`

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने तेल र ग्यासलगायतका खनिज पदार्थ रहेको बताउनुभएको छ ।मिडिया इन्टरनेसनलद्वारा आयोजित अन्तक्र्रियामा उहाँले देशको प्राकृतिक स्रोत र जनशक्तिको सदुपयोगबाटै राष्ट्रलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले सही राजनीतिक नेतृत्व, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयन भएमा विदेश पलायन भएका नेपाली युवालाई स्वदेशमै अवसर सृजना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको दीर्घकालीन विकासलाई सम्बोधन गर्न बजेट केन्द्रित रहेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रो जनशक्ति देशभित्रै कसरी रोक्ने र यहीँ अवसर कसरी सृजना गर्ने भन्ने उद्देश्यमा नै यो बजेट परिलक्षित छ ।”

जलस्रोत, प्रकृति र प्राकृतिक सम्पदाको सही सदुपयोग नै विकासको मूल आधार भएको उहाँको भनाइ थियो । सरकारले बजेटमार्फत युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न विशेष कार्यक्रम ल्याएको बताउँदै उपप्रधानमन्त्री पौडेलले सरकारले स्टार्टअप, सूचना प्रविधि (आइटी) र अन्य नवीनतम उद्यमशीलताका क्षेत्रमा नयाँ कार्यक्रम अघि सारेकाले यसको कार्यान्वयनसँगै युवाहरूले देशभित्रै आफ्नो भविष्य खोज्ने बलियो आधार तयार हुने उल्लेख गर्नुभयो ।

मानिसले अन्तरिक्षमा सम्भावना खोजिरहेको अहिलेको अवस्थामा हामीले आफ्नै देशका सम्भावना खोज्नुपर्ने बताउँदै अर्थमन्त्री पौडेलले हामीसँग भएको प्राकृतिक सम्पदाको विशाल भण्डारलाई सही उपयोग गरी जनशक्तिलाई देशको विकास र समृद्धिमा परिचालित गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३० जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध

काठमाडौँ, ३० जेठ-भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ ।

जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नुपर्यो ।

एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि बज्रपात पर्छ । त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्माता कम्पनी, जहाजको नियमन गरिरहेको नियामक निकायले समेत एकसाथ ठूलो क्षति व्यहोर्छन् । छिमेकी मुलुक भारतमा भएको भयानक जहाज दुर्घटनाले नेपालको एभिएसनलाई पनि सोचमग्न बनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भारतमा भएको भयानक जहाज दुर्घटनाले अन्तरराष्ट्रिय हवाई क्षेत्रलाई नै स्तब्ध बनाएको बताउनुभयो । “जहाज दुर्घटना केकति कारणले भयो भन्ने कुरा अनुसन्धानपछि आउला तर, धेरै समयपछि ठूलो हवाई दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध पारेको छ । यसले हवाईयात्रीलाई सोचमग्न बनाएको छ ।”

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का पूर्व क्याप्टेन केबी पौडेलले प्राविधिक कमजोरीले एयर इन्डियाको जहाज दुर्घटनाभएको हुनसक्ने पूर्वानुमान गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ जहाज र अनुभवी पाइलटले उडाएकाले अहिले सरसरती हेर्दा मानवीयभन्दा पनि प्राविधिक कमजोरीले हो कि जस्तो देखिन्छ । जहाजको ककपीट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरले दुर्घटनाको यथार्थ बाहिर ल्याउन मद्दत गर्ने छ ।”

उहाँका अनुसार जहाज दुर्घटनाको कारण दुवै इन्जिन फेल भएर वा फ्ल्याप, स्ल्याट अथवा ह्युमन फ्याक्टर हुनसक्छ । नेपालको हवाई क्षेत्रमा खासै असर नपरे पनि सम्बन्धित देश र एयरलाइन्सलाई ठूलो असर गर्ने पूर्वक्याप्टेन पौडेलले उल्लेख गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले ड्रिमलाइनर ठूलो जहाजको पहिलो भयानक दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको बताउनुभयो । “ड्रिमलाइनरको असाध्यै राम्रो रेकर्ड थियो । अहिलेसम्म ड्रिमलाइनरमा मात्रै ‘वान बिलियन प्यासेन्जर फ्लाइ’ गरेको रेकर्ड छ । यो एयरक्राफ्ट आएको १४ वर्ष मात्र भएको थियो । यो अवधिमा ५० लाख जति डिपार्चर भएको हुनुपर्छ ।” विश्व एभिएसन बजारमा ड्रिमलाइनरको सङ्ख्या करिब एक हजार १०० रहेको जनाइन्छ ।

प्राधिकरणका सूचना अधिकारी भूलका अनुसार पछिल्लो समय सन् २०२४ को मध्यदेखि सन् २०२५ को यो अवधिसम्म मलेसियन एयरलाइन्सको जहाज दुर्घटनापछि यो ठूलो दुर्घटना हो । “नेपाल, भारत, एसियाभन्दा पनि विश्वकै ‘एभिएसन इन्डस्ट्री’लाई ‘ब्ल्याक डे’ हो, जसरी बोइङ ड्रिमलाइनर ठूलो जहाज चालकदलका सदस्यसहित दुई सय ४२ जना सवार उक्त जहाज नेपालको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको ‘सिनारियो’जस्तै भयो । उडेको केही क्षणभित्रै जहाज दुर्घटनाग्रस्त भएको देखिन्छ”, उहाँले भन्नुभयो ।

विज्ञहरूको भनाइमा सामान्यतयः जहाज ‘टेकअप’ र ल्यान्डिङ’का बेला बढी पावर चाहिन्छ । जहाजलाई उड्नका लागि चाहिने म्याक्सिमम टेकअप वेट फुल प्यासेन्जर र फुलफ्युल हालेर जब जहाज जमिन छोड्छ उसको लिफ्ट पावर बढी चाहिन्छ । अलिकति पनि ब्यालेन्स तलमाथि हुदाँ एभिएसनको भाषामा जहाज स्टल हुन्छ । दुर्घटनाको प्रकृति हेर्दा एयर इन्डियाको जहाजले उड्नेबित्तिकै नियन्त्रण गुमाएको देखिन्छ । “जहाजले क्लाइम गर्ने बेला इन्जिन फेल भएको हो कि अथवा जहाजका भित्री मेकानिकल कमजोरीले भएको हो वा अरु कारणले हो त्यो चाहिँ पछि अनुसन्धानले देखाउँला, तर यो भयानक दुर्घटनाले विश्वको एभिएसन कम्युनिटीलाई पुनः झस्काएको छ”, सूचना अधिकारी भूलले भन्नुभयो ।

उहाँले भारतमा भएको जहाज दुर्घटनाले नेपाल नागरिक उड्डयन प्राधिकरण र सिङ्गो हवाई क्षेत्रलाई स्तब्ध पारेको बताउनुभयो । उहाँका अनुसार अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डबमोजिम जहाज दुर्घटनाको अनुसन्धान हुने छ । जहाजको इन्जिन फेल, कन्ट्रोल कमाण्डको कमजोरी वा मानवीय कमजोरीले जहाज दुर्घटना भएको हुनसक्ने प्राधिकरणको विश्लेषण छ ।

जहाजको ‘इमर्जेन्सी कण्डिसन’मा भएको अवस्थामा ‘मेडे मेडे मेडे’ भनेर क्याप्टेनले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)लाई जानकारी गराउँछन् । प्राधिकरणका अर्का एक विज्ञको भनाइमा एयर इन्डियाको दुर्घटनाअघि पाइलटले ‘मेडे’ शब्द बोलेर एटिसीलाई सूचना दिएका थिए । सामान्यतया पाइलटले रेडियो सन्देशमार्फत तीनपटक मेडे उच्चारण गरेको अवस्थामा जहाज दुर्घटना हुँदैछ वा गम्भीर आपत्कालीन अवस्थामा छ भन्ने बुझिन्छ ।

यसले गर्दा विश्व समुदायलाई अझै हाम्रो हवाई उडानमा उडान संपरीक्षण एयर वर्दिनेसको पाटोलाई ध्यान दिनुपर्छ भनेर सजग गराएको सूचना अधिकारी भूलले उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “एयर वर्दिनेसको पाटोमा अझै हामीले ध्यान दिनुपर्ने सन्देश जान्छ । नेपालमा मनसुन जारी रहेकाले यो समयमा उडान सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्छ ।”

आइकाओको नियमानुसार जुन देशमा जहाज दुर्घटना भएको छ, त्यही देशले छानबिन गर्छ । सोही मुलुकले छानबिन गरेर सुरुमा प्रारम्भिक र तीन महिनापछि अन्तिम प्रतिवेदन प्राधिकरण र आइकाओलाई पठाइन्छ । जहाजको प्राविधिक कुरालाई नेपालले पाठ सिकेर नेपालको हवाई उद्योगलाई सुरक्षित बनाउन तथा मौसममात्र नभई जहाजको प्राविधिक पार्टलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेकामा विज्ञहरूको जोड छ ।

जतिसुकै ठूलो जहाज भए पनि एउटा इन्जिन फेल भएपछि अर्को इन्जिनले उड्ने गरी बनाइएको हुन्छ । “यो दुर्घटना हेर्दा या त दुवै इन्जिन जानुपर्यो, बाहिरको एक्सट्रनल फ्याक्टर चरा ठोक्किएको हुनुपर्र्छ, पूर्वमहानिर्देशक गौतमले भन्नुभयो, “जहाज टेकअप हुनेबित्तिकै हाइट लिन सकेन । ग्राउण्ड लेबलबाट चार सय २५ फिट हुँदाखेरी दुर्घटना भएको देखिन्छ । जहाजको दुवै इन्जिन फेल भएको हो कि जस्तो देखिन्छ ।”

पूर्वमहानिर्देशक गौतमले जहाज दुर्घटनाले नेपालमा असर नपरे पनि हवाईयात्रीको कन्फिडेन्स घट्ने र यसको सबै क्षेत्रमा असर पर्ने बताउनुभयो । विमानस्थल नजिकै रहेको बस्तीमा दुर्घटनाग्रस्त भएकाले एयर इन्डियाका कारण मानवीय क्षतिसमेत बढी भएको समाचार एजेन्सीहरूले बताएका छन् ।

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन छ अर्बकाे राहुघाट जलविद्युत् आयोजना

म्याग्दी, ३० जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ ।

हालसम्म ७९ दशमलव ५० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका ठेकेदार कम्पनीले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको छ । राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले ठेकेदारले गरेको म्याद थप प्रस्तावका विषयमा परामर्शदाता कम्पनी ‘वाकफोस’ले अध्ययन गरिरहेको बताउनुभयो ।

विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन ।

भारतीय आयातनिर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

विसं २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार आयोजना निर्माणअघि नबढेपछि भारत सरकार, ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले चासो देखाएका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जासचिव सुरेश आचार्य र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यही जेठ १७ गते आयोजना अनुगमन गर्नुभएको थियो ।

अनुगमनमा आएको टोलीसँग जयप्रकाशका व्यवस्थापक हरिश अग्रवाल र भेलका प्रतिनिधि हर्ष बर्दनले म्याद थपको प्रस्ताव गर्नुभएको थियो । कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई कम्पनीले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएका छन् ।

बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो ।

राजदूत श्रीवास्तव, ऊर्जासचिव आचार्य र प्राधिकरणका निर्देशक शाक्यले पटकपटक म्याद थप गर्दा पनि सन्तोषजनक काम हुन नसकेकोप्रति असन्तुष्टि जनाउँदै प्रस्तावित म्यादभित्र सम्पन्न गर्ने कार्ययोजनाप्रति विश्वास गर्ने वातावरण बनाउन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभएको थियो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरूङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । विद्युत्गृहको उपकरण जडान र स्वीचयार्ड निर्माणमा भएको ढिलाइप्रति टोलीले चासो व्यक्त गरेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

बाढी पूर्वतयारीको नमूना अभ्यास : विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

कञ्चनपुर, ३० जेठ : कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा सामुदायिक विपद् व्यवस्थापनमा उदाहरणीय पहल देखिएको छ । बाढीमा आधारित कृत्रिम घटना नमूना अभ्यास कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको भूमिका, चेतना र तयारीलाई बलियो आधार दिएको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र अन्तरराष्ट्रिय संस्था मर्सिकोरको साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय कार्यक्रमअन्तर्गत बिहीबार वनहरा नदीमा आयोजना गरिएको कृत्रिम घटना नमूना अभ्यासमा विपद् आउनुअघि, विपद्को बेला र पछि अपनाइने कार्यलाई व्यावहारिक अभ्यासमार्फत प्रदर्शन गरिएको छ ।

कार्यक्रममा विशेष रूपमा पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार नमूना अभ्यास गरेर देखाएका थिए । विपद्को अवस्था आउँदा समुदायले कसरी समन्वय गरेर सुरक्षित ढङ्गले प्रतिकार गर्न सक्छ भन्ने कुरा नमूना अभ्यासका क्रममा देखाएको जलवायु उत्थानशील समुदाय कार्यक्रमका संयोजक महेश घिमिरेले बताउनुभयो ।

“पूर्वसूचना कार्यदलको मुख्य काम बाढी वा अन्य विपद् आउनुअघि समयमै सूचना सङ्कलन, विश्लेषण र जानकारी प्रवाह गर्नु हो”, उहाँले भन्नुभयो, “बाढीको जोखिम देखिएपछि कार्यदलले तत्काल समुदायमा सूचना फैलाउने, सरोकारवाला निकायलाई खबर गर्ने र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम गर्छ ।”

सामुदायिक सूचना केन्द्र, मोबाइल सन्देश, घरघर सूचना, साइरन बजाएर र सार्वजनिक स्थानहरूमा माइकिङजस्ता माध्यममार्फत सावधानीका सन्देश प्रवाह गर्नमा समुदाय सचेत रहेको उहाँले बताउनुभयो ।

“जब विपद् घट्न थाल्छ, तत्काल उद्धार कार्यदल सक्रिय हुन्छ”, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष सत्यराज कठायतले भन्नुभयो, “अभ्यासमा उद्धार टोलीले जोखिममा परेका व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने, बच्चा, वृद्ध, अपाङ्गता भएका व्यक्तिको प्राथमिकताका आधारमा उद्धार गर्छ भन्ने कुरा अभ्यासमार्फत देखाइएको छ, त्यो व्यवहारमा उतार्छौँ ।”

उहाँका अनुसार विपद्का बेला सामान्य घाइतेदेखि गम्भीर अवस्थासम्मकालाई तत्काल उपचार आवश्यक पर्ने गर्छ । प्राथमिक उपचार कार्यदलले सुरक्षित स्थानमा उपचार केन्द्र स्थापना गरेर घाइतेको प्राथमिक उपचार गर्ने, रक्तश्राव रोक्ने, सामान्य औषधोपचार गर्नेजस्ता काम नमूना अभ्यासमा प्रदर्शन गरिएको छ । नगरपालिकाका विपद् सम्पर्क व्यक्ति प्रेम बोगटीले सूचना प्रवाह, उद्धार र उपचारबीच राम्रो समन्वय भयो भने विपद्को असर न्यून पार्न सकिने बताउनुभयो ।

विगतमा बाढीजन्य विपद्का घटनामा परेर भौतिकसँगै मानवीय क्षति निकै हुने गरेको उल्लेख गर्नुहुँदै उहाँले हाल बाढीजन्य विपद्बारे जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिन ‘अलर्ट’ले निकै सहज बनाएको बताउनुभयो ।

स्थानीय समुदाय बाढीजन्य प्रकोप आउनपूर्व नै तयारीमा जुट्ने भएकाले मानवीय क्षति न्यून हुँदै गएको उहाँले बताउनुभयो । नदी क्षेत्रका बगरमा वृक्षरोपणसँगै घाँस रोपेर भूक्षय हुने क्रमलाई रोक्न सकिने भएकाले त्यसतर्फ समुदायको ध्यान जानुपर्ने बताउनुभयो ।

‘जलवायु उत्थानशील समुदाय कार्यक्रम’अन्तर्गत आयोजना गरिएको यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय तहमा बाढी, डुबानजस्ता प्राकृतिक विपद्का खतरालाई न्यून गर्ने र जनधनको सुरक्षा सुनिश्चित गर्नु रहेको छ ।

विपद् न्यूनीकरणका लागि कार्यक्रमअन्तर्गत दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर, शान्तिटोल, पटरा खल्ला, कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटा, नयाँ बस्ती, खल्लागोठलगायत क्षेत्रका बाढी प्रभावित समुदायमा मानवीय क्षति न्यूनीकरण गर्न कृत्रिम घटना नमूना अभ्यास कार्यक्रम सञ्चालन गरिएका छन् ।

‘परराष्ट्र सम्बन्ध परम्परागत र संवादमार्फत सबल बन्दै :परराष्ट्रमन्त्री देउवा

कीर्तिपुर (काठमाडौँ), २९ जेठः परराष्ट्रमन्त्री आरजु राणा देउवाले सम्बन्ध परम्परागत र संवादमार्फत सबल बन्दै गएको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा आज राजधानीमा आयोजित चौथो प्राध्यापक डा यदुनाथ खनाल लेक्चर शृङ्खलामा उहाँले लामो परम्परागत छिमेकी नेपाल चीनले दौत्य सम्बन्धलाई गत साता दशकमा पञ्चशिलका आधारमा व्यवस्थित र आधुनिक हिसाबले अघि बढाएको बताउनुभयो ।

चीन र नेपालले एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र एक चीन नीतिलाई पूर्ण रूपमा पालन गर्दै समृद्धि प्राप्तिका लागि निकट सहकार्य गरिरहेको भनाइ पनि उहाँको थियो । चीन नेपालको वैदेशिक सहायताको ठूलो स्रोत भएको बताउँदै उहाँले नेपाल र चीनबीच सम्पन्न बिआरआइ सम्झौताले नेपालको विकासलाई गति प्रदान गर्ने पनि बताउनुभयो ।

“दुई देशबीच हवाई र जनस्तरका सम्बन्धको विस्तार तथा अन्य क्षेत्रमा थप गहिरो सहकार्य बढाउने सहमति भएको छ, यसबाहेक डिजिटल पूर्वाधारमा सहकार्यसमेत गरिँदैछ ।” नेपालका चीनले छोटोे समयमा गरिबी निवारणमा गरेको प्रगति अनुकरणीय रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रमका मुख्य विषयमा वक्ताले मामिलाविद् डा जयराज आचार्यले चीनको बढ्दो सम्पन्नता र विश्व रङ्गमञ्चमा चीनको बढ्दो प्रभावबाट लाभ लिने हो भने कुशल कूटनीतिक दक्षताका साथ काम गर्नुपर्ने बताउनुभयो । “यसलाई इन्टरनेटमा प्राप्त हुने सूचनाको भर परेर हँुदैन इतिहास देखिका पुस्तक र दस्तावेजको अध्ययन गरी चिनियाँ मानसिकता बुझ्नुपर्छ”, उहाँको भनाइ थियो ।

नेपाल–चीन सम्बन्धका बारेमा प्रख्यात विद्धान तथा कूटनीतिज्ञ यदुनाथ खनालले भनेजस्तै चिनियाँ यथार्थवादी रहेको र उनीहरुसँगको व्यहार दुई देशको परम्परागत सम्बन्धका साथै वर्तमान समयको यथार्थको आलोकमा हुनुपर्ने धारणा थियो । चीनसँगको सम्बन्धलाई सन्तुलनमा अघि बढाउनुपर्ने विचार राख्दै उहाँले त्यसोगर्दा अरु छिमेकीलाई विश्वासमा लिएर जानुपर्ने भनाइ उहाँको थियो ।

त्यस्तै अर्का मुख्य विषय वक्ता चिनियाँ परराष्ट्रविद् प्राध्यापक याङ्ग छेनछिले चीनको वर्तमान नेतृत्वले विश्वका सबै देशको सुरक्षा र विकासको नीति अघि सारिरहेको बताउनुभयो । नेपालसँगको युगौँ लामो सम्बन्ध चीनको सदैव प्राथमिकतामा रहेको बताउँदै उहाँले नेपालको आर्थिक विकासका हरप्रयासमा सघाउन तथा आर्थिक वृद्धिमा सहकार्य गर्न चीन तत्पर रहेको उहाँको भनाइ थियो ।

कांग्रेस चितवनको ‘सात पालिका, सात वाटिका’ कार्यक्रम

चितवन, २९ जेठः नेपाली कांग्रेस चितवनले ‘सात पालिका सात वाटिका’ कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने भएको छ ।

आचार्यको १६औँ स्मृति दिवसका अवसरमा पार्टीले इच्छाकामना गाउँपालिकालाई आज पत्र बुझाउँदै उद्यान निर्माणका लागि सार्वजनिक जग्गा माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालसहित जिल्ला नेतृत्वले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई भेट गरी जग्गा माग गरेको हो । सो अवसरमा गुरुङले सम्भाव्यता अध्ययन गरी पार्टीलाई जग्गा उपलब्ध गराउने आश्वासन दिनु भएको सभापति खनालले जानकारी दिनुभयो ।

जग्गा प्राप्तिसँगै पार्टीका नेता कार्यकर्ताहरुले श्रमदान गरी स्व आचार्यको नाममा उद्यान निर्माण गर्ने छन् । यसअघि पार्टीले गत असोज २ गते माडी नगरपालिका–५ मा गणेशमान सिंह स्मृति उद्यान निर्माणको थालनी गरेको थियो । नेपाली कांग्रेस चितवनले विसं २०८० भदौ २४ गते जिल्ला सम्मेलनका क्रममा जिल्लाका सात पालिकामा लोकतन्त्रमा योगदान पु¥याएका पार्टीका शीर्ष नेताहरुको नाउँमा वाटिका निर्माण गर्ने निर्णय गरेअनुसार वाटिका निर्माण थालिएको हो ।

भरतपुरमा यसअघि नै रहेको वीपी शान्ति नगर वनलाई व्यवस्थित गर्ने, राप्तीमा गिरिजाप्रसाद कोइराला स्मृति उद्यान बनाउने, खैरहनीमा शुवर्ण शम्शेर, रत्ननगरमा सुशील कोइराला र कालिका नगरपालिकामा कृष्णप्रसाद भट्टराई स्मृति उद्यान निर्माण गर्न लागिएको सभापति खनालले जानकारी दिनुभयो ।

यस वर्ष माडी, इच्छाकामना र कालिका नगरपालिकामा पार्क बनाइँदै छ भने आउँदो वर्ष खैरहनी, रत्ननगर र राप्तीमा पार्क निर्माण गर्ने योजना रहेको सभापति खनालले बताउनुभयो । निर्माण गरिएका पार्कहरुको व्यवस्थापन पार्टीले निर्माण गरेको सामाजिक संस्था सान्दाजु स्मृति प्रतिष्ठानले गर्नेछ । सामाजिक क्षेत्रमा काम गर्दा पार्टीभन्दा सामाजिक संस्थामार्फत गर्न उपयुक्त हुने भएकाले सोहीअनुसार काम गर्न लागिएको हो ।

ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका लागि ख्याति कमाएको नमूना विमान

भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो ।सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेपछि विश्वका ८० भन्दा बढी एयरलाइन्सले दुईहजार ५९८ वटा जहाजअर्डर गरिसकेका छन् भने ८८९ वटा अझै डेलिभरीको पर्खाइमा छन् ।

यसको ईन्धन–कुशल, वाइड–बडी र हल्का संरचनाका लागि विमानको माग विश्वभर लोकप्रिय मानिन्छ । यसले पुरानो, सोही आकारको यात्री विमानहरूले भन्दा लामो दूरीमा २० प्रतिशत कम ईन्धन खर्च गर्ने कम्पनीले दावी गरेको छ ।

यो ‘पोइन्ट–टू–पोइन्ट’ सेवाहरूको लागि प्रयोग गर्न सकिन्छ, यसको अर्थ यो भारी विमानद्वारा प्रयोग गरिएको ‘हब’ प्रणालीमा निर्भर हुनुको सट्टा गन्तव्यमा सीधा उडान गर्न सक्छ।बोइङका अनुसार ७८७ को प्रयोगले १८० वटा ’पोइन्ट टु पोइन्ट’ रुट खोलेको छ।

– तीन संस्करण –

हाल ७८७ को तीन संस्करणहरू छन् । बोइङको ७८७–८ले १३,५३० किलोमिटर (८,४०० माइल) सम्मको दूरीमा २४८ यात्रुहरू बोक्न सक्छ भने ७८७–९ ले १४,०१० किलोमिटर सम्म २९६ यात्रुहरू बोक्छ र ७८७–१० ले ११,९१० किलोमिटरसम्म ३३० यात्रुहरूलाई बोक्न सक्छ ।

भारतको अहमदाबादमा २४२ यात्रु र चालक दलका सदस्य लिएर उडेको बिहीबार दुर्घटनाग्रस्त विमान ७८७–८ संस्करण थियो । उक्त विमान लण्डनका लागि उडेको थियो तर पश्चिमी भारतीय शहर अहमदावादबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।

बोइङले विमान दुर्घटनाबारे आफू जानकार रहेको र थप जानकारी सङ्कलनका लागि काम गरिरहेको जनाएको छ ।
यो ७८७ ड्रिमलाइनरको पहिलो घातक दुर्घटना थियो।

– बोइङलाई झट्का –

सन् २०२१ देखि २०२३ को बीचमा बोइङको विमानको कार्यक्रमले पटक–पटक र महँगो ‘डेलिभरी सस्पेन्सन’ लगायत थुप्रै असफलता भोगेको थियो।अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उत्पादन लाइनहरूमा गुणस्तर आश्वासन जाँच र निरीक्षणलाई सुदृढ पार्न काम सकिसकेको छ ।

यसै वर्षको अप्रिलमा एफएएले बोइङलाई एक महिनामा सातवटा विमान बनाउनका लागि आफ्नो उत्पादन गति बढाउन अनुमति दिएको थियो।बिक्रीको मामिलामा बोइङले व्यापक कठिनाईहरूको सामना गरिरहेको छ।

बेइजिङबाट सकारात्मक सङ्केत आएपनि एक महिना अघि वाशिङ्टनले सुरु गरेको व्यापार युद्धका कारण चिनियाँ एयरलाइन्सलाई कम्पनीसँग काम गर्न अस्थायी रूपमा रोक लगाएपछि निर्माताले मे महिनामा चीनलाई कुनै पनि विमान आपूर्ति गरेको छैन ।

थप चार प्रदशेमा फैलियो मनसुन

काठमाडौँ, २९ जेठ : नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा र लुम्बिनी प्रदेशका थोरै भू–भागमा मनसुन फैलिएको जानकारी दिनुभयो ।

यसअघि यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो । त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो । कोशीबाट फैलिन नपाएको मनसुन आज भित्रिएको १४ दिनपछि अन्य चार प्रदेशमा फैलिएको हो । अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् भोली शुक्रबार हो ।

भ्रष्टाचार अभियोगमा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, २९ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका लागि सौर्यबत्ती जडानका लागि आर्थिक वर्ष २०७८÷७९ मा रु दुई करोड १६ लाख बराबरको बजेट विनियोजन गरिएको थियो । विनियोजन भएको बजेटविपरीत खम्बा, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानसमेतका लागि बद्नियत राखी टुक्र्याएर पाँच वटा प्याकेज बनाइएको पाइएको छ ।

विनियोजित बजेटभन्दा बढी रु दुई करोड ५३ लाख १७ हजार २५० बराबरका लागि अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो । त्यसमा तीन वटा फर्मबीचमा मात्रै प्रतिस्पर्धा गराइएको थियो । सो कार्यका लागि गाउँपालिकाले रु दुई करोड ४९ लाख ४० हजार ११० बराबरको रकम विभिन्न सौर्यबत्ती कम्पनीलाई भुक्तानी दिएको थियो ।

सो कार्यमा भ्रष्टाचार भएको भन्दै आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहविरुद्ध रु दुई करोड ४९ लाख ४० हजार ११० बराबरको बिगो माग दाबी गर्दै आज विशेष अदाmलतमा मुद्दा दायर गरेको हो ।

यसैगरी लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु रायविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ । यस्तै, लेखा अधिकृत शिवशङ्करप्रसाद कुशवाहाविरुद्ध रु ४७ लाख ४९ हजार ५६०, स्काई राइज टे«डिङ कन्सर्न मलङ्गवा सर्लाहीका सञ्चालक जयप्रकाश यादवविरुद्ध रु ५८ लाख ३९ हजार ८४० माग दाबी गरिएको छ ।

त्यस्तै, एसके स्टोर्स मलङ्गवाका सञ्चालक रञ्जुकुमारी साहविरुद्ध रु ९५ लाख २३ हजार ९१० र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्टचर सोलुसनका सञ्चालक सङ्गीताकुमारीविरुद्ध रु ९५ लाख ७६ हजार ३६० बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

कैलालीमा ज्यान मार्ने उद्योगका अभियुक्त गोली चलाएर नियन्त्रणमा

सुदूरपश्चिम, २९ जेठः ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई अभियुक्त भाग्न खोजेपछि नियन्त्रणमा लिन कैलाली प्रहरीले आज गोली चलाउनुपरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजकुमार सिंहले कैलारी गाउँपालिका–२ बाट आजै पक्राउ परेका रिदम ढुङ्गाना र मिलन चन्दलाई टीकापुरस्थित प्रहरीको हिरासत कक्षमा लैजाँदै गरिएको बेला बाटोमा पर्ने भजनी नगरपालिका–७ मा शौचगर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिनुपरेको जानकारी दिनुभयो ।

गोली लागेर घाइते भएका दुवैलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । दुवै जनाको तीघ्रमा गोली लागेको छ । टीकापुर निवासी टेकेन्द्रसिंह विष्टमाथि यही जेठ १५ गते खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा ढुङ्गाना र चन्दलाई पक्राउ गरिएको हो ।

मकवानपुरमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

बागमती, २९ जेठः वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते हुनुभएको छ । आफ्नै घरमा बसिरहेका अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुनुभएको हो । उहाँको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि प्रसारणमा आउँदै ‘भ्वाइस किड्स’ सिजन–४

काठमाडौं । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ भोलि (शुक्रबार) देखि प्रसारणमा आउने भएको छ ।
निर्माणपक्षले आज (बिहीबार) ग्रान्ड प्रिमियर गर्दै शुक्रबारदेखि सुरु हुने जानकारी गराएको हो ।

प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस किड्स प्रसारणमा आउन लागेको जानकारी गराएको हो ।यो सिजनमा कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन् ।

भ्वाइस किड्समा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् । शो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा दर्शकले हेर्न पाउनेछन् ।

एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ । २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । साथै ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ । सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २९ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताउनुुभएको छ ।

बालश्रमविरुद्ध विश्व दिवसका सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए)द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ । मलाई गाह्रो हुन्छ । म उनीहरु सधैँ मुस्कुराइरहुन् भन्ने चाहन्छु । सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न तथा शासकहरुलाई सुनाउन पाउँदैनथे । आज म प्रधानमन्त्रीका रुपमा बालबालिकाका कुरा सुनिरहेको छु ।”

बालबालिकाका समस्याका कुरा सुनेपछि भावुक हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनुहुँदैन । उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्छ । हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौँ, सिङ्गो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरु जारी रहनेछन् ।”

आफूूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै उनीहरुको आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

“मैले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको छु । देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी लागिपरेका छौँ । सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागिरहेको छ । पक्कै पनि हामी स्थितिमा फरक ल्याउँछौँ”, उहाँले भन्नुभयो, “बालश्रममा परेका बालबालिकालाई त्यहाँबाट हटाएर राम्रो व्यवस्था गरिदिन सक्नुुपर्छ ।”

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई सामूूहिक रुपमा चिठी बुझाएका थिए ।

कार्यक्रममा एनसिपिएका पूर्वअध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताउनुुभयो । राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसिजी–नेपाल) का सहअध्यक्ष नरेन्द्र डङ्गोलले बालबालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्रबाट पहल हुुनुपर्नेमा जोड दिनुुभयो ।

दुर्घटनापछि अवरुद्ध भारतको सरदार वल्लभभाई पटेल विमानस्थल सुचारु

एजेन्सी । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । लन्डनका लागि उडान भरिरहेको एयर इन्डियाको विमान बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएपछि विमानस्थल केही घन्टाका लागि बन्द गरिएको थियो ।

नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेको केही घण्टापछि अहमदाबाद विमानस्थलमा उडान सञ्चालन पुनः सुरु भएको जनाएको छ । अहमदाबाद विमानस्थल अपरान्ह ४ बजेबाट उडान सञ्चालनमा आएको छ। उडान सुरक्षा प्रोटोकलहरू अत्यन्त सावधानीपूर्वक पालना गरिँदैछ,’ नागरिक उड्डयन मन्त्रालयले भनेको छ ।

बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको थियो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए ।
घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘शब्दले भन्न नसकिने हृदयविदारक’ भनेका छन् ।

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

जनकपुर, २९ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई क्षयरोग मुक्त बनाउनका लागि सरकारी तथा गैरसरकारी संस्था हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको आयोजनामा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमअन्तर्गत आज जनकपुरधाममा आयोजना गरिएको दुईदिने प्रदेशस्तरीय समीक्षा कार्यक्रममा मन्त्री पौडेलले क्षयरोग मुक्त देश बनाउने अभियान सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारबीच अधिकतम सहकार्य आवश्यक भएको बताउनुभयो । भारतसँग सिमाना जोडिएको मधेस प्रदेशका जिल्लामा क्षयरोग नियन्त्रण कठिन हुने भएकाले सीमासँग जोडिएका भारतीय क्षेत्रका प्रशासनसँग सहकार्य गरेर प्रभावकारी नियन्त्रण तथा खोजतलास गर्न सकिने उहाँको भनाइ थियोे ।

मन्त्री पौडेलले देशमा साधन श्रोतको अभाव भए पनि स्वास्थ्य क्षेत्रमा ४ प्रतिशत बजेट भएको उल्लेख गर्दै स्वास्थ्यका सबै समस्या समाधान गर्न कठिन भए पनि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यहरू अगाडि बढाइरहेको बताउनुभयो । उहाँले सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको चाप बढ्नु सरकारी स्वास्थ्यप्रतिको जनविश्वास भएको जिकिर गर्दै क्षयरोग जस्ता रोगको उन्मूलनका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा अंकुर साहले मधेसमा अत्यधिक मात्रामा जनसङ्ख्या भएका कारणले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मधेस स्वास्थ्य विज्ञानको प्रयासले मात्र स्वास्थ्यको सम्पूर्ण समस्याको समाधान कठिन हुने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्वास्थ्य क्षेत्रमा सङ्घीयताको राम्रो अभ्यास भए पनि प्रदेश तथा स्थानीय तहले मात्र समस्याको समाधान गर्न कठिन भएको बताउनुभयो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारीले क्षयरोग मुक्त नेपाल बनाउनका लागि मधेस प्रदेशका २५ पालिकामा क्षयमुक्त पालिका बनाउने अभियान सुरु गरेको बताउँदै गत वर्ष नेपालमा फेला परेका ४० हजार सात सय ७६ नयाँ क्षयरोगीको उपचार गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र, धनुषा स्वास्थ्य कार्यालयका प्रमुख, जनस्वास्थ्य प्रशासक उमेशकुमार यादव, क्षयरोग नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको नुरा हेल्थका नेपाल निर्देशक डा सुशील कोइरालासहितले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे जानकारी दिनुभएको थियो ।

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठकको उद्घान समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छौँ । यो तिथि मितिमा सरकारले प्रतिबद्धता गरेको हो । असार १५ गते नै प्रतिनिधिसभाबाट पारित हुन सक्ने अवस्था बन्छ,’ उनले भने । केही विपक्षी दलका मानिसहरुले औचित्यहीन मुद्दा उठाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेको भन्दै गृहमन्त्री लेखकले रोष प्रकट गरे ।

‘संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । केही प्रतिपक्ष दलमा रहेका मानिसहरू षड्यन्त्रपूर्ण ढंगले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मुद्दा उठाइराख्नु भएको छ,’ उनले भने, ‘यो सबैका बिचमा देखिएको छ । एउटा कर्मचारीमाथि भइरहेको छ । त्यसलाई सरकारसँग जोडेर अनावश्यक ढंगले बखेडा झिकेर संसद अवरुद्ध गरिएको छ । यो अवरोध चाँडै हट्नुपर्छ ।’संसदको अवरोध हटिसकेपछि असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेर अगाडि बढाउने गृहमन्त्री लेखकले विश्वास दिलाए ।

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौँ, २९ जेठः ललितपुरको भँैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले जानकारी दिनुभयो ।

अस्पतालले पोखरा निवासी ५६ वर्षीया इश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उहाँलाई उहाँका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गर्नुभएको थियो । भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा अस्पतालले यही जेठ ८ गते कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको हो । कलेजो प्रत्यारोपण सर्जन डा साहले कलेजो प्रत्यारोपण गर्न झण्डै १३ घण्टा लागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताउनुभयो । “हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “अस्पतालको जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा रहेका छौँ ।” उहाँले नेपाललाई स्वास्थ्यको ‘हब’ बनाउनका अस्पतालले विदेशका नागरिकको पनि उपचार गरिरहेको जानकारी दिनुभयो ।

कलेजो दाता आयुषले अङ्गदान गरेर बुवालाई बचाएको भन्दै सवैलाई अङ्गदान गर्न आग्रह गर्नुभयो । उहाँले उपचारका लागि दुईपटक भारत गएको तर त्यहाँको उपचार सेवा भरपर्दो नभएपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको बताउनुभयो ।

अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट प्रा डा उमिदकुमार श्रेष्ठका बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेकाले कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो । उहाँले बिरामीको कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार भइरहेको बताउनुभयो ।

अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अङ्गको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।

काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सबै मधेसीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा जसपाको काठमाडौं उपत्यका गठन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौंमा मधेसीहरु हेपिएको भन्दै आफ्नो हकको लागि एकढिक्का भएर आवाज उठाउने उद्देश्यले जसपाको काठमाडौं उपत्यका गठन गरिएको जानकारी दिए ।

उनले भने,‘ मधेसीलाई हरेक कुरामा भेदभाव गरिएको छ । कवाडीहरुले काठमाडौंमा आन्दोलन गर्दा लाठी चार्ज भयो । अरुले गर्दा केही भएन । त्यसैले हामी सबै मधेसी संगठित हुन आवश्यक छ । हामी एकढिक्का भयौं भने काठमाडौंमा कसैले दबाउन सक्दैन् । काठमाडौं बस्ने मधेसवालाहरुको संगठित गरेर पार्टीसँग जोडिएको छ ।’
उनले मधेसीहरुको जनसङ्ख्या धेरै भएपनि एकजुट हुन नसकेको कारण आफ्नो हकको लागि बोल्न नसकेको बताए । मुलुकको राजनीतिमा विसङ्गती र विकृति रहेको भन्दै राज्यले गरेको गलत कामलाई गलत भन्ने सामथ्र्य गठित संगठनले राख्नुपर्ने उनको भनाइ छ ।

उनले भने,‘हाम्रो यतिधेरै जनसङ्ख्या भएपनि एकजुट हुन सकेको छैन् । आफ्नो हकको लागि बोल्न सकेको छैन् । त्यसैले पार्टीमा विमर्श गर्यौं । मुलुकको राजनीतिमा विसङ्गती र विकृति छ । हामी त्यसमा खडा हुनुपर्छ । राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नुपर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनुपर्छ ।’

भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्न चाहेको बताएकी हुन् ।

‘भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डिया एआई १७१ विमान दुर्घटनाको बारेमा सुनेर म अत्यन्तै दुःखी छु’ उनले भनेकी छन्, ‘म प्रभावित परिवार र प्रियजनहरूप्रति मेरो सहानुभूति र समवेदना व्यक्त गर्दछु । यस कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु ।’

गुजरातको अहमदावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा परेको थियो । २४२ जना रहेको विमान उडानको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

तापजन्य जोखिमबारे गम्भीर हुन आग्रह

कीर्तिपुर (काठमाडौँ), २९ जेठ : विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन धनको क्षति रोक्न उपयुुक्त नीति बनाइ कार्यान्वयनतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तरराष्ट्रिय सङ्गठनद्वारा आज राजधानीमा आयोजित यससम्बन्धी कार्यक्रममा राष्ट्रसङ्घीय आवाससम्बन्धी संस्था युएन हेविट्याटकी विज्ञ प्रज्ञा प्रधानले तातो हावाका कारण पीडित हुने जनतालाई केन्द्रित गरेर नीति नियम बन्नुपर्ने बताउनुभयो । केही समय अघिसम्म यसलाई समस्या नै नदेख्ने गरिएको उल्लेख गर्दै उहाँले अब तातो हावाबाट मानव स्वास्थ्यलाई पर्ने प्रभावलाई रोक्ने र परिहाले राहत तथा उपचारका लागि व्यवस्थित प्रणाली अत्यावश्यक भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा प्रकाश बुढाथोकीले मन्त्रालयले तातो हावाका कारण तत्काल धेरै सङ्ख्यामा व्यक्ति प्रभावित हुने भएकाले आपतकालीन समस्याका रुपमा लिने र त्यसअनुसार तयारी गर्ने नीति लिएको बताउनुभयो । तातो हावाका प्रकोपले मानव स्वास्थ्य र पूर्वाधारलाई क्षति पु¥याउने भएकाले पूर्वचेतावनी दिने प्रणाली स्थापना गर्न खजिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सरकारले तापजन्य प्रकोप व्यवस्थापनका लागि कार्य योजना बनाउने बताउनुभयो । यसका लागि जनचेतना बढाउने कार्यक्रम, कुल्लिङ सेन्टर र पानी वितरणलगायत कार्य कर्म गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

काठमाडौँ, २९ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको छ । अन्तरराष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उहाँ एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गर्नुभएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बेलायतमा रहँदा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने एमाले पार्टीका प्रवास कमिटीका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । महासचिव पोखरेल आगामी असार ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

राष्ट्रपति पौडेलद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, २९ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

एमसीसी अघि बढ्ने संकेतः सन् २०२६ का लागि गरियो बजेट प्रस्ताब

काठमाडौं । अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ को लागि बजेट बिनियोजन गर्न प्रस्ताव गरेको छ । यस्तो प्रस्ताबसँगै अमेरीका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको उक्त परियोजना फेरी अघि बढ्ने संकेत देखिएको हो ।

एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड़ ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यद्यपी, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठुलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ ।

सन् २०२५ मा एमसीसीका लागि ९३ करोड़ अमेरिकी डलर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटमध्ये आधाभन्दा बढ़ी प्रशासनिक खर्चका लागि छुट्याइएको छ । उक्त शीर्षकमा १२८ मिलियन डलर छुट्याइएको एमसीसीद्वारा गत मेमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कम्प्याक्ट डेभलपमेन्ट ओभरसाइट शीर्षकमा ९१.५ मिलियन डलर र इन्सपेक्टर जनरलको कार्यालयका लागि ४.५ मिलियन डलर विनियोजनको प्रस्ताव गरिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार ग्रहण गरेपछि (गत जनवरी २० मा) एमसीसी परियोजना ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।

सुनचाँदीका गहनामा विलासिता कर खारेज नगरे व्यवसायनै बन्द गरि आन्दोलनमा होमिने चेतावनी

काठमाडौं । सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि सुनचाँदी व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेट मार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ ।

आम सर्वसाधारण उपभोक्ता देखि सबै बर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै आएका छन् ।

‘सरकारले बजेट मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाएको छ । यस्तो कर पटकै पिच्छेको विक्रीमा लागु हनुे बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) हो । झट्ट सुन्दा २ प्रतिशत जस्तो मात्र लागेपनि व्यवहारीक रुपमा भने ग्राहकहरुको लागि कम्तिमा पनि ६ प्रतिशत माथि थप मूल्य तिर्नुपर्ने बाध्यकारी कर प्रणाली हो,’ विज्ञप्तीमा भनिएको छ ।

सरकारले सुनमा घुमाउरो पारमा ६ प्रतिशतको विलासिता कर थोपरेको र सुनका गहनामा प्रयोगहुने धातु तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट जोडदा १९ प्रतिशत सम्मको मूल्य वृद्धिमा व्यवसायी र उपभोक्तालाई पार्न खोजेको आरोप व्यवसायीहरुको छ ।
सरकारले गरेको यस्तो व्यवस्थाले सुनचाँदी बजारलाई अझ महामन्दि तर्फ अग्रसर बनाउने व्यवसायीहरुको तर्क छ । त्यसकारण जसरी भएपनि यस्तो कर तथा भ्याट खारेज हुनुपर्ने उनिहरुको माग छ ।

‘अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पिडा दियो’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन् ।

बुधबार नेपाल अमेरिका व्यापार ः अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन् ।

उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व संध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ । अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए ।’

उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीतिक प्रयासहरु थप गर्नुपर्ने आवश्यकता भएको छ । हामी प्रसव पिडामा छौ । यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर । हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थले अगाडि बढ्नुपर्नेछ ।’ मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रमोशन नभईकन अर्थतन्त्रमा नयाँखालको प्रगति गर्ने अवस्था नरहेको बताए ।

प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २७ औँ बैठक बिहिबार दिनको ३ बजेका लागि बोलाइएको हो । तर केही दिनदेखि संसद् अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ।व। २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

त्यस्तै राज्य व्वस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास

मुस्ताङ, २९ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । बौद्ध परम्पराअनुसार उहाँले पार्टी शिलान्यास गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गर्नुभएको हो ।

त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २९ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८६, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४१, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ६०, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३२, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १३०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३८, परबर (लोकल) प्रतिकिलो रु ४५, परबर (तराई) प्रतिकिलो रु ४५, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ९०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ४५, तोरीको साग प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ११०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु २५०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १३०, लिची (भारतीय) प्रतिकिलो रु २२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, भेडेखुर्सानी प्रतिकिलो रु ८५, हरियो धनियाँ प्रतिकिलो रु ४५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

एकीकृत समाजवादीद्वारा मुद्दामा प्रतिरक्षाका लागि कार्यदल गठन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दायर मुद्दाको प्रतिरक्षा गर्न कार्यदल गठन गरेको छ ।

अधिवक्ता परिवर्तन राईको संयोजकत्वमा गठित कार्यदलमा अधिवक्ता गजबहादुर ऐरी, अधिवक्ता दुर्गाप्रसाद चिमरिया र अधिवक्ता कपिलदेव ढकाल सदस्य हुनुहन्छ ।

मुद्दामा पार्टीका तर्फबाट कानुनी प्रतिरक्षाका लागि आवश्यक कागजात अध्ययन गरी कार्यदलले सम्मानित अदालतसमक्ष पार्टी सङ्गठनका तर्फबाट प्रतिरक्षा गर्ने केन्द्रीय कानुन विभाग प्रमुख डा देउमान सम्वाहाङ्फेले जानकारी दिनुभयो ।

विभागले कानुनी शासनका लागि दृढ प्रतिबद्ध रही राजनीतिक ढङ्गबाट भएका गलत कार्यहरू जनतासमक्ष उजागर गर्ने जनाएको छ ।

सो प्रकरणमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई दोषी ठहर गर्दै आयोगले यही जेठ २२ गते रु १८ करोडभन्दा बढी बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जिब्राल्टरबारे इयू र बेलायतबीच सम्झौता

ब्रेक्जिट (इयूबाट बेलायतको बर्हिगमन) को पाँच वर्षपछि युरोपेली सङ्घ (इयू) ले बेलायतसँग जिब्राल्टरको भूभागलाई दिने दर्जासम्बन्धी बुधबार सम्झौता भएको छ ।

यस सम्झौताले जिब्राल्टर–स्पेन सीमामा मानिस र सामानहरूको प्रवाहलाई अनुमति दिनेछ । यो लण्डनको ब्रसेल्ससँगको सम्बन्धमा बहुचर्चित ‘विवाद समाधान’ को एउटा सुरूवात हो ।

सन् २०२० मा बेलायतले युरोपेली सङ्घ छोड्दा भूमध्यसागरको मुहानमा रहेको जिब्राल्टर र बेलायतको प्रमुख सैन्य अखडा जिब्राल्टरबीचको सम्बन्ध सुल्झिएको थिएन ।

लण्डन, म्याड्रिड, ब्रसेल्स र जिब्राल्टरबीच बेलायतको पूर्ववर्ती कन्जरभेटिभ सरकारको पालामा भएको वार्तामा प्रगति हुन सकेको थिएन तर गत वर्ष लेबर पार्टीको आगमनले नयाँ गति दिएको थियो ।

“जिब्राल्टरसँग सम्बन्धित भविष्यको सम्बन्धमा इयू–बेलायत राजनीतिक सम्झौता वास्तवमा ऐतिहासिक उपलब्धी हो । यसले सबैलाई फाइदा पु¥याउँछ र सम्बन्धमा नयाँ अध्यायलाई बलियो बनाउँछ,“ इयू व्यापारमामिला प्रमुख मारोस सेफकोभिकले एक्समा लेख्नुभएको छ ।

बेलायती विदेशमन्त्री डेभिड ल्यामीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वर्षौंको अनिश्चिततापछि आजको सफलताले व्यावहारिक समाधान प्रदान गरेको छ ।”

“जिब्राल्टर सरकारसँग मिलेर बेलायती सार्वभौमिकताको रक्षा गर्ने, जिब्राल्टरको अर्थतन्त्रलाई समर्थन गर्ने र व्यवसायलाई फेरि एकपटक दीर्घकालीन योजना बनाउन दिने सम्झौतामा हामी पुगेका छौं,” उहाँले भन्नुभयो ।

जिब्राल्टरका मुख्यमन्त्री फेबियन पिकार्डोले सम्झौताले जिब्राल्टरका जनता, यसका व्यवसाय र सीमामा स्थिरतामा निर्भर रहेकाहरूलाई कानुनी सुनिश्चितता प्रदान गर्नेमा आफू खुसी भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो सम्झौताले बेलायती जिब्राल्टारवासीहरूको भावी पुस्ताको रक्षा गर्नेछ र यसले हाम्रो बेलायती सार्वभौमिकतालाई कुनै पनि तरिकाले असर गर्दैन।”

द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताउनुभएको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गत अप्रिलदेखि तेहरान र वासिङ्टनबीच पाँच चरणको वार्ता भएको छ ।

गत जनवरीमा सत्तामा फर्केपछि ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गर्दै आणविक कूटनीतिलाई समर्थन गर्नुभएको छ तर असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

इरानका रक्षामन्त्री अजीज नासिर जादेहले वार्ता असफल भएमा अमेरिकी सैन्य कारबाहीको चेतावनीको जवाफमा भन्नुभयो, “उसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तीसम्म पहुँच छ, र बिना कुनै हिचकिचाहट हामी अमेरिकाले सेल्टर बनाइ बसेका देशहरूमा रहेका सबै आधार शिबिरलाई निशाना बनाउनेछौँ ।”

“भगवानको कृपाका कारण विवाद त्यो बिन्दुमा पुग्ने छैनन् र वार्ता सफल हुनेछ”, उहाँले भन्नुभयो, “यदि अमेरिकी पक्ष द्वन्द्वमा आयो भने ‘थप क्षति बेहोर्नुपर्नेछ’।”

संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ।

इरान र संयुक्त राज्य अमेरिकाबीच हालै इरानको युरेनियम संवद्र्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ, तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ र वासिङ्टनले यसलाई ‘सक्झौताका लागि अन्तिम सीमा’ को रूपमा बताएको छ।

ट्रम्पले गत महिना खाडी भ्रमणका क्रममा सम्झौताको नजिक पुगेको भन्दै वार्ताप्रति वासिङ्टन आशावादी रहेको बताउनुभएको थियो तर बुधबार प्रकाशित एक अन्तरवार्तामा ट्रम्पले तेहरानलाई युरेनियम संवद्र्धन गर्नबाट रोक्न सकिन्छ कि भन्ने प्रश्नको जवाफमा अमेरिका र इरानबीच सम्झौता हुनेमा आफू ‘कम विश्वस्त’ रहेको बताउनुभएको छ ।

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

भरतपुर (चितवन), २९ जेठः यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ ।

वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताउनुभयो । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छभने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । “बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन, झरना पुग्ने बाटो मात्रै बनाउन सके पनि धेरै पर्यटक लैजान सकिने थियो”, परियारले भन्नुभयो ।

माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडीको यस क्षेत्रमा विसं २०२०÷२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा सुरु भएको हो । त्यस अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ आए धन प्राप्त गर्ने चाहना पूरा हुने किंवदन्ती भएकाले झरनालाई धनलक्ष्मी झरनाको नाम दिइएको बताउनुभयो ।

भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ । गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ । “अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठधाम क्षेत्रका नै पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न थालिएको छ ।”

वैकुण्ठधाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उहाँको भनाइ छ । साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताउनुभयो ।

वैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पु¥याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताउनुभयो । “झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्नसक्छ । त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौं”, उहाँले भन्नुभयो ।

माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् । निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताउनुभयो ।

दूध र मह बिक्रीबाट मनग्य आम्दानी गर्दै रघुनाथ

गलकोट (बागलुङ), २९ जेठः बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहनुभएको छ, रघुनाथ पौडेल ।

उमेरले ६२ वर्ष पुग्नुभएका पौडेल र उहाँका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त हुनुहुन्छ । गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँसखेती गर्दै आउनुभएका पौडेल परिवारसँग प्लाष्टिक टर्नेलदेखि तोरी पेल्ने र कुटानी–पिसानी गर्ने मिलसमेत छ ।

बाउछोरा मिलेर पाँच वर्षयता दूध र मह उत्पादन गर्दै आउनुभएको छ । गाउँमा बसाइँसराइले बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ । परम्परागत कृषिकर्म गरेर छोराछोरीलाई हुर्काउनुभएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइराख्नुभएको छ । “गाउँ रित्तियो, सम्पत्ति भएका त सहरबजार सरे, हामी बाउछोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ”, बुबा रघुनाथले भन्नुभयो, “हाल छवटा मुर्रा भैँसी र तीनवटा गाईपालन गरेका छौँ । आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लाष्टिक टनेल, १० रोपनी जग्गामा घाँसखेती र तेल पेल्ने र कुटानी–पिसानी गर्ने मिल छ । यीमध्ये मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ ।” गाईभैँसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी–पिसानी मिल सञ्चालन गरिरहेको उहाँले सुनाउनुभयो ।

पाँच वर्षअघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आउनुभएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवा जस्तै विदेश हिँड्न मन लागेको छैन, बरु गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ । बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उहाँको भनाइ छ । “हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ । छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुलापन गर्दै आएका छौँ । यसले पाडापाठीको संरक्षण र आम्दानी दुवै भइहेको छ, यसैमा खुसी छु”, राजनले भन्नुभयो । हाल फार्ममा छ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै गरेका छन् । यी सबै हुर्किए र उत्पादान सुरु भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उहाँको विश्वास छ ।

बाँदरको आतङ्कपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन् । त्यसैले पौडेल बाउछोराले १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गर्नुभएको छ । यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिनुभयो ।

मलखादबिना कसरी पूरा होला ‘मधेशले देशलाई खुवाउने अभियान ?’

बरहथवा (सर्लाही), २९ जेठः गत शुक्रबार मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस भयो । प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा निकै महत्वका साथ समेटिएको कृषि क्षेत्रको नारा हो, ‘उत्पादन मधेशमा, विस्तार देशमा’, कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न ‘मधेशले देशलाई खुवाउने अभियान’ ।

यस नाराले मधेश प्रदेशका किसानमा आशाको सञ्चार गरायो, तर यहीका किसानले धानबालीका लागि बीउ रोप्न मलखाद पाएका छैनन् । असारको सुरुमै धान रोप्न खेत खाली राखेका किसानहरूले जेठको दोस्रो साता तिरबाट धानको ब्याड राख्न सुरु गरिसकेका छन् । धानको ब्याड राम्रो उम्रिनका लागि डिएपी मल हाल्ने गरिन्छ, तर हाल रासायनिक मलका डिलरहरू खाली छन् । “चारपटक सहकारी संस्थामा पुगिसके मल आएको छैन भनेर फर्काइरहेका छन्”, यहाँको बागमती नगरपालिका–१२, काजिराम टोलका कालु बोटले भन्नुभयो,“धान रोप्ने समयमा पनि मलखाद पाउने टुङ्गो छैन । खेती कसरी गर्ने होला ? यसरी मधेश प्रदेश सरकारको कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न ‘मधेशले देशलाई खुवाउने अभियान’ कसरी सफल होला !”

रासायनिक मलखाद वितरणको अधिकार पाएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडले सहकारीमार्फत रासायनिक मलखाद वितरण गर्दै आएका छन् । सहकारीले प्राप्त गर्ने मलखाद किसानहरूलाई दामासाही रूपमा वितरण गर्ने गरिएको बागमती बचत तथा ऋण सहकारी, बागमती–११ का अध्यक्ष वासु खड्काले बताउनुभयो । हाल मात्रै होइन किसानले आवश्यकताअनुसार समयमा कहिल्यै मलखाद नपाएको उहाँको गुनासो छ ।

सर्लाहीको बरहथवा नगरपालिका–५, हात्तीडण्डाका सुरेन्द्र महतोले यस वर्ष धानखेतीका लागि दुई बिगाहा खेत तयारी अवस्थामा राख्नुभएको छ । हाइब्रिड जातको मकै भित्र्याएर खेत खाली राखेकाले असारको सुरुमै धान रोप्ने उहाँको तयारी छ, तर बीउ राख्ने बेलामा मलखाद नपाउँदा सास्ती भएको उहाँले सुनाउनुभयो । जसोतसो गरी डिएपी मल किनेर तत्कालको गर्जो टारे पनि धान कसरी रोप्ने भनेर चिन्ता लागिरहेको महतोको भनाइ छ ।

“बीउ राख्न धेरै मलखाद नचाइने भएकाले जसोतसो टारेँ, तर धार रोप्न धेरै मलखाद चाहिन्छ । मल नहाले उत्पादन हुँदैन । त्यस बेलाचाहिँ के गर्ने भनेर चिन्ता लागिरहेको छ”, उहाँले भन्नुभयो,“किसान र कृषि क्षेत्रप्रति कोही जिम्मेवार छैनन् । भाषणमा बोलेका २० प्रतिशत कुरा मात्रै व्यावहारिक रुपमा लागू हुने हो भने मात्र पनि किसानको ठूलो समस्या हल हुने थियो ।”

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जबाट ढुवानीमा ढिलाइ हुँदा गोदाम खाली रहेको सर्लाहीस्थित कार्यालयका प्रमुख ध्रुव साहले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सर्लाहीस्थित कृषि सामग्रीको गोदाममा युरिया र डिएपी दुवै मल सकिएको छ ।

चुरे क्षेत्रका किसान सठिया मकै गोडेर युरिया हाल्न मल खोजिरहेका छन्भने सिँचाइ सुविधा भएका ठाउँमा धानको बीउ राख्ने चटारो छ, तर मलखाद नपाएका कारण सठिया मकै गोड्न नपाएर खेर जाने अवस्थामा पुगेको बागमती नगरपालिका–१, हिरेडाँडाकी जमुना गोलेल गुनासो गर्नुभयो । “उम्रिने बित्तिकै फौजी कीराको चपेटामा परेको मकैलाई मुस्किलले विषादी छिटेर जोगायौँ”, उहाँले भन्नुभयो, “हाल गोडमेल गर्ने बेलामा खादमल छैन । गोडमेल गरेपछि रासायनिक मल हाल्नुपर्छ । खादमल कहिले पाइने हो टुङ्गो छैन ।”

यो समस्या गोलेको मात्रै होइन, न त यो यस पटकको मात्रै समस्या हो । हरेक वर्ष एउटै समस्या भोग्नु यहाँका किसानहरूको नियति नै हो ।

कृषि सामग्री केन्द्र नवलपुर सर्लाहीका प्रमुख साहले डिएपी लोड भएर आउने तयारीमा रहेको खबर पाएको सुनाउनुभयो । यहाँ आएलगत्तै वितरण सुरु गरिने उहाँले बताउनुभयो । सिँचाइको सुविधा रहेकाले यहाँका किसानले तीन बालीसम्म लगाउँछन् । अन्य स्थानमा भन्दा यहाँ दुई गुणा बढी रासायनिक मलको माग छ, तर प्रदेश कार्यालयबाट अन्य जिल्लामा सरह दामासाहीका आधारमा खादमल प्राप्त हुने गरेको छ । जिल्लामा आएको मलखाद पनि पालिकाअनुसार दामासाहीका आधारमा भाग लगाएर वितरण गर्ने गरिएको साहले उल्लेख गर्नुभयो ।

यसले कतै नपुग्ने त कतै धेरै हुँदा डिलरहरूले कालोबजारीमा बेच्ने गरेको समेत फेला पर्ने गरेको छ । यसबाट किसान नै प्रत्यक्ष मारमा पर्ने गरेका जिल्लास्थित नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताउनुभयो । राज्यले आवश्यकता र मागअनुसार नै किसानहरूलाई रासायनिक मलखाद वितरण गर्नुपर्ने उहाँको भनाइ छ ।

कृषि सामग्री कम्पनी वीरगञ्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले डिएपी र युरिया धमाधम ढुवानी हुने क्रममा रहेकाले केही दिनमै जिल्लाका डिपोहरूमा पुग्ने बताउनुभयो । प्रमुख पाण्डेले पहिलो चरणमा डिएपी मल ढुवानी भइरहेको बताउनुभयो । किसानले गरेको मागभन्दा पनि जिल्लामा मल पठाउने परिमाण प्रदेश सरकारको निर्णयबमोजिम हुने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यलयका अनुसार यस ‘सिजन’का लागि प्रदेश सरकारले मलको कोटा तोकिसकेको छैन । यसकारण जिल्लामा किसानहरूले मलखाद पाउन अझै समय लाग्न सक्ने देखिएको छ । यहाँ धान, मकै, गँहु, उखुलगायत बालीका लागि थोरै मात्रामा रासायनिक मलखाद माग हुने गरेको छभने जिल्लाको बागमती, बरहथवा, लालबन्दी, चन्द्रनगरलगायत स्थानमा वर्णशङ्कर जातका मकै, आलु, तरकारीलगायत खेतीका लागि अत्यधिक मात्रामा मलखाको माग हुने गरेको छ । सरकारले अनुदानमा मागको आधा मात्र वितरण गर्ने गरेका कारण स्थानीय किसानहरूले खुला सिमाना हुँदै भारतबाट समेत खादमल ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता छ ।

कुल ८४ हजार ६७८ हेक्टर क्षेत्रफल कृषियोग्य भूमि रहेको यस जिल्लामा हरेक वर्ष २५ हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपीको माग हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड लालबन्दी र साल्ट ट्रेडिङ्ग कर्पोरेशन मलङ्गवाबाट गरी मागको आधा १० हजार मेट्रिकटन हाराहारीमा युरिया र आठ हजार हाराहारीमा डिएपी मल वितरण हुने गरेको छ ।

माग र पूर्तिको अनुपातले समेत जिल्लामा रासायनिक मलको सधैँ अभाव रहेको पुष्टि गरेको साना किसान कृषि सहकारी कर्मैयाका अध्यक्ष उत्तम आचार्यले बताउनुभयो । राज्यले किसानको आवश्यकतालाई ध्यान दिएर खादमल वितरण गर्नुपर्ने उहाँको माग छ ।

धानको उचित मूल्य नपाउँदा किसान निराश

त्रिवेणी (नवलपरासी), २९ जेठ: यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।

मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गर्नुभयो तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उहाँ खिन्न हुनुहुन्छ । गतवर्ष रु. तीन हजारभन्दा अधिक मोलमा उहाँले एक क्विन्टल धान बेच्नुभएको थियो ।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनु भएका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउनुहुन्छ । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उहाँले बताउनुभयो ।

गैंडाकोटका किसान मानबहादुर थारुले रु दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताउनुभयो । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उहाँको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताउनुभयो । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उहाँले बताउनुभयो । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।

राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस

वाशिङ्गटन डिसी (अमेरिका), २९ जेठः अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

बुधबार यहाँ राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको नेपाली नियोगले जनाएको छ ।

कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना गर्नुभएको थियो । राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय र पारस्परिक सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अमेरिकाले सामाजिक, आर्थिकलगायत नेपालका विकास प्राथमितामा पु¥याउँदै आएको सहयोगका लागि आभारसमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ दायित्व बहन गर्नुभएकामा बधाई ज्ञापन गर्नुभएको थियो । उहाँले अमेरिकी सरकार दुई देशबीच सामूहिक चासोका साथ सहकार्यमार्फत सुमधुर र पारस्परिक सम्बन्ध थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०० रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २० पैसा र बिक्रीदर १४ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९२ पैसा र बिक्रीदर २१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

कर्णाली, २९ जेठः नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो ।

विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ती अभियुक्तहरू अदालतको फैसला कार्यान्वयन छली फरार रहेका थिए ।

प्रहरीले विशेष निगरानी, सुराकी र रणनीतिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेस गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताउनुभयो । पक्राउ परेका अभियुक्तहरूबाट हालसम्म जम्मा ३२ वर्ष ११ महिना २० दिन कैदसजायसहित रु २३ हजार १०० बराबरको जरिवाना असुल गरिएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार अदालतको आदेश कार्यान्वयन गर्दै न्याय सम्पादनमा सघाउने उद्देश्यले फरार अभियुक्तलाई खोजी–पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाइएको छ । यस अभियानले अपराधमुक्त समाज निर्माणमा सहयोग पु¥याउने विश्वास प्रहरीले गरेको छ । प्रहरीले अदालतको निर्णय शीघ्र कार्यान्वयन हुन सकोस् भन्दै फरार अभियुक्तसम्बन्धी सूचना दिन सबैलाई आग्रह गरेको छ ।