`

ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” सार्वजनिक तथा धान रोपाई कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् ।

खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाई कृषी पेशालाई मर्यादित र ब्यबसायिक बनाइ कृषकहरुलाई प्रोत्साहन गर्नको लागि यो कर्जा योजना सार्वजनिक गरिएको हो ।

साथै, राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका वडा नं. १, राधा कृष्ण मन्दिर नजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाई आयोजना गरेको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल सरकारको रणनीति अनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीरण तथा व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने गरेको उल्लेख गर्नुभयो ।

साथै, उहाँले बैंकले आजै सार्वजनिक गरेको धान खेती कर्जाले पनि कृषकहरुलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छः परराष्ट्रमन्त्री

काठमाडौँ, १५ असारः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले नागरिकको खाद्यसम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ ।

इटालीको रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मन्त्रिस्तरीय विशेष सत्रलाई आज सम्बोधन गर्दै मन्त्री डा राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी अधिकारको व्यवस्था गरिएको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उक्त सङ्गठनको जारी ४४औँ विशेष सत्रअन्तर्गत आजको अतिकम विकसित, साना टापु राष्ट्रहरु तथा भूपरिवेष्टित राष्ट्रहरुमा खाद्य अधिकार तथा पोषणसम्बन्धी सत्रमा उहाँले भन्नुभयो, “नेपालले खाद्य अधिकारलाई मौलिक अधिकार मानेको छ र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरुले आधार प्रदान गरेका छन् । साथै खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको कार्यान्वयनबाट पनि नागरिकको खाद्य अधिकारमा थप सहयोग पुग्दछ ।”

खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीतिमार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणको माध्यमबाट सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गरिँदै आएको मन्त्री डा राणाले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताको हक अधिकारको संरक्षण गर्न एक अलग्गै उपभोक्ता अदालतको व्यवस्था गरिएको छ, जसले नागरिकको स्वास्थ्य तथा स्वस्थ खाद्यान्नलाई उनीहरुको नैसर्गिक अधिकारका रुपमा सहयोग पु¥याइरहेको छ ।”

मन्त्री डा राणाले विगत दुई दशकयता नेपालले बालस्वास्थ्य र पोषणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी गराउनुभयो । बालबालिकामा हुने पुड्कोपन ५७ बाट २५ प्रतिशतमा, कम तौल भएका बालबालिकाको ४२ बाट २४ प्रतिशतमा, बालबालिकामा हुने रुग्णता १५ बाट आठ प्रतिशतमा झारिएको उल्लेख गर्दै विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपाल सन् २००० मा ३७ प्रतिशत रहेकामा सन् २०२४ मा २२.४ प्रतिशतमा झरेको जानकारी दिनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो, “यी प्रगतिहरु केवल तथ्याङ्क मात्र होइनन्, बलियो राजनीतिक प्रतिबद्धता, सामुदायिक संलग्नता र सक्रियता एवं सम्बद्ध क्षेत्रमा भइरहेका समन्वयात्मक प्रयासको परिणाम पनि हुन् ।” भिटामिन ‘ए’ पूरक कार्यक्रम र सुनौलो हजार दिन कार्यक्रमले लाखौँ बालबालिकासम्म सेवा पु¥याएका र जसले बालमृत्युदर तथा कुपोषण घटाउने कार्यमा उल्लेखनीय योगदान पु¥याएको उहाँको भनाइ थियो ।

स्वस्थ आहारसम्बन्धी जनचेतना अभिवृद्धि तथा व्यवहार परिवर्तनका अभियान एवं विद्यालयका पाठ्यक्रममा आधारित पोषण शिक्षा र सञ्चारमाध्यमबाट दिइएका सन्देशले नयाँ पुस्तामा ताजा र स्थानीय उत्पादनप्रतिको प्राथमिकता बढाएको मन्त्री डा राणाले बताउनुभयो । नेपालले स्थानीय स्तरमा नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भए पनि यस क्षेत्रमा एआई, डिजिटल कृषि प्लेटफर्महरू र आधुनिक विज्ञान तथा प्रविधिको पहुँचलाई पर्याप्त मात्रामा विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपालमा जलवायु परिवर्तनको उच्च जोखिम गम्भीर चुनौती बनिरहेको र यसका कारण हिमाल पग्लने, अनियमित वर्षा, चरम मौसमी घटना र जलवायुजन्य विपद्बाट कृषि उत्पादन र जीविकोपार्जनमा पनि गम्भीर असर पर्न थालेको मन्त्री डा राणाले बताउनुभयो । यसबाट पर्वतीय कृषि प्रणाली र त्यससँग जोडिएको पारिस्थितिक सन्तुलनलाई पनि थप कमजोर बजाउँदै लैजाने अवस्था रहेको उहाँले बताउनुभयो । पोषण र समृद्धिको साझा यात्रामा नागरिकलाई समेट्न अन्तरराष्ट्रिय सहयोगमा वृद्धि, वित्तीय स्रोतमा पहुँच, प्रविधि हस्तान्तरण, ज्ञानको प्रवद्र्धन आवश्यक रहेको र यसमा एफएओ, युनिसेफ जस्ता अन्तरराष्ट्रिय संस्थाको भूमिका महत्वपूर्ण हुनेमा उहाँको जोड थियो ।

नेपालले स्वस्थ आहारका लागि उपभोक्ता मागअनुरुप उत्पादनलाई निरन्तर दिएको उल्लेख गर्दै मन्त्री डा राणाले राष्ट्रिय पोषण नीति, खाद्य–आधारित आहार दिशानिर्देश र बहु–क्षेत्र पोषण योजनाले स्वास्थ्य, शिक्षा र कृषिमा खाद्य–आधारित कार्यक्रममार्फत अघि बढेको बताउनुभयो । यति हुँदाहुँदै पनि युवाको बसाइँसराइले हाम्रो ग्रामीण श्रमशक्तिलाई घटाउँदै लगिरहेको, पहाडी र हिमाली क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व जीविकोपार्जन र खाद्य सुरक्षाका लागि बढ्दो खतरा बनेको उहाँको भनाइ थियो ।

“हाम्रो समृद्ध कृषि–जैविक विविधता, परम्परागत ज्ञान र उच्च भौगोलिक क्षेत्रमा हुने बालीको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ । यसका लागि हामीलाई लक्षित लगानी, प्राविधिक सहयोग, कृषि प्रणालीमा आधुनिकीकरण र एआई जस्ता उन्नत प्रविधिमा पहुँचको आवश्यकता छ”, मन्त्री डा राणाले भन्नुभयो ।

असार १५ः रोपाइँसहित दहीचिउरा खाएर मनाइयो

काठमाडौँ, १५ असारः प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ ।

खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दहीचिउरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन् । यसबेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीचिउरा खाई असार १५ गत सांस्कृतिक पर्व मनाएका छन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दहीचिउरा खाएमा औषधिको काम गर्छ । यसैले दहीचिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । परम्परादेखि असार धान रोप्ने महिनाका रुपमा परिचित हुँदै आएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसै अनुसार आज २२औँ धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।

असार १५ बितिसक्दा पनि देशका सबै भागमा पानी नपरेका कारण हुनुपर्ने जति धान रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएपनि कतै कतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् । रासायनिक मल बिक्री गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाइएको छ । स्थानीय तहले छनोट गरेका सहकारीमार्फत रासायनिक मल बिक्री वितरण हुने व्यवस्था गरिएको छ । सहकारीले व्यवस्थित रुपमा मल वितरण नगर्दा किसान मर्कामा परेका हुन् ।

