`

सातवटै प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेट सार्वजनिक गर्दैछन् ।संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ । सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट सँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गर्ने कार्यसूची रहेको छ । कोशी सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने तयारी गरेको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो ।

बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश सरकारले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो । पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेशले बजेट ल्याउँदै छ ।

बजेट प्रस्तुत गर्नकालागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ । लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१÷८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

कर्णाली प्रदेश सरकारले आगामी आवका लागि पनि चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ । आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताएका छन् ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४१, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ७५, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ३२, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु १५, भन्टा डल्लो प्रतिकिलो रु २५, तने बोडी प्रतिकिलो रु २०, मकै बोडी प्रतिकिलो रु ५५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १००, टाटे सिमी मूल्य प्रतिकिलो रु ६५, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ५५, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५५, चुकुन्दर प्रतिकिलो रु ६५, रातो बन्दा रु ७८, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १९०, लिची (भारतीय) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम

भरतपुर (चितवन), १ असार : यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए । सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन् ।

जुन १४ मा अन्तरराष्ट्रिय रक्तदाता दिवस पर्दछ । यही अवसर पारेर सोसाइटीले उक्त महोत्सव आयोजना गरेको हो । “उपचारका क्रममा रगत आवश्यक पर्दा अभाव हुने गरेको छ । तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन । रक्तदानप्रति अग्रसर हुने सन्देश दिन यो बृहत् कार्यक्रम आयोजना गरेका हौँ”, सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले भन्नुभयो ।

रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्डसमेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले बताउनुभयो । यसअघि लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेको उहाँले जनकारी दिनुभयो ।

आज भूमेपर्व मनाइँदै : दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा

तुलसीपुर (दाङ-भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो ।

भूमे पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।

बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

पाँचथर, १ असारः मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो । मृतकका शव सोही अस्पतालमा रहेको उहाँले बताउनुभयो ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।

२०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ ।

उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।

मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

खोटाङ, १ असारः शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो ।

जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।

किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका थिए । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उभौली चाड औपचारिक रूपमा मैझारो (समापन) गरिएको छ । किराती समुदायले वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमामा उधौली गरी वर्षमा दुईपटक साकेला सिली प्रदर्शन गर्दै चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उभौली भन्ने गरिएको हो ।

उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस्जस्ता कामना गर्दै प्रकृतिको पूजा गर्ने चलन छ । तीन चुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवती एक ठाउँ सहभागी भएर साकेला गीत गाउँदै साकेला सिली नाच्ने गरिन्छ । उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन रहेको छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।

साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको किरात सेवा समाजका अध्यक्ष ध्यानबहादुर राईले बताउनुभयो । उभौलीको अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खा, जन्तेढुङ्गालगायत किरात ऐतिहासिक थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली प्रदर्शन गर्ने चलन छ ।

साकेला उभौली–उधौली चाडमा सबै जातजाति तथा धर्मका समुदायले साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खाका अध्यक्ष युगशन किरातले बताउनुभएको छ ।

“साकेला किरात समुदायको प्रमुख चाड हो । यो चाड सबै जातजातिको सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने साझा सांस्कृतिक चाड बनेको छ”, उहाँले भन्नुभयो, “साकेला चाडले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखसुखको कुराकानी गर्ने वातावरणसमेत सृजना गर्छ । त्यसैले साकेला उभौली–उधौली चाडलाई किरात समुदायले निकै महत्वका साथ मनाउने गरेका छन् ।”

किरात ऐतिहासिकस्थल मझुवागढीबाट गत वैशाख २९ गते औपचारिक रूपमा सुरु गरिएको साकेला उभौली महिना दिनपछि शनिबार दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनका अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएर समूहिक रूपमा साकेला सिली नाचेका थिए ।

छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेशभूषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल, झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनासहितको साकेला उभौली तथा उधौली चाड मनाउने गरिएको छ । साकेला उभौली तथा उधौली चाड किरात समुदायले साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरेका छन् । यो साकेला उभौली–उधौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।

एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ

दमक । नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् । दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण गरिसकेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै बनाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको बस्नेतले बताए । उनका अनुसार यस वर्ष पनि १७ जेठदेखि फलफूलका विरुवा रोप्ने र वितरण गर्ने अभियानलाई निरन्तरता दिइएको हो । ्दमक क्षेत्रमा जामुन, अम्बा, कागती, आँप लिची, अनारलगायतका विरुवा रोपिएको छ । गत वर्ष रोपिएका विरुवा यस वर्षबाट फल दिन थालेको नगर इञ्चार्ज बेदु गौतमले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले अभियानमा साथ दिएपछि वृक्षरोपण अभियानलाई अघि बढाउन थप हौसला मिलेको अभियान संयोजक समुन्द्र लामाले बताइन् । यसलाई माओवादी केन्द्र दमकले निरन्तरता दिने उनको भनाइ छ । ‘पछिल्लो समय जलवायु परिवर्तनले पर्यावरणमा गम्भीर असर पारेको तसर्थ हामीले वृक्षरोपण अभियान सुरु गरेका हौँ । अध्यक्ष प्रचण्डले विरुवा रोपेर साथ दिएपछि झनै हौसला मिलेको छ,’उनले भनिन् ।

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष बस्नेतका अनुसार यस वर्ष २५ हजार विरुवा वितरण गरिने भनिए पनि यसपटक अध्यक्ष प्रचण्ड नै आएपछि ऊर्जा बढेकाले थप संख्या बढाइने उनले बताए । अभियान पुनः सुरु भएयता २१ हजार विरुवा रोपिएको उनले बताए । अभियानलाई निरन्तर सञ्चालन गरिने उनको भनाइ छ । यसमा सबै दल, संघसंस्थाले साथ दिए ‘ग्रिन दमक, क्लिन दमक’ बनाउन सहज हुने उनले बताए ।

माओवादी केन्द्र गत वर्ष दमक क्षेत्रमा माओवादी केन्द्रले ५० हजार बढी फलफूलका विरुवा वितरण गरेको थियो । ती विरुवाले अहिले उत्पादन दिन थालेको माओवादी दमक अध्यक्ष बस्नेतले बताए । ‘उत्पादन दिने विरुवा रोप्दा परिणाम पनि आउँछ । तसर्थ, हामीले फलफूलका विरुवा वितरण गरेका हौँ,’ उनले भने, ‘गत वर्षको विरुवाले उत्पादन दिन थालेपछि हामीलाई उत्साहित बनाएको छ । आउने वर्षमा पनि हामी विरुवा वितरणको अभियानलाई निरन्तरता दिँदै जान्छौँ । अध्यक्ष प्रचण्डले पनि अभियानमार्फत जनतासँग जोडिन निर्देशन दिनुभएको छ ।’

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ०३ पैसा र बिक्रीदर १५८ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ९६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६८ रुपियाँ ८३ पैसा र बिक्रीदर १६९ रुपियाँ ५७ पैसा कायम गरिएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ९४ पैसा र बिक्रीदर ८९ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७३ पैसा र बिक्रीदर १०१ रुपियाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ०१ पैसा र बिक्रीदर १०७ रुपियाँ ४८ पैसा ,जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १३ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७१ पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा कायम भएको छ।

त्यस्तै,केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३७ पैसा र बिक्रीदर ३२ रुपियाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०२ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ १९ पैसा र बिक्रीदर २१ रुपियाँ २८ पैसा ,हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ र बिक्रीदर ४५० रुपियाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ २७ पैसा र बिक्रीदर ३६५ रुपियाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ९७ पैसा र विक्रीदर ३५८ रुपियाँ ५३ पैसा रहेको छ।भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।

त्यस्तै,उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने

काठमाडौँ । आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ। स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउने छन्।

ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी

काठमाडौ । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए ।

यसैगरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको बताए । निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा.विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहिदिन भित्रमा नै सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।

यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरु बाँकी रहेको र २–३ दिन भित्रै बाँकी कामहरु पूरा भएपछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले जनाए ।

पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमनपछि चाँडै काम सक्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।

तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार

इजरायली सेनाले इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको छ।इजरायली जनतालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।इरानले दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ, जसले गर्दा तनाव बढेको छ।

काठमाडौँ। इजरायली रक्षा बल (आइडीएफ) ले इरानको राजधानी तेहरानको सैन्य ठेगानामाथि हवाई आक्रमण गरिरहेको जनाएको छ। यसबिच, इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।

रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ। स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको बीबीसीले जनाएको छ।

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का

नेपालले भारत हुँदै बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ, जसले पाँच महिनामा १ अर्ब २९ करोड आम्दानी गर्नेछ।गत वर्ष १२ घण्टा मात्र विद्युत् निर्यात गरेको नेपालले यस वर्ष असार १ गतेदेखि निरन्तर ५ महिना बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ।

नेपालले भारतको हरियाणा र बिहारमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ, जसले ऊर्जा क्षेत्रमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आज (आइतबार) देखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ः०० देखि राति १२ः०० बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताए । “बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो”, उनले भने ।

नेपालले हरेक वर्ष पाँच महिना वर्षात्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यस बेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने असार १ देखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्ने छ ।

मन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र विद्युत् क्षेत्र भएको बताए । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबिच गत वर्ष सम्झौता भएको थियो । आइतबारदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुने छ ।

पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उप प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए । उक्त विद्युत् बिक्रीबापत सरकारले पाँच महिनामा रु एक अर्ब २९ करोड आम्दानी गर्नेछ । उक्त सम्झौताबमोजिम निर्यात हुने विद्युत्को बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्रपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।
ऊर्जा क्षेत्रमा दीर्घकालीन महत्त्व राख्ने विद्युत् निर्यातले नेपालको ऊर्जा सन्तुलन, जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ । सरकारको ऊर्जा विकास मार्गचित्र–२०८१ को अवधारणाअनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ ।

भारतमा पनि विद्युत् निर्यात निरन्तरता

नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ ।

जेठ १८ (जुन १) देखि एक सय ८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि सोही स्थानका लागि दुई सय मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । नेपाल र भारतबिच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको बिक्रीदर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ ।

त्यस्तै प्राधिकरणले गए राति १२ः०० बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफ्रपुर चार सय केभी र एक सय ३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिदबिक्री भइरहेको छ । वर्षायाम लागेसँगै नेपालमा विद्युत्को उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरी घाइते

मोरङको पथरी-कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ।दुर्घटनामा प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको हो भने श्रीमती र छोरी घाइते भएका छन्।

मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको र यस क्षेत्रमा निर्माणाधीन सडकमा डाइभर्सनहरू असुरक्षित हुँदा दुर्घटना बढेको बताइएको छ।मोरङ। मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् ।

मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो । यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।

२४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते

पछिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरमा चट्याङबाट १८ जना घाइते भएका हुन्।

सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए। उनका अनुसार रोल्पामा मात्रै ८ जना घाइते भएका छन्। यहाँको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा ६ जना बालबालिका घाइते भएका थिए भने रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा परेको चट्याङबाट २ जना घाइते भएका हुन्।

मकवानपुरको राक्सिराङमा २, प्यूठानको ऐरावती गाउँपालिकामा २, दाङको घोराही उपमहानगरपालिकामा २ जना चट्याङबाट घाइते भएका केसीले जानकारी दिए। उनका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट १/१ जना घाइते भएका छन्।

यस्तै, लेक लागेर रसुवामा एक जना र आगलागी हुँदा रुपन्देहीमा २ जना घाइते भएका प्राधिकरणले जनाएको छ। विभिन्न जिल्लामा ३० वटा विपद्का घटना भएका पनि प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए।

आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशको एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै

काठमाडौँ। ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आज (आइतबार) आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’ का रूपमा मनाउने भएको छ । सो अवसर पारेर आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा विविध अतिरिक्त कार्यक्रम सम्पन्न गरिसकेको छ ।

नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोगको छ । केन्द्रीय कार्यालयसहित काठमाडौँमा तीन र काठमाडौँ बाहिर ११ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा हीरक महोत्सव समारोह आयोजना गरिएको आयोगले जनाएको छ । वर्ष भरी नै विभिन्न कार्यक्रमका साथ महोत्सवलाई सुव्यवस्थित रूपमा अगाडि बढाउने कार्यक्रम तय भएको छ । आयोगले सरकारी सेवा प्रवेशका क्रममा जनशक्ति छनोटसहित पदपूर्तिका लागि सिफारिस गर्दै आएको छ ।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंले हीरक महोत्सवका उपलक्ष्यमा आयोगको प्रतीक चिन्ह प्रयोगमा ल्याई वर्षभर कामकाज गरिने छ । आयोगमा करिब ३० वर्ष सेवा गरी सचिव भएका भूवनमान सिंह प्रधानको योगदानको कदर गर्दै आयोगको केन्द्रीय कार्यालयमा रहेको ‘सभा हल’लाई उहाँको नाममा नामकरण भइसकेको छ । आयोगले ‘योग्यता, स्वच्छता, निष्पक्षता: लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने आदर्श वाक्यका साथ तोकिएको जिम्मेवारी पूरा गर्दै आएको छ । आयोगले सरकारका लागि आवश्यक पर्ने कर्मचारीको पदपूर्ति गर्न खुला प्रतिस्पर्धात्मक परीक्षा, अन्तर्वार्ता, र अन्य छनोट विधिहरू सञ्चालन गर्दछ । यो प्रक्रिया निष्पक्ष र योग्यतामा आधारित हुने गरेको छ ।

विभिन्न पदका लागि पाठ्यक्रम निर्माण गर्ने, प्रश्न पत्र तयार पार्ने, परीक्षा सञ्चालन गर्ने, उत्तर पुस्तिका परीक्षण गर्ने र नतिजा प्रकाशन गर्ने कार्य आयोगले गर्दै आएको छ । यस्तै, कर्मचारी सेवा सर्तसम्बन्धी कानुनको निर्माण, संशोधन, र लागू गर्ने विषयमा सरकारलाई परामर्श दिन्छ । यसका अतिरिक्त, कर्मचारीको बढुवा, विभागीय कारबाही, स्थानान्तरण, र अवकाशसम्बन्धी विषयमा पनि परामर्श दिन्छ । सफल उम्मेदवारलाई सम्बन्धित सरकारी निकायमा नियुक्तिका लागि सिफारिस गर्दछ ।

निजामती सेवालाई अझ प्रभावकारी र व्यावसायिक बनाउन आवश्यक अनुसन्धान र विकासको काम गर्छ । निजामती सेवाका सिद्धान्त र कार्यविधिको अनुगमन र निरीक्षण पनि गर्दछ । नेपालको संविधानमा लोक सेवा आयोगसम्बन्धी स्पष्ट प्रावधानहरू छन् । यसले आयोगलाई एक स्वतन्त्र र निष्पक्ष निकायका रूपमा स्थापित गर्दछ, जसले सरकारको प्रत्यक्ष हस्तक्षेपबिना काम गर्न सक्छ । आयोगका पदाधिकारीहरूको नियुक्ति, कार्यकाल, र हटाउने प्रक्रिया पनि संविधानमा स्पष्ट व्यवस्था छ ।

आयोगले नेपालको प्रशासन संयन्त्रलाई योग्यतामा आधारित बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गर्ने गरेको छ । यसको निष्पक्षता र विश्वसनीयताले जनतामा सरकारी सेवाप्रति विश्वास बढाएको छ ।

आयोग नेपालको सार्वजनिक प्रशासनको मेरुदण्ड हो, जसले देशको समग्र विकास र सुशासनमा प्रत्यक्ष प्रभाव पारेको छ । आयोगको स्थापना र विकासको इतिहास देशको प्रशासनिक सुधार र प्रजातान्त्रीकरणको प्रक्रियासँगै जोडिएको छ । यसको स्थापनाले राणा शासनको अन्त्यपछिको नेपालमा योग्यतामा आधारित प्रशासनको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

आयोगको औपचारिक स्थापना २००८ असार १ गते भएको हो । यसको स्थापना तत्कालीन अन्तरिम संविधान अन्तर्गत भएको थियो । सुरुमा यसको नाम ‘पब्लिक सर्भिस कमिसन’ थियो । यसको मुख्य उद्देश्य सरकारी सेवामा योग्य, सक्षम र निष्पक्ष व्यक्तिहरूको छनोट सुनिश्चित गर्नु थियो । स्थापनाकालदेखि नै आयोगले आफ्नो कार्यक्षेत्र र प्रभावकारितालाई बढाउँदै लगेको छ । सुरुका दिनहरूमा सीमित स्रोतसाधनका बाबजुद पनि यसले योग्यता प्रणालीलाई स्थापित गर्न अहम् भूमिका खेल्यो । समय क्रमसँगै, यसको सङ्गठनात्मक संरचना विस्तार भयो, क्षेत्रीय कार्यालय स्थापना भए, र परीक्षा प्रणालीलाई अझै वैज्ञानिक र व्यवस्थित बनाइयो ।

आयोगले आफ्नो इतिहासमा विभिन्न चुनौतीको सामना गरेको छ, जसमा राजनीतिक हस्तक्षेपको प्रयास, साधन स्रोतको कमी, र बढ्दो उम्मेदवारको सङ्ख्या व्यवस्थापन पर्छ । यी चुनौतीका बाबजुद पनि आयोगले योग्यता र निष्पक्षताको सिद्धान्तलाई कायम राख्न सफलता प्राप्त गरेको छ । यसले नेपालमा एक व्यावसायिक र सक्षम कर्मचारीतन्त्रको विकासमा अपरिहार्य योगदान गरेको छ । आयोगको इतिहास राणाकालीन अन्धकारबाट प्रजातान्त्रिक उज्यालोतर्फको यात्रामा योग्यतामा आधारित प्रशासनको स्थापनाको एउटा महत्त्वपूर्ण पाटोको रूपमा रहेको छ । यसले नेपालको सार्वजनिक प्रशासनलाई आधुनिक, व्यवस्थित, र जबाफदेही बनाउन निर्णायक भूमिका खेल्दै आएको छ।

अमेरिका पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, १ असारः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् । पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट रु ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट रु ६ लाख ७५ हजार लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौँ महानगरपालिका–१६ बाट र ओमबहादुरलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

त्यसैगरी, ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–१० बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका–१४ का २३ वर्षीय खगेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपलिका–१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल मण्डी नजिकैबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७३ हजार नौ सय ट्याब्लेटसहित काठमाडौँ महानरपालिका–१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खाली जग्गामा रोकिराखेको युपी ७८ सिबी ९८३५ नम्बरको कार खानतलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डरभित्र लुकाइछिपाई राखिएको उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

एघार बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ-अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको काठमाडौँमा सुरू भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।सम्मेलनले प्रविधिको प्रयोग बढाउनुपर्ने, तथ्य र प्रमाणलाई ध्यान दिनुपर्ने, स्रोतसाधन बढाउनुपर्ने, जनशक्ति विकास तथा तालिम प्रशिक्षणलगायत कार्यक्रम अघि बढाउनुपर्नेसहितका निष्कर्ष निकालेको हो ।

सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सम्मेलनले फौजदारी न्यायको विषयमा सहभागीहरूबीच सार्थक र साझा निष्कर्षमा पुग्न सहयोग गर्नुका साथै आगामी दिनहरूका लागि महत्त्वपूर्ण प्रतिबद्धतासहित मार्गनिर्देशन गर्न सफल भएको बताउनुभयो ।

समय र प्रविधिको विकाससँगै नयाँनयाँ चुनौती र फरक शैलीका अपराध वृद्धि भइरहेको सन्दर्भमा त्यसलाई सामना गर्न नयाँ पद्धतिको अवलम्बन गरी वयानमुखी अनुसन्धानभन्दा वैज्ञानिक अनुसन्धान तथा अभियोजनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कार्यसम्पादनका क्रममा आइपरेका समस्यालाई सम्बोधन गर्न र भावी कार्यदिशा कोर्न तथा फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सम्मेलन सफल भएको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीको क्षेत्रमा भइरहेका अभ्यासलाई समायानुकूल परिवर्तन गर्न सम्मेलन प्रभावकारी भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक दीपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, नयाँ कानुनी व्यवस्था र अभ्यासका बारेमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र सम्बन्धित विज्ञ तथा विशेषज्ञबीच गहन अन्तक्र्रिया, ज्ञान र अनुभव आदानप्रदानका विषयमा सम्मेलन प्रभावकारी भएको बताउनुभयो ।

नेपाल बार एसोसिएसनका महासचिव केदारप्रसाद कोइरालाले सम्मेलनको महत्व र प्रभावकारिताबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सम्मेलनमा पारित घोषणापत्रका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा सम्मेलनमा भएका छलफलका विषयको महत्व र प्रभावकारिताबारे सहभागी अभियोजनकर्ता सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता मुना पौडेल र अनुसन्धानकर्ता प्रहरीको तर्फबाट प्रहरी नायब उपरीक्षक हिमा थोकरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पश्चिम इरानदेखि तेहरानसम्म ‘हवाई स्वतन्त्रता’ सिर्जना गरेको इजरायलको दावी

इजरायली सेनाले इरानको पश्चिमी भागदेखि तेहरानसम्मको हवाई क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको शनिबार जनाएको छ।इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले भन्नुभयो, “हामीले पश्चिम इरानबाट तेहरानसम्म ‘हवाई स्वतन्त्रता’ सिर्जना गरेका छौँ ।इरानको राजधानी पश्चिममा इराकसँगको सीमाबाट करिब ४५० किलोमिटर (२८० माइल) टाढा छ।

“तेहरान अब सुरक्षित छैन”, डेफ्रिनले पत्रकारहरूसँग भन्नुभयो, “लगभग ७० इजरायली लडाकू विमानहरूले इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायलको हवाई अभियानको दोस्रो दिन रातभर शहरका ४० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेका थिए।डेफ्रिनका अनुसार इजरायली जेटविमानले पहिलो पटक ‘यो विशेष हवाई क्षेत्रमा’ प्रवेश गरी कारबाही भरेका थिए र अहिले ‘तेहरानमाथि स्वतन्त्र रूपमा’ उडान गरिरहेका छन्।

उहाँले भन्नुभयो, “हामीले इरानी भूमिमा अहिलेसम्म गरेको यो सबैभन्दा भित्रसम्मको प्रवेश पनि हो ।”उहाँले भन्नुभयो, “तेहरानसम्म आइपुग्दा महत्वपूर्ण सैन्य परिचालनमा रणनीतिक प्रभाव पर्छ।”इजरायलले शुक्रबार इरानमाथि गरेको आकष्मिक आक्रमणमा २०० भन्दा बढी सैन्य तथा आणविक स्थलमा निशाना बनाएको र इरानी सेनाका शीर्ष कमाण्डर, आणविक वैज्ञानिक र अन्य वरिष्ठ अधिकारीको मृत्यु भएको डेफ्रिनले जनाउनुभयो ।

पहिलो चरणको आक्रमणमा परी ७८ जनाको मृत्यु भएको र ३२० जना घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।त्यसको बदलामा इरानले शनिबार इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दा तीन जनाको मृत्यु हुनुका साथै अन्य ७० भन्दा बढी घाइते भएका र कैयौँ शहरमा क्षति पुगेको थियो ।

एपिएफ क्लबलाई ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबलको उपाधि

कास्की, ३१ जेठः पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा निराश पार्दै एपिएफ च्याम्पियन बन्यो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को अङ्कमा हराउन सफल भयो ।

यससँगै प्रतियोगिताको उद्घाटन खेलमा पुलिससँग बेहोरेको हारको बदलासमेत एपिएफले फाइनलमा लिएको छ । च्याम्पियन बनेको एपिएफले रु छ लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता पुलिसले रु तीन लाख पुरस्कारमा चित्त बुझायो ।

यसैगरी, प्रतियोगितमा टिप टप न्यू डायमन्ड क्लबले तृतीय बनेर रु एक लाख पुरस्कार पायो । डायमन्डले आज नै भएको तृतीय स्थानको खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–८, २५–१९ र २५–११ को सेटमा हराएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना घोषित हुँदै रु ३० हजार पुरस्कार पाउनुभयो । उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, स्पाइकरमा पुलिसकी उषा भण्डारी, सर्भर एपिएफकी सृृष्टि खड्की, ब्लकर न्यू डायमन्डकी सुमित्रा रेग्मी, लिब्रोमा डायमन्डकी सलिना श्रेष्ठ र प्रशिक्षकमा एपिएफका पुष्पजङ्ग मल्ल घोषित हुँदै जनही रु २० हजार पुरस्कार पाउनुभयो ।

प्रतियोगिताको च्याम्पियन टोली तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री सत्या पहाडी, गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, आयोजक नेपाल स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालालगायतले पुरस्कार वितरण गर्नुभयो ।

यही जेठ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल स्पोर्टस् एकेडेमीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का नाममा पहिलो पटक महिला भलिबल प्रतियोगिता गरेको हो ।

सङ्घीय संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौँ, ३१ जेठः सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा आज बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो । सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगरमा जन्मिनुभएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गर्नुभएको थियो । विसं २०५२ देखि उहाँले सङ्घीय संसद् सचिवालयमा सेवा गर्नुभएको छ ।

राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायत पदमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ । उहाँ हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव हुनुहुन्छ ।

दुराले आजै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ । नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर, ३१ जेठः हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् ।

आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।

हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चारको अवस्था गम्भीर

पाँचथर, ३१ जेठः मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छजना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा बारा सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन्भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो । लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

सिमकोट (हुम्ला), ३१ जेठः दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन थालेको हो ।

खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहान सुेकेपछि समस्या चुलिँदै गएको बताउनुभयो । उहाँका अनुसार दुई हप्तायतादेखि पानी सुक्दै गएपछि समस्या भएको हो ।

खोलामा थोरैमात्रामा आएको पानी पनि जमिनमुनि छिरेर जाने गरेको भन्दै छाल्ता खोलाबाट पाइप जडान गरी पानी ल्याउने गरिएको लामाले जानकारी दिनुभयो । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा सर्वसाधरणलाई पालोअनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उहाँको भनाइ छ ।

“खोलामा पानी सुक्दै गएको छ । सदरमुकामस्थित सेवाग्राहीले हामीलाई पानी छोड्दैनन् भनी गुनासो गर्नुहुन्छ । हामीले कहाँबाट पानी ल्याएर दिनु?”, लेखा अधिकृत लामाले प्रश्न गर्नुभयो । पानी अभाव बढ्दै जान थालेपछि गाउँपालिकाले शुक्रबार पानी नचुहिने ग्रिन हाउसको प्लास्टिकको पाल दिएको उहाँले उल्लेख गर्नुभयो ।

गाउँपालिकाले दिएको पाल आज पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सउ २६ खानेपानीका ग्राहक छन् । सबै सेवाग्राहीलाई बिहान र बेलुकाको समयमा टोलटोल गरी पालोअनुसार पानी छोड्ने गरिएको उहाँको भनाइ छ ।

“सिमकोटमा रहेका खानेपानीका रिजर्भ ट्याङ्की यतिबेला खाली छन् । खानेपानी उपभोक्ता समितिले विगतदेखि सदरमुकामवासीलाई बिहान, बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो”, अधिकृत लामाले भन्नुभयो ।

यतिबेला सदरमुकामवासीले धारामा खानेपानी नआउँदा समस्या हुने गरेको गुनासो गरेका छन् । सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रवासमा दुई महिनादेखि खानेपानी आउन बन्द भएको छात्रवासका संरक्षक कमला लामाले बताउनुभयो । बिहान र बेलुका आउने पानी पछिल्लो समय बन्द हुँदा एक, दुईका घरमा आउने धारामा दुई, तीन घण्टा लाइन बसेर थाप्नु परेको उहाँको भनाइ छ ।

खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोललगायत क्षेत्रका नागरिकले टाढाटाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । स्वच्छ पानी अभाव हुँदा पिउने पानीका साथै सरसफाइमा समस्या हुँदै आएको सर्वसाधरणको गुनासो छ ।

केही दिनयतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या हुन थालेको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि पानीको समस्या हुनु चिन्ताको विषय भएको उहाँको भनाइ छ ।

‘नेपालको सम्पत्ति भनेकै हिमाल हुन्, यसको संरक्षणमा जुटौँ’ – विराजभक्त श्रेष्ठ

काठमाडौँ, ३१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको विश्वव्यापी असरका सम्बन्धमा अवलम्बन गर्नुपर्ने रणनीति तयार गर्न राससले आयोजना गरेको हिमालसम्बन्धी तस्बिर प्रदर्शनी कोसेढुङ्गा साबित हुने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनको आज अवलोकनपछि उहाँले नेपालका हिमाल तथा हिमशृङ्खला, हिमाली क्षेत्रका जनजीवन, पर्यटकीय सम्भावना, जलवायु परिवर्तनको जोखिम र विपद्का पाटो प्रदर्शनीमार्फत जनमानसमा पुगेको बताउनुभयो ।

“तस्विर प्रदर्शनी सकारात्मक छ, हाम्रा सम्पदाको थप प्रवर्द्धन र पर्यटन क्षेत्रमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ”, पूर्वमन्त्रीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “नेपालको भविष्य, भावी र वर्तमानको सम्पत्ति भनेकै हिमाल हुन् । जुन अहिले जलवायु परिवर्तनको असरले गर्दा नाङ्गिँदै गएका छन् । अब यो अन्तरराष्ट्रिय मुद्दा बन्नुपर्छ ।”

नेता श्रेष्ठले देशभरबाट राससले स¬ङ्कलन गरेका हिमालसम्बन्धी तस्बिरको सरकारको पहलमा अन्तरराष्ट्रियकरण गर्नुपर्ने सुझाव दिनुभयो । “यसखालको तस्बिरको पुस्तक बनाएर अन्तरराष्ट्रियकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

राससका समाचारदाता सृजना राईले उहाँलाई स्वागत गर्दै यस प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिसम्म फैलिएका विभिन्न हिमशृङ्खला र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

काठमाडौँ, ३१ जेठः भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठमाडौँ, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको हो ।

सात प्रदेशसमेटिने गरी ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । तीमध्ये काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो ।

यस्तै, वीरगञ्जमा र पोखरामा सात÷सात तथा धरानमा र चारवटा एम्बुलेन्स प्रदान गरिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “उपहारस्वरुप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलहरूमध्ये एक हो । यो पहल भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा हो । जुन दुई देशबीचको सात दशक लामो र बलियो सम्बन्धको निरन्तरता हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै, तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३०० वटा स्कुल बस, सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानुन कार्यान्वयन गर्ने निकायहरू र निर्वाचन आयोगलाई २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ ।

यस्तै, हालै सम्पन्न ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरुप प्रदान गरिएको पनि दूतावासले जनाएको छ ।

भारत–नेपालको बहुआयामिक विकास साझेदारीलाई थप बलियो बनाउने उद्देश्यसहित गरिएको यस सहयोगले दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने दूतावासले विश्वास गरेको छ ।

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ, ३१ जेठः सङ्घीय संसद् सुनुवाइ समितिले सर्वाेच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिको आजको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपालयका मुख्य न्यायाधीश शान्तिसिँह थापा तथा न्यायपरिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो ।

समितिले उहाँहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संसदीय सुनवाइका लागि प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यका लागि पत्र आएको थियो, संसदीय सुनुवाइका अनुसार प्रक्रिया कुनै उजुरी भए १० दिनभित्र उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय भएको छ ।”

त्यस्ता उजुरी सोझै सचिवालय वा इमेलबाट पठाउन सकिने व्यवस्था रहेको सभापति न्यौपानेले बताउनुभयो । उहाँका अनुसार त्यसपछि संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीबारे उजुरीकर्तासँग पुष्ट्याइँका लागि जानकारी लिने र प्रस्तवित न्यायाधीशको संसदीय सुनुवाइ गर्नेछ ।

त्यस क्रममा प्रस्तावित व्यक्तिले आफ्नो कार्य योजना, सोच र अवधारणा प्रस्तुत गर्नुहुनेछ । उहाँहरूले प्रस्तुत गर्नुभएको अवधारणाबारे समितिले ठीक ठहर्‍याएमा नाम अनुमोदन हुने र नियुक्तिको बाटो खुल्नेछ ।

न्यायपरिषद्ले सर्वाेच्च अदालतमा रिक्त न्यायाधीशमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी असार १० देखि रिक्त हुने न्यायपरिषद् सदस्य नियुक्तिका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

कर नीति विरुद्ध संघर्षको तयारीमा छौं ; प्रभु साह

काठमाडौं । संघीय सांसद तथा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले वर्तमान सरकारले अगाडि सारेको कर नीतिले आम नागरिक र व्यवसायीहरूलाई संकटमा पारेको भन्दै त्यसविरुद्ध निर्णायक संघर्षको तयारी थालिएको घोषणा गरेका छन् ।
शनिबार काठमाडौँमा सम्पन्न आम सम्पर्क मञ्चको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारले पटक–पटक करको नाममा जनतामाथि गरेको अन्याय अब सहन नसकिने अवस्थामा पुगेको बताए ।

‘सरकार पिच्छे करको नाममा जनतामाथि जुन अत्याचार गरिरहेको छ, त्यो अब सह्य छैन,’ अध्यक्ष साहले भने ।
‘आज नागरिकको पेशा, व्यवसाय, पसल, उद्योग–कारखाना सबै संकटमा परेका छन् । त्यसैले यसविरुद्ध राष्ट्रव्यापी अभियान अपरिहार्य भइसकेको छ,’ उनले भने ।

देवेन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले सरकारको मनोमानी कर नीतिले सिर्जना गरेको कर आतंकले देशको व्यापार व्यवसाय मात्र होइन, आर्थिक प्रणाली नै अस्थिर बनिरहेको निष्कर्ष निकाल्दै तत्काल प्रतिवादमा उत्रिने निर्णय गरेको हो ।
बैठकले संगठन विस्तारलाई तीव्र बनाउँदै कर आतंकको विरुद्ध जनस्तरमा जनमत निर्माण गर्ने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

