`

नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री

जनकपुर, २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल ज्ञानको भूमि हो । शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो । विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् । न्यूूटनले गुरूत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक विसं १२१० मा निकालेका थिए”, कुलपति ओलीले भन्नुभयो, “पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन । यो त सिद्धान्त हो । अनुभूति, अनुभव र ज्ञानको सङ्ग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ । यस दर्शनका हिमायतीहरू विश्वमा कमजोर हुन सक्दैनन् ।”

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मेहनत गरेमा सफलता हात लाग्ने र रूचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने बताउनुभयो ।

“तपाईंहरूले यहाँ पाउनुभएको ज्ञान र दीक्षाका आधारमा तपाईंहरू संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पधार्मा जान सक्नुहुन्छ । तपाईंहरूमा म पठित छु भन्ने घमण्ड होइन, मानवता र करूणाको भावना हुनुपर्छ । विद्याले विनयशीलता विनयशीलताले राम्रो पात्रता, पात्रताले धन र धनले सुख दिन्छ”, प्रधानमन्त्री ओलीको सन्देश थियो ।

विभिन्न सङ्काय र तहका १२५ विद्यार्थी दीक्षित भएको समारोहमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले दीक्षान्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खुला अर्थतन्त्रमा सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

काठमाडौँ, २७ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउँदै यसले चोरी तस्करी नियन्त्रण हुने धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले नेपाल अहिले जलवायु परिवर्तनको असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको बताउँदै यस्तो प्रभावबाट जोगाउन नेपालको प्रयाससँगै विश्वको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको प्राथमिकतामा आर्थिक सुधार, सुशासन, लगानी अभिवृद्धि र संविधान संशोधनको विषय रहेको बताउनुभयो ।

उहाँले कांग्रेसले जनजिविकाका सवालमा छलफल तथा वकालत गर्नका लागि विभिन्न विभागमार्फत काम गरिरहेको जानकारी गराउँदै पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका विषयका साथै उपभोक्ताको अधिकारको छनोट पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आपूर्ति शङ्खलाका कुनै पनि चरणमा समस्या भएमा उपभोक्ता मारमा पर्ने बताउँदै त्यसको सम्बोधनका लागि सरकार लागिपरेको बताउनुभयो । साथै उहाँले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँग उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गर्नुभयो ।

कृषि तथा पशुपन्छीमन्त्री एवं कांग्रेस नेता रामनाथ अधिकारीले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा आधारित रहेको परिवेशमा सरकारले कृषिमा परिवर्तनका लागि बजेटमा सुधारका थुप्र्रै कार्यक्रम ल्याएको जानकारी गराउँदै आफ्नो मन्त्रालयले बजेट कार्यान्वयन ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राजनीतिक दलहरूले राजनीतिमात्र होइन जनजिविकाका सवालमा एकमतका साथ काम गरेमा मात्र मुलुक समृद्ध हुने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रमेशजङ्ग रायमाझी, अलिन रुङ्गटा, दिनेश कोइराला, पार्टीको उपभोक्ता विभागका संयोजक एवं केन्द्रीय सदस्य गुरु बराल, पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल सरकारका पूर्वसचिव केवल भण्डारीलगायतले बजेटले उपभोक्ता आपूर्ति शृङ्खलामा पार्ने प्रभाव र उपभोक्ताका हकहितका विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ, २७ जेठ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेश भ्रमण सकेर आज काठमाडौँ फर्कने क्रममा विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुद्दामा सबै पार्टीहरूबीच छलफल गरी एकताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले वर्तमान शासन प्रणालीप्रति जनता सन्तुष्ट रहेको चर्चा गर्दै अब विकासको आकाङ्क्षालाई पूरा गरी आर्थिक समृद्धितर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ भन्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफ्नो कोशी प्रदेश भ्रमण राजनीतिक उद्देश्यले नभएको बताउनुभयो । विराटनगरमा भएको पालिकास्तरीय उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय सम्मेलन र झापामा विद्यार्थीको विज्ञान प्रदर्शनीमा सहभागी हुन आफू यहाँ आएको प्रष्ट पार्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले आफू विगतमा प्रजातन्त्रिक आन्दोलनमा सहभागी भएको र राष्ट्रपति बनाएको पार्टीप्रति हाल पनि आस्था रहेको धारणा राख्नुभयो । उहाँले आफू कहिले पनि कुनै गुटबन्दीमा नरहेको बताउँदै मुलुकको समृद्धि कायम गर्नेतर्फ मुख्य ध्यान रहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले विगतमा भएका एकता टिकाउ नभएका उदाहरण स्मरण गर्दै मुलुकमा वाम एकता हुनेतर्फ विश्वास नरहेको चर्चा गर्नुभयो ।

सङ्खुवासभाबाट अत्यधिक रक्तस्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का (सङ्खुवासभा), २७ जेठ : सङ्खुवासभाको खाँदबारीबाट अत्यधिक रक्तस्रावबाट पीडित भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उहाँको उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भई खाँदबारी नगरपालिका–४ की ३८ वर्षीया अनिता श्रेष्ठको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत प्रदीप श्रीवाल जानकारी दिनुभयो ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला लामो व्यथा लागि शिशु जन्माउन कठिनाइ भएका, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएमा निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

जिल्ला अस्पतालमा जेठ २२ गते भर्ना हुनुभएकी सुत्केरी श्रेष्ठलाई आज बिहानदेखि अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको मेडिकल अधिकृत श्रीवालले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षमा नौ जना गर्भवती, प्रसूति, सुत्केरी तथा नवजात शिशुहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालन भएयता हालसम्म करिब ३८ जना बढीको उद्धार गरिसकिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ ।

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दूर्गममा भरपर्दाे प्रसूति सेवा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएकाहश १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।

नेपालको खेलकुद राष्ट्रिय/अन्तरराष्ट्रिय क्षेत्रमा स्थापित हुँदै गएको छ : अध्यक्ष दाहाल

कास्की, २७ जेठ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली खेल क्षेत्र निकै विकसित हुँदै गएको बताउनुभएको छ ।

नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद राष्ट्रिय एकता र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धिको समेत प्रतीक बनेको बताउनुभयो ।

अध्यक्ष दाहालले आफ्नो प्रधानमन्त्रीकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा योजना कार्यक्रम बनाउने पहल गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली खेल क्षेत्र विकसित हुँदै गएको छ । मैले नीतिगत मात्र होइन खेलकुद क्षेत्रको नेतृत्वमा सफल व्यक्तिहरु ल्याएका कारणले अहिले नेपाली खेल राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा निकै स्थापित भएको छ ।”

उहाँले नेपाली खेलाडीहरुले विस्तारै अन्तरराष्ट्रिय प्रतियोगितामा पदकको वर्षा गर्ने गरेको र अहिले नेपालमा ऐन कानुनले पनि खेलाडीको जीवनलाई सुनिश्चित गर्ने पहल भएको बताउनुभयो । अध्यक्ष दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा भलिबललाई मन्त्रिपरिषद्बाट राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्दै उहाँले त्यसपछि देशभित्र भलिबल खेलको महत्त्व अझ बढेको उल्लेख गर्नुभयो ।

“नेपालको भूगोल, संस्कृति, हावापानी र नेपालीजनसँग मेल खाने खेल भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेको गरिएको हो । त्यसपछि भलिबलको मान्यता राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा बढेको र पदक जित्ने सुरुआत भएको हो”, दाहालले भन्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले खेलाडीले खेल खेलेरै आफ्नो जीवन निर्वाह गर्ने वातावराण् बनेको बताउनुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरामा निरन्तर भइरहेका विभिन्न खेलकुदका प्रतियोगिताका कारणले पोखरा भ्रमण वर्ष २०२५ सफल बनेको बताउनुभयो ।

आयोजक नेपाल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले भलिबल खेललाई अझ लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइरालाले महासङ्घले वर्षभरिनै बृहत् खेलकुद महोत्सवका रूपमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

यही जेठ ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी छन् । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र स्टेप रामपुर गरी छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ब्रान्डिङ आवश्यक छ : सांसद झा

काठमाडौँ, २७ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ‘ब्रान्डिङ’ को आवश्यकता औँल्याउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उहाँले प्रदर्शनी मनोरञ्जनात्मक, सन्देशमूलक र देश चिन्ने अवसर भएको प्रतिक्रिया समेत दिनुभयो ।

“हामीलाई ‘स्ट्राटेजिक ब्रान्डिङ’ चाहिएको छ । देशलाई अस्तित्वको परिभाषा चाहिएको छ, प्रकृति परिभाषा हो, हाम्रो परिभाषालाई विश्वसामु प्रवर्द्धन गर्नुपर्छ । प्रवर्द्धनको एउटा पाटो यो फोटो प्रदर्शनी पनि हो”, उहाँले भन्नुभयो ।

सांसद झाले पर्वतीय भूभागलाई सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नका लागि ती क्षेत्रहरुमा भौतिक संरचनाको निर्माणमा समेत जोड दिनुभयो । उहाँले यी क्षेत्रहरूको संरक्षण गर्दै बजारीकरण गर्न सक्नुपर्ने बताउनुभयो ।

“भौतिक संरचना नबनाएसम्म बजारीकरण गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “प्रकृतिले पनि कति थेग्छ भन्ने क्षमता हुन्छ । त्यसलाई मध्यनजर गर्दै भौतिक संरचना बनाएर त्यसबाट आर्थिक रूपमा लाभ लिन सक्नुपर्छ ।”

यसैबीच रास्वपाका सांसद एवं नेत्री लक्ष्मी तिवारीले पनि राससद्वारा आयोजित यस प्रदर्शनीको अवलोकन गर्नुभयो । उहाँले प्रदर्शनी सान्दर्भिक र भौगोलिक रूपमा समावेशी रहेको बताउनुभयो ।

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

दोधारा चाँदनी (कञ्चनपुर), २७ जेठ- कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली करिडोरअन्तर्गत पर्ने वन क्षेत्रमा रूख कटानको काम भइरहेको छ ।

कोरिडोरअन्तर्गत कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा गरी करिब १९ हजार रूख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कञ्चनपुर र डडेल्धुरामा रूख कटानको काम भइरहेको छ । “सबैभन्दा बढी रूख कटान गर्नुपर्ने डडेल्धुरामा रूख कटानको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “करिडोरअन्तर्गत करिब १९ हजार रूख काट्नुपर्ने छ ।” रूख कटानको काम सम्बन्धित जिल्लास्थित डिभिजन वन कार्यालयबाट भइरहेको छ ।

महाकाली कोरिडोरअन्तर्गत पर्ने कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा जिरो प्वाइन्टदेखि ११ किलोमिटरसम्ममा रूख कटान सुरू गरिएको छ । दुई वर्षअघि नै रूख कटानको आदेश आए पनि उक्त क्षेत्रमा रूख कटान हुन सकेको थिएन । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत सुवास कुँवरले अहिले सिद्धनाथ सामुदायिक वन क्षेत्रभित्र पर्ने रूख कटानको काम भइरहेको छ । “शून्यदेखि ११ किलोमिटर क्षेत्रमा पर्ने ११५ रूख कटान गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार १० हजार ४७६ रूख काट्नुपर्नेमा अहिले आठ हजार ३७ रूख कटानको आदेश भएको छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ । जसमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका कार्यालयले जनाएको छ ।

सडक योजनाका कार्यालयका योजना प्रमुख दीपक सुनारले आयोजनालाई पर्याप्त बजेट नहुँदा निर्माणले गति लिन नसकेको बताउनुभयो । “ठेक्का लागेको मात्रै डेढ अर्ब छ नयाँ ठेक्का लगाउन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएको छ ।” आयोजनाका लागि आगामी आथिक वर्षमा रु २३ करोड मात्रै बजेट आएको छ ।

करिडोरको अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किमी ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमी ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ । योजनाका लागि चालु आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।

करिडोर बनेपछि ब्रहमदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्‍याउने छ ।
सुदुरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको

ग्यास चुहावट भई गणेश पन्तको घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति

कञ्चनपुर, २७ जेठ : शुक्लाफाँटा नगरपालिका–१ बन्साहका गणेश पन्तको घरमा आज दिउँसो आगलागी हुँदा रू १५ लाख बढीको क्षति भएको छ । भान्साकोठामा खाना पकाउन राखिएको ग्यास चुहावट भई आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आगलागीबाट घरभित्र र पसलभित्र राखिएको नगद रु एक लाख १० हजार, सुन, लत्ताकपडा, खाद्यान्न, फर्निचर, फ्रिजलगायतमा गरी रु १५ लाखको क्षति भएको छ ।

आगलागी भएको जानकारी पाइएपछि नगरपालिकाको दमकलको सहायताले प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले आगलागीमाथि नियन्त्रण गरेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । समयमै आगलागी नियन्त्रण हुँदा मानवीय, पशुचौपायामा क्षति हुन नपाएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष उत्तरदेव भट्टका अनुसार आगलागी पीडित परिवारलाई वडाका तर्फबाट चामल, नुन तेल, दाल, चाउचाउ, भुजालगायत गरी रु पाँच हजार बरावरको सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीसँग समन्वय गरिएको उल्लेख गर्नुहुँदै उहाँले भाँडाकुँडा, लत्ताकपडा उपलब्ध गराउनका लागि पहल गरिएको बताउनुभयो । अहिले घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

प्राकृतिक सम्पदालाई मुलुकको हितमा प्रयोग गर्न सक्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, २७ जेठ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्राकृतिक सम्पदाहरूको अधिकतम प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन पछि प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले नेपाल प्राकृतिक स्रोत साधनमा धनी रहेको र यसको प्रयोगमार्फत लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

“नेपाल प्राकृतिक सम्पदाका दृष्टिकोणले सम्पन्न छ । हिमाल, वनजङ्गल, दुर्लभ वन्यजन्तु, वनस्पतिलगायत हरेक हिसाबले नेपाल सुन्दर छ । सांस्कृतिक रूपमा पनि हामी उत्तिकै सम्पन्न र समृद्ध छौँ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “हामीलाई प्रकृतिले दिएको वरदानलाई मुलुकको आर्थिक उन्नति र समृद्धिका लागि सदुपयोग गर्नुपर्नेछ ।”

