`

कैलालीमा भारी वर्षा मापन,सर्तकता अपनाउन आग्रह

काठमाडौँ । पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रमा बग्ने साना खोलाहरूको जलस्तर बढ्न सक्ने सम्भावना छ।

तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ। खोला किनारमा नजिक नजान र सुरक्षित स्थानमा रहन पनि विभागले सुझाव दिएको छ।

आज ऋषि पञ्चमीःसप्तऋषिको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्दछ
आजको दिन महिलाहरू बिहान स्नान र दैनिक क्रियाकलापपछि उपमार्ग (ग्उबmबचनब) भन्ने विशेष जडीबुटी प्रयोग गरी दाँत माझ्ने र चपाउने गर्छन्।

उपमार्ग नेपाली भूमिमा सजिलै पाइने वनस्पति हो, जसलाई संस्कृतमा रोगनाशक तत्व भनिन्छ। महिलाहरू १०८ वटा उपमार्गका टुक्राहरू प्रयोग गर्छन्। त्यसपछि माटोले शरीर दल्ने चलन छ। त्यसपछि नदी वा पोखरीमा स्नान गर्छन्। स्नानपछि, पञ्चभाग्य (दूध, दही, घ्यू, दुबो, कुश र गोरुको गोबर) लाई तामाको भाँडोमा राखेर एक–दुई थोपा सेवन गरिन्छ। यो पर्व महिलाको स्वास्थ्य, आत्मशुद्धि र शक्तिको सम्मान गर्ने पर्व हो।

दुई टी–२० अभ्यास खेलःआज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन्। पहिलो खेल बिहान ५ ः १५ बजे सुरु भएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ ः १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए।आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज (बिहीबार) बस्दैछ ।
बिहान साढे ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ, १२ भदौः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

अमरगढी (डडेल्धुरा), १२ भदौः सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने यसका जानकार खगेश्वरी साउदले बताउनुभयो । “एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “बिरुडा भिजाइँदा माङ्गलिक सगुन फाँग गाउँछाँै ।” यो पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन् ।

“गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ,” उहाँले भन्नुभयो, “गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।”

आजैदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ ।

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

काठमाडौँ, १२ भदौः हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने

काठमाडौँ, १२ भदौः पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उहाँले बताउनुभयो ।

आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ । “सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ । औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ । छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भन्नुभयो ।

यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ ।

यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई÷तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताउनुभयो । उहाँका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ ।

भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो । “चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ । उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ”, सूचना अधिकारी भूलले भन्नुभयो । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

हाल हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो । विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भयो । यो विमानस्थलमा अन्तरराष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ ।

तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ ।

हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौँमा नियमित उडान गरिरहेका छन् । भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ । ड्रुक एयरले पारो–काठमाडौँ–पारो–दिल्ली–काठमाडौँ ‘ओभर फ्लाइट’ गरिरहेको छ । आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान अनुमति पाएर सेवा सञ्चालन भएमा त्यसले पनि यसको प्रचारमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्राधिकरणका अनुसार चार्टर्ड उडान अनुमति दिन केही समस्या नभए पनि नियमित उडानका लागि भने अब पोखरा र भैरहवा वेस भएर उडान गर्नेगरी अनुमति दिइनेछ । नेपालले हाल ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । हवाई सम्झौता पुनरावलोक गर्दा भैरहवा र पोखरा उडान थपिनेछ । कुनै पनि वायुसेवा कम्पनीलाई पोखरा र भैरहवाबाट चार्टर्ड उडान गर्न दिन कुनै समस्या नभएको सूचना अधिकारी भूलले बताउनुभयो । प्राधिकरणको विवरणमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर नेपालका तीन हवाई सेवा प्रदायक कम्पनीसहित ३० एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।

भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन् । यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो । थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ । हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ । यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ । हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान लामो समयदेखि हुन सकेको छैन ।

काठमाडौँ मलेसिया र मलेसियाबाट भैरहवा उडान गरिरहेको एयरलाइन्सले विमानको अभावमा उडान स्थगित गरेको जनाइएको छ । गौतमबुद्ध विमानस्थलमा विभिन्न चार्टर्ड उडान सञ्चालन भइरहेका छन् । प्राधिकरणका सूचना अधिकारी भूलले विन्टर सिजनबाट थाई एयर एसिया र जजिरा एयरलाइन्सले नियमित उडान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जजिराले हाल कुवेतबाट काठमाडौँ उडान गर्दै आएको छ । भैहरवाबाट जजिरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुवै विमानस्थलमा अरू विदेशी वायुसेवा पनि आकर्षित हुने प्राधिकरणको विश्वास छ ।

जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ । विसं २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो । एयरलाइन्सले पुनः नियमित उडान सुरु गर्न लागेको हो ।

पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । हाल यहाँबाट हुने अन्तरराष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो । सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो । यी दुई विमानस्थलको अन्तरराष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ ।

यी दुवै विमानस्थलको अन्तरराष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ ।

सुदूरपश्चिममा चार दिनसम्म सञ्चालन हुने गौरा पर्व आजदेखि सुरु हुँदै

बैतडी,-सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।

यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

यस पर्वको पहिलो दिन घर–घरमा तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । पहिलो दिन महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रूपमा बिरुडा धोइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाहरूले दुबधागो चढाउने प्रचलन छ । चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाले बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरूले बताउने गरेका छन् । सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् ।

महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।

गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेशअनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र देउडा खेल्ने चलन रही आएको छ । यसैबीच, गौरा पर्व गाउँघरमा चहलपहल पनि बढेको छ । पर्व मनाउन रोजगारीका लागि देशबाहिर रहेकाहरू घर फर्किने थालेका छन् ।

अब ठूलो पर्दामा ‘हरिबहादुर’

काठमाडौँ, १२ भदौः नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउनेछन् ।

गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिनुभएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत हुनुभएको छ । बुधबार चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्नुहुँदै उहाँले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताउनुभयो । आचार्यले भन्नुभयो, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”

अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेख्नुभएको चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उहाँले भन्नुभयो ।

अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिनुभयो ।

निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्नुभएको चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गर्नुभएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८ रुपैयाँ ०६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्क उपलब्ध हुने जनाइएको छ ।

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर, ११ भदौ : उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको प्राङ्गणमा सिँगारिएर राखिएको चाँदीको गणेशको मूर्ति, त्यस मूर्तिको अगाडि विभिन्न चौरासी व्यञ्जनका परिकारसहित बोको र राँगोको बलि चढाइएको छ ।

मूल पूजा र स्थानीयको पूजा सम्पन्न गरेसँग मूर्तिको खटमा राखेर पूजा गरेसँगै खटको बाँसमा एकातिर बागमती प्रदेशका स्वास्थ्यमन्त्री एवं स्थानीयवासी किरण थापा, अर्को प्रतिनिधिसभा सांसद एवं कांग्रेस जिल्ला सभापति दुलर्भ थापा, अर्कोतर्फ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटालगायतले गणेश विराजमान खट काँधमा राखेर टोल परिक्रमा गराएर सुरु भएको सूर्यविनायक गणेश खट जात्रा साँझ गणेश मन्दिरमा आरती गरेसँगै सम्पन्न भएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई सुरु भएको रथ जात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनःमन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउँदै आएको गणेश रथजात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो, विगत तीन वर्षदेखि सुरु भएको यो जात्रा यसवर्ष हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोल पुर्‍याएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।” वडा नं ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको छ ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो ।

जात्रामा एमाले जिल्ला अध्यक्ष वचन देउजा, नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडा नं ६ का वडाध्यक्ष ईश्वर खड्का, विभिन्न दलका नेताहरु, पूर्वमन्त्री एवं नगरपालिकाका जनप्रतिनिधि र ठूलो सङ्ख्यामा स्थानीवासीको सहभागिता थियो ।

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक मित्रता र आपसी विश्वासमा आधारित रहेको बताउनुभएको छ ।

नेपालस्थित चीन संस्कृति केन्द्र र आन्हुई प्रान्तीय संस्कृति तथा पर्यटन विभागद्वारा आज आयोजित ‘विश्वसँगको संवादमा सुन्दर आन्हुई’ प्रवर्द्धन सम्मेलनको शुभारम्भ गर्दै उहाँले दुई देशबीच पर्यटन, संस्कृति, भाषा, साहित्यलाई आदानप्रदान गरी सम्बन्धलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा पनि चीन, आन्हुईजस्ता प्रान्तीय–स्तरका सहकार्य कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने बताउँदै यसले जनस्तरमा पनि सम्बन्ध बलियो बनाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा आन्हुई प्रान्तीय जन सरकारका भाइस गभर्नर सन योङले आन्हुई प्रान्तीय भाइस गभर्नर सन योङले संस्कृति र पर्यटनको अनुपम नमुनाका रूपमा आन्हुईलाई विकास गरिएको बताउँदै काठमाडौँ र आन्हुईबीच प्रत्यक्ष सहकार्य विस्तारमा जोड दिनुभयो ।

नेपालस्थित चिनियाँ राजदूत चेन सङले नेपाल–चीनको सम्बन्धलाई अझ सबल बनाउन आन्हुई प्रवर्द्धन सम्मेलनले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । आन्हुई प्रान्तको सांस्कृतिक सम्पदा, पर्यटन गन्तव्य, लगानी अवसर र ‘ग्रान्ड ह्वाङ्सान’ ब्रान्ड विश्वसामु प्रस्तुत गरिएको थियो ।

विशेषगरी ह्वाङ्सान पर्वत, सिडी–होंगछुन गाउँ जस्ता युनेस्को विश्वसम्पदा क्षेत्र, चिया संस्कृति, ग्रामीण पर्यटन र आधुनिक लगानी वातावरणबारे प्राविधिक प्रस्तुति गरिएको थियो । सम्मेलनमा नेपाली सरकारी निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।यसअघि जापान, दक्षिण कोरिया, बेलायत र संयुक्त राष्ट्रसङ्घमासमेत यस किसिमको प्रवर्द्धन सम्मेलन भइसकेको जनाइएको छ ।

अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

काठमाडौँ, ११ भदौँ : नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई ‘डिएनए’ बाट गरिने परीक्षण र ड्रक परीक्षणका लागि प्रयोग हुने आधुनिक उपकरण र ‘डिएनए’ परीक्षणमा प्रयोग हुने सफ्टवेयर सहयोग गरेको छ ।

प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट प्राप्त कम्बाइन्ड डिएनए इन्डेक्स सिष्टम (डिएनए सफ्टवेयर) र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो ।

नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा आज एक समारोहबीच अमेरिकी दूतावासले उक्त प्रविधि हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो्छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणसमेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त प्रणालीको सुविधाले फोरेन्सिक डिएनए विश्लेषण क्षमतालाई अन्तरराष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै यस उपकरणले लागुऔषधको स्क्रिनिङमा क्षमता अभिवृद्धि हुने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवं विकासका लागि विगतका वर्षमा विभिन्न परामर्श, तालिम र उपकरणसमेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तरराष्ट्रिय मापदण्डअनुरूप क्षमतावान् एवं दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताउनुभयो ।

आधुनिक प्रविधिको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिनआर थमसनले आज हस्तान्तरण गरिएको आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

काठमाडौँको गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो, ठाउँठाउँमा वर्षा

काठमाडौँ, ११ भदौँ : काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउने सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

पछिल्लो तीन घण्टामा झापा जिल्लास्थित शनिश्चरे वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको पनि महाशाखाले जानकारी दिएको छ । सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बहाव बढ्नसक्ने चेतावनी समेत दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि नै काठमाडौँ उपत्यकालगायत केही जिल्लामा भारी वर्षा भएको छ र उपत्यकामा अहिले राति ८ः०० बज्दा पनि वर्षा जारी छ ।

पछिल्लो तीन घण्टामा काठमाडौँमा ३४ मिलिमिटर र छ घण्टामा ६१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी झापामा तीन घण्टामै ५४ मिलिमिटर वर्षा भएको छ । झापामा पछिल्लो छ घण्टामा १०३ मिलिमिटर वर्षा भएको छ ।

नुवाकोटमा पछिल्लो तीन घण्टामा ४० दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोक, सिन्धुली, गुल्मी, लमजुङ, धादिङ, बारालगायत जिल्लामा पनि मध्याम वर्षा भएको विभागले जनाएको छ ।

महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम देशभर नै बदली रहेको बताउनुभयो ।

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज महाधिवेशन व्यवस्थापन समितिको आजको बैठकलाई सम्बोधन गर्दै सबै उपसमितिलाई तयारीलाई तीव्र पार्न निर्देशन दिनुभएको छ ।

महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकाले अब त्यसकै आधारमा प्रचारप्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिनुभएको छ । उहाँले पूर्वनिर्धारित योजनाअनुरूप नै व्यवस्थापनको काम अघि बढेको पाइएको बताउनुभयो ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भदौ १५ गतेदेखि तयारीको कामलाई थप तीव्रता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा आठवटै उपसमितिका प्रमुखहरुले आफ्नो आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका थिए ।

प्रतिनिधि व्यवस्थापन, मञ्च तथा हल व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, प्रचार व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ व्यवस्थापन, सांस्कृतिक व्यवस्थापन, स्वागत गेट तथा साजसज्जा र दस्तावेज प्रकाशन व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिपोर्टिङ गरेका छन् । बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।

पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको छ । पार्टीले हिजोमात्र महाधिवेशनको मूल नारा तय गरेको छ ।

“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ लाई पार्टीले मूल नारा बनाएको छ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कूल दुई हजार ३७८ रहेका छन् ।

नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

काठमाडौँ, ११ भदौ-प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यही भदौ १४ देखि १८ गतेसम्म चीनको भ्रमण गर्नुहुने तय भएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङले भन्नुभयो, “भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ । साङ्घाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ ।” भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको उहाँको भनाइ थियो ।

मन्त्री गुरुङले भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको बताउनुभयो ।

यसैबीच, उहाँले सरकारले नयाँ र ठूला योजना नथप्ने र गर्नसक्ने योजनामात्रै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीतिलाई कडाइका साथ अवलम्बन गरिने उल्लेख गर्नुभयो । खस्किँदो अर्थतन्त्र वर्तमान सरकारका नीति र क्रियाकलापले लयमा फर्किएको बताउँदै उहाँले अन्तरमन्त्रालय समन्वयका कारण तीव्रगतिमा हुन नसकेका विकास पूर्वाधारलाई समन्वय गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका कामलाई चुस्तदुरुस्त बनाउन तथा प्रभावित हुन नदिन मन्त्रीको विदेश भ्रमणमा कडाइ गरिएको तथा मन्त्री र सचिव एकैसाथ भ्रमणमा जान नदिने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन, १० भदौः चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ ।नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५४५ र मझौला अण्डाको रु ५३० कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा रु २३ कायम गरिएको छ ।

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् ।

यसवर्ष साउन महिनामासमेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताउनुभयो । अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् । उहाँले हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण सङ्कटमा रहेको बताउनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाखको हाराहारीमा झरेको जानकारी दिनुभयो ।

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने

वीरगञ्ज (पर्सा), ११ भदौ : नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यही भदौ १० गते सार्वजनिक सूचना जारी गरी नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी पाँच हजार डलरसम्म ल्याउने प्रावधान रहेको जनाएको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले राष्ट्र बैंकले भारतीय पर्यटकलाई भन्सार घोषणा नगरीकनै पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने प्रावधानले यहाँको पर्यटन व्यवसायीलाई राहत मिल्ने बताउनुभयो ।

वीरगञ्जमा चारवटा तारे होटेलसहित ८५ भन्दा धेरै होटल छन् । तर, अपेक्षाकृत रुपमा पर्यटकको बसाइँ लम्ब्याउन सकिएको थिएन । यहाँको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।

मूलधारका दलहरू एकअर्कालाई देखाएर पन्छिन मिल्दैन : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), ११ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधार ठूला तीन दलले एकअर्कालाई दोष देखाएर पन्छिन नमिल्ने बताउनुभएको छ । सुर्खेतको रामघाटमा आज आयोजित कार्यक्रममा उहाँले निराशा बाँडेर जनताबाट विश्वास जित्ने नसकिने बताउनुभयो । दलीय मतभिन्नतालाई थाती राखेर जनतामाझ आशा र विश्वास दिलाउनसके राजनीति र विकासले सही मार्ग पहिल्याउने उहाँको भनाइ छ ।

“एकअर्कालाई कमजोर देखाउन केही भएको छैन भनेर निराशा बाँड्न हुँदैन, ठूला तीन दल पालैपालो शासन सत्तामा छौँ”, उहाँले भन्नुभयो, “हामीले भएका राम्रा सकारात्मक कामहरू सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ, जसले जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्दछ ।”

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताउनुभयो । प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पूरा भएको बताउनुभयो ।

भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधासम्पन्न भवनबाट शान्तिसुरक्षा र अपराध नियन्त्रणजस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । एक करोड ५७ लाख ५८ हजार ३८० रुपैयाँ लागतमा सम्झौता भए पनि भवन भने एक करोड ३२ लाख सात हजार ७२ रुपैयाँमा सम्पन्न भएको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन ९एसइओ० शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्ने छन् । उनले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्ने छन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको छ ।

ऊर्जा क्षेत्रलाई रोजगारी र लगानीको मुख्य आधार बनाउनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना र लगानीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

आज ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को आयोजनामा भएको पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा दाहालले ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन नसकेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले अब यस क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सुरु गरेको नीतिगत निरन्तरताले आज नेपाल विद्युत् निर्यात गर्न सक्षम भएको छ ।”

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा क्षेत्रमा नियामक, सञ्चालक र विकासकर्ता एउटै संस्थामा सीमित रहनु समस्या भएको बताउनुभयो । यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई राष्ट्र विकासको प्रमुख आधार मान्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिएर नीतिगत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अन्तर मन्त्रालय समन्वयको अभाव औँल्याउनुभयो । नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खिमलाल भण्डारीले ऊर्जा क्षेत्रमा जनसहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले नदी प्रवाहमा आधारित आयोजनाले मात्र भविष्यमा माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजनामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

कोशी प्रदेशले संविधान दिवस भव्य रुपमा मनाउने

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो ।

सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ सय एक सदस्य मूल समारोह समिति गठन गरेको छ । त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रुपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । वक्तित्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा ,प्रदेश सरकारका सेवाहरू देखिनेगरी कार्यक्रमहरू गर्ने निर्णय गरिएको छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै संघसंस्था लाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरे। उनले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो ।

सामाजिक सञ्जालहरूलाई ७ दिनभित्र सूचीकरण हुन सरकारको आह्वान

काठमाडौँ । सरकारले विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही भदौ ९ गतेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारबाट घोषणा भएका ती आयोजनासम्बन्धी निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनःसक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ ।

सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ ।

सरकारले नेपाली सेनाका चार जना उपरथीको सरुवा गर्ने तथा एक जनालाई उपरथीमा, एक जनालाई सहायक रथीमा र एक जनालाई महासेनीमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले भदौ १६ गतेदेखि १८ गतेसम्म कोरियाको सिओलमा हुने ग्लोवल ग्रीन ग्रोथ इन्स्टिच्युटसँगको सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रलाई स्वीकृति दिएको छ ।

बैठकले यही भदौ १० देखि १३ गतेसम्म फिजीको नाडीमा आयोजना हुने छैठौँ फोरम अफ मिनिस्टर एन्ड इन्भायरोमेन्ट अथोरिटी अफ एसिया प्यासिफिकमा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा बिकलाई स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्ले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको भदौ ३० देखि असोज ३ गतेसम्म भियाना इन्टरनेशनल सेन्टरमा आयोजना हुने ६९औँ आइएइए जनरल कन्फ्रेन्समा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिएको छ ।

सरकारले नेपाल लेखापरीक्षण सेवाको समूहिकीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक रिक्त पदमा इन्द्रप्रसाद आचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ ।बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले पेस गर्नुभएको शैक्षिक अवकाश स्वीकृत गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले पदभार ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले पदभार पनि ग्रहण गरेकी हुन् । सोही क्रममा उनले मुख्य रुपमा विधेयक र ऐन कानून बनाउनुपर्ने समिति भएको हुनाले अलि गम्भिर भएर आएको भन्दै समितिमा रहेका विधेयकहरु समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने बताईन् ।

उनले भनिन्, ‘यो समितिमा मुख्य रुपमा विधेयक र ऐन कानून नै बनाउनुपर्ने समिति हो । त्यसकारण पनि अलि गम्भिर नै भएर आएको छु । यो समितिमा म सदस्यको हैसियतले पनि काम गरिरहेको हुनाले यो समितिमा रहेका विधेयकहरु समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने छु ।’

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा भएको शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षि दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरु लगायत सबैको उपस्थिती रहेको थियो
समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् ।

ऊर्जामन्त्री खड्का र भौतिक पूर्वाधारमन्त्री दाहालबीच छलफल : विकास निर्माणमा तीव्रता दिन आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरी संखुवासभालगायत देशभरका विकास निर्माण योजनामा गति दिन आग्रह गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयको कार्यकक्षमा भएको भेटमा मन्त्री खड्काले आगामी वर्षमा पनि विगतका जस्तै बजेट फ्रीज हुने अवस्था दोहोरिन नदिन, योजनाहरू समयमै सम्पन्न गर्न र योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री दाहालसँग विशेष जोड दिए । उनले भने, ‘जनताले अनुभूति गर्ने खालका विकास योजनाहरूलाई प्राथमिकतामा राखेर समयसीमा भित्र सम्पन्न गर्नु आजको आवश्यकता हो। ढिलासुस्तीका कारण विकासमा जनआस्था घट्दै गएको छ, त्यसैले यथाशीघ्र सुधार आवश्यक छ ।’

मन्त्री खड्काले संखुवासभा जिल्लामा सञ्चालनमा रहेका सञ्चालनमा रहेका सडक, पुल तथा आवासीय संरचना निर्माणलाई तीव्रता दिन मन्त्री दाहालसँग आग्रह गरे । मन्त्री खड्काले चाडपर्व नजिकिएकासँगै राजधानीबाट जिल्ला फर्किनेहरुको चहलपहल बढ्ने भएकाले सुरक्षित रुपमा आवतजावतकालागि बाटोघाटो र यातायातको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटमा भौतिक पूर्वाधार मन्त्री दाहालले ऊर्जामन्त्री खड्काको प्रस्तावलाई सकारात्मकरूपमा लिँदै आगामी दिनमा मन्त्रालयबीच सहकार्य गरेर काम अघि बढाइने बताए । उनले भने, ‘विकास कुनै एक मन्त्रालयको जिम्मेवारी मात्र होइन, यो साझा एजेन्डा हो। त्यसैले ऊर्जा, भौतिक पूर्वाधार, शहरी विकास लगायतका निकायबीचको सहकार्य अझ मजबुत पार्दै योजनाहरूलाई परिणाममुखी बनाइनेछ ।’

यसैबीच, ऊर्जामन्त्री खड्काले शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई समेत संखुवासभा र अन्य जिल्लामा भौतिक पूर्वाधारका योजना छिटो सम्पन्न गर्न निर्देशन दिए । विशेषगरी विनियोजित कार्यक्रम र बजेट फ्रीज नहुने गरी योजना कार्यान्वयनमा तीव्रता दिन मन्त्री खड्काले सचिव सिग्देललाई आग्रह गरे ।

पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ, ११ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताउनु भएको छ । साथै उहाँले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ १३ गते दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको बैंठक स्थगित भएको हो ।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको र एमालेकोदोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तालिका रहेको छ ।

पार्टीको महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता हुने एमालेले जानकारी दिएको छ ।

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), ११ भदौः चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु सात करोड ९१ लाख ५३ हजारले बढेको उहाँले बताउनुभयो ।

पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने रु ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, रु २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र रु एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ, ११ भदौ : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छभने १५ गते भुटानसँग भिड्ने छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ११ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४४, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४१, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (तराई) प्रतिकिलो रु ११०, रातो मूला प्रतिकेजी रु ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५५, तने बोडी प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ६५, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ६५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकिलो रु १६०, चमसुरको साग प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १३००, पुदिना प्रतिकिलो रु ८२५, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३६०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २९०, ताजा माछा (छडी) प्रतिकिलो रु २६०, रुख टमाटर प्रतिकिलो रु २००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दै

काठमाडौँ, ११ भदौ : आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९० पैसा र बिक्रीदर १०९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८ रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४६० रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ६४ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

आज भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, ११ भदौः अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष सदस्य एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।

यस दिन बालबालिकालाई ‘छुस्यामुस्या बाँड्ने चलन पनि नेवार समुदायमा छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ । विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यसदिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ ।

कप्तान सावित्रा भण्डारीलाई तनहुँमा नगद ५० हजारसहित सम्मान

दमौली (तनहुँ), ११ भदौ: राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तीजको अवसरमा आज यहाँ आयोजना गरेको तीज गीत प्रतियोगिताको अवसरमा भण्डारीलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो ।

भण्डारीलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्लाले सम्मान गर्नुभयो । खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कप्तान भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले जानकारी दिनुभयो ।

कार्यक्रममा कप्तान भण्डारीले जुन क्षेत्रमा भए पनि कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त हुने बताउनुभयो । गाउँमा मोजाको बल खेल्दै काठमाडौँ पुगेको विगत स्मरण गर्दै भण्डारीले भन्नुभयो, “म दाइहरुसँग फुटबल खेल्थे । जहिले पनि गाली खान्थँे, पिटाइ खान्थेँ । मैले तत्कालीन समयमा गरेको मेहिनतका कारण आज यो ठाउँमा छु ।”

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य गुरुङले खेलकुदले हरेक नेपालीलाई एकापसमा जोड्ने काम गरेको बताउनुभयो । गुरुङले खेलकुदको माध्यमबाट भण्डारीले नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको बताउनुभयो ।

वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैनः प्रजिअ सुवेदी

वीरगञ्ज (पर्सा), ११ भदौः पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभएको छ ।

केही समय अघि मात्रै जिम्मेवारीमा आउनुभएका सुवेदीले आज यहाँ पत्रकारसँग भेटघाटमा हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।”

प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हैजा सङ्क्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।”

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारवाही हुँदैनः विभाग

काठमाडौँ, ११ भदौः यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ ।विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट वडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विभागले तत्काललाई कुनै पनि प्रकारको दण्ड जरिवाना नगरिने र आफू अनुकूल सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढङ्गले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

विभाग एवम् प्रदेश कार्यालयबाट जडान सहजताका लागि उक्त स्थानमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीसाधनको सहजताका लागि आवश्यकताअनुसार थप प्रबन्ध गरिएको जानकारी दिएको छ ।

इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषाका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सम्झौतामा उल्लेख भए बमोजिम अग्रेजी लिपी प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटी नदेखिएको भनी फैसला भएको स्पष्ट पारेको छ ।

उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

काठमाडौँ, ११ भदौः सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल रु ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

यसअघि उखु किसानहरुले प्रतिक्विन्टल रु ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा रु ३५ उपलब्ध गराउने निर्णय भएको थियो ।

यसैबीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी हुनुभएको थियो ।

उखु किसानका तर्फवाट श्यामबाबु रायलगायत सहभागी हुनुभएको थियो । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मङ्गलबार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गर्नुभएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुन्छ : मन्त्री पौडेल

दमौली (तनहुँ), १० भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको ३०० क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा आजदेखि सुरु भएको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणालीको शुभारम्भ गर्नुहुँदै मन्त्री पौडेलले अस्पताललाई ३०० शय्या क्षमतामा विस्तार गरिने र त्यसका लागि भारत सरकारसँग सम्झौता हुने बताउनुभयो ।

अस्पतालको स्तरोन्नतिका लागि यसअघि नै भारत सरकारले सहमति जनाइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यस सम्बन्धमा सम्झौता भएर निर्माणको प्रक्रिया सुरु हुने मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “अस्पतालको डिपिआर अनुसार रु ६०० करोडको लागत स्वीकृत भएर भारतको स्वास्थ्य मन्त्रालयमा गइसकेको छ । हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ ।” उहाँले अस्पताल स्तरोन्नतिको प्रक्रिया लाग्ने भएकाले त्यस अवधिसम्म जनरल हस्पिटल राम्रोसँग चलाउनुपर्ने बताउनुभयो ।

अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

मन्त्री पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई जनताको आकर्षणको केन्द्र बनाउन सकिने र यसका लागि तीन तहकै सरकारको यसमा सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घ सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश र स्थानीय सरकारको पनि सहयोगको खाँचो छ ।”

मन्त्री पौडेलले अस्पतालमा एमडिजिपी डाक्टर पढाउने व्यवस्था गरिने बताउँदै त्यसका लागि कम्तीमा ७०० बिरामी अस्पताल आउने अवस्था हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बीमालाई व्यवस्थित बनाइने बताउँदै बजेट अभावका कारण स्वास्थ्य बीमाको भुक्तानी दिन समस्या भइरहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले जिपी कोइराला अस्पताल तनहुँको मात्रै नभई राष्ट्रकै गौरव रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश साम्बाजिराब पाण्डवले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अस्पतालमा उक्त प्रणालीको गत जेठ १४ गते अभ्यास गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले यो प्रणाली सुरु भएसँगै टिकटिङ, बिलिङ, रिपोर्ट, औषधिलगायतको विवरण अनलाइन प्रणालीमार्फत जानकारी लिन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्स–रे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन । एक्स–रे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न सहज हुनेछ ।”

यो प्रणाली सुरु भएसँगै टिकट काउन्टर, ल्याबमा कामको भार धेरै नै कम भएको उहाँको भनाइ छ । यस प्रणालीबाट बिरामीको उपचारमा कम त्रुटि हुने र स्वास्थ्यकर्मीको समय कागजी कामभन्दा उपचारमा बढी केन्द्रित हुने, नीति योजना र अनुसन्धानमा मद्दत पुग्ने विश्वास गरिएको डा श्रेष्ठले बताउनुभयो ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

पोखरा र कोरियाको चेओगं खेलकुद समितिबीच खेलकुद विकास समझदारी

कास्की, १० भदौ : पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओगं योङ काउन्टी खेलकुद समितिबीच खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको छ । पोखरामा आज भएको सो समझदारीपत्रमा पोखरा महानगरपालिकाकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं योङ काउन्टीका तर्फबाट हान ग्वाङ् सेओकले हस्ताक्षर गर्नुभएको छ ।

खेल गतिविधिहरूको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूबीच भ्रमण आदानप्रदान, पोखराका खेलाडीहरूको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो ।

प्रमुख आचार्यले भन्नुभयो, “विभिन्न खेलहरूमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न र विशेषज्ञता हासिल गर्न यो समझदारी महत्वपूर्ण हुनेछ । पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तरराष्ट्रिय सहकार्यले यसको औचित्य पुष्टि गरेको छ ।”

महानगरप्रमुख आचार्यका अनुसार फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथ्लेटिक्स, म्याराथनलगायत खेलका खेलाडीको दक्षता वृद्धि गर्न यस समझदारीले सहयोग पुग्नेछ ।

यसबाट पोखरेली र कोरियाली खेलाडीहरूबीच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्नसमेत सहज हुने महानगरले जनाएको छ ।

चेओगं योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गरिने बताउनुभयो ।

युवा खेलाडीहरू आदानप्रदान, विद्यालयस्तरका खेलकुदका कार्यक्रमहरू सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगरभित्रका खेलकुद गतिविधिहरूका सम्भाव्य क्षेत्रहरूको खोजीका लागि आफूहरू तत्पर रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले पोखराको समग्र खेलकुद विकासमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “खेल पूर्वाधारको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, खेल सामग्रीहरू सहयोग, प्राविधिक सहायता, आपसमा भ्रमण तथा अनुभव आदानप्रदानका लागि यो समझदारी आधारभूत रूपमा महत्वपूर्ण छ,” उहाँले भन्नुभयो ।

सोही प्रकृतिको समझदारी जिल्ला खेलकुद विकास समिति कास्की र चेओगं योङ काउन्टीको बीचमा पनि भएको छ ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, अग्रज पर्यटन व्यवसायी तथा अन्तरराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका–१५ का वडाअध्यक्ष एवं महानगरको खेलकुद विकास समितिका संयोजक तोरणबहादुर बानियाँलगायतले समझदारी पोखराका खेलाडीहरूको अन्तरराष्ट्रिय पहुँच स्थापना गर्ने सवालमा निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।