरो खसेको ठाउँमा पानीको मुहान छ । वर्षात्को समयमा पानी बगिरहने भएकाले अहिले पनि पहिरो झरिरहेको छ”, उहाँले भन्नुभयो, “धेरै वर्षा भएको समयमा माथिबाट खसेको पहिरोले बुँवाखोलासमेत थुनिने गर्छ । खोला खुनिएको अवस्थामा तल्लो क्षेत्रका स्थानीयवासीलाई समेत जोखिममा पार्ने गरेको छ ।”

वासिङ पहिरोको कारण आसपासका स्थानीयवासी वर्षात् सुरु हुनासाथ चिन्तित बनेर दिन तथा रात बिताउन बाध्य छन् । करिब एक किलोमिटर क्षेत्रमा फैलिएर खसेको पहिरोका कारण धेरै मानिस आफ्नो पुख्र्यौली थातथलो छाड्दै बसाइँ सरेर पूर्वी तराईका विभिन्न जिल्लामा घर निर्माण गरेर बस्दै आएका छन् ।

वासिङ पहिरोभन्दा करिब २०० मिटरमाथि सञ्चालित विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राईले जानकारी दिनुभयो । “विद्यालयभन्दा केही तल डुम्रीबोटे र युराङ गाउँ छ । त्यो गाउँ नजिकैसम्म पहिरो आइसकेको छ”, उहाँले भन्नुभयो, “कुन बेला के हुन्छ भन्ने पत्तो छैन । पहिरो नरोकिएकाले जुनसुकै बेला जे पनि हुनसक्छ । सबैले सतर्कता अपनाउन जरुरी छ ।”

टाढाबाट हेर्दा डमरु आधारको देखिने वासिङ पहिरोले साबिक बोपुङ गाउँ विकास समिति (गाविस)को वडा नं ८ वासिङ र वडा नं ९ युराङमा सबैभन्दा बढी क्षति गरेको जनाइएको छ । वासिङ पहिरोको बीच भागमा बसोबास गर्दै आएका १५ घर स्थानीयवासी तल्लो क्षेत्रमा पहिरो सुरु हुनासाथ अन्यत्र सरेर गएको स्थानीयवासीले बताएका छन् ।

निरन्तर खसिरहने वासिङ पहिरो बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म सर्दै आइपुगेकाले धेरैवटा गाउँमा जोखिम बढेको बोपुङका वडाध्यक्ष मस्तबहादुर राईले जानकारी दिनुभयो । “वासिङ पहिरोले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीका स्थानीयलाई जोखिममा पारेको छ । वडा र गाउँपालिकाको बजेटले यो पहिरो रोकथाम गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “वासिङ पहिरोलाई बेलैमा नियन्त्रण नगर्ने हो भने, आसपासका धेरै मानिस बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था छ । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

बोपुङको वासिङ पहिरोले देविस्थानको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय किसानले लगाउँदै आएका धानबालीमा बर्सेनि ठूलो क्षति गर्दै आएको वडाध्यक्ष केदारमान राईले जानकारी दिनुभयो । छवटा वडा रहेको यो गाउँपालिकाको बोपुङसँगै अन्य वडासमेत पहिरो उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत जनकपुरधामले बुधबार उक्त प्रकरणमा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालयबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसलाअनुसार कोइरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका उनलाई पक्राउपछि जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ ।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मंसिर २८ गते यही मुद्दामा गरेको फैसलामा कोइरीलाई सफाइ दिएको थियो । तर उच्च अदालतले उक्त फैसला उल्टाउँदै दोषी ठहर गरेको हो ।

फौज्दारी मुद्दा चलिरहेकै समयमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कोइरी महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए । पछिल्लो निर्वाचनमा भने उनी पराजित भएका थिए ।

सशस्त्र प्रहरीका असई थमन विकको २०७२ साल भदौमा मधेश आन्दोलनका क्रममा हत्या भएको थियो । जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा बाटोमा रहेका केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए । सोही घटनामा उनको मृत्यु भएको थियो ।उच्च अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको थमन विक हत्या प्रकरणले पुनः राजनीतिक र कानुनी बहसलाई तातिएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ।

क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ ।शुक्रबार टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो ।

खोलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-० को अग्रता दिलाए ।

खेलको ६८औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।१० मिनेटको इन्जुरी समय थपिएकोमा ९४औं मिनेटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो ।

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौँ। पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ ।आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा मुकुल उपाध्यायले सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिनुभयो ।

गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लुका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको हो ।रोगको सङ्क्रमण नियन्त्रण गर्न प्राविधिकको टोली सङ्क्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो । सम्बन्धित जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएकाले केही जिल्ला नियन्त्रणमा आउने क्रममा छन् ।

मरेको कुखुरा जथाभावी फाल्दा, सङ्क्रमित पन्छी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । काठमाडौँ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दानासमेत नष्ट गरिएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता डा उपाध्यायका अनुसार बर्डफ्लुको खोप प्रभावकारी रूपमा विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन ।प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्याङ्कन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण सङ्कलन कार्य भइरहेको जनाइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७० पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १० पैसा र बिक्रीदर ४०५ रुपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९७ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभ बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये निम्न लिखित मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत रुपमा छलफल हुने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, ग। पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा पनि छलफल कार्यसूची छ ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू(भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ । तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र भएको छ।विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ। यसको प्रभाव होटल, रिसोर्ट र अन्य पर्यटन सेवामा पनि देखिएको छ।

संघीय राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, भद्रपुरलगायत प्रमुख सहर तथा पर्यटकीय गन्तव्यमा स्वदेशी र विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको छ।पर्यटकस्तरका होटल प्रदेश सरकारमा दर्ता भएर सञ्चालन हुने भए पनि तारे होटल र रिसोर्ट पर्यटन विभागमा दर्ता भएर सञ्चालन अनुमति लिन्छन्। पर्यटन विभागका अनुसार हाल देशभर ३५० तारेस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्। तीमध्ये २९ वटा पाँचतारे होटल छन्।

पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार गत वर्ष ३३५ होटल तथा रिसोर्ट दर्ता भएकामा यस वर्ष संख्या बढेर ३५० पुगेको छ।उनका अनुसार ४४ एकतारे, ४९ दुईतारे, ३७ तीनतारे, ४० चारतारे र २८ पाँचतारे होटल दर्ता भएका छन्। त्यसैगरी, पाँचतारे डिलक्स होटल तीन, पाँचतारे लक्जरी बुटिक हेरिटेज होटल तीन, डिलक्स हेरिटेज चारतारे होटल पाँच, नर्मल हेरिटेज बुटिक (तीनतारे) एक, साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट १० र लक्जरी रिसोर्ट तीन रहेका छन्।

दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा र २६ हजार २८५ शय्या छन्। यी होटल तथा रिसोर्टले पर्यटकलाई गुणस्तरीय आवास, आधुनिक सेवा–सुविधा र अन्तर्राष्ट्रियस्तरको आतिथ्य प्रदान गर्ने क्षमता विस्तार गरेका छन्।

गौतमका अनुसार होटल तथा रिसोर्टमा लगानी बढेसँगै विभागले समयअनुकूल होटलको मापदण्ड परिमार्जन गर्न थालेको छ।

नेपालमा होटल तथा रिसोर्टलाई व्यवस्थित र स्तरीकरण गर्न पहिलोपटक २०७० सालमा होटल वर्गीकरण मापदण्ड बनाइएको थियो। समयको माग र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सरकारले २०७६ सालमा त्यसलाई संशोधन गरेको थियो। अहिले अन्तर्राष्ट्रिय मापदण्ड, गुणस्तर र इको–टुरिजमलाई ध्यानमा राखेर मापदण्ड पुनः परिमार्जन भइरहेको छ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखाका सहसचिवको नेतृत्वमा निर्देशक समिति र पर्यटन विभागका निर्देशक तथा होटल शाखा प्रमुख (उपसचिव)को नेतृत्वमा मस्यौदा कार्यदल गठन गरिएको छ। कार्यदलले असार मसान्तभित्र संशोधित मापदण्डको मस्यौदा मन्त्रालयमा बुझाउने तयारी गरेको छ।

होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार नेपालमा तारे होटल तथा रिसोर्टको संख्या बढ्नु विदेशी पर्यटकको आकर्षण बढेको संकेत हो।

उनले भने, “नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटनले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ।”

शाहका अनुसार पछिल्लो समय भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार बनेपछि पर्यटन क्षेत्रमा विश्वासको वातावरण सिर्जना हुँदै गएको उनको भनाइ छ।

उनले भने, “नेपाल भारत र चीनबीचको सुन्दर गन्तव्य हो। यी दुवै देशबाट बर्सेनि करोडौँ मानिस यात्रा गर्छन्। ती पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्छ।”

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित मण्डनदेउपुरमा निर्माणाधीन निगालो होटलकी कार्यकारी सहायक प्रबन्धक क्रिस्टिना श्रेष्ठका अनुसार होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र चलायमान बनाउन र पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्‍याएको छ।

झन्डै दुई अर्ब रुपैयाँ लगानीमा निर्माणको अन्तिम चरणमा रहेको निगालो होटलमा ६५ सुविधासम्पन्न कोठा छन्।

एक दशक अष्ट्रेलियामा बसेपछि नेपाल फर्केर द्वारिकाज, रूपाकोट, मल्ल र हिल्टनजस्ता चर्चित होटलमा काम गरेकी श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि बढिरहेको छ। उनले अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार सुधार र सेवा गुणस्तरमा निरन्तर ध्यान दिनुपर्ने बताइन्।

वरिष्ठ पर्यटन व्यवसायी अभिषेकविक्रम शाहका अनुसार पछिल्लो समय पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढेको छ। नयाँ सरकारले पर्यटनलाई प्राथमिकतामा राखेकाले होटल क्षेत्रमा पनि भविष्यको सम्भावना देखेर लगानी बढेको उनले बताए।

उनका अनुसार निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सकिए विदेशी पर्यटकको संख्या अझै बढ्नेछ।लाजिम्पाटस्थित बुकी बुटिक होटल र नागार्जुन रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएका शाहले भारतीय पर्यटकको आगमनसँगै आन्तरिक पर्यटनको चहलपहल बढेकाले होटल व्यवसायमा उत्साह थपिएको बताए।

लाजिम्पाट बुटिक होटलका सञ्चालक लिलाप्रसाद ढकालका अनुसार नेपालमा होटल तथा रिसोर्टको संख्या बढ्नु सकारात्मक हो। विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर पनि धेरै पर्यटकस्तरीय होटल सञ्चालनमा आएकाले राज्यले होटलवालाको मात्र नभई समग्र होटल व्यवसायीको दृष्टिकोणबाट नीति बनाउनुपर्ने उनको भनाइ छ।

कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किएको छ। कोरोनापछि सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका छन्। चालु वर्षको जुनसम्म मात्रै पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ १९ असार : अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो ।

स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन ।

स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।

स्वास्थ्य मन्त्रालयको दाबी: सुशासनका लागि नीतिगत तयारी

काठमाडौँ, १९ असारः करिब सय दिनअघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूपमात्र नभएर सेवाको गुणस्तरसमेत फेरिएको छ । विगतमा सधैँ जनताको गुनासोमात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाइदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको छ ।

बिरामी, स्वास्थ्य र उपचारको समग्र डिजिटल अभिलेख सुरक्षित तवरले बस्न थालेको छ भने बिरामीलाई सकेसम्म छिटो उपचारमात्र नभएर बिरामीलाई सुपथ मूल्यमै र सहज रूपमा औषधि उपलब्ध गराउने सरकारको लक्ष्यले साकार रूप पनि लिँदैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारका एक सय कार्यसूचीको बुँदा नं ८५ मा रहेका स्वास्थ्यसम्बन्धी छवटा लक्ष्य छन् । ती लक्ष्य पूरा गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यका थुपै विसङ्गतिलाई क्रमशः पाखा लगाउन थालेको छ ।

सुरुआत कार्यसंस्कृति परिवर्तनबाट

विगत र वर्तमानको तुलना गर्दै मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारी भन्नुहुन्छ, “अहिले स्वास्थ्य क्षेत्रको समग्र कार्यसंस्कृति नै परिवर्तन भएको छ ।” जहिले पनि ढिलासुस्ती गर्ने, प्रक्रिया मिच्ने र विभिन्न आग्रह वा पूर्वाग्रहका आधारमा निर्णय गर्ने परिपाटी अहिले हटेको उहाँ बताउनुहुन्छ । स्वास्थ्य सेवा प्रदान गरिरहेका ठूला सङ्घीय अस्पतालदेखि मन्त्रालयअन्तर्गतका तल्ला इकाइहरूलाई पनि जवाफदेही बनाउने र परिणाममुखी काम गर्न मन्त्रीस्तरबाट निरन्तर अनुगमन र सोधपुछ हुने गरेको छ ।

दश प्रतिशत निःशुल्क शय्या व्यवहारमै

विपन्नलाई उपचार सेवाबाट वञ्चित हुन नदिन अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या अनिवार्य रूपमा उपलब्ध गराउने सरकारले चालेको कदमले परिणाम दिन थालेको छ । अस्पतालका निःशुल्क शय्याको एकीकृत विवरणयुक्त ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा आएपछि हालसम्म दुई हजार २६२ जनाले निःशुल्क शय्याको सुविधा प्राप्त गरेका छन् । यसअन्तर्गत अस्पतालले दिने सबै सेवा लक्षित वर्गले निःशुल्क पाउन थालेका छन् । बिरामी र तिनका आफन्तले अस्पताल पुग्नुअघि नै कुन अस्पतालमा कति शय्या निःशुल्क छ भन्नेसमेत थाहा पाउन सक्ने भएका छन् ।

पोर्टलमा हालसम्म २१३ वटा अस्पतालले आआफ्नो कुल शय्या, त्यसको १० प्रतिशत हुन आउने शय्या बारेको अद्यावधिक विवरण पोर्टलमा राखिसकेका छन् । रगत चाहिएका बेला अस्पताल–अस्पताल चहार्दै हिँड्नुपर्ने अवस्थाको समेत अन्त्य भएको छ । निःशुल्क स्वास्थ्य पोर्टलमा हालसम्म नेपाल रेडक्रसको एक र अन्य अस्पतालका गरी कुल ३२ वटा रक्त सञ्चार सेवा केन्द्रहरूकोे सम्पर्क नम्बर र सेवाको विवरण उपलब्ध छ । सरकारले निःशुल्क शय्यामा सबै सेवा प्रदान गर्न लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ स्वीकृत गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

बिरामीको स्वास्थ्य अभिलेख नौलो र बहुउपयोगी कदम

बिरामीको स्वास्थ्यसम्बन्धी सम्पूर्ण अभिलेख प्रणाली विकास गरी पाँचवटा ठूला सङ्घीय अस्पतालहरूमा नमूना अभ्यास भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले आफ्ना सेवासम्बन्धी पूर्ण जानकारी दिन ड्यासबोर्डसमेत सञ्चालनमा ल्याएका छन् । अस्पतालहरूले ‘प्रेषण निर्देशिका, २०८२’ बमोजिम आफ्नै प्रोटोकल बनाई यसको कार्यान्वयन सुरु गरेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो अस्पतालको ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ भने विद्युतीय हाजिरी अनुगमन गर्न २६ वटा सङ्घीय अस्पताल र प्रतिष्ठानहरूले फोकल पर्सन तोकेका छन् । यसका साथै सरकारले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ कार्यान्वयनका लागि हरेक अस्पतालका लागि एक–एक जना फोकल प्वाइन्ट तोकी नियमित अनुगमन गर्ने व्यवस्थासमेत मिलाएको छ ।

