`

नेपालमै रोजगारी सृजना गर्ने हाम्रो प्रयास छः अध्यक्ष ढकाल

Nepal One HD २६ पुष २०८२ ८:१३
अर्थ समाचार

नवलपुर (नवलपरासी) – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सृजना गर्ने आफूहरुको प्रयास रहेको बताउनुभएको छ । नवलपुरको गैँडाकोटमा सुरु चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताउनुभयो ।

“हाम्रो प्रयास सकेसम्म स्वदेशमै रोजगारी सृजना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गरौँ भन्ने हो”, उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले व्यक्तिगत फाइदाका लागि मात्रै नभइ रोजगारी सृजना गर्न र राष्ट्रको विकासका लागि काम गर्दै आएका छन् ।”

नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि निजी क्षेत्र हर बखत तयार रहेको बताउनुभयो ।

आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न २५० व्यापारिक स्टल रहेको महोत्सव मूल समिति संयोजक छवि कँडेलले बताउनुभयो । महोत्सव परिसरलाई सुरक्षित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब रु २५ करोड कारोबार हुने अपेक्षा गरिएको कँडेलको भनाइ छ ।

आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले स्थानीय कृषि उपजको बजारीकरण र प्रवद्र्धन गर्नका लागि कृषकले उत्पादन गरेको कृषि उपजको निःशुल्क प्रदर्शनी गर्न दिइएको बताउनुभयो । महोत्सव अवधिमा स्थानीय पर्यटन प्रवद्र्धनका लागि विभिन्न गोष्ठी तथा सेमिनारको आयोजना गरिएको सापकोटाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *