`

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

खोटाङ, ३१ जेठ : हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ ।

नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो ।

‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन् । कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रुपमा ब्राण्डिङ गर्नेेगरी तालिमको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ । खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ ।”

नगरपालिकाको कृषि शाखाद्वारा सञ्चालित तालिमको सहजीकरण काठमाडौँबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमले गर्नुभएको थियो । दक्ष प्राविधिको सहजीकरणमा कोदोको परिकार बनाउने तालिम निःशुलक लिन पाएपछि सहभागीहरू व्यावसायिक बन्न उत्साहित बनेको नगरपालिकाले जनाएको छ ।

रैथाने बाली ‘कोदो’को बजार सम्भावनालाई आत्मसात् गर्दै स्थानीय युवाका लागि सीपमूलक उद्यमशीलता प्रति आकर्षित गर्नका लागि तालिमको आयोजना गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “तालिममा सहभागीले पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ एकैसाथ सिक्न पाएका छन् । उनीहरूलाई तालिमले केवल सीपमात्र होइन, आत्मविश्वास र प्रेरणा पनि थपिदिएको छ”, उहाँले भन्नुभयो, “कोदोको पोषण, स्वाद र प्रयोगशैलीको विविधता उजागर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिमले रैथाने बाली कोदोको उत्पादन तथा मूल्य वृद्धि र स्थानीय उद्यमशीलतालाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।”

तालिममा सहभागीलाई कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै गुणस्तरीय परिकार उत्पादन, ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणका पक्षमा पनि व्यवहारिक जानकारी र अभ्यास गराइएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्यानमा राखेर कोदो बालीलाई पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोड्ने प्रयास गरेको हो ।

तालिम समापन अवसरमा प्रशिक्षार्थीले उत्पादन गरेका सबै परिकारहरू कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले अवलोकन गर्नुका साथै स्वाद परीक्षण गरेका छन् । तालिममा सहभागी विद्यार्थीले उत्पादन गरेका कोदोको विभिन्न प्रकारका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको समापन कार्यक्रमका सहभागीले बताएका छन् ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा रैथाने बाली कोदो उत्पादन बढी हुने भएकाले पनि त्यसलाई प्रवर्द्धन गर्दै कोदोको विभिन्न प्रकारका परिकार उत्पादन गरेर बजारीकरण गर्न तालिमको आयोजना गरिएको जनाइएको छ ।

तालिमले विशेषगरी युवालाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने कृषि बाली उत्पादनको संरक्षण तथा सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

विपद् प्रतिकार्य र राजमार्ग अवरोध हटाउने कार्ययोजना २०८२ स्वीकृत

दमौली (तनहुँ), ३१ जेठः जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले विपद् पूर्वतयारी तथा प्रतिकार्य, मौसमजन्य विपद् प्रतिकार्य र राजमार्ग अवरोध हटाउने कार्ययोजना २०८२ स्वीकृत गरेको छ । मनसुनको समय नजिकिँदै गरेकाले वर्षाले जिल्लामा हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप समितिले प्रतिकार्ययोजना स्वीकृत गरेको समितिका संयोजक अध्यक्ष प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारले जानकारी दिनुभयो ।

जिल्लामा हुन सक्ने सबै प्रकारका विपद्, विपद्का सम्भावित क्षेत्र, जोखिम न्यूनीकरण गर्न गर्न सकिने उपाय, विपद् घटेमा सम्बोधन गर्न परिचालन हुने निकाय, स्रोतसाधनको पर्याप्तका बारेमा समेटेर विपद् प्रतिकार्य योजना बनाइएको उहाँले बताउनुभयो । तनहुँ जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेकाले विपद् न्यूनीकरणका लागि कार्ययोजना बनाएर अगाडि बढेको उहाँलेले बताउनुभयो ।

त्यस्तै ६० प्रतिशत विपद् मौसमजन्य कारणले हुने भएकाले समितिले मौसमजन्य विपद् प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ । उहाँले भन्नुभयो, “मौसमका कारण हुन सक्ने सम्भावित घटना, त्यसबाट हुने क्षति, घटना रोक्न सकिने उपाय अवलम्बन र विपद् घटेमा परिचालन हुने निकायको जिम्मेवारीसहित योजना बनाइएको छ ।”

कार्यालयले राजमार्ग अवरोध हटाउने जिल्ला कार्ययोजना समेत स्वीकृत गरेको छ । ७२ किलोमिटर पृथ्वीराजमार्ग खण्ड तनहुँ जिल्लामा भएको र मौसमको समयमा राजमार्ग अवरोध हुन सक्ने सम्भावना भएकाले राजमार्ग सुचारु गराउनका लागि राजमार्ग अवरोध हटाउने जिल्ला कार्ययोजना बनाइएको उहाँले बताउनुभयो । प्रमुख सडकहरुमा जोखिमको क्षेत्र पहिचान गरेर सम्भावित जोखिम न्यूनीकरणका लागि सरोकारवाला कार्यालय परिचालन हुने प्रजिअ अधिकारीले बताउनुभयो ।

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

भोजपुर, ३१ जेठः ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबीच समन्वत्मक बैठक गरिएको हो ।

बैठकमार्फत विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जर्गेणा हुने गरी काम गर्ने निर्णय गरिएको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिकाबीचको सरोकारवालाको बैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको वेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।

त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिका गरी ११ वटा स्थानीय तहको सहभागिता जनाएको हतुवागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।

अन्तरपालिकाबीच भएको बैठकमार्फत पदमार्गको विकासका लागि साझा धाराणा लिएर अघि बढ्ने प्रतिवद्धता गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पदमार्गले छोएका स्थानीय तहबीच गरिएको कार्यक्रमले पदमार्गको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने उहाँको भनाइ छ ।

“ग्रेटर पदमार्गका विषयमा हतुवागढीमा समन्वयत्मक बैठक सम्पन्न गरेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “यो बैठकबाट पदमार्गको थप विकास लागि कसरी अघि बढ्ने भन्ने विषयमा बृहत्त रूपमा छलफलसमेत गरिएको छ । अहिले सबै पालिकामा भइरहेको पदमार्ग निमार्णको कामको विषयमा छलफल गरेका छौँ ।”

अन्तरपालिका पालिकाबीच भएको सरोकारवाला पक्षको बैठक उपलब्धिमूलक बनेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । बैठकबाट पदमार्गको कामलाई भावी दिनमा कसरी गुणात्मकढङ्गले अघि बढाउने भन्ने विषयमा योजना तयार गरिएको उहाँको भनाइ छ ।

पदमार्ग विस्तार भइरहेका स्थानीय तहसँगै पर्यटनसँग सम्वद्ध पक्षबीचको कार्यक्रम भएकाले यसले दिर्घकालिन महत्वलाई समेटेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पदमार्गलाई पर्यटनसँग जोडेर संस्कृतिको संरक्षणसँगै आर्थिक पक्षको विकासमा टेवा पु¥याउन गर्न सकिने थप कामको विषयमासमेत छलफल गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले पदमार्गको समग्र विषयमा जानकारी दिएको छ । साथै दिगो र नविनतम् पर्यटन विकासको अवधारणाको बारेमासमेत अवगत गराइएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ, ३१ जेठ : हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षासमेत भैरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले अनुरोध गरेको छ ।

राष्ट्र बैंकद्वारा ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन, संयोजकमा कार्की

काठमाडौँ, ३१ जेठः नेपाल राष्ट्र बैङ्कले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा पूर्वबैङ्कर भुवनकुमार दहाल सदस्य हुुनुहुन्छ । यस्तै नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकसदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो । सो कार्यदलको समयावधि एक महिनाको रहनेछ ।

कार्यदललाई बैङ्किङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ ।
यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका , ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम ,बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव दिन भनिएको छ ।

त्यस्तै, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव दिन आग्रह गरिएको गभर्नरको कार्यालयले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ३१ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ १९ पैसा र बिक्रीदर २१ रुपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ र बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९७ पैसा र विक्रीदर ३५८ रुपैयाँ ५३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

वीरगञ्ज (पर्सा), ३१ जेठः उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीस माथि इजलास कक्षमा दुव्र्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

१४ वटै न्यायाधीसको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

यहाँका न्यायाधीसद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा (बहुमत)का तीन जना कार्यकर्ताले विहीबार दिउँसो करिव ४ बजेको समयमा इजलास कक्षमै दुव्र्यवहार गरेका थिए ।

सो पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमारलाई प्रहरीले अदालत परिसरभित्रैबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले न्यायाधीसद्वयमाथि दुव्र्यवहार गर्नेलाई जिल्ला अदालत पर्सामा म्याद थप गर्नका शुक्रबार पठाइएको जानकारी दिनुभयो । “खाजा खाने बाहना बनाएर अदालतभित्र छिरेका उनीहरुले मौका छोपेर न्यायाधीसद्वयमाथि दुव्र्यवहार गरेका रहेछन्,” उहाँले भन्नुभयो, “पक्राउ परेकालाई शुक्रबार अदालतमा म्याद थप गर्नका लागि पठाएका छौँ ।”

उहाँले दुव्र्यवहार गर्नेलाई अदालतको मानहानी, साइबर क्राइम, अभद्र व्यवहारलगायतका कसुरमा अनुसन्धान गरिने बताउनुभयो ।

यसअघि १४ वटै न्यायाधीसको लागि एक–एक जना पिएसओ खटाइँदै आइरहेको थियो भने अदालत परिसरमा एक दर्जन सुरक्षाकर्मी खटाइएको थियो । प्रहरी प्रमुख मिश्रले सो घटनापछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको जानकारी दिनुभयो । “विगत लामो समयदेखि कार्यरत रहँदै आएका १४ वटै न्यायाधीसको ‘पिएसओ’लाई परिवर्तन गरेर नयाँ पठाएका छौँ,” उहाँले भन्नुभयो, “अदालत परिसरको सुरक्षामा खटिने प्रहरीको जनशक्ति समेत थप गरेर सुरक्षालाई अझैँ मजवुत गराउने काम भइरहेको छ ।”

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

काठमाडौँ, ३१ जेठः नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितीका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ ।

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : अध्यक्ष नेपाल

काठमाडौँ, ३० जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त र कार्यक्रमको अवलम्बन गरेको बताउनुभएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले देश र जनताको हितलाई सर्वोपरि राखेर पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गरेको भूमिकाबाट कतिपय व्यक्तिहरू आत्तिएर पार्टी विभाजन गराउन उद्यत रहेको आरोप लगाउनुभयो ।

कम्युनिष्ट पार्टीको टुटफुटले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न नसकिएको बताउँदै उहाँले त्यसले जनतामा निराशा र आक्रोश बढेको विचार व्यक्त गर्नुभयो । उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरण नीतिगत निर्णय भएकाले आफू निर्दोष रहेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले संविधानप्रदत्त मन्त्रिपरिषद्मा नीहित नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको बताउनुभयो ।

पार्टीले उक्त मुद्दा प्रतिरक्षाका लागि कानुनविद् सम्मिलित कार्यदल गठन गरेको बताउँदै उहाँले सो विषयमा अदालतबाट छिट्टै न्याय निरुपण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले विश्व बैंक नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा (२०२५–२०३१) लाई बैंकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कृषिको आधुुनिकीकरण, उत्पादकत्व वृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरुको सहभागितामा सरकारले प्राथमिकता दिएको अवगत गराउँदै जलवायुु परिवर्तनका लागि विश्व समुुदायलाई नेपालले गरेको योगदानका आधारमा उचित क्षतिपूर्ति पाउनुुपर्नेमा जोड दिनुुभयो । उहाँले आफूू पहिलो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको तर भूकम्प र बाढी पहिरोजस्ता विपद्का कारण पुुनः निर्माणका काममा लाग्नुुपरेकाले सोचे जति विकास हुन नसकेको स्थितिमा अब उत्पादन, बजारीकरण र रोजगारी वृद्धिका लागि लागिएकाले यसमा बैंकजस्ता संस्थाको सहयोग आवश्यक हुने बताउनुुभयो ।

प्रमुु्ख सिस्लेनले छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचाअन्तर्गत नेपालको रोजगारी सृजना, जलवायु अनुकूलन, विपद जोखिम न्यूूनीकरण, कृषि, सामाजिक र संस्कृतिका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाउनुुभयो । उहाँले प्रधानमन्त्री ओलीको हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताउनुुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य र अर्थ मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।

नेपाल विद्युत् प्राधिकरणलाई खण्डीकरण वा निजीकरण दुवै गर्न नहुनेमा जोड

काठमाडौँ, ३० जेठः नेपाल विद्युत् प्राधिकरणलाई खण्डीकरण वा निजीकरण दुवै गर्न नहुनेमा जोड दिइएको छ । आज यहाँ आयोजित प्राधिकरण कर्मचारी सङ्घको १३औँ अधिवेशन उद्घाटन समारोहका वक्ताले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने धारणा राखेका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष तेजेन्द्र कार्कीले खानेपानी संस्थानलाई चार टुक्रा बनाउँदा अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीले तलब पाउन नसक्ने अवस्था आएकाले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने बताउनुभयो । साझा प्रकासनका कर्मचारीले तीन वर्षदेखि तलब नपाएको उल्लेख गर्दै उहाँले प्राधिकरणलाई सबल बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट कम्पनीलगायतले अहिले पनि अवकाश पाएका कर्मचारीलाई उपदान दिन नसकेको कावा अध्यक्ष कार्कीले बताउनुभयो ।

सार्वजनिक सेवा कर्मचारी सङ्घका अध्यक्ष राजेन्द्र दाहालले अहिले प्रभावकारी रूपमा सञ्चालन भइरहेका सार्वजनिक संस्थानलाई निजीकरण गरेर धरासायी बनाउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष राधिका कुइँकेल, महासचिव अजयकुमार राई, प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल, प्राधिकण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेवे, सङ्घका सहअध्यक्ष टङ्क अधिकारी, महासचिव धीमन्तराज न्यौपानेलगायत वत्तलाले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने, यही जेठ ५ गतेसम्म सम्पन्न भइसक्नुपर्ने आधिकारिक टे«ड युनियनको निर्वाचन अहिलेसम्म हुन नसकेको, स्थायी कर्मचारीलाई पनि दुईथरि सेवा सुविधा दिइएकोलगायत विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराउनुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

बागमती, ३० जेठः अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ दोर्जे लामालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा लामाको घरकोठामा रीतपूर्वक खानतलासी गर्दा अवैध भरुवा बन्दुक एकथान फेला परेपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

पक्राउ परेका लामामाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

कामपाले सुरु गर्‍यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

काठमाडौँ, ३० जेठः काठमाडौँ महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको छ । यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क सञ्चालन हुनेछ ।

कामपा स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागुपदार्थको कुलतमा फसेकालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

कामपा–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर उपचार गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउन कामपाले परीक्षण सुरु गरेको जानकारी दिनुभयो ।

पाटन अस्पतालका मनोचिकित्सक डा अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक तथा निद्रा नलाग्ने, दिशा, पिसाब गरिरहनेलगायत अस्वाभाविक परिवर्तन हुनु मानसिक समस्याका लक्षण रहेका बताउनुभयो ।

मानसिक समस्यालाई समयमा पहिचान गरेर नियन्त्रण बाहिर पुग्नुअघि समाधानका उपाय खोज्न सकिने उहाँको भनाइ छ । “सामान्यभन्दा बढी नकारात्मक वा पीडादायक सोचाइ आउनु, दुखित हुनु, चिन्तित हुनु, डराउनु, निराश हुनु, असहज शारीरिक लक्षण देखिनु, अस्वाभाविक र असामान्य व्यवहार देखिनु, दैनिक काममा असहज हुनुलगायत व्यवहारमा परिवर्तन देखिएमा मानसिक समस्या हुनसक्छ”, डा पराजुलीले भन्नुभयो ।

यस्ता समस्या सकेसम्म अरुलाई नसुनाउने भएकाले रोग बढ्दै जाने भन्दै पाटन अस्पतालका चिकित्सा मनोविद् अनुपराज भण्डारीले ठूला अस्पतालमा मानसिक समस्याका बिरामीको सङ्ख्या बढ्दै गइरहेको बताउनुभयो । वडास्तरमा हुने विशेषज्ञ परीक्षणले अस्पतालमा बिरामीको चाप घट्ने र सेवाको गुणस्तर बढ्ने उहाँको भनाइ छ ।

विश्वास लाग्ने व्यक्तिसँग मात्र कुराकानी गर्ने, परामर्शदातासँग कुरा गर्ने, व्यायाम गर्ने, प्रशस्त पानी पिउने, गीत गाउने वा सुन्ने, गहिरो सास फेर्नेलगायत अभ्यास गर्नुपर्ने भण्डारीले उल्लेख गर्नुभयो ।

“सन्तुलित खानपान गर्नुपर्छ । दैनिक करिब १ घण्टा व्यायाम गर्नुपर्छ । मोबाइल, ल्यापटप जस्ता विद्युतीय उपकरणको प्रयोग घटाउनुपर्छ । करिब ८ घण्टा सुत्नुपर्छ । हानीकारक पदार्थको प्रयोग गर्नुहुँदैन । कुनै समस्या आएमा मनोविद् र मनोचिकित्सकको सुझाव लिनुपर्छ । आफूले आफैँलाई नियन्त्रणमा राख्ने अभ्यास पहिलो उपचार हो”, उहाँले भन्नुभयो ।

मानसिक स्वास्थ्यको लक्षण, असर र समाधानका उपायसम्बन्धी सन्देश प्रवाह गरेर मानसिक समस्यालाई घटाउन, परीक्षण र परामर्शबाट व्यक्तिको अवस्था पत्ता लगाएर उपचार गराउने उद्देश्यले कामपाले कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए ।

“सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,” बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्यूजसँग बताउनुभयो ।

प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २६५ जनाको शव गणना गरिएको र विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा २४ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिनुभयो ।मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ ।

एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न ४१ जनाले इजाजत लिए

काँक्रेविहार (सुर्खेत), ३० जेठ : डोल्पामा पाइने यार्सागुम्बा बिक्री गर्नका लागि १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । एकचालीस जनाले उक्त इजाजत लिएको डोल्पास्थित डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर रावलले बताउनुभयो ।

साउनदेखि हालसम्म ४१ जनाले इजाजत लिएको उहाँले बताउनुभयो । जेठमा मात्र नौ जनाले इजाजत लिएको उहाँको भनाइ छ । अहिलेमात्र नौ जनाले ३८ दशमलव १२१ केजीको इजाजत दिइएकामा साउनदेखि हालसम्म ४१ जनालाई १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । प्रतिकेजी रु ३१ हजार लिएर इजाजत दिने गरिन्छ । हालसम्म विभिन्न शीर्षकको रु एक करोड दुई लाख २४ हजार उठेको छ । ठुलिभेरीका तीन सामुदायिक वन समूह र काइके गाउँपालिकाको एउटा सामुदायिक वन समूहले प्रवेश शुल्क लिने गरेका छन् । सामुदायिक वनले प्रवेश शुल्क उठाउने गर्दछन् ।

उता से–फोक्सुण्डो राष्ट्रिय निकुन्जले समेत प्रवेश शुल्क उठाउने गर्दछ । यार्सागुम्बा सङ्कलनको कार्य जेठ ५ गतेदेखि सुरु भएको थियो । हाल अन्तिम चरणमा पुगेको छ । बर्सेनि डोल्पामा यार्सागुम्बा सङ्कलन हुने गर्छ । यहाँका स्थानीयवासीको आयआर्जनको भरपर्दो माध्यमसमेत यही रहेको छ । निकुन्जभित्र उठेको रोयल्टी शुल्क सङ्कलनको कार्य जारी रहेको कार्यालयले जनाएको छ । असार ५ गतेसम्म यार्सागुम्बा सङ्कलनको काम जारी रहनेछ । अघिल्लो वर्षभन्दा यो वर्ष कम मात्रामा यार्सागुम्बा पाइने गरेको सङ्कलक बताउँछन् ।

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

लुम्बिनी, ३० जेठ : पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरू पोखरा घुम्न निम्तो दिँदै विभिन्न सहरमा प्रवर्द्धनात्मक अभियानमा निस्किएका छन् ।दुई दशकअघि सुरु गरेको ‘जाऊँ है पोखरा’ अभियानलाई निरन्तरता दिँदै व्यवसायीहरू यस वर्ष पर्यटन प्रवर्द्धन कार्यक्रमसहित आज बुटवल आइपुगेका हुन् । होटल सङ्घ पोखराको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धन लक्षित पोखरा र लुम्बिनीको पर्यटन क्षेत्रलाई जोड्नेगरी पश्चिम नेपालका बुटवल, नेपालगञ्ज, सुर्खेत र दाङलगायतका सहरमा सो अभियान लिएर निस्किएको व्यवसायीले जनाएका छन् ।

उनीहरूले आज रुपन्देहीका व्यवसायीसँग भेट गरी आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय साझेदारीलगायत विषयमा छलफल गरे । छलफलमा होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दुई दशकअघिदेखि नेपालभित्रका विभिन्न सहरमा अभियान सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।

उहाँले अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष– २०२५’ सफल बनाउनसमेत अभियान सार्थक हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रका पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई लुम्बिनी हुँदै ल्याउने हाम्रो अभियानको उद्देश्य हो ।”

पोखराको पर्यटन क्षेत्रमा रु सात खर्ब बढी लगानी रहेकामा होटल क्षेत्रमा मात्र रु पाँच खर्ब हाराहारीको लगानी रहेको व्यवसायीको भनाइ छ । यस क्षेत्रका एक हजार २०० होटलमा ४० हजार ‘बेड’ रहेको र २० हजारले रोजगारी पाएको सङ्घको तथ्याङ्क छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यस्ता अभियानले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालनका लागि दबाब आवश्यक रहेको बताउनुभयो ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा यही जेठ २९ गतेदेखि आगामी असार २ गतेसम्म सञ्चालन हुने ‘जाऊँ है पोखरा’ अभियानका क्रममा बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङलगायतका सहर पुगेर पर्यटनसम्बद्ध पदाधिकारी तथा पर्यटन व्यवसायीहरूसँग छलफल एवं अन्तक्र्रिया गरिने होटल सङ्घ पोखराका सचिव पार्वता पाण्डेले जानकारी दिनुभयो ।

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

किमाथाङ्का (सङ्खुवासभा), ३० जेठ : जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट फोटो, भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गरेकाले उनीहरूलाई विद्युतीय अपराधअन्तर्गत पक्राउ गरिएको हो ।

षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँमा २१ वर्षीय बिपल राई उपर उजुरी परेकाले उनीहरूलाई सदरमुकाम खाँदबारीबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका भुजेल र राईमाथि सङ्खुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा विद्युतीय अपराधमा यो वर्ष तीन जना पक्राउ परिसकेका छन् । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले कसुरमा पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’ : महामन्त्री थापा

इटहरी (सुनसरी), ३० जेठः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले समावेशी सिद्धान्त अनुरुप संयमित र जिम्मेवार भएर राजनीति गर्ने बताउनुभएको छ ।आज नेपाल तामाङ सङ्घ कोशी प्रदेशद्वारा इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले उत्तेजनात्मक र निषेधात्मक भन्दा समावेशी, संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट पार्नुभयो ।

