`

जेनजी आन्दोलनमा २ हजार ६३८ जना घाइते, विवरण गृहमा पठाइयो

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उहाँले बताउनुभयो । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ । केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो । हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ”, प्रवक्ता डा बुढाथोकीले भन्नुभयो ।

विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ।प्रवक्ता डा बुढाथोकीका अनुसार सबैभन्दा धेरै चार सय ५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ ।यस्तै, नेपाल पुलिस अस्पतालमा दुई सय तीन, राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ९० र त्रिवि शिक्षण अस्पतालमा एक सय आठ जनाको उपचार भएको थियो ।

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल। उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२० बजे ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको संयुक्त प्रमुख स्टाफले विज्ञप्तिमार्फत जनाएको छ।क्षेप्यास्त्रहरू करिब ३५० किलोमिटर दूरीसम्म प्रहार गरिएको बताइएको छ। दक्षिण कोरियाली सेना ‘कुनै पनि उक्साहटको जवाफ दिन’ तयार रहेको संयुक्त प्रमुख स्टाफले जनाएको छ।

जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत प्रक्षेपणको पुष्टि गर्दै उक्त ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाटै प्रक्षेपण गरिएको जनाएको छ।

दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन–सिओकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङका नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने निर्णय गरेको केही समयपछि यो घोषणा आएको बताएका छन्।

वासिङ्टनले दशकौँदेखि उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गर्ने प्रयासको नेतृत्व गरिरहेको जनाइएको छ। ट्रम्प प्रशासनले पछिल्लो समय प्योङयाङसँग उच्चस्तरीय वार्तालाई पुनर्जीवित गर्न दबाब दिँदै आएको छ।अक्टोबरमा एसियाको भ्रमणका क्रममा ट्रम्पले किम जोङ–उनसँग भेटका लागि आफू खुला रहेको बताएका थिए भने उत्तर कोरियाले उक्त टिप्पणीको जवाफ दिएको थिएन।

महिनौँसम्म ती प्रस्तावहरूलाई धेरै हदसम्म बेवास्ता गरेपछि किम जोङ–उनले हालै वासिङ्टनले प्योङयाङको आणविक स्थितिलाई स्वीकार गरेमा दुई राष्ट्रबीच मेलमिलाप हुन सक्ने बताएका छन्।

हाल विश्वको ध्यान मध्यपूर्वको युद्धतर्फ केन्द्रित रहेको अवस्थामा उत्तर कोरियाले आफ्नो उपस्थितिमा ध्यान आकर्षित गर्न ऐतिहासिक रूपमा सैन्य उक्साहट गर्दै आएको कोरिया सैनिक मामिला अध्ययन संस्थानका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–पियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

सन् १९५० मा आफ्नो छिमेकीमाथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको परमाणु–सशस्त्र उत्तर कोरियाले लामो समयदेखि यस्ता अभ्यासलाई आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै आएको छ।प्योङयाङले इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणलाई अवैध कार्य भन्दै निन्दा गरेको छ भने यसले अमेरिकाको दुष्ट प्रकृति देखाउने दाबी पनि गरेको छ।

पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा

काठमाडौँ। पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ ।साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजना गरिएको ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेठले जानकारी दिनुभयो । आगामी वैशाख ५ गते पारिजातको स्मृति दिवसमा सम्मान प्रदान गरिने उहाँले बताउनुभयो ।

सम्मानित हुनेमा ‘पारिजात बालसाहित्य सम्मान २०८२’ बाट बालसाहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान २०८२’ बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान २०८२’ बाट नवीन विभास तथा ‘पारिजात सङ्घर्षशील महिला सम्मान २०८२’ बाट देवी खड्का रहनुभएको छ ।

विसं १९९० फागुन ३० गते पारिजातको जन्म भएको दिनलाई प्रत्येक वर्ष केन्द्रले ‘पारिजात जन्मजयन्ती’का रूपमा मनाउँदै आएको छ । यसैगरी, केन्द्रले पारिजात परिसंवाद कार्यक्रम गर्दै आएको र यस वर्ष ‘प्राडा वासुदेव त्रिपाठीसँग डा महेश मास्के पारिजात परिसंवाद’ कार्यक्रम सञ्चालन गरेको थियो ।कार्यक्रममा विभिन्न साहित्यकार, विद्यार्थी, सर्जकलगायत उपस्थित हुनुहुन्थ्यो ।

दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७७ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

उक्त खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको उलले बताए ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ ।

पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते अन्नक जेडआइस्टी जेभीसँग सम्झौता भएको थियो । पाण्डेले भने, “पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।” चालु आर्थिक वर्षभित्रै पुल निर्माण सकिने लक्ष्य राखिएको पाण्डेको भनाइ छ ।

तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछ । पुलको वारिपारी दुई/दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उहाँका अनुसार फाउण्डेशनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उनले भने, “मिडल स्पान दुई वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम भइरहेको छ ।” रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।

निर्माण कम्पनी अन्नक जेडआइष्टी जेभीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माण सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहेपनि सोभन्दाअगावै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल निर्माणका लागि हाल दैनिक १५० कामदार खटाइएको छ ।

उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।

यो आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ । आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ । आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ ।

इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थमा मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल (कास्साभा), सडेगलेको अन्न, मर्चा (यिस्ट) र अन्य आवश्यक रसायन समावेश छन् । खाद्यान्नको दुरुपयोग रोक्नका लागि खाद्यान्नका रूपमा प्रयोग हुने अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।

उद्योगहरूले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री वितरण गर्नुपर्नेछ । यसले बजारलाई नियन्त्रित गर्दै इथानोलको प्रयोग पेट्रोलमा मिश्रणसम्म सीमित गर्ने नीति स्पष्ट गर्दछ ।

उद्योगहरूले उत्पादन प्रक्रियामा वातावरणमैत्री उपाय अपनाउनुपर्ने, गुणस्तर मापदण्ड कायम गर्नुपर्ने र गुणस्तर परीक्षणको जिम्मेवारी आफ्नै प्रयोगशालाबाट गर्नुपर्ने आदेशमा उल्लेख छ । निगमले पनि प्रत्येक ट्याङ्करको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ ।

इथानोलको मूल्य निर्धारण सरकारद्वारा सिफारिस समितिको सुझावमा प्रत्येक आर्थिक वर्ष सुरु हुनुअघि हुनेछ । मूल्य निर्धारण नहुँदा अघिल्लो वर्षको मूल्य कायम रहनेछ । निर्धारित मूल्य प्रत्येक वर्ष साउन १ गतेदेखि लागू हुनेछ ।

