`

ठाउँठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

काठमाडौँ, २९ जेठः मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताउनुभयो । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उहाँले जानकारी दिनुभयो ।

मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिनुभयो । यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ । जसकारण हिजोआजको भन्दा बिहीबार र शुक्रबारको तापक्रममा गिरावट आउने पनि उहाँले बताउनुभयो ।

ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ, तर पनि दिउँसोको समयमा भने गर्मी नै महसुस हुने जनाइएको छ ।

महाशाखाले बुधबार साँझ सूचनामार्फत भनेको छ, “यो सूचना जारी गर्नुभन्दा तीन घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा मापन भएको छ । सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरुमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।”

मनसुनको अवस्था

हाल मनसुन जेठ १५ गतेकै अवस्थामा कोशी प्रदर्शनबाट अन्यत्र नफैलिएको बताउँदै लामिछानेले महाशाखाले अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको छ, केही दिनमा नयाँ परिणाम निस्किन्छ होला, सबै मापदण्ड पूरा भएपछि महाशाखाले बुलेटिनमार्फत जानकारी दिनेछ ।”

मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन अब दुई दिन बाँकी छ । यसपालि यो मिति आउनुभन्दा १५ दिनअघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र पछि पूर्वी एसिया फर्किएको जनाइएको छ ।

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

काठमाडौँ, २९ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो । मतदान विद्युतीय मेसिनबाट हुनेछ ।

उहाँका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ । २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिनुभएको छ । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिनुभएको छ ।

अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउनका लागि विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिनुभयो । राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने जानकारी दिनुभयो ।

महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ । अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, २९ जेठः हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मुलुक पुरानो व्यवस्थामा फर्किदैन : प्रचण्ड

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुुक पुुरानो व्यवस्थामा नफर्कने बताएका छन् ।

अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताए ।

‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ’ उनले भने ।

साथै उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदैलोमा पुुग्ने गरेको बताए । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष दाहालले बताए ।

दश वर्षमा रसुवागढीबाट १४ हजार ५०० विद्युतीय सवारी आयात

रसुवा । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् ।

आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।

सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता

काठमाडौं । सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरण बीच मंगलबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्ग स्थीत प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने उद्येश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरुप दुईपक्ष बिच सम्झौता भएको उनले बताए ।

प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षिय परियोजनाहरु स्विकृत गरेपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी कार्यहरु अघि बढाउने याोजना रहेको छ । उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरु स्थापना हुन्छन सोहि अनुसार उक्त कति पावर सप्लाइ गर्ने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ ।नेपाल विद्युत प्राधिकरणका र सेजका प्रतिनिधिहरु बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

दमौली (तनहुँ), २८ जेठ : आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु २५ का दरले अनुदान दिएको हो । आँबुखैरेनी–४ र ५ का किसानले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत रु तीन लाख ९३ हजार ४५० अनुदान पाएका छन् ।

पालिकाले मह र मास हाटबजारसम्म ढुवानीको व्यवस्था पनि मिलाएको छ । प्रमुख केसीले भन्नुभयो, “पालिकामा मास र मह उत्पादनको सम्भावना छ । किसानलाई यसमा टिकाइराख्न अनुदानको नीति लिइएको हो । प्रतिकिलो रु २५ का दरले अनुदान दिन्छौँ ।”

चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ किसानले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध किसानले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत रु १७ हजार ७०० अनुदान पाएका छन् ।

त्यसैगरी आँबुखैरेनी–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ७९७ किलो मास उत्पादन गरेबापत रु ६९ हजार ९२५ अनुदान पाएका छन् । आँबुखैरेनी–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध किसानले आठ सय ७१ किलो मास उत्पादन गरेबापत रु २१ हजार सात सय ७५ अनुदान पाएका छन् ।

आँबुखैरेनी–५ कै खोलागाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ५९० किलो मास उत्पादन गरेबापत रु ६४ हजार ७५० अनुदान पाएका छन् । इन्द्रदेवी कृषक समूहमा आबद्ध किसानले एक हजार ५० किलो मास उत्पादन गरेबापत रु २६ हजार २५० अनुदान पाएका छन् । भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध किसानले छ हजार सात किलो मास उत्पादन गरेबापत रु एक लाख ५० हजार १७५ अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध किसानले एक हजार ७३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत रु ४३ हजार ५७५ अनुदान पाएका छन् ।

खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएका बताउनुभयो । रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “मास र महका लागि पालिकाले सहयोग गरेपछि किसान यसतर्फ टिकिराख्न सक्छन् ।” भुकुण्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले किसानलाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयोे ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २८ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु २२, काउली स्थानीय प्रतिकिलो रु ७०, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५५, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३८, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, स्कूस प्रतिकिलो रु ७५, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ४५, तोरीको साग प्रतिकिलो रु ३५, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १४०, लिची (भारतीय) प्रतिकिलो रु २२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५५, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

डा.विनय दाहाल र मुक्ता पान्डेको नयाँ गीत ‘सहीछाप’ सार्वजनिक

काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति ‘सहीछाप’ गीत सार्वजनिक भएको छ । डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्द रचना र देवेन्द्र बरालको संगीत रहेको छ । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् ।

पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ ।

भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् । लामो समय देखि अमेरिकामा चिकित्सक पेशामा रहेका डा. विनय र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरुलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाईएको थियो। ‘सहीछाप’ गीतलाई पनि यसअघिका कभर गीतहरु जस्तै दर्शकले मन पराउनेमा मुक्ता विस्वस्त रहेकी छिन ।

मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गनुपर्ने माग गरेका छन् ।

उच्च ओहोदामा रहेका राजनीतिज्ञ, कर्मचारी तथा अन्य पदाधिकारीहरुको सम्पत्ति छानबिन गरी गैरकानुनी रुपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने र भ्रष्टाचारीलाई बाँचुञ्जेल कैदमा राख्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

बस्नेतले भने, ‘देशमा जताततै सुनिने र जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’। मुलुकमा व्यापक भष्टाचार हुन्छ’ भनि ढुक्कका साथ भन्न सकिने अवस्था बनेको छ ।’

भ्रष्टाचार नियन्त्रणका लागि मानिसको सोच, संस्कार र व्यवहारमा सुधार ल्याउनुपर्नेमा उनको जोड रहेको छ ।
भ्रष्टाचार मुलुकमा भयङ्कर डरलाग्दो रोगको रुपमा फैलिएको भन्दै बेलैमा सजग नभए यसले मुलुकलाई ठूलो दुर्घटनामा लैजानसक्ने उनको भनाइ छ ।

