`

घट्दै सर्पदंशको उपचार लिने बिरामी

महोत्तरी। विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् ।

बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो ।

विसं २०७१ साउन ३१ गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष २०७९/८० यता उपचार लिनेको सङ्ख्या निकै घटेको छ । त्यसअघि वर्षमा चार हजार बढीले उपचार लिने गरेकामा केन्द्रमा २०७९/८० यता यो सङ्ख्या एक हजारमुनि झरेको छ ।

केन्द्रमा आव २०७९/८० मा ८७८, आव २०८०/८१ मा ८८४ र आव २०८१/८२ मा ७०२ जनाले उपचार लिएका छन् । चालु आव २०८२/८३ को (असार २० गते)सम्मको अवधिमा ७२२ जनाले उपचार लिएका उपचारमा संलग्न नेपाली सेनाको प्राविधिक टोलीका प्रमुख भोला चौधरीले जानकारी दिनुभयो ।

केन्द्रमा स्थापनायताका वर्षमा सबैभन्दा बढी आव २०७७/७८ मा चार हजार १९१ जनाले उपचार लिएका छन् । त्यसैगरी, आव २०७६/७७ मा तीन हजार ९४७, आव २०७८/७९ मा तीन हजार ९३२, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० र आव २०७१/७२ मा तीन हजार १२८ जनाले उपचार सेवा लिएका छन् । स्थापनाकालदेखि हालसम्म जम्मा ३२ हजार २७१ जनाले उपचार लिएका केन्द्रको अभिलेखमा उल्लेख छ ।

पछिल्ला चार वर्षमा आसपासका धेरै ठाउँमा सर्पदंश उपचार सेवा सञ्चालनमा आउनु र सहरीकरण बढ्दै जाँदा सर्पले ठाउँ छोड्दै गएपछि घटना कम हुनसँगै उपचार लिनेको सङ्ख्या घट्दै गएको प्राविधिक टोलीका प्रमुख चौधरीको भनाइ छ ।

एक दशकअघिसम्म विषालु सर्पको त्रास रहेको बर्दिबास नगर क्षेत्रमा सर्पदंशका घटना बढेपछि सामुदायिक प्रयत्नबाट सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रमा स्थापनाकालदेखि नै नेपाली सेनाका दक्ष प्राविधिक टोलीले उपचार सेवा दिँदै आएका केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउनुहुन्छ । केन्द्रले स्थापनाकालयता हालसम्म उपचार लिन आएमध्ये ६७ जनालाई मात्र अन्यत्र रेफर गरेको उहाँको भनाइ छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा। लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा उल्लेख्य कमी आएको छ ।

पर्यटक सङ्ख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्द्धनमार्फत आयआर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा भने हालसम्म ५० हजार ३६० पर्यटक मात्र निकुञ्ज पुगेका छन् । तीमध्ये ३९ हजार ११ जना आन्तरिक, सार्क राष्ट्रका ७८८ जना र अन्य मुलुकका १० हजार ५६१ जना रहेका छन् ।

पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा पनि असर परेको छ । गत आर्थिक वर्षमा रु पाँच करोड ७७ लाख राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षमा हालसम्म रु चार करोड २८ लाख २२ हजार ७५६ मात्र सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्रले हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।

पर्यटनबाट प्राप्त राजस्वले निकुञ्ज संरक्षण, जैविक विविधताको व्यवस्थापन तथा स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

विश्वकपबाट बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्न्यास

काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

अमेरिकाको न्युजर्सी रंगशालामा नेयमारले ब्राजिलका लागि सान्तवना गोल गरेका थिए । इन्जुरी टाइममा पेनाल्टीमार्फत प्रतियोगितामा एक गोल मात्र गरेका थिए ।

नेयमारले चारवटा फिफा विश्वकप खेले । जारी विश्वकपमा भने उनी पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए ।

नेयमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सन् २०१० मा सिनियर टोलीबाट डेब्यू गरेका ३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ खेलमा ८० गोल गरे ।

प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभ बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडग राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यसैगरी, यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ ( नं. ८१) माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्न थालेको छ । छाडा पशुचौपायाका कारण मानवीय जोखिम बढेको भन्दै नियन्त्रणमा कडाइ गरेको उपमहानगरपालिकाले पाँच सयभन्दा बढी छाडा पशुचौपाया नियन्त्रणमा लिई रु ७ लाखभन्दा बढी जरिवाना सङ्कलन गरेको छ ।

छाडा पशुबाट मानिसमा हुने जोखिम तथा प्लास्टिकजन्य फोहरका कारण पशुमा पर्ने असर कम गर्न आइतबार जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाले आयोजना गरेको छलफल तथा अन्तक्र्रियामा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुरधाममा छाडा पशुचौपायाको समस्या चुनौतीपूर्ण बन्दै गएकाले छाडा चौपाया नियन्त्रणका लागि कडा कदम चालेको बताए ।

पशु सडकमा छाड्ने व्यक्तिलाई उपमहानगरपालिकाले रु पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उनले पछिल्लो समय छाडा पशु नियन्त्रणमा लिई छाड्ने व्यक्तिबाट रु ७ लाख जरिवाना सङ्कलन भएको बताउनुभयो । प्रमुख साहका अनुसार छाडा पशु नियन्त्रणमा लिई वडा नं १२ मा रहेको पशु गौशालामा करिब पाँच सयभन्दा बढी पशुचौपाया राखिएका छन् ।

नियमको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै उनले छाडा पशु नियन्त्रणको काम स्थानीय तहले मात्र गर्न नसक्ने भएकाले तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारणको साझा सहकार्य आवश्यक रहेको बताए ।

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा सञ्जयकुमार यादवले छाडा पशु व्यवस्थापनलाई केवल स्थानीय तहको विषयका रूपमा नभई सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण र पशु कल्याणसँग जोडिएको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए । उनले प्लास्टिकजन्य फोहरको अव्यवस्थित व्यवस्थापनका कारण पशुहरूको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै प्लास्टिकको प्रयोग न्यूनीकरण र उचित फोहर व्यवस्थापनमा जोड दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनुषाका प्रमुख डा सञ्जीवकुमार ठाकुरले प्लास्टिक अहिले मानव जीवनको अभिन्न अङ्ग बने पनि यसको जथाभाबी प्रयोग र व्यवस्थापनका कारण पशुहरू सबैभन्दा बढी प्रभावित भइरहेको बताए । सडकमा फालिएका प्लास्टिकका झोला र अन्य फोहरसँगै खाद्यवस्तु खाँदा गाईवस्तुलगायत पशुको पेटमा प्लास्टिक जम्मा हुने, त्यसले पाचन प्रणालीमा समस्या सृजना गर्ने, उत्पादन क्षमता घट्ने तथा कतिपय अवस्थामा पशुको मृत्यु नै हुने अवस्था देखिएको उनले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले छाडा पशु व्यवस्थापन, प्लास्टिकजन्य फोहर नियन्त्रण, पशु कल्याण तथा सुरक्षित सहरी वातावरण निर्माणका लागि सबै निकायबिच समन्वय र जनसहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

कञ्चनपुर। पाँच महिनाअघि बजारमा आएको ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ, तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत निकै चर्चित छ।

सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर रहेको यो कुमाउनी प्याटर्नको गीतले अहिले देउडा पारखीहरूको मन जितिरहेको छ।

यो गीत बजारमा आउँदा सामाजिक सञ्जालमा भाइरल भएको थियो। युट्युबमा मात्रै यस गीतले ५४ लाख भ्युज पाइसकेको औजीले बताएका छन्।

बेलाबखत लोकप्रिय देउडा गीतहरू बजारमा ल्याएर युट्युब र टिकटक जस्ता मञ्चहरूमा बजार तताउने औजीको परिचय देउडा गायकमा मात्रै सीमित छैन। उनी नेपाल प्रहरी सङ्गठनका प्रहरी सहायक हबल्दार हुन्।

प्रहरी सेवामा १७ वर्ष बिताइसकेका औजीले आफ्नो प्रहरीको जिम्मेवारीसँगै साङ्गीतिक यात्रालाई पनि निरन्तरता दिइरहेका छन्। बैतडीको पञ्चेश्वरी गाउँपालिका–६ बिजुलमा जन्मिएका औजीले सन् २००६ देखि सुदूरपश्चिमको देउडा गाउन थालेका हुन्। स्कुल पढ्दादेखि नै देउडा गायनमा रुचि भएकाले उनले विद्यालयहरूको जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम स्थान समेत हासिल गरेका थिए।

हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत औजीले गाउँबाट एसएलसी पास गरेर सन् २००९ मा प्रहरी जवानमा भर्ना हुनुअघि नै दुईवटा गीत बजारमा ल्याइसकेका थिए। उनले आफ्नो दैनिकीबारे भने, ‘ड्युटी सकेर ब्यारेक पस्यो, फुर्सद भयो कि गायन र नयाँ सृजनामा समय खर्चिर्ने बानी भइसकेको छ।

’ सन् २००६ मा किशोरावस्थामै बैतडीबाट महेन्द्रनगर झरेर उनले ‘घर छुट्यो, घरबार टुट्यो देउडा’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए। सो पहिलो गीत तत्कालीन समयमा सुदूरपश्चिमका एफएम रेडियोहरूमा निकै बज्ने गरेको र अहिले पनि दर्शकस्रोताले उत्तिकै मन पराउने उनको अनुभव छ।

पछिल्लो समय महेन्द्रनगरका कलाकार मासुम विष्टको लय र शब्द सङ्कलन तथा गायक औजीको स्वर रहेको ‘ए रुपा’ बोलको गीत सुदूरपश्चिममा मात्र नभएर भारतको सीमावर्ती कुमाउ, पिथौरागढ र गडवाल क्षेत्रमा समेत चर्चित छ। हाल भीमदत्त नगरपालिका–५ सुकासाल बस्दै आएका औजीले सुदूरपश्चिममा एक सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन्। उनका दर्जनभन्दा बढी गीतहरू अहिले पनि सुदूरपश्चिममा निकै लोकप्रिय छन्।

उनले लागुऔषधसम्बन्धी सचेतना तथा प्रहरीका सचेतनामूलक गीतहरू पनि बजारमा ल्याएका छन्। तीन वर्षअघि उनले ‘प्रहरीलाई खबर गरौँ, हरघडी आउँछ प्रहरी, सेवा गर्न आउँछ प्रहरी’ बोलको गीत सार्वजनिक गरेका थिए। प्रहरीले आयोजना गर्ने सचेतनामूलक कार्यक्रमहरूमा उनी आफैँले यस्ता गीतहरू प्रस्तुत गर्ने गरेका छन्।

ड्युटीपछिको आफ्नो गायन यात्रालाई प्रहरी सङ्गठन र घरपरिवारले उत्तिकै साथ दिएकाले आफू हर्षित रहेको उनले बताए। सुदूरपश्चिमका अर्का परिचित देउडा गायक महेशकुमार औजी नातामा दाई पर्ने र उनी नै आफ्नो साङ्गीतिक क्षेत्रको प्रेरणाको स्रोत रहेको शेरीरामले बताए।

सुदूरका नौवटै जिल्लाको कला, संस्कृति र पर्यटकीय गन्तव्य समेटिएको उनको देउडा गीत ‘मेरी माया शीतलु छायाँ’ पनि निकै लोकप्रिय छ। प्रहरीको ड्युटी सकेर फुर्सदको समय गीतसङ्गीतमा बिताउने उनी बिदाका बेला सुदूरपश्चिममा हुने मेला महोत्सवहरूमा स्टेज प्रस्तुति दिन पुग्छन्।

उनले आफ्नो प्राथमिकता स्पष्ट पार्दै भने, ‘ड्युटी मेरो पहिलो प्राथमिकता हो। गीतसङ्गीतलाई पनि निरन्तरता दिने योजनासहित साङ्गीतिक क्षेत्रलाई सँगै लगेको छु।’ देउडा गीतहरू स्रोता र दर्शकले निकै मन पराएका कारण लगानीको प्रतिफल राम्रै आइरहेको र भारतीय सीमावर्ती क्षेत्रबाट समेत साङ्गीतिक प्रस्तुतिका लागि बोलावट हुने गरेको भए पनि समय मिलेमा मात्र जाने गरेको उनले जानकारी दिए।

समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै

सुर्खेत। पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ ।

सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ ।

पटकपटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताको शर्तअनुसार सम्झौता अन्त्य गरिएको डिभिजनका सूचना अधिकारी रुपेश केसीले जानकारी दिनुभयो ।

डिभिजनले सार्वजनिक सूचनामार्फत सुर्खेतमा सञ्चालित चारवटा सडक तथा पुल निर्माण आयोजनाको ठेक्का रद्द गरिएको जानकारी दिएको हो । सूचनाअनुसार निर्माण व्यवसायीले सम्झौताअनुसारको दायित्व पूरा नगरेको, पटकपटक काम सम्पन्न गर्न आग्रह गर्दा पनि अपेक्षित प्रगति नभएकाले कानुनी व्यवस्थाबमोजिम सम्झौता अन्त्य गरिएको उल्लेख छ ।

सम्झौता अन्त्य गरिएका आयोजनामध्ये सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत गोचे खोलामाथि प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पुल निर्माणको जिम्मा एमएस एड्भेन्चर जेभी बाँकेले पाएको थियो ।

त्यसैगरी, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा प्रिस्ट्रेस्ड आरसिसी पुल निर्माणको जिम्मा जयबुद्ध–नेपाल मेगा बिल्डर्स जेभी सुर्खेतलाई दिइएको थियो ।

यस्तै, सुर्खेत–जुम्ला सडकअन्तर्गत दैलेखको खुर्रा खोलामा आरसिसी पुल निर्माणको ठेक्का टिडीआर कन्स्ट्रक्सन प्रालि धनगढीले लिएको थियो भने रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल खण्डमा सडक पुनःस्थापना, नाला निर्माण तथा सडक संरक्षणको काम जनता बिल्डर्स भेरीगङ्गा–९ सुर्खेतले गरिरहेको थियो । यी चारवटै आयोजनामा सन्तोषजनक प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको सूचनामा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौताको जिसीसी अन्तर्गतका सम्बन्धी व्यवस्थाअनुसार ठेक्का अन्त्य गरिएको डिभिजनले जनाएको छ । साथै, सार्वजनिक खरिद नियमावलीअनुसार पोस्ट टर्मिनेसन इभालुएसन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने र सरकारलाई हुन गएको आर्थिक क्षति सम्बन्धित निर्माण व्यवसायीबाट असुलउपर गरिने पनि सूचनामा उल्लेख छ ।

डिभिजनले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न आग्रह गरेको छ ।

पछिल्लो समय निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा सडक तथा पुल आयोजना लम्बिने समस्या बढ्दै गएको भन्दै सरकारले रुग्ण ठेक्कामाथि कडाइ गर्दै आएको छ ।

पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल

पोखरा। आगामी सेप्टेम्बर २३ देखि सुरु हुन लागेको पोखरा–दुबई हवाई उडान सेवालाई दिगो र नियमित बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबिच छलफल भएको छ।

आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताएका छन्।

पोखरा–दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ छ। यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर मिल्ने महाप्रबन्धक शाहीले स्पष्ट पारेका छन्।

सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भइसकेको जानकारी दिएका छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबईको यो उडानलाई नियमित बनाउन सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको औँल्याएका छन्।

रेवान पोखरा र फ्लाइ दुबईका पदाधिकारीबिच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको छ। बैठकमा पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो।

यसबिचमा फ्लाइ दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ। सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले हाल सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ।

फ्लाइ दुबईको टोलीले केही समयअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको हो।

पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठुलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आसामा यहाँका पर्यटन व्यवसायी छन्। हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखका अन्तर्राष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ। यो विमानस्थलको उद्घाटन सन् २०२३ को जनवरी १ मा भएको थियो।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९० रुपैयाँ ०० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विश्वकप २०२६ : ब्राजिललाई हराउँदै नर्वे क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ – एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे ।

त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

सुनसरी। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज गृहमन्त्री सुधन गुरुङसँगै प्रतिष्ठानको निरीक्षण गर्दै उहाँले नवनिर्मित मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र (एमसिएच) भवनलाई आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा व्यवस्थापनसहित यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले एमसिएच भवन सञ्चालनमा आएपछि पूर्वी नेपालका सेवाग्राहीले गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री मेहताले प्रतिष्ठानमा एमआरआई सेवा पनि यथाशीघ्र सञ्चालनमा ल्याइने बताउँदै अत्याधुनिक उपकरणको व्यवस्था गरी विशेषज्ञसहितको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने मार्गमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानको हाताभित्र निर्माण सम्पन्न भएको एमसिएच भवन सञ्चालनसँगै आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन, आधुनिक उपकरण जडान तथा सेवा सञ्चालनलाई प्रभावकारी बनाउनु सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।

पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोग तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न मन्त्रालयले विशेष योजना बनाउने उल्लेख गर्दै मन्त्री मेहताले यस प्रतिष्ठान पूर्वी नेपालको मात्र नभई राष्ट्रिय महत्वको स्वास्थ्य प्रतिष्ठान भएकाले यसको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अध्ययन अध्यापन स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउन प्रतिष्ठानलाई योजनाबद्ध रूपमा अघि बढ्न निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुने पाँचौँ ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उक्त समिट यही असार २३ देखि २४ गतेसम्म चल्नेछ । प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुवै सङ्गठनका वरिष्ठ अधिकृतहरुले बिदाइ गर्नुभयो । उक्त समिटमा अन्तरराष्ट्रिय सहयोग सुदृढीकरण, प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

भ्रमणका दौरान महानिरीक्षक कार्कीले संयुक्त राष्ट्र सङ्घका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्स (युएई) का प्रतिनिधिमण्डलका सदस्यसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्नुहुनेछ ।

प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपु। नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमसम्बन्धी समीक्षा कार्यक्रममा उहाँले राजनीतिक स्थिरता कायम राख्दै सरकारले पाँच वर्षको जनादेशअनुसार काम गर्न पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको मुख्य जिम्मेवारी सिंहदरबारमा बसेर शासकीय सुधारलाई अघि बढाउनु रहेको उल्लेख गर्दै सभापति थापाले त्यसमा निरन्तरता कायम रहोस् भन्ने कांग्रेसको अपेक्षा रहेको बताउनुभयो।

उहाँले सरकारको कार्यशैलीका केही विषयमा पार्टीको असहमति रहे पनि प्रतिपक्षको जिम्मेवारीअनुसार रचनात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । “राजनीतिक स्थिरता तलमाथि नहोस् भनेर हामी सरकारलाई समर्थन गरेका छौँ । प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्छौँ, समर्थन गर्नुपर्ने ठाउँमा समर्थन गर्छौँ,” उहाँले भन्नुभयो ।

विगतमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले पनि बहुमतको सरकार सञ्चालन गरेको स्मरण गर्दै सभापति थापाले बहुमतलाई देश र व्यवस्थाको हितमा सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले पाएको पाँच वर्षको जनादेशलाई सम्मान गर्दै त्यसलाई सफल बनाउन आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो ।

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी साउन ३ गतेसम्मका लागि थप गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर, सानेपामा बसेको बैठकले नवीकरण गरी अध्यावधिक गर्न छुट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्ने समयावधि २०८३ असार २० गतेसम्म तोकिएको थियो । वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको कार्य जारी रहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो ।

क्रियाशील सदस्यता अध्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्नसक्ने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राप्त सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आवश्यक निर्णय गरी क्रियाशील सदस्यता अध्यावधिकको व्यवस्था मिलाउने छ ।

‘नागरिकले सरकारको १०० दिने उपलब्धि अनुभूति गर्न सकेनन्’ – आर्यन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले १०० दिनमा ठूलो उपलब्धि हासिल गर्ने दाबी गरेपनि परिणाममुखी काम गर्न नसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘सरकारको कर्तव्य र प्रतिपक्षको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारले सुरुमै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको र प्रतिपक्ष र सञ्चारकर्मीको दबाबपछि मात्रै त्यसमा केही सुधार आएको बताए ।

उनले भने, ‘सरकारले १०० दिनमा धेरै काम गर्छु भनेर ठूलो महत्वाकांक्षा देखाएको थियो। तर नागरिकले त्यसअनुसारको परिणाम अनुभूति गर्न सकेका छैनन्। सरकारले सुरुमै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको थियो। प्रतिपक्ष र सञ्चारकर्मीको दबाबपछि मात्रै त्यसमा केही सुधार आएको हो।’

बङ्गलादेशको निर्यातमा सामान्य कमी

काठमाडाैँ। सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको एक वर्षको समयमा बङ्गलादेशको निर्यात आम्दानीमा ०.५८ प्रतिशतले घटेर करिब ४८ अर्ब अमेरिकी डलरमा सीमित भएको छ।

निर्यात प्रवर्द्धन विभागले आइतबार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार जुन महिनामा देशले ४.२० अर्ब डलरको सामान निर्यात गरेको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा करिब २६ प्रतिशत बढी हो। यसको मुख्य कारण तयारी पोशाक (रेडिमेड गार्मेन्ट्स) को माग बढ्नु हो।

गत आर्थिक वर्षको कुल निर्यात आम्दानीमध्ये बङ्गलादेशले ३८.७० अर्ब डलर तयारी पोशाक (बुनेका गार्मेन्ट्स) बाट कमाएको छ।

बङ्गलादेशले आर्थिक वर्ष २०२५–२६ को लागि कुल ५५ अर्ब डलर निर्यात लक्ष्य राखेको थियो, जसमध्ये तयारी पोशाकबाट मात्र करिब ४५ अर्ब डलर कमाउने लक्ष्य थियो। बङ्गलादेशले तयारी पोसाकबाट सबैभन्दा बढी आम्दानी गर्छ।

चारआली ओभरपासः ५० प्रतिशत काम सम्पन्न

झापा। एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ । आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ।

एसियाली हाइवे परियोजना पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर सुनीलबाबु पन्तले चारआली ओभरपासको संरचनागत निर्माण आधाभन्दा बढी भइसकेको बताउँदै बाँकी कामलाई तीव्रता दिइएको जानकारी दिए । उनका अनुसार बिर्तामोड नगरपालिका-२ स्थित चारपाने खण्डमा निर्माण भइरहेको अर्को ओभरपासको प्रगति पनि करिब ३५ प्रतिशत पुगेको छ।

चारआली चोकमा निर्माणाधीन ओभरपासको पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर र्‍याम्प (भिरालो बाटो वा गाडी कुदाउने) रहने इन्जिनियर पन्तले बताए। ओभरपास सञ्चालनमा आएपछि पूर्व-पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामो दूरीका सवारीसाधन चोकमा नरोकी माथिल्लो संरचनाबाट गुड्नेछन् भने स्थानीय सवारीसाधनले तलको सडक प्रयोग गर्नेछन्। यसबाट ट्राफिक व्यवस्थापन, यात्रा समयको बचत तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आयोजनाको विश्वास छ।

इन्जिनियर पन्तका अनुसार बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण ढिलाइ हुनुको मुख्य कारण विद्युत्का खम्बा स्थानान्तरणमा भएको ढिलाइ हो। अहिले अधिकांश खम्बा सार्ने काम सम्पन्न भइसकेकाले यही सातादेखि निर्माण कार्य सुरु गरिने तयारी गरिएको उनले बताए।

सरकारले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्म ९५ दशमलव ७६ किलोमिटर पूर्व-पश्चिम राजमार्गलाई चारलेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । सोही आयोजनाअन्तर्गत चारआली, चारपाने, बिर्तामोड दमकसहित विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको हो।

चारआली ओभरपास निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको ट्राफिक जाम अन्त्य भई व्यापार-व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा स्थानीय व्यवसायी शरद् शिवाकोटीले व्यक्त गरे। उनका अनुसार अहिले दैनिकजसो हुने सवारी चापका कारण बजार क्षेत्र प्रभावित हुने गरेको छ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले ओभरपास निर्माणले मेचीनगरको शहरी स्वरूपमा नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले मेची पुलदेखि चारआलीसम्मको बजार क्षेत्रलाई व्यवस्थित बनाउन यस परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

स्थानीय बद्री महतले मेची राजमार्ग र पूर्व-पश्चिम राजमार्गको सङ्गमस्थल चारआलीमा ओभरपास निर्माण भएपछि यातायात थप सहज हुनुका साथै स्थानीय व्यापार, व्यवसाय र समग्र क्षेत्रीय विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा आफू आशावादी रहेको उनले बताए।

प्रविधिमार्फत निगरानी बढाउँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको छ ।

सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई निगरानी गर्दै कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।

कार्यालयका अनुसार प्रविधिमार्फत निगरानी बढाएपछि कारबाहीमा पर्ने सवारी चालकको सङ्ख्या उल्लेख्य बढेको छ । कार्यालयले एक वर्षमा कुल ३८ हजार ७७८ जना चालकलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

“चालकले सिटबेल्ट लगाएको छ वा छैन, सवारी चलाउँदै मोबाइल फोन प्रयोग गरेको छ वा छैन, धूमपान गरेको छ वा छैन भन्ने विवरणसमेत क्यामेराले रेकर्ड राख्छ”, उनले भने, “चालकले ट्राफिक नियम उल्लङ्घन गरेको पुष्टि भएपछि सम्बन्धित चालकलाई कानुनअनुसार कारबाही गरेका छौँ ।”

ट्राफिक प्रहरीका अनुसार सडकमा नियम उल्लङ्घन गरेर भाग्ने सवारी चालकलाई उक्त क्यामेरामार्फत पहिचान गरी जरिवाना तथा कानुनी कारबाही गरिँदै आइएको छ । साथै एएनपिआर क्यामेराले सवारीसाधनको नम्बर प्लेट मात्र होइन, चालकको गतिविधिसमेत निगरानी गर्ने गरेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार २०८२ वैशाखदेखि २०८३ असार २० गतेसम्म एएनपिआर क्यामेराको सहायताले १५ हजार ९५४ जना चालकलाई कारबाही गरिएको छ ।

त्यस्तै, सोही अवधिमा सिसिटिभी क्यामेराको निगरानीबाट २२ हजार ८२४ जना चालकलाई जरिवानासहित कारबाही गरिएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको बताए । उनका अनुसार कुनै सवारी दुर्घटना गराएर फरार भए पनि क्यामेराले सम्बन्धित मार्गबाट गुज्रिएका सवारीको नम्बर प्लेट र विवरण सुरक्षित राख्ने भएकाले अनुसन्धान र कारबाही गर्न सहज भएको छ ।

उनले भने, “दुर्घटना गराउने सवारी चालक भागे पनि उक्त सवारीको रङ, नम्बर प्लेट वा अन्य विवरणका आधारमा सम्बन्धित सवारी धनीसम्म पुगेर आवश्यक कानुनी कारबाही गर्ने गरेका छौँ ।”

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

नारायणगढ (चितवन) – चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड (विद्युतीय सूचना पाटी) मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा निजका आफन्तलाई मोबाइल फोनमार्फत सन्देश (एसएमएस) पठाई जानकारीसमेत गराइनेछ । अस्पतालमा आइसियुका शय्या प्रायः खाली नहुने भएकाले बिरामी आइसियु सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेकाको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले आइसियु जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न उक्त व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइसियु सेवामा थप पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको नाम विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था लागू गरेका हौँ । आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा आफन्तलाई फोनमार्फत सन्देश पठाइने व्यवस्था गरेका छौँ । यसले सेवा प्रवाहलाई थप व्यवस्थित र विश्वासनीय बनाउन सहयोग पुग्नेछ ।”

अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी) काउन्टरबाट आइसियुमा भर्नाका लागि आवश्यक विवरण प्रविष्ट गरिनेछ । यस व्यवस्थाले आइसियुमा शय्या खाली भए/नभएको जानकारी सहज रूपमा प्राप्त गर्न सकिने तथा आवश्यकताका आधारमा सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालले जनाएको छ । यस व्यवस्थाले आइसियु शय्याको उपलब्धतासम्बन्धी जानकारी सहज बनाउनुका साथै चिकित्सकीय प्राथमिकता र निर्धारित प्रक्रियाअनुसार सेवा प्रवाह गर्न सहयोग पुग्ने प्रवक्ता डा सापकोटाले बताउनुभयो ।

छ सय शय्याको भरतपुर अस्पतालमा हाल वयस्कतर्फको सघन उपचार सेवाअन्तर्गत पुरानो आइसियु (एमआइसियु र एआइसियु) मा १८ शय्या, नयाँ आइसियु तथा सिसियुमा १८ शय्या र बर्न वार्डको आइसियुमा दुई शय्या गरी कूल ३८ शय्या सञ्चालनमा रहेका छन् । बालबालिका तथा नवजात शिशुका लागि ३५ शय्याको आइसियु सेवा उपलब्ध छ । अस्पतालको आकस्मिक विभागमा ५० शय्या छन् । अस्पतालमा दैनिक रूपमा तीन हजारभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् ।

अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम

गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू ‘अत्यन्त खतरनाक’ आँधीको जोखिमबाट बच्न आइतबार आपतकालीन उद्धार केन्द्रहरूमा भेला हुन थालेका छन् । आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्नसक्ने बताइएको छ ।

बावी नाम दिइएको अत्यन्त्यै वेगसहितको आँधी स्थानीय समयअनुसार सोमबार बिहान करिब १०ः०० बजे यस क्षेत्र हुँदै पश्चिमतर्फ बढ्ने अनुमान गरिएको छ । यसको हावाको गति २६० किलोमिटर प्रति घण्टा रहने अनुमान गरिएको छ । यो गति पाँचौँ तहको चक्रवात (हुरिकेन) को बराबर हो ।

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लयुएस)ले आँधीलाई ‘अत्यन्त खतरनाक’ भनेको छ र आइतबार दिउँसो वा साँझदेखि उष्णकटिबन्धीय हावाको लहर चल्ने तथा प्रणालीको केन्द्र नजिक ‘विनाशकारी’ क्षति हुने चेतावनी दिएको छ।

एनडब्लयुएसले भनेको छ, “भारी वर्षाबाट ठूलो बाढी र तटीय क्षेत्र डुबानमा पर्ने सम्भावना छ ।” समुद्रमा करिब १० तले भवनको उचाइ जत्ति अर्थात् ३५ फिट (१०.७ मिटर) सम्मको लहरहरूले ‘अत्यन्त खतरनाक’ अवस्था सिर्जना गर्नेछ ।

आइतबार गुआममा सडकमा थोरै गाडीहरू मात्र देखिन्थे किनकि भारी वर्षा र बलियो हावाले टापुलाई प्रभावित पारिरहेको थियो ।

आँधी आउने भनिएको क्षेत्रकी ५५ वर्षीया पिन्की कुबाकुबले आफ्नो रेष्टुरेन्टको झ्यालहरू बन्द गर्दै भन्नुभयो, “म शनिबार बिहानै ५०० डलरको प्लाईउड किनेर ढोका तथा झ्यालहरूलाई थप मजबुत् पार्दैछु ताकि आँधीबाट संरचनामा कम क्षति होस् ।”

उहाँले एएफपीसँग भन्नुभयो, “म धेरै दिन घर बाहिर बस्न सक्दिनँ । यो मेरा लागि दुःखद् हुनेछ, किनकि म अहिले भर्खरै रोजगारी सुरु गरेको छु, हामीले अहिले जे कमाइरहेका छौँ त्यो भाडा, उपभोग्य सामान, कर्मचारी र अन्य सामग्रीका लागि मात्र हो। म आफैंलाई पनि तलब दिइरहेकी छैन।”

४८ वर्षीया कल सेन्टरकी कर्मचारी अरबेला पाउलिनोले भन्नुभयो, “मेरी छोरीहरूले मलाई डरलाग्दो हुनेछ भनिरहेका छन्, तर मैले सबै ठीक हुनेमा आशा गरिरहेकी छु ।”

“मेरो घर कङ्क्रीटको छ, त्यसैले सबैभन्दा खराब केही भएमा आँधीले झ्याल फुट्न सक्छ, अरू केही नहोला,” उहाँले भन्नुभयो ।

अर्की एक २५ वर्षीया जापानी पर्यटक मिकु सकुराईले आफ्ना साथीहरूसँग आइतबार टोकियो फर्कने तयारीमा ।हेको तर मौसमका कारण उनीहरूको उडान रद्द भएपछि त्रासबीच अलपत्र बनेको बताउनुभयो । “आँधी आउँदा हामी होटलमै बस्नेछौँ तर मलाई डर लागिरहेको छ,” उहाँले भन्नुभयो ।

गुआमको ‘तालोफोफो बे’मा रहेको एक समुद्र तटमा एक दर्जन जति सर्फरहरूले भने हावाको फाइदा उठाइरहेका थिए ।

“पानीमा धेरै धुलो र फोहोरे छ तर धेरै रमाइलो छ,” उनीहरूमध्ये एकले भन्नुभयो ।

ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख

अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि भनेका छन् । यस अवसरमा उनले आफ्ना घरेलु विरोधीहरूलाई ‘कम्युनिस्ट’ भनेर विपक्षीमाथिको आफ्नो यसपहिलेको आक्रमणलाई निरन्तरता दिए ।

वाशिङ्गटनमा आँधीका कारण भीडलाई केही समयका लागि खाली गर्नुपरेकोले केही घण्टा ढिलो भएको सम्बोधनमा ट्रम्पले भने, “मेरो राष्ट्रपतिकालमा संयुक्त राज्य अमेरिका ‘पहिलेभन्दा अझै बढी गर्विलो’ बनेको छ ।”

राष्ट्रपति ट्रम्पले राष्ट्रिय उत्सवमा आफ्नो छाप छोड्न ठूलो राजनीतिक र्‍ यालीको वाचा गर्नुभएको थियो तर ८० वर्षीय रिपब्लिकनले मुख्य रूपमा आफ्नो सम्बोधनलाई परम्परागत देशभक्तिपूर्ण भाषणमै सीमित गरेका थिए।

“अढाई शताब्दीदेखि हाम्रो अमेरिकी गणतन्त्र मानव इतिहासको सर्वोच्च उपलब्धिको रूपमा खडा छ,” राष्ट्रपति ट्रम्पले ‘नेशनल मल’मा जम्मा भएका हजारौँ समर्थक तथा शुभेच्छुकको भीडमा भने ।

मञ्चमा उहाँले दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध र भियतनाम युद्धका राजनीतिक तथा सैनिक नेतृत्व र अन्य योगदानकर्ताहरूको भूमिकाको उच्च प्रशंसा गर्दै उनीहरूप्रति सम्मानभाव प्रकट गरे।

त्यसैगरी उनले पछिल्ला दुई युद्धलाई ‘कम्युनिस्ट’ विरुद्धको लडाईको उदाहरणको रूपमा प्रस्तुत गरे । उनको यो भनाइ उनले शुक्रबार राति माउन्ट रशमोरमा दिएको भाषणको सन्देशसँग मिल्दोजुल्दो थियो।

“हाम्रा योद्धाहरूले विश्वका विभिन्न युद्धभूमिमा ‘कम्युनिजम’विरुद्ध लडे, तर अब त्यही खतरा अमेरिकामै फर्केर टाउको उठाउँदै छ। हामी यसो हुन दिनेछैनौँ,” उनले भने।

—अमेरिकी हुनुमा गर्व—

ट्रम्पले पछिल्ला दिनमा अमेरिकामा केही समूह समाजवादी व्यवस्थाको पक्षधरताका लागि काम गरिरहेको भन्ने बिषयलाई शनिबार पनि दोहो¥याउनुभएको थियो । नोभेम्बरको ‘मिडटर्म’ निर्वाचनअघि डेमोक्रेटिक पार्टीको वामपन्थी पक्षले प्राइमरीमा धेरै जित हासिल गरेपछि उनले यो अभियान चलाइरहेका छन् ।

“यो क्यान्सर जस्तै हो, यसलाई काटेर फाल्नुपर्छ,” उनले थपे ।

राष्ट्रपति ट्रम्पले इरान र भेनेजुएलाविरुद्ध हालैका सैन्य अभियानको पनि बढाई चढाई गर्दै ए र वाशिंगटनले तेहरानको सेनालाई “समाप्त” गरेको दाबी गरे।

तर ट्रम्पको मापदण्डअनुसार यो भाषण छोटो थियो, यो करिब ४५ मिनेट मात्रको थियो ।

“हामी ट्रम्पलाई माया गर्छौँ, उनको भनाइ पनि मन पर्यो,” भर्जिनियाबाट श्रीमती न्यान्सीसँग कार्यक्रममा आएका ७० वर्षीय रिचर्ड सुलिभानले भने । उनले ‘फ्रिडम २५०’ टि–शर्ट लगाएको थियो ।

दश ओलम्पियन खेलाडी सम्मानित

कैलाली – सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज यहाँ कार्यक्रम आयोजना गरी खेलका माध्यमबाट सुदूरपश्चिमको पहिचान स्थापित गराउन योगदान पुर्‍याउने १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

परिषद्ले सबैलाई जनही रु ७० हजारसहित दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको हो । बक्सिङका विष्णुबहादुर सिंह, बक्सिङकै डम्मरदत्त भट्ट, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका भरतबहादुर साउद, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सरस्वती भटराई, तेक्वान्दोकी निशा रावल, ब्याडमिन्टनका प्रिन्स दाहाल, पारा एथलेटिक्सका विक्रमबहादुर राना र पारा तेक्वान्दोका भरतसिंह महता सम्मानित भएका हुन् ।

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

कर्णाली। डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जगदुल्ला-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिनुभयो । उक्त जिपमा चालकसहित १२ जना सवार रहेकामा अन्य ११ जना घाइते भएका छन् ।

उहाँका अनुसार घाइते हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-७ का ४६ वर्षीय नन्दराम शाही, वडा नं ३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका-६ का २८ वर्षीय लालदेवी रोकाय, चार वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धीरेन्द्र बूढाथोकी, दुई वर्षीय प्रितम बुढा, काइके गाउँपालिका-३ का ४४ वर्षीय भीमप्रसाद बुढा रहेका छन् ।

त्यस्तै, उक्त दुर्घटनामा परी जुम्लाको सिञ्जा गाउँपालिका-३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका-४ का ६४ वर्षीय नित्यानन्द अधिकारी र बोलेरो चालक चन्दननाथ नगरपालिका-८ का अन्दाजी ३५ वर्षीय विन्दास रावल घाइते भएका प्रहरी निरीक्षक रावलले जानकारी दिनुभयो ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स र एउटा गाडीमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको सूचना अधिकारी रावलले बताउनुभयो । उहाँका अनुसार दुर्घटना कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ आयोजनाको अपेक्षित भौतिक प्रगति नभएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चासो व्यक्त गरेका छन्।आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले समय सीमाभित्र आयोजना सम्पन्न गर्न सम्वद्ध पक्षलाई निर्देशन दिए। आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिको ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुने परिकल्पना गरिएको छ।

मन्त्री श्रेष्ठले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लामा कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कर्मचारी तथा लाभान्वित किसानसँग अन्तरक्रियासमेत गरेका थिए। उनले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माणलाई तीव्रता दिन सुझाव दिए।

राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि आफूले आवश्यक पहल गर्ने उनले बताए। बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल र प्रभावकारी बनाइने उनको भनाइ थियो।

उनले सिक्टा सिँचाइ आयोजना पूर्वाधार निर्माणमा मात्र सीमित नरही बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा किसानको आयआर्जन बढाउने दीर्घकालीन आधार बन्ने उल्लेख गरे। सो क्रममा स्थानीय किसानसँग प्रत्यक्ष छलफल गर्दै रोपाइँको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूले भोगिरहेका समस्या र सुझावसमेत लिएका थिए।

आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत भएको यस आयोजनाको स्वीकृत गुरुयोजनाअनुसार कुल अनुमानित लागत करिब रु ५२ अर्ब ८९ करोड रहेको छ। आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने योजना रहेकामा हाल दोस्रो चरणको कार्य अघि बढिरहेको छ। आव २०८९/९० भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हालसम्म आयोजनाको करिब ५० दशमलव ५० प्रतिशत भौतिक तथा ४५ दशमलव ५३ प्रतिशत वित्तीय प्रगति भएको छ। यस अवधिसम्म करिब रु २४ अर्ब आठ करोड खर्च भइसकेको छ। यस्तै करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको आयोजनाले जनाएको छ।

पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

काठमाडाैँ । पश्चिम एसियामा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस)ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ।विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्छ। साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन बैठकमार्फत छलफल गर्नेछन्।

स्विस बैङ्क युबिएसका कमोडिटी विश्लेषक जियोभानी स्टौनोभोका अनुसारओपेक प्लसले अघिल्ला महिनामा सुरु गरिएको उत्पादन कटौती फिर्ता लिने प्रक्रिया जारी राख्दै दैनिक करिब एक लाख ८८ हजार ब्यारेल उत्पादन बढाउन सक्ने सम्भावना छ।

पश्चिम एसियामा हालैको द्वन्द्वका क्रममा ‘स्टे«ट अफ होर्मुज’मा भएको अवरोधले तेल आपूर्ति प्रभावित पारेको थियो। हालै इरान–अमेरिकाबीच भएको समझदारीपछि समुद्री आवागमनमा सुधार देखिएको छ।

विश्लेषकका अनुसार आपूर्ति प्रणाली क्रमशः सामान्य हुँदै गएपछि तेलको मूल्य युद्धपूर्वस्तरमा फर्किएको छ भने दैनिक आपूर्ति पनि पुनः वृद्धि हुँदै गएको छ।

स्याक्सो बैङ्कका विश्लेषक ओले ह्यान्सेनले रोकिएको उत्पादन पुनः सुरु गर्न समय लाग्ने बताउँदै निकट भविष्यमा उत्पादन वृद्धिको गति अझ बढ्न सक्ने सङ्केत गरेका छन्।विशेषज्ञहरुले आगामी वर्ष बजारमा आपूर्ति अधिक हुन सक्ने अनुमान गरेका छन् । तर उत्पादन क्षमता पुनः मूल्याङ्कन र कोटा निर्धारणजस्ता विषयहरू ओपेक प्लसभित्र चुनौतीपूर्ण बन्न सक्ने चेतावनी पनि दिइएको छ।

समयानुकूल मौद्रिक नीति ल्याउन सरोकारवालाको सुझाव

काठमाडौँ । सरोकारवालाले आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव दिएका छन्।प्रतिनिधिसभाको अर्थ समितिको आइतबारको बैठकमा पूर्वगभर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता सङ्गठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेटनुपर्नेमा जोड दिए।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले मुलुकको खस्कँदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने धारणा राख्नुभयो । वित्तीय नीति र मौद्रिक नीतिको तादम्यता हुनुपर्नेमा जोड दिँदै उहाँले केन्द्रीय बैंकको स्वायत्ततालाई कायम राख्नुपर्ने बताए।पूर्वगभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरे।

पछिल्लो अवस्थालाई ख्याल गर्दा केन्द्रीय बैंकले बैंक दर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कडा बनाउने आधार नभएको उनको भनाइ थियो । उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले ब्याजदर तथा अन्य मौद्रिक उपकरण थप कसिलो बनाउनु जरुरी भएको उल्लेख गरे। उनले आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका नीतिहरू सहजताका नाममा हटाउन नहुने तर्क गरे।

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताए। मौद्रिक नीतिको उद्देश्य मुद्रास्फीति नियन्त्रण गर्ने र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भएकाले सोहीअनुसार नै जिम्मेवारी पूरा गर्ने उनको भनाइ थियो । बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा व्यवस्थापनका लागि ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्न उनले सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने बताए। मुलुकको अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार भएका खण्डमा धेरै सहज हुने उनको कथन थियो ।

देशमा रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने भएकाले निजी क्षेत्रलाई साथ र सहयोग जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो।नवील बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंक तथा वित्तीय संस्था समस्यामा जानु भनेको मुलुक पनि समस्यामा जानु हाे भन्ने बुझेर मौद्रिक नीति तय गर्नुपर्ने धारणा राखे । परिस्थितिका कारण बैंकको साँवा र व्याज तिर्न नसक्ने र जानाजान नतिर्नेहरुको वर्गीकरण हुनुपर्ने उनको भनाइ थियो । बैंकिङ प्रक्रियालाई सरल बनाउनका लागि उहाँले कानुनी सुधारको आवश्यकता औँल्याए।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पछिल्ला दिनमा देखापरेको आर्थिक शिथिलतालाई ख्याल गरेर नीति तय हुनुपर्ने बताए । अध्यक्ष कोइरालाले कर्जा नोक्सानीसम्बन्धी प्रावधानमा केही परिमार्जन जरुरी रहेको उल्लेख गरे।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष प्रचण्ड श्रेष्ठले बैंकिङ क्षेत्र अहिले समस्यामा रहेकाले केन्द्रीय बैंकले थप अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तर्क गरे। सूक्ष्म निगरानी र खराब कर्जाको वर्गीकरणमा हुने थोरै लचकताले पनि बजारमा सकारात्मक सन्देश जाने उनको भनाइ थियो।बैठकमा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष भीमप्रसाद घिमिरे, अर्थतन्त्रका जानकार नरबहादुर थापालगायतले समयानुकूल मौद्रिक नीतिको आवश्यकता औँल्याए।

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई ध्यानाकर्षण गराइएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आइतबार दुलेगौडामा मन्त्री लम्साललाई भेट गरी विगत केही वर्षदेखि अलपत्र रहेको दुई सडक निर्माणमा ध्यानाकर्षण गराएको हो।

विगत केही वर्षदेखि अलपत्र रहेका दुई सडकका सन्दर्भमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रश्न उठ्दै आइरहेकाले तत्काल सडक निर्माण हुने वातावरण सिर्जना गरिदिन लम्सालको ध्यानाकर्षण गराइएको रास्वपा शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्काले बताए।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत निर्माणाधीन दुलेगौडा–हर्कपुर मोटरमार्ग वि.सं. २०७६ कात्तिक ४ गते ठेक्का सम्झौता भई वि.सं. २०७८ माघ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि पटकपटक म्याद थप्दा पनि उल्लेखनीय प्रगति नभएको उल्लेख गरिएको छ।

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण स्थानीयवासी, विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै रास्वपाले हालको ठेक्का सम्झौता रद्द गरी ठेकेदारमाथि कानुनी कारबाही तथा जरिवाना गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएर सडक निर्माण शीघ्र सम्पन्न गर्न माग गरेको छ।

त्यसैगरी विश्व बैंकको सहयोगमा सञ्चालित दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति आयोजना रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ लागतमा निर्माण भइरहेको उल्लेख गर्दै वि.सं. २०८२ असार २३ गते सम्पन्न हुनुपर्ने आयोजना ठेकेदारको लापरबाहीका कारण अझै अलपत्र रहेको जनाएको छ ।रास्वपाले उक्त आयोजनाको निर्माण तत्काल सुरु गराई निर्धारित समयमै सम्पन्न हुने वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन मन्त्रीसमक्ष आग्रह गरेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ३८, आलु रातो (मुढे) प्रतिकिलो रु ३८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु २५, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ४०, चुकन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु १००, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।

डोल्पामा बाढीका कारण एक महिलाको मृत्यु

डोल्पामा बाढीका कारण एक महिलाको मृत्यु भएको छ । गएराति जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहित बाढी आउँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुङ्गासहितको बाढी गाउँमा पसेको प्रहरीले जनाएको छ ।

बाढीमा घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो भने घाइतेलाई उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो ।

चितवनको बेलहट्टामा हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गयो

चितवन। भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आइतबार अर्थ समितिको १२औं बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउसो २ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुने छ ।

यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ ।लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ । उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म ३०५ जना सर्पले डसेर उपचारका लागि केन्द्रमा आइसकेका छन् । यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो ।

दैनिक ३ देखि ७ जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए । “अन्य समयमा पनि सर्पले डसेका बिरामी आउँछन्”, अध्यक्ष पौडेलले भने, “तर, फागुनबाट भदौ, असोजसम्म धेरै सर्पको डसाइका बिरामी उपचारका लागि आउँछन् ।”

मुसाको दुलो झाडीलगायतका ठाउँमा बस्न रुचाउने विषालु सर्प गर्मी बढेसँगै बाहिर निस्कने गर्दछन् भने रातको समयमा आहाराको खोजीमा निस्किएको सर्प मानिसको सामुन्ने हुँदा आक्रमण गर्ने विज्ञहरूको भनाइ छ । सर्पले मानिस खोज्दै नहिँड्ने तर, मानवीय गतिविधिका कारण सुरक्षा चुनौती महसुस गरी आफ्नो बचाउका लागि डस्ने केन्द्रका अध्यक्ष पौडेलले बताए ।

उपचार केन्द्रको तथ्याङ्कअनुसार यस वर्षको फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो हप्ता सकिनै लाग्दा ९१ जनालाई सर्पले डसेको छ । त्यसमध्ये विषालु कमन करेतले डसेका तीन जनालाई उपचारका लागि जनकपुर रिफर गरिएको स्वास्थ्य सहायक यादवले बताए ।

बाँकी सबैको केन्द्रमै उपचार भएको थियो । उपचारका लागि आउनेमध्ये पाँचदेखि सात प्रतिशत बिरामीको शरीरमा विष फैलिएको पाइने गरेको छ । भने १५ देखि २० प्रतिशत सुक्खा डसाइ तथा ७३ देखि ८० प्रतिशतसम्म डसाइको शङ्का लागेका र विष नभएका सर्पको डसाइको बिरामी आउने गरेका स्वास्थ्य सहायक यादवले बताए ।

एकैपटक दुई जनासम्मलाई आपत्कालीन उपचार सेवा प्रवाह गर्न सक्ने क्षमता रहेको यस केन्द्रमा दुई जना एमबिबीएस डाक्टर, दुई जना सीएमए, तीन जना एचए र दुई जना नेपाली सेनाका स्वास्थ्य समूहका प्राविधिक छन् । सर्पले डसे डस्ने सर्पको पहिचान गर्ने र ढिला नगरी उपचार केन्द्र पुर्‍याउनुपर्ने चिकित्सकहरू बताउँछन् । अझै पनि सर्पले डसेका बिरामीको झारफुकबाट विष झार्ने विश्वासमा बिरामीको ज्यान जाने गरेको भन्दै त्यसो नगर्न विज्ञहरूको सुझाव छ ।

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।

जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताए ।

“नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो”, उनले भने, “सडक विस्तारसँगै वन्यजन्तुको वासस्थान र आवागमनमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न यो संरचना निर्माण गरेका हौँ । यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक देखिएका अन्य उपयुक्त स्थानमा पनि यस्ता क्यानोपी ब्रिज निर्माण गर्ने योजना छ ।”

उनका अनुसार बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षणसँगै चालक र यात्रुको सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका ठुला पूर्वाधार आयोजनामध्ये एक हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ ।

यसअघि आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ भने जुन २०२६ सम्म समष्टिगत भौतिक प्रगति ९२।३८ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन, सडक सुरक्षा पूर्वाधार तथा अन्य संरक्षणका उपायहरू पनि कार्यान्वयन भइरहेका छन् ।

सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणलाई जोड दिँदै निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका आगामी सडक आयोजनामा पनि वातावरणमैत्री पूर्वाधार निर्माणको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको इन्जिनियर खनालले बताए ।

आजको मौसम : देशका यी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपासमा अवस्थित छ ।

हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ, बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।‌

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै, तराई भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेशका पनि एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षा साथै लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लाग्ने, बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा स्थानमा, कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११८ रुपैयाँ २६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २८ पैसा र बिक्रीदर २३ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा रहेको छ ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास

धनगढी । हरेक वर्षका बजेटमार्फत सडक बन्छन्, पुल थपिन्छन्, सिँचाइ आयोजना अघि बढ्छन् र विद्यालय तथा अस्पतालका भवन निर्माणका घोषणा दोहोरिन्छन् । यस अर्थमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पनि अपवाद होइन । ‘एक स्थानीय तहः दुई उत्पादन’, ‘एक घरः एक धारा’, ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’, ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’जस्ता कार्यक्रम विगतकै निरन्तरतास्वरुप आएका छन् ।

प्रदेश सरकारले यसपटक भने बजेटमार्फत नयाँ सोच अगाडि सारेको छ । बजेटलाई विकासको परम्परागत परिभाषाभन्दा बाहिर निकाल्ने प्रयास गरिएको छ । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र उद्यमलाई छुट्टाछुट्टै क्षेत्रका रूपमा नभई आपसमा जोडिएका विकासका आधारका रूपमा प्रस्तुत गरेको छ । उत्पादन, रोजगारी र पूर्वाधारसँगै सामाजिक रूपान्तरण, प्राकृतिक कृषि, डिजिटल सुशासन, युवा उद्यमशीलता र स्थानीय उत्पादनको ‘ब्रान्डिङ’लाई प्राथमिकतामा राखेको छ ।

यही असार १ गते ल्याएको रु ३७ अर्ब ७० करोडको बजेटमा सरकारले केही यस्ता कार्यक्रम अघि सारेको छ, जसको सफल कार्यान्वयन भएमा भौतिक पूर्वाधारमात्रै होइन सामाजिक क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पर्नेछन् ।

प्रदेश सरकारले आगामी आवलाई ‘प्राकृतिक खेती रूपान्तरणको आधार वर्ष’ घोषणा गरेको छ । सुदूरपश्चिमलाई प्राकृतिक तथा पर्यावरणमैत्री खेतीको प्रदेशका रूपमा विकास गर्न ‘प्रादेशिक रोडम्याप’ तयार गरिने उल्लेख छ । बजेटमा समेटिएको प्राङ्गारिक खेती विस्तार र विषादी अवशेषरहित खाद्य उत्पादनलाई प्रोत्साहन गर्ने नीति केवल कृषि कार्यक्रम होइन, जलवायु परिवर्तन, जनस्वास्थ्य र बजारलाई एउटै सूत्रमा बाँध्ने प्रयास हो ।

कृषिमा अर्को फरक सन्देश ‘पोखौँ पसिना, देशमै हाँसेर’ अभियानले दिएको छ । विदेशबाट फर्किएका र कृषि अध्ययन गरेका युवालक्षित उद्यमशीलता कार्यक्रमले युवा जनशक्तिलाई उत्पादनसँग जोड्ने नीति लिएको छ । यसका लागि रु दुई करोड पाँच लाख विनियोजन गरिएको छ । यसले बेरोजगारीलाई केवल सामाजिक समस्या नभई उत्पादनसँग जोडेर समाधान खोज्ने प्रयासका रूपमा लिन सकिने आर्थिक मामिला मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमार्फत उद्यमी बनाउने यो अवधारणा प्रदेश सरकारको रोजगारी नीतिमा नयाँ प्रयोगका रूपमा रहेको प्रदेशको नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारको भनाइ छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने सोच पनि बजेटको अर्को बलियो पक्ष हो ।

रैथाने उत्पादनको पहिचान, भौगोलिक सङ्केत (जीआई), ब्रान्डिङ, प्याकेजिङ र ‘सुदूरकोसेली’ अवधारणामार्फत प्रदेशका उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखिएको छ । धनगढी विमानस्थलमा सञ्चालन भइरहेको ‘सुदूरकोसेली घर’मार्फत नौवटै जिल्लाका स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने योजना स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रयासका रूपमा रहेको छ ।

कृषकले उत्पादन गर्नेमात्र होइन, मूल्य शृङ्खलामा सहभागी बन्नुपर्छ भन्ने सोच यसभित्र रहेको आयोगका सदस्य सुनारको भनाइ छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीका अनुसार प्रकृति र संस्कृतिको संरक्षणलाई एकीकृत गर्दै जलवायु परिवर्तनको चुनौतीबीच कृषि उत्पादनलाई दिगो बनाउन सरकारले लिएको नीतिलाई प्रदेशकै पहिचान निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।

यस्तै, मुख्यमन्त्री लघुउद्यम कार्यक्रममार्फत गरिबी सूचकाङ्कमा पछाडि रहेका अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका, बैतडीको सिगास र शिवनाथ गाउँपालिका तथा डोटीको शिखर नगरपालिकामा पोषण सुधार र आयआर्जन अभिवृद्धि गर्ने योजना अगाडि सारिएको छ । समाजको पिँधमा रहेका मुक्तकमैया, कम्लरी, हलिया र अव्यवस्थित बसोबासीको आवास निर्माण, जीविकोपार्जन सुदृढीकरण र आयआर्जनका गतिविधि सञ्चालनका लागि रु चार करोड विनियोजन गरिएको छ । शासन र सरकारले प्रदान गर्ने लाभबाट कोही पनि छुट्नुहुन्न भन्ने सोचसहित यो कार्यक्रम राखिएको देखिन्छ ।

त्यसैगरी, उच्च पहाडी जिल्ला बझाङ, बाजुरा र दार्चुलामा बृहत्तर भेडापालन कार्यक्रम सञ्चालन गरी उद्यमशीलता विकास तथा मूल्य शृङ्खलामा आबद्ध गर्न ऊन प्रशोधन तथा गलैँचा उद्योग स्थापना गर्ने भनिएको छ । त्यसका लागि रु छ करोड ५० लाख विनियोजन गरिएको छ । आधुनिक कृषि प्रविधिका कारण विस्थापित हुने अवस्थामा पुगेका हल– गोरुपालक किसानलाई प्रोत्साहन गर्न रु एक करोड ८० लाख छुट्याएर सरकारले खेतीकार्यमा परनिर्भरता हटाउने सोच राखेको छ ।

बजेटले डिजिटल सुशासनलाई पनि उच्च प्राथमिकता दिएको छ । सवारीसाधन र चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण अभिलेख डिजिटल बनाइने, दर्ता, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीसँग आबद्ध गरिने व्यवस्था गरिएको छ । यसले सेवाग्राहीको समय र खर्च बचाउनुका साथै सार्वजनिक सेवामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।

सामाजिक क्षेत्रमा पनि बजेटले फरक सन्देश दिन खोजेको छ । ‘सानै छु, बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियानलाई निरन्तरता दिँदै बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने भनिएको छ । जसका लागि रु एक करोड विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको यो अभियानले सामाजिक चेतना र व्यवहार परिवर्तनलाई नीतिगत प्राथमिकता दिएको देखिन्छ ।

यस्तै, कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबिबीएस÷एमडीजिपी अध्ययन गर्न ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रममा रु चार करोड ५० लाख, सामुदायिक क्याम्पसका विद्यार्थीलाई ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम, प्रत्येक जिल्लामा नमूना क्याम्पस विकास गर्न रु चार करोड ५० लाख विनियोजन गरी शिक्षा र रोजगारीबीचको सम्बन्धलाई जोड्ने प्रयास गरिएको छ ।

स्वास्थ्य क्षेत्रको बजेट पनि उपचारमा मात्र केन्द्रित छैन । गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र नागरिकको पहुँच वृद्धिका साथै समुदायको सहभागिताको विषयलाई पनि महत्त्व दिइएको छ । ‘मेरो स्वास्थ्यः मेरो जिम्मेवारी’ अभियानमार्फत नसर्ने रोग र मानसिक स्वास्थ्यलाई समुदायस्तरमै सम्बोधन गर्ने नीति लिइएको छ । थारू समुदायमा देखिने सिकलसेल एनिमिया, थालासेमिया र हेमोफिलियाजस्ता रोगको पहिचान र उपचारलाई विशेष कार्यक्रममार्फत अघि बढाउने व्यवस्था गरिएको छ ।

कृषि, वन र वातावरणबीचको अन्तरसम्बन्धलाई ध्यान दिँदै जलवायुमैत्री नमूना गाउँ, मानव–वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा बहुमूल्य नगदेबाली प्रवर्द्धन, सामुदायिक गौशालालाई बहुउद्देश्यीय उत्पादन केन्द्रका रूपमा विकास तथा जैविक मल र बायोग्यास उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत दिगो विकासको अवधारणालाई व्यवहारमा उतार्न प्रदेश सरकार प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्न खोजिएको छ ।

प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी, डिजिटल कर प्रणाली, लगानी सम्मेलन, स्टार्टअप प्रवर्द्धन र परिणाममुखी बजेट कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको छ । यी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनसके सुदूरपश्चिमको विकासमा नयाँ मोडेल निर्माण हुने प्रदेश सरकारका अधिकारीहरूको दाबी छ ।

यद्यपि यी कार्यक्रमको सफलता घोषणाले होइन, कार्यान्वयनले निर्धारण गर्नेछ । “प्रदेश सरकारले अघि सारेका धेरै कार्यक्रम विगतमा पनि घोषणा भएका थिए, तर अपेक्षित परिणाम दिन सकेनन् । त्यसैले यसपटकको सबैभन्दा ठूलो परीक्षा बजेट कार्यान्वयन, अन्तरसरकारी समन्वय, निजी क्षेत्रसँगको सहकार्य र प्रभावकारी अनुगमन हुनेछ”, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको भनाइ छ ।

यसपटकको बजेटमा केही नवीन सोच राखिए पनि बजेट निर्माण प्रक्रिया र योजना छनोटबारे भने यहाँ राजनीतिक हलहरूबीच मतभेद छ । प्रतिपक्षीमात्रै होइन, सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । मुख्यमन्त्री कमलबहादुर शाह भने बजेटमा केही त्रुटि भए पनि सहमतिमै बाँकी प्रक्रिया अगाडि बढ्नेमा विश्वस्त छन् ।

“बजेटमा केही प्राविधिक त्रुटि भएका छन्, त्यस विषयमा छलफल भइरहेको छ र चाँडै निष्कर्षमा पुग्छौँ । बजेट निर्माण प्रक्रियामा भएका त्रुटि एक्लैले समाधान गर्न सकिँदैन । यही असार २३ गते बस्ने प्रदेशसभा बैठकमा बजेट टेबल भएपछि बाँकी प्रक्रिया अगाडि बढ्छन् । म विश्वस्त छु कि बजेट सहमतिमै पारित हुनेछ”, उनले भने ।

पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा साविक उपविजेता फ्रान्सले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा फ्रन्सले पाराग्वेलाई १–० ले हराएको हो । यससँगै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ ।

खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत फ्रान्सका कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरी अग्रता दिलाएका थिए।

इरानले युरोपलाई एसी निर्यात गर्न तयार

अङ्कारा। इरानले युरोपेली राष्ट्रहरूलाई गर्मीका कारण सामान्य नागरिकहरूको जीवनमा आउने जोखिमबाट बचाउन प्रतिबन्ध हटाउन सुझाव दिएको छ ।
इरानमाथिको प्रतिबन्ध फुकुवा गरेमा युरोपमा अत्यधिक गर्मीका कारण त्यहाँको बजारमा एयर कन्डिसनर (एसी) र शीतलन अन्य उपकरणको अभाव देखिएको समय सहयोग गर्न तेहरान तयार रहेको टर्किएस्थित इरानी दूतावासले बताएको हो । “व्यापक उपकरण निर्यात गर्न इरान तयार छ तर यसका लागि इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी खुलाउन आवश्यक हुनेछ,” दूतावास स्रोतले भनेको छ।

एक्समा जारी एक पोस्टमा दूतावासले भनेको छ, “युरोपभरि देखिएको अकल्पनीय गर्मीको लहर र पर्याप्त शीतलन प्रणालीको अभावसँग जोडिएको निर्दोष मानिसहरूको दुःखद मृत्युको घटनालाई ध्यानमा राख्दै तेहरानले मित्रवत् सुझाव दिँदै आफ्नै जनतालाई बचाउनका लागि इरानमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।”

“हामी युरोपमा प्रशस्त एयर कन्डिसनर र विभिन्न शीतलन उपकरणहरूको निर्यात गर्न तयार छौँ,” इरानी स्रोतले भनेको छ।विज्ञप्तिमा भनिएको छ, “वर्षौंदेखिको प्रतिबन्धका बावजुद पनि इरानले आफ्नै स्वदेशी प्रविधिमा एसीको विकास र निर्माण गर्न सफल भएको छ ।

हामीसँग विशेषज्ञता छ, उत्पादन क्षमता छ र यदि युरोप आफैँलाई मद्दत गर्न तयार छ भने हामी मद्दत गर्न तयार छौँ ।”युरोपमा तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । गर्मीको समय अगावै आएको तीव्र गर्मीको लहरले महादेशभरि बिरामी, मृत्यु र पूर्वाधारको क्षति निम्त्याएको छ। जर्मनी, चेक गणतन्त्र र पोल्यान्डमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) पुग्दा आइतबार यातायात प्रणाली पूरै प्रभावित भएको थियो।

फ्रान्समा औसत २९.८ डिग्री सेल्सियस (८५.६ फरेनहाइट) तापक्रम रहेको छ भने यहाँको एक शहरमा घाम लागेको समय बाहिरी तापक्रम ४४ डिग्री सेल्सियस (१११.२ फरेनहाइट) सम्म पुगेको छ । फ्रान्समा तापक्रम वृद्धिका कारण आएको मौसमी आँधीले करिब एक हजार अतिरिक्त मृत्यु निम्त्याएको अनुमान छ ।

अल जजिराले उद्धृत गरेको विश्व मौसमको अध्ययनले यस्तो तीव्र गर्मी सन् २००३ को तुलनामा अहिले दसौं देखि सयौं गुणा बढी सम्भव भएको र ५० वर्ष अगाडि त यो अकल्पनीयरूपमा कम रहेको बताएको छ ।

अल जजिराले डल्युडल्युएको रिपोर्ट उद्धृत गर्दै भनेको छ, “सन् १९७६ मा गर्मीको लहर सामान्यतया अहिलेको भन्दा ३.५ डिग्री सेल्सियस बढी चिसो थियो भने सन् २००३ मा पनि दुई डिग्री सेल्सियस चिसो थियो ।”

यी अत्यधिक तापक्रमको तत्काल कारण भनेको एकै स्थानमा रोकिएकोे उच्च दबाव प्रणाली वा ‘हिट डोम’ हो, जसले कैयौँ दिन वा हप्तौँसम्म एउटै क्षेत्रमा गर्मीलाई थुनिराख्छ ।