अध्यक्ष साहले कर नीतिको निर्माण प्रक्रियामा साना तथा मझौला व्यवसायी, उद्यमी र प्रभावित वर्गहरूको समुचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । साथै उनले जनताको करदाताको अधिकारमाथि सरकार आफैँले हस्तक्षेप गरिरहेको आरोप लगाए ।
बैठकमा देशका विभिन्न भागबाट आएका मञ्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो । आम सम्पर्क मञ्चले आगामी दिनमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको जानकारी पनि दिइएको छ ।

खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी र उम्मेदवारी दुबैले पैसा खर्च गर्न नपर्ने गरी दुनियामा ७१ वटा निर्वाचन प्रणाली रहेको छ नेपालमा पनि यस्तै निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताए ।

उनले ‘अरु देशमा प्रधानमन्त्री देशको हुन्छ हाम्रो देशमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्र हुन्छ । सबै स्रोत साधन त्यतै प्राप्त हुन्छ ।
कतिपय सांसद घरको न घाटको हुने गरेको छ । निर्वाचन प्रणालीले तलदेखिको माथिसम्मको ठूलो लगानी उनिहरुले सेवाकोलागि गर्नुपर्छ । सबै निर्वाचन प्रणाली खराब होला त म भन्दिन तर पनि तुलनात्मकको रुपमा हाम्रो जस्तो विपन्नता भएको मुलुकमा यो खालको निर्वाचन प्रणाली दरिद्र भएको छ । भ्रष्टचार बढाउने बाटो खुलेको छ । त्यसैले जहाँ न पार्टीले न उम्मेदवारले खर्च गर्न परोस् । पार्टी र उम्मेदवारी दुबैले पैसा खर्च गर्न नपर्ने गरी दुनियामा ७१ वटा निर्वाचन प्रणाली रहेको छ । नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको छ ।’

उनले आजसम्म भएका राजनितीक अस्थिरता सबै मन्त्रीका लागि मात्र भएको दाबी गरे । उनले संसदबाट मन्त्री भन्ने शब्द हटाएपछि मन्त्रीहरुको खरिद बित्री नहुने बताए । उनले देशको निर्वाचन प्रणाली नै बदल्न पर्ने बताए ।

उनले भने, ‘आजसम्म जति पनि राजनितीक अस्थिरता भएको छ त्यो सबै मन्त्रीका लागि भएको छ । एउटा पार्टी ले सबैलाई मन्त्री बनाउन सक्दैन त्यसैले राति पार्टी फुटाउँछ बिहान नेता निकल्छ । संसद बाट मन्त्री भन्ने शब्द हट्यो भने मन्त्रीहरुको खरिद बित्री हुँदैन थियो । खसि बोकाको भाउ होला बरु सांसदहरुको भाउ छैन ।’

नागढुङ्गा दुर्घटनाका घाइतेको एपिएफ अस्पतालमा उपचार

काठमाडौँ, ३१ जेठः काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई आज अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो । उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएका छन् ।

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्श्रीमतीको मृत्यु

सुन्दरहरैँचा ( मोरङ) , ३१ जेठः मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान्श्रीमतीको मृत्यु भएको छ ।

स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उहाँको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने : रघुजी पन्त

काठमाडौँ, ३१ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताउनुभयो ।

मन्त्री पन्तले भन्नुभयो, “माध्यमिक तहसम्मको शिक्षा पालिका तहको अधिकार क्षेत्रभित्र पर्छ भन्नेमा हामी ढुक्क हुनुपर्छ । शिक्षक सङ्गठनले उठाएका मर्यादासहितका कतिपय पक्षमा पालिका नेतृत्वले ध्यान पुर्‍याउनेछ, एसइई परीक्षा सञ्चालनको अधिकार भने प्रदेशलाई दिन उपयुक्त हुनेछ ।”

शिक्षा इकाइलाई तीन तहको समन्वयका साथ काम गर्ने संरचना बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्दै मन्त्री पन्तले भन्नुभयो, “स्थानीय तहमा तत्काल शिक्षक भर्ना र सरुवाको अधिकार चाहिन्छ भन्ने र शिक्षकहरूले आफ्नो वृत्तिविकासमा बाधा पुर्‍याउन पाइँदैन भन्ने विषय आएका छन् ।” विद्यालय शिक्षा स्थानीय तहको क्षेत्राधिकार भए पनि उठाइएका प्रश्नका आधारमा व्यवस्थित बनाउन तथा तीनै तहका सरकारका बीच संयोजन गर्न शिक्षा इकाइ राख्ने सन्दर्भमा योजना बनाइएको उहाँले बताउनुभयो ।

विद्यालय शिक्षा विधेयकका विषयसँग जोडिएर विगतमा भएका सहमति र उठाइएका मागलाई सम्बोधन गर्न हरसम्भव प्रयत्न भइरहेको बताउँदै मन्त्री पन्तले मुलुकको आर्थिक अवस्थालगायत कारणले बाल विकासलाई हाल एकवर्षे कार्यक्रमका रूपमा लागू गर्न उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

यसअघि समितिका सदस्यहरूले विगतमा सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कायम हुन नसक्दा छात्रछात्रा कम भई विद्यालय गाभ्न पर्ने अवस्था आएको, गुणस्तरीय शिक्षा उपलब्ध नभएको अवस्थामा योग्य जनशक्ति उत्पादन गर्न नसकिने विषयमा सरकारको ध्यान पुग्न नसकेको धारणा राख्नुभयो ।

उहाँहरूले विद्यालय शिक्षा विधेयकलाई शीघ्र अघि बढाउन, सरकार र समितिबीच गहन छलफल गरी अघि बढ्नुपर्ने तथा विद्यार्थीको भविष्य र विद्यालय शिक्षा सुधार्न सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।

माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छः वरिष्ठ उपाध्यक्ष

काठमाडौँ, ३१ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी छ महिनाभित्र महाविशेन सकेर सिङ्गो पार्टी निर्वाचनको तयारीमा होमिने बताउनुभएको छ । माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको छैटौँ अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अब बस्ने केन्द्रीय समिति बैठकपश्चात् महाधिवेशनको तयारी गरिने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सम्पन्न भएपछि आगामी असारमा बस्ने केन्द्रीय समिति बैठकमार्फत महाविधेशनको तयारी गरिनेछ । अबको छ महिना पूरै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।” महाधिवेशनले राजनीतिक कार्यदिशाको थप विकास र परिमार्जन गर्ने र केन्द्रीय समितिको सङ्ख्या घटाएर १९९ मा ल्याउने उहाँको जिकिर छ ।

नेता श्रेष्ठले महाधिवेशनपश्चात् आसन्न निर्वाचनको तयारीमा केन्द्रित हुने बताउनुभयो । “महाधिवशेनपछि आसन्न निर्वाचनका लागि नयाँ योजना बनाउँछौँ, उम्मेदवारको तयारी गर्छौं”, उहाँले भन्नुभयो, “मुलुकलाई अहिलेको सङ्क्रमणबाट मुक्त गरेर समृद्धिको लक्ष्यमा पु¥याएरै छाड्छौँ ।”
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ‘भिजिट भिसा’का नाममा नेपाली नागरिकमाथिको ठगीसम्बन्धी मुद्दालाई पार्टीले नछाडेको स्पष्ट पार्नुभयो ।

बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

बागलुङ । शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।

दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर घाइते घाइते भएका छन् ।

घाइतेहरुलाई मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको उनले जानकारी दिए । जिप सडकदेखि करिब ६० मिटर तल खसेको बस्नेत बताए । गाडीमा १६ जना सवार थिए ।

माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पहिचान गुमाइसकेको बताएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा मागेर सदन अवरुद्ध गर्दै आएको र गृहमन्त्रीको राजिनामाबाट व्याक नहट्ने भनिरहेको माओवादीले शुक्रबार सरकारसँग दुई बुँदे सम्झौता गरेपछि बस्नेतले माओवादीले सक्दा सत्ताका लागि र नसक्दा सत्ताबाट स्वार्थ पूर्तिका लागि सबैसँग पालैपालो सम्झौता गर्दा आफ्नो अस्तित्व र पहिचान गुमाइसकेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘माओवादी एक थान पार्टी भन्दा पनि मुलुक रुपान्तरणको अभियान र आन्दोलन हो भन्ने मान्छेहरुलाई लाग्थ्यो । कुनैबेला झुत्रेझात्रे परेको माओवादीसँग ठूला ठूला सामन्ती भनिनेहरु पनि सतर्क हुन्थे । विडम्बडना माओवादीप्रति जनताको विश्वास र माओवादीसँग अन्य दलहरुबीच अन्तर दुबै अब बाँकी रहेन ।’

माओवादी अब पार्टीभित्र नवसामन्तवादको प्रवर्धन गर्दै सत्तासँग आत्मसमर्पण र सौदाबाजीमै आफ्नो अस्तित्वको खोजी गर्न थालेको उनको आरोप छ ।

पोखरामा जारी कोटिहोम आज समापन हुँदै, अन्तिम दिन आज के के हुँदैछ पोखरामा हेर्नुहोस्

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज समापन हुँदै छ। महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम शनिबार औपचारिक समापन हुने बताएका हुन्। शुक्रबार कोटिहोममा महाआरती गरिएको थियो। महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। कोटिहोममा हिजो देखि नै विभूति भष्म, तिलक र प्रसाद वितरण गरिएको छ। विभूति, तिलक र प्रसाद लिन भक्तजनको भिड लागेको थियो। शुक्रबारदेखि हवन कुण्डमा रहेका इट्टा वितरण गरिएको छ। उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ। त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ।

कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार पनि हिजै वितरण गरिएको छ। प्रतियोगितामा देविस्थान भजन समूह पोखरा(२५ हेमजा प्रथम हुँदै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्दा माछापुच्छे सेवा समाज पोखरा(२५ हेमजा द्वितीय हुँदै २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो।

त्यस्तै बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय भएर १ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्दा राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना हुँदै ६५(६५ हजार प्राप्त गरे। त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा(२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए।

राजेन्द्र बजगाईंको ‘खै त मायाले कुरा बुझेको’

काठमाडौं ३१ जेठ । पछिल्लो समय राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजनमा एकपछि अर्को गीतको भिडियो सार्वजनिक भइरहेको छ । यसै क्रममा गायिका शर्मिला बर्देवा र प्रमोद शर्माको स्वरमा ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियो सार्वजनिक भएको हो । यसमा दिनेश राज पुरीको शब्द रहेको छ ।

स्टुडियो २१,म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन ।
सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतको भिडियोमा शुधिर श्रेष्ठ, बिना रावत, श्री स्वस्थानी तामाङ्ग लगायतको अभिनय रहेको छ । छायाकंन करन चैसीर, सम्पादन तथा कलर शिलन लम्सालले गरेका हुन् । ‘खै त मायाले कुरा बुझेको’ बोलको गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३१ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३८, काउली स्थानीय प्रतिकिलो रु ५५, मूला रातो प्रतिकिलो रु ३२, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु २५, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु ११०, टाटे सिमी मूल्य प्रतिकिलो रु १०५, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ३२, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ११०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५५, चुकुन्दर प्रतिकिलो रु ६५, रातो बन्दा रु ८०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १९०, लिची (भारतीय) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

काठमाडौं । बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेश सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य हात पा¥यो । ११, १२ र १३ औं संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो ।

गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्यसाथ चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यसाथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौं स्थानमा रहे । सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।
विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीन दिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो ।