`

एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन

काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ ।

महासंघले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै हालको अवस्थामा एमआरपी प्रणाली सबै वस्तुमा लागू नगर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा, संरचनात्मक पूर्वाधार अभाव, मौसमी तथा भौगोलिक चुनौती, तथा मुलुकको जटिल आर्थिक अवस्थाको उल्लेख गर्दै, एमआरपी प्रणालीको अव्यावहारिक पक्षप्रति चिन्ता व्यक्त गरिएको छ ।
‘पूर्वाधार तयार नगरी तथा सरोकारवालासँग समन्वय नगरी एमआरपी लागू गर्ने निर्णयले व्यवसायीहरू थप संकटमा पर्नेछन्,’ ज्ञापन पत्रमा भनिएको छ । महासंघले यस्तो निर्णय तत्काल सबै वस्तुहरूमा लागू नगरी केवल अत्यावश्यक वस्तुहरूमा चरणबद्ध ढंगले लागू गर्नुपर्ने सुझाव दिएको छ ।

ज्ञापन पत्रमा कोभिड महामारीपछिको आर्थिक मन्दी, प्राकृतिक प्रकोप, खुला सिमानाबाट भइरहेको अनाधिकृत कारोबार, तथा युवावर्गको वैदेशिक पलायन जस्ता विषय उठाउँदै व्यवसायीहरूले झेल्नुपरेका समस्याहरूको समग्र मूल्यांकन नगरी निर्णय गर्नु व्यवसायीहरूप्रति अन्याय भएको उल्लेख छ ।

साथै, व्यवसायीहरूले करको दायरामा समेटिने वातावरण बनाउन, अनधिकृत कारोबार नियन्त्रण गर्न सिमामा सुरक्षा संयन्त्र बलियो बनाउने, तथा भन्सार सन्दर्भ दर यथार्थपरक बनाउने माग पनि महासंघले गरेको छ ।

महासंघले उद्योगी व्यवसायीहरूलाई मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र राजस्व संकलनको मेरुदण्डका रूपमा हेर्नुपर्नेमा जोड दिँदै, व्यवसायीको मनोबल घटाउने निर्णयहरूबाट सरकारले सचेत रहनुपर्ने आग्रह गरेको छ ।

टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदा…

देउखुरी (दाङ), ४ साउनः देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए ।

तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इरानका आणविक स्थलहरु पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताउनुभएको छ ।

आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहो¥याउनुभएको छ ।

उहाँले भन्नुभयो, “उनीहरूलाई सेवामा फर्काउन वर्षौं लाग्नेछ र यदि इरानले त्यसो गर्न चाहेको खण्डमा उनीहरूले तीन फरक फरक स्थानमा नयाँ तरिकाले सुरु गर्नु राम्रो हुनेछ ।”

गत जुन २२ मा अमेरिकाले हवाइ आक्रमण गरी इरानको विवादास्पद आणविक कार्यक्रमस्थलमाथि धावा बोलेको थियो ।

आक्रमणमा तेहरानको दक्षिणमा रहेको फोर्डोस्थित युरेनियम संवद्र्धन केन्द्रका साथै इस्फाहान र नातान्जका आणविक स्थलमा व्यापक क्षति भएको थियो ।

इरानी आणविक र सैन्य पूर्वाधारविरुद्ध इजरायलको अभियानका क्रममा भएका यी बम विस्फोटलाई वासिङ्टनले आणविक हतियार निर्माण गर्ने वर्षौं लामो गोप्य प्रयासको ‘नकआउट’ प्रहारका रूपमा लिएको थियो ।

इरानले आफ्नो असैनिक आणविक शक्ति कार्यक्रमलाई हतियार बनाउने प्रयास नगरेको दाबी गर्दै आएको छ ।

ट्रम्पले पूर्ण रूपमा सफलता हासिल गरेको दाबी गरे पनि धेरै अमेरिकी सञ्चार माध्यमहरूले चुहिएको गुप्तचर सूचनाको हवाला दिँदै आक्रमणबाट सबै इरानी आणविक र सैन्य पूर्वाधार नस्ट नभएको दावी गरेका छन् ।

एनबीसी न्यूजले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टमा सेनाको क्षतिको आँकलनलाई उद्धृत गर्दै तीनमध्ये एउटा स्थल मात्र ध्वस्त भएको उल्लेख गरिएको छ ।

एनबीसीका अनुसार अन्य दुई स्थल मर्मत योग्य मानिएका छन् र आगामी केही महिनाभित्र युरेनियम संवद्र्धनका गतिविधिहरु पुनः सुरु गर्न सक्षम हुनसक्ने छन् ।

एनबीसीका अनुसार पेन्टागनले ट्रम्पले रोजेको एक रातको अपरेसन नभई केही हप्तासम्म चल्ने बमबारी अभियानमार्फत इरानको सुविधामा अझ बढी क्षति पु¥याउने विकल्प तयार पारेको थियो ।

एक वर्तमान र एक पूर्व अधिकारीलाई उद्धृत गर्दै गरिएको रिपोर्ट अनुसार राष्ट्रपति ट्रम्पले हताहत हुने र द्वन्द्वमा फस्ने डरका कारण थप व्यापक आक्रमण योजनालाई अस्वीकार गर्नुभएको थियो ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोगको मुद्दा दर्ता

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पु¥याएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

उहाँले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाउनु भएको थियो, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो ।

उहाँलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार मार्च महिनामा उहाँलाई अस्थायी रूपमा रिहा गरिएको थियो । पछिल्लो साता उहाँलाई फेरि सबुत नष्ट गर्ने सम्भावना देखिएकाले पुनः पक्राउ गरिएको हो ।

अनुसन्धानकर्ताहरूका अनुसार युनले प्रधानमन्त्री र रक्षा मन्त्रीले समर्थन गरेको झूटो कागज तयार पारेका थिए र त्यसलाई पछि नष्ट गर्न खोजिएको थियो । साथै, मार्शल ल घोषणा गर्नुपर्ने कानुनी प्रक्रिया उहाँले पूरा गर्नुभएको थिएन ।

अदालतमा सुनुवाइका क्रममा युनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र शरीरमा कमजोरी रहेको बताउँदै रिहाइको माग गर्नुभएको थियो, तर जुलाई १८ मा अदालतले उहाँको अनुरोध अस्वीकार गरेको छ ।

हाल उहाँलाई तापक्रम निकै बढेको बेलामा, पंखा मात्र भएको तर एयर कन्डिसनर नभएको कोठामा एक्लै राखिएको छ ।

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

सिमकोट (हुम्ला), ४ साउनः सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका आज विहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिनुभयो ।

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उहाँले बताउनुभयो ।

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम

नारायणगढ (चितवन), ४ साउन : जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ सय ६९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा नौ सय सात, इच्छाकामना गाउँपालिकामा चार सय ६७, खैरहनी नगरपालिकामा दुई सय २३, राप्ती नगरपालिकामा एक सय २४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना सङ्क्रमित भएका छन् । डेङ्गुका कारण गत आवमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

जिल्लामा गत आव १७ हजार ३५३ जनाको रगत परीक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले सङ्क्रमणदर उच्च भए पनि मृत्युदर कम रहेको बताउनुभयो । उहाँका अनुसार अघिल्लो आवमा एक हजार आठ सय ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो, जुन २३ हजार आठ सय ४० जनाको परीक्षणबाट पुष्टि भएको थियो ।

आव २०७४÷७५ मा एक हजार २९१ परीक्षण ५९ सङ्क्रमित, २०७५÷७६मा एक हजार ९५१ परीक्षण ३१ सङ्क्रमित, २०७६÷७७ मा १९ हजार २३० परीक्षण चार हजार ८०३ सङ्क्रमित, २०७७÷७८ मा एक हजार ७१७ परीक्षण २४३ सङ्क्रमित, २०७८÷७९ मा १४ हजार ९७८ परीक्षण, तीन हजार ३३६ सङ्क्रमित, २०७९÷८० मा पाँच हजा ४५४ परीक्षण, ३०३ सङ्क्रमित भएको कार्यलयको तत्याङ्मा उल्लेख छ ।

जिल्लाको मुख्य बजार क्षेत्रमा डेङ्गु जोखिम बढी हुने गरेको छ । सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ । कार्यालयले सबै सातै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तक्र्रिया र छलफल गर्दै डेङ्गु नियन्त्रणका उपाय अघि बढाएको भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिनुभयो । डेङ्गु फैलाउने लामुखुट्टेको सङ्ख्या बढ्ने मौसमी कारण यस सिजनमा सतर्क रहन सबैलाई सचेत गराइएको उहाँले बताउनुभयो ।

नेपालमा डेङ्गु ज्वरो पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो । त्यो वर्ष यहाँ आएका एक जापानी पर्यटकमा रोग पुष्टि भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि डेङ्गुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा सङ्क्रमण देखिएको थियो । सन् २०१० मा तीन हजार २९८ जनाको परीक्षण गर्दा ७३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

भेक्टर कन्ट्रोल केसीका अनुसार डेङ्गु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो । डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उहाँले जानकारी दिनुभयो ।

डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको भेक्टर कन्ट्रोल केसीले बताउनुभयो ।

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४१ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ९० रुपैयाँ , बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६५ रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो २५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ७० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १६० रुपैयाँ, तीतो करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो २५ रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो २५ रुपैयाँ, घिरौला प्रतिकिलो ४० रुपैयाँ, झिगुनी प्रतिकिलो ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिण्डी प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ८० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो २०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३६० रुपैयाँ, कुरिलो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो २२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३२० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १२० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, आँप (माल्द) प्रतिकिलो १४० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १४० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध, सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्।आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न अनुरोध गरेका हुन् ।

अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।

उनले लेखेका छन्,‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।’

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत, ४ साउनः मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिनुभयो । गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।

ब्राजिलका न्यायाधीशमाथि अमेरिकी प्रतिबन्ध, राष्ट्रपति लुलाद्वारा विरोध

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाई गरेका ती न्यायाधीशले बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिनुभएको थियो।

राष्ट्रपति लुलाले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा भन्नुभएको छ, “मेरो ऐक्यबद्धता र समर्थन सर्वोच्च सङ्घीय अदालतका न्यायाधीशहरूप्रति रहन्छ । उहाँ अमेरिकी सरकारको अर्को स्वेच्छाचारी र पूर्णतया आधारहीन कदमबाट प्रभावित हुनुभएको छैन ।”

“एक देशको न्याय प्रणालीमा अर्को हस्तक्षेप अस्वीकार्य छ र यसले राष्ट्रहरूबीचको सम्मान र सार्वभौमिकताको आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्दछ।”

बोल्सोनारोमाथि सन् २०२२ मा लुलाले जितेको चुनाव उल्टाएर सत्तामा टिकिरहन खोजेको आरोप लागेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले शुक्रबार बोल्सोनारोले इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिनुभएको थियो ।

त्यसको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मोरास र उहाँका ‘सहयोगी’ र उनीहरूका परिवारका सदस्यहरूको भिसा रद्द गरेको थियो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमा भनेका छन्, “ब्राजिलको सर्वोच्च सङ्घीय अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले जायर बोल्सोनारोविरुद्ध गरेको ‘राजनीतिक पूर्वाग्रहपूर्ण’ उत्पीडन र सेन्सरसिपले जटिलता सिर्जना गरेको छ । यसले ब्राजिलियालीहरूको आधारभूत अधिकारको उल्लङ्घन मात्र गरेको छैन, अमेरिकीहरूलाई लक्षित गर्न ब्राजिलको सीमाभन्दा बाहिर पनि फैलिएको छ ।”

ट्रम्प र बोल्सोनारो दुवैले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्दै आएका छन् र बोल्सोनारोले आफ्नो फैसलालाई लिएर न्यायाधीशहरूमाथि बारम्बार मौखिक आक्रमण गर्ने गरेका छन्।

तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु

प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ ।

तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ । चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रमा आर्थिक लक्ष्यसँग जोड्ने यो परियोजनालाई बेइजिङले डिसेम्बरमा अनुमोदन गरेको थियो ।

दक्षिणपूर्वी तिब्बतको निङ्चीमा शिलान्यास समारोहपछि अधिकारीहरूले उक्त परियोजना अन्तर्गत उत्पादन हुने विद्युतबाट तिब्बतमा विद्युतको मागलाई सम्बोधन गरिनेछ ।

उत्पादित बिजुली मुख्यतया खपतका लागि अन्य क्षेत्रमा प्रवाह गरिनेछ भने तिब्बतको स्थानीय विद्युत् आवश्यकतालाई पनि पूरा गरिनेछ ।

यो बाँध मध्य चीनको याङत्से नदीमा रहेको थ्री गर्जेज बाँधभन्दा ठूलो हुनेछ । बाँध निर्माणका कारण रोकिने पानीका कारण भारत र बङ्गलादेशका लाखौं मानिसमा गम्भीर प्रभाव पर्न सक्छ ।

यस परियोजनामा पाँच वटा जलविद्युत केन्द्रहरु निर्माण हुनेछन्, जसको कुल लगानी लगभग १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ ।

गत जनवरीमा भारतले तिब्बतमा यस परियोजनाका बारेमा चीनसँग चासो व्यक्त गरेको र ‘भारतीय हितको रक्षाका लागि आवश्यक कदम चाल्ने’ बताएको थियो ।

भारतको विदेश मन्त्रालयले भनेको छ, “चीनलाई यो सुनिश्चित गर्न आग्रह गरिएको छ कि ब्रह्मपुत्रको तल्लो तटीय राज्यहरूको हितमाथिको गतिविधिले क्षति नपु¥याओस् ।”

गत डिसेम्बरमा बेइजिङको विदेश मन्त्रालयले यो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपार्ने बताएको थियो । साथै, ै चीनले नदीको तल्लो भेगका देशहरूसँग पनि सम्पर्क कायम राख्ने बताएको थियो ।

पर्यावरणविद्हरूले पर्यावरणीय दृष्टिले संवेदनशील तिब्बती पठारमा यस्ता ठूला परियोजनाहरूको अपरिवर्तनीय प्रभावबारे पनि चेतावनी दिएका छन् ।

छिमेकी तथा प्रतिद्वन्द्वी एसियाली शक्ति भारत र चीनको हजारौं किलोमिटर लामो सीमा साझा रहेको छ ।

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा नेपाली ईन्जिनियरहरुको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । नेपालको पूर्वाधार विकास र निर्माण नयाँ चरणमा रहेको उल्लेख गर्दै उनले नविन प्रविधि र प्राविधिक जनशक्ति अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरे । ६३ औं इन्जिनियर दिवशका अवसरमा शनिबार नेपाल ईन्जिनियर्स एशोसिएसनले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री दाहालले दिगो, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधारहरुको विकास गरिनु पर्नेमा जोड दिए ।

नेपाली इन्जिनियरहरुको वृति विकासका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै नेपाली इन्जिनियरहरुको क्षमताको अन्तर्राष्ट्रिय मान्ता दिलाउने प्रकृया समेत शुरु भई रहेको जानकारी गराए । नेपाली इन्जिनियरहरुले माग गर्दै आएको इन्जिनियरीङ् स्टाफ कलेज सञ्चालनका लागि मन्त्रालय सकारात्मक रहेकाले प्रकृया अर्थमन्त्रालय सम्म पुगेको मन्त्री दाहालले बताए ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एशोसिएसनको स्मारीका तथा जर्नलको बिमोचन समेत गरियो भने इन्जिनियरहरुको रोजगारी खोजी पहिचानमा सहयोग पु¥याउने पोर्टलको पनि शुभारम्भ गरियो । कार्यक्रममा इन्जिनियरीङ्का विभिन्न विद्यामा उत्कष्ट ठहरिएका व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ४ साउन : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०÷८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व सङ्कलनको वृद्धिदर भने ३५ दशमलव ५७ प्रतिशत रहेको बताउनुभयो । “आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयलाई रु आठ अर्ब ७१ करोड ८२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो”, उहाँले भन्नुभयो, “कार्यालयले गत आवभरिमा वार्षिक लक्ष्यको एक सय नौ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले विभागबाट निर्धारित कार्यात्मक सूचकका आधारमा ‘एक प्लस’ स्तर प्राप्त गर्न सकेका छौँ ।”

विभागले आव २०८०÷८१ का लागि भने रु नौ अर्ब ४१ करोड ९७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, सो अवधिमा कार्यालयले वार्षिक लक्ष्यको ७२ दशमलव ९३ अर्थात् रु छ अर्ब ८७ करोड राजस्व सङ्कलन गरेको थियो ।

प्रमुख कर अधिकृत चौलागाईँले कार्यालयले बक्यौता रकम असुलीमा कडाइ गरेकाले पनि लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गर्न सफल भएको बताउनुभयो । “चैत महिनामै राजस्व नबुझाउने करदाताको बैंक खाता, घरजग्गा, आयात–निर्यात रोक्का गरियो । जसबाट राजस्व सङ्कलनको लक्ष्य पुग्नमा धेरै मद्दत पुग्यो”, उहाँले भन्नुभयो, “कार्यालयले सघन बजार अनुगमनको दायरा विस्तार र करदाता शिक्षालगायत चेतनामूलक कार्यक्रमले पनि राजस्व बढ्न सकेको हो ।”

कार्यालयले गत आवमा अन्तःशुल्क करतर्फ रु तीन अर्ब नौ करोड ५७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा रु चार अर्ब १३ करोड ७३ लाख राजस्व सङ्कलन गरेको छ । त्यस्तै कार्यालयले गत आवभरिमा आयकरतर्फ रु दुई अर्ब ८९ करोड ९९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा रु तीन अर्ब १० करोड १५ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवमा मूल्य अभिवृद्धि करतर्फ भने रु दुई अर्ब ५८ करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा रु दुई अर्ब १२ करोड ९१ लाख राजस्व सङ्कलन गरेको छ । प्रमुख कर अधिकृत चौलागाईँले मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार सङ्कलन नहुनुमा यहाँका १५ वटा करदाताको कारोबारको सीमा नाघेर ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा गएकाले पनि सो लक्ष्य प्राप्त हुन नसकेको बताउनुभयो ।

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ४ साउन : कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो ।

विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ ।

यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो ।

यस्तै, विभागले आज बिहान ५ः३० बजे अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ । विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

आज देशभर बदली हुने पूर्वानुमान

काठमाडौँ, ४ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

व्यवस्था बदल्न आन्दोलनको विकल्प छैनः अध्यक्ष लिङ्देन

बनियानी (झापा) – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउनेगरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

झापाको धुलाबारीमा राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनमा उहाँले पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताउनुभयो ।

“पार्टीलाई देशकै ठूलो बनाउनु छ । त्यसका लागि सबैले प्रयास गरौँ । यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ”, उहाँले भन्नुभयो,“भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन् ।”

अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताउनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सही पार्टी र सही नेतृत्व भए १० वर्षमा देश बन्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, धर्म, सांस्कृतिक विभाग कोशी प्रदेशका अध्यक्ष ध्रुव शिवाकोटी, झापा अध्यक्ष केशवकुमार ओझालगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनले चन्द्र निरौलाको नेतृत्वमा आगामी चारवर्षे कार्यकालका २१ सदस्यीय नगर समिति चयन गरेको छ ।

साफ यु–२० महिला फुटबल च्याम्पियनसिपः नेपालद्वारा भुटान पराजित

काठमाडौँ – बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको छ ।

बङ्गलादेशको ढाकास्थित किङ्स एरेनामा भुटानविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्यो । नेपालका लागि मिना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए । यस्तै समिक्षा मगर र कुसुम खतिवडाले एक÷एक गोल गरे । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो ।

नेपालले खेल सुरु भएको ४४ सकेन्डमै पहिलो गोल गरेको थियो । उक्त गोल मिना देउवाले गरेकी थिइन् । यस्तै खेलको नवौँ मिनेटमा समिक्षा मगरले दोस्रो गोल गरिन् । खेलको १२औँ मिनेटमा नेपालकी सुक्रिया मियाले चौथो गोल, खेलको २३औँ मिनेटमा पूर्णिमा राईले नेपालका लागि पाँचौँ गोल तथा इन्जुरी समयमा पूर्णीमाले नै छैटौँ गोल गरिन् । यसैगरी खेलको दोस्रो हाफको ६३औँ मिनेटमा कुसुम खतिवडाले सातौँ गोल तथा खेलको ६४औँ मिनेटमा मिना देउवाले गोल गरिन् ।

प्रतियोगितमा नेपालसहित आयोजक बङ्गलादेश, भुटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले फेरी सोमबार बङ्गलादेशसँग खेल्ने छ ।

राज्यको मूलप्रवाहमा ल्याउन समावेशीकरणको अवधारणा अवलम्बन गर्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा पछि परेका वर्ग तथा समुदायलाई समान पहुँचमा ल्याउनु लोकतान्त्रिक सरकारको मुख्य दायित्व भएको बताउनुभएको छ ।

नेपाल स्पोर्टस् सेन्टरद्वारा यहाँ आयोजित खेलाडी सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले शासन व्यवस्थाको कमजोरीकै कारण लामो समयदेखि राज्यको मूलप्रवाहमा आउन नसकेका समुदायलाई अगाडि बढाउन समावेशीकरण र सबलीकरणको अवधारणा अवलम्बन गर्नुपर्ने बताउनुभयो । नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र बहुधार्मिक भौगोलिक विविधतायुक्त समाज भएको उल्लेख गर्दै उहाँले राज्यशक्तिको प्रयोग र अवसरबाट विमुख हुँदै आएका समुदायको आर्थिक तथा सामाजिक अवस्था समान नरहेको उल्लेख गर्नुभयो ।

विभिन्न अन्तरराष्ट्रिय तहका खेलकुद प्रतियोगितामा नेपाली खेलाडीले देशको कीर्तिमान कायम गरेको जिकिर गर्दै अध्यक्ष नेपालले खेलकुद क्षेत्रको विकासका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । आत्मरक्षाका लागि खेलकुद महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि विश्वका धेरै देशले अवलम्बन गर्दै आएको वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिनुभयो ।

पार्टीका नेता वामदेव गौतमले खेलाडीले प्राप्त गर्ने सफलताले राष्ट्रको गौरव बढाउने भएकाले उनीहरू देशभक्त, लोकतान्त्रिक, प्रगतिशील, समाजवादी चिन्तनका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल खेलकुद महासङ्घ समाजवादीका अध्यक्ष अर्जुनभक्त राई र महासङ्घकी उपाध्यक्ष रीता कोइरालाले वास्तविक खेलाडी र खेलकर्मी निराश भइरहेको अहिलेको अवस्थालाई सुधार गर्न नीतिगत निर्णयको खाँचो औँल्याउनुभयो । सो अवसरमा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका खेलाडीलाई सम्मान गरिएको थियो ।

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट (बागलुङ), ४ साउनः शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ ।

बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका रङ्गीबिरङ्गी वनफूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।

ढोरपाटनको फाँट र पाखा अनेक थरिका बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा समेत उत्तिकै पर्यटक आएको पाइएको छ । बर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौँ थरिका रङ्गीबिरङ्गी फूल रहेको छ ।

स्थानीय ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन ‘गुल्जार’ बनिरहेको बताउनुभयो । “बर्खामा ढोरपाटन आउने सडक असहज छ तर यहाँको मनोरम दृश्यले पर्यटकको सडकयात्रा बिर्साउने गर्दछ, यस्तो बर्खामा समेत आफ्नो घरबासमा पाहुनाको कमी छैन, पछिल्लो दुई हप्तायता मौसममा सुधार भएसँगै बुकी पुग्ने पदयात्रीले घरबास भरिएर अन्य होटलमा पठाउन बाध्य भएको छु”, घर्तीले भन्नुभयो, “यहाँको मुख्य विशेषता भनेको रङ्गीबिरङ्गी फूल हो, पदयात्रा गर्न सक्नेहरू चार हजारभन्दा माथिको उचाइ बुकीपाटनमा पुग्छन् भने पदयात्रा गर्न नसक्ने ढोरपाटन उपत्यकाका फूलसँगै घोडा सफारीमा रमाउने गरेका छन् ।”

पर्यटकका कारण यहाँका घरबास, होटल तथा घोडा व्यवसायीसमेत उत्साहित छन् । पच्चीस जना क्षमता रहेको घरबास यो बर्खामा समेत भरिएर पाहुना अन्य होटल तथा घरबासमा पठाइरहेको बताउँदै यो सिजनमा पोखरा, बुटवलदेखि काठमाडौँबाट समेत पर्यटक आउने गरेको पाइएको छ ।

कञ्चन उत्तरगङ्गा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरि बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेका काठमाडौँबाट मोटरसाइकलमा घुम्न आउनुभएका अनिल राजवंशीले बताउनुभयो । यहाँ फल्ने रातो, सेतो, पहेँलो, गुलाफीजस्ता अनेकौँ थरिका फूलले पर्यटकलाई ढोरपाटन तानिरहेको छ ।

राजवंशीले चार हजार मिटरभन्दा माथिको बुकिपाटनसमेत एक दिनको पदयात्रामार्फत पुगेको बताउँदै ढोरपाटनको सौन्दर्यता वयान गरेर नसक्ने बताउनुहुन्छ । बुर्तिबाङबाट ढोरपाटनसम्मको झण्डै ३० किमी सडकलाई स्तरीय बनाउन सकेमा ढोरपाटनमा पर्यटकको कमी नहुने उहाँको भनाइ छ । राजवंशीले कष्टकरयात्रालाई ढोरपाटनको दृश्यले बिर्साउने गरेको बताउनुभयो ।

“टिकटकमा अहिले निकै सुन्दर दृश्य देखिएका थिए, ढोरपाटन उपत्यका, पदयात्रामार्फत बुटीपाटन गएको, भेडाका बथानसँगै सयौँ थरि फूलहरूको दृश्यले लोभ्यायो एक हप्ताको छुट्टी लिएर श्रीमतीसँगै काडमाडौँबाट ढोरपाटन आएँ”, राजवंशीले भन्नुभयो, “यो बर्खामा समेत पदयात्रीको कमी रहेन बुकी पाटनमा एक दिनमै सयौँ पर्यटक त्यहाँ आफूसँग गएको, पदयात्राका क्रममा बाटोमा साँघु र गोठ निर्माणले यात्रालाई केही सहज बनाएको पाएँ ।”

ढोरपाटनबाट बुकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न पर्यटक लालयित भएर ढोरपाटन पुग्ने गरेको पाइएको छ । पाटनैभरि फुल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ । लेकमा फुल्ने फूललाई समग्रमा बुकीका नामले चिन्ने गरेको स्थानीयको भनाइ छ । अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चारमाध्यमले यहाँ आउन पनि निकै सजिलो भएको छ ।

हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप

कञ्चनपुर, ४ साउनः कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उहाँलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो ।

“पहिलोपल्ट त भूकम्प हो कि भनेर डराएँ”, मन्सराले सम्झिइन्, “बाहिर निस्किएँ, आँगनमा अँध्यारो थियो, तर छायाँजस्तो देखेँ– हात्तीको विशाल शरीर । एक सेकेन्ड पनि सोच्न सकिनँ, छोरालाई तानेर छिमेकीकहाँ भागेँ । धन्न भगवान्ले आमाछोराको ज्यानै जोगाए, हात्तीले तोडेको भित्तो (पर्खाल) नजिकै सुतेका थियौँ बाँच्यौँ, त्यसबेला केही सोचिन छोरा र आफ्नो ज्यान जोगिए हुन्थ्यो भनेर भगवान्सँग प्रार्थना गर्दै निस्किएँ”, उहाँ भन्नुहुन्छ ।

हात्तीको बथानले घरको भित्ता भत्काएर भित्र राखिएको सबै अन्नपात खाएको साउदले बताउनुभयो । बचेको सबै खुट्टाले कुल्चेर कामै नलाग्ने बनाइदिएको उहाँ बताउनुहुन्छ । “त्यो रात मेरा लागि कहिल्यै नबिर्सिने भयो”, साउद भन्नुहुन्छ ।

छिमेकी देवकी भट्ट भन्नुहुन्छ, “अझ अचम्म त के भयो भने हात्तीले मन्सराको घरमात्र भत्कायो, वरिपरिका घरमा केही गरेन, गएको वर्ष पनि मन्सारकै खेतको धान हात्तीको बथानले खाएर सखाप पार्यो, अरुको धानमा खुट्टासमेत हालेन ।”

अहिले छिमेकीले मन्सारको भत्केको घरको भित्तो लिपपोत गरिदिएका छन् । “केही दिनअघि मनि साउदको घर हात्तीले भत्काएको थियो”, उहाँले भन्नुभयो, “हात्ती अब बस्तीका स्थायी पाहुना भएजस्ता छन्, जुनसुकै बेला पनि आइपुग्छन्, राति घरभित्र सुत्नै डर लाग्छ ।”

“सडकबत्ती छैन, सावधानीका उपाय छैनन्”, गौरी साउदले भन्नुभयो, “बत्ती भए हात्ती बस्तीमा पसेको टाढैबाट देखिन्थ्यो, अँध्यारोमा हात्ती आएको थाहा हुँदैन, जब घर भत्काउन सुरु गर्छन् तबमात्र थाहा हुन्छ, त्यसबेला ज्यान जोगाउनकै चिन्ता हुन्छ ।”

हात्तीले न खाद्यान्न छोड्छ, न घर । ऐश्वर्या सामुदायिक वनको सीमावर्ती बस्ती हात्तीको नियमित मार्ग बनेको छ । सो वनका अध्यक्ष ईश्वर बुढा भन्नुहुन्छ, “हात्तीले खानेपानीको पाइप तानेर तोडेपछि ४० परिवार पिउने पानीबाट वञ्चित भएका छन्, मानवीय सङ्कट निम्तिएको छ ।”

हात्ती आतङ्क रोक्न मेसवायर, पर्खाल वा चेतावनी प्रणालीको आवश्यकता देखिएको छ । स्थानीयलाई रातभर आगो बालेर हात्ती भगाउनुपर्ने बाध्यता छ ।

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा, ४ साउनः उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार गत वर्ष साउनदेखि असार मसान्तसम्म एक वर्षको अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५१२ विदेशी पर्यटक घुम्न आएका उहाँले बताउनुभयो । “यो सङ्ख्या हालसम्मकै सर्वाधिक हो, मनास्लु क्षेत्रमा विदेशी पर्यटकको आर्कषण बढ्दै गएको छ”, प्रमुख शेरचनले भन्नुभयो ।

मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सोही अवधिमा ११ नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा आव २०८०/८१ मा नौ हजार ७८३ विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा झण्डै दुई हजार ७२९ बढी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए ।

“मनास्लु क्षेत्र जाने पदमार्ग अहिले सहज र सुरक्षित बनेको छ, पदमार्गको प्रचारप्रसार हुँदै गएको छ, त्यहाँ पुग्ने पर्यटकलाई खान र बस्न सुविधासम्पन्न होटल निर्माण भएकाले पनि पर्यटकको सङ्ख्या बढ्न थालेको हो”, एमक्यापका प्रमुख शेरचन उहाँले भन्नुभयो ।

गत आवमा मनास्लु घुम्न पुग्ने विदेश पर्यटकमध्ये फ्रान्सका सबैभन्दा बढी थिए । फ्रान्सका सात सय ६३ पुरुष र ६ सय ४४ महिलाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । त्यसबाहेक धेरैजसो जर्मनी, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, इजरायल, बेलायत, अष्ट्रेलिया, स्पेन, रुस, क्यानडालगायत देशका पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । मनास्लु क्षेत्रमा आव २०७९/८० मा सात हजार ७५०, आव २०७८/७९ मा दुई हजार २२२ विदेशी पर्यटक घुम्न आएका थिए ।

बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

मध्यविन्दु (नवलपरासी), ४ साउनः बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका थिए । सडक मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौँसम्म बाटो थुनिएको थियो ।

दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोडलगायत क्षेत्रमा बढीजसो सडक अवरुद्ध भएको पाइएको छ । बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो । जम्मा १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरैपटक सडक अवरुद्ध भएको प्रमुख बन्जाराले बताउनुभयो ।

“वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ”, उहाँले भन्नुभयो ।

गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यस क्षेत्रको यातायात थप अस्तव्यस्त बनेको थियो । सो अवधिमा निर्माण गरिएको अस्थायी डाइभर्सन पटकपटक खोलाले बगाउँदा यातायात अवरुद्ध हुने गरेको थियो । गत असार १९ गतेदेखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि सो समस्या टरेको छ ।

दाउन्ने सडकखण्ड विस्तारका लागि गत चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र वैशाख १ देखि ३१ गतेसम्म रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । अहिले दाउन्ने खण्डमा पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताउनुभयो ।

नारायणगढ–बुटवल सडकखण्डको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र मानिने दाइउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । यही साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने छ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४ साउनः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २५ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ८० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

दोधारा चाँदनी (कञ्चनपुर), ४ साउनः आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा रु दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले रु दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१÷८२ मा रु ८५ करोड आठ लाख ६५ हजार आयकर सङ्कलन भएको छ । अघिल्लो आवमा रु ७५ करोड एक लाख ७२ हजार आयकर सङ्कलन भएको थियो ।

त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१÷८२ मा रु दुई करोड ८९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु दुई करोड ५२ लाख ५० हजार सङ्कलन गरेको थियो । घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१÷८२ मा रु एक करोड ३७ लाख ८० हजार घरबहाल कर सङ्कलन गरेको छ ।

अघिल्लो आवमा रु एक करोड २२ लाख ७७ हजार घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा रु ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा रु ९० करोड ९१ लख ७१ हजार राजस्व सङ्कलन गरेको छ । “यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ”, प्रमुख कर अधिकृत पराजुलीले भन्नुभयो, “अन्तशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”

कार्यालयको रु १३ करोड राजस्व बक्यौता रहेको छ । “भ्याटमा रु नौ करोड र आयकरमा रु चार करोड बक्यौता बाँकी छ”, उहाँले भन्नुभयो, “बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।”

बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताउनुभयो । “पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्कासमेत हुनसक्छ”, उहाँले भन्नुभयो ।

पाँच संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ, ४ साउनः सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिनुभयो ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन (आव २०८०/८१) माथि’ छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिमिा ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची छ ।

इन्जिनियरहरुको सक्रियताले योजनावद्ध र समावेशी शहरीकरण सम्भव हुने : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इन्जिनियरहरुको सक्रियताले योजनावद्ध र समावेशी शहरीकरण सम्भव हुने बताएका छन् । शनिबार नेपाल इन्जिनियर्स एसोसिएसनको ६३ औं इन्जिनियर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समावेशी शहरीकरण सम्भव रहेको भन्दै पूर्वधार निमार्णमा इन्जिनियरहरुको अमूल्य योगदान रहेको बताएका हुन् ।

उनले भने, ‘योजनावद्ध र समावेशी शहरीकरण सम्भव छ भने त्यो इन्जिनियरहरुको सक्रिय सहभागिताविना कल्पना गर्न सकिदैन । सडक, खानेपानी, आवास, सार्वजानिक भवन निमार्ण लगायतका पूर्वधार निमार्णमा इन्जिनियरहरुको योगदान अनुपम छ ।’
मन्त्री सिंहले इन्जिनियरहरु शहरी विकास व्यवस्थापनको लागि आधारशीला भएको भन्दै यस्ता इन्जिनियरहरुको खाँचो रहेको पनि बताए ।

उनले भने, ‘ इन्जिनियरहरु नव पवर्तन सुरक्षित आवास वातावरणीय संन्तुलन तथा दिगो शहरी विकास व्यवस्थापनको लागि आधारशीला हुन् । विषेशगरी आजको शहरीकरणको तिव्र गतिमा हामीलाई इमान्दार जिम्मेवार र प्रविधिसँग चल्न सक्ने सक्षम इन्जिनियरहरुको खाँचो छ ।

यसैगरी उक्त कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्ष सडक निमार्णमा लक्ष्य राखेको भन्दा बढि उपलब्धि प्राप्त गरेको बताएका छन् ।

यस वर्ष नयाँ कामहरुको सुरुवात गर्ने भन्दै उनले भने, ‘नयाँ नयाँ कुराको सरुवात गर्दैछौ । नागढुङ्गा टनेल सुरु गर्दैछौ । टनेल युगमा हामी प्रवेश गरिसकेका छौ । यसका कयौ कुराहरु पुरा गरेर हामी अगाडि बढ्दै छौ । थुप्रै सुरुवात भएका सडकहरुलाई अगाडि बढाउदै छौ । यस वर्ष हामी सडकमा लक्ष्य राखेको भन्दा बढि केही थोरै भएपनि बढि लक्ष्य प्राप्त गरेका छौ ।’

उनले देशका सबै जिल्ला सडकसञ्जालबाट जोडिएको भन्दै हुम्लाको सिमकोटमा छिट्टै पुल निमार्ण गरिने बताए ।
‘हामीले यसै वर्ष २०८१÷८२ मा सडकसञ्जालबाट ७७ वटा जिल्ला जोडेका छौ । हुम्लाको सिमकोटमा जव अस्थायी वेलिब्रिज बनायौ त्यहा पुल निमार्ण गछौ त्यो उपलब्धि हामीले प्राप्त गर्यौ,’ उनले भने ।

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ, ३ साउन: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गर्नुभएको थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन प्रतिवेदनमा ६८ जना पोलिटब्यूरो सदस्यले आफ्नो राय राख्नु भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । विधानमा पार्टीभित्र सङ्गठित सदस्यता र पार्टी सदस्यता गरी दुई व्यवस्था राख्ने, ७० वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने व्यवस्थालाई खारेज गर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनुभयो । यस्तै, जिल्ला कमिटी कार्यकारी कमिटीकै रूपमा लैजाने विधानमा सहमति भएको छ ।

पूर्वराष्टपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । “पूर्वराष्ट्रपति भण्डारीको विषयमा बैठकमा छलफल भए पनि अहिले नै हामी ठोस् निष्कर्षमा पुगेका छैनौँ”,उहाँले भन्नुभयो, “अधिकांश साथीहरूको भनाइ राजकीय उच्च तहमा पुगेका र संविधानको संरक्षक भइसकेका व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर विषय हो भन्नुभएको छ । यसमा पार्टीले आवश्यक परामर्श गरेर उचित समयमा निष्कर्ष दिनेछ ।”

पूर्वराष्ट्रपति भण्डारीका विषयमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल गरिने उहाँले जानकारी दिनुभयो । “पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टीले आग्रह र पूर्वाग्रह राख्नुपर्ने कुनै कारण छैन । उहाँलाई जुन सर्वोच्च पदमा पार्टीले पठायो, यसबारे गम्भीर र सकारात्मक रूपमा छलफल भयो”, प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, “अब यस विषयमा आगामी बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्नेछ ।”

आज पारित गरिएको विधान संशोधन प्रस्ताव यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राख्ने तय भएको छ ।

‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ :रक्षामन्त्री राई

काठमाडौँ:रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र जनचेतना जगाउने कवि तथा साहित्यकारहरू राष्ट्रका मेरुदण्ड भएका बताउनुभएको छ ।आज यहाँ आयोजित कवि उमेश राईले लेख्नुभएको कवि उमेश अकिञ्चनकृत कविता कृति, सायद किनारा लोकार्पण समारोहमा उहाँले कविताका मध्यमद्वारा समाजमा सकारात्मक चेतना फैलाउने कविहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

मन्त्री राईले भन्नुभयो,“कविहरूले समाज परिवर्तनमा उल्लेख्य योगदान गर्नुभएको छ । समाजलाई शान्त बनाउने, सकारात्मक चेतना फैलाउनुका साथै कविताले देश र समाज चिनाउने गरेको छ । यसैले कवि एवं साहित्यकार समाजका ऐना पनि हुन् । उहाँहरूको योगदानको सम्मान गर्न आवश्यक छ ।”

कविता, कथा वा अन्य कुनै पनि साहित्यिक विधा मनोरञ्जनको साधन मात्र नभई चेतना र सन्देशको संयोजन गर्ने माध्यम भएको भन्दै उहाँले यस्ता सिर्जना र सर्जकलाई संस्थागत प्रोत्साहन आवश्यक रहेकामा जोड दिनुभयो ।

कवि श्रवण मुकारुङले लोकार्पित कृतिमा रहेका कवितामा जीवन, समाज, प्रेम र सङ्घर्षका गहिरा पक्ष समेटिएका बताउनुभयो । कवि विमला तुम्खेवालगायतले राईका कृति र कृतित्वबारे चर्चा गर्नुभयो ।

ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने एमाले नेता पोखरेलको ठोकुवा

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी २०८४ सम्म कायम रहने दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो गठबन्धनको अहिले विकल्प छैन ्। ०८४ सम्म नै यो गठबन्धन ढुक्कसँग जान्छ । तलमाथि हुने कुनै सम्भावना छैन ।’

उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे । उनले भने,‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न । अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ । त्यस्तो सम्भावना देख्दिनँ ।’

उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुनेसमेत ठोकुवा गरे । उनले भने,‘हाम्रो पार्टीभित्र विद्रोह हुँदैन । विद्या भण्डारीले विद्रोह गर्न सक्नुहुन्न । उहाँको चरित्र त्यस्तो छैन । अहिले केपी ओलीको नेतृत्व हुँदाहुँदै विद्रोह गर्ने अवस्था छैन ् ।’

नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने,‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको उल्लेख गरे । तर, एमाले केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निश्कर्षमा पुग्ने उनले जानकारी दिए ।
भारत र चीनले ठूलो आर्थिक फड्को मारेको दृष्टान्त पेश गर्दै उनले नेपालले समृद्धिको यात्रामा फड्को मार्न नसकेकोमा भने चिन्ता व्यक्त गरे ।

उनले आफूहरुले संविधान बनाउँदा नै धेरै मेहनत गरेको र दुनियाँको कुनैपनि संविधानभन्दा कम नरहेको जिकिर गरे । उनले भने,‘अब संविधान संशोधन समय आएको छ । दुनियाँको कुनै पनि संविधानभन्दा कम नहुनेगरि संविधान लेख्यौं । तर, कार्यान्वयनको चरणमा हेर्दा हामी सन्तुष्ट हुने अवस्था छैन । प्रतिनिधिसभामा पनि संख्या घटाउने हो । मन्त्रालय घटाउने हो । प्रतिनिधिसभा पूर्णतयः प्रत्यक्ष हुनुपर्छ । तर, त्यसमा सबैको महिला, दलितलगायतको टिकट सुनिश्चित् हुनुपर्छ । राष्ट्रियसभालाई पूर्ण समानुापतिक बनाउनुपर्छ ।’

उनले मन्त्रीहरु घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएरमात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने आवाज उठाए ।

सिरियामा अल्पसङ्ख्यक हुनु ‘निकै खतरनाक’ भएको इजरायलको भनाइ

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शराले घातक साम्प्रदायिक द्वन्द्वपछि अल्पसङ्ख्यक समुदायको सुरक्षाका लागि गरेको नयाँ प्रतिबद्धतालाई इजरायलले शनिबार अस्वीकार गरेको छ ।

सिरियाको स्वेइदा उक्त द्वन्द्वका कारण एक सातामा करिब ९४० जनाको मृत्यु भएको थियो विदेशमन्त्री गिदोन सारले एक्समा लेख्नुभएको छ, “अल–शाराको सिरियामा कुर्द, ड्रुज, अलावी वा क्रिश्चियनजस्ता अल्पसङ्ख्यकको सदस्य हुनु निकै खतरनाक छ ।”

उहाँले भन्नुभयो, “विगत ६ महिनामा यो कुरा पटक–पटक प्रमाणित भएको छ ।”

सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ ।

यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।

इजरायलले बुधबार राजधानी दमास्कसमा हवाई आक्रमण गर्दै सिरियाली सेनाको मुख्यालय नै लक्षित गरेको थियो । अमेरिकाका सिरिया मामिलाका विशेष दूत टम बेराकले शनिबार बिहानै जानकारी दिँदै भन्नुभयो, “शराआ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ ।” उक्त सम्झौतामा टर्कीए र जोर्डनको समर्थन रहेको पनि उहाँले बताउनुभयो ।

बेराकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभयो,“ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्दछौं ।”

विदेशमन्त्री सारले सिरियामा रहेका अल्पसङ्ख्यक समुदायको सुरक्षा र अधिकार सुनिश्चित गर्नु र अल्पसङ्ख्यक नागरिकको परिवारमा सिरियाको नयाँ स्वीकार्यतालाई उनीहरूको संरक्षणमा सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय समुदायको कर्तव्य भएको बताउनुभएको छ ।

सिरियाली गृह मन्त्रालयले इजरायली सैन्य हस्तक्षेप रोक्नका लागि अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत शनिबारदेखि ड्रुज हार्टल्याण्डमा तैनाथ हुन थालेको हो ।

इजरायलले यसै साताको सुरुमा स्वेइदा र राजधानी दमास्कस दुवैमा रक्षा मन्त्रालयका सेनामाथि बम बारी गरेको थियो र दक्षिणी प्रान्तमा द्रुजका नागरिकहरूमाथि संक्षिप्त तैनाथीका क्रममा उनीहरूमाथि मृत्युदण्ड र अन्य दुव्र्यवहारको आरोप लगाएपछि उनीहरूलाई फिर्ता लिन बाध्य पारेको थियो।

आफ्नै ठूलो ड्रुज समुदाय रहेको इजरायलले अल्पसङ्ख्यकहरूको रक्षा गरिरहेको बताएको छ ।

केही कूटनीतिज्ञ र विश्लेषकका अनुसार यसको लक्ष्य सिरियामा सेनालाई कमजोर बनाउनु हो । सिरियाली सेना ड्रुज समुदायको ऐतिहासिक शत्रु हो । सिरियाली सेना डिसेम्बरमा शराआको सुन्नी इस्लामवादीहरूले इरानी सहयोगी बशर अल असदलाई अपदस्थ गरेपछि कमजोर बिन्दुमा देखिएको छ ।

–एक हप्तामा ९४० भन्दा बढीको मृत्यु –

सिरियाको ड्रुज अल्पसङ्ख्यक समुदायको बाहुल्य रहेको स्वेइदा प्रान्तमा गत सातादेखि जारी हिंसामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ९४० पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेमा ३२६ ड्रुज लडाकु र २६२ ड्रुज नागरिक रहेका छन्, जसमध्ये १८२ जनालाई रक्षा र गृह मन्त्रालयका कर्मचारीले मृत्युदण्ड दिएका छन् ।

यसमा ३१२ जना सरकारी सुरक्षाकर्मी र २१ जना सुन्नी बेडुइनको पनि मृत्यु भएको थियो जसमध्ये तीन जना सर्वसाधारण थिए र उनीहरूलाई ड्रुज लडाकुहरूले मृत्युदण्ड दिएका थिए । इजरायली आक्रमणमा परी अन्य १५ जना सरकारी सैनिकको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

विविध विधाका कृतिलाई अनेसास पुरस्कार

काठमाडौँ, ३ साउनः अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विविध विधामा प्रकाशित कृतिलाई पुरस्कृत गरेको छ । भर्चुअलमाध्यमबाट आज भएको अनेसासको वार्षिक साधारणसभा एवं २१२औँ भानु जयन्ती समारोहमा अनेसासले विभिन्न विधाका ती कृतिलाई पुरस्कृत गरिएको हो ।

सबैभन्दा ठुलो अमेरिकी डलर दुई हजार १०० राशीको अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको ‘सन्त्रासको साठी दिन’ लाई प्रदान गरिएको छ । यस्तै, अनेसास राष्ट्रकवि सर्वाेत्कृष्ट काव्य पुरस्कार कृसु क्षेत्रीको ‘पसिनाको क्यानभास’, अनेसास सर्वाेत्कृष्ट निबन्ध पुरस्कार मोमिला जोशीको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’, अनेसास सर्वाेत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा सङ्ग्रह ‘पाश्र्व ध्वनि’, अनेसास सर्वोत्कृट समालोचना दर्शन तथा संस्कृती पुरस्कार डा दुर्गाबहादुर घर्तीको ‘सास्कृतिक अध्ययन’, र सर्वाेत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको ‘बोरा’ लाई प्रदान गरिएको छ ।

यसैगरी अनेसास सर्वाेत्कृष्ट लोकसाहित्य पुरस्कार शशिराम कार्कीको ‘रुकुमका लोककथा’, अनेसास सर्वाेत्कृष्ट गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीति सङ्ग्रह ‘धर्तीको ध्वनि’, अनेसास सर्वाेत्कृष्ट बाल साहित्य पुरस्कार विमला ढुङ्गाना निरौलाको ‘यात्रामा देश’, अनेसास सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार जगन्नाथ पौडेलको कविता सङ्ग्रह ‘बग्दा बग्दै’ र अनेसास सर्वाेत्कृष्ट डायस्पोरा वाङ्ममय पुरस्कार तुलसी आचार्यको उपन्यास ‘स्वप्न भूमि’ लाई प्रदान गरिएको छ ।

यी पुरस्कारको राशी अमेरिकी डलर पाँच सयदेखि १५०० सम्म रहेको छ ।

पुरस्कार छनोट समितिका सदस्य सन्ध्या पहाडीले विश्वभरबाट छनोट गरिएका दुई सयभन्दा बढी कृतिमध्ये पहिलो र दोस्रो चरणमा गरी उल्लेखित ११ कृतिलाई पुरस्कृत गर्न समितिले सिफारिस गरेको बताउनुभयो । सोही सिफारिसअनुसार अनेसासको कार्यसमितिले पुरस्कार प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

अनेसासले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसै क्रममा विगत लामो समयदेखि स्वदेश तथा विदेशबाट नेपाली भाषामा प्रकाशित कृतिहरू संकलन गरी हरेक दुई वर्षमा पुरस्कृत गरिँदै आएको अनेसासले जनाएको छ ।

‘खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्न केन्द्रित छौँ’ – खानेपानीमन्त्री यादव

इटहरी (सुनसरी), ३ साउनः खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीसम्बन्धी समस्या समाधन गर्दै नागरिकको जीवनस्तर सुधार्न वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

आज यहाँस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन गर्दै उहाँले झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरुन् भन्ने सरकारको स्पष्ट उद्देश्य बताउँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पु¥याउने रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख लक्ष्य हो ।”

मन्त्री यादवले देशका सबै समुदायलाई समान सेवा पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताउनुभयो । खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सेवाउन्मुख सामाजिक मन्त्रालय भएकाले नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पु¥याउने उद्देश्यले योजनाबद्ध काम भइरहेका उहाँले जानकारी गराउनुभयो ।

“हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिशत उपलब्धि हासिल गरेको छ । यो हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो”, मन्त्री यादवले भन्नुभयो ।

आज उद्घाटन गरिएको खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका–१, २, ३, र ५ का चार हजार ३१ परिवारका करिब २२ हजार ७८७ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरीका प्रमुख महेसी महतोले जानकारी दिनुभयो । उहाँका अनुसार यो आयोजनाले स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चिततामार्फत नागरिकको स्वास्थ्य र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्य राखेको छ ।

कार्यक्रममा पूर्वसङ्घीय सांसद नवदिता चौधरी, नगरप्रमुख शङ्करलाल चौधरी, झुम्का खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, नगर उपप्रमुख तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, खानेपानी तथा ढल व्यवस्थान विभागका उपमहानिर्देशक राजेन्द्र सापकोटा, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरत बम, उपनिर्देशक महेश न्यौपाने, खानेपानी तथा ढल निकास विराटनगरका प्रमुख सुरतलाल चौधरीलगायत सरोकारवालाको सहभागिता थियो ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौँ, ३ साउन : नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ता गुटमा विभाजन हुँँदा पार्टी कमजोर भएको छ । पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबैजना सक्रिय हुने समय आएको छ ।”
नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव राजेश खड्काले केन्द्रदेखि वडासम्म फैलिएको गुटको अन्त्य नभएसम्म एकजुट भएर जनताको लागि काम गर्न गाह्रो हुने बताउनुभयो ।

जिल्ला सहसचिव कृष्णमुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की र प्रदेश सभापति प्रदीप कार्कीले राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताको अवस्था परिवर्तनको लागि कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो

बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

काठमाडौँ, ३ साउनः स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्चसतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरुप सतर्कता अपनाउन आग्रह गरेको हो ।

“इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ,”, इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।”

पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । साउन ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौँ उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुने र
साउन ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च हुने विज्ञप्तिमा भनिएको छ ।

“यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

साथै पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना भएको र महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि साउन ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ ।

मौसमसम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ ।

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढी जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति पु¥याएको घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत् आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरुले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ ।

तरकारी र खसीबोका बिक्रीबाट महाशिलामा भित्रियो तीन करोड ५० लाख

पर्वत ३ साउनः पर्वतको महाशिला गाउँपालिका किसानले तरकारी र खसीबोका बिक्री गरेर मात्रै रु साढे तीन करोड भित्र्याउन सफल भएको छ । गाउँपालिकाले कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको आयस्तरमा अभिवृद्धि गर्नका लागि विभिन्न प्र्रोत्साहन मुलक कार्यक्रम सुरु गरेसँगै गत आर्थिक वर्षमा झण्डै रु साढे तीन करोड भित्रिएको हो ।

महाशिलाका छ वटै वडामा व्यावसायिक तरकारी खेती तथा बाख्रापालन गरिँदै आएको छ । पालिकाका सबै वडामा सडकको सहज पहुँच पुगेसँगै उत्पादित वस्तुको सजिलै निर्यात गर्न सकिने भएकाले एकै वर्षमा ठूलो परिमाणमा आम्दानी गर्न सफल भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिनुभयो ।

अध्यक्ष भुसालका अनुसार गत आर्थिक वर्षमा महाशिलाबाट रु एक करोड ५० लाखको तरकारी र रु दुई करोडको खसीबोका निर्यात भएको छ । गाउँमा उत्पादित अर्गानिक र स्वस्थ्य कर हुने भन्दै ग्राहकको पहिलो रोजाइ बनेको हाल पोखराको बिरौटामा बस्दै आएका महाशिला गाउँपालिका–५ का पूर्वअध्यक्ष जीवन विक्रम उच्चैले बताउनुभयो ।

महाशिलाका अध्यक्ष भुसालका अनुसार कृषकलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउनका लागि पालिकाले तरकारीमा प्रतिकिलो रु पाँच र मासुमा रु २५ अनुदान दिँदै आएको छ ।

कृषकको गोठको भकारो सुधार र बाख्राको खोर

महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दा, स्कुस, लौका, काक्रो, टमाटर, भिण्डी, सिमी, बोडी, फर्सिलगायतका तरकारी जन्यवस्तु उत्पादन हुने गरेको छ । महाशिला गाउँपालिकासँगको सहकार्यमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य श्रृङ्खलामार्फत ग्रामीण महिला उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउने परियोजना सञ्चालन गरेको छ ।

उक्त परियोजनाबाट महाशिला गाउँपालिकाका ८७५ कृषक लाभान्वित भएको अध्यक्ष भुसालको भनाइ छ । महाशिलामा एक हजार १५० रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिएको छ् । यहाँबाट गत आर्थिक वर्षमा करिब ३० टन फर्सी, १० टन तरुल बिक्रीसमेत गरिएको थियो । महाशिलाले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न कृषि एम्बुलेन्स र सहकारी÷कृषि समूहमार्फत उत्पादित वस्तुहरूको बजारीकरणको व्यवस्थापन गर्ने भएको छ । तरकारीखेतीमा लागेका यहाँका हरेक कृषकले न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको कार्यक्रममा पालिकाले स्थानीय तहमा उत्पादित कृषि उपजको एकीकृत बजारको स्थापना गर्ने योजना ल्याएको छ । खसी, बोकाको मासु निर्यात गर्ने दीगो आधारको सिर्जना गर्नुका साथै व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातको गाईपालनमा अनुदान दिने गरी बजेट व्यवस्थापन गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।

‘टोल टोलमा नर्सरीः घर घरमा करेसाबारी’ कार्यक्रम सञ्चालन गर्दैैै कम्तीमा एउटा वडालाई फूलको वडाको रुपमा विकास गर्ने गरी पुष्पखेती कार्यक्रम सञ्चालन गरिने र वडा नं. २ भोक्सिङ्गमा उत्पादन हुने आलुलाई ब्राण्डिङ गरिने भएको छ । पालिकाले पूर्णरुपमा कृषिमा आश्रित परिवार र व्यवसायले लिने कृषि ऋणमा लाग्ने ब्याजमा निश्चित अनुदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने र कृषि उद्यम गर्ने कृषकलाई सहुलियत ऋण प्रदान गर्ने योजना बनाएको छ ।

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

काठमाडौँ, ३ साउनः बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा रु तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन् । निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकवर्षमा पाँच जनाको मृत्यु

बेलबारी (मोरङ), ३ साउनः मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो । उहाँ जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका-८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । बिहीबार बिहान बेलबारी-१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको बताउँदै उहाँको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गर्नुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्युु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एक/एक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका-९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घट्ना बढ्न थालेका उहाँको भनाइ छ ।

गत पुस ५ गते सुन्दरहरैचा-१० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा-५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले बताउनुभयो ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ । उक्त अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ । तीमध्ये प्राकृतिक कारणले चार, चोरीतस्करीबाट दुई, गोली हानेर एक, बेवारिसे एक र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

दुई वर्षदेखि मोरङको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताउनुभयो । “हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाउने, बालीनाली खाइदिएर किसानलाई सास्ती दिने गरेका छन्”, उहाँले भन्नुभयो ।

जङ्गल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकेजी रु ४८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडी प्रतिकिलो रु ३० र मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (जाजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु २५, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु १९०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ३२०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १४०, आँप (दशहरी) प्रतिकिलो रु १४०, हरियो तरबुजा प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ४५, नास्पाती (लोकल) प्रतिकिलो रु ४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ४० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु १३०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

“ऐनअनुसार नियमावली बनाउने कामलाई तीव्रता दिएका छौँ ।” – कानुनमन्त्री चौरसिया

काठमाडौँ, ३ साउन : कानुन, न्याय तथा संसदीय मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनअनुसार नियमावलीको चाँडै तयार गर्ने भएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस भइसकेका छन् तर ऐनअनुसार नियमावली बन्न नसक्दा काम अघि बढ्न सकेको थिएन ।

“सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारले निरन्तर काम गरिरहेको छ”, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले भन्नुभयो, “ऐनअनुसार नियमावली बनाउने कामलाई तीव्रता दिएका छौँ ।”

बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१ कार्यान्वयनमा आइसकेको छ । दुवै आयोगमा पदाधिकारी आएर काम समेत सुरू गरिसकेका छन् । ऐनमा भएका संशोधनबमोजिम बनाउनुपर्ने नियमावलीहरूको मस्यौदा तयार भइरहेका मन्त्री चौरसियाको भनाइ छ ।

कानुन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१, विधायन ऐन, २०८१ र जिल्ला अदालत (तेस्रो संशोधन) नियमावली, २०८१ तर्जुमा भई जारी गरिसकेको छ ।

मन्त्रालयले विभिन्न मन्त्रालयका १९ वटा विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति, १७ वटा विधेयकको मस्यौदामा तर्जुमा सहमति, १३ वटा ऐनमा संशोधन गर्न तर्जुमा सहमति प्रदान गरेको छ ।

त्यस्तै, छ वटा अध्यादेशमा तर्जुमा सहमति, १३ वटा नयाँ नियमावलीमा तर्जुमा सहमति, २३ वटा नियमावलीमा संशोधन गर्न तर्जुमा सहमति प्रदान गरेको छ । त्यसैगरी १० वटा गठन आदेश, पाँच वटा निर्देशिका, चार वटा कार्यविधि, चार वटा मापदण्ड र दुई वटा विनियमावली (नयाँ संशोधन)मा तर्जुमा सहमति प्रदान गरिएको छ ।

कानुन तर्जुमालाई थप वस्तुनिष्ठ र प्रभावकारी बनाउन नेपालको कानुन तर्जुमा प्रवृत्ति विश्लेषणसम्बन्धी अध्ययन गरी त्यसको प्रतिवेदन तयार पारेको छ । “कानुन मन्त्रालयले कानुन तर्जुमा गर्ने क्रममा अन्तरराष्ट्रिय सन्धि/सम्झौताको राय प्रदान गर्ने गरेको छ”, कानुनमन्त्री चौरसियाले भन्नुभयो, “कानुनी राय परामर्श प्रदान, स्थानीय तहका न्यायिक समितिको न्याय सम्पादनसम्बन्धी क्षमता अभिवृद्धि, गाउँसभा र नगरसभाका पदाधिकारी एवं कर्मचारीको कानुन तर्जुमासम्बन्धी क्षमता अभिवृद्धि र आमनागरिकमा कानुनी सचेतना अभिवृद्धि गर्ने काम भएको छ ।”

यस मन्त्रालयबाट तर्जुमा गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० संसद्बाट पारित भई प्रमाणीकरणको चरणमा रहेको छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा दफावार छलफलका क्रममा रहेको छ ।

मन्त्रालयले तर्जुमा भएको मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, मुलुकी देवानी (पहिलो संशोधन) संहिता, २०८२, मुलुकी देवानी कार्यविधि (पहिलो संशोधन) संहिता, २०८२ विधेयक मन्त्रिपरिषद्समक्ष पेस भएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, निःशुल्क कानुनी सहायतासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल कानुन व्याख्यासम्बन्धी ऐन, २०१० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी समेत मन्त्रालयले गरिरहेको छ ।

कानुन मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरिने २५९ वटा सूचना सम्पादन गरी प्रकाशनका लागि मुद्रण विभाग पठाइएको छ । द्विपक्षीय, बहुपक्षीय सम्झौता, दातृ संस्थासँग सम्पन्न गरिने सम्झौताको १०२ वटा मस्यौदामा राय प्रदान गरेको तथा १२ वटा अन्तरराष्ट्रिय सम्झौतामा कानुनी राय प्रदान गरिएको छ भने अन्तरराष्ट्रिय कानुनबमोजिम नेपालले पूरा गर्नुपर्ने दायित्वसम्बन्धी देहायका चार वटा विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ ।

“असमर्थ पक्षलाई कानुनी सहायता उपलब्ध गराउन ७४ वटा जिल्लामा कानुनी सहायता अधिकारी नियुक्त गरेका छौँ”, मन्त्री चौरसियाले भन्नुभयो, “बाँकी रहेका तीन वटा जिल्लामा समेत कानुनी सहायता अधिकारी नियुक्ति गर्ने तयारी रहेका छाँै ।”

पारस्परिक कानुनी सहायतातर्फ विभिन्न अनुसन्धान गर्ने निकायबाट विदेशी राज्यसमक्ष पारस्पारिक कानुनी सहायता पठाइदिनका लागि प्राप्त दुई वटा विषयको अनुरोधका सम्बन्धमा सोअनुसार काम सम्पन्न भएको तथा नौ वटामा कारबाही चलिरहेको छ ।

पारस्परिक कानुनी सहायता र सपुर्दगी सम्बन्धमा विभिन्न राष्ट्रसँग द्विपक्षीय सन्धि गर्ने कार्य सम्बन्धमा मिति २०८१ माघ २४ को निर्णयानुसार विभिन्न विदेशी राज्यहरू समक्ष प्रस्ताव गर्नका लागि मस्यौदा तयार भई सो मस्यौदा राय र सुझावका लागि परराष्ट्र, अर्थ तथा गृह मन्त्रालय पठाइएको उक्त मन्त्रालयका प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिनुभयो ।

न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरूको क्षमता अभिवृद्धिसँग सम्बन्धित १८ वटा तालिम कार्यक्रम सम्पन्न गरिएको र स्थानीय तहको कानुन निर्माणलाई प्रभावकारी बनाउन गाउँसभा, नगरसभामा कानुन तर्जुमासम्बन्धी २३ वटा अभिमुखीकरण तालिम गरेको मन्त्रालयले जनाएको छ ।

आमनागरिकलाई कानुनी सचेतना अभिवृद्धि गर्न रेडियो नेपालबाट हरेक महिनाको पहिलो, तेस्रो र पाँचाँै बुधबार बिहान ‘कानुनका कुरा’ नामक २२ वटा कार्यक्रम प्रसारण गरी कानुनविद्हरूद्वारा कानुनी सचेतना प्रदान गरिएको छ ।

आमसर्वसाधारणसम्म कानुनको सहज पहुँच पु¥याउन दक्षिण कोरियाको कानुन निर्माण मन्त्रालयको सहयोगमा कानुन सूचना प्रणालीको विकास गर्न पाइलट प्रोजेक्ट स्वीकृत भई यस वर्षदेखि काम सुरू हुने भएको छ ।

सर्वोच्च अदालतबाट आर्थिक वर्ष २०७९/८०–२०८१/८२० कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित आदेशबमोजिम बनाउनुपर्ने कानुनको पहिचानसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता खत्रीले भन्नुभयो, “विधायन ऐन, २०८१ को दफा ३ बमोजिम यस वर्ष नेपाल सरकारको तर्फबाट १२१ वटा विधेयकहरू तर्जुमा गर्ने गरी प्राथमिकताक्रम निर्धारण गरी वार्षिक कार्यतालिकासहित सङ्घीय संसद्मा पेस गरिसकिएको छ ।”

आव २०८१/८२ मा मन्त्रालयको कूल बजेटको पुँजीगततर्फ ८४ दशमलव ९५ प्रतिशत र चालुतर्फ ८० दशमलव ८९ प्रतिशत वित्तीय प्रगति भएको समेत मन्त्रालयले जनाएको छ ।

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ ।हिजो (शुक्रबार) बाट जारी बैठक आज पनि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको थियो ।

साथै, बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए भने अन्य सदस्यहरुले पनि आफ्ना धारणा राखेका थिए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।