खानेपानी मन्त्री यादव स्पेन प्रस्थान

काठमाडौँ, १५ असार : खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गर्नु भएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रम यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चान हुनेछ । उक्त कार्यक्रममा भागलीनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गर्नु भएको मन्त्रालयले जनाएको छ ।

विकासका लागि वित्तसम्बन्धी उक्त सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् ।

नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुने जनाइएको छ ।

स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४)’ का लागि राष्ट्रंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भ्रमणमा जानु भएको छ ।

सिनामङ्गल डिपो स्थानान्तरणः डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ

काठमाडौँ, १५ असारः जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ । सुरक्षा जोखिम औँल्याउँदै सरकारले नेपाल आयल निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तण नगर्दा डिपो स्थानान्तरणको कार्य विलम्ब भएको निगमले स्पष्ट पारेको छ ।

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि बढाउन कठिनाइ भइरहेको बताउनुभयो ।

“जग्गाको चार किल्ला छुट्याउन तथा जग्गा हस्तान्तरण सम्झौता गर्न पटकपटक प्राधिकरणसँग तोकेता गरेका छौँ,” उहाँले भन्नुभयो, “तर, माटोको ढिस्को हटाउनेबाहेक पछिल्लो आठ महिनायता जग्गा प्राप्तिमा प्रगति भएको छैन ।”

सिनामङ्गल डिपोका कारण विमानस्थलमा सुरक्षा चुनौती थपिएको भन्दै सरकारले २०८१ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकका उक्त डिपो विमानस्थलको उत्तरतर्फको गौचर क्षेत्रमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । गत साउनमा विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनापश्चात् सो क्षेत्रबाट डिपो सुरक्षित स्थानमा सार्नुपर्ने आवाज उठेको थियो । विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजनाअनुसार सिनामङ्गल डिपो सो क्षेत्रमा सार्ने तयारी गरिएको हो । विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न प्राधिकरणले विमानस्थल स्तरोन्नति गरी फराकिलो र सुरक्षित बनाउने कार्य गरिरहेको छ ।

प्राधिकरणले डिपो सार्न गौचरस्थित नेपाली सेनाको गल्फ कोर्स क्षेत्रमा करिब ६० रोपनी जग्गा छुट्याइदिएको भए पनि उक्त जग्गा प्राप्तिमा विभिन्न समस्या देखिएको निगमले जनाएको छ । निगमले जग्गा सम्झौताका लागि पटकपटक आग्रह गरिरहे पनि त्यस सम्बन्धमा प्रगति हुन नसकेको डिपो प्रमुख यादवले बताउनुभयो ।

डिपो स्थानान्तरण गरिने जग्गामा रूख कटान र केही संरचना हटाउन बाँकी छ । करिब २०० रूख कटान गर्नुपर्ने अनुमान छ । त्यसबाहेकका जग्गामा रहेको ढिस्को सम्याएर राखिएको छ । जग्गा सम्याउने काम करिब सम्पन्न भएको निगमका साइट इन्जिनियर मानबहादुर सिंहले जानकारी दिनुभयो ।

“डिपो सार्ने भनी तोकिएको क्षेत्रमा रहेको गल्फ कोर्सका केही भवन हटाउने र चार किल्ला छुट्याउने काम नहुँदा परियोजना सुरु गर्न ढिलाइ हुने देखिएको छ”, उहाँले भन्नुभयो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले डिपो स्थानान्तरणका लागि जग्गा हस्तान्तरणको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । “जग्गाको बहाल कर छुटसम्बन्धी प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेको छ, त्यससम्बन्धी निर्णय भएपछि सो जग्गा हस्तान्तरण हुन्छ,” उहाँले रासससँग भन्नुभयो ।

निगमले सो क्षेत्रमा डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रस्ताव निर्माणका लागि त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकसँग गत मङ्सिर ५ गते सम्झौता गरेको थियो । इन्जिनियरिङ अध्ययन संस्थानले निगमलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । अन्तिम प्रतिवेदन यही असार मसान्तसम्म बुझाउने छ ।

विस्तृत परियोजना प्रस्ताव प्राप्त हुने क्रममा रहेकाले जग्गा प्राप्ति प्रक्रिया टुङ्गिने बित्तिकै डिपो स्थानान्तरणको काम तीव्र गतिमा अघि बढाउने निगमको योजना छ । प्रारम्भिक प्रतिवेदनअनुसार डिपो स्थानान्तरण गर्न करिब रु सात अर्ब लागत अनुमान गरिएको छ ।

प्रस्तावित निर्माणस्थलमा ‘अमेरिकी पेट्रोलियम इन्स्टिच्युड’ (एपिआई) मापदण्डअनुसारको हवाई इन्धन भण्डारणका लागि आठ ‘भर्टिकल ट्याङ्क’ र अग्नि नियन्त्रणका लागि दुई पानी ट्याङ्की निर्माण गरिने प्रमुख यादवको भनाइ छ । अन्तरराष्ट्रिय मापदण्डभन्दा बाहिर रहेको सिनामङ्गलस्थित डिपोका कारण हवाई उड्डयन क्षेत्रसमेत जोखिममा रहेको अवस्थालाई मध्यनजर गरी डिपो स्थानान्तरण गर्न लागिएको हो । अन्तरराष्ट्रिय मापदण्डअनुसार विमानस्थलको धावन मार्गदेखि ट्याक्सीे वेबीच हुनुपर्ने निश्चित दूरी कायम गर्न निगमको डिपो करिब आधा हटाउनुपर्ने अवस्था रहेका बताइएको छ ।

मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२ दशमवलव पाँच मिटर हुनुपर्ने अन्तरराष्ट्रिय मापदण्ड भए पनि अहिले विमानस्थलमा सो दूरी करिब ९० मिटर मात्रै रहेको छ । पछिल्लो समय हवाई साधनको चाप बढेको तथा हवाई इन्धनको मौज्दात कम हुँदै गएकाले पनि डिपो स्थानान्तरणको आवश्यक भएको निगमको भनाइ छ ।

करिब ५० वर्ष पुरानो सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६६० किलोलिटर छ । हाल यहाँबाट दैनिक ४०० किलोलिटर हवाई इन्धन बिक्री वितरण हुँदै आएको छ । यो डिपोमा एक हजार ६०० किलोलिटरका तीन, ७६० किलोलिटरका तीन र ७० किलोलिटर क्षमताका आठ इन्धन भण्डारण ट्याङ्क छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगम २०२७ सालमा स्थापना भई नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमले देशका विभिन्न स्थानमा १० हवाई इन्धन डिपो र दुई हवाई इन्धन ‘रिफ्युलिङ स्टेसन’ सञ्चालनमा ल्याएको छ ।

निगमले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन खरिद गरी देशभर बिक्री–वितरण एवं भण्डारण गर्दै आएको छ । विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर रहेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन परिषद् बैठकः पूर्वसूचनालाई प्रभावकारी बनाइने

काठमाडौँ, १५ असारः राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउनेलगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिनयता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै उक्त निर्णय गरेको हो । परिषद् बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारीसाधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा ‘रिपोर्टिङ’को तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई ‘रेस्क्यु’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवनरक्षाका लागि आवश्यक पूर्वतयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्बाट क्षति हुनबाट रोक्न सकिने भन्दै पूर्वसूचना प्रभावकारी बनाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको मौसमका कारण हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई ध्यान दिँदै भइरहेका तयारीबारे जानकारी लिनुभयो । सो क्रममा गृहमन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागका तर्फबाट भइरहेका पूर्वतयारीका बारेमा जानकारी गराइएको थियो । उहाँले सरोकारवाला सबै निकायलाई मौसम पूर्वानुमानलाई ध्यान दिँदै जोखिम रहेका ठाउँमा पूर्वसूचना प्रभावकारी बनाउने र जोखिम आइहाले त्यसको सामना गर्नसक्ने गरी तयारी अवस्थामा बस्न आग्रह गर्नुभयो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सम्भावित जोखिमलाई ध्यान दिँदै तीनवटै सुरक्षा निकाय ‘अलर्ट’मा बसेको, सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत विपद्मा परिचालन गर्नुपर्ने अवस्थामा तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले मौसम पूर्वानुमानअनुसार जोखिम रहेका सडकमा सवारीसाधन सञ्चालन नगर्नु भनेको अवस्थामा सवारीसाधन चलाएका र केही भएमा त्यसको जिम्मेवार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टको प्रहरी इञ्चार्ज हुनेगरी निर्देशन पठाइसकिएको जानकारी दिनुभयो ।

मुख्य सचिव एकनारायण अर्यालले मौसम पूर्वानुमानलाई ध्यान दिएर सम्बन्धित निकायलाई सोहीअनुसार सतर्क राखिएको बताउनुभयो ।

एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँः प्रधानमन्त्री

काठमाडौँ, १५ असारः प्रधानमन्त्रीे केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकै उत्साहजनक आएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज श्रव्यदृश्य सन्देश जारी गर्दै नतिजा सुधारका लागि सबै विकल्प अपनाएको बताउनुभयो । उहाँले आफूले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुसार सुधारका लागि सम्पूर्ण विकल्प अपनाएको बताउनुभयो ।

यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई बधाई दिनुभएको छ । उहाँले गत वर्षको निराशाजनक नतिजाले सबैलाई चिन्तित तुल्याएको उल्लेख गर्दै नतिजा सुधार्न हरकुनाका विद्यार्थीसँग सिधै जोडिएर काम गरेको बताउनुभयो ।

“गत वर्षको निराशाजनक नतिजाले हामी सबैलाई चिन्तित तुल्याएको थियो । परिमाण हेर्दा अनुत्तीर्ण हुनेमा प्रायः जसो दुर्गम क्षेत्रका विद्यार्थी रहेका पायौँ । हुन त चुनौती थुप्रै थिए । समय थोरै थियो । गाउँगाउँका विद्यार्थीसँग पुग्नु थियो,” प्रधानमन्त्री ओलीले श्रव्यदृश्य सन्देशमा भन्नुभएको छ, “कसैगरी हरविद्यार्थीसँग उत्कृष्ट शिक्षा सामग्रीसहित हौसला पु¥याउनु थियो तर चुनौती छन् भनेर उम्किने छुट हामीलाई थिएन । त्यसैले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको थिए । र सुधारका लागि सम्पूर्ण विकल्पहरु अपनायौँ ।”

एसइईको परीक्षा सुधार गर्ने अभियान गाउँगाउँका विद्यार्थी भौतिक कक्षाका साथै मोबाइल पढ्न थालेका प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भौतिक कक्षा र मोबाइलबाहेक मार्गदर्शनको आवश्यकता रहेका विद्यार्थीलाई करिब २०० भन्दा शिक्षकशिक्षिकामार्फत नियमित ‘अनलाइन’ कक्षासमेत दिइएको जानकारी दिनुभयो ।

“इन्टरनेट नभएको ठाउँमा नेपाल टेलिकमले निःशुल्क डाटाको व्यवस्था ग¥यो । म आफैँले विद्यार्थीसँग प्रत्यक्ष संवाद गरेर हौसला दिए । जसले गर्दा छोटो समयमा नै एक लाख ५० हजार विद्यार्थी हाम्रो यस अभियानबाट लाभान्वित भए,” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “तर हाम्रो यी सारा प्रयास हुँदाहँुदै पनि यदि विद्यार्थीको मिहेनत नभएको भए यस वर्षको नतिजामा सुधार हुने थिएन ।”

प्रधानमन्त्री ओलीले परीक्षामा सफलता पाउन नसकेका विद्यार्थीलाई यसैलाई जीवनको अन्तिम परीक्षा नठान्नसमेत आग्रह गर्नुभयो । उहाँले श्रव्यदृश्य सन्देशमा सरकारले एसइई परीक्षा सुधार्न गर्न थालेको अभियान मौका परीक्षा दिने विद्यार्थी र आगामी वर्ष एसइई दिने विद्यार्थी सबैका लागि जारी रहेको भन्दै यसबाट लाभ उठाउन आग्रह गर्नुभयो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३९, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ८५, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४२, काउली स्थानीय प्रतिकिलो रु ८०, मूला रातो प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २८, भन्टा लाम्चो प्रतिकिलो रु २५ भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ५० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी मूल्य प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिला रु १००, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु ८००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ९५, आँप (दशहरी) प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७५, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ८५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, खुर्सानी हरियो माछे प्रतिकिले रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो धनियाँ प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४० निर्धारण गरिएको छ ।

‘धानबालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिता दिएको छ ’ – कृषि मन्त्री अधिकारी

काठमाडौँ, १५ असार : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धानबालीको प्रवर्द्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउबिजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नेजस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका उल्लेख गर्नुभएको छ ।

‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ आज देशभरि राष्ट्रिय धान दिवस मनाइँदै छ । मन्त्री अधिकारीले भन्नुभयो, “नेपाली समाजमा परापूर्वकालदेखि नै धानको सांस्कृतिक, आर्थिक र सामाजिक महत्व रहँदै आएको छ । वर्तमान परिवेशमा अधिकांश नेपालीको आधारभूत खाद्यान्न धान नै हो र नेपाली समाजमा यसलाई खाद्य सुरक्षाको मानक मानिएको छ । यसै महत्वलाई दृष्टिगत गरी बर्सेनि धानबालीको प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइरहेका छौँ ।”

उहाँले धान नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने र कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने बाली रहेको जनाउँदै कृषि विकास रणनीति, आवधिक योजना र अन्य नीतिहरूमा पनि धानमा आत्मनिर्भरताका लागि प्राथमिकता दिइएको छ भन्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “त्यसकै आधारमा मन्त्रालयअन्तर्गतका निकाय तथा आयोजना एवं सङ्घीय सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेश तथा स्थानीय तहहरूबाट धान प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउबिजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नेजस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका छन् ।”

उत्पादन प्रविधिको विकास र अनुशरण तथा जलवायुमैत्री सिँचाइ प्रविधि विकासमा थुप्रै प्रयासहरू भएका छन् । तथापि बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तनका असरहरू र खाने बानीमा आएको परिवर्तनका कारण विभिन्न प्रयासका बाबजुद धान तथा चामलको आयात गर्नुपरेको छ । संविधानतः कृषि उत्पादन व्यवस्थापनका लागि स्थानीय तह र प्रदेश सरकार बढी जिम्मेवार रहेको सन्दर्भमा खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिको दिशामा तीनै तहका सरकारबीचको सहकार्य र समन्वय थप मजबुद हुनुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ “जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्दै धानको उत्पादन तथा उत्पादकत्वलाई दिगो बनाउन र धान चामलमा आत्मनिर्भरता हाँसिल गर्न आजको दिनले सम्बन्धित सबैमा थप ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारालाई सार्थक तुल्याउन तीनै तहका सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, कृषि प्राविधिक, विकास साझेदार तथा विभिन्न सरोकारवाला निकायहरूलगायत सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान गर्दछु । ”

धान दिवसको रमाइलो (फोटोफिचर)

काठमाडौँ – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा बेँसीसहर नगरपालिका-८ दनाई फाँटमा आइतबार बिहान आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कार्यक्रममा सहभागीहरू धान रोप्दै

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना योग साधना केन्द्रले आज काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित खेतमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज खजुरा -३ धौलागिरि गुल्मिटोलका जनस्वास्थ्य आमा समूह धौलागिरिमा खेत रोपेर धान दिवस मनाउँदै । तस्बिर: रासस

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल गर्ने कार्यसूची रहेको छ ।१४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ ।

आजको कानून, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र अर्थ मन्त्रालयका शीर्षकमाथि छलफल हुनेछ ।
यसैगरी,संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने छ ।

राष्ट्रपतिद्वारा धानदिवसको शुभकामना

काठमाडौँ, १५ असार : राष्ट्रपति रामचन्द्र पौडेलले विकास गरी श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो भन्नुभयो । राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

शुभकामनामा भनिएको छ, “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइँदै छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धानखेतीको प्रवर्द्धन गर्नु आवश्यकता औँल्याउनुभएको छ । सन्देश भनिएको छ, “नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धानखेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्त्व पनि राख्दछ ।” विश्वव्यापी जलवायु परिवर्तनले धानखेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, किसान र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवं उत्पादकत्व बढाउँदै धानबालीको विविधिकरण गर्नुपर्ने आजको आवश्यकता भएको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले नेपालमा धानखेतीका लागि पर्याप्त सिँचाइको व्यवस्था भइनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाउने बताउँदै धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।

“धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो छ”, सन्देशमा भनिएको छ ।

पर्वतको नेपानेमा जीप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

पर्वत, १५ असार : पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा फलेवास –७ का ३४ वर्षीय विक्रम सुनार, वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते हुनुभएका छन् । घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

एसीसी यु–१६: टल हारेर नेपालले इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो।

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

द्रुत विकासको नवयुगमा चीनको नयाँ सिजाङ

ल्हासा (चीन), १५ असारः नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा हालै यहाँ चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना भएका सहरबीच सहकार्य, साझेदारी र अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरियो ।

यहाँस्थित नेपालको महावाणिज्य दूतावास र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ एवं समुधुर बनाउने विषयमा विचारविमर्श भएको थियो ।

सन् १९९९ मा बनेपा नगरपालिका र सिगात्से नगरबीच सम्बन्ध स्थापना भई प्रारम्भ भएको भगिनी सम्बन्ध पच्चिसौँ वर्षमा प्रवेश गरेको छ । बितेका २५ वर्षमा लिन्ची–पोखरा, ल्हासा–काठमाडौँ, सान्नान–भक्तपुर, करुऔ–जिरी, नाक्चु–टोखा र सिगात्से–भरतपुरबीच सम्बन्ध कायम भइसकेको छ । निकट भविष्यमा अलिर, धुलिखेल नगरबीच सम्बन्ध स्थापना हुने भएको छ ।

भगिनी सम्बन्ध कायम भएका नगरपालिकाहरुलाई समेटेर पहिलोपटक आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा बागमती प्रदेश सरकार एवं काठमाडौँ, पोखरा र भरतपुर महानगरपालिका तथा धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुर नगरपालिकाका प्रतिनिधि गरी २१ जनाको सहभागितो थियो ।

सिजाङ स्वायत्त प्रदेशका ल्हासा, सिगात्से, लिन्ची, नाक्चु, सन्नान, करुओ, नगर तथा अलि ‘प्रिफेक्चर’का प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा सिजाङ सरकारका उपाध्यक्ष झाओ पिङले प्रस्तुत कार्यक्रमबाट चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिनाका साथै नगरनगरबीचको आत्मीय सम्बन्ध विकासमा रुपान्तरित हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगरप्रमुख आचार्यले चिनियाँ पक्षबाट प्राप्त विकास सहायताका साथै नेपाल र नेपालीप्रति दर्शाएको समभाव एवं साझा भविष्य निर्माणका दिशामा नेपालका निम्ति प्रेरक भएको बताउनुभयो ।

चीनको विकासबाट नेपालले धेरै सिक्न सक्ने बताउँदै उहाँले राजनीतिक प्रतिबद्धताबाट नै विकासका लक्ष्य हासिल गर्न सक्ने दृष्टिान्त चीनबाट प्रस्तुत भएको बताउनुभयो ।

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले नेपाल र सिजाङ स्वायत्त क्षेत्रका सहरहरुबीच पर्यटन, संस्कृति, शिक्षा, व्यापार र प्रविधिका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँस्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भगिनी सहरहरुसँगको सम्बन्धलाई अझ बलियो बनाउन आफ्ना तर्फबाट हरसम्भव प्रयत्न हुने प्रतिबद्धता व्यक्त गर्दै लामो समयदेखि नेपालको सामाजिक–आर्थिक विकासमा सिजाङका साथै चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा धुलिखेल र अलि प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी आशयपत्रमा हस्ताक्षर पनि भएको थियो । साथै नेपाली सहभागीले दुई देशबीचको पारस्परिक सम्बन्ध र विशेषगरी भगिनी सहरहरुबीचको सम्बन्धमार्फत नेपाल चीनका जनताबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँदै पारस्परिक लाभका क्षेत्रमा अझ अर्थपूर्ण परिणाम ल्याउने विश्वास व्यक्त गरेका थिए ।

यसैबीच, सिजाङ स्वायत्त प्रदेश स्थापना भएको साठिऔँ वार्षिकोत्सवका अवसरमा चिनियाँ विदेश मन्त्रालय र सिजाङ स्वायत्त प्रदेश विदेश विभागको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल, भारत, श्रीलङ्का, थाइल्यान्ड, मङ्गोलिया, जापान, रुसी महासङ्घ र स्विट्जरल्यान्डका वरिष्ठ पत्रकार एवं प्राध्यापक सम्मिलित १५ सदस्यीय प्रतिनिधिमण्डलले सिजाङका विभिन्न स्थानको भ्रमण गरी त्यहाँ भएका सामाजिक–आर्थिक विकासबारे जानकारी लिएको छ ।

चीनको दक्षिण पश्चिमी भागमा अवस्थित १२ लाख वर्गकिलोमिटर क्षेत्रमा फैलिएको उक्त प्रदेशको अधिकांश भाग चार हजार मिटरभन्दा उच्च स्थानमा छ । ३६ लाख जनसङ्ख्या भएको यो प्रदेशमा तिब्बतीबाहेक ५० भन्दा बढी जनजातिको बासस्थान छ । यहाँ हान, हुइ, मेम्बा, लोबा, नाक्सी, नु, दुलोङलगायत जातजाति शान्तिपूर्ण रुपमा पारस्परिक सहयोग गर्दै सामाजिक उन्नयनमा लागेका छन् ।

दुई वर्षअघि सरकारले सार्वजनिक गरेको विवरणअनुसार ३६ लाख जनसङ्ख्या रहेको यो प्रदेशमा तिब्बतीबाहेक ५० भन्दा बढी जनजातिको बासस्थान छ । यहाँ हान, हुइ, मेम्बा, लोबा, नाक्सी, नु, दुलोङलगायत जातजाति शान्तिपूर्ण रुपमा पारस्परिक सहयोग गर्दै सामाजिक उन्नयनमा लागेका छन् ।

दाङ र शेर्पा समुदायको पनि वासस्थान सिजाङ प्राचीनकालदेखि नै चीनको अभिभाज्य भूमिका रुपमा रहेको विदेश विभागका उपमहानिर्देशक छङ फोङ बताउनुहुन्छ । “यी सबै जातजाति विशाल चीनको परिवारका प्रिय सदस्य हुन्, सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को १८ औँ राष्ट्रिय महाधिवेशनले सिजाङ स्वायत्त क्षेत्रलाई देशको बाँकी भागसँगै समृद्धि र आधुनिकीकरणको यात्रामा अघि बढाउने निर्णय गरेको हो । पार्टी महासचिव सी चिनफिङको रणनीतिक दृष्टिकोणका साथ जनता केन्द्रित विकासलाई अघि बढाउँदै चीनलाई विश्वमञ्चमा पुनर्जीवित गर्ने हो । सिजाङको विकासलाई हामीले ठूलो महत्व दिएका छौँ”, उहाँले भन्नुभयो ।

उपमहानिर्देशक छङका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, चिनियाँ विशेषतासहितको समाजवाद र क्षेत्रीय जातीय स्वायत्तताको प्रणालीलाई कार्यान्वयन गर्दै सिजाङलाई विकासको नयाँ युगतर्फ डोर्याउने , राष्ट्रिय एकीकरणको रक्षा र जातीय एकतालाई सुदृढ पार्ने, सिजाङ र यसका बासिन्दाहरूमा समृद्धि ल्याउने, उनीहरूलाई एकताबद्ध गर्दै समग्र प्रदेशको दीर्घकालीन विकासको लागि बलियो जग बसाल्नु हो । जनताको जीवन सुधार गर्ने र सामाजिक–आर्थिक विकासमा उनीहरुको एकतालाई सुदृढ पार्दै पर्यावरण एवं वातावरणीय संरक्षणलाई प्राथमिकता दिनु हो ।

अन्तरराष्ट्रिय जगत्मा सिजाङको बेग्लै परिचय स्थापित गर्न तथा बितेका ६० वर्षमा यो प्रदेशमा भएका विकासबारे अन्तरराष्ट्रिय समुदायलाई सुनाउन र प्रत्यक्ष देखाउन प्रदेशको दोस्रो ठूलो सहर लिन्चीमा ‘द चाइना सिजाङ ट्रान्स हिमालय फोरम अफ अन्टरपिनर’ शनिबार सम्पन्न भयो । क्षेत्रीय एवं पारस्परिक सहयोगको अन्तरराष्ट्रिय एवं क्षेत्रीय सहयोगको यो मञ्चमा उद्यमशीलता, विकास, वाणिज्य र व्यापारका विविध आयाममा छलफल भएको छ ।

चीनको विदेश मन्त्रालय र सिजाङ स्वायत्त प्रदेशको विदेश विभागको संयुक्त आयोजनामा भएको सम्मेलनमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले नेपालको विकास प्रयासमा चीन सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सम्मेलनबाट नेपाललगायत विकासको मार्गमा अग्रसर अल्पविकसित देशलाई ज्ञान आर्जन गर्न सहयोग पुग्ने बताउनुभयो ।

सन् २०१८ मा ट्रान्स हिमालय फोरमका रूपमा स्थापना भएको यो मञ्चले हालसम्म चारवटा सम्मेलन आयोजना गरिसकेको छ । पचास देशका २० भन्दा बढी अन्तरराष्ट्रिय सहायता निकायका साथै विद्वत् वर्ग, राजनीतिक नेतृत्व, कूटनीतिज्ञ तथा नागरिक समाजका सदस्यसहित चार सय जनाले भाग लिइसकेका छन् । पर्यवरणीय सन्तुलन कायम गर्ने तथा संस्कृति संरक्षण गर्दै हिमाली क्षेत्रका राष्ट्रहरूलाई एकताबद्ध गर्ने मञ्चको उद्देश्य भएको सिजाङ सरकारले जनाएको छ ।

समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धान दिवसको अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले अब रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु आवश्यक रहेको बताए ।

उनले भने,‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ। तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ।’

उनले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनु पर्ने धारणा राख्दै दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना दिए ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ असार : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०० रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

रासायनिक हतियार प्रयोग गरेको आरोपमा अमेरिकाद्वारा सुडानमाथि प्रतिबन्धको घोषणा

सुडानको रक्तपातपूर्ण गृहयुद्धमा खार्तुमको सेनाले रासायनिक हतियारको प्रयोग गरेको भन्दै सुडान सरकारमाथि अमेरिकाले प्रतिबन्ध लागू भएको घोषणा गरेको छ ।

अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने जनाएको छ ।

प्रतिबन्ध अन्तर्गत सुडानलाई अत्यावश्यक मानवीय सहायता र खाद्यान्न वा अन्य कृषिजन्य वस्तु वा उत्पादनबाहेक अन्य सहायता बन्द गरिने अमेरिकाले जनाइएको छ ।

यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिनेछ किनभने ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितको लागि यो आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ।

अमेरिकी विदेश मन्त्रालयले गत महिना प्रतिबन्धहरूको घोषणा गर्दै भनेको थियो, “लगभग सबै देशहरू द्वारा हस्ताक्षरित एक अन्तर्राष्ट्रिय सन्धिले रासायनिक प्रयोग गर्न निषेध गरेको छ त्यसैले अमेरिकाले सुडान सरकारलाई सबै रासायनिक हतियारको प्रयोग रोक्न र रासायनिक हतियार कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पालन गर्न आग्रह गर्दछ।”

न्युयोर्क टाइम्सले जनवरीमा सुडानको सेनाले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरेको थियो ।

नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँस जस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ ।

खार्तूमले रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ ।

व्यावहारिक रुपमा सुडानका सैन्य प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका नेता तथा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व डेपुटी नेता मोहम्मद हमदान डग्लो दुवै अमेरिकी प्रतिबन्धको चपेटामा परिसकेकाले यसको प्रभाव सीमित हुनेछ ।

सन् २०२३ को अप्रिलमा सेना र आरएसएफबीचको शक्ति सङ्घर्षपूर्ण युद्धमा परिणत भयो र यसको विनाशकारी परिणाम पहिले नै गरिब मुलुक रहेको सुडानका लागि अभिशाप बनेको छ ।

यस द्वन्द्वका कारण दशौँ हजार मानिसको मृत्यु भएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् । सुडान युद्धलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा खराबमध्येको एक मानवीय सङ्कटको रूपमा व्याख्या गरेको छ।

धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छः उपाध्यक्ष घिमिरे

काठमाडौँ, १५ असारः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपाध्यक्ष घिमिरेले भन्नुभएको छ, “हाम्रो श्रमशक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद् हो, कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सृजना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्नु अहिलेको आवश्यकता हो ।”

कृषिलाई व्यावसायीकरण जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राख्ने हो भने कृषिजन्य वस्तुको बढ्दो आयात प्रतिस्थापन गर्न र युवा पलायन रोक्न सकिने उहाँको भनाइ छ । उपाध्यक्ष घिमिरेले धान बालीमा जलवायुमैत्री प्रविधिको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धानचामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यो वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भता’ नाराका साथ आज मुलुकभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदैछ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तरराष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयानुसार २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरूले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने उपाध्यक्ष घिमिरेले विश्वास छ ।

कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धानबालीको उत्पादन बढाउन सकिन्छ : उपसभामुख रानामगर

काठमाडौँ, १५ असारःउपसभामुख इन्दिरा रानामगरले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तरराष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “जलवायु अनुकूलित प्रविधिको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीतिले मात्र धान दिवसको सार्थकता प्रदान गर्छ भन्ने विश्वास लिएको छु ।”

किसानको जीवनस्तर उकास्न नीति निर्माणदेखि व्यावहारिक कार्यान्वयनसम्म सबै तहमा संवेदनशील हँदै धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउनुपर्ने उहाँको भनाइ छ । ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भता’ नाराका साथ आज मुलुकभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८२ मनाइँदै छ । असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरूले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो । उपसभामुख रानाले भन्नुभएको छ, “धानखेती हाम्रो समाज र जीवनसँग अभिन्न भएर रहेको छ, त्यतिमात्र होइन यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व पनि राख्दछ, धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्य राष्ट्रिय धान दिवसको रहेको छ ।”

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ ।

परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौँ, १५ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताउनुभएको छ ।

धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालेले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो । उहाँले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले आफ्नो सन्देशमा भन्नुभएको छ, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।”

नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा बढी छ । यो हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अध्यक्ष दाहालले बताउनुभयो । यस वर्षको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ले धानखेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने उहाँले उल्लेख गर्नुभयो ।

समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको अध्यक्ष दाहालको भनाइ छ । सन्देशमा अगाडि भनिएको छ, “मैले नेतृत्व गरेको सरकारको पालामा, हामीले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ, ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ ।” उहाँले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताउनुभएको छ ।

धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

“सरकारले यो विषयमा गम्भीर बनेर किसानलाई न्याय गर्न माग गर्न चाहन्छु, सरकारसँग धानबालीमा सघनता ल्याउन बीउ, मल, सिँचाइ र धान जोनमा पर्याप्त लगानी सुनिश्चित गर्न सकिन्छ”, अयक्ष दाहालले भन्नुभयो ।”

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १५ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौँ, १५ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादवले धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उपराष्ट्रपति यादवले २२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सबै मिलेर दिगो कृषि प्रणाली स्थापनातर्फको यात्रामा दृढतापूर्वक अघि बढ्दै खाद्य सुरक्षाको मेरुदण्डलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ । धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउन जरुरी रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।

“जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु अनुकूल बीउको प्रयोग, पानीको व्यवस्थापन र जैविक मलको प्रयोगलाई प्राथमिकता दिँदै जलवायुमैत्री कृषिकर्मलाई प्रवर्द्धन गर्न उत्तिकै आवश्यक छ । धान आयात घटाउने रणनीतिका साथ अघि बढ्दै नेपालमा वार्षिक रूपमा अर्बौँ रुपैयाँ बराबरको चामल आयात रोक्न जरुरी छ”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ ।

धान उत्पादन बढाउने, भण्डारणमा सुधार र बजारमा पहुँच विस्तार गर्ने नीतिको सशक्त कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले बीउमा अनुदान, सिँचाइ सुविधामा वृद्धि, कृषक परिचयपत्र र बीमाजस्ता कार्यक्रमलाई थप प्राथमिकतमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यो दिवस आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्यसहित उन्नत कृषि प्रणालीको विकास र आधुनिकीरणप्रतिको दृढसङ्कल्पको प्रतीकका रूपमा लिइन्छ । किसानका सीप, निरन्तर श्रम र धैर्यलाई सम्मान गर्दै कृषि क्षेत्रलाई समृद्ध, उत्पादनमुखी र जलवायु अनुकूल बनाउन यो दिवसले सबै नेपालीलाई अभिप्रेरित गर्दछ । धान, हाम्रो खाद्य सुरक्षाको मेरुदण्ड र कृषि अर्थतन्त्रको आधारस्तम्भ हो । धानबालीमा स्थानीय जातहरूको संरक्षण र उन्नत प्रविधिको प्रयोग गर्दै जलवायु अनुकूल, उत्पादनमुखी तथा समावेशी कृषि प्रणाली अङ्गीकार गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

“विभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त, उत्पादनशील र पोषणयुक्त जातको धान प्रवर्द्धनमा जोड दिनुपर्दछ, किसानप्रतिको सहानुभूति र सम्मान अभिव्यक्त गर्न सरकारले अवलम्बन गरेको कृषिनीति कृषिको आधुनिकीकरण, जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन, व्यवसायीकरण र किसानको सामाजिक सुरक्षामा केन्द्रित कार्यक्रम धान उत्पादनमा वृद्धि तथा किसानको जीवनस्तर उकास्ने नीतिबाट अभिप्रेरित छन्”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

काठमाडौँ, १५ असारः सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नुहुनेछ । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

यस्तै, आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।

कृषिलाई आधुनिक पेसाका रूपमा विकास गर्न नीतिगत सुधार गर्नुपर्छः सभामुख घिमिरे

काठमाडौँ, १५ असारः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गर्नुभएको छ ।

२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भन्नुभएको छ, “नेपालको अधिकांश खेती अझै पनि अकासे पानीमा निर्भर छ । सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठूलो प्रभाव परेको छ ।”

उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यस वर्ष ‘धानबालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित राष्ट्रिय धान दिवस मनाइरहेका छौँ । किसान र सरोकारवाला सम्बद्ध पक्षहरूलाई सचेत तथा जागरुक बनाउने सन्देशसहित देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ ।

सभामुख घिमिरेले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान नेपालीको खाद्य सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ, “धान एक बालीमात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो, देशको करिब ६५ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिकर्ममा संलग्न छन्, तथ्याङ्कानुसार नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना हो, कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नुपर्ने अवस्था आएको छ ।”

महाकालीमा पानीको बहाब बढ्यो, चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक

दोधारा चाँदनी (कञ्चनपुर), १५ असारः महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

“महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ”, उहाँले भन्नुभयो, “शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।”

यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ ।

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा (कतार), १५ असारः प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उहाँहरूबीच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो ।

असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ, १५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

प्रधानमन्त्री ओली दोहामा

दोहा, १५ असारः प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उहाँ यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समयअनुसार गए राति ११ः१५ बजे हमाद अन्तरराष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । उहाँलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चअधिकारीहरू र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । यस्तै प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चुडामणि कार्कीले पनि भ्रमण दललाई स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली शनिबार साँझ काठमाडौँबाट प्रस्थान गर्नुभएको हो । कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिड पुग्नेछ । भ्रमणको दोस्रो दिन असार १५ गते दिउँसो भ्रमण टोली स्पेनको सेभियामा पुग्नेछ । त्यसपछि नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

एक्काइस सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनुहुन्छ ।

एमालेविरुद्ध ध्रुब खडा गर्न अवसरवादी तत्व सलबलाएः महासचिव पोखरेल

गण्डकी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेले लिएको समृद्धि र विकासको आकांक्षाबाहिर जान नसक्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार पार्टीको पोखरा महानगर कमिटीले आयोजना गरेको मदन भण्डारीको ७४ औं जन्म जयन्ती कार्यक्रममा महासचिव पोखरेलले एमालेविरुद्ध ध्रुब खडा गर्न अवसरवादी तत्व सलबलाएको बताए । उनले भने, ‘मलाई लाग्छ हाम्रो सम्माननीय पूर्वराष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ ।’

उनले मुलुक जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका आधारमा अघि बढेको बताए । उनले लोकतन्त्र र राज्य पुनर्संरचनाको जग जबज भएको बताए । मदन भण्डारीले २०४७ सालको संविधानमा राखेको २७ बुँदे असहमति नै मुलुकको परिवर्तनको आधार भएको उनको भनाई थियो ।

जबजले समाज विकासका विभिन्न चरणमा शोषित, उत्पीडित वर्ग र समुदायका साथै सम्पूर्ण मानव जातिको मुक्तिलाई अङ्गीकार गरेको उनले बताए ।

एमालेलाई चारैतिरबाट आक्रमण भइरहेको वर्तमान अवस्थामा पार्टीका कार्यकर्ता सङ्गठित भएर अघि बढ्नुपर्ने बताए । पूर्वराष्ट्रपति भण्डारीले शनिबार काठमाडौंमा भएको कार्यक्रममा अब आफू पार्टी राजनीतिमा फर्किने घोषणा गरेकी थिइन् ।

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै खामा प्रेसले इरानबाट एकै सातामा ८८ हजारभन्दा बढी कागजातविहीन अफगानी आप्रवासीलाई देश निकाला गरिएको जनाएको छ ।

आइओएमको जुन २८ को अपडेटअनुसार जुन १८ देखि जुन २६ सम्म कुल ८८ हजार ३०८ जना कागजातविहीन अफगानी नागरिकलाई इरानबाट जबर्जस्ती अफगानिस्तान फर्काइएको छ । तीमध्ये ११ प्रतिशतले मात्र स्रोतको सीमितताका कारण मानवीय सहायता प्राप्त गरेको उल्लेख गर्दै अति जोखिममा रहेकाहरूको आधारभूत आवश्यकता पूरा गर्न तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।

यस अवधिमा स्वदेश फर्केकामध्ये ५५ प्रतिशतलाई जबर्जस्ती देश निकाला गरिएको र ६४ प्रतिशत परिवारको रूपमा यात्रा गरिरहेको प्रतिवेदनमा उल्लेख छ । यसअघि, जुन १० देखि जुन १७ को बीचमा ३२ हजार ८४४ जनालाई स्वदेश फर्काइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को यसअघिको तथ्याङ्कअनुसार जुन १ देखि जुन १५ सम्म इरान र पाकिस्तानबाट ७१ हजारभन्दा बढी आप्रवासी स्वदेश फर्केका छन् । खामा प्रेसका अनुसार दुवै निकायले भीडभाड युक्त र कम स्रोत साधन भएका सीमा क्षेत्रमा फर्कनेहरूको स्वास्थ्य र सुरक्षाका लागि गम्भीर चुनौतीबारे चेतावनी दिएका छन्।

एमालेमा पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड

गोदावरी (कैलाली), १४ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश प्रमुख लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले आज सुखडमा ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने र एकता कायम गर्नुपर्नेमा बताउनुभयो । उहाँले एमाले कमजोर हुँदा देश विकासका गतिविधि प्रभावित हुने बताउनुभयो ।

सचिव भट्टले भन्नुभयो, “हामीले जनताको बहुदलीय जनवाद भनिरहेका छौँ तर त्यसलाई व्यवहारमा उतारेका छौँ या छैनौँ समीक्षा गर्नुपर्ने बेला भएको छ ।”

मदन भण्डारीले देखाएको मार्ग नेपाली राजनीति र समाजका लागि मार्गदर्शक

काँक्रेविहार (सुर्खेत),१४ असार – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जननेता मदन भण्डारीले देखाएको मार्ग आज पनि नेपाली राजनीति र समाजका लागि मार्गदर्शक भएको बताउनुभएको छ ।

जननेता भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ नं वडा कमिटीले आज सुर्खेतमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले जननेता भण्डारीले प्रतिपादन गर्नुभएको विचार, सिद्धान्त र व्यवहार वर्तमान राजनीतिक नेतृत्वका लागि अनुकरणीय छ भन्नुभयो ।

मदन भण्डारीले देखाएको बाटो दलगत सीमाभन्दा माथि उठेर समावेशी, प्रगतिशील र जनमुखी समाज निर्माण गर्ने बाटो भएकाले उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि देशकोे राजनीतिमा सान्दर्भिक रहेको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा

थाइल्याण्डको राजधानी बैङ्ककमा शनिबार हजारौंको सङ्ख्यामा सरकार विरोधी प्रदर्शनकारीहरुले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजिनामाको माग गर्दै पदर्शन गरेका छन् ।

कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा पर्नुभएको थियो । टेलिफोनवार्तामा प्रधानमन्त्री पेटोङटार्नले उहाँलाई ‘अङ्कल’ भन्नुभएको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भन्नुभएको बिषयले प्रधानमन्त्रीविरूद्ध आक्रोश छाएको छ ।

लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीय प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्याण्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्याटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो ।

शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको थाइल्याण्डको झण्डा र प्लेकार्ड फहराउँदै सडक जाम गरेका थिए ।

प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भन्नुभयो, “प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गर्नुभयो!”

प्रदर्शनमा प्रायः वृद्ध वृद्धहरू थिए र ‘पहेंलो शर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताहरूले नेतृत्व गरेका थिए । उक्त समूहले सन् २००० को दशकमा पेटोङ्टार्नका पिता थाक्सिन सिनावात्रालाई हटाउन मद्दत गरेको थियो ।

थाक्सिनका पूर्व सहयोगी तर अहिले उहाँका कठोर आलोचकहरूमध्ये एक नेता आन्दोलनको एक प्रमुख आयोजक रहनुभएको थियो ।

“म यहाँ थाइल्याण्डको सार्वभौमिकताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य हुन्ुहुन्छ भन्नका लागि आएको हुँ,’ ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङमुएले भन्नुभयो ।

उहाँले एएफपीसँगको कुराकानीमा भन्नुभयो, “जब मैले गोप्यरूपमा बाहिरिएको कल सुनेँ तब मलाई थाहा भयो कि म उहाँलाई विश्वास गर्न सक्दिनँ ।”

उहाँले सार्वजनिक भएको टेलिफोन कलको संवादलाई सङ्केत गर्दै थप्नुभयो, “म धेरै राजनीतिक संकटहरूबाट गुज्रेको छु र मलाई थाहा छ कि यो देश कतातिर जाँदैछ। प्रधानमन्त्री हाम्रो सार्वभौमिकता त्याग्न तयार देखिनुहुन्छ।”

थाइल्याण्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने कटु विरोध गर्ने ‘पहेँलो शर्ट’ र थाक्सिन–समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि सङ्घर्ष रहँदै आएको छ ।
यसलाई उनीहरूका विरोधीहरूले परम्परागत सामाजिक व्यवस्थाको लागि खतरा मानेका छन् ।

अर्का एक पदर्शनकारी ६४ वर्षीया जमनोङ कलानाले आफू कुनै समय ’रातो सर्ट’ समूहको भएको तर आफ्नो रङ परिवर्तन गरेको र फेउ थाइ पार्टीका नेता पेतोङ्टार्नको राजीनामा माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई माया नगर्ने थाइ साथीलाई देख्दा मलाई पीडा हुन्छ।”

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

काठमाडौँ, १४ असारः राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोक्नुभएको छ ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्नेगरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

महिला ह्याण्डबलको उपाधि एपिएफलाई

पोखरा । गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए ।

फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।

शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपिएफले कोशीप्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै आर्मीले गण्डकीलाई २१–१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पा¥यो । सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।

१२ गतेदेखी १४ गतेसम्म चलेको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागि थियो । यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित भइन् । यस्तै एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको प्रवद्र्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको छ भने सह–प्रायोजकमा बुल्समेन क्लब र प्राविधिक सहयोगमा जिल्ला ह्याण्डबल संघ कास्की रहेको थियो ।

भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौँ, १४ असारः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले दुवै देशले गरेको विकासबाट अधिकभन्दा अधिक मुलुकले लाभ उठाउनुपर्ने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले लामो राजनीतिक सङ्क्रमणपछि मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त सफलताको आधार जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शन भएको बताउनुभयो । मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि जबज आज पनि उत्तिकै सान्दर्भिक भएको उहाँको कथन थियो ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जनताको बहुदलीय जनवादले परिकल्पना गरेको नेपाली ‘मोडल’को समाजवाद भएको बताउनुभयो । उहाँले पार्टी जीवनको लोकतान्त्रिकीकरण जबजको एउटा अभिन्न अङ्ग हो भन्नुभयो ।

त्यस अवसरमा यो वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गरिएको थियो । एक लाख राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको हो ।

इजरायली युद्धमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक र कमान्डरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको छ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उच्च कूटनीतिज्ञहरूले इरानविरूद्ध इजरायल र अमेरिकाले गरेको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै एक स्वतन्त्र राष्ट्रका रूपमा इरानले अन्तराष्ट्रिय कानुनको परिधिमा रहेर गर्ने विकासका गतिविधि नितान्त आफ्नो हित र सुरक्षामा भएको बताएका छन् ।

अन्त्येष्टि समारोहमा ‘अमेरिका मुर्दावाद’ र ’इजरायल मुर्दावाद’ भन्ने नारा लगाउँदै हजारौं नागरिकले अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका मृतकको फोटो भएका व्यानर, प्लाकार्ड खिचेको फुटेज प्रसारण गरेको थियो ।

इरानले १२ दिनको युद्धको क्रममा इजरायलविरुद्ध गरेको प्रतिशोधात्मक क्षेप्यास्त्र आक्रमणलाई सङ्केत गर्दै लेखिएको ‘बुम, बुम, तेल अभिभ,’ उल्लेख गरिएको ब्यानर लिएर हजारौँ इरानीले मृतकप्रति सम्मानका लागि अन्त्येष्टि समारोहमा सहभागी भएका थिए ।

इरानीे सरकारी टेलिभिजनले इरानले इजरायलमाथि प्रहार गरेको क्षेप्यास्त्रजस्तै ब्यालेस्टिक क्षेप्यास्त्रको नक्कल र इरानी झन्डामा ओछ्याइएको कफिनलाई प्रत्यक्ष प्रशारणमार्फत् देखाएको थियो ।

राष्ट्रपति मसूद पेजेस्कियान र खामेनीका वरिष्ठ सल्लाहकार रियर एडमिरल अली शमखानी पनि उक्त समारोहमा उपस्थित हुनुभएको थियो । उहाँले युद्धमा इजरायली आक्रमणमा घाइते भएपछि बेतको लोरोको सहायतामा अन्त्येष्टि समारोहमा हिँडिरहेको देख्न सकिन्थ्यो । यसले सहभागीहरूबीच उत्तेजना र आक्रोश छाएको देख्न सकिन्थ्यो ।

अन्त्येष्टि समारोहमा सर्वोच्च नेता स्वयं भने सहभागी हुनुभएन । उहाँले बिहीबार भिडियो सम्बोधन गर्दै यसै साताको सुरुमा युद्धविरामसहित समाप्त भएको द्वन्द्वमा ‘विजय’ भएको घोषणा गर्नुभएको थियो ।

आत्मसमर्पण भएन

अन्तिम संस्कारको शबयात्रा महानगरका विभिन्न भागमा पुग्दा विदेशमन्त्री अब्बास अराघचीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गर्दै युद्धमा ‘इरानी जनताले दिएको साथ र समर्थनका लागि’ नागरिक, सुरक्षाकर्मी लगायतका सम्पूर्ण देशबासीलाई धन्यवाद दिँदै अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका ‘शहीद’प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ, “इरानीहरूले रगत दिए, जमिन दिएनन्; आफ्ना प्रियजनहरूलाई दिए, आत्मसम्मान गुमाएनन्; उनीहरूले एक हजार टनको बम वर्षाको सामना गरे, तर आत्मसमर्पण गरेनन् ।“

उहाँले अघि भन्नुभयो, “इरानले ‘आत्मसमर्पण’ शब्दलाई मान्यता दिँदैन।

शनिबार अन्त्येष्टि गरिएका मृतक हरूमध्ये सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बागेरी पनि रहनुभएको थियो । उहाँको अन्त्येष्टि उहाँकै श्रीमती र पत्रकार एक छोरीसँगै गर्ने कायृक्रम रहेको छ ।

आक्रमणमा मारिएका आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरान्चीलाई पनि उहाँ श्रीमतीसँगै अन्त्येष्टि गरिनेछ।

युद्धको पहिलो दिन मारिएका रिभोल्युसनरी गार्डका कमाण्डर होसेन सलामीलाई आइतबार अन्त्येष्टि गरिन बताइएको छ ।

आक्रमणमा मारिएका अन्त्येष्टि गरिने ६० जनामध्ये चार जना बालबालिका र चार महिला रहेका छन् ।

वैदेशिक रोजगारीः सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, १४ असारः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरिएको छ ।

सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट रु १० लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई काठमाडौँ महानगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार निजलाई कारवाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

यसैबीच, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । तनहुँ बन्दिपुर गाउँपालिका–१ का ४७ वर्षीय विष्णुबहादुर भण्डारी र काठमाडौँ महानगरपालिका–२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका–४ का ३८ वर्षीय प्रेमबहादुर विकलाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले जिल्ला अदालत काठमाडौँको २०८० मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा रु ११ लाख जरिवाना र एक महिना कैद सजाय ठहर भई फरार रहेका भण्डारीलाई काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका विकलाई काठमाडौँ महानगरपालिका–२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भण्डारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ भने विकलाई इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ ।

साथै चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्ने मोरङ लेटाङ नगरपालिका–९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई पनि शुक्रबार पक्राउ गरिएको छ ।

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २१ जनाको टोली स्पेन प्रस्थान गरेका छन् । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोली स्पेन गएका हुन् ।

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री स्पेनको सेभिल्लामा हुन लागेको उक्त सम्मेलनमा सहभागी हुन लागेका हुन् भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन् ।

कुल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी छन् । स्पेन र न्युयोर्कबाट आठ थप गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।