`

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।

नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार शुन्यमा अविजित रहे । मोनिका लामिछाने २२, धनकुमारी क्षेत्री ८, लिजा गुरुङ शुन्य, श्रेया शर्मा ४, आयुषा चापागाईँ ३, पुर्णिमा सुनार ७ र वर्षा सुनार शुन्यमा आउट भइन् ।

कास्कीका लागि चन्द्रमाया बराल २ तथा श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १÷१ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । कास्कीका लागि रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको अविजित पारि खेले । कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । श्रद्धा गुरुङ ८, शिखा दवाडी १५, रेखा तामाङ २ रनमा आउट भइन् ।

नवलपुरका लागि यमुना पंगेनीले २ तथा श्रेया शर्मा र आयुषा चापागाईँले समान १÷१ विकेट लिए ।उता दोस्रो खेलमा पर्वत र स्याङ्जाले वर्षाका कारण खेल रोकिएपछि अंक बाडेका छन् ।

१४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षाभएपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाडेका हुन् । वर्षा हुनुअघि ओपनर शुसिला भट्टराई ३ रनमा अविजित रहँदा योगिता केसी क्याचआउट भइन भने जिविका क्षेत्री शुन्यमा रनआउट भइन् । स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । स्याङ्जाका लागि सिमाना केसीले ३३ रनको योगदान दिइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् । श्रेया शाह १९, सलिना सेन १३ रनमा आउट भइन् । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । कुशुम गोदार ४ र निरु जिटी ४ रनमा नटआउट रहिन् ।
पवर्तका लागि दिपिका सापकोटाले २ तथा प्रतिभा खड्काले १ विकेट लिइन् ।

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

खोटाङ, २० असार : सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहनुभएका खोटाङे कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो ।

खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीका रूपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ः०० बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्याह्न १२ः०० बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जनकारी दिनुभयो ।

नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिनुभयो । “नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीमा पक्षपात र नागरिक आवाजमाथिको दमनजस्ता विषयलाई उजागर गर्नेछ । ‘हराएको कुकुर’ राज्यद्वारा हराइएको सत्यको प्रतीक हो”, उहाँले भन्नुभयो, “यो नाटक एउटा सरल खोजीको कथामात्र होइन । यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झक्झक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो ।”

मञ्चनको सम्पूर्ण तयारी पूरा भएको ‘हराएको कुकुर’ एउटा रूपकात्मक नाटक भएको निर्देशक कुलुङले बताउनुभयो । “कुकुर हराएको सामान्य घटनाबाट सुरु हुने कथा क्रमशः एउटा गम्भीर सामाजिक तथा राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ”, उहाँले भन्नुभयो, “जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् । यो नाटकले धेरै दर्शकको मन जित्ने विश्वास लिएका छौँ ।”

नेपाली रङ्गमञ्चका चर्चित नायक दयाहाङ राईले थापागाउँमा सञ्चालन गर्नुभएको मण्डला थियटरमा मञ्चन हुने नेपाली नाटक ‘हराएको कुकुर’लाई रवीन तामाङले नाट्य रूपान्तरण गर्नुभएको जनाइएको छ । नाटकका मञ्चमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङलगायतको अभिनय÷प्रस्तुति रहने जनाइएको छ ।

यस्तै, अबिनास डिएम, मीना श्रेष्ठ, मनि कुलुङ, सुनिल वाहिङ राईको प्रस्तुतिसमेत मञ्चमा रहनेछन् । नेपथ्यतर्फ भने ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले, प्रकाश परिकल्पनामा उमेश तामाङ र प्रकाश परिचालकमा सुनिल बाहिङ राई रहनुभएको जनाइएको छ । नाटकमा दीपा मगराती, दिनेश श्रेष्ठ, पुजन लिम्बू, आकाश मगर, मञ्जिल मगर, अनुप न्यौपाने, प्रज्ञा विष्टलगायतको समेत मञ्चन भूमिका रहने जनाइएको छ । दुई हप्तासम्म मञ्चन हुने कथा÷निर्देशक रङ्गकर्मी थुलुङको नाटक ‘हराएको कुकुर’को ट्रेलर मण्डला थियटरले समेत सार्वजनिक गरिसकेको छ ।

पाँच वर्षदेखि राजधानी काठमाडौँमा रहेर रङ्गमञ्चमा गर्दै आउनुभएका रङ्गकर्मी कुलुङले यसअघि नेपाली कथानक नाटक ‘मृत्यु कुण्ड’को निर्देशन गर्नुभएको थियो । खुवालुङ, दमिनीभिर, ताप, विम्बको सपना, रामप्रसाद राईलगायत दर्जनौँ चर्चित नाटकमा अभिनय गरिसक्नुभएका रङ्गकर्मी कुलुङको यो नाटकले दर्शकको मन जित्ने अपेक्षा गरिएको दर्शकहरूले बताएका छन् ।

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर (काठमाडौँ), २० असार : मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।

त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदी त्रिवि छात्राबास पुग्नुभएको थियो ।

विश्वविद्यालयको छात्राबासको व्यवस्था अनुगमन गर्न संसदीय टोली पुगेको सम्भवतः यो पहिलो घटना हो । संसदीय टोलीलाई छात्राबास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै त्यहाँका विद्यार्थीले अत्यन्त फोहर भाँडाकुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाइको अवस्था दयनीय रहेको, भान्छाको टेबुल, बस्ने मेच आदि साधन अत्यन्त फोहर भएको देखाएका थिए । यसबारेमा बारम्बार गुनासो गर्दा प्राचार्यको कार्यालय, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा अन्य सम्बद्ध निकायले बेवास्ता गरेको र कतिपय अवस्थामा छात्राबासका वार्डेन लगायतबाट उल्टै रुखो व्यवहार र हप्कीदप्की हुने गरेको बताएका थिए ।

“पढ्न आएका हामीहरू समयमा मुख धुने पानीसमेत नपाए तनावमा पर्नुपर्यो, योसँगै भान्साको समेत समस्या बताउँदा वार्डेन म्यामलले ‘सरकारी होटलमा बसेपछि यस्तै हो, जे मिल्छ त्यसैले चलाउनु’, भन्नेसम्मको रुखो जवाफ दिनुभयो”, एमएस्सी तेस्रो सेमेष्टरकी छात्रा सविना रेग्मीले सांसद टोलीसमक्ष भन्नुभयो । छात्राहरू रहने ठाउँमा पानी र सरसफाइ अनिवार्य हुनुपर्ने कुराप्रति त्रिविका पदाधिकारीहरू असंवेदनशील रहेको पनि उहाँले बताउनुुभयो । “पानी अत्यन्त कम र त्यसमाथि पनि प्रयोग गर्न नै नमिल्ने गरी धमीलो पठाइयो । महिनावारी भएका बेलामा पनि एक जग पानीले सरसफाइ गर्नुपर्नेसम्मको कष्ट हामीले भोग्नुपर्यो”, अर्की छात्रा रोहना जोशीको भनाइ थियो । तत्काल समाधान गर्न सकिने र आपत परेको कुरा लिएर जाँदा पनि सरकारी काम हो समय लाग्छ, भन्ने जवाफ दिइने गरेको पनि उहाँले बताउनुभयो । सासाना समस्या पनि समाधान नगरीदिँदा छात्राबासमा बिजुली वा अरु पूर्वाधार बिग्रेका अवस्थामा छात्राहरूले आफैँ पैसा उठाएर मर्मत गर्नुपर्नेसम्मको अवस्था सृजना गरिएको उहाँले बताउनुभयो ।

छात्राबासको निरीक्षण र छात्राहरूको गुनासो सुनेपछि संसदीय टोलीले केन्द्रीय क्याम्पसका प्राचार्य अकलदेव मिश्र र प्रोक्टर राजेन्द्र कुवँरसँग समस्याबारे सोधपुछ गरेको थियो । सांसदहरूले आफूहरूले छात्राबासमा अवलोकन गर्दा सुरसफाइ र स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पनि नपुर्याइएको पाएको बताएका थिए । “त्रिविको केन्द्रीय क्याम्पसजस्तो प्रतिष्ठित संस्थामा यस्तो दुरावस्था देखिनु दूर्भाग्यपूर्ण हो, विद्यार्थीलाई स्वच्छ पानी र आधारभूत सरसफाइबाट वञ्चित गराएर मानवअधिकार उल्लङ्घन गरिएको छ”, समितिका सभापति खानले भन्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदीले छात्राबासको भोजनालयमा खाद्यान्नको स्वच्छतालाई सर्वाधिक प्राथमिकता दिइनुपर्ने बताउनुभयो । आफूले त्यहाँ प्रयोग भएको पानीको नमूना सङ्कलन गरेको बताउँदै उहाँले विभागमा त्यस पानीको स्वच्छताबारे जाँच गरिने बताउनुभयो । छात्राबासका समस्या तत्काल समाधान गर्न निर्देशन दिँदै उहाँले विद्यार्थीबाट फेरि पनि सोही खालको गुनासो आए समितिले थप कदम चाल्ने चेतावनी दिनुभयो ।

त्रिवि स्ववियुका सभापति दीपकराज जोशीले त्रिवि पदाधिकारीहरूमा विद्यार्थी नरम स्वरले उठाएका कुरा बेवास्ता गर्ने र सोही कुरा दबाबमूलक ढङ्गले राखेपछि मात्र पूरा गर्ने प्रवृत्ति रहेकाले समस्या जटिल हुन गएको बताउनुभयो । शौचालय व्यवस्थापन गर्न राखिएको माग सुन्दै सुनिएन अनि त्रिवि प्रिन्सिपल कार्यालयको शौचालय बन्द गरेपछि बल्ल माग पूरा भयो”, उहाँले बताउनुभयो ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २० असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५३ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, २० असार : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै, आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची तय गरिएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको काम कारबाहीका बारेमा छलफल गरिनेछ ।

पूर्वाधार विकास समितिको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ र सुनकोसी मरिण डाइभर्सन आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची तय भएको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार (सुर्खेत), २० असार : जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ ।बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

नियमित पानी परिरहेकाले समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै

काठमाडौँ, २० असार : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुुनुहुन्छ ।

सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नुभएको थियो ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभयो । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

बिहीबार मात्र उहाँले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गर्नुभयो । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गर्नुभएको थियो । केहीबेरअघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गर्नुभएको छ ।

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, २० असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौँ, १९ असारः गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।

गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।

अदालतको आदेशले विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा छानबिन तथा अनुसन्धानका लागि ब्युरोलाई तीन दिनको म्याद प्राप्त भएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राविधिक विश्लेषण र अनुसन्धानबाट उक्त घटनामा राई नै संलग्न रहेको पाइयो, धेरै आइडी बनाएर यस्ता गतिविधि पनि गर्ने गरेको पाइएको छ, उनीमाथि अनुसन्धान जारी छ ।”

उहाँका अनुसार राईले चरित्र हत्या हुनेगरी पीडितको तस्बिर र भिडिओसमेत पोष्ट गर्ने र पीडितकै फेसबुकमा गालीगलौज गरी चरित्रहत्या हुने खालका विषय कमेन्ट बक्समा पोष्ट गर्ने गरेको पाइएको छ ।

गायिका चौहानले आफ्नो फेसबुक स्टाटसमा चरित्रहत्या हुनेगरी कमेन्ट गर्ने गरेको उल्लेख गर्दै यही असार १६ गते ब्युरोमा जाहेरी दिनुभएको थियो । गायिका चौहानले यो आफ्नो मात्रै लडाईं नभएको, चरित्रहत्या गर्ने अधिकार कसैलाई नभएकाले साथ दिन सार्वजनिक अनुरोधसमेत गर्नुभएको छ ।

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाब पर्न सक्ने विश्वव्यापी अनुमानबीच जुनमा अमेरिकी रोजगारी दरमा अपेक्षा गरिएभन्दा बढी रोजगारी थपिएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रम विभागका अनुसार मे महिनामा एक लाख ४४ हजारको हाराहारीमा रहेको रोजगारी दरमा गत महिना एक लाख ४७ कायम भएको बताइएको छ ।

बेरोजगारी दर ४.२ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ भने तलब वृद्धि ०.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ को महामारीपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले तुलनात्मक रूपमा राम्रो वृद्धि देखेको छ । लचिलो रोजगारीको बजारले उपभोक्ताहरूलाई खर्च गरिरहन अनुमति दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा चर्को कर वृद्धिसहित अमेरिकी व्यापारिक साझेदारहरूमाथि लगाएको करले उपभोक्ताको भावनालाई तानेको छ र व्यापार अनिश्चिततालाई बढावा दिएको छ ।

यो विशेष गरी अमेरिकी राष्ट्रपतिको करवृद्धिको घोषणा गर्ने, त्यसपछि समायोजन गर्ने वा उपायहरू रोक्ने दृष्टिकोणले गर्दा फर्महरू लगानीमा सतर्क भएका छन् ।

सम्भवतः अर्को हप्तादेखि लागू हुने कर वृद्धिको अर्को श्रृङ्खलालाई मध्यनजर गर्दै विश्लेषकहरूले रोजगार बजारमा कमजोरीको सम्भावनाबारे निगरानी गरिरहेका छन् र फर्म तथा कम्पनीले थप भर्ती र रोजगारीका अवसर विस्तारबाट पछाडि हट्न सक्ने सङ्केत देखिएका छन्।

सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त

सुदूरपश्चिम, १९ असारः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई आज पदमुक्त गर्नुभएको छ ।

मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो साता पदबाट राजीनामा दिन निर्देशन दिनु भए पनि उहाँले राजीनामा दिनुभएको थिएन । मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्नुभएको छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतु उपाध्यायले सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई बेवास्ता गरिएपछि विकल्पको रुपमा मुख्यमन्त्रीले आज मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गर्नुभएको हो ।

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त हुनुभएको थियो । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहनुभएका सोही पार्टीका लक्ष्मणकिशोर चौधरीले विवादस्पद ‘अडियो प्रकरण बाहिरिएपछि मुख्यमन्त्रीको निर्देशनमा पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा सत्ता गठबन्धन दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

कूल ५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्तिका सात जना सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ छन् । प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार (एक निलम्वित), राप्रपाका एक र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

पुटिन र ट्रम्पबीच बिहीबार फोनवार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार फोनमा कुराकानी हुने भएको छ ।

यसैगरी, राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि शुक्रबार फोनवार्ता गर्नुहुने युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपी जानकारी गराएका छन् ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्प दुवै नेतासँग नियमित सम्पर्कमा रहनुभएको छ र उहाँले करिब साढे तीन वर्ष लामो द्वन्द्व अन्त्यका लागि दबाब दिइरहनुभएको छ ।

पुटिन र ट्रम्प दुवैले बिहीबारको वार्तामा के छलफल गर्ने भन्नेबारे केही बताएका छैनन् ।

यसअघि युक्रेन द्वन्द्व र आर्थिक सहयोगजस्ता विषयमा छलफल गरेका दुई नेताबीच बिहीबार के बिषयमा छलफल हुनेछ भन्नेबारे ती देशका प्रशासनले जानकारी गराएका छैनन् ।

मस्कोको एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा पुटिनले ट्रम्पसँग फोनवार्ता हुनलागेको भन्ने कुराको पुष्टि गर्दै संक्षिप्तमा भन्नुभयो, “हो, म आज अमेरिकी राष्ट्रपतिसँग कुरा गर्नेछु ।”

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेकोे आह्वानलाई पुष्टि गर्दै अमेरिकी समयअनुसार बिहान १० ः०० बजे वार्ता सुरु हुने बताइएको छ ।

मस्कोले युक्रेनमाथि जारी आक्रमणका बावजुद यी दुईले हालैका हप्ताहरूमा एकअर्काको प्रशंसा गरेका छन्।

पुटिनले गत हप्ता ट्रम्पप्रति आफ्नो ठूलो सम्मान रहेको र केही कठिनाइका बाबजुद पनि अमेरिकी सम्बन्धमा सुधार भइरहेको बताउनुभएको थियो भने अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको प्रतिक्रिया ‘निकै राम्रो’ भएको बताउनुभएको थियो ।

एनआरएनए : बद्री केसी समूहविरुद्ध एकताको आह्वान, समानान्तर कमिटी गठनको कडा विरोध

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पदाधिकारी तथा अभियन्ताहरूले बद्री केसी समूहले एकताबद्ध रहेका एनसीसीहरूलाई फुटाउने प्रयास गरेको भन्दै यस्ता कार्य रोक्न आह्वान गरेका छन् ।

मङ्गलबार एनआरएनए आइसीसीद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष महेशकुमार श्रेष्ठले एकताको महाधिवेशन, परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्ति र फैसला कार्यान्वयन निर्देशनालयबाट पत्राचारपछि सङ्घको केन्द्रीय कार्यालयमा प्रवेशमा कुनै अवरोध नहुनुपर्ने बताए । उनले भने, “महाधिवेशनपछि बद्रीजीलगायत पूर्वअध्यक्षहरूसँग वार्ता भइरहेको छ । वार्ताबाट समाधान निस्कन सक्छ भन्ने आशाले हामीले बलजफ्ती गरेनौँ । वैधानिकताको कुरामा हेमराजजीले विधानको हवाला दिँदै भ्रम फैलाउनुभएको छ ।”

“हामी नै वैधानिक हौँ । सर्वोच्चको परमादेशअनुसार उच्चस्तरीय समिति गठन भयो । परमादेशले भनेअनुसार निर्वाचन सम्पन्न भयो । परराष्ट्र र कानुन मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो । निर्वाचनपछि परराष्ट्रबाट वैधानिकता प्राप्त भयो र कूटनीतिक नियोगहरूमा पत्राचार भइरहेको छ । आधिकारिकता पुष्टि गर्ने निकाय परराष्ट्र मन्त्रालय हो । सर्वोच्चको फैसलालाई आ-आफ्नै तरिकाले व्याख्या गरिएको छ । उहाँहरूले ‘हामीले जित्यौँ’ भन्नुहुन्छ, तर फैसला कार्यान्वयन गर्ने निकायले पत्र ल्याए हामी मान्छौँ । पुनरावलोकनको विषयमा पनि भ्रम छरिएको छ । अहिले अदालतमा छवटा मुद्दा पूर्ण इजलासमा छन् । अबको दुई-तीन हप्तामा यो अन्योल अन्त्य हुनेमा विश्वस्त छु,” उनले थपे ।

“बद्रीजीहरूले गरेको पत्राचारलाई हामीले खारेज गरेका छौँ । त्यसको कुनै औचित्य छैन । समानान्तर कमिटी गठन गम्भीर विषय हो । हामी विभाजनको विपक्षमा छौँ । अमेरिकामा मैले दुई कमिटीलाई मिलाउने आधार तयार पारेको थिएँ । डा. अर्जुन बन्जाडे र सूर्य लम्सालले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो । एमआइएस सिस्टमबारे छलफल भएको थियो । मध्यमार्गी बाटो खोजेका थियौँ, तर कार्यान्वयन भएन । बद्रीजीले झुक्याउने खेल खेल्नुभएको छ । एनसीसीहरूको निर्वाचन केही समय पछि सार्नुपर्छ । नत्र अदालतको फैसला कुरौँ । एमआइएस सिस्टम आफैँमा समस्या होइन, तर बद्रीजीको नियन्त्रणमा भएकाले हामीले स्वीकार गरेका छैनौँ । एमआइएसलाई स्वतन्त्र टोलीले निगरानी गर्नुपर्छ भन्ने विधानमै छ,” श्रेष्ठले भने ।

“सर्वोच्चले भनेको अवधिसम्म एनसीसी नचलाउन भनेका छौँ । आइसीसीको विवाद मिलाउन सकिन्छ, तर एनसीसीहरू विभाजित भए जटिल हुन्छ । एनसीसी स्वायत्त छन्, उनीहरूलाई हस्तक्षेप गर्नुहुँदैन । विवादित अवस्थामा जुलाईमै अधिवेशन गर्न बाध्य नपारौँ । अधिवेशन सार्न सकियो भने धेरै समस्या समाधान हुन्छ । विधान सङ्घको हितका लागि हो । विधान संशोधन गरेर बाधाहरू हटाउन सकिन्छ । तर, केही साथीहरूले विधानको हवाला दिँदै अवस्था बिगार्न खोज्नुभयो । चारवटा कमिटीलाई भङ्ग गरेर समानान्तर कमिटी बनाउन थालिएको छ । यस्ता कार्यलाई हामी मान्यता दिँदैनौँ । उहाँहरूले चारवटा एनसीसी देखाएर अरूलाई तर्साउन खोज्नुभएको छ,” उनले भने ।
पत्रकारहरूको प्रश्नको जवाफमा श्रेष्ठले भने, “बद्रीजीको नियन्त्रणमा रहेको एमआइएसबाट सबै त्रसित छन् । हामी समानान्तर कमिटी बनाउनुहुँदैन भन्ने पक्षमा छौँ । पूर्वअध्यक्ष र संस्थापक अध्यक्षहरू चुप नबस्नुस्, बोल्नुस् । समानान्तर कमिटी रोक्न भूमिका खेल्नुस् । नागरिकताको ड्राफ्ट बनिरहेको छ । हामीले नागरिकता र पूँजी भित्र्याउने पहल गर्नुपर्नेमा यो लफडामा फस्यौँ । हामी विश्वासयोग्य हुनुपर्छ । एकताका लागि इमानदार प्रयास गरिरहेका छौँ । सबै एनसीसीले साथ दिनुस् । सर्वोच्चको फैसला स्वीकार गर्छौँ । अदालतले ढिलाइ गरे हामी वैधानिक तरिकाले सचिवालय गएर काम थाल्छौँ । पूर्वअध्यक्षहरूले पनि एनसीसी भङ्ग गर्नुहुँदैन भनेर बोल्नुपर्छ । भीष्म पितामहजस्तो नबसौँ, सही कुरा भन्नुपर्छ ।”

एनआरएनए अभियन्ता आरके शर्माले विगत पाँच-सात वर्षदेखि एनसीसी नफुटाउन आग्रह गर्दै आएको स्मरण गरे । “एनसीसी स्वायत्त छन् । तपाईंहरूको होडबाजीले कुनै गरिबको छोराले प्रहरी धाउनुपर्ने अवस्था नआओस् । दुबईमा एनसीसी भङ्ग हुँदा ४० पटक स्थानीय निकाय धाउनुपरेको थियो । सबै सम्मानित साथीहरू एनसीसीमा हुनुहुन्छ । समाजको हितमा काम गरौँ । आम नेपालीका समस्या समाधानमा लागौँ । एनसीसीहरू धैर्य गरौँ । निकास केही समयमा निस्कन्छ । फैसला कार्यान्वयनका पत्रहरू आएका छैनन् । आइसीसीका लागि एनसीसीहरू नफुटाउनुस्,” उनले भने ।

एनआरएनए आइसीसीका उपाध्यक्ष सुनिल साहले केही साथीहरूले सङ्घलाई अनावश्यक रूपमा कब्जा गरेको बताए । “अवैध भइसकेकाहरूले एनसीसीहरूलाई चिठी लेखेर दुख दिनुभएको छ । कार्यालय हस्तान्तरण भएको छैन । अब उहाँहरूले कार्यालय छोड्नुपर्छ । एनआरएनए सङ्कटमा छ, सबै एक हुन जरूरी छ,” उनले भने ।
एनआरएनए आइसीसीका प्रवक्ता गङ्गाधर गौतमले एनसीसीहरू स्वायत्त भएको उल्लेख गर्दै बद्री केसीको टोलीले विभाजन ल्याउने काम गरेकोमा खेद व्यक्त गरे । “सर्वोच्चको परमादेशबाट बनेको उच्चस्तरीय समितिले मे ३-४ मा अधिवेशन गराएको सर्वविदित छ । बद्री केसी र गौरी जोशीले निर्वाचित साथीहरूलाई हटाउने काम गर्नुभयो । उहाँहरूलाई सचिवालय दुरुपयोग नगर्न आग्रह गर्छु,” उनले भने ।

एनआरएनए आइसीसीका पूर्वउपाध्यक्ष केशव पौडेलले एनआरएनए आन्दोलन २२-२३ वर्षमा खराब अवस्थाबाट गुज्रिरहेको बताए । “हामी एकताबद्ध बनाउने अभियानमा छौँ, तर केही साथीहरू कब्जा र व्यक्तिगत फाइदाको ध्याउन्नमा हुनुहुन्छ । एनसीसीहरूमा विभाजन भए अवस्था जटिल हुन्छ । समानान्तर कमिटी बनाउनु एनआरएनए आन्दोलनको कालो दिन हो,” उनले भने ।

एनसीसी बेल्जियमकी अध्यक्ष सीता सापकोटाले वैधानिक रूपमा निर्वाचित कार्यसमितिलाई बर्खास्त गर्ने अधिकार केसी समूहसँग नभएको बताइन् । “हाम्रा ८० प्रतिशत सदस्य एकताको पक्षमा छन् । हामी जाजरकोटमा स्कूल बनाउने, स्थानीय समुदायलाई सेवा गर्ने काम गरिरहेका छौँ । संस्था फुटाउने कामप्रति खेद छ । मलाई कागजको खोस्टोले हटाउन सकिँदैन । एनसीसीहरूलाई स्वायत्त भएर काम गर्न दिनुस् । हामीले संस्थाको पैसाबाट चिया पनि खाएका छैनौँ, तर तपाईंहरूले सदस्यको पैसाले मुद्दा लडिरहनुभएको छ । कार्यालय कब्जा गर्नुभएको छ । बद्री केसीले कानून मान्नुहुन्न? हामी कसैका दास होइनौँ । हाम्रो मानहानि भएको छ, हामी मुद्दा हाल्छौँ,” उनले भनिन् ।
एनसीसी युएईका अध्यक्ष विकास शाहीले एनसीसी युएईको मान्यता फिर्ता लिएको पत्रप्रति हाँसो लागेको बताए । “बद्री केसीको कमिटी अवैध छ । अवैधले हाम्रो वैधानिक संस्थालाई अवैध भन्ने अधिकार छैन । हामी स्थानीय अथोरिटीमा दर्ता छौँ । निर्वाचन प्रक्रिया अघि बढाएका छौँ । नेपाल फेस्टिभल आयोजना गरेका छौँ । परोपकारी काम गरेका छौँ । हाम्रो एनसीसीको बैठकले त्यो पत्र खारेज गरेको छ,” उनले भने ।

कार्यक्रमको दोस्रो चरणमा डा. बलराम श्रेष्ठ (क्षेत्रीय संयोजक, एसिया प्रशान्त), प्रेम गुरुङ (क्षेत्रीय संयोजक, युरोप), सुनिल घिमिरे (डीआरसी मध्यपूर्व), लोकेन्द्र ओली (डीआरसी, एसिया प्रशान्त), बिपिन गुरुङ (अध्यक्ष, एनसीसी कोरिया), भविन्द्र बस्नेत (अध्यक्ष, एनसीसी थाइल्याण्ड), रणध्वज लिम्बु (अध्यक्ष, एनसीसी कुवेत), एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगर, प्रवक्ता कुल कँडेल, बलराम थापा (अध्यक्ष, एनसीसी साउदी अरब), भुवन वाग्ले (महासचिव, एनसीसी युएई), विकास उप्रेती (वरिष्ठ उपाध्यक्ष, एनसीसी अमेरिका), डा. डिल्लीराम ढुङ्गाना (सचिव, एनसीसी अमेरिका), आइसीसी सदस्य सिरीप्रसाद गुरुङ, अभियन्ताहरू थर्क सेन (युके), सञ्जय ढकाल (थाइल्याण्ड), दीपेश खत्री (जर्मनी), लक्ष्मण खनाल (युएई), राजेन्द्र देवकोटा (जन प्रगतिशील मञ्च, कतार), दिलीप पोखरेल (एनसीसी अष्ट्रेलिया) लगायतले बद्री केसी समूहको अराजक कार्यको आलोचना गर्दै एनसीसीहरू एकजुट भएर सामना गर्नुपर्ने बताए ।

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा सुवेदीको नाममा स्थापित वार्षिक पुरष्कार विजेता घोषणा

लन्डन – विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कार विजेता घोषणा गरेको छ।

यस वर्षको पुरष्कार डा आइडेन लेर्चलाई ‘न्यायालयहरुले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम किनारा नलाग्दै कुनै पक्षलाई तत्काल हुन सक्ने अन्यायबाट रोक्न कस्तो प्रकारका आदेश दिन सक्दछन्’ भन्ने विषयमा केन्द्रित उनको शोधग्रन्थका लागि प्रदान गरिएको हो।

डा लेर्चको उक्त शोधग्रन्थ यो वर्षको अक्सफोर्ड विश्वविद्यालय कानून संकायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनौट भएको थियो।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्रा सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो भने सन् २०२० मा प्रा सुवेदीको नाममा उक्त वार्षिक पुरष्कार स्थापना गरेको थियो ।

प्रा सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक एवं बेलायतका ब्यारिष्टर र केसी हुन्। उनलाई दुईवर्ष अघि अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजले अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा असाधारण योगदान दिएको व्यक्ति भन्दै आजीवन मानार्थ प्राज्ञ निर्वाचित गरेको थियो ।

अधिकारकर्मी जोशीको पुस्तक लोकार्पण

काठमाडौँ, १९ असार : महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ आज एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

जोशीकी छोरी सृष्टि जोशी मल्ल र छोरा प्रणय जोशीले ८० वर्षमा प्रवेश गरेकी आमालाई सम्मान गर्दै उत्सव आयोजना गरी सो कृति लोकार्पण गरिएको बताउनुभयो । ललितपुरमा सम्पन्न विमोचन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुपति केदारभक्त माथेमा, नेपालका लागि पाकिस्तानी राजदूत एचइ अब्रार एच हासमीलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

बुकहिलले प्रकाशन गरेको उक्त पुस्तक लोकार्पणमा शिक्षाविद् केदारभक्त माथेमाले आफ्नी सहपाठी जोशीको खुलेर प्रशंसा गर्नुभयो । “जीवनका कठिन अवस्थामा निडर रही एक विद्रोही नारीको भूमिका उहाँले निर्वाह गर्नुभयो र उहाँले जीवनमा आज यो सफलता प्राप्त गर्नुभएको हो”, माथेमाले भन्नुभयो ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले नेपालमा मात्रै नभएर संसारभरका नारीका लागि चाँदनी जोशी प्रेरक रहेको बताउनुभयो । कार्यक्रममा मन्त्री भण्डारीले यो देशमा कहिल्यै केही भएन, केही गर्न सकिएन भन्ने भाष्यलाई चिर्ने नारी चाँदनी जोशी भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले महिला अधिकारका क्षेत्रमा उहाँको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मानवाधिकारकर्मी चरण प्रसाईंले चाँदनी जोशीले गरेको कार्य कुनै अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको भन्दा उच्च रहेको भन्दै सबैलाई उहाँबाट प्रेरणा लिन आग्रह गर्नुभयो ।

सानैमा पाल्पाबाट बाबुआमाका साथमा काठमाडौँ आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवनको शुरुवात गर्नुभएकी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष बिताउनुभएको छ ।

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की, १९ असारः पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । निगमले स्वदेशी सीप र पुँजीमा पहिलोपटक इन्धन डिपो निर्माण गरिएको जनाएको छ ।

हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय विमानलाई आवश्यकपर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताउनुभयो ।

उहाँका अनुसार यसअघि भारतीय आयल निगमको सहयोगमा हवाई इन्धन डिपो निर्माण हुँदै आएकामा पहिलोपटक यस डिपो निर्माणमा निगमको आफ्नै लगानी रहेको छ ।

पोखरामा आन्तरिक र अन्तरराष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै एक हजार २०० किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह (कूल तीन हजार छ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क) निर्माण गरिएको हो । भर्टिकल स्टोरेज ट्याङ्कको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर रहेको निगमले जनाएको छ ।

“स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकाले पनि निगमको ५५ वर्षे इतिहासमा यो डिपो ऐतिहासिक भएको छ । यसअघि लगानी मात्र विदेशीको र्होन, प्राविधिक र निर्माण कम्पनी पनि विदेशी नै हुन्थे । त्यसलाई तोड्दै शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट बनाउन सक्षम भएका छौँ”, आयोजना प्रमुख यादवले भन्नुभयो ।

आयोजना प्रमुख यादवले तोकिएको समयभित्रमा नै डिपो निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । सो डिपो निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु ७५ करोड खर्च भएको छ । विसं २०८० साउन १ गते निर्माण कार्यको शिलान्यास गरिएको थियो । सो डिपोेबाट आगामी साउन दोस्रो साताबाट इन्धन भर्न सुरु हुन्छ ।

डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि एक हजार २०० किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्याङ्कीसँग डिपोको वरिपरि जडान गरिएको ‘फायर फाइटिङ’ संरचनालाई आबद्ध गरिएकाले उच्च सुरक्षा प्रदान गर्ने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले बताउनुभयो ।

“हवाई इन्धन जस्तो प्रज्ज्वलनशील पदार्थको नियमित रुपमा कारोबार हुँदा आगलागीको जोखिम हुनसक्ने विषयलाई मध्यनजर गर्दै चार हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्याङ्कसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ”, पराजुलीले भन्नुभयो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक इन्धनका लागि आयल निगमले विमानस्थल परिसरमा नौ हजार २१५ वर्गमिटर क्षेत्रफल जग्गा नागरिक उड्डयन प्राधिकरणसँग ‘लिज’ सम्झौता गरी निगमले उपयोग गर्दै आएको जनाएको छ ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

काठमाडौँ, १९ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटि सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीसँगको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टी नेतृत्वका विषयमा नलागी विधान महाधिवेशनमा जुट्न निर्देशन दिनुभयो ।

“पार्टीको नीति र विधिको तय आसन्न विधान महाधिवेशनले गर्ने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा, टोल कमिटीमा व्यापक छलफलको आयोजना गरी सोहि अनुसार साङ्गठनिक पद्धतिमा रहेर कमिटीको प्रतिवेदन मार्फत ल्याउन लाग्नु होला”, महासचिव पोखरेलले भन्नुभयो, “सबै तहका पार्टी कमिटीबाट आएका सुझावका आधारमा पार्टीको आगामी नीति, विधि र नेतृत्व छनोटको मापदण्ड तय हुन्छ ।”

उहाँले नेताहरुलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्ने काम गर्न आग्रह गर्नुभयो । बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले कठिन भूगोलका बाबजुद पार्टीका सदस्यता नवीकरणदेखि आन्तरिक साङ्गठनिक जीवनमा कर्णालीले उत्साहप्रद काम गरिएको बताउनुभयो ।

कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ्ग शाहले एमाले नेतृत्वको सङ्घ र प्रदेश सरकारले गरेको राम्रा कामको प्रचारमार्फत नागरिकमा आशा जगाउनु अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो ।

शिक्षा ऐन जारी नभएको भन्दै क्रान्तिकारीले गर्यो शैक्षिक हड्तालको घोषणा

काठमाडौं । असार १५ मा शिक्षा ऐन जारी नगरेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । संगठनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी व्यापारीहरुको प्रभावमा परी शिक्षा ऐन रोकिएको आरोपसमेत लगाएको छ ।

संगठनका अध्यक्ष बिरेन्द्र शाहले सत्तासिन एमाले–काँग्रेसले आफ्ना मान्छेहरुको चाहना अनुसार नै शिक्षा ऐन अड्काएर राखेकाले आफूहरुले हड्ताल घोषणा गर्नुपरेको बताए ।

संघीयता आएको लामो समय वितिसक्दासम्म पनि पूरानै ढाँचामा शैक्षिक क्षेत्र चल्नुमा व्यापारिक मनसाय रहेको बताउँदै शाहले भने,‘बिचौलिया र शैक्षिक माफियाहरुको चलखेलमा वर्तमान ओली सरकार शिक्षालाई गरिवको पहुँचबाट थप टाढा लग्दैछ ।’ ‘यदि निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली लागु गर्नेगरी ऐन आएन भने शैक्षिक दलालहरुका व्यापारिक महलहरुमा आगो दन्काउनपछि पर्ने छैनौं, ’शाहले थपे ।

संगठनका महासचिव उषाकिरण आजादले आउन लागेको शिक्षा ऐन संविधानको मर्म र भावना विपरित निजी र व्यापारिकरण गर्न पाउने योजनासहित ल्याइएको आरोप लगाए ।

आजादले ऐनमा प्रस्टसँग ठूला नेता, सरकारी कर्मचारीका छोरा–छोरीले निजी विद्यालयमा पढाउन नपाउने व्यवस्था उल्लेख गरिनुपर्ने माग राखे । कार्यक्रममा संगठनका उपाध्यक्ष रुपा बुढा मगर, सचिवहरु गोविन्द विष्ट, हरि विष्ट, कोषाध्यक्ष कमला परियारलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
संघर्षका कार्यक्रमः–

१० असार २० देखि २२ गतेसम्म संसद र दलका प्रमुखलाई ज्ञापनपत्र बुझाउने ।
२० आसार २३ र २४ गते देशैभर कोणसभा गर्ने ।
३० असार २६ र २७ गते सरोकारवालाहरुलाई पत्राचार गरी जनदबाब सिर्जना गर्ने ।
४० आसार ३० गते प्रदर्शन गर्ने ।
५० आसार ३२ गते पुत्ला दहन तथा मसाल जुलुस गर्ने ।
६० साउन २ गते देशभरका शैक्षिक संस्था बन्द तथा एकदिने देशव्यापी शैक्षिक हड्ताल गर्ने ।

पोर्चुगलका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै ‘शताब्दीको सुनुवाइ’ को संज्ञा दिइसकिएको लामो समयदेखि भ्रष्टाचारको अभियोगमा चलाउन खोजिएको मुद्दा बिहीबार दर्ता गरिएको छ ।

सन् २००५ देखि २०११ सम्म देशको नेतृत्व गरेका सुक्रेट्समाथि प्रधानमन्त्री हुँदा तीन करोड ४० लाख युरो (चार करोड अमेरिकी डलर) भन्दा बढी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अभियोजकहरूका अनुसार अन्य १८ जनासँग मुद्दा चलाई रहनुभएका पूर्वनेताले बाल्यकालका साथीलाई देशको सबैभन्दा ठूलो बैंक र दक्षिणमा रहेको पर्यटन परिसरको एक भवन समूहसँग सम्बन्धित योजनामा प्रयोगे प्रयोग गरेको आरोप छ ।

सुक्रेट्स कानुनी कठिनाइहरूमा फसेका वरिष्ठ राजनीतिज्ञहरूको एक श्रृङ्खलामा पछिल्लो व्यक्ति हुनुहुन्छ ।

गत वर्ष प्रधानमन्त्री एन्टोनियो कोस्टाले आफ्ना एक मन्त्रीलाई दोषी ठहर गर्दै प्रभाव पार्ने अनुसन्धानमा मुछिएपछि पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजिनामापछि देशले मध्यावधि निर्वाचनको सामना गर्नुपरेको थियो ।

पेड्रो नुनेस सान्तोसले उहाँलाई समाजवादी पार्टीको नेताको रूपमा स्थान दिनुभएको थियो । उहाँलाई पहिले नै सन् २०२२ मा सरकारी मन्त्रीपदबाट राजीनामा दिन बाध्य पारिएको थियो।

सुक्रेट्सलाई पहिलो पटक एक दशकअघि पक्राउ गरिएको थियो र उहाँले लामो समयदेखि आफूमाथि लागेको आरोपअस्वीकार गर्दै आउनुभएको छ ।

“मैले यो मुद्दाविरुद्ध वर्षौंसम्म लडेको छु । म मेरो अधिकारका लागि लडिरहेको छु,” उहाँले बिहीबार अदालतबाहिर पत्रकारसँग भन्नुभयो । यो मुद्दा प्रमाणित गर्ने जिम्मा अभियोजकको हो।
यो मुद्दा केही महिनासम्म चल्ने अनुमान गरिएको छ र अभियोजन पक्षले मात्र करिब २०० जना साक्षीलाई बोलाउने तयारी गरेको छ ।

आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य

काठमाडौँ, १९ असारः प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले आज नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका गर्नुभएको छ । समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री गरिसकेको छ, जबकी अघिल्लो वर्ष कूल बिक्री रु चार करोड ७८ लाख नौ हजार २६३ रहेको थियो ।

उहाँले कम्पनीको वार्षिक औषधि उत्पादन तथा बिक्रीमा १० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको जनाउँदै भन्नुभयो, “यदि यो संस्थानलाई राम्ररी चलाउनुछ भने मन्त्रालयमार्फत होइन, नीतिगत स्पष्टता र लगानी आवश्यक छ । अहिले बजेट शून्य छ र सरकारी भवन भाडामा दिएर तलब धानिरहेका छौँ । सरकारले आफैँ उत्पादन गरेको औषधि पनि नकिन्ने हो भने हामी कसरी बाँच्ने ?”

महाप्रबन्धक पनेरुले तीनै तहका सरकारी निकायबाट औषधि खरिद गर्दा नेपाल औषधि लिमिटेडको उत्पादनलाई अनिवार्य प्राथमिकता दिने नीतिगत व्यवस्था आवश्यक रहेकामा जोड दिनुभयो ।

अनुगमनपछि समितिका सभापति अब्दुल खाँनले संस्थाको समस्या गम्भीर रहेको उल्लेख गर्दै संसद्को सम्बन्धित समितिमा छलफल गरेर समाधानको पहल गरिने जानकारी दिनुभयो ।

“लिमिटेड सरकारी स्वामित्वमा रहेको संस्था हो”, उहाँले भन्नुभयो, “सरकारी निकायले आफैँले उत्पादन गरेको औषधि खरिद नगर्नु दुःखद् हो । संस्थाले पनि क्षमता विस्तार गर्नुपर्छ, हामी आवश्यक छलफलमार्फत निकास खोज्छौँ ।”

हाल औषधि लिमिटेडले सिटामोल, जीवनजललगायत ११ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ भने आगामी वर्षमा यो सङ्ख्या २० पु¥याउने लक्ष्य राखिएको छ ।

संस्थाका अध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार हाल उत्पादनका हिसाबले संस्था सकारात्मक दिशामा अघि बढिरहेको छ । उहाँले उत्पादन राम्रो भएकै कारण विश्वस्वास्थ्य सङ्गठनबाट पनि मान्यता पाएको र छिट्टै २० प्रकारका औषधिहरू उत्पादनमा पु¥याइने जानकारी दिनुभयो ।

‘राज्यले मलाई साङ्केतिक रुपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’ :पत्रकार पाठक

काठमाडौं । पत्रकार दिलभूषण पाठकले राज्यले साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् ।

बिहीबार २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएपछि नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले आफूलाई प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्ने जमर्को गरेको बताएका हुन् । उनले भने,‘एउटा दिलभूषण पाठकलाई साङ्केतिक रुपमा प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्न खोजेको हो ।’

त्यस्तै उनले समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदाहुँदै अभियोग लगाउनु र तर्साउने उद्देश्य भएको टिप्पणी गरे ।

न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न भएका धारणा राखेको उनको भनाइ थियो । उनले आफूले पनि यस मुद्दालाई त्यसरी नै बुझेको बताए ।
उनले भने,‘समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदाहुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो । न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न हो ।’

पत्रकार पाठकले सार्वजनिक पदमा बस्ने मानिसहरु नागरिकका प्रश्नको जवाफ दिन तयार हुनुपर्ने, सार्वजनिक पदमा बस्ने मानिसहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न थालेभने यस्तो खालको आक्षेपहरु लाग्न बन्द हुने आशयले आफूले भिडियो बनाएको स्पष्ट पारे । तर सो कन्टेन्टलाई नीजि औजारका रुपमा प्रयोग गरेर आफू माथि आक्रमण गर्ने प्रयास भएको उनको भनाइ छ ।

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

काठमाडौँ, १९ असारः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार १६ देखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा आफ्ना धारणा राख्नेक्रम जारी छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, डा रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडाले आआफ्नो धारणा राख्नुभयो । विभिन्न विषयमा धारणा राख्नेक्रम जारी रहेकाले कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको १०० दिने अभियानका प्रतिवेदनहरु, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।

कांग्रेसको शुभेच्छुक संस्थाका बारेमा, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा, संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिता, समसामयिक विषयलगायत एजेन्डामा छलफल जारी छ ।

रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने

काठमाडौँ, १९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति आपत्ति जनाएको छ ।

रास्वपाको आज बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको हेरफेरमा संलग्नको छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता मनिष झाले विधायिकी प्रक्रियामाथि चलखेल वा बदमासीपूर्ण गतिविधि असह्य र संसद्को गरिमा जोगाउने पक्षमा पार्टी स्पष्ट रहेको बताउनुभयो । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा उम्मेद्वार छनोटका विषयमा छलफल भएको थियो ।

आगामी आइतबारको सचिवालय बैठकमा उम्मेद्वार छनोट कार्यविधि अनुमोदनका लागि प्रस्तुत गर्ने निर्णय गरेको छ । त्यसैगरी भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागलाई यथावत् राख्दै संसद्मा चलिरहेको प्रतिरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले पार्टीका केन्द्रीय विभाग सक्रिय बनाउने निर्णय गरेको छ । विभाग प्रमुखहरूले रिक्त पदपूर्ति र असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन आगामी साउन ७ भित्र पेस गर्न निर्देशन दिएको प्रवक्ता झाले जानकारी दिनुभयो ।

बैठकले केन्द्रीय सङ्गठन विभागमा तीन सदस्य मनोनीत गर्ने निर्णय गरेको छ । केन्द्रीय सङ्गठन विभाग सदस्यहरुमा प्रमीला भुसाल, मानकुमार लामा र सुशील अधिकारीलाई मनोनीत गरेको हो ।

प्रधानमन्त्री ओलीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड (स्पेन), १९ असार : स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मेड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

युरोपकै पुरानो मध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । सङ्ग्रहालयमा युरोप र स्पेनका इतिहास, संस्कृतिसँग सम्बन्धित घटना क्रमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

अवलोकनका क्रममा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको विकासका लागि लगानीसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली मेड्रिडका कार्यक्रममा सहभागी हुनुभएको हो । प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीबाट नेपाली दूतावासको अवलोकन

मेड्रिड (स्पेन), १९ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराउनुभएको थियो । स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा कार्यरत छन् ।

त्यस अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

‘जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छ’ – उद्योगमन्त्री भण्डारी

बैतडी, १९ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।

यहाँको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा उहाँले वर्तमान सरकारले केही गर्न नसकेको भन्ने भाष्य गलत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार जनआकांक्षा पूरा गर्न काम गरिरहेको छ । केही भएको छैन भन्ने भाष्य गलत हो ।”

नेपालमै थुप्रै सम्भावना रहेकाले स्वरोजगार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रै वरिपरि थुप्रै सम्भावना छन् । तिनको खोजी गरेर उद्यमी बन्न जरुरी छ । त्यसमा सरकारले सहयोग गर्छ ।”

खानी, खनिज, जडीबुटी, कृषिमा सम्भावना रहेको बताउँदै उहाँले नेपालमै रोजगारीका अवसर रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य र शिक्षा क्षेत्र प्राथमिकतामा रहेको बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले महिला र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । दोगडाकेदारका १७ स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा सञ्चालनमा छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स, मातृशिशु कोष र कोशेली वितरण हुँदै आएका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका ३०८ गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको छ । समारोहमा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युुत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ ।

भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएनले संखुवासभा जिल्लामा ९०० मेगावाट मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ ।

भारतिय सञ्चार माध्यम ‘द प्रिन्ट’ का अनुसार कम्पनीले आफ्नो आगामी २१० मेगावाट लुहरी चरण–१ र ३८२ मेगावाट सुन्नी बाँध जलविद्युत परियोजना र हिमाचल प्रदेशमा ३८२ मेगावाट सुन्नी बाँध बाट बिजुली आपूर्तिको लागि युपिपिसीएल सँग बिजुली खरिद सम्झौता मा पनि हस्ताक्षर गरेको शिमलास्थित एसजेभिएनले एक विज्ञप्तिमा भनेको छ ।

यी परियोजनाहरूले राष्ट्रिय ग्रिडमा ५९२ मेगावाट हरित ऊर्जा थप्नेछन् । यी परियोजनाले वार्षिक २१४० मिलियन युनिट बिजुली उत्पादन गर्नेछन् ।

दुवै परियोजनाहरू डिसेम्बर २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । “एसजेभिएनले आफ्नो ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेडसँग विद्युत बिक्री सम्झौतामा हस्ताक्षर गरेको छ,” उक्त विज्ञप्तिमा भनिएको छ ।

परियोजना सञ्चालनमा आउँदा, परियोजनाले ९०० मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्नेछ र राष्ट्रको बढ्दो बिजुलीको माग पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो परियोजना सन २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।यसका अतिरिक्त, एसजेभिएनले आफ्नो ३८२ मेगावाटको सुन्नी बाँध जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि नयाँ दिल्ली नगर परिषद् सँग पनि पिपिएमा हस्ताक्षर गरेको छ ।

बागमती प्रदेशसभाः बजेटमा छलफल हुँदै

बागमती, १९ असारः बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ ।

प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताउनुभयो ।

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, १९ असारः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा स्पेनका व्यवसायीहरूलाई लगानीका लागि आग्रह गर्नुभएको महासङ्घले जनाएको छ ।

स्पेन वाणिज्य तथा उद्योग महाङ्घका सदस्य, व्यापारीक समुदायका अगुवा, नेपाली समुदायका प्रतिनिधि र कूटनीतिक व्यक्तित्व सहभागी कार्यक्रममा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगमा लगानी गरेमा प्रतिफल पाउन सहज हुने बताउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लिएर भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मका धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलहरूप्रति धेरैको आकर्षण रहेको वास्तविकता सुनाउँदै अध्यक्ष ढकालले गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके विश्वका धेरै मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकेजी रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, टाटे सिमी मूल्य प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ४५, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ५५, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु १६०, तोरीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु १६०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु १०००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ५५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३८०, खुर्सानी हरियो प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो माछे प्रतिकिले रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु १६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

एसीसी यु–१६ – नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन् । योसँगै उनले बलिङ रोजेका छन् ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल खेल खेलिरहेको छ ।

समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

दोस्रो सेमिफाइनल पनि आजै हङकङ र सिंगापुर भिड्दै छन् । हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो ।प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ ।

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

म्याग्दी, १९ असारः धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुुल निर्माण गरेको हो । पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ । साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

विसं २०८२ को मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकामा निर्माण कम्पनीले हाले काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो ।

बागलुङको रेशमा वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

ढोरपाटन (बागलुङ), १९ असारः सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन् ।

यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उहाँले योजना सुनाउनुभयो । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म रु तीन लाख लगानी भएको छ । हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो । रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

“पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो”, उहाँले भन्नुभयो, “त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ ।”

स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउनुहुन्छ । तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उहाँको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ ।

काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाउनुभयो । “पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ”, उहाँले भन्नुभयो ।

रूसी अन्तरिक्ष यानको सफल मिसन सम्पन्न, अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फिर्ता

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब छ महिनाभन्दा बढी समय बिताएपछि रूसी मालवाहक अन्तरिक्ष यान ‘प्रोग्रेस एमएस–२९’ ले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रूसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘प्रोग्रेस एमएस–२९’ रूसले विकास गरेको एउटा मानवरहित आपूर्ति यान हो, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आवश्यक सामान, इन्धन, उपकरण र वैज्ञानिक सामग्री पु¥याउन प्रयोग गरिन्छ । यो प्रोग्रेस एमएस श्रृंखलाभित्रको यान हो, जसलाई सोयुज–२.१ब रकेटबाट प्रक्षेपण गरिन्छ । प्रोग्रेस एमएस–२९ मा उन्नत नेभिगेसन, स्वचालित डॉकिङ प्रणाली र राम्रो सञ्चार सुविधा हुन्छ, जसले यसलाई अन्तरिक्ष स्टेशनसँग सटीक र सुरक्षित रूपमा जडान हुन मद्दत गर्छ । यसको उद्देश्य आइएसएसको निरन्तर सञ्चालन सुनिश्चित गर्नु र त्यहाँ रहेका अन्तरिक्ष यात्रुहरूको आवश्यकताहरू पूरा गर्नु हो ।

सो यान मङ्गलबार राति ९ः४३ बजे मस्कोको समयमा केन्द्रको पोइस्क नामक मोड्युलबाट अलग भएको थियो । त्यसपछि राति १२ः५२ बजे पृथ्वीको वायुमण्डलमा प्रवेश गराउन यानलाई पृथ्वी तर्फ फर्काउने प्रक्रिया सुरु गरिएको थियो ।

उक्त यान सन् २०२४ नोभेम्बर २१ मा बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो र दुई दिनपछि अन्तरिक्ष केन्द्रमा जडान गरिएको थियो । यसले केन्द्रमा नयाँ वर्षको उपहार, इन्धन, पिउने पानी, वातावरणमा अक्सिजन मिलाउने नाइट्रोजन ग्याँस र वैज्ञानिक उपकरणहरू पु¥याएको थियो ।

अर्को मालवाहक अन्तरिक्ष यान ‘प्रोग्रेस एमएस–३१’ यही बिहीबार बाइकोनुरबाट प्रक्षेपण हुने कार्यक्रम छ, जसले आइतबारसम्म अन्तरिक्ष केन्द्रमा पुग्ने अपेक्षा गरिएको छ ।

‘प्रोग्रेस एमएस–३१’ रूसी मानवरहित मालवाहक अन्तरिक्ष यान हो, जसलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आवश्यक आपूर्ति पु¥याउन प्रयोग गरिन्छ । यो यान बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिन्छ र लगभग दुई दिनमा अन्तरिक्ष स्टेशनमा जडान हुन्छ । प्रोग्रेस एमएस–३१ नयाँ इन्धन, पिउने पानी, वातावरणमा अक्सिजन मिलाउन आवश्यक नाइट्रोजन ग्याँस, वैज्ञानिक उपकरण र अन्य आवश्यक सामग्रीहरू ल्याउने उद्देश्यले प्रक्षेपण हुन्छ । यसले आइएसएसको निरन्तर सञ्चालन र अन्तरिक्षमा रहेका चालक दलको आवश्यकताहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।

आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा-हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा- हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भने भारी वर्षा पनि भइरहेको छ।

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान

मेड्रिड (स्पेन)-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गर्नुभएको छ ।
स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले  आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु ‘समृद्ध, नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेकाले यसका लागि बाहिरको लगानीकर्तालाई प्रोत्साहन दिइँदै आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दुई देशबीच अर्थपूर्ण व्यावसायिक साझेदारी विस्तारका लागि यो छलफलले ऊर्जा दिएको बताउँदै विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको नेपाल र शान्तिको अग्रदूत एवं सांस्कृतिक इतिहास भएको मुलुकमा लगानी गर्ने उपयुक्त अवसर भएको चर्चा गर्नुभयो । “निजी क्षेत्र आर्थिक वृद्धिको इञ्जिन हो । अहिलेको सरकार लगानी वृद्धि र नवप्रवर्तनका लागि स्पष्ट छ । लगानी बोर्ड नेपालको अध्यक्षका हैसियतले म आग्रह गर्छु कि सरकारले लगानीकर्ताको सुरक्षा र सहजीकरणका लागि गर्नुपर्ने सबै काम गर्नेछ”, उहाँले भन्नुभयो, “नेपालको पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारका क्षेत्रमा लगानीको प्रचुर सम्भावना छ । त्यसैले म यस्ता क्षेत्रहरुमा लगानीकर्तालाई हार्दिक स्वागत गर्दछु । लगानीको सम्भाव्यताको अध्ययनका लागि यहाँका व्यवसायीलाई नेपाल आउन आग्रह गर्दछु । म तपाईंहरुलाई लगानीकर्ता मात्रै होइन विकासको साझेदार पनि मान्छु ।”

कार्यक्रममा नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि आदिका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको बताउँदै सरकारले कानुनी र अन्य सहजीकरण गरेकाले उचित वातावरण रहेको जानकारी गराउनुभयो ।

स्पेनका उद्योग, वाणिज्यसँग सम्बन्धित सरकारी र संस्थाका प्रतिनिधिहरुले आफूहरु दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप अभिवृद्धि गर्न तत्पर रहेको बताउनुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठ, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, स्पेनका लागि नेपाली राजदूत शनील नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।

स्पेनको सेभिल्ला (सेभिया) मा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तराराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली आज मेड्रिड फर्कनुभएको हो ।

आगामी वर्ष दुई सय वटा झोलुङ्गे पुल बनाउने सहरी विकास मन्त्रालयको लक्ष्य

काठमाडौँ-सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा दुई सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्ष २०८२/८३ मा एक सय वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण र ३० वटा सडक पुल मर्मत गर्ने लक्ष्य लिइएको जनाएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीले तीन तहका सरकारको समन्वय र सहकार्यबाट लक्षित झोलुङ्गे पुल निर्माण गरिने उल्लेख गर्नुभयो । उहाँका अनुसार, आगामी आव २४९ वटा सिँचाइ आयोजना सम्पन्न भएर तीन हजार ७०० हेक्टर जमिन सिञ्चित हुनेछ ।

यस्तै, १०० किलोमिटर सडक निर्माण हुने र ३०० किलोमिटर सडक कालोपत्र गरिनुका साथै ६० वटा स्थानीय प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य लिइएको छ ।

मन्त्रालयले उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने लक्ष्य लिएको छ ।

उपत्यकाका चार स्थान (जितपुर फेदी, डुकुछाप, इशान नयाँ सहर, ताथवी चलावुमा) जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भई जग्गा विकास कार्य सुरु गर्ने, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ । उपत्यकाको व्यवस्थित सहरीकरणका लागि हरियाली प्रवद्र्धन, सचेतना, आकासे पानी सङ्कलन, वन तथा पोखरी संरक्षण गर्ने योजना समेटिएको छ ।

सरकारले कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डको स्टेडियमको दोस्रो चरणको निर्माण कार्य पनि छिट्टै सुरू भएको छ ।

अतिविशिष्ट पदाधिकारीको आवास निर्माण कार्यअन्तर्गत सभामुख आवास निर्माण र प्रधानन्यायाधीश आवास निर्माण कार्य सुरू गर्ने योजना बनाइएको छ । भृकुटीमण्डपमा अन्तरराष्ट्रियस्तरको प्रदर्शनीस्थल तथा मनोरञ्जन पार्क निर्माण कार्य अघि बढाउने सरकारको लक्ष्य छ ।

त्यस्तै, वाग्मती नदीमा सौन्दर्यकरणलाई निरन्तरता दिने, वाग्मती करिडोरको बल्खुदेखि गोकर्ण क्षेत्रसम्म सिसी क्यामेरा र स्ट्रिटलाइट जडान गरिने कार्ययोजना रहेको छ ।

यसैबीच, सहरी विकास मन्त्रालयले चोभारको गल्छी कटान गर्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपनिर्देशक उद्धव नेपालले गल्छी कटानबारे अनर्गल प्रचार भएको बताउनुभयो ।

सरकारले सिंहदरबारमा निर्माणधीन सङ्घीय संसद् भवनको चाँडो निर्माण सक्नेगरी पूर्ण क्षमतामा काम अगाडि बढाएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले आगामी हिउँदे अधिवेशन सिंहदरबारबाटै सञ्चालन गर्नेगरी द्रुतगतिमा निर्माणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन संसद् भवनको अहिले धमाधम भित्री साजसज्जाको काम भइरहेको छ । चालु आर्थिक वर्षमा भित्री फिनिसिङ, रङरोगन, मेकानिकल काम सम्पन्न गरिनेछ । आगामी हिउँदे अधिवेशनमा बैठक सञ्चालन गर्न मिल्नेगरी काम गरिरहेका छौँ ।”

वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा भण्डारी,वार्षिक १० लाख आम्दानी

कैलाली, १९ असारः धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । उहाँले भण्डारी बहुउद्देश्य कृषिफार्म दर्ता गरी विगत छ वर्षदेखि व्यवसाय गर्दै आउनुभएको छ ।

सोह्र वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगार गरी घर फर्किएपछि केराखेतीमा लाग्नुभएको हो । उहाँले कोराना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बीचमा व्यवसाय सुरु गर्नुभएको हो । “विदेशबाट फर्केएपछि फुर्सदमा घर बसिरहेको थिए, त्यतिबेला नेपालसहित सारा विश्व नै कोभिड–१९ को महामारीमा थियो । उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन”, भण्डारीले भन्नुभयो, “गाउँमा केही व्यक्तिले केराखेती व्यवसाय गरेका थिए, त्यो देखेर मैले पनि अब केराखेती नै गर्नुपर्छ भन्ने व्यवसाय सुरु गरेको हुँ ।”

उहाँले आफ्नो एक बिघा जमिनमा केराखेती गर्नुभएको छ । त्यसबाट वार्षिक रु १५ लाख बराबर केराको कारोबार हुने र रु १० लाख जति फाइदा हुने गरेको भण्डारीले सुनाउनुभयो । उहाँले उत्पादित केरा बिक्रीका लागि धनगढी र नजिकैको स्थानीय बजारमा बिक्री गर्ने गरेको बताउनुभयो ।

कृषक भण्डारीको परिवारमा आमा, श्रीमती, छोराछोरी गरी पाँच जना छन् । उहाँले परिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षालगायत सम्पूर्ण खर्च सोही व्यवसायबाट धान्दै आउनुभएको छ ।

हिजोआज धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला भण्डारी भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहनुभएको छ । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । पाँच जनाको परिवारको खर्च यसैबाट टरेको छ”, उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”

भण्डारीको बसोबास क्षेत्र अर्थात् वडा नं १४ मा हिजोआज १० जना जति कृषकले केराखेती गरिरहेका छन् । यसको विकास र बिस्तारका लागि सरकारले अनुदानका साथै समयमै मलखाद र बीउबिजन सहुलियत मूल्यमा उपलब्ध गराई दिए धेरै सहज हुने उहाँको भनाइ छ ।

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

मुस्ताङ, १९ असारः मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औँ वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि यहाँ आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिनुभयो । वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अङ्गसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिनेलगायत उद्देश्य राखेर यहाँ मापन केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।

विभागले समुन्द्री सतहको तीन हजारभन्दा माथि उचाइमा विश्वका पाँच स्थानमा यस प्रकारको वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये दुई नेपालमा रहेको विभागका महानिर्देशक सुवेदीले जनाउनुभयो । “यस खालको प्रविधि मुगुको रारा र त्यसपछि मुस्ताङको जोमसोममा स्थापना गरिएको छ । यसअघि नेपालका ३० जिल्लामा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ । मुस्ताङमा प्रविधि जडान गर्न रु एक करोड बढी खर्च भएको छ”, उहाँले भन्नुभयो ।

विभागले यहाँ पफ प्यानलगृह निर्माणसहित दुई हजार किलोवाटको सौर्यऊर्जा सोलार प्यानल, विद्युत् पहुँचका साथै इन्टरनेट जडान गरिएको जनाएको छ । यहाँ जडान गरिएको उपकरणले वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने भावी रणनीति तय गर्न सहज हुने अपेक्षा गरिएको छ ।

मापन केन्द्रमा प्रविधि जडानसँगै यसको परीक्षण प्रसारण भइरहेको र त्यस क्रममा यहाँको वायु गुणस्तर अङ्क तीन मात्रै देखिएको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो । “विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले औसत ५० अङ्क सम्मलाई वायु गुणस्तर राम्रो रहेको जनाएको छ । हामीले ४० अङ्कसम्मलाई वायुको गुणस्तर राम्रो हो भन्ने ठानेका छौँ”,उहाँले भन्नुभयो, “यहाँ तीन अङ्क मात्रै दखिनु वायुको गुणस्तर निकै राम्रो हो भन्न हो। यहाँको वायुको अपेडट हेर्दा यो वायु प्रदूषण शून्य जस्तै हो ।”

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा

पाटन (ललितपुर), १९ असारः ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत रु एक करोड भुक्तानीसमेत गरिएको जनाएको छ ।

समझदारीपत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को स्वास्थ्य बिमाबापतको शत्प्रतिशत प्रिमियम महानगरले तिर्ने छ । महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षअघि देखि सुरु गरेको थियो ।

महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताउनुभयो । “हामीले पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यासम्म अक्सिजन व्यवस्थापनका लागि सहज बनाएका छौँ, लास व्यवस्थापन गर्न ‘मर्चरी हाउस’को व्यवस्थापनका लागि सुविधा प्रदान गरेका छौँ । यो देशकै नमूना भएको छ, स्वास्थ्य क्षेत्रमा विषयविज्ञ चिकित्सकको अभाव र लापरबाही हुनुहुँदैन, यसमा हामी यसमा सचेत छौँ”, उहाँले भन्नुभयो ।

महानगरप्रमुख महर्जनले स्वास्थ्य बिमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र २१० जनाको क्षमता भएको ठाउँमा ३०० भन्दा बढीले दैनिक सेवा लिन आउने गरेको बताउनुभयो । “स्वास्थ्य बिमा बोर्डसँग गरेको यो सम्झौताले थप दायित्व सृजना गरेको छ । मुलुकको पायोनियर अस्पतालसँग समन्वय गरेर केही हदसम्म काम गरेका छौँ, भविष्यमा पनि राम्रो काममा सहकार्य गर्नेछौँ” उहाँले भन्नुभयो ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताउनुभयो । “अरू ७५२ स्थानीय तहले पनि यसबाट सिक्नुपर्ने हुन्छ, ललितपुरले छुट्टै छवि कायम गरेको छ । विगत केही वर्षदेखिको कार्यसम्पादनले आफ्नो भूमिकालाई बलियो रुपमा स्थापित गरेको छ”, उहाँले भन्नुभयो,“स्वास्थ्य बिमामा नसक्ने भुइँ तहमा रहेका लाखौँ नागरिक जोडिएका छन्, यसलाई राज्यले चाहेर पनि खोस्न सक्दैन । स्वास्थ्य बिमा ७५३ पालिका र सात प्रदेशका बेसहाराहरुको साहारा बन्दै गएको छ । नागरिकको बिमा गराउने नमूना काममा ललितपुर महानगर लागेकामा खुसी छौँ ।”

पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बिमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।