महामन्त्री थापाले जातीय वा धर्मका आधारमा उत्तेजना फैलाउने र त्यसबाट लाभ लिने प्रवृत्ति कसैले गर्न नहुने बताउँदै समुदायमा समन्वय र सदभावपूर्व तरिकाले सबै एकापसमा मिलेर रहनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो कांग्रेस मध्यमार्गी पार्टी हो । अधिकार दिने, समावेशीकरण गर्ने, चेतना फैलाउने, प्रशिक्षण दिने र आफू सुधारिने बाटोमा पार्टी अघि बढेको छ ।”

संविधान संशोधन सबैको सहमतिका आधारमा हुने स्पष्ट धारणा राख्दै महामन्त्री थापाले एमाले, माओवादीलगायत पार्टीसँग छलफल तथा नागरिकस्तरमा संवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संविधान संशोधनले कुनै समुदायको अधिकार घट्ने होइन, अझ बलियो हुने बताउनुभयो । “कसैलाई लाग्न सक्छ अधिकार खुम्चिन्छ, तर त्यस्तो हुँदैन । लेखिएको अधिकार अझै बढ्छ, घट्दैन”, उहाँले भन्नुभयोे ।

थापाले तामाङ समुदायको योगदानको कदर गर्दै तामाङ समुदायको समुन्नतिका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । कांग्रेस सबै जातजाति, धर्म, भाषा र समुदायलाई समेटेर अघि बढ्ने दल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कांग्रेसमा सबै अट्न सक्छन्, कांग्रेस सबैलाई अटाउने क्षमता राख्छ ।”

ओखलढुङ्गामा ३२ वर्षिया हिराले जन्माईन तिम्ल्याहा शिशु

ओखलढुङ्गा, ३० जेठ : यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिनुभएको छ ।

बिहीबार अस्पताल भर्ना हुनुभएकी तामाङले आज बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिनुभयो । निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए । जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ ।

३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तामाङको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरा छन् ।

प्रतिनिधिसभामा रमिता : भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यंग्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वसभामुख अग्नि सापकोटा भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको भूमिकालाई लिएर कटाक्ष गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले अग्नि सापकोटाको भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आत्मसमर्पण गरेको टिप्पणी गरे।
उनले भने, ‘संसदमा चाँही बडो रमिता भयो। प्रतिपक्ष दल माओवादीले भिजिट भिसामा अग्नि सापकोटा साट्यो। त्यसका लागि माओवादीका साथिहरूलाई बधाई दिन चाहन्छौं हामी ।’

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले गल्ती स्वीकार गरेको र सरकारसँग सहमति जनाएर आत्मसमर्पण गरेको आरोप लगाए । ‘भिजिट भिसा प्रकरणमा माओवादीका साथिहरू चुक्नु भयो र आत्मसमर्पण गर्नुभयो,’ उनले भने।

उनका अनुसार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको समर्थन नपाएपछि गृहमन्त्रीको राजीनामा माग्ने प्रस्ताव र संसदीय छानबिन समिति गठनको माग अल्पमतमा परेको छ । यसले सरकारलाई राहत पुगेको संकेत गर्दै उनले प्रतिपक्षभित्रै विभाजन भएको टिप्पणी गरे ।

संघीय लोकतान्त्रिक मोर्चाको बैठक : कार्यविधि टुंग्याउने र भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक मोर्चाको शुक्रबार बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले मोर्चाको कार्यलाई व्यवस्थित गर्न सचिवालयद्वारा तयार गरिएको कार्यविधिमा अन्तिम निर्णय लिन अर्को बैठकसम्म सबै सदस्यहरूलाई राय र सुझाव दिन आग्रह गरेको छ । ‘मोर्चाको सचिवालयले तयार पारेको कार्यविधिलाई अन्तिम रूप दिन अर्को बैठकसम्म राय सुझाव दिने, र त्यसपछि कार्यविधिलाई अन्तिम रूप दिने निर्णय गरेका छौं,’ महतोले भने ।

बैठकमा आदिवासी जनजाति समुदायसँग सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।त्यस्तै, पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणबारे पनि बैठकले गम्भीर चासो व्यक्त गरेको छ ।

मोर्चाले उक्त प्रकरणमा निष्पक्ष ढंगले छानबिन हुनुपर्ने माग गर्दै दोषीलाई सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्ने निर्णय गरेको महतोले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा मिश्र नियुक्त

काठमाडौँ ३० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गर्नुभएको छ ।विश्वविद्यालयका कुुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा डा बिजुुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुुङ घर भई हाल चितवन निवासी मिश्रलाई आज नियुक्त गर्नुभएको हो ।

एकतीस वर्षदेखि अध्ययनरत डा मिश्रले बागवानी विषयमा त्रिभुुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गर्नुभएको थियो । उहाँ विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न हुनुुहुुन्छ ।

मुख्यमन्त्री कार्की र चीनका राजदूतबीच भेट, किमाथांका–जोगबनी सडकको चर्चा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोंगबीच विराटनगरमा शिष्टाचार भेटवार्ता भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त भेटमा दुईपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो ।भेटका क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पछिल्लो समय सञ्चालन गरिरहेको विकास परियोजनाबारे जानकारी गराउँदै कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सहयोगका लागि आग्रह गरेका छन् ।

उनले किमाथांका–जोगबनी सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उक्त सडकले नेपालमा पर्यटन प्रवद्र्धन र व्यापार विस्तारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय र बजारीकरणयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

चीनले कोशी प्रदेशसँग सहकार्यका लागि चासो राखिरहेको उल्लेख गर्दै किमाथांका क्षेत्रमा चीनतर्फका निर्माण कार्य सम्पन्न भइसकेको तर नेपालतर्फ ढिलाइ भएकोप्रति चासो व्यक्त गर्दै निर्माणमा तीव्रता दिनुपर्नेमा उनले जोड समेत दिएका छन् ।

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

धनुषा, ३० जेठः मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले सांसद कुशवाहा निलम्बनमा परेका जानकारी दिनुभयो ।

कुशवाहाको निलम्बनसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धानको पत्र सभामुख मण्डलले सभासमक्ष पढेर सुनाउनुभएको थियो । उहाँ बिहीबार काठमाडौँको अनामनगरबाट पक्राउ पर्नुभएको थियो । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उहाँ महोत्तरी निर्वाचन क्षेत्र नं ४ (२) बाट निर्वाचित हुनुभएको थियो ।

कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी समितिको रकम निजीसचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको रकम आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सचिव कायस्थ महोत्तरीबाट केही दिनअघि पक्राउ परेका थिए ।

यसअघि सांसद दीपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बन भइसकेका छन् । सांसदद्वय कुशवाहा र शर्मा महोत्तरीबाट र सांसद ठाकुर धनुषाबाट प्रदेश सांसदका रूपमा निर्वाचित हुनुभएको थियो ।

दशनामी साहित्य, कला तथा संस्कृति बिभागको अध्यक्षमा गिरी

काठमाडौंँ । दशनामी साहित्य, कला तथा संस्कृति बिभाग गठन भएको छ । गीतसंगीत, साहित्य, कलाकारिता तथा संस्कृति क्षेत्रमा कार्यरत दशनामी सन्यासी कलाकर्मीको राजधानीमा आयोजित भेलाले उक्त बिभाग गठन गरेको हो ।

भेलाले कलाकार, निर्माता, निर्देशक अर्जुन गिरीको संयोजकत्वमा २२ सदस्य कार्यसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा भुमिका गिरी, हरी गिरी ‘बिमर्षी’, मिरा गिरी, राजु गिरी, पूजा पुरी, अस्मिता पूरी, अमृत भारती, कणराज गिरी, सचिन गिरी, राजेन्द्र गिरी ‘जादुगर गुन्द्रुके’, कुबेर गिरी, बाबुल गिरी, अनिता गिरी, अञ्जु पुरी, उज्वल गिरी, अब्सरा पुरी, अपेक्षा गिरी, सरस्वती बन, समुन्द्र गिरी, लक्ष्मी गिरी रहेका छन् ।

गायन, नृत्य, अभिनय, साहित्य लगायत कलाका बिभिन्न बिधामा छरिएर रहेका दशनामी सन्यासीहरुलाई एकबद्ध गर्ने उदेश्यले ‘दशनामी साहित्य, कला तथा संस्कृति बिभाग’ गठन भएको संयोजक अर्जुन गिरीले बताए ।

‘हामी देशभर थुप्रै दशनामी सन्यासी रहेका छन् । तिनमा पनि कला, साहित्य र संस्कृत क्षेत्रमा थुप्रै ब्यक्ति क्रियासिल छन्’, गिरीले भने ‘सबै गोलबद्ध भएर अझ अगाडि बढ्न यो बिभागले मद्दत पुग्छ ।’ बिभागले आगामी दिनमा नेपाली कलासंस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने योगदान दिने गिरीको भनाई छ ।

बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

ढोरपाटन (बागलुङ), ३० जेठ : यहाँको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उहाँको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार छ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छभने दुई वटा शव सङ्कलन भइरहेको छ ।

उपप्रमुख कायतले भन्नुभयो, “हामी घटनास्थल आइपुगेका छौँ, अहिले घाइतेको उद्धार गरी प्रहरी र नगरपालिकाको गाडीमा अस्पताल पठाइरहेका छौँ, दुई जनाको मृत्यु भएको छ, शव सङ्कलनको प्रयास भइरहको छ ।”

‘माओवाद’ का नाममा ठगी धन्दा मौलायो : डा.बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी भन्ने पार्टीको नाम प्रयोग गरेर ठगी धन्दा भएको बताएका छन् ।

शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरुले हिजोको जनयुद्धमाथि न्याय नगरेको भन्दै माओवादको नाममा ठगी धन्दा चलाएको बताए ।
उनले भने, ‘शहिद भए, बेपत्ता भए, बलिदान भए भन्ने नाममा अहिले सत्ता कसले खाइरहेको छ, त्यसको ब्याज कसले खाइरहेको छ भन्दा माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरुले खाइरहेका छन् । तीनले हिजोको जनयुद्धमाथि न्याय गरेका छैनन् । शहिद बेपत्ता भएका मान्छेको रगत र बलिदानको उचित मूल्यांकन गरेका छैनन्

। त्यसैले माओवाद अहिले एउटा ब्राण्ड जस्तो मात्र भएको छ । माओवाद भन्ने ब्राण्ड प्रसिद्ध छ तर त्यसको प्रयोग गरेर ठगी धन्दा भएको छ । हामीले त्यसको विरोध गरेका छौं ।’
यस्तै, उनले भएका उपलब्धी माथि टेकेर नेपाललाई समृद्धिकरणको दिशातिर लाने भनेर पार्टी सुरु गरेपनि बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि केही कमजोरीहरु गरेको बताए ।

उनले भने, ‘भएका उपलब्धी माथि टेकेर नेपाललाई अब समृद्धिकरणको दिशातिर लाने बेला हो भनेर पार्टी सुरु गरेका थियौ । तर हामी कहाँ चुक्यौ अथवा मेरो कमजोरी कहाँ भयो भनेर समीक्षा नै भएन् । संघीय लोकतान्त्रिक गणतन्त्र पनि गुम्ने हो की भन्ने जस्तो अवस्था छ । गणतन्त्रमा टेकेर मात्र समाजवादतिर जान सकिन्छ भन्ने अर्थमा जुन गणतन्त्र ल्याइयो त्यसमा व्यक्तिगत रुपमा बाबुरामकै जोड थियो । किनभने अरुले त गणतन्त्र छाड्दै गएका थिए । र यही गणतन्त्रको रक्षाको लागि नै केही कमजोरीहरु भएको हो ।’

बोल्न र लेख्न अधिकारमाथि हस्तक्षेप गर्न हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौँ, ३० जेठ : प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजेन्द्रप्रसाद लिङ्देनले सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा सांसद लिङ्देनले बोलेको र लेखेकै आधारमा मानिसलाई पूर्जी काट्ने काम गरेकोप्रति विरोध गर्दै यस प्रकारको कामबाट सरकारलाई पछाडि हट्न आग्रह गर्नुभयो ।

उहाँले शान्तिपूर्ण आन्दोलन एक घटकका कमल थापालाई पक्राउ गरिएको सम्बन्धमा भेट्न गएका दीपकबहादुर सिंहलाई प्रहरीले नियन्त्रण गर्नु संविधानविपरीत भएको बताउनुभयो ।

सांसद लिङ्देनले देशमा रोजगारी नपाएर अवसरको खोजीमा जानेलाई दैनिक रु ५० हजार माथिल्लो तहले लिने गरेको कुरा सार्वजनिक भएको र यो देशको बेइज्जतीको कुरा भएको बताउनुभयो । उहाँले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिई अख्तियारलाई स्वतन्त्रपूर्वक राजनीतिक क्षेत्रको पनि अनुसन्धान गर्नुपर्र्नेमा माग गर्नुभयो ।

सांसद मनिष झाले भिजिट भिसा प्रकरण र अध्यागनका कर्मचारी विकृतिका विषयमा गृहमन्त्रीलाई जानकारी नभएको नभए किन कर्मचारीलाई सरुवा गरिएको भन्ने प्रश्न उठाउनुभयो । उहाँले यो प्रकरणको सरकारले चित्तबुझ्दो उत्तर नदिएसम्म आफूहरूलाई सैह्य नहुने बताउनुभयो ।

लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ

गोरखा ३० जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर्ने बताउनुभएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलन कार्यक्रमलाई आज सदरमुकाममा सम्बोधन गर्नुहुँदै उहाँले लोकतन्त्रको रक्षा गर्न सामाजिक, आर्थिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।

“सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बेला आएको छ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “लामो समयदेखि राज्य र समाजमा भ्रष्टाचारले जरा गाडेर बसेका कारण विकासले गुणात्मक फड्को मार्न सकिरहेको छैन ।” उहाँले अहिलेको विकासको गतिले जनताको आवश्यकता पूरा गर्न नसक्ने बताउनुभयो ।

“आर्थिक रुपान्तरण र विकासको काम मात्रामात्रामा गरेर हुँदैन, उहाँले भन्नुभयो, यति ठूलो युगान्तकारी परिवर्तन राजनीतिक क्षेत्रमा त भयो तर विकासका क्षेत्रमा भने जुनसुकै सरकार जुनसुकै राजनीतिक दल आए पनि अलिअलि हुने विकासले अब हुँदैन विकासमा गुणात्मक फड्को मार्नुपर्छ ।”

लोकतन्त्रवादी शक्तिले यथास्थितीवाद र प्रतिगमनलाई सँगसँगै परास्त गरेर अघि बढ्नुपर्ने बेला आएको भन्दै उहाँले अनि मात्र सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोल्न सकिने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले जनताको आशा र अपेक्षाको रूपमा हेर्दै आएको माओवादी केन्द्रले पनि आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भनेमात्र नेपालीको राष्ट्रियता बलियो हुने उहाँको भनाइ छ । “हामीले आफ्नो पहिचानलाई गर्ववोधका साथ लिन र हाम्रो भाषा, संस्कृति एवं परम्पराको रक्षा गर्नलाई अगाडि बढ्न आवश्यक छ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “मनमा कसैले पनि हिनतावोध लिएर बस्नु हुँदैन ।”

नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रियहितको रक्षा गर्दै सबैले नेपाली हुनुमा गर्व गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपाध्यक्ष श्रेष्ठले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै दाबीसमेत गर्नुभयो ।

रास्वपाप्रति गृहमन्त्रीको प्रहार : नक्कली पीडित खडा गर्ने काम बन्द गर्नुहोस

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँजी गर्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए ।

उनले भने,‘केही पार्टी कार्यालयहरुमा नक्कली पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु । यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने छ ।’
त्यस्तै उनले रास्वपा सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालसाँजीमा नलागी सचेत रहन सुझाव दिए । रास्वपाका सांसदहरुले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए ।

‘जालसाँजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरु बन्दैछन् । यसमा तपाईहरु सचेत हुनुहोस् । किनभने तपाइँहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा बैदेशिक रोजगार ऐन बनाएर चारवटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ,’उनले भने

पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल

पाटन (ललितपुर), ३० जेठ : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पूँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताउनुभएको छ ।

आइएमई लिमिटेडद्वारा आज ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आइएमई लिमिटेडले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

“आइएमईको यो योगदान धेरै ठूलो योगदान हो, देशका लागि धेरै ठूलो चुनौती लिएर काम गर्न सक्ने, रोजगारी र व्यावसायिक सम्भावना खोज्ने खालका व्यक्तिहरू आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले विदेशमा भएको कमाई औपचारिक माध्यमबाट नेपालमा ल्याउन आइएमई सफल भएको भन्दै आगामी दिनहरूमा राष्ट्र बैंकले जारी गर्ने नीतिनियम तथा निर्देशन पालना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

आइएमई ग्रुपका संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास नै नभएको अवस्थामा विदेशी रेमिटेन्स स्वदेश ल्याउन सफल भएको बताउनुभयो । उहाँले इमानदारीपूर्वक लागेर काम गर्दा असम्भव काम पनि सम्भव हुन पुगेको उल्लेख गर्दै सरकारको प्राथमिकता, आमनागरिकको आवश्यकता र व्यावसायिक उद्यमीलाई आइएमईले महत्त्व दिएर काम गर्ने बताउनुभयो ।

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले सन् १९९४ देखि १९९८ सम्म जापानमा बस्दा नेपालमा पैसा पठाउन भोगेको समस्याले गर्दा आइएमई अभियानको सुरुआत भएको बताउनुभयो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले २५ वर्ष अगाडिको जटिल परिस्थितिमा देशको आवश्यकतालाई बुझेर रेमिटेन्स सेवा सुरु गरेको बताउँदै नागरिकको गुणस्तरीय जीवनमा समेत योगदान पुर्‍याएको बताउनुभयो ।

राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आजको राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा उनले वर्तमान अवस्थाको सबैभन्दा बढी जिम्मेवार माओवादी भएको भन्दै हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने र पद बाँडफाँड गर्नेतिर गएको बताए ।
उनले भने, ‘आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो ।

यो कुरा हामीले गम्भिरतापूर्वक मनन् गर्नुपर्छ । माओवादी भनेपछि प्रचण्ड र बाबुरामको कुरा मात्र होइन, हामी सबैको कुरा हो । सायद नेपालमा जुन राजनीतिक संक्रमण पैदा भयो त्यसले के के कुराहरुको माग गर्छ भन्ने कुरामा हाम्रो जति गहन बहस हुनुपर्ने थियो त्यतापट्टी प्रवेश नै गरेनौ ।

हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने, पद बाँडफाँड गर्नेतिर गयो । यो कुरामा हामी चुकेको हौं । समय त गई नै सक्यो, अब त्यसको समाधान हेर्नुपर्छ ।’ सोही कार्यक्रममा उनले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले आज भएकै पार्टीहरुले, बनिबनाउ पार्टीहरुले जस्ताको त्यस्तै अवस्थामा रहेमा मुलुकको मुहार नफेरिने बताए ।

सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन् । बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन् ।

उनले भने,‘ हामी लिखित सहमती गर्ने ठाउँ तिर गयौ । आज मैले प्रतिपक्षहरुसँग छलफल गरिसकेपछि सत्तापक्षको साथिहरुसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिती छैन । जनमत जसरी गएको छ विषयको गम्भिरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र हैन । यो विगतदेखी नै लगातार अध्यागमनको समस्या भईरहेको छ ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अझै छलफल गर्न चाहेको बताए ।

‘सत्तापक्षको तर्फबाट छलफल गरेर हामीलाई छानविन गर्ने, अध्यन गर्ने र आवश्यक संरचना बनाएर ठोसरुपमा पहल लिने भन्ने प्रतिवद्धता दिइयो । यो प्रतिवद्धता पनि प्रतिपक्षमा सकरात्मक वातावरण बनेको छ । त्यसमा प्रतिपक्षका अझै साथिहरु छलफल गर्न चाहानु भएको छ,’ उनले भने ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३० जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४१, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ३२, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, टाटे सिमी मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु ३२, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु २५०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६०, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १९०, लिची (भारतीय) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, भेडेखुर्सानी प्रतिकिलो रु ८५, हरियो धनियाँ प्रतिकिलो रु ५५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।
–––

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित ढङ्गले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्न आग्रह गरेका हुन् ।

‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ । ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शीता हुनुपर्छ । सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।’

अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोतसाधनसम्पन्न हुनुुपर्ने र प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिनेतर्फ लाग्न आग्रह गरे । प्रहरी प्रधान कार्यालयमा जारी सम्मेलन शनिबार सम्पन्न हुनेछ ।

बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन

दमौली (तनहुँ), ३० जेठः बन्दीपुर गाउँपालिकामा पछिल्ला दुई महिनामा चितुवाको आक्रमणबाट दुई जना बालबालिकाले ज्यान गुमाएपछि चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–२ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा टोली परिचालन भएको हो । डिभिजन वन कार्यालयका प्रमुख शरद् अधिकारीले जानकारीका अनुसार टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्नेछ ।

तनहुँका भानु, बन्दीपुर, आँबुखैरेनी चितुवा आतङ्कबाट पीडित छ । यो जिल्लामा आठ वर्षमा १६ बालबालिका चितुवाको शिकार बनेका छन् । गत सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङलाई चितुवाले खाएको थियो ।

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो ।आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको सभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।

आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

राष्ट्रपति रनिङ सिल्ड : ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

काठमाडौं । पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्
बिहिबार छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र÷छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बन्यो । बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १ सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका थिए ।

दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेश्रो तथा अन्तिम दिन शुक्रबार ८ स्वर्णको टुंगो लाग्ने छ । पहिलो दिन १० र दोश्रो दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचे । उनले ५७।४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजंग शाहले बनाएको ५५।५० मिटरको कीर्तिमान भंग गरेका हुन् । कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो भए ।

छात्रा ८ सय मिटर दौड २ मिनेट १७।९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडिन् । बागमती प्रदेशकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी संगीता विक तेश्रो भए ।

छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ३ मिनेट ३०।९ सेकेन्डमा तय गरे । यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा ३ मिनेट ३१।० सेकेन्ड ९२०८० साल० को कीर्तिमान थियो । गण्डकी दोश्रो तथा लुम्बिनी तेश्रो बने ।

सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान स्थापित गरे । टोलीले निर्धारित दूरी तय गर्न ४ मिनेट १२।८ सेकेन्ड समय खर्चे । ४ मिनेट १७।२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा रहेको थियो । उनीहरुले २०८१ सालमा कीर्तिमान बनाएका थिए । सुदूरपश्चिम दोश्रो तथा गण्डकी तेश्रो स्थानमा रहे ।

छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०।३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कांस्य जिते । छात्र ८ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पारे । उनले २ मिनेट ०२।७ सेकेन्डमा निर्धारित दूरी पार गरे । कर्णालीका धीरेन्द्र विक दोश्रो तथा लुम्बिनीका आयुश थारु तेश्रो बने ।

छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६।६९ मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोश्रो तथा बागमतीका दीपेन्द्र गिरी तेश्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन् । अनिशाले ५।१८ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य हात पारे ।

प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २८ औँ बैठक शुक्रबार दिनको १ बजेका लागि बोलाइएको हो । तर केही दिनदेखि संसद् अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ।व। २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

त्यस्तै राज्य व्वस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, ३० जेठः हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।