`

स्ट्रबेरीखेती बिक्री गरेर एक वर्षमा २१ लाख आम्दानी, दैनिक ७० किलोभन्दा बढी बिक्री

Nepal One HD २२ पुष २०८२ ८:१६
अर्थ समाचार

घोराही (दाङ) – अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएको छ ।

स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्नुहुन्छ । चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिनुभएका २७ वर्षीय उहाँले गत वर्षमात्र रु २१ लाखबराबरको स्ट्रबेरीको कारोबार भएको बताउनुभयो । गत वर्ष आधाभन्दा बढी रकम त बचत नै भयो, यो वर्ष पनि दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ । यस वर्ष झन् क्षेत्रफल बढेकाले कारोबार बढ्ने उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो वर्ष मङ्सिरबाट बेच्न सुरु गरेको र आम्दानी पनि राम्रो भइरहेको छ । एक किलोलाई रु सात सयका दरले बिक्री भइरहेको छ । उहाँले दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गर्नुभएको छ । किसान साउदले भन्नुभयोे, “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।”

परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उहाँले बताउनुभयो । उहाँले घोराहीमामात्र होइन, कपिलवस्तुमा १० कट्ठामा र कैलालीमा दुई बिघामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आउनुभएको छ ।

त्यसैगरी, घोराहीकै अर्का किसान वीरेन्द्र खड्काले पनि व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आउनुभएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँले केही वर्षदेखि स्ट्रबेरीखेती गर्दै आउनुभएको हो । उमेरले २८ वर्ष पुग्नुभएका उहाँले यही व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उहाँको भनाइ छ । किसान खड्काले भन्नुभयोे, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आठ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई÷तीन वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।”

उहाँले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरीखेती गर्दै आउनुभएको छ । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उहाँले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्नुहुन्छ भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भन्नुभयोे, “बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा रु आठ लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।”

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताउनुभयो । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिगे्रर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताउनुभयो ।

जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको बताउँदै उहाँले भन्नुभयो, “स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो, आजभोलिको समय राम्रो हुन्छ ।” जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको उहाँको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *