`

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकुलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिनुभएको छ।

निजी कम्पनीलाई पनि त्यसो गर्न आग्रह गरिने निर्णयमा उल्लेख गरिएको छ । निर्णयअनुसार सरकारले अब सार्वजनिक कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

उहाँले भन्नुभयो, “सरकारले केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन बचतका लागि वैकल्पिक उपाय सोच्न दिएको निर्देशन अनुसार इन्धन बचतका लागि ‘दुई दिन घरबाट सेवा’ गर्ने निर्णय गरेको छ । यो कार्यक्रम सरकारी र निजी दुई तहमा लागू गरिनेछ । श्रम विभागले यसको नियमन र अनुगमन गर्नेछ ।”

सरकारले धेरै कामदार रहेका कम्पनीहरूलाई पनि उनीहरूको अनुकुलतामा हप्तामा दुई दिन घरबाट नै काम गर्ने वातावरण मिलाउनका आग्रह गरेको छ ।

इन्धन बचत तथा आर्थिक मितव्ययीताका लागि सरकारका मन्त्री, विधायकलाई अनावश्यक विदेश भ्रमण स्थगित गर्न भनिएको छ । दिल्ली सरकारले तीन महिनासम्म ठूला सार्वजनिक कार्यक्रम नगर्ने भएको छ ।

मुख्यमन्त्री रेखा गुप्ताले ऊर्जा संरक्षण र स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि मल र बजारमा ‘मेड इन इन्डिया’ उत्पादनका लागि प्राथमिकता दिन भनेको छ ।

मुख्यमन्त्रीले विद्युतीय सवारी नीति तयार भएको र छिट्टै कार्यान्वयन हुने बताउनुभयो । सरकारी कार्यालयहरूमा एयर कन्डिसनर स्थायी रूपमा २४–२६ डिग्रीमा सेट गरिनेछ। पावर कन्ट्रोलका लागि सेन्सर जडान गरिनेछ । यो अभियान मे १५ देखि सुरु हुनेछ ।

यद्यपि, अत्यावश्यक सेवालाई यसबाट बाहिर राखिएको छ । मुख्यमन्त्री स्वयंले आफ्नो कार्यालयको सवारी साधनको सङ्ख्या १३ बाट घटाएर चारमा झार्नुभएको छ। दिल्लीले हप्तामा एक दिन सवारी साधनविहीन दिनको पनि घोषणा गरेको छ।

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नलिई विदेशमा श्रम गर्न पुगेका नेपाली श्रमिकको पनि मृत्य भएको खण्डमा शव स्वदेश ल्याउने व्यवस्था मिलाउने भएको छ ।

यसअघि मन्त्रालयले वैदेशिक रोजगारबाट श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको हकमा मात्रै मृत्यु भएमा शव स्वदेश ल्याउने नीति रहेको थियो । मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय विकास समस्या समाधान समिति बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले उक्त व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

उहाँका अनुसार वैदेशिक रोजागरमा श्रम स्वीकृति नलिई जानेको सङ्ख्या धेरै रहेको र त्यहाँ मृत्युसमेत हुने हुँदा उद्धार गर्ने अवस्था नभएको गुनासो आउने गरेको छ । यसले नेपाली नागरिकको समस्या समाधान गर्न मन्त्रालयले सरल नीति ल्याउनुपर्ने उहाँको धारणा थियो । यसैअनुरूप मृत्यु भइसकेको खण्डमा श्रम स्वीकृतिको कागज नभएर शव विदेशमै अलपत्र पर्नुपर्ने स्थिति हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “मृत्यु भइसकेपछि श्रम स्वीकृतिको कागज कुरेर बस्ने होइन, राज्यले जिम्मेवारी लिनैपर्छ ।”

कार्यक्रममा उहाँले वैदेशिक रोजगारलाई बाध्यता नभइ विकल्पका रूपमा अपनाउने परिस्थिति सिर्जना गर्न आन्तरिक रोजगार प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

साथै, मन्त्रालयको आगामी आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले पुँजीगत खर्च बढाउन र जनतामुखी सेवामा जोड दिन विभाग र मातहतका निकाय प्रमुखलाई निर्देशन दिनुभयो ।

बैठकमा सचिव डा दिपक काफ्लेले सरकारको गतिअनुसार कर्मचारीले आफ्नो रफ्तार बढाउन आग्रह गर्नुभयो । बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका सदस्य डा पुकार मल्लले समस्याभन्दा पनि समाधानसहितको कार्ययोजना बनाउन सुझाव दिनुभयो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयको तेस्रो त्रैमासिक समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम उपर सांसदले उठाउनुभएको चासो, सुझाव र सरोकारका विषयमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै सांसदहरुले उठाउनुभएका विषयलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेन्जी पुस्ताबाट भएको आन्दोलन त्यसपछिको सङ्क्रमण पश्चात भएको निर्वाचनमार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमतको जनादेश प्राप्त भएको छ ।”

उहाँले नेपाली जनताबाट प्राप्त अपूर्व स्नेह र अपेक्षालाई भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र सामाजिक समानतासहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने दृढ सङ्कल्पसहित सम्माननीय राष्ट्रपतिज्यूबाट २०८३ वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि सरकारको तर्फबाट आभारसमेत व्यक्त गर्नुभयो ।

उहाँले नेपालको संविधानले दिशानिर्देश गरेको सुशासन, विकास र समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार, बाचा, प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको पनि बताउनुभयो ।

नागरिकको अपेक्षाअनुरुप सुशासनसहितको समृद्ध नेपालको चाहनालाई आत्मसाथ गरी प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरूबाट प्राप्त सुझाव अत्यन्तै मननयोग्य भएको पनि अर्थमन्त्री वाग्लेको भनाइ थियो ।

उहाँले भन्नुभयो, “सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय उपर माननीय सदस्यले लिखित तथा मौखिक रूपमा राख्नुभएको धारणाको समग्र विश्लेषण गर्दा नीति तथा कार्यक्रम हामी सबैको साझा दस्तावेजको रूपमा रहेको नेपाल सरकारले महसुस गरेको छ, राष्ट्रिय विकासमा साझा दृष्टिकोणसहित मापनयोग्य लक्ष्य र दीर्घकालीन गन्तव्य तय गर्न सम्पूर्ण राजनीतिक दलका धारणालाई एकीकृत गरी सामुहिक प्रयत्न गर्न सरकार प्रतिवद्ध छ ।”

उहाँले आर्थिक रुपान्तरण, सामाजिक न्यायमा आधारित समावेशी राज्य व्यवस्था स्थापनाका लागि नागरिकबाट प्राप्त जनविश्वासलाई कायम राख्न सरकार गठन भएको पहिलो दिनलाई सुशासनको आरम्भको रूपमा लिई गरी शासकीय सुधारका १०० कार्यसूचीको घोषणा गरी हाल कार्यान्वयन भइरहेको उल्लेख गर्दै नागरिकको सरकारप्रतिको भरोसा र विश्वास अभिवृद्धि, सेवा प्रवाहमा सुधार, गुनासो व्यवस्थापन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनुभयो ।

अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास, सुशासन, सेवा प्रवाह सुधारसहित सामाजिक न्याय हासिल गर्न ठोस कार्यक्रमको कार्यान्वयन इमान्दार ढङ्गले गरिने र नीति तथा कार्यक्रम कार्ययोजना बनाएर समयवद्ध रूपमा लागू गरिने बताउँदै उहाँले प्रस्तुत नीति तथा कार्यक्रमसँग सामन्जस्यता कायम हुने गरी बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरिने बताउनुभयो ।

अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका विभिन्न उपायको प्रयोग गरिने, सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारको रणनीतिलाई आर्थिक रुपान्तरणको प्रमुख आधारको रूपमा विकास गरिने उहाँले उल्लेख गर्नुभयो । विनियोजन कुशलता र कार्यान्वयन दक्षतामा अभिवृद्धि गरिने र ठुला तथा अधुरा आयोजनाका लागि स्रोतको कमी हुन नदिन वैदेशिक अनुदान र ऋण परिचालन गरिने र राजस्व अभिवृद्धिका सबै उपायको अवलम्वन गरिने मन्त्री वाग्लेको भनाइ छ ।

मन्त्री वाग्लेले कार्यसम्पादनमा आधारित बजेट प्रणालीको कार्यान्वयनसहित ठुला परियोजनामा सरकारले गरेको लगानीको उचित प्रतिफल हासिल गर्न र खर्च प्रभावकारिताको मापन तेस्रो पक्षबाट गराई सरकारी लगानीको लागत प्रभावकारिता सुनिश्चित गरिने पनि बताउनुभयो ।

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले लगानीकर्तामा आत्मविश्वासको कमीका कारण अपेक्षाकृत रुपमा कर्जा प्रवाह नभएको बताउनुभएको छ ।

आज यहाँ आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रियामा अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता हुनुका कारण व्यवसायीहरूमा आत्मविश्वासको कमी भएकाले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रवाह अपेक्षाकृत रुपमा नभएको उल्लेख गर्नुभयो ।

उहाँले उद्योगी अहिले लगानीका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गर्दै यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको बताउनुभयो । पछिल्लो समय बैंकको खराब कर्जा बढिरहेको सन्दर्भमा केही गल्ती बैंकको पनि भएको उहाँको भनाइ थियो ।

“बैंकिङ क्षेत्रमा पनि केही अस्वस्थ प्रतिस्पर्धा छ, धैरे शाखा खोल्ने, जसरी पनि कर्जा बढाउन जस्तो पनि धितो राख्नेलगायतका समस्या छन्, हामीले यसमा सुधार गर्नु जरुरी छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सिबिफिनका अनुसार हाल खराब कर्जा पाँच दशमलव ३४ प्रतिशत पुगेको छ । जुन पछिल्लो १० वर्षयताकै सबैभन्दा बढी हो । बैंकको खराब कर्जा सन् २०२५ मा चार दशमलव ६२ प्रतिशत थियो भने सन् २०१७ मा दुई दशमलव ६३ प्रतिशत थियो ।

सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले समग्र अर्थतन्त्रमा समस्या आउँदा बैंकिङ क्षेत्र प्रभावित भएको बताउनुभयो । यद्यपि पछिल्लो समयको राजनीतिक परिवर्तनले भने सबैमा आशा जगाएको उहाँको भनाइ थियो ।

“राजनीतिक परिवर्तनले आमरुपमा ठूलो आशा जगाएको छ, सरकार अहिले सुशासन कायम गर्न लागेको छ, त्यसपछिको काम भनेको आर्थिक विकास नै हो”, उहाँले भन्नुभयो । सरकारले सात वर्षमा १०० अर्ब डलरको अर्थतन्त्रका लागि पनि लगानी बढाउनुको विकल्प नभएकाले लगानीमैत्री वातावरण भने निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकिङ क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धालाई स्वीकार गर्दै त्यसमा सुधार जरुरी भएको बताउनुभयो ।

सिबिफिनका महासचिव मनोजकुमार गोयलले निर्माण क्षेत्र सुस्त हुँदा कर्जा प्रवाह कम भएको तर खराब कर्जा बढ्दा पनि बैंकिङ क्षेत्र कमजोर भने नभएको उल्लेख गर्नुभयो ।

“बैंकमा ब्याजदर घट्दो छ, तर निक्षेपको ब्याजदर कमजोर हुँदा पुँजी पलायनको जोखिम पनि बढेको”, उहाँले भन्नुभयो, “बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘रिफ्लेक्सन’ पनि हो, अर्थतन्त्र राम्रो भएन भने बैंकिङ क्षेत्रमा पनि काम्रो हुँदैन ।”

विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे राष्ट्रियसभामा छलफल हुने

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णीम वाग्लेबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि राष्ट्रियसभामा आगामी जेठ ४ र ५ गते छलफल हुने भएको छ ।

आजको बैठकमा अर्थमन्त्री वाग्लेले गर्नुभएको सो प्रस्तावमाथि छलफल हुने र मन्त्री वाग्लेले जवाफ दिने गरी तय गरिएको अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराउनुभयो ।

छलफलमा उठेका विषयलाई टिपोट गर्न अध्यक्ष दाहालले अर्थ मन्त्रालयलाई निर्देशन दिनुभयो । सभाको अर्को बैठक आगामी जेठ ४ गते अपराह्न १ः१५ बजे बस्नेछ ।

मुख्यमन्त्री आचार्यसँग स्वीस दूतावास सहयोग प्रमुख मायरको शिष्टाचार भेट

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपालस्थित स्वीस दूतावास सहयोग प्रमुख माथियस मायरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्तन र सीपमूलक शिक्षामार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले सङ्घीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले प्रदेशलाई अझ बलियो बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले सातै प्रदेशका मुख्यमन्त्रीबीच गोलमेच सम्मेलन आयोजना गर्ने तथा साझा छलफलको वातावरण निर्माण भएको बताउनुभयो । सङ्घीय शासन प्रणाली प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो ।

स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्वीस सरकार र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै सङ्घीयताको सुदृढीकरण, नव प्रवर्तनको क्षेत्रमा सहकार्यले निरन्तरता पाएको बताउनुभयो ।

भेटवार्तामा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लिराज अर्यालको समेत सहभागिता रहेको थियो ।

भेटवार्ताका क्रममा नेपाल र स्विट्जरल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध, नव प्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

भक्तपुर । विश्वमै दुर्लभ मानिएको नेपालकै पहिलो र ४०० वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर संरक्षणको पर्खाइमा छ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हललगाउँ र गाउँको भीरपाखा एवं खेतको डिलमा यत्रतत्र रहेको अवस्थामा फरकफरक १५ वटा ऐतिहासिक चट्टान अभिलेख २०६७ पुसमा अन्वेषर्णकर्ता, संस्कृतिविद् एवं इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले पत्ता लगाएका हुन् ।

वर्षौं पहिलेदेखि हलल गाउँमा छरपष्ट रहेका ठुलाठुला ढुङ्गा, देवताका रुपमा पुजिँदै आएको बासुकी ढुङ्गा र छरपष्ट रहेको अन्य चट्टानहरुमा कुँदिएका अभिलेख, अहिलेसम्म प्रचारमा नआएका नवपाषाणकालीन उपकरण, गुफा, ओडार, गढी, प्रकृति उत्पन्न स्वप्नेश्वर महादेवको शिवलिङ्ग, गणेश ढुङ्गा भेटिएको श्रेष्ठले बताए । यिनकाे उचित संरक्षण अभाव खड्किएको उनको भनाइ छ । यो देशकै सम्पत्ति भएकाले यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उनले प्रस्ट पारे ।’

नेपाल सम्वत् ७४५ देखि ८३५ सम्मका चट्टान अभिलेखको महत्त्व थाहा पाएपछि यसको दिगो संरक्षण गर्न स्थानीयले माग गर्दै आएका छन् । यहाँ नेपाल सम्बत् ७४५ को अभिलेख सूचीको ने.सं ८३५ को भूपतिन्द्र मल्लको १५ वटा चट्टान अभिलेख छन् । यहाँ भेटिएका चट्टानमा भक्तपुरका पूर्वराजा जगज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल, कान्तिपुरका राजा कविन्द्र प्रताप मल्लको समेत अभिलेख रहेका इतिहासविद् डा श्रेष्ठले बताए ।

ठुलो ढुङ्गाको शीर्ष भागमा कुँदिएको जितामित्र मल्लको पालामा यज्ञ गर्नका लागि ढुङ्गाको व्यवस्था गरिएको भन्ने पनि अभिलेखमा उल्लेख रहेको उनको भनाइ छ । यहाँको बासुकी ढुङ्गामा रहेको नेपाल सम्बत् ७७८ को अभिलेखमा प्रताप मल्लले चाँगुनारायण मन्दिरका लागि गरुडनारायण, सिंह र हात्तीलगायतका जनावरहरूको प्रतीक बनाउनका लागि ढुङ्गाको व्यवस्था गरिएको र त्यसलाई बिगारेमा पञ्च महापाप लागोस् भन्नेसमेत कुद्न लगाइएको छ ।

चट्टान अभिलेखमा भक्तपुरका तत्कालीन राजा जगज्योति मल्लको नेपाल सम्बत् ७४५ देखि भूपतिन्द्र मल्लको शासनकालसम्मका घटना, चित्र, विभिन्न सङ्केतहरू कुँदिएका छन् । यसअघि नेपालमा शिलालेख, ताडपत्र, भोजपत्र, कनकपत्र र रजतपत्रमा लेखिएका इतिहास छ । ठुलो ढुङ्गामा कुँदिएका अभिलेखमा नेपाल सम्वत् ८३५ मा भूपतिन्द्र मल्लले आफ्ना पिताको सम्झनामा ढुङ्गाको मन्दिर निर्माण गर्न ढुङ्गा लगिएको अभिलेखमा उल्लेख छ । यहाँ प्रथम गणाध्यक्ष पशुपति सदाशिव महादेवको शम्भूलिङ्ग, प्राकृतिक गणेशको ढुङ्गा पहाडको खोचमा छ भने विसं १८५२ को शिलालेख पनि छ ।

यहाँ रहेका चट्टानको ठुलो ढुङ्गामा जगज्योति मल्लको सबैभन्दा पुरानो अभिलेखका साथै अन्य छ वटा अभिलेख र चित्रहरू पाइएका छन् भने बासुकी ढुङ्गामा भक्तपुरका राजा जितामित्र मल्ल र कान्तिपुरका राजा प्रताप मल्लका मल्लकालीन आठ वटा अभिलेख र दुई वटा सङ्केतात्मक चित्रहरू समेत छन् ।

पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले समेत तत्कालीन समयमै नेपालको इतिहासका पहिलो चट्टान अभिलेख रहेको पुष्टी गरे पनि अझै यसको उचित संरक्षण हुन भने सकेको छैन । चट्टान अभिलेखको संस्कृतिविद् श्रेष्ठले नेपाल उपत्यकाभित्रका कलात्मक ढुङ्गाका मन्दिर, पाटी, ढुङ्गेधारा, ठुलाठुला सिंह, घोडा आदि बनाउन यस क्षेत्रबाट ढुङ्गा लाने गरेको समेत यहाँ रहेका अभिलेखबाट पत्ता लागेको बताए ।

यहाँ रहेका ठुलो ढुङ्गामा कुँदिएका साँढे जुधाइले नेपाल उपत्यकामा मल्लकालीन समयमा साँढे जुधाइ प्रतियोगिताको प्रचलन रहिआएको प्रस्ट हुने उनको दाबी छ । करिब ६ फिट लम्बाइ र दुई फिट चौडाइसम्मका ती अभिलेखमा सिंह, साँढे जुधाई, हात्ती र घोडाको चित्रका साथै नेपाल भाषाका लिपिमा लेखिएका अक्षरसमेत कोरिएका छन् ।

भक्तपुरका मल्ल राजा जितामित्रले पनि नेपाल सम्बत् ८३१ मा केही चट्टानमा अभिलेख कुँद्न लगाएको पाइएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा रहेको बत्सला मन्दिर बनाउन त्यहाँको ढुङ्गा आफूले प्रयोग गर्ने लेखिएको छ । त्यस्तै भूपतिन्द्र मल्लले आफ्ना बुबाको कामलाई निरन्तरता दिन ढुङ्गामा अभिलेख कुँदाएको पाइएको छ । पशुपतिका पुजारी भट्टको समेत यहाँ अभिलेख रहेको श्रेष्ठले जानकारी दिए ।

दुर्लभ चट्टान अभिलेख स्थानीय बासिन्दाले नदेखेको भने होइन तर चट्टानको विषयमा कहिल्यै नसुनेको कारण तत्कालीन समयमा उक्त अभिलेखहरू देउताको अक्षर वाणी भनी धार्मिक आस्थाले पुज्दै आइरहेका र अहिले त्यसको उचित संरक्षण आवश्यक रहेको स्थानीय राजेन्द्र थापा बताउँछन् ।

विश्वमा नै अत्यन्त दुर्लभ मानिने चट्टान अभिलेखबारे सन् १८८० मा भारतका अध्येता भगवान्लाल इन्द्रजीले पहिलोपटक नेपालमा अध्ययन गरेको पाइएको छ । त्यसको १३० वर्षपछि नेपालमा चट्टान अभिलेख भेटिए पनि यसको संरक्षण नुहुनु चिन्ताको विषय बनेको डा श्रेष्ठ बताउँछन् । यो चट्टान अभिलेख ताथलीको, भक्तपुरको मात्र नभई सिंगो नेपालको राष्ट्रिय सम्पत्ति रहेको उनले बताए । ‘यो विश्वको सारा मानव जातिको साझा सम्पदा हो, अपशोच हामीले पत्ता लगाएको १६ वर्ष बितिसक्दा पनि पुरातत्व विभागले तार–बार लाउने बाहेक संरक्षणको कुनै पहल गरेको छैन । यसको संरक्षणको दायित्व पुरातत्व विभागको हो,’ उनले भने ।’

ती चट्टानमा काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका जगतज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ललगायत पशुपतिका भट्टको समेत अभिलेख कुँदिएको आफूले पाएको उनको भनाइ छ ।

उनले स्थानीय जनता यसको पहरेदारको रुपमा रहेको भन्दै चट्टान अभिलेखदेखि ताथली गढीसम्मलाई संरक्षण गर्दै विश्वका अनुसन्धान र अध्ययनका लागि आउने केन्द्रको रुपमा विकास गर्न सकिने बताए । यसलाई धार्मिक, शैक्षिक र ऐतिहासिक पयटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको चर्चा गर्दै उनले यो तत्कालीन समयमा उपत्यकाका महत्त्वपूर्ण प्रस्तर मूर्तिहरु निर्माणका लागि ढुङ्गा लैजाने यही ठाउँ रहेको र यसका लागि भक्तपुर र काठमाडौँका राजाहरुबीच तँछाडमछाड हुने गरेको तथ्य पाइएको बताए ।

नेपाल मण्डलका प्रस्तर मूर्ति निर्माणका लागि चाँगुनारायणको डाँडादेखि ताथलीको चट्टान अभिलेख रहेको क्षेत्रसम्मका ढुङ्गाहरु लैजाने इतिहास पाइएको भन्दै उनले यहाँका ढुङ्गा आफैँमा महत्त्वपूर्ण रहेको प्रस्ट पारे । यहाँका अभिलेखमा मल्लकालीन राजा र पुजारीहरूले मन्दिर, धारा र कलात्मक वस्तुको निर्माणका लागि ढुङ्गा लिन गएको विवरण उल्लेख गरेको छ । ती क्षेत्रमा उत्खनन् गर्नसके अन्य विविध जानकारीयुक्त अभिलेख समेत फेला पर्न सक्ने इतिहासविद् डा. श्रेष्ठको भनाइ छ । ताथलीमा ढुङ्गाको नवपाषाण युगको अभिलेखले इसापूर्व आठ हजार वर्षअगाडि नै काठमाडौंँ उपत्यकामा मानव बस्ती भएको सङ्केत गरेको छ ।

बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले केही दिनअघिमात्रै चट्टान अभिलेख रहेको क्षेत्रको अनुगमन, निरीक्षण गरेको बताउँदै यसको संरक्षणका लागि मन्त्रालयले आउँदो वर्षको बजेटमा बजेटको व्यवस्थापन गर्ने बताए ।

खुला आकासमुनि खुला सङ्ग्रहालयको रुपमा रहेको यस अभिलेखलाई संरक्षण र सम्वर्द्धन गर्नु तथा चट्टानमा कुँदिएका अक्षर र चित्रको थप अनुसन्धान र संरक्षणको आवश्यक रहेको बताउँदै बजेट अभावमा आफ्नो पालामा तार–बार लगाएर घेर्ने कामसम्म गरेको पुरातत्व विभाग दरबार हेरचाह कार्यालयकी तत्कालीन प्रमुख अरुणा नकर्मीले जनाइन् ।

चट्टान अभिलेख विश्वमै दुर्लभ मानिन्छ । भारतमा ईसापूर्व तेस्रो शताब्दीका सम्राट अंशुवर्माकालीन थोरै अभिलेख मात्रै पाइएका छन् । चट्टान अभिलेख भेट्टाउनु नै ठुलो उपलब्धि भएको बताउँदै उनले यसले इतिहास लेखनमा एउटा नयाँ आयाम थपेको र अन्यत्र पनि यस्ता अभिलेख हुनसक्ने भएकाले थप अनुसन्धान आवश्यक रहेको प्रस्ट पारिन् ।

चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले आफ्नै वडामा रहेको ऐतिहासिक धरोहरको संरक्षणमा वडा र पालिकाले केही गर्न नसकेको बताए । उनले यसका लागि पालिकासँग बजेट नभएको बताउँदै प्रदेश र सङ्घीय सरकार एवं पुरातत्व विभागले यसको संरक्षणमा चासो दिन आवाज उठाइरहेको जनाए ।

यस क्षेत्रमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरु अध्ययनको सिलसिलामा पुग्ने गरेका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । विदेशी अध्ययन र अनुसन्धानकर्ताहरुको पनि यहाँको अध्ययन लागि आउने गरेका छन् । जङ्गल, पहाडी क्षेत्र, फराकिलो सडकको पहुँचभन्दा बाहिर भएकाले वर्षा लागेपछि यस क्षेत्रमा आउने अध्ययन अनुसन्धानकर्ता एवं पर्यटक भने जान समस्या हुने गरेको छ ।

यसको आसपासका फाँट क्षेत्रमा स्थानीयले धान र गहुँ उत्पादन गर्दै आएका छन् । कतिपय ढुङ्गामा कुदिएका अभिलेखहरु स्थानीयको निजी जग्गामा परे पनि यसको संरक्षण गर्न र बिग्रन नदिन स्थानीय वासिन्दा सक्रिय देखिन्छन् ।

शैक्षिक विकासमा विश्व बैंकले सघाउने

काठमाडौँ । विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताएका हुन् ।

त्यस अवसरमा उनीहरुबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो । विश्व बैङ्कले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण र शिक्षामा ‘डिजिटाइजेसन’ तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख ‘एजेन्डा’का रूपमा अघि बढाइएको बताए ।

राष्ट्रियसभामा अर्थमन्त्री डा वाग्लेको जवाफ

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका छन् ।

सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए।

सरकारले १०० बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

बैठकमा नीति तथा कार्यक्रममाथिको संशोधनलाई निणर्यार्थ प्रस्तुत गरी आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने/नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदानमा भाग नलिने जनाएको थियो भने अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताउनुभएको छ।

ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ ।

भेटका अबसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलको सम्मानमा आयोजित रात्रिभोज समारोहमा राष्ट्रपति सी र उहाँकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, “सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।”

सहकार्यले अमेरिकालाई सहयोग पुर्‍याउने छ : नेता सी

यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान् बनाउन सक्ने बताउनुभएको छ।

ट्रम्पको एमएजीए अभियानलाई सङ्केत गर्दै नेता सीले भन्नुभयो, “चिनियाँ राष्ट्रको महान पुनरुत्थान हासिल गर्ने कार्य र अमेरिकालाई फेरि महान बनाउने काम पूर्ण रूपमा सँगसँगै चल्न सक्छ। यसले एक अर्कालाई सफल हुन मद्दत गर्न सक्छ र सम्पूर्ण विश्वको भलाइलाई अगाडि बढाउन सक्छ।

बेइजिङमा भएको वार्तापछि आयोजित एक भोजमा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ’सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा हामीलाई भेट्न आउनु भएकोमा म्याडम पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

तेहरान। इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार रातिदेखि रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जान अनुमति दिएको छ ।

इरानी समाचार समित तस्निमले नाम उल्लेख नगरिकन इरानी अधिकारीलाई उद्धृत गरी लेखेको छ, “इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनियाँ जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानुनअनुसार यात्रा गर्न अनुमति दिइएको छ ।”

बेइजिङले अनुरोध गरेको यो मार्ग बुधबार साँझ ‘इरानी व्यवस्थापन नियममामा समझदारी’ पछि सुरु भएको बताइएको छ।

देश बनाउने मामिलामा विपक्षीसँग पनि परामर्श गर्न हर्कराज राईको आग्रह

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नीति तथा कार्यक्रम र बजेट तुर्जमाको छलफलमा सत्ता पक्षले विपक्षीसँग पनि परामर्श गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै अध्यक्ष राईले देश बनाउने मामिलामा सत्ता पक्ष र विपक्ष एकै सिक्काका दुई पाटा भएकाले सहकार्य गर्न आग्रह गरे ।

उनले सबै खालको विकासको जराका रुपमा नीतिलाई लिनुपर्ने र सही विषयका पक्षमा अभिमत प्रकट गर्न सक्ने चेतना विकास गर्न आग्रह गरे ।

पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउने प्रस्ताव आओस् – महावीर पुन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’ का लागि छुट्याउन सरकारसँग आग्रह गरेका छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताए ।

“अब आवश्यकताअनुसार बजेट विनियोजन होस्, पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउने प्रस्ताव आओस्”, सांसद पुनले भने ।

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

शीघ्र सेवा प्रवाह र समस्या समाधानमा तत्परताका साथ प्रस्तुत हुन उहाँले निर्देशन पनि दिनुभयो । त्यसनिम्ति आफ्नातर्फबाट सहयोग हुने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

बैठकमा आर्थिक वर्ष ०८२÷८३ को हालसम्मको कार्यसम्पादनको समीक्षा तथा मूल्याङ्कन भएका थियो । साथै, मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका अवरोध तथा चुनौती समाधान गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसहित मन्त्रालयका उच्च अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड

काठमाडौँ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पर्यटन बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र अनलाइन ‘प्लेटफर्म’मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, नेपालमा बसाइ अवधि ३० दिनमा सीमित गरिएको तथा अवधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता विवरण पूर्णरूपमा गलत, आधारहीन र भ्रामक भएका जनाएको हो ।

विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ । नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता र पर्यटन सहकार्य यथावत जनाइएको छ ।

बोर्डका अनुसार नेपाल सरकारले हालै निजी सवारीसाधनमार्फत स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि ‘अनलाइन’ सहजीकरण प्रणाली सुरु गरेको छ ।

भन्सार विभागद्वारा विकसित उक्त ‘डिजिटल प्रणाली’मार्फत अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले सीमा नाकामा हुने झन्झट कम गर्नुका साथै पर्यटकलाई सहज सेवा प्रदान हुने विश्वास बोर्डले व्यक्त गरेको छ ।

पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना प्रसारण नगर्न र पर्यटनसम्बन्धी नीति तथा यात्रा व्यवस्थासम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी स्रोतमा मात्रै भर पर्न आग्रह गरेको छ ।

नेपाल भारतीयसहित विश्वभरका पर्यटकका लागि सुरक्षित, मैत्रीपूर्ण र स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै बोर्डले नेपाल–भारतबीचको मैत्री, सहकार्य र सहज आवतजावत प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ। भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।

गत मङ्गलबार आयोजित उक्त कार्यक्रममा व्यापार, पारवहन, ढुवानी, सम्पर्क सञ्जाल तथा लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उक्त महावाणिज्यदूतावासले जनाएको छ । साथै नेपालको व्यापार तथा पारवहन संरचना, लगानीका सम्भावना तथा नेपाल–भारत आर्थिक सहकार्य सुदृढ गर्न भएका प्रयासबारे पनि विमर्श भएको थियो ।

कार्यक्रममा श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका अध्यक्ष राजेन्द्र रमनसहित वरिष्ठ अधिकारी, कोलकाता भन्सार कार्यालयका प्रतिनिधि, जल यातायात तथा ढुवानी सेवा प्रदायक, कोलकाता कस्टम्स हाउस एजेन्ट्स एसोसिएसन तथा नेपाल कस्टम्स हाउस एजेन्ट्स एसोसिएसनका प्रतिनिधि, आयातकर्ता, निर्यातकर्ता, लगानीकर्ता, नेपाली व्यवसायी, सञ्चारकर्मी तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

त्यसैगरी, श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका ट्राफिक प्रबन्धक रविशङ्कर राजहंसले बन्दरगाहमा उपलब्ध सुविधा, पूर्वाधार विकासका काम तथा नेपालतर्फ जाने मालसामानको ढुवानी सहज बनाउन अपनाइएका उपायबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रमका सहभागीहरूले व्यापार सहजीकरण, भन्सार समन्वय, ढुवानी व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा सुझाव राखेका थिए ।

सहभागीले उठाएका जिज्ञासा तथा समस्याबारे महावाणिज्यदूत झक्कप्रसाद आचार्यले जवाफ दिनुभएको थियो । उहाँले नेपाल–भारतबीच व्यापार सहजीकरण, सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सहकार्य प्रवद्र्धनका लागि महावाणिज्यदूतावासले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी। धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो ।

शरद र वसन्त याममा विश्वको सातौँ अग्लो(आठ हजार एक सय ७६ मिटर) धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको फेदी हुँदै मुस्ताङको मार्फा निस्कने चक्रीय धौलागिरि पदमार्गमा आउने पर्यटकले भरिभराउ हुने मुदी अहिले सुनसान छ ।

पर्यटक, पथप्रर्दशक र मजदुरहरुको लहर देखेर मुदीमा धौलागिरि सामुदायिक घरवास स्थापना गरेका व्यवसायी गणेश घर्ती अहिले व्यवसाय बन्द गरेर बाख्रापालन शुरु गर्नुपरेको बताउनुहुन्छ । “यहाँका दुई क्याम्पमा क्षमता भन्दा बढी पर्यटक आएको देखेर उनीहरुको सुविधाका लागि ‘होमस्टे’ सञ्चालनमा थिए,” उहाँले भन्नुभयो “पछिल्लो समय पर्यटकहरु सिधै हेलिकप्टर चढेर आधार शिविर पुग्न थालेपछि ‘होमस्टे’ बन्द गरेर बाख्रा पाल्न थालेको छु ।” मुदीमा रहेका करिब ५० जना क्षमताका पाँच घरवास सञ्चालकको मात्र नभएर याममा पर्यटकको भारी बोकेर जिविकोपार्जन गरिरहेकाहरुको रोजगारी खोसिएको उहाँले गुनासो गर्नुभयो ।

पर्यटक र पर्वतारोहीहरु हेलिकप्टर चढेर सिधै आधार शिविर पुग्नुका साथै जलविद्युत आयोजनाहरुले निर्माण गरेको पहुँचमार्गले पदमार्ग मासिएको र नौ दिनको यात्रा दुई दिनमा छोटिदा मुदी, नाउरा, बगरका सन्नटा छाएको धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले बताउनुभयो । “पर्वतारोहीहरु हेलिकप्टरबाट आधार शिविर पुग्छन्, हेलिकप्टरबाटै सामान ओसार्छन, बेनीदेखि नौ दिन लाग्ने धौलागिरि आधार शिविर पुग्न दोभानसम्म सडक पुगेपछि दुई दिनमा छोटिदा पदमार्गका बस्तिहरु छलिएका हुन्,” उहाँले भन्नुभयो “धौलागिरि फेदीका बस्तिका बासिन्दाहरु प्राकृतिक स्रोतको लाभबाट बञ्चित भएका छन् ।”

मुदी–गुर्जा पदमार्गको सम्भाव्यता अध्ययन गर्न र धौलागिरि संरक्षण क्षेत्र बनाउन घर्तीद्धयले माग गर्नुभयो । ‘फोरटिन पिक्स एक्सपिडिसन’का स्थानीय प्रतिनिधी इन्द्रसिंह शेरचनका अनुसार भरियालाई सामान बोकाउनुको विकल्पमा हेलिकप्टरबाट ढुवानी गर्दा सस्तो पर्ने भएकाले पर्यटक र पर्वतारोहीहरुले पदयात्रा प्रयोग गर्न छाडेका हुन् ।

धौलागिरि फेदीमा आरोहण दिवस

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिकोे चुचुरोमा पुगेका थिए । पर्यटन विभागका अनुसार ६६ वर्षमा सात सय ३३ जनाले धौलागिरि आरोहण गरेका छन् । धौलागिरि फेदीमा रहेको मुदीमा बुधबार ६६ औ आरोहण दिवसको अवसरमा छोटिएको पदमार्ग, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र विकल्पको खोजीमा सरोकारवालाहरुबीच बहस र छलफल भयो ।

गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा पहिलो पटक हिमाल अवस्थित वडाको भूगोलमा दिवस मनाइएको हो । कार्यक्रममा वक्ताले पदयात्रा मार्गमा सडक पुग्दा विदेशी पर्यटक र पदयात्राको समय घटेको तथा धवलागिरि सर्किटमा पूर्वाधार अभाव भएको प्रति चिन्ता व्यक्त गरेका थिए ।

समारोहमा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धवलागिरि लगायत गण्डकी प्रदेशका हिमालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने गरी पर्यटकको आगमन हुने बताउनुभयो । “जलवायु परिवर्तनको असर हाम्रो हिमालमा परेको छ,” उहाँले भन्नुभयो “हिमालको अस्तित्व जोगिए मात्रै मानव सभ्यताको अस्तित्व जोगिन्छ ।”

प्रदेशसभा सदस्य रेशम जुग्जालीले जनताले आफ्नो गाउँमा मोटरबाटो पुगेको एउटै सपना देख्ने भएकाले वैकल्पिक पदमार्गको विकास र आन्तरिक पर्यटक केन्द्रीत कार्यक्रम आवश्यकता रहेको बताउनुभयो । “अन्नपूर्ण क्षेत्रबाट धवलागिरिका बासिन्दाहरुले पर्यटन विकास र कसरी फाइदा लिने भनेर सिक्नुपर्छ,” उहाँले भन्नुभयोे “धौलागिरि संरक्षण क्षेत्रको बहस चलेपनि प्राकृतिक स्रोतसाधनको उपयोगमा वञ्चित गराइने हो कि भनेर स्थानीय सशंकित छन् ।”

दोभान देखि सल्लाधारी हँुदै इटाली आधार शिविरसम्म सडक विस्तारको सम्भावना नभएको र त्यहाँ पर्यटकहरुलाई आवासको समस्या रहेकाले त्यो क्षेत्रमा ब्यवसाय विस्तार गर्न सांसद जुग्जालीले मुदीबासीलाई सुझाग दिनुभयो ।

धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धवलागिरि सर्किटसँगै गुर्जाबाट डोल्पा निस्कने रूट, ढोरपाटन शिकार आरक्ष जोड्ने रूटको पनि विकास प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले धवलागिरिको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले हिमाल आरोहणमा स्थानीयले पहल लिनुपर्ने सुझाउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख रविन कडरियाले एक्यापकै मोडेलमा धवलागिरि संरक्षण क्षेत्र विकास गर्न सके यहाँको सम्भावना प्रचुर रहेको बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धवलागिरिलाई एक्यापको मोडेलमा लैजान उपयुक्त हुने बिचार व्यक्त गर्नुभयो ।

नेपालमा फाइभजी विस्तारको तयारी ,डिजिटल अर्थतन्त्रको नयाँ आधार बन्ने

काठमाडौँ। वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ ।उक्त संस्थाले फाइभजी प्रविधि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्तिका लागि आवश्यक रहेको जनाएको छ ।

उच्च गतिको इन्टरनेट, ‘लो लेटेन्सी’ र कैयौँ उपकरणलाई एकैसाथ जोड्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित उद्योग र डिजिटल व्यापारलाई नयाँ उचाइमा पु¥याउन सक्ने फोरमको निष्कर्ष छ ।

फाइभजीले उत्पादनशीलता, रोजगारी, नवप्रवर्तन र आर्थिक वृद्धिलाई तीव्र बनाउँदै राष्ट्रलाई चौथो औद्योगिक क्रान्तिको केन्द्रतर्फ अघि बढाउने शक्तिशाली उत्प्रेरकको भूमिका खेल्न सक्छ ।

हाल विश्वमा फाइभजी नेटवर्क केवल उच्च गतिको इन्टरनेट सेवा मात्र नभई मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने आधारभूत पूर्वाधारका रूपमा पनि हेरिन थालेको छ । नेपालजस्तो विकासशील देशको सन्दर्भमा हेर्दा यसबाट अर्थतन्त्रका धेरै क्षेत्रमा ठूलो परिवर्तन आउन सक्ने विज्ञहरू बताउँछन् ।

फाइभजी विस्तार हुँदा डिजिटल कारोबार, मोबाइल बैङ्किङ, ई–कमर्स तथा नगदरहित भुक्तानी प्रणालीलाई तीव्र गति दिन सक्छ । उद्योग क्षेत्रमा स्मार्ट मेसिन, स्वचालन र रियल–टाइम डाटा प्रयोग बढेर उत्पादन क्षमता र दक्षता वृद्धि हुने अपेक्षा गरिएको छ । कृषि क्षेत्रमा ड्रोन, स्मार्ट सेन्सर तथा डिजिटल सिँचाइ प्रणालीमार्फत उत्पादन वृद्धि र लागत नियन्त्रण सम्भव हुने देखिन्छ ।

पर्यटन क्षेत्रमा भर्चुअल रियालिटी, स्मार्ट ट्राभल सेवा र डिजिटल प्रवद्र्धनमार्फत नेपाललाई अन्तरराष्ट्रिय बजारमा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ । स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन, भिडियो परामर्श र रिमोट स्वास्थ्य निगरानी प्रणाली विस्तार हुँदा दुर्गम क्षेत्रका नागरिकले विशेषज्ञ सेवा पाउन सक्नेछन् ।

शिक्षा क्षेत्रमा अनलाइन कक्षा, डिजिटल ल्याब र एआई–आधारित सिकाइ प्रणालीले ग्रामीण र सहरी शिक्षाबीचको दूरी घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

विश्वबजारमा अभ्यासहरू हेर्ने हो भने यो प्रविधिले मेसिन तथा उपकरणलाई उच्च गतिको डेटा सेवामार्फत जोड्दै व्यापक डिजिटल रूपान्तरण दिशातर्फ उन्मुख भइरहेको छ । अझै नवीन प्रविधि ‘सिक्सजी’मा पनि तयारी थालिसकेको देखिन्छ ।

फाइभजीले नेपालमा आइटी, स्टार्टअप, क्लाउड कम्प्युटिङ र डाटा सेन्टर उद्योगलाई समेत गति दिने विश्वास गरिएको छ । यसले युवाहरूका लागि नयाँ रोजगारी सिर्जना गर्नाका साथै डिजिटल सेवा निर्यातको सम्भावना बढाउनेछ । काठमाडौँलगायत सहरमा स्मार्ट ट्राफिक, डिजिटल सुरक्षा तथा सार्वजनिक सेवा व्यवस्थापन प्रभावकारी बन्ने देखिन्छ । ऊर्जा क्षेत्रमा स्मार्ट ग्रिड र रियल–टाइम निगरानी प्रणालीमार्फत विद्युत् वितरणलाई व्यवस्थित बनाउन सकिनेछ ।

हामी कहाँ छौँ ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना फाइभजीमा जाने विषयमा द्विविधा नभए पनि तत्कालै फोरजी बन्द गरेर फाइभजीमा जाने अवस्था पनि नबनिसकेकाले सरकार फोरजीको गुणस्तर सुधार गरी अधिकतम उपयोग गर्दै फाइभजी सेवामा प्रवेश गर्ने योजनामा रहेको बताउनुहुन्छ ।

उहाँले फाइभजी प्रविधि विस्तारका लागि सरकारले हालै ३३००–३७०० मेगाहर्ज ब्यान्ड खुला गर्न मार्गप्रशस्त गरेसँगै फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताउनुभयो । मन्त्री डा तिमिल्सिनाले रेडियो प्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले प्रतिमेगाहर्ज आधारमूल्य रु ४० लाख निर्धारण गरेको उल्लेख गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकम सेवाप्रदायकलाई फाइभजीका लागि फ्रिक्वेन्सी उपलब्ध गराउनका लागि तयारी भइरहेको छ । प्राधिकरणका उपनिर्देशक डा प्रदीप पौड्यालका अनुसार फाइभजीका लागि फ्रिक्वेन्सी दिन तयारी गरिएको छ भने फ्रिक्वेन्सीको आधार मूल्य पनि तोकिएको छ । अबको केही समयपछि आवश्यक फ्रिक्वेन्सी अक्सन (लिलाम बढाबढ) गरेर दूरसञ्चार कम्पनीलाई दिनेगरी प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ ।

उपनिर्देशक पौड्यालले अब फाइभजीको परीक्षण गरिरहनुपर्ने अवस्था नरहेकाले सिधै फ्रिक्वेन्सी दिन लागिएको हो । “नेपाल टेलिकमले यसअघि काठमाडौँको सुन्धारा र बबरमहल तथा पोखरा एवं वीरगञ्जमा फाइभजीको परीक्षण गरिसकेको छ, उक्त परीक्षणमा नेपालमा पनि अन्तरराष्ट्रियस्तरमा जस्तै फाइभजी सेवा विस्तारका लागि सम्भव देखाइसकेको छ । त्यसैले अब परीक्षण गरिरहनु आवश्यक छैन, टेलिकम सेवाप्रदायकले चाहेमा फाइभजीका लागि फ्रिक्वेन्सी लिन सक्छन्”, उहाँले भन्नुभयो ।

निजी क्षेत्रको टेलिकम सेवाप्रदायक एनसेलले भने केही समय अघि फाइभजी परीक्षणका लागि अनुमति माग गरेको जनाएको छ । फाइभजी परीक्षणका लागि यो तेस्रो पटक आवेदन दिइएको एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले हालै एक कार्यक्रममा बताउनुभएको थियो ।

“आवश्यक स्वीकृतिहरू प्राप्त भएमा यो क्षेत्रमा ठूलो लगानी गरेर प्रविधि विकासलाई गति दिन हामी तयार छौँ । फाइभजी नेटवर्क, डाटा सेन्टर तथा घर–घरमा गिगाबिट फाइबर सेवा विस्तार गर्ने हाम्रो योजना छ”, उहाँले भन्नुभएको थियो ।

नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षेत थापा क्षेत्रीले पनि फाइभजी सेवा सञ्चालनका कम्पनीले तयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार नेपाल टेलिकम नियामक निकायबाट फ्रिक्वेन्सी प्राप्त गरी प्रमुख सहरहरूमा फाइभजी सेवा सञ्चालनको योजनामा छ ।

“फाइभजी सेवा खरिद गर्न ठूलो लगानी गर्नुपर्ने र दूरसञ्चार क्षेत्रमा वार्षिक फ्रिक्वेन्सी दस्तुर, अनुमतिपत्र र नवीकरण दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टीलगायत अत्यधिक कर, दस्तुर आवश्यक पर्ने हुँदा हालको अवस्थामा अपेक्षित प्रतिफल प्राप्तिका लागि केही नीतिगत व्यवस्थासमेत गर्नुपर्ने देखिन्छ”, क्षेत्रीले भन्नुभयो ।

के हो फाइभजी ?

फाइभजी अर्थात् पाँचौँ पुस्ताको सञ्चार सेवा हो । यो हाल प्रयोग भइरहेको फोरजीपछिको आधुनिक र द्रुत सञ्चार प्रविधि हो । कृत्रिम बौद्धिकता, स्मार्ट सिटी, डिजिटल शिक्षा, टेलिमेडिसिन, क्लाउड कम्प्युटिङ, भर्चुअल रियालिटी र स्वचालित उद्योगका लागि फाइभजी महत्त्वपूर्ण मानिन्छ ।

विज्ञहरूको अनुसार हाल दुई घण्टाको चलचित्र डाउनलोड गर्न थ्रिजी नेटवर्कमा औसत २६ घण्टा लाग्छ भने फोरजी नेटवर्कमा छ मिनेट, तर फाइभजीमा भने केही सेकेन्डमै डाउनलोड सम्भव हुन्छ । फाइभजी सञ्चालन भएपछि नेपालमा अल्ट्रा एचडी भिडियो, एआर–भिआर सेवा, स्मार्ट उद्योग, डिजिटल हेल्थ, स्मार्ट शिक्षा तथा आधुनिक प्रविधिको प्रयोग सहज हुनेछ ।

फाइभजीको गति फोरजीभन्दा करिब १० गुणासम्म बढी हुन्छ भने यसको क्षमता सय गुणासम्म उच्च मानिन्छ । यसले १० जिबिपिएससम्म इन्टरनेट गति दिन सक्छ । साथै, प्रतिक्रिया समय निकै कम हुने भएकाले ‘रियल टाइम’ सेवा सम्भव हुन्छ । यसको अर्थ केवल छिटो भिडियो हेर्नु मात्र होइन, फाइभजीमार्फत टाढाबाट शल्यक्रिया, चालकविहीन सवारी, स्मार्ट कृषि, स्वचालित उद्योग, स्मार्ट ट्राफिक व्यवस्थापन, डिजिटल बैङ्किङ, अनलाइन शिक्षा र कृत्रिम बौद्धिकतामा आधारित सेवाहरू सहज रूपमा सञ्चालन गर्न सहज हुनु हो ।

सरकारले डिजिटल पूर्वाधारलाई आर्थिक विकासको मुख्य आधारका रूपमा लिन थालेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई लगानीमैत्री र डिजिटल अर्थतन्त्रतर्फ उन्मुख बनाउन सरकार केन्द्रित रहेको बताइसक्नुभएको छ ।

नेपालमा स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् । फाइभजी सपोर्ट गर्ने मोबाइलको आयात पनि बढ्दो क्रममा छ भने डाटा प्रयोग हरेक वर्ष वृद्धि भइरहेको छ । विश्वका धेरै देशले अहिले टुजी र थ्रिजी सेवा बन्द गरिरहेका छन् । विश्व सिक्सजीतर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि फाइभजीतर्फ कदम बढाउन थालेको हो ।

चुनौती पनि धेरै

फाइभजी विस्तार सहज भने छैन । यसका लागि ठूलो लगानी आवश्यक पर्छ । एउटा सेवाप्रदायकका लागि मात्रै करिब रु ४० अर्बसम्म लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । नेपालको दूरसञ्चार उद्योग पछिल्ला वर्षमा दबाबमा छ ।

ओटिटी सेवाको वृद्धि, इन्टरनेट सेवा प्रदायकसँगको प्रतिस्पर्धा, उच्च कर र नीतिगत अस्थिरताले उद्योगको आम्दानी र नाफामा असर परेको देखिन्छ ।

नेपाल टेलिकमका सहप्रवक्ता क्षेत्रीले फाइभजी सेवा सुरु गर्नुभन्दा पहिले नीतिगत सहजता आवश्यक रहेको बताउनुभयो । “फाइभजीका लागि ठूलो लगानी गर्नुपर्छ, तर टेलिकम कम्पनीहरूको घट्दो आम्दानीको ग्राफले कम्पनीहरू फाइभजीका लागि नीतिमा सुधार आवश्यक रहेकामा प्रष्ट छन्”, उहाँको भनाइ छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत फोले नेपाललाई डिजिटल अर्थतन्त्रमार्फत समृद्धिको नयाँ चरणमा लैजान दूरसञ्चार पूर्वाधारमा तीव्र लगानी आवश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार डिजिटल कनेक्टिभिटी अब ऐच्छिक सेवा रहेन, यो आधारभूत आवश्यकता बनिसकेको छ । “दूरसञ्चार, एआईलगायत क्षेत्रमा नेपालमा अझै पर्याप्त लगानी हुन सकेको छैन, जसले गर्दा हामी विश्वव्यापी प्रगतिभन्दा पछाडि परिरहेका छौँ”, फोलेले भन्न्नुभयो ।

जानकारहरूका अनुसार फाइभजी सफल बनाउन केवल नेटवर्क निर्माण मात्र पर्याप्त हुँदैन, त्यसका लागि दीर्घकालीन नीति स्थिरता, स्पेक्ट्रम शुल्कमा सहजीकरण, उपकरण आयातमा कर छुट, डिजिटल सुरक्षा कानुन र स्थिर व्यापार मोडल पनि आवश्यक हुन्छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य  

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा साना (टनेल) रु ९१, आलु रातो (लाम्चो) प्रतिकिलो रु २२, आलु रातो (गोलो) प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ६५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६५ र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १६०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ५५, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिन्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ९०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ६५, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु ११०, मेथीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १६०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, निगुरो प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु २८०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३४०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, माछे खुर्सानी प्रतिकिलो रु ८०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्वी १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २८० निर्धारण गरिएको छ ।

मनास्लु हिमाल आरोहणकोे ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

गोरखा। मनास्लु हिमाल आरोहणकोे ७० वर्ष पूरा भएको छ । विश्वको आठौँ र नेपालको सातौँ यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन् ।

प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुमा मानवस्पर्श गर्न सफल भएका थिए । सन् १९७३ अप्रिल २२ मा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा हालै गोरखा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्वतारोहण सङ्घ, मनास्लु संरक्षण क्षेत्र आयोजनासँगको सहकार्यमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो ।

सो अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिकाका प्रमुख निमा लामालगायतले प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गर्नुभयो । साथै मनास्लुको काखमा अवस्थित चुमनुब्री–१ सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा र अन्य आरोहीहरु नाङ्स्याल छेदेन र डिकी लामालाई सम्मान गरियो ।पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको थ्री डी फोटो लोकार्पण गरियो ।

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

काठमाडौँ। सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।

यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ ।च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।

भारतको ऊर्जा आपूर्तिमा ‘असर नपर्ने’ रूसी विदेशमन्त्रीको भनाइ

मस्को। भारतको ऊर्जा आपूर्तिमा ‘असर नपर्ने’ रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार बताउनुभएको छ ।

रूसबाट भारततर्फ हुने ऊर्जा आपूर्तिबारे भारतको चासोलाई सम्बोधन गर्दै रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बुधबार उक्त आश्वासन दिनुभएको हो । “आपूर्ति ‘प्रभावित हुने छैन’,” भारतप्रति रूसको प्रतिबद्धतालाई दोहोर्याउँदै मस्कोले नयाँ दिल्लीको लागि स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्न आफ्नो प्रयासलाई जारी राख्ने उहाँले बताउनुभयो ।

ब्रिक्स विदेश मन्त्रीहरूको बैठकका लागि भारत जानुअघि ‘आरटी इन्डिया’सँगको अन्तर्वार्तामा लाभरोभले भूराजनीतिक तनावका बाबजुद रुसले साझेदार देशहरूसँगको सम्झौताको सम्मान जारी राखेको र अमेरिकाले विश्वव्यापी रूपमा ‘सबै ऊर्जा मार्गहरू कब्जा गर्न’ खोजेको आरोप लगाउनुभयो ।

रुसी विदेशमन्त्रीले भन्नुभयो, “अमेरिकाले विश्वव्यापी ऊर्जा कोरिडोरमा प्रभुत्व जमाउन प्रयास गरिरहेको छ र रूससँग ऊर्जा सम्बन्ध कायम गर्ने देशहरूलाई दबाब दिइरहेको छ।”

“उनीहरूको (अमेरिकी) लक्ष्य सबै कुरा कब्जा गर्नु हो, सबै महत्त्वपूर्ण ऊर्जा मार्गहरू कब्जा गर्नु हो। यो लक्ष्य स्पष्ट छ र मलाई विश्वास छ कि भारतले के भइरहेको छ भनेर बुझेको छ,” लाभरोभले भन्नुभयो ।

उहाँले भन्नुभयो, “म तपाईंलाई आश्वस्त पार्न सक्छु रुसको आपूर्तिमा भारतको हित प्रभावित हुने छैन र हामी यो सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौँ कि यो अनुचित खेल र प्रतिस्पर्धाले हाम्रो व्यवस्थालाई असर नपरोस् ।”

उहाँले विशेष गरी पश्चिमी देशहरू (युरोपेली राष्ट्र) ले रूसी ऊर्जा आपूर्तिमा निर्भरता कम गरेकोमा आलोचना गर्नुभयो र यो कदम बजारका कारकहरूबाट प्रेरित नभई राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्नुभयो ।

लाभरोभले थप्नुभयो, “हामी कसैलाई दण्ड दिँदैनौं र हाम्रा साझेदारहरूसँगको सम्बन्धमा हामीले गरेका प्रतिबद्धताहरू असल नियतले गर्छौं। यदि हामी सहमतिमा पुग्यौँ भने हामी मित्रवत वा गैर–मित्र देशहरूको बारेमा कुरा गर्दैनौँ । यो व्यवस्थामा बाँच्नु रूसी परम्परामा हो।”

यो टिप्पणी विश्वव्यापी ऊर्जा बजारलाई लिएर जारी भूराजनीतिक तनाव र युक्रेन द्वन्द्वपछि रूसी निर्यातमा प्रतिबन्धको बीचमा आएको हो।

भारतले आफ्नो ऊर्जा खरीद निर्णयहरू राष्ट्रिय हित र ऊर्जा सुरक्षा आवश्यकताहरूद्वारा निर्देशित रहेको बताउँदै आएको छ, जबकि स्थिर र किफायती आपूर्ति सुनिश्चित गर्न रूस धेरै विश्वव्यापी साझेदारहरूसँग संवादमा संलग्न रहेको छ।

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

पाँचथर -हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन् ।

फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड नभएको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत वर्ष पनि यस विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन ।

यस्तै, फाल्गुनन्द गाउँपालिका–३ स्थित सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन् ।

मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एउटा संस्थागत विद्यालयले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन् । यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड हुन नसकेको पाइएको छ ।

यस्तै, फालेलुङ गाउँपालिका–३ स्थित सरस्वती मावि ताङलेपा समेत कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन असफल भएको छ । यस विद्यालयबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लामा नियमित साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ग्रेडेड भएका छन । जुन कुल सङ्ख्याको ४९ प्रतिशत हो ।

यस्तै, प्राविधिक धारतर्फ एक सय २२ जना परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन । पाँचथरमा दुई जना विद्यार्थी चार जिपिएसहित ग्रेडेड भएका छन् । यहाँको हिलिहाङ गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयबाट दुई सय ४८ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय ३४ जना ग्रेडेड भएका छन्, जुन ५४ प्रतिशत हो । यहाँको सिद्ध मावि पञ्चमीबाट सबैभन्दा बढी ३८ र सबैभन्दा कम सिद्धकाली मावि किवाबाट १० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । हिलिहाङको नीलगिरि माविले सबैभन्दा बढी १७ जना विद्यार्थीमध्ये १६ जनालाई उत्तिर्ण गराउन सफल भएको हिलिहाङ गाउँपालिका शिक्षा शाखाका प्रमुख राजन आचार्यले जानकारी दिनुभयो ।

यस्तै, कुम्मायक गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयबाट एक सय ६० जना परीक्षामा सामेल भएकामा ६३ जना ग्रेडेड भएका छन्, जुन ३९ प्रतिशत हो । यहाँको पृथ्वी मावि यासोकबाट सबैभन्दा बढी ६६ र खाल्डे मावि खाल्डेबाट सबैभन्दा कम नौ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । खाल्डे माविले नौमध्ये आठ जना विद्यार्थीलाई उत्तीर्ण गराएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङले जानकारी दिनुभयो ।

जिल्लाको याङवरक गाउँपालिका नतिजामा निकै कमजोर देखिएको छ । यहाँका सात वटा विद्यालयबाट दुई सय ४३ जना विद्यार्थी परीक्षामा सामेल भएकामा केवल ६५ जना ग्रेडेड भएका छन्, जुन २६ प्रतिशत हो । यहाँको थर्पू माविबाट सबैभन्दा बढी ६८ र नारायणी माविबाट सबैभन्दा कम १४ जना विद्यार्थी परीक्षामा सामेल थिए ।

तुम्बेवा गाउँपालिकाले सन्तोषजनक नतिजा निकालेको छ । यहाँका छ वटा विद्यालयबाट एक सय ५४ जना परीक्षामा सामेल भएकामा ८६ जना ग्रेडेड भएका छन्, जुन ६२ प्रतिशत हो । यहाँका इन्द्राणी माविबाट सबैभन्दा बढी ६३ जना र वुद्धेश्वरी माविबाट सबैभन्दा कम छ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । यहाँको इन्द्रावती माविले २८ मध्ये २६ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ ।

फिदिमको कालिका मावि फिदिम–२ साम्दिनबाट आठ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड भएनन् । यस्तै, ४१ जना विद्यार्थी परीक्षामा सामेल भएको सरस्वती मावि चोकमागूबाट जम्मा एक जना मात्र ग्रेडेड भएका छन् । फिदिमकै रानीटार माविबाट २८ जना परीक्षामा सामेल भएकामा २६ जना ग्रेडेड भएका छन् । फिदिममा सबैभन्दा बढी फिदिम माविबाट एक सय ९७ र सबैभन्दा कम सिंहसिद्ध मावि लुङरुपाबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । फिदिमका २० वटा सामुदायिक माध्यमिक विद्यालयबाट छ सय विद्यार्थी परीक्षामा सामेल भएकामा दुई सय ६९ जना ग्रेडेड भएका छन्, जुन करिब ४५ प्रतिशत हो ।

यस्तै, फिदिमका पाँच वटा संस्थागत विद्यालयबाट एक सय २९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय छ जना उत्तीर्ण भएका छन् । ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल फिदिम–८ बाट परीक्षामा सामेल भएका सबै नौ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

फाल्गुनन्द गाउँपालिकाबाट दुई संस्थागतसहित १३ वटा विद्यालयबाट तीन सय चार जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय ७१ जना ग्रेडेड भएका छन् । यहाँको सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन् । फाल्गुनन्दको सिद्धदेवी मावि नवमीडाँडाबाट ३२ जना विद्यार्थी परीक्षामा सामेल भएका २९ जना उत्तीर्ण भएका छन् भने सिद्धेश्वरी माविबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएकामा सबै जना उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेदनी प्रसाईंले जानकारी दिनुभयो । फाल्गुनन्दकै संस्थागत विद्यालय पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी भएका सबै १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै, मिक्लाजुङ गाउँपालिकाका १० सामुदायिक र चार संस्थागत गरी १४ विद्यालयबाट एक सय ९९ जना परीक्षामा सामेल भएकामा एक सय २० जना ग्रेडेड भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश जेठाराले जानकारी दिनुभयो, जुन ६० प्रतिशत हो । मिक्लाजुङका दुई सामुदायिक र एक संस्थागत विद्यालयबाट सहभागी भएका कुनै विद्यार्थी उत्तीर्ण भएनन् । यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ जना, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० जना र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सामेल भएका थिइ । यहाँको सिंहदेवी मावि मिक्लाजुङ–५ बाट परीक्षामा सामेल भएका पाँचै जना विद्यार्थी ग्रेडेड भएका छन् ।

यस्तै, फालेलुङ गाउँपालिकाका १३ वटा विद्यालयबाट एक सय ५४ जना परीक्षामा सामेल भएकामा ७८ जना ग्रेडेड भएका छन्, जुन ५० प्रतिशत हो । यहाँको सरस्वती मावि ताङलेपाबाट परीक्षामा सहभागी भएका चार जना विद्यार्थी नै उत्तीर्ण भएनन् ।

फालेलुङका छ वटा विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सामेल भएका थिए । वडा नं २ को मोतिराम माविबाट तीन, पञ्चमुखी माविबाट चार, सिद्धेश्वरी माविबाट तीन र वडा नं ३ को सरस्वती मावि मच्छेबुङबाट छ, विद्याप्रचार माविबाट सात र सरस्वती मावि ताङलेपाबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । यहाँको कालिका माविबाट सबैभन्दा बढी ३६ जना विद्यार्थी परीक्षामा सामेल थिए ।

यस्तै, यहाँको सरस्वती मावि खुङ्गाबाट परीक्षामा सामेल १५ मध्ये १४ जना विद्यार्थी ग्रेडेड भएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण रिमालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।

तिन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ः३० बजे प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।

बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण कार्यसूची रहेको छ ।

यसैगरी, बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धीका साथै अन्य विविध विषयमा छलफल हुनेछ ।

देशका यी स्थानमा हावाहुरी र चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनि र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका तथा कर्णाली प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

श्रम संस्कृतिमा किराती समूहलाई तीन पदाधिकारी

काठमाडौँ। श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् ।नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहनुभएको छ ।

सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने सो पार्टी सचिव टीकाराम राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीले जनजीविकाको सवाललाई सशक्तरूपमा अगाडि बढाउँदै लैजानेछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीदर १२० रुपैयाँ ५८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २६ पैसा र बिक्रीदर १० रुपैयाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९६ पैसा र बिक्रीदर २४ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ५०० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ कायम गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने उद्देश्यले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको सङ्ख्या घटाउने र कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि साविककै स्वरूपमा रहनेछन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ।

समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय कायम गरिएको छ। त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ।

साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ।

सरकारले जारी गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ ले बुझाएको प्रतिवेदनका आधारमा यो पुनर्संरचना गरिएको दाहालले जानकारी दिनुभयो। राज्य संयन्त्रलाई चुस्त बनाउन र बढ्दो चालू खर्च कटौती गर्न यो कदम चालिएको सरकारको भनाइ छ।

विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सागर गौतमले युएई पठाउने भन्दै चार लाख ५८ हजार रुपैयाँ, शम्भु गौतमले न्यूजिल्याण्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ तथा सनम गुरुङले क्यानडा पठाउने भन्दै २४ लाख रुपैयाँ रकम लिएको र विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरुका उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

उनीहरु तीनै जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी हुनुभएको छ ।

पोखरामा यही वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रत्यासी हरिशरण केसीले ४६४ मत प्राप्त गर्नुभयो ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी हुनुभएको छ । उपाध्यक्षहरुमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी हुनुभयो । सात उपाध्यक्ष पदका लागि १३ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

महासङ्घको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी हुनुभयो । त्यसैगरी, उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी हुनुभयो । सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी हुनुभयो । सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी हुनुभएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । महाधिवेशनबाट कूल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित अध्यक्ष सिटौलाले नेपालको सार्वजनिक यातायात सुधारका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । “यातायात क्षेत्रमा धेरै समस्या छन्, नयाँ सरकार बनेको छ । हामी सरकारसँग मिलेर यस क्षेत्रको सुधारका लागि काम गर्नेछौँ”, उहाँले भन्नुभयो ।

महाधिवेशनमा देशभरबाट सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीका गरी दुई हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।

मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने एक ‘विचौलिया’ पक्राउ

मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने एक ‘विचौलिया’ पक्राउ

सिरहा। अदालत र प्रहरी प्रशासनमा विचाराधीन रहेका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक ‘विचौलिया’ व्यापारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउपर्नेमा सिरहाको गोलबजार नगरपालिका–६ निवासी पोल्ट्री दाना व्यवसायी राकेश साह रहेका छन् । विभिन्न प्रकृतिका मुद्दा मिलाइदिने प्रलोभन देखाइ सर्वसाधारणबाट रकम असुल गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले साहलाई मङ्गलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार साहले पीडितहरूलाई ‘प्रहरी र अदालतका कर्मचारीलाई बुझाउनुपर्छ’ भन्दै पटकपटक गरी रु छ लाखसम्म ठगी गरेको आरोप छ । उनले सेटिङ मिलाएर मुद्दा किनारा लगाइदिने भन्दै पीडितहरूलाई विश्वासमा लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

“साहले विगतमा पनि प्रहरी प्रशासन र अदालतको नाम दुरुपयोग गर्दै कैयौँ सर्वसाधारणलाई ठगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ”, सूचना अधिकारी पालले भन्नुभयो । उहाँका अनुसार, केही महिनाअघि एक जबर्जस्ती करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै साहले मोटो रकम असुल गरेका थिए ।

रकम लिएर पनि काम नगरेको र पीडितले आफ्नो पैसा फिर्ता माग्दा उल्टै धम्काउने गरेपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका साहमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीका अनुसार सिरहा जिल्ला अदालतबाट मंगलबारदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ ।

प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशङ्कामा अनुसन्धानको दायरा फराकिलो पारेको जनाएको छ ।

आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टि–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् ।

आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियताअनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ ।

उक्त विश्व वरियतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन् । अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन् ।

त्यस्तै एकदिवसीय वरियताको अलराउन्डरतर्फ भने दीपेन्द्र तीन स्थान सुधार गर्दै २८औँ स्थानमा उक्लिएका छन् । उनको रेटिङ अङ्क १५३ छ । त्यस्तै नेपालका अर्का खेलाडी करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन् ।

एकदिवसीय वरियताको ब्याटिङतर्फ भने दीपेन्द्र दुई स्थान सुधार गर्दै ९९औँ स्थानमा पुगेका छन् । त्यस्तै आसिफ शेख १३ स्थान सुधार गर्दै ९३औँ स्थानमा छन् ।

जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत भदौ २३÷२४ को जेनजी आन्दोलनमा कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–७ का ३८ वर्षीय दीपक श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वादी नेपाल सरकार प्रतिवादी निज श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०८१ असोज १० गतेको आदेशले धरौटी माग भएकामा धरौटी रकम दाखिला गर्न नसकी पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय, जगन्ननाथदेवल पठाइएकामा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका थिए ।”

पक्राउ परेका निज श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा, प्रहरी वृत्त कालीमाटी, प्रहरीवृत्त बानेश्वरमा बैंकिङ कसुरमा मुद्दा दर्ता भई जम्मा बिगो एक करोड २६ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

निजलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरी आज केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

पाँच हजार दुई सय ६५ जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८०/०८२ को सम्पत्ति विवरण अनुमगन प्रतिवेदन आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेको छ ।

आज एक कार्यक्रमकाबीच केन्द्रका सचिव सरजुकुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमुकमार राईसमक्ष पेस गर्नुभएको हो ।

सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र कानुनबमोजिम आफ्नो सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिवेदन ग्रहण गर्नुहुँदै आयोगका प्रमुख आयुक्त राईले ऐनद्वारा तोकिएबमोजिम प्रतिवेदन पेस गरेकामा केन्द्रलाई धन्यवाद दिनुहुँदै सम्पत्ति विवरण नभराउने कार्यालय प्रमुखलाई सो विषयमा जिम्मेवार बनाउनुपर्ने र यसलाई कार्यसम्पादनसँग आबद्धता गर्नु आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

अवकाशमा जाने कर्मचारीले अवकाश पत्र लिनु अगाडि सम्पत्ति विवरण भर्ने व्यवस्था गर्न र सातवटै प्रदेश एवं मन्त्रालय तहमा सम्पत्ति विवरण भर्नेसम्बन्धी अनुशिक्षण सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।

प्रतिवेदनअनुसार सम्पत्ति विवरण बुझाउने दायित्व भएका सङ्घका चार लाख ६९ हजार ८८० जना छन् । यस्तै, प्रदेशका २३ हजार ६०६ र स्थानीय तहका कुल दुई लाख ७८ हजार ८१२ कर्मचारी एवं पदाधिकारी छन् । कुल सात लाख ६७ हजार ३३ जनाले सम्पत्ति विवरण बुझाएको र पाँच हजार २६५ जनाले तोकिएको समयभित्र विवरण नबुझाएको पाइएको छ ।

विगत वर्षमाभन्दा सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या घट्दो क्रममा रहेको प्रतिवेदनबाट देखिन्छ । तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाएका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक तथा पदाधिकारीलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि आयोगले कदम चाल्ने आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा कुल १७८ जनाले विभिन्न सेवा लिएका थिए । जसअन्तर्गत ६५ जनाले रक्तदान गरेका छन् भने १०९ जनाले आँखा परीक्षण सेवा तथा ४३ जनाले दन्त परीक्षण सेवा लिएको प्राधिकरणले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागीहरूलाई निःशुल्क आँखा तथा दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो । स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश, हिमाल आँखा अस्पताल तथा शान्ति फर्मेसी तथा दन्त क्लिनिक, विराटनगरले सहकार्य गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयासलाई निरन्तरता दिँदै आएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले जानकारी दिनुभयो ।  ।

चर्चित बाल कलाकार समाइरा थापा ‘गाउँले मायाको’ सार्वजनिक

चर्चित बाल कलाकार समाइरा थापा अभिनीत नयाँ भिडियो ‘गाउँले मायाको’ सार्वजनिक भएको छ । गायक सन्तोष लिम्बु र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘गाउँले मायाको’ सार्वजनिक गरिएको छ । गीतमा ओम तिलक ओलीको शब्द तथा संगीत रहेको छ ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु सुनामले गरेका हुन् भने मिक्स मास्टरिङमा बिनोद परियारको सहकार्य रहेको छ । गीत ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोमा ‘कोशी डान्सिङ स्टार–सिजन २’ का पुरुषोत्तम भुसाल र बाल कलाकार समाइरा थापाको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सञ्जय धमलाले गरेका छन् भने कोरियोग्राफी सञ्जय विश्वकर्माको रहेको छ । मेकअप आर्टिस्ट सोनिका गजमेर हुन् ।भिडियोको सम्पादन तथा रङ संयोजन बिनोद बमले गरेका छन् । सार्वजनिक गीत तथा भिडियोले ग्रामीण परिवेश र प्रेमभावलाई कलात्मक ढंगले प्रस्तुत गरेको निर्माण टिमले जनाएको छ ।

ट्रम्पको चीन भ्रमण : व्यापार, करवृद्धि र मध्यपूर्वजस्ता महत्वपूर्ण विषयमा छलफल

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी समयअनुसार मङ्गलबार राति चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । उहाँ अबको केहीघण्टाभित्र बेङजिङ अवतरण गर्नुहुनेछ ।

राष्ट्रपति ट्रम्पको चीन भ्रमण यस्तो समयमा भएको छ जतिवेला इरानविरूद्ध अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि बदलामा इरानले चालेको कदमले मध्यपूर्वमा तनाबको अवस्था सिर्जना भएको छ।

विश्वका प्रमुख दुई विशाल अर्थतन्त्रबीच व्यापार, करवृद्धि र मध्यपूर्वजस्ता महत्वपूर्ण विषयमा छलफल गर्ने कार्यक्रम रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।

चीनले यो भ्रमणलाई अमेरिकासँगको व्यापारिक सम्बन्ध सुधारको अवसरका रूपमा हेरेको छ । इरान सङ्कट र खाडी क्षेत्रको अवस्थाबारे भ्रमण केन्द्रित रहने अन्तराष्ट्रिय सञ्चारमाध्याहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको बुधबार हुने चीनको राजकीय भ्रमणका क्रममा हुने यो भेटवार्तासँगै दुई मुलुकका नेताबीचको यो सातौँ प्रत्यक्ष भेट हुनेछ । यसअघि उहाँहरुबीच सन् २०२५ को अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भेटवार्ता भएको थियो ।

चीनले यो भ्रमणलाई व्यापार सम्झौतालाई अगाडि बढाउने र अमेरिकासँगको करवृद्धि विवाद अन्त्य गर्ने अवसरका रूपमा हेरेको छ । यो करवृद्धिले ५२५ अर्ब डलरभन्दा बढीको चिनियाँ निर्यातमा असर गरेको तथ्याङ्कहरू सार्वजनिक भएका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा चीनको भ्रमण गर्नुभएको थियो यसपटक उहाँ अमेरिकाका कैयौँ ठूला कम्पनीका कार्यकारी प्रमुखसहित बेइजिङ आइपुग्नुहुनेछ ।

ह्वाइट हाउसले ट्रम्पको कार्यतालिका कस्तो हुने भन्ने खुलाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प बुधबार साँझ बेइजिङ पुग्नुहुनेछ भने बिहीबार उहाँलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले औपचारिकरूपमा स्वागत गर्नुहुनेछ र त्यसपछि द्विपक्षीय भेटवार्ता हुनेछ । दुई नेताबीच शुक्रबार पनि अनौपचारिक कुराकानी हुनेछ र सोही दिन उहाँलाई चिनियाँ राष्ट्रपतिका तर्फबाट दिवा भोजको आयोजना हुनेछ । अमेरिकाले चिनियाँ राष्ट्रपति सीलाई वासिङ्टन भ्रमणको निम्तो दिने योजना पनि बनाएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग व्यापार वार्ताका लागि उपप्रधानमन्त्री हे लिफेङ मे १२ र १३ मा दक्षिण कोरिया जानुभएको छ । ट्रम्पको भ्रमणअघि यो वार्ता अन्तिम चरणको वार्ता हुनेछ । वार्तामा व्यापार, कर, कृत्रिम बुद्धिमत्ता र प्रविधि, ताइवान र अमेरिकाले ताइपेईलाई हतियार बिक्री गर्ने, इरान र मध्यपूर्वको सुरक्षा, दुर्लभ खनिज र आपूर्ति श्रृङ्खलाजस्ता विषयमा छलफल हुने बताइएको छ ।

ट्रम्पको तालिकामा बेइजिङमा रहेको ‘टेम्पल अफ हेवन’ (स्वर्गको मन्दिर) को भ्रमण पनि समावेश छ । यो मन्दिरहरूको एक परिसर हो, जहाँ पुरानो समयमा चिनियाँ सम्राटहरूले राम्रो फसलको लागि पूजा गर्थे।

व्यापार वार्ता

बेइजिङ प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले सीसँगको सबैभन्दा महत्वपूर्ण वार्ता व्यापारसम्बन्धी हुने बताउनुभएको थियो । उहाँले चीनसँग थप सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाउनुभएको छ, जसअन्तर्गत चीनले अमेरिकाबाट थप खाद्य पदार्थ र विमान खरिद गर्नेछ । दुई देशले आफ्ना मतभेदहरू समाधान गर्न व्यापार बोर्ड गठन गर्ने योजना पनि बनाएका छन्।

चीनको अपेक्षा

व्यापारका दृष्टिले ट्रम्पसँगै अमेरिकाका प्रमुख बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीहरु पनि सहभागी हुने भएकाले यो भ्रमणबाट चीनले ठूलो फाइदा लिने अपेक्षा गरिएको छ । यसमा टेस्लाका प्रमुख एलन मस्क र एप्पलका कार्यकारी प्रमुख टिम कुक पनि सामेल हुनुहुन्छ, उहाँहरूको चीनमा राम्रो व्यवसाय छ । सन् २०२६ को सुरुवातमा एप्पलले चीनको प्रतिस्पर्धी स्मार्टफोन बजारमा पहिलो स्थान हासिल गरेको छ । यसको कारण आइफोनको बिक्रीमा २८ प्रतिशतले वृद्धि भएको थियो । चीनमा बनेका टेस्ला गाडीहरूको बिक्री (निर्यात सहित) अप्रिलमा ७९,४७८ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो। यसले उत्पादन पुनः बढ्ने सङ्केत गरेको छ ।

विश्व नजर

खाडी क्षेत्रको सङ्कट र इरान युद्धको समाधान हुने अपेक्षा गरिएकाले विश्वको यो भ्रमणमा विशेष नजर रहनेछ । इरानका विदेशमन्त्री अब्बास अरागचीले हालै बेइजिङको भ्रमण गर्नुभएको थियो, जसलाई अमेरिकाले पनि नजिकबाट नियालेको थियो । चीन इरानबाट तेल किन्ने सबैभन्दा ठूलो देश हो।

चीनले इरानलाई स्ट्रेट अफ हर्मुज खोल्न अपिल गरेको छ । अमेरिकी विदेशमन्त्रीले भने इरानको नीतिले उसलाई विश्वस्तरमै एक्ल्याउने बताउनुभएको छ। विश्लेषकहरूका अनुसार चीनले साउदी अरब, युएई र कुवेतजस्ता धेरै देशसँग गहिरो सम्बन्ध राखेकाले खाडी क्षेत्रमा स्थिरता चाहन्छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले दुई नेताबीचको वार्ताले सम्बन्धमा स्थायित्व ल्याउने र भविष्यमा सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने जनाएको छ । चीनले यो बैठकमा ताइवान मुद्दा पनि महत्वपूर्ण हुने बताएको छ भने अमेरिकाले चीनलाई ताइवानमाथि ‘सही निर्णय’ लिन भनेको छ

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय सङ्ख्या घटाउने तयारी सुरु गरिएको बताउनुभएको छ ।

प्रदेश विकास समस्या समाधान समितिको आजको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय सङ्ख्या घटाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो ।

उहाँले असार १५ देखि २० गतेभित्र मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालयको समायोजन प्रक्रिया टुङ्ग्याएर साउन १ गतेदेखि नयाँ संरचनाअनुसार काम अघि बढाइने बताउनुभयो ।

प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय छन् । चालु खर्च घटाउने, प्रशासनिक संरचना चुस्त बनाउने र कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले सरकारले उक्त कदम अघि बढाएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

यसैगरी यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज, चुस्त र सबैको पहुँचमा पु¥याउन जिल्लामा रहेका घरेलु कार्यालयबाट सेवा प्रवाहको प्रक्रिया अघि बढाउनेगरी प्रस्ताव तयार पार्न निर्देशन दिनुभएको छ ।

सहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव वासुदेव पौडेलले सङ्घीय सरकारबाट हस्तान्तरण भएका खानेपानी आयोजनामा शुन्य बजेट हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार करिब ४०० खानेपानी आयोजनाले समस्या भोगिरहेका छन् । सम्पन्न उन्मुख र प्रतिफल देखिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चुर्णबहादुर ओलीले आयोजनाको वर्गीकरण मापदण्ड परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । जलस्रोत व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले पानी सङ्कट समाधानका लागि चुरे संरक्षणसँग जोडिएर रिचार्ज जोन विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

वन तथा वातावरण मन्त्रालयले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएकाले यसको न्यूनीकरणका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले घरेलु कार्यालयबाटै यातायात सेवा दिने तयारी गर्नुपर्ने तथा उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरी, युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डे, आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाललगायतले प्राथमिकताका विषयमा धारणा राखेका थिए ।

बैठकमा प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याल तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलाले प्रदेशको आर्थिक तथा योजनागत अवस्थाबारे प्रकाश पार्नुभएको थियो ।