अत्यधिक गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ- अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा  जारी गर्नुभएको विज्ञप्तिमा यही जेठ २८ देखि ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गर्नुपरेको जनाइएको छ । वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ ।

तुइनमुक्त प्रदेश बनाउने कर्णाली सरकारको घोषणा

कर्णाली-कर्णाली प्रदेश सरकारले तुइनमुक्त प्रदेश बनाउने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशलाई पूर्ण रूपमा तुइनमुक्त बनाउने घोषणा गरेको हो ।

प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज एक सूचना जारी गरी यही असार १० गतेभित्र तुइनको विवरण पठाउन सम्बन्धित जिल्ला तथा पालिकाहरूलाई जानकारीसमेत गराएको छ । सूचनामा भनिएको छ, “प्रदेशका नदी खोलामा तुइन सञ्चालनमा रहेका भए विस्थापित गरी झोलुङ्गे पुल निर्माणका लागि यही असार १० गतेभित्र सम्बन्धित जिल्लाको पूर्वाधार विकास निर्देशनालय वा मन्त्रालयमा सोझै वा ईमेलमार्फत निवेदन दिनहुन सरोकारवाला सबैको जानकारीका यो सूचना प्रकाशन गरिएको छ ।”

मुख्यमन्त्री यामलाल कँडेलले पनि भौगोलिक रूपले विकट र विकासका हिसाबले पछि परेको कर्णालीका नागरिकको आवागमनलाई सहज गर्ने गरी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताउनुभयो । उहाँले नागरिकलाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी प्रदेश सरकारले काम गर्ने बताउनुभयो ।

बेनी–जोमसोम सडकका पहिरो रोकथाम र वैकल्पिक सडकलाई प्राथमिकता दिने अध्यक्ष दाहालको प्रतिबद्धता

भुरूङ–तातोपानी (म्याग्दी)-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ ।

चीन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा र म्याग्दीखण्डको स्थलगत निरीक्षण तथा सरोकारवालासँग   म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा भएको भेटघाटका क्रममा अध्यक्ष दाहालले निर्माणाधिन सडकलाई पूूर्णता दिन, पहिरो र नदी कटान रोकथाम गरी सुुरक्षित बनाउन आफ्नो ध्यान गएको बताउनुभयो ।

रघुुगङ्गा गाउँपालिका–२ बरखर्कको पहिरो निरीक्षणपछि अध्यक्ष दाहालले पहिरो रोकथाम र नियमित यातायात सञ्चालनका लागि वैकल्पिक सडक मार्गलाई स्तरोन्नति गर्न सदन र सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो ।

रघुगङ्गा गाउँपालिका–२ का पूर्ववडाध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सदस्य रिमबहादुर कटुवालले वरखर्क पहिरोको वैकल्पिक गलेश्वर–बगँैचा–रानीपौवा–रिसिनचौतारी–बेगखोला सडक स्तरोन्नति गर्न सकेमा बर्खा याममा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गर्न सकिने मागपत्र अध्यक्ष दाहाललाई बुझाउनुभएको थियो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–२ भुरूङ तातोपानीमा स्थानीयवासीका गुुनासो सुुन्दै अध्यक्ष दाहालले म्याग्दीको भगवती, दोवालगायतका ठाउँका गुठी र सिमानासम्बन्धी समस्या समाधानमा पहल गर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य समेत रहेका माओवादी केन्द्र अन्नपूूर्ण गाउँ कमिटीका अध्यक्ष पूर्ण पाइजा र इञ्चार्ज बागवीर पाइजाले स्थानीय विकास निर्माणसँग सम्बन्धित मुद्दा सम्बोधनका लागि अध्यक्ष दाहाललाई मागपत्र बुझाउनुभएको थियो ।

उपराष्ट्रपति यादव स्वागत समारोहमा

काठमाडौँ, २८ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए. नोभीकोभले आयोजना गर्नुभएको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।त्यस अवसरमा रुसी साङ्गीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

दश महिनामा प्रदेश सरकारले गरे रु एक खर्ब खर्च

काठमाडौँ, २८ जेठः चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु ६० अर्ब उपलब्ध गराएको थियो । सशर्त अनुदान रु २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान रु ६ अर्ब २० करोड उपलब्ध गराएको थियो ।

प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु एक खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु ३८ अर्ब ६२ करोड रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार, गत वैशाख मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु तीन खर्ब ३६० अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । विसं २०८१ असार मसान्तमा यस्तो मौज्दात रु ९३ अर्ब ९६ करोड रहेको थियो ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु नौ खर्ब २२ अर्ब ४३ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु आठ खर्ब २८ अर्ब ९४ करोड र गैर कर राजस्व रु.९३ अर्ब ४९ करोड परिचालन भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामासरकारको कुल खर्च रु ११ खर्ब ५७ अर्ब ८९ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु सात खर्ब ७३ अर्ब २३ करोड, पुँजिगत खर्च रु एक खर्ब २० अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु दुई खर्ब ६४ अर्ब २९ करोड रहेको छ ।

आज अन्तरराष्ट्रिय खेल दिवस

काठमाडौँ, २८ जेठ: ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ ।

खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ । शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।

संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई ठूलो नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, २८ जेठः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याइरहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति सँग कुराकानी गर्दै उहाँले संसद् जनताका मुद्दाभन्दा राजनीतिक दलका नेता र दलहरुको इगो साँध्ने थलो जस्तो बनेकामा दुःख लागेको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, “विधेयकहरु पारित गर्नुपर्नेछ, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुद्दाहरु पनि छन्, अहिले बजेट अधिवेशन छ । आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ । त्यतापछि ध्यान नदिइ अल्झाउन लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याएको छ ।”

मुलुकमा भइरहेको संसदीय अभ्यास, वामपन्थी एकता, विप्रेषण, युवाहरु विदेशपलायनलगायतका विषयमा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश:

केही दिनदेखि निरन्तर संसद् अवरोध भएकामा मलाई असाध्यै दुःख र चिन्ता लागेको छ । हामीले नेपालमा जे शासन प्रणाली अपनाएका छौँ, यो परम्परागत खालको ‘वेष्ट मेनेष्टेरियल’ संसदीय प्रणाली होइन, त्योभन्दा अगाडि बढेको समावेशी सहभागितामूलक लोकतन्त्र उन्मुख भएका संसदीय लोकतान्त्रिक प्रणाली अपनाएको छौँ । त्यसको अभ्यासमा एकदमै कमजोरी भएको म देख्छु ।

सत्तामा रहुञ्जेल सबै ठीक छ भन्ने सत्ताबाट निस्केपछि केही पनि ठीक छैन भन्ने प्रवृत्तिले खाली एउटा औपचारिक लोकतन्त्रको मात्रै कुरा गर्छ । त्यसबाट वाक्कदिक्क भएर नै हामीले विद्रोह गरेर नेपालको लोकतन्त्रलाई अझ उन्नत बनाउनुपर्छ भनेर लडेका थियौँ ।

नेपालको अहिलेको संसदीय अभ्यास पनि उही परम्परागत संसदीय अभ्यास जस्तै रुमलिने र महिनौँसम्म संसद्लाई अल्झाइराख्ने काम भएको छ । संसद् जनताका मुद्दाभन्दा नेताका र दलहरुको इगो साँध्ने थलो जस्तो बनेको छ । यसमा मलाई अन्यन्त दुःख लाग्छ । किनकी केही वर्षयताकै तथ्य हेर्दा महिनौँसम्म सामान्य विषयलाई लिएर सदन अवरुद्ध गर्ने र काम केही पनि नगर्ने भयो । विधेयकहरु पारित गर्नुपर्नेछ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुद्दाहरु छन् । अहिले बजेट अधिवेशन छ । आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ । त्यतापछि ध्यान नदिएर अल्झाउने जुन काम भइरहेको छ । त्यसले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याएको छ ।

नेपालको अर्थतन्त्र युगौँदेखि असाध्यै कक्रिएर बसेको छ । लोकतन्त्रले यसलाई खुलापनमा ल्याइसकेपछि हाम्रो साधनस्रोतको व्यापक परिचालन गरेर छोटो अवधिमा ठूलो फड्को हान्ने नीति हामीले लिनुपर्नेथ्यो । त्यो लिन नसक्दा यो जहाँको तही रुमलिएर बसेको छ ।

त्यसैले मैले सुरुदेखि नै के भन्दै आएको छु कि नेपालको अर्थतन्त्र आन्तरिक रुपमा यो गतिहीनता हो र बाह्य रुपमा चै यो परनिर्भरता हो । आन्तरिक गतिहीनता र बाह्य परनिर्भरताको साङ्लोमा नेपाली अर्थतन्त्र लामो समयदेखि परेको छ । यसलाई मुक्ति दिनु नै मुख्य जोड हुनुपर्ने थियो । त्यसो हुन सकेन । त्यसैले हामीले गर्न खोजेको प्रयास पनि त्यही हो ।

परम्परागत राजनीतिक सोच, संसदीय खेलमा मात्रै रमाएर मात्रै बस्ने जुन प्रवृत्ति बढ्यो । त्यसले चै यो आर्थिक रुपान्तरणलाई जोड दिन सकेन । त्यस अर्थमा पनि समग्र राजनीतिको पुनःसंरचना आवश्यक छ र वैकल्पिक राजनीति आवश्यक छ भन्ने विश्वास बढ्दैछ ।

बजेट प्रतिक्रिया

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा केही सामान्य सुधारात्मक कुरा छन् । जस्तै सूचना प्रविधिका क्षेत्रमा जोड दिने, योजना कार्यान्वयन नियमावलीलाई संशोधन गरेर सहज बनाउने भन्ने छ, तर यो क्यान्सरको बिरामीलाई झारफूक गरेजस्तो मात्र हो । त्यसैले यसलाई परम्परागतको निरन्तरता भनिएको हो । यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन । एउटा क्रमभङ्ग गर्ने नीति नलिइकन यस्ता प्रकारका बजेटहरु वर्षौदेखि देखिरहेका छौँ । यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन ।

वामपन्थी एकता कि रुपान्तरण

म मुलुक बनाउन हिँडेको व्यक्ति हुँ । अहिले एकताभन्दा पनि रुपान्तरण हो । परिवर्तन चाहिएको छ । अहिलेको अग्रगामी विचार सोच, शैलीसहितको समग्र विचारको पुनःसंश्लेषण, राजनीतिक शक्तिको पुनःसंरचना र अर्थतन्त्रको आमुल रुपान्तरण नै अबको आवश्यकता हो । त्यसर्थमा हामीले हाम्रो चिन्तनलाई नै नयाँ ढङ्गले अगाडि नबढाइ हुँदैन ।

संविधान संशोधन आवश्यक

अग्रगमनमा जाने गरी संविधान संशोधन आवश्यक छ । पहिलो र दोस्रो दलको सरकार बनेपछि त्यसको औचित्य सावित गर्नुपर्छ । त्यसकारण त्यो औचित्यलाई भनेको मात्रै हो ।

जनताका यही अधिकार बढी भए यसलाई कस्नुपर्छ भन्ने सोच उहाँहरुमा देख्छु । वर्तमान सरकारमा रहेका दलहरुले जनतालाई थप अधिकार दिने गरी संविधान संशोधन गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । संविधान संशोधन गर्ने नै हो भने शासकीय प्रणालीमा सुधार गर्नुपर्छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली केन्द्रमा, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रदेशमा । सङ्घ र प्रदेशमा प्रत्यक्ष तर पूर्ण समानुपातिक प्रतिनिधिसभा र प्रदेशसभा रहने गरी गर्नुपर्छ । त्यो भएमा मात्र संविधान संशोधनको अर्थ हुन्छ ।

प्रदेशसभा सदस्य र मन्त्रीको सङ्ख्या घटाउने भनेको सामान्य कुरा हुन् । सङ्घीयतामा भएको भौगोलिक विभाजन मधेस प्रदेश बाहेक हिजोकै विकास क्षेत्र हुन पुगेको छ ।

सङ्घीयताको मर्म भनेको बहुजातीय र बहुभाषिक मुलुकमा त्यसको सही प्रतिनिधित्व हुने गरी बनाउनुपर्ने हो । जसबारे हामीले सुरुदेखि नै मत राख्दै आएका छौँ । त्यसैले सङ्घीयताको पुनःसंरचना छँदै छ । सँगसँगै सङ्घ, प्रदेश र स्थानीय तहको जुन अधिकार संविधानमा लेखिएको छ, त्यसलाई ठीक ढङ्गले कार्यान्वयन गर्नका निम्ति कानुनहरु बनाउनुपर्नेछ ।

त्यसलाई सहज गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने जुन आयोग छन्, असाध्यै कमजोर प्रकृतिका भएको हुँदा अधिकार सम्पन्न बनाउने र अदालतको पनि सुदृढीकरणजस्ता विषयमा संविधान संशोधन गर्न आवश्यक छ ।

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

दोधारा चाँदनी (कञ्चनपुर), २८ जेठः सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो । यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन ।

त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति थिए । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मङ्गलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मङ्गलबारदेखि नाकामा परीक्षण सुरु गरिएको बताउनुभयो । “हामीसँग १०० कीट मात्रै आएको छ यो पर्याप्त होइन”, उहाँले भन्नुभयो, “अहिले नाकामा लक्षण देखिएकाहरुको मात्रै परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।” उहाँका अनुसार मङ्गलबार गड्डाचौकी नाकामा सात जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् । “आउने आप्रवासीहरुलाई कडाइ त गरेका छौँ तर कीटको अभावले परीक्षण गर्न सकिएको छैन”, गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भन्नुभयो, “शंकास्पद देखिएकालाई एक हप्ता घर परिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौँ ।”

विगतका वर्षहरुमा समयमा नाकामा कडाइ गर्न नसक्दा सङ्क्रमण फैलिएकाले सरकारले नाकामा कडाइ गर्नुपर्ने स्थानीय बताउँछन् । “गड्डाचौकी नाकाबाट आउनेहरुको कोभिड परीक्षण हुन सकेको छैन”, स्थानीय पदम थापाले भन्नुभयो, “नाकाबाट फर्किनेहरु स्वाथ्य परीक्षणका लागि हेल्थ डेस्कमा जाँदैनन् सुरक्षाकर्मीले रोकेको देखिदैन ।” उहाँले भारतबाट आउने जीप, कार र बसहरु नाकामा नरोकी सिधैँ नेपाल प्रवेश गर्ने गरेको उल्लेख गर्दै प्रशासनले नाकामा रोकेर हेल्थ डेस्कमा जाँच गराउनुपर्ने बताउनुभयो । कोरोना महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन् ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २८ जेठः नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ०१ पैसा र विक्रीदर ३५६ रुपैयाँ ५७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

काठमाडौँ, २८ जेठः आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।

नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन/तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।

नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए ।

यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५/३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए । नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २८ जेठः सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्नुहुने कार्यसूची छ ।प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

आज देशभर आंशिदेखि साधारणतया बदली रहने पूर्वानुमान

काठमाडौँ, २८ जेठःहाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनो छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

नेपाल नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक समितिबाट पारित

काठमाडौँ, २७ जेठ : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको आजको बैठकमा उक्त सर्वसम्मत रूपमा पारित भएको हो ।

सो विधेयकमाथि संशोधन राख्नुभएका सांसद र सरोकारवालासँगको छलफलपछि पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । उहाँले अत्यन्त महत्त्वपूर्ण मानिएको नागरिकता विधेयकलाई सर्वसम्मतरूपमा पारित गराउन सहयोग गर्नेप्रति आभार प्रकट गर्नुभयो ।सभापति खतिवडाले नागरिकता प्राप्तिमा देखिएका अप्ठयारालाई विधेयकले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसअघि उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नागरिकताका बारेमा सरकारले बेग्लै विधेयक प्रस्तुत गर्ने बताउनुभयो । “परराष्ट्र मन्त्रालय हुँदै उक्त विधेयक गृहमन्त्रालयमा आइसकेको छ । हामीले त्यसमा आफ्नो राय व्यक्त गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

वर्तमान सरकार गठन भएको ११ महिना पुग्दै गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस अवधिमा मन्त्रालमा नीतिगत, कानुनी र संरचनागत सुधार गर्ने क्रममा विभिन्न विषयवस्तु भेटिएका र तिनलाई सुधार गर्ने क्रममा मन्त्रालय अघि बढेको बताउनुभयो ।

“नेपाली नागरिकता ऐन, २०६३ (दोस्रो संशोधन)मा प्रस्तावित संशोधनमाथि सम्बद्ध गैरआवासीय नेपाली नागरिकता र ब्रिटिस गोर्खाको विषय उठिरहेको छ । गैरआवासीय नेपाली नागरिकताका विषयमा संविधानले नै यो व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली नागरिकता आफैँमा एउटा नागरिकता हो । यसमा हामी दुविधामा बस्नु हुँदैन । किनभने यो संविधानको नागरिकता भागमा नागरिकता भनेर उल्लेख गरेको विषय हो ।”

विश्वकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुने

उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने जानकारी रूसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको छ।

यसका साथै, प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको छ।

प्योङयाङ–मस्को मार्ग, जुन हाल विश्वकै सबैभन्दा लामो प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा हो, हरेक महिना दुईपटक सञ्चालन गरिनेछ। यो यात्रा १० हजार किलोमिटरभन्दा बढी दूरी तय गर्नेछ र यात्रा पूरा गर्न लगभग आठ दिन लाग्ने अनुमान गरिएको छ।

कोभिड-१९ महामारीका कारण २०२० को फेब्रुअरी देखि स्थगित गरिएको यो रेल सेवा अब पुनः संचालनमा आउँदा, यात्रीहरूलाई एक ठूलो सुविधा प्राप्त हुनेछ।

संवादमार्फत सहिष्णुता र शान्तिको मार्ग खोल्न सकिन्छ : गुटेरेस

संयुक्त राष्ट्र महासचिव एण्टोनियो गुटेरेसले सोमबार एक विशेष अवसरमा संवादको महत्त्वलाई जोड दिँदै, आपसी समझदारी र वैश्विक एकताको प्रवर्धनका लागि सशक्त प्रयास गर्न आवश्यक रहेको बताउनुभएको छ।

गुटेरेसले संस्कृतिहरू बीचको संवादको अन्तर्राष्ट्रिय दिवसको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष संवाद कार्यक्रमको दौरान भन्नुभयो, “आजको समयमा यस मिशनको महत्त्व र आवश्यकता पहिलाभन्दा अझ बढी बढ़ेको छ।”

“संयुक्त राष्ट्रसंघ एक यस्तो संस्थाको रूपमा स्थापित भएको छ, जसले एक प्रमुख विश्वासलाई मानेको छ – संवाद नै शान्तिको मार्ग हो,” उहाँ स्पष्ट गर्नुभयो । “आजको पहिलो अन्तर्राष्ट्रिय संवाद दिवसको अवसरमा, हामी यस विश्वासलाई सम्मान गर्दै संस्कृतिहरूको समृद्ध विविधतासँग मिलेर आपसी समझदारी र वैश्विक एकता प्रवर्धनका लागि समर्पित छौं।”

गुटेरेसले थप भन्नुभयो, “संवादको अभावले अज्ञानताको ठाउँ लिन सक्छ, र यसले असहिष्णुता र विदेशीयताविरोधी विचारधारालाई बढावा दिन सक्छ। वर्तमान समयमा, अनलाइन भ्रम र घृणाबाहक भाषाले यस समस्यालाई अझ गम्भीर बनाएको छ। यस्तो अवस्थामा, संवादलाई केवल एक विकल्पको रूपमा होइन, अपितु विश्वास र समझदारीका पुल निर्माण गर्नका लागि अनिवार्य आवश्यकता मान्नुपर्छ।”

चीनको प्रस्ताव र ८० भन्दा बढी देशहरूको सह-प्रायोजनमा, गत वर्ष संयुक्त राष्ट्र महासभाले पारित गरेको प्रस्ताव अनुसार जून १० लाई संस्कृतिहरू बीचको संवादको अन्तर्राष्ट्रिय दिवसको रूपमा मान्यता दिइएको हो।

सोमबारको कार्यक्रम चीन, इजिप्ट, पेरु, स्पेन र उज्बेकिस्तानका स्थायी मिसनहरूले संयुक्त राष्ट्रसँग मिलेर आयोजना गरेका थिए।

संयुक्त राष्ट्र महासभाका अध्यक्ष फिलेमन याङले आफ्नो भाषणमा भने, “विविधता मानव सभ्यताको असल पहिचान हो र संस्कृतिहरू बीचको संवाद भनेको मानवता र एकताको एक शक्तिशाली उपकरण हो।”

रूसी हवाई आक्रमणमा युक्रेनी अस्पताल र बस्तीमा क्षति

रूसले मंगलबार बिहान युक्रेनको राजधानी किभ र समुद्री सहर ओडेसालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ। यस घटनामा दुःखद रूपमा कम्तीमा तीन जनाको ज्यान गएको र प्रसूति अस्पतालसहितका संरचनाहरूमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्।

रूसी रक्षा मन्त्रालयका अनुसार, किभमा रहेको उड्डयन, क्षेप्यास्त्र निर्माण, बख्तरबन्द सवारी तथा जलयान निर्माण केन्द्रहरूमा “समूहगत हमला” गरिएको हो। मन्त्रालयले सबै लक्षित संरचनाहरूमा सफल प्रहार भएको दाबी गरेको छ।

तर युक्रेनका अधिकारीहरूका अनुसार, आक्रमणबाट अस्पताल र बासोबास क्षेत्रसमेत प्रभावित भएका छन्। ओडेसाका गभर्नर ओलेग किपरले दुई व्यक्तिको निधन भएको र कम्तीमा नौ जना घाइते भएको पुष्टि गर्नुभयो। उहाँका अनुसार, “प्रसूति अस्पताल, आपत्कालीन कक्ष तथा आवासीय क्षेत्रहरूमा आक्रमण परेको भए पनि अस्पताल समयमै खाली गरिएकाले गम्भीर क्षति हुन पाएन।”

किभमा पनि एक महिलाको निधन भएको तथा चार जना घाइते भएको जनाइएको छ। स्थानीय मेयरका अनुसार, सात वटा जिल्ला प्रभावित भएका छन्, जहाँ भवन र सवारी साधनमा आगलागी तथा क्षति भएको हो।

प्रतिक्रिया र अन्तर्राष्ट्रिय आह्वान

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणपछि अमेरिका तथा युरोपेली मुलुकहरूलाई शान्तिको पक्षमा ठोस र प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “शान्तिका लागि रूसलाई बाध्य पार्न अमेरिकासँग क्षमता छ। युरोपसँग बलियो भएर अघि बढ्ने विकल्प छैन।” उहाँले हालै प्रहार गरिएका दुई क्षेप्यास्त्र उत्तर कोरियामा निर्मित रहेको जानकारी पनि दिनुभएको छ।

जवाफी कारबाही र अन्य घटनाक्रम

युक्रेनी वायु सेनाका अनुसार, रूसले सोमबार राति मात्रै ३०० भन्दा बढी ड्रोन र सात मिसाइल प्रयोग गरेको थियो। जवाफमा, युक्रेनले पनि रूसी भूभागमा रहेको यातायात र हतियार उत्पादन केन्द्रहरूलाई लक्षित गर्दै आक्रमण जारी राखेको जनाएको छ।

रूसको बेलगोरोद सहरमा युक्रेनी ड्रोन आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि रूसी आपतकालीन सेवाले गरेको छ।

शान्ति प्रक्रिया र कैदी विनिमय

युद्ध अन्त्यका लागि हालसम्म वार्तामा ठोस प्रगति नभए तापनि हालै इस्तानबुलमा भएको छलफलमा व्यापक कैदी विनिमयबारे सहमति भएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार, यस प्रक्रिया केही चरणमा अगाडि बढ्नेछ।

पत्रकारिता परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ : प्रधानमन्त्री

पाटन (ललितपुर), २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिता परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभयो ।

“झुटमुटमा क्रिटिकल हुनुपर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवाञ्छित आरोपबाट रातोपाटी बचेको छ, मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्ना लागि सत्य बङ्््याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले हरेक क्षेत्रमा समाज, विश्व र सम्बन्धमा तीव्र गतिका साथ परिवर्तन भएका बेला लगातारको मित्रता राखेर रातोपाटी अघि बढ्न सकेकामा प्रशंसा गर्नुभयो । रातोपाटी अनलाइनलाई यसको सङ्घर्ष र सफलताका लागि शुभकामना दिँदै आजको बदलिँदो परिवेशमा डिजिटल दुनियाँमा यसको सक्रियताका लागि धन्यवाद दिनुभयो ।“इमानदारको खडेरी देशमा पर्नु हुँदैन । कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?” प्रटधानमन्त्रीले भन्नुभयो ।

उहाँले रातोपाटी डटकमले थुप्रै अनलाइनमध्ये असाधारण ढङ्गले ठूलो परिश्रम र लगनबाट सफलता प्राप्त गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापनसहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धमा लागेर सहासिक योगदान गर्नुहुने देवी खड्कालाई पचास हजार नगद पुरस्कारसहित सम्मान गर्नुभयो । त्यस्तै उहाँले संविधान संशोधन किन र के मा ? विषयक पुस्तकको अनावरण एवं सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री ओलीले विमोचित पुस्तकले संविधान संशोधनसम्बन्धी छलफल र बहसलाई सहज बनाउने छ, भन्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भोकभोकै बसेर २०४६÷४७ सालदेखि पत्रकारितामा लाग्नुभएका ओम शर्माले सुरू गरेको रातोपाटी डटकमले उत्कृष्ट यात्रा तय गरेको बताउनुभयो । उहाँले लोकतन्त्रमा सत्ताधारीलाई गल्ती गर्नबाट सचेत गराउने माध्यम भनेको सञ्चार माध्यम हो भन्दै आलोचनात्मक चेतलाई कायम राख्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।

समारोहमा मन्तव्य राख्नुहुँदै पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी दिनमा सशक्त र प्रभावकारी रूपमा अनलाइन सञ्चारमाध्याम सञ्चालन हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको सञ्चार क्षेत्रमा यस किसिमको पहल उदाहरणीय रहेको भन्दै यसले नेपालीको आवाजलाई तथ्य र यथार्थ ढङ्गले सम्प्रेषण गरेर महत्त्वपूर्ण योगदान पु¥याएको छ भन्नुभयो ।