त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत भएको बजेट कार्यान्वयन कसरी हुन्छ ? भन्ने राससको प्रश्नमा अर्थमन्त्री पौडेलले विद्यमान अवस्था र वस्तुस्थितिलाई सही ढङ्गले आकलन गरेर बजेट आएको उल्लेख गर्नुहुँदै कार्यान्वयन पनि प्रभावकारी रूपमा दाबी गर्नुभयो । “आगामी आर्थिक वर्षको बजेट हाम्रो धरातलीय यथार्थभित्र रहेर ल्याइएको छ । हाम्रो स्रोत र खर्चको अनुमान यथार्थपरक छन् । अहिले पुँजीगत खर्चको न्यूनतालाई कसरी हटाउने भन्ने मुख्य चुनौती हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “बजेट संसद्मा प्रस्तुत भएलगत्तै कार्यान्वयन गर्न सकिनेगरी प्रबन्ध गरिएको छ । यसअर्थमा आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।”

तस्बिर अवलोकनमा अर्थमन्त्री पौडेललाई स्वागत गर्नुहुँदै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले देशका विभिन्न स्थानमा रहेका हिमाल तथा हिमाली पर्यटकीयस्थल, हिमाली जनजीवन बुझाउने प्रमुख उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

यही जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली क्षेत्रको जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

काठमाडौँ, २७ जेठ: जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई—मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको माहाशाखाले जानकारी दिएको छ ।

महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिनुभयो । “मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ, तर आज कोशी, बागमती तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “बुधबारदेखि भने उपत्यकालगायतका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । बादल पनि लाग्ने हुँदा बुधबारदेखि विस्तारै तापक्रम घट्ने छ ।”

मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको छ भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । यसैगरी, आज दिपायलको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सिमरा, जनकपुर, बिराटनगरको अधिकतम तापक्रम भने ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

महाशाखाले बुधबार बिहानसम्मको मौसम पूर्वानुमान गर्दै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेकाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न जनाएको छ । यसैले सम्भावित जोखिम तथा असरबाट बच्न आवश्यक तयारी र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षमा एउटा चलचित्रमा काम गर्छु : अभिनेता राजेश हमाल

काठमाडौँ, २७ जेठ : अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताउनुभएको छ । सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा चलचित्र लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्ष म चलचित्रबाट हराएँ । किनकि मैले खोजेको जस्तो विषयवस्तु र निर्माण समूहसँग जोडिन पाएको थिइन्, तर अब वर्षमा एउटा चलचित्रमा काम गर्ने सोच बनाएको छु । म जति समय काम गर्छु, एउटा चलचित्र वर्सेनि दर्शकसम्म पुगोस् भन्ने चाहना छ, यद्यपि त्यसका लागि राम्रो विषयवस्तु चाहिन्छ ।”

उहाँले आउँदो वर्ष पुनः नयाँ चलचित्र लिएर दर्शकसमक्ष पुग्ने बताउनुभयो । “अहिले प्रदर्शनरत चलचित्र ‘नरसिंहा अवतार’ का क्रममा दर्शकसँग भेटघाट गर्दा पनि उहाँहरूको इच्छा चलचित्रबाट गायव नभइदिएहुन्थ्यो भन्ने पाएँ । सोही कारण पनि नयाँ चलचित्रको तयारी गरिरहेको छु, तर हतार गरेर काम गर्ने पक्षमा भने म छैन”, अभिनेता हमालले भन्नुभयो ।

पुस्तकका विषयमा जानकारी दिँदै उहाँले ३५ वर्ष लामो कलाकारिता यात्रामा सार्वजनिक नभएको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषयलाई समेटिएको जानकारी दिनुभयो । उहाँले आठ वर्षपछि अभिनय गर्नुभएको चलचित्र ‘नरसिंहा अवतार’ यही जेठ ९ गतेदेखि नेपालभर प्रदर्शन भइरहेको छ ।

नेपाल र साउदीबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने विषयमा सहमति

जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण बिषयमा सहमति भएका छन् । सोमबार जेनेभामा भएको साइडलाइन द्धिपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमति भएको हो ।

मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार बताए । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।

‘साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ । यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ,’उनले भने, ‘साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो । अहिलेको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने टुंगो लगाएको छ ।’

श्रममन्त्री भण्डारीले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको जानकारी साउदी पक्षलाई गराउँदै यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिइएको थियो ।
उनले जेनेभा बैठकले साउदी अरेयिबासँग सामान्य श्रम सम्झौता र सीप प्रमाणीकरण कार्यक्रममा हस्ताक्षर गर्ने बाटो खोलि दिएको बताए ।

उनका अनुसार साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा नेपालले सहमति जनाएर औपचारिक रूपमा परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई पठाइसकेको छ । त्यस मस्यौदामा अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषयहरू समावेश गरिएका छन् ।

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकको रूपमा चलचित्र हेरेका थिए । चलचित्र हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको व्यापक प्रशंसा गरेका छन् । तर, प्रशंसासँगै दर्शकहरूमा एक प्रकारको आक्रोश पनि देखिएको थियो ।
‘महाभोज’ ले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । साथै, दर्शकले यो चलचित्र मनोरञ्जक रहेको समेत बताए ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ ।

चलचित्र ‘महाभोज’ यही शुक्रवार जेठ ३० गते देशभर प्रदर्शनमा आउँदै छ । पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुँदैछ ।

आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

काठमाडौँ, २७ जेठः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ । पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता नेदरल्यान्ड्स भने पहिलो जितको लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो । नेपाल १५ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

विभिन्न आठ टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ । यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधैँ स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छ्न ।

विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन

वालिङ (स्याङ्जा), २७ जेठः वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ–२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिकसत्रको सुरुआतदेखि नै समायोजन गरिएको छ । समायोजन भएका सबै विद्यालय कक्षा १–३ सञ्चालनमा रहेका थिए । समायोजन भएका पाँचवटा विद्यालयलाई पायक पर्ने नजिकैको अर्को विद्यालयमा मर्ज गरिएको उहाँले बताउनुभयो । “अनुगमनका क्रममा समस्या देखिएका विद्यालयलाई नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरेका हौँ”, उहाँले भन्नुभयो, “ससाना विद्यार्थीलाई लामो दूरी पार गरेर विद्यालय जान कठिन नहुने गरी समायोजन गरिएको हो ।”

विद्यालयमा अध्यापनरत शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ । पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँगाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले गर्दा विशेषगरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हो । विद्यालयको हाजिरी पुस्तिकामा विद्यार्थी सङ्ख्या धेरै भए पनि नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या कम हुने गरेको जनाइएको छ ।

यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर

चितवन ।  चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ। अस्पतालले फोहरको स्रोतमा नै वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको छ।

अस्पतालले पुनः प्रयोग हुने वस्तुलाई अलग्गै, कुहिने वस्तुबाट बायोग्यास, माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिनबाट फोहरलाई घटाएर निःसङ्क्रमित बनाउने गरेको अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रले जानकारी दिए। उनका अनुसार अस्पतालको फोहर व्यवस्थापन प्रणालीमा मुख्यतया दुईवटा प्रविधि प्रयोग गरिएको छ। बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहरलाई कुहाएर बायोग्यास उत्पादन गरिन्छ।

माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहर प्रशोधन गर्ने मुख्य उपकरण हो। अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहर मिसाएर राख्न सकिन्छ।

यो मेसिनको क्षमता दुई सय ५० लिटर रहेको उनले जानकारी दिए। ‘यसले करिब ३० मिनेटमा फोहरलाई प्रशोधन गर्छ। मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसङ्क्रमण) गर्छ,’ उनले भने।

प्रशोधनपछि निस्कने फोहर चिन्न नसकिने धुलोको टुक्रा हुने गर्छ । यस प्रक्रियाबाट फोहरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उनले जानकारी दिए। यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको उनको भनाइ छ।

माइक्रोवेभ टेक्नोलोजी आफैमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने उनले बताए। मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ।

अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहर सङ्कलन हुने गरेको छ । हुन्छ । यो फोहरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिन्छ । वार्डहरूबाट फोहर संकलन गर्ने बेलादेखि नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहर छुट्याइन्छ।

त्यसपछि संकलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ। कर्मचारीहरूका लागि पन्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोशाकसहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको उनले बताए। यद्यपि फोहर व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई निरन्तर एउटै काममा खटाउनुको सट्टा हरेक छ महिनामा जिम्मेवारी परिवर्तन (रोटेसन) गर्नेबारे पनि अस्पताल व्यवस्थापनले विचार गर्नुपर्ने उनको भनाइ छ।

अस्पतालजन्य फोहर व्यवस्थापन राज्यकै लागि चुनौतीपूर्ण रहेको अवस्थामा क्यान्सर अस्पतालले फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्न अन्तरराष्ट्रिय मापदण्ड पालना गर्ने कोसिस गरिरहेको अस्पतालका कार्यकारी निर्देशक शिवजी पौडेलले जानकारी दिए। अस्पतालले फोहर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन र यसबाट आम्दानीसमेत गर्न ‘फोहरबाट मोहोर’ कार्यक्रमको प्रक्रिया अगाडि बढाएको उनले बताए।

यसअन्तर्गत प्रशोधन गर्न मिल्ने वस्तु बिक्री गर्ने योजना रहेको र यसका लागि भरतपुर महानगरबाट बोलपत्र आह्वान गरिसकेको र सम्झौता गर्ने प्रक्रियामा रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए।

उनका अनुसार वातावरणीय प्रदूषणले क्यान्सरजस्ता रोगको जोखिम बढाउँछ। क्यान्सरजस्ता रोग आन्तरिक कारणले करिब १५ प्रतिशत हुने भए पनि कीटनाशक औषधि, दूषित वातावरण र अन्य बाह्य कारणले क्यान्सर हुने सम्भावना बढी हुने भएकाले फोहरको उचित व्यवस्थापन महत्त्वपूर्ण विषय रहेको उल्लेख गर्छन्।

अस्पतालले हालको फोहर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना रहेको उनले बताए।

अस्पतालले हाल अस्पातलबाट निस्कने पानीको फोहरलाई नर्कट प्रणाली र साना ढुंगाहरूको प्रयोगबाट शुद्धीकरण गरिन्छ। शुद्धीकरणपछिको पानी पर्यावरणमैत्री रूपमा बाहिर निकालिने कार्यकारी निर्देशक पौडेलले बताए।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २७ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु २२, काउली स्थानीय प्रतिकिलो रु ७५, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ५०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ४५०, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५५, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३८, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, स्कूस प्रतिकिलो रु ७०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ४५, तोरीको साग प्रतिकिलो रु २५, प्याज हरियो प्रतिकिलो रु ३५, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १८०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १४०, लिची (भारतीय) प्रतिकिलो रु २२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ३०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेका हुन् ।

अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाडौं सम्मको लामो यात्रा गरेर यज्ञको पूर्णाहुति भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

उनले भने, ‘यज्ञको पूर्णाहुति कसबाट गर्ने भन्ने भएको थियो । समय छोटो थियो तर यति लामो यात्र गरेर यज्ञ पूर्णाहुति गर्न आउनुभयो यहाँ प्रति आभारी छौ । काली बाबाको कोटिहोम उपस्थिति यज्ञ प्रवित्र वनेको छ ।’यज्ञको पूर्णाहुति गर्न आएका काली बाबाले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ संम्राटको उपमा दिए ।
उनले भने, ‘यति ठूलो कोटिहोम न हिजो भयो न भोलि हुन्छ त्यो हिम्मत साथ बालयोगेश्वर गर्नुभयो । यज्ञ संम्राट यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटि कोटि नमन गर्दछु ।’

यज्ञको पूर्णाहुति गरिएसँगै होमन लगायतका पाठ परायणका सम्पूर्ण कार्य आज देखि नै समापन भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकाललाई जानकारी दिए । उनका अनुसार कोटीहोममा सहभागी भएका चार सय बढी ब्राम्हणलाई पनि सम्मानका साथ आज नै बिदाइ गरिएको छ । साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य सम्पूर्ण कर्म पनि आज नै समापन भएको छ ।

गते महिना वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेशे, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी सुरु भएको हवन कुण्डको आज पूर्णाहुति गरिएको हो ।

हवन कुण्डमा ३÷३ जना ब्रामणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्रामणले पाठ गरेका थियो । महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गरिएको थियो ।

यज्ञको पूर्णाहुतिसँगै आजदेखि तिलक र भस्म वितरण गरिने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । उनका अनुसार यज्ञमा राखिएका जल सहितका कलश पनि बुकिङ गरेकाले भोलि देखि नै घरमा लैजान पाउनेछन् ।

यसै गरी मानव सेवा फाउन्डेसनलाई सोमबार पोखरावासीले जग्गा दान गरेका छन् । पोखरामा मानव सेवा फाउन्डेसनको भवन निर्माण गर्ने उद्देश्य सहित पोखरा–५ प्रस्याड् निवासी गंगा केसीको परिवारले २ रोपनी जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने केसीले जानकारी दिइन् । कोटिहोममा अहिले सम्म ३० लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् ।

कोटिहोममा नेपाल वैद्धिक महर्षी फाउन्डेसनका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्य मन्त्री दीपक प्रसाद वास्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापाले, मोटिभेटर विश्वराज गौतमले कोटिहोमले एकताको सन्देश दिएको बताएका थिए । भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

क्याड्डी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई

काठमाडौं । अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै नगद २१ हजार हात पारे ।

रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए । उनले नगद १६ हजार हात पारे । वीर बहादुर तामाङ ११९ स्कोरसहित तेस्रो तथा कृष्ण नेपाल र दिपेश श्रेष्ठ चौथो र पाँचौं स्थानमा रहे ।

महिलातर्फ पार्वती सुबेदिले ९३ स्कोरमा उपाधि सहुतगर्दै १० हजार ५ सय प्राप्त गरिन्। गीता तामाङ ९९ स्कोरका साथ दोस्रो र सुभानी भट्ट १०८ स्कोरमा तेस्रो भए। छैटौं होलम होल(इन(वनको सफलता प्राप्त गरेकी संगीता बलम्पिकालाई ५ हजार प्रदान गरियो ।

विदुर तामाङले दुई बर्डीसहित मोस्ट बर्डिज, कृष्ण सिंहले लङ्गेस्ट ड्राइभ र विजय तामाङले क्लोजेस्ट टु द पिनको उपाधि जिते ।दुई दिने प्रतियोगितामा स्ट्रोक प्ले फम्र्याटअन्तर्गत स्क्र्याच ह्यान्डिक्यापमा खेलाइएको थियो । प्रतियोगितामा सबै खेलाडीले १८ होल पुरा गरेपछि कट लागू गरिएको थियो । जसअनुसार उत्कृष्ट १७ क्याडीले अन्तिम ९ होल खेल्ने मौका पाएका थिए । प्रतियोगितामा कूल १ लाख ४३ हजार ५ सय नगद पुरस्कार राखिएको थियो ।

विजेताहरुलाई आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा, क्लब क्याप्टेन मिथुन राई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, महासचिव दीपक आचार्य, पूर्व पीजीए नेपालका अध्यक्ष घनश्याम थापा तथा महिला गल्फर गीता गुरुङले पुरस्कार वितरण गरे ।

लाओसलाई कम आँक्न चाहँदैनौं : प्रशिक्षक रस

काठमाडौं। एएफसी च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणमा घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताएका छन्।

प्रि कन्फ्रेसका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताएका छन्।

लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै उनले भने, “मलाई लाग्छ। लाओस पूर्णरुपमा संगठित टोली हो। अत्यन्त आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ। त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गंभीरतापूर्वक लिएकाछौ। त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेकाछन्।”

सोही क्रममा प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत गरेकाछन्। हंगकंगविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, हंगकंगविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ। संभवतः हामी बलियो टोली मैदानमा उतार्नेछौं।

हङकङविरुद्धको खेलमा डिफेन्स सनिश श्रेष्ठ चोटिल अवस्थामा रहेकाछन्। प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोंगले लाओसविरुद्ध खेल्न सधै सकारात्मक रुपमा तयार रहेको बताए।

उनले भने, ‘लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेकाछौ। पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु। त्यसैले पनि भोलीको खेलका लागि हामी शारिरीक र मानसिक रुपमा तयार रहेकाछौं।’

साउदी अरबमा हुने च्याम्पियन्सीपका लागि जारी छनोट अन्तर्गत समूह एफको पहिलो चरणको खेलमा नेपाली टोलीले अवे अन्र्तगत बुधबार लाओससंग प्रतिस्पर्धा गर्दैछ। यसअघिका विभिन्न ६ वटा खेलमा नेपालले ४ वटामा जित र दुई वटामा बराबरी खेलेको छ।

यद्यपि, लाओसको घरेलु मैदानमा नेपालले एकमा जित र एकमा बराबरी गरेको छ। तेस्रो चरणको खेल अन्तर्गत नेपालले मलेशियासंग २ शुन्य र लाओसले भियतनामसंग ५ शुन्यको हार व्यहोरिसकेको छ।

जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा पानी पोखरीको उद्घाटन

मुग । जुम्लामा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् ।रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौं हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।

यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले यस सिँचाइ आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

जुम्ला, जुन समुद्री सतहबाट २३०० मिटरभन्दा माथि अवस्थित छ, आफ्नो अद्वितीय हावापानीका कारण विशेष कृषि उत्पादनका लागि परिचित छ । यहाँको मार्सी धान नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागमा छ । यसको विशेष स्वाद र पौष्टिक गुणले गर्दा यो जुम्लाको पहिचान बनेको छ । सिँचाइ सुविधाको विस्तारले मार्सी धानको उत्पादनमा उल्लेख्य वृद्धि भई किसानको आर्थिक अवस्थामा सुधार आउनेछ ।

त्यस्तै, जुम्लाको स्याउ पनि देशभरि लोकप्रिय छ । उच्च उचाइ र चिसो हावापानीका कारण यहाँका स्याउ स्वाभाविक रूपमा गुलियो र स्वादिलो हुन्छन् । नयाँ सिँचाइ पोखरीले स्याउ खेतीका लागि आवश्यक पानीको आपूर्ति सुनिश्चित गर्नेछ, जसले गर्दा स्याउको उत्पादन बढ्ने र किसानहरूले राम्रो आम्दानी गर्न सक्नेछन् ।

आलु र अन्य तरकारी बाली पनि जुम्लाको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हुन् । सिँचाइको पहुँचले किसानहरूलाई वर्षभरि विभिन्न प्रकारका बालीहरू लगाउन प्रोत्साहन गर्नेछ, जसले गर्दा खाद्य सुरक्षामा सुधार आउने र बजारमा स्थानीय उत्पादनको उपलब्धता बढ्नेछ । समग्रमा, यस सिँचाइ पोखरीको निर्माणले जुम्लाको कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने र स्थानीय किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

बैतडीको पुर्चाैंडीलाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा

दशरथचन्द (बैतडी), २७ जेठः बैतडीको पुर्चांैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’भन्ने नारासहित खोप नगरस्तरीय समन्वय समितिले पुर्चांैडीलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको हो ।

पाँच वर्षमुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाएको यकीन भइसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कँुवरले जानकारी दिनुभयो ।

यसअघि नगरका १० वटै वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको थियो । बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध खोप दिने गरिएको छ ।

नगरले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरेको स्वास्थ्य शाखा प्रमुख कँुवरले बताउनुभयो । उहाँका अनुसार पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै २० जनालाई सम्मान गरिएको हो ।

नगरले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खोप पाए÷नपाएको यकीन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ । छुटेका भए उनीहरूलाई खोपको दायरमा ल्याएपछि मात्रै पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्ने प्रावधान रहेको छ ।

आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

काठमाडौँ, २७ जेठ : हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी, २७ जेठ : मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन् ।

उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको रु ३३ लाख ३७ हजार ३२५ र मालिका गाउँपालिकाको रु १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले रु १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन् ।

पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ । चारवटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिनुभयो ।

म्याग्दीको भौगोलिक रूमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारामार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए । करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो ।

स्थानीयवासी बलबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झन्झटबाट मुक्ति, सरसफाइमा सहज भएएपछि उपभोक्तामा खुसीयाली छाएको छ । धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ । पानीको मितब्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ ।

मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१÷८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण भएको छ । ती योजनाबाट चार सय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उहाँले बताउनुभयो ।

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर, २७ जेठः बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।

नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उहाँले बताउनुभयो ।

गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

ऋण दिँदा घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २७ जेठः ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले रु एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ बराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले रु १९ लाख रकम लिएको पाइएको छ ।

ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अङ्कित भुुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ । ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरकफरक व्यक्तिमार्फत ३ गते रु सात लाख र रु १२ लाख बराबर रकम चेकमार्फत लिएको पाइएको छ ।

आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी टे«डर्सका सञ्चालकसँग रु ५० लाख घुस माग गरेकोे पाइएको छ । आयोगले डा अधिकारीविरुद्ध रु ५० लाख बराबरको बिगो माग दाबी गरेको छ ।

नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध पनि समान रु ५० लाख बराबरको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ ।

आयोगले डा अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौँ महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै रु पाँच लाख घुस लिएको पाइएको छ । आयोगले डा अधिकारी, रमेश आचार्यविरुद्ध पाँच लाख बराबरको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो ।

आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फाुगन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा कोइरीको वैध आय रु तीन करोड ३७ लाख ७९ हजार ४०० रहेको थियो ।

कोइरीले रु सात करोड ९६ लाख ७६ हजार ८०४ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट रु चार करोड ५८ लाख ९७ हजार ४०३ बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ ।

इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती मालाकुमारी महतोका नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उहाँकी श्रीमती मालाकुमारीविरुद्ध बिगोबमोजिमको काराबाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २७ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ नौ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९२ पैसा र बिक्रीदर २१ रुपैयाँ एक पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ पाँच पैसा र बिक्रीदर ४४८ रुपैयाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ नौ पैसा र विक्रीदर ३५६ रुपैयाँ ६५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा

बरहथवा (सर्लाही), २७ जेठः उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना वाग्मती नदीले छुट्याएको छ । चुरेको खोच छिचोल्दै निस्कने वाग्मती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ । खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ ।

सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन सुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताउनुभयो । “वर्षा सुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन”, उहाँले भन्नुभयो, “गत वर्ष खोलाले दुई÷तीन स्थानमा ड्याम फुटायो । पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ ।” आकाश गड््याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

गत वर्ष वाग्मतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो । वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादवले बताउनुभयो । जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि वाग्मतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उहाँको भनाइ छ ।

रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष वाग्मती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ ।” उहाँलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । “चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति बितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ”, उहाँले गुनासो पोख्नुभयो ।

चुरेको काखमा वाग्मती खुम्चिएर बगेको भए पनि जतिजति दक्षिण गयो उति फैलिँदै गएको छ । नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा वाग्मतीले आफ्नो क्षेत्र फैलाएर झण्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ । “वाग्मतीमा आएको वर्षाको भेल खेलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ”, बलरा–१ का हरिशरण कापरले भन्नुभयो । वाग्मतीको बाढीले उहाँको गत वर्ष खाने अन्नसमेत बगाएर लगेको थियो ।

स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उहाँको भनाइ छ । विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आँकलन र पूर्वतयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ विचल्ली हुन नपर्ने उहाँको भनाइ छ ।

विपद् पूर्व तयारी गरिरहेको स्थानीय तहको दाबी

विपद् पूर्व तयारीमा स्थानीय पालिकाले सरोकार भएका निकायसँग छलफल गरी क्षति न्यूनीकरणको प्रयास थालिएको बताएका छन् । नागरिकको जिउधनको रक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको स्थानीयले जनप्रतिनिधिले बताएका हुन् ।

बलरा नगरपालिकाका प्रमुख रामा शङ्करप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताउनुभयो । विपद्का समयमा स्थानीय युवा परिचालन गर्न सकिनेगरी सुुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।

“बाढी, डुबान तथा आगलागीका घटनामा स्थानीय युवा अगाडि हुन्छन्”, प्रमुख कुशवाहाले भन्नुभयो, “उहाँहरूलाई हामीले सामान्य आत्मरक्षा र जिउधनको सुरक्षा अपनाउन सकिने उपायका बारेमा जानकारी दिनसके मात्र ठूलो जनधनको क्षति रोक्न सक्छौँ । सोहीअनुरूप सुरक्षा निकायसँग समन्वय गरेर तालिम प्रदान गरिरहेका छौँ ।”

गत वर्ष असारमा वाग्मतीमा आएको बाढीले जिल्लाका बलरा नगरपालिका, रामनगर, धन्कौल तथा बसवरिया गाउँपालिकाका अधिकांश वडा प्रभावित बनेका थिए । डुबानले यस क्षेत्रमा, खानेपानीको समस्या तथा शैक्षिक संस्था हप्तौँसम्म सञ्चालन हुननसकेको स्थानीय स्थानीय सञ्चारकर्मी जितेश यादवले बताउनुभयो ।

नेपालबाट ठूलो क्षेत्रमा फैलिएर गएको वाग्मती नदीलाई भारतले सीमा क्षेत्रबाटै दुवैतर्फ ड्याम कसेर नियन्त्रण गरेको छ । जसले गर्दा स्वतन्त्र ढङ्गले पानी बग्न नपाउँदा वर्षाको बाढी नेपालतर्फ फर्कने गरेको हो । भारत सरकारले सीमा क्षेत्रमा निर्माण गरेको एसएसबी रोडका कारण चुरेबाट सुरु भएका खहरेले अवरुद्ध हुँदै नेपाली भूमिमा क्षति गरिरहेको स्थानीयको गुनासो छ ।

माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन

भक्तपुर, २६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा आज आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ ।

नेपालको कम्युनिष्ट अन्दोलनका अग्रज एवं समाजसेवी श्रेष्ठको मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा निधन भएको हो ।

उहाँको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । यस्तै, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू शशी श्रेष्ठ, लिलामणि पोखरेल, केन्द्रीय नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा (दीपशिखा)लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यस्तै, पार्थिव शरीरमा विराट नेपाल भाषा साहित्य गुथिको झण्डासमेत ओढाइएको थियो ।

नेताहरूले श्रेष्ठको निधनले भक्तपुरमा माओवादी आन्दोलनको एक युगको समाप्त भएको प्रतिक्रिया दिँदै उहाँको योगदानलाई पार्टीले कहिल्य बिर्सन नहुने बताउनुभएको थियो । उहाँको आजै दक्षिणबाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ ।

अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिनेछ : गर्भनर पौडेल

कैलाली । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन् ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाले सोमबार आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न सङ्घ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताएका हुन् ।

गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए । जसअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले बताए ।

उनले भने, ‘सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।’ गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए ।

चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

दमौली (तनहुँ), २६ जेठ : यहाँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ ।

आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतङ्क बढेको छ ।
यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुखमा घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइन’को तार छोएर घाइते कुमालको उपचारका क्रममा बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्छः सभापति देउवा

पाटन (ललितपुर), २६ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज यहाँ आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक संवाद गोष्ठीमा उहाँले देशको भूगोललाई ध्यानमा राखेर सबैलाई सम्बोधन गर्नेगरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

“बजेटको सन्दर्भमा धेरै साथीहरूले सकारात्मक कुरा गर्नुभएको छ, कांग्रेसको आर्थिक नीति कस्तो हुने र नेपालको आर्थिक विकास कसरी हुने भन्ने विषयमा छलफल जरूरी छ । बिपी कोइरालाले पनि गाउँकै कुरा गर्नुभएको थियोे, हाल गाउँ सिद्धिने अवस्थामा छन् । धेरैजसो पहाडबाट तराई—मधेस पसी सके, बाँकीलाई रोक्न ध्यान दिनुपर्ने छ”, सभापति देउवाले भन्नुभयो ।

उहाँले जलवायु परिवर्तनले समुद्री तह बढेको र हिमालहरू पग्लिएर नाङ्गो भइसकेको अवस्थामा यसलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “जलवायु परिवर्तनले नेपाल सबैभन्दा बढी पीडित भएको छ, यद्यपि हामीले वनजङ्गल बचाउन सकेको छौँ, तर पनि हिमाल बचाउन सक्ने अवस्था छैन । हामीले चाहेर मात्रै पनि हुँदैन, जलवायु परिवर्तनको असरबाट नेपाललाई बचाउनुपर्छ, यसबारे संसारभर आवाज उठाउनुपर्छ”, पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो ।

पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रदेश र स्थानीय तहसँग पुँजीगत खर्च बढाउने क्षमता भएको भन्दै प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिमा आधारित उद्योग र कृषिको उत्पादकत्व बढ्नेगरी अर्थ व्यवस्थाको विकास अहिलेको आवश्यकता हो भन्नुभयो ।
पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले समयसापेक्ष र रोजगारी प्रदान गर्नेखालको शिक्षा र सीप आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले कांग्रेसले ल्याएको निजीकरणको उदारवादी अर्थ व्यवस्थाले औद्योगिक वातावरण बनाएको भन्दै अब कृषिमा आधारित उत्पादनमूलक उद्योगमा प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य एवं आर्थिक नीति तथा योजना विभागका प्रमुख प्राडा गोविन्दराज पोखरेलले आगामी आवको बजेटले जलवायु परिवर्तनले निम्त्याएका जोखिमलाई बजेटले पर्याप्त सम्बोधन गर्न नसके पनि कार्यान्वयन भए केही सफलता हासिल गर्न सकिने बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वरिष्ठ अर्थविद् डा पृथ्वीराज लिगलले सरकारले लक्ष्यअनुसारको राजश्व वृद्धि सम्भव नभएको धारणा राख्नुभयो । उहाँले बजेटले स्रोतको उपयोग गर्नेगरी वित्तीय अनुशासन कायम राख्न नसकेको जिकिर गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा जगदीशचन्द्र पोेखरेलले बजेटले निजी क्षेत्रलाई समेटेको कारण धेरै क्षेत्रबाट नकारात्मक टिप्पणी नआएको बताउनुभयो । उहाँले बजेटले केही सडक र भौतिक संरचना बन्ने पनि ती अधिक उपयोग र रोजगारी प्रवर्द्धन गर्ने खालका नभएको बताउनुभयो ।

अर्थविद् प्राडा विशम्भर प्याकुरेलले रोजगारी वृद्धि गर्न सक्ने खालको आर्थिक समृद्धि हासिल गर्न सक्नेगरी बजेट आउन नसकेको बताउनुभयो । उहाँले बजेटमा निजी क्षेत्रलाई दिइएको छुटअनुसार उपलब्धि र समृद्धि हासिल हुन नसक्ने भन्दै आर्थिक असमानता बढाउने गरी बजेट आएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा पोषराज पाण्डे, पोखरा विश्वविद्यालयका प्राडा ओम शर्मा, त्रिभुवन विश्वविद्यालयको मानविकी विभागका पूर्वडीन प्राडा कुसुम शाक्य, त्रिवि विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, सोही विभागका प्राडा सञ्जय आचार्य आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यपत्र प्रस्तुतीकरण गर्दै उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाले ‘एआई’ र ‘स्टार्टअप’ बुझेका कानुन व्यवसायीलाई सहभागी गराएर कानुनी झन्झट हटाउनुपर्ने र औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा

सुदूरपश्चिम, २६ जेठ: सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ ।प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उहाँलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराउनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ । तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए ।

सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

आजको बैठकबाट प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भ उठिरहेका प्रश्नबारे सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सुशासन कायम गर्न र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर सरकारले काम गरिरहेको बताउनुभयो ।

नीति कार्यक्रममा छुटेका विषयलाई बजेटमार्फत सम्बोेधन गरिने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री शाहले सीमित साधनस्रोतका बीचबाट काम गर्नुपर्ने परिस्थितिलाई बुझिदिन प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विधि, प्रक्रियालाई बुझ्न सकेनौँ र पुरातन शैली र ढर्रालाई यथावत् राखेर अघि बढ्न खोज्यौ भने हामीले चाहेको विकास र समृद्धिले गति लिन सक्दैन, यसमा सबै गम्भीर बन्न जरुरी छ ।”

हालै भएको आफ्नो औपचारिक भारत भ्रमणको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री शाहले यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको कूटनीतिक सफलताको रूपमा प्रदेश सरकारले लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमणका क्रममा भारत सरकारले विशेष गरी सुदूरपश्चिमवासीलाई सम्मान गरेको अर्थमा हामीले बुझेका छौँ । हाम्रो आतिथ्यका लागि भारत सरकारलाई धन्यवाद दिन्छौँ ।”

मुख्यमन्त्री शाहले प्रदेशको स्थायी राजधानी स्थापनाबारे दलहरूबीच छलफल भइरहेको र सदनमा पनि छलफल गरिने बताउनुभयो ।

नीति कार्यक्रममाथि आज अन्तिम दिन भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू राजेन्द्रसिंह रावल, रमेशसिंह धामी, घनश्याम चौधरी, जानकीदेवी कुँवर, चक्रबहादुर मल्ल र ओमविक्रम भाटले छुटेका विषय समेट्न सुझाव दिनुभएको थियो ।

दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी, कुन अस्पतालमा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् ।बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्नेगरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए ।

यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिनेगरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ ।

पाँच वर्षसम्म हरेक वर्ष गर्नेगरी तयार पारिएको यस पालिको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा सात सय ७७ जनशक्ति थपिने छ । यसले देशको सबैभन्दा बढी बिरामीको चाप खेपिरहेको अस्पतालमा

अब वीर अन्र्तगतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिनेछ । संघीय राजधानी काठमाडौंकै कान्ति बाल अस्पतालमा ७८ जनशक्ति थप्ने गरी प्रतिवेदन तयार पारिएको छ ।

देशको संघीय परोपकार प्रसुती अस्पतालमा एक सय ७३ जनशक्ति थप हुनेछन् । यसैगरी, शुक्रराज ट्रक्रिकल तथा सरुवा रोग अस्पतालमा तीन सय १७ स्वास्थ्य जनशक्ति थपिनेछन् ।

कोशी अस्पतालमा एक सय ७२, नारायणी अस्पतालमा तीन सय १८ तथा भेरी अस्पतालमा एक सय ७९ जनशक्ति थप हुनेछन् ।
गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा एक सय ४४ जनशक्ति थपिंदा चितवनको भरतपुर अस्पतालले चार सय ६५ जनशक्ति पाउनेछ ।डडेलधुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरुमा चाप अत्यधिक भएपनि जनशक्ति लामो समयसम्म थप नहुँदा सेवा दिन भइरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे ।

‘सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु,’ उनले भने,‘सम्बद्ध मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ ।’

मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्भेक्षण गरिने भएकाले दूरगामी रुपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास गरे ।
मन्त्री पौडेलले अधिकतम स्वास्थ्य प्राविक जनशक्तिको अभाव पूर्ति गर्नेगरी संरचना गर्न भनेपछि प्रतिवेदनमा अधिकांश स्वास्थ्य जनशक्ति थप गर्नेगरी प्रतिवेदन तयार पारिएको छ ।

यसले विभिन्न अस्पतालहरुमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ ।
२०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रुपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन ।
यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बाहुनडाँगीका बासिन्दा भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित

झापा, २६ जेठ -यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् । साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु आजित बनेका हुन् । बिहानै मेची नदी किनारमा पुग्ने गर्नुभएका स्थानीय शङ्कर लुइँटेलले दैनिक बाहुनडाँगी आउने र भारततर्फ फर्कने हात्तीको हुलको तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आउनुभएको छ ।

किसानले बारीमा लगाएको मकै, सुपारी, केरालगायतका खाद्यान्न बाली खाएर नष्ट गर्दै आएको उहाँले बताउनुभयो । “वर्षौं लगाएर हात्तीले नखाने नगदे बाली सुपारीको बोट हुर्काएँ”, उहाँले भन्नुभयो, “फल्न सुरु भएको थियो सबै भाँचेर नष्ट गरिदियो ।” उहाँले विश्व बैंकको सहयोगमा १० वर्षअघि मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन सुरु गरेको बताउनुभयो । सोलार फेन्सिङ बिग्रिएको र मर्मतमा सम्बन्धित निकायले चासो नदिएको उहाँको गुनासो छ ।

सोको रेखदेखको जिम्मेवारी पाएको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष निरोज घिमिरेले हाल सोलार फेन्सिङको मर्मत भइरहेको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालय झापाबाट झारपात फाँड्नका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु आठ लाख प्राप्त भएको र मेचीनगर नगरपालिकाद्वारा कर्मचारीको पारिश्रमिकका लागि रु सात लाख बजेट प्राप्त भएको बताउनुभयो ।

सोलार फेन्सिङको हेरचाहका लागि मासिक पाँच हजारका दरले तलब दिएर १० जना र रु १२ हजारका दरले तलब दिएर दुई जना प्राविधिक संस्थामार्फत राखिएको बताउनुभयो । पछिल्लो समय हात्ती आतङ्क बढ्यो भनेर स्थानीयवासीले समाधानको मागसहित मेचीनगर नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले सोलार फेन्सिङ प्राकृतिक र हात्तीका कारण नभई मान्छेले भत्काउने गरेको बताउनुभयो । विगत १० वर्षयता बाहुनडाँगीमा यही सोलार फेन्सिङका कारण जङ्गली हात्ती आउने क्रम घटेको थियो ।

जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !

काठमाडौँ, २६ जेठ : काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तक्र्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।

उहाँले ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु पाँच हजार उपलब्ध गराउने र उक्त रकम १६ वर्ष पुगेपछि साँवा ब्याजसहित प्राप्त हुने व्यवस्था मिलाइएको बताउनुभयो । त्यसैगरी मृत्युपछि काजक्रिया र अन्तिम संस्कारका लागि रु १० हजार उपलब्ध गराउने जनाएको छ ।

नगरप्रमुख महर्जनले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने मासिक रु दुई हजार दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले आफूसहित सिङ्गो कार्यपालिका निर्वाचित भएको तीन वर्षमा तारकेश्वरभित्रका सबै घरमा धारा पु¥याउने काम गरिरहेको बताउनुभयो ।

नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिताको थालनी, आँखाका बिरामीका लागि तिलगङ्गा आँखा केन्द्र स्थापना, डायलासिस सेवाको शुभारम्भ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नगरभित्रका सडक कालोपत्रेलगायत गर्दै आएको छ ।

नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नगरभित्र रोजगारी सिर्जना गर्न नगरपालिकाले विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले आफूहरु निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

नेताले मुलुक र जनता हेर्छ, मुर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन् । सोमबार संघीय संसद भवन बाहिर संचारकर्मीहरुसँग बोल्दै उनले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन् ।

मुर्खहरुको बाहुलियता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला ठूला र करोडौं लगानी भएको योजनाहरु काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताए ।

उनले भने, ‘सरकारी पैसालाई आफ्नो पार्टी र भातृ संस्थाको लागि प्रयोग गर्यौं भने दुरुपयोग हुन्छ । एउटा नेताले मुलुक र जनता हेरेर काम गर्छ । मुर्खले आफ्नो भोटर हेरेर काम गर्छ र मुर्खहरुको बाहुलीयता भएको ठाँउमा मेरो भनाइको के अर्थ हुन्छ ।

रातो किताब आएपछि थाहा हुन्छ । ठूला–ठूला र करोडौं लगानी भएको योजनाहरु काटिएका छन् । कार्यकर्ता हेरेर बजेट राखिएको छ ।’ यस्तै, उनले सदन बन्द गर्ने ठाँउ नभएको भन्दै नारा जुलुस गर्ने ठाँउ बाहिर भएको बताए ।

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले बाढी, पहिरो, आगलागी र अन्य प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरण गर्न विपद् बीमा र जोखिमयुक्त बस्तीको स्थानान्तरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

सोमबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विपद् जोखिम न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने, विपद् पीडितलाई तत्काल राहत र्पुयाउने, र दीर्घकालीन रुपमा पुनःस्थापनाका योजना बनाउने निर्णय गरेको हो। बैठकमा २०८२–८७ को रणनीतिक कार्ययोजना र २०८२ को मनसुन पूर्वतयारी कार्ययोजना समेत पारित गरिएका छन् ।

मुख्यमन्त्री कार्कीले विपद् बीमा कार्यक्रम र जोखिमयुक्त बस्तीको स्थानान्तरण कार्यलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । साथै, संघसंस्थाको सहकार्यमा पुनःनिर्माण तथा सुरक्षित बास निर्माणमा सहयोग गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आग्रह गरेका छन् । बैठकले यस आर्थिक वर्षमा राहत सामग्री र नगद वितरणमा ७५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण समेत अनुमोदन गरेको छ ।

साथै, ८६ लाख ४० हजार रुपैयाँ निजी आवास निर्माणका लागि प्रदान गरिएको जानकारी उपसचिव कमल थापाले दिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हाल कोशी प्रदेशमा तत्काल स्थानान्तरण गर्नुपर्ने करिब ४ हजार १५१ परिवारहरू रहेका छन् । गत वर्ष मात्र आगलागी, बाढीपहिरो, चट्याङ र विस्फोटजस्ता घटनामा परी ज्यान गुमाएका ३४ जनाका परिवारलाई राहत प्रदान गरिएको थियो ।

संसद सुचारु गराउने पक्षमा प्रधानमन्त्रीको भूमिका शून्य छ : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदन चलाउने कुरामा प्रधानमन्त्रीको पहलकदमी शून्य रहेको बताएका छन् ।
सोमबार संघीय संसद भवन बाहिर बोल्दै उनले सत्ता पक्षबाट अलि लचिलो नभएको भन्दै उहाँहरुकै कारण सहमतिमा पुग्न नसकेको बताए ।

उनले भने, ‘सत्ता पक्ष आफ्नो हटबाट पछाडि हटेन । उहाँहरु समिति पनि नबनाउने, राजीनामा पनि नदिने कुरा गर्नुभयो । सत्ता पक्षबाट अलि लचिलो भएर पेश हुनुपर्ने थियो । त्यो नभएका कारण सदन चल्न सकेको छैन् । सदन चलाउने कुरामा प्रधानमन्त्रीको जुन पहलकदमी हुनुपर्ने थियो त्यो भएको छैन् । उहाँहरुकै कारण सहमतिमा पुग्न सकेका छैनौ ।’

सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा

जनकपुरधाम, २६ जेठः मधेस प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले प्रदेश सरकारले जनतासँग प्रत्यक्ष संवाद गर्नका लागि ‘हेल्लो सिएम’ अर्थात् हेल्लो मुख्यमन्त्री विशेष कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरिएको छ । योजनाअन्तर्गत जनताले आफ्नो गुनासो, सुझाव तथा समस्यालाई मुख्यमन्त्री कार्यालयमा प्रत्यक्ष राख्न सक्ने बताइएको छ ।

यसका लागि टेलिफोन, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत सिधै सम्र्पक गर्न सकिने छ । सोहीअनुरुप प्रदेश सरकारले विशेष सूचना प्रणालीमार्फत गुनासो ‘टिपोट ट्रयाकिङ’ तथा समाधान प्रक्रिया अनलाइन ‘ड्यासबोर्ड’मार्फत सञ्चालन गरिने जनाइएको छ । हेल्लो सिएम कार्यक्रमलाई सरकारले गुनासो सुन्ने माध्यममा सीमित नराखी समाधान र समाधानमुखी बनाउने जनाइएको छ ।

जनगुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै नीति निर्माण प्रक्रियामा समेत जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने मधेस प्रदेश मुख्यमन्त्री सिंहको भनाइ छ । उहाँले यस कार्यक्रमलाई समावेशी, पारदर्शी तथा दिगो शासनको आधारस्तम्भका रुपमा विकास गरिने बताउनुभयो ।

यस्तै, सङ्घीय सरकारअन्तर्गत जनगुनासो सुनुवाइका लागि ‘हेल्लो सरकार’ को व्यवस्था रहेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहनेगरी यसको घोषणा गरिएको थियो ।