सफा र व्यवस्थित सरकारी अस्पताल

वर्तमान सरकार गठन हुनुअघि सर्वाधिक गुनासो रहने गरेको सरसफाइको विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सय दिनभित्रै प्रभावकारी सम्बोधन गरेको छ । मन्त्रालयको निर्देशनबमोजिम हासम्म २६ वटा सङ्घीय अस्पताल तथा प्रतिष्ठानले सरसफाइको अनुगमनका लाागि क्लिनेसब अडिट र त्यसका लागि फोकल पर्सन तोकी नियमित अनुगमको प्रणाली स्थापना भएको छ । यसका साथै स्वास्थ्यकर्मीलाई निरन्तर सेवासम्बद्ध तालिमका साथै विभिन्न अस्पतालका गरी हालसम्म ७२७ जनालाई सफ्ट स्किल तालिम प्रदान गरिएको छ । विभिन्न अस्पतालहरूले आफ्नै औषधि पसल सञ्चालन गरी बिरामी एवं सेवाग्राहीलाई सुलभ एवं गुणस्तरीय औषधि बिक्रीवितरण गरिरहेका छन् ।

जलन उपचारमा कोशेढुङ्गा

सरकारको १०० बुँदे कार्यसूचीमै रहेको जलनसम्बन्धी उपचारलाई प्रभावकरी बनाउने प्रतिबद्धताअन्तर्गत पनि उल्लेख्य कार्य भएका छन् । सरकारले जलन उपचारको अत्याधुनिक व्यवस्थाका लागि कीर्तिपुर अस्पताललाई रु दुई करोड अनुदान बजेट विनियोजन गरेको छ ।

साथै आगामी आव २०८३/८४ का लागि जलन उपचार कोष स्थापनाका लागि रु २० करोड विनियोजन गरेको छ । अस्पतालहरूमा अपुग रकम शोधभर्नाका लागि मन्त्रालयमा रु १० करोड विनियोजन गरिएको छ । हालसम्म १२ सङ्घीय अस्पतालका ४८ जना स्वास्थ्यकर्मीलाई जलनको प्रारम्भिक उपचार व्यवस्थापनका लागि तालिमसमेत सरकारले दिएको छ । यसका साथै अन्य चिकित्सक, स्वास्थ्यकर्मी वा नर्सिङ स्टाफलाई जलनसम्बन्धी उपचार र व्यवस्थापन तालिमका लागि बजेट विनियोजन गरेको छ ।

एयर एम्बुलेन्स, सपना साकार हुँदै

कर्णाली र सुदूरपश्चिमलगायतका दुर्गम क्षेत्रमा आकस्मिक उपचारको अभावमा बिरामीको मृत्यु हुने र त्यसमा पनि सुत्केरीले ज्यान गुमाउनुपर्ने अवस्थाप्रति सरकारले सुरुदेखि नै संवेदनशील रहेको बताएको छ । हाल भएको स्रोतसाधनको समुचित प्रयोगका साथै यो सेवा दीर्घकालीन बनाउन नीतिगत व्यवस्थासमेत आवश्यक भएकाले अहिले ‘हेली तथा एयर एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०८२’ को मस्यौदा तयार भएको छ । यसले एयर एम्बुलेन्सको उपलब्धता र प्रयोगलाई सहज र सर्वसुलभ बनाउन आधार तयार गरेको छ ।

जेनजी आन्दोलनका घाइतेप्रति संवेदनशील सरकार

यसबाहेक सरकारले जेनजी प्रदर्शनका क्रममा हालसम्म सङ्कलित १०२ वटा अस्पतालबाट सङ्कलित दुई हजार ५९९ जना घाइतेकोे स्वास्थ्योपचार सुनिश्चित गर्न विभिन्न स्वास्थ्य संस्थाहरूसँग निरन्तर समन्वय तथा सहकार्य पनि सुरु गरेको छ ।

यसका लागि जिल्लास्तरीय वर्गीकरण सहजीकरण समितिबाट चारवटा समूहमा ५४९ जना घाइतेको विवरण प्राप्त भएको थियो । त्यसलाई गुणस्तर मापन तथा नियमन महाशाखाको संयोजकत्वमा गठन भएको ‘जेनजी प्रदर्शन घाइतेहरूको वर्गीकरण’को प्राविधिक समितिले अनुमोदन गरी गृह मन्त्रालयमा नामावली प्रेषित गरिएको छ ।

यसका साथै देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका घाइतेहरूलाई औषधोपचार गरेबापत अस्पतालहरूलाई शोधभर्ना दिनेसम्बन्धी कार्यविधि, २०८२ लाई पनि सरकारले कार्यान्वयनमा ल्याएको छ । यसबमोजिम अस्पतालहरूलाई हालसम्म करिब ८५ लाख रूपैयाँ र सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइतेहरूको औषधोपचारबापत दुई लाख ३८ हजार रूपैयाँ झन्डै रु ८७ लाख शोधभर्ना रकम भुक्तानी गरिएको छ ।

सुशासनका लागि नीतिगत तयारी

सुशासनतर्फ महत्त्वपूर्ण कदमका रूपमा सरकारले सार्वजनिक खरिद व्यवस्थापन सुधारका लागि पहिचान गरिएका समस्या र समाधानका लागि गर्नुपर्ने सुधारसम्बन्धी सुझाव प्रतिवेदनसमेत तयार गरेको छ । यसअन्तर्गत राष्ट्रिय अटिजम निर्देशिका, जेनेरिक औषधिसम्बन्धी सुझाव दिन गठित समितिको प्रतिवेदन सङ्घीय अस्पतालहरूले प्रवाह गर्ने सेवा सुधारका लागि गठित समितिको अध्यय प्रतिवेदन, २०८१ तथा औषधि उद्योग, थोक विक्रेता एवं फार्मेसीहरूको स्थलगत अनुगमन समितिको अध्ययन प्रतिवेदन, २०८१ लाई कार्यान्वयनमा लगेको छ ।

त्यसैगरी, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लाई प्रस्तावित निजामती सेवा ऐनबमोजिम हुनेगरी समसामयिक संशोधन एवं एकीकरण गरी नयाँ स्वास्थ्य सेवा ऐन तर्जुमा गर्ने तयारी भएको छ । यसको विकल्पमा स्वास्थ्य सेवालाई सङ्घीय निजामती सेवा ऐनमा नै समावेश गर्ने भन्ने सम्बन्धमा अध्ययन गरी मस्यौदासहितको प्रतिवेदन, २०८० र औषधि व्यवस्था विभागको समग्र सुधारसहितको पञ्चवर्षीय रणनीतिक कार्ययोजनाको (२०८२/८३–०८६/८७) मस्यौदा तर्जुमा सम्बन्धी कार्यदलको प्रतिवेदन, २०८२ लाई कार्यान्वयनमा लगेको छ ।

प्रक्रियामै सुधार गर्दै सरकार

मन्त्रालयले हालका प्रक्रियाहरूको मूल्याङ्कन गर्न, सेवा प्रवाहका अवरोध पहिचान गर्न र नयाँ सरलीकृत कार्यविधि तथा अनुगमन प्रणाली तयार गर्न प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ‘प्रक्रिया सुधार कार्यदल’ समेत गठन गरेको छ । साथै विभिन्न महाशाखाको कार्यक्षेत्रभित्र पर्ने सेवाप्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउन महाशाखा प्रमुखलाई सचिवस्तरीय निर्णयबाट अधिकार प्रत्यायोजन गरेको छ ।

प्रशासकीय तथा विभागीय बैठकहरूलाई छोट्याइ पूर्ण रूपमा उद्देश्यमूलक बनाएर पुनर्संरचना गर्ने र विद्युतीय माध्यमबाट खाद्य व्यवसाय अनुमतिपत्र, प्रयोगशाला विश्लेषण प्रतिवेदन, आयातनिर्यात र गुण प्रमाणीकरणसम्बन्धी सेवाहरूसमेत सुरु भएको छ ।

जनचाहनाबमोजिम सेवाप्रवाहलाई सरल, छिटो तथा परिणाममुखी बनाउन, अस्पताल सेवा सुधार कार्यविधि, २०८२, लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३, जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ जारी भएका छन् ।

त्यसैगरी, चालु आव २०८३/८४ मा स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम, वजेट वक्तव्य र वार्षिक बजेट कार्यक्रमको अनुगमन तथा प्रधानमन्त्री कार्यालयमा गरिने प्रतिवेदन पेस गर्न देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका घाइतेहरूलाई औषधोपचार गरेबापत अस्पतालहरूलाई शोधभर्ना दिने कार्यविधि, २०८२ का मस्यौदा तयार भएको छ ।

सुशासनको थप कदम स्वरूप स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनोट, सिफारिस र नियुक्तिसम्बन्धी कार्यविधि, २०८३, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनोट, सिफारिस र नियुक्तिसम्बन्धी कार्यविधि, २०८३, स्वास्थ्य बीमा ऐन, २०७४ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको मस्यौदासमेत स्वास्थ्य मन्त्रालयले तयार गरेको छ ।

साथै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कर्मचारी आचारसंहिता र मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा तयार हुनुका साथै मन्त्रालयका प्रत्येक पदको कार्य विवरण तयार गरी कार्यसम्पादन सूचकसमेत तयार गरिएको छ ।

नेपाल स्वास्थ्य तालिम केन्द्रमार्फत हालसम्म १२ हजारभन्दा बढी बेसिक लाइफ सपोर्ट र ३० जनाका लागि महामारी क्षेत्रमा तत्कालको स्वास्थ्य सेवाबारे तालिमसमेत मन्त्रालयले प्रदान गरिएको छ । स्वास्थ्य क्षेत्रसम्बद्ध जनगुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पुरानो समिति पुनर्संरचना गरी सार्वजनिक सूचना समन्वय शाखा प्रमुखको संयोजकत्वमा गत वैशाख २४ गते तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा गुणस्तर तथा नियमन महाशाखा, सुशासन एकाइका प्रतिनिधिहरू सदस्यका रूपमा समावेश छन् ।

‘हलो हेल्थ’, जनताको गुनासो सोझै मन्त्रालयमा

स्वास्थ्यसम्बन्धी कुनै पनि जनगुनासो व्यवस्थापनका लागि नेपाल सरकारको ‘हेलो सरकार’को साथै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ‘हेल्लो स्वास्थ्य’ प्लेटफर्म सक्रिय छ । यसमार्फत स्वास्थ्यसम्बन्धी गुनासो, जानकारी तथा सूचनाका लागि हटलाइन नं १११५ मा कल गरी वा मन्त्रालयको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी सम्पर्क गर्न सकिने व्यवस्था सरकारले गरेको छ । आव २०८२/८३ को जेठ मसान्तसम्म ‘हेलो हेल्थ’मा जम्मा छ हजार ६२९ वटा गुनासो, सुझाव तथा सेवा अनुरोध प्राप्त भएका थिए ।

सरकारले गत जेठ मसान्तसम्म ‘हेलो हेल्थ’मा प्राप्त गुनासोमध्ये सबै गुनासो सम्बोधन गरेको जानकारी पनि प्रवक्ता डा अधिकारीले दिनुभयो । “यसै पोर्टलमा कर्मचारी भर्ना छनोटसम्बन्धी उजुरीका सम्बन्धमा कारबाही हुँदा सूचना नै रद्द गरिएको थियो”, उहाँले उदाहरण दिनुभयो ।

त्यसैगरी, विभिन्न ठूला अस्पतालदेखि औषधि पसलसम्मको अनुगमनबाट सरकारले स्वास्थ्य सेवामा कुनै पनि लापरवाही वा सेवाको गुुणस्तरमा सम्झौता हुन नदिन प्रभावकारी कदम चालेको छ । यस अवधिमा विभिन्न प्रकृतिका गरी १०० सय वटाभन्दा बढी अनुगमन गरिएको छ । अनुगमनपछि आवश्यक कारबाही, नसिहत तथा निर्देशन पनि मन्त्रालयबाट जारी भएका छन् ।

स्वास्थ्य बीमाको भुक्तानी समस्या समाधानतर्फ

सरकारले यसबाहेक लामो समयअघिदेखि स्रोतको अभाव र बीमा सुविधाको अनुचित प्रयोगजस्ता कारणले स्वास्थ्य बीमामा रहेको भुक्तानी समस्यालाई प्रभावकारी सम्बोधन गरेको छ । सरकार गठनपछि हालसम्म झन्डै चार अर्ब रुपैयाँ स्वास्थ्य बीमाबापत भुक्तानी भएको छ । साथै स्वास्थ्य बीमाको भुक्तानी समस्या निराकरण गर्न त्यसको प्रणालीमै सुधार गर्नेतर्फ सरकार लागिपरेको छ । समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारले नियमित अनुगमनको थितिसमेत बसालेको छ ।

कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने

सुर्खेत । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार बिहान दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन ।सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोली झण्डै बिहीबार दिनभर खोजबीन जारी राख्यो । पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए । उनले करिब ५० सुरक्षाकर्मीसहित घट्नास्थलमा पुगेका थिए ।

“राति भएकाले खोज तथा उद्धारको काम हुन सकेको छैन, शुक्रबार बिहानैदेखि पुनः खोज उद्धार कार्य थाल्छौँ”, उनले भने ।

बिहीबार बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार घटनास्थलमा उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्ति संयुक्तरुपमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको छ ।

सुर्खेत बसपार्कबाट बिहान छुट्दा उक्त गाडीमा पाँच जना सवार रहेको भनिए पनि उक्त सङ्ख्या एकिन नभएको प्रहरी नायब उपरीक्षक विकले बताए । अनुसार गाडी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्नेगरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ । पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाले प्रतिनिधिसभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षासम्बन्धी सचेतना गराउने उद्देश्यले शुक्रबार बिहान सिंहदरबास्थित दलको कार्यालयमा बैठक आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद् बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य ‘सिस्टम’मा ‘अपडेट’ गराउनुपर्ने उनले जानकारी दिए । उक्त सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसद्मा बोल्ने विषयवस्तुसमेत सोही सिस्टममा अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्ने छ ।

यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने चालु आवको जेठसम्ममा ३४७ मात्र विपद्का घटना भएको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए ।

प्रमुख नेपालका अनुसार कामपामा हुने विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीजन्य घटना हुने गरेको र पछिल्लो समय कामपाले सम्बन्ध भएका निकायसँगको सहकार्यमा प्रत्येक दिन तार व्यवस्थापनको काम गरेकाले आगलागीजन्य विपद्का घटनामा कमी आएको छ ।

उनका अनुसार आगलागीका घटना धेरै हुने गरेका छन् । ग्यास चुहावट भएर हुने आगलागी र विद्युत् पोलमा धेरै तारहरू अव्यवस्थित रूपमा राख्दा आगलागीका घटना बढी हुने गरेका हुन् । यस्ता घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग छलफल तथा समन्वय अगाडि बढाइएको बताइएको छ ।

त्यसैगरी, म्याद गुज्रेका ग्यास सिलिन्डरको प्रयोग, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटना बढिरहेको महानगरको निष्कर्ष छ । टोलटोलमा जनचेतना, विगतमा एक स्थानबाट मात्रै दमकल सेवा दिँदै आएकामा हाल तीन स्थानबाट सेवा प्रवाहजस्ता काम अगाडि बढाइएकाले आगामी दिनमा यस्ता घटनामा कमी आउने कामपाको विश्वास रहेको छ ।

कामपाले अहिले ३२ वटै वडामा चार समूहलाई परिचालन गरेर केवल प्रदायक संस्था र कामपा प्रहरीको सहकार्यमा तार व्यवस्थापनको काम तीव्र रूपमा गरिरहेको छ । तार व्यवस्थापन गरिएकामा स्थानमा सडक पोलमा एकापसमा तार ठोक्किएर हुने आगलागीका घटनामा कमी आएको छ ।

“डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ”, विपद् पूर्वतयारीका विषयमा कुरा गर्दै नेपालले भने, “डुबानमा परेकाको उद्धार कसरी गर्ने भनी कृत्रिम अभ्यास, उद्धारकै लागि आवश्यक पर्ने मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाललगायतका सामग्री तयारी अवस्थामा राखिएको छ ।”

मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिसकेको उनले जानकारी दिए । पछिल्लो समय काठमाडौँमा बढ्दो सहरीकरण, ढलान प्रक्रिया, सरोकारवाला निकायको छलफलबिना नै सडक खन्ने र पुर्ने कार्यले गर्दा धेरै नदीजन्य विपद्का घटना हुने गरेको छ ।

नागर्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा हुँदा कतिपय ठाउँ जलमग्न

काठमाडौँ। आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा-चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो अभिलेखअनुसार कञ्चनपुरपछि कपिलवस्तुमा ११८ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा पनि भारी नजिक वर्षा भएको छ । विभागका अनुसार काठमाडौँको नागर्जुन क्षेत्रमा ४६ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै सुन्दरीजलमा ४२ दशमलव आठ, कपन र बबरमहल क्षेत्रमा ३५/३५ र बूढानीलकण्ठमा १५ मिलिमिटर वर्षा भएको छ । ललितपुर र भक्तपुरमा भने मध्यम मात्रै वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्की र दाङमा पनि भारी वर्षा भएको छ । आज काठमाडौँमा भएको वर्षाका कारण कतिपय ठाउँ जलमग्न भएका छन् ।

अहिले पनि सडकमा पानी जमेकाले यात्रुले सहज रूपमा यातायातका साधन साउन नसकेका भन्दै आवागमन सहज बनाउन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

केहीबेर अघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी अविरल वर्षाका कारण उपत्यकाका विभिन्न सडकखण्डमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको जानकारी दिएको छ ।

प्रतिकूल मौसममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नागरिकको सहजताका निरन्तर सडकमा खटिइ सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गरिरहेका छन् । यसैबीच, यात्राका क्रममा आवश्यक सजगता अपनाउन र सुरक्षित रहन कार्यालयले सबैमा अनुरोध गरेको छ ।

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर। वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारी साधनलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

कार्यालयका अनुसार कान्ति लोकपथका अधिकांश सडक खण्ड भौगोलिक तथा भूगर्भीय दृष्टिले अत्यन्त जोखिमयुक्त रहेका छन् ।

वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च भएकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

राजमार्गमा हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले उक्त निर्णय लागू गरिएको प्रशासनले जनाएको छ । साथै सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पारित भएको छ ।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथिको दफाबार छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि निर्णयार्थ प्रस्तुत हुँदा विधेयक बहुमतले पारित भएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यसअघि मन्त्री मेहताले छलफलमा सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै सरकारले अघि सारेको १०० बुँदे सुधारको कार्यसूचीबमोजिम स्वास्थ्य क्षेत्रमा सुधार हुँदै आएको बताइन्। उनले विपन्न वर्ग पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर १० प्रतिशत शय्या व्यवस्था गरिएको स्पष्ट गरिन् ।

विधेयकमाथि संशोधनकर्ता सांसदहरू आरेन राई, निशा डाँगी, खड्ग शाही, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, कमल सुवेदी, रमेश मल्ल, साजिदा खातुन सिद्धकी, कृपाराम रानालगायतले छलफलमा भाग लिइन् । छलफलमा सांसदहरूले उक्त विधेयकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वा

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा। बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् ।

चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो ।

गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो । उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ÷छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो ।

पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधन आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ । पुलको परीक्षण गर्नुका साथै नटलाई पुनःकस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन आजैदेखि केरूङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।

चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएका प्रहरी प्रमुख थापाले जानकारी दिए ।

पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन सरोकार भएका सबैलाई उनले आग्रह ग ।

उनका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ । सो डण्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फ जानकारी दिएका छन् ।

पुलबाट सवारीसाधन सञ्चालन हुन थालेसँगै सामग्री आयात सहज हुन थालेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । उनका अनुसार परीक्षणका लागि केही सवारीसाधन भन्सार हातामा पुगेका छन् ।

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कागेश्वरी मनोहरा-९ बस्ने २१ वर्षीय आदेश खड्का र १८ वर्षीय सौजन सिम्खडा, रसुवा चिलिमे गाउँपालिका-५ बस्ने २३ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय अर्जुन तामाङ र ललितपुरको बागडोल बस्ने ३२ वर्षीय चिनियाँ नागरिक लिउ वेट पक्राउ परेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

सवारीसाधनमा हिँडिरहेका निजहरूलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको भेग र नगदसहित नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार उक्त सामान फेला परेसँगै प्रहरीले बागडोलस्थित चिनियाँ नागरिकको कोठासमेत खानतलासी गरेको छ ।

निजहरूसँग ८८१ थान भेप, रु छ लाख, चार थान चाँदी जस्तो देखिने धातुको हात्तीका मूर्ति, ५०३ चिनियाँ युआन, दश थान पावर बैङ्क, तीन थान मोबाइल, ४६ बट्टा चिनियाँ चुरोट, दुई थान विलबुक, एक थान ल्यापटप, एक थान सिपियु, एक थान डायरी र एक थान प्रिन्टर बरामद गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

सांसदलाई मन्त्री प्रतिभा रावलको आग्रह, ‘एउटा सहकारीको पैसा अर्कोमा दिने भ्रम नफैलाऔँ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथ्यमा आधारित बहस गर्न र बचतकर्तामा अनावश्यक त्रास फैलाउने अभिव्यक्ति नदिन सांसदहरूलाई आग्रह गरेकी छन्।

बिहीबार प्रतिनिधिसभामा सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले एउटा सहकारीबाट पैसा उठाएर अर्को सहकारीलाई दिने भन्ने भ्रम फैलाउनु उचित नहुने बताइन्।

उनले भनिन्, ‘एउटा सहकारीबाट उठाएर अर्को सहकारीलाई पो दिने हो कि भन्ने खालको भ्रम सिर्जना नगरिदिऔँ। यहाँ हामीले गर्ने टिप्पणीले हजारौं बचतकर्ता प्रभावित हुन सक्छन्। अहिले पनि धेरै बचतकर्ता पीडित अवस्थामा छन्। यस्ता अभिव्यक्तिले उनीहरू थप आतङ्कित हुन सक्छन्। त्यसैले सबै माननीय सदस्यहरूलाई संवेदनशील भएर बोल्न आग्रह गर्दछु।’

स्थानीय तहबाट दर्ता भएका सहकारीले स्वतः देशभर कार्यक्षेत्र विस्तार गर्न सक्ने भन्ने धारणा गलत रहेको पनि उनले स्पष्ट पारिन्।

‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

पाल्पा । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ।

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सिडिई कृष्णराज अधिकारीले बताए।

वि.सं. २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण गरिएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामोस्टिल पुलभन्दा केही तल १२३ मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ ।

पैदलयात्रुका लागि फुटपाथसहित ११ मिटर चौडाइ रहने पुल ४० टन भारवहन क्षमता हुनेछ । सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढाइएको पुल ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको छ।

वि.सं. २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग २०७९ असार ३० गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो।

करिब रु २७ करोड ७१ लाख नौ हजार लागत निर्माण सम्झौता रहेको १२० मिटर पुलमा लम्बाइको पुलमा पछि तीन मिटर थप गरिएको आयोजना प्रमुख अधिकारीले बताए।

ठुला भारवहन क्षमताका सवारीसाधन राम्दीको हालको पुलमा सञ्चालन हुन नसक्दा मालसामान ढुवानीमा कठिनाइ भएको थियो। नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सामन ढुवानीकर्ता, उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन भएको पाइएको छ । राम्दी क्षेत्र आफैँमा व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

ट्रम्पविरूद्ध युरोप एकजुट

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ।

ट्रम्पको दबाबले मेलोनीलाई अलग पार्ने सट्टा युरोपेली नेताहरूलाई उहाँको पक्षमा उभिन प्रेरित गरेको विश्लेषकहरूले बताएका छन्। यससँगै रक्षा, सुरक्षा, व्यापार र विदेश नीतिमा युरोपेली एकता झन् बलियो बन्दै गएको आकलन गरिएको छ।

ट्रम्पले इटालीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै मेलोनीले आफ्नो ध्यान आकर्षित गर्न खोजेको आरोप लगाएपछि युरोपेली नेताहरूले उनीप्रति समर्थन जनाएका हुन्। विगतमा मेलोनीको दक्षिणपन्थी राजनीतिक पृष्ठभूमिका कारण दूरी कायम राख्ने केही युरोपेली देशसमेत अहिले उहाँसँग सहकार्य बढाउने पक्षमा देखिएका छन्।

विश्लेषकहरूका अनुसार युक्रेन र इरानका युद्ध, चीनसँग बढ्दो व्यापार असन्तुलन तथा रुसबाट उत्पन्न सुरक्षा चुनौतीका कारण युरोपेली देशहरू साझा रणनीति बनाउन बाध्य भएका छन्। जर्मन मार्सल फन्डकी उपाध्यक्ष सुधा डेभिड–विल्पका अनुसार युरोपले अहिले अमेरिका र चीनबीच आफ्नो प्रभाव जोगाउन सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छ। यही एकताको परीक्षा आगामी साता टर्कीमा हुने नाटो शिखर सम्मेलनमा हुने अपेक्षा गरिएको छ।

ट्रम्पसँगको विवादपछि मेलोनीको युरोपेली नेताहरूसँगको सम्बन्ध उल्लेखनीय रूपमा नजिकिएको छ । मार्चमा उहाँले संसद्को स्वीकृतिबिना सिसिलीस्थित सैन्य अड्डा प्रयोग गर्न अमेरिकी बमवर्षकलाई अनुमति नदिने निर्णय गरेका थिए।

यसअघि विदेश नीतिसम्बन्धी महत्त्वपूर्ण छलफलबाट प्रायः बाहिर राखिने मेलोनी हाल जर्मनी, फ्रान्स, बेलायत र पोल्यान्डका नेताहरूसँग नियमित समन्वयमा देखिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको द्विपक्षीय शिखर बैठकले पनि यही परिवर्तनलाई सङ्केत गरेको छ।

युरोपका राष्ट्रवादी दलहरूले पनि ट्रम्पप्रतिको आफ्नो धारणा परिवर्तन गर्न थालेका छन् । फ्रान्सका दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले अमेरिकी नीतिलाई विदेशी हस्तक्षेपको संज्ञा दिँदै ट्रम्पलाई अस्थिर नेतृत्वकर्ता भनेका छन् ।

जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले पनि इरानविरुद्धको अमेरिकी सैन्य अभियानको आलोचना गरेको छ। विश्लेषकहरूका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै यी दलहरूले अन्तर्राष्ट्रिय मुद्दाभन्दा घरेलु राजनीतिमा बढी केन्द्रित हुने रणनीति अपनाइरहेका छन्।

ट्रम्पको प्रभाव युरोपेली सङ्घ (इयु) भन्दा बाहिर पनि देखिएको छ । ग्रिनल्यान्ड कब्जा गर्ने उनको चेतावनीपछि डेनमार्क र ग्रिनल्यान्डमा विरोध प्रदर्शन भएका थिए भने अल्बानियामा ट्रम्प परिवारसँग जोडिएको एक विलासी परियोजना राजनीतिक विवादको विषय बनेको छ। हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि ट्रम्पसँगको निकट सम्बन्धका कारण राजनीतिक दबाब बेहोर्नुपरेको विश्लेषण सार्वजनिक भएको छ।

यद्यपि आप्रवासन र सुरक्षाजस्ता केही विषयमा मेलोनी र ट्रम्पको धारणा मिल्ने गरे पनि युक्रेन युद्धमा मेलोनीको अडान युरोपेली साझेदारसँग नजिक रहेको छ । उनले किएभलाई निरन्तर समर्थन गर्दै आउनुभएको छ र यसले युरोपसँगको सम्बन्ध थप बलियो बनाएको छ । ट्रम्पसँगको सार्वजनिक विवादपछि मेलोनीले उहाँसँगको सम्बन्धले आफ्नो लोकप्रियतामा कुनै लाभ नपुगेको प्रतिक्रिया पनि दिएका थिए।

हालैको प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार इटालीका ८३ प्रतिशत नागरिकले ट्रम्पको विदेश नीतिमाथि विश्वास नगरेको बताएका छन्। इरान, व्यापारिक कर र आप्रवासन नीतिमा ट्रम्पको भूमिकाप्रति पनि समर्थन न्यून देखिएको छ।

सन् २०२७ सम्म हुने राष्ट्रिय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पसँगको सम्बन्ध र इरान युद्धको असर मेलोनीका लागि राजनीतिक चुनौती बन्न सक्ने विश्लेषकहरूको भनाइ छ। रोमको ल्युइस विश्वविद्यालयका राजनीतिक विश्लेषक लोरेन्जो क्यास्टेलानीका अनुसार अन्ततः इन्धनजस्ता दैनिक उपभोगका वस्तुको मूल्यवृद्धिको असर मतदाताले आफ्नै सरकारसँग जोड्ने भएकाले त्यसको राजनीतिक मूल्य मेलोनीले नै चुकाउनुपर्ने अवस्था आउन सक्छ।

दक्षिण अफ्रिका बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते

दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस बिहीबार पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरी र यातायात अधिकारीले बताएका छन् । मत्यु हुनेका केहीे बच्चाहरू पनि रहेको बताइएको छ।

सडक ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार बस पर्यटकीय शहर केप टाउनबाट पूर्वी केप प्रान्तको इडुटिवामा जाँदै गर्दा बिहानको समयमा दुर्घटना भएको हो ।

“सामान ढुवानी गर्ने गाडीसँग ठोक्किनबाट बच्न बसले घुम्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना हुन पुगेको प्ररम्भिक अनुसन्धानले देखाएको छ,” सडक ट्राफिक व्यवस्थापन कार्यालयले विज्ञप्तिमा भनेको छ ।

प्रहरीका अनुसार अधिकांश पीडित घटनास्थलमै मृत घोषित भएका थिए । मृतकमध्ये ७ पुरुष, ५ महिला र ३ बच्चा रहेको बताइएको छ ।

कार्यालयले सामान्य रूपमा घाइते ४३ यात्रु घटनास्थलबाट प्राथमिक उपचारपछि घर फर्किएका छन् भने केहीलाई अस्पताल लगिएको छ । प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ ।

दक्षिण अफ्रिकासँग महाद्वीपकै सबैभन्दा विकसित सडक सञ्जाल छ तर अझै पनि सडक दुर्घटनामा उच्च मृत्युदर छ, जसको मुख्य कारण सवारी साधनको क्षमताभन्दा बढी अत्यधिक गति, चालकको लापरवाहीपूर्ण तरिकाले सवारी साधन हाक्ने प्रवृति, बिग्रिएका सवारी र दुर्घटना नियन्त्रणका उपायका लागि बनेका कानूनको उल्लङ्घन हो।

सडक ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ मा दक्षिण अफ्रिकामा ११ हजार ४८५ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । यो अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतभन्दा बढीले कमी हो। उक्त बर्ष मृत्यु हुनेमध्ये धेरै पैदलयात्री थिए ।

पाँचथरको एउटै वडाका ६० घर पहिरोको जोखिममा

पाँचथर – अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् । यही असार ४ र ५ गते अत्यधिक वर्षा भएपछि हिलिहाङ–५ सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो ।

पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ । उनीहरुलाई अन्यत्र बसोबासको व्यवस्था गरी राहत वितरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिए । यस्तै नगेन्द्र ओझा, गोपाल गजमेर, किरण खुदाङ र सुष्मा माबोको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ ।

पहिरोका कारण यहाँ रहेको मृदङ्गा झरना विद्यालयसमेत जोखिममा छ । बाढी पहिरोका कारण यस वडाका सबै सडक क्षतिग्रस्त बनेका छन् । खानेपानीका योजनासमेत अवरुद्ध भएका छन् । मुहानमा क्षति पुग्दा ६ सिंचाइ योजना र पाँच खानेपानी योजना अवरुद्ध छन् । हिलिहाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा विपद्बाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि कार्यक्रम तय गरेको गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए ।

यसैगरी बाढी पहिरोले अलैँची खेतीमा क्षति पु¥याउँदा कृषक मारमा परेका छन् । बालीनाली तथा खेतीयोग्य जमिनमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुहाङले बताए ।

राजविराज–भारदह सडक अलपत्र

राजविराज (सप्तरी) – राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ ।

उक्त सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पूरा नगरिदिएकाले सडक अलपत्र परेका हो ।

निर्माण कार्य पूरा नभएपछि अलपत्र पारिएको सो सडकबाट निस्कने धुलो र दैनिक सञ्चालन हुने सार्वजनिक यातायातले छोड्ने धुवाँका कारण स्थानीयले दैनिक हैरानी खेप्नुपरेको छ ।

झलहीदेखि हनुमाननगर कङ्कालिनी नगरपालिकाको इनर्वासम्मको आठ किलोमिटर सडक ठेकेदारले भताभुङ्ग छोडिदिएका कारण धुलोबाट सर्वसाधारण हैरानी भएका हुन् ।

“राजविराज–भारदह सडकखण्डको ठेक्का लागेको लामो भए पनि निर्माण कार्यले गति लिन सकेको छैन । सडक खनेर छाडिएको छ”, राजविराज नगरपालिका–११ स्थित झलहीका श्रवण यादवले गुनासो गर्नुभयो

उहाँ भन्नुहुन्छ, “राजविराजबाट पूर्वतर्फ विराटनगर र धरान जानका लागि यही राजविराज–भारदह सडक मुख्य बाटो भएकाले खनिएको सडकमा दैनिक चल्ने सवारीसाधनका कारण सडकमा हिँड्नेदेखि साइकलयात्री तथा सर्वसाधारणलाई मर्का परेको छ ।”

सडक डिभिजन कार्यालय लहानमार्फत रु २२ करोड ५३ लाख लागतमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको म्याद पटकपटक थपिँदै आएको छ ।

दोहा वार्तापछिको अमेरिका–इरान संवाद प्रयास जारी

मध्यस्थकर्ताहरूले बिहीबार बताएअनुसार इरान र संयुक्त राज्य अमेरिकाले दोहामा अप्रत्यक्ष वार्ताको एक चरण समाप्त गरेका छन् । हालका गोलीबारीपछि तनाव कम गर्न र वार्तालाई अघि बढाउन प्रयास जारी छ ।

जुनमा वाशिङ्गटन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा समझदारी पत्रमा सहमति जनाएका थिए । यसमा फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायलको हवाई हमलापछि सुरु भएको युद्धलाई ६० दिनका लागि रोक्ने तथा नाकाबन्दी गरिएको हर्मुज जलमार्ग (जलडमरूमध्य) फेरि खोल्ने व्यवस्था समावेश थियो ।

द्वन्द्वरत दुई राष्ट्रबीच भएको १४ बुँदे यो सम्झौताले युद्धलाई स्थायी रूपमा अन्त्य गर्न, हर्मुजको व्यवस्था, इरानको पुनर्निर्माण कोष र इरानकोे आणविक कार्यक्रम जस्ता विषयमा छलफल गर्न समयसीमा पनि तोकेको थियो ।

—सहमति—

दोहामा बुधबार दुई द्वन्द्वरत पक्षबीच अप्रत्यक्ष छलफलपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा मध्यस्थकर्ता कतार र पाकिस्तानले कूटनीतिक संवाद अगाडि बढिरहेको सङ्केत दिएका छन्।

“कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले दोहामा बुधबार अमेरिका र इरानका वार्ताकारहरूसँग छुट्टाछुट्टै बैठक समाप्त गरेका छन् र सकारात्मक प्रगति भएको छ,” दुवै मध्यस्थ राष्ट्रले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

वार्ता समाप्तिपछि इरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका विदेश मन्त्रालयका उपमन्त्री काजेम गारिबाबादीले समझदारी पत्रको कथित उल्लङ्घन रिपोर्ट गर्न र रेकर्ड गर्न बिहीबारसम्म सञ्चार च्यानल स्थापना गर्ने सहमति भएको बताउनुभयो ।

तेहरानले कुनै पनि समाधानको भागको रूपमा माग गर्दै आएको रोक्का गरिएको इरानी सम्पत्तिको मुद्दा पनि छलफलमा आएको गारिबाबादीले बताउनुभयो । उनले सुरुको छ अर्ब डलरको केही भागको प्रयोगबारे समीक्षा गरिएको र इरानलाई आवश्यक वस्तुहरू खरिद गरी उपलब्ध गराउने सहमति भएको उहाँले बताउनुभयो ।

ट्रम्पले बुधबार ‘एअर फोर्स वन’ मा चढ्नुअघि पत्रकारहरूसँग भन्नुभयो, “इरानको आणविक निशस्त्रीकरण राम्रोसँग अघि बढिरहेको छ ।”
एक स्रोतल एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो, दोहाको अप्रत्यक्ष वार्ता मुख्य रूपमा हर्मुज जलडमरूमध्यको व्यवस्थामा केन्द्रित थियो भने आणविक मुद्दालाई पछिका चरणमा गहिरो छलफल गर्न बाँकी राखिएको थियो।

—अब के हुन्छ—

आगामी अमेरिका–इरान अप्रत्यक्ष वार्ता इरानका दिवङ्गत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिपछि हुनेछ ।

अयातोल्लाह अली खामेनी ८६ वर्षको उमेरमा युद्धको पहिलो दिन २८ फेब्रुअरीमा तेहरानको केन्द्रमा आफ्नो आवासमा मारिनुभएको थियो । त्यसपछि शक्ति तुरुन्तै उहाँको छोरा मोजतबालाई सरेको थियो ।

अली खामेनीको सार्वजनिक अन्त्येष्टि शनिबारबाट सुरु हुनेछ । उहाँको शव तेहरानको केन्द्रमा रहेको विशाल परिसरमा राखिनेछ, जहाँ शुक्रबार गरिने प्रमुख प्रार्थना, आधिकारिक कार्यक्रम र धार्मिक सभाहरू हुने गर्छन्।

कतार र पाकिस्तानले विज्ञप्तिमा दुवै पक्षले कुराकानी जारी राख्ने सहमति गरेको बताएका छन् । शबयात्रापछि यथासम्भव चाँडो अर्को बैठक राखिने उनीहरूले बताएका छन् ।

दिवंगत खामेनीको अन्तिम संस्कार ९ जुलाईमा उत्तर–पूर्वी शहर मशहदको इमाम रेजाको मस्जिदमा हुनेछ । मशहदजुन खामेनीको जन्मस्थल हो ।

—मध्यपूर्वको तनाबको अवस्था—

जुनमा अमेरिका–इरान सम्झौता भएपछि दुवै पक्षले खाडीमा छिटपुट गोलीबारी गरेका छन्।

हर्मुज जलमार्गमा आफ्नो नियनत्रणलाई तेहरानले लागू गर्न खोज्दा बारम्बार झडप निम्तिएको छ ।

सबैभन्दा पछि भएको एक आक्रमणमा अमेरिकी सेन्ट्रल कमान्डले यो हप्ताको सुरुमा १० इरानी सैन्य लक्ष्यमा हमला गरेको बताएको थियो, जसलाई अमेरिकाले ‘व्यावसायिक जहाजमाथि इरानको निरन्तर आक्रामकता’ को जवाफ भनेको थियो ।

इरानले पनि आक्रमणको बदलामा भन्दै कुवेत र बहराइनमा रहेका अमेरिकी आधारमा जवाफी हमला गरेको दाबी गरेको थियो । दुवै देशले आक्रमणका लागि तेहरानको निन्दा गरेका थिए ।

तर कतारमा वार्ता हुनुअघिका दिनहरूमा गोलीबारी शान्त देखिएको छ ।

लेबनान मोर्चामा इजरायल र हिजबुल्लाहबीचको लडाइँ अपेक्षाकृत शान्त छ, यद्यपि राष्ट्रिय समाचार संस्था (नेशनल न्यूज एजेन्सी)ले बुधबार साँझ दक्षिणी शहर नबातिएहमा हमला भएको रिपोर्ट गरेको छ । यद्यपि, आक्रमणबाट भएको षति वा पीडितबारे उल्लेख छैन ।

दुई देशबीचको प्रस्तावित सहमतिहनुसार लेबनानले अझै इजरायल ‘पाइलट जोन’ बाट फिर्ता होस् भन्ने चाहन्छ र त्यहाँ लेबनानी सेना तैनाथ हुनेछ ।

तेहरानले कुनै पनि सम्झौतामा यो समानान्तर द्वन्द्व अन्त्य र दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ, जसको केही भाग इजरायलले कब्जा गरेको छ ।

स्वदेशमै रोजगार सिर्जना गर्न श्रममन्त्री यादवको जोड

काठमाडौँ – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले युवा उद्यमी र व्यवसायीको सहयोगीका रुपमा मन्त्रालयले भूमिका खेल्ने बताए । उनले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई पुरस्कृत र सम्मानसमेत गरे । मोरङस्थित प्रशंसा ‘हनि’ फर्मका सञ्चालक लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ भने अन्य ६ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

कतारमा रोजगार गरी स्वदेश फर्केर मौरीपालन गर्दै उद्यमीका रुपमा स्थापित भएका राईले उद्यम यात्राको अनुभव सुनाए । उनले मेहनत भए आफ्नै देशमा आम्दानी गर्न सकिने विश्वास व्यक्त गरे ।

यसैगरी, झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यमकुमार गोले, पर्वतका शिवकुमार क्षेत्री, अर्घाखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्लले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरे।

कार्यक्रममा मन्त्रालयले बालश्रममुक्त घोषणा भएका १३ स्थानीय तहलाई सम्मान गरिएको थियो । काठमाडौँको चन्द्रागिरि नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र बाणगङ्गा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बागलुङ्गको बरेङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र फेदीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुखले सम्मान र प्रशंसापत्र ग्रहण गरे ।

मन्त्रालयले रोजगार श्रमिकको मापदण्ड पूरा गरेका ६ व्यवसायी प्रतिष्ठानलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नवजीवन अस्पताल प्राली, होङ्सी शिवम् सिमेन्ट, पूर्वी नवलपरासी, अम्बे स्टिल लिमिटेड, एशियन पेन्ट्स नेपाल, मारुती सिमेन्ट लिमिटेड, मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेड रहेका छन् ।

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

काठमाडौँ – सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छिन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई मन्त्री रावलले लालपुर्जा उपलब्ध गराएकी हुन् ।

लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन् । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका छन् ।

बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए । जनमत पार्टीका सांसद संजय यादवले मधेश प्रदेश सरकारले १ करोड भन्दा कमको योजना नल्याउने भनेर घोषणा गरेपनि स–साना टुक्रा रेडबुकमा राखेको पाइएकाले विरोध जनाएका छन् । उनले बजेट पुनर्लेखन नभएसम्म सम्पूर्ण विपक्षी दलहरुले संसद अवरुद्ध गर्ने बताए ।

त्यस्तै सांसद उपेन्द्र महतोले अहिलेको मधेश प्रदेश सरकारले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरेको आरोप लगाएका छन् । उनले प्रदेशको अर्थतन्त्रलाई नै समाप्त पार्नेतर्फ प्रदेश सरकार लागि परेको आरोप लगाएका छन् ।

रौतहटमा एक अर्व ६६ करोडको एउटा टेन्डर आह्वान गरिएकोमा सांसद महतोले आपत्ति जनाएका छन् । उनले रेडबुकमै नभएको योजनाको टेन्डर भएकोमा प्रश्न उठाए । मन्त्रालयहरुले पाउने भन्दा पनि बढी रकमको टेन्डर गरिनुले आउने दिनमा प्रदेश सरकारको व्ययमा थपिने सांसद महतोले बताए ।

उनले संघीयतालाई नै समाप्त पार्ने गरी कार्य कहाँबाट गर्न खोजिएको भनेर मुख्यमन्त्री कृष्ण यादवलाई प्रश्न गरेका छन् । मुख्यमन्त्री कृष्ण यादवले संघीयता समाप्त पार्नेतर्फ लागेको र उनलाई सत्ताधारी नेकपा माओवादी र नेकपा एमालेले पनि साथ दिइरहेको सांसद महतोले आरोप लगाएका छन् । सांसद महतोले नेपाली कांग्रेस दल लासको पार्टी भएको आरोप लगाएका छन् ।

हिजो (बुधबार) बसेको बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएपछि बैठक आजका लागि स्थगित भएको थियो । अब अर्को बैठक कहिले बस्ने भन्ने निश्चित छैन ।

निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु २ अर्ब बजेट

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ ।

मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्टाएको छ । कञ्जनपुर जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि रु १४ करोड ५० लाख बजेट छुट्टाएको छ । अछाम जिल्लाका अधुरा सडकका लागि रु १० करोड बजेट विनियोजन गरेको छ । मकवानपुरको अधुरो सडकका लागि रु ११ करोड ५० लाख विनियोजन गरेको छ ।

मोरङको सडकको लागि रु १३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले निर्वाचन रणनीतिक सडकका अधुरा योजना सम्पन्न गर्नका लागि न्यूनतम रु ३० लाखदेखि १४ करोड ३० लाख रकमसम्म विनियोजन गरेको छ ।