संस्थापक ओम शर्माले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दै कसैप्रति वैरभाव नराखी जनताले खोजेको सुखी र समृद्ध नेपाल निर्माणमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकासको रफ्तार बढाउँदै साहसपूर्वक अगाडि बढ्नका लागि सतर्कता अपनाउँदै अगाडि बढ्ने बताउनुभयो । रातोपाटी डटकम २०७० जेठ २७ गते सुरू भएको हो ।

आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

गण्डकी, २७ जेठः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित आफूहरू जनतातर्फ फर्केको बताउनुभएको छ । माओवादी केन्द्र, पोखरा महानगर समितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उहाँले आफ्नो वर्ग र समुदायसँगको सम्बन्धलाई नयाँ चिराबाट अगाडि बढाइएको बताउनुभयो ।

“बीचमा जनता र वर्गसँगको सम्बन्ध टुटेको थियो, गम्भीर समीक्षा गरी पार्टीलाई जनतासँग जोड्ने संकल्प गरेका छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय माओवादी केन्द्रप्रति जनतामा नयाँ विश्वास र भरोसा देखिएको छ ।”

पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टीप्रति आकर्षण देखिएको उहाँको भनाइ थियो । “आगामी निर्वाचनसम्म माओवादी केन्द्रलाई बलियो र पहिलो पार्टीका रूपमा स्थापित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ”, अध्यक्ष दाहालले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवादको बाटोमा मुलुकलाई लैजान माओवादीले सक्छ ।”

उहाँले नेपाली मौलिकता र विशेषताको समाजवाद स्थापनाका लागि आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा राख्नुभयो । समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सुरू भएको उहाँको भनाइ थियो ।

‘कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्काशन’

काठमाडौँ, २७ जेठः कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्काशन गरिएको छ । आज यहाँ आयोजित विशेष समारोहमा हरित ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढेको जनाइएको हो । यसका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई ग्लोबल ग्रीनग्रोथ इन्स्टिच्युट (जीजीजीआई) र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)को आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकलगायत नियामक निकायबाट स्वीकृति लिएर काम अगाडि बढेको जानकारी दिइयो ।

निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९ शीर्षकमा निष्काशन हुने ऋणपत्र रु पाँच अर्ब (तीन करोड ६० लाख अमेरिकी डलर) बराबरको हुनेछ र सात वर्षको अवधिका लागि वार्षिक छ प्रतिशतका दरले ब्याज प्रदान गरिने छ । ऋणपत्रबाट प्राप्त हुने रकमले नवीकरणीय ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएर सहयोग गरिने र यसले नेपालमा स्वच्छ, हरियाली पूर्वाधार लगानीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा पहिलोपटक हरित ऋणपत्रको शुभारम्भले दिगो विकास र जलवायु परिवर्तको सामना गर्दै आर्थिक विकासको यात्रामा कोसेढुङ्गा सावित हुने धारणा राख्नुभयो । वातावरण संरक्षण, स्वच्छ ऊर्जा र हरित पूर्वाधारप्रति सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख गर्दै उहाँले हरित वित्तको परिचालनले समावेशी आर्थिक वृद्धि र अन्तरराष्ट्रिय सहयोगका लागि नयाँ बाटो खोल्नेसमेत बताउनुभयो ।

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालको हरित विकासप्रति कोरियाली सरकारको प्रतिबद्धतामाथि प्रकाश पार्दै ‘ग्रिन बन्ड’ ले नेपाललाई थप लगानी आकर्षित गर्न र दिगो तथा समावेशी आर्थिक वृद्धिको लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले यसले संस्थागत र प्राविधिक क्षमतालाई बलियो बनाउन आधार तयार भएको उहाँको भनाइ थियो ।

कोइका नेपालका देशीय निर्देशक मुहन खोङले हरित ऋणपत्र जारी गर्नुलाई वित्तीय नवप्रवर्तनको सुरुआतका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले आर्थिक वृद्धिलाई जलवायु र वातावरणसँग जोड्नका लागि हरित समावेशी विकास प्रवर्द्धन गर्न नेपालको रणनीतिक प्रतिबद्धताका धन्यवाद दिँदै सहकार्यमा जोड दिनुभयो ।

जीजीजीआइका देशीय प्रतिनिधि लौरा जलासजोकीले विभिन्न साझेदार संस्थाको सहकार्यले नेपालमा पहिलो सार्वजनिक हरित ऋणपत्र जारी गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले यस कार्यले देशको दिगो विकास तथा जलवायु परिवर्तनको सामना गरी वातावरणमैत्री सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी बिच्छा, सरकारी उच्च पदस्थ कर्मचारी, नियामक निकाय, विकास साझेदार संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

काठमाडौँ महानगरको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

काठमाडौँ, २७ जेठ : काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ ।

जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ । कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पत्रमा भनिएको छ, “यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । कामपा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम रु दुई लाख जरिवाना तोकिएको छ ।”

अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय तीन दिन बन्द

वीरगञ्ज (पर्सा), २७ जेठ : अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् ।

पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो । “अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौंँ,” उहाँले भन्नुभयो, “असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ ।”

नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ । त्यस्तै पर्सासँगै जोडिएको छिमेकी कलैयाँ उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीको कारणले तीन दिन बिदा दिने निर्णय गरेको छ ।

कलैया उपमहानगरका नगर शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले अत्यधिक गर्मीको कारणले महानगर अन्तरगतका केही विद्यालयमा अध्ययरत विद्यार्थीहरूमा समस्या देखिएकाले जेठ २८ देखि ३० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरका अनुसार असार १ गतेदेखि भने विद्यालय निर्वाध रूपमा सञ्चालन हुनेछ ।

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

काठमाडौँ, २७ जेठ: आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रनको योगफल बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाएका हुन् । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५/३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।

नेदरल्यान्डस्का लागि पउल भान मिकेरनले चार विकेट लिदाँ माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए । नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

कोटिहोममा रहेका जलसहित कलश लैजाँदै भक्तजन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आज देखि जल सहितको कलश लैजान थालेका छन् ।सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन् ।

धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तजनले आज नै पैसा तिरेर जल सहितको कलश लिएका हुन् । अहिले सम्म ५ हजार कलश वुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
गत महिना वैशाख १६ गते पोखरामा गंगाको जल सहित निकालिएको विशाल कलश यात्रा यज्ञ स्थलमा राखिएको थियो । यज्ञमा विधिपूर्वक पुजा सकिएपछि भक्तजनलाई जल सहितको कलश वितरण गरिएको कलश यात्रा संयोजक दुर्गा कसीले जानकारी दिइन् ।

उनका अनुसार एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजादा २ हजार ५ सय रुपैया लाग्ने छ । आज नै कोटिहोममा जल सहितको कलश लैजाने भक्तजनको भिड लागेको थियो । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।
कोटिहोममा आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सभहागि भक्तजनलाई कोटिहोमको प्रसाद स्वरुप नरिवल र स्याउ वितरण गरेका थिए । उनका अनुसार कोटिहोममको समापनका दिन ३१ गते सम्पूर्ण भक्तजनलाई प्रसाद वितरण गरिएको छ ।

यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर भोलि देखि भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्ट पनि घरमा लान पाइने व्यवस्था रहेको छ ।

कोटिहोममा मधव प्रसाद कडेल, अन्जु कुमारी कडेल पोखरा ३३ बाट २५ हजार ५ सय ५५, सूर्य प्रसाद पौडेल विष्णु कुमारी पौडेल पोखरा १७ बाट २५ हजार १ सय २५, सकुन्तला राजकुमार समिक्षा गिरी पोखरा ८ बाट १५ हजार १ सय ५ संगिता थापा पोखरा १४ बाट ७ हजार ५ सय ५ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

यसैगरी कोटिहोममा जारी रक्तदान कार्यक्रममा आज सम्म ८ सय ८ जनाले रक्तदान गरेको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिए । गत वैशाख २० गते बाट शुरु भएको रक्तदान कार्यक्रम जेठ ३१ गते सम्म जारी रहने उनले जानकारी दिए ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

बजेट विधिको शासनद्वारा सुशासनको प्रत्याभूति गराउने गरी आएको छ :गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आर्थिक वर्ष २०८२, ०८३ को बजेट विधिको शासनद्वारा सुशासनको प्रत्याभूति गराउने गरी आएको बताएका छन् ।

कांग्रेसको आपूर्ति तथा उपभोक्त विभागद्वारा आयोजित आर्थिक वर्षको बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङखलामा पार्ने प्रभावू विषयक कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताए ।कृतिम अभाव देखाए कालोबजारी गरी उपभोक्ता ठग्नेमाथि गृह मन्त्रालय कारबाहीमा उत्रिने गृहमन्त्री लेखकले बताएका छन् ।

सरकारका निकायको आ आफ्नै काम हुन्छ । खाद्य वस्तु सुलभ, सुपथ र गुणस्तरीय बनाउन नियमनलाई बलियो बनाउनुपर्छ । सहजीकरण पनि गर्नुपर्यो उनले भने बेला बेलामा कृतिम अभाव र कालाबजारीको कुरा आउँछ । त्यसमा सरकारले नियन्त्रण गर्नुपर्यो । त्यसमा गृहमन्त्रालयले गर्नुपर्ने काम गर्छ । उपभोक्ताको अधिकार सुनिश्चितता गर्न सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने व्यवस्था बजेटमा गरिएको उनको भनाइ छ ।

हाम्रो आपूर्ति व्यवस्थापनमा समस्या छ । यसले क्यान्सर रोग बढाएको छ । गुणस्तरीय खाद्य वस्तुको आपूर्ति हुँदा यस्तो समस्या आउँछ । कच्चा पदार्थको संकलन, भण्डार, किनबेचसम्मको यात्रा सच्चाउन आवश्यक छ उनले भने ।

नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री

जनकपुर, २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल ज्ञानको भूमि हो । शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो । विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् । न्यूूटनले गुरूत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक विसं १२१० मा निकालेका थिए”, कुलपति ओलीले भन्नुभयो, “पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन । यो त सिद्धान्त हो । अनुभूति, अनुभव र ज्ञानको सङ्ग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ । यस दर्शनका हिमायतीहरू विश्वमा कमजोर हुन सक्दैनन् ।”

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मेहनत गरेमा सफलता हात लाग्ने र रूचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने बताउनुभयो ।

“तपाईंहरूले यहाँ पाउनुभएको ज्ञान र दीक्षाका आधारमा तपाईंहरू संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पधार्मा जान सक्नुहुन्छ । तपाईंहरूमा म पठित छु भन्ने घमण्ड होइन, मानवता र करूणाको भावना हुनुपर्छ । विद्याले विनयशीलता विनयशीलताले राम्रो पात्रता, पात्रताले धन र धनले सुख दिन्छ”, प्रधानमन्त्री ओलीको सन्देश थियो ।

विभिन्न सङ्काय र तहका १२५ विद्यार्थी दीक्षित भएको समारोहमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले दीक्षान्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खुला अर्थतन्त्रमा सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

काठमाडौँ, २७ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउँदै यसले चोरी तस्करी नियन्त्रण हुने धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले नेपाल अहिले जलवायु परिवर्तनको असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको बताउँदै यस्तो प्रभावबाट जोगाउन नेपालको प्रयाससँगै विश्वको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको प्राथमिकतामा आर्थिक सुधार, सुशासन, लगानी अभिवृद्धि र संविधान संशोधनको विषय रहेको बताउनुभयो ।

उहाँले कांग्रेसले जनजिविकाका सवालमा छलफल तथा वकालत गर्नका लागि विभिन्न विभागमार्फत काम गरिरहेको जानकारी गराउँदै पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका विषयका साथै उपभोक्ताको अधिकारको छनोट पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आपूर्ति शङ्खलाका कुनै पनि चरणमा समस्या भएमा उपभोक्ता मारमा पर्ने बताउँदै त्यसको सम्बोधनका लागि सरकार लागिपरेको बताउनुभयो । साथै उहाँले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँग उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गर्नुभयो ।

कृषि तथा पशुपन्छीमन्त्री एवं कांग्रेस नेता रामनाथ अधिकारीले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा आधारित रहेको परिवेशमा सरकारले कृषिमा परिवर्तनका लागि बजेटमा सुधारका थुप्र्रै कार्यक्रम ल्याएको जानकारी गराउँदै आफ्नो मन्त्रालयले बजेट कार्यान्वयन ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राजनीतिक दलहरूले राजनीतिमात्र होइन जनजिविकाका सवालमा एकमतका साथ काम गरेमा मात्र मुलुक समृद्ध हुने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रमेशजङ्ग रायमाझी, अलिन रुङ्गटा, दिनेश कोइराला, पार्टीको उपभोक्ता विभागका संयोजक एवं केन्द्रीय सदस्य गुरु बराल, पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल सरकारका पूर्वसचिव केवल भण्डारीलगायतले बजेटले उपभोक्ता आपूर्ति शृङ्खलामा पार्ने प्रभाव र उपभोक्ताका हकहितका विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ, २७ जेठ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेश भ्रमण सकेर आज काठमाडौँ फर्कने क्रममा विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुद्दामा सबै पार्टीहरूबीच छलफल गरी एकताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले वर्तमान शासन प्रणालीप्रति जनता सन्तुष्ट रहेको चर्चा गर्दै अब विकासको आकाङ्क्षालाई पूरा गरी आर्थिक समृद्धितर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ भन्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफ्नो कोशी प्रदेश भ्रमण राजनीतिक उद्देश्यले नभएको बताउनुभयो । विराटनगरमा भएको पालिकास्तरीय उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय सम्मेलन र झापामा विद्यार्थीको विज्ञान प्रदर्शनीमा सहभागी हुन आफू यहाँ आएको प्रष्ट पार्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले आफू विगतमा प्रजातन्त्रिक आन्दोलनमा सहभागी भएको र राष्ट्रपति बनाएको पार्टीप्रति हाल पनि आस्था रहेको धारणा राख्नुभयो । उहाँले आफू कहिले पनि कुनै गुटबन्दीमा नरहेको बताउँदै मुलुकको समृद्धि कायम गर्नेतर्फ मुख्य ध्यान रहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले विगतमा भएका एकता टिकाउ नभएका उदाहरण स्मरण गर्दै मुलुकमा वाम एकता हुनेतर्फ विश्वास नरहेको चर्चा गर्नुभयो ।

सङ्खुवासभाबाट अत्यधिक रक्तस्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का (सङ्खुवासभा), २७ जेठ : सङ्खुवासभाको खाँदबारीबाट अत्यधिक रक्तस्रावबाट पीडित भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उहाँको उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भई खाँदबारी नगरपालिका–४ की ३८ वर्षीया अनिता श्रेष्ठको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत प्रदीप श्रीवाल जानकारी दिनुभयो ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला लामो व्यथा लागि शिशु जन्माउन कठिनाइ भएका, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएमा निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

जिल्ला अस्पतालमा जेठ २२ गते भर्ना हुनुभएकी सुत्केरी श्रेष्ठलाई आज बिहानदेखि अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको मेडिकल अधिकृत श्रीवालले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षमा नौ जना गर्भवती, प्रसूति, सुत्केरी तथा नवजात शिशुहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालन भएयता हालसम्म करिब ३८ जना बढीको उद्धार गरिसकिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ ।

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दूर्गममा भरपर्दाे प्रसूति सेवा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएकाहश १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।

नेपालको खेलकुद राष्ट्रिय/अन्तरराष्ट्रिय क्षेत्रमा स्थापित हुँदै गएको छ : अध्यक्ष दाहाल

कास्की, २७ जेठ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली खेल क्षेत्र निकै विकसित हुँदै गएको बताउनुभएको छ ।

नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद राष्ट्रिय एकता र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धिको समेत प्रतीक बनेको बताउनुभयो ।

अध्यक्ष दाहालले आफ्नो प्रधानमन्त्रीकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा योजना कार्यक्रम बनाउने पहल गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली खेल क्षेत्र विकसित हुँदै गएको छ । मैले नीतिगत मात्र होइन खेलकुद क्षेत्रको नेतृत्वमा सफल व्यक्तिहरु ल्याएका कारणले अहिले नेपाली खेल राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा निकै स्थापित भएको छ ।”

उहाँले नेपाली खेलाडीहरुले विस्तारै अन्तरराष्ट्रिय प्रतियोगितामा पदकको वर्षा गर्ने गरेको र अहिले नेपालमा ऐन कानुनले पनि खेलाडीको जीवनलाई सुनिश्चित गर्ने पहल भएको बताउनुभयो । अध्यक्ष दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा भलिबललाई मन्त्रिपरिषद्बाट राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्दै उहाँले त्यसपछि देशभित्र भलिबल खेलको महत्त्व अझ बढेको उल्लेख गर्नुभयो ।

“नेपालको भूगोल, संस्कृति, हावापानी र नेपालीजनसँग मेल खाने खेल भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेको गरिएको हो । त्यसपछि भलिबलको मान्यता राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा बढेको र पदक जित्ने सुरुआत भएको हो”, दाहालले भन्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले खेलाडीले खेल खेलेरै आफ्नो जीवन निर्वाह गर्ने वातावराण् बनेको बताउनुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरामा निरन्तर भइरहेका विभिन्न खेलकुदका प्रतियोगिताका कारणले पोखरा भ्रमण वर्ष २०२५ सफल बनेको बताउनुभयो ।

आयोजक नेपाल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले भलिबल खेललाई अझ लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइरालाले महासङ्घले वर्षभरिनै बृहत् खेलकुद महोत्सवका रूपमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

यही जेठ ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी छन् । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र स्टेप रामपुर गरी छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ब्रान्डिङ आवश्यक छ : सांसद झा

काठमाडौँ, २७ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ‘ब्रान्डिङ’ को आवश्यकता औँल्याउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उहाँले प्रदर्शनी मनोरञ्जनात्मक, सन्देशमूलक र देश चिन्ने अवसर भएको प्रतिक्रिया समेत दिनुभयो ।

“हामीलाई ‘स्ट्राटेजिक ब्रान्डिङ’ चाहिएको छ । देशलाई अस्तित्वको परिभाषा चाहिएको छ, प्रकृति परिभाषा हो, हाम्रो परिभाषालाई विश्वसामु प्रवर्द्धन गर्नुपर्छ । प्रवर्द्धनको एउटा पाटो यो फोटो प्रदर्शनी पनि हो”, उहाँले भन्नुभयो ।

सांसद झाले पर्वतीय भूभागलाई सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नका लागि ती क्षेत्रहरुमा भौतिक संरचनाको निर्माणमा समेत जोड दिनुभयो । उहाँले यी क्षेत्रहरूको संरक्षण गर्दै बजारीकरण गर्न सक्नुपर्ने बताउनुभयो ।

“भौतिक संरचना नबनाएसम्म बजारीकरण गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “प्रकृतिले पनि कति थेग्छ भन्ने क्षमता हुन्छ । त्यसलाई मध्यनजर गर्दै भौतिक संरचना बनाएर त्यसबाट आर्थिक रूपमा लाभ लिन सक्नुपर्छ ।”

यसैबीच रास्वपाका सांसद एवं नेत्री लक्ष्मी तिवारीले पनि राससद्वारा आयोजित यस प्रदर्शनीको अवलोकन गर्नुभयो । उहाँले प्रदर्शनी सान्दर्भिक र भौगोलिक रूपमा समावेशी रहेको बताउनुभयो ।