`

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै काठमाडौँ महानगर

Nepal One HD १६ असोज २०८३ ६:००
समाचार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सुरु गर्ने भएको छ । महानगरपालिकाले उक्त कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा हेरचाह गर्नुपर्छ । सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना र स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यताका कारण उत्तर प्रसूति स्याहारमा चुनौती देखिएको भन्दै महानगरले उक्त सेवा प्रदान गर्न लागेको ‘फोकल पर्सन’ चन्द्रा भट्टले जानकारी दिइन् ।

फोकल पर्सन भट्टका अनुसार अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा जन्मिएपछि आमा र शिशु सुरक्षित छन् भन्ने हुँदैन । त्यसपछिका केही दिन स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ । कार्यक्रम अनुसार सुत्केरी भएको तेस्रो र सातौँ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवशिशुको स्वास्थ्य जाँच गर्नेछन् ।

सुत्केरीपछि आमामा रक्तश्राव, सङ्क्रमण, उच्च रक्तचापलगायतका समस्या देखिन सक्छन् । नवजात शिशुमा विभिन्न स्वास्थ्य जटिलता आउन सक्छन् । ती जटिलता समयमै पत्ता लगाएर स्वास्थ्य जोखिम घटाउनु नै कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण दर ७० प्रतिशत छ । स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामा यो दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा २३ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ मा कामपाका एक दशमलव १८ प्रतिशत महिलाले दुई पटकसम्म घरमै सुत्केरी जाँच गराएका थिए । आव २०८१/८२ मा ११ दशमलव १८ प्रतिशत पुगेको स्वास्थ्य परीक्षण दर आव २०८२र८३ मा भने चार दशमलव ७१ मा सीमित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *