`

प्रगतिशिल कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ, २ असारः नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा चयन हुनुभएको छ ।
गएराति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्गठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । गत शनिबारदेखि पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको थियो ।

एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह

अमेरिका – गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार श्रेष्ठले संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक कार्यसमिति भएको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।

एनआरएनए अमेरिकाद्वारा आइतबार अपरान्ह टेक्सास राज्यको डालसमा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संघका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफु नेतृत्वको कार्यसमितिसंग समन्वय गरेर काम गर्न आग्रह गरे।

काठमाडौँको हायात होटेलमा गत मे ३ र ४ तारिखमा संघको उच्चस्तरीय समितिले आह्वान गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।

“नेपाल सरकारका प्रतिनिधिहरुको रोहबरमा गराइएको निर्वाचनमा हामी निर्वाचित भए लगत्तै अर्को समूहले हाम्रो काम रोक्न मुद्दा हालेको थियो, तर सर्वोच्चले अन्तरिम आदेश दिएन, त्यसैले हामी नै आधिकारिक हौं,” श्रेष्ठले भने। परराष्ट्र मन्त्रालयले आफु नेतृत्वको कार्यसमिति नै आधिकारिक कार्यसमिति हो भन्दै संसारभरि रहेका नेपाली कूटनीतिक नियोगहरुलाई पत्राचार गरिसकेको पनि उनले बताए।

उनले सबै पक्षसँग सहमति र सहकार्यका लागि आफुहरु लचिलो भएर अघि बढ्ने बताए। “हामीले झडपको अवस्था नचाहेकाले बालुवाटारस्थित संघको केन्द्रीय कार्यालय जान हतार गरेका छैनौं,” उनले भने । तर, अब धेरै समय नकुर्ने र केन्द्रीय कार्यालय प्रवेश गर्ने प्रक्रियामा अघि बढ्ने उनले बताए । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक पत्राचार गर्दा पनि बद्री केसी पक्षले संघको सचिवालय, एमआइएस प्रणाली लगायत हस्तान्तरण गर्न अस्विकार गर्दै आएको छ।

अध्यक्ष श्रेष्ठले विभिन्न देशका एनसीसीहरूमा विवाद नल्याउन आग्रह पनि गरे। “केन्द्रको विवाद मिलाउन सजिलो छ, तर एनसीसीहरु विभाजित भए भने तिनको विवाद सुल्झाउन झनै कठिन हुन्छ,” उनले भने। उनले एनआरएनए अमेरिकालाई एकताको पहल गर्न र केन्द्रको विवाद समाधानमा समेत भूमिका खेल्न आग्रह पनि गरे।

उनले संस्थाभित्रको विवादले विदेशमा बस्ने नेपालीका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिएको स्वीकार गर्दै भने, “विवादले हामीलाई हल्का रूपमा लिन थालिएको छ। पहिला विवाद मिलाउनुस्, अनि मुद्दा लिएर आउनुस् भन्छन्।”

अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयन, लगानी अभिवृद्धि र नेपालको समृद्धिजस्ता विषय अगाडी बढाउन पनि संस्थालाई एकजुट बनाउनुको विकल्प नभएको जनाए। उनले कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ पनि दिएका थिए।

कांग्रेस महाधिवेशन पहिले देश दौडाहामा नेतृ डिला सङ्ग्रौला

लमजुङ – विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन २०८२ मङ्सिर भित्र हुनुपर्छ । तर, विधानमै भएको १ वर्ष थप गर्ने व्यवस्थाले यो मितिमा महाधिवेशन नहुने पक्का भए पनि पार्टीका नेताहरूले आन्तरिक तयारी भने सुरु गरिसकेका छन् । महाधिवेशन २०८३ मङ्सिर भित्र गराउन शीर्ष नेताहरू तयार रहेको बुझिएको छ । यस क्रममा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्त पछिल्लो समय पार्टीको १५औँ महाधिवेशनको तयारी सुरु भएको बताउँछिन् । अहिले नै कुन पदमा महाधिवेशनमा प्रतिस्पर्धा गर्ने छिनोफानो नभए पनि जिल्ला जिल्ला पुगेर आफ्नो माहौल बनाउन उनी सक्रिय रहेकी छन् ।

देशभरका विभिन्न जिल्लामा सङ्गठन सुदृढीकरण र महाधिवेशनको तयारीलाई तीव्रता दिन कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी अध्यक्ष समेत रहेकी साथीहरूसँगै भ्रमणलाई निरन्तरता दिएकी छन् । पछिल्लो समय विशेष गरी गण्डकी प्रदेशका मनाङ, लमजुङ, गोर्खा लगायतका जिल्लाहरूमा पुगेर स्थानीय कांग्रेस कार्यकर्ताहरूसँग छलफल र अन्तरक्रिया गरेकी उनले आफ्नो यात्रा केवल महाधिवेशनको तयारीमा मात्र नभई नेपाली कांग्रेसको वैचारिक दिशा र सङ्गठनात्मक गतिशीलतामा नयाँ ऊर्जा भर्ने प्रयासको रूपमा बुझ्न आग्रह गरिन् ।

गण्डकी प्रदेशको भौगोलिक र सांस्कृतिक विविधताले नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन विशेष भूमिका खेल्छ । सङ्ग्रौलाले हालै कांग्रेस नेता तथा पूर्व मन्त्री एन पी साउद, गोविन्द बहादुर शाह, अब्दुल सतार तथा चम्पा खड्का सहित मनाङ, लमजुङ, गोर्खा र धादिङ जिल्लाहरूमा पुगेर स्थानीय नेताहरू, कार्यकर्ताहरू र समुदायसँग अन्तरक्रिया गरिन् । यी क्षेत्रहरूमा उनले महाधिवेशनको तयारी, सङ्गठन विस्तार र स्थानीय मुद्दाहरूमा केन्द्रित भई विभिन्न कार्यक्रममा सहभागिता जनाइन् ।

नेपालको दुर्गम हिमाली जिल्ला मनाङमा उनले स्थानीय कार्यकर्ताहरूसँग भेटघाट गरी सङ्गठनको अवस्थाबारे छलफल गरिन् । उनले मनाङको पर्यटन, जलवायु परिवर्तन र स्थानीय विकासका मुद्दाहरूलाई सम्बोधन गर्दै कांग्रेसको नीतिलाई स्थानीय स्तरमा प्रभावकारी बनाउने उपायहरूबारे छलफल गरेकी थिइन् ।

लमजुङ नेपाली कांग्रेसको बलियो आधार क्षेत्र मानिन्छ। यहाँ उनले पार्टीको आगामी महाधिवेशनलाई लिएर कार्यकर्ताहरूसँग गहन छलफल गरिन् । उनले विशेष गरी युवा र महिला कार्यकर्ताहरूलाई सङ्गठनमा सक्रिय बनाउन जोड दिइन् । उनले भनिन्, ‘पार्टीको भविष्य युवा र महिलाको काँधमा छ । हामीले उनीहरूलाई नेतृत्वमा ल्याउनुपर्छ, ताकि कांग्रेसले नयाँ पुस्ताको आकाङ्क्षा पूरा गर्न सकियोस् ।’

उनको भ्रमणको मुख्य उद्देश्य मध्ये एक हो—स्थानीय स्तरमा कार्यकर्ताहरूको मनोबल बढाउनु र उनीहरूलाई महाधिवेशनको महत्त्वबारे सचेत गराउनु । गण्डकी प्रदेशका विभिन्न कार्यक्रममा उनले पार्टीको सैद्धान्तिक आधार, लोकतान्त्रिक समाजवाद र समावेशी नेतृत्वको आवश्यकताबारे जोड दिइन् । उनले भनिन्, ‘हाम्रो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया होइन, यो पार्टीको वैचारिक र सङ्गठनात्मक पुनर्जीवनको अवसर पनि हो ।’

डा. सङ्ग्रौलाले आफ्नो भ्रमणका क्रममा स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिइन् । मनाङमा उनले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र पर्यटन विकासको सम्भावनाबारे छलफल गरिन् । लमजुङ र गोर्खामा उनले कृषि, साना उद्यम र बेरोजगारीका मुद्दालाई उठाइन् । यी मुद्दाहरूलाई सम्बोधन गर्न कांग्रेसले स्थानीय स्तरमा प्रभावकारी नीति बनाउनुपर्ने उनको जोड छ ।

गण्डकी भ्रमणका क्रममा उनले महिला र दलित समुदायका कार्यकर्ताहरूसँग विशेष छलफल गरिन् । उनले पार्टीको नेतृत्वमा महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्ने मागलाई पुनः दोहोर्‍याइन् । यो उनको पुरानो अडान हो, जसलाई उनले १४औँ महाधिवेशनको समयमा पनि जोडदार रूपमा उठाएकी थिइन् ।
उनले पार्टीमा सिद्धान्त, सङ्गठन र नेतृत्वबिच तालमेलको अभावले सङ्गठन कमजोर भएको तर्क गर्दै भनिन् ‘नेतृत्वले नीति र सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ। हामीले केवल सत्ताको खेलमा मात्र ध्यान दिनु हुँदैन, बरु जनताको विश्वास जित्ने नीति र नेतृत्व निर्माण गर्नुपर्छ ।’ उनको यो भनाइले कार्यकर्ताहरू उत्साहित भएको स्थानीय नेताले बताएका छन् ।

सङ्ग्रौलाले साथीहरूसहित अन्य प्रदेशमा पनि आफ्नो अभियान जारी रहने बताएकी छन्।

इरान र इजरायलबीचको तनाव ‘शान्त’ हुने म्याक्रोँको आशा

इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इरानसँगको आणविक वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ ।

दुई देशबीच जारी द्वन्द्वको तेस्रो दिन आइतबार इजरायलले इरानमा रहेका सैन्य स्थल र इन्धन डिपोमा बम बारी गरेको छ ।

म्याक्रोँले ग्रीनल्याण्डको भ्रमणका क्रममा भन्नुभयो, “मलाई आशा छ, आणविक क्षमतामा कुनै वृद्धि हुनबाट रोक्न, इरानमा आणविक क्षमताको अधिग्रहण गर्न र यस क्षेत्रमा कुनै पनि अशान्ति रोक्न आगामी घण्टाहरूले शान्ति र छलफलको लागि बाटो ल्याउनेछ।”

फ्रान्सका राष्ट्रपतिले जारी द्वन्द्वका बावजुद इरानको आणविक कार्यक्रमबारे वार्ताका लागि आफ्नो आह्वान दोहो¥याउनुभएको छ ।

