आफ्नो नेतृत्वका सरकारका काम गन्दै प्रचण्डले भने– गणतन्त्रपछि धेरै परिवर्तन भएका छन्
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिमा पुरानै शैलीबाट चुनौती सामना गर्न नसकिने बताएका छन्।
शनिबार काभ्रेको एकता बैठकलाई सम्बोधन गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको पक्षमा थप दृढ भएर अघि बढ्नुपर्ने बताए।
प्रचण्डले सच्चा कम्युनिस्ट शक्तिबीच पार्टी एकता तथा गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। गणतन्त्रपछि केही पनि भएन भन्ने भाष्य तथ्यसँग मेल नखाने उनको दाबी थियो।
उनले आफ्नो नेतृत्वमा सरकारमा रहँदा शान्ति प्रक्रिया, संविधान कार्यान्वयन, स्थानीय तह निर्वाचन, संघीयता, पुनर्निर्माण तथा लोडसेडिङ अन्त्यलगायतका काम भएको बताए।
पार्टीभित्र पनि रूपान्तरण आवश्यक रहेको भन्दै उनले युवाको सहभागिता बढाउँदै महाधिवेशनमार्फत वैचारिक बहस र पुनर्संरचनालाई अघि बढाउने बताए।
