मुख्यमन्त्री आचार्यसँग स्वीस दूतावास सहयोग प्रमुख मायरको शिष्टाचार भेट
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपालस्थित स्वीस दूतावास सहयोग प्रमुख माथियस मायरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्तन र सीपमूलक शिक्षामार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले सङ्घीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले प्रदेशलाई अझ बलियो बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी दिनुभयो ।
उहाँले सातै प्रदेशका मुख्यमन्त्रीबीच गोलमेच सम्मेलन आयोजना गर्ने तथा साझा छलफलको वातावरण निर्माण भएको बताउनुभयो । सङ्घीय शासन प्रणाली प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो ।
स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्वीस सरकार र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै सङ्घीयताको सुदृढीकरण, नव प्रवर्तनको क्षेत्रमा सहकार्यले निरन्तरता पाएको बताउनुभयो ।
भेटवार्तामा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लिराज अर्यालको समेत सहभागिता रहेको थियो ।
भेटवार्ताका क्रममा नेपाल र स्विट्जरल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध, नव प्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
