`

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को। रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार घोषणा गर्नुभएको छ ।
“संयुक्त सुरक्षा बल समूहका इकाई र सङ्गठनहरूले रुसी सशस्त्र बलको जनरल स्टाफद्वारा तयार पारिएको सञ्चालन योजना अनुसार आफ्नो अभियान पूरा गरिरहेको जानकारी मैले गराउन चाहन्छु

। लुहान्स्क पिपुल्स रिपब्लिकको पूर्ण मुक्ति हालै पूरा भएको छ,” पुटिनले संयुक्त सुरक्षा बल समूहको एक अस्थायी कमान्ड पोस्टमा आयोजित बैठकमा भन्नुभयो ।डोनेत्स्कको क्षेत्र तथा जापोरिज्जिया र खेरसन क्षेत्रमा युक्रेनी सैन्य गठनको समाप्ति जारी रहेको नेता पुटिनले थप्नुभयो ।

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही असार १७ गते परेको वर्षाका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको पहिरोले जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको छ ।

त्यसैगरी, शनिशबार रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलावाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराही–रुकुम सहिदमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएको उल्लेख गर्दै अवरुद्ध सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको जानकारी दिए।

नेपाल प्रहरीले पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गमा सडक सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा अत्यधिक सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रहरीले वर्षायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्राअघि सम्बन्धित सडकको अवस्थाबारे प्रहरी, प्रशासनसँग जानकारी लिएरमात्र यात्रा गर्न आग्रह गरेको छ ।

महानगर अनुसन्धान शोधवृत्तिका लागि १० शोधकर्ता छनोट हुँदै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका १० उम्मेदवार गर्ने तयारी गरेको छ ।कामपा सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्ति तयारी गरेको आयोगको सचिवालय प्रमुख नवराज थापाले जनाकारी दिनुभयो ।

थापाका अनुसार सहरी योजना आयोगले अहिले ‘महानगर अनुसन्धान शोधवृत्ति’का उम्मेदवार छनोटका लागि अन्तर्वार्ता र प्रस्तावसम्बन्धी प्रस्तुतीकरण सत्र सञ्चालन गरिरहेको छ ।

कामपाले गएको पुस १ गते १० वटा विषयमा अनुसन्धान गर्न शोधकर्तालाई प्रस्ताव आह्वान गरेको थियो । अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनोट गरिएको छ ।

अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा दुई वर्षको अनुभव हुने अनुसन्धानकर्ताबाट तोकिएका क्षेत्रमा अनुसन्धान गर्न बढीमा १५ पृष्ठसम्मको प्रस्ताव माग गरिएको थियो ।

प्रस्तावमा अनुसन्धानको पृष्ठभूमि, अनुसन्धानका विधि, क्षेत्र, सीमा, कार्यतालिका, अपेक्षित परिणाम तथा सम्भावित प्रभावलगायत विषय समावेश गर्ने सर्त छ । शोधवृत्तिका लागि छानिन भाषागत रुपमा नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अनुसन्धानका लागि ६ महिनाको अवधि प्रदान हुनेछ । यस अवधिभित्र आवेदकले चारपटक प्रस्तुतीकरण गर्नुपर्नेछ ।

अनुसन्धातालाई करसहित रु एक लाख ५० हजार उपलब्ध गराउनेछ । यसबाट अनुसन्धान, लेखनलगायतका काम गर्नुपर्नेछ । यो रकम चार किस्तामा प्रदान हुनेछ । अध्ययन प्रस्ताव स्वीकृत भएपछि २० प्रतिशत, मध्यावधि प्रस्तुतीकरण र प्रतिवेदन पेस भएपछि ३० प्रतिशत, मस्यौदा प्रतिवेदन पेस गरेपछि ३० प्रतिशत र आयोगले आयोजना गरेको कार्यशालामा अन्तिम प्रतिवेदन प्रस्तुतीकरण र पेस गरेपछि बाँकी २० प्रतिशत रकम भुक्तानी हुनेछ ।

थापाका अनुसार यस वर्षका लागि १) सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, २) महानगरको पहिचानमा सांस्कृतिक विविधता, ३) गुणस्तरीय सहरी बसोबास, ४) आर्थिक समृद्धिका लागि नवप्रवर्तन, ५) सहरी यातायात प्रणालीको पूर्वाधार, ६) वातावरण, जलवायु र उत्थानशीलता, ७) सामाजिक समावेशीकरण र समता, ८) शिक्षा तथा सांस्कृतिक आदानप्रदान, ९) सुरक्षा, स्वास्थ्य र कल्याण तथा १०) तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रुपमा चयन गरिएका छन् ।

कोरला सडक सरकारको उच्च प्राथमिकतामा छः मन्त्री लम्साल

मुस्ताङ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको र अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने बताए ।

आज कालीगण्डकी करिडोर ९बेनी—जोमसोम—कोरला० सडक योजनाको कार्यालयमा भएको छलफलमा मन्त्री लम्सालले कोरला सडकलाई बजेटको अभाव हुन नदिने बताए। कोरला सडक योजनाको निरीक्षण गर्दै मन्त्री लम्साल शुक्रबार मुस्ताङले लेतमा बसेका थिए ।

कोरला सडकको प्रगति बुझ्न तथा सडकको अनुगमन गर्न आएका मन्त्री लम्सालले उत्तर(दक्षिण जोड्ने कोरला सडकलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए। “यो साल कोरलानाकासम्मको सडकका लागि अस्फाल्ड कालोपत्रको ठेक्का खोल्नुपर्छ, हामीले के गर्नुपर्छ गर्छौं,” मन्त्री लम्सालले भने, “वातावरणीय परीक्षण गरिएको छैन भने गर्नुहोला, कहाँ समस्या छ ,त्यसको सहजीकरण हामी गर्छौं ।”

कोरला सडक कालोपत्र गर्न कहाँ समस्या भइरहेको छ, त्यसको समाधानका लागि सम्बन्धित निकायलाई मन्त्रालयमा बोलाएर निष्कर्ष निकालिने उनको भनाइ छ । कोरलानाकासम्म कालोपत्र विस्तार गर्न सम्बन्धित पालिकाहरूको सहयोग भइसकेकाले अल्झिनुपर्ने कुनै ठाउँ नरहेको मन्त्री लम्सालले बताए ।

मन्त्री लम्साले कोरला सडकका लागि सडक तथा पुलपुलेसालगायत सबै आवश्यक पूर्वाधारको ठेक्का ‘टेन्डर’ खोलेर यो साल नै कालीगण्डकी करिडोर सडक अन्तर्गतको कोरला सडकलाई ‘कम्प्लिट’ गर्नुपर्ने उल्लेख गरे । यसका लागि मन्त्रालय सकारात्मक छ र यसको सहजीकरण पनि गरिने उनको भनाइ छ ।

रूसी तेल टर्मिनलमा यूक्रेनी आक्रमण

यूक्रेनले रूसको सेन्ट पिटर्सबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणबारे दुवै देशका राष्ट्रपतिले आफ्नो आफ्नो देशको अन्ुक्ल हुनेगरी प्रतिक्रिया दिएका छन् ।

रूस र यूक्रेनबीच जारी युद्ध पाँचौँ वर्षमा प्रवेश गरेको छ । यसले दुवै देशका शहर तथा ग्रामिण षेत्रका आम नागरिकको जीवनमा पहिलेभन्दा बढी प्रभाव पारिरहेको छ ।

रूस र यूक्रेनबीच जारी युद्धमा यूक्रेनले शनिबार फेरि रूसको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ। पछिल्लो यूक्रेनी ड्रोन हमलामा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गको एक तेल टर्मिनलमा आक्रमण भएको रूसी अधिकारीहरूले पुष्टि गरेका छन् । आक्रमण शहरको किरोभ्स्की जिल्लाको बाल्टिक सागरको किनारमा रहेको तेल टर्मिनल रहेको स्थानमा भएको हो ।

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जेन्डर बेग्लोभका अनुसार रूसी हवाई रक्षा प्रणालीले शहर र आसपासका क्षेत्रमा ७२ वटा यूक्रेनी ड्रोन खसालिदिएको जनाएको छ । आक्रमणबाट तेल टर्मिनलमा क्षति पुगेको बताइए पनि अहिलेसम्म कुनै हताहत भएको जानकारी दिइएको छैन।

–रूसको युद्ध संयन्त्र कमजोर पारेको युक्रेनको दावी–

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हमलालाई रूसविरुद्ध ‘लामो दूरीको कारबाही’ भन्नुभएको छ । उहाँले यूक्रेनी सेनाले तेल टर्मिनल मात्र होइन, सेन्ट पीटर्सबर्ग नजिकैको क्रोनस्टाट टापुमा रहेको एउटा महत्वपूर्ण सैन्य अखडालाई पनि निशाना बनाएको बताउनुभयो । जेलेन्स्कीले भन्नुभयो, “रूसको तेल पूर्वाधारबाट प्राप्त हुने पैसाले उसको युद्ध संयन्त्रलाई बलियो बनाउँछ, त्यसैले यस्ता ठाउँमा हमला गरिएको हो।”

–रूसमा बढ्दो इन्धन सङ्कट–

यूक्रेनले विगतका धेरै महिनादेखि रूसका तेल डिपो, प्रशोधन केन्द्र र इन्धन भण्डारण केन्द्रहरूमाथि निरन्तर ड्रोन हमला गरिरहेको छ । यी हमलाका कारण रूसका विभिन्न भागमा इन्धन आपूर्ति प्रभावित भएको छ र सरकारमाथि दबाब बढेको छ। सेन्ट पीटर्सबर्गको यो क्षेत्रमा जुन महिनामा पनि हमला भएको थियो।

–क्रिमियामा पनि हमला–

यसका साथै रूसले कब्जा गरेको क्रिमियामा शनिबार यूक्रेनको हवाइ (ड्रोन) आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १० वर्षीय बालकसहित दुई जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार, निरन्तर हमलाका कारण धेरै ठाउँमा आम नागरिकका लागि पेट्रोल बिक्री रोक्नुपरेको छ।

–पुटिनको प्रतिक्रिया–

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनका ऊर्जा अखडाहरूमाथि भइरहेका हमलालाई गम्भीर नमान्दै रूसले आफ्नो सैन्य अभियानलाई लक्ष्य पूरा नहुँदासम्म जारी राख्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, “यूक्रेन यस्ता हमला गरेर युद्ध मैदानमा आफ्नो कमजोर अवस्थाबाट ध्यान हटाउन खोजिरहेको छ।”

पार्टीले अप्ठ्यारो परेर धक्का खायो भने अध्यक्ष एक्लैको जिम्मेवारी हुँदैन – ओली

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी ओलीले आफू र पार्टी विरुद्ध गलत प्रचार भइरहेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले बागमती प्रदेशको आयोजनामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सफलताका साथ अगाडि बढेको बेला गलत तवरले प्रचार आक्रमण भएको टिप्पणी गरे ।

“हामीले पार्टीमा समय–समयमा ठूला धक्काहरू बेहोरेका छौँ । असफलताहरू पनि भोग्नुपरेको छ । हामीलाई रोक्न अनेक व्यवधानहरू आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौँ,” उनले भने ।

अध्यक्ष ओलीले पार्टीका कार्यकर्ताका लागि अहिले फेरि एउटा परीक्षाको घडी जस्तै अवस्था आएको उल्लेख गर्दै कार्यकर्ताको आँट र भरोसाले फेरि पार्टी उठ्ने बताए । उनले समय गतिशील र परिवर्तनशील रहेकाले पार्टी फेरि पनि उठाउने बताए ।

“पार्टी सफल वा असफल हुँदा नेतृत्वको हिसाबले मैले जिम्मेवारी लिन्छु । तर पार्टीले अप्ठ्यारो परेर धक्का खायो भने अध्यक्ष एक्लैको जिम्मेवारी हुँदैन,” उनले भने, “पार्टी विरोधीसँग मिलेर नचाहिने खालका गतिविधि गर्न उपयुक्त हुँदैन ।”

मोरङमा विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ। मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी लेटाङ–४ सिद्धार्थ लाइन निवासी ६० वर्षीया सञ्चमाया लावतीको उपचारका क्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।

दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते बन्नुभएको छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिटी सफारी चालक लेटाङ–४ निवासी ३७ वर्षीय वीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको सांस्कृतिक धरोहर, प्राचीन सम्पदा र राजकुलोको संवर्द्धन गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

विनियोजन विधेयक २०८३ माथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति योजना आयोग, प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश, मुख्य न्याधिवक्ता कार्यालय उपर छलफलमा उठेको प्रश्न जवाफ दिर्दै उनले प्रदेशको विभिन्न जिल्लामा स्थापित प्रशासनिक संरचना घटाएर आव २०८३र८४ को लागि बहुवर्षीय र भौतिक पूर्वाधार विकास निर्माण कार्यमा रकम लगानीमा वृद्धि गरिने उल्लेख गरे ।

मुख्यमन्त्री बानियाँले प्रदेशमा सुशासनको मापदण्ड अक्षरस पालना गर्ने प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने र प्रदेशको पायक पर्ने स्थानमा खेलकुद रङ्गशालाको साथै प्रादेशिक अस्पतालको स्तरोन्नति गरेर विपन्न नागरिकको स्वास्थ्य उपचार कार्यमा निरन्तरता दिइने बताए ।

प्रदेश सरकारले आव २०८३र८४ को वार्षिक बजेटमा प्रदेशको विभिन्न जिल्लामा बसोबास गर्ने विपन्न दलित समुदायको एक हजार घरपरिवारलाई नयाँ आवास गृह निर्माण गरेर क्रमशः यसै आवभित्र ती परिवारलाई हस्तान्तरण गरिने उनको भनाइ छ ।

प्रदेशका १३ जिल्लामा बस्ने नागरिकहरूको परिवारमध्ये रोजागरी सिलसिलामा विदेशमा दुर्घटना परी मृत्यु भएका व्यक्तिको शव स्वदेशमा ल्याउने कार्यलाई प्रदेश सरकारले सङ्घीय सरकारको परराष्ट्र मन्त्रालयमार्फत समन्वय गर्ने र सो कार्यमा सम्बन्धित पीडित परिवारलाई अनुदान रकम उपलब्ध गराउने लक्ष्य राखेको मुख्यमन्त्री बानियाँले जानकारी दिए ।

उनले प्रदेशमा विपन्न दलित समुदायको विद्यार्थीहरूमध्ये सात जना दलित विद्यार्थीलाई चिकित्सक एमविविएस अध्ययनको लागि अब केही दिनभित्र नाम छनोट गरी सम्बन्धित मेडिकल कलेजमा भर्ना गरिने बताए ।

रिलिजअघि ‘हली’को आक्रामक अभियान, स्कुल–कलेजमा दर्शकसँग संवाद

चलचित्र ‘हली’को निर्माण यूनिट यतिबेला काठमाडौंका अधिकांश स्कुल तथा कलेजमा पुगिरहेका छन् । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’का कलाकार प्रमोद दीप, अभिनेत्री सुजाता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ अहिले प्रचार प्रसारमा व्यस्त छन् ।

फिल्ममा सुरु देखिनै दर्शक अभाव हुन नदिन र विद्यार्थीलाई पनि हलसम्म तान्न उनीहरू स्कुल तथा कलेजमा फिल्म प्रचारमा पुगेका हुन् । फिल्मले किसानको अलवा युवाको कथा उठाएकोले स्कुल कलेजमा पनि प्रचार प्रसार गरिएको निर्माता पूजा गुरुङले बताइन् ।

स्कुल कलेजमा फिल्म युनिटले विद्यार्थीलाई फिल्मको बिषयबस्तुबारे जानकारी दिँदै फिल्म गीतमा मनोरञ्जन समेत दिलाउने गरेका छन् । फिल्म कलाकार आफु माझ पाउँदा विद्यार्थीले फोटो र सेल्फीमा रमाउने गरेका छन् । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै स्वयम् निर्देशक ओम प्रतीकले अभिनय छ ।

फिल्मको विशेष गीतमा चर्चित कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई पनि देख्न सकिन्छ । उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने चलचित्रका अन्य गीतहरूको कोरियोग्राफी निर्देशक ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका छन् ।

सरकारका १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौँ – सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार, रोजगारीलगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले १०० दिनमा सम्पादन गरेका प्रमुख उपलब्धि सम्बन्धमा सरकारका प्रवक्ता सस्मित पोखरेलले जारी गर्नुभएको विवरणमा जेनजीहरूको विषयमा सम्पर्क बिन्दु तथा कल्याणकारी कार्य गर्न जेनजी कल्याणकारी परिषद् गठनसम्बन्धी कार्यविधि तयार गरिएको उल्लेख छ ।

यसअवधिमा ५१३ जना जेनजी घाइतेलाई वर्गीकरणका आधारमा अतिगम्भीरलाई मासिक रु १८ हजार, गम्भीरलाई मासिक रु नौ हजार र मध्यमलाई मासिक रु चार हजारका दरले प्रदान गरिँदै आएको भत्तालाई निरन्तरता दिइएको छ ।

हाल व्यक्ति बसोबास गरिरहेको स्थानीय तहबाट नै घटना दर्ता गर्न सकिने गरी प्रणाली अद्यावधिक गर्ने कार्य भइरहेको, आमाको नागरिकताबाट प्राप्त नागरिकताको हकमा समेत राष्ट्रिय परिचयपत्र जारी गर्न सकिने व्यवस्था मिलाइएको र दोहोरो नागरिकताको हकमा जिल्ला प्रशासन कार्यालयबाट नै राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न सकिने गरी सेवा सञ्चालन गरिएको विवरणमा उल्लेख छ ।

यसैगरी, अध्यागमन विभागले विद्युतीय टाइम कार्डमार्फत् सेवा प्रवाहको अनलाइन ट्रयाकिङ शुरुआत गरिएको, विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई विपद् खोज उद्धार सामग्री खरिद गर्न रु नौ करोड दुई लाख ३० हजार बजेट व्यवस्थापन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणमा विपद् कमान्ड पोष्ट÷सिचुएसन रूम स्थापना र सञ्चालन भएको, निजी क्षेत्रसँग निरन्तर छलफल गरी विपद् प्रतिकार्यमा पूर्वसमझदारीअनुसार सहयोग गर्न ती संस्थाबाट प्रतिबद्धता प्राप्त भएको, विपद् पोर्टलमा देशैभरका हेलिप्याडको भौगोलिक नक्शाङ्कनसहित तथ्याङ्क अद्यावधिक गरिएको उल्लेख छ ।

भूकम्प पुनर्निर्माणको सहजीकरणका लागि नमुना घरका नक्साहरू स्वीकृत गरी कार्यान्वयन ल्याइएको, प्रदेश र विभिन्न स्थानीय तहबाट प्राप्त निवेदनको आधारमा १५० जोखिमयुक्त बस्ति तथा संरचनामा पहिरोसम्बन्धी प्रारम्भिक तथा विस्तृत अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन सिफारिस गरी पठाइएको विवरणमा जनाइएको छ ।

यस अवधिमा गृह मन्त्रालयबाट लागु औषध उपचार तथा पुनःस्थापना केन्द्रलाई प्रदान गरिने अनुदान वितरण कार्यविधि, २०८३, उत्कृष्ट उपचार तथा पुनःस्थापना केन्द्र पुरस्कृत गर्न छनोट गर्नेसम्बन्धी कार्यविधि, २०८३ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सदाचारिता अनुगमन मापदण्ड, २०८३ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

यस्तै कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३, खोज उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८२, अत्यधिक गर्मी वा तातो हावाको लहर (लु) र खडेरीका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजना, २०८३, मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३, पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३, विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३ जारी भएका छन् ।

जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा मुआब्जा पुनरावलोकनसम्बन्धी कार्यलाई छिटो छरितो रूपमा सम्पन्न गर्न ‘फास्ट ट्रयाक मेकानिजम’ को खाका तयार गरी कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयहरूमा पठाइएको छ ।

नयाँ स्थापना भएका सात वटा इलाका प्रशासन कार्यालयमा मन्त्रालय र मातहत सञ्चालनमा रहेको सूचना प्रविधि सञ्जाल विस्तार गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली लागू गरी विद्युतीय प्रणालीबाट नागरिकता सेवा सञ्चालनको प्रबन्ध मिलाइएको छ ।

भ्रष्टाचारसम्बन्धी कसूरमा सर्वोच्च अदालतबाट अन्तिम फैसला भई जफत हुने ठहर भएका जग्गामध्ये १–६–१–१ रोपनी (७०९.४२ वर्ग मिटर) क्षेत्रफल जग्गा गत वैशाख ३ गते कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको नाममा कायम भएको छ ।

गृह मन्त्रालयअन्तर्गत सुशासन प्रवर्द्धनका लागि विभिन्न माध्यमबाट जनताको गुनासो प्राप्त गर्ने उद्देश्यले ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीमा २४ सै घण्टा गुनासो सुन्ने तथा समाधान गर्न (चौबिसै घण्टा÷सातै दिन गुनासो सुन्ने) कक्षको स्थापना भई हट लाइन नं १११३ सञ्चालनमा ल्याइएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना जगाई नैतिकवान र अनुशासित बनाउनका लागि तालिम दिई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा आवश्यकतानुसार खटाउन सक्ने गरी विद्यमान राष्ट्रिय सेवा दल, २०२७ लाई प्रतिस्थापन गरी राष्ट्रिय सेवा दल विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गरिएको छ ।

नेपाली सेनाको भर्ना, छनोट, तालिम,अध्ययन, बढुवालाई थप व्यवस्थित गर्न, विगतको द्वन्द्वमा कर्तव्य पालनाको सिलसिलामा घाइते, अङ्गभङ्ग, घाउ चोटपटकको मूल्याङ्कन गरी निश्चित सेवा सुविधा पाउने तथा शान्ति सेनमा खटिएको अवस्थामा आकस्मिक दुर्घटनामा परी वीरगति प्राप्त गरेका वा अङ्गभङ्ग भई सैनिक सेवामा काम गर्न अशक्त भएमा थप सुविधासहितको व्यवस्था गरी सैनिक सेवा (छैठौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको विवरणमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने कायक्रम रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जानकारी गराएको छ । उहाँहरूबीच शुक्रबार नै टेलिफोन संवाद भएको थियो ।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार भएको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री नेतन्याहुले अमेरिका स्थापनाको २५० औँ बर्षगाँठको अवसरमा अमेरिकी जनता र राष्ट्रपति स्वयंलाई इजरायल र त्यहाँका नागरिकको तर्फबाट बधाइ दिनुभएको थियो ।

विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहुले अमेरिकाको स्थापना भएको २५० औँ वर्षगाँठको अवसरमा ट्रम्पलाई बधाई दिनुभएको थियो । उहाँले भन्नुभएको छ, “संयुक्त राज्य अमेरिका नै विश्वको स्वतन्त्रता सुनिश्चित गर्ने भूमिकामा महत्वपूर्ण योगदान गर्न सक्छ, इजरायल दुई राष्ट्रबीचको घनिष्ठ सम्बन्धको अत्यधिक कदर गर्दछ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “प्रधानमन्त्री नेतन्याहु र राष्ट्रपति ट्रम्पले अमेरिकामा चाँडै भेट्ने सहमति भएको छ।”

टाइम्स अफ इजरायलका अनुसार प्रधानमन्त्रीको कार्यालयले प्रस्तावित भेटको कुनै विशिष्ट मिति वा स्थानको बारेमा जानकारी दिएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही हप्ताहरूमा लेबनानमा हिजबुल्लाहसँगको युद्धले इरानसँगको शान्ति वार्तालाई जोखिममा पारेको नेतन्याहुको आलोचना गर्दै आएका समय दुइृ नेताबीच टेलिफोन संवाद भएको हो ।

इरानसँग भएको १४ बुँदे समझदारी पत्रमा युद्धविरामका लागि वातावरण बनाउन ६० दिनको समयसीमा तोकिएको छ । कतार र पाकिस्तानले जुलाई १ मा दोहामा अमेरिका र इरानी वार्ताकारहरूसँग अलग–अलग बैठक सम्पन्न गरेका थिए। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार, १४ बुँदे सम्झौतासम्बन्धी बिषयहरूमा ‘सकारात्मक प्रगति’ भएको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, “दुवै पक्षले आगामी अवधिमा छलफल जारी राख्ने सहमति गरेका छन् । अर्को बैठक दिवङ्गत पूर्व इरानी सर्वोच्च नेता अलि खामेनीको अन्तिम संस्कारको कार्यक्रमपछि सकेसम्म चाँडो तय गरिनेछ।”

यसअघि जुलाई १ मा इजरायलले लेबनानसँगको विद्यमान युद्धविरामको ढाँचाका बावजुद हिजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्ने बताएको थियो । इजरायली उपविदेशमन्त्री शारेन हास्केलले भन्नुभएको थियो, “इरान समर्थित यो सशस्त्र समूहले अझै पनि प्रत्यक्ष सुरक्षा खतरा उत्पन्न गरिरहेको छ र लेबनानमा स्थायी स्थिरता हासिल गर्न हिजबुल्लाहलाई निःशस्त्र नगरी सम्भव छैन।”

एएनआईसँगको भर्चुअल अन्तर्वार्तामा हास्केलले भन्नुभयो, “हिजबुल्लाहले इजरायली क्षेत्रमा आक्रमण जारी राखेसम्म इजरायलको सैन्य कारबाही पनि जारी रहनेछ । उहाँले इजरायल र लेबनान दुवैको हित यस समूहको सैन्य क्षमता विघटनमा रहेको बताउनुभयो ।

“यदि हिजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राख्यो भने, हामी हाम्रा जनता, समुदाय र हाम्रा सेनाको रक्षार्थ प्रतिरोध जारी राख्नेछौँ,” उहाँले भन्नुभयो ।

“हामी यो ‘इरानी आतङ्ककारी’ सेनालाई लेबनानबाट बाहिर निकाल्नुभन्दा बढी अरू केही चाहँदैनौँ र लेबनानी सरकार पनि यो ‘आतङ्ककारी’ सङ्गठनलाई हटाएर निःशस्त्र गर्न चाहन्छ।”

यसैबीच, जुन ३० मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी आर्थिक सहायता समाप्त गर्ने महत्वाकाङ्क्षी नीति परिवर्तनको घोषणा गर्नुभएको थियो । उहाँले देशको अर्थतन्त्र मजबुत रहेकाले अब विदेशी अनुदानको आवश्यकता नरहेको बताउनुभयो ।

यी टिप्पणी गर्दै प्रधानमन्त्री नेतन्याहुले आफ्नो प्रशासनको सुरक्षा, भूराजनीतिक मोर्चा, राष्ट्रिय सार्वभौमिकता, क्षेत्रीय सैन्य उपस्थिति र कूटनीतिक प्रयासहरूमा व्यापक रणनीति प्रस्तुत गर्नुभएको थियो ।

वाशिङ्गटनसँगको आर्थिक सम्बन्धबारे बोल्दै नेतन्याहुले अगाडि भन्नुभयो, “म अमेरिकी सहायता रोक्न चाहन्छु । यो कल्याणकारी कोष जस्तै हो । अब, हामीलाई यो आवश्यक छैन ।”

उहाँले इजरायलको वर्तमान आर्थिक क्षमताले बाहिरी सहयोगलाई नगण्य बनाएको बताउँदै भन्नुभयो, “हाम्रो अर्थतन्त्र अब सानो अर्थतन्त्र होइन ।

हामीले अमेरिकाबाट प्राप्त गर्ने कुल गार्हस्थ्य उत्पादनको यो सानो अंशलाई आँफैले व्यवस्थापन गर्न सक्छौँ । म यो प्रक्रिया यो वर्षबाट सुरु गर्न चाहन्छु।”

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

काठमाडौँ – चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।

वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका लागि छ देखि आठ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको जानकारी दिए ।

सरकारका तर्फबाट दिइने प्रतिक्वीन्टल रु ७० का दरको करिब रु एक अर्ब ५२ करोड अनुदान रकम सम्बन्धित निकायमा निकासा भई असार २५ भित्र किसानको खातामा जम्मा हुने क्रममा रहेको उनले बताए । बैंक खाता र प्यानजस्ता प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानहरूको बाँकी भुक्तानीसमेत तत्काल हुने व्यवस्था मिलाइएको सरकारले जारी गरेको १०० दिनका उपलब्धि विवरणमा उल्लेख छ ।

कृषि बजार सूचना प्रणाली सञ्चालन एवं चिस्यान केन्द्रका लागि बजेट व्यवस्था गरिएको छ । कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण तथा माटो परीक्षणको कार्य अघि बढाइएको छ । कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न रु तीन करोडसम्मको कृषि कर्जामा रहेको जोखिम भारलाई ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको छ ।

मुलुकभरका किसानहरूको आवश्यक विवरण सङ्कलन गरी विद्युतीय प्रणालीमा आबद्धता गर्न कूल २५ लाख ५८ हजार १९८ सङ्ख्यामध्ये हालसम्म सात लाख ५० हजारको प्रमाणीकरण गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न प्रभावित परिवारलाई राहत वितरणका साथै सोको अध्ययनको कामसमेत समितिले सक्रिय रूपमा गरिरहेको जनाइएको छ ।

एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल

काठमाडौँ – नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन् ।

वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार गरेको जानकारी दिए ।

मुख्यसचिव अर्यालले भने, “सबै मन्त्रालयको समन्वय र सहकार्यमा वर्तमान सरकारले सुशासनका क्षेत्रमा पर्याप्त काम गरेको छ ।”

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले संयोजन गरेको सो कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासालाई सम्बोधन गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले आआफ्नो क्षेत्रका बारेमा स्पष्ट पारेका थिए ।

मन्त्रालयको सङ्ख्या घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् ।

मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए । उनले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब रु २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताए ।

यसैगरी उनले अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताए ।

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रालयको जिम्मेवारी सम्हालेयता ४८ वटा मुख्य उपलब्धि हासिल भएका छन् । मन्त्रालयले १०० दिनका प्रमुख कार्य सार्वजनिक गर्दै ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरी नक्सा प्रिन्टदेखि फिल्डबुक उतारसम्मका काम मोबाइलबाट गर्न सकिने जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त एपमार्फत हालसम्म चार हजार ७७९ संस्थागत प्रयोगकर्ता तयार भई सेवा प्रवाह भइरहेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको छ ।

वितेका १०० दिनमा सहकारीका एक हजार ७५४ साना बचतकर्ताको रु दुई करोड ६३ लाख रकम फिर्ता गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सो अवधिमा १५४ जना ऋणीबाट रु चार करोड ३२ लाख ८२ हजार ३१० रकम ऋण असुली भएको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा २२३ रिक्त तथा निमित्त भरमा रहेका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको उपलब्धि सार्वजनिक गरेको छ । यस अवधिमा ६ वटा स्थानीय तहबाट नापी र मालपोत सम्बन्ध सेवाको सुरुआत गरिएको छ । साथै कर्मचारी टेड युनियनको व्यवस्था हटाइएकोलाई पनि मुख्य उपलब्धिका रूपमा मन्त्रालयले चित्रित गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास रहेको जग्गा नेपाल सरकारका नाममा ल्याइएको, मालपोत र नापी कार्यालयमा सेवाग्राहीबाहेक अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाइएको, तीनवटा प्रदेश (बागमती, गण्डकी र मधेस) मा निजामती अस्पतालको सेवा विस्तार, सिंहदरवार परिसरमा निजामती अस्पतालको सेवा एकाई स्थापना गरी सेवा सुरु, कर्मचारीको सरुवा अनिवार्य अनलाइन प्रणालीमार्फत गर्ने व्यवस्था, किताबखानाको पूर्ण डिजिटल प्रणाली सुरु, निजामती कर्मचारीको विवरण अनलाइनबाट अध्यावधिक गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

मन्त्रालयका अनुसार अध्ययन तथा असाधारण बिदामा गई सम्पर्कमा नआएका दुई जना तथा विदेशी आवासीय अनुमति लिएका छ जना कर्मचारीलाई निजामती सेवामा अयोग्य ठहरिने गरी कारबाही गरिएको जनाएको छ ।

एक सय दिनमा निजामती सेवा विधेयक मस्यौदा तयार, स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न स्थलगत टोली खटाइएको, सेवा सहजीकरणमा युवा परिचालन गर्न कार्यविधिको मस्यौदा तयार, सहकारी (पहिलो संसोधन) अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत, कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, जग्गा (नाप जाँच), भूमि र सहकारी सम्बन्धी नयाँ विधेयकको मस्यौदा तयार, स्थानीय सरकार सञ्चालन ऐनको संशोधन विधेयकको मस्यौदा तयार गरिएको, स्थानीय तहहरूको सेवाप्रवाहको गुणस्तर प्रमाणीकरण मापदण्ड स्वीकृतलगायत उपलब्धि हासिल भएका जनाइएको छ ।

सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री वितरण गरेको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत सो परिमाणको रासायनिक मल अनुदानित मल बिक्री वितरण गरिएको बताए ।

विसं २०८२ चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७१६ दशमलव ४५ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पाेरेसनबाट ३५ हजार ४७८ दशमलव १० मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री वितरण गरिएको छ ।सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई गरिने रकम निकासा व्यवस्थित, वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्थापन (दोस्रो संशोधन कार्यविधि),२०८३ समेत जारी गरिएको छ

कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने

चितवन । कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताएका छन् । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा रहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताएका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस नहुने बताए । उनले भने, “भाइरसको जोखिम काँचो मासुमा हुन्छ । राम्ररी पकाएको मासु र अण्डा खाँदा कुनै डर छैन ।” उनले काँचो मासु ल्याएर राखिएको भाँडा भने निःसङ्क्रमित गर्न सुझाव दिए ।

प्रा. डा. बस्नेतले भने, “ल्याएर काँचो मासु राखेको भाँडालाई भने सङ्क्रमणमुक्त बनाउनुपर्छ ।” तातोपानीले भाँडालाई सफा गरेर सङ्क्रमणमुक्त गराउन सकिने उनले सुझाव दिए ।

बर्डफ्लुका विज्ञसमेत रहेका प्रा. डा. बस्नेतले ४० डिग्री तापक्रम पुगेपछि भाइरस मर्ने जनाउँदै भने, “बर्डफ्लु लागेको कुखुराले अण्डा पार्न सक्दैन । त्यसैले अण्डा झनै सुरक्षित छ ।” बर्डफ्लु लागेपछि सबै कुखुरा नष्ट गरिने हुँदा सङ्क्रमित कुखुरा बजारमा आउने सम्भावना नहुने उनको भनाइ छ ।

सरकारले क्षतिपूर्ति दिने भएकाले कुखुरामा बर्डफ्लु देखिएमा तुरुन्त नष्ट गरेर बजारमा आउनबाट रोक्न प्रा. डा. बस्नेतले सुझाव दिए । “नेपालमा काँचो मासु खाने प्रचलन छैन । त्यसैले पनि बर्डफ्लुको जोखिम मानिसमा कम छ,” उनले भने ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले अहिले चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको कुनै सङ्क्रमण नभेटिएकाले मासु र अण्डा पकाएर खान सकिने बताए । चितवनसहित छिमेकी २२ जिल्लाबाट यहाँ नमूना परीक्षणका लागि आउने जनाउँदै उनले जिल्लामा पछिल्लो समय गत जेठमा सङ्क्रमण देखिएको बताए ।

त्यसअघि चैतमा एउटा फार्ममा सङ्क्रमण देखिएको भन्दै डा. श्रेष्ठले किसानलाई सजग भएर काम गर्न सुझाव दिए । उनले भने, “फार्ममा काम गर्दा सुरक्षित भएर काम गर्नुपर्छ । कामदारले पञ्जा, बुट, एप्रोन, माक्सजस्ता सुरक्षाका उपकरण प्रयोग गर्नु उपयुक्त हुन्छ ।”

डा. श्रेष्ठले जैविक सुरक्षामा ध्यान दिन सकेमा सङ्क्रमणबाट बच्न सकिने सुझाव दिए । किसानका फार्ममा कुखुरा मर्ने समस्या देखिएमा वा शङ्कास्पद देखिएमा तत्काल परीक्षण गर्न र रोग पुष्टि भएमा सो फार्मका अण्डा, कुखुरा र दाना बाहिर नलैजान उनले आग्रह गरे ।

मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै समस्या नहुने भन्दै उनले रोग मानिसमा सर्ने जोखिम कम रहेको बताए । मानिसबाट मानिसमा यो रोग नसर्ने भन्दै उनले भने, “पकाएर मासु र अण्डा खाँदा कुनै समस्या छैन ।”

भाइरस बाहिरबाट फार्ममा भित्रिने भन्दै डा. श्रेष्ठले खोरमा आफैँ भाइरस उत्पादन नहुने बताए । उनले भने, “यो भाइरस बाहिरबाट आउने हो । चराचुरुङ्गी, गाडी, दाना, पानीको माध्यमबाट खोरमा भित्रिन सक्छ ।” चराचुरुङ्गीमार्फत सङ्क्रमण आउन सक्ने भन्दै उनले खोर वरिपरिका रुख काट्न पनि सुझाव दिए । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार बर्डफ्लुबाट नष्ट गरिने पोल्ट्रीजन्य सामग्रीमा जिल्ला दररेटको ७० प्रतिशत सरकारले क्षतिपूर्ति दिने गर्दछ ।

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।

विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगम ले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। त्यसअनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो।

मन्त्री यादवले इन्धनको मूल्य घटेको लाभ आम उपभोक्तासम्म पुग्नुपर्ने भन्दै कृत्रिम मूल्यवृद्धि रोक्न तथा अत्यावश्यक वस्तु र सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिएकी छन्।

सोही निर्देशनअनुसार विभागले खाद्यान्नलगायत सबै उपभोग्य वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन विक्रेता, व्यवसायी, ढुवानी व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै इन्धनको मूल्य घटेको प्रभाव बजार मूल्यमा समेत देखिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षसँग अनुरोध गरेको छ।

राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने

काठमाडौं । राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गर्दै नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ।

विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ। यसअघि नै प्रणाली परिवर्तनका क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी विभागले सार्वजनिक गरिसकेको थियो।

सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि पूर्ण रूपमा बन्द रहनेछ।

यस्तै, राहदानी विभाग बाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुनेछ।विभागले नयाँ प्रणाली लागू भएपछि सेवा प्रवाह थप सुरक्षित, प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ।प्रणाली स्तरोन्नतिको अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै विभागले आवश्यक सहयोग र सहकार्यका लागि सबैमा अनुरोध गरेको छ।

मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिनभर हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति वर्षाको गतिविधि अझ बढ्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रका केही तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेटमा दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। २९औँ मिनेटमा लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।

अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए पनि १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालले केप भर्डलाई फेरि बराबरीमा ल्याए। तर १११औँ मिनेटमा डिनेको आत्मघाती गोलपछि अर्जेन्टिनाले ३–२ को जित निकाल्यो।

पहिलोपटक विश्वकप खेलेको केप भर्डले साविक विश्वविजेता अर्जेन्टिनालाई कडा चुनौती दिए पनि प्रतियोगिताबाट बाहिरिएको छ। अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।डलास स्टेडियममा शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा इजिप्ट ४–२ गोलले विजयी बन्यो।

इजिप्टले खेलको १३औँ मिनेटमै इमाम आशुरको हेडमार्फत गोल गर्दै अग्रता लिएको थियो। तर दोस्रो हाफको ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्याएको थियो।

त्यसपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इजिप्टका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्न सफल भए।

यस जितसँगै इजिप्टले अन्तिम १६ मा स्थान बनाएको छ। अब इजिप्टले अर्जेन्टिना र केप भर्डेमध्ये विजयी हुने टोलीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नवलपरासी । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ ।

आयोजनाको पूर्वी खण्डअन्तर्गत पेभमेन्टतर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए ।

“मुख्य सडकको कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भइसकेको छ । अब सडक सुरक्षाअन्तर्गतका काम मात्र बाँकी रहेका छन्,” उनले भने, “यससँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ ।”

उनका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश खण्डमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब ४८ किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन् ।

सन् २०१९ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना कोभिड–१९ महामारी, वन क्षेत्रको रूख कटानमा ढिलाइ, विद्युत् तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन ।

पछिल्ला महिनामा निर्माण कार्यले उल्लेखनीय गति लिएसँगै पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे सम्पन्न भएको हो । यसअघि अधिकांश पुल, कल्भर्ट, नाला, सेवा सडक र अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

सूचना अधिकारी खनालले बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

देशकै अत्यधिक सवारी चाप हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक विस्तार आयोजना सम्पन्न भएपछि नारायणघाट–बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ । यसले गण्डकी, लुम्बिनी र बागमती प्रदेशबीचको आवागमन, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’

काठमाडौँ । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ ।विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

सोही कार्ययोजनाबमोजिम नेपाल प्रहरीले ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी कार्यान्वयनमा ल्याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए । उनले विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकताअनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको जानकारी दिए ।

प्रवक्ता काफ्लेले भने, “विशेषगरी मनसुनजन्य विपद् हुनसक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान, विपद्को प्रकृतिअनुसार उद्धार सामग्रीको मर्मतसम्भार र तत्काल परिचालन हुनेगरी प्रहरी चौकीस्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा रहेका छन् ।”

विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा एक–एक प्लाटुन उद्धार टोली २४सै घण्टा उपकरणसहित तैनाथ रहेका उनले जानकारी दिए ।

विपद् प्रतिकार्यका लागि १० हजार ८५ जना प्रहरीलाई तत्काल परिचालित हुनसक्नेगरी तयारी हालतमा राखिएको छ । प्रभावकारी खोज तथा उद्धार एवं व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकताअनुसार तत्काल वा चरणबद्ध रूपमा प्रहरी परिचालन गर्नेछन् ।

प्रवक्ता काफ्लेले भने, “मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको छ । जनधनको क्षति न्यूनीकरणको लागि बृहत्त रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ ।”

विपद् व्यवस्थापनमा त्रुटिरहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई विपद् उद्धारसम्बन्धी अनुशिक्षण प्रदान गरिएको उनले बताए ।

प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई तयारी अवस्थामा राखिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रशिक्षण प्रदायक कार्यालय तथा विशिष्टिकृत इकाईको जनशक्ति विपद्को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण, विपद् विशिष्टिकृत कार्यालयबाट उद्धार सामग्री लिई परिचालित हुनेछन् ।

विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्री आवश्यकताअनुसार स्थानीय तह, विभिन्न सङ्घसंस्थासँग समन्वय गरी व्यवस्थापन गरिने प्रवक्ता काफ्लेले जानकारी दिए ।

विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौँ । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् ।

ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् ।

यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङ्का २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएका छन् ।
यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन् । आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।

जनावरको आक्रमणका १४७ घटनामा १४को मृत्यु र ८२ जना घाइते भएका छन् । हावाहुरीका ४७४ घटना भएका र ती घटनामा परेर १३ जनाको मृत्यु तथा ६७ जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रवक्ता महतका अनुुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न २७ जिल्लामा ३१ वटा विपदका घटना भएको र ती विपदमा परेर एक जनाको मृत्यु भएको तथा १५ जना घाइते भएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ ।बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।

राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए ।

“बैङ्कको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,” उनले भने, “अनलाइन कर्जा आवेदनका लागि बैङ्कको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिङ्कमा क्लिक गरी ९आरबिबि स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ ।” बैङ्कका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिष्टेसनमार्फत दर्ता गर्नुपर्नेछ ।

३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद

मोरङ। सशस्त्र प्रहरी बल नेपालले मोरङका विभिन्न स्थानबाट रु ३६ लाख नौ हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–१ बरगाछी क्षेत्रमा सडक छेउमा लोड गर्न तयारी अवस्थामा राखिएको रु ३० लाख ८४ हजार बराबरको मल्टिभिटामिन औषधि बरामद गरेको जनाएको छ ।

मोरङको दरैया र मटेरुवा क्षेत्रबाट भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको दुई वटा सिटी सफारीमा लोड गरिएको भारतीय वनस्पति घ्यू र २० प्याकेट पुटिन बरामद गरिएको छ ।

सवारीसाधनसहित बरामद गरिएको उक्त सामानको मूल्य रु पाँच लाख २५ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडी तथा यात्रुको हेलिकप्टरबाट खोजी गर्न निर्देशन

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दैलेखको चामुण्डा विद्रासैन्नीस्थित कर्णाली राजमार्गबाट बिहीबार नदीमा खसेर बेपत्ता भएको गाडी तथा यात्रुको हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कँडेलले आज कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गरे । छलफलमा उनले अहिलेसम्म सुरक्षा निकायहरुबाट खोजी तथा उद्वारमा भइरहेको कामको प्रशंसा गर्दै आवश्यकताअनुसार हेलिकप्टरबाट परिचालन गर्न निर्देशन दिए ।

उनले दैलेखदेखि भारतको सीमासम्म खोजीको दायरा विस्तार गर्न निर्देशन दिए । छलफलमा सशस्त्र प्रहरी बल नेपाल नं.६ बाहिनी मुख्यायलय सुर्खेतका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट हिँडिसकेको जानकारी दिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जलसतह बढेको, धमिलो पानी तथा भौगोलिक कठिनाइका कारण खोजी कार्यमा चुनौती थपिएको बताए । सबै सुरक्षा निकायको सामूहिक प्रयासबाट उपलब्ध सम्पूर्ण जनशक्ति र स्रोतसाधन परिचालन गरी खोजी जारी राखिएको उनको भनाइ थियो । उहाँका अनुसार नेपाली सेनासमेत खोजीमा परिचालन भएको र ड्रोन क्यामेराबाट सम्भावित स्थानहरुमा खोजी सुरु भएको छ ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी बिहीबार ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनापछि अचेत अवस्थामा भीरमा अड्केका पचालझरना गाउँपालिका–९ कालिकोटका ५४ वर्षीय जेखे तिरुवालाई उद्धार गरी उपचारका लागि अस्पताल लिँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यकीन नभएका अन्य यात्रुहरुको अवस्था अज्ञात रहेको जनाइएको छ ।

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह, कसरी सर्छ मानिसमा ?

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बर्डफ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकासहित मुलुकका एक सय स्थानमा बर्डफ्लु फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्य । उनका अनुसार सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क हुनेगरी काम/गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरिएको छ ।

त्यस्तै पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । पशु सेवा विभागका अनुसार अहिलेसम्म ११ जिल्लाका एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।

“बर्डफ्लु पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने सङ्क्रामक रोग हो । कहिलेकाही सङ्क्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यसको सङ्क्रमण सर्न सक्छ । तर व्यक्ति-व्यक्तिबीच सजिलै यो रोग सर्दैन”, डा अधिकारीले भ ।

कसरी सर्छ मानिसमा

सङ्क्रमित पन्छीलाई छुँदा वा समात्दा, पन्छीको दिसा, सिगानसँंग सम्पर्क हुँदा, सङ्क्रमित पन्छी राख्ने स्थान सफा गर्दा र मरेको पन्छीको मासु खाँदा बर्डफ्लु मानिसमा सर्ने डा अधिकारीले जानकारी दिए ।

बर्डफ्लु मानिसमा भएमा देखिने लक्षण

ज्वरो आउनु, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, शरीर तथा मासपंशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी लाग्ने, वान्ता हुने वा पखाला लाग्नेजस्ता लक्षण देखिने गर्दछन् ।

सिरहामा प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ

सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा आज प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ ।

घटनामा एक भारतीय नागरिक प्रहरीको गोली लागेर घाइते भएका छन् भने अन्य केही कारोबारी फरार भएका छन् ।

लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा पुगेको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेका थिए । उक्त गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । तीमध्ये एक गोली भारतको बिहार राज्य, मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको थियो । घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका अब्दुल कलाम उक्त समूहका मुख्य कारोबारी हुन् । उनीहरूले लामो समयदेखि भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागुऔषध तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले अब्दुलको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ । घटनामा संलग्न अन्य दुई÷तीन जना फरार रहेकाले उनीहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड

काठमाडौँ – नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिनुपर्नेमा जोड दिइएको छ ।

अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास र चीन परिषद् फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सको सहकार्यमा आज बेइजिङमा सम्पन्न नेपाल–चीन बिजनेस एण्ड इन्भेस्टमेन्ट फोरममा नेपाली प्रतिनिधिहरूले सो कुरामा जोड दिएको हो ।

कार्यक्रममा चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकार विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै हालका वर्षहरूमा लगानीमैत्री नीतिगत सुधारहरू अघि बढाइएको जानकारी दिए । नेपाली दूतावासकी आर्थिक कूटनीति प्रमुख पार्वती अर्यालले सम्मेलनले चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपालको विशाल लगानी सम्भावना नजिकबाट बुझ्ने अवसर प्रदान गरेको बताए ।

निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपालमा प्रविधि, लगानी र औद्योगिक सहकार्य विस्तारका लागि निजी क्षेत्र पूर्णरूपमा प्रतिबद्ध रहेको बताउँदै चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित उपयोग अझै हुन नसकेकाले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख ग । उनले भन्नुभयो, “हामीले चीनले प्रदान गरेको शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन सकेका छैनौँ । अब यस अवसरलाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ ।”

सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई

सुदूरपश्चिम। ‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड’ अन्तर्गत पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीकी मानमती विष्टलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा दुवै जनालाई यस वर्षको उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो ।

उनीहरूले ट्राफिसहित जनही रु ३५ हजार प्राप्त गरेका छन्। पुरुषतर्फ भारोत्तोलनका अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका हेमन्त धामी, महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मीना देउवा मनोनयनमा परेका थिए ।

‘वर्ष प्रशिक्षक’मा कबड्डीका विष्णुदत्त भट्ट, ‘वर्ष युवा खेलाडी’मा एथलेटिक्सका विक्रम नाथ, ‘सुदूरपश्चिम आइकन’ पुरुषतर्फ भारोत्तोलनका भण्डारी र महिलातर्फ एथलेटिक्सका पूजा साउद परेका छन् ।

जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुनेगरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन् ।

गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुङ्गानालाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्दै उनले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले सरकारका अङ्गका रूपमा रहेका दुवै संस्था मुलुकका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख ग दै गोरखापत्र संस्थान ऐतिहासिक संस्था र सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएको बताए ।

संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर संरक्षण र विकास गर्नुपर्नेमा जोड दिदै उनले कसैको आग्रह–पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनअनुसार संस्था सञ्चालन गर्नसमेत निर्देशन दिए । त्यस्तै जागिर खाने मानसिकतामा सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । मन्त्रालयले दुवै संस्थाको सुधार र सुदृढीकरणका लागि आवश्यक सहयोग एवम् सहकार्य गर्ने प्रतिबद्धतासमेत सञ्चारमन्त्री डा तिमिल्सिनाले व्यक्त गरे ।

यसअघि २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका रावललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै, मोरङका ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको छ ।

नवनियुक्त महाप्रबन्धक रावलले सरकारले लिएको सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहको लक्ष्यलाई संस्थागत रूपमा कार्यान्वयन गर्दै गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने बताए ।

७ विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गरेका छन् ।

शाहले त्रिभुवन विश्वविद्यालयमा प्रा।डा। भोला थापा ,सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई उपकुलपतिमा नियुक्त गरेका छन् ।

यस्तै पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टालाई नियुक्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ। संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा (काठमाडौँ) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिए ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

काठमाडौँ। केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध रहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही असार १५ गते आएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सालझण्डी–ढोरपाटन सडक, असार १७ गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग र असार १८ गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा ल्याइएको हो ।

यसैगरी असार १७ गतेको अविरल वर्षासँगै अवरुद्ध भएको रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगाढ खोलास्थित जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर भने हाल सम्म पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सडकखण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

उखु किसानको बाँकी रकम असार मसान्तसम्म भुक्तानी गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारीे दिनुभएको छ ।उहाँले रासससँग भन्नुभयो, “चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ । यस वर्ष प्रतिक्विन्टल रु ७० अनुदान उपलब्ध गराइनेछ ।

किसानले जुन वर्ष क्रसिङ गर्नुभएको हो, सोही वर्षमै भुक्तानी सुनिश्चित गरिन्छ । किसानको रकम भुक्तानी हाम्रो प्राथमिकता हो र यसका लागि हामीले सक्दो मिहिनेत गरेका छौँ ।”

मन्त्री चौधरीले किसानलाई दिइने अनुदान भुक्तानीमा उल्लेख्य प्रगति भएको बताउँदै चालु आर्थिक वर्षको उखु क्रसिङ सम्पन्न भएपछि सरकारले अनुदान रकम समयमै निकासा गरी सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिनुभयो । विगतमा उखु क्रसिङ भएको अर्को आर्थिक वर्षमा मात्र भुक्तानी हुने गरेको अवस्था रहने गरेकामा यस वर्ष भने सोही आर्थिक वर्षभित्रै भुक्तानी गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

यसबीच उखु मिलहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल रु २० मध्ये करिब ९३ प्रतिशत भुक्तानी गरिसकेका छन् । त्यसैगरी सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल रु ७० अनुदान पनि सम्बन्धित निकायमा निकासा भइसकेको भन्दै आवश्यक प्रक्रिया पूरा गरी किसानको खातामा जम्मा गरिने पनि मन्त्री चौधरीले बताउनुभयो ।

करिब रु एक अर्ब ५१ करोड अनुदान रकम भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । बाँकी केही भुक्तानी किसानको बैंक खाता, पान नम्बरलगायत प्राविधिक विवरण नमिलेकाले रोकिएको बताउँदै मन्त्री चौधरीले ती समस्या समाधान हुनेबित्तिकै बाँकी रकम पनि भुक्तानी गरिने जानकारी दिनुभयो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले विगतका वर्षमा किसानले भुक्तानीका लागि छदेखि आठ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकामा यस वर्ष उल्लेखनीय सुधार भएको बताउनुभयो । उहाँका अनुसार अधिकांश किसानले २५ दिनदेखि एक महिनाभित्रै भुक्तानी प्राप्त गरेका छन्, जसले सरकारको भुक्तानी प्रणाली थप प्रभावकारी बनेको देखाएको छ ।

चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलमा उखु क्रसिङ गराएका करिब ६८ हजार किसानलाई नेपाल सरकारले तोकेको खरिद मूल्य रु ६२० (प्रतिक्विन्टल अनुसार) मिलले भुक्तानी गर्नुपर्ने रु दुई करोड २१ लाख क्विन्टलबापतको कुल रकम रु १३ अर्ब ७६ करोड भुक्तानीमा सहजीकरण भएको कृषि विभागले जनाएको छ ।

हालसम्म भुक्तानी गरिनुपर्ने रकमको करिब ९२ प्रतिशत मिलबाट भुक्तानी भइसकेको तथा बाँकी किसानको खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीको क्रममा रहेको जनाइएको छ ।

त्यसैगरी, सरकारको तर्फबाट दिइने अनुदान रकम रु ७० (प्रतिक्विन्टलका लागि रु एक अर्ब ५२ करोड) रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा गइसकेको र यही असार २५ गतेभित्र सबै किसानको खातामा भुक्तानी हुने जानकारी दिइएको छ ।

जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार सीमान्तकृत समुदाय र बालबालिकामा

काठमाडौं । जलवायु परिवर्तनको असरले हिमालमा हिउँ पग्लनु र तापक्रम बढ्नु मात्र नभई बालबालिका र सीमान्तकृत समुदायको दैनिकी तथा स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामाथि पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जलवायु विज्ञहरूले जलवायु परिवर्तनलाई हिमालमा हिउँ पग्लिनु र समयमा पानी नपर्नुसँग मात्र जोडेर हेर्दा अन्याय हुने बताएका हुन्। पछिल्ला अध्ययनहरूले समेत जलवायु परिवर्तनका कारण गर्भवती महिला र सुत्केरीले पाउने स्वास्थ्य सेवाको अधिकार प्रभावित भएको देखाएको छ। जलवायु विज्ञ खुस्बु पौडेलले जलवायु परिवर्तनकै कारण महिला, बालबालिका, सुत्केरी तथा गर्भवतीको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार गुम्दै गएको बताइन्।

पौडेलले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको उल्लेख गरिन्। उनका अनुसार जलवायु परिवर्तनको असर वातावरणमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ तथा बालअधिकारमा समेत प्रत्यक्ष रूपमा देखिन थालेको छ । जलवायु विज्ञ मञ्जित ढकालले मानवजन्य गतिविधिका कारण सिर्जित जलवायु परिवर्तनले वर्षाको सम्भावना, प्रवृत्ति र तीव्रतालाई कति हदसम्म प्रभावित ग¥यो भन्ने विषयमा विभिन्न समीक्षात्मक अध्ययन गरिएको बताए।

उनका अनुसार पृथ्वीको तापक्रम बढ्दै जाँदा मुलुकका करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल साँघुरिएको छ। पछिल्लो १५० वर्षमा मानव गतिविधिका कारण पृथ्वीको औसत तापक्रम करिब १ डिग्री सेल्सियसले वृद्धि भएको तथा सन् २०४० सम्म विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको उनले बताए। ढकालका अनुसार हाल पृथ्वीको औसत तापक्रम १.२ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ। विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियसले वृद्धि हुँदा हिमालको एकतिहाइ हिउँ पग्लिने खतरा रहेको उनको भनाइ छ।

जोखिम बढ्दै गएकाले बालबालिकालाई सुरक्षित राख्न धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाकी नर्सिङ अधिकृत उमा रेग्मीका अनुसार वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या मात्र नभई मुटु तथा रक्तनलीका रोग, फोक्सोको क्यान्सर, स्ट्रोक, गर्भावस्थामा जटिलता तथा बालबालिकाको शारीरिक विकासमा समेत गम्भीर असर पारिरहेको छ ।

उनका अनुसार वायु प्रदूषणका कारण दम, दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सीओपीडी), निमोनिया, उच्च रक्तचाप, हृदयाघात, स्ट्रोकलगायतका रोगको जोखिम बढिरहेको छ। गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू वायु प्रदूषणबाट सबैभन्दा बढी प्रभावित हुने समूह रहेको उनको भनाइ छ ।

रेग्मीले वायु प्रदूषणलाई वातावरणीय समस्या मात्र नभई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउँदै यसको नियन्त्रणका लागि सरकार, स्थानीय तह र समुदायले समन्वित रूपमा काम गर्नुपर्ने बताइन्। स्वस्थ र स्वच्छ वातावरणको अभावले विशेषगरी गर्भवती महिला, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले वायु प्रदूषणलाई वातावरणीय समस्या मात्र नभई प्रमुख जनस्वास्थ्य समस्याका रूपमा लिनुपर्ने आवश्यकता औँल्याइन् ।

राष्ट्रिय मानव अधिकार आयोगका दीपेन्द्रबहादुर सिंहले आफ्नो अधिकारको संरक्षण आफैं गर्न नसक्ने समुदाय जलवायु परिवर्तनको सबैभन्दा बढी चपेटामा परेको बताए । उनका अनुसार विशेषगरी बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा राउटे र चेपाङजस्ता सीमान्तकृत समुदाय जलवायु परिवर्तनबाट बढी प्रभावित भएका छन् । प्रकृतिमा आधारित जीविकोपार्जनमा निर्भर रहेका यस्ता समुदायको जीवनयापन नै संकटमा पर्दै गएको उनले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार लगातार पाँच वा सोभन्दा बढी दिनसम्म कुनै स्थानको दैनिक अधिकतम तापक्रम त्यही स्थानको औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियस वा सोभन्दा बढी भए त्यसलाई तापलहर (हिटवेभ) मानिन्छ ।

नेपालमा तापलहर मुख्यतः अप्रिलदेखि जुनसम्म देखिने भए पनि कतिपय अवस्थामा जुलाईसम्म पनि कायम रहने गरेको उनले बताए । उनका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर तापलहर र अत्यधिक गर्मीबाट हुने स्वास्थ्य जोखिम तीव्र बन्दै गएको छ । धिमालका अनुसार अत्यधिक गर्मीले संक्रामक रोगको जोखिम बढाउनुका साथै मातृ तथा शिशु स्वास्थ्य, श्रमिक तथा पेशागत स्वास्थ्य, मुटु तथा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्यामा समेत गम्भीर असर पार्ने भएकाले जलवायु परिवर्तनका कारण बढ्दो गर्मीको प्रभाव न्यूनीकरण र स्वास्थ्य प्रणालीको तयारीलाई प्राथमिकतामा राख्न आवश्यक छ ।

उनले जलवायु परिवर्तनसँगै तापलहरको तीव्रता, अवधि र दोहोरिने क्रम विश्वभर बढ्दै गएको उल्लेख गर्दै सन् २०२३–२०२४ मा विश्वका करिब ६.३ अर्ब अर्थात् विश्वको ७८ प्रतिशत जनसंख्याले कम्तीमा ३१ दिन ऐतिहासिक रूपमा असामान्य अत्यधिक गर्मीको सामना गरेको बताए । अत्यधिक गर्मीले स्वास्थ्यमा मात्र नभई श्रम उत्पादकत्व र जनजीविकामा समेत गम्भीर असर पारिरहेको उनको भनाइ थियो। धिमालले बढ्दो तापक्रमले गर्भवती महिला, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्यमा गम्भीर असर पार्न थालेको बताए।

उनले भारतको अहमदाबादमा सन् २०१० मा आएको तापलहरका क्रममा दैनिक अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि नवजात शिशुको मृत्यु ४४ प्रतिशतले बढेको अध्ययनले देखाएको बताए। त्यस्तै, ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रमले बालबालिकाको निद्राको अवधि र गुणस्तरमा नकारात्मक असर पार्ने तथा तापलहरका बेला तापक्रम बढ्दै जाँदा किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र आत्महानीको जोखिमसमेत बढ्ने विभिन्न अध्ययनहरूले देखाएको उनको भनाइ थियो ।

धिमालका अनुसार सन् २०२३ मा नेपालका नागरिक दैनिक औसत ४.३ घण्टा मध्यम वा उच्च तापीय तनाव (हिट स्ट्रेस) को जोखिममा परेका थिए, जुन सन् १९९० को दशकको तुलनामा ६८ प्रतिशतले बढी हो । उनका अनुसार ज्येष्ठ नागरिक, साना बालबालिका, दीर्घरोगी तथा कृषि र निर्माण क्षेत्रमा मध्यमदेखि भारी शारीरिक श्रम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा छन् ।

कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव डा. प्रकाश सिंह थापाले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको भविष्य सुरक्षित गर्न अहिले नै प्रभावकारी तयारी आवश्यक रहेको बताए । विज्ञहरूले तापक्रम निरन्तर बढ्ने क्रममा रहेको बताइरहेका बेला अहिलेको भन्दा झनै बढी जोखिम भोग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । उनले जलवायु परिवर्तनका कारण अहिले नै ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै तापक्रम थप बढे बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा अझ ठूलो संकट आउने बताए ।

सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सुर्तीजन्य पदार्थसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ द्वारा काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका राहदानी नम्बर बिइ ०१५३५५५ वाहक पाकिस्तानी नागरिक ६३ वर्षीय शाहिद महमुद रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निज महमुदले लिई आएको लगेजहरुलाई यस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा निजको लगेजहरुबाट उक्त सामग्री फेला परेको हो ।

निजको साथबाट रजनीगन्धा रु एक लाख २० हजार, पान पराग रु २२ हजार ७५०, कथा नामक डब्बा रु २८ हजार ३५० र १०० एमटिएस लेखिएको पोका तौल २५ केजीको रु ३० हजार गरी कूल जम्मा रकम दुई लाख एक हजार १०० बराबरको सुर्तीजन्य पदार्थहरु तथा अन्य सामग्री लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।निजलाई आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रवक्ता सिलवालले बताउनुभयो ।

मनसुन अवधिभरका लागि उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने

मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाण्डाै उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ ।

समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको छ ।

समितिका सूचना अधिकृत मधु तिमल्सेनाका अनुसार अहिले वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत ४ वर्षदेखि सुरुङको सफाइ, मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नुपरेको छ ।

‘मनसुन सकिएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाण्डौ उपत्यकामा पथान्तरण गर्नेछौँ’, उनले भने, ‘मेलम्ची खानेपानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी सङ्कलन गरी काठमाण्डौ उपत्यकाका उपभोक्तालाई वितरण गर्ने सम्बन्धमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने छ ।’