`

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य चार सिटका लागि ११ उम्मेदवारको मनोनयन दर्ता

Nepal One HD २३ पुष २०८२ २०:३१
राजनीति

महेन्द्रनगर (धनुषा), २३ पुसः मधेस प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यका चार सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रिक्त सिट अन्य महिला, दलित, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूहअन्तर्गतका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट अल्पसङ्ख्यक समूहमा रञ्जित कर्ण र दलित समूहमा धर्मेन्द्र पासवानले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेपाली कांग्रेससँगको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट महिलातर्फ महोत्तरीकी रेखा झा तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरले अन्य समूहबाट उम्मेदवारी दिएका छन् ।

यसैबीच, गठबन्धनमा आबद्ध रहेको भनिए पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले भने अन्य समूहमा महन्थ ठाकुरको उम्मेदवारीबाहेकका तीन सिटमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जसपा नेपालले अल्पसङ्ख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली देवी दासलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनबाट नेकपा बाहिरिएपछि लोसपा र जसपा नेपाललाई एक–एक सिट दिने सहमति भएको तर त्यसको कार्यान्वयन नभएकाले अलग उम्मेदवारी दर्ता गर्नुपरेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद प्रसाद साहले बताउनुभयो ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले अलग्गै चार सिटमा उम्मेदवारी दर्ता गराएको छ । नेकपाले दलिततर्फ शम्भु पासवान, अन्यतर्फ लक्ष्मण पौडेल, अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ रामानन्दप्रसाद र महिलातर्फ समी अग्रवाललाई उम्मेदवार बनाएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरीले जानकारी दिनुभयो ।

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका मतदातामा १०४ जना प्रदेशसभा सदस्य छन् । त्यसैगरी, २६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *