`

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

रुपन्देही। शिक्षा तथा खेलकुदमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आज अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमशः बौद्ध दर्शनसँग सम्बन्धित विषयमा केन्द्रित गर्दै लैजाने सरकारको योजना रहेको उहाँले जानकारी दिनुभयो । अन्य विषयका कार्यक्रम सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका विश्वविद्यालयमार्फत सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

विश्वविद्यालयको उद्देश्य, प्रकृति र पहिचानअनुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले सरकारको योजनाअनुसार विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना र कार्यक्रमलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो ।

अवलोकनका क्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा माणिकरत्न शाक्यले विश्वविद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा भावी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराउनुभयो । रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले विश्वविद्यालयबाट सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रम, शैक्षिक संरचना तथा गतिविधिका बारेमा जानकारी दिनुभयो ।

विभिन्न विश्वविद्यालय तथा तिनका निकायको अवलोकन गर्ने कार्यक्रमअन्तर्गत सहकुलपति पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको भ्रमण गर्नुभएको हो ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले गर्नुभएको थियो ।

कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेज प्रालि जोडिएको छ ।एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेजबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम कन्सल्टेन्सीकी निर्देशक प्रिज्मा गौतमले हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै प्राइम कन्सल्टेन्सी एनपिएलको तेस्रो संस्करणमा कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरका रूपमा रहनेछ । प्राइम पहिलोपटक कर्णाली याक्ससँग जोडिएको हो ।

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले नयाँ साझेदारीले कर्णालीको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने बताउनुभयो । “कर्णालीसँग पहिलोपटक जोडिनुभएकोमा प्राइम कन्सल्टेन्सीलाई धन्यवाद दिन्छौँ । यो साझेदारीले कर्णालीलाई मैदानभित्र मात्र होइन् बाहिर थप व्यवस्थित र व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

प्राइम कन्सल्टेन्सीकी निर्देशक गौतमले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटसँग जोडिने अवसरका रूपमा लिएको बताउनुभयो । “कर्णालीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।

नेपाली क्रिकेट र एनपिएलले पछिल्लो समय ठूलो सम्भावना देखाइरहेको छ । यही यात्रामा कर्णालीसँग जोडिन पाउनु हाम्रो लागि महत्त्वपूर्ण अवसर हो । आगामी दिनमा कर्णाली याक्सको यात्रामा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ”, उहाँले भन्नुभयो ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गते (अक्टोबर २६ तारिख) देखि काठमाडौँमा सुरु हुँदैछ । लिगका लागि कर्णाली याक्सले विदेशी खेलाडीको रूपमा इङल्याण्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान चिन्तित

मुस्ताङ । केही दिनअघिको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित बनेका छन् । दसैँअघिको सोह्र श्राद्ध चलिरहेको र स्याउको खपत बढ्ने समयमा सडक अवरुद्ध भएपछि उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या भएको हो ।

दसैँ–तिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा म्याग्दी क्षेत्रमा सडक अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर मुस्ताङको स्याउ ढुवानीमा परेको छ । अहिले मुस्ताङका बारी तथा बगैँचामा पाकेर लटरम्म भएका स्याउ देखिन्छन् । तर, सडक अवरुद्ध हुँदा स्याउको बजारीकरण प्रभावित भएको किसानले बताएका छन् ।
म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्तालगायत दर्जनौँ स्थानमा बाढी र पहिरोले सडक संरचनामा क्षति पुर्‍याएपछि एक सातादेखि बेनी–जोमसोम सडक अवरुद्ध छ ।

छिटो पाक्ने अर्ली जातका स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने जातका स्याउ भदौ २२ गतेदेखि टिप्ने जिल्लास्तरीय निर्णय भएको थियो । हरितालिका तीजअघि मुस्ताङबाट केही स्याउ बजार पठाइए पनि ८० प्रतिशतभन्दा बढी स्याउको बजारीकरण हुन बाँकी रहेको किसान तथा व्यापारीले बताएका छन् ।

स्याउ टिपेर बजार पठाउने तयारी भइरहेका बेला सडक अवरुद्ध भएपछि उत्पादित स्याउ व्यवस्थापन गर्न समस्या भएको हो । मुस्ताङमा औसतमा वार्षिक सात हजार मेट्रिकटन स्याउ उत्पादन हुँदै आएको छ । यहाँ परम्परागत लोकल स्याउसँगै उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीसमेत हुँदै आएको छ ।

घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान कर्म गुरुङले सडक अवरुद्ध भएकाले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको बताइन् । सडक अवरुद्ध हुँदा इन्धन र विद्युत् आपूर्तिसमेत प्रभावित भएकाले टिपिएको स्याउ चिस्यान गृहमा राख्नसमेत समस्या भएको उनको भनाइ छ ।

झन्डै सात सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएको चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले टिपिएको स्याउ कुहिने जोखिम बढेको बताइन् । “अवरुद्ध सडकले किसानको मेहनत त्यसै खेर जाने जस्तो देखिएको छ । बोटमा भएका स्याउ पनि पाकेर झर्ने बेला भइसक्यो,” उनले भनिन्, “जतिसक्दो छिटो बाटो खुलाउन सके किसानलाई सबैभन्दा बढी राहत हुने थियो ।”

थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा उत्पादित स्याउको व्यापारसमेत ठप्प भएको बताए । उनका अनुसार तीजको समयमा करिब ५० प्रतिशत स्याउ बिक्री भइसकेको थियो । दसैँअघि बाँकी स्याउ बजार पठाउने तयारी भइरहेका बेला सडक बन्द भएको हो ।

यसपटक उत्पादन राम्रो भएकाले किसान र व्यापारी दुवै लाभान्वित हुने अवस्था रहे पनि ढुवानी रोकिएपछि दुवै पक्षलाई असर पर्ने तुलाचनले बताए ।

धादिङका स्याउ व्यापारी ऊर्जा तामाङ पनि तीन सातादेखि स्याउ व्यापारका लागि मुस्ताङमा छन् । तीन दशकदेखि मुस्ताङको स्याउ व्यापार गर्दै आएकी तामाङले यसपटक सडक अवरुद्ध हुँदा व्यापार नै प्रभावित हुने चिन्ता व्यक्त गरिन् ।

घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका आधा दर्जनभन्दा बढी बगैँचामा एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउको ठेक्का लिएकी तामाङले मुस्ताङमा सङ्कलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएर थन्किएको बताइन् । “स्याउ कहिले बजार पठाउन पाइन्छ भन्ने पर्खाइमा छौँ,” उनले भनिन् ।

मुस्ताङको स्याउ व्यापारमा जिल्ला बाहिरका ५० भन्दा बढी तथा स्थानीय २० भन्दा बढी व्यापारी संलग्न रहेको बताइएको छ । व्यापारीले भदौअघि नै बगैँचामा स्याउको मूल्याङ्कन गरी किसानलाई आंशिक पेश्की दिने र त्यसपछि स्याउ सङ्कलन, ग्रेडिङ तथा प्याकेजिङ गरी बजार पठाउने अभ्यास छ ।

सडक अवरुद्ध हुँदा स्याउको आन्तरिक बजारसमेत प्रभावित भएको छ । दसैँअघि हजारौँ पर्यटक मुस्ताङ आउने भएकाले स्थानीय किसानले स्याउ खरिद गरी पर्यटकलाई बिक्री गर्दै आएका थिए । तर, सडक अवरुद्धका कारण पर्यटकको आवागमन घट्दा स्याउको आन्तरिक बजारसमेत खस्किएको स्थानीय साना व्यापारीले बताएका छन् ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले सडक अवरुद्ध भएकाले तत्काल स्याउ नटिप्न किसान तथा व्यापारीलाई सुझाव दिइएको बताए । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी असर मुस्ताङका किसान र व्यापारीलाई परेको उनले बताए ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोबाट धेरै स्थानमा सडकमा क्षति पुगेकाले सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्न सक्ने बताए । सडक विभाग तथा निर्देशनालय पोखराले सडक खुलाउन आवश्यक सबै संयन्त्र परिचालन गरेको उनले जानकारी दिए ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनसँग सडक सम्पर्क जोड्ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात–निर्यातसमेत प्रभावित भएको छ । सडक अवरुद्धका कारण व्यापारिक गतिविधिसँगै राज्यको राजस्व सङ्कलनमा समेत असर परेको छ ।

कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

म्याग्दी। गत साताको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाटको परीक्षण उत्पादन सुरु गरेको एक साता नपुग्दै असोज ८ देखि ११ गतेको वर्षापछि बाढी आएर क्षति पुगेको हो ।

आयोजना प्रमुख राजबहादुर विष्टले कालीगण्डकीको बाढीले रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरमा रहेको विद्युत्गृहबाट पानी बगाउने ‘टेलरेस डग’को आधा भाग बगाएको र स्वीचयार्डमा रहेको ट्रान्सफर्मर नजिकैसम्म कटान गरेको बताउनुभयो ।

“पहुँचमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । झिँ र दग्नामको सिमानामा रहेको बाँधमा गेग्रान आएर थुप्रिएको छ”, उहाँले भन्नुभयो, “विपद्का कारण परीक्षणका लागि विद्युत् उत्पादन रोकिएको छ । कालीगण्डकीको कटानबाट जोखिममा परेको ट्रान्सफर्मरलाई जोगाउने प्रयास गरिरहेका छौँ ।”

कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाँढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युत्गृहतर्फ कटान गरेर बग्दा चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको करिब १५० मिटर सडक पनि बगाएको छ । विद्युत्गृहस्थलमा निर्माण गरिएको ‘स्वीचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाले परीक्षण उत्पादन थालेको दुई दिनमा बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द हुन पुगेको बताउनुभयो । पन्ध्र दिनको परीक्षण उत्पादन सम्पन्न गरेपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरे पनि बाढीले क्षति पुर्याएपछि अब एक महिनापछि मात्र व्यावसायिक उत्पादन सुरु गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बाढीले बगाएको छ ।

त्यसैगरी, कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोरको २२० केभी क्षमताको दाना-कुस्मा प्रसारण लाइनका टावर बगाएको छ । कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका-१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले जानकारी दिनुभयो ।

दाना-खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण-४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि-१, ७१ मेगावाट क्षमताको नीलगिरि-२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण सेवा बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा ग्रिड महाशाखाका प्राविधिकसहितको टोलीले क्षतिग्रस्त प्रसारण लाइन र टावरको स्थलगत अनुगमन सुरु गरी क्षतिको विवरण सङ्कलन थालेको छ ।

ग्रिड शाखाका प्रमुख रोशन खड्काले प्रसारण लाइन र टावरमा पुगेको क्षतिको स्थलगत निरीक्षण गरी विद्युत् आपूर्ति गराउने वैकल्पिक उपायको खोजी र प्रसारण लाइन पुनर्निर्माणलाई अघि बढाउन प्राविधिकसहितको टोली क्षतिग्रस्त स्थलमा परिचालन गरिएको जानकारी दिनुभयो ।

सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

काठमाडौँ। सभामुख डोलप्रसाद अर्याल यही असोज १८ गते तान्जानियामा हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५३औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्दै गर्दैछन् ।

सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो महासभामा जान लागेका हुन् । सो सम्मेलनमा १८३ देशका सभामुखसहितका सांसदहरूको उपस्थिति हुनेछ ।

सभामुख अर्यालले आइपीयूमा आफूले ‘इमर्जेन्सी’ प्रस्ताव पेस गर्न लागेको बताए । “महासभामा नेपालको सङ्घीय संसद्को विषयवस्तु र जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावका विषयमा पनि विशेष प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको छ”, उनले भने, “नेपालको सङ्घीय संसद्मा अहिले ४० वर्षभन्दा कम उमेर समूहका करिब ३७ प्रतिशतभन्दा बढीको उपस्थिति छ । यी र यस्तै विषयलाई महासभामा उठान गरिनेछ ।”

सभामुख अर्यालले महासभामा प्रस्ताव पेस गर्नका लागि पनि परराष्ट्र मन्त्रालयमार्फत करिब ५० भन्दा बढी राष्ट्रसँग समन्वय भइरहेको जानकारी दिए । केही सञ्चारमाध्यमले विदेश घुम्नकै लागि संसद् बैठक बन्द गरेर जान लागेको भन्ने टिप्पणी गरेकामा उनले आपत्ति प्रकट गरे । “सञ्चारमाध्यमले विभिन्न अफवाह फैलिने खालका समाचार तथा जानकारी सम्प्रेषण नगर्न पनि आह्वान गर्दछु”, उनले भने ।

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा राख्नुभएको विषयमा आधारित भएर संसारभरका सभामुखहरूसँग जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव, असर तथा जलवायु न्यायका लागि सहयोग गर्न आह्वान गर्ने सभामुख अर्यालले बताए ।

ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लागू गरिएका ऊर्जा नीतिका कारण आगामी वर्षहरूमा अमेरिकी परिवारको ऊर्जा खर्च बढ्न सक्ने एक अध्ययनले देखाएको छ ।

गैरदलीय अनुसन्धान संस्थाले गरेको विश्लेषणअनुसार सन् २०४० सम्म अमेरिकाका महादेशीय राज्यमा बसोबास गर्ने परिवारले ऊर्जा खर्चमा औसत ६ हजार ५ सय अमेरिकी डलर अतिरिक्त तिर्नुपर्ने अनुमान गरिएको छ । केही राज्यमा भने यो रकम अझ बढी हुन सक्ने अध्ययनमा उल्लेख छ । ओरेगन, मिसिसिपी, दक्षिण डकोटा, भर्जिनिया र वायोमिङका परिवारले सो अवधिमा करिब ९ हजार डलर अतिरिक्त ऊर्जा खर्च व्यहोर्नुपर्ने अनुमान गरिएको छ ।

अध्ययनका अनुसार ट्रम्प प्रशासनले स्वच्छ ऊर्जा परियोजनामा दिइँदै आएको सरकारी सहयोग घटाउनुका साथै विद्युतीय सवारीसाधन र कम प्रदूषण गर्ने सवारीसाधनलाई प्रोत्साहन गर्ने नीतिमा परिवर्तन गरेकाले प्राकृतिक ग्यास र पेट्रोलको माग बढ्न सक्छ । माग बढेपछि ऊर्जा तथा इन्धनको मूल्यमा पनि दबाब पर्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।

अमेरिकाका विभिन्न क्षेत्रमा पछिल्लो समय विद्युत्को महसुल मुद्रास्फीतिको दरभन्दा छिटो बढिरहेको छ । विशाल तथ्याङ्क केन्द्र र कृत्रिम बौद्धिकतासम्बन्धी प्रविधिको विस्तारले विद्युत्को माग थप बढाइरहेको बताइएको छ । यसबाहेक अन्तर्राष्ट्रिय द्वन्द्वका कारण तेल तथा पेट्रोलको मूल्यमा हुने उतारचढावले पनि अमेरिकी उपभोक्ताको खर्च प्रभावित हुन सक्छ ।

तर ट्रम्प प्रशासनले भने आफ्नो ऊर्जा नीतिले अमेरिकी परिवार र व्यवसायका लागि ऊर्जा सस्तो बनाउने दाबी गर्दै आएको छ । प्रशासनले कोइला र प्राकृतिक ग्यासजस्ता परम्परागत ऊर्जा स्रोतको उत्पादन तथा प्रयोग बढाएर देशको विद्युत् प्रणालीलाई थप स्थिर र भरपर्दो बनाउने बताएको छ ।

ट्रम्प प्रशासनले पूर्वराष्ट्रपति जो बाइडेनको स्वच्छ ऊर्जा केन्द्रित नीतिको तुलनामा जीवाश्म इन्धनलाई बढी प्राथमिकता दिएको छ । नयाँ नीतिमा स्वच्छ ऊर्जा कर छुटमा कटौती, विद्युत् उत्पादन केन्द्रसम्बन्धी वातावरणीय नियममा परिवर्तन, सवारीसाधनको इन्धन दक्षता मापदण्डमा खुकुलोपन तथा हावा, सौर्य र हाइड्रोजन परियोजनासम्बन्धी संघीय नीतिमा परिवर्तनलगायत विषय समेटिएका छन् ।

अध्ययनले संघीय नीतिका कारण सम्भावित रूपमा बढ्न सक्ने ऊर्जा खर्चको अनुमान गरेको हो । वास्तविक खर्च भने भविष्यमा तेल तथा ग्यासको मूल्य, विद्युत्को माग, मौसम, पूर्वाधार र समग्र आर्थिक अवस्थाजस्ता विभिन्न कारणमा निर्भर रहनेछ ।

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

काठमाडौँ । ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु’—नेपाली सेनामा भर्ती हुँदा लिएको यही शपथ अभिषेक शाहीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका बीच पनि बिर्सिएनन्। आफ्नो ज्यानको जोखिम मोलेर उनीसहितको टोली बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिइरह्यो।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्व र पश्चिमसम्म ठूलो क्षति पुर्‍यायो। बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनायो।

बाढी आएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका उद्धार टोली खोज तथा उद्धारमा सक्रिय छन्। जीवित व्यक्ति भेटिने सम्भावना न्यून हुँदै गए पनि बेपत्ताको शव फेला पार्ने उद्देश्यले खोजी कार्यलाई निरन्तरता दिइएको छ।

भोटेकोशीमा बाढी आएको दिन चारैतिर पानी, लेदो र गेग्रानले भरिएको थियो। आफन्त हराएका परिवारबाट ‘छिटो खोजिदिनुस्’ भन्ने आग्रह आइरहेको थियो। चारैतिर रुवाबासी थियो। जोखिम पनि उत्तिकै थियो। तर अभिषेकसहितको उद्धार टोली रोकिएन।

“हामीलाई आफ्नो ज्यानको माया गरेर बसिरहने छुट थिएन। त्यसबेला सेकेन्ड–सेकेन्डको अत्यन्त महत्व थियो। केही सेकेन्डकै कारण कसैको ज्यान जोगिन्थ्यो भने केही सेकेन्ड ढिला गर्दा कसैको ज्यान जान सक्थ्यो,” अभिषेकले भने।

बाढीको बहाव बढिरहेको थियो। लेदो र गेग्रानका कारण हिँडडुल गर्नसमेत कठिन थियो। कतिपय ठाउँमा खुट्टा गडेपछि निकाल्नसमेत समस्या हुन्थ्यो। जल विज्ञान तथा अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जोखिम यथावत् रहेको भन्दै सतर्क रहन पूर्वसूचना जारी गरिरहेको थियो।

तर उद्धार टोली भने जोखिमकै बीच प्रभावित क्षेत्रमा पुग्नुपर्ने अवस्थामा थियो।

“कतिबेला अर्को भेल आउँछ भन्ने निश्चित थिएन तर पनि डर लागेन। मर्नै परे पनि डर नमान्ने मानसिकताले हामीलाई साहस दिने रहेछ,” अभिषेकले भने।

मोबाइल नेटवर्कले काम नगरेका बेला उद्धार टोलीका लागि हाते रेडियो सेट अर्थात् वाकी–टकी सूचना आदानप्रदानको मुख्य माध्यम बनेको थियो। जोखिमसम्बन्धी सूचना रेडियोमार्फत प्राप्त हुन्थ्यो र त्यसकै आधारमा उद्धार टोलीले आफ्नो गतिविधि अघि बढाउँथ्यो।

टनेलभित्र जीवनको खोजी

बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको हुनसक्ने भन्दै उद्धार टोलीले तत्काल खोजी सुरु गर्‍यो। तर सुरुङभित्र लेदो र गेग्रान भरिएका कारण अगाडि बढ्न निकै कठिन थियो।

“बाढीपछि जलविद्युत् आयोजनामा मानिस फसेका छन् कि भनेर उद्धार जतिसक्दो छिटो गर्नुपर्ने थियो। तर टनेलमा लेदो यति बाक्लो थियो कि अगाडि बढ्नै सकिँदैनथ्यो। पानीको सतह पनि कम भएको थिएन। गेग्रानले बाटोसमेत चिनिँदैनथ्यो,” अभिषेकले भने।

उनका अनुसार सुरुङभित्र प्रवेश गर्नुअघि जोखिमको अवस्था बुझ्न आवश्यक थियो। त्यसैले सुरुआती तीन दिन पानी निकाल्ने र बाटो खुलाउने काम गरिएको थियो। त्यसपछि मात्रै कतिपय स्थानमा उद्धार टोली प्रवेश गर्न सकेको उनले बताए।

टनेलभित्र कुनै समस्या आए तत्काल सूचना दिन वाकी–टकी भरपर्दो माध्यम थियो। उद्धार टोलीले सम्भावित जोखिमको आँकलन गर्दै अघि बढ्ने गरेको थियो।

उद्धारमा खटिएका अर्का सैनिक जवान दीपक राईका लागि पनि त्यो समय सहज थिएन। भोक, तिर्खा, थकान र जोखिमका बीच उनीहरू अँध्यारो सुरुङमा टर्चलाइटको सहाराले जीवित मानिस तथा शवको खोजीमा जुटेका थिए।

कतिपय शव कुहिइसकेका अवस्थामा भेटिन्थे। शवको कुनै अंग समात्दा छुट्टिएर आउने अवस्था समेत रहेको राईले बताए। कुहिएका शवको दुर्गन्धका कारण वान्ता आउँथ्यो। सुरुङभित्र खानसमेत सकिने अवस्था थिएन।

तर आफन्तले आफ्ना प्रियजन जीवितै भेटिने आशा राखिरहेका हुन्थे। उद्धारमा ढिलाइ भएको भन्दै आउने गुनासोलाई पनि टोलीले स्वाभाविक रूपमा लिने गरेको राईले बताए।

“आफन्तहरू आफ्ना प्रियजन फर्किएलान् भन्ने आशामा हुन्छन्। त्यसैले आवेगमा आएर गुनासो गर्नु स्वाभाविक हो,” उनले भने।

तालिमले दियो कठिन अवस्थामा काम गर्ने साहस

विपद् व्यवस्थापनसम्बन्धी तालिम र नियमित अभ्यासले कठिन परिस्थितिमा काम गर्न सहज बनाएको राईले बताए।

“विपद्मा काम गर्न आवश्यक तालिम र अभ्यासले कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी बहन गर्न सिकाउने रहेछ। हामीले विपद्सम्बन्धी तालिम लिएका थियौँ, त्यसैले सहज भयो,” उनले भने।

तालिमसँगै आवश्यक उपकरण र कर्तव्यबोधले पनि उद्धारमा ठूलो सहयोग गरेको उनले बताए।

“हामीलाई मोटिभेसनले काम गर्छ। त्यसबेला हामीले जति ढिला गर्छौँ, बाँचिरहेका मानिस पनि मर्न सक्छन् भन्ने कुरा मात्रै दिमागमा आउने रहेछ,” राईले भने।

यही जिम्मेवारीबोधका कारण बाढी, लेदो र गेग्रानको जोखिमबीच पनि उद्धार टोलीले आफ्नो कामलाई निरन्तरता दियो।

सैनिक जवान प्रमोद केसीका लागि पनि बाढीपछिका सुरुआती चार दिन सबैभन्दा चुनौतीपूर्ण रहे। कतिपय सुरुङमा सात फिटसम्म लेदो जमेको थियो। सडक र पुल बगेका कारण पैदल हिँडेर समेत प्रभावित क्षेत्रमा पुग्न कठिन थियो।

“हराएकाहरूको खोजी गर्नुपर्ने थियो। घाइतेको उद्धार गर्नुपर्ने थियो। आफैँ जोखिममा पर्न सक्ने अवस्था भए पनि जोखिममा परेकालाई जोगाउनु हाम्रो कर्तव्य थियो,” केसीले भने।

जोखिमका बीच निरन्तर खोजी

भोटेकोशी बाढीपछि उद्धारमा खटिएका सैनिकका लागि जोखिम नयाँ थिएन। कतिपयका आफन्तले समेत पुनः जोखिम आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। तर बेपत्ता व्यक्तिको खोजी गरी परिवारलाई जानकारी गराउन सक्नु नै उनीहरूका लागि ठूलो सफलता थियो।

उद्धार सफल भएर कसैलाई जीवितै बाहिर निकाल्न सक्दा टोलीमा खुसी छाउँथ्यो। तर लामो प्रयासपछि पनि जीवन नभेटिँदा भने उद्धारकर्मीको मन भारी हुन्थ्यो।

सुजित जोशी, ज्ञानेन्द्र डाँगी, महेश कार्की, सुरेन्द्रकुमार रोकाय, इन्द्रबहादुर गुरुङ, दिनेश तामाङ र नारायण शर्मालगायतका सैनिक पनि भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा निरन्तर खटिएका छन्।

नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाका अनुसार सुरुङभित्र जोखिमपूर्ण अवस्थामा काम गर्दा उद्धार टोलीका केही सदस्यमा ज्वरो आउने, छाला चिलाउने र वान्ता हुनेजस्ता स्वास्थ्य समस्या पनि देखिएका थिए।

“कतिपय हाम्रा उद्धार टोलीका सदस्यलाई ज्वरो आउने, छाला चिलाउने, वान्ता आउनेलगायतका स्वास्थ्य समस्या पनि देखियो। यी लगायत अन्य जोखिमका बाबजुत पनि उनीहरू खोजी तथा उद्धारमा खटिए,” थापाले भने।

उनका अनुसार जोखिम मोलेरै भए पनि अरूको सुरक्षा गर्नु उद्धार टोलीको दायित्व थियो।

जलविद्युत् आयोजनामा जीवितै उद्धार

लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनाले बाढी आएको दिन भदौ १० गते नै हेलिकप्टरबाट रेकी गरेको थियो। आयोजनाको सुरुङमा भदौ १३ गतेदेखि भारतीय विज्ञ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार सुरु गरिएको थापाले बताए।

त्यस्तै, चिलिमे जलविद्युत् आयोजनामा पनि भदौ १० गते नै रेकी गरिएको थियो। भारतीय विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि खोज तथा उद्धार सुरु भएको उनले बताए।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि भदौ १० गते नै रेकी गरिएको थियो। चिनियाँ विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि खोजी सुरु गरिएको थियो।

“११औँ दिनको प्रयासपछि एक चिनियाँ नागरिकको जीवितै उद्धार गरियो,” थापाले भने।

त्यसैगरी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढी आएको १०औँ दिनमा दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको उनले बताए।

“लामो प्रयासपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सकिएको त्यो क्षण उद्धार टोलीका लागि खुसीको थियो। एकदमै खुसी महसुस भयो,” थापाले भने।

ड्रोनदेखि हवाई उद्धारसम्म

भोटेकोशी बाढीपछि नेपाली सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धारलाई निरन्तरता दिएको छ।

त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका क्षेत्रमा आधार बनाएर टोली परिचालन गरिएको थापाले बताए।

सडक सम्पर्क टुटेका स्थानमा जमिनबाट पुग्न सम्भव नभएपछि ड्रोनलाई समेत उद्धार तथा राहतको माध्यम बनाइएको थियो। दुर्गम बस्तीमा अत्यावश्यक खाद्यान्न तथा राहत सामग्री पुर्‍याउन नेपाली सेनाले ड्रोन प्रयोग गरेको उनले बताए।

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ परिवारले पाए लालपुर्जा

धनुषा – धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

यसअघि धनुषाका ४ हजार ५५४ परिवारले लालपुर्जा पाइसकेको जनाइएको छ।

भारतसँग आर्थिक सहकार्य विस्तारको ठुलो सम्भावना : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठुलो सम्भावना रहेको बताएका छन् । उनले प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको बताएका हुन् ।

विश्वव्यापी यातायात मार्गको विकाससम्बन्धी कार्यक्रममा बिहीबार पुटिनले भारतसँगको सहकार्य सप्लाइ व्यवस्थापनमा मात्र सीमित नरहेको बताए । चीन र दक्षिण कोरियाका व्यावसायिक जहाजसँग सहकार्य अघि बढाइसकेको जानकारी दिँदै उनले यस्ता अन्तर्राष्ट्रिय करिडोर संयुक्त रूपमा प्रयोग गर्न भारतसँग पनि छलफल भइरहेको बताए ।

अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोर (आईएनएसटीसी) को विकासमा रुस ऋण स्रोत उपलब्ध गराउन तयार रहेको तर इरानले आफ्नोतर्फको काम पूरा गर्नुपर्ने पुटिनले बताए । उक्त करिडोरको केही हिस्सा अजरबैजान हुँदै जाने भएकाले राष्ट्रपति इल्हाम अलियेभसँग सम्पर्क भइरहेको र अजरबैजान सहमत रहेको पनि उनले बताए ।

यसैबीच पुटिनले युक्रेन द्वन्द्व अन्त्यका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेको प्रयासको प्रशंसा गरेका छन् । मोदीले पारस्परिक रूपमा स्वीकार्य र शान्तिपूर्ण समाधान खोज्न निरन्तर जोड दिइरहेको उल्लेख गर्दै उनले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्ने भारतीय प्रधानमन्त्रीको इच्छाका लागि आफूहरू आभारी रहेको बताए ।

यसअघि अगस्टको सुरुमा रुसी उपप्रधानमन्त्री मारात खुसनुलिनले बोस्फोरस र हर्मुज जलघाँटीसँग सम्बन्धित पारवहन जोखिम कम गर्न हिन्द महासागरमा प्रत्यक्ष रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने बताएका थिए । उनले तुर्कमेनिस्तान, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै भारतसम्म पुग्ने वैकल्पिक मार्गको प्रस्ताव गरेका थिए ।

अमेरिका, इजरायल र इरानबीचको सशस्त्र वैमनस्यपछि हर्मुज जलघाँटीमा बढेको समुद्री अवरोधका कारण वैकल्पिक व्यापार मार्गको चर्चा बढेको हो । उक्त जलघाँटीबाट विश्वव्यापी तेल व्यापारको करिब २५ प्रतिशत तथा एलएनजी ढुवानीको करिब २० प्रतिशत हिस्सा हुने भएकाले यसको पारवहन व्यवस्था अन्तर्राष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ ।

सरकारी संरचना अनिवार्य बिमा गर्नुपर्ने

काठमाडौँ । सांसदहरूले जलवायु प्रकोपका कारण नेपालमा पटक–पटक ठूलो क्षति पुगेको भन्दै सरकारी संरचनाहरूको अनिवार्य बिमा गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले विभिन्न समयमा आएको बाढीपहिरोलगायत विपद्का घटनाका कारण ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक संरचनामा क्षति भएको उल्लेख गर्दै सरकारी संरचनाको अनिवार्य बिमा गर्न माग गरे । उनले खोज, उद्धार, राहत र पुनःनिर्माणमा ठूलो बजेट लाग्ने भएकाले सो कार्यलाई अनिवार्य गर्न सरकारको ध्यानाकर्षण गराए ।

“सरकारी संरचनाको अझैसम्म पनि बिमा हुन नसकेको देखियो”, उनले भने, “जुनसुकै विपद्पछि पुनःनिर्माणका लागि ठूलो रकम लाग्ने भएकाले ती संरचनाको अनिवार्य बिमा गर्ने वातावरण गराउन जरुरी छ”, उनले भने ।

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले यसअघिको सरकारले ६५७ वटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेअनुसार अस्पताल निर्माण हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पद्यकुमारी अर्यालले स्याङ्जाको आधिखोला जलविद्युत्को डीपीआर तयार भएर स्वीकृत भए पनि अहिलेको सरकारले सो परियोजना खारेज गर्न खोजिएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सो जलविद्युत् आयोजनालाई शीघ्र अघि बढाउन सरकारसँग अनुरोध गरिन् ।

एमालेकै सांसद निता घतानीले विगतको ३५ वर्षमा केही नभएको भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले सरकारले स्वदेशमा केही गरौँ भन्ने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुको सट्टा निरुत्साहित गर्दै आएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले खोटाङलाई पूर्वको कर्णालीका रूपमा चित्रित गर्दै जिल्लाका १० वटै पालिकामा वर्षाका कारण भत्किएको बाटो पुनःनिर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पछिल्लो समय राज्यप्रति नागरिकको विश्वास कमी भएको बताउँदै राज्य नागरिकको दायित्व पूरा गर्ने विषयबाट टाढा जान नसक्ने विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले ऊर्जा सङ्कटको विषयमा सरकारले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले केही समयअघि काठमाडौँ वरपरको अव्यवस्थित बस्ती व्यवस्थित गराउन सरकारले चालेको कदम प्रभावकारी भएको बताए ।

नेपाली कांग्रेसका सांसद सन्दीप रानाले यही असोज ८ देखि ११ गते आएको बाढीपहिरोले कालीगण्डकीको तटीय क्षेत्रमा सडक र पुललगायत संरचनामा ठूलो क्षति पुर्‍याएकाले तत्काल सडक र पुललगायत संरचना पुनःनिर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

एमालेका सांसद राजेन्द्रकुमार राईले चाडपर्व आउन थाले पनि धनकुटाका जनतामा खुसीयाली नभएको बताउँदै भोटेकोशीमा गएको बाढी प्रभावितको अहिलेसम्म जानकारी नपाउँदा परिवारका सदस्यहरू मर्माहित भएको बताए ।

श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले नेपाल टेलिभिजनबाट क्रिश्चियन धर्मसम्बन्धी कार्यक्रम बन्द गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

रास्वपाका सांसद भरतराज पराजुलीले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्न सरकारको ध्यानाकर्षण गराए । रास्वपाका सांसद वशुमाया तामाङले नेपाल वायु सेवा निगमको जहाज विदेशी मुलुकमा अलपत्र भएर यात्रुले गुणस्तरीय सेवा नपाएको विषयमा सरकारलाई ध्यानाकर्षण गराइन् । रास्वपाकै सांसद पारसमणि गेलालले आरोप–प्रत्यारोप र दोषारोपणमा समय खर्चिनु उपयुक्त नभएको बताए ।

रास्वपाका सांसद कुसुम महर्जनले निजी अस्पतालका बेड, क्याबिन र शय्याको शुल्क निर्धारण गर्न सरकारसँग माग गरिन् । रास्वपाका सांसद नरेन्द्रकुमार गुप्ताले अर्बौँ लगानीमा स्थापना भएका निजी उद्योग धरासायी हुने अवस्थामा पुगेकाले सरकारले ती उद्योगलाई प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्नुपर्ने बताए ।

एमालेका सांसद कृपाराम रानाले ३५ वर्षे अवधिमा केही नभएको भाष्य निर्माण गर्न खोजिए पनि सो अवधिमा आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा धेरै खालका सुधारका काम भएको बताए । रास्वपाका सांसद पुकार बमले गैरआवासीय नेपालीलाई पैसा र भोट बैंकका लागि मात्रै हेर्न नहुने बताउँदै विभिन्न क्षेत्रमा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरूलाई पनि नेपाल ल्याउने वातावरण मिलाउनुपर्ने बताए ।

रास्वपाका सांसद सीताराम साहले सप्तरीका विभिन्न ठाउँमा सरकारी धान खरिद केन्द्र स्थापना गर्न सरकारसँग माग गरे । एमालेका सांसद गुरुप्रसाद बरालले बाढीले क्षतिग्रस्त भएका संरचनाको निर्माणका लागि पुनःनिर्माण प्राधिकरणको आवश्यकता औँल्याए ।

रास्वपाका सांसद धर्मराज केसीले दसैँमा लाखौँ नागरिक आआफ्नो घरमा फर्किने भएकाले सुरक्षित वातावरणमा फर्किने वातावरण मिलाउन सरकारसँग अनुरोध गरे ।

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

काठमाडौँ। राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ ।अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको थियो ।

अधिवेशन अवधिमा ४० वटा बैठकमा शून्य समय सञ्चालन भएको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “उक्त समयमा ४५ जना सदस्यले पाँच घण्टा ५६ मिनेट र १७ वटा बैठकमा विशेष समय सञ्चालन हुँदा ४७ सदस्यले २१ घण्टा १० मिनेट समय उपयोग गर्नुभएको थियो ।”

उहाँले भन्नुभयो, “चारवटा बैठकमा प्रादेशिक सरोकार समय सञ्चालन भएकामा २७ जना सदस्यले पाँच घण्टा २७ मिनेट तथा नौवटा बैठकमा सञ्चालन भएको आकस्मिक समयमा २२ सदस्यले एक घण्टा ५६ मिनेट समय उपयोग गर्नुभएको थियो ।”

अध्यक्ष दाहालका अनुसार अधिवेशनमा सरकारले पेस गरेका आठ अध्यादेशमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभाबाट स्वीकृत भएका थिए ।

अधिवेशनका क्रममा राष्ट्रियसभामा उत्पत्ति भएका ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’, ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ र ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई पनि राष्ट्रियसभाले सहमति प्रदान गरेको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

“अधिवेशनमा अध्यादेश प्रतिस्थापन गर्ने छवटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइएको र ती प्रमाणीकरणसमेत भइसकेका छन् । विनियोजन विधेयक, २०८३, आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ दुवै सदनबाट पारित भई प्रमाणीकरण भएका छन्”, उहाँले भन्नुभयो, “त्यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभामा टेबुल गरिएको थियो । उक्त विधेयकसमेत यसै अधिवेशनमा प्रमाणीकरण भएको छ ।”

विपद् व्यवस्थापनमा विशेष प्रस्ताव

अधिवेशनका क्रममा राष्ट्रियसभाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । यसैगरी गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावितको उद्धार, राहत, पुनःस्थापना, सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार, शव व्यवस्थापन तथा भौतिक संरचनाको पुनर्निर्माणमा सरकारको विशेष ध्यानाकर्षण गराइएको थियो ।

अध्यक्ष दाहालका अनुसार भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न तथा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्नसमेत सरकारलाई आग्रह गरिएको थियो ।

त्यसैगरी, मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरी गृह मन्त्रालयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालका अनुसार अधिवेशन अवधिमा भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमनका लागि संसदीय विशेष समिति गठन गरिएको थियो ।

अधिवेशनमा ३५ वटा मौखिक प्रश्नोत्तर

अधिवेशनमा १५ मन्त्रालयसँग सम्बन्धित ३५ वटा मौखिक प्रश्नोत्तर सञ्चालन भएको थियो । परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित तीनवटा लिखित प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले राष्ट्रियसभामा टेबुल गर्नुभएको थियो ।

त्यस्तै, अर्थ, गृह र पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका सातवटा मौखिक र एउटा लिखित प्रश्नको उत्तरसमेत टेबुल भएको थियो । यस अवधिमा सङ्कल्प प्रस्तावका रूपमा प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हक संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्नेसम्बन्धी प्रस्ताव तथा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले चालु आर्थिक वर्षमा सरकारले सङ्घीय संसद्मा १६६ वटा विधेयक पेस गर्ने प्राथमिकता तय गरी संसद् सचिवालयमा पठाएको जानकारी दिनुभयो ।

पहिलो चौमासिकमा ६४ वटा विधेयक पेस गर्ने प्राथमिकता रहेकामा चालु आर्थिक वर्षमा सङ्घीय संसद्मा २४ वटा विधेयक दर्ता भएको र त्यसमध्ये प्रतिनिधिसभामा २२ तथा राष्ट्रियसभामा दुईवटा मात्रै विधेयक दर्ता भएको उहाँले बताउनुभयो ।

राष्ट्रियसभाले सरकारले ल्याएका विधेयकलाई प्राथमिकताका साथ छलफल गरी यथाशीघ्र पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभामा विधेयक कम पेस भएकाले कामकाज प्रभावित भएको जानकारी दिनुभयो ।

त्यसैगरी, अध्यक्ष दाहालले अधिवेशन सफलतापूर्वक सञ्चालनमा सहयोग गर्ने उपाध्यक्ष, समिति सभापति, सांसद, सङ्घीय संसद्का महासचिव, राष्ट्रियसभाका सचिव, सचिवालयका कर्मचारी, नेपाल सरकार, सञ्चारमाध्यम, नागरिक समाज तथा आम नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा राष्ट्रियसभाको गरिमा र प्रभावकारिता अभिवृद्धिका लागि सबै पक्षबाट थप महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले नजिकिँदै गरेका बडादसैँ, तिहार, छठ, नेपाल संवत्, इदलगायत पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी २२औँ अधिवेशनमा सुखद् भेटको अपेक्षा व्यक्त गर्नुभयो ।

काठमाडौंमा दसैँ–तिहार सुरक्षा कडा बनाइँदै, २२ प्रकारका ड्युटीमा प्रहरी परिचालन हुने

काठमाडौं । दसैँ–तिहारलाई लक्षित गर्दै काठमाडौंमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक दानबहादुर थापाले पत्रकार सम्मेलनमा सादा पोशाक र बर्दीमा प्रहरी खटाइने जानकारी दिए। उनले जोखिम बढेमा आवश्यकताअनुसार सुरक्षाकर्मीको संख्या थपिने बताए। चोरी, ठगी, लुटपाट र दुर्व्यवहार नियन्त्रणका लागि २२ प्रकारका ड्युटीमा प्रहरी खटाइनेछ। साथै, नाकामा चेकजाँच, कुकुर परिचालन र सीसीटीभीमार्फत निगरानी गरिने प्रहरीले जनाएको छ।

हिमलुङ हिमपहिरोमा भेटिएका १५ जनाको पहिचान खुल्यो, एक जना अझै बेपत्ता

मनाङ । हिमलुङ हिमाल आधार शिविरमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १६ जनामध्ये १५ जनाको शव भेटिएको छ । ओखलढुंगाका ३८ वर्षीय पासाङ नुरी शेर्पा अझै बेपत्ता छन् ।

मनाङ प्रशासनका अनुसार भेटिएका सबै शव चामे ल्याएर कानुनी प्रक्रिया पूरा गरी काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ । असोज १० गते मध्यराति हिमपहिरो गएपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताउनुभएकोे छ ।विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाजस्ता आर्थिक प्राथमिकता हासिल गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइया) द्वारा आज आयोजित ‘समृद्ध नेपालका लागि आर्थिक कूटनीतिः आर्थिक हितसँग विदेश नीतिको सामञ्जस्य’ विषयमा परराष्ट्रमन्त्री खनालले प्रस्तुति दिनुभयो ।

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री खनालका अनुसार बदलिँदो विश्व अर्थव्यवस्था, क्षेत्रीय प्रतिस्पर्धा र भू–राजनीतिक परिस्थितिका बीच नेपालले आफ्नो कूटनीतिक सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ । त्यसका लागि विदेशस्थित नेपाली नियोगहरूलाई व्यापार, लगानी र आर्थिक सहकार्यका सक्रिय प्रवर्द्धकका रूपमा परिचालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

मन्त्री खनालले आर्थिक कूटनीति सरकारको एउटा मन्त्रालय वा निकायको मात्र जिम्मेवारी नभई राज्यका सबै निकाय, निजी क्षेत्र, उद्यमी, व्यवसायी र प्रवासी नेपाली समुदायको साझा प्रयासबाट अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । आर्थिक कूटनीतिमा स्पष्ट राष्ट्रिय प्राथमिकता, संस्थागत समन्वय र परिणाममुखी कार्यशैली आवश्यक रहेको उहाँको भनाइ थियो ।

परराष्ट्रमन्त्री खनालले नेपालको आर्थिक हितअनुकूल अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालन गर्न स्पष्ट दृष्टिकोण र समन्वित कार्ययोजना आवश्यक रहेको बताउनुभयो । “विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्छ,” उहाँले भन्नुभयो । यसका लागि सम्बन्धित सरकारी निकायबीच सहकार्य, निजी क्षेत्रसँग नियमित संवाद र विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले नेपालको निर्यात क्षमता विस्तार र अन्तरराष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउन पनि आर्थिक कूटनीति उपयोगी हुनुपर्ने बताउनुभयो । नेपाली वस्तु तथा सेवाको बजार पहिचान, व्यापारिक सम्बन्ध विस्तार र आर्थिक साझेदारी विकासमा विदेशस्थित नियोगहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै पर्यटक आगमन वृद्धि गर्न कूटनीतिक माध्यमको प्रभावकारी उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री खनालले पर्यटन क्षेत्रको विकासले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई गति दिन सक्ने भएकाले यसलाई राष्ट्रिय आर्थिक प्राथमिकतासँग जोड्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार आर्थिक कूटनीतिले वैदेशिक सहायता र लगानी परिचालनमा मात्र नभई ज्ञान, सीप, प्रविधि तथा नवप्रवर्तनको आदानप्रदानमा समेत योगदान पुर्‍याउन सक्छ । अन्तरराष्ट्रिय साझेदारीमार्फत नेपालको उत्पादन क्षमता अभिवृद्धि गर्ने र विश्वव्यापी मूल्य शृङ्खलामा सहभागिता बढाउने अवसरको खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

परराष्ट्रमन्त्री खनालले नेपालको आर्थिक हितअनुकूल अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालन गर्न स्पष्ट दृष्टिकोण र समन्वित कार्ययोजना आवश्यक रहेको बताउनुभयो । विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।

सानातिना विषय र इगोमा नअल्झिन एमाले कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढे अहिलेको धक्काबाट माथि उठ्न सकिने बताएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउँदै ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर अघि बढेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने बताए। उनले सानातिना विषय र इगोमा नअल्झिन पनि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

ओलीले भने, ‘देशको विकास हुन नदिने तत्वहरूले हाम्रो अभियानलाई रोक्ने, भड्काउने कोसिस गरे, पार्टीलाई बदनाम गरे तर नीतिहरूको बारेमा उनीहरू चर्चा गर्दैनन्।’उनले एमालेले विकासमुखी, जनमुखी, जनकेन्द्रित र राष्ट्रिय उत्थानलाई केन्द्रमा राखेर आर्थिक नीति ल्याएको दाबी गरे ।

‘पुँजीवादी पक्षले पनि आर्थिक नीतिको बारेमा दबेको स्वरमा खुसखुस गरेर विरोध गर्नु बेग्लै हो तर नीतिहरूको बारेमा खासै आलोचना गर्न सक्दैनन्,’ ओलीले भने। उनले बजारलाई खुला राख्दै राज्यलाई उत्तरदायी बनाउने नीति एमालेले अघि सारेको बताए।ओलीले देशमा ‘प्रतिगमन’ भएको दाबी गर्दै पार्टीलाई अहिले केही धक्का लागेको भए पनि त्यसबाट उठेर पुनः अघि बढ्न सकिने बताए।

‘देशमा प्रतिगमन छ, एकछिन धक्का लागेको छ। तर हाम्रो पार्टी यस्तो महान् उद्देश्य राखेर अगाडि बढेको छ । त्यसकारण सानातिना कुरामा नअल्झिऊँ, इगोमा नअल्झिऊँ, नफसौँ । महान् उद्देश्यमा फराकिलो मनका साथ अगाडि बढौँ,’ उनले भने।उनले कहिलेकाहीँ धक्का लागे पनि त्यसबाट उठेर पुनः सफलताको बाटोमा अघि बढ्न सकिने बताए।

अध्यक्ष ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ‘आदर्श व्यक्ति’ का रूपमा स्थापित हुन आग्रह गरे। उनले कसैसँग गलत व्यवहार नगर्न र गलत आचरणबाट टाढा रहन पनि निर्देशन दिए।उनले रिसाउने बानीसमेत त्याग्न आग्रह गर्दै कूकर्मबाट जोगिनुपर्ने बताए। ‘रिसाउने बानी घरको खोपामा राख्नुहोस्। कूकर्मबाट जोगिनुपर्छ, किनकि हामी एमाले हौँ,’ ओलीले भने।

सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्।

विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उनले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुनेगरी व्यवस्था मिलाउन लागिएको बताए।

“अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्”, उनले भने, “सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ।”

सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक–दुईवटा आउटलेट भएदेखि राज्यलाई आपत् पर्दा सहज हुने गरी आवश्यक तयारी भएको जानकारी दिए।उनले ग्यासको पनि सम्भावित अभावलाई मध्यनजर गर्दै त्यससम्बन्धी प्रबन्ध मिलाउन लागेको बताए।

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उनले संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिइन् ।

संसद्मा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदामात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको बताउँदै सचेतक धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने उल्लेख गर्दै संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताइन् ।

संसद्मा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उनले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गरिन् । “सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ । अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन”, उनले भनिन् ।

सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेरमात्र नहुने बताइन् । “भूमिका खोजेको ठाउँमा उपस्थितिमात्रै खोजेर हुँदैन”, उनले भनिन् ।

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

जितिया पावनी बड भारी
धिया पुताक ठोकी सुताबै
अपना खायब भरि थारी ।।

हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति समुदायले विभिन्न चाडपर्व रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन् । चाडपर्व र संस्कृतिले हामीलाई विश्वमा चिनाएको छ । मधेसको संस्कृति चाडपर्व, रीतिरिवाजको पनि छुट्टै महत्त्व र विशेषता रहेको छ । तराई–मधेसमा मनाइने चाडपर्वमध्ये जितिया एक हो । यो व्रत सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र सुस्वास्थ्य र सन्तानप्रतिको ममतासँग जोडिएको कठोर व्रत हो । यो व्रत परापूर्वकालदेखि तराई मधेसका महिलाले गर्दै आएका छन् । यो व्रत थारू समुदायले पनि उत्तिकै महत्त्वका साथ गर्दै आइरहेका छन् ।

यस वर्ष आज षष्टि तिथिदेखि तराई–मधेस महिलाले यो व्रत विधिवत् सुरू गरेका छन् । आज पोखरी वा तलाउमा गएर नुहाएर विधिवत् व्रतको प्रक्रिया सुरू गर्ने र शनिबार सप्तमा तिथिको दिन निराधार पानी पनि नखाई व्रत बस्ने छन् ।

जितिया व्रतको कथा

प्राचीनकालमा शालिवाहन पुत्र जिमुतवाहनमाथि महादेवको असिम कृपा थियो । उनलाई महादेवको वरदान प्राप्त थियोे । नियम निष्ठाले जसले यो व्रत बस्छ, उनको सन्तान दीर्घायु हुने वरदान पाएकाले महिलाले यो व्रत सत्ययुगदेखि महिलाले बस्दै आएको पाइन्छ भविष्य पुरानका अनुसार कनकावती नदीको मध्यभाग नर्मदा नदीको किनारमा पाकरीको रुख थियोे । रुखको फेदमा स्याल र हाँगामा चिल बस्थे । स्याल र चिलबीच एकदमै घनिष्ठ मित्रता थियो ।

जितिया गर्ने व्रतालु महिला नर्मदा नदीमा स्नान गरी त्यही रुखको छेउमा जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथा सुन्थे । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि व्रत बस्न इच्छा लाग्यो । दुवैले सल्लाह गरेर व्रत बसे । त्यही राति नर्मदा नदीको डिलमा एक जना व्यापारीको छोराको दाहसंस्कार गरेर मलामी फर्के । रुखको टुप्पोबाट चिलले र फेदबाट स्यालले त्यो सबै दृश्य हेरिरहेका थिए । स्याललाई मृतकको मासु खान मन लाग्यो । रात परेपछि स्यालले चिललाई ‘साथी निदायौ?’ भनी सोध्यो ।

चिलले तत्काल जवाफ दिएन । उसले मनमनै नबोल्ने निधो गर्यो । चिललाई लाग्यो, अन्य दिन त यसरी सोध्दैनथ्यो । आज किन यसरी सोधेको होला ? स्यालले चिलसँग पटकपटक एउटै प्रश्न गरिरह्यो । स्यालले जति सोधेपनि चिल बोलेन ।

स्याललाई लाग्यो, चिल निदाइसकेको छ । व्रत बसेको स्यालले मन थाम्न सकेन । चिललाई छलेर स्यालले एक्लै मासु खायो । स्यालको हरेक क्रियाकलाप चिलले रुखबाट हेरिरहेको थियो तर केही बोलेन । निकै दिन बित्यो । स्याल र चिल दुवै मरे । दुवै भाष्कर नामको ब्राह्मणको घरमा छोरी भएर जन्म लिए । ब्राह्मणले जेठी छोरीको नाम शिलावती र कान्छी छोरीको नाम कर्पुरावती राखे ।

शिलावतीको विवाह धनी व्यापारीसँग र कर्पुरावतीको विवाह राजासँग भयो । शिलावतीका सात छोरा जन्मिए । कर्पुरावतीका छोरा जन्मिँदै, मर्दै गए । एक पटक दुवै दिदीबहिनीले जितियाको व्रत बसे ।

शिलावतीले बहिनीको छोरा छैन । उसको डाली कसले खोल्छ ? भनेर चिन्तित हुँदै छोरालाई बहिनीको घर पठाइन् । दिदीका सात छोरा एकैपटक आएको देखेर ईष्र्या लागेर कर्पुरावतीले पालैपालो सबैको टाउको काटेर डालीमा छोपेर दिदीको घर पठाइन् ।

दिदीको घर पुग्दापुग्दै व्रतको प्रभावले सबै टाउको छोरा बनेर घर गए । डालीमा भएको टाउकाको ठाउँमा नरिवल थियोे । व्रत भङ्ग नगरेकै कारण दिदी चिलका मारिएका छोरा जीवित भए । बहिनी स्यालले व्रत भङ्ग गरेकैले जन्मिएका सन्तान पनि मरेर गए ।

व्रत लिइसकेपछि भङ्ग गर्नुहुँदैन भन्ने पाठ यो व्रतले सिकाएको छ । कसैको छोराछोरी कुनैपनि सङ्कटबाट जोगियो भने झम्या खड् जीतिया केन रहौँ, तब बच्लह’अर्थात् आमाले खरजितिया गरेकाले ज्यान जोगियो भन्ने चलन छ । खरदिन भनेको शनिबार, आइतबार वा मङ्गलबार यो व्रत परेपछि मात्र महिलाले पहिलो पटक सुरु गर्ने गर्छन् । खरदिन गरिने व्रतलाई खर जितिया भन्ने चलन रहेको राजविराज नगरपालिका वडा नं ५ सरस्वती टोलकी ५० वर्षीया सुनिता देवले बताइन्।

व्रतको विधि

यस व्रतको अघिल्लो दिन महिला बिहानै उठेर घर आँगन लिपपोत गरेर चोखो पार्छन् । पिना,तेल,घिरौलाको पात,जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिला समूहमा पोखरी, नदि वा जलाशय गएर र पिनाले नुहाउँछन् । नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल चढाउने गर्छन् ।

व्रतको पहिलो दिन अष्टमीको तिथिको दिन व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प लिन्छन् । व्रतालुले दिवङ्गत हजुरआमा सासूआमालगायत तीन पुस्ताभित्रको नाता पर्ने पितृ महिलालाई तर्पण दिने चलन छ । यस व्रतलाई षोडष मातृका श्राद्घ पनि भन्ने गरेको राजविराज नगरपालिका–२ का ७५ वर्षीया शम्भु मिश्रले बताए ।

व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी अनिवार्य रूपमा खाने चलन छ । भोलिपल्ट बिहान ३ः०० देखि ४ः०० बजे व्रतालुले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा,चिनी, केरा, मिठाइ, पान, सुपारी चढाउने गर्छन् ।

व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्छन् । डालीलाई छोराले मानको पातले छोपिदिन्छ । व्रतको समय सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्ने गर्छन् । डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालु महिलाले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ ।

व्रत लिइसकेपछि व्रतालुको स्वास्थ्यमा जतिसुकै ठूलो समस्या आए पनि व्रत तोड्दैनन् । स्वास्थ्यमा समस्या रहेको बिरामीबाहेक छोरा भएका सबै आमाले छोराको दीर्घायु र सुस्वास्थ्यका लागि अनिवार्य व्रत लिँदै आएका छन् ।

नकारात्मक

सन्तान जन्मिनुअघि व्रत सुरु गरेकी गर्भवती भएपछि पनि व्रत बस्नैपर्ने हुन्छ । यस्तो भएपछि २४ घण्टा होस् वा ३६ घण्टा, व्रत बस्दा कुनै जटिल समस्या आइपर्ला कि भन्ने डर व्रतालुमा रहन्छ । व्रत बसेन भने सन्तानलाई केही भइदेला कि भन्ने डर पनि उत्तिकै रहन्छ । पानी नखाई व्रत बस्न समस्या भएपछि स्लाइन पानी चढाएर पनि व्रत बस्नुपर्ने बाध्यता रहेको छ ।

यो व्रतमा डाली छोप्ने वा खोल्ने काम छोरा, नाति, श्रीमान्ले गर्ने, उनीहरू नभएका बेला छोरी, नातिनी घरमा भए पनि नातेदार वा छिमेकीको छोरा मान्छेलाई बोलाएर भएपनि डाली खोल्न लगाउने तर छोरी, नातिनीलाई अधिकांश परिवारमा खोल्न लगाइँदैन । यसरी छोराको दीर्घायुका लागि व्रत बस्ने कुराले यस व्रतमा छोराछोरीबीच विभेद देखिन्छ ।

सकारात्मक पक्ष

यस व्रतले आपसी सद्भाव कायम गर्नुका साथै मनोरञ्जन पनि प्रदान गरेको छ । महिलाले आफूभित्र भएको क्षमता प्रस्तुत गर्ने अवसर पनि पाउन थालेका छन् । आफन्त, साथी र छिमेकी मिलेर जितियाको सामूहिक दर खाने चलन सुरु भएको छ ।

वर्ष दिनदेखि भेटघाट हुन नसकेका साथीसङ्गी, आफन्त एक आपसमा भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने, सामूहिक रूपमा मीठो मसिनो खाने प्रचलन बढेपछि एक अर्काबीच सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको छ ।

जितियासम्बन्धी गीत, कथालगायत महिलामा भएको प्रतिभा प्रस्तुत गर्ने अवसर सामूहिक कार्यक्रममा जुट्न थालेको छ । कम खर्चमा हुने धार्मिक दृष्टिले एकदमै महत्त्व बोकेको व्रतका रूपमा पनि यसलाई लिन सकिन्छ । जियल, बाँसर घिरौँलाका पात अनिवार्य चढाइने हुनाले प्रकृति र पर्यावरण रक्षा गर्नुपर्छ भन्ने सन्देशसमेत यस व्रतले दिँदै आएको छ ।

सोह्रश्राद्ध सुरु भएकै अवधिमा यो व्रत गर्नुपर्ने चलन रहेकाले यस व्रतमा छोरी, बुहारी सबैले पितृलाई सम्मान गरेको पाइन्छ । छोराले मात्र सोह्रश्राद्धमा पितृको श्राद्ध गर्ने प्रचलनमा सकारात्मक परिवर्तन गर्दै कतैकतै छोरीले सुरु गरे पनि यो व्रतमा त सदियौँदेखि महिलाले पनि पितृलाई पानी दिने, प्रसादी चढाउने परम्पराले पितृप्रति महिलालाई सुरुदेखि नै जिम्मेवार बनाएको छ । यस्ता पक्षलाई यो व्रतको एकदमै सकारात्मक रूपमा महिलाले लिएका छन् ।

एसियाली खेलकुदमा पदक जित्न नसके पनि चम्कियो नेपाल, क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो ।

खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे । नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो ।

नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो । नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो । समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलङ्कालाई प्रतिस्पर्धी पाएको थियो । श्रीलङ्कासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

नेपाल आइसिसी टी–२० वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो । नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।

भोटेकोशी-रसुवा बाढीपीडित परिवारसँग अर्थमन्त्री वाग्ले, ‘मन्त्रालय र भन्सार प्रशासन तपाईंहरूको साथमा छ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई मन्त्रालय र भन्सार प्रशासन साथमा रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा पीडित परिवारसँगको भेटमा उनले परिवारका समस्या र आवश्यकतालाई कानुनी आधारमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

भन्सार कर्मचारी गुमाउनुपर्दा आफूहरू पनि दुःखी भएको उल्लेख गर्दै मन्त्री वाग्लेले परिवारले बुझाएको प्रारम्भिक मागपत्र कार्यान्वयन गर्दै लगिने बताए ।

‘पूर्वसूचना र सतर्कता समेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ । तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ,’ उनले भने ।‘तपाईंहरूलाई परेको पीडालाई म व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरू एक्लो हुनुहुन्न । हामी तपाईंहरूको साथमा छौँ,’ उनले भने ।

एमालेका मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै, ओलीले गराउनेछन् शपथ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज आयोजना हुने भएको छ ।

मनोनीत केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम तय भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताए
।
उनका अनुसार शपथ ग्रहण कार्यक्रम आज अपराह्न ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ ।

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ । विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो ।

जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैयाँ सैँजुका अनुसार यस वर्षदेखि भने महानगरपालिका आफैँले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोग खोज्ने र समीक्षा गर्दै नयाँ खोप तथा रोगका बारेमा जानकारी, सरसफाइ प्रवर्द्धन तथा सुक्ष्म कार्ययोजना अद्यावधिक गर्ने छ ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । कार्यक्रम मङ्गलबारदेखि महानगरपालिकाभित्र सञ्चालित खोप प्रदायक संस्थाका खोपकर्तालाई सहभागी गराएर कार्यक्रम सुरु गरिएको छ । नियमित खोप सेवाको पहुँच बढाउँदै खोपबाट छुटेका तथा पूर्ण खोप नपाएका बालबालिकाको पहिचान गर्ने सेवा सुनिश्चित गर्ने कार्यशालाको उद्देश्य हो । कार्यशालाबाट स्वास्थ्य संस्थाबाट प्रदान गरिने खोपसम्बन्धी तथ्याङ्क, खोप कभरेज, ड्रपआउट, खोप खेर जाने दर सेवा पहुँचको अवस्थालाई विश्लेषण गरी वडादेखि महानगरस्तरीय योजना तयार पारिनेछ ।

आव २०८२–८३ को खोप तथ्याङ्कअनुसार महानगरपालिकामा अधिकांश खोपको कभरेज लक्षित जनसङ्ख्याको तुलनामा १०० प्रतिशतभन्दा माथि देखिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ्य अधिकृत प्रविना कर्माचार्यका अनुसार महानगरपालिकामा बिसिजीको कभरेज ३१८.९६ प्रतिशत, डिपिटी–हेपबी–हिब पहिलो मात्रा १३२.७५ प्रतिशत र तेस्रो मात्रा १३३.०२ प्रतिशत देखिएको छ ।

पोलियो पहिलो मात्रा १३३.०२ प्रतिशत, पिसिभी पहिलो मात्रा १३२.८८ प्रतिशत, एमआर पहिलो मात्रा ११४.२७ प्रतिशत एमआर दोस्रो मात्रा ११०.९४ प्रतिशत छ । यही तथ्याङ्कमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अनुपात ७२.०८ प्रतिशत मात्र देखिएको छ । यसले लक्षित जनसंख्या निर्धारण, सेवाको उपयोग, अभिलेख तथा रिपोर्टिङ र वास्तविक रूपमा पूर्ण खोप पाएका बालबालिकाको अवस्थालाई थप सुक्ष्म रुपले विश्लेषण गर्नुपर्ने देखाएको छ ।

कार्यक्रमको विश्लेषणमा कभरेजसँगै ड्रपआउट, खोप नपाएका बालबालिकाको सङ्ख्या, खोप खेर जाने दर, पहुँच र उपयोगलाई प्रमुख सूचकका रूपमा लिनुपर्ने स्रोत व्यक्ति सैँजुले बताइन् । कार्यक्रमले कुन बालबालिका छुटे, किन छुटे, कुन क्षेत्रमा पहुँच कमजोर छ पहिलो मात्रा लिएपछि किन पछिल्ला मात्रा लिन आएनन् तथ्यमा आधारित उत्तर खोज्नुपर्नेमा जोड रहने छ ।

संसद् र जनसरोकारका विषयमा भूमिका प्रभावकारी बनाउने नेकपाको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टीका दल नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित संघीय संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको थियो । बैठकमा संसद्को हालसम्मको प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीले निर्वाह गरेको भूमिका तथा कानून निर्माणमा संसदीय समितिहरूले खेल्दै आएको भूमिकाका विषयमा समीक्षा गरिएको थियो ।

त्यसैगरी, आगामी दिनमा संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो । समसामयिक राजनीतिक परिस्थिति तथा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइएका र आगामी दिनमा उठाउनुपर्ने विषयलाई थप प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा गहन छलफल गरिएको थियो ।

साथै, संसद्को अधिवेशन अन्त्य भएपछि सांसदहरू निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाट तथा जनसम्पर्कमा सहभागी हुने निर्णयसमेत बैठकले गरेको छ ।

विपद्का बेला सबैभन्दा राम्रोसँग आफ्नो पार्टीका कार्यकर्ता सक्रिय रहेको प्रचण्डको दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का बेला सबैभन्दा राम्रोसँग आफ्नो पार्टीका कार्यकर्ता फिल्डमा खटिएको दाबी गरेका छन् ।

आन्दोलनका बेला लाखौँ कार्यकर्ता उतार्ने दाबी गर्ने दलहरूको विपद्का बेला उपस्थिति किन नदेखिएको भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफ्नो पार्टीका कार्यकर्ता उद्धार तथा राहतमा सक्रिय रहेको बताएका हुन् ।

‘सबैभन्दा राम्रोसँग फिल्डमा कसैका कार्यकर्ता गए भने त्यो हाम्रै पार्टीका हुन्,’ उनले भने ।

रसुवा, नुवाकोट र धादिङमा वाईसीएलका कार्यकर्ता विपद् प्रभावित नागरिकको सहयोगमा खटिएको उल्लेख गर्दै प्रचण्डले उनीहरूको कामको प्रशंसा भएको दाबी गरे ।

‘तपाईंहरूले हेर्नुभयो भने रसुवा, नुवाकोट र धादिङमा जनताले वाईसीएललाई समातेर रुनेसम्मका घटनाहरू देख्नुभयो होला,’ उनले भने ।

विपद्का बेला आफ्नो पार्टीका कार्यकर्ता परिचालित भएको दाबी गर्दै प्रचण्डले अन्य दलका कार्यकर्ता पनि खटिएको हो कि होइन भन्ने प्रश्न गरेका छन् ।

‘यो विपद्मा अरू को परिचालित भयो ?’ उनले प्रश्न गरे ।

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी। बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।

रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालन गराउन समस्या भएको छ ।

बाँधका भौतिक संरचना क्षति भएको छ । आयोजनाले विद्युत् बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ । गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध भएको छ ।कालीगण्डकीको बाढी, पहिरोले प्रसारण लाइनको टावर बगाउने र तार चूँडाएर क्षति पुर्याएको छ ।

पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । शुक्रबार संघीय संसदका पाँच समितिका बैठक बस्दैछ । आज प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

आज बिहान ९ बजेदेखि सुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको अवस्था र चुनौती सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान ९ बजेदेखि नै सुरु हुने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफलउपसमितिको कार्यप्रगति र स्थलगत निरीक्षण सम्बन्धमा छलफलको कार्यसुची रहेको छ ।

त्यसैगरी बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिबीच समन्वयको विषयमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा आर्थिक बर्ष २०८२÷०८३ को विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, आज बिहान १०ः ३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन लगायतका विषयमा छलफलको कार्यसूची रहेको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २० पैसा र बिक्रीदर ४२ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २९ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १८ पैसा र बिक्रीदर २३ रुपैयाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ९७ पैसा बिक्रीदर ४०९ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका तराई भू–भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ ।दसैँ, तिहारलगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौज्दात राखिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाले जानकारी दिए ।

डिपोमा एक हजार ८१७ क्विन्टल नुन मौज्दात थियो । चालु आवको असोज १४ गतेसम्म ७६८ क्विन्टल नुन बिक्री भएपछि अहिले एक हजार ४९ क्विन्टल मौज्दात रहेको प्रमुख बुढाले बताए ।

सिञ्जाको नराकोट डिपोबाट हिमाली र सिञ्जा गाउँपालिकाका साथै गुठीचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकासीलाई नुन वितरण हुँदै आएको छ । चालु आवका लागि जुम्ला सदरमुकामसहित तीनवटै डिपोका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालयले नुनको कोटा निर्धारण गरेको छैन ।

नराकोट र गुठीचौर डिपोलाई सदरमुकाम खलङ्गाको डिपोबाट आवश्यकताअनुसार नुन पठाउने गरिएको प्रमुख बुढाले बताए । जिल्लामा नुनको अभाव हुन नदिन नेपालगन्जबाट थप नुन माग गरिएको कार्यालयले जनाएको छ ।पछिल्लो समय स्थानीय तहले समेत जुम्ला सदरमुकामको डिपोबाट नुन खरिद गरी वडाबाटै वितरण गर्दै आएका छन् ।

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित,हिल्सा पुग्ने बाटो खुलाउन चुनौती

हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताए ।

उनका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामा रोकिएको उनले बताए ।

हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ । हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने बताइएको छ ।

हिल्सा पुग्ने बाटो खुलाउन चुनौती

चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ अझै केही समय लाग्ने बताइएको छ । हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाई फिटसम्म हिउँ जमेको छ ।

हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उनले बताए । हिल्सामा एउटामात्रै स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समस्या रहेको उनको भनाइ छ । स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।

छ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन

यस वर्ष हालसम्म हिल्सानाका हुँदै छ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन् । अध्यागमन अधिकृत पौडेलका अनुसार कैलाश मानसरोवर जाने पर्यटकमा अधिकांश भारतीय नागरिक छन् । त्यसपछि बेलायत, अमेरिका र नेपाली रहेका छन् ।

यस वर्ष कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिनै लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सुरु गर्ने भएको छ । महानगरपालिकाले उक्त कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा हेरचाह गर्नुपर्छ । सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना र स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यताका कारण उत्तर प्रसूति स्याहारमा चुनौती देखिएको भन्दै महानगरले उक्त सेवा प्रदान गर्न लागेको ‘फोकल पर्सन’ चन्द्रा भट्टले जानकारी दिइन् ।

फोकल पर्सन भट्टका अनुसार अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा जन्मिएपछि आमा र शिशु सुरक्षित छन् भन्ने हुँदैन । त्यसपछिका केही दिन स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ । कार्यक्रम अनुसार सुत्केरी भएको तेस्रो र सातौँ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवशिशुको स्वास्थ्य जाँच गर्नेछन् ।

सुत्केरीपछि आमामा रक्तश्राव, सङ्क्रमण, उच्च रक्तचापलगायतका समस्या देखिन सक्छन् । नवजात शिशुमा विभिन्न स्वास्थ्य जटिलता आउन सक्छन् । ती जटिलता समयमै पत्ता लगाएर स्वास्थ्य जोखिम घटाउनु नै कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण दर ७० प्रतिशत छ । स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामा यो दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा २३ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ मा कामपाका एक दशमलव १८ प्रतिशत महिलाले दुई पटकसम्म घरमै सुत्केरी जाँच गराएका थिए । आव २०८१/८२ मा ११ दशमलव १८ प्रतिशत पुगेको स्वास्थ्य परीक्षण दर आव २०८२र८३ मा भने चार दशमलव ७१ मा सीमित भएको थियो ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, १६ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ । कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्नुहुनेछ ।

महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्नुहुनेछ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

त्यस्तै, आजको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यक्रम छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नुहुनेछ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुहुनेछ ।

राष्ट्रियसभाको बैठक

त्यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । आजको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ ।

बैठकमा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।यस्तै, आजको बैठकमा ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यक्रम छ ।

नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ ।सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभाबी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले नागढुङ्गास्थित सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।

“सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ । सोहीअनुसारको सूचना बोर्ड राखिएको छ । उक्त नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ”, प्रवक्ता सुवेदीले भने ।

सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्ता गतिविधिले सुरुङमार्गमा दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धारसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीको भनाइ छ ।

ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यसैबिच, बिहीबार सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो ।

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी । केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ ।पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ । वर्षौँको मिहिनेतले बनाएको घर । जोडेको धनसम्पत्ति । पालिएका गाईभैँसी सबै बाढीले बगाएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौर ढोडेनीकी निर्मला सापकोटाको परिवार लामो समयदेखि फर्सेमा बस्दै आएको थियो । यातायातको सुविधा थियो । कृषि उपज बिक्री गर्न सहज थियो । सोही कारण उनको परिवारले फर्सेलाई कर्मथलो बनाएको थियो ।

समाजमा राम्रो आर्थिक हैसियत भएको परिवारका रूपमा चिनिनुहुने निर्मला अहिले आफू शून्यमा पुगेको महसुस गर्छिन् । “पुर्ख्यौली घर रत्नेचौर भए पनि फर्सेमा व्यवस्थित घर बनाएर सुविधा सम्पन्न जीवन बिताइरहेका थियौँ”, उनले भनिन्, “बाढीले शरीरमा भएको एकसरो कपडा र गोठका गाईवस्तुबाहेक सबै बगायो । ज्यान बच्यो, यही ठुलो कुरा हो ।”

निर्मलाको आवाजमा पीडा छ । तर बाँच्ने साहस पनि छ । “गरेर खानेका लागि गाँस, बास, कपास र ओत चाहिने रहेछ भन्ने अहिले महसुस भएको छ”, उनले भनिन् ।

फर्सेकै विष्णुकुमारी हमालको परिवारको कथा पनि उस्तै छ । व्यापार–व्यवसायका लागि धाइरिङबाट फर्से झरेको परिवारले चार वटा घर बनाएको थियो । उनका श्रीमान् डिलबहादुर क्षेत्रीले दूध उत्पादनका लागि शिव तरकारी तथा पशुपालन कृषि फार्म सञ्चालन गरेका थिए ।

“गाईभैँसीलाई तातोपानीले नुहाइदिन गोठमा सोलार जोडेका थियौँ”, विष्णुले भनिन्, “हाम्रो सुविधा सम्पन्न घरगोठ भएको ठाउँमा अहिले कालीगण्डकी बगेको छ । पुरानो तस्बिरमा घर हेरेर चित्त बुझाउनुबाहेक केही बाँकी रहेन ।”

निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवार प्रभावित भएका छन् । जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । “ज्यान जोगिए पनि वर्षौँ मिहिनेत गरेर जोडेको घरघडेरी र धनसम्पत्ति गुमाएको पीडा धेरैमा छ”, उनले भने ।

पूर्वसूचनाले जोगायो ज्यान

फर्सेकी सङ्गीता शर्मालाई यही असोज १० गतेको रात अझै सम्झना छ । ठुलो पानी पर्ने सूचना आएपछि स्थानीय बासिन्दा केही दिनदेखि नै सतर्क थिए । तर कालीगण्डकी यति ठुलो भेलसहित बस्तीमा पस्ला भन्ने कसैले सोचेका थिएनन् ।

असोज १० गते मध्यराति फर्से युवा क्लबका युवाले माइकिङ गरे । त्यसपछि सङ्गीतासहित धेरै परिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागे । “शरीरमा भएको कपडामात्रै लगाएर झरीमा भिज्दै रातको २ः०० बजे सडकमा निस्कियौँ”, उनले भनिन्, “गहना, अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्त्वपूर्ण कागजात घरमै थिए तर हामीसँग ज्यान जोगाउने समयमात्र थियो ।”

गोठमा बाँधिएका गाईभैँसी फुकाएर भगाउनुपर्‍यो । घरभित्रका सामान निकाल्ने समय मिलेन । अहिले विस्थापित परिवार दिनमा एक पटक बाढीले बगाएको घर भएको ठाउँतिर पुग्छन् । भग्नावशेष हेर्छन् । विगत सम्झन्छन् । अनि भारी मन लिएर फर्किन्छन् । अस्थायी शिविरमा बसेका बिना, फूलमाया र सुकमाया विकको अवस्था पनि उस्तै छ । साथमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न सकेनन् ।

“आफ्नै घर भएको ठाउँमा कालीगण्डकी बगेको देख्दा मन भारी हुन्छ”, उनीहरूको भनाइ छ । घर र गोठ डुबानमा परेका परिवार भने बाढीबाट बचेका सामान खोजिरहेका छन् । हिलो पखालिरहेका छन् । घाममा सुकाइरहेका छन् । बाँकी रहेको सामान सुरक्षित ठाउँमा सारिरहेका छन् ।

बाढीले घरसँगै विद्यार्थीका कापी–किताब पनि बगायो । फर्से र बागलुङको ढोडेनी जोड्ने करिब १०० वर्ष पुरानो झोलुङ्गे पुल इतिहासमा सीमित गरिदियो । पुल बगेपछि म्याग्दी र बागलुङतर्फबाट फर्सेको जनकल्याण माध्यमिक विद्यालयमा आउने विद्यार्थीले घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था आएको छ ।

जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार पूर्व सूचना र स्थानीयको सतर्कताका कारण मानवीय क्षति हुन पाएन । तर भौतिक क्षति अकल्पनीय भयो । वडाध्यक्ष जिसीको पुर्ख्यौली घर बाढीले बगाएको छ ।

व्यापारिक केन्द्रबाट कृषि गाउँ

पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा चिनिन्थ्यो । बागलुङ, मुस्ताङ र म्याग्दी ओहोरदोहोर गर्नेका लागि यो महत्त्वपूर्ण ठाउँ थियो । सडक विस्तारसँगै फर्सेको स्वरूप बदलियो । व्यापार–व्यवसायबाट स्थानीय बासिन्दा कृषि उद्यमतर्फ लागे । बेनी, कुश्मा र बागलुङ बजार नजिक भएकाले दूध र तरकारी उत्पादन यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत बन्यो ।

कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने फर्सेबाट सिजनमा दैनिक करिब ८०० लिटर र बेसिजनमा ६०० देखि ७०० लिटरसम्म दूध बिक्री हुने गरेको स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले बताए ।

सहकारीले ४० किसानबाट दूध खरिद गरी बागलुङ पुर्‍याएर बिक्री गर्दै आएको थियो । तर बाढीपछि किसानको अवस्था फेरिएको छ । “गाईभैँसी पाल्ने ४० मध्ये आधाजसो किसान बाढीबाट प्रभावित भएका छन्”, केसीले भने, “बचाइएका गाईभैँसीलाई आहारा र दाना दिन नसक्दा दूध उत्पादन घटेको छ ।” उहाँले बाढी प्रभावित किसानका लागि तत्काल पशु आहारा र दानाको व्यवस्था गर्नुपर्ने बताए ।

बगर बनेको गाउँ फेरि उठ्ने विश्वास

स्थानीय टीकाराम क्षेत्रीका आँखामा अझै असोज ११ गते बिहानको दृश्य घुमिरहेको छ । बाढी बढ्न थालेपछि साँझ सुरक्षित रूपमा घर छाड्नुभएको थियो । बिहान फर्किँदा घर भेटिएन । “उठ्दै गरेको फर्सेलाई बाढीले लडाइदियो”, उनले भनिन्, “साहस गरेर फेरि उठ्नेछौँ । तर सरकारको साथ चाहिन्छ ।”

फर्से टोल विकास संस्थाका अध्यक्ष रामु सुवेदीलाई पनि आफ्नो गाउँ फेरि उठाउन सकिन्छ भन्ने विश्वास छ । तर त्यसका लागि सुरक्षित बसोबास र नदी नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ ।

“यही ठाउँमा पक्की पर्खाल बनाएर नदी नियन्त्रण गरिदिए पेसा–व्यवसाय गरेर पुरानै अवस्थामा फर्किन सकिन्छ”, उनले भने, “हाम्रो बस्तीलाई बस्न योग्य बनाइदिनुपर्यो । घर र घडेरी बगेकालाई बसोबासको व्यवस्था गर्नुपर्छ ।”

उनले पर्वततर्फ मात्र नभई म्याग्दी र बागलुङतर्फ पनि बस्ती संरक्षणको योजना बनाउनुपर्ने बताए । कालीगण्डकीबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन रोक्नुपर्ने उनको माग छ । तत्काल संरक्षणका काम नगरिए कालीगण्डकीले धार परिवर्तन गरी थप बस्ती र सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा पार्न सक्ने सुवेदीको भनाइ छ । कोरलानाका जोड्ने सडक जोखिममा पर्नसक्ने उनले बताए ।

पुनःस्थापनाको पर्खाइ

जलजला गाउँपालिकाले फर्सेका बाढीपीडितका लागि कर्मचारी खटाएर सचिवालय स्थापना गरेको छ । राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गरिएको छ । जलजलाको फर्सेसहित ताङवाङ, लामाखेत, पालसिङलगायत धेरै ठाउँमा बाढीपहिरोले क्षति गरेको छ । प्रभावित परिवारलाई परिचयपत्रसमेत वितरण गरिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए ।

बिहीबार स्वास्थ्य शाखाको आयोजनामा मनोसामाजिक परामर्शसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । जनप्रतिनिधि र कर्मचारीको १४ वटा समूह बाढीपहिरोले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न खटिएका छन् ।

फर्सेवासीका लागि दीर्घकालीन सुरक्षित बसोबास, पुनर्निर्माण र बस्ती संरक्षणको योजना आवश्यक रहेको अध्यक्ष आचार्यले बताए । त्यसका लागि सङ्घीय र प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको उनले जानकारी दिए ।

मङ्गलबार फर्सेको निरीक्षणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण र पुनर्स्थापनामा सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कालीगण्डकीको भेलले फर्सेको रूप बदलिदिएको छ । घरका ठाउँमा भग्नावशेष छन् । गोठका ठाउँमा बगर छ । आँगनका ठाउँमा नदीको धार छ ।

फर्सेका बाढीपीडित चन्द्र दर्जीको मनमा एउटा विश्वास अझै बाँकी छ–“बाढीले घर बगाउन सक्छ, सपना होइन । हामी आफ्नै गाउँमा श्रम र पसिनामा उठ्न चाहन्छौँ”, उनले भने, “सुरक्षित बास, संरक्षणको भरोसा र पुनर्स्थापनामा सरकारको साथ आवश्यक पर्छ ।”

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् ।

बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसीबोकाको बजार लाग्ने छ ।

धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन् । उनले घरमै खसीबोका पालेका छन् । यस्तै, धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्ने गरेको उनले जानकारी दिए ।

“व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा । यही व्यवसायबाट घर खर्च पुगेको छ । यहाँको खसी बजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज भएको छ”, उनले भने ।

मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउने गर्छन् । उनले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएका छन् । उनले उक्त व्यवसाय थालेको २३ वर्ष भइसकेको बताए ।खड्काले धरानबाट खरिद गरेका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री गर्ने गरेको बताए ।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसीबोका बिक्री हुने गरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ मा कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब रु तीन अर्बको कारोबार भएको अध्यक्ष भट्टराईले उल्लेख गरे । गत वर्षको चाडपर्वमा मात्रै रु ४६ करोडबराबरको कारोबार भएको थियो । यस वर्ष कारोबार थप वृद्धि हुनसक्ने उनको भनाइ छ ।

भट्टराईका अनुसार बजारमा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष खसीबोकाको कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको छ । बजारमा पहाडी जिल्लाका साथै इटहरी, मोरङको कानेपोखरी र बेलबारीलगायत तराईका किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि आउने गरेका छन् ।

कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा योगदान पुर्‍याएको अध्यक्ष भट्टराईले बताए ।

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ। भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा रोकिएका छन् ।

गत शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला खण्डको ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पु¥याएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित बनेको हो ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालसामान राखिएका कन्टेनर भन्सार जाँचपास भइसके पनि सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको जानकारी दिनुभयो ।

“कोरलानाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० बढी कन्टेनर छन् । तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,” भन्सार प्रमुख चुडालले भन्नुभयो, “भन्सारमा केही कन्टेनर जाँचपास प्रक्रियामा छन्, त्यो पनि अबको दुईदिन भित्र सकिन्छ ।” तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उहाँले बताउनुभयो ।

भारी वर्षा अघि मालसामान ढुवानी गर्न कोरलानाका पुगेका मालवाहक कन्टेनर भन्सार जाँचपास प्रक्रिया सकेपनि सडक अवरुद्ध भएकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी यार्ड क्षेत्रमा रोकिएका प्रमुख चुडालले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएकाले नयाँ कन्टेनर थपिएका छैनन्”, उहाँले भन्नुभयो, “चीनबाट मालवस्तु पैठारी गरिएका कन्टेनर पनि सडकको अवस्थाले गर्दा तल झर्न सकिरहेका छैनन् ।”

चीनबाट दसैँतिहार लक्षित मालवस्तु पैठारी गर्ने याममा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा राजस्व सङ्कलनमा राज्यले घाटा व्यवहोर्नु पर्ने अवस्था सृजना भएको प्रमुख चुडालले बताउनुभयो । उहाँका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द हुँदा कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोड बढी राजस्व सङ्कलन गर्दै आइरहेको थियो ।

भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित तयारी सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामान, लत्ता कपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गर्दछन् ।

यसैगरी, कोरला खण्ड अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएका छन् । तीमध्ये १०० बढी सवारी पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमा रोकिएका सशस्त्र प्रहरी बल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

जोमसोम–कोरला सडक सञ्चालन

वर्षाका कारण अवरुद्ध बनेको जोमसोम–कोरला खण्ड आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कालीगण्डकी करिडोर, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड गाउँपालिका र सुरक्षा निकायको पहलमा पहिरो पन्छाउने तथा सडक सफा गर्ने काम गरिएसँगै पाँच दिनपछि आवागमन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार पर्वत मालढुङ्गाबाट म्याग्दीको बेनीसम्म पाँच, बेनीबाट म्याग्दीको अन्नपूर्ण—३ रुप्सेसम्म २५ र मुस्ताङको काभ्रेभीरबाट कोरलानाकासम्म १६ स्थानमा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार मालढुङ्गाबाट गलेश्वरसम्म र म्याग्दीको दानाबाट कोरलानाकासम्मको सडक मर्मतसम्भारपछि सञ्चालनमा आइसकेको छ ।

अवरुद्ध कोरलाको म्याग्दी खण्डको सडक मर्मत तथा स्तरोन्नति कार्य थप जटिल र चुनौतीपूर्ण रहेको आयोजना प्रमुख तेजश्वी शर्माले उल्लेख गर्नुभयो । भारी वर्षाका कारण आएको बाढीपहिरोले म्याग्दी रघुगङ्गाको सडक तथा बैसरी–१, २, ३ र सिरुवारी खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, म्याग्दी खण्डको तातोपानी–पोखरेबगर जोड्ने पक्की पुलको एप्रोज बाढीले बगाएको उहाँले जानकारी दिनुभयो । बाढीपहिरोले तातोपानी, खामभित्ता, जलथले, भीरकाँटे, महभीरलगायत स्थानका सडकमा क्षति पुर्याएकाले मर्मत गरी सञ्चालनमा ल्याउन केही समय लाग्ने उहाँले बताउनुभयो । सडक उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापन गर्न समस्या भइरहेको उहाँको भनाइ छ ।

रातु नदीको बाढीले महोत्तरी सदरमुकाम जलेश्वर डुबानमा

महोत्तरी। बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो । निकास नहुँदा पानी जम्दै गएर आज बजारक्षेत्र जलमग्न भएको छ ।

जलेश्वर–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रमा जताततै पानी छ । तीन ठाउँमा भत्किएको बाँधले मडै, गोरीगमामा खेत काटेर नोक्सान गरेको छ । “बर्सेनि यिनै ठाउँमा बाँध भत्किने गरेको छ,” महोत्तरी–६ गोरीगमाका किसान भोला महतो भन्नुहुन्छ, “बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ ।”

गत वर्ष पनि वन्चौरीमा बाँध फुटेको थियो । जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन अप्ठ्यारो भएको छ । हिँडडुल गर्न पनि असजिलो भएको जलेश्वर–१ का विनोद पासवान बताउनुहुन्छ ।

बाढी नगरक्षेत्रमा पसेपछि भत्किएको ठाउँमा तत्काल मर्मतसम्भार र जलेश्वर पुछारमा पानी निकासको प्रबन्ध थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा अधिवेशनमा देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो ।

समितिका संयोजक एकराज पोखरेलले कोशी प्रदेशमा एक हजार १५७ वडामध्ये ५७७, मधेस प्रदेशमा एक हजार २७१ मध्ये ४०२, बागमती प्रदेशमा एक हजार १२१ मध्ये ५६३ र गण्डकी प्रदेशमा ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो ।

यसैगरी, लुम्बिनी प्रदेशका ९८३ वडामध्ये ५५०, कर्णाली प्रदेशका ७१५ मध्ये २७७ तथा सुदूरपश्चिम प्रदेशका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको संयोजक पोखरेलले बताउनुभयो ।

उहाँले बाँकी रहेका वडामा यही असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको बताउनुभयो ।

समितिका अनुसार रसुवा जिल्लामा बाढी–पहिरोका कारण हुन नसकेको वडा अधिवेशन तथा बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण रोकिएको अधिवेशन यही असोज १६ गते सम्पन्न गर्ने तयारी गरिएको छ । कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म हने तय भएको छ ।

नेपाल टेलिकमले एनटिटिभीका लागि भर्चुअल सेट–टप बक्स ल्यायो

काठमाडौँ। नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ ।कम्पनीले आजदेखि एन्ड्रोइड टेलिभिजनमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो । यससँगै स्मार्ट टेलिभिजन प्रयोगकर्ताले छुट्टै भौतिक सेट–टप बक्सबिना एनटिटिभी सेवा प्रयोग गर्न सक्नेछन् ।

टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टेलिभिजनमा गुगलप्ले स्टोरमार्फत ‘स्मार्ट एनटिटिभी’ खोजी गरी सेवा प्रयोग गर्न सक्नेछन् । कम्पनीले आगामी दिनमा अन्य स्मार्ट टेलिभिजनमा पनि प्रयोग गर्न मिल्ने गरी सेवा विस्तार गर्ने जनाएको छ ।

नयाँ सेवाग्राहीले भर्चुअल सेट–टप बक्ससहितको योजना लिएमा रु एक हजार छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्चुअल सेट–टप बक्ससहित विभिन्न टेलिभिजन प्याकेज पनि उपलब्ध गराएको जनाएको छ ।

सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन् । ।

मधेस प्रदेशस्थित नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीलगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई उहाँले सो निर्देशन दिएका हुन् ।

महानिरीक्षक पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवं समसामयिक विषयमा हाल भइरहेका कामकारबाहीबारे जानकारी लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

त्यस क्रममा उनले सो क्षेत्रमा कार्यरत कमाण्डरलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिका हुन् ।

सीमा इलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणका लागि समयमा नै योजना बनाई सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिए ।