गोदावरी अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन सुरु
कैलाली। कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन सुरु गरिएको छ ।
अत्तरिया चोकबाट गोदावरी रोडको पूर्वपट्टि बनाइएका अवैध संरचनाहरू आजदेखि डिभिजन वन कार्यालय धनगढीको समन्वयमा सब डिभिजन कार्यालय अत्तरियाको टोलीले डोजर प्रयोग गरेर हटाउन सुरु गरेको हो ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरका अनुसार गोदावरी क्षेत्रमा वन अतिक्रमण गरी अवैध रूपमा भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दो अवस्थामा रहेको सूचना प्राप्त भएपछि हटाउने अभियान सुरु गरिएको हो ।
गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरेर घर बनाउने कार्य तीव्र रूपमा भइरहेको सूचना आएकाले त्यस्ता संरचना हटाउने कामको सुरुआत आजदेखि सुरु भएको उहाँले बताउनुभयो । उहाँले अबदेखि कसैले पनि वन क्षेत्र अतिक्रमण गरी घर वा अन्य भौतिक संरचना नबनाउन आग्रहसमेत गर्नुभयो ।
पछिल्लो समय गोदावरी क्षेत्रका विभिन्न सामुदायिक वनमा अतिक्रमण गरी घर, भवन तथा सार्वजनिक संरचना बनाउने क्रम बढ्दै गएको स्थानीय वीरेन्द्र भट्टले बताउनुभयो । वन अतिक्रमण हटाउने कार्यमा दुर्गालक्ष्मी सामुदायिक वनका पदाधिकारी, वनकर्मी तथा नेपाल प्रहरीको पनि सहभागिता रहँदै आएको वन कार्यालयले जनाएको छ ।
