`

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

बेनी (म्याग्दी) ३ असारः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो ।

आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिएको हो । विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युत्गृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।

“आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ, परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुन्छ”, आयोजना प्रमुख काफ्लेले भन्नुभयो । विसं २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो ।

यस आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँ हुँदै बाँध र विद्युत्गृह निर्माणस्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ । एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्याएपछि आयोजनाबाट ढिला गरी विद्युत् उत्पादन भएको हो ।

विद्युत्गृहमा दुईवटा टर्वाइन जडान गरेर विद्युत् उत्पादन सुरु भएको छ । रेलेखर्कस्थित निर्माण भएको बाँध क्षेत्रमा पानी थिग्य्राउने पोखरी, अण्डर स्वीच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवेलगायत पूर्वाधार बनाएर तीन हजार ५०० मिटर लामो पेनस्टक पाइप लाइनमार्फत पानी ल्याएर विद्युत्गृहमा खसाली उत्पादन गर्न थालिएको आयोजनाका इलेक्टिकल इञ्जिनियर सुनिलकुमार शाहले जानकारी दिनुभयो ।

हरिस्वाँरामा रहेको विद्युत्गृहमा पानी खसाल्ने हेड ५१० मिटर उचाइको छ । विद्युत्गृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको चार दशमलव तीन किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । रु एक अर्ब ३५ करोड वित्तीय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

यस आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालि इन्डियाले ठेक्का लिएका थिए । अक्करे भिर पहाडलाई छिचोलेर पहुँचमार्ग बनाउनुपरेको र बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत् उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताउनुभयो । नारच्याङमा यसअघि एक सय १० मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासेट, पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित,सतर्कता अपनाउन आग्रह

बैतडी, ३ असारः सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् । बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएका छन् । ठेउला सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो ।

ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित भएकाले केही विद्यालयसमेत बन्द गरिएका छन् । ठेउला सरुवा सङ्क्रमण भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यसबाट बालबालिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति बढी प्रभावित हुने भएकाले ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

ठेउला भएमा ज्वरो आउने, शरीरभरि बिमिरा आउने, शरीर दुख्ने, भोक नलाग्नेलगायत लक्षण देखापरेका छन् । यस्ता लक्षण देखापरेमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।

ठेउला सङ्क्रमित व्यक्तिलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने उहाँले बताउनुभयो । यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन भनिएको छ । केही ठाउँमा ठेउला रोग देखिएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताउनुभयो ।

त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् ।

सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।

यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ ।यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ, ३ असारः उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बृद्धि भएको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन आगमनदर वृद्धि हुँदै गएको हो ।

जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तीर्थस्थल यहाँको मुख्य धार्मिकस्थलका रूपमा चर्चित छ । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँको पर्यटकीय गन्तव्य हुन् । पृथक भूगोल, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले मुस्ताङ घुम्नैपर्ने मुख्य आर्कषक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

जिल्लाका यिनै धार्मिक, सामाजिक, सांस्कृतिक संस्कृतिका साथै यहाँको पृथक प्रकारका भूगोल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक भ्रमण गर्न लालायित हुने गरेको पाइएको छ । विगत पाँच वर्षको पर्यटकीय तथ्याङ्क तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक सङ्ख्या बढेको देखिन्छ ।

यसैक्रममा आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि जेठसम्मको ११ महिनामा स्वदेशी तथा विदेशी गरी छ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आव २०८०÷८१ मा चार लाख ५४ हजार ३२६ स्वदेशी तथा विदेशी पर्यटकले जिल्ला भ्रमण गरेका थिए । गत वर्षको तुलनामा चालु आवको ११ महिनामा दुई लाख २४ हजार २१० जना अर्थात् ३३ प्रतिशतले पर्यटक बढेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी पाँच लाख ३९ हजार ८७२ र विदेशी एक लाख ३८ हजार ६६४ जनाले मुस्ताङ भ्रमण गरेका छन् । गत वर्षको बाह्र महिनामा स्वदेशी तीन लाख ५४ हजार ९२७ र विदेशी ९९ हजार ३९९ जनाले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षभन्दा चालु आवको ११ महिनामा स्वदेशी पर्यटक ३४ दशमलव २५ प्रतिशत र विदेशी पर्यटक २८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको हो । चालु आवको साउनदेखि जेठसम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिकमा ९९ हजार १७६ र चैतमा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरीको तथ्याङ्क छ ।

यसैगरी विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठमा २८ हजार ३७२ र वैशाखमा २६ हजार २९ जना विदेशीले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो । मुस्ताङमा अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका साथै कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पिण्डदान र तर्पण दिन आउने गर्छन् । मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी पर्यटकमध्ये एक चौथाइले उपल्लो मुस्ताङ र कोरलानाकाको भ्रमण गरी फर्किने गरेको पाइएको छ ।

मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकमा ८० प्रतिशत भारतीय रहेका छन् । मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक मुस्ताङ आउने गर्छन् । कुल विदेशी पर्यटकको सङ्ख्यामध्ये २० प्रतिशत अन्य मुलुक छन् । यसमा ७२ देशका पर्यटक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४६, आलु रातो भारतीय प्रतिकिलो रु ४३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, मूला रातो प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, टाटे सिमी मूल्य प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ४५, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६५, चुकुन्दर प्रतिकिलो रु ७०, रातो बन्दा रु ७०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १४, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु २१०, भेडे खुर्सानी प्रतिकिलो रु ६५, धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा

वीरगञ्ज (पर्सा), ३ असार : मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ अभियान अघि सर्यो ।

वीरगञ्ज महानगर–१३ मुर्लीस्थित सडकसँगै जोडिएको नालीमा पनि रातकै समयमा श्रमिक खटाएर नाली सरसफाइ अभियानलाई अघि बढाइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मनसुनको समयमा वीरगञ्जमा डुबानको समस्या देखिनसक्ने भन्दै घण्टाघरको हुलाक कार्यालयबाट भन्सार कार्यालयसम्म नाला सरसफाइको अभियानलाई तीव्रता दिएको बताउनुभयो । “महानगरले सरसफाइ अभियानलाई कुनै पनि हालतमा सम्झौता गरेको छैन”, उहाँले भन्नुभयो, “वैभव वीरगञ्ज अभियानलाई साकार पार्न पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेका छौँ ।”

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पनि वीरगञ्ज महानगरले पछिल्लो समय रातको समयमा पनि सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेको बताउनुभयो । “एक दशकअघिको वीरगञ्ज र अहिलेको वीरगञ्जमा धेरै परिवर्तन देखिसकेको छ”, उहाँले भन्नुभयो, “हामीले भन्नुभन्दा पनि यहाँ घुम्न आउने सर्वसाधारणले वीरगञ्ज सरसफाइ भएको अनुभूति गर्दै आइरहनुभएको छ ।”

अध्यक्ष खेतानले महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि बढाउँदै आइरहेको बताउनुभयो । “विगतमा मनसुनको समयमा यहाँका विभिन्न ठाउँमा डुबानको समस्या देखिन्थ्यो”, उहाँले भन्नुभयो, “सोही समस्या समाधानका लागि महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि सार्दै आइरहेको छ । यो कार्य निकै सराहनीय छ ।”

महानगरले रातको समयमा पनि एक्जाभेटर, ट्रयाक्टरको सहायताले नाली सरसफाइ गर्दै आइरहेको छ । अर्काेतर्फ टोलतर्फको नाली भने मानव जनशक्ति प्रयोग गर्दै साना प्रकृतिको नाला सरसफाइ गर्दै आइरहेको छ । वीरगञ्ज महानगरको फोहरमैलाको व्यवस्थापनको जिम्मेवारी पाएको एनके इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वर्षायाममा वीरगञ्जका नाली भरिएर सडकमै पानी छताछुल्ल हुने समस्यालाई न्यूनीकरण गर्न नाली सरसफाइ अभियान अघि सारिएको बताउनुभयो । महानगरभित्रको सम्पूर्ण फोहरमैला व्यवस्थापनको जिम्मेवारी सार्वजनिक–निजी साझेदारीअन्तर्गत एनके इन्टरप्राइजेजले पाएको छ ।

वीरगञ्ज महानगर–१३ का स्थानीय नैमाजुदिन अन्सारी सडक बनेको तीन वर्षमा मात्र नाली सरसफाइ गर्न थालिएको बताउनुभयो । “नालीमा विभिन्न खालका फोहर जम्मा भएर भरिएको थियो”, उहाँले भन्नुभयो, “महानगरले रातको समय पारेर नालीको ढकन खोलेर सरसफाइ अभियान सुरु गरेर राम्रोे कामको सुरुआत गरेको छ । यस्ता अभियानलाई निरन्तर अघि बढाउन जरुरी छ ।”

वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरले पछिल्लो समय नाली सरसफाइ कार्यक्रमलाई विशेष महत्व दिँदै आइरहेको बताउनुभयो । “हामीले वर्षाैँपछि नाली सफाइ अभियानकै रूपमा अघि बढाउँदै आइरहेका छौँ, यसले वर्षायाममा हुनसक्ने डुबानलाई न्यूनीकरण गर्न सघाउ पुग्ने छ”, उहाँले भन्नुभयो ।

जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

जुम्ला, ३ असार : चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छभने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका गए राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिनुभयो । घाइतेहरूको सो प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु

इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ ।

सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”

प्रत्यक्ष प्रशारणबाट उहाँले भन्नुभयो, “इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिंदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो ।”

यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ बताउनुभएको थियो ।

“इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ,” उहाँले एक विज्ञप्ति जारी गरी बताउनुभएको थियो । उहाँले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन उर्दी जारी गर्नुभएको थियो ।

त्यसैगरी इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।

किसानको चैते धानको उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबीच छलफल

काठमाडौँ, ३ असारः किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच सोमबार वाणिज्य मन्त्रालयमा छलफल भएको छ । छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्यव्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो ।

चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट चामल आयातको अवस्था, खाद्यव्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्नसक्ने अवस्था, भण्डारण क्षमतालगायत विषयमा छलफल भएको कृषिमन्त्रीका प्रेस सल्लाहकार प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

हाल खाद्यव्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल, चिउरा र भुजिया निर्यात गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, खाद्यमार्फत धान खरिद गर्न अर्थ मन्त्रालयसँग बजेटलगायत विषयमा पहल गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मूल्य पाउन सम्बन्धित निकायको पहल आवश्यक रहेकामा जोड दिनुभयो । उद्योगमन्त्री भण्डारीले कृषि, उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत बसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताउनुभयो ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, वाणिज्य तथा आपूर्ति सचिव डा रामप्रसाद घिमिरे र खाद्यव्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ६९ पैसा तोके पनि झापासहित पूर्व र पश्चिमका जिल्लामा किसानले १५ देखि एक हजार ६०० रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

हाल डेढ लाख मेट्रिकटनको हाराहारीमा किसानसँग चैते धान बिक्रीका लागि रहेको अनुमान गरिएको छ । पछिल्लो समय भारतबाट मात्र करिब रु ३१ अर्बको चामल आयात भएको जनाइएको छ ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

कास्की, ३ असारः स्याङ्जा पोखरामा जारी तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार भएको समूह ‘ए’ को लिग चरणको खेलमा तनहुँलाई २९ रनले हराउँदै स्याङ्जा उपाधि नजिक पुगेको हो ।

कप्तान सन्दीप क्षेत्रीको उत्कृष्ट प्रदर्शनले स्याङ्जा समूह विजेता बनेको हो । स्याङ्जाले टस जितेर पारीको सुरूआत गर्दै तनहुँविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८८ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो ।

सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा छ चौका र आठ छक्का सहित ९९ रन बनाए । खेलमा जितका लागि १८९ रनको लक्ष्य पछ्याएको तनहुँ १९ ओभरको तेस्रो बलमा सम्पूर्ण विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो । तनहुँको बंश क्षेत्रीले छ चौका प्रहार गर्दै ४५ बलमा सर्वाधिक ५६ रन बनाए ।

यसैगरी सोमबार नै सम्पन्न बाग्लुङ र म्याग्दीबीचको खेलमा बागलुङले म्याग्दीलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

समूह ‘ए’को लिग चरणको अन्तिम खेलमा बाग्लुङ आफ्नो तीन खेलमा दुईमा हार र एकमा जित गरी दुई अङ्कका साथ समूहमा तेस्रो स्थानमा रहँदा म्याग्दी अङ्कविहीन बन्न पुग्यो ।

वर्षाका कारण घटाइएको १० ओभरको छोटो खेलमा म्याग्दीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित १० ओभरमा म्याग्दीले तीन विकेट गुमाउँदै ६४ रन मात्र बनायो ।

जवाफी ब्याटिङमा बागलुङले पाँच ओभरको तेस्रो बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । बागलुङका लागि सन्दीप यादव २० रनमा अविजित रहे ।

प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरणअन्तर्गत भोली समूह ‘बी’ अन्तर्गतका खेलहरु सञ्चालन हुनेछन् ।

पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच सञ्चालन हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । समूह ‘बी’को बिजेताले फाइनलमा स्याङ्जासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता कूल आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छन् । प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख र ट्रफी, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु दुई हजारसहित ट्रफी प्रदान गरिनेछ ।

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी, ३ असार -सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हँुदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो ।

एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । विसं २०५६ मा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । यसअघि एक घण्टाको यात्राअवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु तीन करोड विनियोजन भएको छ ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७÷७८ मा रु ४०–४० करोड विनियोजन गरेको थियो ।

दुई वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

मंगलबार बिहान साढे ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गरिदैछ । यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ ।

यस्तै, आज दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ८० औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।

अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिने : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताउनुभएको छ ।

युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिखर सम्मेलनका लागि क्यानाडा जाने क्रममा भियनामा पत्रकारसँग भन्नुभयो, “हामी आज अमेरिकासँग थप सहायताका बारेमा कुरा गर्नेछैनौ । वास्तवमा, बैठकमा मैले राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने एउटा मुद्दा भनेको युक्रेनले खरिद गर्न तयार रहेको रक्षा प्याकेज हो।”

तीन वर्षभन्दा बढी समयदेखि रुसी सेनाविरुद्ध आफ्नो देशको लडाईंको नेतृत्व गरिरहेका युक्रेनी राष्ट्रपतिले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाको मद्दत बिना कसरी लड्न र बाँच्ने म कल्पना पनि गर्न सक्दिनँ र चाहन्न पनि ।“

उहाँले भन्नुभयो, “मलाई लाग्छ, अमेरिका र युरोपबीचको गठबन्धन टुट्न नदिन हामी सबैले काम गर्नुपर्छ ।”

जेलेन्स्कीले जी–७ शिखर सम्मेलनलाई आफूले ’अत्यन्त महत्वपूर्ण’ अवसरका रूपमा हेरेको र त्यहाँ हामी सबैले ‘रुसी राष्ट्रपति भ्लादिमिर’ पुटिनलाई रोक्न कस्तो दबाब दिन सक्छौं ताकि उहाँले आक्रमण र युद्ध रोक्न बाध्य हुनुपरोस् ।”

उहाँले भन्नुभयो, “हामी रोकिएको रुसी सम्पत्तिको युक्रेनी हितमा प्रयोगका बारेमा नेताहरूसँग छलफल गर्नेछौँ र प्रतिबन्धबारे पनि छलफल गर्नेछौँ ।”

यसअघि, नेता जेलेन्स्कीले अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनसँग भियनामा आफ्नो छोटो यात्राको क्रममा भेटवार्ता गर्नुभएको थियो ।

जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँ र बेलेनले युक्रेनको युद्धपछिको पुनर्निर्माणका बारेमा अस्ट्रियाको अन्तिम योगदानको बारेमा कुरा गर्नुभएको थियो । यसमा जसमा बारूदी सुरङ सफा गर्ने, ऊर्जा सहयोग र खाद्य सुरक्षाजस्ता बिषय समावेश छन् ।

अस्ट्रियाका राष्ट्रपतिले आफ्नो देश सैन्य रुपमा तटस्थ रहे पनि राजनीतिक रुपमा त्यस्तो नभएको बताउनुभयो ।

युक्रेनमाथि आक्रमण गर्नुअघि अस्ट्रियाको रूससँग राम्रो सम्बन्ध थियो, तर यसको अझै पनि केही आर्थिक सम्बन्धहरू छन् तर ती सम्बन्धहरू विगत तीन वर्षमा उल्लेखनीय रूपमा बिग्रिएका छन् ।

अस्ट्रियाको अति दक्षिणपन्थी विपक्षी एफपीओई पार्टीले जेलेन्स्कीको भ्रमणको आलोचना गरेको छ ।

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

सिरहा, ३ असार : दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ ।

स्थानीय जगेश्वर यादवले सडक पक्की हुने जनाउँदै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गर्नुभयो । “ठेकेदारले सडक छेउ खनेर त्यसै छाडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा हिलो र हिउँदमा धुलो खेप्न बाध्य छौँ”, उहाँले भन्नुभयो ।

अर्नमा गाउँपालिका–३ का सिकेन्द्र यादवले दुई वर्षभित्रमा कालोपत्र गर्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले हिलो धुलोले थप पीडा भएको बताउनुभयो । सिरहा क्षेत्र नं ३ मा पर्ने यो सडक हरेक चुनावमा चुनावी मुद्दा बन्ने गर्छ । तर, चुनावसँगै यो सडकको मुद्दा हराएर जाने गरेको यादवको भनाइ छ । उहाँले भन्नुभयो, “प्रत्येक आमचुनावमा आश्वासनमात्र पाइयो । निर्माण सुरु भएपछि त समयमै सम्पन्न होला भन्ने आशा पलाएको पनि थियो । तर समस्या ज्यूँका त्यूँ रह्यो ।”

हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले झण्डै पाँच वर्षदेखि यो सडक निर्माण गरिरहेको छ । ट्रयाक खोलेर सडक कालोपत्रका लागि २०७७ साल भदौमा ठेक्का स्वीकार भई २०७९ साल फागुन २३ भित्र काम सम्पन्न हुनेगरी तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभएको थियो । तर यो लामो अवधिभरमा अहिलेसम्म सडकका केही ठाउँमा नाला बनाउन र ग्राभेल हाल्नबाहेक खासै काम भएको छैन ।

यस अवधिमा निर्देशनालयले पहिलोपटक २०८० साल फागुन २२ र दोस्रोपटक २०८१ साल फागुन २२ सम्म एक–एक वर्ष गरी दुईपटक म्याद थप गरिदिएको छ । यो म्याद सकिसक्दा पनि अहिलेसम्ममा सडकको भौतिक प्रगति करिब २८ प्रतिशतमात्र रहेको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो । उहाँले पुनः अन्तिमपटकलाई ठेकेदार कम्पनीलाई एक वर्षको म्याद थप्ने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “आशा गरौँ, यो अवधिभित्र काम सम्पन्न हुन्छ, भएन भने हामी ठेकेदारलाई कारबाही गर्ने प्रक्रियातर्फ अगाडि बढ्छौँ ।”

यो सडक निर्माणमा ठेकेदार कम्पनी र निर्देशनालयको बेवास्ताका कारण यहाँका सर्वसाधारणले सास्ती भोग्नुपरेको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवको गुनासो छ । समयमै काम सम्पन्न गर्न ठेक्का लिएको निर्माण व्यवसायी कम्पनीलाई अनुरोध गरे पनि अहिले उनीहरू सम्पर्कमै आउन छाडेको अध्यक्ष यादवले बताउनुभयो ।

निर्देशनालयले सडक निर्माणका लागि रु ९१ करोड ३९ लाख ७९ हजार ६० मा निर्माण व्यवसायी कम्पनीलाई ठेक्का दिएको थियो । अहिलेसम्म ठेकेदार कम्पनीलाई भ्याटबाहेक रु २५ करोड ४९ लाख सात हजार ७१४ भुक्तानी भइसकेको निर्देशनालयले जनाएको छ ।

एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय

काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट परिस्थितिका कारण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफ्नो निर्वाचन बढीमा ६ महिनासम्म सार्न सक्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको परमादेश बमोजिम गत मे ३ र ४ तारिखमा काठमाडौँमा आयोजित एकता महाधिवेशनद्वारा निर्वाचित एनआरएनए आइसीसीका पदाधिकारीहरुको चौथो बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता गंगाधर गौतमले बताए ।

एनआरएनए आइसीसीका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बाबु राम (बी आर) लामाद्वारा संघसंग आबद्ध सबै एनसीसीहरुलाई एक पत्र पठाउँदै एनआरएनए उच्चस्तरीय समितिले सर्वोच्च अदालतकै परमादेश अनुसार सम्पन्न संघको अधिवेशन र त्यसपछि उब्जिएका केही अन्यौलका कारण एनसीसीहरुलाई तोकिएको समयसीमा भित्र निर्वाचन गर्न चुनौती हुन सक्ने कुरालाई हृदयंगम गरी संघको चौथो पदाधिकारी बैठकले आवश्यकता अनुसार बढीमा ६ महिनासम्म राष्ट्रिय समन्वय परिषदहरुको निर्वाचन सार्न सकिने गरी निर्णय गरेको जानकारी गराएका छन् ।

“हामीलाई विश्वास छ कि यो निर्णयले संस्थालाई एकताबद्ध गरी स्वतन्त्र र समावेशी निर्वाचनको तयारी गर्न पर्याप्त समय मिल्नेछ। तसर्थ, विधानले तोकिएको मिति जुलाई १ देखि जुलाई ३१ भित्र निर्वाचन गर्न असमर्थ एनसीसीहरुले जुलाई ३१ बाट ६ महिना नबढ्ने गरी निर्वाचन गर्न गराउन जानकारी गराइन्छ,” पत्रमा उल्लेख छ।

यसबारे कुनै जिज्ञासा भए पदाधिकारीहरुलाई सम्पर्क गर्न पनि एनआरएनए आइसीसीले सबै एनसीसीहरुलाई आग्रह गरेको प्रवक्ता गौतमले बताए ।

NCC Election

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३ असार : हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । ती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३ असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ४२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

माथिल्लो त्रिशूली–१ जलविद्युत्‌ आयोजनाद्वारा उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान

काठमाडौँ, ३ असारः रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले सोमबार गाउँकार्यपालिकाको कार्यालयमा एम्बुलेक्सको साँचो पालिका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गर्नुभयो । उक्त एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ ।

आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङ्मो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङ्मो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थपोष्टले सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा कम्पनीका सिइओ मिनले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिएर एम्बुलेन्स उपलब्ध गराइएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष अर्यालले एम्बुलेन्सबाट विकट एवं दुर्गम भेगका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवासम्म पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आयोजना प्रभावित क्षेत्रका पालिकाहरूसँग समन्वय गरी एम्बुलेन्स सञ्चालन गर्न सङ्घीय सरकारले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएका मापदण्डबमोजिम खरिद गरिएको बताउनुभयो ।

उहाँका अनुसार एम्बुलेन्स आयातमा लाग्ने राजस्व सङ्घीय सरकारबाट राजस्व छुट भई रु २५ लाख खरिद गरिएको हो । आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म रु १७ करोड भन्दा बढी खर्च गरिसकिएको आयोजनाले जनाएको छ ।

कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायत संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।

आयोजनाको मुख्य निर्माण विसं २०७८ पुसदेखि सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायत सम्पूर्ण संरचना निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ६३ प्रतिशत रहेको छ । आयोजनाको कूल नौ दशमलव पाँच किलोमिटर लामो सुरुङमध्ये ४०० मिटर मात्र खन्न बाँकी छ । हाल आयोजनामा कार्यरत एक हजार जनशक्तिमध्ये ४० प्रतिशत आयोजना प्रभावित रसुवा जिल्लाका छन् ।

आयोजना निर्माणका लागि इञ्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी (इक्विटी) रहेको छ ।

आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कूल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा नौ अन्तरराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपँुजीबाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बीहब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अध्यधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाको निर्माण विसं २०८३ को मङ्सिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ, ३ असारः संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् ।

यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न चौथो समूह रहनेगरी ७७ जना शान्ति सैनिक गत जेठ ३० गते त्यसतर्फ गएका थिए । हाल त्यस मिसनमा १०७ जना शान्ति सैनिक कार्यरत रहेको राससलाई जानकारी दिइएको छ ।

‘यस वर्षको वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ : मन्त्री यादव

अम्बास्थान (सिन्धुपाल्चोक), ३ असारः खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताउनुभएको छ । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ ।”

वर्षायाममा रिबर्माको पानी मेलम्चीको सुरुङमार्गबाट पठाइने भएपछि अब निर्वाध रूपमा मेलम्चीको पानी बाह्रैमास उपत्यकावासीलाई उपलब्ध गराइने मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो व्यवस्थाले उपत्यकावासीको खानेपानीसम्बन्धी समस्या दिगो रूपमा समाधान हुने अपेक्षा गरिएको छ । आगामी दिनमा काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन । हामीले जनताका प्राथमिकता बुझेर जिम्मेवारीपूर्वक समाधान खोजिरहेका छौँ ।”

रिबर्माको पानी परीक्षण गरिएसँगै वर्षाका बेला मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै वर्षायाममा पनि काठमाडौँमा नियमित पानी आउने सुनिश्चित भएको मन्त्री यादवले उल्लेख गर्नुभयो ।

वर्षात्को समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिबर्माबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरणको सम्भावना रहेको अनुगमनपछि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछानेले प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना तयार भइसकेका छन् । हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौँमा पथान्तरणको सफल परीक्षण गरिएको छ । अब वर्षात्को समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन ।”

विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू यहाँ २४सै घण्टा खटिएका छन् भने बाढी, पहिरोलगायत मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको छ । विसं २०७८ को बाढीले मेलम्चीको मुहानमा पुर्‍याएको क्षतिपछि वर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा अवरोध उत्पन्न हुँदै आएको थियो ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, ३ असारः आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।

पार्टीलाई मजबुत बनाउन जनस्तरबाट लाग्नुपर्ने : प्रवक्ता डा महत

ढोरपाटन (बागलुङ), २ असार : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई मजबुत बनाउन जनस्तरबाट लाग्नुपर्ने बताउनुभएको छ । विपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेश समितिले ‘तीन तहको बजेट निर्माण प्रक्रियाका समस्या र समाधान’ विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रमा उहाँले देशमा जतिसुकै पार्टी खुले पनि राष्ट्रको विकासका खातिर कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका दल केही राजनीतिक दलका कारण देश वर्तमान शासन व्यवस्था स्थापित भएको उहाँले बताउनुभयो ।

“पुराना पार्टीविरुद्ध एकदुई हजार मान्छे लागेका छन्, उनीहरुको काम झुटो प्रचार भ्रम फैलाउनु हो”, प्रवक्ता महतले पार्टी कार्यकर्ताहरूलाई सचेत रहन आग्रह गर्दै भन्नुभयो ।

डा महतले सकारात्मक सोचका साथ जनताका माझमा गएर सरकारले गरेको कामका बारेमा भन्ने र कमीकमजोरीको समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सरकारले नागरिकका समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको पूर्वअर्थमन्त्री महतले बताउनुभयोे ।

नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ५३ रनको लक्ष्य

काठमाडौँ, २ असारः स्कटल्यान्डमा जारी टि २० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत अहिले जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ ।स्कटल्यान्डको टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो ।

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाए । त्यसैगरी विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक एक विकेट हात पारे । अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन् । यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा स्कटल्याण्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

स्वास्थ्य लाभ गरेर घर फर्किए मोहन वैद्य

काठमाडौँ, २ असार : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ हुनुभएको छ ।

छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज हुनुभएको उहाँकी छोरी चेतना शर्माले राससलाई जानकारी दिनुभयो ।

चलचित्र विकास बोर्डले धेरै कमाइ गर्ने २५ चलचित्र निर्मातालाई सम्मान गर्ने

काठमाडौँ, २ असार : चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ चलचित्र निर्मातालाई सम्मान गर्ने भएको छ । बोर्ड स्थापना भएको वर्ष विसं २०५७ असार १६ देखि विसं २०८२ जेठ मसान्तसम्म धेरै कमाइ गर्ने चलचित्रका निर्मातालाई उक्त सम्मान प्रदान गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो ।

“बोर्डको पच्चीसौँ स्थापना दिवसको अवसर पारेर हामीले २५ चलचित्र निर्मातालाई सम्मान गर्ने छौँ । यसका लागि न्यूनतम रु पाँच करोडभन्दा धेरै कमाइ भएको चलचित्रका निर्माताले प्रमाण खुल्ने कागजातसहित सात दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने छ । व्यक्तिगत लगानीबाट चलचित्र क्षेत्रलाई योगदान पु¥याएकालाई यस कार्यले हौसला मिल्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

उहाँले निवेदनसँगै सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखापरीक्षणको कागजपत्र र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात्र पेस गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष डिसीका अनुसार आगामी असार १६ गते उक्त सम्मान प्रदानसँगै ‘रियलटाइम बक्सअफिस’को सुरुआत, बोर्डका सेवालाई अनलाइनबाट प्रदान गर्नेलगायतका कार्य सुरुआत गरिने छ ।

पाल्पामा अण्डा बोकेको बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु

तानसेन (पाल्पा), २ असार : यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आउनुभएका ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । उहाँका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।

दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते हुनुभएको छ । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी सडकदेखि ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानद्वारा इरानसँग जोडिएका सबै सीमा नाका अनिश्चित कालका लागि बन्द

पाकिस्तानले छिमेकी मुलुक इरानसँग जोडिएका आफ्ना सबै सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै आफ्ना नागरिकलाई इरान प्रवेशमा रोक लगाएको प्रान्तीय अधिकारीहरूले सोमबार बताएका छन् । इजरायल र इरानबीच तीव्र आक्रमण प्रत्याक्रमण चलिरहेका समय अर्को सूचना नभएसम्मका लागि सीमा नाका बन्द गरेको हो ।सीमा वन्दपछि पनि इरानबाट स्वदेश फर्कन चाहने नागरिकका लागि प्रवेश दिइने पाकिस्तानी अधिकारीले बताएका छन् ।

इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तका वरिष्ठ अधिकारी कादिर बख्श पिरकानीले एएफपीसँग भन्नुभयो, “चाघी, वाशुक, पञ्जगुर, केच र ग्वादर गरी पाँचवटै जिल्लाका सीमा सुविधाहरू स्थगित गरिएको छ।”

चागी जिल्लाको सीमाका एक अधिकारी अट्टा उल मुनिमले इरान प्रवेशलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीमा बन्दले सीमामा हुने ‘व्यापार गतिविधिमा कुनै प्रतिबन्ध गर्ने छैन’ र इरानबाट आफ्नो देश फर्कन आवश्यक पर्ने पाकिस्तानी नागरिकहरू स्वदेश फिर्ता हुन सक्नेछन् ।”

“हामीले आज करिब २०० जना पाकिस्तानी विद्यार्थी आउने अपेक्षा गरेका छौं,” अट्टाले भन्नुभयो । आइतबार पाकिस्तानी विदेशमन्त्री इशाक डारले ४५० पाकिस्तानी तीर्थयात्रीलाई इरानबाट उद्धार गरिएको र अझै धेरैले यसलाई अनुसरण गर्न बाँकी रहेको बताउनुभएको थियो ।

आणविक हतियार भएको एक मात्र मुस्लिम बहुल देश पाकिस्तानले इजरायलको आक्रमणविरुद्ध ’इरान सरकार र त्यहाँका जनतासँग ऐक्यवद्धता जनाउने’ शुक्रबार बताएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायलको आणविक क्षमताप्रति विश्व सचेत र सशंकित हुनुपर्ने चेतावनी दिनुभएको छ ।

इजरायल अघोषित भए पनि मध्यपूर्वको एक मात्र आणविक शक्ति हो ।दि द्वन्द्व चर्कियो भने पाकिस्तानले तेहरानलाई समर्थन गर्न सक्ने सञ्चारमाध्यमले जनाएका छन् तर इस्लामाबादका अधिकारीहरूले आफ्नो देशले ‘नैतिक र कूटनीतिक ऐक्यबद्धता’ मात्र देखाएको बताएका छन्।सुन्नी बहुल पाकिस्तानको शिया बहुल इरानसँग ९०० किलोमिटर (५६० माइल) भन्दा बढी सीमा साझा छ।

दुई छिमेकीबीचको सम्बन्ध जटिल रहेको छ, पाकिस्तान अक्सर तेहरानमाथि अमेरिकी नेतृत्वको प्रतिबन्धबाट सावधान रहन्छ र रियादसँगको सम्बन्धलाई पनि ध्यानमा राख्छ । सायदी अरबले बारम्बार पाकिस्तानी अर्थव्यवस्थालाई बचाउन मद्दत गरेको छ ।

दुई देशबीचको द्विपक्षीय व्यापार करिब तीन अर्ब अमेरिकी डलर रहेको छ र अधिकारीहरूले आगामी वर्षहरूमा यसलाई बढाएर १० अर्ब डलर पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम, २ असार : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणका लागि कृषि कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउने भएको छ । आइतबार प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणका लागि बैंक, वित्तीय संस्था र सहकारीमार्फत कृषि कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउन रु १३ करोड ८५ लाख बजेट विनियोजन गरिएको उल्लेख छ ।

यसैगरी मसिनो धान, केराको टिस्युकल्चर बिरुवा, जैतुन तेल, दूध, रैथाने बालीको उत्पादन गरेबापत प्रतिफलमा आधारित अनुदान उपलब्ध गराउन रु दुई करोड ३८ लाख विनियोजन गरिएको छ ।

शीत भण्डारण गृहमा बीउ आलु भण्डारण गर्ने किसानलाई भाडामा छुट दिन बजेट छुट्याइएको छ । २०० शीत भण्डारण गृह, मासु तथा डेरी उद्योगी व्यवसायीलाई विद्युत् महसुलमा अनुदानको व्यवस्था गरिएको छ । कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि रु दुई करोड ७० लाख र रासायनिक मलमा अनुदानका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।

प्राकृतिक प्रकोपबाट कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रमा हुने नोक्सानीको राहतको रु एक करोड र १०० मुक्तकमैया, कमलरी र हलियाको व्यवस्थापनका लागि रु तीन करोड ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी कृषि पशुपन्छी, मत्स्य केन्द्रित ‘एक स्थानीय तहः दुई उत्पादन अभियान’ सञ्चालनका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एक विशेष पकेट क्षेत्रको विकास गर्न रु ७० करोड ४० लाख विनियोजन गरिएको छ । दुग्ध विकास बोर्डमार्फत डेरी व्यवसाय प्रवर्द्धन तथा बजारीकरणका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड ८५ लाख प्रदेश सरकारले विनियोजन गरेको छ ।

‘कृषकलाई टेवाः घरदैलोमा प्राविधिक सेवा’ कार्यक्रम सञ्चालन, कैलाली, बैतडी, बझाङ, डोटी र दार्चुला जिल्लामा कफीखेतीको बगैँचा स्थापना, उच्च हिमाली जिल्लाका स्थानीय तहलाई प्राङ्गारिक क्षेत्र बनाउन पहल गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड विनियोजन गरिएको छ ।

‘भीमदत्त पन्त कृषि प्रवद्र्धन कार्यक्रम’का लागि रु तीन करोड १० लाख विनियोजन गरिएको छ । यसअन्तर्गत कृषिमा रोजगारीको अवसर सिर्जना गरेर युवाहरुलाई आबद्ध हुन प्रेरित गरिने र ७७२ कृषि/भेटेरीनरी शिक्षा उत्तीर्ण युवाको उद्यमशीलता विकास गरी उनीहरु लक्षित सागसब्जीखेती, च्याउ उत्पादन र मौरीपालन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि कूल रु तीन अर्ब ३० करोड १० हजार बजेट विनियोजन गरिएको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

कूल विनियोजित बजेटमध्ये चालुतर्फ रु १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ८३ करोड ८२ लाख छ हजार रहेको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयको छ ।

सरकारले विलम्ब गरी गत असोजमा चालु आव २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको थियो ।

‘नेपाली कांग्रेसभित्र अनुशासन हराउँदै गएको छ’: सहमहामन्त्री राठौर

राँझा (बाँके), २ असारः नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताउनुभएको छ ।नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं २ ले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ कार्यसमिति घोषणा सभामा सहमहामन्त्री राठौरले पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप लगाउनुभयो ।

“पार्टीभित्र अराजकता बढाउने काम भइरहेको छ, विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन”, उहाँले भन्नुभयो, “लावालस्कर र हो हल्ला गरेर पार्टी चल्दैन र लोकप्रिय पनि भइँदैन ।”

नेपाल किसान महासङ्घ बाँके क्षेत्र नम्बर–२ मा सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सत्र सदस्यीय कार्यसमिति घोषणा गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सह सचिवमा विजयरत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहनुभएको छ ।

स्कुलभित्रै भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

काठमाडौँ २ असार : काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ । काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिनुभयो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त भ्यानको ठक्करबाट घाइते भएका छ जनामध्ये पाँच जनाको नेपाल नेशनल अस्पतालमा र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका भ्यान चालकको पनि बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ, २ असार : नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि २० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आज पहिलो खेलमा टस जितेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यसँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ ।

यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित, लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

दमक (झापा), २ असारः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र तिनवटै तहको निर्वाचन सँगसँगै हुने भएकाले पार्टीमा आबद्ध सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीलाई धेरैभन्दा धेरै स्थानमा विजयी बनाउन कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले एकताबद्ध अहिलेदेखि नै एकताबद्ध भएर काम गर्नुपर्छ भन्नुभयो । पार्टीलाई सुदृढ बनाउन हरेक कार्यकर्ता जनताका बीचमा जानुपर्ने उहाँको भनाइ थियो ।

देशमा राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन गर्न कांग्रेसकै नेतृत्वबाट सम्भव भएको चर्चा गर्दै महामन्त्री शर्माले वर्तमान शासन व्यवस्थाको विकल्प नभएको बताउनुभयो ।

कांग्रेस झापाका सभापति देउमान थेबेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीले क्रियाशील सदस्यता नवीकरण सात दिनमा पूरा गरेर केन्द्रलाई बुझाइने जानकारी दिइएको थियो ।

‘विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ’ : मन्त्री पाण्डे

काठमाडौँ, २ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्रका भूकम्पले भत्किएका सम्पदा जस्ताको तस्तै निर्माण हुनुले विकासको संस्कृति सही रुपमा अघि बढेको प्रमाणित हुने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को सहकार्यमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले प्राचीनकालमाझैँ सम्पदा निर्माणका लागि आवश्यक जनशक्ति भएकाले सम्पदा पुनःनिर्माणमा समस्या नभएको बताउनुभयो । काठमाडौँ उपत्यकाका तीनवटै सहरमा देगु तलेजु मन्दिर जस्ताको तस्तै निर्माण हुनुले पनि सम्पदा निर्माणमा सकारात्मक सन्देश दिएको उहाँको भनाइ छ ।

“धेरै क्षेत्रमा सकारात्मक संस्कृतिको विकास गर्नु जरुरी छ, नहुने कामलाई हुँदैन भन्ने संस्कृति बनाउन जरुरी छ । यस्ता विषयमा जागरण प्राज्ञले नै गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । भौतिक विकास मात्र नभई सांस्कृतिक विकास पनि जरुरी रहेकाले मन्त्री पाण्डेले संस्कृतिलाई मेरुदण्ड नबनाए दिगो विकास हुन नसक्ने उल्लेख गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृतिको मूल जरा चिन्तन प्रणाली भएकाले यसलाई सकारात्मक रुपले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सांस्कृतिक विविधतालाई स्वीकार गरेर विकासमा अघि बढ्न सकिने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले भौतिक विकास गरिरहँदा सांस्कृतिक विषय ओझेलमा परेकाले यस किसिमको बहस सुरु गरिएको बताउनुभयो ।

प्रा डा सोमप्रसाद खतिवडाले ‘विकासका लागि संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्कृतिसापेक्ष विकास हुन नसकेको बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा डा निर्मला पोखरेलले म्याक्समूलरले वेदमा गरेको अनुसन्धानले वेद विज्ञानसम्मत रहेको प्रमाणित गरेकाले वैदिक संस्कृतिअनुसार अघि बढ्नुपर्ने विचार राख्नुभयो ।

अर्का टिप्पणीकार भोगीराज चाम्लिङले विकाससम्बन्धी कानुन तथा नीति संस्कृतिअनुसार नभएकाले समस्या आएको बताउनुभयो । संस्कृति मन्त्रालयले संस्कृतिलाई असर गर्ने गरी बनेका कानुन र नीति परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का अध्यक्ष पूर्णप्रसाद मिश्रले संस्कृतिका विषय ओझेलमा परिरहेकाले यस विषयमा कलम चलाउने पत्रकारहरु सङ्गठित गरी सरोकारवाला निकायसँगको सहकार्यमा यस्ता छलफललाई निरन्तरता दिइने बताउनुभयो ।

रास्वपाको नाराबाजीका बीच विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, २ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले दिनभर सदनमा नाराबाजी र ‘वेल’ घेराउ गरे पनि बैठक सञ्चालन भएको थियो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेस गर्नुभएको हो ।

त्यसअघि बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसद दामोदर पौडेलले निर्वाचनका बेला मतदातासमक्ष गरिएका वाचाअनुसार विकास–निर्माणका काम गर्न नसकिएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एस)का मेटमणि चौधरीले सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयक कुन क्षेत्रमा कति बजेट छुट्याउँदा मुलुकको गार्हस्थ्य उत्पादन बढ्छ, अर्थतन्त्रको आकार बढ्छ र उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल हुन्छ भन्ने स्पष्ट नभएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितराज पाण्डेले सङ्घीयताको मर्मअनुसार वित्त हस्तान्तरण हुन नसकेको बताउनुभयो । वित्तीय समानीकरण अनुदान बढाएर सशर्त अनुदानको हिस्सा घटाउँदै जानुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो ।

सोही पार्टीका रामकुमार राईले मुलुकभित्र पर्याप्त सङ्ख्यामा रोजगारी सिर्जना गर्न उद्योग, कृषिलगायत क्षेत्रलाई बजेटले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो ।
सोही पार्टीका छिरिङडम्डुल लामाले कर्णाली प्रदेश र हुम्ला जिल्लालाई बजेटमार्फत विकासमा सरकारले विभेद गरेको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसकी कान्तिका सेजुवालले स्थानीय तहका आफ्नै ऐन, नियम, कानूनसमेत भएकाले सङ्घ सरकार बाट बजेट मात्र पठाएर उनीहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताउनुभयो ।

विभिन्न मन्त्रालयको बजेटमाथिको छलफल यही असार ५, ६ र ७ गत हुने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम असार ६ गते हुने सभामुख देवराज घिमिरेले बताउनुभयो ।प्रतिनिधिसभाको अर्को बैठक यही असार ३ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।

कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । प्रभावितहरूलाई निकासी र अस्थायी पुनःस्थापना प्रयासहरू जारी रहेको बताउँदै किन्सासाका गभर्नर डेनियल बुम्बाले स्थानीयहरूलाई विपद् जागरूकता बढाई रोकथामका उपायहरू अपनाउन आग्रह गर्नुभएको छ ।

वर्षाको समयमा वर्षा ९० मिलिमिटर पुगेको स्थानीय मिडियाले मौसम अधिकारीहरूलाई उद्धृत गर्दै बताएका छन् । आगामी दिनहरूमा भारी वर्षा जारी रहने र सहरलाई थप क्षति पुग्ने अनुमान गरिएको छ ।

एकअर्ब ४७ करोड बढी विगो दाबी गरिएका प्रमुख थापा ५० लाख धरौटीमा छुटे

रौतहट । सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्षकमा मुद्दा दायर गरेको थियो ।

सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए

सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल)निर्माण गरेको भन्दै मुद्दा दायर भएको थियो ।

बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मेथुर चोधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पु‍र्याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ ।

सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्वन्धी दुईवटा मुद्दा यसअघि नै दायर गरेको थियो ।

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

चरिकोट (दोलखा), २ असार : पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकमा वैज्ञानिक समाजवाद ल्याउन अझै पनि वर्ग सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ ।यहाँ आज आयोजित २३ औँ प्रताप स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवाद प्राप्तिका लागि नेपालको संविधानले परिकल्पना गरेअनुसार जनतालाई गोलबन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “संविधानले परिकल्पना गरेको समाजवाद प्राप्त गर्न तपाईँ हामी सबै गोलबन्द भएर लाग्न जरुरी छ”, उहाँले भन्नुभयो ।

उहाँले द्वन्द्वकालमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरण गर्दै उनीहरुको सपना पूरा गर्न अझै पनि सङ्घर्षको आवश्यकता औँल्याउनुभयो । उहाँले जलविद्युत् उत्पादनको दृष्टिले दोलखा धनी जिल्ला भएको उल्लेख गर्नुभयो ।

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।

विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भएपनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए ।

विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे । असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए ।

निमित्त उपकुुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरुलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको बताए ।
गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो ।

तोडफोड गरेको आरोपमा पक्राउ नेपाल विद्यार्थी संघका दुई दिक्पाल कार्की र लोकेश कुँवर पक्राउ परेका थिए । तर पक्राउ परेको दुई दिनमै उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर रिहा गरिएको थियो ।

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।यो शेयर खरिदकालागि आज देखि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाण्डौंको कमलपोखरी स्थीत बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेखगरी सुचना प्रकाशीत भएको मितीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै

काठमाडौँ, २ असार ः राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर आज एघारौं चुरे संरक्षण दिवस मनाउँदै छ । समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवरपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको कार्यक्रम कार्यान्वयन इकाइ चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिनुभयो ।

चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्बद्र्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ समितिको स्थापना विसं २०७१ असार २ गते भएको हो । स्थापना भएयता समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार गरेको जनाएको छ । त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवद्र्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख गरेको छ ।

यसैगरी हालसम्म नदी÷खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण÷पुनःनिर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरिएको छ ।
त्यस्तै समितिको स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झण्डै रु १५ अर्ब खर्च भइसकेको छ । समितिले आर्थिक वर्ष २०८०–८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरेको छ । समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशमलव ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा प्राप्त गर्ने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।

ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको छ । चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ । कमलो भूवनोट, जनसङ्ख्या बसाइसराई, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले पछिल्लो समय चुरे विनास हुने क्रम बढ्दै गएको छ ।