`

भोटेकोशी बाढी प्रभावितको घर सफाइमा जुट्यो कोरियाली स्वयंसेवी टोली

नुवाकोट । विपद्का समयमा एउटा समुदायले अर्को समुदायलाई साथ दिनुपर्छ । सायद, मानवीय सहयोगमा भूगोल वा अन्य कुनै छेकबार हुँदैन, केवल मन भए पुग्छ । विपद्का बेला भौगोलिक सीमाभन्दा माथि उठेर मानवीय सहयोग गर्नुपर्छ भन्ने सन्देशसहित दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर सरसफाइ तथा पुनरुत्थानमा गरेको काम स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बनेको छ ।

गत साता नेपाल आइपुगेको आठ सदस्यीय कोरियाली टोलीले नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेस्थित बजारका घरहरूमा १० दिनसम्म सरसफाइको अनुमति लिएर मजदुरझैँ काम गरिरहेको छ । विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितद्वारा प्रदान गरिएको अनुमतिपत्रको प्रतिलिपि सरसफाइ भइरहेको घर अगाडि टाँसेर टोलीले चर्को घामको वास्ता नगरी घरमा पुरिएको माटो खन्ने, ढुङ्गा फाल्ने, भाँचिएका बिम र काठहरू हटाउनेलगायत काम गरिरहेको छ ।

टोलीले हाल नुवाकोटको ढुङ्गे बजार क्षेत्रमा पुगेर बाढीबाट प्रभावित घर तथा आसपासको क्षेत्रको सरसफाइ गरिरहेको छ । लिडर लि खाङ उको नेतृत्वमा रहेको टोलीमा लि चाइ जुङ्ग, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ्ग, योन हु योङ, किम साङ्ग कि र लि योङ्ग चोयल सहभागी छन् । यस समूहमा ८४ वर्षीय किम साङ्ग कि पनि छन् । बुढ्यौली उमेरमा अर्काको मुलुकमा आएर यस्तो काममा लागेको देख्दा स्थानीय समुदायले आफूहरूलाई पनि काम गर्न उत्प्रेरणा मिलेको अनुभव गरेका छन् ।

‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डि कोरिया’को संयुक्त आयोजनामा आएको ‘९११ सर्च एण्ड रेस्क्यु’ टिमले बाढीबाट क्षतिग्रस्त घर तथा बस्ती सफा गरी पुनः बस्नयोग्य बनाउने कामलाई तीव्रता दिएको हो । ‘एक समुदाय विपद्मा पर्दा अर्को समुदायले मानवीय सहयोग गर्नुपर्छ’ भन्ने भावनाका साथ आफूहरू नेपाल आएको टोली नेता लि खाङ उले बताए । विपद्को समयमा प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै सामूहिक प्रयासबाट पुनरुत्थान सम्भव छ भन्ने सन्देश दिन टोली नेपाल आएको उनको भनाइ छ ।

उनले यसअघि नेपालमा गएको विनाशकारी भूकम्पको समयमा पनि आफ्नो टोली उद्धार तथा राहत कार्यमा सहभागी भएको स्मरण गरे । उनका अनुसार ‘९११ सर्च एण्ड रेस्क्यु टिम’ले हालसम्म विश्वका ५४ भन्दा बढी मुलुकमा पुगेर विभिन्न विपद्मा उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल र डिष्ट्रिक्ट ३५४ डि कोरियाबीच कायम भएको भगिनी सम्बन्धका आधारमा संयुक्त उद्धार तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपालका क्याविनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्सबीचको सम्बन्धलाई मानवीय सेवामा रूपान्तरण गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए । विपद्का बेला एक देश वा समुदायलाई अर्को देश तथा समुदायले सहयोग गर्ने संस्कारले मानवीय सम्बन्ध र आपसी भाइचारालाई थप बलियो बनाउने उनको भनाइ छ ।

विपद् व्यवस्थापन केवल राज्य वा कुनै एक संस्थाको दायित्व नभई समुदाय, देश र अन्तर्राष्ट्रियस्तरमा समेत साझा जिम्मेवारी हो भन्ने उदाहरणका रूपमा कोरियाली टोलीको सेवा कार्यलाई हेरिएको छ । बाढीले घरबार तथा जनजीवन प्रभावित भएका बेला टाढाको देशबाट आएर प्रभावित बस्तीको सरसफाइमा स्वयंसेवा गर्नुले विपद्मा मानवीय एकता र सहकार्यको महत्त्वलाई उजागर गरेको छ । दशदिने सेवा कार्यक्रमका लागि नेपाल आएको उक्त कोरियाली लायन्स सर्च एण्ड रेस्क्यु टिम आगामी अक्टोबर ७ मा स्वदेश फर्किने टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट एक हजार ४५१ जनाको मृत्यु र पाँच हजार ७४५ जना बेपत्ता छन् भने हजारौँ घर बगेका छन् । भग्नावशेष व्यवस्थापनका लागि विभिन्न निकायबाट नुवाकोटको देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत क्षेत्रमा एक्स्काभेटर, ब्याकहो लोडर, टिप्पर आदि उपकरण र जनशक्ति परिचालन गरिएको छ ।

कांग्रेस महाधिवेशनमा रवि लामिछानेले भने – ‘लोकतन्त्रको रक्षा आन्दोलनले होइन, जनताले गर्छन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनबाट मात्रै सरकार परिवर्तन हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गरे।

लामिछानेले आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै जनमतको सम्मान गर्नुपर्ने बताए। निर्वाचनबाट बनेको सरकारलाई अर्को चुनावसम्म काम गर्ने अवसर दिनुपर्ने उनको भनाइ थियो।

उनले लोकतन्त्रको रक्षा राजनीतिक दलले मात्र नभई जनताले गर्ने बताए। साथै, कांग्रेसले पुरानो र नयाँ पुस्ताबीच सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे।

लामिछानेले सरकारप्रति उठेका अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र र पुँजीबजारसम्बन्धी प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताए।

प्रचण्डले भने- ‘निरन्तरतामा क्रमभङ्ग गर्दै गगनले कांग्रेसलाई नयाँ इतिहासतर्फ डोऱ्याए’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका छन्।

आइतबार काठमाडौंमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निरन्तरतामा क्रमभङ्ग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ डोऱ्याएको भन्दै थापालाई बधाई दिए।

प्रचण्डले थापालाई देशको नेतृत्व गर्न सक्ने व्यक्तिका रूपमा आफूले पहिलेदेखि नै हेरेको स्मरण गर्दै अहिले उनको साथमा रहेको बताए।

उनले कांग्रेसमा नयाँ र पुरानो पुस्ताबीच विभाजन गर्न नहुने भन्दै सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने बताए।

प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणमा सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ – शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिका लागि नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन्।

आइतबार काठमाडौंमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकका चुनौती सामना गर्न राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।

पोखरेलले लोकतन्त्रको रक्षा, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपत्तिको सामना गर्न पनि साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

उनले जनताले सुशासन, प्रभावकारी सेवा र तीव्र विकास खोजे पनि अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए। नयाँ पुस्ताका सपना निराशामा बदलिन नहुने भन्दै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ सार्वजनिक, अपिल त्रिपाठी ब्रान्ड एम्बेसडर

काठमाडौं । पानस हर्बल उद्योग प्रालिले नयाँ ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ सार्वजनिक गरेको छ। काठमाडौंस्थित साम्बाला होटलमा आयोजित विशेष उत्पादन सार्वजनिक कार्यक्रममा चर्चित पत्रकार अपिल त्रिपाठीलाई कम्पनीको ब्रान्ड एम्बेसडरसमेत घोषणा गरिएको छ।

कार्यक्रममा त्रिपाठीले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गर्दै पानस हर्बलको उत्पादनको प्रवर्धनमा आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन्। उनले पछिल्लो समय वैज्ञानिक युग भए पनि मानिसहरू विस्तारै प्रकृतितर्फ आकर्षित हुँदै गएको र आयुर्वेदप्रतिको विश्वास पनि बढ्दै गएको धारणा व्यक्त गरे।

प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीहरूको मिश्रणबाट तयार गरिएको ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मालिसका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यस तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर तथा जैतुन लगायतका प्राकृतिक सामग्रीहरू समावेश गरिएको छ। जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशीमा हुने दुखाइ र तन्किने समस्यामा मालिसका लागि प्रयोग गर्न सकिने तथा मालिस गर्दा शरीरमा आराम र ताजगीको अनुभूति हुने कम्पनीको भनाइ छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत धनबहादुर कार्कीले आफूले कमाएको रकमको ५ प्रतिशत शिक्षा क्षेत्रमा सहयोग गर्ने घोषणा गरेका छन्। उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेर शिक्षा क्षेत्रमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

पानस हर्बल उद्योगले प्राकृतिक स्रोत तथा जडीबुटीमा आधारित उत्पादनमार्फत उपभोक्तालाई आयुर्वेदिक जीवनशैलीसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। नयाँ उत्पादनसँगै कम्पनीले आफ्ना आयुर्वेदिक उत्पादनलाई थप विस्तार गर्ने तयारीसमेत गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत धनबहादुर कार्कीले जानकारी दिए ।

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

स्पेन । अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्। कातालोनियामा बाढीसम्बन्धी आपत्कालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म प्रतिबन्ध लागू गरिएको छ। अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको छ।

मौसमविद्हरूले आइतबार बिहान मौसमको जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन्। केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा मोबाइल फोनमार्फत आपत्कालीन सूचना पठाइएको छ।

कातालोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सर्वसाधारणलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन्। अधिकारीहरूले भारी मेघगर्जनसहितको वर्षा, तीव्र हावा तथा पानीका बवण्डर वा टोर्नाडो आउन सक्ने चेतावनी दिएका छन्। आँधी आइतबार उत्तरतर्फ सर्ने अनुमान गरिएको छ।

यसैबीच, मध्य–पूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीमा १०२ वर्षीया एक महिलाको मृत्यु भएको छ। बाढीका कारण घर, सवारीसाधन तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ।

करिब दुई घण्टामा प्रति वर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको बाढीका कारण करिब ९० जनालाई सुरक्षित स्थानमा सारिएको थियो। प्रभावित स्वास्थ्य केन्द्रबाट सेवा सञ्चालन गर्न नसकिएपछि स्वास्थ्य सेवा अस्थायी रूपमा रेडक्रसको परिसरबाट सञ्चालन गरिएको छ।

रास्वपाले आफ्नै स्थायी कार्यालय खोज्ने, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठनदेखि पार्टीको स्थायी कार्यालय खोज्नेसम्मका निर्णय गरेको छ।

सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले संगठन सुदृढीकरणका लागि असोज २० देखि २७ गतेसम्म देशव्यापी ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानअन्तर्गत पार्टीका सांसद र केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लाका ७५३ पालिकामा परिचालन गरिनेछ।

त्यस्तै, १४ वटा केन्द्रीय विभागमा पदाधिकारी तथा सदस्य मनोनयन गर्ने, मधेश प्रदेशको विवाद समाधानका लागि आवश्यक कदम चाल्ने र काठमाडौं उपत्यकामा पार्टीको स्थायी कार्यालय स्थापनाका लागि घर वा जग्गा खोज्ने निर्णय पनि बैठकले गरेको छ।

सरकारमा पार्टीको ६ महिनाको सहभागिता सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै रास्वपाले विकास निर्माण र सुशासनलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।

सडक आन्दोलनदेखि निर्वाचनसम्म एमाले र मसालसँग सहकार्य गरेर अघि बढ्ने प्रचण्डको घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने कम्युनिस्ट शक्तिसँग सहकार्य र एकतालाई अघि बढाउने बताएका छन् ।काभ्रेमा आयोजित पार्टी एकता बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी सडक आन्दोलनदेखि निर्वाचनसम्म नेकपा एमाले र नेकपा मसालसँग सहकार्य गर्ने बताए। उनका अनुसार एमाले र मसालसँग कार्यगत एकता सुरु भइसकेको छ

।उनले भने, ‘आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस-छलफल तथा स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ।’

प्रचण्डले आगामी दिनमा सडक आन्दोलन, सदनभित्रको बहस तथा स्थानीय तह र प्रदेशसभा निर्वाचनमा सहकार्यलाई थप सुदृढ बनाउने बताए।

उनले पार्टी संगठनलाई चुस्त र ऊर्जावान् बनाउँदै नेतृत्वमा युवाको सहभागिता बढाउने पनि बताए।

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ ।

एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जङ्गल तथा चोरमारा र अरुणखोला बीचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ ।

नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो ।

“पहाडी क्षेत्रबाट तराईतर्फ बाँदर आउन थालेपछि राजमार्गमा दुर्घटना बढ्दै गएको छ”, सूचना अधिकारी खनालले भन्नुभयो, “राजमार्गमा बाँदरहरूले बाटो काट्दा हुने दुर्घटनाबाट मानिसको समेत मृत्यु भएकाले दुर्घटना न्यूनीकरणका लागि यो पुल निर्माण गर्न लागिएको हो ।”

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ । गैँडाकोट–१० स्थित पितौँजी जङ्गलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाट्टफुट्ट बाँदरहरू वारपार गरेको देखिने गरेको उहाँले बताउनुभयो ।

“ओभरहेड क्यानोपी ब्रिजको प्रभावकारिता अहिल्यै जाँच गर्ने बेला भएको छैन”, सूचना अधिकारी खनालले भन्नुभयो, “बाँदरलगायतका जनावरलाई पुलबाट वारपार गर्ने वातावरण बनाउँदै पुललाई उपयोगी बनाउन सुरुका केही दिनमा फलफूल दिएर उनीहरूलाई आकर्षित गराउनुपर्छ, हामी त्यसको तयारीमा पनि जुटेका छौँ ।” निर्माण सकिएको आभेरहेड क्यानोपी ब्रिजमा योजनाले केही समयमै बाँदरलाई आकर्षित गर्नेगरी फलफूल राख्ने तयारी गरिएको उहाँको भनाइ छ ।

“एउटा ओभरहेड क्यानोपी ब्रिज रु पाँच लाखभन्दा पनि कम बजेटमा निर्माण हुनेरहेछ”, सूचना अधिकारी खनालले भन्नुभयो, “मुख्य राजमार्गको जङ्गल क्षेत्रमा यो पुल निर्माण गर्दा दुर्घटना र त्यसबाट हुने क्षति न्यूनीकरणमा मद्दत पुग्ने देखियो ।” सडक विस्तार योजनाले गैँडाकोटमा जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राजमार्गको जङ्गलमा सडकमाथि ३४ मिटर लामो र चार फिट चौडाइको ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेको थियो । यो पुलले विशेषगरी बाँदरलाई व्यस्त सडकमा सुरक्षित तवरले पार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

सूचना अधिकारी खनालले ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेर वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज बनाउनुका साथै जैविक विविधता संरक्षण, वन्यजन्तु–सवारी दुर्घटना न्यूनीकरण तथा सडक पूर्वाधारलाई वातावरणमैत्री बनाउने प्रयास गरिएको बताउनुभयो । सडक विस्तार योजनाले जैविक विविधता संरक्षणका लागि राजमार्ग छेउछाउका जङ्गलभित्र पानीपोखरी निर्माण गर्ने, चोरीसिकारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्नेलगायतका काम गरेको उहाँले बताउनुभयो ।

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत। बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।

कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बाढीपहिरोले पाँच वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ ।

जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन् ।

तीन वर्षमै दोहोरियो बाढीपहिरो, त्रासमा पाँचथरका स्थानीय

पाँचथर। याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् ।
विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठूलो क्षति भएको थियो ।

यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठूलो क्षति पुर्याएको थियो । उक्त समय यहाँका समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए ।

उक्त समयको क्षति भुल्न नपाउँदै यस वर्ष गत जेठमा बाढीपहिरोले उस्तै क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित छन् । स्थानीय रामकुमार राईको घरमा भेटिएका इन्द्रबहादुर चाम्लिङले भन्नुभयो, “विसं २०८० को बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि हाम्रो जीवनकालमा यस्तो विपद् नआउने भन्ने धेरैलाई लागेको थियो । तर यसपालि त्यो भन्दा ठूलो विपद् आउँदा हामी अचम्मित भयौँ ।” उस्तै विपद् दोहोरिएपछि त्रासमा बाँच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

चाम्लिङडाँडाका महमलाल खवासको घरको आगनबाट लम्बाखोलाको बाढी बगेपछि परिवार त्रासमा थियो । तर विगतमा जस्तो भयावह अवस्था नहोला भनेर खवास परिवारले घरलाई थप व्यवस्थित गर्यो । यस वर्ष विगतमा भन्दा भयावह बाढीपहिरो मात्रै आएन, खवासको घर नामोनिशान नरहने गरी बगाएर लग्यो ।

“पहिले पनि आँगनबाट बाढी बगेको थियो । तर घर नै बगाउँला भन्ने त सोचेका थिएनौँ । हामी लगाएको कपडामा दुई मिनेटको अन्तरमा भाग्न सफल भयौँ”, खवासले भन्नुभयो, “एक मिनेटको अन्तरमा घर बाढीले बगायो । मध्यरात भागेर बाँच्यौँ ।” खवास परिवार अहिले देउकुमार राईको बन्दकी लगाएर बसिरहेको छ । तर त्रासले भने नछोडेको महमलालको भनाइ छ ।

कम्तीमा रु १० लाख लागत मूल्याङ्कन हुने घरसहित जग्गा जमिन र सबै सामग्री पहिरोले बगाएपछि खवास परिवार विदेश गएका छोराको मद्दतले जीविका चलाइरहेको छ । उक्त पहिरोमा महमलालका भाइ कविरमान खवासको घर तथा यहाँका रविन राई, रामकुमार राई, जहरमान बेघालगायत १६ परिवारको अलैँची तथा धानखेती बगरमा परिणत भएको छ ।

बाढीपहिरोमा चाम्लिङडाँडाका रामकुमार राईको घर त जोगिएको छ तर आम्दानीको बाटो समाप्त भएको उहाँको भनाइ छ । तीन वर्षअघि २०८० सालमा बर्सेनि करिब १० मन (४० किलो) उत्पादन हुने अलैँची बारी पहिरोले बगाएको थियो । अहिले त्योभन्दा दोब्बर बढी अलैँची फल्ने बारी बगाएपछि हातपाउ गलेको रामकुमारको भनाइ छ ।

“मेरो जति क्षति यो वडामा कसैको पनि भएन होला । विसं २०८० मै करिबब १० मन अलैँची फल्ने जमिन बगाएर लगेको थियो । यस वर्ष करिब १५ मन उत्पादन हुने अलैँचीखेती र दुई खला खेत बाढी र पहिरोले बगाएर लग्यो”, रामकुमारले भन्नुभयो, “अहिले सबै ढाँड बनेको छ । एक झ्याङ पनि अलैँची बाँकी रहेन”, अलैँची टिप्ने बेलामा रामकुमारसँग अलैँचीको बगान नै बाँकी छैन ।

बाढीपहिरोले चाम्लिङडाँडाकै रविन राईको घर जोखिममा पारेको छ । उहाँको घरभन्दा मुनि गैरीखेत पहिरोले तानेको छ भने अगाडि पँधेरे खेत बाढीले पुरेको छ । “हिउँदमा त ठिकै छ । बर्खा लागेपछि भाग्नैपर्ने होला”, रविनले भन्नुभयो, “बरु ढुङ्ग्रोबाट खन्याएको पातलो आउला, आकासबाट त्योभन्दा ठूलो पानी पर्छ ।”

सरकारको बाटो नहेर्ने

प्राकृतिक विपत्तिमा घरको पूर्ण क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत रु चार लाख रकम दिने व्यवस्था रहेको छ । तर तीन किस्तामा प्राप्त हुने रकम लिन असाध्यै कठिन पर्ने बुझेर पहिरो प्रभावित महमलाल खवास सरकारको बाटो नहेर्ने सोचाइमा हुनुहुन्छ ।

“घर निर्माण गर्न तीन किस्तामा रकम आउने रहेछ । पालिका गएँ, फिदिम (सदरमुकाम) गएँ । तर मैले प्रक्रिया पूरा गर्दागर्दै साहुबाट काढेको रु नौ हजार सकियो”, खवासले भन्नुभयो, “अब म नखोज्ने, बरु आफैँ बनाएर बस्ने । खोज्दाखोज्दै ऋणमा डुबिने रहेछ । अझै केही समय अर्कैको घरमा जीविका चलाउँछु ।”

विदेश गएको छोरो आएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर घर बनाउने योजना खवास परिवारको छ । त्यसैले उनीहरू सरकारसँग केही नमाग्ने पक्षमा हुनुहुन्छ । “अब सबैको क्षति भएको छ, सरकारले कसलाई राहत दिएर सकोस र ? हामीले खोज्न पनि छाडेको”, महमलालले भन्नुभयो, “हाम्रो ज्यान बाँचेकै छ । कमाएर केही गरौँला भन्ने सोच बनाएका हौँ ।”

स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायले वास्ता नगर्ने हुँदा कुनै प्रकारको राहत पाउने आशा अर्का प्रभावित रामकुमार राईसँग पनि छैन । “पहिले पनि क्षतिपूर्तिका लागि निवेदन पेस गर्यौँ । तर कुनै राहत आएको बुझिएन”, रामकुमारले भन्नुभयो, “हामीलाई क्षतिपूर्तिका लागि आवेदन मागिएको थियो । तर पहिलेकै क्षतिमा कुनै क्षतिपूर्ति नभएपछि मैले त क्षतिको विवरण पनि दिन मन लागेन । बाँचियो भने भयो ।”

आज कहाँ–कहाँ वर्षा हुन्छ ? यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी र तराई भूभागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानपख हुस्सु पनि लाग्नेछ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यम सम्मको, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा रहिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भूभाग र मधेश प्रदेशको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आजदेखि कांग्रेस महाधिवेशन, कहाँ–कहाँ छ पार्किङको व्यवस्था ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)बाट काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ । महाधिवेशन आज दिउँसो २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ ।

कांग्रेस महाधिवेशन आयोजक समिति अन्तर्गतको यातायात ब्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको स्वाँरले जानकारी दिए । धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निःशुल्क हुनेछ । कांग्रेसले नेता कार्यकर्तालाई निर्धारित स्थानमा सवारीसाधन पार्किङ गरिदिन आग्रह गरेको छ ।

आफू सवारीसाधन लिएर आएकै क्षेत्रको तोकिएको पार्किङमा सवारीसाधन ब्यवस्थापन गरेर आउन कांग्रेसले प्रतिनिधि तथा नेताकार्यकर्तालाई आग्रहसमेत गरेको छ । त्यसो हुँदा सवारी आवागमन ब्यवस्थापन गर्न सहज हुने कांग्रेसले जनाएको छ ।

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

म्याग्दी। बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युत्का पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर ।

कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछिको म्याग्दीको दृश्य केही दिनअघिसम्म यस्तै थियो ।

तर अहिले जिल्लाको दृश्य विस्तारै फेरिँदै गएको छ । विपद्ले थलिएको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र व्यवसायीहरू आ–आफ्नो ठाउँबाट जुटेका छन् । कोही सडक खुलाउन श्रम गरिरहेका छन्, कोही विद्युत्का पोल गाडिरहेका छन् । कसैले बजारका घरमा थुप्रिएको हिलो पन्छाइरहेका छन् भने कसैले बाढीले क्षति पुर्याएको तातोपानी कुण्ड सफा गरिरहेका छन् । विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनामा म्याग्दीमा देखिएको जनसहभागिता अहिले जिल्लाको पुनःउत्थानको मुख्य आधार बनेको छ ।

सडक खुलाउन काँधमा इन्धन

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा क्षतिग्रस्त भयो । सडक मर्मतका लागि आवश्यक उपकरण पुगे पनि इन्धन अभाव चुनौती बन्यो । समस्या समाधानका लागि शनिबार ४५ जना सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक सङ्घसंस्थाका स्वयंसेवकको टोलीले राहुघाट खोलादेखि बैसरीसम्म ७२० लिटर डिजेल बोकेर पुर्यायो ।

अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले सडक मर्मतका लागि दुई हजार ५०० लिटर डिजेल सापटी दिएको छ । “सडक सञ्चालनका लागि इन्धन अभाव भएपछि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गर्नुका साथै जलविद्युत् आयोजनासँग सापटी मागेका हौँ”, बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले भन्नुभयो ।

यसअघि बेनीका युवा प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले राहुपारे–कुनौटा खण्डमा श्रमदान गरेर पैदलयात्राका लागि भर्याङ राख्ने र डोरी तान्ने काम गरेका थिए ।

पोल गाड्दै र तार तान्दै युवा

बाढीपहिरोले पोल ढालेपछि म्याग्दी जिल्लाभर अवरुद्ध बनेको विद्युत् सुविधा अझै सञ्चालन हुनसकेको छैन । सदरमुकाम बेनी बाहिरका बस्तीमा युवा क्लबका पदाधिकारी तथा सदस्य र युवाहरू विद्युत् लाइन मर्मतमा जुटेका छन् । स्थानीयले ढलेका पोल गाड्ने र लत्रिएका तार तान्ने काममा सहयोग गरेपछि शनिबार बरंजा र ताकममा एक सातापछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति सञ्चालन भएको छ ।

“समुदायले श्रमदान गरेर सहयोग गरेकाले विद्युत् आपूर्ति सञ्चालनलाई तीव्रता दिन सहज भएको छ”, नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले भन्नुभयो ।

बजारको पहिरो पन्छाउँदै

बेनी नगरपालिका–८ न्युरोडमा बुधबार खसेको पहिरोले १५ घरमा क्षति पुर्यायो । तीमध्ये १० घरमा बस्नै नमिल्ने गरी हिलो थुप्रियो । न्युरोड र गणेशटोल क्षेत्रका करिब एक सय घर जोखिममा परे । घर छाडेर सुरक्षित स्थानमा पुगेका स्थानीयका लागि आफ्नै टोल सफा गर्नु बाध्यतामात्र होइन, सामूहिक जिम्मेवारी पनि बन्यो । शनिबारदेखि स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, आमा समूह, टोल विकास संस्था, लायन्स क्लब र बजारवासी श्रमदानमा जुटेका छन् । आइतबार पनि श्रमदानमार्फत बाँस र काठ हटाए पनि ब्याकुहोलोडर र ट्याक्टर परिचालन गरेर पहिरो पन्छाउने तथा पानीको सुरक्षित निकास व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

“पहिला बाँस र काठ हटाउन बजारवासीले श्रमदान गरका छन् । त्यसपछि मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम हुन्छ”, बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले भन्नुभयो ।

तातोपानी कुण्डमा दसैँअघि नै पानी भर्ने चाहना

बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पनि बाढीको चपेटामा पर्यो । म्याग्दी नदीको बाढी कुण्डभित्र पसेपछि गेगर, माटो र बालुवा थुप्रियो । कुण्डलाई दसैँअघि नै सञ्चालनमा ल्याउने उद्देश्यले स्थानीयले बुधबारदेखि सरसफाइ अभियान सुरु गरेका छन् । सिङ्गाका विभिन्न टोलले आलोपालो गरेर श्रमदान गरिरहेका छन् ।

शनिबारमात्रै साविक सिङ्गा गाविस–७ का ३४ जना, तल्लो सिङ्गाका २८ जना, सुर्केमेला–बास्कुना–थामडाँडाका ६४ जना, छाप युवा क्लबका छ जना र तातोपानी युवा क्लबका ३५ जना सरसफाइमा सहभागी भए । कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार स्थानीयको निरन्तर श्रमदानले बाढीले थुपारेको गेगर हटाउने काम अघि बढेको छ ।

दुःखमा साथ, पुनर्निर्माणमा हात

विपद्पछि म्याग्दीमा स्थानीयस्तरको मात्र होइन, बाहिर रहेका म्याग्देली र गैरआवासीय नेपालीको सहयोग पनि जुटेको छ । प्रवासी म्याग्देलीहरूको संस्था प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना)ले रु १५ लाख तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु ११ लाखबराबरको राहत सामग्री सहयोग गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार उद्धार र राहतसँगै सडक, सञ्चार तथा विद्युत् सेवा सञ्चालनमा जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र समुदायको सक्रियताले विपद्को कठिन अवस्थालाई छिटो पार गर्न सहयोग पुगेको छ ।

“सडक सञ्चालनदेखि विद्युत्का पोल गाड्ने, तार तान्ने, तातोपानी कुण्ड र बजारका घरमा थुप्रिएको हिलो पन्छाउने तथा गाउँका पदमार्ग मर्मत गर्न समुदायले श्रमदान गरिरहेको छ”, उहाँले भन्नुभयो, “जनसहभागिता र जनपरिचालनले असहज बनेको म्याग्दीको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ ।”

क्षतिको अवस्था

पहिरोमा परि अन्नपूर्णमा पाँच र मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट म्याग्दीमा हालसम्म १११ घर पूर्ण र ९३ घरमा आंशिक क्षति पुगेको छ । तीन सय ४२ घर जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा सञ्चार र विद्युत् सेवा सञ्चालन हुन थालेपछि क्षतिको विवरण सङ्कलन भइरहेको छ । त्यसैले क्षतिको तथ्याङ्ब अझै बढ्न सक्ने प्रशासनको भनाइ छ । जलविद्युत् आयोजना, प्रसारण लाइन, नदी नियन्त्रण, खानेपानी, सडक पूर्वाधार, विद्यालय भवन, कृषि, पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलनकै क्रममा छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, घिरवाङ र किन्दुकाका ११५ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख र घारमा राखिएको छ । अन्नपूर्ण–८ महभिरको बस्तीको पाखो चिराचिरा परेपछि त्यहाँका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका शब्दमा, विपद्ले दुःख दिए पनि सङ्कटमा एकजुट हुने र दुःखमा साथ दिने म्याग्दीको पुरानै अभ्यास हो । “एकता, सहयोग र श्रमको भावनाले म्याग्दीको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन ठूलो भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “सङ्कटमा एकजुट हुने, दुःखमा साथ दिने र हातेमालो गर्दै पुनर्निर्माणमा जुट्ने म्याग्दीको पुरानै असल अभ्यास हो ।”

विपद्को पानी घटिसकेको छ, तर क्षतिको घाउ अझै बाँकी छ । ती घाउ पुर्न समय लाग्नेछ । अहिले भने म्याग्दीले एउटा सन्देश दिइरहेको छ– विपद्ले भत्काएको संरचना मेसिनले बनाउला, तर त्यसमा जीवनको रङ भर्न समुदायको हात चाहिन्छ ।

फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

यसैबीच म्याग्दी सदरुमकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाख २७ हजार सहयोग गरेको छ ।

जलजला गाउँपालिका–७ खनियाघाटकी गौमती थापाको पहलमा पोखरेली सत्सङ्गद्वारा सहयोग गरिएको हो । संस्थाका अध्यक्ष देवी गुरुङ, उपाध्यक्ष ज्ञानु लामा र कोषाध्यक्ष सञ्जय लामाको टोलीले शनिबार फर्सेमा आएर जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

प्राप्त भएको सहयोग रकम फर्सेका बाढी प्रभावितको पुस्र्थापनामा परिचालन गरिने वडाध्यक्ष जिसीले बताउनुभयो । यही असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवारलाई प्रभावित बनाएको छ ।

जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । फर्सेको पुरानो बस्ती बगरमा परिणत भएर उजाडिएको छ ।

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ ।

कृषि उद्यमीका लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ ।

विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन तथा योजना छनोट र कार्यक्रम कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनबमोजिम दिग्दर्शन तयार गरिएको बताए । उनका अनुसार दिग्दर्शनमार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फर्म, संस्था वा समूहलाई छनोट गरी कार्यक्रममा समावेश गरिनेछ ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइने विभागका उपमहानिर्देशक देव स्याङ्बोले बताए । उनका अनुसार महिला, आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक तथा पिछडिएको क्षेत्रलाई पनि प्राथमिकता दिइनेछ ।

दिग्दर्शनमा कृषि सहकारी संस्था तथा महिला वा आमा समूह, प्राकृतिक प्रकोप प्रभावित परिवार, वैदेशिक रोजगारीबाट फर्केका युवा तथा स्थानीय तह, प्रदेश वा सङ्घीय निकायमा दर्ता भएका संस्थालाई प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागी हुन कम्तीमा ६ हेक्टर जग्गा स्वामित्वमा वा भाडामा हुनुपर्नेछ । जग्गा भाडामा लिएको भए कम्तीमा १० वर्षको सम्झौता र सम्बन्धित जग्गाधनीले ट्युबवेल निर्माण गर्न दिएको मन्जुरीनामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दिग्दर्शनअनुसार तरकारी तथा फलफूल, मसला बाली, बीउ उत्पादन तथा नर्सरी, अन्य नगदे बाली, पुष्प खेती, जडीबुटी, माछापालन तथा घाँस र पशुचारा उत्पादनलाई प्राथमिकता दिइनेछ ।

योजनाका लागि जग्गाको स्वामित्व तथा उपयुक्तताको स्थलगत प्रमाणीकरण गरिने र भूमिगत जलस्रोतको सम्भाव्यता रहेको स्थान पहिचान गरिनेछ । सम्बन्धित कार्यालयले योजना सञ्चालन हुने सिँचाइ क्षेत्र, कृषि उत्पादन तथा संरचनाको मर्मतसम्भारको नियमित अनुगमन गर्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ ।

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य

लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न गन्तव्य छन् । जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलमध्ये २०८३ सालको दसैँ बिदामा घुम्न सकिने १० गन्तव्य यस प्रकार रहेका छन् ।

बेँसीसहर नगरपालिका–३, गाउँसहर–लमजुङ दरबार

लमजुङको इतिहास र शाहवंशीय राज्यसँग जोडिएको गाउँसहर जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक गन्तव्य हो । यहाँ गाउँसहर दरबार, लमजुङ कालिका मन्दिर तथा यशोब्रह्म शाहसँग सम्बन्धित पुरातात्त्विक संरचना छन् । गाउँसहरलाई शाहवंशीय राज्यको उद्गमस्थलका रूपमा समेत लिइन्छ । इतिहास, धर्म र संस्कृतिको सङ्गम भएकाले दसैँका बेला यसको विशेष महत्त्व रहन्छ ।

सुन्दरबजार नगरपालिका–११, तुर्लुङकोट कालिका

प्राचीन इतिहास र धार्मिक आस्थासँग जोडिएको तुर्लुङकोटमा कालिका मन्दिर तथा ऐतिहासिकस्थल छन् । धार्मिक वातावरणसँगै पहाडी भूभागको दृश्यावलोकन गर्न सकिने भएकाले दसैँ बिदामा भ्रमणका लागि उपयुक्त गन्तव्य हो ।

बेँसीसहर नगरपालिका–४, पुरानकोट गढी

ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको पुरानकोट गढी लमजुङको पुरानो राज्य इतिहाससँग जोडिएको स्थल हो । गढी क्षेत्रबाट आसपासका पहाडी भूभागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।

बेँसीसहर नगरपालिका–३, काउलेपानी

मौलिक गाउँबस्ती, होमस्टे, धार्मिकस्थल र प्राकृतिक सौन्दर्य काउलेपानीका मुख्य आकर्षण हुन् । गाउँसहर दरबारसँगै भ्रमण गर्न सकिने भएकाले यहाँको यात्रा इतिहास र ग्रामीण पर्यटनसँग जोड्न सकिन्छ ।

राइनास नगरपालिका–९, राइनासकोट

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको राइनासकोट लमजुङको आकर्षक पहाडी गन्तव्य हो । यहाँबाट सूर्योदय, सूर्यास्त तथा आसपासका पहाडी भूभागको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । राइनास नगरपालिकाले समेत पर्यटनलाई नगरको प्रमुख पहिचानका रूपमा अघि सारेको छ ।

क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँ

गुरुङ संस्कृति, परम्परागत बस्ती, होमस्टे, स्थानीय परिकार र हिमाली दृश्य घलेगाउँका प्रमुख आकर्षण हुन् । घले राजाको इतिहास, गुरुङ सङ्ग्रहालय, मन्दिर तथा सांस्कृतिक सम्पदाले यसलाई ग्रामीण र सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाएका छन् ।

क्व्होलासोथार गाउँपालिका–४, भुजुङ

मौलिक गुरुङ बस्ती, परम्परागत जीवनशैली, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्य भुजुङका मुख्य आकर्षण हुन् । होमस्टेमा बसेर गाउँले जीवनशैली तथा गुरुङ संस्कृतिलाई नजिकबाट अनुभव गर्न सकिन्छ ।

मर्स्याङ्दी गाउँपालिका–१ र २, घनपोखरा

हिमाली दृश्य, गुरुङ संस्कृति, ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यले घनपोखरालाई आकर्षक बनाएको छ । घलेगाउँसँगै जोडेर भ्रमण गर्न सकिने भएकाले यहाँको यात्रा प्रकृति र संस्कृतिको अनुभवका लागि उपयोगी हुन्छ ।

मध्यनेपाल नगरपालिका–७, करापुटार–इशानेश्वर महादेव

लमजुङको महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित करापुटारमा इशानेश्वर महादेवको मन्दिर रहेको छ । धार्मिक आस्था र सांस्कृतिक महत्त्व बोकेको यस क्षेत्रमा दसैँ बिदामा दर्शन तथा भ्रमण गर्न सकिन्छ ।

दूधपोखरी गाउँपालिका, इलमपोखरी

प्राकृतिक तथा धार्मिक महत्त्व बोकेको इलमपोखरी ग्रामीण पर्यटनको आकर्षक गन्तव्य हो । पोखरी क्षेत्र र आसपासको मौलिक प्राकृतिक वातावरणले शान्त र रमणीय ठाउँ खोज्ने पर्यटकलाई आकर्षित गर्छ । इलमपोखरी लमजुङका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलमध्ये सूचीकृत गन्तव्य पनि हो ।

लमजुङका यी गन्तव्यले एउटै जिल्लाभित्र इतिहास, धर्म, संस्कृति, प्रकृति र ग्रामीण जीवनशैलीको विविध अनुभव दिने भएकाले दसैँ बिदामा घुमफिर गर्नेका लागि आकर्षक विकल्प बन्न सक्छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ २३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २० पैसा र बिक्रीदर ४२ रुपैयाँ ३६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४० पैसा र बिक्रीदर ११ रुपैयाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १४ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ९६ पैसा बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ०७ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ ।रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो । सो समितिमा पार्टीका सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ ।

बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ । प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्दलाई प्रमुख मनोनयन गरिएको छ ।

संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा धनञ्जय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्यमा मनोनयन गरिएको छ । त्यसैगरी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुख मनोनयन गरिएको छ ।

अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागमा डिल्लिश्वोर कार्की (रोहन)लाई उपप्रमुख मनोनयन गरिएको छ । बैठकले केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

यही असोज २० देखि २७ गतेसम्म केन्द्रीय सदस्य तथा सांसदहरूले ७७ जिल्लाका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल तथा सुझाव सङ्कलन गर्नेछन् । बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशन गरेको छ ।

यसैगरी, रास्वपा मधेस प्रदेशको सङ्गठनको समस्या तथा समाधानका सम्बन्धमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले विस्तृत प्रतिवेदन केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि पार्टीले उपयुक्त कदम चाल्ने बैठकले जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीका लागि जमिन/घर किन्न काठमाडौँ उपत्यकाको पायकपर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले नजिकिँदै गरेका नेपालीहरूका महान् चाड शुभ विजयादशमी, शुभ दीपावली, नेपाल संवत्को नव वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ ।

डा.सन्तोष उपाध्यायले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने, नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.सन्तोष उपाध्यायले पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउन महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले क्षमता, योगदान र जनसम्बन्धका आधारमा युवालाई अवसर दिनुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार नयाँ पुस्ताले कांग्रेसमा नेतृत्व पुस्तान्तरण मात्र होइन, नयाँ सोच, कार्यशैली, जवाफदेहिता र समयअनुकूल निर्णय क्षमताको अपेक्षा गरेको छ। बदलिँदो जनभावना र युवाको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थप गतिशील र जनमुखी बनाउनुपर्ने उनको भनाइ छ।

उपाध्यायले पार्टीभित्र क्षमता, अनुभव, राजनीतिक संस्कार र संगठनको गहिरो बुझाई भएका थुप्रै युवा रहे पनि उनीहरूले पर्याप्त अवसर र जिम्मेवारी नपाएको उनको ठहर छ।नेताको गुणगान वा व्यक्तिगत पहुँचका आधारमा नभई योग्यता, योगदान र जनसम्बन्धका आधारमा अवसर दिने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनको जोड छ।‘कांग्रेस लास र दासको पार्टी होइन भनिन्छ, तर यो भावना व्यवहारमा पनि देखिनुपर्छ,’ उनले भने, ‘पार्टीभित्र प्रश्न गर्न सक्ने, फरक मत राख्न सक्ने र स्वतन्त्र रूपमा काम गर्ने युवालाई पनि समान अवसर दिने राजनीतिक संस्कार निर्माण गर्नुपर्छ।’

आफू कुनै व्यक्तिको चाकडी नगरी क्षमता र योगदानका आधारमा अवसर पाउनुपर्छ भन्ने पुस्ताको आवाज बन्न चाहेको उनले बताएका छन्।उनले आफ्नो मुख्य संकल्प ‘क्षमताको सम्मान, योगदानको मूल्यांकन र अवसरमा न्याय’ रहेको बताएका छन्।उपाध्यायले आफ्नो नेतृत्व यात्रा अछामबाट सुरु भएको र चिकित्सा, सामाजिक सेवा, संगठन, सञ्चार, खेलकुद तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको विवरण सार्वजनिक गरेका छन्।

उपाध्यायले आफू करिब १७ वर्षदेखि नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघसँग आबद्ध रहेको बताएका छन्। नेपाल विद्यार्थी संघको केन्द्रीय समितिदेखि एनएसयू आइओएमको नेतृत्व, प्रचार–प्रसार समितिको संयोजन तथा कांग्रेसका महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा काम गरेको उनले उल्लेख गरेका छन् ।

यसलाई उनले संगठनलाई बाहिरबाट हेरेर नभई लामो समयदेखि संगठनभित्र रहेर काम गरेको अनुभवका रूपमा प्रस्तुत गरेका छन्।कांग्रेसको आगामी महाधिवेशनमा नयाँ पुस्ताको भूमिका बढाउनुपर्ने उनको जोड छ । पुरानो पुस्ताको अनुभव र योगदानसँगै नयाँ पुस्ताको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई जोडेर अघि बढे पार्टी थप प्रभावकारी बन्ने उनको भनाइ छ।सार्वजनिक संवाद र कान्तिपुर टिभी लगायतक सञ्चार क्षेत्रमा पनि उनले काम गरेका छन्। खेलकुद व्यवस्थापनतर्फ नेपाल भलिबल लिगमा कार्यकारी निर्देशक तथा सह मालिकका रूपमा काम उनले काम गरिरहेका छन्।

त्यस्तै, अन्तर्राष्ट्रियस्तरमा ३० देशका करिब ४०० प्रतिनिधि सहभागी सम्मेलनको नेतृत्वदेखि विभिन्न अन्तर्राष्ट्रिय संस्थामा जिम्मेवारी सम्हालेको विवरण पनि उनले सार्वजनिक गरेका छन्।उनले चिकित्सा क्षेत्रको अनुभव, युवाको ऊर्जा, संगठनात्मक पृष्ठभूमि, सामाजिक सम्बन्ध र अन्तर्राष्ट्रिय अनुभवलाई आफ्नो नेतृत्व यात्राका आधारका रूपमा प्रस्तुत गरेका छन्।

उपाध्यायले कांग्रेसको आगामी यात्रामा नयाँ पुस्तालाई केवल भविष्यको शक्ति नभई वर्तमान नेतृत्वकै महत्वपूर्ण हिस्साका रूपमा स्थापित गर्नुपर्ने बताए ।आगामी स्थानीय निर्वाचनमा युवा नेतृत्व र उम्मेदवारको उल्लेख्य सहभागिता सुनिश्चित गर्दै कांग्रेसलाई जनतासँग थप जोड्ने अभियानमा सक्रिय हुने उनको भनाइ छ।

‘नयाँ पुस्ता केवल कांग्रेसको भविष्य होइन, अब कांग्रेसको वर्तमान नेतृत्वको पनि महत्वपूर्ण शक्ति हो,’ उनले भने।उनको भनाइमा आगामी महाधिवेशन नेतृत्व चयनसँगै पार्टीभित्र क्षमता, योगदान र अवसरको मापदण्डबारे बहस गर्ने अवसर पनि हो। त्यसैले नयाँ पुस्ताको प्रतिनिधित्व, संगठनात्मक अनुभव र आफ्नो कार्यक्षमताका आधारमा आफूलाई प्रस्तुत गर्दै महामन्त्रीका लागि अघि बढेको उनले बताएका छन्।

इन्धन अभाव हुँदै गएपछि मुस्ताङमा विकास निर्माणका काम प्रभावित

मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ, जसका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहका विकास निर्माण योजनाका काम प्रभावित भएको छ ।

मुस्ताङमा असोज ८ गतेखि ११ गतेसम्मको भारी वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो र नदी कटानका कारण कोरला नाकालाई जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग ६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । सडक अवरुद्धका मुस्ताङमा इन्धन ढुवानीमा बाधा पुगेसँगै सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विकास आयोजना प्रभावित बन्न थालेका हुन् ।

म्याग्दी–मुस्ताङको सिमाना थासाङ गाउँपालिका–४ घाँसामा एक डिजेल पेट्रोल पम्प सञ्चालनमा छ । त्यहाँ इन्धन सञ्चित मात्रा सकिदै जान थालेको छ । बाढीपहिरो र नदी कटानले अवरुद्ध बेनी–जोमसोम सडकमार्ग मर्मतका लागि घाँसास्थित पेट्रोल पम्ममा जम्मा ७०० लिटर मात्रै डिजेल प्राप्त हुन सकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

म्याग्दीको गलेश्वर र तातोपानीबाट दुईतर्फी रूपमा सडक मर्मत गर्ने प्रयास भइरहेको भए पनि पर्याप्त इन्धनको व्यवस्था हुन नसक्दा समस्या पर्ने गरेको आयोजना प्रमुख शर्माले बताए ।

एक साता बढीको बेनी–जोमसोम सडक अवरुद्धका कारण निर्माण व्यवसायीले सञ्चित गरेको डिजेल सकिँदै गइरहेकाले विकास निर्माणका काम अघि बढाउन समस्या परेको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख रविन चोख्यालका अनुसार लामो समय सडक अवरुद्ध निर्माण सामग्री तथा इन्धनको आपूर्ति हुन नसकेकाले विकास निर्माण कार्यमा बाधा पुगेको छ । निर्माण व्यवसायीले आवश्यकताअनुसार निर्माण सामग्री तथा इन्धनको जोहो गर्ने गरिएकोमा व्यवस्थापन गरिएको इन्धन सकिँदै जान थालेकाले विकास योजना प्रभावित बन्न थालेको प्रमुख चोख्यालको भनाइ छ ।

थासाङ गाउँपालिकास्थित गुरुसाङ्वो निर्माण कन्ट्रक्सनका निर्माण व्यवसायी नविन शेरचनले एक साताअघि देखिको सडक अवरुद्ध तथा भारी वर्षाका कारण इन्धनको ढुवानी हुन नपाएकाले मुस्ताङमा विकास निर्माणका काम अलपत्र परेको बताए । थासाङमा आफूलगायत दर्जनौँ निर्माण व्यवसायीको उपकरण इन्धन अभावले गर्दा सञ्चालनमा ल्याउन नसक्ने अवस्था रहेको निर्माण व्यवसायी शेरचनको भनाइ छ ।

मुस्ताङमा बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै पेट्रोलसमेत अभाव हुन थालेको छ । मुस्ताङमा पोखराबाट ब्यारेलमा ढुवानी गरी मिनरल वाटरको बोतलमा बिक्री गर्ने प्रचलन रहेको भए पनि ब्यारेलमा पेट्रोल ढुवानी गरी बिक्री गर्ने पसलमा पेट्रोल पाइप छोडेको छ । सडक अवरुद्धले इन्धन ढुवानीमा रोकिएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको कालोबजारीसमेत सुरु हुन थालेको छ । सामान्य अवस्थामा रु २२५ मा प्रतिलिटर पर्ने पेट्रोल व्यापारीले इन्धन अभावको मौका छोपी बढी मूल्यमा बिक्री गर्न थालेको पाइएको छ ।

यसैगरी इन्धनको अभावसँगै मुस्ताङमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यसमेत वृद्धि हुँदा सर्वसाधारण नागरिक समस्यामा पर्दै आएका छन् ।

पौडी खेल्ने क्रममा बेगनास तालमा डुबेर एक युवकको मृ त्यु

कास्की, १७ असोज : पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ ।

सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका अन्दाजी २४/२५ वर्षीय नरेश विकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार विक तालमा बेपत्ता भएको खबर प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा गोताखोरसहित ११ जनाको टोली खोज तथा उद्धारका लागि साँझ ५ः५५ बजे घटनास्थलतर्फ परिचालन भएको थियो ।

गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ ७ः०० बेगनास तालमा खोजी गर्ने क्रममा करिब २५ फिट पानीमुनिबाट विकलाई मृत अवस्थमा उद्धार गरेका थिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम। तेह्रथुमको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् ।सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् ।

पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थायी ठेगाना भई तेह्रथुमको म्याङलुङमा बसोबास गर्दै आएका दिलीप सम्बाहाम्फेका १६ वर्षीय छोरा डिप्लक आज साथीहरूसँग नुहाउन भनि तमोर नदी गएका थिए । नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका उनका साथीले बताएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली परिचालन गरी बेपत्ता किशोरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताउनुभयो ।

पार्टीलाई दूरदराजसँग जोड्ने संकल्पसहित डा.सुनील शर्मा कांग्रेसको महामन्त्री लड्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने भएका छन् ।

मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा.शर्माले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको थियो ।

पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका डा.शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने संकल्पसमेत गरेका छन् ।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनले कांग्रेस पार्टीलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य मानिसका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रसँग जोडेर काम गर्ने पनि बताए ।

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी। बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको राहतका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ ।समितिका उपाध्यक्ष तारा भट्टराईको नेतृत्वमा सङ्कलित उक्त रकम बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरिएको हो ।

सङ्कलित उक्त रकम राजदूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिनुभयो । कार्यवाहक राजदूत दुवाडीले विपद्का बेला प्रवासमा रहेका नेपाली समुदायले मातृभूमिप्रति देखाएको सहयोग र सद्भाव महत्त्वपूर्ण रहेको बताउनुभएको थियो । उहाँले बाढीपहिरोजस्ता विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्राप्त सहयोगले ठूलो अर्थ राख्ने बताउनुभएको थियो ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तारा भट्टराईले नेपालमा विपद्का कारण नागरिक समस्यामा परेकाबेला मन्दिरकोतर्पmबाट थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त रकम सङ्कलन गरिएको बताउनुभयो ।

उक्त रकम जनैपूर्णिमा, कृष्णजन्माष्टमी र हरितालिका पर्व (तीज) का अवसरमा मन्दिरमा आएका नेपाली तथा विदेशी भक्तजनबाट प्राप्त दानबाट सङ्कलन गरिएको उपाध्यक्ष भट्टराइले जानकारी दिनुभयो । तेइस वर्षअघि स्थापना गरिएको लन्डनस्थित पशुपतिनाथ मन्दिरले नेपालमा बाढीपीडितका लागि पहिलो पटक आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर व्यवस्थापन समितिले बेलायतमा रहेका नेपाली समुदाय र भक्तजनको सहयोगमा धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

मधेसमा २ महिनामा ४५९ विपद्का घटना : ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् ।

ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन् ।

उक्त अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण, डुबानलगायत विपद्का घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

विपद्का विभिन्न घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी रहेको छ । दुई महिनाको अवधिमा करेन्ट लागेर ३९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

त्यसैगरी पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ । जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना तथा आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या पनि उल्लेख्य छ । बाढी, डुबान तथा पानीमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिकासमेत पर्ने गरेका छन् ।

मधेसमा वर्षायामसँगै बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ । यस अवधिमा खोलानाला तथा नदीमा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी तथा जलाशयमा डुबेर मानिसको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनाको अवधिमा आगलागीका मात्रै ११२ घटना भएका छन् । आगलागीका कारण ठूलो मात्रामा धनमालको क्षति भएको छ । त्यसैगरी करेन्ट लागेका १०७ घटना भएका छन् । पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएको प्रहरीले जनाएको छ ।

आगलागी र करेन्टसँग सम्बन्धित घटनाको सङ्ख्या उल्लेख्य देखिए पनि यी घटनामा मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी तथा जनचेतनाको भूमिका महत्त्वपूर्ण हुने बरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।

विपद्का ४५९ घटनाबाट रु दुई करोड ९२ लाख ४७ हजार ५५५ बराबरको भौतिक क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आगलागीका घटनाबाट मात्रै २१२ परिवारका घर जलेका छन् । आगलागीबाट रु दुई करोड ७० लाख १३ हजार ३५० बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी बाढी तथा पहिरोबाट रु ११ लाख ९० हजार बराबरको क्षति भएको छ । चट्याङबाट रु तीन लाख, जंगली जनावरको आक्रमणबाट रु दुई लाख ७२ हजार तथा अन्य विभिन्न विपद्का घटनाबाट रु चार लाख ६३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सो अवधिमा भएका विपद्का घटनाबाट ५१० परिवार प्रभावित भएका छन् । विपद्का कारण कतिपय परिवार विस्थापित भएका छन् भने कतिपयको घर तथा सम्पत्तिमा क्षति पुगेको छ । बाढी तथा डुबानका कारण ग्रामीण क्षेत्रमा रहेका बस्ती, सडक तथा अन्य संरचनामा असर पर्ने गरेको छ । वर्षायाममा नदी तथा खोलाको पानी बस्तीमा पस्दा स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।

विपद्का समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायले समन्वय गर्दै आएको उनले बताए ।

विपद् व्यवस्थापन तथा उद्धार कार्यका क्रममा दुई हजार ८६९ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले विपद्का घटनामा उद्धार, खोजी, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ । बाढी, डुबान तथा अन्य जोखिमपूर्ण अवस्थामा प्रहरी टोलीलाई तत्काल परिचालन गर्ने गरिएको छ ।

मधेस प्रदेशका आठ वटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिने गरिएको उनले बताए ।

जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण

काठमाडौँ । जापानिज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको र तीमध्ये १३१ जनामा जापानीज इन्सेफलाइटिस (जेई) पुष्टि भएको हो ।

जेई सङ्क्रमणका कारण हालसम्म २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ । सङ्क्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ । हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई सङ्क्रमण पुष्टि भएको छ । अधिकांश सङ्क्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ ।

सरकारले प्रभावित जिल्लामा जेईविरुद्धको खोप अभियान जारी राखेको छ । हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा जेईविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । अभियानको लक्षित समूह ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मी रहेका छन् ।

कैलालीमा हालसम्म एक लाख ११ हजार ७९० र झापामा तीन लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन् । सरकारले नियमित खोपअन्तर्गत १२ महिनाको उमेरमा जेई खोपको एक मात्रा दिने गरेको छ भने छुटेको भए पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ । जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट समेत जोगिनुपर्ने चिकित्सकहरू बताउँछन् ।

आफ्नो नेतृत्वका सरकारका काम गन्दै प्रचण्डले भने– गणतन्त्रपछि धेरै परिवर्तन भएका छन्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिमा पुरानै शैलीबाट चुनौती सामना गर्न नसकिने बताएका छन्।

शनिबार काभ्रेको एकता बैठकलाई सम्बोधन गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको पक्षमा थप दृढ भएर अघि बढ्नुपर्ने बताए।

प्रचण्डले सच्चा कम्युनिस्ट शक्तिबीच पार्टी एकता तथा गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। गणतन्त्रपछि केही पनि भएन भन्ने भाष्य तथ्यसँग मेल नखाने उनको दाबी थियो।

उनले आफ्नो नेतृत्वमा सरकारमा रहँदा शान्ति प्रक्रिया, संविधान कार्यान्वयन, स्थानीय तह निर्वाचन, संघीयता, पुनर्निर्माण तथा लोडसेडिङ अन्त्यलगायतका काम भएको बताए।
पार्टीभित्र पनि रूपान्तरण आवश्यक रहेको भन्दै उनले युवाको सहभागिता बढाउँदै महाधिवेशनमार्फत वैचारिक बहस र पुनर्संरचनालाई अघि बढाउने बताए।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो ।

रङरोगन सकिएपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले जानकारी दिए । उनका अनुसार मन्दिरको छत तथा भित्री भागको सरसफाइसमेत गरिएको छ ।

लामो समयदेखि धुवाँका कारण मन्दिरभित्रका संरचना कालो भएकाले विशेष सरसफाइ गरिएको उनले बताए । “सर्वप्रथम मैतीदेवी मन्दिरको सरसफाइ र रङरोगनको काम गरिरहेका छौँ । यो सकिएपछि एक-दुई दिनभित्र झिलिमिली बत्ती राख्ने काम सुरु गर्छौँ”, उनले भने, “यसपालि सडकबाटै झिलिमिली बत्ती राख्दैछौँ र त्यसपछि मन्दिरको छतमा पनि बत्ती जडान गर्ने योजना छ ।”

दसैँको तयारीसँगै मन्दिर परिसरमा विभिन्न संरचना निर्माण, मर्मत तथा स्तरोन्नतिका कामसमेत भइरहेका छन् । भोजघरको करिब ९८ प्रतिशत काम सकिएको छ भने भजन गर्ने पाटी र प्रबन्ध समितिको कार्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै, मयूरकुण्ड निर्माण पनि करिब ९५ प्रतिशत पूरा भएको समितिले जनाएको छ ।

मन्दिर क्षेत्रको पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकार, वडा तथा सम्पदा संरक्षणसम्बन्धी बजेटबाट विभिन्न काम भइरहेको सदस्य सचिव खड्गीले बताए । “अझै गर्न बाँकी काम धेरै छन् । मन्दिर अगाडिको मुख्य सडकतर्फ रहेको बारलाई सांस्कृतिक स्वरूप दिने योजना छ । त्यसमा दाँची अप्पा राखेर पर्खाल उठाउने योजना बनाएका छौँ”, उनले भने ।

मैतीदेवी काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये एक हो । बडादसैँको अवसरमा यहाँ दर्शन तथा पूजाआराधनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौँ । सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ । सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत सावाँ-ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो ।

चालु आवको असोज १५ गतेसम्म विभिन्न २७ वटा मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब रु ११ करोड कर्जा असुली गरेको कार्यालय प्रमुख अच्युत श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत वर्ष असार २५ गते स्थापना भएको कार्यालयलाई कर्जा असुलीसम्बन्धी मुद्दाको सुरुको कारबाही र किनारा गर्ने अधिकार क्षेत्र तोकिएको छ ।

सहकारी संस्थाले आफूले असुलउपर गर्नुपर्ने रकम असुलउपर गर्न नसकेको खण्डमा असुलउपर गराई पाउन ऋण न्यायाधिकरणसमक्ष उजुरी दिएपछि न्यायाधिकरण कार्यालयले सहकारी संस्थाको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरुको कारबाही तथा किनारा लगाउने गरेको प्रमुख श्रेष्ठले बताए । सहकारी क्षेत्रका लागि आफ्ना ऋणीहरूबाट उठाउन नसकेको कर्जा असुलउपर गर्ने वा गराउने यो पहिलो न्यायाधिकरण हो ।

कर्जा असुलीसम्बन्धी मुद्दा निरूपणका सन्दर्भमा पीडित र पीडकबिच मेलमिलापसहितका कानुनी प्रक्रियाको माध्यमबाट पनि विवाद समाधान गर्ने गरिएको प्रमुख श्रेष्ठले उल्लेख गरे । उनका अनुसार कार्यालयले सहकारी क्षेत्रमा वित्तीय सुशासन प्रवद्र्धन गरी सहकारीका कर्जासँग सम्बन्धित समस्या समाधान गर्ने तथा अदालतमा रहेका मुद्दाको चाप घटाई न्याय प्रणालीलाई चुस्त बनाउने लक्ष्य राखेको छ ।

कार्यालयले सहकारी संस्थाको कर्जा प्रवाह जोखिममा रहेका मुद्दाहरूको छिटो, छरितो एवम् प्रभावकारी ढङ्गबाट सुरु कारबाही र किनारा गरी सम्बन्धित सहकारी संस्थालाई निक्षेप फिर्ता गराउने काम गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार कर्जा असुलीका मुद्दामाथि प्रारम्भिक कारबाही, दैनिक वा साप्ताहिक पेसी तोक्ने र छिटोछरितो रूपमा निर्णय वा किनारा गर्ने काम हुँदै आएको छ ।

जितीया पर्वले आपसी सम्मान र सद्‌भाव कायम गर्दछ -राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितीया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्‌भाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताएका छन् ।

जितीया पर्वको अवसरमा आज उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधताको संरक्षण भएको महसुस गरेको बताए ।

राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जितीया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान तथा परिवारजनको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै जिमुतवाहनको श्रद्धापूर्वक पूजा-आराधना गरी मनाइने महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।”

यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण हाम्रो मुलुकमा यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको बताए । नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचारयुक्त जीवनशैली अपनाउनका लागि यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्‌भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोश्वारा हुलाकसँग सम्झौता गरेको छ । कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो ।

कामपा प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार कामपाबाट हुने पत्राचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्‍याउन हुलाक सेवाको प्रयोग गरिनेछ । कामपाका विभाग, महाशाखा, सचिवालय, एकाइ र आयोजनाबाट चलानी हुने पत्रलाई केन्द्रीय सम्पर्क एकाइमा सङ्कलन गरिने जनाउँदै उनले यसरी प्राप्त भएका पत्रलाई सम्बन्धित निकाय, जिम्मेवार पदाधिकारी वा कर्मचारीको ठेगाना र सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराइने बताए ।

“हुलाक कार्यालयले महानगरबाट प्राप्त हुलाक वस्तु प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गर्ने, पठाउने वा डेलिभरी एजेन्टमार्फत सम्बन्धित प्राप्तकर्तालाई बुझाउनेछ । वितरणपछि प्राप्त हुने भर्पाइ महानगरपालिकालाई उपलब्ध गराउने र सेवाबापतको मासिक बिलसमेत पेस गर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ”, विभागका प्रमुख काफ्लेले भने ।

सम्झौताअनुसार कामपा क्षेत्रभित्र अत्यन्त जरुरी पत्र तथा हुलाक वस्तुका लागि ‘सेम डे’ (उही दिन) सेवा उपलब्ध हुनेछ। यस्तो सेवामा बढीमा दुई किलोसम्मका हुलाक वस्तु समावेश हुनेछन् । त्यसैगरी दुई किलोसम्मका पत्र वा अन्य सामानका लागि रजिस्ट्री सेवा तथा आवश्यकताअनुसार एक्सप्रेस मेल सर्भिस (द्रुत डाँक सेवा), पार्सललगायत अन्य सेवा प्रयोग गरिने काफ्लेले जानकारी दिए ।

रजिस्ट्री तथा पार्सलतर्फका वस्तु अर्को दिन वितरण गर्ने व्यवस्था गरिएको प्रमुख काफ्लेले जानकारी दिए । कामपाका क्षेत्रबाहेक काठमाडौँ जिल्लाका अन्य स्थानीय तह तथा ललितपुर र भक्तपुरका हकमा रजिस्ट्री सेवाअन्तर्गत अर्को दिन हस्तान्तरण गरी सम्भव भएसम्म सोही दिन वा अर्को दिन वितरण गरिने सम्झौतामा उल्लेख छ । अन्य जिल्लाका लागि प्रचलित हुलाक सेवाको डाँक सञ्चालन तालिकाअनुसार सेवा हुनेछ ।

सम्झौतामा हुलाक वस्तु हराउने, च्यातिने वा टुटफुट हुने जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले सुरक्षित प्याकेजिङ गर्नुपर्ने र हुलाक कार्यालयले प्राप्तिदेखि वितरणसम्म उच्च सावधानी अपनाउनुपर्ने उल्लेख छ । प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु कामपाको सम्पर्क एकाइमा फिर्ता हुनेछ। यो सम्झौता एक वर्षका लागि गरिएको उनले जानकारी दिए ।

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मी बाढीपछि विद्यालय जान सकेका छैनन् । यही असोज ११ गते निसीखोलामा आएको बाढीले बगर बनाएको आफ्नो घर भएको स्थान हेरेर टोलाइरहेका सन्दीपमा देखिएको यो अन्योल यतिबेला बागलुङका हजारौँ विद्यार्थीमा देखिएको छ । उनको न त घर छ, न त कापी-कलम र किताब नै । विद्यालय पनि बाढीले क्षति पुर्‍याएको छ ।

आँखैअगाडि घर, विद्यालय, सडक र विभिन्न संरचना बाढीले बगाएको, पहिरोले पुरेको देखेका यहाँका बालबालिकामा अझै पनि खोला बढ्छ कि, पहिरो खस्छ कि भन्ने त्रास कायमै छ । यही असोज ८ गतेदेखि ११ गतेसम्म आएको वर्षाका कारण बागलुङका चार स्थानीय तहका एक हजारभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिकामा बाढी तथा बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा पहिरोका कारण एक हजार २९७ जना बालबालिका प्रभावित भएका ताराखोला गाउँपालिकाका सहायक शिक्षा अधिकृत युवराज शर्माले जानकारी दिए । उनका अनुसार पहिरोबाट ताराखोलाका पाँच विद्यालयमा क्षति पुग्दा ८४५ जना बालबालिका प्रभावित भएका छन् ।

पहिरोका कारण ताराखोला-५ का तीनवटा र वडा नं ४ का दुई वटा विद्यालयका भौतिक संरचनामा क्षति पुगेको शिक्षा अधिकृत शर्माले जानकारी दिए । दुई सय ५० जना बालबालिकाले अध्ययन गर्दै आएका वडा नं ५ को दुर्गाभवानी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला पूर्ण रूपमा पहिरोमा पुरिएको छ भने अन्य संरचनामा समेत क्षति पुगेको छ ।

त्यसैगरी सोही वडाका ७५ जना बालबालिकाले अध्ययन गर्दै आएको त्रिशूली प्राथमिक विद्यालय र ४५ जना बालबालिकाले अध्ययन गर्दै आएको लावाङ प्राथमिक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । वडा नं ४ का ५५ बालबालिकाले अध्ययन गर्दै आएको युवावर्षा प्राथमिक विद्यालय र ४२० बालबालिकाले अध्ययन गर्दै आएको नेपाल माध्यमिक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको शर्माको भनाइ छ ।

पहिरोले क्षति पुगेका पाँचमध्ये दुई विद्यालयमा वैकल्पिक स्थानको खोजी गरेर पठनपाठन सुरु गरिएको जनाउँदै नेपाल माध्यमिक विद्यालय, लावाङ प्राथमिक विद्यालय र दुर्गाभवानी माध्यमिक विद्यालयमा भने पठनपाठन सुरु गर्न नसकिएको शर्माले बताए ।

त्यसैगरी बाढीका कारण निसीखोला गाउँपालिका–४ को झिवाखोलास्थित एउटै विद्यालयका ३७० बालबालिका प्रभावित बनेका छन् । बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा निसीखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा यहाँ अध्ययन गर्दै आएका बालबालिका प्रभावित बनेका विद्यालय व्यवस्थापन समितिका सदस्य मिलन हमालले जानकारी दिए ।

बाढीले विद्यालयको संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण क्षति पुगेको विद्यालयको भवन तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नभए पनि वैकल्पिक व्यवस्थापन गरेर छिट्टै कक्षा सञ्चालन गरिने हमालले बताए ।

हावाहुरी र पहिरोका कारण बडिगाड गाउँपालिकाका दुई विद्यालयका ७० बालबालिका प्रभावित भएका छन् । गाउँपालिकाको वडा नं ५ स्थित ३० बालबालिकाले अध्ययन गर्दै आएको भिरकटेराताल प्राथमिक विद्यालय र वडा नं ३ सिसाखानीका ४० बालबालिकाले अध्ययन गर्दै आएको कञ्चनादेवी प्राथमिक विद्यालयमा हावा र पहिरोले क्षति पुर्‍याएको छ ।

तत्कालका लागि बालबालिकालाई स्थानीय घर र सामुदायिक भवनमा व्यवस्थापन गरेर पठनपाठन गराउने तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुलराज घिमिरेले जानकारी दिए ।

पहिरोका कारण तमानखोला गाउँपालिकाको एक बालविकास केन्द्रमा पनि क्षति पुगेको छ । वडा नं ४ को सन्तर बालविकास केन्द्रको भवनमा पहिरोले क्षति पुर्‍याउँदा यहाँका ११ बालबालिका प्रभावित बनेका छन् । भवन अझै पनि पहिरोको जोखिममै रहेकाले बालबालिकालाई तत्काल उक्त स्थानमा लैजाने अवस्था नभएको गाउँपालिकाका विपद् व्यवस्थापनका स्रोत व्यक्ति मुना विश्वकर्माले बताइन् ।

भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

म्याग्दी । भूगर्भविद्हरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो ।

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । “नगरपालिकाको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार शुक्रबार बेनीमा आउनुभएका भूगर्भविद् र प्राविधिकको टोलीले आजदेखि नै अध्ययन सुरु गर्नुभएको छ”, उनले भने, “बेनी बजारसहित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्ने योजना रहेको छ ।”

टोलीले दिने सिफारिसको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगरप्रमुख केसीले बताए । पहिरोको अवस्था र माटोको बनोटको अवस्था आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताए ।

“विभिन्न विधि र उपकरणको प्रयोगका साथै स्थलगत निरीक्षण गरेर पहिरो गएका क्षेत्रहरूको अध्ययन थालेका छौँ”, उनले भने, “काठमाडाैँबाट आएका चार, स्थानीय तहका प्राविधिक र भूगर्भविज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिको तीन वटा समूह बनाएर पहिरोको अध्ययन थालेका छौँ ।”

भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ । गत हप्ताको वर्षापछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्य, दुई जना बेपत्ता, २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति र दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले शुक्रबारसम्म १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जानकारी दिए । यो विवरण अझै थपिन सक्ने उनले बताए ।

असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजिवन प्रभावित बनेको छ । अवरुद्ध बनेका यातायात, सञ्चार र विद्युत् सुचारु गराउने प्रयास भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

बाढीले मध्य कालीगण्डकी सहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

म्याग्दी । गत हप्ताको बाढी पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । दुई सय ६६ मेगावाट क्षमताका तीन वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका आठ वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणाली बाहिर भएका छन् ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र वर्कसपमा ठूलो क्षति पुगेको छ ।

अन्नपूर्ण गाउँपालिका-३ र ४ को सिमानामा पर्ने सुकेबगरमा निर्माणाधीन बाँधमा डाइभर्सन भत्काएर पसेको कालीगण्डकीको बाढीले गेग्रान थुपारेको छ । सो स्थानमा रहेको सुरुङको अडिटभित्र पनि बाढी पसेको छ ।

अन्नपूर्ण-२ नागढुङ्गा र रातोपानी स्थित आवासका भवनहरु भत्काउनुका साथै त्यहाँ रहेका सामग्री बाढीले बगाएको छ । नौलीबगरस्थित निर्माणाधीन भूमिगत विद्युत्गृहको अगाडि रहेको बेनी-जोमसोम-कोरला सडकको मोटरेबल पुलको पोखरेबगर तर्फको पहुँचमार्ग कालीगण्डकीको बाढीले बगाएको छ । कालीगण्डकीको बाढीले सो आयोजनाको लेबर क्याम्प पनि बगाएर लगेको छ ।

कालीगण्डकीको बाढीका कारण आयोजनाको क्याम्प र निर्माणस्थलसँगको यातायात सम्पर्क टुटेको तथा सडक, विद्युत र सञ्चार सुविधाको अभावमा क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन नसकेको सो आयोजनाका प्रबन्ध निर्देशक गुरु ढकालले जानकारी दिए ।

त्यसैगरी बाढीपहिरोले क्षति पुर्‍याएपछि आयोजनाको निर्माण कार्य रोकिएको सिभिल ठेकेदार कम्पनी रसुवा-मल्टी जेभीले जानकारी दिएको छ । विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति अहिलेसम्म विना रोकतोक अघि बढिरहेकामा हालैको बाढीले अवरोध उत्पन्न गरेको छ ।

सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध बनाई चार हजार ३१९ मिटर लामो मुख्य सुरुङबाट ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण-२ नौनीबगरमा निर्माण हुने भूमिगतविद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

नदी प्रवाहमा आधारित प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, नियन्त्रण कक्ष (कन्ट्रोल रुम) जमिनभित्र भूमिगत हुन् । मध्य कालीगण्डकीको विद्युत् नौनीबगरबाट सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आवद्ध हुनेछ ।

तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित थालिएको आयोजनाको बाढी पहिरोका कारण निर्माण अवधि लम्बिने देखिएको छ । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रवर्द्धक र सेयर लगानीकर्तामार्फत जुटाइने छ ।

नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिददर आठ रुपैयाँ ४० पैसा र वर्षायामको दर चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा २७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।

पछिल्लो बाढी पहिरोबाट सबैभन्दा बढी यही विद्युत् आयोजना निर्माणस्थल रहेको अन्नपूर्ण गाउँपालिका प्रभावित भएको छ । छ जनाको ज्यान गएको यस गाउँपालिकामा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । अध्यक्ष भारतकुमार पुनका अनुसार प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छ वटा जलविद्युत् आयोजना बन्द भएका छन् ।

अन्नपूर्ण-१ दोवाको भीरकाटे पारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । दाना-खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण-४ को भूगोलमा पर्ने नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरि-१, ७१ मेगावाट क्षमताको निलगिरि-२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।

अन्नपूर्ण गाउँपालिका-४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि बन्द भएको छ । रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा माथिल्लो क्षेत्रबाट बाढी आएर गेग्रान थुप्रिएको आयोजना प्रमुख दार्शनिक काफ्लेले बताए ।

प्रसारण लाइनका साथै बाढीले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम सडकको धेरै ठाउँमा कटान गरेर पैदलयात्रा गर्न पनि जटिल बनाएको छ । बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र नौ मेगावाट क्षमताको सुपर घलेम्दीखोला जलविद्युत् आयोजनाको पनि निर्माण कार्य प्रभावित बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कालीगण्डकीको बाढीले क्षति पुर्‍याएकाले परीक्षण उत्पादन बन्द भएको छ ।

बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ । नुवाकोटलाई जन्मथलो बनाइ राष्ट्रसेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहतस्वरूप जनही रु २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको हो ।

समाजका अध्यक्ष उदयबहादुर रानामगरका अनुसार गत भदौ १० गते गएको विनाशकारी भोटेकोसी बाढीका कारण सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत नुवाकोटका २० जना राष्ट्रसेवक कर्मचारी मृत्यु तथा बेपत्ता भएको तथ्याङ्कका आधारमा उनीहरूका परिवारलाई राहत उपलब्ध गराइएको हो ।

“राष्ट्र सेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफैँ बाढीमा परी प्रभावित हुनु दुःखद अवस्था हो”, अध्यक्ष रानामगरले भने, “यस दुःखको घडीमा राष्ट्र सेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोगसहित आगामी दिनमा प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ ।”

समाजका अनुसार नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्रसेवामा कार्यरत स्थायी तथा अस्थायी कर्मचारीमध्ये बाढीका कारण मृत्यु तथा बेपत्ता भएका २० जनाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो । बाढीबाट प्रभावित भएकामध्ये ११ जना व्यक्तिको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

बाँकीलाई पायक पर्ने स्थानमा पुगेर राहत उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिए । राहत उपलब्ध गराउन समाजमा आबद्ध ८३ जना कर्मचारीबाट रु दुई लाख ९० हजार सङ्कलन गरिएको थियो । उक्त रकममा समाजको कोषबाट रु दुई लाख थप गरेर जुटाएर प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको समाजका सदस्य प्रकाश सिलवालले जानकारी दिए ।

नुवाकोटलाई जन्मथलो बनाई विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीको साझा संस्थाका रूपमा रहेको राष्ट्र सेवक कर्मचारी समाजले जिल्लाको विकास, समृद्धि र सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । समाजले नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, सरकारी सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बीपीले सम्बोधन गरेको ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गरेकाे स्थलमा पार्टीको १५औँ महाधिवेशन हुँदैछ ।

कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गते दिउँसो २ः ०० बजे टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ । त्यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नेछन् भने उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको समेत सम्बोधन हुने बताइएको छ ।

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।” गत पुस २८ देखि माघ ३ गते सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो महाधिवेशन हुन लागेको उनले जानकारी दिए ।

कांग्रेसको यस महाधिवेशनबाट पैतिस वर्ष मुनिका युवाका साथ लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीसमेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन् ।

‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ यस महधिवेशनको मूल मन्त्र राखिएको छ । “छलफल सत्रमा नयाँ सङ्कल्पका विषयमा गहन छलफल हुनेछ र यसको कार्यान्वयनको खाका तयार गरिने छ”, प्रवक्ता चालिसेले भने, “यो महाधिवेशनले यी सङ्कल्पलाई कसले कार्यान्वयन गर्न सक्छ भनेर नेतृत्व चयन गर्नेछ । यो महाधिवेशनको सम्पूर्ण प्रयास कांग्रेसमा विधि र पद्धति निर्माण गर्नमा केन्द्रित हुनेछ ।”

नेपाली राजनीतिमा कांग्रेसले धेरै इतिहास रचेको र अब नयाँ इतिहास निर्माण गर्न चाहेको उल्लेख गर्दै उनले कांग्रेसले अब बीपी कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्ने र यसका लागि देशको समृद्धिको वैचारिक आधार बीपी विचारलाई बनाइने जानकारी दिए । महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौँ आउनेक्रम जारी रहेको र झण्डै सात हजार ५०० महाधिवेशन प्रतिनिधि रहने पार्टी कार्यालयले जनाएको छ ।

आजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ । महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत रु तीन हजार ५०० बुझाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको जनाएको छ ।

सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिले जनाएको छ । भोलि आइतबारको उद्घाटन कार्यक्रमपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री, र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने तालिका छ ।

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताए । निर्वाचन समितिले असोज १९ गते अपराह्न २ः०० बजेदेखि ६ः०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ । निर्वाचनको कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुनसक्ने निर्वाचन समितिले जनाएको छ ।

सहभागीहरूले प्रयोग गर्ने निजी कार तथा मोटरसाइकल पार्किङ गर्न भृकुटीमण्डप, राष्ट्रियसभागृह र पुरानो बसपार्क क्षेत्र निर्धारण गरिएको छ । ठूला बसका हकमा भने माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ । कांग्रेसको १५औँ महाधिवेशनका सूचना अद्यावधिक गर्न महाधिवेशन स्थल खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरी मिडिया ब्रिफिङ हुने उनले जानकारी दिए ।

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन । भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्‍याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) जिल्ला शाखा चितवनले आज यहाँ आयोजना गरेको पाँचौँ साधारणसभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो । सो अवसरमा ६५ जना चालकलाई सम्मान गरिएको थियो ।

उनीहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्मा एम्बुलेन्स चालकले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताए । उनले भने, “शव उठाउन हामीले नेतृत्व गर्नुपर्नेमा अघिअघि एम्बुलेन्स चालक र हामी पछिपछि भयौँ ।” विपदमा गरिने यस्ता कार्यको राज्य पक्षबाट मूल्याङ्कन हुनुपर्ने उनले जनाए ।

सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले चालकहरूले नदीमा शव उठाउने, एम्बुलेन्समा राख्ने र झार्नेसम्मका काम गरेका बताए । उनले भने, “तीन–चार दिनदेखि गन्हाइरहेका शव कुनै अप्ठ्यारो महसुस नगरी हामीले बोक्यौँ ।” कतिपय शव राख्ने ठाउँको अभावमा लामो समय एम्बुलेन्समा राख्नुपरेको उनले बताए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले विपद्मा चालकहरूले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताए । कार्यक्रममा चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, भरतपुर अस्पतालका साइदिप घिमिरे, सङ्घका जिल्ला अध्यक्ष कल्याण लामा, सचिव मिलन श्रेष्ठ, नेपाल ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष अर्जुन अधिकारीलगायतले आआफ्नो धारणा राखेका थिए ।

यसैबिच अधिवेशनले कल्याण लामाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भोटेकोशी बाढीको समयमा चितवनसहित धादिङ, नवलपरासी, तनहुँ, कास्की, नुवाकोटका एम्बुलेन्सले शव व्यवस्थापनमा खटिएका थिए । चितवनमा १३५ वटा एम्बुलेन्स सङ्घमा आबद्ध थिए । भोटेकोशी बाढीका सबैभन्दा बढी ३६९ वटा शव चितवनमा फेला परेका थिए ।

देउवाले १५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महतले विशेष अधिवेशनका नाममा पार्टीलाई बिथोल्ने प्रयास गलत भएको बताए। उनले नेता तथा कार्यकर्तालाई आधिकारिक महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।

भ्रममा परेर अर्को अधिवेशनमा सहभागी भएका नेता–कार्यकर्ता आधिकारिक प्रक्रियामा फर्किन थालेको उनको दाबी छ।

रविलाई ज्ञानेन्द्र शाहीको धन्यवाद – ‘जुम्लाको स्याउ बजारमा रहँदासम्म विदेशी स्याउ रोकियोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउ वितरण गरेर प्रचारमा सहयोग पुर्‍याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।

शाहीले जुम्लाको स्याउ बजारमा उपलब्ध रहँदासम्म विदेशबाट स्याउ आयात रोक्न सरकारसँग आग्रह गरेका छन्।

सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले जुम्लाका किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। उनले स्वदेशी स्याउलाई प्राथमिकता दिँदै किसानको उत्पादनले उचित बजार र मूल्य पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो ।

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौँका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको राससलाई जानकारी दिए ।

उनका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ ।

यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ । प्रतिनिधि बस्नका लागि सहुलियत दरमा बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष ढकालले बताए । “देश र विदेशबाट आएका १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी पाँच हजार कोठाको व्यवस्थापन गरेका छौँ”, उनले भने ।

महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैँले व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ । विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले व्यहोर्ने केन्द्रीय सदस्य धमलाले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ । बस्नका लागि समस्या भएमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले सहजीकरण गर्ने धमलाले बताए ।

कांग्रेसले पार्टीको वेबसाइटमा होटलको नाम, क्षेत्र र मूल्यको बारेमा राखेकाले कुनै अलमलमा परेमा उक्त विवरण हेर्न सकिने जनाएको छ । महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।