नेपाल आयल निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नुपर्नेछ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ । उद्योगले सम्झौतामा उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था गरिएको छ।

इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ । अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ। मन्त्रालयले सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड तयार गरी लागू गर्नेछ।

सरकारले इथानोल मूल्य निर्धारण र उद्योगलाई सुविधा दिने सिफारिसका लागि समिति गठन गरेको छ । समितिको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुनेछन् भने अर्थ, कृषि, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल आयल निगमका प्रतिनिधि सदस्य रहनेछन् ।

आदेशअनुसार समितिले कच्चापदार्थ लागत, कर छुट, सुविधा, राष्ट्रिय प्राथमिकता उद्योग मान्यता, उपकरण आयातमा कर छुट, कृषक र कृषि सहकारीलाई मल÷बिज÷विद्युत् महसुलमा सहुलियतलगायत विषयमा सिफारिस गर्नेछ ।

यो नीति कार्यान्वयनबाट कृषि अवशेष र जैविक स्रोतको उपयोग बढाउने, नयाँ उद्योग स्थापना गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । यसको कार्यान्वयनको प्रभावकारिता भने उद्योगको क्षमता, कच्चापदार्थको उपलब्धता तथा सरकारको नियमनमा निर्भर हुनेछ ।

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो ।

बैठकमा प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।बैठकमा पार्टीको आगामी रणनीतिलगायत समयसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही। सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका बरहथवा नगरपालिका–९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले शुक्रबार मृत घोषणा गरेका हुन् ।

घाइते हुनेहरूमा रौतहट दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल, रौतहट गढीमाई नगरपालिका–११ निवासी विकास पटेलकी श्रीमती करिब ४५ वर्षीया बन्धना पटेल, बरहथवा–१० निवासी १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलीप राय, बरहथवा–७ निवासी २३ वर्षीय चन्दन पासवान, बरहथवा–१० निवासी १२ वर्षीया दीपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र उनकी श्रीमती ४५ वर्षीया गुलाबकुमारी मण्डल रहेका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको बरहथवास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्कारपियो चालक बरहथवा नगरपालिका–१२ लौकठ निवासी करिब ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ ।नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।

आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको विकट गाउँमा महामारीको रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका छ हजार ७६३ बालबालिका र किशोरकिशोरीलाई खोप लगाउने लक्ष्यअनुसार पहिलो दिन नै चार हजार ६१७ जनालाई खोप लगाइएको छ । छुटेका बालबालिका र किशोरकिशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने छ ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा रोगका शङ्कास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत रहेका छन् ।

दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्यचौकीमा आइसोलेसन तयार गरेर उपचार समेत भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दादुराको खोप प्रदान गरिएको हो । यस्तै उपचारमा संलग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुराविरुद्धको खोप लगाइने छ ।

खोप अभियान चैत १ गतेसम्म सञ्चालन गरिने छ । जसका लागि अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत झिकाइएको छ । अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले समेत सघाएका थिए । फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसयता थप पाँच जनामा सङ्क्रमण पुष्टि भए पनि अन्यलाई लक्ष्यण देखिएकाले नियन्त्रणका लागि खोप लगाइएको हो ।

दादुरा सङ्क्रमण नियन्त्रणका लागि खोप नै सबैभन्दा उत्तम उपाय भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समूहका सबैलाई खोप लगाइने छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २०, बन्दा (तराई) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु २५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ४०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७५, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ३५, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ३५, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ४०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु १६०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३२०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ६०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ३००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १२०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको छ । किसानलाई उचित मूल्य सुनिश्चित गर्न मन्त्रालयले कृषि विभागमार्फत विभिन्न १० जिल्लामा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।

विभागले अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्यको प्रस्ताव गरेको थियो । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि वैज्ञानिक मूल्य निर्धारणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको सिफारिसका आधारमा थप छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने अभ्यास रहेको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेछ । गत आर्थिक वर्ष २०८१/८२ मा प्रतिक्विन्टल रु तीन हजार ८६७ गहुँको समर्थन मूल्य तोकिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा प्रतिक्विन्टल रु तीन हजार ६५० गहुँको समर्थन मूल्य थियो । आर्थिक वर्ष २०७९/८० मा रु तीन हजार ३५१ मूल्य कायम गरिएको थियो । प्रत्येक वर्ष केही रकम बढाएर मूल्य निर्धारण गरिन्छ ।

सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्ने छ । यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद हुने जनाइएको छ ।

धुलिखेल–खावा सडक : कालेपत्र गर्न आगामी चैत ७ गतेदेखि रातकाे समयमा यातायात बन्द गरिने

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए ।

उनका अनुसार उक्त सडकखण्ड कालोपत्रका लागि आगामी चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएका उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे्र सवारी साधन चल्न रोक लगाइने भएको छ । यस्तै उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यसैगरि टिपर र ट्रकलगायत (पास लिएकासमेत)मालबहाक सवारीका साधनलाई चौबिसै घण्टा चलाउन रोक लगाइएको हो ।

उक्त सडकखण्डमा निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनःबोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताए । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।

सम्झौताका समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीसंग ठेक्का रद्द गरेको हो । सडक बिस्तारको काम कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् ।

उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएका सडकमा दुर्घटना हुँदा यात्री घाइते भइसकेका छन् ।

कहाँ लुकाइयो नियमित आयात भइरहेको ग्यास

भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।

स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ । ग्यास विक्रेताको ग्यास सिलिण्डरको लामो लाइन लागेको छ ।

लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको स्थानीय प्रदीप ज्ञवालीले बताए । नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको उनको भनाइ छ ।

ग्यास विक्रेताले पनि कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको बताएका छन् । मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ ।

यद्यपि भैरहवा भन्सार कार्यालयका अनुसार भने ग्यास आयात नियमित रूपमा भइरहेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ । दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको जनाइएको छ ।

स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशङ्कामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो । पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ ।

सीमावर्ती क्षेत्रमा भने नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ । भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रका नेपालबाट ग्यासका सिलिण्डर भारततर्फ तस्करी भइरहेको सीमा क्षेत्रका बासिन्दाले बताउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ ।

यसैबीच, सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याइँदै गरेको गरी केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले सीमामा निगरानी बढाइएको र अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको बताएको छ ।

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरोकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न विशेष निगरानी बढाउने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्ति तथा कोठा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ । यी लक्षित वर्गका व्यक्तिलाई ग्यास प्राप्त गर्न समस्या भएमा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६०–५६५२००१ मा सम्पर्क गरी जानकारी गराउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

नेपाल आयल निगमको निर्णय अनुरुप ग्यास बिक्री वितरण गरी ग्यास उद्योगी तथा विक्रेताले आफूले प्राप्त गरेको र बिक्री गरेको परिमाणको स्पष्ट अभिलेख राख्नुपर्नेछ । उक्त विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विवरणमा अनियमितता भेटिएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रशासनले आम उपभोक्तालाई नजिकका विक्रेतासँग सम्पर्क गरेर ग्यास लिन, आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न तथा ग्यासको अभाव कम गर्न विद्युतीय चुल्हाको प्रयोग बढाउन आग्रह गरेको छ ।

कतै ग्यास लुकाइछिपाइ वा गैरकानूनी रूपमा बिक्री भइरहेको जानकारी पाएमा टोल–फ्री नम्बर वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत अनुरोध गरिएको छ । सूचनामा ग्यास वितरण प्रणालीलाई न्यायोचित बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

रास्वपाको सचिवालय बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । “बैठकको समय र स्थान तय भएको छैन”, उहाँले भन्नुभयो ।

समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ०४ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।

जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ ।

यस्तै, मध्य बानेश्वर, पूरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बनेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ ।तोकिएको कार्य समय अगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने छ । बिजुली कटौती हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

आप्रवासीलाई इरानबाट बाहिर निकाल्न सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घको घोषणा

काठमाडाैँ । संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले शुक्रबार मध्यपूर्व युद्धमा फसेका केही जोखिममा रहेका आप्रवासीहरूलाई इरान छोड्न मद्दत गरिरहेको बताएको छ । सयौं अन्यलाई सहयोग गर्न अनुरोध प्राप्त भएको उक्त निकायले जनाएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले ठूलो बमबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासीहरु अत्यधिक जोखिममा रहेको जनाएको छ।

आइओएमले सङ्कटमा परेका आप्रवासी र अन्य तेस्रो देशका नागरिकलाई सहयोग गर्न आफू तयार रहेको बताएको छ। आइओएमका पुनर्वास तथा आवागमन व्यवस्थापन निर्देशक डेभिड जोनले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “हामीले केही आप्रवासीहरूलाई इरानबाट घर फर्कन सहयोग गरिसकेका छौँ ।”

“अहिलेसम्म सयौँ अनुरोधहरू प्राप्त भइसकेका छन् र यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ,” सहयोग गरिएका व्यक्तिको राष्ट्रियताको विवरण वा सहयोगको अनुरोध गोप्य राखी उनले भने।

जोनले आप्रवासीहरुको गृह देशबाट आउने सहयोगका लागि अनुरोध चाँडै नै हजारौँमा आउन सक्ने बताए। इरानमा फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएदेखि युद्ध यस क्षेत्रभरि फैलिएको छ। यसले विश्वका शक्तिहरूको ध्यान आकर्षित भएको छ र युद्धका कारण ठूलो इन्धन सङ्कट निम्तिएको छ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय यूएनएचसीआरले बिहीबार भनेको छ, “इरानबाट ३२ लाख मानिसहरू विस्थापित भएका छन्।” उनीहरू केही शरणार्थी परिवारहरू थिए जो ‘विशेष गरी जोखिममा थिए, उनीहरूको पहिले नै अनिश्चित अवस्था र सीमित सहयोग नेटवर्क थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इरान विश्वकै सबैभन्दा धेरै आप्रबासीहरूलाई शरण दिएको देश हो र लाखौँ अफगानी र लाखौँ इराकीसहित ठूलो आप्रवासी जनसङ्ख्या यहाँ रहेको छ।

विकल्पहरू आवश्यक

आइओएमद्वारा उद्धार सहायताको लागि मुख्य अवरोध ‘संसाधनहरू’ भएको जोनले बताए ।

उनले भने, “यदि हामीसँग स्रोत छ भने हामी आप्रवासीहरूको स्वदेश फिर्ती र उद्धारको सहजीकरण गर्न सक्ने हाम्रो क्षमतामा विश्वस्त छौँं।”उनले अगाडि भने, “यी निकासी अभियान महँगो छ, यसले २०० मानिसहरूलाई बाहिर निकाल्न मद्दत गर्नका लागि, करिब छ लाखदेखि सात लाख अमेरिकी डलरका लागि सहयोगको याचना गरेको छ।

इरानका लागि आइओएमका नियोग प्रमुख साल्भाडोर गुटिरेजले एक विज्ञप्ति जारी गर्दै इरानमा मारिनेमा आप्रवासी कामदारको सङ्ख्या उच्च रहेको यसअघि नै बताए।

उनले भने, “यसले ‘सुरक्षित र सङ्गठित स्वदेश फिर्ती विकल्पहरू प्रदान गर्ने आवश्यकता’ लाई जोड दिन्छ।” आइओएमले युद्धका कारण अत्यधिक प्रभावित लेबनानका केही दूतावासहरूले आफ्ना नागरिकलाई उद्धार गर्न मद्दत मागेको बताएको छ।

“यस चरणमा, यो सम्भावित उद्धारको लागि तयारी गर्न धेरै मद्दत मिलेको छ,” लेबनानका लागि आइओएमका नियोग प्रमुख म्याथ्यू लुसियानोले जेनेभामा पत्रकारहरूसँगको कुराकानीमा बताए।

द्वन्द्वले लेबनानमा ठूलो प्रभाव पारेको छ । अधिकारीहरूले इजरायली आक्रमणबाट अहिलेसम्म ६८७ जनाको मृत्यु भएको रिपोर्ट गरेका छन् भने आठ लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।

लुसियानोले भने, “आइओएमले अनुमान गरे अनुसार लेबनानमा बस्ने लगभग दुई लाखमध्ये कम्तिमा ३० हजार आप्रवासी त्यहाँबाट विस्थापित भएका छन् ।”

युएनएचसिआरका अनुसार इरान युद्धपछि लेबनानमा बसोबास गर्ने ९४ हजारभन्दा बढी सिरियालीहरू र १० हजार लेबनानी नागरिक सिरिया प्रवेश गरेका छन्।

अमेरिकी सैन्य विमान इराकमा दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु

काठमाडाैँ । अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले अमेरिकी सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको जनाएको छ।उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट कुनै पनि गोलाबारीको संलग्नता भएको नदेखिएको बताइएको छ। यो विमान इरानविरुद्ध अमेरिकाले जारी राखेको आक्रमणमा प्रयोग गरिएको थियो । यस घटनामा दुईवटा विमान संलग्न रहेको र दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको बताइएको छ।

युद्धका बेला आकाशमै अन्य विमानमा तेल भर्न प्रयोग गरिने ‘युएस केसी १३५’ विमानका चालक दलका छ सदस्यको मृत्यु भएसँगै अहिलेसम्म इरानी आक्रमणमा परी ज्यान गुमाउने अमेरिकी अधिकारीको सङ्ख्या १३ पुगेको पेन्टागनले पुष्टि गरेको छ।

मध्यपूर्वमा अमेरिकी सेनाको जिम्मेवारी सम्हालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक पोस्टमा भनेको छ, “पश्चिमी इराकमा खसेको युएस केसी–१३५ विमानमा सवार चालक दलका सबै छ सदस्यको मृत्यु भएको पुष्टि भएको छ ।”

सेन्टकमले पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “विमान शत्रुको निशाना वा आफ्नै समूहको गलत निशानाका कारण दुर्घटना भएको कुनै सङ्केत भेटिएको छैन । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ।”
यसअघि, इरानी सेनाले दुर्घटनामा आफ्नो संलग्नता पुस्टी गर्दै इराकस्थित सहयोगी समूहले क्षेप्यास्त्र प्रहार गरी विमान खसालेको र त्यसका चालक दलका सबै सदस्यको मृत्यु भएको उल्लेख गरेको थियो ।

इरान समर्थित इराकी समूहहरूको एक खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले केसी–१३५ लाई खसालेको दाबी गरेको छ । उनीहरूले भागेको अर्को विमानलाई पनि निशाना बनाएको बताएका छन्।मध्यपूर्व युद्धको सुरुवातदेखि नै गठबन्धनले इराक र यस क्षेत्रमा अमेरिकी चासोमाथि दैनिक आक्रमण भएको दाबी गर्दै आएको छ, तर यसले विरलै आफ्नो लक्ष्यको नाम दिन्छ।कुवेतमा मैत्रीपूर्ण आक्रमणबाट तीन एफ–१५ विमान खसालेपछि युद्धका क्रममा गुमेकोे केसी–१३५ कम्तीमा चौथो अमेरिकी सैन्य विमान हो ।

आज झापामा सबैभन्दा बढी वर्षा

काठमाडौँ। मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार अझै केही दिन बदली कायम रहने जनाइएको छ ।

अहिले पनि तनहुँ मकवानपुर, बारालगायत जिल्लाहरूमा वर्षा भइरहेको छ । गण्डकीभन्दा पश्चिम नेपालमा भने आज वर्षा भएको छैन । आज विभिन्न क्षेत्रमा हुरीबतास र चट्याङसहित असिनापानीसमेत परेको थियो । यसअघि हिजो चितवनमा १२ घण्टामै १२६ मिलीमिटर वर्षा भएको थियो ।

विभागले आज साँझ जारी गरेको बुलेटिनमा हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै भोलि शनिबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ ।अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१)बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो । उहाँ दुई साताअघि नै नेपाल आउनुभएको थियो । स्वीट्जरल्यान्डमा जन्मिनुभएका एरिना इटालियन नागरिक हुनुहुन्छ ।

एएफसी प्रो–लाइसेन्स प्रशिक्षक उहासँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ । उहाँले पछिल्लोपटक लाओसको सिनियर र युवा राष्ट्रिय फुटबल टोली सम्हाल्नुभएको थियो ।

एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही चैत १२ गते हङकङसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ । एरेनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

प्रशिक्षक एरिनाले नेपाली खेलाडीहरूमा क्षमता रहेको र राम्रा खेलाडीहरूको सङ्ख्या बढाउने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

उदयपुर। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतलाई विद्यालय परिवारले अभिनन्दन गरेको हो । “यस विद्यालयको पूर्वविद्यार्थी राउतलाई देशको सर्वोच्च स्थानमा पुगेर दिनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरेका हौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज दाहालले भन्नुभयो, “उहाँलाई विद्यार्थीहरूको माझ अभिनन्दन गरेपछि विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिल्छ ।”

दोसल्ला र अभिनन्दनपत्रले अभिनन्दित भएपछि प्रमुख अतिथि राउतले आफू जहिले पनि यो विद्यालय आसपास रहेको स्मरण गर्नुभयो । “विसं २०३३ मा एसएलसी दिएपछि यो विद्यालयबाट टाढिए पनि म सधैँ यहीँ छु जस्तो लाग्छ”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “यो विद्यालयले दिएको असल शिक्षा र ज्ञानको उपलब्धिले नै म यहाँ आइपुगेको हुँ ।”

वार्षिकोत्सवका अवसरमा विद्यालयका एकमात्र जीवित संस्थापक सेक्रेटरी (सचिव) राउतकै पिता बलबहादुर राउत, पूर्वप्रधानाध्यापक राजेन्द्रप्रसाद निरौला, पूर्वशिक्षक रामकुमार दाहाल (शास्त्री सर), इन्द्रनारायण गोइत (आइएनजी सर)लाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा प्रमुख अतिथि राउत, विशेष अतिथि कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलगायतले विद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यस विद्यालयको हरेक सफलतामा नगरपालिकाले साथ दिएको र विद्यालयका विद्यार्थीहरूले पनि हरेक विधामा सफलता प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै अझ थप भौतिक संरचना आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षिका अम्बिका राई उत्कृष्ट वर्ष शिक्षकको रूपमा सम्मानित हुनुभयो भने अन्य विधामा खेलकुदतर्फ शिक्षक आयुस कार्कीलाई प्रशंसापत्र प्रदान गरियो ।

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ। बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसअघि उक्त नगरपालिकाको वडा नंं ७, ८ र ९ का पाँच जना दादुरा सङ्क्रमित पुष्टि भएको थियो । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए । प्रमुख गौतमले दादुरा सङ्क्रमित सबैको बुर्तिवाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी दिनुभयो ।

दादुरा सङ्क्रमण देखिएको ठाउँबाट फैलिन नदिनेका लागि रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो । हाल नगरपालिकामा ८३ शङ्कास्पद बिरामी छन् । २१ नमूना परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । दादुरा सङ्क्रमितको समुदायमा खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको जनाइएको छ ।

ढोरपाटनमा दादुराविरुद्धको विशेष खोप अभियान भोलि शनिबार देखि चैत १ गतेसम्म सञ्चालन गरिने बताउनुभयो । नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप दिन लागिएको छ ।