’हिजो (शनिबार) मैले इरानका राष्ट्रपतिसँग कुरा गर्न पाएँ र जतिसक्दो चाँडो हामीबीच छलफलका लागि आह्वान गरेँ । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको कुराकानीमा पनि मैले यही कुरा व्यक्त गरेको छु,” म्याक्रोँले भन्नुभयो ।

“आइतबारदेखि मङ्गलबारसम्म क्यानडामा बैठक गरिरहेका जी–७ का नेताहरूसँग यस विषयमा पुनर्विचार गर्ने अवसर हामीले केही घण्टाभित्रै पाउनेछौं,” उहाँले थप्नुभयो ।

सन् २०१५ मा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा त्यागेको सम्झौतालाई प्रतिस्थापन गर्ने गरी नयाँ आणविक सम्झौताको बाटो खोज्न अमेरिका र इरानबीच गत अप्रिलदेखि पाँच चरणको वार्ता भएको थियो ।

छैटौँ चरणको वार्ता आइतबारका लागि तय भए पनि आयोजक देश ओमानले शनिबार वार्ता रद्द भएको जनाएको छ ।

’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताउनुभएको छ ।

एबीसी न्यूजका अनुसार रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँर्दै एबिसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर शत्रुहरुबीच जारी लडाइँमा ‘हामी संलग्न हुन सक्छौं’ भन्नुभयो ।

उहाँले संयुक्त राज्य अमेरिका अहिले सैन्य कारबाहीमा संलग्न नभएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “पुटिन द्वन्द्वमा सम्भावित मध्यस्थकर्ता हुनसक्नुहुन्छ र उहाँ तयार हुनुहुन्छ। उहाँले मलाई यसबारे फोन गर्नुभएको छ । यस विषयमा हामीले लामो छलफल गरेका छौँ ।”

इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन भीषण हवाई आक्रमण भएको छ ।

आणविक मामिलामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीच यसै साता हुने भनिएको छैटौँ चरणको वार्ता रद्द भएको जनाएको छ तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने दुवै पक्षले छलफल जारी राखेको बताउनुभएको छ ।

तेहरानलाई वार्ताको टेबलमा आउनका लागि समयसीमा तोकिएको छ कि छैन भनेर सोधिएको प्रश्नमा उहाँले एबीसीसँग भन्नुभयो, “अहँ, वार्ताको कुनै समयसीमा तोकिएको छैन।”

“उनीहरू छलफल गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्। कुराकानी जारी छ्,” स्कटले ट्रम्पलाई उद्धृत गर्दै भन्नुभयो ।

ट्रम्पले इजरायल र इरानबीचको द्वन्द्वले आणविक सम्झौताका लागि वार्तालाई गति दिन ‘आवश्यक’ रहेको बताउनुभएको छ ।

ट्रम्पले भन्नुभयो, “यसले वास्तवमा सम्झौतालाई छिटो अघि बढाउन बाध्य पार्न सक्छ।”

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४४, आलु रातो भारतीय प्रतिकिलो रु ३४, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ८५, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २ण्, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ४५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, टाटे सिमी मूल्य प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, स्कुस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ४५, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु ६५, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३६०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५५, चुकुन्दर प्रतिकिलो रु ७०, रातो बन्दा रु ७०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १७०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १२, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १९०, लिची (भारतीय) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो २३० धनियाँ प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् । सोमपाल कामी र गुलसन झा अभ्यासकोक्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।

सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

कञ्चनपुर, २ असारः सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च प्राथमिता दिएको छ । यसैक्रममा शुक्लाफाँटा – ११ कलुवापुरमा निः शुल्क रगत परीक्षण आयोजना गरिएको छ । निःशुल्क रगत परीक्षण स्वास्थ्य शिविरमा एक सय १६ महिला र ६४ पुरुषको शिविरमा रगत परीक्षण गरिएको छ ।

ती मध्ये १४ जनामा सिकलसेलको ट्रेट (वाहक) फेला परेको छ । सिकलसेल एनिमिया भए नभएकोबारे ट्रेट देखिएकाको रगत प्रयोगशालमा पुनः परीक्षण पश्चात यकिन हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । उहाँका अनुसार ट्रेट देखिएकामा नौ जना महिला र पाँचजना पुरुष रहेका छन ।

“छ वर्षीय बालकदेखि ६५ वर्षीय महिलामा सिकलसेल एनिमियाको ट्रेट देखा परेको छ” उहाँले भन्नुभयो, “यस अघि ती व्यक्ति र तीनका परिवारको सिकलसेल एनिमियासम्बन्धी स्क्रिनिङ टेष्ट भने भएको पाइएको छैन ।”
सिकलसेल ट्रेट देखिएका व्यक्तिलाई शिविरमा रहेका चिकित्सकहरुले आवश्यक परामर्श दिएका छन । सिकलसेल एनिमियासम्बन्धीको कुन्डली हेरेर मात्रै विवाह गर्न शिविरमा सहभागीलाई सुझाव दिइएको छ । यसअघि नगरपालिकाका छ वडामा छुट्टाछुट्टै रुपमा सिकलसेल एनिमिया पहिचानका लागि आयोजना गरिएका शिविरमा एक सय २६ जनामा सिकलसेलको ट्रेट फेला परेको थियो ।

स्वास्थ्य शाखा प्रमुख भट्टका अनुसार सिकलसेल एनिमिया अनुवांशिक रक्त विकार भएकाले जसमा रगतमा पाइने रातो रक्तकोष को बनावट असामान्य हुन्छ । सामान्य अवस्थामा यी कोष गोलाकार र लचिलो हुन्छन्, तर सिकलसेल एनिमियामा ती कोष अर्धचन्द्र (सिकल) आकारका र कडा हुने गरेका छन ।

अर्धचन्द्र आकारका विकृत कोष रक्तनलीहरूमा अड्किन गई रगतको प्रवाह अवरुद्ध गर्दा बिरामीलाई पीडा हुने गरेको पाइएको छ । “अर्धचन्द्र आकारका रक्तकोष छोटो समयमै नष्ट हुने हुँदा बिरामीलाई रक्तअल्पता (थकान, कमजोरी) गराउँछ” उहाँले भन्नुभयो, “अङ्ग क्षति दीर्घकालीन असरले मुटु, फोक्सो, मिर्गौला, कलेजो जस्ता अङ्गमा क्षति पु¥याउन सक्छ ।”

यो रोग आमा बुवाबाट बालकमा अनुवांशिक रुपमा सर्ने गर्दछ । सिकलसेल ट्रेट भनेको सिकलसेल एनिमियाको लक्षणलाई जनाउछ छ । सिकलसेल टे«ट आफैँमा रोग होइन, तर रक्त परीक्षणमार्फत थाहा पाउन सकिन्छ । सिकलसेल एनिमिया विशेष गरी थारु समुदायमा बढी देखिने गरेको छ । महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सिकलसेल रोगको उपचार सेवा उपलव्ध रहेको छ ।

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ ।बैठक सोमबार दिनको १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत

पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् ।
समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा तनहुँले म्याग्दीमाथि एकपक्षीय प्रदर्शन गर्दै १७७ रनको फराकिलो जित हात र्पायो । टस हारेर ब्याटिङमा उत्रिएको तनहुँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२४ रनको विशाल योगफल खडा र्गयो। कृष ऐरले ४८ बलमा ५ चौका र ११ छक्कासहित शतकीय पारी खेले। उनले १०२ रन बनाएर ‘म्यान अफ द म्याच’ बने। दिपेश अधिकारीले पनि २५ बलमा ५१ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा म्याग्दी १४।४ ओभरमै ४६ रनमा समेटियो। रोशन कार्की बाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्। तनहुँका सन्दीप पराजुलीले ३, चन्द्रकान्त पौडेलले २ विकेट लिए भने अन्य ५ बलरले समान १–१ विकेट लिए।
दोस्रो खेलमा स्याङजाले बाग्लुङलाई ७८ रनले पराजित र्गयो। टस जितेर ब्याटिङ रोजेको स्याङजाले ९ विकेटको क्षतिमा १७८ रन बनायो। कप्तान सन्दीप खत्री क्षेत्रीले ३३ बलमा ६ चौका र ४ छक्का सहित ६१ रन बनाए।

जवाफमा बाग्लुङको इनिङ्स १०० रनमै सीमित रह्यो। अश्वनी रानाले ३ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएर ‘म्यान अफ द म्याच’ बने।यी जितसँगै समूह ‘ए’ मा स्याङजा र तनहुँ दुवैले २ खेल जित्दै ४–४ अंक बनाएका छन् भने म्याग्दी र बाग्लुङ अंकविहीन छन् । आज हुने अन्तिम लिग खेलमा तनहुँ र स्याङजाबीचको भिडन्तले समूह विजेता तय गर्नेछ । पहिलो खेल म्याग्दी र बाग्लुङबीच हुनेछ ।

प्रतियोगिता गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा प्रदेश खेलकुद परिषद्को प्रवद्र्धनमा सञ्चालित भइरहेको छ। विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), २ असारः वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रथ रहेको जानकारी दिनुभयो । ‘‘विगत एघार महिनाको तथ्याङ्क केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ,’’ उहाँले भन्नुभयो,‘‘राजस्व सङ्कलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’’

कार्यालयले साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।

यस्तै फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो ।
भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

छैठौं संस्करणको ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’को ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं । कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ प्रतियोगिताको छैटौं संस्करण शनिबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ ।

देशभरिबाट आएका २५ जना बालप्रतिभाहरूले प्रतियोगितामा भाग लिँदै आफ्नो सिर्जनात्मकता, आत्मविश्वास र प्रतिभाको शानदार प्रदर्शन गरेका छन् । कार्यक्रम अन्तर्गत बृहत् ग्रूरूमिङ सेसन, विभिन्न प्रतिभा प्रस्तुतिहरू र अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिएको थियो।प्रतियोगितामा मायरा थापा ‘लिटिल मिस एन्जल नेपाल २०२५’ तथा कृष्ण गुरुङ ‘लिटिल मास्टर नेपाल २०२५’को शीर्ष उपाधिका विजेता घोषित भए ।

त्यस्तै, पहिलो उपविजेता महिमा आचार्य र निश्चल पौडेल तथा दोस्रो उपविजेता प्रिन्शा अर्याल र सुप्रिम पन्त बने ।कार्यक्रममा निर्णायक मण्डलको रूपमा एड्भेन्ट मिडियाका निर्देशक बिबेक श्रेष्ठ, मोटिभेशनल स्पिकर प्रकाश केसी, फेसन डिजाइनर डिना गुरुङ, गायिका एञ्जेला श्रेष्ठ र रजिना रिमाल उपस्थित थिए।

विशेष विधामा विभिन्न प्रतिभाशाली बालबालिकाहरूलाई सम्मान गरियो । सुबिदा गिरी र हर्षिद ओझा लाई ‘सर्वोत्कृष्ट शैक्षिक’ पुरस्कार प्रदान गरियो भने ‘सर्वोत्कृष्ट तस्वीर’, ‘मल्टिमिडिया’, ‘व्यक्तित्व’, ‘अनुशासन’, ‘नेतृत्व’, ‘बौद्धिक प्रतिभा’ लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमका प्रबन्ध निर्देशक वर्षा महर्जन र अध्यक्ष संजय महर्जनले सहभागी, अभिभावक, निर्णायक र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदै सबैको सहयोगले कार्यक्रम सफल भएको बताएका छन् ।

झापाको जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा

बनियानी (झापा)-यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ ।पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रङ्गको कछुवा फेला पार्नुभएको हो ।

उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिनुभयो । पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो कछुवा नेपालका केही तराई क्षेत्रमा करिब ४०० मिटर उचाइसम्म पाइने उहाँले बताउनुभयो । “यो कछुवाको ‘क्रोमेटिक ल्युसिज्म’ दुर्लभ रूप (पहेंलो) नेपालमा दोस्रो पटक अभिलेख हुन सक्छ”, उहाँले भन्नुभयो, “यसअघि जनकपुरमा यसको अभिलेख गरिएको थियो ।”

यस्ता कछुवा विरलै देखिने भएकाले संरक्षणका दृष्टिकोणले विशेष महत्व रहेको उहाँको भनाइ छ । कछुवा जलथल सब–डिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई जिम्मा लगाइएको वन समूहका सहसचिव भरत ढकालले बताउनुभयो ।

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट (हुम्ला), २ असारः हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज विहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।

आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीयवासी धनबहादुर रावतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आगो के कति कति कारणले लागेको भन्ने कुनै एकीन भएको छैन । सुरुमा आगलागी हुने गोठका धनि विर्ख रावतका परिवार सबै लेखको बस्तीमा बस्ने गर्दथे ।” सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका बताइएको छ । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ पीडित धनबहादुरले बताउनुभयो । आगलागीबाट मानवीय क्षति कुनै भएको छैन् । सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ ।

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौँ, २ असार : हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, २ असारः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिनुहुनेछ ।

यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २४ पैसा र बिक्रीदर चार रुपैयाँ २६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २९ पैसा र बिक्रीदर २१ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ १५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिपक्षी र सरकारबीच सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुरु

कर्णाली, २ असारः कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको १४औँ बैठक सुरु भएको छ । आइतबार दिउँसो ३ः०० बजे बस्ने भनिएको उक्त बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको थिएन ।

करिब १० घण्टाको छलफलपछि प्रतिपक्षी दल र सरकारबीच सहमति जुटेपछि मध्य राति ठिक १२ः०० बजेबाट बैठक सुरु भएको हो । बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्न थाल्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आयोजना बैङ्क नै सार्वजनिक नगरेर सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याउनु लागेको भन्दै बैठक बस्न नसक्ने अडान राखेको थियो ।

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौँ, २ असारः सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले रु एक अर्ब ७५ करोड र मधेस प्रदेशले रु दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् ।

कर्णाली प्रदेश
प्रतिपक्षी दलको अवरोधका कारण कर्णाली प्रदेशसभा बस्न नसकेपछि वार्षिक राजस्व र व्ययको अनुमान पेस गर्ने कार्यसूची प्रभावित भएको थियो । आइतबार मध्यरातमा प्रदेशसभा बैठक सञ्चालन भएपछि त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गर्नुभयो ।

कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो । कूल विनियोजनमध्ये चालुतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ । पुँजीगततर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कूल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ६१ करोड ५० लाख अर्थात् कूल विनियोजनको १.६६ प्रतिशत बजेट छुट्याइएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ ।

उक्त बजेटको स्रोतमध्ये आन्तरिक आयबाट रु ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट रु पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने रु १० अर्ब २७ करोड ३० लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । वित्तीय समानीकरण अनुदानबाट रु १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट रु चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट रु ५३ करोड ९७ लाख र विशेष अनुदानबाट रु ४९ करोड ४६ लाख स्रोत परिचालन गरिने अनुमान छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू ३३ अर्व ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुभयो । यो प्रदेशले ल्याएको आगामी आर्थिक वर्षको कूल बजेटमध्ये चालुतर्फ रू १० अर्व २० करोड ८१ लाख ४२ हजार अर्थात् ३०.४९ प्रतिशत, पुँजीगततर्फ रू १९ अर्व ८३ करोड दुई लाख छ हजार अर्थात् ५९.२५ प्रतिशत र अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत रु तीन अर्व ४२ करोड ७७ लाख अर्थात् १०.२४ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रू एक करोड छुट्याएको छ ।

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरेको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रू एक अर्व ६५ करोड, सङ्घ सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने रू नौ अर्व ८७ करोड २५ लाख, सङ्घीय रोयल्टी बाँडफाँट वापत प्राप्त हुने रकम रू आठ करोडलाई बजेटको स्रोत देखाइएको छ । त्यसैगरी सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रू आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने अनुमानित रकम रू सात अर्व ६६ करोड ६३ लाख ४८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रू चार अर्व १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रू ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने रू ५१ करोड ६० लाखलाई आगामी आर्थिक वर्षको व्ययको स्रोत अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आइतबार लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभयो । लुम्बिनीले आगामी आर्थिक वर्षका लागि कूल रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ । जसमध्ये, चालुतर्फ रु १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ रु २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत छ ।

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रु सात अर्ब ७८ करोड ४ लाख नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी रु ४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजस्व रु दुई अर्ब ८२ करोड ९० लाख प्राप्त हुने अनुमान गरिएको छ । सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट रु चार अर्ब ६६ करोड १५ लाख, समपुरक अनुदानबाट रु ५१ करोड ४० लाख, विशेष अनुदानबाट रु ४० करोड र चालु आर्थिक वर्षको नगद मौज्दातबाट रु दुई अर्ब परिचालन गर्नेगरी बजेटको स्रोत देखाइएको छ ।

गण्डकी प्रदेश
आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले रू ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ । आइतबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान पेस गर्नुभयो ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्चमध्ये चालुतर्फ रू १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कूल विनियोजनको ३९.५ प्रतिशत रहेको छ । पूँजीगततर्फ रू १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कूल विनियोजनको ५९ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कूल विनियोजनको ०.८ प्रतिशत छ । यो प्रदेशले आगामी वर्षमा रू एक करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ ।

गण्डकी प्रदेशका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटको स्रोतमध्ये केन्द्र सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट रू नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट रू ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ रू तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ रु ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ रू ४९ करोड ८६ लाख प्राप्त हुने गरी स्रोतको अनुमान गरिएको छ । यो प्रदेशले आगामी आर्थिक वर्ष आन्तरिक राजस्व रू पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार उठाउने अनुमान गरेको छ । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रू दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने रकमलाई पनि बजेटको स्रोत देखाइएको छ । बाँकी रु एक अर्व ७५ करोड आन्तरिक ऋण उठाउने गण्डकी प्रदेश सरकारको योजना छ ।

बागमती प्रदेश
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस गर्नुभयो । बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि प्रस्तावित सरकारका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट छुट्याएको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ रु ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको छ । कूल विनियोजन मध्ये चालुतर्फ ३८.६० प्रतिशत र पुँजीगततर्फ ६१.४० प्रतिशत हुन आउँछ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट रु २८ अर्ब ८७ करोड ८२ लाख १ हजार र अन्य राजस्वबाट रु ६ अर्ब ७९ करोड चार लाख १३ हजार उठाउने लक्ष्य राखेको छ । सङ्घीय वित्तीय हस्तान्तरणबाट प्राप्त हुने रु १४ अर्ब ८१ करोड ९३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र विविध प्राप्तिबाट रु १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार व्यहोरिने अनुमान गरिएको छ ।

मधेस प्रदेश
मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले आइतबार मधेस प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो । यो प्रदेशले आगामी आर्थिक वर्षका लागि कूल रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु १६ अर्ब ७२ करोड पाँच लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ रु ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको बजेटको तुलनामा ६.१३ प्रतिशत बढी हो ।

मधेस प्रदेशको आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रु नौ अर्ब ५० करोड ८३ लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । सङ्घ सरकारबाट जाने वित्तीय समानीकरण अनुदानबाट रु सात अर्ब ७२ करोड १९ लाख तथा शसर्त अनुदानबाट रु चार अर्ब २६ करोड १८ लाख, विशेष अनुदान बाट रु ३९ करोड ४५ लाख र समपुरक अनुदानबाट रु ३५ करोड ८२ लाख गरी जम्मा रु १२ अर्ब ७३ करोड ६४ लाख बराबर वित्तीय हस्तान्तरणमार्फत जाने रकमलाई आगामी आर्थिक वर्षको बजेट स्रोतका रूपमा देखाइएको छ । सङ्घीय राजस्व बाँडफाँटवाट रु १२ अर्ब ३५ करोड ८४ लाख प्रापत हुने र गत वर्षको नगद मौज्दातबाट रु १० अर्ब ३८ करोड दुई लाख ५१ हजार बराबर स्रोत व्यहोरिने अनुमान गरिएको छ । बाँकी अपुग रु दुई अर्ब रकम आन्तरिक ऋण उठाएर पूर्ति गर्ने गरी मधेस प्रदेशले बजेट स्रोत देखाएको छ ।

कोशी प्रदेश
कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि रू ३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पूँजीगततर्फ रु १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०.३ प्रतिशत रहेको छ । कोशी प्रदेशको यो बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा १.७ प्रतिशतले बढी हो । कूल विनियोजनमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणतर्फको रकम रु चार अर्ब ७० करोड ७२ लाख रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये कोशी प्रदेश सरकारको आन्तरिक राजस्वबाट रू पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रू १२ अर्ब ३९ करोड ६० लाख र सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू चार अर्ब ९८ करोड ३४ लाखलाई बजेट स्रोत देखाइएको छ । सशर्त अनुदानबाट रु चार अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट रु ३९ करोड़ १७ लाख र विशेष अनुदानबाट रू ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रू ३२ अर्ब ७४ करोड र रोयल्टीबाट प्राप्त हुने रकमबाट रु ३५ करोड ९९ लाखलाई बजेट स्रोत देखाइएको छ ।

बाँकी अपुग रकम नगद चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको बजेट मौज्दातबाट रू तीन अर्ब १३ करोड ब्यहोर्ने गरी स्रोतको अनुमान गरिएको छ । कोशी प्रदेशसभामा त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो । कोशी प्रदेशले आगामी आर्थिक वर्ष ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य बजेटमार्फत् राखेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो रु ३३ अर्ब ४७ करोडको बजेट

सुदूरपश्चिम, १ असारः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ रु १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ८३ करोड ८२ लाख छ हजार रहेको जानकारी दिनुभयो ।

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत रु तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ रु एक करोड विनियोजन गरिएको छ । विनियोजित कुल बजेटको चालुतर्फ ३० दशमलब ४९ प्रतिशत, पुँजीगततर्फ ५९ दशमलब २५ प्रतिशत हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड, नेपाल सरकारवाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम रु नौ अर्ब ८७ करोड २५ लाख अनुमान गरिएको छ ।

यसैगरी, सङ्घीय रोयल्टी बाँडफाँडबापत प्राप्त हुने रु आठ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु चार अर्ब १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ५१ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

पहिचानमा आधारित सङ्घीयता समावेशी र सशक्त राष्ट्र निमार्णको आधार होः अध्यक्ष यादव

धरान (सुनसरी), १ असारः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानमा आधारित सङ्घीयता सशक्त समावेशी र न्यायपूर्ण नेपाल निर्माणका लागि अनिवार्य रहेको बताउनुभयो ।

धरानमा आज जनता समाजवादी पार्टी लिम्बुवान् राष्ट्रिय समिति एकताको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले विविधतामा एकता बोकेको नेपालको सफल भविष्य सुनिश्चित गर्न सबै जातजाति, भाषाभाषी र समुदायको समान सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो । शासन प्रणाली, शिक्षा, प्रशासन र न्यायालयजस्ता राज्यका अङ्गहरुमा विविध समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै समान अवसर र समावेशितामा आधारित शासन व्यवस्था नै सुदृढ लोकतन्त्रको जग रहेको बताउनुभयो ।

अझै पनि खस भाषाको एकाधिकार सरकारी कार्यालय र शिक्षण संस्थानमा कायम रहँदा सीमावर्ती अल्पसङ्ख्यक र ऐतिहासिक रुपमा पछाडि पारिएका समुदायको समुन्नति सुस्त भइरहेको जिकिर गर्दै उहाँले यसलाई समावेशी र पहिचानमूलक संरचनाबाट मात्र सुधार गर्न सकिने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले किरात लिम्बुवान् क्षेत्रको ऐतिहासिक पृष्ठभूमि नेपालको वर्तमान सीमाङ्कनभन्दा पुरानो रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राज्यको नीति तथा निर्णय प्रक्रियामा विविध समुदायका प्रतिनिधि उपस्थित हुनुपर्छ । जबसम्म सबै समुदायको आवाज प्रतिनिधत्व हँुदैन तबसम्म लोकतन्त्र अधुरो हुन्छ ।”

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौँ, १ असारः “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म यहाँ आउन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु”, म्यान्मारबाट पहिलो पटक नेपाल आउनुभएकी अस्मिता न्यौपाने भन्नुभयो । नेपालबाट म्यानमार गएको उहाँभन्दा अघिको सातौ पुस्ता हो । त्यसपछाडिको कोही पनि नेपाल आउन नभएपछि न्यौपाने भने आफू आउन पाउँदा दङ्ग हुनुहुन्थ्यो ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उहाँले नेपाल आउनुको खुसी मात्रै पोख्नु भएन, नेपाली गीत पनि गाएर सुनाउनुभयो । उहाँ नेपाल आउने अवसर भने नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरो भ्वाइस युनिभर्स कार्यक्रमले जुराइदिएको थियो ।

उक्त कार्यक्रमकि प्रतियोगी न्यौपाने जस्ता विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषाीहरुले सञ्चारमन्त्री गुरुङसमक्ष भावना साटासाट गर्नुभयो । उहाँहरुले सामूहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषावेशको जहाँ जाऊ लागिरहन्छ माया देशको…’ बोलको गीतसमेत गाएर सुनाउनुभयो ।

मन्त्री गुरुङले नेपालमा सुगौली सन्धिपछि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरी तीन तरिकाले नेपालीहरु विभिन्न देशमा छरिएर रहेको उल्लेख गर्नुभयो । विभिन्न कारणले नेपालीहरु जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैलीमार्फत नेपाललाई विश्वमा चिनाउने काम गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्री गुरुङले खास गरी कलासंस्कृतिले मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्दत गर्ने हुँदा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता कार्यक्रमले ठूलो सहयोग गरेको बताउनुभयो । “हामी जहाँ भए पनि नेपाली कलासंस्कृति भुल्नुहुँदैन, नेपाल टेलिभिजनले यस्ता खाले कार्यक्रममलाई महत्व दिन्छ र आगामी दिनमा पनि दिनेछ,” उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले केही कारणवश फरक मुलुकमा बसोबास भए पनि नेपाली संस्कृति, संस्कार र भाषाले सबै नेपालीलाई एकतामा बाँधेको उल्लेख गर्नुभयो ।

इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रम तीन वर्षदेखि निरन्तर नेपाल टेलिभिजनमार्फत प्रसारण हँुदै आएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईका अनुसार विभिन्न देशमा छरिएर रहेका नेपाली तथा विदेशी नागरिकलाई उनीहरुको गायन र नृत्यकलामार्फत एकसूत्र गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रममा विभिन्न ६० मुलुकबाट सहभागिता भएको थियो । हाल प्रतियोगितामा १६ देशका प्रतिभा छानिएका छन् । “नेपाली जहाँ गए पनि मन र संस्कृति नेपालमै छ, हामीले कलासंस्कृतिमार्फत राष्ट्रिय एकता बलियो बनाउने प्रयत्न गरेका छौँ”, कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो ।

नेपाल टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण हुन्छ भने आइतबार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुँदै आएको छ । कार्यक्रममा प्रथम हुनेलाई पुरस्कार स्वरुप रु एक/एक करोड, दोस्रोलाई रु ३०/३० लाख, तेस्रो हुनेलाई रु १०/१० लाख र उत्कृष्ट १० मा पर्ने सबैलाई जनही रु तीन लाख पुरस्कार प्रदान गरिनेछ ।

‘राष्ट्रिय आमसञ्चार प्राधिकरण गठनमा जोड’

काठमाडौँ, १ असारः सरोकारवालाहरुले राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल, सहसचिव कोशहरि निरौलालगायतको उपस्थितिमा सञ्चारविज्ञ र सरोकारवालामाझ आमसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफलका क्रममा आमसञ्चार प्राधिकरण गठनको आवश्यकता औँल्याइएको हो ।

सञ्चार सचिव अर्यालले आमसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ मन्त्रालयमा पेस भई फिर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार विधेयकमा उल्लेख भएका विभिन्न बुँदामध्ये राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन प्रस्ताव राख्न अर्थमन्त्रालय सहमत उल्लेख गर्नुभयो । त्यसको वैकल्पिक आधारसहितको सुझावका लागि छलफल आयोजना गरिएको उहाँको भनाइ थियो ।

बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्य, सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्ट, पत्रकार रघु मैनाली, तारानाथ दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीलगायतको सहभागिता थियो । उहाँहरुले सरकारले खर्च जोगाउने हो भने प्रेस रजिस्ट्रार कार्यालय बनाउने वा दूरसञ्चार ऐनमा आमसञ्चार प्राधिकरणसमेत समेटेर लैजान सकिने वैकल्पिक आधार प्रस्तुत गर्नुभयो ।

लामो समयदेखि सञ्चारमाध्यमको एउटा छाता ऐनका रुपमा आमसञ्चार प्राधिकरणको परिकल्ना हुँदै आएको र पत्रकारिताको स्वायत्ततालाई प्राधिकरणले मात्रै समेट्न सक्ने विज्ञहरुको जोड थियो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त सुरेशराज आचार्यले पत्रकारिताको ठूलो क्षेत्रलाई प्राधिकरण गठनले समेट्न सक्ने हुँदा अनिवार्य रहेको धारणा राख्नुभयो । सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले सङ्घीय लोकतान्त्रिक प्रणाली अनुसारको सञ्चार संरचना बनाउन आवश्यक रहेको बताउनुभयो ।

पत्रकार तारानाथ दाहालले प्राधिकरण संरचना विश्वभरि नै अभ्यासमा आएको बताउँदै आमसञ्चारको छाता ऐन प्राधिकरणबाटै सम्भव हुने तर्क दिनुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे र सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले आमसञ्चार अब न्यू मिडिया (डिजिटल) भएकाले समय अनुकूलको छाता ऐन बनाउन जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको आमसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ र राष्ट्रिय प्रसारण ऐन, २०४९ लाई खारेज गर्ने एवम् आमसञ्चार संस्थाको दर्ता, इजाजत, अनुगमन तथा नियमनलगायत कार्य हालको सूचना तथा प्रसारण विभागले गर्दै आएको छ । उक्त काम राष्ट्रिय आम सञ्चार प्राधिकरण गठन गरी सोहीमार्फत गर्ने प्रस्तावसहित आमसञ्चार विधेयकको मस्यौदा तयार पारिएको हो ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राधिकरण गठन गर्ने विषयमा विज्ञहरुबाट पाएको सुझाव नै पुनः अर्थ मन्त्रालयमा पेस गर्ने बताउनुभयो । “हामी पनि आमसञ्चार प्राधिकरण नै बनाउने ध्ययेमा छौँ, सञ्चारजगत्लाई जति सक्दो स्वतन्त्र र बलियो बनाउने हो”, मन्त्री गुरुङले भन्नुभयो । मन्त्रालयका सचिव अर्यालले प्राप्त सुझाव सकारात्मक रुपमा लिइएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी, १ असारः गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आज प्रदेशसभामा उक्त रकमको बजेट प्रस्तुत गर्नुभयो ।

आगामी वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ रू १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार, पुँजीगततर्फ रू १९ अर्ब नौ करोड ३३ लाख २४ हजार रहेको छ । चालूतर्फ कूल विनियोजनको ३९ दशमलव पाँच प्रतिशत र पुँजीगततर्फ ५९ दशमलव सात प्रतिशत रहेको छ । यसैगरी वित्तीय व्यवस्थातर्फ रु २५ करोड विनियोजन गरिएको अर्थमन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

बजेटमा खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट रू नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट रू ४९ करोड ८९ लाख ७७ हजार, रहेको छ ।

यसैगरी सशर्त अनुदानतर्फ रू तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ रू ६३ करोड ९७ लाख, विशेष अनुदानतर्फ रू ४९ करोड ८६ लाख र प्रदेशको आन्तरिक राजस्व रू पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार तथा चालु वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रू दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद प्राप्त हुने अनुमान गरिएको अर्थमन्त्रीले गुरुङले बताउनुभयो ।

अर्थमन्त्री गुरुङले बजेटको स्रोतमा न्यून हुने रकममध्ये रू एक अर्ब ७५ करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई रु ११ अर्ब ९८ करोड नौ लाख आठ हजार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई रु दुई अर्ब ८ करोड ६७ लाख ५० हजार, उद्योग तथा पर्यटन मन्त्रालयलाई रु ८४ करोड २१ लाख ९३ हजार छुट्याइएको छ ।

साथै वन तथा वातावरण मन्त्रालयका लागि रु एक अर्ब छ करोड ५० लाख ४० हजार र सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ३९ करोड ५१ लाख ६७ हजार विनियोजन गरिएको छ । यसैगरी स्वास्थ्य मन्त्रालयलाई रु तीन अर्ब ३२ करोड ७० लाख ४० हजार, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि रु तीन अर्ब ८८ करोड ८१ लाख तथा प्रदेश विपद् व्यवस्थापन कोषमा न्युनतम रु १० करोड मौज्दात रहने व्यवस्था मिलाइएको अर्थमन्त्री गुरुङले बताउनुभयो ।

दिगो आर्थिक वृद्धिमार्फत रोजगरी र आय वृद्धि, गुणस्तरीय र आधुनिक पूर्वाधार विकास, प्रविधिमा दक्ष र उत्पादनशील मानव पुँजी निर्माण तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह मार्फत सुशासन अभिवृद्धि गर्नु बजेटको उद्देश्य रहेको अर्थमन्त्री गुरुङले बताउनुभयो ।

युवालाई स्वस्थ बनाउन खेलसँग जोड्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ १ असार ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले युवालाई स्वस्थ्य बनाउन खेलकुद क्षेत्रसँग जोड्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ले आजदेखि आयोजना गरेको ‘काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता–२०८२’ को आज साँझ उद्घाटन गर्दै उहाँले सुखी बन्नका लागि नियमित खेलकुद र शारीरिक अभ्यास आवश्यक रहेको बताउनुभएको हो ।

“शारीरिक व्यायम नियमित ग¥यो भने मानिस सुखी र खुसी भएर बाँच्न सक्छ, खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउँछ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले वडा, पालिका र देश÷देशबीचलाई खेलकुद क्षेत्रले जोडेको बताउनुभयो ।

मन्त्री पौडेलले सबै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नसके मानिसलाई स्वस्थ्य बनाउन सकिने उल्लेख गर्नुभयो । राष्ट्रिय पहिचानका लागि खेलकुद क्षेत्रमा लगानी आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्यमन्त्री पौडेलले कुनै पनि संस्थाले दिने सामाजिक उत्तरदायित्वको रकम खेलकुद क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले खेलकुद क्षेत्रबाट प्रतिस्पर्धा मात्र नभएर आत्मियतासमेत बढ्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाले केन्द्रीकृत मात्र होइन विकेन्द्रीकरण गर्नुपर्छ भनेर वडा कार्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

वडालाई सक्षम बनाउने गरी महानगरपालिकाले नीति, बजेट र कार्यक्रम बनाउँदै आएको उहाँको भनाइ थियो । उपप्रमुख डङ्गोलले स्वस्थ्य, अनुशासित र टिमवर्कमा काम गर्न खेलकुद क्षेत्रले सिकाउने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनुभयो । “वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएको कारणपनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो”, उहाँले भन्नुभयो । वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु ३५ लाख रकम विनियोजन गरेको वडाध्यक्ष तिवारीको भनाइ थियो ।

काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता–२०८२ का संयोजक प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागीता रहेको बताउनुभयो । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उहाँको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, उपविजेता टिमलाई रु ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु १० हजारका दरले प्रदान गरिने वडाले जनाएको छ ।

यसैगरी, तेक्वान्दो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार र उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।
यस्तै, डब्लुकेएफ कराँते प्रतियोगिताको महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः रु ३० हजार, १५ हजार र १० हजार प्रदान गरिनेछ र टिम विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, २५ हजार र २० हजार प्रदान गरिने बताइएको छ । करातेको आइकेयुतर्फ प्रथम, द्वितीय, तृतीय र शान्तनालाई क्रमशः १० हजार, आठ हजार, छ हजार र पाँच हजार प्रदान गरिनेछ ।

भियतनाममा आँधीका कारण बाढी, पाँच जनाको मृत्यु, दुई बेपत्ता

मध्य भियतनाममा आएको आँधीबेहरी र वर्षाले पाँच जनाको मृत्यु र दुई अन्यलाई बेपत्ता बनाएको आधिकारिक तथ्याङ्कले जनाएको छ । आँधीका कारण त्यहाँ मुसलधारे वर्षाले विशाल कृषि क्षेत्र डुबानमा परेको छ ।

शनिबार टाइफुन वुटिप एक सय २८ किलोमिटर (८० माइल) प्रतिघण्टासम्मको हावाको गतिका साथ दक्षिणी चीनमा पुगेको थियो र भियतनामको छेउमा रहेको टोन्किन खाडीमा फैलिएपछि उष्णकटिबन्धीय आँधीमा परिणत भएको थियो ।

भियतनामको कृषि मन्त्रालयले शनिबार साँझ मध्य क्वाङ त्री प्रान्तमा तीन जनाको मृत्यु भएको र क्वाङ बिन्ह प्रान्तमा दुई अन्यको मृत्यु र दुई जना बेपत्ता भएको बताएको छ ।

सत्तरी हजार हेक्टरभन्दा बढी (एक लाख ७२ हजार एकड) बालीनाली डुबानमा परेको मन्त्रालयले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले दक्षिणी हाइनान टापुमा हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका थिए भने स्कूलहरू बन्द गरेका थिए र आँधी आउनुअघि शुक्रबार रेल सेवा रोकेका थिए ।

यद्यपि संयुक्त टाइफुन चेतावनी केन्द्रले शनिबार आँधी ‘सप्ताहन्तको अन्त्यमा कमजोर भएर विलीन हुने’ पूर्वानुमान गरेको छ ।

जलवायु परिवर्तनको परिणामस्वरूप प्राकृतिक प्रकोपहरू बढी गम्भीर र बारम्बार हुँदै गएका छन् । कृषि मन्त्रालयका अनुसार गत वर्ष भियतनाममा यसले पाँच सय १४ जनाको ज्यान लिएको थियो । यो सन् २०२३ को तुलनामा तीन गुणा बढी हो ।

गत सेप्टेम्बरमा उत्तरी भियतनाममा आएको टाइफुन यागीले तीन सय ४५ जनाको ज्यान लिएको थियो भने तीन अर्ब ३० करोड डलरको आर्थिक क्षति भएको थियो ।

इजरायली नागरिकको मृत्युका लागि इरानले ‘ठूलो मूल्य’ चुकाउनु पर्ने नेतन्याहूको चेतावनी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली नागरिकको हत्याका लागि इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ बताउनुभएको छ । तेल अभिभ नजिकैको तटीय शहर बट याममा रहेको आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको स्थलको भ्रमणका क्रममा नेतन्याहूले भन्नुभयो, “इरानले नागरिक, महिला र बालबालिकाको सुनियोजित हत्याका लागि ठूलो मूल्य चुकाउनु पर्नेछ ।”

इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा परी १० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायलको हवाई प्रतिरक्षा प्रणालीबाट छिरेका क्षेप्यास्त्रले बट याम, तेल अभिभ र देशको उत्तरी क्षेत्रमा पनि क्षति र विनाश निम्त्याएको छ ।

इजरायलको सैन्य सेन्सरसिपले पत्रकारहरूलाई देशभित्र क्षेप्यास्त्र प्रहारको फुटेज वास्थान सार्वजनिक गर्न निषेध गरेको छ ।
नेतन्याहूले शुक्रबार बिहानदेखि इरानमा सैन्य र आणविक स्थलहरूमा गरिएको आक्रमणको लहरलाई सङ्केत गर्दै भन्नुभयो, “इजरायलले यो अभियान सञ्चालन गर्नु पूर्णरूपमा आवश्यक थियो।”

‘राइजिङ लायन’ नाम दिइएको यो अभियानको आधिकारिक उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु हो र यसले २५० भन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको इजरायली सेनाले जनाएको छ ।

नेतन्याहूले इरानको आणविक कार्यक्रम र ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतातर्फ सङ्केत गर्दै भन्नुभयो, “हामी हाम्रा सबै उद्देश्यमा पुग्नेछौँ र हामी दोहोरो अस्तित्वको खतरालाई अन्त्य गर्नेछौँ ।

इजरायल–इरान तनावः इजरायलद्वारा तेस्रो दिन पनि हवाई क्षेत्र बन्द

इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्।इजरायली यातायात र विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “सुरक्षा स्थितिका कारण र सुरक्षा अधिकारीहरूको निर्देशनअनुसार इजरायली हवाई क्षेत्र हाल नागरिक उड्डयनका लागि बन्द गरिएको छ । कुनै पनि आगमन वा बहिर्गमन उडानहरू सञ्चालन भइरहेका छैनन् ।”

इजरायली सेनाले इरानमा सैन्य र आणविक लक्ष्यमा आक्रमण गर्न थालेपछि शुक्रबारदेखि हजारौँ इजरायली नागरिक विदेशमा अलपत्र परेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

इरानले इजरायललक्षित जवाफी कारबाहीमा इजरायली शहरहरूमा सयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा आवासीय भवनहरू ध्वस्त भएका थिए र तीन बालबालिकासहित १३ जनाको मृत्यु भएको थियो।

इजरायलको विमानस्थल प्राधिकरणका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा तेल अभिभ नजिकै रहेको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने पुष्टि गर्दै भनिएको छ, “कम्तीमा छ घण्टाको पूर्व चेतावनीसहित यसलाई पुनः सञ्चालन गर्ने सूचना दिइनेछ ।”

“इजरायलका लागि उडान पुनः सुरु गर्ने निर्णय सुरक्षित ठानेपछि मात्र हुनेछ,” विज्ञप्तिमा भनिएको छ।यसैबीच, जोर्डन र इजिप्टको सिनाई प्रायद्वीपमा इजरायलको सीमा नाका खुला रहेको छ ।

पुँजीगत खर्च सोचजस्तो हुन सकेको छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १ असारः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकामा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताउनुभएको छ ।मन्त्रालयअन्तर्गतको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले नागरिकलाई देखिने गरी परिवर्तनको आभाष दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटीका साथ काम गरिरहेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “अहिलेसम्म पुँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन, यो गम्भीर प्रश्न हो । कर्मचारीहरुको कार्यसम्पादन गरेर भए पनि पुँजीगत खर्च बढाउनु आवश्यक देखिन्छ । नीतिगत सुधार आवश्यक भए हामी तयार छौँ ।”नागरिकको सरकारी अस्पतालमा विश्वास रहेको भन्दै मन्त्री पौडेलले यसलाई टिकाइराख्न आवश्यक सुधार गर्न तयार रहेको तर कर्मचारीबाट साथ खोजेको बताउनुभयो ।

उहाँले पर्याप्त पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिएको र अस्पताल नसुधारेसम्म जनशक्ति र पूर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको प्रतिक्रिया दिनुभयो ।

अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीहरुसँग उहाँले आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले सरकारी कर्मचारीहरुसहित सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सरकारले नीतिगत बाटो खोलेको भन्दै यसलाई कार्यान्वयनमा साथ दिनसमेत आग्रह गर्नुभयो । “अहिले स्वास्थ्य बीमामा स्रोत अभाव छ,” उहाँले भन्नुभयो, “सबै कर्मचारी र सङ्गठित क्षेत्र आबद्ध गराएमा ४० अर्बसम्म जम्मा हुनसक्छ । यसको कार्यान्वयनमा तपाईंहरुले साथ दिनुहोला ।”

मन्त्रिपरिषद्द्वारा मधेस प्रदेशको बजेट पारित

महेन्द्रनगर (धनुषा), १ असारः मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आज बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेशसभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको छ । अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ ।” प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट वक्तव्य पेस गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य र घोषणालाई कार्यान्वयन गर्न आगामी वर्षको बजेटले आर्थिक रूपले आधार बनाउने अपेक्षा गरिएको छ ।

तनहुँको कमलाबारीमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

दमौली (तनहुँ), १ असारः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा स्कुटरमा सवार एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका नराललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको उहाँले बताउनुभयो ।

दुर्घटनामा स्कुटरमा सवार नरालका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नंको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो ।

बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौँ, १ असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत् व्यापारबाट पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताउनुभएको छ । यस वर्ष नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आज ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट विद्युत् निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताउनुभएको हो ।

नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो ‘सिजन’को अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म विद्युत् निर्यात भएको थियो ।

ऊर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताउनुभयो । गत वर्षदेखि नेपालले विद्युत् आयातभन्दा निर्यात धेरै गर्दै आएको मन्त्री खड्काको भनाइ थियो ।

उहाँले मुलुकको दिगो आर्थिक विकासका लागि ऊर्जा क्षेत्र भरपर्दो माध्यम भएकाले यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै आएको बताउनुभयो । “सरकारले आन्तरिक विद्युत् खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,” मन्त्री खड्काले भन्नुभयो ।

उहाँले विद्युत् क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर साना आयोजनाका साथसाथै बूढीगण्डकी, अपर अरुणलगायतका ठूला आयोजनालाई अगाडि बढाउन लागिरहेको उल्लेख गर्नुभयो । विद्युत् व्यापारले नेपालको समृद्धिको आधारलाई झन् बलियो बनाउँदै लगेको मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले जलविद्युत् क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि सरकारले बिनाधितो रु दुई लाखदेखि पाँच लाखसम्मको शेयर प्रदान गर्न लागिरहेको बताउनुभयो । नेपालले हरेक वर्ष पाँच महिना बर्सातको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।

आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुनेछ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ ।

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट बङ्गलादेश विद्युत् निर्यात गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा बढीभन्दा बढी विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बङ्गलादेशमा बिजुली निर्यात गरी अर्बौं आम्दानी हुने बताउनुभयो ।

“अहिले लोडसेडिङ छैन र हुँदैन पनि, उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको छ, ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्याप झ्याप बत्ती जाने गरे पनि यसलाई हटाउँदै लगिएको छ,” उहाँले भन्नुभयो ।

त्यस्तै, नेपालले जुन १ देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएकामा आइतबार अर्थात् जुन १५ बाट बढाएर २०० मेगावाट बिक्री गरेको छ । त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत् आइतबारदेखि निर्यात हुन सुरु भएको छ ।

साना किसानहरुका लागि बैंकहरुले ऋण प्रवाहमा सहयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई समेत सहज, सरल र सुलभ ढंगले ऋण प्रवाह गर्नुपर्ने बताएका छन् । राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिका विभिन्न विषय बुझाएको ज्ञापन पत्र बुझदै मन्त्री अधिकारीले बैक तथा वित्तिय संस्थाले किसानहरुको गरिविबाट माथि उठ्न सक्नेगरि ऋण प्रवाह गर्नुपर्ने र छिट्टै मन्त्रालयले यस बारेमा नेपाल राष्ट्र वैकसँग छलफल गर्ने तयारी गरेको उल्लेख गरेका हुन् ।

यस्तै, उनले यस पटकको बजेटमा प्राङ्गारिक मलको प्रवद्र्धनका लागि मन्त्रालयले पहिलो पटक वजेटको व्यवस्था गरेको र यसवाट कृषिमा रासायनिक मलको परनिर्भरता विस्तारै अन्त्य गर्ने बाटोको सुरुवात गर्ने बताए ।

कृषि अनुदानमा दुरुपयोग भएको विषयमा गठित छानविन समितिले काम गरिरहेको र यसको प्रतिवेदन पछि दुरुपयोग गर्ने व्यक्ति तथा फर्ममाथि कारवाही गरिने पनि मन्त्री अधिकारीले बताए ।

उनले आफूले मन्त्रालयको नेतृत्व लिएपछि १ खर्व ७ अर्व रुपैयाँ अनुदान लिने व्यक्ति तथा फर्मको नाम सार्वजनिक गरेको र आगामी दिनमा यसले अनुदानमा पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे ।

मासु, अण्डा, दुध लगायतमा मुलुक आत्मर्निभर भएको र धान,गँहु मकै जस्ता वस्तुमा आत्मनिर्भरताका लागि प्रयास गरिएको भन्दै मन्त्री अधिकारीले खुल्ला सीमाका कारण निर्वादरुपमा आयात हुँदा भने किसान समस्यामा पर्ने गरेको बताए ।

कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ ।

सरकारले बजेटमा एकलौटी गरेको भन्दै माओवादी केन्द्रले प्रदेश सभा बैठक अवरोध गरेको हो । प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उपस्थित नभएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

दिउँसो ३ बजेलाई बोलाइएको बैठक माओवादीको विरोधपछि रोकिएको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सत्ता पक्षले एकलौटी बजेट प्रस्तुत गर्न खोजेपछि विरोध जनाएको बताए ।

उनले भने, ‘सरकारले एकलौटी ढङ्गबाट बजेट ल्याउने प्रयास गरिरहेको छ । योजना बैंकमा कुन–कुन योजना समावेश गरिएको छ भन्ने विषय अहिलेसम्म थाहा नहुनु गम्भीर आपत्तिको विषय हो ।’

आजको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेपनि सत्ता र प्रतिपक्षबीचको विवादका कारण प्रदेशसभा बैठक अनिश्चितकालकाल लागि स्थगित गरिएको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेटको तयारी भएर प्रस्तुतिका लागि सबै तयारी पुरा थियो। तर प्रमुख प्रतिपक्षी दल माओवादीले छलफल विना बजेट बनाइएको भन्दै असहमति जनाएपछि बैठक अघि नबढ्ने अवस्था आएको हो।

मुख्यमन्त्री कार्यालयका अनुसार बजेट अन्तिम चरणमा छ तर राजनीतिक सहमति विना प्रस्तुत गर्ने स्थिति छैन। सहमति जुटाउने प्रयास भइरहेको छ।

नागरिकलाई सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु पर्छ : सभापति देउवा

पाटन (ललितपुर), १ असारः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले व्यावसायिक हक–हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको उल्लेख गर्नुभयो । दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

“कठिन भौगोलिक अवस्थाका कारण देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्न जटिलता रहँदै आएको छ, पछिल्लो समय दिनहुँजसो भइरहेका सवारी दुर्घटनाले आम नागरिकको जीवन र सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ, कांग्रेसले यी समस्यालाई गम्भीरतापूर्वक लिएको छ,” सभापति देउवाले भन्नुभयो ।

यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ लोकतान्त्रिक यातायात व्यवसायी सङ्घमा आबद्ध व्यक्तिको एकताबद्ध प्रयास र सहकार्य आवश्यक हुने उहाँले बताउनुभयो । “लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान् यातायात व्यवसायीको हक हितका लागि कांग्रेसको सदैव साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु”, सभापति देउवाले भन्नुभयो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले विभागहरुको काम पार्टीको क्रियाशीलतासँगै त्यस क्षेत्रमा रहेका समस्याबारेमा पैरवी गर्ने रहेको उल्लेख गर्दै पार्टीको विज्ञ संस्थाका रुपमा विभिन्न विभागले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“सार्वजनिक यातायात लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, सार्वजनिक यातायातको क्षेत्र प्रभावकारी, सुरक्षित र बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ, काठमाडौँको ट्राफिक जामले वार्षिक रु ४० अर्ब खेर गएको छ, यहाँको सार्वजनिक यातायात बलियो र प्रभावकारी भए यी सबै समस्या समाधान हुन्छन्, हाम्रो सार्वजनिक यातायात अत्यन्तै चुनौतीपूर्ण छ,” उहाँले भन्नुभयो ।

धेरै जसो देशमा सार्वजनिक क्षेत्रमा साझेदारी लगानी भएकाले सफल हुँदै गएको उल्लेख गर्दै हाम्रो देशमा पनि सार्वजनिक क्षेत्रमा एकल निजी लगानीलाई भन्दा साझेदारी लगानीलाई प्रोत्साहित गरेर व्यवस्थापन गर्न जोड दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । महामन्त्री थापाले बन्दकोठामा हुने नीतिगत छलफललाई बढी प्रभावकारी बनाएर उपभोक्ता मैत्री बनाउन कानुन बनाउन लागिपर्ने उल्लेख गर्दै विभागलाई सुझाव दिन आग्रह गर्नुभयो । उहाँले नाफामा केन्द्रित हुने निजी क्षेत्रको चरित्र अनिवार्य भएको भन्दै यातायात क्षेत्रलाई नाफामुखीभन्दा सेवामुखी, प्रविधिमैत्री र व्यवस्थित बनाउन थप काम गर्न पार्टी तत्पर रहने बताउनुभयो । उहाँले सौहार्द्रपूर्ण तरिकाले सङ्घको नेतृत्व चयन भएकामा खुसी व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले यातायात क्षेत्रमा विगतमा आफूले विभिन्न अवरोध झेल्दै नेतृत्वदायी भूमिका खेलेको जिकिर गर्दै सबै किसिमको व्यवस्थापन गरी व्यवस्थित प्रबन्धका साथ यातायात व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले यातायात क्षेत्रमा नेपालीको ठूलो लगानी रहेको र नेपाल सरकारलाई कर तिर्ने महत्वपूर्ण क्षेत्र यातायात क्षेत्र भएको बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य एवम् सार्वजनिक यातायात समन्वय विभाग प्रमुख शिवप्रसाद हुमागाईंले पार्टीको संरचनाभित्र रहेको लोकतान्त्रिक यातायात व्यवसायी सङ्घलाई प्रदेश र जिल्ला तहमा समेटिएको बताउनुभयो । उहाँले रु १३ खर्बभन्दा बढी लगानी भएको सार्वजनिक यातायात क्षेत्रले सरकारी राजस्वका साथै रोजगारीमा समेत महत्वपूर्ण योगदान पु¥याएको धारणा राख्नुभयो ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सवुजकृष्ण बानियाँले सार्वजनिक सेवाको क्षेत्रमा खटिएर लागेको पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घले समयमै सभ्य रुपमा महाधिवेशन सम्पन्न गरेर महत्वपूर्ण जिम्मेवारी र उत्कृष्ट भूमिका निर्वाह गर्दै पार्टीलाई बलियो बनाउने काम गरेको बताउनुभयो । पार्टीका ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीभित्रको अन्तरविरोध र वैमनस्यता हटाउँदै पार्टीलाई बलियो बनाउन १५औँ महाधिवेशनमा सबै तहमा सर्वसम्मत नेतृत्व चयनको अभ्यास अवलम्बन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट र नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले यातायात व्यवसायलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाइनुपर्ने बताउनुभयो । सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन गत वैशाख १० र ११ गते काठमाडौँमा सम्पन्न भएको थियो ।

विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

काठमाडौं। राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिए ।

उनले भने, ‘ विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला-संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौं। जसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले प्रस्तुति दिनुहुनेछ। ‘

अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा ५० बढी मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्कने प्रकारको प्रस्तुति दिनेछन् ।

उनले पहिलो दिन सांस्कृतिक कार्यक्रम र दोस्रो दिन वार्षिक साधारणसभा पनि हुने जसमा केही विधान संशोधन हुने जानकारी दिए । ‘कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पहिलो दिन ‘भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ भन्ने मूल नारासहित वृहत्त थारू सांस्कृतिक कार्यक्रम हुन्छ,’ उनले भने, ‘दोस्रो दिन वार्षिक साधारणसभा गर्छौं।’

कार्यक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुण कुमार चौधरीको उपस्थिति रहने उनले बताए ।यसका यसका अतिरिक्त, कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामाग्रीहरूको प्रदर्शनी पनि राखिनेछन्।

राष्ट्रिय स्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलो पटक यस्तो बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेकाले अर्थ व्‍यवस्थापनका लागि काठमाडौंका विभिन्न ठाउँमा टिकट खुल्ला गरिएको उनले बताए ।

यो कार्यक्रम किन गर्न लागिएको भन्‍ने पत्रकारको प्रश्न‍मा उनले भने, ‘यो केवल मनोरञ्जनको माध्यम नभई थारू पहिचानको संरक्षण र सशक्तिकरणतर्फको सार्थक प्रयास हो। यसले अरू जातिलाई पनि आफ्नो कला र संगीत जोगाउने चेतना आओस भन्‍ने हाम्रो उद्देश्य हो। साथै भाषा पनि बचोस् भन्‍ने हाम्रो ध्येय हो।’

उनले कार्यक्रमलाई भव्य र सुसंस्कृत बनाउन सम्पूर्ण थारू संघसंस्था, संस्कृति प्रेमी र सरोकारवालालाई सहभागी हुन अपिल गरे ।कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क १,००० रुपैयाँ तोकिएको छ भने टिकटको प्रि-बुकिङ खुला भइसकेको र कार्यक्रम स्थलमै पनि टिकट उपलब्ध हुने उनले जानकारी दिए।

सालघारीको सर्पट फँडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फँडानी र चोरी–निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज भएको वन मन्त्रालयको ‘ब्रिफिङ’का क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरुमा वन फँडानी र चोरी भइरहेको जानकारीमा आएकाले कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।

वन तथा वातावराणमन्त्री ऐनबहादुर शाही, कानुुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रसहितको छलफलमा प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा हुने फँडानी रोक्नैपर्ने बताउनुुभएको हो ।

प्रधानमन्त्री ओलीले यसअघि गत वैशाख २७ गते सोही मन्त्रालयद्वारा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन कार्यक्रममा पनि सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रूखहरुको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने धारणा राख्नुुभएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले वन मन्त्रालयबाट दिइने वातावरणीय परीक्षण मूल्याङ्कन (इआइए) को स्वीकृतिमा ढिलाइ हुँदा कतिपय आयोजनाको अवधि सकिए सञ्चालन अनुुमति सकिने र धरौटी जफत हुने समस्यालाई ध्यान दिएर कानुनमा हुनुुपर्ने संशोधनको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

ब्रिफिङमा मन्त्रालयले तयार गरेको ‘नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२’ को मस्यौदाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो । प्रस्तावित मापदण्डमा सवारी साधनमा युरो–६ र समानताको मापदण्ड लगाउनेलगायत व्यवस्थाहरु गरिएका छन् । प्रधानमन्त्री ओलीले सवारी प्रदूूषण मापदण्डका साथै वन–जङ्गल डढेलो र छिमेकी मुलुकलगायतबाट डढाइने छ्वालीको धुवाँका कारण नेपाली आकाश प्रदूषित हुने समस्याका विषयमा क्षेत्रीयस्तरमा सम्मेलन गरी समाधानको उपाय निकाल्नुुपर्नेमा जोड दिनुुभयो ।

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ: विराजभक्त श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । नौ वर्षअघि विवेकशील नेपाली दल हुँदै राजनीतिमा प्रवेश गरेका पूर्वयुवा तथा खेलकुदमन्त्री श्रेष्ठ बागमती प्रदेशका पूर्वप्रदेशभा सदस्य हुन् । पर्यटन व्यवसायीसमेत रहेका उनी सम्पदा संरक्षणलगायत विभिन्न सामाजिक सेवामा आबद्ध छन् ।

काठमाडौँको इन्द्रचोकमा जन्मिएका युवा सांसद श्रेष्ठसँग राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

माननीयज्यू, आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

पछिल्लो समय संसदीय गतिविधिमा अलि बढी व्यस्त छु । योसँगै काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मेरो निर्वाचन क्षेत्र भएकाले निर्वाचन क्षेत्रका काम अनि मतदातासँग भेटघाटमा समय बितिरहेको छ । निर्वाचन क्षेत्रमा सांस्कृतिक र संस्कृतिका सवालमा स्थानीयका गुनासो सुन्ने र त्यसको सम्बोधन गर्न सक्दो पहल गर्ने काम भइरहेको छ ।

अहिले भइरहेको संसदीय अभ्यासलाई कसरी हेर्नुभएको छ ?

संसद्ले गर्नुपर्ने धेरै काम छ । संविधान कार्यान्वयनकै चरणमा छ । संविधानबमोजिम संसद्ले समयसापेक्ष ऐन, कानून र नीतिहरू बनाउनुपर्ने छ । कानुन निर्माणमा सबै पक्षको तदारुकताको आवश्यकता छ । सङ्घ र प्रदेशको साझा अधिकारलाई कानुनमार्फत खुकुलो बनाइनुपर्ने छ । त्यसतर्फ संसद्को आवश्यक ध्यान पुग्नसकेको छैन । जसले जनआक्रोश बढाउन सहयोग पुर्याएको हो कि भन्ने लागेको छ । जुन उद्देश्यले संविधान ल्याएको हो, सोहीअनुसार प्रभावकारी काम नभएपछि जनतामा एक खालको आक्रोश देखिनुलाई अन्यथा भन्न मिल्दैन ।

संसद्मा परिवर्तनकारी र रुपान्तरकारी शक्तिबीचमै पनि हार्दिकता भएन भन्ने सुनिन्छ, यसबारे तपाईँको भनाइ के छ ?

हाम्रो पार्टीको उदय नै अरु पार्टीले देश र जनताको हितमा काम गर्न सकेनन् भन्ने कोणबाट भएको थियो । निर्वाचनमा पनि सोहीअनुरुप मत प्राप्त भयो । सरकारमा सहभागी भएपछि हामीप्रतिको आशामा परिवर्तन भयो । पार्टीको उदयसँगै हामीले सुशासन र सेवा प्रवाहका कुरा उठाएका थियौँ । किनभने कानुन कागजमा मात्र सीमित हुँदैन । मानिसले कानुनको अनुभूति गर्न पाउनुपर्छ । त्यो नहुँदा समाजमा द्वन्द्व सृजना गर्छ । समग्रमा सदनमा आआफ्ना दलीय एजेण्डा उठाए पनि एकअर्का नेता र दलप्रति सद्भाव र हार्दिकता कायमै छ ।

अहिले भइरहेको संसदीय अभ्यासलाई अझै उत्कृष्ट बनाउन कहाँनिर सुधार गर्नुपर्छ होला ?

अहिले  जनताको प्राथमिकताको विषय सुशासन हो, त्यतातिर ठोस रूपमा काम हुनुपर्नेमा भएको छैन । सदन समयसापेक्ष कानुन बनाउने थलो हो । तर, गएको साढे दुई वर्षलाई समीक्षा गर्ने हो भने त्यतातिर ध्यान गएको देखिँदैन । कतिपय ठाउँमा राजनीतिक स्वार्थभन्दा पनि माथि उठेर काम गर्नुपर्ने हुन्छ । यसअघि म बागमती प्रदेश सांसद थिएँ । कानुन निर्माणमा हामी दत्तचित्त भएर लाग्यौँ, संसदीय समिति पनि सक्रिय बनायौँ । त्यो कार्यकालमा ६५ वटा कानुन बनाइयो । त्यसअनुसारको सङ्घीय सदनमा सक्रियता देखिन्न । सदनलाई चलायमान गराउन सरकारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । किनभने विधेयक ल्याउने भनेको सरकारले नै हो । यहाँनिर ठूला दलको ध्यान पुग्न सकेन भन्ने मेरो बुझाइ छ ।

तपाईँ पूर्वमन्त्री पनि हुनुहुन्छ, तपाईँको बुझाइमा सरकार भनेको के रहेछ ?

सरकार भनेको राज्य सञ्चालन गर्न आवश्यक स्रोत साधन जुटाउने तथा परिचालनका लागि आवश्यक व्यवस्थापन गर्ने निकाय र अभिभावक हो । विकास भनेको कानुन र नीतिले गर्ने हो, मन्त्रीले होइन । खेल खेलाडीले खेल्ने हो, त्यसका निम्ति सरकारले नीति, नियम र कानुन बनाइदिने हो । मैले युवा तथा खेलकुदमन्त्री हुँदा पाँचवटा जति नीतिनिर्माणका काम गरेँ । त्यसबेला राष्ट्रिय स्वयंसेवा नीति अगाडि बढाइयो । मन्त्री र मन्त्रालयले चाहेको खण्डमा धेरै काम गर्न सक्ने ठाउँ छ । बजेट विनियोजनका हिसाबले युवा तथा खेलकुद मन्त्रालयलाई गरिब मन्त्रालयका रूपमा हेरिन्छ । तर ‘स्टेन्थ’ भनेको बजेटभन्दा पनि नीति हो ।  हामीले मौद्रिक नीतिलाई खेलसँग जोडेर कसरी लैजान सकिन्छ भनी काम गर्न कोसिस गरियो । खेलकुदलाई व्यावसायिक र प्राज्ञिक बनाउनेतर्फ पनि काम गरेका थियौँ ।  फलस्वरुप अहिले खेलाडी खेलबाट नै पैसा कमाएर जीवनयापन गर्न सक्ने भएको छ । नेपाली खेलाडीले नै देशलाई अन्तरराष्ट्रिय रूपमा चिनाएका छन् । तर,  खेल र खेलाडीलाई त्यसअनुरुप बुझ्ने र  सम्मान गर्ने काम हुनसकेको पाइँदैन ।

तपाईँहरूले उठाउँदै आएको सुशासनको मुद्दाले अहिले पार्टी नेतृत्वलाई नै अप्ठ्यारो बनायो भनिन्छ नि ?

हामी ठिक अरु सबै गलत भनेको होइन । तर, सुशासनका मुद्दाले नै हामी स्थापित भएको हो । त्यो कायम गर्ने क्रममा हामीलाई केही अप्ठ्यारो भएको हो । मैले खेलकुद मन्त्रालय सम्हाल्दै गर्दा मन्त्रालयको एउटा विभागमा रु एक अर्ब २७ करोडको भ्रष्टाचार भएको पाएँ । त्यो अवस्थामा सुशासन कायम गर्छुभन्दा घेराबन्दीमा परियो । देशमा राजनीतिक नेतृत्व, नीतिनियमभन्दा पनि बिचौलिया विस्तारै संस्थागत भइरहेकोजस्तो लाग्छ । बिचौलिया सबै क्षेत्रमा छन् । हरेक मन्त्रालयको आआफ्नो सिन्डिकेट रहेछ । त्यो सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा पनि बलियो हुँदै गएको छ ।

पहिलोपटक सदनमा आएको रास्वपा त्यसबेला सरकारमा जान अलि हतारो गर्यो भनी आएका टीकाटिप्पणीलाइ के भन्नुहुन्छ ?

पहिलोपटक हाम्रो पार्टी सरकारमा सहभागी हुने बेलामा सभापतिजीले सोध्नु भएपछि  मैले भने हामीलाई सरकारमा जाने ‘म्यान्डेट’ दिएका छैनन् भनेको थिएँ । तर सभापतिले यत्तिकै बसेर हुँदैन, जनताले सेवा प्रवाह खोजिरहेका छन् भन्नुभयो । संसद्को चौथो ठूलो दल हुनुका नाताले सरकारमा जानै हुन्न भन्ने पनि हुँदैन ।  त्यतिबेला सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने, गए पनि शर्तका आधारमा जाने, भरसक नजाने विषयमा सल्लाह दिएको थिए । तर सभापतिको चाहना जनताले तत्काल राहत खोजेकाले सुशासन र डेलिभरी दिन जानुपर्छ भन्ने भयो ।

युवा पलायनलाई कसरी विश्लेषण गर्नुभएको छ ?

युवा पलायनलाई एकतर्फी मात्र नभई बृहत्तर रूपमा हेरिनुपर्छ । मानिसको बसाइँ सर्ने विषय नियमित प्रक्रिया हो । यद्यपि, विदेश जानुको कारण भने खोज्नपर्छ । देशको राजनीतिक, सामाजिक वा बेरोजगारी के कारण युवा विदेश गएका हुन् भनी कारण पत्ता लगाउनुपर्छ । सेवा सुविधा आदि कारणले पहाडमा समस्या भयो भनी तराईमा बसाइँसराइ भएको कुरा यथार्थ हो । नौ महिना खेती गरेर तीन महिना पनि खान नपुगेपछि मानिस तराईमा सर्न बाध्य भएका हुन् । सुविधा खोज्दै बसाइँ सर्ने क्रम बढ्दो छ । त्यसैले युवा विदेश गएको विषयलाई पूर्ण रूपमा नकारात्मक परिभाषा पनि गर्नु हुँदैन । यद्यपि, रोजगारीमा विदेश जाने युवाका निम्ति रोजगारीका अवसर व्यवस्था राज्यले यही गर्नुपर्छ । युवालाई विदेश पठाउने हो भने दक्ष बनाएर मात्र पठाउनुपर्छ । युवा पलायन हुनु भनेको राजनीतिमा भ्रष्टाचार पनि हो ।

तपाईँहरूले भनेजस्तो मुलुकमा सुशासन कसरी कायम गर्न के गर्न सकिएला ?

अहिले प्रमुख दुई ठूला दल मिलेर गठन भएको सरकार दुईतिहाइको छ । सुशासन कायम गर्ने हो भने सरकारलाई उपयुक्त समय छ । संविधान संशोधन, कानुन र नीतिनियम नै परिवर्तन गर्न सक्ने बहुमत छ । उनीहरूको सत्ता सञ्चालनको लामो अनुभव पनि छ । यी सबै कारणले वर्तमान सरकारलाई देशमा सुशासन काम गर्न बाटो खुला छ । तर सुशासन कायम हुनसकेको छैन । सुशासनको सवालमा जनताले धेरै ठूलो कुरा खोजेको पनि होइन । बत्ती झ्याप्पझ्याप्प नजाओस्, बाढीले घर नबगाओस्, राज्यबाट प्रदान गरिने सेवासुविधा लिन जाँदा आत्मसम्मानमा ठेस नपुगोस् भन्ने जनताले खाजेको छ ।

संविधान संशोधनको विषयमा तपाईँको पार्टीको धारणा के हो ?

जनतालाई तीनवटा विषय हेरिदिन अनुरोध गर्दछु । पार्टीको वाचापत्र, जलेश्वरको प्रस्तावना र पछिल्लो राष्ट्रिय भेलाको दस्तावेजलाई बुझ्नुपर्छ ।  त्यहाँ भद्दाखाले शासकीय स्वरुपमा संशोधन गर्नुपर्छ भनेका छौँ । यसअघि म प्रदेशको सांसद थिएँ, तथापि प्रदेश सरकारको औचित्यमा प्रश्न उठेको छ । जनतालाई हामीले रगतपसिना बगाएर तिरेको करबाट सांसद र मन्त्रीले तलब खाएका छन्, तर काम  गरेका छैनन् भन्ने परेको छ । हामीले तिरेको करले दुईचार जना मन्त्रीलाई झण्डा हल्लाउन मात्र हो र भन्ने छ । स्थानीय तहको सङ्ख्या र निर्वाचन प्रणालीमा संविधान संशोधन गर्नुपर्छ भन्ने छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्छ भन्ने पार्टीको धारणा हो । यी विषय जनतामा लगेर छलफल गरिनुपर्छ । संविधान संशोधनका क्रममा जनताबाट लिएको सुझावलाई पनि अध्ययन गरी सम्बोधन गर्नुपर्छ ।

अन्त्यमा, आमजनतालाई तपाईँको सन्देश के छ ?

देश बनाउने भनेको राजनीतिक नेतृत्वले मात्र होइन । आमनागरिकको पनि उत्तिकै भूमिका हुन्छ । हामी सबैले अतिकति सकारात्मक सोच राखेर काम गरियो भने देशमा परिवर्तन गर्न सकिन्छ । रचनात्मक हिसाबले हामीले काम गर्न सकेको खण्डमा देश विकासको सम्भावना खोज्न सक्छौँ । त्यसका लागि नागरिक पनि विवेकशील हुनुपर्छ ।

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

काँक्रेविहार (सुर्खेत), १ असार : जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रुकुमपश्चिमका आठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश०२००१प ६५५६ नम्बरको मोटरसाइकलले नलगाड –७ चामेखेतमा विकलाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते विकको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिनुभयो । ठक्कर दिने सवारीचालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई युवा मिलेर तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

घोराही (दाङ), १ असारः रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेतीमा सम्लग्न हुनुहुन्छ । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउनुहुन्छ ।

कृषि विषय अध्ययन गर्नुभएका उहाँ आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुभयोे, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले सात वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एक जना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि विगत दुई वर्षदेखि गर्दै आएका छौँ ।” यसबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आउनुभएको छ ।

घुस्रामा साढे चार बिघा जग्गा तरबुजाखेतीका लागि भाडामा लिएको उहाँले बताउनुभयो । उक्त जग्गाको रु ८० हजार तिर्ने गरेर तीन महिना अवधिका लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहनुभएको छ ।

अहिले आहाना, सरस्वती र विशाला जातको तरबुजा रु ५० किलोका दरले र आरोही रु ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताउनुहुन्छ । अहिले दैनिक एक हजार किलो बिक्री हुन्छ । हालसम्म आधाभन्दा बढी बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । बाहिर देशबाट सस्तोमा भित्रिँदा स्थानीय किसान मारमा पर्ने गरेको उहाँको भनाइ छ । गत वर्ष रु १२ लाखको कारोबार गरेको उहाँले बताउनुभयो ।

यस वर्षको हालसम्म रु पाँच लाखको कारोबार गर्न सफल भएको उहाँ बताउनुहुन्छ । “सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ”, किसान वलीले भन्नुभयो । स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुने छ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उहाँ बताउनुहुन्छ ।

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुग्नुभएका घोराही –१४ का अर्जुन केसी गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उहाँ बताउनुहुन्छ । आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उहाँ आग्रह गर्नुहुन्छ । खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् ।