समावेशी सिद्धान्तलाई व्यवहारमा आत्मसात् गर्न आग्रह

काठमाडौँ। नेपाल मतदाता अधिकार मञ्चले अब गठन हुने सरकारले संविधानमा व्यवस्था भएअनुुसार समावेशी र समानुपातिकको पाटोलाई व्यावहारिक रूपमैै कार्यान्वयनका लागि पहल गर्न सुझाव दिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त परिणामले नेपाली समाजको विविधता र समावेशी सिद्धान्तलाई व्यावहारिक रूपमा आत्मसात् गर्न नसकेकाले सरकारले त्यस पक्षलाई विचार पुर्याइ आगामी कदम चाल्न मञ्चले आग्रह गरेको हो ।

नेपाल मतदाता अधिकार मञ्चद्वारा आयोजित कार्यक्रममा निर्वाचनमा भाग लिएका १३ वटा राजनीतिक दलको घोषणापत्र र चुनावी नतिजाप्रति तालमेल नभएको उल्लेख गरियो । मञ्चका अध्यक्ष भक्त विश्वकर्माले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कतिपय राजनीतिक दलले समाजको विविधताअनुसार महिला, जनजाति र दलित समुदायबाट उम्मेदवारी न्यून दिएकाले जनसङ्ख्या अनुरुप नतिजा प्राप्त हुन नसकेको गुनासो गर्नुभयो ।

अधिकारकर्मी मनिष गौतमले १३ वटा पार्टीका चुनावी वाचापत्रको अध्ययन गर्दा केही नयाँ दलमा मात्र समावेशी चरित्र देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलले गठन गरेको चुनावी प्रतिबद्धतापत्र निर्माण कार्यदलमै पनि पुरुष वर्चस्व रहेकाले नतिजा जातीय दृष्टिकोणबाट समावेशी बन्न सकेन, घोषणापत्र समयमा नआउने, ढिलो ल्याइने हुँदा त्यसमा उल्लेख भएका विषयवस्तु के कति कार्यान्वयन भए वा भएनन् त्यसको अध्ययन र अनुगमन खाँचो छ ।”

अर्का अधिकारकर्मी कोपिला डङ्गोलले हालै सम्पन्न निर्वाचनबाट ठूलो सङ्ख्यामा युवा प्रतिनिधि सदनमा प्रवेश गरे तापनि नेपाली समाजले हेर्न चाहेको विविधता र रुपान्तरणको पाटो कमजोर नै रहेको प्रतिक्रिया दिनुभयो ।

पशुपति क्षेत्र र वाग्मती नदीको विशिष्टता उजागर गर्न बृहत् पाशुपतक्षेत्र पदयात्रा गरिने

काठमाडौँ। आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गरिने भएको छ ।

भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको हो । महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको हो ।

आगामी चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ हुने पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट हुने जानकारी गराइएको छ ।

कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरी गरिने भएको छ । कम्तीमा ३५–३६ दिनमा तीर्थयात्रा सम्पन्न हुने अनुमान गरिएको छ ।

‘बृहत्–पाशुपत–परिक्रमा’ का सङ्कल्पकर्ता तथा परिकल्पनाकार स्वामी रमणानन्द गिरीले पशुपति तत्त्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघु–परिक्रमा, मध्यमपरिक्रमा र बृहत् परिक्रमाका बारेमा उल्लेख गर्नुभएको थियो । पशुपतिनाथ नेपालीसँग रिसाउनुभएको अनुभव गर्दै ज्ञात अज्ञात रूपमा गरेका सम्पूर्ण अपराधको क्षमापन गर्दै समाजमा आध्यात्मिक जागरण ल्याउने र तीर्थ महिमा उजागर गर्ने सङ्कल्पलाई सार्थक बनाउने जिम्मा समस्त सनातनी नेपालीमा सुम्पिएको उहाँले बताउनुभयो ।

पदयात्रामा क्षमताअनुसार पूर्ण वा कुनै पायक पर्ने तीर्थस्थलमा सहभागी भई ज्योतिर्लिङ्ग दर्शन तथा पदयात्री साधु–महात्मा भक्तजनको स्वागत गर्न आयोजक समितिका सचिव श्यामकृष्ण सुवेदीले अनुरोध गर्नुभयो । विश्वका हिन्दूमात्रका आराध्यदेव तथा नेपाल र नेपालीका राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ श्रीकेदारनाथको समेत शिरोभागका रूपमा प्रतिष्ठित हुनुहुन्छ ।

भारतका चार धामको दर्शन/तीर्थयात्रापश्चात् श्रीपशुपतिनाथको दर्शन गरेपछि नै चारधामको तीर्थयात्रा प्रयोजनपूर्ण/सार्थक/फलीभूत हुने मान्यता रहेको छ ।

पदयात्रा घोषणाका लागि आयोजना गरिएको विद्वत्सङ्गोष्ठीमा शिक्षाविद् प्रा विद्यानाथ कोइरालाले राष्ट्रदेव पशुपतिनाथबाट संरक्षित तथा पाशुपत सभ्यता विकसित क्षेत्र भएको बताउनुभयो । पशुपतितत्व र पाशुपत क्षेत्रका सम्बन्धमा संस्कृतका विद्वान् पण्डितले अध्ययन, अनुसन्धानपूर्वक युवावर्ग तथा सामान्य जनमानसले बुझ्ने गरी प्रवचन, लेखन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

मूल आयोजक समितिका संयोजक आचार्य कपिलदेव सुवेदीले हिमवत्खण्ड, मानसखण्ड आदि पुराण तथा वैदिक वाङ्मयमा वर्णन गरिएको बताउनुभयो । पशुपतितत्वको महिमा प्रतिपादन गर्दै पाशुपतक्षेत्रमा विद्यमान आदिलिङ्ग कुशेश्वरदेखि चतुषष्ठी सिद्धलिङ्ग रहेको स्थानको महत्व र परिचयसहित नेपाल राष्ट्रलाई भगवान् पशुपतिनाथको देश भनिनुको औचित्य पुष्टि गर्न पदयात्रा सफल हुनेमा उहाँले जोड दिनुभएको थियो ।

दर्शनशास्त्रका उपप्राध्यापक डा रामप्रसाद पौडेलले तीर्थयात्रा परिभ्रमणको हिन्दूमा भन्दा जैन धर्मावलम्बीमा विशेष महत्त्व रहेको, जैन धर्र्मावलम्बीले झैँ पदयात्राका क्रममा यम, नियम आदि व्रत गर्न सक्नुपर्ने, आचार र विचारपक्ष शुद्ध रहनुपर्ने, पाशुपत पदयात्रा र सिद्धलिङ्ग दर्शनमा मात्र सीमित नभई एक ठोस उपलब्धिमूलक बनाउन अनुसन्धान गर्नुपर्ने, त्यसका लागि विश्वविद्यालय तथा नेपाल सरकारले समेत सहजीकरण एवं सहयोग पुर्याउनुपर्ने विचार राख्नुभयो ।

उहाँहरूले भगवान् श्रीपशुपतिनाथ विश्वका धार्मिक क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर वाग्मती तटमा विराजमान हुनुभएकाले यसको महत्व उजागर गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

‘बृहत् पाशुपत पदयात्रा’लाई भव्यताका साथ सम्पन्न गर्न मूल आयोजक समिति र विभिन्न उपसमितिको समेत गठन गरिएको छ ।

अब नेपालले इरानीलाई ‘अन अराइभल’ भिसा नदिने

काठमाडौँ। नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएको छ ।सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो ।

यससँगै नेपालमा अनअराइवल भिसा प्राप्त नहुने मुलुकको सङ्ख्या १३ पुगेको अध्यागमन विभागले जनाएको छ । यस्तो भिसा प्राप्त नगर्ने अन्य मुलुकमा नाइजेरिया, गाहाना, जिम्वाबे, स्वीटजरल्यान्ड, क्यामेरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफ्गानिस्तान र सिरिया रहेका छन् ।

त्यसैगरी, शरणार्थी स्टाटसका ट्राभल डकुमेण्ट भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था रहेको अध्यागमन विभाग निमित्त महानिर्देशक टीकाराम ढकालले बताउनुभयो ।

गौरीटार रङ्गशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाउँछौँ : मुख्यमन्त्री बानियाँ

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको गौरीटार रङ्गशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाउने बताउनुभएको छ ।

‘बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव हेटौँडा २०८२’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गौरीटार रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनेगरी प्रदेशको गौरवका आयोजनाका रूपमा अघि बढाउने बताउनुभएको हो ।

“यहाँ हाम्रो गौरीटार रङ्गशाला छ, त्यहाँ थोरै बजेट खर्च गरेर केही काम पनि भएको छ”, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “अब त्यहाँ प्रदेश सरकारले एक अर्ब बढी बजेट लगानी गरेर अन्तरराष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने स्तरको संरचना निर्माण गर्नेछ ।” सो स्थानमा खेलकुद मैदान, स्वीमिङ पुल, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल, फुटबललगायत सबै किसिमका खेलकुद प्रतियोगिता गर्न सकिने किसिमको संरचना निर्माण गरिने उहाँको भनाइ थियो ।

गौरीटार रङ्गशालामा आगामी एक महिनाभित्र बागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजन गर्न लागिएको जानकारी दिँदै मुख्यमन्त्री बानियाँले बागमती खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको खेल महोत्सवलाई सफल बनाउन जिल्ला खेलकुद विकास समितिलगायत सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

खेलाडीहरू समाज र राष्ट्रका पहिचान भएकाले अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

कृषि, पर्यटन क्षेत्रको विकास गरी प्रदेशका जनताको आयस्रोत वृद्धि गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण, संवर्द्धन गरी पर्यटक क्षेत्रको विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, मकवानपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले आफ्नो भनाइ राखेका थिए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका–१० स्थित टिसीएनचौरमा आजदेखि सुरु भएको महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्रीको खरिद र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवमा खेलकुद सामग्री, व्यापार, स्थानीय कृषि उत्पादनका ४०० स्टल राखिएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न जातजातिका झाँकी तथा राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमसँगै राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय भलिबल, ब्याटमिन्टन, दौड र कराते प्रतियोगितासमेत समावेश गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो ।

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

मेलबर्न । मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबीच अष्ट्रेलिया सरकारले आफ्नो आन्तरिक भण्डारबाट ७६२ लाख लिटर पेट्रोल र डिजेल सार्वजनिक गर्ने घोषणा गरेको छ।

अष्ट्रेलियाका ऊर्जामन्त्री क्रिस बोवेन ले शुक्रबार सङ्घीय सरकारले पेट्रोल र डिजेलको न्यूनतम भण्डारण दायित्वको आधारभूत स्तरको २० प्रतिशतसम्म इन्धन सार्वजनिक गरिने बताएका छन्। उनका अनुसार यस कदमले इन्धन आपूर्ति शृङ्खलामा देखिएको अवरोधलाई व्यवस्थापन गर्न सहयोग पुग्नेछ।

सरकारले डिजेलको न्यूनतम राष्ट्रिय भण्डारण दायित्व २ दशमलव ७ अर्ब लिटरबाट घटाएर २ दशमलव २ अर्ब लिटरमा झार्ने र पेट्रोलको भण्डारण दायित्व एक अर्ब लिटरबाट घटाएर ७०० लाख लिटरमा ल्याउने निर्णय गरेको छ।

उक्त निर्णय अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी को अनुरोधअनुसार इन्धन भण्डार सार्वजनिक गर्ने कदमको रूपमा अष्ट्रेलियाको प्रतिक्रिया भएको जनाइएको छ।

ऊर्जामन्त्री बोवेनका अनुसार यसले इन्धन कम्पनीलाई आफ्नो आपूर्ति शृङ्खला व्यवस्थापन गर्न थप लचिलोपन प्रदान गर्नेछ। उनले यो इन्धन तुरुन्तै बजारमा सार्वजनिक नगरिने पनि स्पष्ट पारे।

उनले अष्ट्रेलियामा हाल इन्धन आपूर्ति सुरक्षित रहेको र मध्यपूर्वको द्वन्द्वका बाबजुद जहाजहरू निरन्तर रूपमा देशमा आइरहेको बताए। तर द्वन्द्व लामो समयसम्म जारी रहेमा भविष्यमा आपूर्ति प्रभावित हुन सक्ने सम्भावना रहेको उनले उल्लेख गरे।

भण्डारणको अवस्था राम्रो भए पनि विशेषगरी अष्ट्रेलियाका ग्रामीण तथा क्षेत्रीय क्षेत्रमा माग अचानक अत्यधिक बढ्दा आपूर्ति शृङ्खलाले दबाब सामना गर्नुपरेको उनले बताए।

उनले नागरिकलाई अनावश्यक रूपमा इन्धन सञ्चय नगर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय अवस्था गम्भीर भए पनि हाल अष्ट्रेलियाको इन्धन आपूर्ति सुरक्षित रहेको बताए।

यसअघि ऊर्जा मन्त्री बोवेनले सरकारले अस्थायी रूपमा इन्धन गुणस्तर मापदण्ड संशोधन गरी ६० दिनका लागि उच्च सल्फर स्तर भएको पेट्रोल प्रयोग गर्न अनुमति दिने घोषणा गरेका थिए। यस कदमले प्रतिमहिना करिब १०० लाख लिटर नयाँ पेट्रोल आपूर्ति उपलब्ध गराउन सहयोग पुग्ने बताइएको छ।

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पारे ।

“नेपालको मासिक खपत ४५/४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ”, प्रवक्ता ठाकुरले भने, “घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।”

ग्यासको बिक्री वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको स्पष्ट पार्दै उनले कहीँकतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गरे। पछिल्लो समय मध्यपूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ । ग्यास उद्योगले आजदेखि ७ दशमवल १ किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन्।

विदेशमा सन्तानः स्वदेशमा अभिभावकको मत परिवर्तन

गलेश्वर (म्याग्दी), फागुन २९ –यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ ।अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो ।

लाहुरेहरुको जिल्ला भनेर समेत चिनिने म्याग्दीका अधिकांश युवा अध्ययन, रोजगारी र व्यापार–व्यवसायका लागि विदेशमा छन् । तिनै विदेशमा रहेका युवाहरुले यस पटकको निर्वाचनमा गाउँमा रहेका आफ्ना अभिभावकहरुको मन जितेर भोट परिवर्तन गराई पुराना स्थापित राजनीतिक दलका उम्मेदवारहरुलाई हराउन र स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताउन सफल भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिई गत माघ ६ गते म्याग्दी आएर स्वतन्त्र उम्मेदवारी दिनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुने देशैभरिको एक्लो उम्मेदवार हुनुहुन्छ ।

पुनः विजयी हुनुमा उहाँको व्यक्तित्व, प्रचार शैली र क्षमता मात्रै होइन, देश विदेशमा रहेका म्याग्देली सन्तानहरुको महत्वपूर्ण भूमिका रहेको नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम बताउनुहुन्छ । “अभिभावकहरुको मत परिवर्तन गराउन सन्तानहरुको महत्वपूर्ण भूमिका रह्यो ।

विदेशमा रहेका आफ्ना सन्तानहरुले एक पटक आफ्नो कुरा सुनिदिन र पहिला जुन पार्टीलाई मत दिँदै आउनुभएको छ, त्यो मत यस पटक महावीर पुनलाई दिन अभिभावकहरुलाई आग्रह गरेपछि जिल्लामा रहेका अभिभावकहरुले कांग्रेस, एमाले र नेकपालाई दिँदै आएको मत परिवर्तन गरी स्वतन्त्र उम्मेदवार पुनलाई दिएका कारण पुनको विजय भएको हो,” अध्यक्ष गौतमले बताउनुभयो ।

गौतमको यो भनाइसँग बुद्धिजीवी तथा राजनीतिक समीक्षक राजु केसी पनि सहमत हुनुहुन्छ । माउन्ट एभरेष्ट माविका प्राचार्यसमेत रहनुभएका केसीले सधैँभरि अभिभावकको कुरा सुन्ने गरेका सन्तानहरु यस पटकको निर्वाचनमा भने आफ्ना कुरा अभिभावकलाई बुझाउन र उनीहरुको मन परिवर्तन गराउन सफल भएको बताउनुहुन्छ ।

“विदेशमा रहेका युवाको बढ्दो चेतना, ज्ञान, देशको अवस्था र राजनीतिक दलका नेताहरुको क्रियाकलापका कारण बढेको नैराश्यता नै मत परिवर्तनको मुख्य कारण हो”, केसीले भन्नुभयो, “वर्षौंदेखि भोट दिँदै आएका राजनीतिक दल र ती दलका नेताहरुको काम र प्रवृत्तिबाट युवाहरुमा उत्पन्न भएको नैराश्यतालाई उनीहरुले आफ्ना अभिभावकहरुलाई राम्रोसँग बुझाउन सके, सन्तानको विचार र बुझाइलाई अभिभावकहरुले पनि मन पराए र उनीहरुले मत परिवर्तन गरे,” प्राचार्य केसीले भन्नुभयो ।

त्यसैगरी, जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ७१ वर्षीय झकबहादुर गर्बुजाले विदेशमा रहेका आफ्ना छोराले यसपटक पुनलाई भोट दिन आग्रह गरेपछि आफूले पहिला भोट दिँदै आएको पार्टीलाई नदिई पुनलाई नै भोट दिएको बताउनुभयो । “वर्षौंदेखि एउटै पार्टीलाई भोट दिनुभयो, खै के पाउनुभयो र ? तपाइँहरु गाउँमा दुःख गर्ने, हामीले विदेशमा रातदिन नभनी काम गर्नुपर्ने अवस्थामा परिवर्तन भएन । यस पटक भोट परिवर्तन गर्नुहोला बुबा ! छोराको यो भनाइले आफ्नो मन छोएपछि भोट परिवर्तन गरेर महावीर पुनलाई हालेँ,” उहाँले भन्नुभयो ।

राजनीतिक दल र नेताहरुप्रतिको नैराश्यता र सन्ततिहरुको दबाबका कारण यसपटक म्याग्देली जनताले मत परिवर्तन गरेर भारी मतले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन १४ हजार ९३१ को फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको हो ।

निर्वतमान शिक्षामन्त्री समेत रहनुभएका पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी)ले छ हजार ६७३ मत र नेकपाका अर्जुन थापाले तीन हजार ५३० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।

पकड क्षेत्रमै आएन दललाई भोट

यसपटको निर्वाचनमा कांग्रेस, एमाले र नेकपालाई आफ्नो बलियो पकड भएको भनिएका ठाउँहरुबाट नै भोट नआएपछि चिन्तित बनाएको छ । धवलागिरि गाउँपालिकाको लुलाङ, मुदी, मराङ, ताकम र मङ्गला गाउँपालिका र अन्नपूर्ण गाउँपालिका एमालेका बलियो पकड र सङ्गठन भएका क्षेत्र हुन् । एमाले नेताहरुले यी क्षेत्रलाई आफ्नो ‘कोर एरिया’ भन्ने गरेको भए पनि लुलाङ बाहेकका वडामा यसपटक कमजोर देखियो भने नेपाली कांग्रेसले मल्कवाङमा सबैभन्दा धेरै मत ल्याए पनि अन्य वडामा निकै खुम्चियो ।

जिल्लाभर विगतमा राम्रो मत ल्याएका दलहरुलाई प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार र समानुपातिकमा सबै वडामा रास्वपाले अग्रस्थान मत पायो । एमालेका उम्मेदवार श्रेष्ठ, नेकपाका उम्मेदवार अर्जुनबहादुर थापाले आफ्नै वडामा अग्रता लिन सक्नुभएन भने कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले आफ्नो वडा रघुगङ्गा गाउँपालिकाको भगवती, पिप्ले र कुइनेमङ्गलेमा अग्रता लिनुभयो । भण्डारीको भगवती र पिप्लेको अग्रताले राहत मिले पनि अन्य वडामा कमजोर देखियो ।

यहाँ मात्र होइन, धेरै जसो वडामा प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार पुनले र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले अग्रणी मत ल्याउँदै विजयी भए । एमाले र कांग्रेसले आफ्नो गढ मानिरहेकामा मतको रुझान हेर्दा यसपटक दलहरुको अवस्था नराम्रोसँग बिग्रिएको देखिएको म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । “यसपटक स्वतन्त्रलाई प्रत्यक्षमा र समानुपातिकमा रास्वपालाई रोजेका मतदातालाई पुरानै लयमा फर्काउन दलहरूले निकै मेहनत गर्नुपर्ने हुन्छ भने नयाँ दललाई समेत प्राप्त जनमत जोगाउने उत्तिकै चुनौती छ”, थापाले भन्नुभयो ।

पालिका र वडामा आफ्ना जनप्रतिनिधिले नै मतदातालाई आश्वस्त पार्न नसक्दा उम्मेदवारले सोचेजस्तो मत पाउन नसकेका राजनीतिक समीक्षक यादव रिजालले बताउनुभयो । आशा गरेका मतदान केन्द्रबाटै स्वतन्त्र उम्मेदवार पुनले अग्रता लिएपछि माथि उठ्नै नसक्ने गरी दलहरुले कमजोर नतिजाको सामाना गर्नुपरेको उहाँको भनाइ थियो ।

यसपटक समानुपातिकमा रास्वपाको र प्रत्यक्षतर्फ स्वतन्त्रबाट विजयी महावीरको ‘क्रेज’ र त्यसको प्रभावमा दलका उम्मेदवार परेको जानकारहरू बताउँछन् । “स्वतन्त्रलाई प्रत्यक्षमा हालेर समानुपातिकमा पार्टीलाई मत आउने दलहरूको अपेक्षामाथि नराम्रोसँग कुठाराघात भएको देखियो” रिजालले बताउनुभयो ।

दुईवटा प्रदेशसभा सदस्य रहेको नेकपाले त जमानत जोगाउन आवश्यक पर्ने खसेको मतको १० प्रतिशत समेत ल्याउन सकेन । म्याग्दीमा २०७९ सालमा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ९खम्बीर० ले प्रतिनिधिसभा सदस्यमा २४ हजार २१ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९ मत प्राप्त गर्नुभएको थियो ।

आफ्नै कामले पहिचान बनाएका महावीर पुन

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई अत्यधिक मतले विजयी भएपछि प्रतिनिधिसभा सदस्य बन्नुभएका महावीर पुन वैज्ञानिक, अनुसन्धानकर्ता एवं समाजसेवी व्यक्ति हुनुहुन्छ । २०११ माघ ५ गते म्याग्दी जिल्लाको नागी गाउँमा बुबा कृष्ण पुन र आमा पूर्वी पुनको छोराका रूपमा जन्मिएका पुनलाई नचिन्ने सम्भवतः अहिले कोही छैनन् । पुनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले ‘राष्ट्रिय आविष्कार केन्द्र’को स्थापना गर्नुभएको थियो ।

हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय उहाँ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुनुहुन्छ । पुनले सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गर्नुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुअघि उहाँ वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै जीवनीमा आधारित पुस्तक ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बेच्दै नेपालका विभिन्न ठाउँमा घुम्नुभएको थियो ।

पुनले २०५८ देखि २०६४ सालको समयमा पोखरा, काठमाडौँलगायत सहर बजारमा सहज रूपमा कम्प्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेर संसारकै ध्यानाकर्षण गर्नुभएको थियो । पुनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकामा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रूपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गर्नुभयो ।साथै, पुनले सन् २००२ मा अशोका फेलोसिप, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित रु १० लाख नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गर्नुभएको छ ।

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौँ, फागुन २९ –विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ ।

विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिनाभिसा बसिरहेका २१ नेपालीलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा आज नेपाल फर्काइएको छ । यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।

कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ । साथै दूतावासले अवैध रुपमा र आप्ठ्यारो अवस्थामा बसिरहनुभएका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ्ग केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि धेरै जनाको गुनासो आएको देखिन्छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया गएको देखिन्छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यान्मा थाइल्याण्डलगायत मुलुकमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

‘श्रुती’ नामक एक्ल्बमको पहिलो गीतका रुपमा आयो वेदांशी’

काठमाडौँ । सितार वादक हिमालयन सितारले ’वेदांशी’ नामक गीत रिलिज गरेका छन् ।वेदांशी ’श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ’सेरो डुओ’सँग सहकार्य गरेका छन् ।

७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिएका छन् ।

सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोटीफाइ लगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्यूजिकलोजीमा मास्टर्स गरिरहेका झापाका ’हिमालयन सितार’को वास्तविक नाम उत्तम घोष हो ।उनी हिमालयन सितार मार्फत नेपाली शास्त्रिय संगीतलाई संसारभार चिनाउन चाहान्छन् ।

दुई हजार ८०० रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ ।

बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो ।

समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।

थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्,‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट प्राप्त गरेको छ ।

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका हुन् ।

एक साताको अन्तरालमा १४ वटा बङ्गुर मरेका किसान गुरोले दुखेसो गरे । बङ्गुरको उपचारका लागि पशु चिकित्सकहरुलाई खबर गरेको र उपचार गर्दागर्दै पनि बङ्गुर मरेको उनले बताए ।

डा चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगले मरेको छ । रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका पशुबाट फैलने उनले बताए ।

रोग नियन्त्रणका लागी चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने चिकित्सक चौधरीले बताए । चन्द्रपुरका किसानले छ हजारको हाराहारीमा बङ्गुर पालेका छन् ।

मानुङकोटस्थित एक होटलमा विद्युत् चुहिएर आगलागी

तनहुँ। व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ।

व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो ।स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि, १६४ जना नेपालीलाई स्वदेश ल्याइने

काठमाडौँ। सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो ।

विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौँ विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो ।आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले राससलाई जानकारी दिनुभयो ।

यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

काठमाडौं – एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । नेओलीका पिता मोहनप्रसाद ओलीको गठ्ठाघरस्थित अस्पतालमा ९७ वर्षको उमेरमा आज निधन भएको हो ।

केही समय यता अस्वस्थ रहेका मोहनप्रसाद ओलीको आज निधन भएको अस्पतालले जनाएको छ । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारीगरिएको र आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६२, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (मुडे) प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु २५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ३५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ४०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७५, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ३५, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ४५, बकुला प्रतिकिलो रु ३५, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ३०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ४०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु १६०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३२०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ६०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ३००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १२०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।